Showing posts with label Trekking. Show all posts
Showing posts with label Trekking. Show all posts

Friday, April 6, 2018

एक अन्जुली पानी राराको


एक अन्जुली पानी राराको

शान्त, सुरम्य जलराशी
म व्याकुल तिर्खाएको यात्री
पीडा, दुखः बिर्सदै -
खुशी/हर्षको पहाड उक्लदै
भर्न पुग्छु - एक अन्जुली पानी राराको !

एक अन्जुली पानी
शान्त तलाउ भित्रको
हजारौं मनोरम आकृतिहरु बिगार्दै
छाल/तरङ्गका तरेलीहरु
पर.… पsर तालको गर्भ भित्र छिर्छन् ।

अन्जुली भित्रको पानी
हजारौं सुर्य खसाल्दै टल्कदै
इन्द्रेणीको लिस्नोबाट ओर्लन्छन्
तरङ्गहरु फेरी जिस्किन्छन्
दगुर्छन्… बिलाउन्छन् …अलापिन्छन् ।

अन्जुलीमा अडेको पानी
कन्चन… निर्मल…स्वच्छ पानी
म आफ्नो आकृतिको प्रतिविम्व भेटछुँ
मुस्काउँन्छु, प्राकृतिक ऐना देखी
पहाड। खोला। भीर।  खोंच
अनि भोक प्यास बिर्सेको मुहार ।

म हराउछुँ   अन्जुलीको पानीसंगै
एउटा स्वर्णिम स्वर्गीय आनन्दमा
हिमाल र गुराँस
पछाडीबाट अँगालो मर्छन्
हर्षबिभोर भएको म
अमृतको घडा सम्झेर निल्छुँ
एक अन्जुली पानी राराको !

(रचना मिति २०५५  बैसाख १६ गते, रारा)


     

Thursday, March 29, 2018

महाबु लाग्ना: बिर्सिईन लागेको बाटोको यात्रा - २


नाउली (२७०० मि) पुग्दा झम्मक्कै रात पर्यो  । ठाडो उकालो र ढुङ्गैढुंगाको बाटो उक्लेपछि फलेक छाएको दुइतले झुपडी होटल आयो ।  साहुनी बुढीमान्छे, तिनकी छोरी र नाती थिए ।  म सँगैका साथीहरुले चिनेका नातेदार पर्ने रहेछन् । त्यहाँ यौटा भेड़ीगोठाला पनि  भेटिए - सापुल्ली जुम्लाका बीरबहादुर रावत ।  बिगत १२ बर्षदेखि उनि आफ्ना भेडासंग यतै बन चरनमा हिडिरहँदा रहेछन् । आज उनकी छोरी भेडीगोठमा एक्लै रहिछन् । बेलाबेला स्काईफोन नेटवर्कको मोबाइलमा कुरो गरिरहेका हुन्थे ।  रावतजी बातैपिच्छे यति टुक्का जोड्थे कि बुझ्न हम्मे परेपनि सुन्न भने निकै रमाइलो लाग्थ्यो । लोकल रक्सि र आलुको तरकारीसंग उनीहरु गफिंदै गए । म छेउको पेटीमा पल्टिएर गफ सुन्दै बसें । उनीहरुका जीवनका अनेक आरोहअबरोहका कथाहरु सुनिए । ती बातचित समेटेको छुट्टै कथा ब्लग लेख्न पर्ला ।
            
सामान्य दालभात र आलुको तरकारी सहितको खाना अति मीठो, थपिथपि खाईयो । सुत्नलाई छेउकै अर्को झुपडीमा गयौं । चिसोचिसो कोठामा त्यहाँ ४ बेड थिए । दुइटा जोडीहरुलाई  दुइटा बेड, म र अर्को केटो एउटामा र बीरबहादुर बड्डा अर्कोमा सुत्यौं । गफ निरन्तर थियो । ब्ल्याङ्केट भित्रबाट कुरा गरिरहेको सुनिन्थ्यो।  म कतिबजे निदाएँ पत्तै भएन।  ब्युँझिदा त छ्याङ्ग उज्यालो भैसकेको थियो। उता चुलोमा बलेको मुढो निभेकै थिएन।  पानी तातिसकेको र सादा चिया पाकिसकेको थियो।  हामी तयार भएर यात्रामा अघिबढ्यौं । एकैछिनमा फेरी कुहिरोले ढाक्यो । फाट्टफुट्ट खुलेकोबेला माथी आकास भने निलो देखिन्थ्यो। अघाडी उत्तरतर्फ माहबु देखियो। ठडिएको।  त्यो पार गर्नु छ।

