Showing posts with label Jumla to Rara. Show all posts
Showing posts with label Jumla to Rara. Show all posts

Tuesday, April 10, 2018

रारा-कर्णाली भ्रमण बर्ष र कर्णालीमा पर्यटन सम्भावनाको यथार्थ

कर्णाली प्रदेश सरकारले नयाँबर्ष २०७५ लाई रारा-कर्णाली भ्रमण बर्षको रुपमा मनाउने घोषणा गरे संगै यसले चर्चा बटुलेको छ । अढाई सय बर्षदेखि पिछडिएको अनुभव गरिरहेको कर्णालीको बैभव, आत्मविश्वास र सामर्थ्य फिर्ता ल्याउने माध्यमको रुपमा पर्यटन हुनसक्ने विकल्पको रुपमा हेरिएको छ। प्रदेशका यौटा मन्त्रीले भने अनुसार हाल कर्णालीमा बर्षेनी ५० हजार पर्यटक आउँछन् ।  यो रारा-कर्णाली भ्रमण वर्षमा त्यसलाई ५ लाख पुर्याउने लक्ष राखिएको छ । के यो सम्भव लक्ष हो?  यो महोत्सवबाट के अपेक्षा राख्ने?  अहिले हुने खर्चको उपलब्धि के होला? र सरकारको प्राथमिकता यै हो या अरु कुनै छन्? आउनुहोस! एकछिन् चर्चा गरौँ:

 के रारा चिनाई रहनु पर्ने ठाउँ हो? 

अकबरी सुनलाई कसी लाउनु पर्दैन । वास्तवमा 'रारा' आन्तरिक पर्यटकहरुको लागि चिनाई रहनु नपर्ने चर्चित गन्तव्य हो । विशेषगरी अचेल घुम्न रुचाउने युवापुस्ता माझ सोसियल मिडियाको प्रभावले रारा निकै आकर्षक ठाउँ मानिन्छ । घुम्ने निर्णय लिन एकअर्कासँग गरिने कुराकानीले बढी प्रभाव राख्दछ ।  राराको सुन्दरताबारे महेन्द्रको कविता पढेर वा अरुले सुनाएका कथामा रमाउनेहरुलाई गाडीको पहुँच संगै अब आफै छुने र महसुस गर्न सम्भव भैसक्यो । तर, अन्तरास्ट्रिय पर्यटकको लागि भने रारा र कर्णाली परिचित गन्तव्य हैनन् । तपाइले खोज्नु भयो भने 'ट्रिप एड्भाइजर'को मुख्य दश गन्तव्यमा पोखरा र लुम्बिनी बाहेक अरु सबै काठमाडौँका साइटहरु मात्र छन् भने 'लोन्ली प्लानेट'मा खोज्दा कर्णाली र रारा तिरको न होटेल  र न रुटबारे नै जानकारी मिल्छ । 

महोत्सव परम्परा र औचित्य: 

केही बर्ष यता विभिन्न स्थानमा 'महोत्सव' नाम राखेर कार्यक्रम गर्ने चलन खुब चलेको पाइन्छ। आकर्षक नारा र लक्षहरु राखेर व्यापक प्रचारप्रसार साथ शुरु गरिने यी महोत्सवको उपलब्धि बारे भने कतै चर्चा गरिन्न । सन् २००८ मा पर्यटनबोर्डले रारा-महोत्सव गरेको थियो । त्यसयता स्थानीय अग्रसतामा पनि पटक पटक कार्यक्रम भए  । तर गाडीबाटोले नजोडिदासम्म रारा घुम्ने पर्यटकहरुमा खासै वृद्धि भएन । बरु महोत्सवको बेला रारामा मानिसको अव्यवस्थित चहलपहल संगै प्रदुषण बढेको समाचारहरु आएका थिए । अर्कोतर्फ महोत्सवहरु स्वभावैले  खर्चिला हुन्छन् । झन् यो महोत्सव त प्रदेश सरकारको 'टप' प्राथमिकताको कार्यक्रम भएको छ।  
मुख्यमन्त्रिको अध्यक्षतामा १५-सदस्यीय मूल आयोजक समिति बनेको छ । राजनीति, प्रशासन, पूर्वाधार, अर्थ, बसोबास, सुरक्षा, यातायात र संचार लगायत फरक फरक समितिहरु बनेका छन् । केन्द्रदेखिका सरकारी भीआइपीहरु, बिदेशी नियोगहरु आमन्त्रित छन् । प्रदेश मन्त्रीमण्डलको बैठक पनि रारा मै हुनेछ । (यसै सन्दर्भमा स्मरण गरौँ -  पहिले जलवायु परिवर्तनबारे सम्मेलन अघि माधवकुमार नेपालको मन्त्रिमण्डल बैठक 'कालापथ्थर' मा बसेको थियो । त्यसको उपलब्धी बिहीन खर्चको बारे पछिसम्म चर्चा भएको थियो।)  सुरक्षाकर्मी, पत्रकार, गमगढीतिरका कर्मचारीहरु पनि सरिक हुनेछन् । भनेपछि, महोत्सवमा प्रायः 'सरकारी' खर्चमा रारा घुम्न जानेहरुको भिड हुने निश्चित छ। नयाँ बर्षको आवसर पारी अन्तरिक पर्यटक पुगिहाले पनि बास नपाइन सक्नेछ ।  किनकि त्यहाँ दुइटा होटल, निकुञ्जको भवन र आर्मी क्याम्पसहितको क्षमता जोडेर मुस्किलले २५० जति पाहुना बस्न सक्ने पूर्वाधार होला । त्यसैले महोत्सव सरकारी ढुकुटीको लागि 'खर्चिलो' मात्र हुनेछ।   

