Thursday, April 15, 2021

दे..उडा!


These are the collection of Deuda songs that I occasionally write for my "De_Uda!" posts in twitter @madhavjee. I keep on updating this list as I make new posts. 

सवाल: 
काँ थी राखुँ थाल बटुकाे, काँ थी राखुँ लाेटा । 
आफूले दाल भातु खायाै, अक्का कन राेटा ।।

जवाफ: 
ताँईथी राख थाल बटुकाे, ताईं राखिल लाेटा । 
आज्कल भात खान्या भन्दा, राेटा खान्या माेटा ।।

सवाल:  
गाडघट्ट उरेल्लाे छट्ट, पिनि ल्याईआ धुलाे । 
नेता जत्ति बेमान भन्दा, सेखी मात्तै ठूलाे ।। 

जवाफ: 
जैले देखुँ ओभानै छ, गाजिमेल्या कुलाे । 
सप्पै काम गडबडी गर्न्या, काे मानला ठूलाे ।।

जनताकाे सवाल: 
भन्याले झगडा हुन्या, नभनि नहुन्या । 
मिलिजुली टाली हाल, तिम्रा घर चुन्या ।। 

नेताकाे उत्तर: 
सिलंङ्गी चाैताराेबाट, डाकाे लाउनाे मान्या। 
पाेईल मु सबैका जान्या, घर गरी नखान्या ।।

जन्ताकाे सवाल: 
आधा खायाै आधा राख्याै, दाडिमकाे बाेक्राे । 
घरका बुडेउली मान्ठ, कुडा किन खाेक्राे? 

नेताकाे जवाफ: 
हुड्डाे मेराे भरिन्या नाईं, तिरतिर्या पानीले । 
सबैकाे रहडी भयाँ, यै आनि बानिले ।।

जनताकाे सवाल: 
लेकका तिर्खुला सक्याै, ओैल सक्याै गीठा । 
चिनी खाई बाेल्दा छाै क्यार, कुडा कति मीठा ।। 

ओलीकाे जवाफ: 
बगाल छुटेकाे बाख्राे, बाघ देख्या तर्सिगाे । 
एकदुई टुक्का बाेलिदियाँ, ताली त बर्सिगाे ।।

जनताकाे प्रश्न: 
शहरमै सिङ् खाेज्दै छाै कि, गाउँतिर धाउन्या हाै? 
क्या छ त नीति र चाल, क्या गर्न आउन्या हाै? 

नेताकाे जवाफ: 
ट्याक्कटुक्क टुक्का हान्याे, साेझा जन्ता भुट्याे । 
दामदारुले चुनाव जित्याे, उई ढुकुटी लुट्याे ।।

जनताकाे सवाल: 
भाईभाईकाे झगडा पड्याे, बुईनीले बन गरी । 
जन्ता कहिले सु:ख बस्न्या, एकुराे मन गरी?? 

नेताकाे जवाफ: 
गाेठालाे गाई चराई आला, बसिजाउ गाेठ मै । 
आश देखाउन्या सिंगापुरकाे, छुपिदाउ भाेट मै ।।

जन्ता: 
क्या मिलायाै हलिबल्ल, क्या छ चाँजाेपाँजाे? 
सबैका खेत राेपीसक्या, हाम्राे किन बाँझाे? 

ओल्बा: 
बन मेरै कस्तुराे मेरै, मै बनकाे राजा ।। 
चुट्किला उम्रिन्या खेत, धान राेपुँ कि गाँजा?

जन्ता: 
गाेठ आगाे किन बल्याे, घरिना छुई छन् कि । 
कटु बाेल्ने कालाे जिब्राे, एकहैन दुई छन् कि? 

नेता: 
राम रूँदै रामका भाई रूँदै, सीता रुँदै बन । 
दाउ मेराे रावणका जसाे, दश तिरै छ मन ।

जन्ता: 
राती उँधै दिउँस उँधै, कहाँ जान्छस् पानी..अ! 
जति बाेल्याे उति फुर्क्याे, झुठका खानी..अ!! 

नेता: 
डाली निउँताई खानु छैन, सुन्तला दानी..अ । 
ज्यानै जाला छुट्न्या छैन, लागेका बानी..अ ।।

जन्ता: 
आग लाग्याे चुलीका लेख, दाउरा बल्या धुनी । 
के सिकाैंला बाज तिम्रा, गाली ठट्टा सुनि ?!

नेता: 
हाल् बउजू ताेरीका तेल, फुका नन्द केश । 
गफ रूचाउन्या नेफाेलीलाई, देश अन्सार भेष ।।

जन्ता: 
अरु फुल्याे जैलेकैले, आरु फुल्याे चैत । 
काेकाे धामी पतुर्दाछन्, काे ठाैरकाे पैठ?? 

नेता: 
कम्मरकाे गागरी खस्याे, पानी रण्डमण्ड। 
बाटामै पतुर्न लाग्या, ओली र प्रचण्ड ।।

जन्ता: 
काँ हाेला सुक्याकाे भिट्टाे, काँ हाेला हरियाे । 
आँखाचिम्लि किन बाेल्छाै, थुकछिटा भरियाे ।। 

नेता: 
सिपालु त सिपालु छुँ, जान्ने त जान्ने छुँ । 
यस्तै छ सिक्याकाे मैले, मै सर्वे ठान्ने हुँ ।।

मन १: 
सातै सल्ला ढल्लपल्ल, टुपा बयालुअ। 
काे दरा छै क्या फल खान्छै, रंगी मायालुअ।।

मन २: 
मनाैंदाे हुरहुरी बल्याे, पिरतिकाे राँकाे। द
ई भया बास्मति चामल, मै हालुँला फाँकाे।। 

मन ३: 
पास आईजा कस्तुरीअ, मगमग बसाउने। 
बैरी हुँदाे मायाजाल, कलेजी रसाउने ।

(DEMOCRACY DAY SPECIAL)
जन्ता: 
एक कुडाे मनाैंदाे आयाे, साेधुँ साेधुँ भा´छ । 
प्रजातन्त्र आयाे भन्दा, हाम्माे लागि काँछ? 

नेता: 
कतिदिन झुठ्कुडा बाेलुँ, साँचै बाेल्याँ आज। 
भेडा हाै भेडा भई बस, हाम्मा राज काज ।।

प्रेमभाव विशेष 
मन १: 
जाँ जुम्ली जा हुँईं जाड्या जा, हुईं जुम्लीकी जाेई जा। 
धन भन्नु हातकाे मैला, मन उँज्यालाे भईजा । 

मन २: 
अईले ओेैल नुन पाईंजाँदाे, ताउलाखार काे जा । 
बाजका काेलाैंदाे बसि, माम खानुकाे मजा ।

नेता: 
मुस्किल हुनाे खाेली तर्न, ढुंगामा लेउ लागि । 
जपना जन्ता कै गर्छाैं, क्वै तारी देउला कि? 

जन्ता:
याे डाली उ डाली गर्दा, बाँदर रुख चड्याका । 
तावा दै उफ्रेकाे माछाे, भुङ्ग्राउँदाे पड्याका ।।

जन्ता: 
आगाकाे कुराउनी छैन, पानीकाे तर छैन । 
मुर्खकाे मुलाकाज छैन, नेताकाे भर छैन । 

नेता:
भैंसी माेटी लेख चर्याकी, गाई माेटी गैराकी । 
वल्लाे गुठ पल्लाे गुठ गद्दै, भईगयाैं बैरागी ।।

LOVE MESSAGE
छाेट्टी: 
साई काट रुँईसकी डाली, मै काटुँली खर्सु । 
फुलबाडी ओईलाउन लाग्याे, मेघ् पानिअ बर्सु ।। 

छाेट्या: 
पलपल बटुकिअ पुन्न पल घ्यू छ । 
नमस्क्यै पानसका फूल, त्याँउँदाै मेराे ज्यू छ ।।

जन्ता: 
चैतमास सुक्न्या खाेली, भदुअका भेल । 
कै गुट उज्यालाे हाेलाई, मेरा ताप्न्या बेल ।। 

छाेटेनेता: 
माैरी पड्या अलपत्र, बिग्रि गयाे रानुँ । 
बेल उस्तै चम्किन्याँ आशा, काेई अब नमानुँ ।।

निष्ठुरी माया
छाेट्टया: 
क्यै ताेडी तेलका धारा, क्यै ताेडी पिना भै । 
मेरी बाज तेराे माया, कस्तुरी बिना भै । 

छाेट्टी: 
ठाउँपन बिरानाे मान्दाे, बाटाेपन फेराे । 
मन मेराे उर्लिंदाे भाैती, भर नमान्यै मेराे ।।

जन्ता: 
पछ्याैरीकाे फेर उडायाे, बयाली सर्काले। 
एउटाले धारेहात गर्याे, मुख छाड्याे अर्काले ।। 

नेता: 
गाेठालाले पानी खान्या, सिरुपाते धाराे । 
खाँङ फाली न गाली गरी, मन बुझाउन गाह्राे ।।

CORONA SPECIAL
मन्त्रालय: 
बर्षैभरी विश्वैभरी, सर्याे काेर्ना सर्याे । 
फेरी छाल उर्लिन लाग्याे, सचेत हुनुपर्याे।। 

कार्यकर्ता: 
जन्ताकन ऐन बनेकाे, नेताकन चैन । 
हामी त नेताका माण्ठ, काेर्नासाेर्ना छैन ।।

YEAR-REVIEW
जन्ता: 
पाकिकन लाल भैगया, गल्काैंडी झालभरि । 
क्या खति क्या उपति भाे, सतहत्तर सालभरि? 

नेता: 
राता काला चाैंरी फुर्का, भाेट्याका पालभरि । 
न भाउ पाईयाे, न भाग मिल्याे, सतहत्तर सालभरि।

NEWYEAR SPECIAL
नेता: 
आईगयाे बैशाख महिना, लाग्याे नयाँ साल। 
समृद्ध नेपाली जन्ता, हाँसि खेलि हाल ।। 

जन्ता: 
बन डढेर धुँवाधुँवा मन जलेकाे आँसु । 
हुँईंमाथि काेराेना कहर, म कसरी हाँसु?

नेपालीले घुम्‍ने बर्दिया राष्ट्रिय निकुञ्ज

यसपालि नेपालगन्ज सहरदेखि साइकल चलाउँदै बर्दिया राष्ट्रिय निकुञ्जछेउको ठाकुरद्वार पुग्दा त्यहाँका पर्यटन व्यवसायी र निकुञ्ज प्रशासनले निकै सहृदयतापूर्वक आतिथ्य देखाए । हामीलाई त्यहाँको वस्तुस्थितिबारे विस्तारमा वर्णन गरे ।

बर्दिया अब आन्तरिक पर्यटन केन्द्रित रणनीति खोजिरहेको छ । हामी ‘टुर डे ठाकुरद्वार’मा सहभागी साइक्लिस्टसहित करिब दुई सयजना आन्तरिक पर्यटन प्रवर्धनको उद्देश्यले त्यहाँ पुगेका थियौँ ।

सन् १९८८ मा बर्दिया राष्ट्रिय निकुञ्ज घोषणा हुनुअघि करिब दुई दशकसम्म यो ठाउँ शिकार आरक्ष तथा वन्यजन्तु संरक्षण केन्द्र थियो । सन् १८१५ को सुगौली सन्धिमा गुमेका ठाउँ सन् १८६० नयाँ मुलुकका रूपमा फिर्ता पाएपछि यो नेपालको भयो ।

ब्रिटिस इन्डियाले यस क्षेत्रमा प्रत्यक्ष शासन गरेको ४५ वर्षमा वन्यजन्तुको शिकार तथा वनपैदावारको व्यापक तस्करी भयो । त्यसपछि राणा र राजाका पालामा उनीहरूका पाहुनासहित शिकार खेल्न आउने ठाउँ बन्यो । निकुञ्ज बनेकै वर्ष बेलायती व्यवसायी जीम एडवार्डस्ले यहाँ टाइगर टप्स कर्णाली लज खोलेपछि भने औपचारिकरूपमा बर्दियामा बाघ हेर्ने विदेशी पर्यटक आउन थाले । त्यसयता यहाँ पर्यटकीय दृष्टिबाट संरक्षण प्रयास र गतिविधि विकास हुन थाले ।

तथापि वि.सं. २०५० सम्म वर्षेनि औसतमा तीन सयजना जति विदेशी मात्रले भ्रमण गरिरहेका हुन्थे । त्यसपछि बिस्तारै विदेशी सँगसँगै नेपाली पर्यटक आगमन बढ्न थाल्यो । विसं. २०५८ सम्म आइपुग्दा वर्षेनि राष्ट्रिय निकुञ्ज प्रवेश टिकट काट्ने संख्या १० हजार ७५० सम्म पुग्यो ।

तर, राजपरिवार हत्याकाण्ड, माओवादी जनयुद्धको उत्कर्ष, शान्ति सम्झौतापछि कायम राजनीतिक अस्थिरता, बन्द, हड्ताल आदि कारणले त्यसपछिका वर्षहरूमा बर्दिया भ्रमण गर्ने यात्रीको संख्या ह्वात्तै घट्यो । वार्षिक पर्यटक आगमनको उही विन्दुमा फेरि फर्किन एक दशक बढी समय लाग्यो । संविधान सभाको चुनावपछि झन् उत्साहजनक सुधार भयो । कोेरोनाले पर्यटन तहसनहस पार्नुभन्द अघिल्लो वर्ष झण्डै पच्चीस हजार पर्यटकले बर्दिया राष्ट्रिय निकुञ्ज घुमेका थिए ।

यसरी आउने पर्यटकमा दुई तिहाइ नेपाली हुन् । सयजना पर्यटकमध्ये चार जनामात्र सार्क राष्ट्रका हुन्‍छन् । यसले के इंगित गर्छ भने नेपालीहरूमा भ्रमणप्रति व्यापक रुचि बढिरहेको छ भने भारतको विशाल जनसंख्यालाई बर्दियामा अझै आकर्षित गरिएको छैन । नेपाल खुले पनि तेस्रो विश्वका पर्यटकको आगमन बढ्न अझै कति समय लाग्ला ? अर्थात्, यदि देशमा शान्ति कायम रहेपछि आन्तरिक पर्यटनको प्रचुर सम्भावना छ । त्यसैले अब यहाँका पर्यटन व्यवसायी आन्तरिक पर्यटन बढाउन प्रयासरत छन् ।

हामीलाई त्यहाँको पर्यापर्यटन विकास मञ्चका अध्यक्ष कृष्णप्रसाद भट्टराई र सदस्य सोन्या रष्टिकस्ले प्रस्तुतीकरणमार्फत बर्दिया राष्ट्रिय निकुञ्जमा दिगो पर्यटन विकास र व्यवस्थापनसम्बन्धी जानकारी दिए । यहाँ सञ्चालनमा रहेका २४ वटा होटल, लज र होमस्टे मिलेर गठन गरिएको मञ्चले पर्यटन प्रवर्धनका विविध गतिविधि बढाउन भूमिका खेल्छ ।

यहाँ पर्यटन तथा प्रकृति संरक्षणका लागि राष्ट्रिय निकुञ्ज व्यवस्थापन, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेचर गाइड एसोसियसन, समुदायमा आधारित वन्यजन्तु तस्करीविरुद्ध काम गर्ने एकाइ, चरा प्रकृति संरक्षण क्लब, बफरजोन समिति, नेपाल पर्यटन बोर्ड, ठाकुरबाबा नगरपालिका लगायत संस्थाहरू सक्रिय छन् ।

राष्ट्रिय निकुञ्जको क्षेत्रफल करिब ९६८ वर्गकिलोमिटर छ । यो शिवालिक पर्वत शृंखलाको दक्षिणी भेकमा कर्णाली नदी पूर्वबाट कोहलपुर हुँदै सुर्खेत जाने राजमार्गको पश्चिमसम्म फैलिएको छ । बबई नदी यो निकुञ्जको बीचमा भएर बग्छ । अचेल यसको केही खण्ड बाँके राष्ट्रिय निकुञ्जसँग पनि जोडिएर वन्यजन्तुको विचरण विस्तार भएको छ ।



सोन्याले हामीलाई राष्ट्रिय निकुञ्जबारे बताएका केही जानकारीहरू निकै रोचक थिए । बर्दिया राष्ट्रिय निकुञ्ज भन्‍नेबित्तिकै चिडियाखाना बाहिर प्राकृतिक अवस्थामै बाघ हेर्न पाइने ठाउँका रूपमा प्रख्यात छ । तर यहाँ बाघलगायत अरु दशवटा संकटापन्‍न प्रजातिका वन्यजन्तु पनि पाइन्‍छन् । जस्तैः एकसिंगे गैडा, जंगली एसियाली हात्ती, डल्फिन, केही हरिण प्रजातिका जन्तु, चितुवा आदि ।

विश्वभरि करिब चार हजार बाघ छन् । दुई वर्षअघि बाघगणना अनुसार नेपालमा २३५ वटा बाघ थिए । बर्दियामा ८७ वटा छन् । पछिल्लो दश वर्षमा बाघको संख्यामा गुणात्मक वृद्धि भएको छ । यही अवधिमा बाघको आहारा मानिने हरिण प्रजातिको पनि जनघनत्व प्रतिकिमि ६८ बाट बढेर ९६ पुगेको छ । अर्थात् यहाँ बाघसहित अन्य जीवजन्तुको संख्या पनि उल्लेख्य वृद्धि भएको छ । यसको मतलब यहाँ चोरीशिकारीका घटना रोकिएका छन् तथा संरक्षणका प्रयासहरूले सफलता पाइरहेको छ । यहाँका मानिस बाघ संरक्षणमा योगदान गर्ने हलिउड हिरो लियोनार्दो डि क्याप्रियोको नाम लिन छुटाउँदैनन् ।

जंगल सफारीमा बाघ देख्‍न सकिने सम्भावना बढेको छ । हाम्रो साइक्लिस्टहरूको एक समूहले पनि बाघ भेटे फोटो खिचेका थिए । बाघको संख्या बढेपछि स्थानीयहरूमा बाघको डर पनि बढेको छ । केही हप्ता अघि गुडिरहेको मोटरसाइकलमा बाघले आक्रमण गरी मान्‍छे मारेपछि राजमार्गको अम्रेनीबाट ठाकुरद्वार रातीको यात्रा निषेध गरिएको छ भनी यही खण्डमा हामीलाई स्कर्टिङ गरिरहेका प्रहरीले भनेका थिए ।

अचेल निकुञ्जभित्र ६४२ प्रजातिका जीवजन्तु पाइन्‍छन् जसमध्ये ५५ वटा स्तनधारी प्राणी छन् । यहाँ गैँडाको संख्यामा खासै वृद्धि भएको छैन । निकुञ्जभित्र हाल ३६ वटा गैँडा छन् । जंगली हात्तीको झुण्डहरू नेपाल-भारत वारपार गरिरहने हुनाले उनीहरूको संख्या यकिन छैन ।

जलचरहरूमा घडियाल गोही संकटापन्‍न जीव मानिन्‍छ । हाल १६ वटा घडियाल भेटिन्‍छन् । यदाकदा कर्णाली नदीमा डल्फिन पनि भेटिन्‍छ । बर्दिया राष्ट्रिय निकुञ्ज सयौँ प्रकारका चराचुरुंगी बस्ने ठाउँ पनि हो । यहाँको जंगल, फाँट र नदीहरूमा ५१३ प्रजातिका चराहरू भेटिन्‍छन् । यो चराप्रेमीहरूका लागि एक गजबको गन्तव्य हो ।

निकुञ्ज आसपासको सांस्कृतिक मौलिकता पनि विशिष्ट छ । थारु जातिको बस्ती, रहनसहन, संस्कृति खानपिनले पनि पर्यटक लोभ्याउन सक्छ । आन्तरिक पर्यटक भएर यहाँ भ्रमण गर्नेहरूले जीप वा पैदल जंगल सफारी, फिसिङ, र्याफ्टिङ, बर्ड वाचिङ, हात्ती शयर, क्याम्पिङ, संग्रहालय भ्रमण, गोही तथा हात्ती प्रजनन केन्द्र भ्रमणजस्ता विविध पर्यटकीय गतिविधि गर्न सक्छन् ।



हालसम्म नेपाली यात्रीहरू यहाँ औसतमा एक रातमात्र बिताउँछन् । बसाई जति लम्ब्याउन सकियो पयर्टनबाट उति नै लाभ लिन सकिन्‍छ । त्यसका लागि नेपालीमाझ पर्यटकीय गतिविधिबारे आकर्षण जगाउन आवश्यक छ । राष्ट्रिय निकुञ्ज व्यवस्थापनले भर्खरै निकुञ्जमा केही महत्वपूर्ण सुधार गरेको छ । निकुञ्जको पाँच स्थानमा गेट बनेको छ । ती सबै गेटहरूबाट पर्यटक प्रवेश दिने तयारी गरिएको जानकारी निकुञ्ज व्यवस्थापक विष्णु श्रेष्ठले हामीलाई सुनाएका थिए । योसँगै निकुञ्जभित्र बाटोको विस्तार गरिएको छ, हेर्ने टावरहरू थपिएको छ भने क्याम्पिङ साइटहरू पनि बनाइएको छ ।