हामी महाबु लेकको फेद उनपाटा (३१०० मि) पुग्दा यौटा पसल भेटियो - राजबहादुर सिंहको । बाटोमा उनकोबारे  निकै सुनेको थिएँ।  दैलेख बजारमा भेटेका पत्रकार भुपेन्द्र शाहीले राजबहादुर र उनकी छोरीको नम्बर दिएका थिए।  बाटोमा संगै हिडेका जयबहादुरले पनि भनेका थिए । महाबु लेक पुग्नु अघि भेटिने यहि यौटामात्र अन्तिम पसल रहेछ । सिंहजी कतै गाउँतिर गएका रैछन ।  छोरीको बिहे भैसकेछ।  अहिले  पसलमा उनका ज्वाईं थिए ।  उनले पानी र  च्या/बिस्कुट खुवाए ।  १२-१५ होटल/पसल भएको यो ठाउँ बिगतमा निकै चल्ने बजार रहेछ तर जुम्लीहरुले हिड्न छोडेपछि भने स्वात्तै सुकेछ। यता बाटोकाट्ने काम हुँदा बीचमा केहिसमय चलेछ पनि । त्यस्तै माहाबु मेलाको बेला पनि केहिदिन अस्थाईरुपमा केही पसल खुल्ने रहेछन् । बाँकी समय खण्डहर झैं सुनसान देखिन्छ।  अचेल फाट्टफुट्ट आउने बटुवाको सेवा यै पसलले दिएको छ ।  'मान्छे यै पसल भेटिन्छ भन्ने आशले हिडेका हुन्छन्।  छोड्न नि नसकिने ।  चलाइरहेका छौं ।  यो रोड बाटो खुले त दिन फर्किन्थे कि ?' ति ज्वाईंले बाध्यता र आभिलाषा  एकैचोटी सुनाए। 'हामीले पनि त्यै खोजेको, एकदिन त बन्ला नि !" हाम्रो टिमको कसैले भन्यो । मेरा साथीहरु यो लेकको ठ्याक्कै अर्को पट्टीपर्ने डिल्लिकोट गाउँका हुन् ।  उनीहरुलाई नजिकको राजमार्ग भेट्न उल्टोबाटो हिड्नु पर्ने भएकोले यो बाटोले  उनिहरुमा पनि दिन फर्किने आशा थियो ।  हामी दिउँसोको खाना खानलाई त्यै डिल्लिकोट गाउँ पुग्ने गरी माहाबु लाग्ना काट्न लाग्यौं ।

'रोड'को बाटो कुहिरोले ढाकेको थियो ।  त्योबाटो  हुँदै काँध पुग्न केही घण्टा लाग्ने रहेछ । पहिला खच्चड र भेडा हाँक्ने बाटो पनि यहि हो । तर हामी भरिया हिड्ने परिचित छोटो बाटो उक्लियौं । भीर र पखेरोको चट्टान उक्लिने बाटो खासमा बाटोजस्तो थिएन । कतैकतै ठूला लाम्चा ढुंगा अड्याएर पाइला टेक्ने ठाउँ बनाएको थियो।  ति ढुंगाका काप र चराहरुबाट घाँस उम्रेर त्यै गोरेटो पनि ढाकिएको थियो । त्यसैले लाग्थ्यो कि यो बाटोमा अचेल मान्छे त्यति हिंड्दैनन् । अघाडी बढिसकेपछि पछाडी फर्किनै मुस्किल हुने ।  आफ्नै झोला र लठ्ठी कतै अल्झेर, ठोकिएर चिप्लिएला जस्तो ।  भीरको बाटो तल हेर्यो पुरै रिङ्गटा लाग्ने, माथी हेर्दा झन् 'क्याप' टोपी खस्ने । घाँसका त्यान्द्रा समातेर वा ढुङ्गाका चुच्चा पक्रिदै  ६०-७० डिग्री स्लोप उक्लिन पर्ने । 'रक क्लाईम्बिङ्ग' गरेको जस्तो लाग्ने । श्वास र मुटुको गति दौडीरहने, पसिना बगिरहने। लेकको टुप्पो हेर्दा नजिकै देखिन्थ्यो तर २-३ ठाउँ आराम गर्नु पर्यो । त्यहिबेला माथी आकासमा प्लेन देखें  ।  सायद त्यो जुम्लाबाट नेपलागंज उडेको थियो । एकछिन् त्यो हेर्दै हवाईयात्राको आनन्दानुभुति कल्पना गरें।  ती मेरा साथीहरुले कुनै गुनासो बिनै उकालो काटे र  मैले पनि पछ्याएँ । केही संघर्ष पछि हामी महाबु (३४५० मिटर) पुग्यौं ।

माहाबुको काँधमा दाहिनेतिरको चट्टाने पखेरो मुनि 'सिमेन्ट'ले बनेको धरमशाला थियो । देब्रेतिर घाँसीलो डाँडामा घोडाघोडी चरिरहेका थिए । उत्तरतिर कालिकोटका केही बस्तीहरु, पर क्षितिज तिर जुम्ला, मुगु  र हुम्लातिरका डाँडा देखिए । एकधर्को हिमाचुचुरा देखिए ।  त्यसभन्दा पर तिब्बत पर्छ सायद । काँधबाट झर्दैगर्दा पानीका मुहानहरु देखिए ।  भर्खर खनेको ढुङ्गैढुङ्गाको बाटो केही तलपुग्दा 'महादेव' को थान भेटियो । साउनभदौ तिर ठूलो मेला लाग्छ रे । हामीले पनि दर्शन गर्यौं । नाङ्गो घाँसे डाँडा सकिए पछि आउने खर्सु लगायत उच्च भेगमा हुने बनस्पतिको जङ्गल, खोल्साखाल्सी हुँदै लसुनढुङ्गा पुग्न एकघण्टा जति लाग्यो । जङ्गलले घेरिएको  सुन्दर घाँसे फाँट लसुनढुङ्गामा गाइबस्तुहरु रमाएर चरिरहेका थिए। बीचतिर केही गोठ यौटा भत्केको गेट थियो।  गेटकै तल यौटा घेरबार गरेको झुपडीमा यौटी सानीकेटी र बाख्राको पाठा उफ्रिरहेका देखिन्थे। फाँट सकेर गाउँ झर्ने ओरालोको छेउमै पसल भेटियो । बाटैमा बसेका केही महिला र काठको पेटीमा बसेका पुरुषहरु गफिंदै थिए। मेरा सहयात्रीहरुको ढोगभेट चल्यो र हालचाल सुन्न सुनाउन थाले।  मैले पानी र चिया खाएँ। भोक लागेको थियो तर मलाई त्यहाँ 'खाना' खान दिएनन्।  शाहीजीले गाउँ पुगेर आफ्नै  घरमा खानुपर्छ भनिसकेका थिए ।  केहि मिनेट ओरालो झरेपछि गाउँ देखियो ।  खेतका तरेलीहरु, थुम्का र फाँटमा कतै छरिएका, कतै जोडिएका काठ र ढुंगाले छाएका घरहरु, मकैका बारी र आसपास घना जङ्गल - डिल्लीकोट गाउँ निकै सुन्दर देखिन्थ्यो ।


