Wednesday, November 25, 2020

कुडा सुन्नु बूढाका !

कर्णाली क्षेत्र विशिष्ट इतिहास, संस्कृति, मौलिक परम्परा भएको ठाउँ हो। केही दशक अघिसम्म यहाँका अधिकांश बस्ती मूलतः कृषि र पशुपालनमा निर्भर थिए। त्यसैले यहाँको स्थानीय परिपाटी र रितिथिति कृषि र पशुपालन चक्रसँग जोडिएका पाइन्छन्।

प्रायः एकै वंशपरम्पराका थरी र जातिको बाहुल्य भएको बस्तीमा पुरानो पुस्ताका सदस्यहरू मार्फत दैनिक कामकै सिलसिलामा नयाँ पुस्ताले जानकारी बटुलिरहेको हुन्छन्।

यहाँ एककोश हिँड्दा भाषिका र चारकोश हिँड्दा फरक रितिरिवाज भेटिन्छ भन्ने मान्यता छ। यसको मतलब यहाँका हरेक गाउँ आफैमा विशिष्टिकृत बस्ती हुन्। भौगोलिक, सामाजिक र राजनीतिक रुपमा सदियौंसम्म आइसोलेसनमा परेकाले हुन सक्छ, यहाँका हरेक दरा र खोलाका बस्तीमा सामान्य जीवनयापनका निम्ति आवश्यक मौलिक विधि र प्रकृयाहरू विकसित भएको पाइन्छ। यहाँको आध्यात्मिक तथा धार्मिक आस्थाको परिपाटी पनि देशको अन्य स्थानभन्दा भिन्न छ।

श्रुतिपरम्परामा आधारित यहाँको ज्ञान हस्तान्तरण गर्ने परिपाटीमा नयाँ जमानको विकासक्रम सँगै क्षयीकरण भइरहेको छ। केहीदशक यता परम्परागत बस्तीमा बहुल संस्कृतिको घुलमिल सुरू भएको छ भने एकल परिवारको चलन बढ्दो छ। सामूहिक प्रचलन हराउँदै छन्।

ज्ञानको पुस्तान्तरण सही ढंगले नहुँदा मौलिकता हराउने, बिर्सिइने वा बिग्रिने सम्भावना हुन्छ। आफ्नो इतिहासमा गर्व गर्न नसक्ने समाजको पहिचान संकटमा पर्छ। त्यसैले सकारात्मक सन्दर्भ र विषयको चर्चा र बहस मार्फत यस्ता विशेषताको उजागर गर्न सकिन्छ।

हाम्रो अनुभव साट्ने आधिकारिक परिपाटी निर्माण छैन। तर अहिलेको जमानामा पुरानो र नयाँ पुस्ता बीचको छलफल तथा बहसलाई आधुनिक प्रविधि र पद्धति मार्फत अभिलेखीकरण गर्न सकिन्छ। बाहिरबाट गएर गाउँको अध्ययन गरी गाउँका पुराना कुरा उजागर गर्ने केही प्रयास गरिए पनि ती कहिल्यै पर्याप्त हुँदैनन्। त्यसैलै यस्ता पहल स्थानीय तवरबाटै गर्नु अझ प्रभावकारी हुन्छ।

यस्तै प्रयास कर्णाली प्रदेश जुम्ला जिल्लाको लाम्रागाउँमा २०७७, कात्तिक २८, २९ र ३० गते हुँदैछ।

'लाम्रा संवादः गाउँका कुडा २०७७' नामले तीन दिनसम्म चल्ने यो कार्यक्रमले गाउँको समग्र परिवेश र विशेषता भएका १२ वटा सत्र मार्फत स्थानीय बयोवृद्ध, योगदानकर्ता र जानकारका कुडा समेट्ने छ। अर्थात, गाउँलेहरूले आ-आफ्ना ज्ञान र अनुभव साट्ने छन्।

यस्ता कार्यक्रममा गाउँकै बुढापाकाहरू वक्ताको रुपमा प्रस्तुत हुने, गाउँकै मनिसले उनीहरूलाई प्रश्न सोध्ने र अरु गाउँले उनीहरूलाई सुन्ने र मनमा लागेका कुरा सोध्न वा भन्न पाउने हुँदा सबैको चासो र रूचि बढ्छ।

सबै छलफल सत्रहरूको भिडि‌ओ रेकर्डिङ गरी आवश्यक सम्पादन ‘गरेर विभिन्न समाजिक सञ्जाल र युट्युबमा प्रसारण गरी गाउँबाहिर बस्नेहरू तथा विषयमा रूचि राख्नेहरूसम्म सजिव ढंगले पुग्न सकिन्छ।

हरेक दिनका सेसनहरू हेर्दा यसले स्वाबलम्बी ग्रामीण जीवनका बहु-आयाम प्रतिनिधित्व गरेको पाइन्छ। जस्तै पहिलो दिन कात्तिक २८ गते शुक्रबारः 'कुडा सुन्नु बूढाका' शीर्षक अन्तर्गत चारवटा सेसन सुन्न सकिन्छ।

यसमा गाउँका जानकार बुढापाकाहरूले गाउँको इतिहासको कुरा गर्छन्। गाउँमा को, कताबाट, कहिले, कसरी आयौं र कहाँ कहाँसम्म फैलियौं? नाउँ कसरी रह्यो? बस्ती कसरी बस्यो? विशेषता के छ? भन्ने जस्ता प्रश्नमा चर्चा गर्छन्। बिम्वात्मकरुपमा यसलाई 'गाउँको जडो' सत्र नामाकरण गरिएको छ।

जुम्लामा मोटर बाटो पुगेको दुई दशक पनि भएको छैन। पहिलेका मानिसहरू हिँडेरै भोट मधेस गर्थे। ठूला समूहमा महिनौंको यात्रामा कति मानिस बिरामी परेर मर्थे। बाँचेकाहरू कहानी बोकेर फर्किन्थे।

'तीर्थ र हाटयात्राका कुडा' सुनाउने बुढापाकाले उनीहरू तीर्थ तथा हाट यात्रामा जाँदाको अनुभव सुनाउँछन्। यात्रा परम्परा, तयारी, समूह निर्माण, जटिलता, जोखिम र रोचकता आदिको यात्रा कहानी सुन्न रोमान्चक हुनेछ।

लाम्रागाउँ सहित हाँकु, नुवाघर, बयालकाटिंया र श्रीदुस्काका पाँच गाउँको मार्सिधान फल्ने जिउलामा सिँचाइ गर्न गरी बनेको उठिल्यादेखि अ‍ैरेनीसम्म ५ किलोमिटर लामो सिँचाइ कुलो यहाँका बस्तीहरूको जीवनरेखा हो।

यस निर्माणसँग जोडिएको आफ्नै इतिहास छ भने मर्मत गर्ने आफ्नै नै परम्परा पनि छ। कुलो निर्माणमा परेको विवाद सुल्झाउन यहाँका मानिसहरू बि.सं. १९५४ अघि पटकपटक डोटीदेखि सल्यानसम्मका अड्डा अदालत धाएको इतिहास छ। यसलाई 'कुलोको सबाई (कथा)' सत्रमा समेटिनेछ।

आधुनिक उपचार पद्धतिको उपलब्धता हुनुअघि यहाँका मानिसहरू कुनै पनि उपचारको निम्ति पूर्णतः घरायसी औषधी वा धामीझाँक्रीमा निर्भर हुन्थे। अहिले पनि परम्परागन पद्धतिमा उत्तिकै विश्वास गर्छन्। गाउँलेहरूले अपनाउने उपचार शैली र विश्वासको सकारात्मकता र जोखिमको चर्चा गरिन सान्दर्भिक हुन्छ।

गाउँमा जडिबुटीको उपलब्धता, तिनको नाउँ, पाइने, प्रयोगशैली, धामी परम्परा, विशेषता, विकल्प आदिको जानकारी हस्तान्तरण हुनसके नयाँ पुस्ता लाभान्वित हुनसक्त। 'ओक्तो र देउता' सत्रले सो चासो केही हदसम्म सम्बोधन गर्न सक्छ।

गाउँमा पुराना पुस्ताको कुरा गर्दा हामी प्रायः पुरुषहरूका कुरामा ध्यान दिन्छौं। तर गाउँका बयोबृद्ध महिलाहरू अर्थात हजुरआमासँग उनीहरूको बाल्यकाल र युवावस्थाका कथा सुन्ने तथा उनीहरू यस गाउँमा आएपछि हालसम्म देखिएका परिवर्तनका बारेमा जन्नुले अहम् दृष्टिकोण दिन्छ। त्यसले यसमा राखिएको 'बज्यूका कुडा' सत्र निकै नै महत्वपूण हुने विश्वास गर्न सकिन्छ।

जुम्लातिर वर्षभर मनाइने चाडवाड अन्यत्रको भन्दा मौलिक र पृथक पनि छन्। कतिपय चाडपर्व मनाउने तरिका पनि भिन्न पाइन्छन्। त्यस्तै गाउँका सार्की, दमाई र बाहुन जातिमा जन्मदेखि मृत्युसम्म गरिने संस्कारमा पनि विविधता पाइन्छ। यस्ता कुराको चर्चा 'संस्कृति र संस्कार' मा समेट्न सकिन्छ।

पुरानो बस्तीहरूमा स्वावलम्बनको विकास भएको पाइन्छ। त्यस्ता बस्तीमा विभिन्न सीप र कला भएका मानिसहरू जस्तै चाँद बुन्ने, सिलाउने, बनाउने, छिप्ने, कात्ने, कुँद्ने, पेल्ने, पकाउने आदि सीप भएका मानिसहरू हुन्छन्। यस्ता मानिसका कुरा जन्न बुझ्न 'श्रम र सीप' सत्र लाभदायक होला।

गाउँमा इतिहासदेखि वर्तमानसम्मका विविध प्रकारका सर्जकहरूको जन्म भएको हुन्छ। उनीहरूको यथेष्ट चिनारीको अभावमा उनीहरूको चर्चा हराएको पाइन्छ। उनीहरूका कृति र सृजन चर्चा गरेर जिवन्त बनाउन सकिन्छ। 'सर्जक र सृजना' सत्रमार्फत यस्ता कुराहरू उजागर गर्न सकिन्छ।

परम्परादेखि खेतिकिसानीमा आश्रित गाउँमा बन्दव्यापारको महत्व उति रहन्न। व्यापारको जोखिम लिन नसक्ने समुदायमा उद्यम फस्टाउन सक्दैन। उद्यमीका कुराले अरूलाई प्रेरणा र सजगता प्रदान गर्छ। त्यसैले गाउँमा बन्द-व्यापारको सुरूवात, विगत र वर्तमान अवस्था, सफल व्यवसायी र उद्यमीका प्रेरणाका कथा, व्यवसायिक चुनौती र युवाको निम्ति अवसरको खोजी बारे 'उद्यम र उत्पादन' सत्रले सम्बोधन गर्छ।

राजनीति कुनै पनि समाज र गाउँको अभिन्न पाटो हो। दलीय राजनीतिको सुरूवात हुनुअघि गाउँमा ठेकथितिको आफ्नै परम्परा थियो। इतिहासदेखि वर्तमानसम्मको राजनीतिक व्यवस्था, गाउँको राजनीतिक सहभागिता, राजनीतिक व्यक्त्तित्व र उनीहरूका योगदान, वर्तमान राजनीतिक परिवेश र युवा सहभागिताको सम्भावनाबारे विमर्श गनु लाभदायक हुन्छ। यसलाई 'ठेकथिति र राजनीति' सत्रले चर्चा गर्छ।

वर्तमान शासन प्रणालीमा चुनावमार्फत चुनिएर आएको स्थानीय सरकार गाउँको विकास र सुशासनका लागि मुख्य जिम्मेवार हो। सरकारले गाउँको सामाजिक आर्थिक विकासका लागि गरेका प्रतिबद्धता, नीति, हालसम्मका प्रगतिबारे स्थानीयको चासोबारे गाउँलेहरू माझ चर्चा गरिन पर्छ।

त्यस्तै गाउँको सुरक्षा र सुशासनको अवस्था अनि पूर्वतयारीबारे समेत सुसूचित बनाउन 'विकास र सुशासन' सत्रले बहस गराउन सक्छ।

जुम्लातिर जाडो बढ्दै गर्दा घाम ताप्दै गफिने यहाँको परम्परा नै हो। यसपालि चाडपर्व पछाडि धकेलिएकाले तिहारसम्म गाउँलेहरू प्रायः फुर्सदिला भइसकेका छन्। यही गफ गर्ने परिपाटीलाई केही व्यवस्थित बनाएर 'लाम्रा संवादः गाउँका कुडा २०७७' गरिनु एउटा नवीन र रोचक प्रयास हुन गएको छ।

यसबाट गाउँलेकै प्रयासमा गाउँको ज्ञान, भावना, सीप, विचार, आकांक्षाहरूको संरक्षण गर्ने तथा यसका विशेषतालाई उजागर गरी तीव परिवर्तन भइरहेको समाजमा सहिष्णु भावनालाई कायम राख्न योगदान गर्ने छ। वर्तमान कोरोना अवस्थाले यस्ता कार्यक्रम आयोजना गर्न केही चूनौतीपूर्ण भए पनि गाउँमा मात्र सीमित गरिने र खुला ठाउँमा भौतिक दुरी तथा सुरक्षाका अन्य मापदण्ड अपनाएर सञ्चालन गरिँदा यसले अपेक्षित सफलता प्राप्त गर्न सक्छ।
https://www.setopati.com/opinion/221400

Tuesday, August 18, 2020

बा! तुम्मा दिन क्या हार मान्यौ त ?

बा ! 

तुम्मा पालादै त आईले यता केई अलक्कै भयाको छ ।  

ठौर उईथै भया पनि ठेकथिति अक्कै आयाको छ ।।

नौला माण्ठ, नौला कुडा, नौलै चलन ल्यायाका छन्,

पड्न्या, गुन्या, जान्या, बुझ्न्या सप्पै निक्कै भयाको छ ।।

 

नौलो रैबार छ – नदेखिन्या दुस्मनले सातो सलक्कै हरायाको छ ।

कैथोकैथो बिराम जागेर हाम्मो जुग खलक्कै डरायाको छ ।।

ओडा ओडै छुँ, पुडा पुडै छुँ, लकडाउनमा थुनिएका छौं,  

ओक्तोमुन्तर केई छुँनैन जात्तिबित्ति हुरुक्कै गराएको छ ।

 

उईले तुमिले भोग्या म्हामारी कहरी पार पायौ त ? 

क्वारेन्टिन, आइसोलेशन, आईसीयु, भेन्टिलेटर थिएन

छैन गाउँमा अस्पताल, पिसीआर भनि हार खायौ त ? 

अड्कोपड्को स्याहारसुसार गाउँमै सुझबुझ चल्यो होला,

माण्ठकन डिंगाबाछा हुल्या जो बाटै बार लायौ त ? 

 

साँच्चै तुम्मा जुगमै बा! 

न देउताले सुम्ज्यो न राजाले सक्यो भनिकन हार मान्यौ त ? 

