Showing posts with label Wooden Cantilever Brides. Show all posts
Showing posts with label Wooden Cantilever Brides. Show all posts

Saturday, November 2, 2019

हजार वर्ष खडी, हजार वर्ष पडी, हजार वर्ष सडी


गत साता तिलानदी बढेर जुम्लाको लाम्रा र हाँकु जोड्ने काठेसाँघु भत्कियो। तीन दशक पहिले पुनर्निर्माण गरिएको यो साँघु जीर्ण थिएन। सामान्य मर्मत नहुँदा र थोरै होशियारी नअपनाएका कारण भत्कियो।

नदीमा उर्लेको भेलले निरन्तर दबाव दिँदा एकापट्टिको पर्खाल भत्कियो र साँघु अड्याइरहेका बलिया खम्बा लडेर बगे। नदीको दक्षिणतिरका गाउँसँग आउजाउ एकाएक टुट्यो। अनि बल्ल थाहा भयो, स्थानीय समुदाय र सरकारसँग पुलको विकल्पमा कुनै तयारी रहेनछ।

यही तिलानदीको जुम्लाखण्डमा पूर्व चौधबीसदेखि पश्चिम रारालिहीसम्म करिब एक दर्जन साँघु झोलुंगे वा अरू कंक्रिटका पुलले विस्थापित भइसके। वा, हुने तरखरमा छन्। तर यो हाँकुसाँघु सबभन्दा ठूलो, दुई खण्ड जोडिएको निकै बलियो पुल थियो। परापूर्वदेखि अनवरत चलिरहेको र कहिल्यै यसरी सम्पर्क विच्छेद अनुभव नभएर होला कसैले यसको विकल्प सोचेनन्। यस्तै विपद नभोगेका र नदेखेका पुस्तामा पूर्वतयारी सोच कमजोर हुन्छ सायद।

केही दिन अवरुद्ध भए पनि स्थानीयले साँघु सामान्य मर्मत गरेर काम चलाएका छन्। विकल्प उपलब्ध नहुन्जेल आवश्यक मर्मत गरी भरपर्दो अवस्थामा पुर्याउन लागि परेका छन्। पुल उपभोग गर्ने आसपास सबै गाउँका मिलेर काम गरिरहेका छन्। जंगलबाट भीमकाय रुख ढालेर, खुर्केर, ताछेर बनाएका बडेमानका काठ (स्थानीय भाषामा 'मैदान') तान्दै ल्याउने र बनाउने प्रक्रिया ज्यादै संवेदनशील, जटिल र केही जोखिमपूर्ण हुन्छ।

बाह्रै मास व्यस्त हुने स्थायी संरचना भएकाले निकै सुझबुझले काम गरिन्छ। अहिले नदी बढेको छ, असोज नभई पानी घट्दैन। त्यसैले नदीमा बलिया खम्बा गाड्न सकिन्न। जेनतेन 'मैदान' जोडेर मान्छे र जनावर आउजाउ गर्न मिल्ने कामचलाउ साँघु बन्नेछ।

पक्कीपुल आवश्यक भएकाले सरकारी योजनाको खोजीमा विभिन्न निकाय धाउने क्रम पनि सुरू भएको छ। अब गाडी चल्नसक्ने पुल चाहिएको छ। ढिलोचाँडो कुनै योजना आउने छ। कंक्रिट, फलाम र सिमेन्टको पुल पुरानो शैलीमा बन्ने छैन। काठेपुलप्रति मान्छेको चासो घट्नेछ। अनि, कर्णालीमा सामुदायिक सहकार्यमा बन्ने मौलिक शैलीको एउटा विशिष्ट नमूनाको अवसान हुनेछ।

कुनै विशेष यान्त्रिक वा आधुनिक पद्धति नअपनाई सम्पूर्णतः स्थानीय समुदायको श्रमदान र रैथाने सीप प्रयोग गरी बनाइने यस्ता साँघुको ऐतिहासिक, साँस्कृतिक र पर्यटकीय महत्व छ। यसबारे चर्चा र संरक्षण गरिनु आवश्यक छ।