गाउँको बीचतिर शाहीजीको घर रहेछ ।  उनकी आमा, ससाना केटाकेटी, र अरु गाउँले महिलाहरु कुरा गरिरहेका थिए । म पेटीमा बसेर आराम गर्न लागें । उनको सानोछोराले मकै भाँचेर ल्यायो।  बाहिरै चुलो थियो, उनकी श्रीमतीले पोलिदिईन। अघि बाटोमा मैले मकैको चर्चा गरेको थिएँ।  त्यै सम्झेर पोल्न बसेको रे ।  ठुल्ठुला दुई घोगा खाइ नसक्दै केहीबेरमा रोटी तरकारी ल्याइदिईन। फटाफट त्यो खाएर हिड्ने तरखर गर्दै थिएँ उनले भनिन् 'खाना पाक्दैछ, एक्कैछिन है ।' मैले कुरोको प्रसंग नबुझेको जस्तो ठानेर तल बारीबाट शाहीजी ले थपे  'घरमै आएका मान्छे, खाना नखाई त जानु भएन । भात पाक्दै छ।' मतलब त्यो २ घोगा पोलेको मकै, तिनवटा रोटी  र दुई बटुको तरकारी खाइ सकेर पनि अब भात नखाई हिड्न नपाउने भएँ  म । अघि हामी  यहाँ पुगेको केहीबेरमा घरकी बुढीआमा रोईरहेको देखेको थिएँ तर किन भन्ने बुझ्न सकेको थिईन । अहिले गाउँकी यौटी महिला आएर सोधपुछ गरिरहेको सुन्दा थाहा पाएँ कि उनकी बुहारी, अर्थात शाहीजी कि श्रीमती जो हामी संगै हिंडेर आएका थियौं, बिरामी भएर दैलेख बजार गएकी रहिछन् र उतै उनको गर्भ तुहिएछ ।  त्यत्रो बाटो  हामी संगै हिंड्दा उनी सहयोगी, फरासिली, छरिती थिइन् । हामीसबै भन्दा चाँडो हिडिरहेकी हुन्थिन् । कतैपनि त्यो  पीडा बोकेर  हिंडेको भेउ नै पाइनँ ।

'खाना' खाएर उनीहरुसँग छुट्टीदा तीन बजिसकेको थियो । शाहीजीको श्रीमतीले बाटोमा खानु भन्दै दुईकोशा पोलेको मकै झोलामा हालिदिईन। म ओरालो झरेर खेतैखेतको बाटो खोल्सो तरेर पारीपट्टी पाखाको बाटो काम्खेत गाउँहुँदै अघिबढें । यो गाउँमा एउटा बिहे रहेछ । सहनाई र दमाहाको  बाजाले डाँडाकाँडा गुञ्जिरहेको थियो ।  हुड्के नाच हेर्न भनि परपर गाउँका मान्छेहरु आइरहेका भेटिए । मलाई पनि रंग हेर्न यतै बसुँ भन्थे तर सकिनँ।  हिडें । ओदाँ गाउँको मुनिपट्टीबाट झोलुङ्गेपुल तरेर पादमघाट (१,५२० मिटर) पुग्दा साढेचार बज्यो ।  चिल्खाया पुग्न अब एक डेढ घण्टाको उकालो छ रे ।  चिया र पानी खान बसें।  नजिकै सानी नानीहरु गीत बजाएर नाच्न थाले । त्यो देखेर मलाई रमाइलो र आनन्द लाग्यो।  तिनीहरुलाई अघि शाहीजीको घरबाट बोकेको मकै दिएँ र  थप नाच्नअनुरोध गरें । उनीहरु निकै सुन्दर नाचे र  मैले भिडियो खिचें ।

अबको बाटो संगै जाने कोही साथी भेटिन्छ कि भनि पर्खेको तर कोही भेटिएन । एक्लै उकालो लागें । केहीबेर मै अध्यारो हुन लाग्यो । माथी डाँडातिर घाँस काटेर फर्किंदै गरेका महिलाहरु देखिए तर तिनीहरुलाई मैले भेट्नै  सकिनँ । कतमपुर गाउँ नपुग्दै झमक्कै भयो । खेतको आली र कुलो मिसिएको बाटो निकै चिप्लो थियो । जुत्ता हिलोमा गढेर भिजिसक्यो ।  मोबाईलको टर्चले नजिक त देखिन्थ्यो तर हिड्ने बाटो चै अनुमानको भरले अघाडी बढ्नुपर्थ्यो । संघर्षमय डेढघण्टा पछि यौटा पसल भेटें ।  पानी मागें ।  साउजीले पानीसंगै काँक्रो पनि ल्याएर दिए र अनि सोधे  'काँ जाने?'  मैले 'चिल्खाया' भनें।  'यतिबेला? अबेर भैसक्यो त। यतै बस्नुस' उनले सुझाव दिए।  भित्र केहि मान्छेहरु थिए।  गफ गर्दै थिए या रक्सि खाँदै वा दुवै।  मलाई यता बस्नु थिएन।  'साथीहरु अघाडी गैसके' भनें । 'ख्वै कुनबेला गएछन् , हामीले त देखेनौं ।' उनले मेरो कुरो पक्रे ।  तर म पानी खाने निहुँ गरी चुप बसें र हिड्ने तरखर गरें।  'पर्खनुस! बाटो चिप्लो, अफ्ठ्यारो छ, फेरी राती डर पनि हुन्छ।  हाम्रा केटाहरुले पुर्याइदिन्छन' भनेर ३ जना केटाहरुलाई मेरो साथ लगाईदिए । मनमा केही तर्कना लिंदै उनीहरुको साथ लागेर हिंडे ।  उनीहरुले बोकेको टर्चले बाटो झन् उज्यालो र सजिलो भयो।  गफ गर्दैगर्दै केहीबेरमा ठिन्के (२१३० मिटर) पुग्यौं।  उनीहरु फर्किए।  म त्यतै पसलतिर भेटिएका यौटा मान्छेको साथ लागेर पर गाउँमा इन्द्रराज दाईको घरमा बास बस्न पुगेँ ।

