Showing posts with label Bicycling in Surkhet. Show all posts
Showing posts with label Bicycling in Surkhet. Show all posts

Tuesday, November 5, 2019

पूरा गर्न सकिन्छ साइकल सहर बन्ने सपना (भिडिओसहित)



अचेल विश्वभर गाउँहरू घट्दैछन्। तीव्र सहरीकरण भइरहेको छ। तर अव्यवस्थित ढंगले बनेका सहरमा अनेक प्रतिकूलताहरू थपिइरहेका छन्।

अनियन्त्रित फैलिएका सहरीबस्तीका बासिन्दा अपुग संरचना, बढ्दो ट्राफिक चाप र घट्दो खुलास्थलको संक्रमणले आक्रान्त छन्। जनताको दैनिकी आवागमन र स्वास्थ्य प्रभावित छ। यसको प्रत्यक्ष सम्बन्ध वातावरण, जनस्वास्थ्य र अर्थतन्त्रसँग छ।

विकसित देशका सहरहरू दशकौंदेखि भइरहेका गलत अभ्यासबाट आफूलाई सुधार गर्दैछन्। ती सहरहरू बाटोघाटो बनाउँदा गाडीबाहेक अन्य माध्यमबाट आवागमन गर्नेहरूको अस्तित्वको ख्यालै नगरी बनेका संरचना फेरबदल गरी मानवमैत्री बनाउँदैछन्। यसबाट विकासोन्मुख देशका सहरले पाठ सिक्न जरुरी छ।

अनियन्त्रित विकासको परिणाम- हाम्रो देशका धेरैजसो पुराना सहरहरू अहिले नै साँघुरा र अव्यवस्थित भइसके। स्वास्थ्यका दृष्टिकोणले कतिपय सहरका बासिन्दाको जीवनस्तर अहिले नै औसतभन्दा निकै तल छ।

यहीमा गतिमा गाडी थपिँदै जाने, संरचना बढ्दै जाने, खुलाठाउँ खुम्चिँदै जाने र मानिसको सक्रिय जीवनशैलीमा कमी हुँदै जाने हो भने भविष्य कस्तो होला?

यही अवस्थामा हरित वा स्मार्ट सहर बन्ने सपना साकार हुँदैन। त्यसैलै सहरोन्मुख नगरले बेलैमा आफ्नो सहरी विकासको आकांक्षा र अवधारणामा मानव केन्द्रित र दीर्घकालीन दृष्टिकोण ल्याउनु आवश्यक छ।

भौगोलिक तथा वातावरणीय रुपमा उपयुक्त हुने स्थानमा आधुनिक सहरका लागि साइकल प्रवर्द्धन एउटा शसक्त विकल्प र माध्यम बनेको छ। युरोप, अमेरिका, ल्याटिन अमेरिका, चीनका केही सहरमा साइकलको विकल्प बढाएर गाडीको अनावश्यक प्रयोग घटाउने, ट्राफिक नियन्त्रण गर्ने, वातवरण प्रदूषण कम गर्ने तथा स्वस्थकर जीवनशैलीका उपाय अपनाउने अभियानमा लागेका छन्।

यसका लागि सहरमा कारमुक्त फ्री गल्ली बनाउने, साइकल लेन र पार्किङ थप्ने, खुल्ला ठाउँ विस्तार गर्ने तथा हरियाली फैलाउने क्रम बढिरहेको छ। आजभोलि काठमाडौंमा पनि खुलास्थल जोगाउन र बढाउन आवाज बुलन्द हुँदेछ। न्यूरोड गाडी निषेध क्षेत्र, 'अकुपाई टुँडिखेल'का समाचार आइरहेका छन्।

सुर्खेत उपत्यकाको वीरेन्द्रनगर तीव्र सहरीकरण भइरहेको नगर हो। बि.सं. २०२९ सालमै योजनाबद्ध पूर्वाधारसहितको नगर विकास गुरुयोजना बनेको नगरपालिका २०४६ सालको व्यवस्था परिवर्तन पछि सुस्ताएर गयो।