जनताबाट हरेक महिना दुईदिनको श्रमदान माग्ने निर्णय गरिएको छ । यो राम्रो अवधारणा हो तर ती  स्थानीयले राराको पर्यटनबाट कसरी लाभ लिनसक्छन् ? त्यहाँ पुग्ने पर्यटकले औसत १.५  दिनमात्र बिताउछन्  त्यो पनि निकुञ्ज भित्र जसले स्थानीय वा आम मान्छेहरुलाई विस्थापीत गर्छ र आर्थिक जीवनमा खासै अवसर दिंदैन ।  

प्रदेश सरकारसँग यो आर्थिक बर्षको ३ महिना मात्र बाँकी छ । नियमकानुन बनाउने, स्थानीय तहमा खरिद र खर्च प्रकिया सुधारगर्ने, योजना सम्पन्न गर्ने लगायत महत्वपुर्ण कामको तुलनामा 'महोत्सव' यौटा सस्तो लोकप्रियता खोज्न गरिने औपचारिकता जस्तो देखिन्छ। 

के कर्णालीमा एकबर्षमा ५ लाख पर्यटक सम्भव छ त? 

नेपालमा आन्तरिक पर्यटकको आंकडा राख्ने कुनै प्रणाली नभइ सकेकोले यो अन्दाजमा राखिएको लक्ष हो भन्ने  प्रष्ट हुन्छ। रारामा २० बर्षअघि सन् १९९७ मा ५६० जना विदेशी पर्यटकहरु घुमेका थिए।  त्यसको दश बर्षपछि सन् २००७ मा घटेर जम्मा ८७  जनामात्र घुम्न आए । त्यो अवधिमा जनयुद्ध, इन्डियन एअरलाइन्सको अपहरण र दरबार हत्याकाण्ड आदि कारणले समग्र देशकै पर्यटन क्षेत्र धरासायी भएको थियो । त्यसपछि यस दशकको सुरुवातबाट केही उकालो लग्न थालेको पर्यटन क्षेत्र सन् २०१५ को भुकम्प र नाकाबन्दीले गर्दा फेरी थला पर्यो । स्वभावैले रारा पनि प्रभावित भयो । पछिल्लो दुइबर्ष यता बिस्तारै गति लिन थालेको  देखिन्छ। सन् २०१६ मा  १३२ जना घुम्न आए भने २०१७ को आंकडा नभेटिए पनि पर्यटन उद्योगीहरुको भनेको भनि केही पत्रिकाले लेखे अनुसार यो संख्या अघिल्लो वर्षको तुलनामा दश गुणा वृद्धि भएकोथियो रे ।

अनुमान कै आँकडा अनुसार गतबर्ष दशैंतिहार बीच करीब २,६०० सय जतिले रारा भ्रमण गरेका थिए । त्यति नै हाराहारी पर्यटक बर्षको अरु दिनहरुमा पुगेको मान्ने हो भने ५ हजार बढीले  रारा घुमे।  यौटा प्रसङ्गमा हालै सामाजिक विकास मन्त्रीले भने अनुसार कर्णालीमा ५० हजार पर्यटक आएका थिए (केहि पहिला १२ हजारले घुमे भन्ने आँकडा सुनिएको थियो ) । यसलाई एकैछिन पत्यायौ भने, बाँकी ४५ हजारले जुम्ला, तातोपानी, पाचाल झरना, मालिका, काँक्रेबिहार, बुलबुले ताल, दुल्लु, कुपिण्डेदह, डोल्पा र हुम्लातिर घुमेको हुनुपर्छ । त्यसो भए रारा भन्दा त सम्भावना बोकेका ठाउँ अन्तै रहेछन् भन्ने पनि लग्न सक्छ । 

त्यस्तै, पर्यटन मन्त्रालयको आंकडा अनुसार संरक्षित क्षेत्रको बाटो यात्रा गर्ने बिदेशीहरुको संख्या २०१५ पछि निकै बढेको छ।  हुम्लाको बाटो हिल्साहुँदै मानसरोवर जाने बिदेशीहरु सन् २०१४ मा ४ ९२ भएकोमा सन् २०१५ को मध्यपछि व्हात्तै बढेर १,३४६ पुग्यो । त्यसमा ठूलो वृद्धि भएर सन् २०१६ मा १०,१०५ पुग्यो । यो व्यापक सुधार पर्यटकीय सहजताले नभई भूकम्पले कोदारी राजमार्ग र तातोपानी नाका बन्द हुँदाको विकल्पले गर्दा भएको हो ।  यो अवस्था दिर्घकालीन रहने छैन तर यसले सम्भावनाको ढोका चैं खोल्यो । तथापी, प्रचुर सम्भावना भएको माथिल्लो र तल्लो डोल्पाका संरक्षित क्षेत्रमा बर्षेनी जम्मा १,१०० - १,६०० जना मात्र पुगिरहेको पाइन्छ । 

यस हिसावले कर्णालीमा ५ लाख पर्यटक आउनलाई एक बर्षमा नौसय  प्रतिशतको बढोत्तरी गर्नु पर्छ।  जुन हचुवामा राखिएको असम्भव लक्ष हो।

संघीय सरकारको 'पर्यटन प्रबर्धन मोडेल' नै प्रष्ट छैन:  