त्यसबाहेक, घाँसे मैदान तथा पानी निकास मर्मत र व्यवस्थापन, वन्यजन्तु तस्करविरोधी दस्ता परिचालन, राजमार्गमा सवारी गति नियन्त्रण र वन्यजन्तु मानव समुदायबीच हुने द्वन्द्व व्यवस्थापन जस्ता कार्य पनि भइरहेको छ । बढ्दो पर्यटकीय आगमनलाई लक्षित गरी हाल यहाँ २९ वटा होटल तथा लज सञ्चालनमा छन् । सबै जोडेर ८ सय जति बेड संख्या उपलब्ध छन् । यसमा ३५० भन्दा बढी कर्मचारी प्रत्यक्ष रोजगारी पाएका छन् ।



सूक्ष्म अर्थतन्त्रका रूपमा स्थानीय समुदायमा अप्रत्यक्ष तर महत्वपूर्ण योगदान भइरहेको हुन्‍छ । जस्तै : पर्यापर्यटन विकास मञ्चका अध्यक्ष कृष्णप्रसाद भट्टराईले भने अनुसार दश हजार पर्यटकले भ्रमण गर्दा कम्तीमा दुई करोड रुपैयाँ स्थानीय समुदायमा पुग्छ । एउटा आँकडाअनुसार यहाँ आउने पर्यटकले हाल औसत तीन हजार रुपैयाँ खर्च गर्ने गरेका छन् । यहाँ विद्यमान केही समस्यालाई समाधान गर्न जरुरी छ ।

आम मानिसलाई आवागमन सहज गर्न यातायातको सुविधा बढाउन जरुरी छ । सडकको बहुविकल्प विस्तार गर्नुपर्छ । दक्षिणबाट प्रवेश गर्ने बाटो कच्ची छ । बाटोमा कतै पनि संकेत छैन । ठाकुरद्वारमा बसपार्क र टर्मिनल पनि छैन । विदेशीहरूका लागि लिइने उच्च हवाई भाडादरले कतिपयलाई निरुत्साहन गरेको पाइन्‍छ ।

प्रदूषणको समस्या दिन प्रतिदिन बढ्दो छ । निकुञ्ज नजिकको बजार र बस्तीहरूमा उत्सव र चाडपर्वको बाहानामा प्रायः ध्वनि प्रदूषण भइरहन्‍छ । गाडीहरूको हर्नमा पनि नियन्त्रण छैन । यसै गरी फोहोर व्यवस्थापन जटिल बन्दै छ ।

बाटो छेउछाउ जथाभावी फालिएका प्लास्टिकजन्य फोहोरले जैविक विविधतामा असर गर्छ । केही महिनाअघि यहाँका अभियन्ताहरूले जंगलभित्र तीस किमि सडकको आसपासबाट तीन ट्रली फोहोर टिपेर विसर्जन गरेका थिए । यसरी फोहोर गर्ने यात्रीहरू सबैजसो नेपाली पर्यटक र स्थानीयहरू नै हुन्‍छन् ।



पर्यटकको चाप घटाउने उपाय पनि क्रमशः अवलम्बन गर्दै जानुपर्छ । निश्चित सीमाभन्दा बढी पर्यटकको आगमन वातावरणीय सन्तुनलका निम्ति प्रत्युत्पादक हुनसक्छ । त्यसैले भार वितरणका निम्ति आसपासका पर्यटकीय सम्भावना भएका स्थलहरूको विकास गरिनुपर्छ ।

जस्तै : यहाँ कर्णाली चिसापानीको पुल, एक किलोमिटर लामो कोठीयाघाट पुल, टिकापुर पार्क, खैरापुर कृष्णसार केन्द्र, बढैया ताल, डल्ला गाउँ हाेमस्‍टे आदी । हामी साइकलमा यी ठाउँ पुगेका थियौँ । यहाँबाट पर्यटकलाई कर्णालीक्षेत्र र सुदूरपश्चिमसँग जोड्ने प्याकेजको पनि आवश्यकता छ ।

हामी नेपालगन्ज साइक्लिङ क्लब र नाट्टा नेपालगन्ज च्याप्टरले आयोजना गरेको ‘टुर डे ठाकुरद्वार’मा नेपालका पाँच दर्जन भन्दा बढी जिल्ला र केही भारतबाट आएका डेढ सय जना सहभागी थियौँ । कोभिडले सुस्ताएको जीवन र व्यवसायमा यस्ता गतिविधिले नयाँ उमंग र चहलपहल ल्याउँछन् ।



पहिलो दिन नेपालगन्जको बागेश्वरी मन्दिर प्रांगणबाट साइकल चलाउँदै ८८ किमी दुरीमा बर्दियाको ठाकुरद्धारासम्म पुगेका थियौँ । राईडको क्रममा बर्दियाको बढैयाताल, गुलरिया र खैरापुरको कृष्णसार केन्द्र पनि घुम्यौँ । दोस्रो दिन निकुञ्ज आसपास र गेरुवा नदी माथिको १०५० मिटर लामो पुल घुम्यौँ ।

यसैदिन बेलुका स्थानीय पर्या-पर्यटन मन्च तथा निकुञ्ज व्यवस्थापनसँग आन्तरिक पर्यटन प्रवर्धनबारे छलफल कार्यक्रम भयो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा‍ धनन्‍जय रेग्मीले हामीले साइक्लिङ गरेर आएको यो रुटलाई औपचारिक ट्रेलको आधिकारिकता दिने घोषण र रुट नक्सा अनावरण गरे । तेस्रो दिन उत्तरतर्फ अम्रेनीसम्म आएर पूर्वपश्चिम राजमार्ग हुँदै नेपालगन्ज फर्कियौँ । 

(लेखक चौलागाँईं कर्णाली राइडर्सका सदस्य हुन् ।)

प्रकाशित https://ekagaj.com/article/tourism/6570
फागुन १, २०७७ ११:४६ बजे

Sunday, February 21, 2021

तीर्थबाट फर्किनेले भोज गर्थे, उत्सव मनाउँथे




यात्राले मानिसमा उमंग, स्वास्थ्य र सन्तुष्टि बढाउँछ भनिन्छ। त्यसैले कतिपय देशमा मानिसहरू रहरले यात्रा गर्छन्। तर, कर्णालीमा बाध्यताले लामो यात्रा गर्ने चलन छँदैछ।

नुनतेलका लागि कहिले भोट त कहिले मधेशका लामालामा हाटयात्रा गरिने चलन पुरानै हो। यसरी यात्रा गर्ने हटारूका कथाहरू मार्मिक हुन्छन्।

कर्णालीका बासिन्दाले कालापहाडको र हाटको यात्रासँगै गर्छन्। कालापहाडमा कमाएका तोडा अर्थात् धनले घर फर्किँदा हाट गर्ने चलन छ। गाडी आउनुअघिसम्म कर्णाली क्षेत्रका लागि राजापुर हाट, कोइलाबास हाट तथा नेपालगञ्ज हाट निकै प्रचलित थिए। महिनौं हिँडेर हाट गर्ने पुस्ता उसै छन्।

तीर्थयात्रा अर्को परम्परा हो। यो बाध्यता कम, रहर बढी भएको यात्रा हो। आफ्नो होस् वा पितृका लागि, तीर्थयात्राले मानिसमा आत्मिक सन्तुष्टि दिन्छ। कर्णालीबाट टाढाको चारधाम, मुक्तिनाथ र कैलाशनाथको तीर्थयात्रा प्रख्यात छ भने नजिकका विभिन्न मालिका, कुण्ड, त्रिवेणी, थान, मन्दिरहरू लगायत शक्तिपीठ प्रचलित छन्। छायानाथ, ऋणमोक्ष, खेस्म मालिका, चिमारा मालिका, भुरिचुला मालिका, बाँसी मालिका, हलढुंगा मालिका आदि केही जुम्ला, मेरो गाउँतिरका मानिसहरू जाने नजिकका तीर्थस्थल हुन्।

यस्ता यात्राका कथाले समुदायका अलिखित जानकारीलाई नयाँ पुस्तामा हस्तान्तरण गरिरहेका हुन्छन्। यात्रासँगै मानिसका सम्बन्धमा नयाँ आयाम थपिएका पनि हुन्छन्। कसैकसैले मीतमितिनी वा सम्धिसम्धिनी बन्ने टुंगो पनि यस्तै तीर्थयात्रामा गर्थे। तीर्थारू र हटारूका कथा रोचक हुन्छन्। ती कथामा विगतका बाध्यता, कठिनाइ, जोखिम र चुनौती अनि समर्पण, सहकार्य, सन्तुष्टि र सहिष्णुसहितको जीवनशैली झल्किन्छ।

तीर्थयात्राबारे भेटिने केही प्राचीन तथा मध्यकालीन तथ्यहरूले यसको विकासक्रम र अन्तरसम्बन्ध बुझ्न मद्दत गर्छ।

खस साम्राज्यकालमा यो क्षेत्र हिमाल वारपारको साम्राज्य अर्थात 'ट्रान्स-हिमालयन इम्पाएर' थियो। अहिले सुन्दा अपत्यारिलो लागे पनि छदेखि नौ सय वर्षपहिलेको अवधिमा उत्तरमा तिब्बतको गुगे, गांग्री र पुरांगसम्म, दक्षिणमा बोधगयासम्म, पूर्वमा गण्डकी र पश्चिममा उत्तराखण्ड भूभागसम्म विस्तार भएको खस साम्राज्यको शासनकेन्द्र कर्णाली क्षेत्र थियो।

यही भूगोलभित्र हिमवत्खण्डका ठूला हिन्दु र बौद्ध तीर्थस्थलहरू छन्। जस्तो तिब्बतको कैलाश र मानसरोवर, उत्तराखण्डका बद्रीनाथ र केदारनाथ, बोधगयाको सारनाथ, गण्डकीको मुक्तिनाथ आदि।

उबेलाका राजाहरूले जारी गर्ने लिखतहरूमा 'बदरीनाथ जयति, मुक्तिनाथ सहाय' उल्लेख गरेको पाइन्छ। यसलाई आफ्नो शासन क्षेत्रका देवहरूको सम्मानका रूपमा इतिहासकारहरूले अर्थ्याएका छन्।

बि.सं. ११५० ताका शासन गरेका अनुमान गरिएका खस साम्राज्यका पहिलो राजा नगराजले तिब्बतमै दीक्षा लिएका थिए। सम्राट नागराजले मानसरोवर तीर्थयात्राबाट फर्किँदा खारी प्रान्तको मेखम् गाउँबाट साठी जना भोटे व्यापारी साथ ल्याएर हालको मुगु गाउँमा बसालेका थिए भनिन्छ।

इतिहासकार सूर्यमणि अधिकारीका अनुसार बि.सं. १२५० आसपास दशकमा उत्तरभारतमा मुसलमान आक्रमण तीव्र भयो। त्यतिबेला उत्तरभारतमा निकै शक्तिशाली मानिएका अजमेरका राजा पृथ्वीराज चौहान, दिल्लीका राजा गोविन्द राय, बंगालका राजा लक्ष्मण सेन, कन्नौजका राजा जयचन्द मारिए।

त्यसको आधा शताब्दीभित्रै बि.सं. १३०० को सुरूआती दशकबाट शासन गरेका जुम्ली सम्राट अशोकचल्लका नाउँमा बोधगयामा कीर्तिस्तम्भ बनेको छ। उनले उत्तराखण्डको गढवालमा त्रिशूल गाडेका थिए। उनका छोरा जितारी मल्ल नेपाल उपत्यका अर्थात काठमाडौंसम्म पुगेका थिए भने नाति रिपुमल्लका अभिलेख लुम्बिनी र कपिलबस्तुमा भेटिएका छन्।

बि.सं. १३४४ देखि १३९१ मा कर्णालीका जितारीमल्ल, रिपुमल्ल, आदित्यमल्ल र पुण्यमल्ल गरी चार राजाले आक्रमण र तीर्थयात्राको सिलसिलामा सातपटक नेपाल उपत्यका भ्रमण गरेका थिए। पटकपटक उनीहरूले उपत्यकामा पशुपतिनाथ, स्वयम्भूनाथ चैत्य र बुंगमतिको रातो मच्छिन्द्रनाथ दर्शन पूजा गर्ने गरेको जानकारी धनबज्र बज्राचार्यले अनुवाद गरेको 'गोपाल बंशावली' मा उल्लेख छ।

यो क्षेत्र प्राचीन रेशममार्गको अंश थियो। गंगाक्षेत्रबाट साधुसन्तहरू कैलाश दर्शन गर्न यही बाटो हिँड्थे। तिब्बततिरको व्यापारका लागि पनि यही मार्ग प्रयोग हुन्थ्यो। यही कालखण्डमा चन्दननाथ बाबा मानसरोवर तीर्थयात्रामा यही बाटो हुँदै आएर यतै बस्न थाले भन्ने अनुमान छ।

खस साम्राज्यकालमा राजाहरू बौद्ध धर्ममा विश्वास गर्थे भने हिन्दु धर्ममा पनि उत्तिकै श्रद्धा गर्थे। चौधौं शताब्दीताका खसशासनको केन्द्रीय भूमि कर्णाली क्षेत्रमा हिन्दु पञ्चदेवल र बौद्ध चैत्यहरूको सम्मीश्रण विकास भएको पाइन्छ। जस्तो सुर्खेतको काँक्रेबिहार, डोटीक्षेत्रमा अजमेरकोट तथा अछाम, दुल्लू र जुम्ला क्षेत्रमा भेटिने देवलहरू। खस साम्राज्य टुक्रिन थालेपछि राजकीय संरक्षण अभावमा कर्णाली क्षेत्रमा बौद्ध धर्मको प्रभाव हराउँदै गएको थियो।

यही समय आसपास कर्णालीका आम मानिसहरूमा पनि टाढा-टाढासम्म तीर्थयात्रा जाने परम्परा बढ्यो।

कालापहाड वा हाट जानुपर्ने बाध्यता भने निकै पछि आएको हुनुपर्छ। सामाजिक र राजनीतिक उथलपुथलसँगै तिब्बत र भारतबीच हुने आवातजावत अवरूद्ध हुन थाल्यो। आर्थिकमन्दी र अभाव टार्न मानिसहरू कामको खोजीमा निस्किन थाले। ब्रिटिश-भारतको ग्रीष्मकालीन राजधानी सिमला आसपासका क्षेत्रमा मौलाउन लागेको विकास निर्माणले कर्णालीबासीलाई समेत कामको अवसर दियो। मिल्दो हावापानीका कारण पनि मानिसहरू हिमाञ्चल र उत्तराखण्डका पहाडमा जाने चलन सुरू भयो।

बाइसे राज्यकालमा राजाहरूको चारधाम यात्रा गर्ने परम्परा थियो। आपसमा लड्ने भिड्ने रजौटाहरू तथा कष्टपूर्ण जीवन बिताइरहेका आम मानिस सबैको श्रद्धा र भक्ति जोडिएका पूजास्थल एकै हुन्थे।

बि.सं. १६८८ सम्म जुम्लाका राजा रहेका विक्रम शाही जगन्नाथजीको दर्शन गर्न भनी आफ्ना छोरा बहादुर शाहीलाई लिएर गोर्खाको बाटो हुँदै गोर्खाली राजा राम शाहका दरबारमा पाहुना बसेका थिए। राम शाहले जुम्लामा राज्य खाली नछोड भनी सल्लाह दिएपछि छोरालाई फिर्ता पठाएर आफू एक्लै तीर्थ गएका थिए भनी सूर्यमणि अधिकारीले लेखेका छन्।

बि.सं. १८०० मा जाजरकोटका राजा हरि शाह काशी तीर्थयात्रा जाँदा उहीँ गोर्खाका राजा पृथ्वीनारायण शाहसँग भेट भयो। उनीहरूबीच मणिकर्णिकाघाटमा धर्मसन्धि भयो। यसले उनीहरूमाझ परिवारिक सम्बन्ध पनि कायम भयो। यसको फाइदा चालीस वर्षपछि गोर्खालीको पश्चिम विजय सहज भयो भने जाजरकोटले माफी पाएर सुरक्षित भयो।

राजकाजमा शक्तिपूजाको महत्व छ। गोर्खाली सैन्य आक्रमणमा परेका जुम्लाका बस्तीहरू नासिए तर शक्तिपीठहरूको परम्परा निरन्तर भयो।

जस्तोः डोल्पाको त्रिपुरासुन्दरीका लागि खानीगाउँ र बैजिवाडामा गुठी राखेका थिए भने नित्य वेद चण्डी पाठ गर्ने ब्राह्मणलाई वार्षिक ४४ रूपैयाँ दक्षिणाको सरकारी व्यवस्था थियो। त्यस्तै, जुम्ला सिंजाको कनकासुन्दरी मन्दिरका लागि सिम्पाटी गाउँका ब्राह्मणले नित्य पूजापाठ गर्ने, देयारगाउँका घर्तीले मन्दिरमा रुजु रही टहलुवा गर्ने, सातघर दमाईले नियमित साँझ नगारा बजाउने गरी गुठी व्यवस्था गरेका थिए। यहाँ नित्य वेद चण्डीपाठ गर्नेले वार्षिक ४१ रूपैयाँ सरकारी दक्षिणा पाउने व्यवस्था थियो।

कर्णालीतिरका शक्तिपीठ अर्थात देवी भवानी मन्दिरहरूमा सामान्यतयाः मूर्ति हुँदैन। यहाँ प्राकृतिक शिलालाई नै आदिशक्ति मानेर पूजा गर्छन्।

हाल बाजुरामा पर्ने बडिमालिका जुम्ली राजाको प्रमुख शक्तिपीठ थियो। गोर्खाली आक्रमणपछि सरकारी तवरबाट पूजाको सरजाम बोकी बर्सेनि यहाँ जाने परम्परा कायमै रह्यो। तीन-चार दिन लगाएर जानुपर्ने ठाउँ लेकमा भएकाले नित्य पूजाका लागि राजाका दरबारमै मालिका स्थापना गरिएको थियो। अहिले जुम्ला जिल्ला प्रशासनले त्यसको निरन्तरता दिएको छ। बडीमालिकाको महत्व अचेल पनि उस्तै छ। बर्सेनि पूजामा सरकारी प्रतिनिधित्वसहित गाउँगाउँबाट मानिसहरू जान्छन् वा अक्षता पठाउँछन्।

यस्तै तीर्थका कथाहरू सुनाउने सत्र गत कात्तिकमा आयोजित 'लाम्रा संवादः गाउँका कुडा-२०७७' मा राखिएको थियो। संवादको तेस्रो सत्र 'तीर्थयात्रा र हाटयात्राका कुडा' मा सञ्चालक रामलाल हमालसँग गाउँकै देवीलाल चौलागाईं, कृष्णलाल चौलागाईं, बिजलाल सार्की र एकमाया चौलागाईंले आआफ्ना तीर्थ र हाटयात्राका अनुभव सुनाएका थिए।

सामान्यतया देवकार्य र पितृकार्यका लागि तीर्थधाम जान्छन्।

देवकार्यमा जस्तैः मष्टोका धामीहरू आफूमा देउता औतिए (चढे) पछि वा कोहीकोहीले देउताको छापविदो माग्न तीर्थ जान्छन्। मष्टो वा अन्य देवीदेउताका थानमा भएका पूजा सामग्री (भारा) नुहाउन पनि तीर्थ लिनुपर्छ।

यो पनि पढ्नुस्ः कसरी सुरू भयो मष्टो चलन?