भोलिपल्ट दिउँसोतिर चंद्रप्रकाशभाई र म गाउँको पूर्वउत्तरतर्फबाट जंगलको ठाडो ओरालो बाटो हुँदै तिलानदीको झोलुङ्गे पुल तरेर पारीपट्टी 'बाली' भन्ने ठाउँ पुग्यौं।  यो कर्णाली राजमार्ग हो । केहीबेरमा बस भेटियो र म जुम्ला तिर लागें।  मेरो पूर्ववत् योजना अनुसार फूलपातीको दिन घर पुगें। यात्राको गज्जब अनुभव सहित।

नोट: यो ब्लगमा प्रयोग गरिएको समुन्द्र सतहबाटको उचाई मोबाईलले रेकर्ड गरिएको हो । 

यात्राको भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोस: https://www.youtube.com/watch?v=3UZcoDiKOb4यसको पहिलो अंक (यात्रा - १) पढ्न यता क्लिक गर्नुहोस्।  http://madhavjee.blogspot.sg/2018/03/blog-post_23.html



---समाप्त----

Sunday, October 30, 2016

चुचेमाराको बाटो रारा पुग्दा: यौटा यात्राब्लग

यो यात्रा ब्लग जुम्लाबाट रारा भ्रमण गर्दाको व्यक्तिगत अनुभव हो ।

जुम्लाको होटलमा 
अक्टोबर १३, २०१६ (दशैंको पर्सिपल्ट): म नवमीदेखि जुम्लामै थिएँ।  तीनजना साथीहरु काठमान्डौबाट जुम्ला (२३७० मिटर) आईपुगे रारा पुग्ने लक्ष लिएर। दीपकदाई काठमाडौँबाट नेपालगंज प्लेन रअर्कोदिन जुम्ला जिपमा तथा डा. किसु र पुजाजी सिधै काठमाडौँ-नेपालगंज-जुम्ला उहि दिन प्लेनमा पुगे । र भर्खरै खुलेको रोयल गार्डेन लजमा बसे । सन्तोष र उर्मिलाले चलाएको सानो होटलमा राम्रो सुबिधा छ। भानुजी भेटिनु भयो।  किसुको नाता पनि पर्ने रहेछ। यात्राबारे निकै सल्लाह र आइडिया दिनुभयो। साथीहरु भोली एकदिन जुम्लामै डुल्ने र १५ तारिखमा रारा प्रस्थान गर्ने योजना बन्यो ।  खलङ्गा बजार, चन्दननाथ मन्दिर, लाईज्युलो हुँदै तिलानदीको झोलुङ्गे पुल आसपास घुमघाम गरे।


लाम्राको खेतमा 
अक्टोबर १४, २०१६:  दीपकदाईको घुघुती घुम्ने चाहना थियो किनकी २०४५-४६ सालताका पहिलो जागिरको सिलसिलामा कर्णाली प्राबिधिक शिक्षालय (केटीएस) बस्नु भएको रहेछ। म पनि २०५० ताका तेतै पढेको हुँ तर धेरैबर्षदेखि गएको थिइनँ । हामी बिहान हिंडेर गयौं । साथीहरुलाई ब्यागप्याक बोकेर ट्रेकको वास्तविक अभ्यास हुने भयो।  खलङ्गा बजार-भरतिवाडा-अस्पताल-खोलिकोट जुगाडखोलाको तिरैतिर उत्तरतर्फ माथी चेरेचौर र डाँफेलेक जानेबाटो उकालोमा घुघुती (२४१० मिटर) पर्छ ।  केटिएस त दशैको छुट्टीले बन्द थियो तर हिरा शाही सर र परिवारले मिठो खाना खुवाउनु भयो। कुमाई सर पनि भेटिनु भयो । पुराना कुरा गर्यौं।  सम्झियौं । केटिएस त निकै परिवर्तन भएछ । अर्थात, बिग्रिएछ । मनै नरमाइलो हुनेगरी । व्यवस्थापकीय कमजोरी प्रष्ट थियो । हामी त्यहाँबाट  फर्किंदा २ बज्यो । ब्याकप्याक सहितको हिडाईले के साथीहरुलाई भोली राराजाँदा के कति बोक्ने अन्दाज गर्न सहयोग भयो ।

