Monday, November 4, 2013

साइकल संघर्ष (काठमाडौँ परिक्रमण - ३)

 साइकल यात्रीहरुको हुल अहिले छरिएर गुडिरहेको थियो।  कीर्तिपुरबाट झरेर नैकाप मुलबाटो हुँदै कलंकीतर्फ अलिकता बढेर सानो गोरेटोबाट बायाँ पसेर स्युचाटार तिर मोडियों।  स्वयंसेवक र संकेत राम्रो नभएकोले हुइङ्किएर अघि बढेको साइकललाई झन्डै इमर्जेन्सी ब्रेक लगाई रोक्नु पर्यो।  यो सबै बाटो मेरोलागि बिल्कुल नौलो थियो।  बाटो खेतको आली भएर गयो।  गाउँको गल्लि भएर गयो।  स-साना कुलेसा र दलदले हुँदै गयो। कतै कतै पिच पनि हुन्थ्यो। एउटा ठाउँमा त हिले बाटोले गर्दा जाम नै गरायो।  अनि उकालो उकालो आउन थाल्यो।  एक ठाउँमा ओर्लनु पर्यो, निकै थाकेर। बल्ल एउटा पानी खाने स्पट आयो।  हल्का आराम पछि बढ्यौं अघि।  गाउँलेहरु, बटुवा र बालबालिकाहरु फर्की फर्की हेर्थे रमाएर।  यौटा नौलो अनुभूति सबैले गरे। हामि सितापाईला तिर पुग्यौं।  यो राजन जी को आफ्नो ठाउँ थियो।  मलाई बाटोको अवस्था बताउदै जान्थे।  उनका अनुसार अघाड़ी अझैं उकालो बाँकि छ।   उनि यो बाटोमा स्कुले बेलामा खुबै हिडेका रे।  एउटा उकालोको टुप्पामा मिनी ट्रक र ट्याक्सीले गर्दा निकै बेर अल्मलिनुपर्यो।  त्यहाँ ७५ किमि यात्रा गर्नेहरु पनि मिसिए।  सायद उनीहरु निकै सिपालु यात्री थिए।  हामीले उनीहरुलाई अघि बढ्न दियौं। पछाडीका यात्री पनि आइपुगे।  माहोल मेलामय देखियो। हल्चोक एरियातिर थियौं।  हामि सेती गुम्बाको मुनि पुगेर ओरालो झर्यौं।

एउटा निकै ओरालो पार गरेर हामी हुईकियौ । बस्तिबीच भित्रि बाटो।  कहिले राजन जी अघि त कैले म, संगसंगै । सायद क्यालोरी निकै बल्यो।  बिस्तारै भोक लग्यो। मेरो झोलामा इनर्जी बिस्कुट थियो।  एउटा पसलमा पानी किनेर खायौं।  राजन अघि थिए, उनि एउटा दोबाटोबाट माथि लगे।  एकजनाले मलाई ओवरटेक गरि दोबाटो तल हिड्यो।  पछि आएकाहरु पनि उतै लागे।  म अलमल।  मैले माथिकै बाटो रोजे। इचंगु (रानीबन) तिर गाउँ मा हामि थियौं।  यदि, हराएको भए पनि राजन जी र म संगै हुन्छौं।  गाउलेहरुलाई सोध्दै सोध्दै बाटो पहिल्याउनुको रमाइलो नै बेग्लै।  कतै कतै एरो संकेत पनि थियो तर ध्यान दिनै गार्हो।  बास्तवमा अरुहरुले गलत बाटो लिएका रहेछन।  फेरी भीडको लस्करसंग मिसियौ।