कर्णालीका नदीहरूमा परापूर्वकालदेखि नै स्थानीय ज्ञान, प्रविधि र सीपबाट बन्ने काठेपुल मौलिक र विशिष्ट हुन्छन्। यस क्षेत्रमा बाह्रैमास बग्ने साना तथा मझौला नदी तर्न काठबाट बनेका साँघु बनाइएका हुन्थे। धेरै गाउँबस्ती जोड्ने स्थानमा विशेष खाले बलियो, टिकाउ र स्थायी प्रकृतिका साँघु पाइन्छन्। साँघु बनाउन सामान्यतया नदीले कटान गर्न नसक्ने, नदी साँघुरिएको स्थान छानिन्छ।

अन्त भन्दा जुम्लाका साँघु विशिष्ट र बलिया हुनुको कारण निर्माणमा प्रयोग गरिने देवदारको काठ हो। जुम्लाका जंगल र बस्तीमा देवदार पाइन्छ। तराई-पहाडमा वरपीपलको चौतारी भएझैं जुम्लामा देवदारमुनि चौतारो हुन्छ। देवदारलाई स्थानीय भाषामा 'द्यार' भनिन्छ। यसको काठ एकदमै बलियो, पानीले नकुहिने र कीरा नलाग्ने हुन्छ। देवदार अग्लो र लामो आयुको हुन्छ।

त्यसैले द्यारकाबारे स्थानीय भनाइ प्रचलित छ, 'हजार वर्ष खडी, हजार वर्ष पडी, हजार वर्ष सडी'। अर्थात् देवदार दीर्घजिवी हुन्छ।

देवदारको जंगल मासिएको छ। नयाँ रोपिएको छैन, भएकाको संरक्षण छैन। जुम्लाका दक्षिणी मोहोडा परेका डाँडा सुख्खा-नांगा देखिन्छन्। ती ठाउँमा पहिले देवदार र सल्लाको जंगल हुन्थ्यो। रुख काटिए, नयाँ रोपिएन। खुल्ला जमिनको चिस्यान सकियो, भूक्षय भयो, उर्वरता सकियो।


वन विनासको यो क्रम करिब सय वर्षअघिबाट सुरू भयो।

सन् १९३० दशकमा जुम्लाबाट देवदार काठको व्यापक चोरीपैठारी गरी भारत पुर्याइन्थ्यो। ब्रिटिस इष्टइन्डिया कम्पनीले उत्तर भारततिर रेल्वेसेवा विस्तार गर्दा बलियो काठ चाहियो। त्यसका लागि उच्च पहाडी क्षेत्रबाट समेत काठ आपूर्ति गरियो। त्यति बेला जुम्लाबाट देवदार काठ तिलानदीमा बगाएर कर्णाली हुँदै राजापुरको बाटो भारत पुग्थ्यो भनेर सन् १९६७ तिर जुम्लामा पन्ध्र महिना बसेर अध्ययन गरेका बेरी सी बिशपले आफ्नो किताबमा उल्लेख गरेका छन्।

नेपालमा देवदार कति छ, कहाँ-कहाँ र कुन प्रजाति पाइन्छ, यकिन छैन।

यसका प्रजातिमध्ये 'सेड्रस डियोडारा' अर्थात हिमालयन देवदार विशेषगरी अफगानिस्तान, पाकिस्तान, भारतको कश्मिर, हिमाञ्चल प्रदेश र पश्चिम नेपालको कर्णाली क्षेत्रमा पाइन्छ। पाकिस्तानले त देवदारलाई राष्ट्रिय रुखको दर्जा दिएको छ। यो समुद्र सतहको १५०० मिटरदेखि ३००० मिटरसम्म उचाइमा हुन्छ।

तर भारतको दार्जिलिङ, सिक्किम, अरुणाञ्चल र भुटानमा पनि यो प्रजातिको देवदार पाइन्छ। यसबाट नेपालकै पनि अन्य भागमा पाइने सम्भावना छ। तर सूचना पाइएको छैन। पश्चिम नेपालका उच्चपहाडी भेगमा देवदार जंगल छन्। संरक्षण र सम्वर्द्धन छैन। प्राकृतिकरूपमा बनिरहेका जंगल मानव गतिविधिका कारण नासिँदै छन्।