फान्चौरी। २०७७ भाद्र ३ गते बुधबार, कुशेऔशी 

Saturday, April 11, 2020

सेलेब्रेटी देउडा गायकलाई सुन्न रातभर जाग्राम


विगत केही दशकदेखि देउडा हराएझैं भएको थियो। रेडियोबाट नयाँ शैलीका नेपाली र हिन्दी गीत सुन्ने चलन बढेपछि युवापुस्ताले देउडा गाउन छाडेका थिए। जनयुद्धकालमा गाउँघरतिर देउडा खेल्ने अवसर झनै संकुचित भयो।

मृतप्रायः देउडा गाउने र खेल्ने चलन कर्णालीका गाउँतिर अचेल फर्किएको छ। चाडपर्व र पूजाआजामा देउडासँगै रमाइलो गर्नेहरूमा महिला-पुरुष दुवैको सहभागिता र सक्रियता उत्तिकै देखिन्छ। बिहे, ब्रतवन्ध, पैठ, जात्रा, छैटीजस्ता विशेष उत्सवहरूमा त झन् रातभर देउडा दोहोरी चल्छ।

यो चलन यहाँको परम्परागत मौलिक संस्कृति हो।

देउडा कुनै बाजा बिनै गाउन र खेल्न मिल्ने गीत हो। दुई पंक्तिका देउडा गीतमा अघिल्लोले कलापक्ष समेटेको हुन्छ भने पछिल्लोले भावपक्ष समेट्छ।

यही दसैंका बेला मेरो गाउँ जुम्लामा रुद्री, ब्रतवन्ध र अन्नपास्नीको साइत परेको थियो। त्यो अवसरमा रातभर देउडा चल्यो। नजिकका छिमेकी गाउँहरूबाट समेत भेला भएका खेलाडीले अविराम रातभर देउडा खेले।

उनीहरूको देउडा दोहोरीमा मन्त्रमुग्ध दर्शकले काम्लो च्यापेर, कम्बल ओढेर आगो ताप्दै रातभर साथ दिए। राती खाना खाइवरी आँगनकै बारीमा भेला भएका देउड्याहरूले बिहानको सूर्योदयसम्मै अनवरत पाइलामा पाइला र भाकामा भाका मिलाइरहे।

यो प्रसंग त्यसैको वर्णन हो।




देउडा समूहमा खेलिन्छ। यसमा दुई पक्ष हुन्छन्। दुवै पक्षका नाइकेबीच सवाल जवाफ चल्छ। नाइकेले उठाएको भाका र लय टिप्दै समूहका सबै खेलाडी पाइला मिलाउँदै गोलाकार घुम्छन्।

रातभर लगातार पाइला चाल्दै, घुम्दै गाउने क्षमता चानचुने कुरा हैन। रहर भएर मात्र हुन्न। यसका लागि देउडाका विभिन्न भाका जान्नुपर्छ। समसामयिक विषयको ज्ञान राख्नुपर्छ। विशेष शब्द र प्रसंग बुझ्न सक्नुपर्छ।

आफूलाई खेलको लाइनमा उभ्याउन नचाहनेहरू दर्शक बनेर देउडाको आनन्द लिन्छन्। दर्शकमा भने गीतका प्रसंग बुझ्ने क्षमता अवश्य हुन्छ। उनीहरू दत्तचित्त भै हरेक सवाल जवाफलाई ध्यानपूर्वक सुन्छन्।

खस जुम्ली भाषिकाका शब्द, उखान, टुक्का र सन्दर्भको धेरै प्रयोग हुने देउडा मिलाएर गाउन सक्नु विशेष कला हो। झन् देउडामा दोहोरी खेल्नु त निकै चुनौतीपूर्ण। सामान्य देउडा गायकले आँट्न र टिक्न गाह्रो हुन्छ।

विशेष क्षमता हुने गायकहरू वर्षौंको अभ्यासपछि यो चुनौतीको मैदानमा उत्रन सक्छन्। त्यसैले यस्ता सीप भएका देउडा खेलाडीको गाउँभर नाम चलेको हुन्छ। यिनीहरू स्थानीय देउडा सेलेब्रेटी हुन्, जसलाई सुन्न दर्शक रातभर जाग्राम बस्न तयार हुन्छन्। चर्चित देउडा गायकहरूलाई महोत्सव, जात्रा, पैठहरूमा पैसा तिरेर निम्त्याउने चलन बढेको छ। महिला देउडा गायकको उपस्थिति पनि बढ्दो छ।

स्थानीयको अनुरोधमा मेरा भाइहरूले देउडा खेल्न कालिकोटको रास्कोटबाट एकजना गायिका ल्याउने तयारीमा थिए। गाउँतिर यसबारे चर्चा चलेको थियो। हरिगोपाल कालिकोटको जितेगडा पुगेर ती गायिकालाई लिन जाँदा उनी बाजुरा पुगेकी रैछिन्।

उनी नआए पनि यता हाम्रै गाउँपालिकाका चर्चित स्थानीय देउडा गायक तथा खेलाडीहरू आए। त्यो झन् रोमाञ्चक देउडा दोहोरी बन्यो।



केही युवायुवतीले आँगनमा मुढा बालेर देउडा अभ्यास गरिरहेका थिए। घरको काम सकेर रातको खाना खाइवरि गाउँले जम्मा हुन थाले। गाउँघरमा नाउँ चलेका, आफ्नो मिल्दो समूह हुने अनि सुहाउँदो प्रतिद्वन्द्वी बन्न सक्ने सिपालु खेलाडी निम्त्याइए। वरपरका गाउँबाट पनि स्थानीय आउने क्रम बढ्यो।

आँगनबारीमा मुढा जोतेर बालेको आगो दन्किन लाग्यो। दर्शक बनेका बुढाबुढी, महिला, पुरुष र बालबालिका आगो ताप्दै वरिपरि बस्न थाले। कति महिला ससाना केटाकेटीलाई न्यानो काम्लोमा बेरेर आँगनको डिलबाट बारीको दृश्य हेर्न बसे।

राति नौ बजेतिर सबैले प्रतीक्षा गरेको मुख्य खेल सुरू भयो। प्रचलन र अनुशासन कायम राख्दै खेलाडीले केही चरण गाएर सुरूआत गरिन्छ। अवसर अनुसारको चरण गाइन्छ। जस्तैः

काँचोफल रुखैमा रहला, पाको फल झडला ।
राम आयो सीतालाई लिन, खेल्नै त पडला ।।
राम गया सीतालाई ल्याया, खेल्नै त पडला ।।

जुम्ला ठूला चन्दभैरम् कालिकोटका पुग।
रामसीताको बिहा भयो, बाँच्या जुग जुग।।

दुवैतिरको समूहमा नेतृत्व गर्ने गायकले चरण उठाउँछन्। अरुले साथ दिन्छन्। अर्को पक्षले दोहोर्याउँछन्। भाका मिलाएर हरेक गीतका दुई अन्तरा गएपछि अर्को पक्षको उठाउने पालो आउँछ। सुरूआती चरणका यी गीतले ‘वार्मअप’ गराउँछन्। बिस्तारै खेलाडीको सवाल जवाफतिर खेल अघि बढ्छ र अझ रोचक बन्न थाल्छ।



आजको खेलमा पनि अब प्रश्न उत्तर, प्रश्न प्रतिप्रश्न सुरू भयो।

एकातिरको नाइके गिडिखोलाका धनकृष्ण पाण्डे र अर्कोतिर लिताकोटका मणिकृष्ण उपाध्याय। दुवै नाम चलेका हाजिरजवाफ खेलाडी। कसको देउडा राम्रो होला भनेर उत्सुक स्रोता ध्यान दिएर सुन्न थाले।

गीत सुन्दा आउने एकोहोरोपन हटाउन खेलाडीले बीचबीचमा गीतको भाका र शैली परिवर्तन गर्दै गाए। रात ढल्दै गर्दा केहीबेर नगरगाउँका रामबहादुर डाँगीले गीत उठाए। धनकृष्णको पक्षमा रहेका अर्का चर्चित युवा खेलाडी धीर जैशी अघि सरेपछि उनी र मणिकृष्ण बीचको घमासान दोहोरीमा बाँकी रात छर्लंग बित्यो।

देउडामा विपक्षी खेलाडीसँग सम्बन्धित असंगति र कमजोरीमाथि प्रहार गरिन्छ। खेलाडीले आफ्ना प्रतिद्वन्द्वीको व्यक्तिगत, पारिवारिक, सामाजिक हैसियत, राजनीतिक झुकाव आदिबारे यथेष्ठ जानकारी बटुलेका हुन्छन्। खेलाडीबीच जति मार्मिक र कडा सवाल जवाफ चल्यो, दर्शक त्यति रमाइलो मान्छन्।

देशको समसामयिक राजनीतिले सुदूरको गाउँलाई पनि छोड्दैन। आजको खेलमा खेलाडीको राजनीतिक झुकाव सतहमा आयो। निकैबेर कम्युनिस्ट र कांग्रेस पक्षधर जस्तो भई सवालजवाफ चल्यो। त्यसमा पनि महरा-रोशनी काण्डले खुब चर्चा पायो। हामीले आदर्श मान्ने गरेका नेताका द्वैध चरित्रबारे गायकले देउडा गाएरै टिप्पणी गरे।

करिब मध्यराततिर छेउको अर्को बारीमा गाउँका महिलाको देउडा सुरू भयो। उनीहरूले पनि उज्यालो हुन्जेल खेलिरहे। महिलाको देउडा भाका केही फरक हुन्छन्। तिनमा प्रायः अवसरको वर्णन, देवीदेवताको आह्वान र आरधाना, आशिष र स्नेह-प्रधान हुन्छन्।

कतिपय दर्शक आफूलाई मनपरेको समूहको देउडा लाइनमा मिसिन्थे र केहीबेर खेलेर फेरि आफ्नै ठाउँमा आएर बस्थे। निकै रहर बोकेर देउडा हेर्न आएका केही दर्शक निद्रा खप्न नसकेर घुर्दै, ब्युझँदै गरिरहेका देखिन्थे। कोही त सुत्न घरै फर्किए। अनि, कोहीकोही केहीबेर सुतेर बिहानीपख फेरि आएर रमाइरहेका देखिन्थे।

बिहानीपख चिसो बढ्यो। मुढा थपेर आगो दन्काउन थालियो। देउडामा सवालजवाफ गर्ने नाइके खेलाडीले यसबीच आफ्नै समूहमा दुईपटक पालो दिए। धेरे आकांक्षीले पाइला मिलाउन साथ त दिए तर आफैं गीत उठाउने पालै पाएनन्।

उज्यालो भयो। माथि भूरिचुला मालिका डाँडोमा घाम ओर्लियो। यता चम्किएको देउडालाई खेलाडीले बिस्तारै बिट मार्नतिर लागे। आक्रामक सवालजवाफमा भिडिरहेका खेलाडी पुनः खेलको प्रचलन र अनुशासन कायम राख्दै समापनका चरण गाउन थाले। जस्तैः

जावी बुन्याँ मैले जाबी, पिमौ जाबी जन्जाल
सब्का मान्यागुन्या भया, घुम्या सबै संसार ।।
जावी बुन्याँ मैलै जाबी, जबैलाका मेश
पढ्या लेख्या ठुलै भया, घुम्या सबै देश ।।



यसरी खेल चलिरहेको थलोमा खसी काटेर सम्मान दिइन्छ। सबै खेलाडी र दर्शकलाई टीका लगाई सगुन बाँडेर धन्यवाद दिँदै रातभर चलेको देउडा समापन गरिन्छ। यसपछि गाउँले मिलेर भोजभतेरको तयारी गर्छन्।

उहिले-उहिले देउडा गीत क्यासेटमा खुबै सुनिन्थे। पहिलोपल्ट जुम्लाका गायकले रेडियोमा गीत रेकर्ड गराउने रेकर्ड राखेका भए पनि देउडालाई जनमानसमा क्यासेट मार्फत पुगेर चर्चित पार्ने काम भने सुदूरपश्चिमका गायक-गायिकाले गरे।

परदेशी फर्किँदा उसको झोलामा प्लेयर हुन्थ्यो र देउडाका क्यासेट हुन्थे। देउडा गाउँगाउँमा घन्किन्थ्यो। तिनै लय टिपेर विभिन्न अवसरमा देउडा खेलिन्थ्यो। मध्य तथा सुदूरपश्चिमका स-साना सहरोन्मुख ठाउँमा महोत्सव हुँदा देउडा गायकले स्थान पाउँथे।

विशेषगरी जनयुद्धकालमा ती गतिविधि सुस्ताए र हराए। चर्चित गायक पनि गायकीबाट जीविका नचल्ने ठानी अर्कै व्यवसायतिर मोडिए। नयाँ लोकप्रिय गीत आउन सकेनन्।

यही अवधिमा क्यासेटको जुग हराएर भिसिडी हुँदै डिभिडी आएर पनि हराइसक्यो। एफएमले भने आफ्नो निश्चित प्रभाव क्षेत्रभित्र गीत सुनाइरहे। तर नयाँ गीतका सिर्जना बढ्न सकेन। अब युट्युबको जमाना छ। अचेल त सुन्ने गीत मात्र नभै हेर्ने गीतको चलन छ। नयाँ पुस्ताका केही गायक गायिका देखापरे पनि सहरतिर गायकीमा जम्ने कलाकारको संख्या धेरै छैन।

अचेल देउडा संस्कृतिको प्रभाव भएको क्षेत्रमा हुने महोत्सव, कर्णाली, भेरी, सेती क्षेत्रका परदेशी भेटिने विदेशका केही कार्यक्रममा देउडा गायक बोलाइए पनि पर्याप्त समय दिन्नन्। युवामाझ यसमा रूचि बढाउन केही प्रयोग भइरहेका छन्। भाषा, लवज, शैली र भाकाको विविधता खोज्दै कतिपयले देउडाको फ्यूजन पनि बजारमा ल्याएका छन्। नेपाली फिल्ममा पनि देउडा आगमन भएको छ।

सामाजिक सचेतनाका लागि जनचेतनामूलक कार्यक्रममा देउडा गाइन्छ। महिला दिवस र तीजमा अनिवार्यझैं चल्न थालेको छ। स्थानीय सरकारहरूले देउडा संस्कृति जगेर्नाका लागि पहल थालेको पाइन्छ।

गैरसरकारी तवरमा पनि केही संगठित प्रयास सुरू भएका छन्। यस्तै प्रयासबाट जुम्लामा महिनाको पहिलो दिन र सुर्खेतको घन्टाघर अघिल्तिर चौरमा हरेक महिना १ गते र १५ गते देउडा खेल चल्छ। स्थानीय बुढाबुढी, देउडाप्रेमी महिला र पुरुषका लागि यस्ता कार्यक्रम मनोरञ्जन लिने, फुर्सदको सदुपयोग र भेटघाट हुने ठाउँ बनेका छन्।

पश्चिम नेपालको देउडा संस्कृति आफ्नो मौलिकपन बोकेर चलेकै छ। तर यसलाई संरक्षण, सम्वर्द्धन र प्रचार गर्ने ठोस कदम सरकारी प्रयासबाट नै हुनुपर्छ।

published in Setopati https://www.setopati.com/opinion/192478

Tuesday, November 5, 2019

जन्मदिन कि परी, जन्मदिन कि प्यारी

आज बिहानै
निलाे आकाशमा लालिमा छायाे
डाँडाकाँडा रंगिए सुर्याेदय संगै
न्यानाे फैलियाे माया र स्नेहकाे,
हृदयमा राखेर तिमीलाई
सम्झिएँ, आज तिम्राे जन्मदिन !

आज बिहानै
आकाशमा रंगीन चराहरु उडे
बस्तिबस्ति चहारे चिर्बिरचिर्बिर संगै
उत्साह फैलियाे हर्ष र उमंगकाे
हात समाएर तिमीलाई
सम्झिएँ, आज तिम्राे जन्मदिन !

आज बिहानै
धर्तिभरी फूलहरु फुले
कान्लाकान्ला ढाकेर ढकमक हुँदै
सुवस फैलियाे सुगन्ध र आकर्षणकाे
मुस्कानले चुमेर तिमीलाई
सम्झिएँ, आज तिम्राे जन्मदिन ।

आज बिहानै
उही प्रकृती झन् मनमाेहक दखियाे
उही घाम झन् न्यानाे बनि उदायाे
उस्तै चराहरु झन् संगीतमय सुनिए
उस्तै फूल झन् रंगीन देखिए
सम्झिएँ, आज तिम्राे जन्मदिन !

आज बिहानैदेखि
मन भित्रका चाहनाहरु जागे
जीउभरी तरंगीत हुँदै नशा झैं
ढुकढुकि झैँ धड्कदै तिमीलाई
जीवनकाे प्रत्येक पल पलमा
असीम माया गर्छुँ आकाश झैं
चुम्छुँ म छ तिम्राे सर्वाँग धर्ती झैं

शुभकामना छ,
जन्मदिन कि परीलाई !
जन्मदिन कि प्यारीलाई !!


१८ कार्तिक २०७६ ।

पूरा गर्न सकिन्छ साइकल सहर बन्ने सपना (भिडिओसहित)



अचेल विश्वभर गाउँहरू घट्दैछन्। तीव्र सहरीकरण भइरहेको छ। तर अव्यवस्थित ढंगले बनेका सहरमा अनेक प्रतिकूलताहरू थपिइरहेका छन्।

अनियन्त्रित फैलिएका सहरीबस्तीका बासिन्दा अपुग संरचना, बढ्दो ट्राफिक चाप र घट्दो खुलास्थलको संक्रमणले आक्रान्त छन्। जनताको दैनिकी आवागमन र स्वास्थ्य प्रभावित छ। यसको प्रत्यक्ष सम्बन्ध वातावरण, जनस्वास्थ्य र अर्थतन्त्रसँग छ।

विकसित देशका सहरहरू दशकौंदेखि भइरहेका गलत अभ्यासबाट आफूलाई सुधार गर्दैछन्। ती सहरहरू बाटोघाटो बनाउँदा गाडीबाहेक अन्य माध्यमबाट आवागमन गर्नेहरूको अस्तित्वको ख्यालै नगरी बनेका संरचना फेरबदल गरी मानवमैत्री बनाउँदैछन्। यसबाट विकासोन्मुख देशका सहरले पाठ सिक्न जरुरी छ।

अनियन्त्रित विकासको परिणाम- हाम्रो देशका धेरैजसो पुराना सहरहरू अहिले नै साँघुरा र अव्यवस्थित भइसके। स्वास्थ्यका दृष्टिकोणले कतिपय सहरका बासिन्दाको जीवनस्तर अहिले नै औसतभन्दा निकै तल छ।

यहीमा गतिमा गाडी थपिँदै जाने, संरचना बढ्दै जाने, खुलाठाउँ खुम्चिँदै जाने र मानिसको सक्रिय जीवनशैलीमा कमी हुँदै जाने हो भने भविष्य कस्तो होला?