काठमाडौँको उत्तरपश्चिमी डाँडाको काख हुँदै हामी बनस्थलीबाट अघि बढेर बालाजु गार्डेन दाहिने घुमेर थोरै उकालो मोडिएर माछापोखरीतर्फबाट प्रगतिनगर (गोंगबुको ठीक पछाडी) खोला नजिकको खालि भागमा जम्मा भयौं। कसैले साइकल चेक गरे।  तेल लगाए। मेकानिकल टिमले आबश्यक परे सहयोग गर्थ्यो।  हामिलाइ परेन।  अघिदेखि राजनजीलाई केहि गाह्रो परेको जस्तो लागेको थियो। साइकलको सिट प्याडले दुखेको सिकायत थियो। अभ्यास नगरी एकै चोटी हिजो दिनभर चलाएर आज यति लामो यात्रामा आएका थिए।  मलाई साथी नभएर मात्र, नत्र बिचैमा छाड्नेसम्म पनि सोचेछन्। 'हामी बिस्तारै जाउँला, आराम गर्दै, तर छोड्न हुन्न है' मैले भनें। हामीले झन्डै आधा बाटो काटी सकेका थियौं।  मुभ स्प्रे लिएका थियौ आवश्यक परे।  मेडिकलबाट इलेक्ट्रोलाईट जीवनजल किन्न खोजेको पाइएन।  हामीले पानी र दुनोट खायौ । फेरी अघि बढ्यौं।

अब हामी धापासी-टोखा तिर ग्रीनसिटी हस्पिटल नजिकको एउटा ठाडो उकालो चढ्न पुग्यौं । प्रमोद यतै बस्छु भन्थे।  साइकाल डोर्याउदै गर्दा फोन गरेको त हामीले क्रस गरि सकेछौँ।  बस्तिको भित्र भित्रैबाट हामि मन्डिखाटार तिरको अर्को बिश्रामस्थलसम्म दगुर्यों। सायद यो यात्राको मध्यान्तर थियो। यतैबाट  राजेशसंग फोनमा कुरो भएको थियो।  उसको अनुमान पनि यस्तै थियो।  थकान व्यापक थियो। अब बाटो निकै लामो भए झैं लग्न थाल्यो ।  साईकल चौरमा राखेर पानी खायौं। चाउचाउ र जुस पनि खाईयो।  एकछिन आराम गर्न लागेको उठेर हिड्नै मन लागेन। चकमन्न घाम।  पसिना सुकेर नून बनेको।  पाखुरा डडेको रंग देखिन्थ्यो।  अरुहरु पनि त्यस्तै देखिन्थे । तर अघि बढ्नु नै थियो, रोकिने कुरै थिएन । सामान्यतया हामी लस्करको अघिल्लो पंक्ति तिरै हुन्थ्यौं। शरीर थाके पनि मन चैं रमाएको थियो।  

हामी सुकेधारा हुँदै कपनबाट एउटा हल्का उकालो चढेर महांकाल तीनचुलिको बाटो मिसियौ।   उतैबाट ह्यात होटल पछाडी भित्रि बाटो (गल्लि-गल्लि) हुँदै थरी-थरी गुम्बाहरु भएको बस्तिहुँदै एकाएक बौध्द स्तुपा भित्र पुग्यौं । मन एकदमै रोमान्चित भयो।  हामीले एक फन्को मार्यौ।  फोटो खिच्यौं।  अनि मूल गेटबाट बाहिर निस्किएर बाटो काटेर अर्कोपट्टिबाट दक्षिण तर्फ हल्का ओरालो झरेर समता स्कुलको प्रांगणमा पस्यौं।  हाम्रो लन्च यतै हो।  ३६ किमि यात्रा सकियो।  अब १४ अझै बाँकी।

फटाफट कुपन लिएर लाईन बसी एक लन्च पाकेट बोकेर कक्षा ५ को कोठामा पस्यौं। फेरी पनि केरा र अन्डा  थियो साथमा जुस, स्यान्डविच। अरुहरु पनि आए।  रमाइलो गर्दै खायौं।  'क्या रमाइलो, यो एउतै सर्ट र यात्रामा हिड्दा सबै आफ्नै साथी झैँ लाग्ने' एउटाले भने।  'हो नि सबै चिनेकै आफ्नै लाग्ने' अर्कोले थपे।  एकछिन आराम गर्यौं। राजनलाई निकै अफ्ठ्यारो भएको प्रतीत भयो।  'चांडो सक्नु पर्छ, हिडौ' भने।  हामी तयार भएर बाहिर आयौ।  केहि मान्छे भर्खर भित्र पस्दै रहेछन।  राजनको हिंडीहाल्ने मन थियो।  मैले सबै संगै जानुको रमाइलो अर्कै हुन्छ भन्दै रोकें। निकै ढिलो हुने छाँट आयो। झन्डै एक घण्टा अल्मलियौं यता। अब कतै बसिंदैन।  पाटन दरबार स्क्वायर पुग्नु छ, यात्रा सफलतापुर्बक सम्पन्न गर्न।