आममानिसहरू जीवनकालमा पुण्य कमाउन भनेर पनि तीर्थ जान्छन्। यस्तै पितृकार्यका लागि तीर्थ जानेहरू श्राद्धकर्म गरेर फर्किन्छन्।

भारतका केही तीर्थहरू जस्तै जगन्नाथ, काशी, हरिद्वार आदि दर्शनमा जानेहरूले त्यहाँ पैसा तिरेर ढड्डाहरूमा आफ्ना पूर्खा र सन्तानका नाउँ टिपाउने चलन थियो। यस्तै ढड्डामा हेरेर आफ्ना पूराना पुस्ताका बाजेको नाउँ थाहा पाएको कुरा लाम्रा संवादका वक्ता देवीलाल चौलागाईंले सुनाएका थिए।

बाटो, सञ्चार, गाडी र पैसाजस्ता सुविधा उपलब्ध हुनुअघि यात्रा गर्ने गाउँलेहरू हुल बाँधेर हिँड्थे। मानसरोवर वा मुक्तिनाथ यात्रा जानेहरूले कैयौं दिन बस्तीविहीन बाटोमा हिँड्नुपर्थ्यो, ओडारमा बास बस्नु पर्थ्यो। बाटोमा आइपर्ने आपतविपतसँग भिड्दै जान समूहमा हिम्मत जुट्थ्यो। संकटमा आडभरोसा मिल्थ्यो। भोटको उचाइयुक्त निर्जन पठार र मधेसको औल जंगलसँग संघर्ष गर्दै कैयौं मानिसको ज्यान समेत जान्थ्यो।

घर फर्किँदा भारी बोकेर आउने हटारूहरू महिनादिनसम्म आफूलाई पुग्ने खाना अर्थात सामल घरबाटै लग्थे। बाटोमा बास पर्ने निश्चित ठाउँमा फर्किँदा खाने सामल छोड्दै छोड्दै जान्थे। फर्किने बेला खानेकुरा बोक्न नपरे त भारीमा नासो बाँड्ने मिस्री, गुड, जीरा वा कपडा थप्न पाइयो।

सञ्चार सुविधा नहुने ऊबेला घर फर्किनेहरू साँझ परेपछि मात्र गाउँ पस्थे। रातभर परिवारका सदस्य मार्फत गाउँको गतिबिधि र हालखबर बुझेपछि अर्कोदिन ढोगभेट र सोधखबर सजिलो हुन्थ्यो। औलोलाग्ने मधेसको बाटो फर्किनेहरू केही दिन आराम र एकान्तवासपछि मात्र अरू मानिसको संसर्गमा आउँथे। अहिले गरिने 'होम क्वारेन्टिन' जस्तै चलन थियो।

तीर्थयात्राबाट फर्किनेहरूले उत्सव नै मनाउँथे। गाउँ पुग्नेबेला उनीहरूलाई बाजागाजा र टिकाटालोसहित स्वागत गर्थे। ठूला तीर्थबाट फर्किनेहरूले तीर्थेभोज गर्थे। यस्तोबेला गाउँले तथा इष्टमित्रहरू तीर्थारूको घरमा पीठाहा लगाउन आउँछन्। उनीहरूलाई तीर्थको जल र प्रसाद दिएर पठाइन्छ।

यस्ता कथाहरू प्रसंग मिलेमा गाउँका जमघट, मेलापात, फुर्सद समयमा एकआपसमा साटिन्छन्। यसले ग्रामीण जीवनलाई रोमान्चक र जिवन्त बनाएको हुन्छ। यसरी नै यस्ता कथाहरू सकेसम्म पुस्तान्तरण हुँदै पनि गएका हुन्छन्।

अचेलका पुस्ता हामी व्यापार, अध्ययन, जागिरका सिलसिलामा अनेकौं यात्रा गर्छौं। कतिपय लेखिन्छन् र तस्वीरमा पनि उतारिन्छन्। तै पनि, गाउँमै जिवन्त रहने सामुदायिक परिपाटी भने विस्तारै हराउँदै गएको छ।

https://www.setopati.com/opinion/228752
प्रकाशित मिति: आइतबार, फागुन २, २०७७, १५:५८:००

गाउँको जडो खोज्दा भेटिएको कर्णालीको रहस्यमय इतिहास


तिला उपत्यका। तस्बिर सौजन्यः माधव चौलागाईं

शासकको मात्र इतिहास लेखिने परम्परा भएको ठाउँमा देशका धेरै भूभाग 'टेरा इनकग्निटा' अर्थात अज्ञातस्थल बनेर बस्छन्। नेपालमा पनि शासकसँग जोडिएका दृष्टान्त र स्थानबाहेक अन्य ठाउँ, विशेषगरी गाउँबस्तीको विगत अज्ञात छ।

लेखापढी वा कर्मकाण्ड बेला तीन पुस्ता चाहिने भएकाले बाजेको नाउँ सबैलाई थाहा हुन्छ। तर धेरैलाई त्यसअघिका पुस्ता बाँचेको समयबारे जानकारी हुँदैन।

मलाई तीन पुस्ताको नाउँ मात्र थाहा छ। कहिलेकाहीँ उता पृथ्वीनारायण शाह काठमाडौं झर्नेताका यता जुम्लाराज्यको सूर्यभान शाही शासनकालमा मेरो गाउँका मानिस को थिए, के गर्थे होला भनी कल्पना गर्न मनलाग्छ। उता दिल्लीमा अलाउद्दीन खिलजीले उपद्रो मच्चाउँदै गर्दा यता आफ्नो सम्पन्नताको उत्कर्षमा रहेको खस साम्राज्यमा मेरो गाउँको अस्तित्व कस्तो थियो भनी जान्न मन लाग्छ।

त्यसको अब पूरा जवाफ मिल्दैन किनकी मेरो गाउँमा शासकहरू बस्थेनन्। शासकको मीतघर, मामाघर वा ससुराली भए पनि बढाइचढाइँ गरेर वर्णन आउँदो हो।

मेरो गाउँको इतिहास कतै लेखिएको छैन। कर्णालीमा त शासकहरूको इतिहास पनि लेखिएको छैन। भएको पनि सुनियोजित ढंगले मेटिएको छ।

खस साम्राज्यकालीन इतिहासको खोजी सुरू भएको सत्तरी वर्षजति मात्र भयो। करिब चार सय वर्ष कायम रहेको खस साम्राज्यको प्रभावशाली र वैभवशाली पहिचान सर्वत्र प्रसिद्ध छ। कम्तीमा दुई हजार वर्षदेखि संगठित मानव बस्ती रहेको कर्णाली क्षेत्रमा आधुनिक संसारका कैयौं देश बन्नुअगावै, एघारौं शताब्दीतिरै खस साम्राज्यकालीन शासकीय उच्चता तथा व्यापारिक र सांस्कृतिक अग्रता विकास भइरहेको थियो। तर यही क्षेत्र आधुनिककाल आएर पटक्कै विकसित नहुनु रहस्यमय छ।

कर्णालीको समाज वैज्ञानिक अध्ययनहरूले यस क्षेत्रको विकास समृद्धिको बाधक यहाँ व्याप्त अशिक्षा, अन्धविश्वास, भोकमरी, महामारी, भाग्यबाद तथा जटिल भूबनोटलाई मानेका छन्। तर नयाँ शिराबाट गहिरिएर अध्ययन गर्ने हो भने आधुनिककालको वास्तविकता फरक भेटिन्छ।

केही उदाहरण हेरौं।

बेरी सी. बिशपको अध्ययनमा करिब दुई सय वर्षअघि, बि.सं. १८८७, अर्थात जुम्लाराज्य एकीकरणको चारदशक पछिको करसम्बन्धी रेकर्डमा त्यहाँको जनसंख्या ७० हजार थियो। त्यसको सय वर्षपछि बि.सं. १९८६ मा ७५ हजार पुग्यो। उतिबेलाको जुम्ला भनेको मुगु, हुम्ला, जुम्ला, कालिकोट र डोल्पाका अठार दरामा फैलिएको माथिल्लो कर्णाली भूभाग हो। यति विशाल क्षेत्रमा सय वर्षको जनसंख्या वृद्धि मात्र ५ हजार भयो।

नेपालमा आधिकारिक जनगणना हुन थालेपछि सांख्य विभागको तथ्यांकमा आजभन्दा सय वर्षअघि, बि.सं. १९७७ मा कर्णालीको जनसंख्या ८९,०२२ छ। त्यसयता बर्सेनि डेढदेखि तीन प्रतिशत जनसंख्या वृद्धि भई बि.सं. २०११ सालमा १६८,००७ पुगेको छ। घरधुरी संख्या पनि बि.सं. १९९८ को गणनासम्म केवल ०.६ प्रतिशत दरमा वृद्धि भएको छ।

यसरी जनसंख्या तथा घरधुरीसंख्या बृद्धि रोकिनुको कारण के कर्णालीमा व्यप्त कुरीति, भोकमरी वा महामारीले ल्याएको उच्च मृत्युदर मात्र थियो त? थिएन।

प्रमुख कारण त जुम्लाराज्य एकीकरण बेलाको बैमनश्यता, युद्ध र त्यसयताको राज्यनियन्त्रित दमन तथा उत्पीडन थियो। यसबारे अध्येताहरू प्रायः मौन छन्। तत्कालीन समयमा प्राज्ञिक मौनता सायद उनीहरूको बाध्यता थियो। रोयल नेपाल एकेडेमीले प्रायोजन गर्ने अध्ययनमा शाहवंशको क्रुरताबारे उल्लेख हुन सम्भव थिएन। तर अब पुनर्व्याख्या र पुनर्लेखन आवश्यक छ।

केही तथ्य जाँचौं।

'बाइसी राज्यको इतिहास' पुस्तक लेखक सूर्यबिक्रम ज्ञवालीका अनुसार बि.सं. १८४६ मा गोर्खाली फौजले जित्नुअघि जुम्लाराज्यले पटकपटकको गोर्खाली आक्रमण असफल पार्न २२ हजारजति सेना परिचालन गरेको थियो। त्यस्तै, 'बहादुर शाहः द रिजेन्ट्स अफ नेपाल' किताबका अनुसार गोर्खालीसँग पराजित पर्वतका राजा कीर्तिबम मल्लले तत्कालीन ब्रिटिस इण्डियालाई चिठी लेखेर जुम्ला राज्यका सुभान शाहीसँग ७० देखि ८० हजारसम्म सेना भएको बताएका थिए। यदि अंग्रेजले दुई बटालियन सेना पठाइदिए नेपाल जित्न सकिन्छ भनी सहयोग अपील पनि गरेका रहेछन्।

जुम्लाका असी हजारजति सेना भनेका झराला सैनिक समेत हुन्। यी आवश्यक पर्दा बोलाइने पारामिलिसिया जस्तै सामान्य तालिमप्राप्त युवा हुन्। यसरी असी हजार सैनिक नै भएको जुम्लामा पराजयको चार दशकपछि जनसंख्या नै सत्तरी हजार मात्र रहनु के अनौठो होइन र? अझ त्यसपछि अर्को सय वर्षमा पनि जनसंख्या केवल पाँच हजार मात्र थपिनु थप रहस्यमय छ।



वास्तवमा कर्णाली क्षेत्रको सदियौंको जनसांख्यिक शिथिलता एउटा युद्ध प्रतिशोधले निम्तिएको भयानक नरसंहारको श्रृंखला थियो। केही तथ्यहरूले यसलाई प्रमाणित गर्छन्।

पश्चिमा जुम्लाराज्य सबभन्दा बलियो थियो। गोर्खालीले पटकपटक प्रयास गरी बि.सं. १८४६ असोज २३ मा जुम्लाराज्यको केन्द्र छिनासीम जिते पनि जुम्ला, मुगु र हुम्लाका गाउँतिर गोर्खालीविरूद्ध बिद्रोह भइरह्यो। त्यसलाई दबाउन तत्कालीन सत्ताका नायब बहादुर शाहले सोही वर्षकै माघ ८ गते जुम्लाका सुबांगी भक्ति थापालाई पत्र पठाए।

त्यस पत्रमा '...ठाना हाल (किल्ला बनाउ), झारजंगल पस्याकालाई कुर हान, रसद षोल, बाह्र वर्षदेखि उभोकालाई साफ गर, जहान बच्चालाई बस्तीमा बसाव...' भनी निर्मम निर्देशन दिएका छन्।

बहादुर शाह एक क्रुर युद्ध नायक थिए। उनले एकीकरणमा ठूलो योगदान गरे पनि आफूले जितेको राज्यका जनतामाथि न्याय गर्न सकेनन् भनी बहादुर शाहमाथि नै विद्यावारिधि गरेका भद्ररत्न बज्राचार्यले लेखेका छन्। लडाइँ अभियानमा तीव्र लुटपाट भयो भने पराजित राजपरिवारका सदस्यमाथि अमानवीय व्यवहार पनि अत्यधिक भयो। उनलाई आफ्नै भतिजाले बन्दी बनाएर चालीस वर्षकै उमेरमा रहस्यमय ढंगले मारे। उनको क्रुरताले आजित भएर उनको टाउकोमा तातो तेल खन्याएर मारियो पनि भनिन्छ।

एकीकरणका क्रममा सुरू भएको संहार र दमन शृंखलाले समग्र कर्णालीको जनसांख्यिक, सामाजिक, साँस्कृतिक र मनोवैज्ञानिक रूपरेखा बदल्यो। यो क्रम राणाशासनकालको उत्तर्राद्धसम्मै रह्यो। राणाकालीन एकान्तपना तथा दुर्गम हुनुले केन्द्रसँगको दूरीका कारण बाह्य प्रभावबाट उति प्रभावित थिएन। तर आफैंमा फस्टाउन सक्ने अवसर र वातावरण पनि कहिल्यै मिलेन।

स-साना आन्तरिक आर्थिक, सामाजिक र साँस्कृतिक गतिविधि बाहेक उल्लेखनीय विकास र विस्तार अवरूद्ध थियो। प्रजातन्त्र आगमनपछि पनि यसका अवशेष कायमै रहे। यसरी संकट र पीडाबाट उन्मुक्ति नपाएरै कर्णालीका बासिन्दाका करिब दुई सय वर्ष बिते।

आधुनिककालमा कर्णालीका वस्तीमा लेखपढ गर्ने अवसर निकै ढिलो आयो। सुनेरै हस्तान्तरण गरिएका अधिकांश जानकारी पुस्तान्तरसँगै विस्मृतिमा पुगे। कर्णाली हुँदै पूर्वतिर फैलिएका पुर्खाका सन्तानले बरू केही जानकारी राखेका हुन सक्छन्। तर कर्णालीमै आममानिसलाई भने आफ्नो वंशावली समेत थाहा छैन। मलाई पनि मुस्किलले मेरो चार पुस्ता अघिसम्मको छिटपुट जानकारी छ। शिक्षित भए पनि मसँग अघिल्लो पुस्ताबारे केही जानकारी मिल्ने तमसुक र अन्य टिपोट कागज छिचोल्न सक्ने व्यावहारिक क्षमता छैन।

गाउँको पनि इतिहास हुन्छ। धेरैजसो गर्विलो विगत नै हुन्छ। बस्ती कसरी बस्यो र विस्तार भयो अनि को कताबाट कहिले आएर बसे भन्नेबारे कथाहरू मार्मिक र रोचक हुन्छन्।

एउटा पहल गत कात्तिकमा 'लाम्रा संवादः गाउँका कुडा २०७७' को 'गाउँको जडो' सत्रमा भएको थियो। सत्र सञ्चालक शिक्षक लालप्रसाद चौलागाईंले गाउँकै जानकार वक्ताहरू पूर्णचन्द्र चौलागाईं, विश्वराम सार्की, कर्णप्रसाद उपाध्याय, र भद्रवीर दमाईसँग गाउँको विशेषता के छन्, नाउँ कसरी रह्यो, वस्ती कसरी बस्यो भन्नेबारे छलफल गरेका थिए। यसलाई रेकर्डमार्फत गाउँको हाल उपलब्ध इतिहासको अंश अभिलेखीकरण गर्ने प्रयास भएको छ।

भारतमा इस्ट इण्डिया कम्पनी प्रवेश गर्दायता जुम्लाका पहाडमा मेरा पुर्खाहरू के गर्दै थिए होला? आजभन्दा सय वर्षअघि गाउँ आसपासबाट देवदारका काठलाई तिलानदीमा बगाउँदै कर्णाली नदीमा मिसाएर बर्दियामा उतारी ब्रिटिसराजको रेल्वे बनाउन धमाधम तस्करी हुँदै गर्दा गाउँमा के चर्चा हुन्थ्यो? महामारीले कति रूपरेखा बदलियो? जस्ता विगत जान्न मन त छ तर सायद अब पर्याप्त जानकारी सम्भव छैन। किनकी गाउँलेको इतिहास लेखिएन।

तथापी लाम्रा संवादः गाउँका कुडामा पुर्खाहरूको आगमन र विस्तारबारे केही चर्चा भयो।

यहाँ मानव बसोबासको सुरूआत त हजारौं वर्षअघिदेखि नै भयो। यहाँ पहिले लामी रह थियो। पानी सुक्दै गएपछि तिलानदीको मलिलो फाँट बस्तीयोग्य भयो। तिला उपत्यकाको यो बस्तीलाई समयक्रममा लाम्रा भनिन थालियो।

मानव वस्तीको सिधा सम्बन्ध त्यहाँ आसपासका वातावरणीय श्रोतहरूसँग हुन्छ। यहाँ खेतबारी, वनजंगल, खोलानालाको प्रचुरता छ। त्यसैले यहाँ विभिन्न ठाउँ र प्रयोजनबाट मानिस आएर बसोबास गर्न थाले। कालान्तरमा मूलतः चौलागाईं थरका मानिसको बाहुल्य रह्यो। उनीहरूसँगै सार्की, दमाई र अन्य बाहुन पनि आएर बसे।

चौधौं शताब्दीसम्म खस साम्राज्यकाल र त्यसपछि जुम्लाराज्यमा राजगुरु, ज्योतिष, पण्डित, सेना, अधिकारी, सहयोगी आदिलाई विर्ता दिएर बस्ती बसाल्ने चलन थियो। लाम्रागाउँमा आएर बसोबास गर्ने चौलागाईंलाई पनि जुम्लाराज्यका पहिलो कल्यालवंशी राजा बलिराजका पालामा विर्ता मिलेको इतिहास भेटिएको छ। अचेल कालिकोटमा पर्ने राताडाबमा रहेका भारद्वाज गोत्रीय परिवारबाट चार सन्तान आएर हालको हाँकुगाउँ नजिक चौंडिल्या भन्ने ठाउँमा आएर बसे।

त्यहाँबाट एकजना अनन्त नाउँ गरेका भाइ पूर्वतर्फ गए। नेपालको पूर्वी भागमा भेटिने चौलागाईंहरूका पुर्खामध्ये एकजना सायद उनै हुन्। अर्को कान्छा भाइ बालाराम कुडारीको नुवाकोट गाउँको चौसिलामा गए। उनैका सन्तानमध्ये एकजना पछि लाम्रा गाउँको फान्चौर आएर बसे भने अर्का डोल्पातिर बसाइ सरेका थिए।

अहिले लाम्रागाउँ रहेको स्थानमा ढुँडे र भरुने नाउँका मानिस बस्थे। कारणबस उनीहरू दुवै निसन्तान भए। उनीहरूकै मौजामा चौंडिल्याबाट शिव शर्मा र देउ शर्माका परिवार आएर बसे। उनै ढुँडे र भरुनेको पालामा हाल गाउँमा रहेको देवदारको रूख रोपिएको हो भन्ने किम्बदन्ती पनि छ। अर्थात रूखको जडोसँगै गाउँको जडो पनि छ।

यो रूख निकै विशाल छ। यसको फेदको गोलाइ मात्र ३६ फिट छ। उचाई हालसम्म नाप्न सकिएको छैन।



योगी नरहरिनाथले आजभन्दा चालीस वर्षअघि यो रूख हजार वर्ष पुरानो हुनसक्ने अनुमान गरेका थिए। यो अनुमान अनुसार रूखको अस्तित्व हालका गाउँलेका पुस्ताले बासोबास गरेभन्दा निकै पुरानो हुन्छ। तर यसको वैज्ञानिक परीक्षण नगरी यसै ठोकुवा गर्न सकिन्न।

यस क्षेत्रका बासिन्दाको औसत आयु निकै कम हुने तथ्य मनन गर्दा २५ वर्षभन्दा कम समयमा पुस्तान्तर हुने अनुमान गर्न सकिन्छ। उतिबेलाका रजौटाको पुस्ता परिवर्तन हुने इतिहास पनि यस्तै थियो। यस हिसाबले लाम्रा गाउँमा अहिलेका बासिन्दाको कम्तिमा पच्चीस पुस्ताले बसोबास गरिसकेको हुनुपर्छ। तर अधिकांश गाउँलेलाई पछिल्ला केही पुस्ता र सुरूआतका किम्बदन्ती मात्र जानकारी छन्।

कम्तीमा ६०० वर्षको इतिहास भएको गाउँमा हालसम्म १३५ घरधुरी मात्र विस्तार भएको छ। माथि चर्चा गरिएजस्तै महामारी तथा अन्य दैवीप्रकोपका कारण मात्र नभई तत्कालीन सामाजिक राजनीतिक प्रतिकूलताका कारण पनि स्वभाविक वृद्धि र विस्तार हुन नसकेको हो। जसरी समग्र कर्णालीको इतिहासको पछिल्लो दुई सय वर्षको कालखण्ड अन्धकार छ, त्यसरी नै गाउँको इतिहास पनि ओझेल छ।

https://www.setopati.com/opinion/227704 
प्रकाशित मिति: बिहीबार, माघ १५, २०७७, २२:१०:००

मार्सी फल्ने खेत सिञ्चिने कुलोको कथा

ठ्याक्कै आधा शताब्दीअघि सत्यमोहन जोशीको समूहमा कर्णाली सांस्कृतिक अध्ययनका लागि बिहारीकृष्ण श्रेष्ठ जुम्ला पुगेका थिए। जुम्लामा गाउँलेहरू मिलेर परम्परागत कुलो बनाउने र सञ्चालन गर्ने मौलिक पद्धति देखेर उनीहरू निकै प्रभावित भएका थिए।

सरकारी नीति निर्माणतहमा लामो समय काम गरेका श्रेष्ठले त्यसैबाट सिकेर तीस दशकयता सरकारले उपभोक्ता समूह बनाइ समुदाय परिचालन गर्ने रणनीति बनाएको पटकपटक भनिरहेका छन्। वन उपभोक्ता, आमा समूह जस्ता विश्वमै सफल मानिएका पद्धति जुम्ली समाजमा प्रचलित समूह कार्यमा आधारित अवधारणा हुन्।

यस्तै एउटा कुलोबारे गत कात्तिक २८, २९ र ३० गते जुम्ला, लाम्रागाउँमा आयोजित 'लाम्रा संवादः गाउँका कुडा २०७७' मा चर्चा गरिएको थियो। 'कुलोको सवाई' (कुलोको कथा)सत्रमा गाउँमा जानेबुझेका अघिल्लो पुस्ताका सदस्यले आफ्रनो ज्ञान र अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्न यो संवाद गरेका थिए।