पछिल्लो समय २०६२-६३ को परिवर्तन यता र अझ कर्णाली राजमार्ग खुलेपछि यहाँको सामाजिक तथा आर्थिक गतिविधि चलमलाउन थालेको छ। हाल कर्णाली प्रदेशकै प्रशासनिक केन्द्र बनेपछि यहाँ जनसंख्या, बस्ती तथा सवारीको चाप तीव्र बढिरहेको छ। फलस्वरुप प्रदूषण दिनानुदिन बढ्दो छ।

गत साता मात्रै यहाँको वायुको गुणस्तर सूचक औसत १५० थियो जुन विश्व स्वास्थ्य संगठनको मानक ५० भन्दा तीन गुणा बढी हो। पिएम २.५को मात्रा ६० माइक्रोग्राम प्रतिघनमिटर थियो। यो पनि विश्व स्वास्थ्य संगठनले भनेको २५ भन्दा निकै बढी हो।

सहर व्यवस्थित बनाएर यस्ता समस्या सुधार्ने प्रयास अहिलेबाटै सुरू हुनुपर्छ। सुर्खेत उपत्यकाको क्षेत्रफल, यसको भूबनोट र यहाँको हावापानी हिँडडुल गर्न र साइकल चलाउन अति उपयुक्त छ। त्यसैले वीरेन्द्रनगरलाई 'साइकलमैत्री' सहरका रूपमा विकास गरेर यसमार्फत सहरको पहिचान बढाउने प्रयास सुरू पनि भएको छ।

भूमध्य रेखाबाट २८.६ डिग्री उत्तरमा रहेको यो उपत्यकाका बस्तीहरू समुद्र सतहभन्दा औसतमा ६५० देखि ७५० बीचको सरल उचाइमा छन्। हावापानीका दृष्टिकोणले यहाँको बार्षिक औसत तापक्रम २२ डिग्री आसपास हुन्छ। गर्मीका केही महिनामा भने अधिकतम तापक्रम ३३ डिग्रीसम्म पुग्छ। पर्याप्त रुखविरुवा भएको अवस्थामा यो वातावरण साइकल चलाउन उपयुक्त हो।

क्षेत्रफलको आधारमा यो उपत्यकाको लामो दुरी नै रत्न राजमार्गले काटेर गएको भाग हो जुन १० किलोमिटर छ। उपत्यकाको कुनै पनि कुनाबाट सहरको केन्द्र औसत ५ किमी मात्र छ। सबभन्दा टाढा सानो सुर्खेत जोड्ने पास ७.५ किमी छ। दुरीको आधारमा साइकल प्रयोग गरी दैनिक आवागमन गर्न निकै सहज र सामान्य हो।

नगरपालिकाले गत वर्ष गरेको सर्भेक्षणअनुसार उपत्यका भित्रमात्र करिब २६ हजार पाँच सय घरधुरी छन्। विगत सात वर्षमा करिब १२ प्रतिशतले बढेका घरहरू अब तीव्र गतिमा बढिरहेको देखिन्छ। यसै अवधिमा मोटरसाइकल र गाडीको स्वामित्व भएका घरधुरी २०६८ सालभन्दा १४३ प्रतिशतले बढेको छ। कुनै पनि सवारी नहुने घरधुरी संख्या पनि १३ प्रतिशत बढेको छ। यस अवधिमा नबढेको अर्थात् घटेको साधन साइकल मात्र हो जुन ६० प्रतिशतले घट्यो।


समग्र घरधुरीमा हेर्दा झण्डै दुईतिहाईसँग कुनै पनि सवारी उपलब्ध छैन। दुई प्रतिशत जतिसँग आफ्नै गाडी छ। बाँकी नौ प्रतिशतसँग साइकल छ भने २६ प्रतिशतसँग मोटरसाइकल छ। यहाँ विचारणीय के छ भने, सात वर्षअघि १३ प्रतिशत घरधुरीसँग मोटरसाइकल हुँदा २५ प्रतिशतसँग साइकल थियो।

ठूलो संख्यामा साइकल प्रयोगकर्ताहरू स्कुल र कलेजका विद्यार्थी हुन्थे। अचेल ४ हजार ५ सय हाराहारी विद्यार्थी भएको मध्यपश्चिम विश्वविद्यालयको प्रांगणमा ४५ वटा साइकल पनि देखिँदैन।