यही अवस्थामा हरित वा स्मार्ट सहर बन्ने सपना साकार हुँदैन। त्यसैलै सहरोन्मुख नगरले बेलैमा आफ्नो सहरी विकासको आकांक्षा र अवधारणामा मानव केन्द्रित र दीर्घकालीन दृष्टिकोण ल्याउनु आवश्यक छ।

भौगोलिक तथा वातावरणीय रुपमा उपयुक्त हुने स्थानमा आधुनिक सहरका लागि साइकल प्रवर्द्धन एउटा शसक्त विकल्प र माध्यम बनेको छ। युरोप, अमेरिका, ल्याटिन अमेरिका, चीनका केही सहरमा साइकलको विकल्प बढाएर गाडीको अनावश्यक प्रयोग घटाउने, ट्राफिक नियन्त्रण गर्ने, वातवरण प्रदूषण कम गर्ने तथा स्वस्थकर जीवनशैलीका उपाय अपनाउने अभियानमा लागेका छन्।

यसका लागि सहरमा कारमुक्त फ्री गल्ली बनाउने, साइकल लेन र पार्किङ थप्ने, खुल्ला ठाउँ विस्तार गर्ने तथा हरियाली फैलाउने क्रम बढिरहेको छ। आजभोलि काठमाडौंमा पनि खुलास्थल जोगाउन र बढाउन आवाज बुलन्द हुँदेछ। न्यूरोड गाडी निषेध क्षेत्र, 'अकुपाई टुँडिखेल'का समाचार आइरहेका छन्।

सुर्खेत उपत्यकाको वीरेन्द्रनगर तीव्र सहरीकरण भइरहेको नगर हो। बि.सं. २०२९ सालमै योजनाबद्ध पूर्वाधारसहितको नगर विकास गुरुयोजना बनेको नगरपालिका २०४६ सालको व्यवस्था परिवर्तन पछि सुस्ताएर गयो।

पछिल्लो समय २०६२-६३ को परिवर्तन यता र अझ कर्णाली राजमार्ग खुलेपछि यहाँको सामाजिक तथा आर्थिक गतिविधि चलमलाउन थालेको छ। हाल कर्णाली प्रदेशकै प्रशासनिक केन्द्र बनेपछि यहाँ जनसंख्या, बस्ती तथा सवारीको चाप तीव्र बढिरहेको छ। फलस्वरुप प्रदूषण दिनानुदिन बढ्दो छ।

गत साता मात्रै यहाँको वायुको गुणस्तर सूचक औसत १५० थियो जुन विश्व स्वास्थ्य संगठनको मानक ५० भन्दा तीन गुणा बढी हो। पिएम २.५को मात्रा ६० माइक्रोग्राम प्रतिघनमिटर थियो। यो पनि विश्व स्वास्थ्य संगठनले भनेको २५ भन्दा निकै बढी हो।

सहर व्यवस्थित बनाएर यस्ता समस्या सुधार्ने प्रयास अहिलेबाटै सुरू हुनुपर्छ। सुर्खेत उपत्यकाको क्षेत्रफल, यसको भूबनोट र यहाँको हावापानी हिँडडुल गर्न र साइकल चलाउन अति उपयुक्त छ। त्यसैले वीरेन्द्रनगरलाई 'साइकलमैत्री' सहरका रूपमा विकास गरेर यसमार्फत सहरको पहिचान बढाउने प्रयास सुरू पनि भएको छ।

भूमध्य रेखाबाट २८.६ डिग्री उत्तरमा रहेको यो उपत्यकाका बस्तीहरू समुद्र सतहभन्दा औसतमा ६५० देखि ७५० बीचको सरल उचाइमा छन्। हावापानीका दृष्टिकोणले यहाँको बार्षिक औसत तापक्रम २२ डिग्री आसपास हुन्छ। गर्मीका केही महिनामा भने अधिकतम तापक्रम ३३ डिग्रीसम्म पुग्छ। पर्याप्त रुखविरुवा भएको अवस्थामा यो वातावरण साइकल चलाउन उपयुक्त हो।

क्षेत्रफलको आधारमा यो उपत्यकाको लामो दुरी नै रत्न राजमार्गले काटेर गएको भाग हो जुन १० किलोमिटर छ। उपत्यकाको कुनै पनि कुनाबाट सहरको केन्द्र औसत ५ किमी मात्र छ। सबभन्दा टाढा सानो सुर्खेत जोड्ने पास ७.५ किमी छ। दुरीको आधारमा साइकल प्रयोग गरी दैनिक आवागमन गर्न निकै सहज र सामान्य हो।

नगरपालिकाले गत वर्ष गरेको सर्भेक्षणअनुसार उपत्यका भित्रमात्र करिब २६ हजार पाँच सय घरधुरी छन्। विगत सात वर्षमा करिब १२ प्रतिशतले बढेका घरहरू अब तीव्र गतिमा बढिरहेको देखिन्छ। यसै अवधिमा मोटरसाइकल र गाडीको स्वामित्व भएका घरधुरी २०६८ सालभन्दा १४३ प्रतिशतले बढेको छ। कुनै पनि सवारी नहुने घरधुरी संख्या पनि १३ प्रतिशत बढेको छ। यस अवधिमा नबढेको अर्थात् घटेको साधन साइकल मात्र हो जुन ६० प्रतिशतले घट्यो।


समग्र घरधुरीमा हेर्दा झण्डै दुईतिहाईसँग कुनै पनि सवारी उपलब्ध छैन। दुई प्रतिशत जतिसँग आफ्नै गाडी छ। बाँकी नौ प्रतिशतसँग साइकल छ भने २६ प्रतिशतसँग मोटरसाइकल छ। यहाँ विचारणीय के छ भने, सात वर्षअघि १३ प्रतिशत घरधुरीसँग मोटरसाइकल हुँदा २५ प्रतिशतसँग साइकल थियो।

ठूलो संख्यामा साइकल प्रयोगकर्ताहरू स्कुल र कलेजका विद्यार्थी हुन्थे। अचेल ४ हजार ५ सय हाराहारी विद्यार्थी भएको मध्यपश्चिम विश्वविद्यालयको प्रांगणमा ४५ वटा साइकल पनि देखिँदैन।

यसबाट के देखिन्छ भने आर्थिक गतिविधिमा आएको परिवर्तनसँगै साइकल चढ्नेहरू अब मोटरसाइकल चढ्न थाले। साइकलप्रतिको आमधारणा सकारात्मक नहुँदा नयाँ मानिसहरू त्यसप्रति आकर्षित हुन छाडे र साइकलको प्रयोग घट्यो।

स्थानीयसँग कुरागर्दा सबैले साइकलसँग जोडिएका आफ्ना रमाइला अनुभव सुनाउँछन्। आफ्नो ठाउँमा साइकल चढ्दा हुने सहज, स्वास्थ्यलाभ र आर्थिक बचतबारे जानकार छन्। तर पूर्वाधार र नियमन अभावमा असुरक्षित महशुस हुने तथा आमधारणाले नियमित चलाउन संकोच लाग्ने गरेको बताउँछन्।

साइकलबारेका चर्चाहरूमा सबै उमेरका महिला र पुरुष उत्तिकै उत्साहित भएर भाग लिइरहेका पाइन्छ। सबैलाई साइकल लिएर बाहिर निस्किने रहर पलाएको छ तर सबैलाई लाग्छ- यहाँ सुरक्षित वातावरण छैन।

यी तथ्यले संकेत गर्छ, सुर्खेतमा साइकलका पूर्वाधार बने, यसप्रति सकारात्मक सोच जगाउने गतिविधि चले, प्रभावकारी नियमनका काम गरेर प्रवर्द्धन गर्न सके स्थानीयहरू पुनः साइकलतिर फर्किने छन्।

यसका लागि केही महिनायता प्रयासहरू सुरू भएका छन्। यही वर्ष जुन ३ मा सुर्खेतमै पहिलोपल्ट दोस्रो विश्व साइकल दिवस मनाएर साइकलमैत्री सहर बनाउने अभियान सुरू भयो। यही क्रममा जुटेका साइकल प्रेमीहरू संगठित भएर कर्णाली राइडर्स क्लबको अवधारणामा अघि बढेको छ।

यही प्रयासलाई निरन्तरता दिँदै यसै वर्ष जुलाई २० मा पहिलो पल्ट 'काँक्रेबिहार कोरा साइक्लिङ च्यालेन्ज' गरी सहभागिता जनाउने प्रयास गरियो। समूहमार्फत छलफल, अन्तरक्रिया र राइड गरेर जनमानस र नीतिनिर्माताहरूमा साइकलप्रति जनचासो बढाउने प्रयास भइरहेको छ। कर्णाली प्रदेशका प्रमुख सचिव, सरकारी कर्मचारी, गैरसरकारी संस्थामा काम गर्नेहरू, सुर्खेतमा रहेका नेपाली सेनाका प्रमुख अधिकृतहरू, स्थानीय युवा, समाजसेवी, उद्योगी व्यवसायी र पत्रकार मिलेर साप्ताहिक साइकल राइड गर्ने चलन सुरू भएको छ।

कर्णाली प्रदेश सरकारले यसलाई निकै सकारात्मक ढंगले अघि बढाएको छ। प्रदेश सरकारका प्रमुख सचिव केवल भण्डारी साइकल प्रयोग तथा वातावरणमैत्री व्यवहारका निम्ति सक्रिय छन्। मन्त्रिपरिषदका कर्मचारीमा पनि साइकलप्रति रूचि बढ्दै छ।


यसै वर्ष आफ्नो नीति तथा कार्यक्रममा प्रदेश सरकारले राजधानीलाई धुवाँधूलोमुक्त सहर बनाउन पहल गर्ने उल्लेख गर्यो। त्यसको प्रयास स्वरुप सुब्बाकुनादेखि बांगेसिमलसम्मको राजमार्ग खण्डमा साइकल र पैदलयात्रीका निम्ति लेन बनाउन दुई करोड बजेट व्यवस्था छ। कार्यक्रम लागू गर्न भौतिक योजना मन्त्रालयलाई भनिएको छ। 'स्टोरी साइकल'मार्फत प्रारम्भिक अध्ययन पनि सम्पन्न भइसकेको छ।

अब विस्तृत परियोजना प्रतिवेदन बनाएर काम अघि बढाउन मन्त्रालय तथा निर्देशनालयमा कार्यरत जिम्मेवार कर्मचारीको इमान्दार सक्रियता आवश्यक छ। नभए, यो बजेट वर्षको अन्ततिर रकमान्तर गरी अन्यत्रै दुरुपयोग हुनसक्ने सम्भावना छ। यसका लागि निरन्तर 'फलोअप' चाहिने भएको छ।

त्यसैगरी वीरेन्द्रनगर नगरपालिकाले पनि प्रदेश सरकारसँग सहकार्य गरी साइकलमैत्री सहर बनाउने नीति बनाएको छ। मेयर देवकुमार सुवेदी आफैं साइकलमा विद्यार्थी जीवनकाल बिताएका स्थानीय प्रतिनिधि हुन्। सुर्खेतलाई साइकल सहर बनाउँदा हुने वातावरणीय, आर्थिक, सामाजिक र राजनीतिक लाभका बारेमा उनी सचेत छन्।

अब देशकै पहिलो वातावरणमैत्री सपनाको सहर बन्नसक्ने प्रशस्त सम्भावना भएको वीरेन्द्रनगरलाई नगरपालिकाका नीतिनिर्माता र निर्णयकर्ताले सक्रियता लिएर स्थानीय जनता र संगठन परिचालन गरी अभियानका रुपमा अघि बढाउन आवश्यक छ।

नगरपालिकाले प्रदेश सरकारबाट सम्भाव्यता अध्ययन प्रतिवेदन लिएर त्यसमा उल्लेखित खाका बमोजिम पहिचान गरिएका राजमार्ग बाहिरका नगरपालिकाले गर्नसक्ने पूर्वाधार निर्माण तथा प्रवर्द्धन कार्यक्रमहरू गर्ने ठोस पहल गर्न जरुरी छ। सही र संगठित पहल भए यहाँ छोटो समयमै साइकल पुनर्जागरण हुन सम्भव छ। र, निकट भविष्यमा नमूना 'साइकल सहर' बन्न सक्छ।

यसै सन्दर्भमा सुर्खेत उपत्यकामा साइकलको वर्तमान अवस्था र सम्भावना समेटेर 'स्टोरी साइकल'ले तयार पारेको भिडिओ हेर्नुहोस्ः


सेतोपाटीमा प्रकाशित मिति: सोमबार, कात्तिक १८, २०७६, १३:०७:००

Saturday, November 2, 2019

त्यो एक मौकाको प्रतीक्षामा कर्णाली


देशको समृद्धिको सपना साकार पार्न कर्णाली विकास अपरिहार्य छ। कर्णालीमा गरिने लगानीले समग्र देशको अर्थतन्त्रलाई बल दिन्छ र राष्ट्र्यिता मजबुत पार्छ। कर्णाली आफूलाई प्रमाणित गर्नसक्ने 'त्यो एक मौका' कुरेर बसेको छ।

दशकौंको प्रयासपछि भर्खर कालिकोट, जुम्ला र मुगु जिल्लाका केही भागमात्र बाटोसँग जोडिँदा पनि ती ठाउँको आर्थिक गतिविधिले राष्ट्रिय अर्थतन्त्रमा ल्याएको तरंग एउटा बलियो उदाहरण हो।

कर्णाली प्रदेशका स्थानीय उत्पादनले छोटो समयमै देशभरका बजारमा आक्रामक उपस्थिति देखाएका छन्। जुम्लामा उत्पादित स्याउले भर्खरै भारतीय आयातलाई विस्थापित गरेको छ। यो क्रम अब हरेक वर्षको सिजनमा झन् बढ्ने निश्चित छ।

मार्सी चामल तथा सिमीजस्ता रैथाने अन्न र दालको माग बर्सेनि बढिरहेको छ। त्यस्तै बहुगुणी जडिबुटी र अन्य असंख्य बनस्पतिको बजार र ज्ञान विस्तार हुँदैछ। पर्यटकीय आकर्षण दिनानुदिन बढ्दै छ।

तर सम्पदा, भाषा, भेषभुषा र संस्कृतिको विशाल पाटोको यथेष्ट उजागर हुनै बाँकी छ। यसको लागि राष्ट्रको लगानी आवश्यक छ।

विकसित कर्णालीको सपना भनेको बलियो देशको सपना हो। विकासका सपना साकार पार्न 'कनेक्टिभिटी' आवश्यक छ। अर्थात् बाटो, बत्ती र सञ्चार। प्रदेशको आर्थिक, भौतिक र सामाजिक सूचक सुधार्न 'सडक' पहिलो आवश्यकता हो।

प्रदेश सरकार बनेपछि गत वर्ष उसले अनेकौं नाराले भरिएको महत्वाकांक्षी घोषणाहरू गरेको थियो। समग्रमा वर्तमान प्राकृतिक स्रोतसाधन, जनशक्ति र इच्छाशक्तिलाई एकीकृत गरी दस वर्षभित्र देशकै समृद्ध प्रदेश बनाउने लक्ष्यका साथ आम कर्णालीबासीका माझ साझा संकल्पका साथ अगाडि बढाइने उल्लेख गरिएको छ।

हरेक कार्यक्रमलाई एउटा नारा दिएको सरकारको नीति तथा कार्यक्रममा 'सडक पूर्वाधारबिना विकासको ढोका खुल्दैन' भन्ने तत्वबोध पनि थियो। तर कानुन, स्रोतसाधन र व्यवहारिक अड्चन देखाउँदै सो वर्ष उल्लेखनीय केही काम भएन।

सरकारले यो वर्ष अधिकार सम्पन्न संरचना निर्माण गर्ने, पूर्वाधार विकास बैंक बनाउने, परियोजना बैंक तयार पार्ने, आफ्नै इन्जिनियरिङ कम्पनी बनाउने जस्ता योजना ल्याएको छ। गत वर्ष सरकारको बजेट सञ्चालन र पूँजीगत खर्चको अनुभव र क्षमता हेर्दा यो वर्ष उसले आँटेका यी प्रयासले पनि आकार लिनसक्ने विश्वासयोग्य वातावरण छैन।

तथापी, प्रदेश सरकारकै पहलमा सुर्खेत हिल्सा जोड्ने द्रुतमार्गको प्रारम्भिक अध्ययन सकिएको छ। मूलतः हाल कायम कर्णाली राजमार्गको स्तरोन्नति र विद्यमान ट्रयाक यथावत राख्दै निर्माण गर्ने प्रस्ताव गरिएको यो द्रुतमार्ग ४०३ किमीको प्रस्ताव गरिएको छ। जम्मा लागत ६४.३ अर्ब रूपैयाँ छ भने निर्माण अवधि ६ वर्ष अनुमान गरिएको छ। यसको वास्तविक निर्माण लागत ५३.३१ अर्ब हो, बाँकी मुआब्जा लगायतका खर्च अनुमान हो।

सरकारतर्फको काम र 'साइट'को तयारी छोडेर डिपीआर गर्न चार महिना र काम सकेर हस्तान्तरण गर्न साढे चार वर्ष समयसीमा राखिएको छ। यो हिसाबले सन् २०२५ भित्रै कर्णालीले द्रुतमार्ग पाउन सक्छ।

सोच्नुस् त, अन्तर्राष्ट्रिय मापदण्डको दुई लेन सडकले कर्णालीलाई हिल्सा गाँउनजिक तिब्बतको पुलांग नाका जोड्न सके?