लाम्रा गाउँ अघिल्तिर तिलानदी फाँटमा मार्सीधान फलाउने नुंग्र्या ज्यूलामा रहेका खेतमा चलेको सेसनमा गाउँकै नन्द चौलागाईंले स्थानीय वक्ता कुलाचन्द्र चौलागाईं, धनप्रसाद चौलागाईं, पूर्णप्रसाद चौलागाईं र सिंह सार्कीसँग कुलाको कथा कोट्याए।

पूर्खाहरूले यो कुलो कहिले बनाए, कोको संलग्न भए, कसरी चलाइन्छ र कस्ता चुनौती छन् भनी विविध पक्षको बहस गरे।

जुम्लातिर बर्सेनि कुलो मर्मतसम्भारका लागि चाहिने श्रमका लागि समुदाय परिचालन गर्ने विशिष्ट, मौलिक र वैज्ञानिक परिपाटी छ। अचेल यस्ता महत्वपूर्ण सामाजिक परम्परा आधुनिक विकासको आगमनसँगै हराउँदै गएका छन्।

मानव वस्ती स्थापना र विस्तार पानी र खेतीको उपलब्धतासँग जोडिएको हुन्छ। सभ्यताको विकास नदी किनारमा भएको पाइन्छ। जुम्ला क्षेत्रमा विकसित सभ्यता कर्णाली, हिमा र तिला नदीले बनाएको फाँटमा विकसित तथा विस्तारित भएको हो। यसबारे गरिने अध्ययनले आधुनिक विकास र समृद्धिका बहसमा महत्वपूर्ण समाजशास्त्रीय आयाम थप्छ।

आधा शताब्दीअघि कर्णाली सभ्यता र संस्कृति अध्ययन गर्न गएको प्राज्ञ टोलीले त्यहाँको भाषा, भूगोल, इतिहास, लोकसंस्कृति लगायत स्थानीय जीवनका विविध आयाम अध्ययन गर्दा सिंजा उपत्यकामा रहेको 'जचौरी कुलो' को सञ्चालन व्यवस्था अध्ययन गरेको थियो।

लाम्रा संवादमा गाउँलेहरू आफैंले उँठिल्या-ऐरेनी कुलोको चर्चा गरेका थिए।

कर्णाली क्षेत्रमा सिँचाइ गर्न सकिने ठाँउमा बसेका बस्तीहरू (कतिपय अध्येताले यी बस्तीलाई ज्युलेल भनेका छन्) तुलनात्मक रुपमा समृद्ध मानिन्छन्। जुम्लामा हिमनदीबाट कुलो खनेर सिञ्चित हुने ज्युला (खेत भएको ठाउँ)मा मार्सीधान फल्छ। मार्सीधानको जति नै यहाँ कुलोको पनि इतिहास र महिमा छ।

तिलानदीको उँठिल्याबाट सुरू भएर लाम्राको ऐरेनीसम्म पाँच हजार एक सयभन्दा बढी खेत सिञ्चिने ५ किलोमिटर लामो कुलो निर्माण र विस्तारको इतिहास, बर्सेनि गरिने मर्मतसम्भार तालिका र यससँग जोडिएका सामाजिक परिपाटी विशिष्ट छन्।

यो ज्यूलामा सिँचाइका लागि उँठिल्याबाट पानी ल्याउन कुलो खन्नुअघि पश्चिमतर्फको हियाँखोला र पूर्वतर्फको उमखोलाबाट ल्याएको कुलोबाट रोपाइँ हुन्थ्यो। तर ती खोलामा पानी घट्दै जान थाल्यो र खेत सुख्खा पर्न थाले। साह्रो खेत गोड्दा नङले कोट्याउन पर्ने हुन थालेपछि यो भागलाई नुंग्र्या ज्युलो भनिन थाल्यो।

ती खोला सुक्नुमा जलाधार क्षेत्रको वन अतिक्रमण प्रमुख कारण हो। तर केही पुराना जनश्रुतिअनुसार एउटा ठूलो भुइँचालोपछि डाँडाको दक्षिणतर्फ बग्ने सबै खोला सुक्न थाले र उत्तरतर्फ पानीको आयतन बढ्यो।

पुरानो कुलो सुक्न थालेपछि गाउँलेले उमगाडदेखि अहिलेको मुहान उँठिल्यासम्म कुलो खन्ने निर्णय गरे। तर मुहान नजिकको गाउँ श्रीदुस्काका केही मानिसले बिरोध गरे। अनि हाँकु, लाम्रा, नुवाघर र बयालकाटियाँ गाउँका थरीथानीहरू मिलेर रातारात बिरोधीलाई थाहै नदिई कुलो खन्न बाध्य भए।

कुलो त बन्यो तर बर्सेनि गरिने मर्मतमा श्रीदुस्का गाउँकाले असहयोग र अवरोध गरिरहे। यही विषयमा मुद्दा लड्न गाउँलेहरू जुम्ला, डोटी र सल्यानका अड्डासम्म धाउनु परेको थियो। अन्ततः बि.सं. १९५४, फागुन १० मा तत्कालीन जुम्ला गौंडाले यसको छिनोफानो गरी कुलो सञ्चालनमा कोही कसैले बाधा नगर्ने निर्णय गरेको थियो। (सो निर्णयको दस्तावेज चित्रमा हेर्नुहोस्)तस्बिर सौजन्यः माधव चौलागाईं

गाउँघरमा त्यतिबेलाको परिस्थिति, डोटी र दांग गौंडामा तारिक बोक्न जाने तयारी, यात्रा, जटिलता, तत्कालीन जुम्ला गौंडाका बडाहाकिमलाई चिरापरेका खेत देखाउँदा तथा न्याय माग्दाका दृष्टान्त जोडेर बनाइएका सवाई (कथा) हरू प्रचलित छन्।

मार्सीधान धानको बीउ राख्ने दिन चैत १२ गतेको ठीक एक महिनाअघि फागुन १२ गतेबाट कुलो फाल्ने (जमेको माटो, ढुंगा र बालुवा फाल्ने र ठाँउठाउँमा आवश्यक मर्मतसम्भार गर्ने) काम सुरू हुन्छ। पाँच किलोमिटर लामो यो 'कुलो फाल्ने' काम सक्न करिब एक महिना लाग्छ।

यसलाई मर्मत गरी बीउ उमार्ने, सबैका खेत रोपाइँ गरेर पहिलोपल्ट खेत गोड्नेबेलासम्म कुलोमा नियमित पानी ल्याउन गरिने सम्पूर्ण व्यवस्थामा समुदाय परिचालनको सन्तुलित, समावेशी र वैज्ञानिक परिपाटी उदाहरणीय अभ्यास हुन्। यसैको चर्चा संवादमा गरिएको थियो।

कुलो सञ्चालनको नेतृत्व लिने व्यक्तिलाई 'अडै' भन्छन्। सामान्यतया समुदायमा प्रभाव राख्ने, सक्रिय र वरिष्ठ मान्छेले अडैको भूमिका पाउँछ।

कुलोको पुछारमा खेत भएका गाउँलेले फागुन १२ गतेबाट कुलो फाल्न सुरू गर्छन्। पहिलोखण्डमा पुछारको ऐरेनीबाट लाम्रा गाउँको घडा भन्ने ठाउँसम्म आफ्ना खेत हुने हरेक घरधुरीबाट एक जना कुलारो आउनुपर्छ।

घडादेखि जसै गाउँ थपिँदै जान्छन् हरेक पन्ध्र मुरी खेत हुने घरधुरीबाट एक जनाका दरले मान्छे पठाउनु पर्छ। दस मुरीसम्म खेत हुने घरधुरीबाट लगातार दुई दिन जाने र तेस्रो दिन विश्राम लिन्छन् भने पाँच मुरीसम्म मात्र खेत हुनेहरू एकदिन गएपछि अर्को दुई दिन विश्राम पाउँछन्।

अडैले हरेक कुलारालाई छ फिट जति निगालोको लौरोले नापेर कुलो सफा गर्ने जिम्मा दिन्छन्। कुलाराको सीप, शक्ति र क्षमता हेरी अप्ठ्यारो वा जटिलता भएको ठाउँमा थप जनशक्तिसहित परिचालन गर्छन्। यदि कोही आफ्नो पालोमा नआएमा वा कसैले अटेरी गरे उसलाई सजाय हुन्छ। अडैले त्यस्ता व्यक्तिको भाँडा हात हाल्छन् अर्थात घरमा पुगेर भेटेको भाँडा उठाउँछन्। अटेरीले आफ्नो पालो पुर्‍यापछि मात्र भाँडा फिर्ता पाउँछन्।

यसरी बनाएको कुलामा पहिलो पानी ल्याएको (रिटाएको) दिन उत्सव झैं हुन्छ। सो वर्ष घर बनाउने, परदेशमा रहेका, विहे, मृत्यु, बिरामी वा मुद्दामामिलाको कारण कुलो फाल्ने काममा सरिक हुन नसेका घरधुरीले आफ्नो गच्छे अनुसार टाट्या (पुरी), च्यूडा (च्यूरा), अर्सा, फिनी, अचार, फलफुल आदि ल्याएका कोसेली सबैले बाँडिचुँडी खान्छन्।

त्यसै मौकामा हरेक गाउँका तर्फबाट केही कुलारा छानिन्छन्। उनीहरूलाई सबै पाँच हजार बढी खेतको रोपाइँ सकेर पहिलो चरण गोड्ने बेलासम्म कुलाको रेखदेख गर्ने गरी जिम्मा दिइन्छ। उनीहरूले आवश्यक परेका बेला बन्द गर्ने, सामान्य मर्मत गर्ने तथा समुदायको सहयोग चाहिएका् बेला समन्वय गर्छन्। कुलाराले उनीहरूको पारिश्रमिकवापत सबै घरधुरीबाट पहिलोचोटि साउने संक्रान्तिमा दुई माना चामल र दोस्रोचोटि कात्तिकमा धान काटी सकेपछि दुई पाथी धान दिनुपर्छ।

सदियौंदेखि निरन्तर चलिरहेको यो परम्परा केही दशकयता संकटमा पर्न थालेको अनुभव लाम्रा संवादका वक्ताले गरेका छन्।

विशेषगरी गाउँमा खुलापन बढेर बाह्य प्रभाव बढेपछि मानिसमा सामूहिक भावनामा आँच पुगेको छ। आधुनिक विकासको प्रभाव सुरू भएसँगै सामुदायिक काममा श्रमदान गर्ने परिपाटी घटेको छ। गाउँको राजनीति नेतृत्वमा भाग लिनेले सक्रियतामा कुलोको नाउँमा टुक्रे विकासका काम ल्याउँदा स्थानीयमा आफ्नै काम पनि बिना पैसा नगर्ने बानी बढ्दो छ।

राजनीति गर्ने एउटा खेमाको पहलमा ल्याइएको कुनै निर्माण योजनामा अर्को पक्षले रूचि नदिने चलन पनि देखिन्छ। त्यसैले संवादमा भाग लिने स्थानीय कि विस्तृत योजना ल्याएर यसलाई व्यवस्थित गर्नुपर्छ, नत्र पुरानै परिपाटीबाट चलाउनु उत्तम हुन्छ भन्छन्। तथापी समुदाय परिचालनको विशिष्ट परम्परा भने आधुनिकताको आयातित संक्रमणबाट विस्तारै क्षयीकरण भएर दीर्घकालसम्म नचल्ने देखिन्छ।

देशकै सबैभन्दा ठूलो क्षेत्रफल ओगट्ने कर्णाली प्रदेशको केवल १२ प्रतिशत जति जमिन मात्र उत्पादनशील छ। त्यसमध्ये केवल एक चौथाइजति (२३ प्रतिशत) जमिनमा सिँचाइ उपलब्ध छ। यस प्रदेशका तीन चौथाइ (७७ प्रतिशत) घरधुरीमा वर्षभरी खाने अन्न पुग्दैन। उनीहरूले बेसाहा गरेर (किनेर, साटेर) आफ्नो परिवारको भोक मेट्नु पर्छ।

सबै सरकार र उनीहरूका योजनाले कृषि क्षेत्र हाम्रो प्राथमिता हो त भन्छन्, तर व्यवस्थित विकासको भरपर्दो आधार कसैले बनाउन सकेका वा चाहेका छैनन्।

जस्तो, यही शताब्दीको दोस्रो दशकदेखि सिँचाइ क्षेत्रको आधुनिक विकासका लागि नीति ल्याएको नेपाल सरकारले तराइबाहेक पहाडमा सिँचाइ कुलो वा नहर विकासबारे अझै सोच्न सकेको छैन।

त्यस्तै, नयाँ बनेको प्रदेश सरकारले गत वर्ष ९६ वटा सिँचाइ आयोजनाहरूमा रकम वितरण गरे पनि उँठिल्या-ऐरेनीजस्ता ऐतिहसिक कुलोको दीगो विकास प्राथमिकतामा पर्न सकेको छैन।

प्रकाशित मिति: बिहीबार, पुस २३, २०७७, १२:३५:००

Monday, January 4, 2021

कसरी सुरू भयो मष्टो चलन?

डा. गोविन्द केसीले आफ्नो १९ औं अनसन जुम्ला सदरमुकाम नजिक सिंगाचौरगाउँस्थित बाबिरा मष्टो थान (मन्दिर) बाट सुरू गरेका थिए। अनसन वा धर्ना बस्नेहरू प्रायः खुलामञ्च, सार्वजनिक कार्यालय वा सत्ताकेन्द्र छान्छन्। तर एउटा चिकित्सकले अनसनस्थल स्थानीय मष्टो देउता थान रोज्नुलाई अर्थपूर्ण तरिकाले विश्लेषण गर्न सकिन्छ।

स्थानीय चलनमा कर्णाली क्षेत्रका अधिकांश समुदायले हरेक विशेष काममा मष्टो अर्थात आफूले मान्ने देउतालाई सबभन्दा पहिले सम्झिन्छन्। त्यसैले स्थानीय जनसमुदायको मनोभावनासँग जोडिन मष्टोको थान रोजिएको हुनसक्छ।

मानिसको सर्वांगीण स्वास्थ्यका निम्ति मानसिक, सामाजिक र आध्यात्मिक पक्षहरूको सन्तुलन उत्तिकै आवश्यक हुन्छ। भौतिक वा शारीरिक स्वास्थ्यलाई मात्र बढ्ता ध्यान दिने अहिलेको परिवेशमा अरू पक्षको चर्चाले उति प्राथमिकता पाउँदैनन्।

मष्टोसँग जोडिएको समुदायमा यस सम्बन्धी मान्यता र संस्कारको व्यवस्थित अध्ययन र छलफल आवश्यक छ। यसले मष्टो मान्ने संस्कृतिप्रतिको कतिपय भ्रम निवारण गर्न मद्दत गर्छ भने सम्भावित अस्वस्थकर तथा जोखिमपूर्ण व्यवहारलाई न्यूनीकरण गरी सांस्कृतिक तथा आध्यात्मिक आस्थालाई अझ मजबुत बनाउँछ।

मष्टो परम्पराको अध्ययन र बहस गर्नेहरू यसको उत्पत्ति र परम्पराबारे थरिथरिका तर्क प्रस्तुत गर्छन्।

यस क्षेत्रमा मष्टो मान्ने परम्परा कसरी सुरू भयो भन्नेबारे आ-आफ्नै विश्वास छ। कोही मष्टो देउता बद्रीनाथ केदारनाथ हुँदै यसक्षेत्रमा आएको हो भन्ने ठान्छन्। कसैले कैलाशपर्वतबाट आएको विश्वास गर्छन्। कसैकसैले मष्टहरू इन्द्रदेवको अंशका रूपमा हेर्छन्। कोही पाण्डवका छोरा भनेर पनि भन्छन्। कोही राक्षसहरूबाट बचाउन भवानीले मष्टा सृजना गरेको भन्ने मान्छन्। यो क्षेत्रका माण्ठ (मानिस) र मष्टो (देउता) दुवै मध्यपूर्वतिरबाट आएका हुन् भन्नेहरू पनि छन्।

कोही यसलाई धर्म भन्छन् भने कसैले सम्प्रदाय, परम्परा वा संस्कृति पनि मानेका छन्। कोही यसलाई अवैदिक, प्राकृतिक वा अपौराणिक धर्म हो भन्छन्।

एउटा बलियो मत कर्णाली क्षेत्रमा बस्ने सबै खसजाति हुन् र मष्टो उनीहरू अर्थात खसजाति मात्रको इष्टदेव भन्नेहरू छन्। मष्टो भनेको गैरहिन्दु परम्परा हो भन्ने मत पनि छ। त्यसैले जातीय राजनीतिको मुद्दा बोक्ने समूहहरू आगामी जनगणनामा मष्टो धर्म थपिनुपर्ने तर्क गर्छन्।

प्रायः अध्येयताहरूले अनेक सीमाहरूका माझ गरेका अध्ययन अनुसन्धानहरू अपूरा, असंगतिपूर्ण र असन्तुलित लाग्छन्। म आफू विषयविज्ञ त होइन तर कर्णालीको मष्टो मान्ने परम्परामा जन्मेर हुर्केकाले यसबारे लेखिएका विषयले ध्यानाकर्षण गर्छ। मलाई धेरैजसो सतही वा पूर्वाग्राही विश्लेषण जस्ता लाग्छन्। केही उदाहरण हेरौंः

मष्टोको धामी आङमा चढेका बेला पालीहरूले धामीलाई गर्ने सम्बोधनमा 'नारायण गोसाईंअ...' भनेको सुनेर मष्टो देउता विष्णु वा इन्द्रको अवतार भन्ने अध्येताहरू छन्। कुनै एउटा मष्टोको थान पूजामा चढाएको पाठो कुनै धामीले दाँतले टोकेको हेरी यो त राक्षसी अवतार हो भन्ने विश्लेषकहरू छन्। बाह्र भाइ मष्टो भनेको सुनेर यसलाई बराह अवतार भन्नेहरू छन्। सुदूरपश्चिमका गाउँघरतिर मात्र पुगेका लेखकले बद्री-केदारनाथबाट आएको भनी लेखेको पाइन्छ।

प्रायः विदेशी लेखकका मानवशास्त्रीय किताब पढेर नेपाली समाज अध्ययन गर्ने लेखकले माण्ठ र मष्टो दुवै मध्यपूर्व इरानबाट अफगानिस्तान, भारत हुँदै नेपाल पस्ने सिद्धान्तमा यसलाई व्याख्या गरेको पाइन्छ। त्यस्तै साधुसन्तको संगतमा परेका अथवा बनारसमा दीक्षित लेखकले गैरहिन्दू परम्पराका रूपमा चर्चा गरेको पाइन्छ। अनि धार्मिक तथा जातीय सामाजिक राजनीति मुद्दामा लेख्नेहरूका दृष्टिकोणमा यो सम्पूर्ण प्राकृतिक तथा आदिवासी परम्परा हो।

तसर्थ, यसमा अतिरञ्जित, सतही वा पूर्वाग्राही नभइ गहन तर सन्तुलित विमर्श आवश्यक रहेको ठान्छु।

लिखित दस्तावेज हराइसकेका र संस्थागत नभएका कर्णालीका धार्मिक तथा सांस्कृतिक इतिहास अध्ययनहरू मूलतः श्रुति परम्परामा आधारित छन्। मष्टोबारे लेखिएका रचना र संकलनहरू प्रायः सबैले मिथक र किम्बदन्तीलाई आधार मानेका छन्।

संसारभर हरेक समुदायमा आ-आफ्नै प्रकारका धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक आस्थाहरू चलनमा छन्। समुदायका मानिसले ती चलनलाई आ-आफ्नै विश्वास र मान्यताअनुसार वर्णन गरिरहेका हुन्छन्। ती मान्यतालाई कुनै आधुनिक विज्ञानले प्रमाणित गरिरहनु पर्दैन। सायद कर्णालीतिर हरेक गाउँमा भेटिने मष्टोबारेका अनेकथरी विश्वास र मान्यताहरू नै मौलिक परम्परा र सांस्कृतिक विविधताको रोचक अनि सुन्दर पक्ष हो।

मेरै घरसँग जोडिएको बाबिरा मष्टोबारे एउटा प्रसंगको चर्चा गर्छु।

यसपालि दसैं पूर्णिमाका दिन मेरो घर जुम्ला, लाम्रागाउँमा धुमेलो (धामी पतुर्ने) राख्ने योजना थियो। त्यसका लागि बाबिरा गाउँबाट बल धामी (बलबहादुर बुढा) आएका थिए। उनी यो भेगमा नाउँ चलेका धामी हुन्। उनका बुबा तुलाराम बुढा पनि बाबिरा मष्टोका मूलधामी थिए।

तुला धामीसँग २०२७ साल जेठमा सत्यमोहन जोशीसहित जुम्लामा अध्ययन गर्न गएको टोलीले पनि गाउँको थानमा धुमेलो राखेको थियो। तुला धामीले अक्षता माडेर हातबाट सिकपाती (तिलक) को धारा निकाली सबैलाई लगाइदिएका थिए। यसबारे शताब्दीपुरुष सत्यमोहन जोशीले शारदा पत्रिका, वर्ष १, अंक २ मा 'मष्टो धामीसँग साक्षात्कार' लेखेका छन्। उतिबेला चारपुस्ता अघिका मेदे धामी मृत्युशैयाबाट पनि उठेर पतुर्न (नाच्न) सक्थे भन्ने आश्चर्यजनक र अलौकिक वर्णन सुनेका थिए।