यसबाट के देखिन्छ भने आर्थिक गतिविधिमा आएको परिवर्तनसँगै साइकल चढ्नेहरू अब मोटरसाइकल चढ्न थाले। साइकलप्रतिको आमधारणा सकारात्मक नहुँदा नयाँ मानिसहरू त्यसप्रति आकर्षित हुन छाडे र साइकलको प्रयोग घट्यो।

स्थानीयसँग कुरागर्दा सबैले साइकलसँग जोडिएका आफ्ना रमाइला अनुभव सुनाउँछन्। आफ्नो ठाउँमा साइकल चढ्दा हुने सहज, स्वास्थ्यलाभ र आर्थिक बचतबारे जानकार छन्। तर पूर्वाधार र नियमन अभावमा असुरक्षित महशुस हुने तथा आमधारणाले नियमित चलाउन संकोच लाग्ने गरेको बताउँछन्।

साइकलबारेका चर्चाहरूमा सबै उमेरका महिला र पुरुष उत्तिकै उत्साहित भएर भाग लिइरहेका पाइन्छ। सबैलाई साइकल लिएर बाहिर निस्किने रहर पलाएको छ तर सबैलाई लाग्छ- यहाँ सुरक्षित वातावरण छैन।

यी तथ्यले संकेत गर्छ, सुर्खेतमा साइकलका पूर्वाधार बने, यसप्रति सकारात्मक सोच जगाउने गतिविधि चले, प्रभावकारी नियमनका काम गरेर प्रवर्द्धन गर्न सके स्थानीयहरू पुनः साइकलतिर फर्किने छन्।

यसका लागि केही महिनायता प्रयासहरू सुरू भएका छन्। यही वर्ष जुन ३ मा सुर्खेतमै पहिलोपल्ट दोस्रो विश्व साइकल दिवस मनाएर साइकलमैत्री सहर बनाउने अभियान सुरू भयो। यही क्रममा जुटेका साइकल प्रेमीहरू संगठित भएर कर्णाली राइडर्स क्लबको अवधारणामा अघि बढेको छ।

यही प्रयासलाई निरन्तरता दिँदै यसै वर्ष जुलाई २० मा पहिलो पल्ट 'काँक्रेबिहार कोरा साइक्लिङ च्यालेन्ज' गरी सहभागिता जनाउने प्रयास गरियो। समूहमार्फत छलफल, अन्तरक्रिया र राइड गरेर जनमानस र नीतिनिर्माताहरूमा साइकलप्रति जनचासो बढाउने प्रयास भइरहेको छ। कर्णाली प्रदेशका प्रमुख सचिव, सरकारी कर्मचारी, गैरसरकारी संस्थामा काम गर्नेहरू, सुर्खेतमा रहेका नेपाली सेनाका प्रमुख अधिकृतहरू, स्थानीय युवा, समाजसेवी, उद्योगी व्यवसायी र पत्रकार मिलेर साप्ताहिक साइकल राइड गर्ने चलन सुरू भएको छ।

कर्णाली प्रदेश सरकारले यसलाई निकै सकारात्मक ढंगले अघि बढाएको छ। प्रदेश सरकारका प्रमुख सचिव केवल भण्डारी साइकल प्रयोग तथा वातावरणमैत्री व्यवहारका निम्ति सक्रिय छन्। मन्त्रिपरिषदका कर्मचारीमा पनि साइकलप्रति रूचि बढ्दै छ।


यसै वर्ष आफ्नो नीति तथा कार्यक्रममा प्रदेश सरकारले राजधानीलाई धुवाँधूलोमुक्त सहर बनाउन पहल गर्ने उल्लेख गर्यो। त्यसको प्रयास स्वरुप सुब्बाकुनादेखि बांगेसिमलसम्मको राजमार्ग खण्डमा साइकल र पैदलयात्रीका निम्ति लेन बनाउन दुई करोड बजेट व्यवस्था छ। कार्यक्रम लागू गर्न भौतिक योजना मन्त्रालयलाई भनिएको छ। 'स्टोरी साइकल'मार्फत प्रारम्भिक अध्ययन पनि सम्पन्न भइसकेको छ।

अब विस्तृत परियोजना प्रतिवेदन बनाएर काम अघि बढाउन मन्त्रालय तथा निर्देशनालयमा कार्यरत जिम्मेवार कर्मचारीको इमान्दार सक्रियता आवश्यक छ। नभए, यो बजेट वर्षको अन्ततिर रकमान्तर गरी अन्यत्रै दुरुपयोग हुनसक्ने सम्भावना छ। यसका लागि निरन्तर 'फलोअप' चाहिने भएको छ।