हामी बागमती नदिलाई दायाँ पर्दै किनारै किनार एयरपोर्ट पछाडी  पुल तरेर एउटा निकै ठाडो उकालो साइकल डोरयाउदै चढ्यौ। गोठाटार गाउँ तिर एक ठाउं बाटो निकै बिग्रिएको थियो, पुरै हिलाम्य।  ट्रकले ध्वस्त पारेको। अलिक तल पुगेर बाटो राम्रो भेटियो।  पेप्सीकोला तिर, जडिबुटीसम्म , एयरपोर्ट पछाडि। त्यसैले  निकै हुँईक्याईयो साइकल। हामी जडिबुटी चोकको बाटो काटेर नरेफाँटतिर पस्यौं र एकछिनमा बालकुमारी पुलमा निस्कियौ । थकाई चरम बिन्दुमा थियो तर  हामी निकै करिब थियौं गन्तव्यको ।  

रिङ्गरोड़मा केहि मीटर अघि बढेर हामी बालकुमारी मन्दिरतिर घुमेर हल्का उकालो छाडेर पाटनका नेवारी बस्ति भित्र पस्यौं। ढुंगा ओच्छ्याएका गल्लि,  चोक, आँगनको बाटो हुँदै पाटन सुन्धाराबाट मंगलबजारको बाटो यात्रा बिहान ७.४५ बजे छोडेको पाटन दरबार स्क्वायरमा आएर एक फन्को पुग्यो।  'हुर्रे !!!! यस आई डीड ईट' मन खुसि भयो।

बेलुकाको ३. १५ बजेको थियो।  तातेको ढुंगामा एकछिन ज्यान सेकाएर राजन घर हिंडे।  उनि अर्को ७ किमि साइकल ठमेल पुरयाएर घर जान्छन्।  म एकछिन आराम गर्छु।  एउटा साथी जुसको बोटल सेलेब्रेशन गर्न आईपुगिन।  आयोजकले झम्सिखेलको मोक्षमा ड्रिंक्स र म्युजिक राखेका रहेछन्।  उतै गयौं। केहि गीत सुनियो।  फोटो खिचियो।

यो साइकल यात्राबाट मैले ८,००० रुपैया पनि संकलन गरें र आयोजकलाई हस्तान्तरण गरें।  सहयोग गर्ने सबै को नाम फेसबुकमा राखेको छुँ  www.facebook.com/madhav.chaulagain . सबैलाई धन्यबाद।

अब मलाई साइकल सिक्न ढिलो भएकोमा कुनै पछुतो छैन।  आवश्यकता परे, संयोग मिले र चाहना भए सबैकुरा सिक्न सकिन्छ, जुनसुकै बेलापनि।  

। समाप्त।
  

Tuesday, October 29, 2013

साईकल संघर्ष (काठमाडौँ परिक्रमण - २)

बिहानै ६.३० बजे क्याम्पेनकै लागि बनेको टी-सर्ट र हेल्मेट लगाएर पाटन दरबार स्क्वाएर पुगियो । मनमा उमङ्ग थियो। बिल्कुलै कलरफुल टी-सर्ट र  हेल्मेट पहिरेर बाटोमा निस्किदा केहि संकोच  थियो।  तर एकै छिनमा देखापरेका  साईकलधारी  मान्छेको  भीडमा पस्दा त सबै अफ्ठ्यारो हरायो।  त्यत्रा मान्छेहरुमा मैले चिनेको एकजना पनि परेनछ।

ब्रेकफास्ट र  लन्चको कुपन पाईयो। लाईनमा बसेको त एउटा अण्डा र केरा बाँडिदै रहेछ।  केरा पोटासियमको श्रोत, शारारिक अभ्यासको बेला राम्रो मानिदो रहेछ। राजन जी ले चिन्ने दुइजना संग परिचय भयो र संग-संगै जाने  कुरो पनि गरियो ।