सरकारका पर्यटन मन्त्रालय, बिभाग र पर्यटन बोर्डहरु प्रचारप्रसारको नाउँमा महोत्सव, भ्रमणबर्ष, गन्तव्यबर्षको नाउँमा बार्षिक बजेट बिनियोजन गर्न निकै रुचाउन्छन ।  सरकारले सन् २०११ मा १० लाख पर्यटक भित्र्याउने लक्ष साथ नेपाल भ्रमण बर्ष घोषणा गर्दा त्यो बर्ष सन् २०१० को तुलानामा जम्मा २२% बढी अर्थात ७ लाख ३६ हजार २१५ जना पर्यटक आए । त्यो स्वाभाविक वृद्धि थियो । गतबर्ष  सन् २०१७ मा ९ लाख ४० हजार २१८ बाह्य पर्यटक आए जुन अघिल्लो बर्षको तुलनामा २५% ले बढ्यो । तर, यस्तो सामान्य वृद्धिले पर्यटन भिजन २०२० को २० लाख पर्यटक (अहिले सच्याएर १५ लाखमा झरेको) भित्र्याउने लक्ष कसरी पुरा होला अस्पष्ट छ ।  सरकार सहभागी महोत्सव भन्दा अरु व्यक्तिगत, निजी र सङ्गठित क्षेत्रका प्रचार र प्रबर्धनले प्रभावी काम गरेको पाइन्छ । 
गतबर्ष सरकारले अन्तरिक पर्यटन बढाउन 'गन्तव्य नेपाल बर्ष' मनाउन प्याकेज प्रबर्धन गर्यो । त्यसले खासै आकर्षित गरेन किनकि घोषणा पछि प्याकेज बोर्डको वेबसाइटमा मात्र सिमित भयो । त्यसमा रारा प्याकेज पनि थियो - ८ दिन रु ३० हजारमा (बसबाट), ४ दिन रु ४० हजारमा (प्लेनबाट) । यो महँगो प्याकेज भयो र रुचाईएन । खर्च गर्नसक्ने यौटा वर्गका नेपालीहरु अचेल विदेश गुम्ने प्याकेजमा जान्छन् भने  मध्यम बर्गीय नेपाली युवा र विद्यार्थीहरुको रुचि बिस्तारै अन्तरिक र केही साहसिक यात्रा गन्तव्य तिर बढेको छ ।

पर्यटन सूचनाको प्रणाली छैन। हचुवा आंकडाहरुको भर परिन्छ।  पर्यटन बोर्डका मुख्य कार्यकारी अधिकृत दिपकराज जोशीका अनुसार गतबर्ष ४५ लाख नेपाली देशभर घुमे रे भनेका छन् । यसको भरपर्दो श्रोत कतै छैन ।  पर्यटन बोर्डले १ लाखदेखि ५ लाख रुपैया तिरेर अनेक महोत्सवका ब्यानरमा नाम र लोगो राख्न मन पराउँछ । र त्यो चिनजान, भनसुन, सिफारिसको हिसावले चल्ने परम्परा जगजाहेर छ । जिल्लाका पर्यटन समितिहरुले भरपर्दो प्रोफाइलसम्म राखेका छैनन् ।  सरकारले दुईवर्ष अघि विसं २०७१ को बजेटमा सरकारी कर्मचारीलाई १५ दिनको घुम्ने बिदा दिने घोषणा गरेको थियो तर त्यो खै कता पुग्यो?

केन्द्रिय सरकारले भर्खर उसको सयदिने योजनामा ६ नम्बर प्रदेशको राराको विस्तृत आयोजना प्रतिवेदन तयार गर्ने र ताल्चामा पर्यटक सूचना केन्द्र स्थापना गर्ने उल्लेख गरेको छ ।

पर्यटनको आर्थिक पाटो: 

सबैले कर्णालीको समृद्धिको ढोका पर्यटनले खोल्छ भनिरहेका छन्।  तर यो कति बलियो आधार हुन सक्ला भन्ने प्रश्न टड्कारो छ।  सरकारको सन् २०१६ को आंकडा अनुसार पर्यटनले नेपालको कुल ग्रहस्थ्य उत्पादनमा ८५.२ बिलियन अर्थात् ३.६ प्रतिशत र समग्र रोजगारीमा ६.४ प्रतिशत योगदान दिएको थियो । उत्पादनका विविध क्षेत्रमा समग्र कर्णाली प्रदेशले गर्ने योगदान ५ प्रतिशतभन्दा कम छ । त्यस्तै, होटल रेस्टुरेन्ट व्यवसाय, जुन पर्यटनको नजिक छन्, ले २ प्रतिशत भन्दा कम योगदान गरेका छन् । प्रायः अन्तरिक पर्यटकले शुल्क वा रोयल्टी तिर्नपर्ने व्यवस्था हुँदैन।  त्यसैले सरकारी ढुकुटीलाई यसले प्रत्यक्ष लाभ हुँदैन । सन् २०१६ मा रोयल्टी स्वरूप रारा राष्ट्रिय निकुञ्जले रु १,४१० र शे फ़ोक्सुण्डोले १२,९३८ मात्र कमाएका रहेछन् । पर्यटनले प्रत्यक्ष रोजगारी र व्यवसाय प्रबर्धनमा टेवा पुर्याउन सक्छ तर त्यसको लागि गन्तव्यमा पर्यटकको औसत बसाई लम्ब्याउने उपाय चाहिन्छ ।  विदेशी पर्यटकको औसत नेपाल बसाई १३.२ दिन छ तर यो दसकौंदेखि बढेको छैन । कर्णालीमा ४-५ दिन र रारामा जम्मा १. ५ दिनको औसत बसाईले खर्चको आकार बढ्दैन । औसत नेपालीको आयको करिब ७० प्रतिशत खाना र दैनिक अवाश्यकाताका साधनको परिपूर्ति मै सकिन्छ भने घुमेर खर्च गर्ने अवस्थामा पुग्न  त अझैं कति धेरैबर्ष लाग्ने होला ।  तसर्थ कर्णाली घुम्नजानेहरुको खर्चको दयारा निकै कम हुने भएकोले तत्काल प्रदेशको अर्थतन्त्रमा मद्दत पुग्दैन।

मौसमी पर्यटन, लगानी चुनौती र दीर्घकालीन असर: 

