Showing posts with label Ramsar. Show all posts
Showing posts with label Ramsar. Show all posts

Friday, April 6, 2018

एक अन्जुली पानी राराको


एक अन्जुली पानी राराको

शान्त, सुरम्य जलराशी
म व्याकुल तिर्खाएको यात्री
पीडा, दुखः बिर्सदै -
खुशी/हर्षको पहाड उक्लदै
भर्न पुग्छु - एक अन्जुली पानी राराको !

एक अन्जुली पानी
शान्त तलाउ भित्रको
हजारौं मनोरम आकृतिहरु बिगार्दै
छाल/तरङ्गका तरेलीहरु
पर.… पsर तालको गर्भ भित्र छिर्छन् ।

अन्जुली भित्रको पानी
हजारौं सुर्य खसाल्दै टल्कदै
इन्द्रेणीको लिस्नोबाट ओर्लन्छन्
तरङ्गहरु फेरी जिस्किन्छन्
दगुर्छन्… बिलाउन्छन् …अलापिन्छन् ।

अन्जुलीमा अडेको पानी
कन्चन… निर्मल…स्वच्छ पानी
म आफ्नो आकृतिको प्रतिविम्व भेटछुँ
मुस्काउँन्छु, प्राकृतिक ऐना देखी
पहाड। खोला। भीर।  खोंच
अनि भोक प्यास बिर्सेको मुहार ।

म हराउछुँ   अन्जुलीको पानीसंगै
एउटा स्वर्णिम स्वर्गीय आनन्दमा
हिमाल र गुराँस
पछाडीबाट अँगालो मर्छन्
हर्षबिभोर भएको म
अमृतको घडा सम्झेर निल्छुँ
एक अन्जुली पानी राराको !

(रचना मिति २०५५  बैसाख १६ गते, रारा)