कर्णालीको कायाकल्प हुनेमा दुई मत छैन। २० किलोमिटर प्रतिघण्टाको गतिमा मात्र कार दौडिए पनि एकै दिनमा सहजै उत्तरी नाका पुग्न सक्छौं।

कर्णालीजस्तो भूबनोटमा द्रुतमार्ग सहज कल्पना त अवश्य हैन। ४०३ किलोमिटर सोचेभन्दा पक्कै लामो पनि हो। कतिपयले घुम्तीहरू घटाउन लामा तथा अग्ला पुल र डाँडा छोट्याउन लामा सुरूङको सम्भावना पनि खोजिरहेका छन्।

तर यस्तै भूबनोटको जटिलता, भूकम्पीय जोखिम र विद्युत पूर्वाधार अभावमा लामा सुरूङ र अग्ला पुल हाम्रा अहिलेका सम्भावनाभन्दा परका आवश्यकता हुन्। यिनीहरूले सामान्य बाटो निर्माणको लागत बीसौं गुणा बढाइदिन्छन्। यति हुँदाहुँदै पनि यो द्रुतमार्गमा करिब ९० वटा नभइ नहुने स-साना पुल र एउटा सुरूङ हुनेछ। यसले हुम्लामा ४५०० मिटर अग्लो नारा भञ्ज्याङलाई ४००० मिटर जतिमा झारेर छिचोल्न मद्दत गर्नेछ।

चार खण्डमा विभाजित यो मार्गमा सुर्खेतदेखि मान्मासम्मको खण्ड हाल चालु भइरहेका कर्णाली राजमार्ग हो। मान्मनजिक जितेगडादेखि भिईंसम्मको अर्को खण्ड हाल 'ड्रेनेज' बिनाको ट्रयाक खुलेको खण्ड छ। भिईंदेखि सिमीकोटसम्मको खण्डमा हाल ट्रयाक खोल्ने काम चलिरहेको छ।

सिमीकोटदेखि हिल्सासम्मको खण्ड ट्रयाक भए पनि निकै कमसल छ। द्रुतमार्ग बनाउँदा यो एक लेन सडक बढाएर दुई लेन बनाइने छ। यसरी हेर्दा २८२.३७ किमी भइरहेको ट्रयाक विस्तार गनुपर्ने छ भने १२१ किमी नयाँ बाटो काट्नुपर्ने हुन्छ।

अहिलेको सम्भाव्यता अध्ययनमा केही सुधार गर्नुपर्ने पनि देखिन्छ। जस्तो, आसपासको भिरालो पहाड काटेर बन्ने बाटोलाई हिउँद र बर्षामा टिकाई राख्न 'ड्रेनेज'को भरपर्दो व्यवस्था तथा 'रिटेन्सन' पर्खाललाई बायोइन्जिनियरिङ प्रयोग गरी मजबुत पार्ने काम सँगसँगै गर्न आवश्यक छ।

बाटोमा पर्ने प्रस्तावित केही ठूला जलविद्युत आयोजना- दैलेखको अपर कर्णाली, कालिकोटको फुकोट कर्णाली र कोल्टीनजिक बन्ने भनिएको जलविद्युत आयोजनाका क्षेत्रलाई असर नपर्ने गरी सहकार्यमा बनाउनु पर्छ। यसले लागत केही बढे पनि भविष्यमा पर्ने अप्ठ्यारा पक्कै टर्नेछन्।

कर्णालीको दीर्घकालीन विकासको सम्भावना बोकेको परियोजनाको लागतमा यदि कुनै अदृष्य खर्च वा स्वार्थ लुकेको छैन भने, यो विल्कुल मितव्ययी लागत हो। जुनसुकै प्रक्रिया अपनाएर पनि रकम व्यवस्था गरी योजना अघि बढाउन प्रयास गर्नुपर्छ। एउटा सिंगो प्रदेशका निम्ति आगामी ५ वर्षमा त्यति रकम जोहो खासै गाह्रो काम होइन। तर त्यसका लागि प्रदेशको समग्र हित मध्यनजर गर्दै सम्भव बनाउने अभिभारा कर्णालीका सबै नेतृत्व लिनेहरूको काँधमा छ।

कुनै भरपर्दो स्रोत, विश्वासिलो आधार र प्रादेशिक पद्धतिको पहिचान बिनै पनि कर्णाली सरकारले 'चाइना रेलवे इर्वान इन्जिनियरिङ ग्रुप कम्पनी (सिआरइइसी)'मार्फत् द्रुतमार्गको सम्भाव्यता अध्ययन निःशुल्क गराएको हो। यसका लागि प्रदेश सरकारको आग्रहमा प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष आफ्नो चीन भ्रमणमा सहयोग मागेका थिए।

२०१८ जुन २१ मा जारी द्वीपक्षीय सहमतिमा कर्णाली आर्थिक करिडोर विकासमा सम्भाव्य सहयोग गर्न चीन सहमत भएको थियो। त्यसपछि असोजमा कर्णाली प्रदेश मुख्यमन्त्रीले चीन भ्रमण गरी त्यहाँको सरकारी टोलीसँग द्रुतमार्ग निर्माणको प्रारम्भिक सम्झौता गरेका थिए। लगत्तै दश महिना लगाएर अध्ययन सम्पन्न भएको हो भने विस्तृत अध्ययन डिपीआर पनि यसै कम्पनीले निःशुल्क नै गर्ने भनिएको छ।

चिनियाँ राष्ट्रपति सी जिन पिङको आसन्न नेपाल भ्रमणमा यो विषयले स्थान पाउने छ भन्ने आशा गर्न सकिन्छ। प्रधानमन्त्री ओलीले पनि आफ्नो भ्रमणमा गरेका सहयोगका समझदारीहरूमा सक्रियतापूर्वक परिणाममूखी ढंगले अघि बढिरहेको कर्णाली करिडोरको यो द्रुतमार्गलाई प्राथमिकता दिनुहुनेछ।

कर्णालीका नेताहरूले पनि आ-आफ्नो दल र तप्काका प्रमुख नेता, केन्द्रीय मन्त्री, राष्ट्रपति लगायत भ्रमण तयारीकर्ता, द्वीपक्षीय वार्ताकारहरूको ध्यानाकर्षण गर्ने तथा सदनमा समेत यो विषय उठान गर्नु समसामयिक र हितकार कदम हुनेछ।

द्रुतमार्गको यो परियोजनाको सम्भाव्यता र डिपीआर मात्र नभई समग्र योजना नै चीनले बनाउने गरी आह्वान गर्न सकिन्छ। कर्णाली प्रदेशले तदारुकता र आवश्यक तयारी देखाएर यो परियोजनालाई चीनको बिआरआईमा जोड्न प्रयास थाल्नुपर्छ।

कर्णालीका दल र नेताहरू कुनै साझा मुद्दामा एकस्वर भएको गतिलो उदाहरण छैन। प्रायः नेता, प्रतिनिधि र कार्यकतामा ससाना उपलब्धीहरूमा जस लिने होडबाजी चिया पसलदेखि सामाजिक सञ्जालसम्म छ्यापछ्याप्ती देखिन्छ। कर्णाली जीवनका कुनै अहम मुद्दामा घनिभूत छलफल चलाउने, जनता सूचित गर्ने, जनधारणा बनाउन र जनबल तयार पार्ने चलन बनेको छैन।

सायद यो कर्णाली द्रुतमार्ग एउटा सार्वजनिक महत्वको विषय हुनसक्छ जसमा सबै दल, सबै तह र तप्काका कर्णालीबासीले हातेमालो गर्न सक्छन्। सरकार र राजनीतिकर्मीले आह्वान गरे जनस्तरबाट आवश्यक सबै सहयोग र हौसला आउनसक्छ।

आयोजना सफल पार्न सके यसले अन्य विशाल सम्भावना उजागर गर्नेछ। कर्णाली एउटा भरपर्दो 'कनेक्टिभिटी'सँग जोडिने छ। यसले कर्णालीले आकांक्षा गरेका विशाल जलश्रोतका संरचना र विकासमा सहजता ल्याउने छ। जुम्ला हुँदै मुगुको नाक्चेलाग्नाबाट जोडिने नाका, भेरी करिडोर हुँदै डोल्पाको मोरिम्ला लाग्नाबाट जोडिने नाका लगायत अन्य विशाल संरचना बन्न सहज हुनेछ। कर्णालीलाई आत्मनिर्भरताको बाटोमा लिन यो 'गेम चेन्जर' चाल हुनेछ।

शताब्दियौंदेखि देशको पक्षपाती शासन पद्धति, विषम भूबनोट र त्यसले सिर्जना गरेको अवसरको अभाव तथा गरिबीको कारण पछाडि परेका समग्र कर्णाली प्रदेशवासीहरू शासन व्यवस्थाको परिवर्तनसँगै द्रुततर विकासको तीव्र आकांक्षा पालेर बसेका छन्। कर्णालीका नागरिकलाई नयाँ संविधानले प्रत्याभूत गरेका समस्त अधिकारहरूको उपभोग गर्न सक्षम तुल्याउने दायित्व वर्तमान शासनसत्ताको हो।

यसनिम्ति भनेर बनाइएको संघीय संरचनाले कर्णाली प्रदेशलाई एकातर्फ आफ्नो भविष्य आफैं कोर्न मिल्ने स्वतन्त्रता दिएको छ भने अर्कोतर्फ कर्णालीका बासिन्दाले सदियौंदेखि प्रचलनमा ल्याइरहेका विशाल भारतीय अर्थतन्त्रसँग जोड्ने सबै सानाठूला नाकाहरूसँग विच्छेद गरेर भूपरिवेष्ठित भित्र पनि भूपरिवेष्ठितको अवस्थामा पुर्‍याएको छ।

अब प्रदेशसँग आफ्नै अन्तराष्ट्रिय सम्पर्क जोड्न उत्तरतर्फका हिमाल र अभेद्य तिब्बति पठार छिचोलेर जानुपर्ने हुन्छ। यो केही जटिल त छ तर असम्भव भने हैन। किनकी, इतिहासकालीन खस र जुम्ला राज्यले कर्णाली र तिब्बत जोड्न हुम्ला, मुगु र डोल्पाका विभिन्न नाका प्रयोग गर्थे। प्राचीनकालमा यही कर्णालीको भूभाग पनि चर्चित ‘सिल्करोड’ को अंश थियो।

मध्य तथा आधुनिककालमा देशभित्र र बाहिर विशेषगरी तिब्बत र चीनमा भएको भूराजनितिक परिवर्तनको कारण यी नाका हुँदै चल्ने बाटोहरू क्रमशः हराए। सोह्रौं शताब्दीयता भएको केही ठूला भौगर्भिक घटनाहरु जस्तै १५६२ सालको ८.५ रेक्टर स्केल बराबरको भूकम्प र त्यसयताका अरू पाँचवटा जति ६ रेक्टरभन्दा माथिका भूकम्पले सबै अर्थसामाजिक संरचना थिलथिलो बन्यो।

सत्रौं र अठारौं शताब्दीका बाइसे राज्यकालीन समयमा प्राचीन संरचना, सम्पर्क र सम्बन्धहरू थलापरे भने उन्नाइसौं र बीसौं शताब्दीको शाहकाल, राणाकाल र त्यसपछिको राज्यकालको उपेक्षमा परेर सबै अवयवहरू झन् सुस्ताए र अस्ताए। अर्थात् कर्णाली क्रमशः तत्कालीन राजकीय परिवर्तन, परिवेश र खराब परिपाटीको चक्रव्यूहमा फस्दै गयो।

पछिल्लो राज्यसत्ताको परिवर्तनपछि कर्णाली फेरि एउटा दोसाँधमा छ। आन्तरिक तथा बाह्य परिवेशलाई मूल्यांकन गर्दै र ऐतिहासिक परिवर्तनले ल्याएको अवसरको सदुपयोग गर्न विशिष्ट राजनीति तथा कुटनीतिक समझ र चातुर्यको अपरिहार्यता छ। अहिले यसको मुहार फेर्न सकिएन भने सायद कहिल्यै यस्तो अवसर फर्केर आउला नआउला। अहिले कर्णाली 'त्यो एक मौका' को व्यग्र प्रतिक्षामा छ।

सेतोपाटीमा प्रकाशित मिति: बिहिबार, असोज २, २०७६, १६:४७:००

हजार वर्ष खडी, हजार वर्ष पडी, हजार वर्ष सडी


गत साता तिलानदी बढेर जुम्लाको लाम्रा र हाँकु जोड्ने काठेसाँघु भत्कियो। तीन दशक पहिले पुनर्निर्माण गरिएको यो साँघु जीर्ण थिएन। सामान्य मर्मत नहुँदा र थोरै होशियारी नअपनाएका कारण भत्कियो।

नदीमा उर्लेको भेलले निरन्तर दबाव दिँदा एकापट्टिको पर्खाल भत्कियो र साँघु अड्याइरहेका बलिया खम्बा लडेर बगे। नदीको दक्षिणतिरका गाउँसँग आउजाउ एकाएक टुट्यो। अनि बल्ल थाहा भयो, स्थानीय समुदाय र सरकारसँग पुलको विकल्पमा कुनै तयारी रहेनछ।

यही तिलानदीको जुम्लाखण्डमा पूर्व चौधबीसदेखि पश्चिम रारालिहीसम्म करिब एक दर्जन साँघु झोलुंगे वा अरू कंक्रिटका पुलले विस्थापित भइसके। वा, हुने तरखरमा छन्। तर यो हाँकुसाँघु सबभन्दा ठूलो, दुई खण्ड जोडिएको निकै बलियो पुल थियो। परापूर्वदेखि अनवरत चलिरहेको र कहिल्यै यसरी सम्पर्क विच्छेद अनुभव नभएर होला कसैले यसको विकल्प सोचेनन्। यस्तै विपद नभोगेका र नदेखेका पुस्तामा पूर्वतयारी सोच कमजोर हुन्छ सायद।

केही दिन अवरुद्ध भए पनि स्थानीयले साँघु सामान्य मर्मत गरेर काम चलाएका छन्। विकल्प उपलब्ध नहुन्जेल आवश्यक मर्मत गरी भरपर्दो अवस्थामा पुर्याउन लागि परेका छन्। पुल उपभोग गर्ने आसपास सबै गाउँका मिलेर काम गरिरहेका छन्। जंगलबाट भीमकाय रुख ढालेर, खुर्केर, ताछेर बनाएका बडेमानका काठ (स्थानीय भाषामा 'मैदान') तान्दै ल्याउने र बनाउने प्रक्रिया ज्यादै संवेदनशील, जटिल र केही जोखिमपूर्ण हुन्छ।

बाह्रै मास व्यस्त हुने स्थायी संरचना भएकाले निकै सुझबुझले काम गरिन्छ। अहिले नदी बढेको छ, असोज नभई पानी घट्दैन। त्यसैले नदीमा बलिया खम्बा गाड्न सकिन्न। जेनतेन 'मैदान' जोडेर मान्छे र जनावर आउजाउ गर्न मिल्ने कामचलाउ साँघु बन्नेछ।