त्यसैगरी वीरेन्द्रनगर नगरपालिकाले पनि प्रदेश सरकारसँग सहकार्य गरी साइकलमैत्री सहर बनाउने नीति बनाएको छ। मेयर देवकुमार सुवेदी आफैं साइकलमा विद्यार्थी जीवनकाल बिताएका स्थानीय प्रतिनिधि हुन्। सुर्खेतलाई साइकल सहर बनाउँदा हुने वातावरणीय, आर्थिक, सामाजिक र राजनीतिक लाभका बारेमा उनी सचेत छन्।

अब देशकै पहिलो वातावरणमैत्री सपनाको सहर बन्नसक्ने प्रशस्त सम्भावना भएको वीरेन्द्रनगरलाई नगरपालिकाका नीतिनिर्माता र निर्णयकर्ताले सक्रियता लिएर स्थानीय जनता र संगठन परिचालन गरी अभियानका रुपमा अघि बढाउन आवश्यक छ।

नगरपालिकाले प्रदेश सरकारबाट सम्भाव्यता अध्ययन प्रतिवेदन लिएर त्यसमा उल्लेखित खाका बमोजिम पहिचान गरिएका राजमार्ग बाहिरका नगरपालिकाले गर्नसक्ने पूर्वाधार निर्माण तथा प्रवर्द्धन कार्यक्रमहरू गर्ने ठोस पहल गर्न जरुरी छ। सही र संगठित पहल भए यहाँ छोटो समयमै साइकल पुनर्जागरण हुन सम्भव छ। र, निकट भविष्यमा नमूना 'साइकल सहर' बन्न सक्छ।

यसै सन्दर्भमा सुर्खेत उपत्यकामा साइकलको वर्तमान अवस्था र सम्भावना समेटेर 'स्टोरी साइकल'ले तयार पारेको भिडिओ हेर्नुहोस्ः


सेतोपाटीमा प्रकाशित मिति: सोमबार, कात्तिक १८, २०७६, १३:०७:००

Saturday, November 2, 2019

धूलोधुवाँले ग्रस्त सुर्खेतलाई बनाउन सकिन्छ 'साइकल सहर'





केही दिनअघि सुर्खेत बजारबाट एअरपोर्ट जाँदै थिएँ। मूलसडक अर्थात् रत्न राजमार्ग स्तरोन्नति भइरहेकाले धूलो र खाल्डो छल्न बसपार्क उत्तरतर्फको भित्री बाटो हिडेँ। केहीअघि खजुरा नपुग्दै जाममा परेँ।

बाटोभरि मोटरसाइकल र स्कुटरहरू असरल्ल पार्क गरेर जाम परेको थियो। त्यो क्याम्पसको बाटो थियो र ती सवारी विद्यार्थी र प्राध्यापकका थिए।

केही वर्षअघिसम्म यहाँ साइकल चढ्ने विद्यार्थीको बाहुल्य हुन्थ्यो। कतिपय प्राध्यापक साइकलमै यात्रारत भेटिन्थे। बाहिरबाट आउने विद्यार्थीको पहिलो नयाँ सीप सिकाइ अभ्यास साइकलबाटै हुन्थ्यो। स्थानीयको दैनिकीको अभिन्न साधन साइकल नै हुन्थ्यो। प्रायः सबैका घरमा साइकल हुन्थे।

अचेल दृश्य फरक छ। साइकल गरिबको साधनझैं बनेको छ। अलिकति आर्थिक हैसियत बनाएकाहरूलाई साइकल चढेर शिक्षालय, कार्यालय वा बजार जानु सामाजिक प्रतिष्ठा गुम्नु हो जस्तो लाग्छ। त्यसैले हरेक परिवारमा सकी-नसकी मोटरजन्य सवारी किन्ने प्रतिस्पर्धा भइरहेझैं लाग्छ। बिल्कुलै गलत प्रतिस्पर्धा।

यसका कारण छन्।

सुर्खेत छोटो अवधिमा तीव्र र अव्यवस्थित सहरीकरण उन्मुख छ। पञ्चायती व्यवस्थामै थालनी भएको योजनाबद्ध नगर विकासले गति लिन सकेन।