पर्यटन गन्तव्यहरुमा जति सुबिधा थप्यो त्यति आकर्षण बढ्छ । त्यसको लागि पूर्वाधार चाहिन्छ।  पूर्वाधारको लागि लगानी र लगानी गरेपछि प्रतिफलको सुनिश्चितता । पर्यटनका प्रमुख गन्तव्यहरुमा सबै सिजन चल्ने गन्तव्यहरु जस्तै काठमाडौँ, पोखरा, चितवन, लुम्बिनी, मनकामना, धुलिखेल, नगरकोट आदि हुन् । अन्य प्रमुख गन्तव्यहरु जस्तै मनाङ्ग, मुस्तांग, रारा, खप्तड आदि  सिजनल हुन् ।  सिजनल र दुर्गम हुनुले यता व्यवसायीहरु आफ्नो लगानी सुरक्षित हुनसक्ने आधार देख्दैनन् ।

मध्यमवर्गीय र कामकाजी नेपालीहरुले घुम्न रुचाउने मुख्य समय दशैं र तिहार बीचको अवधि हो । किनकी यो बेला प्रायः स्कुल बन्द हुन्छन्, मौसम पनि अनुकुल हुन्छ र सार्वजनिक बिदाहरु जोडेर लामो छुट्टि बिताउन पनि सकिन्छ । त्यसैले यो अवधिमा आन्तरिक पर्यटन पनि ह्वात्तै  बढ्छ। गन्तव्यहरुमा त्यो चाप धान्ने पूर्वाधार भने छैनन्।  व्यवसायीका अनुसार गतवर्ष यो सिजनमा निकै चलेको गन्तव्य मनाङ्गमा  प्रतिदिन  ४०० - ५०० पर्यटक आउदा बास मिलाउन मुस्किल परेको थियो । त्यै सिजनमा रारामा दैनिक १५०-२०० हाराहारी पर्यटक पुग्दा खाना, बास र यातायातको असुबिधाले पिडित हुनपुगे । त्यो सिजनमा आसपासको गाउँ र बाटोमा होमस्टेको सम्भावना बलियो छ तर त्यो सुबिधा जुटाउन पनि स्थानीयहरु संग समय, सामर्थ्य  र सचेतना छैन।

कर्णाली प्रदेशबासीको अहिलेको कमजोर आर्थिक सामर्थ्यको फाइदा लिंदै कति व्यापारी र दलालहरु लोभ्याएर स्थानीयहरुबाट जग्गाजमिन किन्दै छन्।  यसले भविष्यमा कर्णालीका जनता झन् गरीब र भूमिहीन हुनजाने खतरा टड्कारो छ।

र, अन्तमा -

हाल उपलब्ध सिमित बजेट जनतासंग प्रत्यक्ष जोडिएका जल्दाबल्दा अन्य समस्याहरुको तत्काल समाधानमा उपयोग गर्न सकिन्थ्यो । तत्काल कर्णाली राजमार्गका बिग्रेका भत्केका ठाउँ मर्मत गरी खाल्डाखुल्डी मुक्त बनाउन सकिन्थ्यो ।  स्वास्थ्यचौकीहरुमा औषधी पुर्याउन सकिन्थ्यो। संभावित प्रकोप र महामारी नियन्त्रण गर्ने तयारी गर्न सकिन्थ्यो। आपतकालीन उद्धार र राहत सेवाको आधार तयार गर्न सकिन्थ्यो।  सबैतिर संचारको विश्वसनीय पहुँच पुर्याउन सकिन्थ्यो  र प्रदेशको समृद्ध भविष्यका लागि अन्य कतिपय तयारीहरु पनि गर्न सकिन्थ्यो । तथापी, रारा-कर्णाली महोत्सव पनि एक विकल्प हो । यसले संघीय सरकारी संयन्त्रलाई  कर्णालीको पर्यटन प्रवर्धनका लागि प्राथमिकतापूर्वक श्रोत विनियोजन गर्न कत्तिको नैतिक दबाव दिन सकेछ भन्ने कुरा आगामी बजेट हेरेपछि थाहा हुनेछ । र, त्यो नै महोत्सवको सफलताको मानक ठानिने छ।

यो ब्लग सेतोपटीमा प्रकाशित छ।  हेर्नुहोस् : https://setopati.com/setopati-blog/146763


---समाप्त---- फान्चौरी 

Sunday, October 30, 2016

चुचेमाराको बाटो रारा पुग्दा: यौटा यात्राब्लग

यो यात्रा ब्लग जुम्लाबाट रारा भ्रमण गर्दाको व्यक्तिगत अनुभव हो ।

जुम्लाको होटलमा 
अक्टोबर १३, २०१६ (दशैंको पर्सिपल्ट): म नवमीदेखि जुम्लामै थिएँ।  तीनजना साथीहरु काठमान्डौबाट जुम्ला (२३७० मिटर) आईपुगे रारा पुग्ने लक्ष लिएर। दीपकदाई काठमाडौँबाट नेपालगंज प्लेन रअर्कोदिन जुम्ला जिपमा तथा डा. किसु र पुजाजी सिधै काठमाडौँ-नेपालगंज-जुम्ला उहि दिन प्लेनमा पुगे । र भर्खरै खुलेको रोयल गार्डेन लजमा बसे । सन्तोष र उर्मिलाले चलाएको सानो होटलमा राम्रो सुबिधा छ। भानुजी भेटिनु भयो।  किसुको नाता पनि पर्ने रहेछ। यात्राबारे निकै सल्लाह र आइडिया दिनुभयो। साथीहरु भोली एकदिन जुम्लामै डुल्ने र १५ तारिखमा रारा प्रस्थान गर्ने योजना बन्यो ।  खलङ्गा बजार, चन्दननाथ मन्दिर, लाईज्युलो हुँदै तिलानदीको झोलुङ्गे पुल आसपास घुमघाम गरे।