बल धामीलाई अघिल्लो राती मेरै घरमा बस्नेगरी निम्त्याएका थियौं। मैले राती केहीबेर उनीसँग बाबिरा मष्टो, धामी र धूमेलो प्रथाबारे बातचित गरेँ।

बाबिरा मष्टोको मूलथान हालको तातोपानी गाउँपालिकाको बाबिरा गाउँमा छ। बल धामी त्यही गाउँका हुन्। सत्यमोहन जोशीको टोली जुम्लाको सिंजामा कर्णाली संस्कृति अध्ययन गर्न जाँदा तातोपानी गाउँपञ्चायतको जर्मी गाउँमा बास बसेका थिए। त्यतिबेला तातोपानीका प्रधानपञ्चले बाबिरा गाउँमा धुमेलो राख्ने चाँजोपाँजो मिलाउन लगाएका थिए।

किम्बदन्ती अनुसार बाबिरा मष्टो भोटानतिरबाट घुम्दैघुम्दै आएर हालको गाउँमाथिको डाँडामा आइपुग्यो। त्यहाँ गाई चराइरहेका बालकहरूमध्ये आठ वर्षको एउटा बालकमा औतियो (चढ्यो)। उनीहरूले समाइरहेको घाँसका त्यान्द्राहरू धजा (ध्वजा) र कोइराको घाँट (घण्ट) बने।

घुमिरहेको मष्टो त्यहाँबाट पनि पश्चिम तिलानदी छेउछेउ हालको फोइमहादेव राँचुली गाउँ भएको क्षेत्रसम्म पुग्यो। तर कतै बस्न नपाएपछि फर्केर हालको सुन्ढुस्की (मूलथान भएको ठाउँ) फर्केर स्थायी भयो। क्रमशः यो गाउँको नाउँ पनि बाबिरा गाउँ भयो। कसै-कसैले बाबिरा गाउँमा रहेकाले यो मष्टोको नाउँ बाबिरा मष्टो रहन गयो भनि उल्टो व्याख्या गरेको पाइन्छ।

यस्तै विश्वासअनुसार बाबिरो सुन्ढुस्कीमा पुग्नुअघि हियाँखोला नजिक फान्चौरमा रहेको मेरो पुर्ख्यौली घरमा बसेको थियो। जोगीको भेषमा आएका मान्छेलाई ठूलो कराइमा तताएर राखेको दूध आफैं खाऊ भन्दा सबै पिइदिएछन्। अनौठो व्यवहार देखेर उनलाई केरकार र सोधपूछ गर्दा आफू बाबिरो भएको र यसको गुन सधैं तिर्ने बताएछन्।

उतिबेला एक्लैले ठूलो बथानमा पशुपालन गर्ने मेरा पुर्खालाई पाटन चर्न छाडेका घोडाघोडीका बथान घर फर्काउन होस् वा लेकमा राखेका गाईवस्तुको रेखदेखमा होस् वा अन्य बाधा अप्ठ्यारोमा, बाबिरा मष्टोले हरबखत साथ दिइरहन्थे। त्यसैले हामी बाबिरा देउता पुज्ने पूर्णिमाको एक दिनअघि चतुर्दशीमा घरैमा रहेको बाबिरा थान पूजा गर्छौं। यहाँ पुजिएपछि मात्र बाबिरा देउता भोलिपल्ट, पूर्णिमाको दिन मूलथानमा हुने पूजामा पुग्छन् भन्ने विश्वास छ।

संसारभर मष्टो पूज्नेहरू सबैले 'बाह्र भाइ मष्टो, नौ बहिनी भवानी' भएको मान्यतामा विश्वास गर्छन्। बाह्र भाइ मष्टोमध्ये बाबिरा मष्टोलाई कान्छो मानिन्छ। कर्णाली, भेरी, सेती र महाकाली क्षेत्रमा ठाउँअनुसार मष्टोका नाउँमा विविध भेद पाइन्छ।

कतिपय अध्येता र लेखकहरूले यी क्षेत्रमा पुजिने सबै देउतालाई मष्टो भनी उल्लेख गरिदिँदा पाठकहरूमा एकखाले भ्रम हुन सक्छ। कतिले मष्टो, भान (वाहन), भवानी, देउती, पितृ तथा गैरमष्टोको भिन्नता नखुट्याइ सबै उस्तै वा एकै हो भनी बुझ्ने गल्ती गर्न सक्छन्।

सामान्यतया मष्टो थानको कार्यव्यवस्था र पूजाआजा चलाउने जिम्मा धामी, पूजारी वा डांग्रीको हुन्छ। प्रायःजसो पूजारी वा डांग्रीको भूमिका जेष्ठ सदस्यकोमा पुस्तान्तर हुन्छ। जसको आङमा देउता औतियो, उही धामी हुन्छ। कहिलेकाहीँ फरक पुस्ता वा परिवारका सदस्यहरू धामी बन्न सक्छन्। बल धामी उनको परिवार खलकका १६ औं धामी हुन्।

धामी हुन निश्चित योग्यता पुग्नुपर्छ। हरेक धामी बन्नुअघि केही वर्षसम्म सबैमा भान (वाहन) औतेको हुन्छ। भानले पतुर्ने बेला मूलधामी र अरू धामीलाई आफ्नो काँधमा चढाएर सम्मान गर्छ। भानको स्वभावअनुसार ऊ पतुर्दाको प्रदर्शन देखिन्छ। धेरैजसो सूरवीर, शक्तिशाली र आक्रामक रूपमा देखा पर्छन्। भानलाई अक्षताको बिदो र धजा वा रुद्राक्षको माला लगाएर फुकेको चामलको फाँको खुवाइदिन्छन्। महिलाहरूमा देउती, भवानी, लाटी आदि औतिन्छ। उनीहरूलाई सिन्दुर घसेर, कतै डौटो (पछ्यौरा) दिएर, धजा बाँधेर अक्षता खुवाइन्छ।

आफ्नो शरीरमा देउता औतिन थालेपछि सुरूआतमा सबै धामीले त्यसको आधिकारिक मान्यता लिन सो मष्टोको मूलथानमा जानुपर्छ। यसरी मान्यता लिन आएका धामीहरू मूलथानको पूजामा सबैसँग पतुर्छन्। मूलधामीले उनीहरूमा साँच्चै आफ्नो मष्ट देउता औतिएको छ छैन भनी जाँच गर्छन्। धामीहरू बीच सवाल-जवाफदेखि क्षमता प्रदर्शनसम्म हुन सक्छ।

उचित ठानेमा सोही मष्टाको धामी कहलाउने 'छापबिदो' पाइन्छ। मूलथानका मूलधामी भने अकै मूलथानका मूलधामी वा तीर्थबाट छापबिदो लिन जान्छन्। जस्तैः बाबिरा मष्टोका मूलधामीले मुगुको कवागाउँमा रहेको कवा मष्टोसँग छाप माग्छन् भने कवा मष्टोको मूलधामी बाजुरा जिल्लामा रहेको बडिमालिका जान्छन्।

धेरै धामी हुने थानमा एकजना मूलधामी, उनका भानहरू र अन्य धामीहरू हुन्छन्।

उपयुक्त तिथि, बार, समय, शुद्धता र एकाग्रता भएपछि मात्र धामीको आङमा देउता औतिन्छ। देउता औतेपछि धामी काम्ने, पडेली पर्ने (आफ्नै भाषामा बोल्ने) र पतुर्ने (नाच्ने) गर्छन्। धामी पतुर्दा मांगल गाउने, घन्टा र दमाहा बजाइन्छ। थान पुज्दा बजाइने दमाहा बाजाको ध्वनी र ताल विशिष्ट हुन्छ जसलाई सुनेर टाढाटाढाका गाउँका मानिसले धामी पतुर्न थालेको अनुमान गर्न सक्छन्।

सो मष्टो मान्ने, विश्वास र अनुशरण गर्ने घरका भक्तजनलाई मष्टाको पाली भन्छन्। सामान्यतयाः धामीले गादीमा बसेर पालीले ल्याएका अक्षता चढाउने, उनीहरूका समस्या सुन्ने र निराकरणका उपाय भन्ने गर्छन्। पालीबाहेक अरूले पनि देउतासँग परामर्श लिन सक्छन्।

बल धामीसँग धुमेलो गर्न अहिलेसम्म जुम्लाका लगभग सबै गाउँ, कालिकोट, डोल्पा, हुम्ला, मुगु, बाजुरा, दैलेख, जाजरकोट, सुर्खेत, बाँके, बर्दिया, कैलाली, सल्यान, प्युठान, दाङ र भारतबाट समेत मानिसहरू पुगेका रहेछन्। उनका अनुसार काठमाडौं उपत्यकाको भक्तपुरमा पनि बाबिरा मष्टोको पुरानो थान छ जहाँ उनी गत वर्ष नातिसँग काठमाडौं घुम्न आउँदा केही पटक धुमेलो बसेका थिए।

धेरैजसो धामीहरू पतुर्दा सुरूआतमा पडेली (आफ्नै भाषामा बोल्ने) गर्छन्। पडेलीमा बोल्ने भाषा फरक हुन्छ। कतिपयले यसलाई देवभाषा पनि भन्छन्। यसलाई बुझ्न खाबा (दोभाषे) चाहिन्छ। कतिपय डांग्री वा स्थानीयले खाबाको काम गरिदिन्छन्। तर अचेल सबै जान्ने खाबा पाउन मुस्किल छ। सत्यमोहन जोशीलाई बताउने खाबाले पनि आधाउधी मात्र अर्थ्याउन सकेका थिए।

पडेलीमा मष्टो उत्पत्तिदेखि भोगेका विभिन्न जोखिम यात्रा, संघर्ष र लडाइँको बयान हुन्छ भनिन्छ। मैले बातचित गरेका बल धामीलाई पनि आफूले पडेलीमा बोलेका कुरा देउताले आङ छाडेपछि याद हुन्न।

कोलम्बिया विश्वविद्यालयबाट सोधका लागि २०३० सालमा बाबिरा गाउँनजिकै सुनारगाउँ (डाँगीबाडा) बसेका सोधार्थी जेम्स ग्याब्रियल क्याम्पबेलले जुम्ला सिंजाका तुंगनाथ उपाध्यायको सहयोगमा बाबिराका धामीले पालीसँग गरेको सवाल-जवाफ उल्था गर्न सकेका छन्। तर पडेलीको भने उल्लेख छैन।

वर्षभर चार पूर्णिमाका बेला मष्टो थान पुज्ने उत्सव चल्छ। वैशाख र कात्तिक पूर्णिमामा पाली (भक्तहरू) ले भाकल गरेका, सजाय पाएका वा जस (शुभ तथा खुसीका बेला) ल्याएका पाठा-कुखुरा काटिन्छ। साउन र माघ पूर्णिमाको पूजामा बलि चढ्दैन। अरू विशेष दिनहरूमा स-साना पूजा लाग्छन्। कृषिकर्ममा व्यस्त रहने यहाँको समाजमा हरेक नयाँ अन्नको न्वागी गरेर मष्टोलाई चढाएपछि मात्र आफू खान मिल्छ।

कर्णालीतिर माओवादी युद्धताका डरले सुस्ताएका सांस्कृतिक गतिविधिहरू अचेल पूनर्जीवित भइरहेका छन्। मष्टो पूजा पनि यस्तै एक हो। यसमा आस्था राख्नेहरूले आफूले चाहेअनुसार अनुशरण गर्न पाउनु स्वतन्त्रता पनि हो।

यद्यपि यस्ता परम्परासँग जोडिएका जोखिमयुक्त व्यवहारहरू भए सुधार गर्नुपर्छ। अन्धविश्वास वा रुढीवादी भन्दै मौलिकता, परम्परा र सांस्कृतिक विविधता हराउन दिन हुन्न।
लेखक माधव चौलागाईं
सुनारगाउँको मष्टो थान र मष्टोमा राखिने काठका मूर्तिहरू (दायाँ)

https://www.setopati.com/opinion/224938
प्रकाशित मिति: बुधबार, पुस १५, २०७७, १४:२८:००

Wednesday, November 25, 2020

प्रिष्ट एण्ड कोब्लर : सामाजिक राजनीतिक परिवर्तनको तरङ्ग बुझाउने किताब

माधब चौलागाईं।  ५ आश्विन २०७७, सोमबार।  https://www.rarapati.com/archives/2017#.X2hAr_ULPrQ.facebook

कर्णाली क्षेत्रमा अनुसन्धान गरी लेखिएका पुराना किताबहरू खोज्ने र अध्ययन गर्ने सिलसिलामा यो किताब भेटें । पढ्दै गर्दा प्राक्कथनमा लेखकले अध्ययन स्थलको बास्तविक नाउँ नराखी छद्म नाम प्रयोग देखेर चासो बढ्यो । किताबमा पश्चिम नेपालको बेलासपुर जिल्लाको द्वारी गाउँमा विगत दुई दशक अर्थात् सन् १९५१ मा राणा शासनको अन्त्य भई प्रजातन्त्र आएपछिको अवधिमा भएको सामाजिक परिवर्तनको अध्ययन भनिएको छ । छद्म नाउँको प्रयोग र राणा शासनदेखि पञ्चायत कालसम्म भएका परिवर्तनले ग्रामीण समाजमा ल्याएका असरहरूको अध्ययन भएकोले यो किताबमा रुची बढ्यो ।


प्राक्कथनमा लेखकले अध्ययन स्थलको बास्तविक नाउँ नराखी छद्म नाम प्रयोग देखेर चासो बढ्यो । किताबमा पश्चिम नेपालको बेलासपुर जिल्लाको द्वारी गाउँमा विगत दुई दशक अर्थात् सन् १९५१ मा राणा शासनको अन्त्य भई प्रजातन्त्र आएपछिको अवधिमा भएको सामाजिक परिवर्तनको अध्ययन भनिएको छ ।

सन् १९७२ मा सान्फ्रान्सिस्कोबाट प्रकाशित प्याट्रिसिया काप्लानको किताब “प्रिष्ट एण्ड कोब्लरः अ स्टडी अफ सोसल चेन्ज ईन अ हिन्दु भिलेज ईन वेस्टर्न नेपाल” बारे यहाँ चर्चा गर्दैछु ।

बेलायती समाज मानवशास्त्री काप्लानले आधा शताब्दी अघि सन् १९६९ को सालभर जनवरीदेखि डिसेम्बरसम्म दैलेखको एक गाउँमा बसेर त्यहाँको तात्कालीन सामाजिक र साँस्कृतिक परिवर्तनको अध्ययन गरेर यो किताब लेखेकी हुन् । किताबमा अध्ययन स्थललाई बेलासपुर जिल्ला भनिएको छ तर लेखिकाको सङ्कलनलाई आर्काइभ गर्ने साइटहरूले उनले फिल्डमा खिचेका फोटो र स्थान परिचय दिँदा अध्ययन स्थल दैलेख जिल्ला बताएका छन् ।

उनका अनुसार यस क्षेत्रमा खस साम्राज्यकालीन मल्ल राजाहरू पछि ठकुरी, मुगल र त्यसपछि शाहवंशले शासन गरेका थिए । तर गाउँहरूमा राजनीतिक क्रियाकलापहरू भने शाह शासन कालबाट सुरु हुनथाल्यो । यसको अर्थ त्यसपछि माथिल्लो जातले शासन गर्ने भन्दापनि राजनीतिबाट शासित हुने अवस्था बन्यो ।

राणा शासनकालमै यहाँको गाउँमा कर तिर्न र अत्यावश्यक सामानको जोहो गर्न चाहिने रकम पैंसाको दिर्घकालीन अभाबले गर्दा सामाजिक परिवर्तन आइरहेको थियो । विशेषगरी हुनेखाने बाहुनहरूबाट अछुत जातका मानिसले ऋण लिने बाध्यता र फिर्ता गर्न नसक्नेहरू उठिबास हुने अवस्था थियो । यसले गर्दा गरिबहरू झन् गरिब भए र उनीहरूको बाहुनमाथि परनिर्भरता झन् बढ्यो । ऋण र भूमि विहीनताको चक्रब्युहमा फसेर विकल्पहीन हुनेहरू अदक्ष कामदारको रूपमा भारत पलायन हुने क्रम बढ्यो ।

सात सालमा प्रजातन्त्रको आगमन यता जिल्ला र गाउँमा बजेट पुग्यो । गरीबहरूले केही राहत पाए । यस परिवर्तनले अछुतहरूमा बाहुनमाथिको परनिर्भरता बिस्तारै कम भयो । कतिपयले आफैले आफ्नो जग्गा पनि किने र यसले अर्थपूर्ण राजनीतिक प्रतिकार सुरु हुनथाल्यो । सुरुसुरुमा बाहुनहरूको आफ्नै गठबन्धन भयो तर पछि उनीहरूले अछुतहरूको चुनावी महत्व बुझे ।
आर्थिक सबलता नभएको भए के ती अछुतहरू बाहुनको विरुद्ध लड्न सक्दैन थिए ? परिवर्तनका अरु कारक तत्वहरू के छन् र यी बीचमा अन्तरसम्बन्ध के हुनसक्छ ? भन्ने प्रश्नहरूको उत्तर खोज्नु नै यो अध्ययनको उद्देश्य थियो भनिएको छ ।

यसलाई मोनोग्राफको रूपमा प्रस्तुत गरिएको छ । मानवशास्त्रीहरूले फिल्डमा पुगे कुनै समूह वा गाउँमा गरेका अनुसन्धान क्रियाकलापहरूलाई तत्कालै मोनोग्राफको रूपमा लेख्छन् जसमा कुनै सेरिजको रूपमा वा विस्तृत छलफल गरिएको हुँदैन ।


माओवादी जनयुद्धलाई अध्ययन गर्नेहरू कसै–कसैले काप्लानको अध्ययनले उतिबेलै समेटेको चुरो अर्थात् समाजमा अन्तरनीहित जाति व्यवस्था र अर्थ व्यवस्थाको सङ्घर्ष नै विद्रोहको जरा थियो भनेका छन् । यो अध्ययनको मूलबिन्दू नै जग्गाको स्वामित्वले ल्याएको द्वन्द्व हो ।

माओवादी जनयुद्धलाई अध्ययन गर्नेहरू कसै–कसैले काप्लानको अध्ययनले उतिबेलै समेटेको चुरो अर्थात् समाजमा अन्तरनीहित जाति व्यवस्था र अर्थ व्यवस्थाको सङ्घर्ष नै विद्रोहको जरा थियो भनेका छन् । यो अध्ययनको मूलबिन्दू नै जग्गाको स्वामित्वले ल्याएको द्वन्द्व हो । अर्थात् विद्रोहको पृष्ठभूमि उतिबेला देखिनै तयार भइरहेको थियो भन्न सकिन्छ ।

यो गाउँमा सार्की अर्थात् छालाको जुत्ता बनाउने जातिहरू (कोब्लर) कसरी उत्पीडित भए र उनीहरूको शक्तिलाई कसरी राजनीतिक गुट बन्नमा प्रयोग भयो भन्ने विषय केन्द्रित छ । गाउँको समसामयिक र विगतका परिवर्तन र कारक तत्वहरूको सम्बन्धमाथि अध्ययन गरिएको हो । उतिबेलाको ग्रामीण परिवेशमा दुर्गम गाउँमा हुने स–साना आर्थिक, सामाजिक, राजनीतिक गतिविधिहरूको सुक्ष्म विश्लेषण भेटिन्छ ।

लेखिकाले यस किताबलाई ७ परिच्छेदमा बाँडेकी छन् । जसमा पहिलो परिचय खण्ड र अन्तिमको निष्कर्ष खण्ड छोडेर अन्य तीनवटा परिच्छेदले ग्रामीण अर्थतन्त्रको पाटोको चर्चा गर्छन् भने बाँकी दुई वटामा ग्रामीण राजनीतिक द्वन्द्वबारे वर्णन गरिएको छ ।

ग्रामीण अर्थतन्त्रमा यसको स्रोत, जीविकाको लागि गरिने कमाई र यसबाट आएको परिवर्तनको चर्चा छ । आर्थिक अवस्थाको आधारमा गाउँका घरधुरीलाई वर्गीकरण गर्दा अन्न उत्पादनलाई आधार लिइएको छ जस्तो अन्न अधिक हुने, पर्याप्त हुने र अभाव हुने घरधुरीहरू । त्यस्तै जीविकाको लागि अछुत र गरिब जैसी बाहुनहरूले धनी परिवारमा हलो जोत्ने वा अदक्ष कामदारी गर्ने र जजमानी प्रथाको सम्बन्धको वर्णन पनि छ । साक्षर परिवारले सरकारी जागिर र फैलिँदो बजार आसपासमा पसल खोल्ने तथा जमिन जोड्ने अवसरले परिवर्तन ल्याइरहेका प्रसङ्ग विश्लेषण गरिएको छ । बाहिरबाट आएर बसेका बजारिया मान्छे र स्थानीय गाउँले बीचको अन्तरसम्बन्धका आयामहरूको विश्लेषण छ ।