देवदार संकटमा छ। 'आइयुसिएन'ले यसलाई 'रेड लिस्ट'मा राखेको छ। यसबारे यथेष्ट अध्ययन-अनुसन्धान र अभिलेखको अभाव छ। अब स्थानीय सरकारको यसप्रति चासो बढाउन पर्छ।

देवदार बहुगुणी रुख हो। यसको काठबाट मूल्यवान सामग्री र फर्निचर बन्छन् भने प्रशोधन गरेर खोटो र तेलबाट पर्फ्यूम, स्प्रे, साबुन, औषधि बनाइन्छ। बोक्रा, पात, र फूलमा 'एन्टिफंगल' तत्व हुन्छ। यसको गन्ध स्थानीयहरूले कीरा, मुसा, सर्प भगाउन प्रयोग गर्छन्। यसको झोल पशुवस्तुको गोडामा घसेर कीरा भगाउने औषधिका रूपमा पनि प्रयोग हुन्छ।

देवदारसँग जोडिएका धार्मिक र आध्यात्मिक प्रसंग उत्तिकै रोचक छन्।

हिन्दुशास्त्रमा देवदारलाई पवित्र रुख वा काठ मानिन्छ। देवदार महादेवको प्रिय थियो। कामदेवले ध्यानभंग गर्दा महादेव देवदारकै रुखमुनि ध्यानमग्न थिए भन्ने विश्वास छ। ऋषिमुनिहरूले पनि महादेव उपासना गर्दा देवदारमुनि तपष्या गर्थे भनिन्छ।

मन्दिर छेउको देवदार पवित्र मानिन्छ। कर्णालीतिर प्रसिद्ध मष्टोको थान नजिक प्रायः देवदार भेटिन्छ। मष्टोलाई शिवको अंग मानिन्छ। थानमा सबभन्दा अग्लो रुख काटेर लिंगो ठड्याइन्छ। त्यो लिंगो सकेसम्म देवदारकै हुन्छ। देवदार नभेटिँदा झुलो वा सल्ला हालिन्छ।

देवदार संस्कृत 'देवदारू' बाट आएको नाम हो। 'देव' ‍भनेको देवता र 'दारू' भनेको काठ।

रावणले सीता हरण गरेर राखेको बाटिकामा होस् या पाण्डवहरूले विचरण गरेको जंगलमा, देवदारको चर्चा पाइन्छ।

बाल्मिकी रामायणको किस्किन्धाकाण्डको श्लोकमा सीता (वैदेही)लाई खोज्न जाने सेनालाई अर्ति दिँदै सुग्रीव भन्छन्ः

लोध्रा पद्मका खण्डेसु देवदारु बनेसुच।

रावाणय सह वैदेह्या मार्गितबव्या ततः ततः।

अर्थ- लोधरा र पद्मका रुख भएको र देवदारुको वन भएको ठाउँमा, रावणलाई सीता हित खोजिनु पर्छ।

पश्चिमतिर पनि यसलाई 'रुखहरूको राजा' भनिन्थ्यो। बाइबलमा ७७ चोटि लेबनानका देवदारबारे चर्चा छ। लेबनानको देवदार 'ईश्वर स्वयंले रोप्नुभएको' विश्वास गरिन्छ। देवदार पवित्रता, अनन्तता र शान्तिको प्रतीक मानिन्छ। लेबनानको राष्ट्रिय झण्डामै हरियो देवदार रूखको चिह्न छ। देवदार बचाउन लेबनानमा विशेष अभियान नै चलेको छ। 'क्रिसमस ट्री' पनि देवदारकै प्रजाति हो।

अब काठेपुल कै चर्चातिर फर्कौं।

पुल बनाउने विविध शैलीका आधारमा वर्गीकरण गर्दा काठेसाँघुलाई 'उडन कान्टिलिभर ब्रिज' अन्तर्गत राख्न सकिन्छ। यसप्रकारको पुलमा दाँयाबायाँका दुवै भुजामा बलिया खम्बामा भार बहन गर्ने बिम तेर्सो पारेर एकमाथि अर्काे पत्र राख्दै बीच वा केन्द्रतर्फ बढ्नेगरी मिलाएर राखिन्छ।