हामी दरबार स्क्वायर अघाडि भेला भयौं। करिब ९०० हाराहारी  साइक्लिस्ट जम्मा भएको चर्चा सुनियो।  गैर-नेपाली सहभागी पनि निकै  थिए।   एउटा सानो सम्बोधन पछि रेस सुरु भयो।  जितहार भन्दा पनि रेस कम्प्लिट गर्ने उद्देश्य भएकोले सबै आ- आफ्नो रफ्तार समाते।  म र राजन पनि हिड्यौं।  दरबार स्क्वायरबाट पुल्चोक पुग्नु अघि बायाँ मोडिएर कुमारीपाटी  हुँदै जावलाखेल ग्राउण्ड  दायाँ पार्दै रिंगरोड  पुग्यौं।   बाटोमा  साइकल-कला देखाउदै निकै फुर्तिसाथ केहि केटाहरु अघिपछि आए।  हामि पनि रमाइलो मान्दै आफ्नै चाल पक्रियौ।

प्रत्येक ५ किमीजतिमा आराम गर्ने, जो अघि जान्छ कुरेर बस्ने, नथाक्नलाई उकालोमा साइकल डोर्याउने आदि रूल बनाएका थियौं।  रिंगरोडको समथरबाटो, बिहानी स्फूर्ति र जोशले गर्दा सबै सहज अनुभूत गरियो। हामि बल्खुतिर नगई बीचबाट बाँया ओरालो मोडेर किर्तिपुर तर्ने झोलुङ्गे पुल पुग्यौं।  एकसरो तर्नु पर्ने रहेछ, जाम पर्यो।  एकाएक साइकलेहरुको भीडले माहौल रमाईलो भयो।  धेरैका हात-हातमा क्यामरा देखिए।  पुल तर्दा देखिएको युनिफोर्म 'काराभान' दृश्य साच्चै गजबको थियो।  पुल तरेर माथि बाटोमा पुगेर त्रिभुवन युनिभर्सिटीलाई दाँया पार्दै किर्तिपुरको उकालोमा हन्नियौ।  अनि शुरु भयो बास्तविक कठिनाई।

पसिना उम्रिन थाल्यो।  अघि हलुको लाग्ने साइकल थाक्न लग्यो।  गति सुस्तायो।  सास बढ्न थाल्यो।  केहि साईकल पछि पर्न थाले तर कति धेरैले ओभरटेक पनि गर्न थाले।  मन आतिने झैं भयो। बिचमा चेक गरेको गियर मिलाउन नजानेको रहेछु।  अर्को सहयात्रीको सेटिङ्ग हेरेर मिलाएँ।  काम गर्यो।  अलि सजिलो भयो। नरोकी किर्तिपुर बजार पुगें। राजनजी म भन्दा अघिअघि निकै सजिलो साथ् चलिरहेको भान हुने। अरुलाई हेर्यो तेस्तै।  खासमा  आफुमात्र थाकेको हुँ कि भन्ने लाग्दो रहेछ यस्तो बेला।  उकालो बाटो दाँया मोड्यो मन्दिरतिर।  अलि सम्म भयो फेरी उकालो माथिसम्मै। पेलेर पैडल खिचियो र  अन्तत: उकालो चडियो।  खुट्टा काँपे।  पसिना झर्यो। तिर्खा लाग्यो।  तर खुसिले छायो ।  कतिले उतै उकालोको पुछार तिरै बाट यात्रा छोडेको सुनियो। बाटोमा स्वयंसेवक थिए।  एरोको संकेत पनि थियो ठाउँ ठाउँमा।  जम्मा  ७ किमि भयो होला, अझै कम्तिमा ४३ किमि त बाँकिनै छ।

तेस्रो गोरेटो बाटो हिडेर भत्केको हिले ट्रयाक एउटा भिर हुँदै गयो।  तल पुरै खोल्सो।  एक एक गरि जानुपर्ने।  केहि सिपालु र सहसीले साइकल चलाएरै पार गरे।  हामीले डोर्यायौं र यौटा भन्ज्याङ्गमा पुग्यौं।  राजनजीको अफिसको एक सिनियर भेटिए। केहि पोज फोटो खिच्न लागायौं उनलाई।  'कोको गए अगाडि ?' राजनले सोधे। हामीलाई आफ्नु अनुमान लगाउनु थियो।  हामि दोस्रो थियौं तिनले चिनेका मध्ये।  राजनको हाकिम अजवको मास्क साथ हामि भन्दा अघि पुगेका थिए।  बिहान चिनेका केहि साथिहरुको पत्तो लागेन।  सायद ति पछाडी नै थिए होलान् ।  यहि गति कायम राखे हामि पछि नपर्ने निर्क्योल गरि भंज्याँग झरेर काठमाडौँको पश्चिमी भित्ताका बस्ति-बस्ति हुँदै  नैकाप-कलंकी खण्डको बाटोमा झर्यौ      सरररर  ओरालो।सायद ११-१२ किमि पुग्यो होला।