ल्हुम्सेराको काठेसाँघु 
बेलुकापख होटलमा झोला राखेर बाईकमा तातापानी तिर गयौं । पश्चिमतिर ३० मिनेट जतिको बाटो,  १६ किमिटाढा  तिलानदीको बग्ने तिर । ८ किमि बाटोमा लाम्रागाउँ, अर्थात मेरो गाउँ ।  धान काट्नेबेला भएकोले सबै ज्यूला (खेत)तिर थिए ।  केहीबेर त्यहाँ बस्यौं।  स्याउ र काँक्रो खायौ र हिड्यौं । यता जयलक्ष्मी पनि थपिई । सबैले तातापानीमा नुहायौं ।  सल्फरयुक्त बाफिलो तातो पानीले नुहाए छालारोग लगयत हाडजोर्नीको बिरामी  निकोहुने बिश्वाश गरिन्छ । मानिसहरु टाढाटाढाबाट नुहाउन आउँछन् ।  जाजरकोटबाट ३ दिन हिडेर आएका महिलाहरु पानीमा आहाल बसिरहेकाभेट्यौं । हामीले नुहाइ सकेर तेजेन्द्रभाईको रेस्टुरेन्टमा कफी र तिलानदीको असला माछा खायौं । खलङ्गा बजार फर्किदा करिब ८ बज्यो । भानुजीले घरमा खान बोलाएका थिए। त्यहाँ कराओके मसिन रहेछ । जुम्लामा यो देखेर दङ्ग परियो ।  गणेशजी, टासीजी, सन्तोषजीपनि हुनुहुन्थ्यो । हामीले केही गीत गयौं ।  र,  १०:३० तिर साथीहरु होटलतिर गए म घर फर्कें ।   


सिंजाको एक गाउँ 
अक्टोबर १५, २०१६: पुर्णिमाको दिन, पुजा सकेर म खलंगा पुगें ।  हामीले २ बजेतिर रारायात्रा थाल्यौं । जुम्ला बजारदेखि भुलभुलेसम्म पूर्णभाईको जिप लियौं । जुम्ला-नाग्मा-सिंजा-भुलभुले करिव ८० कमी छिचोल्न ७ घण्टा लाग्यो । नाग्मसम्म ३५ किमि तिलानदीको तिरैतिर पश्चिम कालोपत्रेबाटो मोडिएर दोभानबाट  हिमानदी पछ्याउदै ग्राभेलबाटो पूर्वोत्तरतिर सिंजा भ्याली प्रवेश गर्छ । धानका बाला झुलेको फाँटहरुको बीच बग्ने नदी र पाखामा फ़ैलिएका गाउँहरु निकै सुन्दर देखिन्थे ।

सिंजामा भेटेका बेहुला बेहुली संग 
सिंजा सँग अनेक संस्कृतिक, भाषिक र ऐतिहासिक महत्वहरु जोडिएका छन् । हामी पतारखोला, कलिकखेतु, बड्की हुँदै हिमानदी बायाँ अघाडी जाँदै गर्दा हाम्रो दाहिने खोलापारी डाँडाको मुनि मोफ्लागाउँ,केहि अघाडी बेलुकाको घामले नाराकोट र ज्युलो टल्किरहेको थियो ।  बाटोमा पण्डुगुफ़ा जान हिंडेका मान्छेहरुले लिफ्ट मागे । पिक-अप  गाडीको पछाडी खाली बस्ने ठाउँमा बस्ने ठाउँ थियो।  त्यतै बसे । तिनीहरुले नयाँ दुलाहा-दुलही लिएर आएका थिए । साथीहरुपनि उनीहरु सँगै बसेर गफिंदै यात्रा गर्न थाले । झर्ने बेला आफ्नो घर गएर प्रसस्तै स्याउ ल्याएर आइदिए र साथीहरु सबैलाई फूलको माला लागाई दिए ।   
गोठीज्यूला 

हाम्रो गाडी ६ बजे गुठिज्युला पास भयो।  गुठिज्यूला-बोता-भुलभुले खण्ड निकै डरलाग्दो भीर छ। त्यो कटेर बोतागाउँ नपुग्दै अँध्यारो भयो। अग्लो डाँडाबाट पुर्णिमाको भरिलो गोलो जून चम्किन थाल्यो । गाडीभित्र हामी एकनास गीत सुन्दै र भूतका कथाहरु भन्दै यात्रारत थियौं ।  भुलभुले पुगेर भीम भण्डारीको होटलमा बिश्राम लियौं । भानुजीले उनलाई पठाएको भिडियो मेसेज (रैबार) देखायौं । निकै सहयोगी थिए । खाना अघि चिया संग निकै मीठो आलु पोलेर दिए ।  मुगुजाने बसका कतिपय यात्रीहरु पनि यतै थिए । अधिकांश रारा जानेहरु नै थिए । 