ग्रामीण राजनीतिमा शक्ति सङ्घर्षको चर्चा गरिएका दुई परिच्छेदहरू निकै रोचक छन् । यहाँ गुटबन्दीका अनेक प्रसङ्गहरू छन् । राणा शासन कालदेखि नै शक्ति, शान र सम्पतिका लागि लडिरहेका गाउँका धनीमानी भनिने दुई समूहको बीच टक्कर अझैंसम्म कायम छ । गाउँका अरु थरी जातीहरू कुनै न कुनै गुटमा छन् । उनीहरू बीच अनेक मुद्दामा पटक–पटक द्वन्द्व भइरहन्छ । कसैले स्वास्नी चोरेकाले त कसैले विद्यालय खोलेको निहुँ अथवा जैसीसँग सुनार र सार्की केटीहरू जोडिएको विषयमा झगडा हुन्छ । ठकुरीहरूको जग्गा र चरिचरनको जग्गा विवादले गुटबन्दी बढाउँदा गाउँलेहरूले निर्वाचित प्रधानपञ्चलाई हटाउन हस्ताक्षर सङ्कलन समेत गरेका थिए ।

जातिवादी राजनीति द्वन्द्वको वृद्धि कसरी भयो भन्ने चर्चा गरिएको खण्ड सबैभन्दा महत्वपूर्ण छ । गाउँमा वि.सं.२०२६ सालताका भएको चुनावलाई निकै गहिरो व्याख्या गरिएको छ । चुनावी उम्मेदवार बन्ने क्रमबाट सुरु भएको राजनीतिक सङ्घर्ष अछुतहरूको सहयोगमा कसरी निष्कर्षमा पुग्यो भन्ने चर्चा छ । यही राजनीतिक शक्ति प्राप्तिबाट सामाजिक विभेद हटाउनका लागि सहयोग पुगेको महशुस हुन्छ । यसरी माथिल्ला जातिहरूको दबदवा विस्तारै कमजोर हुँदा र अछुतहरूको पहूँच कानूनी, राजनीति र आर्थिक परिदृष्यमा बढ्दै जाँदा समाजमा अब उच्च जातिको दर्जा र अछुतको अवस्था पूनः परिभाषित गर्नुपर्ने बेला आएको ठम्याई हुन्छ ।

समग्रमा यस अध्ययनले समाजिक परिवर्तनलाई तीन पक्षबाट जाँचेको छ । पहिलो, आर्थिक अवसरले स्रोतको पूनर्वितरण गरी तल्लो जातको माथिल्लो जातमाथि निर्भरता घटाउन सक्छ कि सक्दैन । दोस्रो, मताधिकार प्राप्त जनसङ्ख्याले निकै महत्व राख्छ तर गाउँमा कम जनसङ्ख्या हुने वर्गले सत्तामा कहिल्यै पकड राख्न सक्दैन । तेस्रो, तल्लो जातिकाहरूले कुनै ठोस वाह्य सहायता नपाएसम्म नयाँ कानुन बनाएर वा नयाँ संविधानमा लेखेर मात्र केही हुँदैन । त्यसको कार्यान्वयन गाउँ भित्रसम्म हुनुपर्छ ।

समुदायका माथिल्लो जात वा धनीहरूसँगको निर्भरता हटाउन तल्लो जातका वा गरिबहरूलाई गाउँ बाहिर जाने अवसर चाहिन्छ । त्यस्तो अवसर सरकारी जागिर, राजनीतिक पार्टीको अवद्धता वा समाज सुधारका अभियानमा सङ्लग्न भएर प्राप्त गर्न सक्छन् भनिएको छ ।

यो एक गाउँको मात्र अध्ययन भएपनि यसले तात्कालीन समयका अन्य गाउँहरूको अवस्थाको पनि प्रतिनिधित्व गर्छ । कतिपय कुराहरू त अहिलेका समयमा पनि उस्तै रहेका छन् होला । लेखकले उतिबेला समाजमा गहिरोसँग जरा गाडेको सामाजिक अर्थिक विभेदलाई सरकार तथा दाताका विकास कार्यक्रमहरूले खासै सम्बोधन गर्न नसकिरहेको पाएकी थिइन् । अहिलेका पाठकहरूलाई पनि उहिले र अहिलेको समाजलाई तुलना गर्न पनि यो किताबको अध्ययन उत्तिकै सान्दर्भिक हुने देखिन्छ ।

यो किताब सन् १९७२ मा पहिलो संस्करण छापिँदा उतै युरोपका पाठक लक्षित रहेछ । नेपालमा त उपलब्ध नै थिएन रे । त्यसैले सन् २००७ मा मण्डला पब्लिकेसन्सले नेपाली पाठकको लागि पूनः मुद्रण गरेको छ । तैपनि यो अङ्ग्रेजी भाषामा भएकोले आफ्नो अध्ययन क्षेत्रका मानिसहरूको पहुँचमा कहिले पुग्ला भन्ने लेखिकाको चासो छ । सायद यो लेखमार्फत् थोरै भएपनि उता बेलासपुरका केही पाठकसम्म पुग्छ की !

(लेखक चौलागाईं कर्णाली प्रदेश जुम्ला तातोपानी गाउँपालिका लाम्रागाउँ निवासी हुन् । उनलाई ट्वीटरमा @madhavjee र इमेलमा madhavjee@gmail.com मा भेट्न सकिन्छ ।)

कर्णाली अर्थात् टेरा ईन्कोग्निटा घुम्ने विदेशीको किताब

११ भाद्र २०७७, बिहीबार https://www.rarapati.com/archives/630

लेखकले यसलाई आफूले तीस बर्षमा गरेको एउटा धेरै सफल परिणाम भनेका छन् तथापि निचोडमा के भनेका छन् भने–“यो खोजले मात्र एउटा कुरा निक्र्यौल गरेको छ कि हामीले नेपालको इतिहासबारे अँझै केही थाहा पाएकै छनौं ।” यसले के इङ्गित गर्छ भने नेपालको इतिहास असाध्यै अपुरो र सम्भवतः बङ्ग्याइएको थियो । उतिबेला शासक रिझाउनका निम्ति लेख्नेहरूबारे उनले भनेका छन्–“जब अनुसन्धाताहरू ठुला शहरकेन्द्रित हुन्छन्, बाँकी देश टेरा इन्कग्निटा बन्छ । जस्तो कि हामी रोम र ल्याटिनका घटनाबारे मात्र जान्दछौं ।”

सदियौंदेखि ओझेलमा परेको कर्णाली क्षेत्रको पुरातात्विक इतिहासको वैज्ञानिक अध्ययन गरी यसलाई बाहिरी संसारसँग परिचय गराउने केही पुराना अध्येताहरू मध्ये प्रोफेसर जिसेप टुचीको योगदान अतुलनीय र निकै अग्रणी छ । यो आलेखमा उनले सन् १९५४ मा यस क्षेत्रको गहन अध्ययन भ्रमण गरेर फर्केपछि सन् १९५६ मा रोमबाट प्रकाशित भएको “प्रिलिमिनरी रिपोर्ट अन टु साईन्टिफिक एक्सपडिसन्स् ईन नेपाल” पुस्तकको चर्चा गरिएको छ ।

किताबको प्राक्कथनले निकै रोचक सन्दर्भ दिन्छ । लेखकले यसलाई आफूले तीस बर्षमा गरेको एउटा धेरै सफल परिणाम भनेका छन् तथापि निचोडमा के भनेका छन् भने–“यो खोजले मात्र एउटा कुरा निक्र्यौल गरेको छ कि हामीले नेपालको इतिहासबारे अँझै केही थाहा पाएकै छनौं ।” यसले के इङ्गित गर्छ भने नेपालको इतिहास असाध्यै अपुरो र सम्भवतः बङ्ग्याइएको थियो । उतिबेला शासक रिझाउनका निम्ति लेख्नेहरूबारे उनले भनेका छन्–“जब अनुसन्धाताहरू ठुला शहरकेन्द्रित हुन्छन्, बाँकी देश टेरा इन्कग्निटा बन्छ । जस्तो कि हामी रोम र ल्याटिनका घटनाबारे मात्र जान्दछौं ।” देशका कैयौं भागहरूको इतिहास नक्शाङ्कन तथा अभिलेखिकरण नहुँदा ती ठाउँका बारे अरुलाई थाह हुन्न । यस्तो किन त भन्दा नेपालले इष्र्यापूर्वक सदियौंसम्म आफूलाई बन्द राख्यो । कर्णालीजस्ता ठाउँहरू टेरा इन्कग्निटा बने । यसले निकै रहस्यबोध गराउँछ । कसरी शासनसत्ताले काठमाडौंको इतिहास बनायो र कर्णालीका जुम्ला, सिन्जा, दुल्लुजस्ता धरोहरहरू ओझेल परिरहे ।


टुचीले यस अघिका आफ्ना ५ वटा भ्रमणले नेपालको इतिहास भनेको काठमाडौं, पाटन र भादगाउँमा मात्र सिमित रहेको पाएको बताएका छन् । कर्कप्याट्रिक, ह्यामिल्टन, राईट र लेभी जस्ता पुराना विदेशी अध्येताहरू पनि नेपाल उपत्यकका मै कन्द्रित थिए । केही नेपाली विद्वान इतिहासकारहरू जस्तै बाबुराम आचार्य र नयराज पन्तहरूले पश्चिम नेपालबारे केही प्रकाशन गरेका भए तापनि उनीहरू आफैले भ्रमण नगरी उतिबेलाका सरकारी मान्छेहरूले उतार गरेका छिटपुट सामग्रीबाट तयार गरेका थिए । उनीहरूले गरेका सामग्री अनुवादहरू यथार्थमा भन्दा निकै भिन्न हुने गरेको थियो ।

कालीगण्डकी आसपासका चौबिसीराज र जुम्ला क्षेत्रका बाईसीराजको इतिहास, प्रादुर्भाव र अवसानका कारणहरू खासै प्रष्ट थिएनन् । त्यसैले टुचीले नेपालको मध्य तथा पश्चिम भागको अध्ययन भ्रमण थालेका थिए । अढाई दशक तिब्बत अध्ययनको सिलसिलामा उनलाई तिब्बती बुद्धिजम्को प्रभाव हिमालय वारपार क्षेत्रमा कहाँसम्म फैलिएको रहेछ भन्ने जिज्ञासा पनि बढी नै थियो ।


पहिलो चरणको यात्रा सन् १९५२ मा गोर्खाबाट सुरुवात गरेर पोखरा, कालीगण्डकी उपत्यका, मुस्ताङको तिब्बत नेपाल सीमा, मुक्तिनाथ, बाग्लुङ, पाल्पा र रुपन्देहीसम्मको अध्ययन सम्पन्न गरे । दोस्रो चरणको यात्रा सन् १९५४ मा पोखराबाट सुरु गरी टुकुचा हुँदै डोल्पाको छार्काभोट, तराप गाउँ, बारबुङ्गखोला, ठूलीभेरी, तिब्रिकोटबाट जुम्ला उपत्यका पुगे । जुम्ला आसपास, भण्डारीबाडा, मिचा, सिरिढुस्का, धौलापानी, तातोपानी, लिताकोट, नाग्मा, चिल्खाया, कालिकोटमा घुमेर हाउडी लेखको बाटोबाट दुल्लुहुँदै सुर्खेतसम्मको अध्ययन सकेर नेपालगञ्जबाट बाहिरिए ।

उनले यो यात्रा दुई चरणमा सम्पन्न गरे । पहिलो चरणको यात्रा सन् १९५२ मा गोर्खाबाट सुरुवात गरेर पोखरा, कालीगण्डकी उपत्यका, मुस्ताङको तिब्बत नेपाल सीमा, मुक्तिनाथ, बाग्लुङ, पाल्पा र रुपन्देहीसम्मको अध्ययन सम्पन्न गरे । दोस्रो चरणको यात्रा सन् १९५४ मा पोखराबाट सुरु गरी टुकुचा हुँदै डोल्पाको छार्काभोट, तराप गाउँ, बारबुङ्गखोला, ठूलीभेरी, तिब्रिकोटबाट जुम्ला उपत्यका पुगे । जुम्ला आसपास, भण्डारीबाडा, मिचा, सिरिढुस्का, धौलापानी, तातोपानी, लिताकोट, नाग्मा, चिल्खाया, कालिकोटमा घुमेर हाउडी लेखको बाटोबाट दुल्लुहुँदै सुर्खेतसम्मको अध्ययन सकेर नेपालगञ्जबाट बाहिरिए ।

टुचीले भ्रमण गरेका यी ठाउँको नाउँ पढ्दा एउटा स्वभाविक प्रश्न आउन सक्छ । आफ्नो यति महत्वपूर्ण र गहन अध्ययनको लागि उनी सिन्जा किन गएनन् ? वास्तवमा यसको कारण त त्यतिबेला नेपालमा उपलब्ध नक्सामा भएको कमजोरी वा त्रुटिले गर्दा उनको यात्रामा सिन्जा छुटेको रहेछ । उनले सन् १९२८ मा बनेको नेपालको नक्सा बोकेर गएका थिए जसमा सिन्जा सङ्केत नै प्रष्ट थिएन । अर्थात् सिन्जा एक अर्को टेरा इन्कग्निटा थियो ।

टुचीले आफ्नो अध्ययनलाई किताबको रूपमा छापेर वितरण गर्न ठिक्क परेको बेला योगी नरहरीनाथले पनि कर्णाली क्षेत्रको गहन भ्रमण गरेको थाह पाए । योगीले सिन्जा क्षेत्र पनि भ्रमण गरेका थिए । योगीको अध्ययन समेटेर गोर्खाली (नेपाली) भाषामा इतिहास प्रकाश जर्नल आएको थियो । यसबारे टुचीलाई उतिबेला नेपालमा अनुसन्धान गरिरहेका अर्का इटालियन अध्येता उनका चेला, साथी डा. नोलीले जानकारी दिएपछि उनले थाह पाए । उनले योगीको कामलाई सह्राना गर्दै विश्वसनीय सन्दर्भ स्रोत मानेर आफ्नो अध्ययनका निचोडलाई योगीको अनुसन्धानसँग भिडाएर पनि हेरेका छन् । खासगरी खस साम्राज्यसम्बन्धी केही तथ्य र महत्वपूर्ण बुँदाहरूमा सहमति जनाएका छन् ।


योगीले गाउँगाउँमा लुकेर बसेका तमाम दस्तावेजहरूलाई सङ्कलन, सङ्गठन र प्रकाशन गरी कर्णालीको भव्य इतिहासलाई आम नेपाली पाठक माझ उजागर गरे भने टुचीको अनुसन्धानले कर्णालीको इतिहासलाई पश्चिमा जगतमा स्थापित गराउन भूमिका खेल्यो । यस हिसाबले योगी र टुचीको अन्वेषण निकै हदसम्म एकअर्काको परिपूरक जस्ता हुन् । नत्र उति बेलाका शासक र तिनका आसेपासे विद्वानहरूले कर्णालीको विराट इतिहास र त्योसँगै स्थापना भएका कैयौं कालजयी तथ्यहरूलाई मान्यता किन दिन्थे ? अहिले यी दुई हस्तीका खोज अनुसन्धानहरू कर्णालीको विगत बुझ्न चाहने जो कोहीको लागि पनि मानक सन्दर्भ स्रोतका बनेका छन् ।

योगी नरहरीनाथ कनफट्टा सम्प्रदायका सन्त भएकोले स्थानीयहरूले बिना सन्देह विश्वास र सहयोग गरेका थिए । फलस्वरूप योगीलाई गाउँगाउँबाट पुराना दस्तावेजहरू यथेष्ट सङ्कलन गर्न सम्भव भयो । टुचीको हिमालयखण्ड र तिब्बती इतिहास र संस्कृति र लिपीको गहिरो ज्ञानले ऐतिहासिक र पुरातात्विक तथ्यहरूको रुजू, अनुवाद, विश्लेषण र सम्बन्धहरू स्थापित गर्न सहज भयो । योगीले गाउँगाउँमा लुकेर बसेका तमाम दस्तावेजहरूलाई सङ्कलन, सङ्गठन र प्रकाशन गरी कर्णालीको भव्य इतिहासलाई आम नेपाली पाठक माझ उजागर गरे भने टुचीको अनुसन्धानले कर्णालीको इतिहासलाई पश्चिमा जगतमा स्थापित गराउन भूमिका खेल्यो । यस हिसाबले योगी र टुचीको अन्वेषण निकै हदसम्म एकअर्काको परिपूरक जस्ता हुन् । नत्र उति बेलाका शासक र तिनका आसेपासे विद्वानहरूले कर्णालीको विराट इतिहास र त्योसँगै स्थापना भएका कैयौं कालजयी तथ्यहरूलाई मान्यता किन दिन्थे ? अहिले यी दुई हस्तीका खोज अनुसन्धानहरू कर्णालीको विगत बुझ्न चाहने जो कोहीको लागि पनि मानक सन्दर्भ स्रोतका बनेका छन् ।

उनको जुम्ला यात्राका सुरुवाती दिनमा डोल्पा क्षेत्रमा बोन धर्मको प्रभाव भेटेपनि पुरातात्विक महत्वका विषयहरू तत्कालीन तिब्रिकोटमा त्रिपुरासुन्दरीको मन्दिर पुगेपछि भेट्न सुरु भएको उल्लेख गरेका छन् । रिमी आएपछि काठका कुँदेका बस्तुहरू भेट्न थाले । ती गाउँ स्थापना गर्ने पुर्खाका आकृति थिए । केही तल पुगेपछि जुम्लामा खेतका आली छेउ ढुङ्गाका आकृतिहरू भेटिए । ढुङ्गाका पिलरहरू सुरुमा जुम्ला र अन्तिममा सुर्खेतसम्म भेटिएका थिए । स्तुपाहरूमा ३ फूल, हिमाल, कमल, सूर्य र चन्द्र अनि घोडचढी योद्धाको आकृति भेटिन्छ । थान (मन्दिर)हरू भेटिए । थानमा पनि कुँदिएका आकृति थिए । यो मन्दिर बनाउने वा जग्गादाताको सम्झना राखिएका हुन्थे । ढुङ्गा र रुखमा पनि पूजा गरिएको हुन्थे । टुचीसँगै हिडेको पण्डितले त्यसरी ढुङ्गा र रुखमा भूतको पूजा गर्नेहरू हिन्दु होइनन् भनेर बताएका थिए । टुचीलाई त्यो हिन्दुकरण भै नसकेको सामाजिक परिवेश जस्तो लागेको थियो । यस्तो ठाँउहरू भविष्यको “न्यू आइल्याण्ड अफ कल्चर” हुन् भन्ने लागेको थियो ।


यस क्षेत्रमा टुचीले प्रदान गरेको अतुलनीय योगदान भनेको उनले शिलापत्रमा कुँदिएका बंशावलीलाई तिब्बती अभिलेखसँग भिडाएर उल्था गरी महत्वपूर्ण तथ्यहरू स्थापित गरेका छन् । खस शासनकालका सामग्रीलाई तिब्बतीलाई लामाको बंशावलीदेखि लद्दाखको बंशावलीसम्मका तथ्यहरूसँग भिडाएर पर्गेलिएको छ । नागराजको पालादेखिका चाप, चापल्ल, मल्ल र बम्मसम्मका शासकको बंशावली र शासनकाल खुट्ट्याउने प्रयत्न गरिएको छ ।


यस क्षेत्रमा टुचीले प्रदान गरेको अतुलनीय योगदान भनेको उनले शिलापत्रमा कुँदिएका बंशावलीलाई तिब्बती अभिलेखसँग भिडाएर उल्था गरी महत्वपूर्ण तथ्यहरू स्थापित गरेका छन् । कनकपत्र र अरु दस्तावेजको अध्ययनबाट ऐतिहासिक र पूरातात्विक सम्बन्धहरूको व्याख्या गरेका छन् । तीन अध्यायमा बाँडिएको यस किताबको दोस्रो अध्यायमा जुम्ला भ्रमणको वर्णन छ भने तेस्रो अध्यायले पश्चिम तिब्बत र पश्चिम नेपालका खस शासकको इतिहासको चर्चा छ । यसमा जुम्ला र अँझ विशेषगरी दुल्लु क्षेत्र र सुर्खेतमा भेटिएका दस्तावेज, मन्दिर र शिलालेखहरूको अध्ययनबाट मिलेका तथ्यहरू उल्लेख गरिएको छ । खस शासनकालका सामग्रीलाई तिब्बतीलाई लामाको बंशावलीदेखि लद्दाखको बंशावलीसम्मका तथ्यहरूसँग भिडाएर पर्गेलिएको छ । नागराजको पालादेखिका चाप, चापल्ल, मल्ल र बम्मसम्मका शासकको बंशावली र शासनकाल खुट्ट्याउने प्रयत्न गरिएको छ । यस यात्राको अध्ययनलाई टुचीले नेपालः द डिस्कभरी अफ मल्लाज् किताबमा थप गहन प्रकाश पारेका छन् । त्यसमा खस साम्राज्यको उत्पत्ति, विस्तार र पतनको विस्तृत वर्णन छ ।

टुचीको यात्रामा फोटोग्राफर फ्रान्सिस्का बोनार्डीसँगै थिइन् । यस भ्रमणमा डोल्पादेखि सुर्खेतसम्म खिचिएका ५७ वटा ऐतिहासिक महत्वका श्यामश्वेत फोटाहरू किताबको परिशिष्ट खण्डमा राखिएका छन् ।