 क्रमसः


   






Sunday, October 27, 2013

साईकल संघर्ष (काठमाडौँ परिक्रमण - १ )


जुन महिनाको अन्त तिर फेसबुकमा  'जुलाई २० तरिखमा काठमाण्डौ कोरा साइकलिङ्मा भाग लिने हो ?' भनेर एउटा मेसेज पठाउनु भएको रहेछ राजनजीले । खासै चासो दिईएन।  फेरी एकदिन सम्झाउनु भयो अनि बाध्य भएर के रहेछ भनेर हेरियो।

बर्षेनी आयोजना गरिने काठमाडौँ कोरा साइक्लिङ्ग क्याम्पेनको यो तेस्रो संस्करणमा बैतडीमा इकोफ्रेन्डली बर्थिंग सेन्टर खोल्ने कामको लागि यस मार्फत सेभ द चिल्ड्रेनले सहयोग संकलन गर्ने रहेछ। यो रेसमा काठमाडौँको परिक्रमा गर्दै ५० किमि दुरी तय गर्नुपर्ने, अर्थ तिब्बती भाषामा कोरा गर्नुपर्ने  रहेछ।  गत वर्ष झन्डै ५०० जनाले भाग लिएका थिए रे , यसपाला १००० जना पनि हुन सक्छन्।  बाटो कच्ची, उकालो, ओरालो, सहज, कठिन सबै हुने भन्ने बुझियो।  यतिका साईकल यात्री बीच रोमान्चक यात्रा।

मैले भाग लिने बारे सोच्न थाले। अफिस तिरका साथिहरु संग कुरा गरे।  'ओहो तेत्रो साइकल चलाउनुपर्ने ?' 'प्राक्टिसै गरिएको छैन।' 'टाइम छैन' आदि भन्दै कोहि पनि तयार देखिएनन।  पहिलो चोटी एक्लै त कसरि भाग लिनु, अन्यौल थियो । राजेश र प्रमोदले भाग लिन सक्छन भन्ने थियो तर दुवैले रुचि देखाएनन।

जेहोस मैले हल्का तयारी शुरु गरें । एउटा सामान्य साइकल लिएर सातदोबाटो हुँदै  ललितपुरका ग्रामिण भागमा प्राक्टिस गर्न थाले।  राजनजीले पनि एकदिन चलाउनु भयो, निकै सिपालु तरिकाले। उहाँ र म जाने निश्चित गर्यौ। अफिस तिर खै किन भुलिंदा दर्ता गर्न झन्डै भुलेको।  राजनजीले दर्तागरि एउटा टि-शर्ट लिएर आउनु भयो।

जाने कुरो त भयो राम्रो साइकल भेटिएन।  किन्न खोजेको कत्रो महंगो।  २० हजार घटी त सामान्य भाउ। झम्सिखेलदेखि ठमेलका स्टोरसम्म भाडामा साइकल पाइएन। सबै बुक। म संग घरमा एउटा साईकल थियो त्यै लिएर भएपनि जान्छु भन्ने लाग्थ्यो तर राम्रो ब्रेक, ग्रेअर र कम्फोर्ट नभएको साइकलमा यतिलामो यात्रा निकै कठिन हुने भयले छट्पटि लगायो।  'साइकल भेटिएन, म जान नपाउन सक्छु ' राजनजीले सुनाउनु भयो।  चिन्ता लग्यो।

यात्राको २ दिन अघि राजनजीले खबर गर्नु भयो 'भनसुन पछि ठमेलमा एउटा भेटियो लिन जाँदै छु।' म पनि गएं अर्को साइकल भेट्ने आशमा । निकै भनसुन र अनुरोधपछि  साउजी दाइले छिमेकी पसलबाट 'जाइन्ट' ब्राण्डको ३२ हजार पर्ने नया साइकल रु.५०० प्रतिदिनमा मिलाइदिनु भयो र भन्नु भयो - 'बेच्न राखेको हो स्क्रयाच नगरी दिनु।' कस्तो सस्तो लग्यो।  मैले 'हुन्छ' त भने तर बाटो कस्तो होला र यो साइकलको हालत के होला सोच्ने आट गरिन। बास्तवमा मेरैकारण रजनजीले निकै प्रयास गर्नु भएको।  पछि भन्नु भएको थियो।   राजेशजीले आफुले भाग नलिएपनि यात्रामा बोक्न मिल्ने एउटा सानो झोला दिएर समर्थन चाही गरे।