पक्कीपुल आवश्यक भएकाले सरकारी योजनाको खोजीमा विभिन्न निकाय धाउने क्रम पनि सुरू भएको छ। अब गाडी चल्नसक्ने पुल चाहिएको छ। ढिलोचाँडो कुनै योजना आउने छ। कंक्रिट, फलाम र सिमेन्टको पुल पुरानो शैलीमा बन्ने छैन। काठेपुलप्रति मान्छेको चासो घट्नेछ। अनि, कर्णालीमा सामुदायिक सहकार्यमा बन्ने मौलिक शैलीको एउटा विशिष्ट नमूनाको अवसान हुनेछ।

कुनै विशेष यान्त्रिक वा आधुनिक पद्धति नअपनाई सम्पूर्णतः स्थानीय समुदायको श्रमदान र रैथाने सीप प्रयोग गरी बनाइने यस्ता साँघुको ऐतिहासिक, साँस्कृतिक र पर्यटकीय महत्व छ। यसबारे चर्चा र संरक्षण गरिनु आवश्यक छ।

कर्णालीका नदीहरूमा परापूर्वकालदेखि नै स्थानीय ज्ञान, प्रविधि र सीपबाट बन्ने काठेपुल मौलिक र विशिष्ट हुन्छन्। यस क्षेत्रमा बाह्रैमास बग्ने साना तथा मझौला नदी तर्न काठबाट बनेका साँघु बनाइएका हुन्थे। धेरै गाउँबस्ती जोड्ने स्थानमा विशेष खाले बलियो, टिकाउ र स्थायी प्रकृतिका साँघु पाइन्छन्। साँघु बनाउन सामान्यतया नदीले कटान गर्न नसक्ने, नदी साँघुरिएको स्थान छानिन्छ।

अन्त भन्दा जुम्लाका साँघु विशिष्ट र बलिया हुनुको कारण निर्माणमा प्रयोग गरिने देवदारको काठ हो। जुम्लाका जंगल र बस्तीमा देवदार पाइन्छ। तराई-पहाडमा वरपीपलको चौतारी भएझैं जुम्लामा देवदारमुनि चौतारो हुन्छ। देवदारलाई स्थानीय भाषामा 'द्यार' भनिन्छ। यसको काठ एकदमै बलियो, पानीले नकुहिने र कीरा नलाग्ने हुन्छ। देवदार अग्लो र लामो आयुको हुन्छ।

त्यसैले द्यारकाबारे स्थानीय भनाइ प्रचलित छ, 'हजार वर्ष खडी, हजार वर्ष पडी, हजार वर्ष सडी'। अर्थात् देवदार दीर्घजिवी हुन्छ।

देवदारको जंगल मासिएको छ। नयाँ रोपिएको छैन, भएकाको संरक्षण छैन। जुम्लाका दक्षिणी मोहोडा परेका डाँडा सुख्खा-नांगा देखिन्छन्। ती ठाउँमा पहिले देवदार र सल्लाको जंगल हुन्थ्यो। रुख काटिए, नयाँ रोपिएन। खुल्ला जमिनको चिस्यान सकियो, भूक्षय भयो, उर्वरता सकियो।


वन विनासको यो क्रम करिब सय वर्षअघिबाट सुरू भयो।

सन् १९३० दशकमा जुम्लाबाट देवदार काठको व्यापक चोरीपैठारी गरी भारत पुर्याइन्थ्यो। ब्रिटिस इष्टइन्डिया कम्पनीले उत्तर भारततिर रेल्वेसेवा विस्तार गर्दा बलियो काठ चाहियो। त्यसका लागि उच्च पहाडी क्षेत्रबाट समेत काठ आपूर्ति गरियो। त्यति बेला जुम्लाबाट देवदार काठ तिलानदीमा बगाएर कर्णाली हुँदै राजापुरको बाटो भारत पुग्थ्यो भनेर सन् १९६७ तिर जुम्लामा पन्ध्र महिना बसेर अध्ययन गरेका बेरी सी बिशपले आफ्नो किताबमा उल्लेख गरेका छन्।

नेपालमा देवदार कति छ, कहाँ-कहाँ र कुन प्रजाति पाइन्छ, यकिन छैन।

यसका प्रजातिमध्ये 'सेड्रस डियोडारा' अर्थात हिमालयन देवदार विशेषगरी अफगानिस्तान, पाकिस्तान, भारतको कश्मिर, हिमाञ्चल प्रदेश र पश्चिम नेपालको कर्णाली क्षेत्रमा पाइन्छ। पाकिस्तानले त देवदारलाई राष्ट्रिय रुखको दर्जा दिएको छ। यो समुद्र सतहको १५०० मिटरदेखि ३००० मिटरसम्म उचाइमा हुन्छ।

तर भारतको दार्जिलिङ, सिक्किम, अरुणाञ्चल र भुटानमा पनि यो प्रजातिको देवदार पाइन्छ। यसबाट नेपालकै पनि अन्य भागमा पाइने सम्भावना छ। तर सूचना पाइएको छैन। पश्चिम नेपालका उच्चपहाडी भेगमा देवदार जंगल छन्। संरक्षण र सम्वर्द्धन छैन। प्राकृतिकरूपमा बनिरहेका जंगल मानव गतिविधिका कारण नासिँदै छन्।

देवदार संकटमा छ। 'आइयुसिएन'ले यसलाई 'रेड लिस्ट'मा राखेको छ। यसबारे यथेष्ट अध्ययन-अनुसन्धान र अभिलेखको अभाव छ। अब स्थानीय सरकारको यसप्रति चासो बढाउन पर्छ।

देवदार बहुगुणी रुख हो। यसको काठबाट मूल्यवान सामग्री र फर्निचर बन्छन् भने प्रशोधन गरेर खोटो र तेलबाट पर्फ्यूम, स्प्रे, साबुन, औषधि बनाइन्छ। बोक्रा, पात, र फूलमा 'एन्टिफंगल' तत्व हुन्छ। यसको गन्ध स्थानीयहरूले कीरा, मुसा, सर्प भगाउन प्रयोग गर्छन्। यसको झोल पशुवस्तुको गोडामा घसेर कीरा भगाउने औषधिका रूपमा पनि प्रयोग हुन्छ।

देवदारसँग जोडिएका धार्मिक र आध्यात्मिक प्रसंग उत्तिकै रोचक छन्।

हिन्दुशास्त्रमा देवदारलाई पवित्र रुख वा काठ मानिन्छ। देवदार महादेवको प्रिय थियो। कामदेवले ध्यानभंग गर्दा महादेव देवदारकै रुखमुनि ध्यानमग्न थिए भन्ने विश्वास छ। ऋषिमुनिहरूले पनि महादेव उपासना गर्दा देवदारमुनि तपष्या गर्थे भनिन्छ।

मन्दिर छेउको देवदार पवित्र मानिन्छ। कर्णालीतिर प्रसिद्ध मष्टोको थान नजिक प्रायः देवदार भेटिन्छ। मष्टोलाई शिवको अंग मानिन्छ। थानमा सबभन्दा अग्लो रुख काटेर लिंगो ठड्याइन्छ। त्यो लिंगो सकेसम्म देवदारकै हुन्छ। देवदार नभेटिँदा झुलो वा सल्ला हालिन्छ।

देवदार संस्कृत 'देवदारू' बाट आएको नाम हो। 'देव' ‍भनेको देवता र 'दारू' भनेको काठ।

रावणले सीता हरण गरेर राखेको बाटिकामा होस् या पाण्डवहरूले विचरण गरेको जंगलमा, देवदारको चर्चा पाइन्छ।

बाल्मिकी रामायणको किस्किन्धाकाण्डको श्लोकमा सीता (वैदेही)लाई खोज्न जाने सेनालाई अर्ति दिँदै सुग्रीव भन्छन्ः

लोध्रा पद्मका खण्डेसु देवदारु बनेसुच।

रावाणय सह वैदेह्या मार्गितबव्या ततः ततः।

अर्थ- लोधरा र पद्मका रुख भएको र देवदारुको वन भएको ठाउँमा, रावणलाई सीता हित खोजिनु पर्छ।

पश्चिमतिर पनि यसलाई 'रुखहरूको राजा' भनिन्थ्यो। बाइबलमा ७७ चोटि लेबनानका देवदारबारे चर्चा छ। लेबनानको देवदार 'ईश्वर स्वयंले रोप्नुभएको' विश्वास गरिन्छ। देवदार पवित्रता, अनन्तता र शान्तिको प्रतीक मानिन्छ। लेबनानको राष्ट्रिय झण्डामै हरियो देवदार रूखको चिह्न छ। देवदार बचाउन लेबनानमा विशेष अभियान नै चलेको छ। 'क्रिसमस ट्री' पनि देवदारकै प्रजाति हो।

अब काठेपुल कै चर्चातिर फर्कौं।

पुल बनाउने विविध शैलीका आधारमा वर्गीकरण गर्दा काठेसाँघुलाई 'उडन कान्टिलिभर ब्रिज' अन्तर्गत राख्न सकिन्छ। यसप्रकारको पुलमा दाँयाबायाँका दुवै भुजामा बलिया खम्बामा भार बहन गर्ने बिम तेर्सो पारेर एकमाथि अर्काे पत्र राख्दै बीच वा केन्द्रतर्फ बढ्नेगरी मिलाएर राखिन्छ।

ती बिमले 'कान्टिलिभर' अर्थात् 'ब्राकेट' बिमको काम गर्छन्। त्यसमाथि हिँड्न मिल्नेगरी लामा-लामा मैदान मिलाएर राखिन्छ। छेउछेउमा उस्तै आकारका अरू मैदान जोडेर 'साइडबार' बनाइन्छ। त्यो सबै भार ती दुवै भुजामा राखिएका बिम र खम्बाले सन्तुलन गर्छन्।

काठेसाँघु संसारभर प्रचलनमा छन्। नेपालकै अन्य नदीमा पनि छन्। तर तिनमा साना र मसिना काठ, टुक्रा जोडेर वा केवल एक-दुई थान काठ मिलाएर नदी तर्न मिल्ने मात्र भेटिन्छन्। जुम्लामा पाइने परम्परागत र मौलिक शैलीका काठेसाँघु जस्ता अन्यत्र भेटिँदैन।

यो शैलीका पुलबारे अध्ययन र अनुसन्धान गरिएका जानकारी पनि भेटिँदैनन्। यद्यपी यस्तै आधुनिक पुल डिजाइनहरूको सर्वाधिकार भने विदेशतिर व्यक्तिगत नाउँमा दर्ता भइसकेको छ।

यस्ता पुल वा साँघु बनाउन धेरै स्रोतसाधन र जनशक्ति चाहिने हुनाले बाक्लो बस्तीमै बनाइएको पाइन्छ। पातला बस्ती आसपासका नदीमा सामान्य वा अस्थायी पुल हुन्छन्। हुम्लाकर्णाली, मुगुकर्णाली र भेरीकर्णाली जस्ता ठूला नदी तर्न भने सम्भव भएको ठाउँमा डुंगा, नाउ वा तुइन चलनमा थिए।

अचेल कैयौं पहाडी र हिमाली भेकमा झैं कर्णालीमा पनि झोलुंगे पुल विकासका सेतु बनेर भित्रिए। कैयो ठाउँमा ती पुलले टाढिएका बस्तीलाई निकट ल्याए, जनजीवन सहज गरे र परिवर्तकारी सिद्ध भए।

जुम्ला उपत्यकाको तिलानदी र सिंजा उपत्यकाको हिमनदीका कैयौं स्थानमा काठेसाँघु विस्थापित गर्दै बनेका झोलुंगे पुलले स्थानीय जनजीवनको आउजाउमा भने कुनै तात्विक भिन्नता ल्याएको छैन। न यात्राको दूरी र समय फरक परेको छ, न अरू सहजता थपेको। बरू त्यहाँको मौलिक शैली पूरै मासिएको छ।

झोलुंगे पुलको बाटोबाट गाईवस्तु तथा भेडाबाख्रा तार्न मुश्किल पर्छ। दिनदिनै जंगल आउजाउ भइरहने ठाउँमा त्यति प्रभावकारी छैन।

यो क्षेत्रमा सबभन्दा पहिले भेरी नदीमाथि जाजरकोटबाट चौरजहारी जोड्ने ठाउँमा फलाम र स्टिलको झोलुंगे पुल बनेको थियो। उहिले बाइसे राज्यकालको अन्तिम कालखण्डदेखि नै जाजरकोटको गोर्खाली राज्यसँग बिहेवारीको सम्बन्ध बनेको थियो। यसैक्रममा रणबहादुर शाहकी छोरी दुर्गाकुमारीको बिहे जाजरकोटे राजा दीपनारायण शाहसँग भयो। रानीले जाजरकोट बस्दा गलगाँड हुने, हावापानी नमिल्ने जस्ता समस्या उल्लेख गरी काठमाडौं पत्राचार गरेकाले उनलाई पाँच हेक्टर जग्गा विर्ता दिएर चौरजहारी बस्न मिल्ने गरियो। पछि जाजरकोटकी राजकुमारी बालकुमारीको बिहे चन्द्रशमशेरसँग भयो। उनैको पहलमा भेरीमाथि यो क्षेत्रकै पहिलो झोलुंगे पुल बन्यो।

झोलुंगे पुलभन्दा देवदारको मजबुत काठले बन्ने स्थानीय साँघु बढी टिकाउ हुन्छन्। फलामे पुल भत्केर, बांगिएर, खिया लागेर, नटबोल्ट हराएर, चोरिएर पटकपटक मर्मत गरिरहन परेको छ।

तल चित्रमा देखिएको हाँकुसाँघु पछिल्लो चोटि २०४६-४७ सालमा जिर्णोद्धार भएको थियो। ३० वर्षअघि मर्मत गर्दा प्रयोग भएका केही काठ त्यसअघि २०२६ सालको मर्मतक्रममा प्रयोग भएका थिए। २०२६ सालमा बाढीले धेरै साँघु नष्ट भए। त्यसमध्ये एक मुगु हुम्ला जोड्ने पुलको फोटो बेरी सि बिशपले आफ्नो पुस्तकमा राखेका छन्।

हामीलाई विकास अवश्य चाहिएको छ। मजबुत 'कनेक्टिभिटी' चाहिएको छ। बलिया पुलपुलेसा, बाह्रै महिना चल्ने दीर्घकालीन संरचना चाहिएको छ। तर हामीले यो बिर्सिन हुँदैन, विकासको भोकमा आफ्ना विशिष्ट पहिचान बोकेका मौलिकता हामीले मेटाउनु हुँदैन। कर्णालीका हरेक ठाउँ, वस्तु, परम्परा, शैली र विशेषता मूल्यवान् छन्।

साँघुहरू कर्णाली पर्यटनसँग जोडिएका छन्। 'प्रेमगीत' फिल्मको गीतमा 'भिजुअलाइज' भएपछि रारा जाने पर्यटकमाझ हिमा गाउँपालिकाको बाँझागायडको काठेसाँघु चर्चित फोटो 'स्पट' बनेको छ। त्यसैले परम्परागत शैलीका हरेक चीजको महत्व छ। कर्णालीका काठेसाँघु भविष्यका नागरिकले पनि देखून् भन्ने सोच्न आवश्यक छ। साँघु जोगाउन स्थानीय सरकारले सक्रिय पहल गर्न जरुरी छ।

आधुनिक मोटररोड जोड्ने पुल बनाउँदा काठेसाँघु मासेर नबनाउने नीति लिनुपर्छ। पूर्वजले आफ्नो परम्परागत अनुभव, ज्ञान र सीप प्रयोग गरी जुन ठाउँमा साँघु बनाएका छन्, ती स्थान र आसपासमा कंक्रिट संरचना नबनाऊँ। यसलाई प्राकृतिक अवस्थामै रहन दिऊँ।

यसरी नै देवदार संरक्षणको पहल आवश्यक छ। यसको महत्व र फाइदाबारे स्थानीयमा चर्चा र छलफल आवश्यक छ। अहिलेसम्म उम्रेका सबै रुख मानवीय प्रयासबिनै उपलब्ध भएका वरदान हुन्। अब निश्चित संरक्षित क्षेत्र बनाएर देवदार रोप्न सुरू गर्नुपर्छ। वन कार्यालयहरूले देवदारबारे अध्ययन-अनुसन्धान गरेको भए आममानिसले बुझ्ने भाषामा बाहिर ल्याउन जरूरी छ। व्यापारिक प्रयोजनमा देवदारलाई जोडेर यसको उत्पादन र प्रशोधनमा लगानी गर्न सके यसप्रति धेरैको रूचि बढ्नेछ।