किताब प्रकाशन भएर केही पुस्तकालय र केही अध्यताहरू माझमात्र सीमित रहने युगमा यो किताबले निकै चर्चा बटुल्यो । विशाल खस साम्राज्यको अस्तित्वलाई सर्वप्रथम सबै माझ स्थापित गरिदियो । इतिहासलाई नयाँ ढङ्गले व्याख्या गराउने नतिजाहरू तत्कालीन शाही शासन व्यवस्थामा दुर्लभ प्रयास हो तर टुचीको प्राज्ञिक र बौद्धिक व्यक्तित्वले गर्दा यसको सङ्कलन र प्रकाशन सम्भव भएको हुनपर्छ । अनुसन्धानको क्रममा सङ्कलन गरिएको धेरै महत्वपूर्ण सामग्रीहरू त्यतिबेलाका उनका साथी केशरबहादुर अर्थात केशरशमशेर जबराको सक्रियता र सङ्लग्नतामा अनूदित, प्रकाशित भएको भनि टुचीले श्रेय दिएका छन् । सम्भवतः ती सामाग्रीहरू अँझै केशर पुस्तकालयमा सङ्ग्रहित हुनुपर्छ ।

यति पढिसकेपछि टुचीको व्यक्तिगत जीवनबारे रुचि हुन सक्छ । जिसेप टुची ५ जुन १८९४ मा इटलीको मासेराटा शहरमा जन्मेका थिए । उनी मुसोलिनीका समकालीन थिए । दोस्रो विश्वयुद्ध र स्पानिस फ्लू चलिरहेको बेला उनले रोम विश्वविद्यालयबाट ग्राजुयशन गरेपछि भारत आएर रवीन्द्रनाथ टैगोरले स्थापना गरेको विश्व भारती विश्वविद्यालयमा पढे । सायद उनलाई भारत वर्षको ज्ञानले आकर्षित गर्यो र उनले ढाका विश्वविद्यालय, बानारस विश्वविद्यालय र कलकत्ता विश्वविद्यालयमा समेत पढे र पढाउने काम पनि गरे । उनले समाज, भाषा, संस्कृति, सम्पदा, पुरातत्वको बहु आयामिक खोज र अनुसन्धान गर्न थाले । यसै सिलसिलामा उनले विभिन्न युरोपेली भाषासँगै संस्कृत, बङ्गाली, पाली, प्रकृत, चिनियाँ र तिब्बती भाषाको समेत गहिरो ज्ञान लिए । उनले पाकिस्तानको स्वात, अफगानिस्तानको घाज्मी, इरानको पर्सिपोलिस र हिमालय क्षेत्रको ऐतिहासिक पुरातात्विक खोज गरे । यिनै विषय समेतका उनले लेखेका ३६० वटा किताब र लेखहरू प्रसिद्ध भए । त्यसैले उनलाई मध्यपूर्वविद्, भारतविद्, पूर्वी एसियाविद्, तिब्बतविद् तथा बौद्धविद् भनेर चिनिन्छ । बुद्धिष्ट अध्ययनको स्थापक वा पिता समेत मानिन्छ । सन् १९८४ मा उनको देहान्त भयो ।

(लेखक चौलागाईं कर्णाली प्रदेश, जुम्ला तातोपानी गाउँपालिका–५, लाम्रागाउँका बासिन्दा हुन् ।)

योजना आयोगको प्रतिवेदनमा त्रुटि नै त्रुटि

माधव चौलागाँईं । १५ आश्विन २०७७, बिहीबार ०८:३४ मा प्रकाशित https://sajhabisaunee.com/archives/22380


गत हप्ता कर्णाली प्रदेश योजना आयोगले यूएनडीपी नेपालको सहयोगमा तयार पारिएको ‘दिगो विकासका लक्षहरूः कर्णाली प्रदेशको आधार तथ्याङ्क प्रतिवेदन’ सार्वजनिक ग¥यो । तर उक्त प्रतिवेदनमा त्रुटि नै त्रुटि भएको पाइएको छ । अंग्रेजी तथा नेपाली दुवै भाषा उपलब्ध यी प्रतिवेदन पढ्दै जाँदा यसले समेटेको समस्या विश्लेषण, तथ्याङ्कीय स्रोत, सूचकको छनौट, सूचकको अनुवाद र व्याख्या र व्यवाहारिकता सम्बन्धमा अनेक प्रश्नहरू उब्जिन्छन् । दिगो विकासका १७ वटा लक्षहरू मापन गर्न तीन सय ५० वटा सूचकहरू प्रस्ताव गरिएकोमा त्यसको दुई–तिहाई सूचकहरूको निम्ति कर्णालीमा तथ्याङ्ककहरू नै उपलब्ध नरहेको उल्लेख छ । केवल एक सय २० वटा अर्थात एक तिहाई सूचकहरूका लागि उपलब्ध तथ्याङ्कहरू पनि धेरैजसो राष्ट्रिय सर्भे वा अन्य स्रोतबाट ल्याइएका तथा कतिपय अनुमानित आँकडाहरू छन् ।

कुनै पनि देशले ती सबै लक्ष्यको प्रगति मूल्याङ्कन गर्न ठोस आधार चाहिन्छ । सूचक अनुसारको अवस्था विश्लेषणले त्यसलाई चाहिने तथ्याङ्कको उपलब्धता, स्रोतको अवस्था, अभाव र निकास खोज्न मद्यत गर्छ । प्रदेशगत रूपमा यसरी दिगो विकास लक्षको अवस्था हेर्ने अभ्यासले सरकारका सोच र प्राथमिकतालाई दिगो विकासको लक्ष्य उन्मुख गराउन पहल गर्छ । तर अध्ययन र त्यसको विश्लेषणमै चुक्ने हो भने अपेक्षित लक्ष्य हासिल गर्न सकिदैन ।

यसअघिको सहस्राब्दी विकास लक्ष्यले यसका सदस्य देशहरूलाई सीमित स्रोतको सही उपयोग गरी अत्यावश्यक मानवीय आवश्यकता जस्तै गरिबी, भोक, रोग, अशिक्षा, वातावरणीय समस्या र विभेद न्यूनीकरण गर्ने दिशातिर उन्मुख गराएको थियो । अहिलेको दिगो विकास लक्षहरूले सन् २०३० सम्म सबैको लागि अझ राम्रो र झन् दिगो भविश्य दिने सोच राखेको छ । नेपालको सन्दर्भमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्न मिल्यो भने कर्णालीको सन्दर्भमा ‘समृद्ध कर्णाली, सुखारी कर्णालीबासी’ बनाउने सोच यही हो भन्न सकियो ।

सहस्राब्दी विकासका धेरैजसो लक्ष्यहरू हाँसिल भएता पनि त्यतिबेला नसकिएका एजेण्डाहरू अझै बाँकी नै छन् । कर्णालीजस्तो ठाउँमा त झन् पूराना सबैजसो लक्ष्यहरू हासिल गर्न बाँकी नै छ । ति हासिल गर्नु पहिलो प्राथमिकता हुनुपर्छ र त्यसपछि बल्ल दिगो विकासका लक्ष्यहरूले सार्थकता पाउँछ । तर यो प्रतिवेदनले ति लक्ष्यहरूको वर्तमान अवस्थाबारे कुनै चर्चा नै गरेको छैन । यसको विपरित प्रतिवेदनको भूमिकामै शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षालाई दोस्रो प्राथमिकतामा राखिएको छ भनेको छ ।

कर्णाली योजना आयोगले लेखेको भूमिका पत्रमा उसले भर्खरै प्रकाशित गरेका कर्णाली प्रदेशको पञ्चवर्षिय योजनाको आधार–पत्रमा उल्लेखित तथा कर्णाली प्रदेश सरकारका नीति तथा कार्यक्रममा गरिएका प्रतिबद्धताहरूकोसँग कोभीड–१९ ले ल्याएको चुनौती र असरबारे ध्यानाकर्षण भएकोबारे छोटो चर्चा गरेको छ । तर प्रतिवेदनमा कतैपनि कर्णाली सरकारका ती प्राथमिकता वा सन्दर्भहरूसँग तालमेल छैन । कर्णाली सन्दर्भको समस्या विश्लेषण गर्दा होस् वा दिगो विकास लक्ष्यको सैद्धान्तिक आधारको व्याख्या गर्दा समसामयिक परिदृष्यको चर्चा नगरिनु र सरकारका तत्कालीन सोचसँग सामञ्जस्य हुन नसक्नुले यो प्रतिवेदन एउटा कर्मकाण्ड जस्तो बन्न गएको छ ।

प्रतिवेदनमा राखिएका कतिपय तथ्य र सूचकहरूमा एकरूपता छैन । केही प्रसंगहरू नमिल्दा छन् भने कतिपय तथ्याङ्कको गलत बुझाइले गलत व्याख्या समेत भएको छ । पछिल्लो समय स्वास्थ्य सम्बन्धी सूचकहरू जस्तै तीनपटक प्रसूति जाँच र नवजात शिशु स्वास्थ्यमा आएको परिवर्तनको कारकमा शिक्षा हो भनिएको छ । यसका लागि सन् २००७ को अन्य देशमा गरिएको अध्ययनको सन्दर्भ लिएको छ । तर यस अवधिमा कर्णालीमा भएको स्वास्थ्य सेवाको पहुँच, आर्थिक अवस्थाको परिवर्तनको उल्लेख छैन ।

कर्णालीमा बाल तथा शिशु मृत्युदर उच्च छ । नवजात शिशुमृत्यु पनि पहिलो सात दिनभित्र सबैभन्दा धेरै छ । तर सफा खानेपानी, सरसफाई, आधारभूत स्वास्थ्यसेवा, खाद्य तथा शिक्षाको पहुँच बढेकोले मृत्युदर घटिरहेको छ भनिएको छ ।

कुनै तथ्याङ्कको अमिल्दो विश्लेषण पनि छ । जस्तै, ‘खाद्यान्नको उपलब्धताले मानिसको स्वास्थ्य सुदृढ हुन्छ । जस्तै, कर्णाली प्रदेशमा २९.४ प्रतिशत प्रजनन् उमेरका महिला रक्तअल्पताले ग्रसित छन् । राष्ट्रिय औसत ३३.५ प्रतिशत छ । त्यस्तै ५ वर्ष मुनिका बच्चामा कुपोषण (कमतौल) ७.५ प्रतिशत छ । यो राष्ट्रिय औसतभन्दा करिब दुई प्रतिशतले पोइन्टले कम छ’ भनिएको छ ।



प्रतिवेदनको अंग्रेजी भर्सनमै कतिपय असंगतिहरू छन् भने नेपाली अनुवाद एकदमै त्रुटिपूर्ण छ ।

केही उदाहरणबाट हेरौंः

पृष्ठ ३ मा कर्णालीका आकर्षक गन्तव्यहरूको नाम उल्लेख गर्दा अंग्रेजी र नेपालीमा फरक नाम उल्लेख छन् । बडिमालिका कर्णालीमा पर्छ भनिएको छ । पृष्ठ नं. १० मा राखिएको भेन डायग्रामको चित्र नै अंग्रेजी र नेपाली भरर्सनमा फरक छ । जसरी यसको प्रयोग गरिएको छ त्यसले फरक–फरक अर्थ दिन्छ ।

अध्याय–३ मा प्रयोग गरिएका तालिका, ग्राफहरू, सूचकको प्रयोग, व्याख्या र त्यसको नेपाली अनुवादमा कतिपय त्रुटि र असंगतिहरू देखापर्छन् । अंग्रेजी भर्सनको लेखनमा एकरूपता छैन । कतिपय वाक्य गठन अपुरा टिपोटजस्ता लाग्छन् । त्यसको हुबहु नेपाली अनुवाद गर्दा भाषिक मिठास त कुरै छोडौ पाठकलाई झन् अलमल बनाउँछ । अनुवादकले सम्बन्धित विषयको प्राविधिक ज्ञानविना गुगल ट्रान्सलेसनकै मात्र भर परेर अनुवाद गर्दाको हाँस्यास्पद परिणाम ठाउँ–ठाउँमा देखापर्छ । सम्पादनविनै प्रकाशित दस्तावेज जस्तो देखिन्छ ।

तालिका ३.१ मा तालिका कोलममा उल्लेख गरिएका सूचकमा प्रतिशत जनाउने तरिकामा एकरूपता छैन । तालिका ३.२ मा नेपालको गीनी कोईफिसियन्ट ० दशमलब ३२८ भनिएको छ अर्थात् ० देखि १ को स्केल प्रयोग गरिएको छ जबकी त्यसै तालिकामा प्रदेशगत देखाउँदा १०० को स्केलमा राखिएको छ । जस्तो कर्णालीको गीनी कोईफिसेन्ट २७ दशमलब ०१ छ । पढ्ने मान्छे झुक्किन्छ । कर्णालीको पाल्मा इन्डेक्स तालिकामा ० दशमलब ९३ छ भने त्यसै मुनिको पाराग्राफमा ० दशमलब ९२ भनेर उल्लेख गरिएको छ । तालिकाको संकेत नम्बर पनि गलत उल्लेख गरेको छ । यसैमा तालिका शीर्षक ‘मिजरमेन्ट अफ इनइक्वालिटी’लाई नेपाली अनुवादमा ‘समानताको गहिराई’ भनिएको छ । यो अनुवाद र सम्पादनको लापरवाही हो । असाध्यै पुराना तथ्याङ्कको प्रयोग गरिएको छ । विश्व बैंकले २०१० मा गरेका अनुमान भन्दा त्यसपछि २०१५ तिरका अध्ययनहरू आइसकेकोले त्यसको प्रयोग उपयुक्त हुनसक्थ्यो ।

ग्राफ ३.१, ३.२ र ३.३ मा प्रयोग गरिएका तथ्याङ्कको स्रोत प्रष्ट छैन, तुलना गरिएको सन्दर्भ स्पष्ट छैन र ग्राफलाई नेपालीमा अनुवाद गलत भएको छ । जस्तो पोष्टनेटल केयर (पीएनसी) लाई कतै ‘गर्भावस्था जाँच’ भनिएको छ भने कतै ‘प्रसवपूर्व’ भनेर लेखिएको छ । खासमा पीएनसी भनेको प्रसूतिअवस्थाको स्याहार हो ।

नेपाली भर्सनको ग्राफ ३.७ मा सूचक लेवल नै उल्टोपाल्टो छ जसले कर्णालीमा झण्डै ९० प्रतिशत घरधुरीले स्वच्छ उर्जा र प्रविधि प्रयोग गर्छन् भन्ने अर्थ दिन्छ । जुन ठीक उल्टो अर्थात् कर्णालीमा ९० प्रतिशत घरधुरी परम्परागत तरिका वा दाउरा, गुँईठामा निर्भर छन् भन्नु पथ्र्यो ।

प्रतिवेदनको पृष्ठ ३१ मा प्रयुक्त मुगु जिल्लाकोे जिउका प्रसूति केन्द्रमा बसिरहेका महिलाहरूको फोटोमुनि परिचयमा प्रश्नवाचक राखेर अन्यौल बनाएको छ । त्यो जिउका गाउँका एउटा गैरसरकारी संस्थाको सहयोगमा बनेकोे बर्थ सेन्टर हो । यसले कतिपय श्रोत र जानकारीको भेरिफिकेशन गर्न अल्छी गरेको थाहा हुन्छ । त्यस्तै अरु कयौं यस्ता कमजोरीहरू छन् जसले पाठकलाई निकै भ्रमित बनाउँछ ।

कतिपय लेखाई पनि असंगतिपूर्ण लाग्छ । जस्तो एउटा अनुच्छेदमा ‘नेपाल जीवनस्तर सर्भेको तथ्याङ्क विश्लेषण अनुसार २३ दशमलब ६ प्रतिशत घरधुरीहरू स्वास्थ्य संस्थाबाट ३० मिनेटको दूरी भित्र पर्छन् । भौगोलिक सूचना प्रणालीको अनुमानले वर्षाको समयमा ४६ प्रतिशत जनसंख्याले नजिकको स्वास्थ्य संस्था पुग्न एक घण्टाबढी पैदल हिँड्न पर्छ’ भनिएको छ । तर यही अनुच्छेदसँगै दिएको सम्बन्धित चार्टसँग यो तथ्याङ्क मेल खाँदैन । यसको स्रोत चाहिँ विश्वबैंकको अनुमान भनेको छ तर कुन सालको हो खुलाएको छैन ।
प्रतिवेदन पढ्दै जाँदा परिशिष्ट खण्डका केही त्रुटीहरू साह्रै उदेक लाग्दा छन् । केही उदाहरण हेरौंः

अधिकांश सूचकहरूको अनुवाद अस्वभाविक र कतिपय गलत अर्थ दिने पनि छन् । जस्तै लक्ष्य १.४, २.२ र लक्ष ३ अन्तर्गतका लगभग सबै सूचकको नेपाली उल्था गलत छ । सूचक १.२.२ को आधार अङ्क अंग्रेजीमा ३५.४ छ भने त्यसैलाई नेपालीमा ३६ लेखिएको छ । अंग्रेजी भर्सनमा सूचक ३.२.२ मा नवजात शिशु मृत्यदर २४ उल्लेख छ । हुनुपर्ने २१ हो । सूचक ३.३ मा तथ्याङ्क श्रोतबिना हेपाटाईटिस प्रकोप २,६५४ प्रति लाख जनसंख्या उल्लेख छ । सूचक ३.७.१ मा कर्णालीको कूल प्रजनन् दर १९ लेखिएको छ । हुनपर्ने २.८ हो । त्यस्तै कर्णालीमा किशोरी आमा बन्ने दर पनि गलत उल्लेख छ । देशभर प्रतिहजार १७ हुनपर्ने ध्यान नपु¥याएकोले ७१ भएको छ ।

त्यस्तै अंग्रेजी भर्सनमा संस्थागत सुत्केरी दर प्रतिहजारमा ५४.६ उल्लेख छ । हुनपर्ने ५७ हो । उच्चरक्तचापको सूचकमा महिला पुरुषको उच्च रक्तचापको दर र समग्र जनसंख्याको दरमा सामञ्जस्य छैन । तीस मिनेट हिँड्दा स्वास्थ्यसंस्थामा पुग्नसक्ने घरधुरीको प्रतिशत अंग्रेजीमा ४९ छ भने नेपालीमा ६१.६ उल्लेख छ । लक्ष्य ३.९ सम्बन्धी तथ्याङ्कको श्रोत ग्लोबल बर्डेन अफ डिजिज प्रतिवेदन हो भनिएको छ तर त्यसमा प्रदेशगत तथ्याङ्क नै हुन्न । यस्ता कैयौं तथ्यगत त्रुटिहरू सबै १७ वटा लक्ष अन्तर्गतका सूचकमा भेटिन सक्छन् ।

बेसलाईनका अंकहरू प्रायः दशमलब संख्यामा उल्लेख गरिएको छ तर त्यसैलाई कतैकतै अवैज्ञानिक तरिकाले तल वा माथि परिएको छ । तथ्याङ्कको श्रोत एउटै भएका सूचकहरू पनि कतिपय खाली छोडिएको छ भने कतै बेसलाईनमा एउटा श्रोत र प्रगति हेर्दा अर्को स्रोत प्रस्ताव गरिएको छ । नेपाली भर्सनको परिशिष्टको पहिलो पृष्ठको फुटनोटमा तथ्याङ्कको आधार वर्ष र स्रोत फरक हुँदा आँकडा पनि फरक हुन सक्छ र ती फरक परेका आँकडालाई फरक रङ्गमा कोडिङ्ग गरिएको छ भनेर उल्लेख गरे पनि तालिकामा त्यसो गरेको कतै पाँइदैन । यसले पाठक भ्रममा पारेको छ ।

केही राष्ट्रियस्तरका सर्भेहरूले जिल्लागत तथ्याङ्क दिंदैनन् त्यसैले प्रदेशस्तरका सर्भे आवश्यक भनिएको छ । तर त्यो के के र कसरी गर्ने भन्ने सुझाव कतै छैन । कुनै कुनै सूचकमा तथ्याङ्कको स्रोत प्रदेश योजना आयोगको आधार–पत्र लिइएको छ जस्तै लक्ष्य ४ अन्तर्गतका केही सूचकहरू जुन सैद्धान्तिकरूपले गलत हो । आधार–पत्र २०१९ मा बनाएको हो र त्यो तथ्याङ्कको स्रोत हैन बरु लक्ष्यहरू राख्न परेमा यो दस्तावेजलाई आधार लिन सकिन्छ ।

कुनै सूचकहरूको तथ्याङ्क प्रशासनिक स्रोतबाट पनि लिन सकिने भनिएको छ जस्तो दैवी प्रकोप, आत्महत्या, घरेलुहिंसा, सडक सवारी दुर्घटना, संस्था संख्या आदि । तर सबैको बेसलाईन खाली छोडिएको छ । कर्णाली प्रदेश सरकारले २०७६ मै प्रकाशन गरेको ‘तथ्याङ्कमा कर्णाली’ पुस्तकमा कतिपय तथ्याङ्कहरू उपलब्ध छन् । त्यसको प्रयोग यस्तो प्रतिवेदन तयार पार्दा नगर्ने हो भने त्यो सरकारी प्रकाशनको उपादयता के रह्यो ? यो ‘कर्णाली दिगो विकासका लक्ष्य आधार–पत्र’को तयारीविना खोज, परिश्रम र विश्लेषण गरिएको कर्मकाण्ड जस्तो भएन र ?