दुइटा साइकल लिएर म र राजन जी मेरो डेरा जावलाखेल तिर दौडियौं - ६.५ किमि, साइकल राख्न। भोलि बिहान यतै पाटन दरबार स्क्वायरबाट यात्रा सुरु हुन्छ।

पहिलो चोटी यत्रो लामो दुरी, नयाँ ठाउँ, नयाँ कुरो - भोलिको बारे सम्झिदै निकै छट्पटी  अनुभूति गरियो रात भर ।   मलाई आफ्नो 'कम्फोर्ट जोन' बाट बाहिर निस्किनुपर्ने थियो भने पहिला साइकल चलाउन नआएर भोगेका नमीठा पलहरुलाई क्षणिक बनाउनु थियो।

साइकलमा  काठमाडौँका गाउँबस्ति, सहर, गोरेटो, उकाली, ओरालीमा थकान, खुसि, पिडा, हाँसो साथ् एक चक्कर लगाएर  ५० किमि बढी चुनौतीपूर्ण कोरा (परिक्रमा) सम्पन्न गरेको कल्पना गर्दै कतिबेला निदाइयो पत्तै भएन।
 क्रमसः …   

साइकल संघर्ष - १

सानोहुँदा साइकलको चित्र हेरिन्थ्यो । चेन देखेको थिएँ । तर, कुनै अन्दाज थिएन यो कसरी चल्छ वा चलाइन्छ भनेर । पहिलो चोटि साइकल  देखेको थिएँ २०५० साल मंसिरतिर, एस.एल.सी तयारीको लागि जुम्लाबाट पहिलो चोटि ४ दिन हिँडेर सुर्खेत पुगेको दिन । त्यतिबेला हेरियो मात्र अरुले चलाएको, सिक्ने अवसर मिलेन ।  

मैले साइकल सिक्दा अबेर भयो भन्ने लाग्थ्यो । अर्थात, २६ बर्ष हुँदासम्म पनि न साइकल न बाइक चलाउन सिकियो । यो सिप नभएकोले केही अप्थ्ठ्यारा क्षण पनि बेहोर्नु पर्‍यो । जुम्लामा जन्मेहुर्केको मान्छेको लागि त्यो स्वभाविक कुरो हो । तर, अरुलाई त्यो के थाहा । सुर्खेतमा क्याम्पस पढ्दाताका हाम्रा मिल्ने केटी साथीहरुको प्रिय साधन साइकल हुन्थ्यो । उनीहरु सरर हुंईकिएर आएको देख्दा 'मैले पनि चलाऊन जानेको भए उनीहरुलाई लिफ्ट दिंदा क्या मज्जा हुन्थ्यो भन्ने सोचिन्थ्यो । तेस्रो बर्षको जाँच पछि ठाकुरद्वारा घुम्नजाने प्लान बन्यो तर मिलेन । बरु त्यो सँग एउटा साइकलको प्रसँग आएको थियो । क्याम्पसमा साथीहरु बीच सल्लाह गर्ने कुरो रहेछ, मलाई नदेखेर एउटा केटी साथी मलाई खोज्न साइकलमा यारीचोकको डेरामा आईपुगिन् । साइकल मतिर सारेर आफु पछाडि बस्ने संकेत गरिन् । मलाई मन लागि नलागी साइकल चलाऊन नआउने कुरो घोषणा गरें । "उसो भए पछाडि बस!" मलाई आग्रह गरिन् । मैले आनाकानी गरें । "केटाहरु ___" उनले जिस्काईन् अनि  साइकल डोर्याएरै हिंयौं । मनमनै साइकल नजानेकोमा पहिलो पल्ट हिनताबोध गरें ।