लाम्राको खेतमा 
अक्टोबर १४, २०१६:  दीपकदाईको घुघुती घुम्ने चाहना थियो किनकी २०४५-४६ सालताका पहिलो जागिरको सिलसिलामा कर्णाली प्राबिधिक शिक्षालय (केटीएस) बस्नु भएको रहेछ। म पनि २०५० ताका तेतै पढेको हुँ तर धेरैबर्षदेखि गएको थिइनँ । हामी बिहान हिंडेर गयौं । साथीहरुलाई ब्यागप्याक बोकेर ट्रेकको वास्तविक अभ्यास हुने भयो।  खलङ्गा बजार-भरतिवाडा-अस्पताल-खोलिकोट जुगाडखोलाको तिरैतिर उत्तरतर्फ माथी चेरेचौर र डाँफेलेक जानेबाटो उकालोमा घुघुती (२४१० मिटर) पर्छ ।  केटिएस त दशैको छुट्टीले बन्द थियो तर हिरा शाही सर र परिवारले मिठो खाना खुवाउनु भयो। कुमाई सर पनि भेटिनु भयो । पुराना कुरा गर्यौं।  सम्झियौं । केटिएस त निकै परिवर्तन भएछ । अर्थात, बिग्रिएछ । मनै नरमाइलो हुनेगरी । व्यवस्थापकीय कमजोरी प्रष्ट थियो । हामी त्यहाँबाट  फर्किंदा २ बज्यो । ब्याकप्याक सहितको हिडाईले के साथीहरुलाई भोली राराजाँदा के कति बोक्ने अन्दाज गर्न सहयोग भयो ।

ल्हुम्सेराको काठेसाँघु 
बेलुकापख होटलमा झोला राखेर बाईकमा तातापानी तिर गयौं । पश्चिमतिर ३० मिनेट जतिको बाटो,  १६ किमिटाढा  तिलानदीको बग्ने तिर । ८ किमि बाटोमा लाम्रागाउँ, अर्थात मेरो गाउँ ।  धान काट्नेबेला भएकोले सबै ज्यूला (खेत)तिर थिए ।  केहीबेर त्यहाँ बस्यौं।  स्याउ र काँक्रो खायौ र हिड्यौं । यता जयलक्ष्मी पनि थपिई । सबैले तातापानीमा नुहायौं ।  सल्फरयुक्त बाफिलो तातो पानीले नुहाए छालारोग लगयत हाडजोर्नीको बिरामी  निकोहुने बिश्वाश गरिन्छ । मानिसहरु टाढाटाढाबाट नुहाउन आउँछन् ।  जाजरकोटबाट ३ दिन हिडेर आएका महिलाहरु पानीमा आहाल बसिरहेकाभेट्यौं । हामीले नुहाइ सकेर तेजेन्द्रभाईको रेस्टुरेन्टमा कफी र तिलानदीको असला माछा खायौं । खलङ्गा बजार फर्किदा करिब ८ बज्यो । भानुजीले घरमा खान बोलाएका थिए। त्यहाँ कराओके मसिन रहेछ । जुम्लामा यो देखेर दङ्ग परियो ।  गणेशजी, टासीजी, सन्तोषजीपनि हुनुहुन्थ्यो । हामीले केही गीत गयौं ।  र,  १०:३० तिर साथीहरु होटलतिर गए म घर फर्कें ।   


सिंजाको एक गाउँ 
अक्टोबर १५, २०१६: पुर्णिमाको दिन, पुजा सकेर म खलंगा पुगें ।  हामीले २ बजेतिर रारायात्रा थाल्यौं । जुम्ला बजारदेखि भुलभुलेसम्म पूर्णभाईको जिप लियौं । जुम्ला-नाग्मा-सिंजा-भुलभुले करिव ८० कमी छिचोल्न ७ घण्टा लाग्यो । नाग्मसम्म ३५ किमि तिलानदीको तिरैतिर पश्चिम कालोपत्रेबाटो मोडिएर दोभानबाट  हिमानदी पछ्याउदै ग्राभेलबाटो पूर्वोत्तरतिर सिंजा भ्याली प्रवेश गर्छ । धानका बाला झुलेको फाँटहरुको बीच बग्ने नदी र पाखामा फ़ैलिएका गाउँहरु निकै सुन्दर देखिन्थे ।

सिंजामा भेटेका बेहुला बेहुली संग 
सिंजा सँग अनेक संस्कृतिक, भाषिक र ऐतिहासिक महत्वहरु जोडिएका छन् । हामी पतारखोला, कलिकखेतु, बड्की हुँदै हिमानदी बायाँ अघाडी जाँदै गर्दा हाम्रो दाहिने खोलापारी डाँडाको मुनि मोफ्लागाउँ,केहि अघाडी बेलुकाको घामले नाराकोट र ज्युलो टल्किरहेको थियो ।  बाटोमा पण्डुगुफ़ा जान हिंडेका मान्छेहरुले लिफ्ट मागे । पिक-अप  गाडीको पछाडी खाली बस्ने ठाउँमा बस्ने ठाउँ थियो।  त्यतै बसे । तिनीहरुले नयाँ दुलाहा-दुलही लिएर आएका थिए । साथीहरुपनि उनीहरु सँगै बसेर गफिंदै यात्रा गर्न थाले । झर्ने बेला आफ्नो घर गएर प्रसस्तै स्याउ ल्याएर आइदिए र साथीहरु सबैलाई फूलको माला लागाई दिए ।   
गोठीज्यूला 

हाम्रो गाडी ६ बजे गुठिज्युला पास भयो।  गुठिज्यूला-बोता-भुलभुले खण्ड निकै डरलाग्दो भीर छ। त्यो कटेर बोतागाउँ नपुग्दै अँध्यारो भयो। अग्लो डाँडाबाट पुर्णिमाको भरिलो गोलो जून चम्किन थाल्यो । गाडीभित्र हामी एकनास गीत सुन्दै र भूतका कथाहरु भन्दै यात्रारत थियौं ।  भुलभुले पुगेर भीम भण्डारीको होटलमा बिश्राम लियौं । भानुजीले उनलाई पठाएको भिडियो मेसेज (रैबार) देखायौं । निकै सहयोगी थिए । खाना अघि चिया संग निकै मीठो आलु पोलेर दिए ।  मुगुजाने बसका कतिपय यात्रीहरु पनि यतै थिए । अधिकांश रारा जानेहरु नै थिए । 