कर्णालीका स्थानीय शिक्षा‍ सामग्रीमा यसबारे अध्ययनको विषय समेटिन सकियोस्।

कर्णालीका विद्यार्थीले कल्पना गरेर याद गर्नुपर्ने 'गुलमोहर' रुखबारे पढ्नुअघि आफ्नै जंगलमा पाइने 'रुखहरूको राजा' बारे ज्ञान पाऊन्।

https://www.setopati.com/opinion/187985
सेतोपाटीमा प्रकाशित मिति: आईतबार, भदौ १, २०७६, १८:१२:००


धूलोधुवाँले ग्रस्त सुर्खेतलाई बनाउन सकिन्छ 'साइकल सहर'





केही दिनअघि सुर्खेत बजारबाट एअरपोर्ट जाँदै थिएँ। मूलसडक अर्थात् रत्न राजमार्ग स्तरोन्नति भइरहेकाले धूलो र खाल्डो छल्न बसपार्क उत्तरतर्फको भित्री बाटो हिडेँ। केहीअघि खजुरा नपुग्दै जाममा परेँ।

बाटोभरि मोटरसाइकल र स्कुटरहरू असरल्ल पार्क गरेर जाम परेको थियो। त्यो क्याम्पसको बाटो थियो र ती सवारी विद्यार्थी र प्राध्यापकका थिए।

केही वर्षअघिसम्म यहाँ साइकल चढ्ने विद्यार्थीको बाहुल्य हुन्थ्यो। कतिपय प्राध्यापक साइकलमै यात्रारत भेटिन्थे। बाहिरबाट आउने विद्यार्थीको पहिलो नयाँ सीप सिकाइ अभ्यास साइकलबाटै हुन्थ्यो। स्थानीयको दैनिकीको अभिन्न साधन साइकल नै हुन्थ्यो। प्रायः सबैका घरमा साइकल हुन्थे।

अचेल दृश्य फरक छ। साइकल गरिबको साधनझैं बनेको छ। अलिकति आर्थिक हैसियत बनाएकाहरूलाई साइकल चढेर शिक्षालय, कार्यालय वा बजार जानु सामाजिक प्रतिष्ठा गुम्नु हो जस्तो लाग्छ। त्यसैले हरेक परिवारमा सकी-नसकी मोटरजन्य सवारी किन्ने प्रतिस्पर्धा भइरहेझैं लाग्छ। बिल्कुलै गलत प्रतिस्पर्धा।

यसका कारण छन्।

सुर्खेत छोटो अवधिमा तीव्र र अव्यवस्थित सहरीकरण उन्मुख छ। पञ्चायती व्यवस्थामै थालनी भएको योजनाबद्ध नगर विकासले गति लिन सकेन।

अन्यत्रझैं यहाँ पनि घरजग्गा कारोबार र स-साना व्यवसायबाट मानिसको आर्थिक रुपान्तरण सुरूआत भयो। मानिसमा सवारीसाधन छनौटका आकांक्षा बढ्न थाले। समाजमा आफ्नो हैसियत देखाउन पनि साइकल त्याग्ने र मोटरजन्य सवारी खरिद गर्ने चलन बढ्यो।

अनियन्त्रित बस्ती निर्माण हुन थाले। विशेषगरी राजमार्ग दक्षिणका मलिला फाँट मासिँदै घर बन्न थाले। यो क्रम प्रदेश राजधानी भएपछि झनै तीव्र छ। बस्ती जोड्ने बाटा बने। तर ती मानिस हिँड्न वा साइकल चलाउन नभई मोटर कुदाउने प्रयोजनका लागि मात्र बने। मोटर कुद्ने बाटामा साइकल वा पैदलयात्री प्राथमिकतामा परेनन्।

मोटरजन्य सवारीको हर्न र गतिबाट उनीहरू तर्साइन्छन्, हप्काइन्छन् र हतोत्साही बनाइन्छन्। परिणमतः धेरैले साइकललाई दैनिक सवारीको माध्यम बनाउने हिम्मत जुटाउन सक्दैनन्। र साइकल त्याग्छन्।

सन्तुलित विकासको दीर्घकालीन सोच अभावमा सुर्खेत विकासका लागि गरिएका सबै पूर्वाधार निर्माण साइकलमैत्री भएनन्। मानवीय र पर्यावरणीय सामञ्जस्य कायम राख्नै स्वच्छ र सन्तुलित नगर बन्न सक्ने प्रचुर सम्भावना हुँदाहुँदै सुर्खेत अन्य थुप्रै सहरउन्मुख नगरझैं कुरुप बन्ने होडमा छ।

ढिला भइहालेको भने छैन। सुर्खेत साइकलमैत्री नगर बनाउँदा यहाँका नागरिक र सरकारलाई बहुआयामिक रूपमा प्रत्यक्ष फाइदा हुन्छ।

अचेल साइकलमा आफ्नो दैनिकी चलाउनेहरू प्रायः न्यून आय भएका गरिब छन्। उनीहरू पनि अन्य नागरिक सरह अधिकार प्राप्त मतदाता हुन्। उनीहरूको दैनिक जीवन सहज पार्नु सरकारको कर्तव्य हो। साइकलमैत्री सडकले ती नागरिकलाई सम्मानपूर्वक आवतजावत र सहज दैनिकीको प्रत्याभूति गराउँछ।

अलि समय पहिले सुर्खेतका केही कृषकलाई साइकल बाँडिएको थियो। यो सराहनीय प्रयास हो, तर उनीहरूलाई साइकल चलाउन सहज बनाउने उपाय पनि सँगै ल्याइनुपर्छ। साइकल भएर पनि चलाउन हिच्किचाउनेहरूका साइकल पनि उपयोगमा आउँछ। विस्तारै अरुको पनि साइकलमा रुचि पलाउँछ वा फर्किन्छ।

यसले सार्वजनिक वा निजी सवारीमा लाग्ने यातायात खर्च बच्छ। यस्तो बचतको परिमाण वास्तवमा उल्लेखनीय हुन्छ।

उदाहरण- मानौं सुर्खेतको लाटीकोइलीबाट दैनिक सुर्खेतबजार आउजाउ गरिरहने व्यक्तिले अटोरिक्सामा यात्रा गर्नुपर्दा दिनको कम्तीमा १५० रुपैयाँ खर्च गर्छ। हरेक एउटा चोकबाट अर्कोमा पुग्न २० देखि ३० रुपैयाँ लाग्छ। यस हिसाबले विदा कटाएर महिनामा २० दिन मात्र यात्रा गर्दा कम्तीमा २५ सय रुपैयाँ खर्च गर्नुपर्छ। साइकलले विद्यार्थी, कर्मचारी, स-साना व्यापारी र किनमेल, भेटघाटका लागि ओहरदोहर गरिरहने सबैको दैनिक खर्च कटौती हुन्छ।

मोटरजन्य सवारीधनीहरू पनि क्रमशः साइकल चलाउन उत्प्रेरित हुनेछन्। फजुल खर्च कटौती हुन्छ। नगरमा सवारी चाप कम हुन्छ। पार्किङ सहज हुन्छ। पेट्रोलियम पदार्थ कम खपत हुन्छ। प्रदूषण नियन्त्रण हुन्छ।

नियमित साइकल चलाउँदा मानिसको स्वास्थ्यमा पनि सकारात्मक परिवर्तन आउँछ। कतिपय नसर्ने रोगहरूको प्रकोप कम हुन्छ। उपचारमा हुने सम्भावित खर्च रोकिन्छ।

पर्यटकीय सम्भावनाका दृष्टिले सुर्खेतमा साइकल अत्यन्त सान्दर्भिकता भएको ठाउँ हो। यहाँका धार्मिक तथा ऐतिहासिक स्थल, डाँडापाखा, जंगल, खेतबारी र बस्तीहरू साइकलबाट भ्रमण गर्न उपयुक्त छन्।

जस्तै, सुर्खेतको घण्टाघरबाट मंगलगढी हुँदै दक्षिणतिर काँक्रेबिहार पुगेर पछााडिका फाँट हुँदै पूर्व मोडिएर देउतीबज्यै मन्दिर दर्शन गरी बुलबुले तालको बाटो फर्किन सकिने ट्रेल। यसमा साइकल यात्रा कति रोमान्चक हुन्छ होला?

स्थानीयको आर्थिक उन्नतीमा पनि सहयोग पुर्याउँछ।

यसबाहेक साहसिक खेलका रुपमा पनि साइकल प्रवर्द्धन सम्भावना छ। यहाँ विभिन्न विशेषतासहितका साइकल ट्रेल विकास गर्न सकिन्छ। डाउनहिल, क्रसकन्ट्री खेल खेल्न मिल्ने रुट पहिचान गर्न सकिन्छ।

जस्तै बांगेसिमलको बाटो उक्लेर माथि गोठीकाँडा, अनि छेडाको बाटो कट्कुवाबाट झरेर कपासे, इत्राम वा नेवारे। पूरै जंगल सफारी झैं अनुभव। वा सुर्खेत उपत्यकको कोरा (एक फन्को)। नयाँ प्रकारका माउन्टेनबाइकको प्रयोग हुन्छ।

यी गतिविधि बढेसँगै रारा हिँडेका पर्यटकले सुर्खेतमा अल्झिने बहाना पाउँछन्। उनीहरूको बसाइ लम्बिन्छ। पर्यटकको बसाइ जति लामो भयो त्यति आर्थिक लाभ हुन्छ। स्थानीय रोजगारको ढोका खोल्छ। साइकल बिक्री, मर्मत गर्ने र भाडामा लगाउने पसल खुल्छन्। हरेक पर्यटकीय स्थलमा व्यवसायिक गतिविधि बढ्छन्।

पर्यावरणीय सन्तुलनको सचेतनामा अभिवृद्धि हुन्छ।

साइकल एक, लाभ अनेक छ। त्यसैले सुर्खेतमा साइकल संस्कृति बढाउनु जरुरी छ। यसका लागि तत्कालीन र दीर्घकालीन रणनीति बनाएर काम गर्नुपर्छ।

हाल सुर्खेतमा वीरेन्द्रनगर नगरपालिकाले स्तरोन्नती गरिहेका भित्री सडकमा दुवैतर्फ फुटपाथ र साइकल लेन बनाउन सकिन्छ। कतिपय ठाउँमा बाटो खन्ने र चौडा पार्ने क्रम चलिरहेकोले यति काम बेलैमा गर्न सकिन्छ।

रत्नराजमार्गको सुब्बाकुनादेखि बांगेसिमलसम्मको खण्डले सम्पूर्ण सुर्खेत उपत्यकालाई बीचबाट काटेर गएको छ। यो खण्डको स्तरोन्नती धमाधम चलिरहेको छ। संघीय सरकारको योजना भए पनि तत्काल नगरपालिकाले पहलकदमी सुरु गरी दुवैतिर साइकल लेन व्यवस्था गर्न सके दूरगामी महत्व राख्नेछ।

यसैगरी उपत्यका वरिपरिका डाँडा र फेदीहरूमा अवस्थित गाउँबस्ती जोड्ने गोरेटाहरू समेटेर साइकल रुट बनाउन सकिन्छ। रिङरोड भनेजस्तै यो एउटा रिङरुट बन्नेछ। यो सुर्खेत कोरा साइक्लिङ गर्न उपयुक्त रुट हुन्छ।

सुर्खेतका कार्यालय, प्रमुख व्यापारिक भवन, अस्पताल लगायतमा साइकल पार्किङ सुविधा तयार पार्ने र सूचना जारी गर्न सकिन्छ। कर्मचारी र प्रतिनिधिलाई कामकाजमा साइकल चलाउन प्रोत्साहित गर्ने। साइकल सम्बन्धी नियमित गतिविधि सञ्चालन गर्ने। युवाहरू परिचालन गरी साइकल प्रवर्द्धन गर्न रोल मोडल बनाउने। राइडहरू आयोजना गर्ने। सामाजिक सञ्जालहरू प्रयोगरी आकर्षण थप्ने। निजी क्षेत्र जस्तै होटल, बैंक, स्कुल लगायतलाई यस्ता गतिविधि सञ्चालन र सहयोग गर्न आह्वान गर्ने। यति गरे साइकल संस्कार विस्तारै हुर्किँदै जानेमा शंका छैन।

गत वर्ष पञ्चपुरी नगरपालिकाले इलाका प्रहरी चौकी बावियाचौरलाई पाँचवटा साइकल दिएर 'साइकल गस्ती' सुरूआत गरेको थियो। त्यस्तै सिम्ता गाउँपालिकाले भारतको ताजमहल, नेपालको लुम्बिनी हुँदे सुर्खेतसम्म साइकल यात्रा गरी पर्यटकीयस्थल चिनाउन प्रयास गर्ने बालकृष्ण शाहीलाई सम्मान गरेको थियो। वीरेन्द्रनगर नगरपालिकाले चर्चित कलाकार प्रेमदेव गिरीलाई साइकल प्रयोग गरेकामा सम्मान गरेको थियो।

यी प्रयासले अरूलाई उत्प्रेणा दिन्छन् र सकारात्मक सन्देश प्रवाह गर्छन्। यस्ता सराहनीय प्रयास अन्त पनि लागू गर्न सकिन्छ।

दीर्घकालीन रणनीतिका रुपमा नीतिगत आधार तयार गर्न सकिन्छ।

जस्तै, हरेक संरचना निर्माण साइकलमैत्री हुनपर्ने मापदण्ड तयार गर्ने। नगरभित्र बन्ने हरेक सडकमा साइकल लेन अनिवार्य गर्ने। साइकल सम्बन्धी व्यवसायलाई करमा सहुलियत व्यवस्था गर्ने। नगरको शान स्वरुप बर्सेनी बृहत साइक्लिङ गतिविधि आयोजना गर्ने। यसका लागि नगरस्तरीय कमिटी स्थापना गर्ने।

यति गर्नसके सुर्खेत एक आधुनिक पर्यावरणमैत्री सुन्दर नगरका रुपमा परिचित हुनेछ। युरोपतिरका कतिपय आधुनिक सहरले अचेल गल्ती सच्च्याउँदै छन्। मोटरबाटोले निलेका बाटा पैदल र साइकलयात्रीलाई फर्काउँदै छन्। हामी उनीहरूको भोगाइ र सिकाइबाट फाइदा लिन सक्छौं। अहिल्यैदेखि सडक जोगाएर राख्न सक्छौं।

यही जेठ २० गते सोमबार (जुन ३ तारिख) राष्ट्र्संघले गत वर्ष मात्र घोषणा गरेको दोस्रो विश्व साइकल दिवस पर्छ। यो अवसर मध्यनजर गरी सम्बन्धित निकाय र सरोकारवालाले सुर्खेतलाई 'साइकल सहर' बनाई दीर्घकालीन रुपमा बसोबासका लागि उत्कृष्ट ठाउँ बनाउनेतर्फ सार्थक प्रयास सुरूआत गर्न सक्छन्।

सेतोपटीमा प्रकाशित मिति: शनिबार, जेठ ४, २०७६, ०२:४५:००
https://www.setopati.com/opinion/180555

अरूभन्दा भिन्न हुनुपर्छ कर्णालीको विकास मोडल


केही दिनअघि 'समावेशी विकासका लागि योजना तर्जुमा र बजेट विनियोजनमा कर्णालीका निम्ति के-कस्ता प्राथमिकता हुनुपर्छ' विषयक छलफल कार्यक्रम भएको थियो।

विकास, सुशासन र अधिकारका मुद्दामा काम गर्ने संस्थाहरूले आयोजना गरेका कार्यक्रममा कर्णाली प्रतिनिधित्व गर्ने संघ र प्रदेशका सांसदहरू, भूतपूर्व प्रतिनिधि, स्थानीय तथा अन्य नेता, पत्रकार, अधिकारकर्मीहरू सहभागी थिए।

छलफलले पन्ध्रौं पञ्चवर्षीय योजना र आगामी वर्षको राष्ट्रिय बजेटमा सुझाव मिल्ने अपेक्षा गरेको थियो।

कार्यक्रममा प्रस्तोता अर्थविद् प्राध्यापक डाक्टर डिल्लीराज खनालले केही तथ्यांंक देखाए। मानव विकास सूचकांक, बहुआयामिक गरिबी सूचकांक, र आर्थिक सर्वेक्षणमा आधारित कूल गार्हस्थ्य उत्पादनका आधारमा कर्णाली प्रदेश तुलनात्मक रुपले सबैभन्दा पछि परेको छ। त्यहाँको विकासनिम्ति विशेष पहल आवश्यक पर्ने निचोड उनले पेश गरे।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर पुष्पराज कँडेलले कर्णाली इतिहासमा निकै अगाडि तर आर्थिक तथा आधुनिक विकासमा निकै पछाडि परेको विचार राखे। अन्य प्रदेशभन्दा कमजोर कर्णाली भौतिक र समाजिक पूर्वाधारमा नै पछि परेको निष्कर्ष दिए।