ती बिमले 'कान्टिलिभर' अर्थात् 'ब्राकेट' बिमको काम गर्छन्। त्यसमाथि हिँड्न मिल्नेगरी लामा-लामा मैदान मिलाएर राखिन्छ। छेउछेउमा उस्तै आकारका अरू मैदान जोडेर 'साइडबार' बनाइन्छ। त्यो सबै भार ती दुवै भुजामा राखिएका बिम र खम्बाले सन्तुलन गर्छन्।

काठेसाँघु संसारभर प्रचलनमा छन्। नेपालकै अन्य नदीमा पनि छन्। तर तिनमा साना र मसिना काठ, टुक्रा जोडेर वा केवल एक-दुई थान काठ मिलाएर नदी तर्न मिल्ने मात्र भेटिन्छन्। जुम्लामा पाइने परम्परागत र मौलिक शैलीका काठेसाँघु जस्ता अन्यत्र भेटिँदैन।

यो शैलीका पुलबारे अध्ययन र अनुसन्धान गरिएका जानकारी पनि भेटिँदैनन्। यद्यपी यस्तै आधुनिक पुल डिजाइनहरूको सर्वाधिकार भने विदेशतिर व्यक्तिगत नाउँमा दर्ता भइसकेको छ।

यस्ता पुल वा साँघु बनाउन धेरै स्रोतसाधन र जनशक्ति चाहिने हुनाले बाक्लो बस्तीमै बनाइएको पाइन्छ। पातला बस्ती आसपासका नदीमा सामान्य वा अस्थायी पुल हुन्छन्। हुम्लाकर्णाली, मुगुकर्णाली र भेरीकर्णाली जस्ता ठूला नदी तर्न भने सम्भव भएको ठाउँमा डुंगा, नाउ वा तुइन चलनमा थिए।

अचेल कैयौं पहाडी र हिमाली भेकमा झैं कर्णालीमा पनि झोलुंगे पुल विकासका सेतु बनेर भित्रिए। कैयो ठाउँमा ती पुलले टाढिएका बस्तीलाई निकट ल्याए, जनजीवन सहज गरे र परिवर्तकारी सिद्ध भए।

जुम्ला उपत्यकाको तिलानदी र सिंजा उपत्यकाको हिमनदीका कैयौं स्थानमा काठेसाँघु विस्थापित गर्दै बनेका झोलुंगे पुलले स्थानीय जनजीवनको आउजाउमा भने कुनै तात्विक भिन्नता ल्याएको छैन। न यात्राको दूरी र समय फरक परेको छ, न अरू सहजता थपेको। बरू त्यहाँको मौलिक शैली पूरै मासिएको छ।

झोलुंगे पुलको बाटोबाट गाईवस्तु तथा भेडाबाख्रा तार्न मुश्किल पर्छ। दिनदिनै जंगल आउजाउ भइरहने ठाउँमा त्यति प्रभावकारी छैन।

यो क्षेत्रमा सबभन्दा पहिले भेरी नदीमाथि जाजरकोटबाट चौरजहारी जोड्ने ठाउँमा फलाम र स्टिलको झोलुंगे पुल बनेको थियो। उहिले बाइसे राज्यकालको अन्तिम कालखण्डदेखि नै जाजरकोटको गोर्खाली राज्यसँग बिहेवारीको सम्बन्ध बनेको थियो। यसैक्रममा रणबहादुर शाहकी छोरी दुर्गाकुमारीको बिहे जाजरकोटे राजा दीपनारायण शाहसँग भयो। रानीले जाजरकोट बस्दा गलगाँड हुने, हावापानी नमिल्ने जस्ता समस्या उल्लेख गरी काठमाडौं पत्राचार गरेकाले उनलाई पाँच हेक्टर जग्गा विर्ता दिएर चौरजहारी बस्न मिल्ने गरियो। पछि जाजरकोटकी राजकुमारी बालकुमारीको बिहे चन्द्रशमशेरसँग भयो। उनैको पहलमा भेरीमाथि यो क्षेत्रकै पहिलो झोलुंगे पुल बन्यो।