चुचेमाराको बाटो 
अक्टोबर १६, २०१६: बाहिरको हल्लाले ब्युँझ्यौँ । हल्का जाडो थियो ।  हामीलाई छोड्न आएको गाडीको ड्राइभरले राती सायद रक्सीको सुरमा केहि गडबड गरेछ क्यारे उसमाथि केरकार भैरहेको थियो । केही छलफल गरेर समाधान गर्यौं र उ ट्रीप पाएर गमगढी हिड्यो । अरु यता बासबसेका यात्रुहरु हिडिसके ।  भण्डारी पनि सामान ल्याउन भनि गमगढी हिडेछ।  उसको पत्नीले हामीलाई चिया, नुनखुर्सानीको आचार र रोटी खान दिईन्।  र बाटोकोलागि २ किलो जति उसिनेको आलु पनि लैजान भनिन् ।  घाम उदाउदै थियो। १० मिनेट हिडेपछि आर्मी चेकपोस्ट आयो । नाम इन्ट्री गर्यौं । यताबाट दुइटा बाटो छ - घुर्चीको गाडीबाटो हुँदै झ्यारीबाट रारा पुग्ने वा चुचेमारा लेक हुँदै हिंडेरै राराको मिलिचौर झर्ने । हाम्रो योजना 'ट्रेकिंग' गर्ने थियो ।  हामी चुचेमारातिरको बाटो जान्छौं भन्दा इन्ट्रीगर्न बसेको आर्मीले  बाटो अफ्ठ्यारो छ, हराउन सक्छ भने ।  अचेल यो बाटो मान्छे उतिसारो हिड्दैनन ।  केहि समय पहिले काठमान्डूबाट आएको यौटा ग्रुप हराएर रेस्क्यु गर्नु परेको थियो रे । आर्मीको कुरा सुनेर साथीहरु हच्किए । तर, मेरो चाहना यै बाटो हुँदै रारा पुग्ने थियो । किनकी, यो बाटो केहि जटिल भएपनि दृश्यावली, उचाई, चुनौती, ट्रेकिंग अनुभव आदि हिसावले अरु यात्रुहरुको भन्दा फरक र अविस्मरणीय हुने रुट हो । खासै  हिड्ने अनुभव नभएका साथीहरु भएकोले बढीमा ७-८ घण्टा लाग्ने अनुमान गरेको थिएँ । भर्खर बिहानको ८ बजेको थियो।  ति आर्मीले 'पहिलो दोबाटो छोडी दोस्रोबाट दाहिने लाग्नु' भने । हामी अघाडी बढ्यौं ।  केहीबेरमा शौरभजीले हामीलाई भेटे। उनी हिजै नेपालगंजबाट प्लेनमा जुम्ला पुगेर  हामीलाई भेट्न बाईक लिएर हिडेका अध्यारो भएकोले गोठीज्यूला बसेछन् । अब ५ जना भयौं ।

निलो आकास, न्यानो घाम, खोल्सो तिरको घाँसेबाटो हुँदै अगाडी बढ्यौं।  केहीबेरमा दाँयातिर सानो डाँडो उक्लेर हेर्दा उSS पर एकटुक्रा रारा देखियो। हामी अब चांडै पुग्ने अभिलाषाले डाँडैडाँडा रुखहरु बीचको सानो धर्सो जस्तो बाटोको पछ्याउदै हिड्यौं । केहिबेरमा बाटो हरायो । अन्दाजले हिड्नु पर्यो । हाँगा समात्दै, काँडा  पन्छाउँदै, सुकेका पात टेक्दै त्यो जङ्गल र भीर छिचोलेर सहिबाटो भेट्न २ घण्टा लग्यो।  बल्ल थाहा पायौं कि हामी त्यो उत्तरपर्ने सानो डाँडो नचढी उत्तरपश्चिम तिर खोल्सैखोलसा आउनु पर्ने रहेछ।  हामी घुमिफिरी त्यहिँ पुग्यौँ । फर्किने कि भन्ने सोच पनि आयो।  तर त्यसो गरिएन।

उकालो चढाई सुरु भएको केहीबेरमा साथीहरु थाक्न सुरु भयो । हरेक पाइला बोझिलो हुन लागे ।  झोला झन् झन् गरुङ्गो हुन लग्यो ।  कसैले मन्द टाउको दुखेझैं महसुस गरे।  घाँटी सुक्न र ढुकढुक बढ्न थाले । हल्का लेक लाग्यो सायद।  पानी एक लिटर मैले बोकेकोमात्र थियो । थोरैथोरै गला भिजाउन काम लाग्यो ।  उसिनेको आलु सबैले मिठो मानीमानी खाए । जङ्गल सकियो, बुकी र अरु घाँसमात्र भएको नाङ्गो डाँडाको काखमा नागबेली धर्सापरेका बाटोमा पसिना चुहाउदै उक्लिन पर्ने।  सुस्त सुस्त बढेका साथीहरुका पाइला हौस्याउन हर प्रयास गरियो । दुइजनाको त झोला पनि आफैले बोकेर चुचेमारा उक्लियो । सिरसिर हावा त्यो 'टप'बाट छ्याङ्ग रारा देखियो । सुन्दर ! सबैको मन प्रफुल्ल भयो।  थाकन मेटिए झैं सबैको अनुहारमा चमक फर्कियो । आराम गर्यौं । फोटो खिच्यौं । र हिड्यौं ।            
अबको बाटो लेकको टुप्पो, डाँडाको धारमा हिड्नु पर्यो।  दायाँबायाँ दुबैतिर भिरालो, चिप्लो ढाँडिलो बाटो उकालो ओरालो गर्दै हिड्दै पश्चिमतर्फ रारातिर झर्ने ओरालोको दोबाटोसम्म आइपुद्गा घाम बुढ्न थालिसकेको थियो । दशघण्टा जति भयो कतै पानी भेटिएन। बाटोमा एकठाउँ भेडीगोठाला भेटेको उनीहरु संग पनि पानी थिएन । अब, ओरालो बाटो जङ्गल भित्र पस्यो । केही तल खोला भेटियो । चिष्ष्सो पानीले दिनभरको तिर्खा मेटायौँ। यहीं नेपाली सेनाको मेडिकल टिमका २ महिला र ४ जना अरु मान्छेहरुले हामिलाई भेटाए।  उनिहरु भुलभुलेबाट हामी भन्दा ६ घण्टा पछि २ बजे हिडेको भन्थे । अबको बाटो डेढ-दुई घण्टालाग्ने अनुमान लगाएर उनीहरु अघि बढे। हाम्रो यो गतिमा अझैं ४ घण्टा लाग्छ।  अध्यारोले पुरै ढाक्यो । माथी आकासमा जून थियो तर जंगलका रुख, भुइँका जराले अलमल्याई दिन्थे।  टर्च बाल्यौ र लस्करै ५ जान चुपचाप हिड्यौं ।  छेउछाउमा जंगली बराहाले खनेका माटाका डल्ला देखिन्थे।  सन्नाटामा हाम्रो पाइलाको आवाज एकनास आइरहेको थियो । बल्लबल्ल तालको छेउको चौरमा पुगेपनि सजिलो बाटो आयो तर तर सबैका खुट्टा थाकेर निकै गर्हुङ्गा भैसकेका थिए।  पारी बत्ति देखियो ।  हामी त्यहिँ पुग्नपर्ने  हो तर तालको  पश्चिमआधा भाग घुम्नु पर्छ। 