यी दुवैले भनेका निचोड सत्य हुन्, नयाँ होइनन्। जगजाहेर तथ्य हुन्।

त्यसैले विज्ञहरूले बरू ती तथ्यमा थप र गहिराइमा विश्लेषण गरी राय दिन सके यस्ता महत्वपूर्ण छलफल अझ परिणाममूखी हुन्थे। संघीयतामा प्रदेशगत रुपमा खण्डिकृत सूचना आवश्यक छ। यथार्थपरक योजना तर्जुमा गर्न तथ्यांक र सूचनाको बलियो आधार चाहिन्छ।

छलफलको दुई घन्टा अवधिमा डेढ दर्जन बढीले आफ्ना राय राखे। सबैजसोले कुनै प्राथमिकताभन्दा पनि मनका बह वा रोष पोखे झैं लाग्यो।

उदाहरण, हामीसँग अथाह सम्भावना छ। सुन्दर प्रकृति र संस्कृति छ। हाइड्रो फालाफाल छ। तर राज्यले कर्णालीलाई हेपिरहेको छ। आश्वासनले मात्र हुँदैन। हामीलाई योजना र बजेट चाहिन्छ। हाम्रा आवाज नसुन्ने हो भने हामी जे पनि गर्न सक्छौं।

सारमा, धेरैले ठूला वा मेगा योजना चाहियो भने।

सबैजसोले बोल्न खोजिरहेकाले मैले हात उठाए पनि पालो पाइनँ। कर्णालीबारे त्यहीबेला उब्जेका र अघिपछिका मेरा केही राय यहाँ राख्दैछु।

नेपालमा योजनाहरू तथ्य र प्रमाणमा आधारितभन्दा पनि सत्ता र शक्तिको पहुँचका आधारमा बन्ने तीतो यथार्थ बर्सेनि देखिएकै हो। त्यसरी बन्ने योजना कहिल्यै सफलतापूर्वक सम्पन्न हुँदैनन्।

दसकौं अघि सुरू भएर नटुंगिएका 'गौरव'का ठूला आयोजना हुन् वा काम चलाउ ढंगले पूरा भएका वा कागजमै मात्र सम्पन्न भइसेका स-साना आयोजना हुन्, यिनले हाम्रा थाप्लोमा ऋण मात्रै थपेका छन्।

सुरूआती अनुमानभन्दा कैयौं गुणा धेरै खर्च भइसके पनि निल्नु न ओकल्नु भएका केही आयोजनामा बर्सेनि बजेट विनियोजन भइरहन्छ। किनकी, त्यस्ता योजनाबाट आमजनताले भन्दा बढी नेता, कर्मचारी, व्यापारी र आसेपासेले मनग्य फाइदा उठाइरहेका हुन्छन्।

संघीय संरचनापछि पनि यस्ता प्रवृत्तिले निरन्तरता पाइरहेको छ। यसको प्रमुख कारण योजना र बजेट निर्माणमा संलग्नहरू र त्यो प्रक्रिया प्रभाव पार्न सक्नेहरूको नियत नै हो।

राजनीति र प्रशासन संयन्त्रमा प्रभाव पार्नसक्ने व्यक्तिहरूको आफ्नो गाउँ, जिल्ला वा उनीहरूले चाहेको ठाउँमा योजना थुप्रिएका उदाहरण खोज्न गत वर्षको बजेट हेरे पुग्छ। यही प्रवृत्ति यो वर्ष नदोहोरिएला भन्न सकिन्न।

प्रमाणमा आधारित योजना तर्जुमा प्रक्रिया सैद्धान्तिक रुपमा मात्र चर्चा गरिने विषय होइन। सही सूचना, तथ्य र प्रमाण सदुपयोग गर्दै बनाइएका योजनाबाट अपेक्षित प्रतिफल पाउन सकिन्छ। सीमित श्रोतको भरपुर सदुपयोग हुन्छ। असल र सक्षम सरकारले यस्ता कुरा मर्म बनाएको हुन्छ र त्यस्ता सरकारले चलाउने देशले समृद्धि हासिल गरेका छन्।

उक्त कार्यक्रममा प्रस्तोता र कतिपय सहभागीले सूचकांकमा आधारित बजेट निर्माण आवश्यक रहेको औंल्याएका थिए। अहिले प्रयोग गरिँदै आएका र अन्य श्रोतबाट आउने सूचकांकलाई केही गहिराइमा छलफल चलाउन सके धेरै दृष्टिकोण प्रष्ट हुन्छन्। कतिपय भ्रम हट्छन्।

सूचकमा पछाडि परेका भनिएका कर्णाली प्रदेश र प्रदेश दुई भौगोलिक, सामाजिक, साँस्कृतिक र प्रशासनिक संरचनामा धेरै भिन्न छन्। त्यसैले यी दुईमा एकै प्रकारका योजना उपयुक्त हुँदैन। कर्णाली प्रायः सबै क्षेत्र, जस्तै भौतिक संरचना, आर्थिक अवस्था, स्वास्थ्य र शिक्षा लगायत सामाजिक सूचकमा नै पछि परेको छ।

कर्णालीको मानव विकास सूचकांक अरुभन्दा न्यून छ। आधाभन्दा बढी जनसंख्या (५१.२ प्रतिशत) बहुआयामिक रुपमा गरिब छन्। औषत आय ५०० डलरभन्दा कम छ। कुल गार्हस्थ्य उत्पादनमा योगदान ६ प्रतिशत जति मात्र छ। भूगोल, आवादी, साँस्कृतिक पक्षमा व्यापक विविधता भएको कर्णालीका विशेषता यी सूचकले समेट्न सक्दैनन्। यिनलाई गहिराइमा हेरिनुपर्छ।

जस्तै मानव विकास सूचकांक गणना गर्न प्रयोग हुने औषत आयु (स्वास्थ्य सूचक), शैक्षिक उपलब्धि (शिक्षा सूचक) र प्रतिव्यक्ति आय (आर्थिक सूचक) लाई थप अध्ययन गरी ती सूचकमा प्रभाव पार्ने क्षेत्र र कारण पहिचान गरिनुपर्छ। र, त्यसैका आधारमा योजना बन्नुपर्छ।

प्रदेशगत भिन्नता र विशेषता पहिल्याउन अति आवश्यक छ।

उदाहरण, सामाजिक क्षेत्रका सूचकमा प्रदेश नम्बर दुई र कर्णाली दुवै पछि पर्नुको कारणमध्ये उच्च बाल मृत्युदर एउटा हो। यसलाई थप गहिरिएर हेर्दा नवजात शिशु अवस्थामा मृत्यु धेरै हुन्छ। बच्चा जन्मिँदा र त्यसपछिको पहिलो सातामा हुने मृत्यु रोक्न सके सामाजिक क्षेत्रको यो एउटा सूचकमा द्रूत सुधार आउने देखिन्छ।

नवजात शिशु मृत्युदर घटाउन हरेक आमाको गर्भवती, सुत्केरी र प्रसुति अवस्था सुरक्षित हुन अनिवार्य छ। यसका लागि स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्यकर्मीबाट गर्भवती जाँच, सुत्केरी र प्रसुति सेवा लिनु बलियो उपाय हो। स्वास्थ्य संस्थामा सुत्केरी गराउने दर अन्य प्रदेशमा दुईतिहाइभन्दा बढी हुँदा कर्णालीमा एकतिहाइ मात्र छ। प्रदेश दुईमा आधाभन्दा कम छ।

यसका कारण भिन्न छन्। प्रदेश दुईका समुदायसँग स्वास्थ्य संस्थासम्मको पहुँच तुलनात्मक रुपमा सहज छ। तर ८० प्रतिशत महिला स्वास्थ्य संस्था जान आवश्यक नरहेको भन्ठान्छन्। स्वास्थ्य संस्थाको सेवा-तत्परता अवस्था पनि न्यून छ।

कर्णालीका महिलालाई भने स्वास्थ्य संस्था पायकै नपर्ने, टाढा हुने, यातायात सुविधा नहुने जस्ता समस्या छन्। झण्डै एकचौथाइ महिलाले त स्वास्थ्य संस्था जाँदा बाटैमा बच्चा जन्मिन्छ भनेका छन्। केही महिलाले स्वास्थ्य संस्थाप्रति विश्वास नै नभएको पनि बताएका छन्।

यसले संकेत दिन्छ, सामाजिक सूचकमा सुधार ल्याउन गरिने प्रयास सबै प्रदेशका लागि एकनासे हुन सक्दैनन्। त्यसैले जनतालाई गरिबीबाट निकाल्ने हो भने कारण र निकास अध्ययन गरी 'फोकस' कार्यक्रम लागू गर्दै काम गरिनुपर्छ। देशभर एउटै योजनाले सबै ठाउँका जनता लाभान्वित हुँदैनन्।

आर्थिक तथ्यांकमा पनि कर्णाली पछाडि छ। भर्खरैको आर्थिक सर्वेक्षण तथ्यांकअनुसार कर्णालीको समग्र अर्थतन्त्र सवा एक खर्ब जति मात्र छ। आर्थिक बृद्धिदर पनि सबभन्दा कम ५ दशमलव ७ प्रतिशत छ।

कुनै पनि क्षेत्र आशलाग्दो छैन। सबभन्दा धेरै बृद्धि भएको क्षेत्र (११.११ प्रतिशत) सार्वजनिक प्रशासन हो, त्यो पनि अरूको भन्दा कम छ। कृषि तथा वन क्षेत्रमा अरूले १० प्रतिशत माथि बृद्धि हासिल गर्दा कर्णालीको ५ प्रतिशत जति छ।

त्यस्तै उत्पादन क्षेत्रमा अरू प्रदेशको ५ देखि ३६ प्रतिशत बृद्धि हुँदा कर्णालीको एक प्रतिशतभन्दा कम छ। पर्यटन 'हब' बन्न सक्ने आश भएको प्रदेशमा होटल-रेष्टुरेन्ट क्षेत्रको बृद्धिदर पनि जम्मा ५ दशमलव ६ प्रतिशत छ।

एक त आकार नै सानो, त्यसमाथि सुरूआती बृद्धिदर पनि निकै कम हुँदा कर्णालीबारे विकास र योजनाका छलफल विशिष्टिकृत ढंगले गरिनुपर्छ। अर्थतन्त्रको आयतन नै कमजोर भएको प्रदेशले अहिले नै ऋणमा ठूला आयोजना ल्याउने प्राथमिकता तय गर्ने कि आन्तरिक आधार मजबुत पार्दै अघि बढ्ने नीति अवलम्बन गर्ने?

कर्णालीको समग्र क्षमता पनि अर्को विचारणीय कुरा हो। श्रोत पहिचान, वितरण र परिचालनमा कर्णाली प्रदेशले अहिलेसम्म सन्तोषजनक प्रदर्शन गर्न सकेको छैन।

गत नौ महिनामा बजेटको १२ प्रतिशत मात्र खर्च हुनुले प्रदेश संरचना र संयन्त्रको क्षमतामै प्रश्न खडा भएको छ। यसले आन्तरिक अर्थतन्त्र मजबुत हुनै पाउँदैन। यही अवस्था रहिरहे सायद कर्णालीका योजना बजेट कार्यान्वयनको छुट्टै संयन्त्र आवश्यक पर्न सक्छ।

साढे दुई दशकयता हालका प्रदेशभित्रका जिल्लाको समष्टिगत मानव विकास सूचकमा आएको परिवर्तन विश्लेषण हेर्दा कर्णाली निरन्तर पुछारमा छ। स्वास्थ्य सुधारले सरदर आयु लम्बिएर प्रदेश एक र गण्डकी प्रदेश मध्यम अवस्थामा पुगे। गत दशकमा शिक्षा र आर्थिक सूचकमा आएको सुधारका कारण प्रदेश तीन पनि मध्यम अवस्थामा पुगेको छ।

सूचकहरू हेर्दा, कर्णाली भने २५ वर्षअघि जहाँ थियो, अहिले पनि खास सुधार छैन। उदाहरण, २५ वर्षअघि यहाँको स्वास्थ्य-शिक्षा सूचक ०.३६४ थियो। हाल ०.४२७ मात्र पुगेको छ।

न्यून सुधार हुनुका धेरै कारण हुनसक्छन्। विगतमा गरिएका अनेक प्रयासले किन पूर्ण सफलता पाएनन् भन्ने बुझ्न जरूरी छ। अब पनि त्यही प्रथा र प्रक्रियाले नीति तथा योजना बनाउँदै जाने हो भने अर्को २५ वर्षमा पनि कर्णाली जहीँको तहीँ हुनेछ।

कर्णालीलाई राष्ट्रिय औषत नजिक पुर्याउन नीति र योजना बनाउँदा सकारात्मक विभेदको आवश्यकता छ। वास्तवमा त्यो संविधानमै उल्लेख हुनुपर्थ्यो। कर्णाली विशेष अधिकारप्राप्त क्षेत्रका रुपमा आउनुपर्थ्यो। त्यसो भएन। तर अब बन्ने नीति तथा कार्यक्रममा विचार पुर्याउन सकिन्छ।

अन्तरप्रदेश समन्वय र लाभ बाँडफाँटको विषय सोचे जस्तो सहज नभएकाले भविष्यमा कुनै पनि बेला संकट स्थिति आउन सक्ने क्षेत्र हो। भेरी-बबई डाइभर्सनको ब्रेकथ्रु समारोहमा भएको मुख्यमन्त्री-प्रधानमन्त्री छेडछाडले संकेत गरिसक्यो। त्यसैले प्रदेश सरकार आफू जति बलियो र आत्मनिर्भर भयो उति जनतामा सरकारप्रतिको भरोसा कायम रहन्छ।

यी सबैले संकेत गर्छन्, वास्तवमा कर्णाली विकासको मोडल नै अरुको भन्दा भिन्न हुनुपर्छ। अब यो बहस जरुरी छ।

संघीय सरकार जेठ १५ मा बजेट ल्याउन तयारी गरिरहेको छ। संघीय योजना आयोग पनि पन्ध्रौं पञ्चवर्षीय योजनालाई अन्तिमरुप दिई यो वर्षको बजेट यही योजना अन्तर्गत राख्दैछ। त्यसैगरी प्रदेश सरकार र उसको योजना आयोग पनि जिल्ला दौडाहा गर्दै बजेट सुझाव लिइरहेको छ।

विगतका अनुभव र हालका चर्चाअनुसार आगामी बजेटमा कर्णालीका योजनामा कुनै नयाँ विशेषता हुने देखिँदैन। तथापी केही दीर्घकालीन महत्व राख्ने भौतिक पूर्वाधारका योजना पर्नसक्ने देखिन्छ। जस्तै, कोहलपुर-सुर्खेत, सुर्खेत-जुम्ला-कर्णाली राजमार्ग मर्मत र सुधार, हुम्ला जोड्ने बाटो विस्तार, भेरी करिडोर, राष्ट्रिय प्रसारण लाइनको विस्तार।

भौगोलिक रुपमा अलग्गिएका र कठिन स्थानमा रहेका बस्तीलाई सडक र सञ्चारले जोड्न जरुरी छ। नयाँ बस्ती विकास र सहरीकरण गर्दै बस्ती स्थानान्तरण गर्ने तरिकाभन्दा आफ्नै पूर्खासँग जोडिएको माटोमा मान्छेले बढी सुखी महशुस गर्छ।

गत वर्ष प्रधानमन्त्रीले आश्वासन मात्र दिएर झुक्क्याएको भन्ठानिएको रारा लगायत पर्यटन क्षेत्रमा उल्लेखनीय बजेट पर्नसक्छ। यसलाई 'भ्रमण वर्ष २०२०' सँग जोडेर पनि अनुमान गर्न सकिन्छ।

कर्णालीमा कुनै पनि राष्ट्रिय गौरवका आयोजना छैनन्। सरकारको सांकेतिक महत्वका लागि यो आवश्यक हुनसक्छ।

कर्णालीका नदी देखेर होला, हाइड्रो सम्भावनाको चर्चा खुब हुन्छ। सञ्चालन र उत्पादन क्रमशः ४ र ४० मेगावाट जति छ। हाम्रो क्षमता भने हजारौं मेगावाटको छ। त्यसैले यो लगानीयोग्य आकर्षक क्षेत्र हो। यसले गरिबी घटाउने छ।

तर यो भ्रम हुनसक्छ। जुन रफ्तारमा अन्त हाइड्रो बनिरहेका छन्, के यो क्रमले कर्णालीको हाइड्रोको बजार भविष्यमा सुनिश्चित हुन्छ?