अन्यत्रझैं यहाँ पनि घरजग्गा कारोबार र स-साना व्यवसायबाट मानिसको आर्थिक रुपान्तरण सुरूआत भयो। मानिसमा सवारीसाधन छनौटका आकांक्षा बढ्न थाले। समाजमा आफ्नो हैसियत देखाउन पनि साइकल त्याग्ने र मोटरजन्य सवारी खरिद गर्ने चलन बढ्यो।

अनियन्त्रित बस्ती निर्माण हुन थाले। विशेषगरी राजमार्ग दक्षिणका मलिला फाँट मासिँदै घर बन्न थाले। यो क्रम प्रदेश राजधानी भएपछि झनै तीव्र छ। बस्ती जोड्ने बाटा बने। तर ती मानिस हिँड्न वा साइकल चलाउन नभई मोटर कुदाउने प्रयोजनका लागि मात्र बने। मोटर कुद्ने बाटामा साइकल वा पैदलयात्री प्राथमिकतामा परेनन्।

मोटरजन्य सवारीको हर्न र गतिबाट उनीहरू तर्साइन्छन्, हप्काइन्छन् र हतोत्साही बनाइन्छन्। परिणमतः धेरैले साइकललाई दैनिक सवारीको माध्यम बनाउने हिम्मत जुटाउन सक्दैनन्। र साइकल त्याग्छन्।

सन्तुलित विकासको दीर्घकालीन सोच अभावमा सुर्खेत विकासका लागि गरिएका सबै पूर्वाधार निर्माण साइकलमैत्री भएनन्। मानवीय र पर्यावरणीय सामञ्जस्य कायम राख्नै स्वच्छ र सन्तुलित नगर बन्न सक्ने प्रचुर सम्भावना हुँदाहुँदै सुर्खेत अन्य थुप्रै सहरउन्मुख नगरझैं कुरुप बन्ने होडमा छ।

ढिला भइहालेको भने छैन। सुर्खेत साइकलमैत्री नगर बनाउँदा यहाँका नागरिक र सरकारलाई बहुआयामिक रूपमा प्रत्यक्ष फाइदा हुन्छ।

अचेल साइकलमा आफ्नो दैनिकी चलाउनेहरू प्रायः न्यून आय भएका गरिब छन्। उनीहरू पनि अन्य नागरिक सरह अधिकार प्राप्त मतदाता हुन्। उनीहरूको दैनिक जीवन सहज पार्नु सरकारको कर्तव्य हो। साइकलमैत्री सडकले ती नागरिकलाई सम्मानपूर्वक आवतजावत र सहज दैनिकीको प्रत्याभूति गराउँछ।

अलि समय पहिले सुर्खेतका केही कृषकलाई साइकल बाँडिएको थियो। यो सराहनीय प्रयास हो, तर उनीहरूलाई साइकल चलाउन सहज बनाउने उपाय पनि सँगै ल्याइनुपर्छ। साइकल भएर पनि चलाउन हिच्किचाउनेहरूका साइकल पनि उपयोगमा आउँछ। विस्तारै अरुको पनि साइकलमा रुचि पलाउँछ वा फर्किन्छ।

यसले सार्वजनिक वा निजी सवारीमा लाग्ने यातायात खर्च बच्छ। यस्तो बचतको परिमाण वास्तवमा उल्लेखनीय हुन्छ।

उदाहरण- मानौं सुर्खेतको लाटीकोइलीबाट दैनिक सुर्खेतबजार आउजाउ गरिरहने व्यक्तिले अटोरिक्सामा यात्रा गर्नुपर्दा दिनको कम्तीमा १५० रुपैयाँ खर्च गर्छ। हरेक एउटा चोकबाट अर्कोमा पुग्न २० देखि ३० रुपैयाँ लाग्छ। यस हिसाबले विदा कटाएर महिनामा २० दिन मात्र यात्रा गर्दा कम्तीमा २५ सय रुपैयाँ खर्च गर्नुपर्छ। साइकलले विद्यार्थी, कर्मचारी, स-साना व्यापारी र किनमेल, भेटघाटका लागि ओहरदोहर गरिरहने सबैको दैनिक खर्च कटौती हुन्छ।