राति १०:१५ बजे हामी डाँफे होटल पुग्यौं।  भिडभाड थियो।  ठाउँ ठाउँ 'क्याम्प फ़ाएर' गरेर आगो ताप्दै गाउदै रमाइलो गरिरहेकाहरु थिए।  कोही टेन्टमा कोही कोठालिएर आराम गर्दै थिए।  'रुम छैन, टेन्टपनि सबै सकियो,,.माझघट्ट गए पाइएला।' गोपाल बम साउजीले कुनै सान्त्वना बिनै भने। माझघट्ट फर्किनु भनेको हामी आएको बाटो फिर्ता रारातालको तल्लो छेउबाट थप आधा घण्टाजति  हिड्नु पर्छ । साथीहरु भोक र थकानले चूर थिए त्यसमाथि बस्ने टुङ्गो नहुदा निराश देखिन थाले।  उनीहरुको बोलीमा चिढचिढापन प्रष्ट देखिन्थ्यो । ससानो बुफे लाईन थियो ।  'पहिला केहि खाउँ अनि विचार गरौंला' हामी पनि पस्यौं । खाईसकेर अरुलाई त्यतै छोडी दिपकदाई र म केहीपर आर्मीपोष्ट नजिकको 'भिलेज हेरिटेज'मा पुग्यौं।  त्यहाँ पनि तेस्तै प्याक।  आर्मी क्याम्पमा  सोध्यौं।  त्यता पनि ठाउँ छैन रे।  होटेलले उनीहरु संग भएका ठूला टेन्टहरु सापटी लिएर पनि अपुग भयो रे।  कति यात्रुहरु माझघट्ट गए।  हामीलाई पनि त्यै सुझाव दिए।  होटेल म्यानेजरलाई खोजें।  हाम्रो आजको लामो यात्राबारे बताएँ र कतै जन नसकिने कुरो भनें।  उनले आफैले प्रयोग गर्न राखेको २ जना अट्ने सानो टेन्ट दिने भए र बाँकीले होटलका स्टाफ सुत्ने ठाउँमा बस्न मिलाइदिने भए। सबै बन्द भैसकेको थियो तरपनि हाम्रोलागि फेरि 'क्याम्प फ़ाएर' बाल्ने, खुट्टा डुबाउने मनतातो नुनपानीको बाटा, पिउने कुरा लगायतको व्यवस्था गरिदिए । बिस्तारै साथीहरुको मुहार उजेलिन थाल्यो। तल रारातालमा प्रतिबिम्बित जून चम्कि रहेको थियो। छाल उर्लेको संगीत सुन्थियो।  जङ्गल सुसाइरहेको थियो। आगो ताप्दै, मैले बोकेको खसीको सुकुटी पोल्दै, गफ गर्दै गर्दा अरु यात्रीको समूह पनि जोडियो।  हाँस्दै ठट्टा गर्दै राति १२ बजायौँ किनकी शौरभजी आज जन्मदिन थियो ।

अक्टोबर १७, २०१६: बाहिरको कल्याङ्गमल्याङ्गले बिउँझिदा छर्लंग बिहान भैसेको थियो।  राराताल पुर्वको आकास रंगिन थियो।  तल आर्मीक्याम्पको अगाडी  चेकपोस्ट नजिक रयाफ्टिंग बोटको तरखर भैरहेको थियो।  तेतैतिर हिड्दै गएँ।  क्यामकोको मेजर पारस विक्रम शाह भेटें।  क्याम्पमा साइकल छ भन्ने कुरा भानुजीले सुनाउनु भएको थियो।  मेजरलाई 'म साइकल चलाउन रुचाउन्छुं।  के हामीलाई केहीबेर तपाईको क्याम्पको साइकल दिनुहुन्छ ?' भनेर सोधें।  उनले डिउटीवालासंग बुझेर १० वटा साइकलमध्ये ४ वटा चलाउने मिल्ने अवस्थाको भएको बताए । म फर्केर होटल आउँदा किसु र पुजा गाडीबाट झ्यारीको बाटो आएका यात्रीहरुलाई हाम्रो हिजोको यात्रा सुनाउँदै थिए । त्यहाँहुने अरु सबैको भन्दा पृथक यात्रा वृतान्त निकै रोचक थियो।