अर्कोपाली जब पहिलो पल्ट पोखरा घुम्न पुगेको थिएँ सिस्टर न्यान्सी र उहाँका दाई, भाई, भातिजी र एउटा साथीको साथ । भोलिपल्ट एकाबिहानै  मलाई सिस्टर न्यान्सीले 'जाउँ लेकसाइड घुम्न" भनेर उठाइन् । उत्साहित बनेर झट्पट तयार भै टोलीमा सामेल बनें । हामी एउटा साइकल पसल मा रोकियौं । सबै साइकल छान्न लागे, म हेर्दै बसें । 'भाइ कुन साइकल लिने?'सिस्टर न्यान्सीले सोध्दा झस्केर 'मलाई साइकल आउँदैन, म यतै बस्छु' भनेर टार्न प्रयास गरें । 'ए त्यसो भए हामी सँगै हिडौं गाडीमा' भनेर सल्लाह भयो । मेरो कारण साइकलमा लेकसाइड घुम्ने एकाएक रध्द गरियो र हामी ट्याक्सीमा घुम्यौं । त्यहाँ दोस्रो ताली हिनताबोध भयो ।

यस बाहेक अरु सानातिना प्रसङगले साइकल नजानेको पछुतोलाई बल्झाइरहन्थ्यो ।

यस बीच साइकल सिक्ने प्रयास पनि निकै गरियो । क्याम्पस ताकाका दुइटा साथीहरुले असिनपसिन हुँदै साइकल धकेलेर मलाई सिकाउने विफल प्रयास गरे । कतै कसैको साइकल एकछिन् भेटे सुम्सुम्याएर गुडाउने रहर निकै गरियो । तर, कहिल्यै सिकिएन ।

सन् २००४ मा जागिरकोलागि नेपालगन्ज पुगें । फुल्टेक्राको अफिस पुग्न होस् वा घुमफिर, रिक्साको यात्रा झन्झटिलो र महँगो लाग्न थाल्यो । मोटरसाइकल सिकेर किन्ने रहर त थियो तर सम्भव थिएन । अफिसमा एउटा ड्राइभर दाईले साइकल भनेको कस्तो हुनुपर्छ भनी गफ सुनाउदा तुरुन्तै किनेर सिक्ने रहर जाग्यो । राती ९ बजेपछि न्यूरोडको बाटोमा प्राक्टिस गर्दा गर्दै सिकें, एक्लै । ३ दिन जति लाग्यो । लडिन । बरु केही पछि कतै जाँदा बालुवामा चिप्लेर नराम्ररी चोट लगेको थियो । आवश्यकता भए सिकिंदो रहेछ ।

अनि त साइकलमा नेपालगन्जको गर्मी छल्न निकै हुँईकीयो । राप्ती पारी गईयो । अरु ठाउँ पुगियो ।

कैलालीतिर पनि डुलियो । बलिया तिर  हाइवे किनाराको एउटा मासु पसलबाट रागाँको मासु बोक्ने साइकल ३० रुपैयाँमा भाडा लिएर प्रतापपुर पुगियो, शिवरात्रीको बुटी खाएर पनि चलाईयो पञ्चर टायरमा झन्डै बेहोसी हालमा । गाउँको बाटो कुकुरबाट लखेटिदै ।

एकचोटी कंचनपुरको दक्षिणी भागतिरका स्वास्थ्य संस्था तिर घुम्नु पर्ने भयो । महेन्द्रनगरबाट बेल्डाँडी गाडीमा झरेपछि बन्द शुरु भयो । हामीले  साइकल यात्रा गर्नु पर्ने भयो । कतै मागेर चलाइयो । कृष्णपुरमा हुलाकको कर्मचारीको साइकल भाडामा लिएर शंकरपुर, त्रिभुवनबस्ती, रैकवारबिचवा, परसन आदी ठाउँमात्र नभएर धनगढी बाट अत्तरिया हुँदै महेन्द्रनगरसम्म पुगियो । निकै कसरत भयो । साइकल जानेकोमा निकै खुशी लाग्यो ।

मैले नेपालगन्जमा किनेको साइकल चोरी नहुन्जेल ट्युब र टायर फेरी फेरी चलाएँ ।

अचेल म पोखरा जाँदा बिहान प्राय: माउन्टेन बाइक भाडामा लिएर लेकसाइडदेखि पामेसम्म घुम्न जान्छुँ ।  
बाँकि अर्कोमा …