चुचेमाराको बाटो 
अक्टोबर १६, २०१६: बाहिरको हल्लाले ब्युँझ्यौँ । हल्का जाडो थियो ।  हामीलाई छोड्न आएको गाडीको ड्राइभरले राती सायद रक्सीको सुरमा केहि गडबड गरेछ क्यारे उसमाथि केरकार भैरहेको थियो । केही छलफल गरेर समाधान गर्यौं र उ ट्रीप पाएर गमगढी हिड्यो । अरु यता बासबसेका यात्रुहरु हिडिसके ।  भण्डारी पनि सामान ल्याउन भनि गमगढी हिडेछ।  उसको पत्नीले हामीलाई चिया, नुनखुर्सानीको आचार र रोटी खान दिईन्।  र बाटोकोलागि २ किलो जति उसिनेको आलु पनि लैजान भनिन् ।  घाम उदाउदै थियो। १० मिनेट हिडेपछि आर्मी चेकपोस्ट आयो । नाम इन्ट्री गर्यौं । यताबाट दुइटा बाटो छ - घुर्चीको गाडीबाटो हुँदै झ्यारीबाट रारा पुग्ने वा चुचेमारा लेक हुँदै हिंडेरै राराको मिलिचौर झर्ने । हाम्रो योजना 'ट्रेकिंग' गर्ने थियो ।  हामी चुचेमारातिरको बाटो जान्छौं भन्दा इन्ट्रीगर्न बसेको आर्मीले  बाटो अफ्ठ्यारो छ, हराउन सक्छ भने ।  अचेल यो बाटो मान्छे उतिसारो हिड्दैनन ।  केहि समय पहिले काठमान्डूबाट आएको यौटा ग्रुप हराएर रेस्क्यु गर्नु परेको थियो रे । आर्मीको कुरा सुनेर साथीहरु हच्किए । तर, मेरो चाहना यै बाटो हुँदै रारा पुग्ने थियो । किनकी, यो बाटो केहि जटिल भएपनि दृश्यावली, उचाई, चुनौती, ट्रेकिंग अनुभव आदि हिसावले अरु यात्रुहरुको भन्दा फरक र अविस्मरणीय हुने रुट हो । खासै  हिड्ने अनुभव नभएका साथीहरु भएकोले बढीमा ७-८ घण्टा लाग्ने अनुमान गरेको थिएँ । भर्खर बिहानको ८ बजेको थियो।  ति आर्मीले 'पहिलो दोबाटो छोडी दोस्रोबाट दाहिने लाग्नु' भने । हामी अघाडी बढ्यौं ।  केहीबेरमा शौरभजीले हामीलाई भेटे। उनी हिजै नेपालगंजबाट प्लेनमा जुम्ला पुगेर  हामीलाई भेट्न बाईक लिएर हिडेका अध्यारो भएकोले गोठीज्यूला बसेछन् । अब ५ जना भयौं ।

निलो आकास, न्यानो घाम, खोल्सो तिरको घाँसेबाटो हुँदै अगाडी बढ्यौं।  केहीबेरमा दाँयातिर सानो डाँडो उक्लेर हेर्दा उSS पर एकटुक्रा रारा देखियो। हामी अब चांडै पुग्ने अभिलाषाले डाँडैडाँडा रुखहरु बीचको सानो धर्सो जस्तो बाटोको पछ्याउदै हिड्यौं । केहिबेरमा बाटो हरायो । अन्दाजले हिड्नु पर्यो । हाँगा समात्दै, काँडा  पन्छाउँदै, सुकेका पात टेक्दै त्यो जङ्गल र भीर छिचोलेर सहिबाटो भेट्न २ घण्टा लग्यो।  बल्ल थाहा पायौं कि हामी त्यो उत्तरपर्ने सानो डाँडो नचढी उत्तरपश्चिम तिर खोल्सैखोलसा आउनु पर्ने रहेछ।  हामी घुमिफिरी त्यहिँ पुग्यौँ । फर्किने कि भन्ने सोच पनि आयो।  तर त्यसो गरिएन।

उकालो चढाई सुरु भएको केहीबेरमा साथीहरु थाक्न सुरु भयो । हरेक पाइला बोझिलो हुन लागे ।  झोला झन् झन् गरुङ्गो हुन लग्यो ।  कसैले मन्द टाउको दुखेझैं महसुस गरे।  घाँटी सुक्न र ढुकढुक बढ्न थाले । हल्का लेक लाग्यो सायद।  पानी एक लिटर मैले बोकेकोमात्र थियो । थोरैथोरै गला भिजाउन काम लाग्यो ।  उसिनेको आलु सबैले मिठो मानीमानी खाए । जङ्गल सकियो, बुकी र अरु घाँसमात्र भएको नाङ्गो डाँडाको काखमा नागबेली धर्सापरेका बाटोमा पसिना चुहाउदै उक्लिन पर्ने।  सुस्त सुस्त बढेका साथीहरुका पाइला हौस्याउन हर प्रयास गरियो । दुइजनाको त झोला पनि आफैले बोकेर चुचेमारा उक्लियो । सिरसिर हावा त्यो 'टप'बाट छ्याङ्ग रारा देखियो । सुन्दर ! सबैको मन प्रफुल्ल भयो।  थाकन मेटिए झैं सबैको अनुहारमा चमक फर्कियो । आराम गर्यौं । फोटो खिच्यौं । र हिड्यौं ।            
अबको बाटो लेकको टुप्पो, डाँडाको धारमा हिड्नु पर्यो।  दायाँबायाँ दुबैतिर भिरालो, चिप्लो ढाँडिलो बाटो उकालो ओरालो गर्दै हिड्दै पश्चिमतर्फ रारातिर झर्ने ओरालोको दोबाटोसम्म आइपुद्गा घाम बुढ्न थालिसकेको थियो । दशघण्टा जति भयो कतै पानी भेटिएन। बाटोमा एकठाउँ भेडीगोठाला भेटेको उनीहरु संग पनि पानी थिएन । अब, ओरालो बाटो जङ्गल भित्र पस्यो । केही तल खोला भेटियो । चिष्ष्सो पानीले दिनभरको तिर्खा मेटायौँ। यहीं नेपाली सेनाको मेडिकल टिमका २ महिला र ४ जना अरु मान्छेहरुले हामिलाई भेटाए।  उनिहरु भुलभुलेबाट हामी भन्दा ६ घण्टा पछि २ बजे हिडेको भन्थे । अबको बाटो डेढ-दुई घण्टालाग्ने अनुमान लगाएर उनीहरु अघि बढे। हाम्रो यो गतिमा अझैं ४ घण्टा लाग्छ।  अध्यारोले पुरै ढाक्यो । माथी आकासमा जून थियो तर जंगलका रुख, भुइँका जराले अलमल्याई दिन्थे।  टर्च बाल्यौ र लस्करै ५ जान चुपचाप हिड्यौं ।  छेउछाउमा जंगली बराहाले खनेका माटाका डल्ला देखिन्थे।  सन्नाटामा हाम्रो पाइलाको आवाज एकनास आइरहेको थियो । बल्लबल्ल तालको छेउको चौरमा पुगेपनि सजिलो बाटो आयो तर तर सबैका खुट्टा थाकेर निकै गर्हुङ्गा भैसकेका थिए।  पारी बत्ति देखियो ।  हामी त्यहिँ पुग्नपर्ने  हो तर तालको  पश्चिमआधा भाग घुम्नु पर्छ। 