मोटरजन्य सवारीधनीहरू पनि क्रमशः साइकल चलाउन उत्प्रेरित हुनेछन्। फजुल खर्च कटौती हुन्छ। नगरमा सवारी चाप कम हुन्छ। पार्किङ सहज हुन्छ। पेट्रोलियम पदार्थ कम खपत हुन्छ। प्रदूषण नियन्त्रण हुन्छ।

नियमित साइकल चलाउँदा मानिसको स्वास्थ्यमा पनि सकारात्मक परिवर्तन आउँछ। कतिपय नसर्ने रोगहरूको प्रकोप कम हुन्छ। उपचारमा हुने सम्भावित खर्च रोकिन्छ।

पर्यटकीय सम्भावनाका दृष्टिले सुर्खेतमा साइकल अत्यन्त सान्दर्भिकता भएको ठाउँ हो। यहाँका धार्मिक तथा ऐतिहासिक स्थल, डाँडापाखा, जंगल, खेतबारी र बस्तीहरू साइकलबाट भ्रमण गर्न उपयुक्त छन्।

जस्तै, सुर्खेतको घण्टाघरबाट मंगलगढी हुँदै दक्षिणतिर काँक्रेबिहार पुगेर पछााडिका फाँट हुँदै पूर्व मोडिएर देउतीबज्यै मन्दिर दर्शन गरी बुलबुले तालको बाटो फर्किन सकिने ट्रेल। यसमा साइकल यात्रा कति रोमान्चक हुन्छ होला?

स्थानीयको आर्थिक उन्नतीमा पनि सहयोग पुर्याउँछ।

यसबाहेक साहसिक खेलका रुपमा पनि साइकल प्रवर्द्धन सम्भावना छ। यहाँ विभिन्न विशेषतासहितका साइकल ट्रेल विकास गर्न सकिन्छ। डाउनहिल, क्रसकन्ट्री खेल खेल्न मिल्ने रुट पहिचान गर्न सकिन्छ।

जस्तै बांगेसिमलको बाटो उक्लेर माथि गोठीकाँडा, अनि छेडाको बाटो कट्कुवाबाट झरेर कपासे, इत्राम वा नेवारे। पूरै जंगल सफारी झैं अनुभव। वा सुर्खेत उपत्यकको कोरा (एक फन्को)। नयाँ प्रकारका माउन्टेनबाइकको प्रयोग हुन्छ।

यी गतिविधि बढेसँगै रारा हिँडेका पर्यटकले सुर्खेतमा अल्झिने बहाना पाउँछन्। उनीहरूको बसाइ लम्बिन्छ। पर्यटकको बसाइ जति लामो भयो त्यति आर्थिक लाभ हुन्छ। स्थानीय रोजगारको ढोका खोल्छ। साइकल बिक्री, मर्मत गर्ने र भाडामा लगाउने पसल खुल्छन्। हरेक पर्यटकीय स्थलमा व्यवसायिक गतिविधि बढ्छन्।

पर्यावरणीय सन्तुलनको सचेतनामा अभिवृद्धि हुन्छ।

साइकल एक, लाभ अनेक छ। त्यसैले सुर्खेतमा साइकल संस्कृति बढाउनु जरुरी छ। यसका लागि तत्कालीन र दीर्घकालीन रणनीति बनाएर काम गर्नुपर्छ।

हाल सुर्खेतमा वीरेन्द्रनगर नगरपालिकाले स्तरोन्नती गरिहेका भित्री सडकमा दुवैतर्फ फुटपाथ र साइकल लेन बनाउन सकिन्छ। कतिपय ठाउँमा बाटो खन्ने र चौडा पार्ने क्रम चलिरहेकोले यति काम बेलैमा गर्न सकिन्छ।

रत्नराजमार्गको सुब्बाकुनादेखि बांगेसिमलसम्मको खण्डले सम्पूर्ण सुर्खेत उपत्यकालाई बीचबाट काटेर गएको छ। यो खण्डको स्तरोन्नती धमाधम चलिरहेको छ। संघीय सरकारको योजना भए पनि तत्काल नगरपालिकाले पहलकदमी सुरु गरी दुवैतिर साइकल लेन व्यवस्था गर्न सके दूरगामी महत्व राख्नेछ।