झोलुंगे पुलभन्दा देवदारको मजबुत काठले बन्ने स्थानीय साँघु बढी टिकाउ हुन्छन्। फलामे पुल भत्केर, बांगिएर, खिया लागेर, नटबोल्ट हराएर, चोरिएर पटकपटक मर्मत गरिरहन परेको छ।

तल चित्रमा देखिएको हाँकुसाँघु पछिल्लो चोटि २०४६-४७ सालमा जिर्णोद्धार भएको थियो। ३० वर्षअघि मर्मत गर्दा प्रयोग भएका केही काठ त्यसअघि २०२६ सालको मर्मतक्रममा प्रयोग भएका थिए। २०२६ सालमा बाढीले धेरै साँघु नष्ट भए। त्यसमध्ये एक मुगु हुम्ला जोड्ने पुलको फोटो बेरी सि बिशपले आफ्नो पुस्तकमा राखेका छन्।

हामीलाई विकास अवश्य चाहिएको छ। मजबुत 'कनेक्टिभिटी' चाहिएको छ। बलिया पुलपुलेसा, बाह्रै महिना चल्ने दीर्घकालीन संरचना चाहिएको छ। तर हामीले यो बिर्सिन हुँदैन, विकासको भोकमा आफ्ना विशिष्ट पहिचान बोकेका मौलिकता हामीले मेटाउनु हुँदैन। कर्णालीका हरेक ठाउँ, वस्तु, परम्परा, शैली र विशेषता मूल्यवान् छन्।

साँघुहरू कर्णाली पर्यटनसँग जोडिएका छन्। 'प्रेमगीत' फिल्मको गीतमा 'भिजुअलाइज' भएपछि रारा जाने पर्यटकमाझ हिमा गाउँपालिकाको बाँझागायडको काठेसाँघु चर्चित फोटो 'स्पट' बनेको छ। त्यसैले परम्परागत शैलीका हरेक चीजको महत्व छ। कर्णालीका काठेसाँघु भविष्यका नागरिकले पनि देखून् भन्ने सोच्न आवश्यक छ। साँघु जोगाउन स्थानीय सरकारले सक्रिय पहल गर्न जरुरी छ।

आधुनिक मोटररोड जोड्ने पुल बनाउँदा काठेसाँघु मासेर नबनाउने नीति लिनुपर्छ। पूर्वजले आफ्नो परम्परागत अनुभव, ज्ञान र सीप प्रयोग गरी जुन ठाउँमा साँघु बनाएका छन्, ती स्थान र आसपासमा कंक्रिट संरचना नबनाऊँ। यसलाई प्राकृतिक अवस्थामै रहन दिऊँ।

यसरी नै देवदार संरक्षणको पहल आवश्यक छ। यसको महत्व र फाइदाबारे स्थानीयमा चर्चा र छलफल आवश्यक छ। अहिलेसम्म उम्रेका सबै रुख मानवीय प्रयासबिनै उपलब्ध भएका वरदान हुन्। अब निश्चित संरक्षित क्षेत्र बनाएर देवदार रोप्न सुरू गर्नुपर्छ। वन कार्यालयहरूले देवदारबारे अध्ययन-अनुसन्धान गरेको भए आममानिसले बुझ्ने भाषामा बाहिर ल्याउन जरूरी छ। व्यापारिक प्रयोजनमा देवदारलाई जोडेर यसको उत्पादन र प्रशोधनमा लगानी गर्न सके यसप्रति धेरैको रूचि बढ्नेछ।

कर्णालीका स्थानीय शिक्षा‍ सामग्रीमा यसबारे अध्ययनको विषय समेटिन सकियोस्।

कर्णालीका विद्यार्थीले कल्पना गरेर याद गर्नुपर्ने 'गुलमोहर' रुखबारे पढ्नुअघि आफ्नै जंगलमा पाइने 'रुखहरूको राजा' बारे ज्ञान पाऊन्।

https://www.setopati.com/opinion/187985
सेतोपाटीमा प्रकाशित मिति: आईतबार, भदौ १, २०७६, १८:१२:००