तिनजना साथीहरुले बिहान आराम गर्ने भनेपछि सौरभ  र म साइकल लिएर पारी मिलिचौरतिर गयौं । तालको छेउ, जंगलैजङ्गल भित्रको गोरेटो, रुखका जरा र ससाना ढुंगा भाको, सुकेका पात झरेको, कतैकतै छालको पानी बाटोमै आउला जस्तो, कतै काठे पुल (लाप्को) भएको सुन्दर बाटोको यात्रा रोमाञ्चक थियो।  रारा आउंदै गरेका र फर्किन लागेका यात्रुहरु धेरैले सोध्थे - 'साइकलमै आएको ?' फर्किने क्रममा हुनेलाई 'यो त्यै आर्मीक्याम्पको हो' भन्थ्यौं।  त आउन लागेकालाई केही नभनी कुद्थ्यौ । नत्र आर्मीसँग माग्न लाम लागे भने हामीले गाली खान पर्थ्यो।  मिलिचौर पुगेर तालको किनारै किनार चौरमा कुद्यौँ र बोट रोक्ने ठाउं केहीबेर आराम गर्यौं।  बोटमा फर्किनेहरु धेरैले साइकल मागेर ताल छेउमा पोज पोजको फोटो किच्दै रमाए। बाटोमा यौटा स्थानीय घोडचडी केटोसँग रेश गर्दै फर्कियौं । उ र उसको साथीले हामीसंग साइकल मागे सट्टामा उसको घोडा चढ्न दिए । हाम्रा अरु साथीहरु पनि आए।  बिहानीको फोटोसेसन भयो।


खाना खाएर रारा राराबाट बिदा भएर हिड्दा १ बजेको थियो । आज ताल्चा बस्ने। तालको पुर्वतिर जानु पर्छ। पुरानो रारागाउँको मुनिको बाटो गमगडीतिर नगई दाहिनेतर्फ तालको किनारै किनारा हिडे पछि तालको ठीक पूर्व पुगेर सानो उकालो काटेपछि डाँडाकोबाटो ओरालो दक्षिण तेस्रोबाटो सिधै ताल्चाको माथी चेकपोस्टमा पुग्छ। निकै फ्रेश र रमाइलो बाटो छ।  एकदम नेचर वाक गरेको अनुभूति हुन्छ। राराको छाल खुट्टामा चुम्न आउँछ।  ठाउँ ठाउँ फोटो नखिची सुख पाईन्न।  हामीले तेही गर्यौं।  हामी संगसंगै यौटा म्युजिक भिडियो बनाउने टोलीपनि हिडिरहेको थियो । सौरभ त्यै समूहकी यौटी केटीसँग गफिंदै अघि बढे । ताल्चाका होटलमा यात्रीको मारामार थियो । बल्लतल्ल फरकफरक घरमा दुइटा कोठा मिल्यो । फोनको नेटवर्कले काम नगरेर हामी भन्दा अघि आएको शौरभलाई खोज्न मान्छे होटलहोटल चाहार्न पर्यो । उनि पनि हाम्रोलागि होटेल खोजेर बसेका रहेछन् तर अध्यारो भएकोले बेलैमा भेट भएन ।  केहिबेर चुलोको छेउ बसेर गफगर्दै भात खायौं । केटीहरु  र सौरभको बीच 'महिला'को इस्सुमा जुहारी बहस भयो निकैबेर । दीपकदाई र म दर्शकभइ बस्यौं । तीनजनाले भोली प्लेनको टिकट मिले यतैबाट नेपालगंज जाने विचार गरे। म र शौरभजी भने जुम्ला फर्किने भयौं।

अक्टोबर १८, २०१६: बिहान उठेर बाहिर निस्कँदा जताततै मान्छेको भीड थियो।  सबैजना प्लेन टिकटकै कुरा गरिरहेका थिए। कोही तीनदिनदेखि पर्खेकाहरु पनि भेटिए । प्लेन आउने न आउनेबारे अनेक अड्कलबाजी सुनिए।  सबैले सोर्सफोर्सको नाउँमा चिने र भएजति मान्छे संग फोन गरिरहेका थिए।  फोनको नेटवर्क राम्रो नभएकोले पर चौरको एउटा ढुङ्गोमा चढेर कुरो गरिरहेका हुन्थे।  कसैले सही सूचना दिंदैन थियो।  सबै अलपत्र परेको महसुस गरिरहेका थिए।  केहीबेरमा घामलागे पछि गाडीको टिकट काट्ने समितिका केटाहरु नाग्म र सुर्खेतजाने गाडी गमगढीबाट छुट्न लग्यो रे।  हामीले पनि तिनजनाको नाग्मजाने टिकट काट्यौं र एअरपोर्टको रनवेबाट दक्षिण पश्चिमझरेर बाटोमा गाडी कुर्न पुग्यौं।  त्यहाँ धेरै अरु रारा घुमेर फर्किनेहरु भेटिए।  त्यो म्युजिक टोली पनि थियो।  निकै कुरेपछि यौटा गाडी आयो।  'त्यो अर्को गाडी बिग्रेको छ, आउने नआउने टुङ्गै हुन्न' भनि झुक्यायो । गैरजिम्मेवार गाडीहरु यात्रीको कुनै मतलव राख्दैनन् ।

भर्खरै बर्खाले ध्वस्त पारेको बुम्रमाडीचौर तिर जाने बाटो 
केहीबेरमा समितिको मान्छेले अर्को गाडी पक्का आउँछ भनेपछि म र शौरभजी अरु साथीहरुलाई त्यतै छोडेर हिड्यौं । ति साथीहरु त्यो साँझ नग्मा पुगेर बसेछन् । शौरभ र म भुलभुलेबाट उनले अस्ति छोडेको बाइक लिएर चौथा हुँदै बुम्रमडिचौर पुगेर बास बस्यौं।