राति १०:१५ बजे हामी डाँफे होटल पुग्यौं।  भिडभाड थियो।  ठाउँ ठाउँ 'क्याम्प फ़ाएर' गरेर आगो ताप्दै गाउदै रमाइलो गरिरहेकाहरु थिए।  कोही टेन्टमा कोही कोठालिएर आराम गर्दै थिए।  'रुम छैन, टेन्टपनि सबै सकियो,,.माझघट्ट गए पाइएला।' गोपाल बम साउजीले कुनै सान्त्वना बिनै भने। माझघट्ट फर्किनु भनेको हामी आएको बाटो फिर्ता रारातालको तल्लो छेउबाट थप आधा घण्टाजति  हिड्नु पर्छ । साथीहरु भोक र थकानले चूर थिए त्यसमाथि बस्ने टुङ्गो नहुदा निराश देखिन थाले।  उनीहरुको बोलीमा चिढचिढापन प्रष्ट देखिन्थ्यो । ससानो बुफे लाईन थियो ।  'पहिला केहि खाउँ अनि विचार गरौंला' हामी पनि पस्यौं । खाईसकेर अरुलाई त्यतै छोडी दिपकदाई र म केहीपर आर्मीपोष्ट नजिकको 'भिलेज हेरिटेज'मा पुग्यौं।  त्यहाँ पनि तेस्तै प्याक।  आर्मी क्याम्पमा  सोध्यौं।  त्यता पनि ठाउँ छैन रे।  होटेलले उनीहरु संग भएका ठूला टेन्टहरु सापटी लिएर पनि अपुग भयो रे।  कति यात्रुहरु माझघट्ट गए।  हामीलाई पनि त्यै सुझाव दिए।  होटेल म्यानेजरलाई खोजें।  हाम्रो आजको लामो यात्राबारे बताएँ र कतै जन नसकिने कुरो भनें।  उनले आफैले प्रयोग गर्न राखेको २ जना अट्ने सानो टेन्ट दिने भए र बाँकीले होटलका स्टाफ सुत्ने ठाउँमा बस्न मिलाइदिने भए। सबै बन्द भैसकेको थियो तरपनि हाम्रोलागि फेरि 'क्याम्प फ़ाएर' बाल्ने, खुट्टा डुबाउने मनतातो नुनपानीको बाटा, पिउने कुरा लगायतको व्यवस्था गरिदिए । बिस्तारै साथीहरुको मुहार उजेलिन थाल्यो। तल रारातालमा प्रतिबिम्बित जून चम्कि रहेको थियो। छाल उर्लेको संगीत सुन्थियो।  जङ्गल सुसाइरहेको थियो। आगो ताप्दै, मैले बोकेको खसीको सुकुटी पोल्दै, गफ गर्दै गर्दा अरु यात्रीको समूह पनि जोडियो।  हाँस्दै ठट्टा गर्दै राति १२ बजायौँ किनकी शौरभजी आज जन्मदिन थियो ।

अक्टोबर १७, २०१६: बाहिरको कल्याङ्गमल्याङ्गले बिउँझिदा छर्लंग बिहान भैसेको थियो।  राराताल पुर्वको आकास रंगिन थियो।  तल आर्मीक्याम्पको अगाडी  चेकपोस्ट नजिक रयाफ्टिंग बोटको तरखर भैरहेको थियो।  तेतैतिर हिड्दै गएँ।  क्यामकोको मेजर पारस विक्रम शाह भेटें।  क्याम्पमा साइकल छ भन्ने कुरा भानुजीले सुनाउनु भएको थियो।  मेजरलाई 'म साइकल चलाउन रुचाउन्छुं।  के हामीलाई केहीबेर तपाईको क्याम्पको साइकल दिनुहुन्छ ?' भनेर सोधें।  उनले डिउटीवालासंग बुझेर १० वटा साइकलमध्ये ४ वटा चलाउने मिल्ने अवस्थाको भएको बताए । म फर्केर होटल आउँदा किसु र पुजा गाडीबाट झ्यारीको बाटो आएका यात्रीहरुलाई हाम्रो हिजोको यात्रा सुनाउँदै थिए । त्यहाँहुने अरु सबैको भन्दा पृथक यात्रा वृतान्त निकै रोचक थियो।