केही समय पहिले कर्णाली सरकारले विज्ञहरू मार्फत तयार पारेको एउट सामाजिक अवस्थाको अध्ययन प्रतिवेदनमा पनि यस्ता अनेकन भ्रम र त्रुटिहरू थिए । संयुक्त राष्ट्रसंघीय विकास नियोगको प्राविधिक सहयोगमा बनेको दस्तावेज पनि यति कमलस गुणस्तरको हुन अपेक्षित हैन । यस्ता प्रवृतिहरूप्रति प्रदेश सरकारका जिम्मेवार कर्मचारीहरू सजग र सचेत हुन आवश्यक छ । कर्णालीका राजनीतिक नेता, प्रशासक, विज्ञहरू सामेल भएर निकै प्राथमिकता साथ प्रकाशित गरिने यस्ता दस्तावेजहरूमा त्रुटि नै त्रुटि भेटिनु दुर्भाग्यपूर्ण लापरवाही हो । सुन्दर तस्बीर र चिल्ला पाना भएका किताब हेर्दै दंग पररे ताली बजाउने कि केहीबेर गहिरिएर पनि पढ्ने ?

(लेखक चौलागाईं जुम्लाको तातोपानी गाउँपालिका निवासी हुन् ।)

'केही वर्ष विदेशी होइन, नेपाली टुरिस्टलाई स्वागत गर्नुस्'

कात्तिक ३




पदमार्गको होटलका भत्किएका झ्याल। तस्बिर सौजन्यः माधवप्रसाद चौलागाईं


दसैं-तिहार हाम्रा लागि घुम्ने पर्व पनि हो। यसपालि कोरोनाले गर्दा घुम्ने ठाउँ आफैं थला परेका छन्। प्रसिद्ध पदमार्ग सबभन्दा बढी प्रभावित छन्।

कोरोनाले सुरूमै बसन्तयामको महत्वपूर्ण एक सिजन धरासायी भयो। अब केही समय विदेशी पर्यटक आउने सम्भावना न्यून छ। यस क्षेत्रका व्यवसायी अब शरदयामको अर्को उपयुक्त सिजनमा आन्तरिक पर्यटन चल्छ कि भन्ने प्रतीक्षामा छन्।

दोस्रो चरणको लकडाउन केही खुकुलो भएको मौका छोपी अक्टोबर पहिलो साता हामी सुन्दर पदयात्रा गन्तव्य लाङटाङ उपत्यका घुम्न गयौं। गत मार्चमा लकडाउन सुरू भएयता लाङटाङ क्षेत्रको पदयात्रा गर्ने सम्भवतः हामी नै पहिलो पर्यटक टोली थियौं।

भर्खरै बर्षायाम सकिएकाले पदमार्गमा जताततै झार भरिएको र कतिपय ठाउँमा पहिरो गएको थियो। बाटोमा पर्ने होटल तथा टि-हाउस खण्डहरजस्ता देखिन्थे। कतिपय होटलका झ्याल-ढोका भत्किएका र घाँस उम्रिएका आँगनको विरक्त लाग्ने दृष्य थियो।


राष्ट्रिय निकुञ्ज भएकाले यो पदयात्राको ठूलो खण्ड जंगलैजंगल भएर हिँड्नुपर्छ। सधैं पर्यटकको चहलपहल भइरहने ठाउँ सात महिनादेखि सुनसान हुँदा भालु लगायत जंगली जनावरको क्रिडास्थल बनेको रहेछ।दोभान नजिकको झरना।

यो पर्यटन क्षेत्रका मानिस अहिले अन्यौलमा छन्। लगातार दुई ठूला धक्का सहनु परेको छ। लाङटाङ क्षेत्रमा पाँच वर्षअघि भूकम्पले अपुरणीय क्षति गरेको थियो। त्यसबाट फटाफट तंग्रिदै गरेको यहाँ फेरि कोरोनाले निम्त्याएको प्रहार गम्भीर छ। भूकम्पलगत्तै केही समयभित्र यहाँ सहयोग आउन थाल्यो, मानिस आउन थाले, व्यापार चल्न थाल्यो। भूकम्पले बाँचेकामा नयाँ आशा संचार भइसकेको थियो।

तर अहिले महिनौं सुनसान भइसक्यो र अझै कति यस्तै रहने हो कसैले केही भन्न सक्दैनन्। यसपालि अन्यौल र निराशा व्याप्त छ।

यात्राभर भेटिने होटल व्यवसायीको प्रायः उही प्रश्न हुन्थ्यो, 'फरेन टुरिस्ट कहिलेसम्म आउलान्?'

हामी भन्थ्यौं, 'अब यो सिजनमा त खै? स्प्रिङतिर केही बढ्छ होला। तर अबको केही वर्ष विदेशी होइन। नेपाली टुरिस्टलाई स्वागत गर्ने तयारी गर्नुस्।'

सरकारको पर्यटन मन्त्रालयले धरासायी पर्यटन क्षेत्र उकास्ने गरी अझै कुनै प्याकेज वा उपाय ल्याइसकेको छैन। मिडियामा आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरिनुपर्ने विचार आइरहेका छन्। तर कसरी गरिन्छ भन्ने कुनै ठोस योजना छैन। पर्यटन क्षेत्रका स्थानीयभन्दा त सरकार झन् अन्यौलमा जस्तो देखिन्छ।

अब केहीबेर हाम्रो लाङटाङ यात्रामा मसँगै यात्रा गरेर उतातिरको आन्तरिक पर्यटनको सम्भावना अवलोकन गरौं।

लकडाउन केही खुकुलो बनेपछि साथीहरूले ट्रेकिङ जाऊँ भने। सुरूमा रोल्बालिङ उपत्यका घुम्दै छोरोल्पा तालसम्म पुग्ने योजना बन्यो।

भ्रमणस्थलको चाँजोपाँजो मिलाउने साथीले पर्यटनमार्गका होटल र स्थानीय सरकारसँग सम्पर्क गरे। होटलवालाले गाउँलेलाई सोध्न लगाए। स्थानीयले वडाअध्यक्षलाई सोधे। उनले गाउँपालिका अध्यक्षसँग सोध्नपर्ने भने। अध्यक्षले लामागुरुसँग बुझे।बाटोमा पर्ने खोल्सा

काठमाडौंमा भएका लामागुरुले दुईपटक आन्तरिक छलफल गरेर तत्काल नभई दसैंपछि आउन भने। कोरोनासहित बाटो, पहिरो, भूकम्प आदिको डर भयो।

यता लाङटाङ उपत्यकातिर सम्पर्क गर्दा भने आउन मिल्छ भने। तर यता पनि भर्खरै बर्षा सकिएकाले बाटोको जटिलता कायमै रहेको खबर थियो। हामीले अभ्यासका लागि काठमाडौं उपत्यककाको चन्द्रागिरि आसपासको पदयात्रा गर्दा जुका, जंगल, पहिरो सामना गरेका थियौं।

हामी यात्रामा कोरोनाबाट बच्न र बचाउन सिफारिस गरिएका उपायसहित यात्रा गर्न तत्पर थियौं।

काठमाडौं, माछापोखरीबाट सुमो-गाडीहरू रसुवाको स्याँफ्रुबेसीसम्म जान्छन्। अरूबेला नौ जनासम्म बोक्ने गाडीमा अहिले पाँच जना मात्र बोक्ने रहेछ। हामी पाँचै जना थियौं। त्यसैले गाडी रिजर्भ गरेजस्तो भयो। गाडी चालक नुवाकोटका भाइलाई हामी घुम्न जान लागेका भनेपछि उत्साही बनाएको थियो। सायद उनलाई अब यो रुटमा धेरै यात्री भेटिन थाल्ने छन् भन्ने लाग्यो होला।

नुवाकोट बट्टारबजार पुग्नुअगावै बाटोमा एउटा रेस्टुरेन्टमा बसेर आफैंले बोकेको खाना खायौं। धेरैपछि आज मात्र खुलेको यो रेस्टुरेन्टमा चियाबाहेक अरू खानेकुरा बनाउने तयारी भइसकेको थिएन।

हामीले स्याँफ्रुबेसी (१४६० मी.) पुगेर केहीबेर चियापान र आराम गरी पदयात्रा सुरू गर्‍यौं। पुल तरेर पूर्वतर्फ लाग्दै गर्दा स्थानीयले त्यताबाट नहिँड्न सुझाए। त्यो बाटो विगत सात महिनादेखि बन्द छ। बाटोका होटल बन्द छन्।
फिन्जो र उनकी श्रीमती

तर, हाम्रा सहयात्री राजारामजीले स्थानीय सरकारका मानिसको समन्वयमा पदमार्गमा पर्ने होटलवालासँग सम्पर्क गरी आज बास बस्ने बम्बु भन्ने ठाउँमा मान्छे बोलाइसकेका रहेछन्। त्यसैले हामी फटाफट लाङटाङ नदीको दाँयातर्फ किनारैकिनार अगाडि बढ्यौं।

बाटो निकै रमणीय छ। बाटोमा जंगल, खोला, झरना, पूलहरू छन्। चराचुरुंगीको चिरबिर र नदीको सुसाहट अनवरत सुनिन्छ। केही ठाउँमा भाङको घारी भेटिन्छ। फोटो खिच्दै अलमल हुन्छ।

दोभान हुँदै पहिरो भन्ने ठाउँसम्म पुग्दै गर्दा अँध्यारो भयो। मोबाइल र टर्चको उज्यालोमा सानो जंगली ट्रेलमा करिब डेढ घण्टा एकोहोरो हिँडेर बम्बुसम्म पुग्दा पसिनाले निथ्रुक्कै भयौं। बाटोभर सिस्नुको झार पन्छाउँदै हिँड्दा हात पोलिरहेको थियो भने त्यसमाथि खुट्टातिर जताततै जुका झुण्डिरहेका थिए। रगत बगिरहेको थियो।

बम्बु (१९७० मी.) मा इटी तामाङ र उनका श्रीमान भेटिए। पहिलो काम नुन छर्केर जीउ, जुत्ता र मोजामा टाँसिएका जुका झार्‍यौं। फोनमा नेटवर्क थिएन। सोलारमा चार्ज नमिलेर बत्ती झ्यापझ्याप गरिरहेको थियो। बाहिर सफा आकाशमा चहकिलो जून लागिरहेको थियो।

आज हामी आउने भएर ठूलो स्याँफ्रुदेखि चार घण्टा हिँडेर महिनौंदेखि बन्द होटल खोल्न आएका थिए। कोठाहरूमा ढुसी गन्हाइरहेको थियो। होटलका ढोका फुटेका थिए। कोही जँड्याहाको हर्कत हुन सक्ने अनुमान गरिन्। त्यस ठाउँमा भएका अरू दुई होटलका सिसा पनि चर्केका, फुटेका थिए। भालुले पनि उपद्रो गरिरहेको छ रे।

अर्कोदिन बिहानै हिँडेर रिम्चे (२४५० मी.) हुँदै लामा होटल (२५०० मी.) भन्ने ठाउँ पुगेर खाना खायौं। बाटोमा निगालोका टूसा टिपेर लगेका थियौं। त्यो पनि मिसाएर बनाएको तरकारी स्वादिष्ट भयो।

रिम्चेदेखि बाटो सजिलो छ। शेपागाउँबाट यही बाटो हुँदै खच्चर आइरहेको भेटियो। रिम्चे पुग्ने उकालोमा भने गम्भीर पहिरो छ। पखेरोमा अड्केका ढुंगा छिसिक्क हच्के पनि झरेर सिधै खोलामा मिसिने। कोही मान्छे बिहानपख हिँडेजस्तो संकेत भेटेर त्यसलाई पछ्याउँदै पार गर्‍यो।
पोस्टका कर्मचारी

बाटोमा रिभरसाइड, उडल्यान्ड, घोडा तबेला भन्ने ठाउँ आए तर सबै लगभग बन्द थिए। सबै होटलको आँगनभरी घाँस उम्रिएको थियो।

हामी बेलैमा थांगसाप (३१२० मी.) पुग्यौं। अघि बढ्ने समय भए पनि हिजोको जस्तो राती हिँड्ने जोखिम नलिने भयौं। यतै बास बस्यौं। यहीबाट लगभग लाङटाङ उपत्यका सुरू भएको मान्न सकिन्छ।

फिन्जो र उनकी हँसिली श्रीमतीले चलाएको होटल एकदम सफा र सुन्दर छ। यहाँ मोबाइलमा थ्रिजी टिप्छ र धारामा तातोपानी व्यवस्था छ। धेरैपछि होटलमा पाहुना आउँदा उनीहरू खुसी देखिन्थे। फिन्जोसँग दिउँसो कतै बाटोमा हामीले भेटेका थियौं। बात पनि गरेका थियौं। उनी एक हुल खच्चरमा सामान लिएर आइरहेका थिए। अहिले यहाँ भेटिए।

उनी क्योन्जिन गुम्बा गाउँमा होटल बनाउँदै रहेछन्। हाम्रो गन्तव्य विन्दु पनि त्यही गाउँ हो।

हामी अर्को दिन बिहानै लाङटाङ गाउँ (३५०० मि) पुग्यौं। २०७२ को भूकम्पपछि आएको हिमपहिरोले पुरानो गाउँ सम्पूर्ण लग्यो। पहिरोले स्थानीयबासी र पर्यटक गरी १७५ भन्दा बढीको ज्यान गयो। अब यहाँ केबल पहिरोको बगर भेटिन्छ।

बाँचेकाहरूले केहीपर पूर्वतिरको चौरमा नयाँ बस्ती बसालेका छन्। अबका घर नयाँ डिजाइनका रंगीचंगी देखिन्छन्। सबै घर एकप्रकारले होटल हुन्।
वांग्दी तामाङ

स्थानीय एक युवासँग कुरा भयो। उनी पर्यटक आफ्नो गाउँ घुम्न आउने दिनको प्रतीक्षामा छन्।

गाउँको केही पूर्व निकुञ्ज सुरक्षा आर्मी पोष्ट छ। हामीलाई नाम इन्ट्री गर्न बोलाए। निकुञ्ज कर्मचारी पनि उतै रहेछन्। प्रतिव्यक्ति सय रुपैयाँ शुल्क लिएर रसिद दिए। खासमा यो काम उतै घोडा तबेलामा गर्नुपर्ने रहेछ। तर भालु लाग्ने र पर्यटक नआउने भएकाले उता कोही नबस्ने रहेछ। त्यहाँ सुनेअनुसार केही काममा आएका कर्मचारी पछि पर्यटक त हामी नै पहिलो रहेछौं।

मुन्डु र सिन्धुम गाउँ हुँदै क्यान्जिन गुम्बागाउँ पुग्ने बाटो समथर छ। फोटो खिच्दै हिँड्दा दुई घण्टा जति लाग्छ। बाटोमा हिमाल, खोला, माने, स्तुपा, घट्ट, पताका, चौंरीगोठ, याक, घोडा भेटिन्छन्।

क्यान्जिन गुम्बागाउँ उपत्यका (३८०० मि)को आसपासको दृष्यले वास्तवमै मन लोभ्याउँछ। पूर्वदेखि दक्षिणतिर हेर्दा गान्जोला हिमालको लाइन देखिन्छ। उत्तरपश्चिममा नजिकै देखिने लाङटाङ हिमाल, हिमपहिरो, हिमतालले हेरिरहुँ बनाउँछ। पारिपट्टी जंगल, त्यसको फेदमा चौंरी चरिरहेका घाँसेचौर, चौरमा ससाना पाँचवटा पोखरी, छेउमा खोला र बगरले सुन्दर दृष्य श्रृंखला तयार हुन्छ।

गाउँमा भेटिने युवा सबै हँसमुख र सहृदयी लाग्यो। लगभग सबैजसो भाग्यले बाँचेकाहरू। उनीहरूलाई यो जीवनको दोस्रो अध्याय बाँचे झैं लागिरहेको हुन्छ।
स्थानीय व्यापारी
ग्याल्बु तामाङ

चौंरीगोठमा वांग्दी तामाङ भेटिए। हामीलाई ताजा दूध तताएर खान दिए। चालीसवटा जति चौरीं पालेका उनले दैनिक बीस लिटर दूध जम्मा गर्ने रहेछन्। तर लकडाउनले गर्दा दूध चीज फ्रयाक्ट्रीले किन्न छाडेछ। उनी आफैंले घीउ, छुर्पी, दुर्खा बनाएर राख्न थालेका छन्। उनका बुबाआमा सन् ५० दशकमा तिब्बतबाट यता छिरेपछि यतै बसोबास भएको रहेछ।

जंगलबाट दाउरा ल्याउँदै गरेका दुई युवासँग भेट भयो। तीमध्ये एक जना ग्याल्बु तामाङ थिए। केहीबेर सँगसँगै हिँड्यौं। बसेर बातचित गर्‍यौं। उनको कथाले मन छोयो। उनी ट्रेकिङ गाइडको काम गर्ने रहेछन्।

२०७२ को भूकम्पमा चोट लागेर कैयौं महिनाको कोमाबाट बचेका रहेछन्। त्यसले उनको स्मृतिमा पनि केही असर गरेको रहेछ। म जुम्लाको हुँ भन्ने थाहा पाएपछि उनी आफूले गरेको डोल्पा-हुम्लाको ट्रेकबारे सुनाए।

उनले सम्झन नसकेका केही महत्वपूर्ण स्थानका नाम मैले सम्झाइदिँदा उनी खुसी हुन्थे। उनीसँगै खुम्बु क्षेत्रबाट यतै बिहाबारी गरेर बसेका शेर्पा पनि थिए। दुवै जना चाँडै ट्रेकिङ खुल्ने अभिलाषा लिएर बसेका छन्।

हामी बसेको हाइअरल्याण्ड होटलको साहुजीले चारपटक जति जुम्ला रारा, डोल्पा जुम्ला ट्रेक गरिसकेका रहेछन्। स्थानीयसँगको गफगाफले म आफू पूर्वपरिचित ठाउँमा यात्रा गरिरहेको जस्तो महसुस हुन्थ्यो।

अर्काेदिन साथीहरू सविना, पुष्पा, राजाराम र किरणलाई छोडेर म फर्किनु पर्ने भयो। उनीहरू भनेमाथि डाँडाको टुप्पोबाट री भ्याली हेर्न जाने भए।





सबैले एक्लै फर्किने भए अस्ति हिँडेको बाटो नभइ शेर्पा गाउँको बाटो जाने सल्लाह दिए। तर त्यो बाटो लामो थियो मलाई स्याँफ्रुबेसी पुग्नु छ।

म बिहानै हिमताल हेर्न गएँ। त्यहाँबाट चौंरीगोठको बाटो हुँदै तल मूलबाटोमा झरेँ र करिब साढे सात बजेतिर क्यान्जिन छाडेँ।

लाङटाङ गाउँको बगरमा ढुंगाको कापमा परेर मैले समातेको लठ्ठी भाँचियो। केहीबेर हिँडेपछि हिजो डालेचुकको सर्बत खाएको होटलको साहुजीले निगालोको मोटो बलियो अर्को लठ्ठी जोहो गरिदिए।

थांगसापमा हिजो बास बसेका होटल आइपुग्दा पाँच केटाहरू भेटिए। उनीहरू धुन्चेमा रसुवा जिल्लास्तरी फुटबलमा भाग लिन जाने लाङटाङ टिमका सदस्य रहेछन्। एकजना त हिजो म बसेको होटलको छोरा। साहुनीले तिब्बती रोटी र चना खाएर जान सुझाइन्। म त्यो टोलीसँगै हिँडे।

टिम म्यानेजर छिरिङ फिन्जो र म गफ गर्दै हिँड्यौं। उनी पनि एक ट्रेकिङ गाइड हुन्। सात महिनादेखि गाउँमै थिए। आज पहिलोचोटी झर्दैछन्। ट्रेकिङ गतिविधि नहुँदा निकै बाहिरी संसारबाटै टाढिएजस्तो अनुभूति सुनाए। एउटा खोल्सामा पानी खान बस्यौं। मेरो झोलामा अझै दुई दाना जुम्ली स्याउ बाँकी थिए। उनीहरूलाई बाँडेँ।

करिब दुई घन्टापछिको रफ्तारपूर्ण ओरालो हिँडाइले मेरो खुट्टा थाक्यो। त्यो टोली अगाडि गयो। मैले बाँकी बाटो एक्लै आफ्नै रफ्तारमा तय गरेँ।

रिम्चे पुगेपछि एकछिन कुन बाटो जाने भन्ने दुविधा भयो। तर बाटो हेर्दा अस्तिभन्दा केही चहलपहल भए झैं लाग्यो। अनि छोटो बाटो अर्थात बम्बु, पहिरो, दोभानको बाटो हिडेँ।

बाटोमा गाउँबाट फर्किँदै गरेकी इटी दिदी र अरु होटलवालाहरू भेटेँ। बाटोका धेरैजसो होटल खुल्न थालेका रहेछन्। साढेचार बजे म स्याँफ्रुबेसी पुग्दा केही स्थानीयले पत्याएनन्।

एउटा सुमो गाडीले राती अबेरसम्म काठमाडौं पुर्‍याइदिन्छु भन्यो। अनि, सोझै गाडी चढेँ।

(लेखक चौलागाईं कर्णाली प्रदेश तातोपानी गाउँपालिका जुम्लाका बासिन्दा हुन्।)


प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७, १६:०९:००
https://www.setopati.com/ghumphir/ghumphir-experience/219851