यसैगरी उपत्यका वरिपरिका डाँडा र फेदीहरूमा अवस्थित गाउँबस्ती जोड्ने गोरेटाहरू समेटेर साइकल रुट बनाउन सकिन्छ। रिङरोड भनेजस्तै यो एउटा रिङरुट बन्नेछ। यो सुर्खेत कोरा साइक्लिङ गर्न उपयुक्त रुट हुन्छ।

सुर्खेतका कार्यालय, प्रमुख व्यापारिक भवन, अस्पताल लगायतमा साइकल पार्किङ सुविधा तयार पार्ने र सूचना जारी गर्न सकिन्छ। कर्मचारी र प्रतिनिधिलाई कामकाजमा साइकल चलाउन प्रोत्साहित गर्ने। साइकल सम्बन्धी नियमित गतिविधि सञ्चालन गर्ने। युवाहरू परिचालन गरी साइकल प्रवर्द्धन गर्न रोल मोडल बनाउने। राइडहरू आयोजना गर्ने। सामाजिक सञ्जालहरू प्रयोगरी आकर्षण थप्ने। निजी क्षेत्र जस्तै होटल, बैंक, स्कुल लगायतलाई यस्ता गतिविधि सञ्चालन र सहयोग गर्न आह्वान गर्ने। यति गरे साइकल संस्कार विस्तारै हुर्किँदै जानेमा शंका छैन।

गत वर्ष पञ्चपुरी नगरपालिकाले इलाका प्रहरी चौकी बावियाचौरलाई पाँचवटा साइकल दिएर 'साइकल गस्ती' सुरूआत गरेको थियो। त्यस्तै सिम्ता गाउँपालिकाले भारतको ताजमहल, नेपालको लुम्बिनी हुँदे सुर्खेतसम्म साइकल यात्रा गरी पर्यटकीयस्थल चिनाउन प्रयास गर्ने बालकृष्ण शाहीलाई सम्मान गरेको थियो। वीरेन्द्रनगर नगरपालिकाले चर्चित कलाकार प्रेमदेव गिरीलाई साइकल प्रयोग गरेकामा सम्मान गरेको थियो।

यी प्रयासले अरूलाई उत्प्रेणा दिन्छन् र सकारात्मक सन्देश प्रवाह गर्छन्। यस्ता सराहनीय प्रयास अन्त पनि लागू गर्न सकिन्छ।

दीर्घकालीन रणनीतिका रुपमा नीतिगत आधार तयार गर्न सकिन्छ।

जस्तै, हरेक संरचना निर्माण साइकलमैत्री हुनपर्ने मापदण्ड तयार गर्ने। नगरभित्र बन्ने हरेक सडकमा साइकल लेन अनिवार्य गर्ने। साइकल सम्बन्धी व्यवसायलाई करमा सहुलियत व्यवस्था गर्ने। नगरको शान स्वरुप बर्सेनी बृहत साइक्लिङ गतिविधि आयोजना गर्ने। यसका लागि नगरस्तरीय कमिटी स्थापना गर्ने।

यति गर्नसके सुर्खेत एक आधुनिक पर्यावरणमैत्री सुन्दर नगरका रुपमा परिचित हुनेछ। युरोपतिरका कतिपय आधुनिक सहरले अचेल गल्ती सच्च्याउँदै छन्। मोटरबाटोले निलेका बाटा पैदल र साइकलयात्रीलाई फर्काउँदै छन्। हामी उनीहरूको भोगाइ र सिकाइबाट फाइदा लिन सक्छौं। अहिल्यैदेखि सडक जोगाएर राख्न सक्छौं।

यही जेठ २० गते सोमबार (जुन ३ तारिख) राष्ट्र्संघले गत वर्ष मात्र घोषणा गरेको दोस्रो विश्व साइकल दिवस पर्छ। यो अवसर मध्यनजर गरी सम्बन्धित निकाय र सरोकारवालाले सुर्खेतलाई 'साइकल सहर' बनाई दीर्घकालीन रुपमा बसोबासका लागि उत्कृष्ट ठाउँ बनाउनेतर्फ सार्थक प्रयास सुरूआत गर्न सक्छन्।

सेतोपटीमा प्रकाशित मिति: शनिबार, जेठ ४, २०७६, ०२:४५:००
https://www.setopati.com/opinion/180555