तिनजना साथीहरुले बिहान आराम गर्ने भनेपछि सौरभ  र म साइकल लिएर पारी मिलिचौरतिर गयौं । तालको छेउ, जंगलैजङ्गल भित्रको गोरेटो, रुखका जरा र ससाना ढुंगा भाको, सुकेका पात झरेको, कतैकतै छालको पानी बाटोमै आउला जस्तो, कतै काठे पुल (लाप्को) भएको सुन्दर बाटोको यात्रा रोमाञ्चक थियो।  रारा आउंदै गरेका र फर्किन लागेका यात्रुहरु धेरैले सोध्थे - 'साइकलमै आएको ?' फर्किने क्रममा हुनेलाई 'यो त्यै आर्मीक्याम्पको हो' भन्थ्यौं।  त आउन लागेकालाई केही नभनी कुद्थ्यौ । नत्र आर्मीसँग माग्न लाम लागे भने हामीले गाली खान पर्थ्यो।  मिलिचौर पुगेर तालको किनारै किनार चौरमा कुद्यौँ र बोट रोक्ने ठाउं केहीबेर आराम गर्यौं।  बोटमा फर्किनेहरु धेरैले साइकल मागेर ताल छेउमा पोज पोजको फोटो किच्दै रमाए। बाटोमा यौटा स्थानीय घोडचडी केटोसँग रेश गर्दै फर्कियौं । उ र उसको साथीले हामीसंग साइकल मागे सट्टामा उसको घोडा चढ्न दिए । हाम्रा अरु साथीहरु पनि आए।  बिहानीको फोटोसेसन भयो।


खाना खाएर रारा राराबाट बिदा भएर हिड्दा १ बजेको थियो । आज ताल्चा बस्ने। तालको पुर्वतिर जानु पर्छ। पुरानो रारागाउँको मुनिको बाटो गमगडीतिर नगई दाहिनेतर्फ तालको किनारै किनारा हिडे पछि तालको ठीक पूर्व पुगेर सानो उकालो काटेपछि डाँडाकोबाटो ओरालो दक्षिण तेस्रोबाटो सिधै ताल्चाको माथी चेकपोस्टमा पुग्छ। निकै फ्रेश र रमाइलो बाटो छ।  एकदम नेचर वाक गरेको अनुभूति हुन्छ। राराको छाल खुट्टामा चुम्न आउँछ।  ठाउँ ठाउँ फोटो नखिची सुख पाईन्न।  हामीले तेही गर्यौं।  हामी संगसंगै यौटा म्युजिक भिडियो बनाउने टोलीपनि हिडिरहेको थियो । सौरभ त्यै समूहकी यौटी केटीसँग गफिंदै अघि बढे । ताल्चाका होटलमा यात्रीको मारामार थियो । बल्लतल्ल फरकफरक घरमा दुइटा कोठा मिल्यो । फोनको नेटवर्कले काम नगरेर हामी भन्दा अघि आएको शौरभलाई खोज्न मान्छे होटलहोटल चाहार्न पर्यो । उनि पनि हाम्रोलागि होटेल खोजेर बसेका रहेछन् तर अध्यारो भएकोले बेलैमा भेट भएन ।  केहिबेर चुलोको छेउ बसेर गफगर्दै भात खायौं । केटीहरु  र सौरभको बीच 'महिला'को इस्सुमा जुहारी बहस भयो निकैबेर । दीपकदाई र म दर्शकभइ बस्यौं । तीनजनाले भोली प्लेनको टिकट मिले यतैबाट नेपालगंज जाने विचार गरे। म र शौरभजी भने जुम्ला फर्किने भयौं।

अक्टोबर १८, २०१६: बिहान उठेर बाहिर निस्कँदा जताततै मान्छेको भीड थियो।  सबैजना प्लेन टिकटकै कुरा गरिरहेका थिए। कोही तीनदिनदेखि पर्खेकाहरु पनि भेटिए । प्लेन आउने न आउनेबारे अनेक अड्कलबाजी सुनिए।  सबैले सोर्सफोर्सको नाउँमा चिने र भएजति मान्छे संग फोन गरिरहेका थिए।  फोनको नेटवर्क राम्रो नभएकोले पर चौरको एउटा ढुङ्गोमा चढेर कुरो गरिरहेका हुन्थे।  कसैले सही सूचना दिंदैन थियो।  सबै अलपत्र परेको महसुस गरिरहेका थिए।  केहीबेरमा घामलागे पछि गाडीको टिकट काट्ने समितिका केटाहरु नाग्म र सुर्खेतजाने गाडी गमगढीबाट छुट्न लग्यो रे।  हामीले पनि तिनजनाको नाग्मजाने टिकट काट्यौं र एअरपोर्टको रनवेबाट दक्षिण पश्चिमझरेर बाटोमा गाडी कुर्न पुग्यौं।  त्यहाँ धेरै अरु रारा घुमेर फर्किनेहरु भेटिए।  त्यो म्युजिक टोली पनि थियो।  निकै कुरेपछि यौटा गाडी आयो।  'त्यो अर्को गाडी बिग्रेको छ, आउने नआउने टुङ्गै हुन्न' भनि झुक्यायो । गैरजिम्मेवार गाडीहरु यात्रीको कुनै मतलव राख्दैनन् ।

भर्खरै बर्खाले ध्वस्त पारेको बुम्रमाडीचौर तिर जाने बाटो 
केहीबेरमा समितिको मान्छेले अर्को गाडी पक्का आउँछ भनेपछि म र शौरभजी अरु साथीहरुलाई त्यतै छोडेर हिड्यौं । ति साथीहरु त्यो साँझ नग्मा पुगेर बसेछन् । शौरभ र म भुलभुलेबाट उनले अस्ति छोडेको बाइक लिएर चौथा हुँदै बुम्रमडिचौर पुगेर बास बस्यौं।