यसपालि पनि सम्भाव्यता अध्ययन भन्दै थुप्रै टुक्रे योजना आउने पक्का छ।

समाजवाद उन्मुख अर्थ र राजनीतिक प्रणाली अवलम्बन गरेको सरकारले बजार नियन्त्रित विकल्पमा मात्र योजना बनाउँदैन होला।

कर्णाली प्रदेशमा स्थानीय रोजगार सिर्जना गर्ने साना र मझौला योजना चाहिन्छन्। ती योजनाले स्थानीय संस्कृति, पहिचान, मौलिकता र पर्यावरण जोगाएर राख्न पनि सक्नुपर्छ।

https://www.setopati.com/opinion/179739
सेतोपाटीमा प्रकाशित बुधबार, वैशाख १८, २०७६, ०७:४८:००

Tuesday, September 4, 2018

कसरी गर्न सकिन्छ कर्णालीमा लगानी

यो लेख सेप्टेम्बर ४, २०१८को सेतोपाटीमा प्रकाशित छ।  https://setopati.com/opinion/166353

जुम्लाको चन्दननाथ नगरपालिकाले यही भदौ २९ गते लगानी प्रवर्धन सम्मेलन गर्ने भएको छ । सदियौंदेखि ओझेल परेका तर प्रचुर सम्भावनाहरु भएका ठाउँको विकास सामर्थ्यको उजागर गर्न यस्तो सम्मेलनले ठूलो भूमिका खेल्न सक्दछ । कर्णालीमा विविधतायुक्त र नौला लगानी अवसरहरु प्रसस्त छन् तर पर्याप्त ढंगले खोज, बर्गिकरण, प्रचार र प्रयास हुन सकेको छैन । केहिवर्ष अघिसम्म कर्णालीको बिकटता, अभाव, अशिक्षा, अन्धविश्वास, रुढिबादी परम्परा, रोग, महामारी, भोकमरी, फोहोर आदि राष्ट्रिय समाचार बन्थे  । अचेल त्यसमा निकै कमी आएको पाइन्छ । बरु त्यहाँको अपार सम्भावना, सम्पदा, संस्कृति र सफलताका गाथाहरु वर्णित हुन थालेको छ । अर्थात, कर्णालीले स्वरुप फेरेको छ। यो लगानी सम्भावनाको लागि स्वनिर्मित र सुखद संकेत हो। त्यसो त अत्यन्त न्यून जनघनत्व सहितको विशाल र विविधतापूर्ण भूभागले नै कर्णालीमा अपार सम्भावना रहेको प्रमाण दिन्छ ।       

केन्द्र सरकारको बाँडफाँडबाट भाग लागेको सिमित बजेटले स्थानिय जन अपेक्षा पुरागर्ने समृद्धि ल्याउन मुस्किल छ। स्थानीय सरकारको आफ्नै प्रयासले बैदेशिक ऋण र अनुदान सहयोग खोज्ने बाटो केन्द्रिय सरकारको मध्यस्थता मार्फत मात्र सम्भव हुनसक्छ तर त्यस प्रक्रियाको पनि कुनै टुङ्गो लागिसकेको छैन।  वैदेशिक सहयोग आए पनि अनेक ज्ञात अज्ञात शर्त सहित आउँछ र जनताको टाउकोमा थप ऋण बोकाएर बस्छ । यस्तो अवस्थामा सम्भावित स्वदेशी लगानी आकर्षण गर्ने स्थानीय सरकारको प्रयास प्रशंसनीय हो ।      

नेपाल सरकारले पछिल्लो पल्ट २०७३ सालको फाल्गुन महिनामा नेपाल लगानी सम्मेलन गरेको थियो ।  भारत, चीन, अमेरिका, बेलायत, दक्षिण कोरिया आदि मुलुक र नेपाल समेत गरि हजार भन्दा धेरै कम्पनी सहभागी भएको त्यो सम्मेलन निकै सफल ठानिएको थियो किनकि दुई दिनसम्म गरिएको सम्मेलनमा अपेक्षा गरेभन्दा निकै बढी ११ खर्ब रुपैयाँ बराबरको तत्कालै प्रतिवद्धता आयो । प्रतिवद्धतालाई लगानीमा परिणत गराउन विश्वासिलो र स्थिर संयन्त्र निर्माण गरि अनावश्यक  कानुनी र नीतिगत जटिलता हटाई सुधारात्मक र सुरक्षित वातावरण प्रदान गर्नु पर्छ। तर त्यसको अभावमा आज अधिकांश ति प्रतिवद्धताहरु एकपाने कागजमै सेलाएर बसेका छन् । यसबीच सरकारले फेरी लगानी सम्मेलन गर्ने घोषणा पनि गरेकोछ ।

यो के संकेत हो भने केन्द्रिय सरकार मात्र हैन स्थानीय सरकारहरु सबै लगानी आकर्षित गर्न आतुर छन् । भविष्यमा प्रदेश सरकार र अरु स्थानीय सरकारहरुले पनि लगानी ल्याउने प्रयास गर्नेछन् । 

कर्णालीमा लगानीका क्षेत्रहरु
मानव गतिविधि हुने हरेक स्थानहरु लगानी योग्य स्थानहरु हुन्। तथापी हरेक लगानीको निर्णय त्यसले दिने प्रतिफलसंग जोडिएको हुन्छ । झन् निजी लगानीको रुचि त त्यसबाट मिल्ने प्रत्यक्ष नाफामा भरपर्छ । यसलाई भूगोल, जनसंख्या, भौतिक संरचना, बजारको पहुँच र सरकारी नीतिले प्रोत्साहित वा निरुत्साहित गरिरहेको हुन्छ ।

कर्णालीमा बाटो र संचारको पहुँच बढे संगै थुप्रै सम्भावनाहरु उजागर हुँदै गइरहेका छन्।  तर संस्थागत र दिगो लगानीको लागि संरचनाको विस्तार हुनु अत्यावश्यक छ।  सडक, बिजुली, एयरपोर्ट, शहरी विकासजस्ता ठूला आयोजनाहरु केन्द्रीय सरकारकै लगानी र नेतृत्वमा गरिनु पर्छ। त्यसका लागि आवश्यक बैदेशिक वा अन्य श्रोत जुटाउने जिम्मा पनि केन्द्रिय सरकारले लिनु पर्छ। प्रदेश वा नगरपालिकाहरुको यस बिषयमा न अनुभव न क्षमता न नीति नै बनिसकेको छ।

कर्णालीमा निजि स्वदेशी लगानीका निम्ति मझौला र साना उद्योगधान्दा र व्यवसायहरु उपयुक्त छन् । पत्रकार सम्मेलनमा भनिए जस्तो नीजि स्वदेशी वा बाह्य लगानी आकर्षणगर्ने अवसरका क्षेत्रहरु कृषि, पर्यापर्यटन र जडिबुटी मात्र भने हैनन् । यी परम्परागत रुपमै चर्चा भइरहने प्रमुख सम्भावनाका क्षेत्रहरु हुन् । समयक्रम संगै नयाँ मौकाहरु पनि उदाएका छन्। सम्मेलनमा त्यस्ता लगानी भित्र्याउन सकिने क्षेत्रको चर्चा गरिनु आवश्यक हुन्छ।  अर्थात, अपरम्परागत शैलीले सोच्नु जरुरी छ।

अपरम्परागत ढंगले सोच्दा मेडिकल टुरिजम आश लाग्दो क्षेत्र देखिन थालेको छ। आपतकालिन सर्जरी बाहेक हाडजोर्नी, छाला, घाउ आदिको लामो उपचार र आरामी पछि स्वास्थ्यलाभ मिल्ने अवस्थामा जुम्लाको हावापानीले मद्दत गर्न सक्छ।  सुबिधासम्पन्न उपचार र आरामको व्यवस्था गर्ने यौटा लगानीको क्षेत्र हुन सक्छ।

आवासीय सुबिधा सहितका शिक्षालयहरु - बोर्डिंग स्कूल, कलेज, तालिमकेन्द्रहरु अर्को दिर्घकालीन लगानी सुनिश्चित हुनसक्ने क्षेत्र हो।  कर्णाली र आसपासको जिल्लाहरुका बिद्यार्थीहरुको लागि भनि साढे तिन दशक अघि खुलेको कर्णाली प्राविधिक शिक्षालयमा दुईदशक अघिदेखि नै देशभरबाट बिद्यार्थी आउनुले 'दुर्गम'भन्ने कुरा त केवल सोच मात्र भएको कुरा प्रमाणित गरि सकेको छ। हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले संचालन गर्ने कोर्षमा भर्ना हुन चाहने आकांक्षीहरुले पनि यो उच्च सम्भावना देखिएको छ।

खेलकुद अर्को लगानी सम्भावना बोकेको क्षेत्र हो।  बिशेषगरी साहसिक खेलकुद यहाँ फ़स्टाउन सक्छ। चर्चित  धावक हरि रोकायाले कोरेको सपना कर्णालीमा हाई अल्टिच्युट ट्रेनिंग सेन्टर यौटा वास्तविक बन्न सक्ने प्रचुर सम्भावनाको क्षेत्र हो।  पूर्वाधार बिनै केवल हौसलाको भरमा त्यै माटोमा दौडाएर स्थानीय युवाहरुलाई मेडल जित्नसक्ने बनाउन सकिन्छ भने पर्याप्त संरचना र सुबिधा उपलब्ध गर्न सके देशविदेशबाट आकांक्षीहरु नओइरिने त कुरै छैन ।

एथलेटिक्स बाहेक भर्खरै जुम्लाकै लाम्रामा पाराग्लाईडिङ्गको सफल परिक्षण भै सकेको छ।  रुख बुट्यान उम्रन नसकेका डाँडाहरुबाट कावाखाँदै तल तिला नदिको फाँट तिर ओर्लनुको मज्जै बेग्लै हुनेछ।  यी ठाउँहरु ग्लाईडिङ्ग खेलको लागि प्राकृतिक रुपले किन पनि उपयुक्त हुन सक्छन् भने चिल, गरुड आदि चराहरु, जसको उडान एरोडाइनामिक्स सिद्धान्त मेल खान्छ, यिनै डाँडाका आसपास घुमि रहेका हुन्छन् ।

साइक्लिङ्ग अर्को भविष्य भएको व्यवसाय लगानी हुन सक्छ । जुम्ला उपत्यकाको  २५-३० किमि पश्चिम राजमार्गको बाटो र तिलानदि वारीपारी, पुर्वतिर गुठिचौर, उत्तरपुर्व चौधबिस क्षेत्र र सिंजा उपत्यकाका  जिउला र बस्तिको फाँटमा साइकल चलाउन मिल्छ । हाइ अल्टिच्युड अभ्यास गर्ने उपयुक्त थलोको रुपमा विकास गर्न सकिन्छ।

जुम्लादेखि रारा पुग्ने बाटोमा पर्ने चट्टाने भीरहरुमा सायद रकक्लाईम्बिङ्ग खेल बन्न सक्छ। कतिपय भीरहरुमा परम्परागत तरिकाले भिरमह र शिलाजीतको खोजि चलिरहेको हुन्छ।

अहिले अव्यावहारिक झैं लागे पनि उचाइमा रहेका भूभाग र हिमाली चौरहरु अर्थात डोल्पा, मुगु, जाजरकोटसंग जोडिने भाग पाटनका थुम्का, भिरालो र फाँटहरु स्किईङ्गको गन्तव्य हुने सम्भावना राख्छन् ।     

चलचित्र र फिल्म उद्योगको आगमन यौटा प्रतिफल सुनिश्चित गर्न सकिने लगानीको क्षेत्र हुनसक्छ । उही चोभार, पोखरा, मुस्ताङ्ग जस्ता लोकेशन तथा उही नेपाली लबजको डाइलग, उही प्रकारको गुन्यूचोलीको नाँच, उही पिडि र छानाका बस्ति देखिने दृष्य हेर्दाहेर्दा हैरान दर्शकलाई नयाँ स्वाद दिने तत्त्व कर्णालीमा भेटिन्छ। श्रव्यदृश्यमा मौलिकता दिन सक्ने अनेक बिषयबस्तुहरु छन्।  काराभान र कालोपोथी जस्ता फिल्मले त्यो सम्भावनाको सफलता प्रमाणित गरिसकेका छन् । त्यहाँको इतिहास, संस्कृति, भाषा, भेषभुषा, भूगोल, बस्ति सबै नै मौलिकता बोकेका विशिष्ट स्वाद दिनेक्षेत्रहरु हुन् ।

आयुर्वेद र परम्परागत उपचार पद्धतिको अध्ययन र विकासको क्षेत्रले व्यवसायिक व्यापकता पाउन सक्छ।  जडिबुटीको संकलन र निर्यात केन्द्रित व्यवसायले केवल दोहन निम्त्याएको छ।  कच्चा पदार्थको रुपमा निर्यात नगरी स्थानीय रुपमा उत्पादन गर्न सक्ने उपायहरु ल्याउन आवश्यक छ।

यस्ता निकै अरु विषयहरु हुन सक्छन्।

सम्भावित लगानीकर्ताहरु    
भर्खर भर्खर मूलधारसंग सडक संजालले जोडिन खोजिरहेको, विदयुत र संचारको भरपर्दो व्यवस्था भै नसकेको कर्णालीमा कतिपय लगानीकर्ताहरुलाई जोखिम महसुस हुन्छ । त्यो स्वभाविक हो । तसर्थ स्थानीय सरकारहरुले कम जोखिमयुक्त लगानीका क्षेत्रहरु पहिल्याउन सक्नु पर्छ । शासकीय सुधार गरी यथेष्ट सहजिकरण र सुविधाहरु साथै जोखिम न्यूनीकरण प्रत्याभूति दिन पर्दछ ।

कर्णालीमा लगानी गर्ने सोच जन्माउनु अघि सम्भावित लगानीकर्ताहरु केही गुण र आदर्शहरुले निर्देशित हुनुपर्दछ । अहिलेको यौटा सत्य के हो भने कणालीमा व्यवसाय स्थापना तुलनात्मकरुपले महंगो पर्छ र फलस्वरूप प्रतिफल कम हुने वा ढिलो आउने बनाइदिन्छ । रातारात कमाउ हुने ठाउँको खोजिमा रहने लगानीकर्ताहरुको लागि कर्णाली हाललाई उपयुक्त गन्तव्य नहुन सक्छ ।

ठूला व्यापारिक घरानाहरु, बहुव्यवसाय संचालन गर्ने तथा लगानी परिचालन गर्ने समूह र संगठनहरुले व्यवसायिक विविधिकरण गर्न कर्णाली रोज्नसक्नु पर्दछ । पूणतः मुनाफामुखी मात्र नभई सामाजिक उत्तरदायित्व सहितको मानव हित र दीगो विकासको मूल्यमान्यता बोक्ने जिम्मेबार व्यवसायिक अवधारणायुक्त लगानीको प्रवर्धन गरिनु पर्दछ ।

उदाहरणको लागि कर्णालीमा चाउचाउ विस्कुट लगायत अन्य तयारी खानेकुरा निकै नै खपत गरेको छ । स्थानीयरुपमा उपलब्ध खानेकुरालाई विस्थापित गर्दै तयारी खाजाप्रति मान्छेको रुची बढ्नुमा आक्रामक बजारनीति, आकर्षक विज्ञापन र देखासिकीले गर्दा हो । आम सर्वसाधारण बजारले कसरी प्रभावित भैरहेको छ भनि भेउ ने पाउन सक्दैन ।  ती उद्योगहरुले अहिलेसम्म कर्णालीका बासिन्दालाई केवल आफ्रना उपभोक्ता मात्र बनाए । अब कुनै क्षेत्रमा लगानी गरि उद्योग व्यवसाय चलाई ती जनतालाई रोजगारको अवसर उपलब्ध किन नगराउने ?

हवाई उद्योग चलाउने कतिपय एअरलाइन्स कम्पनीहरुले पहाडी रुटमा अनिवार्य सेवा पुर्याउनुपर्ने नियमलाई लत्याउँदे तराई र पोखरा जस्ता सहज रुटमा चलेर बर्षौदेखि लाभ लिईरहेका छन् । ती व्यवसायीहरुले नयाँ ढंगले प्याकेज चलाएर वा लगानी विस्तार गरी कर्णालीमा पहूच बढाउन, रोजगार र अन्य अवसरहरु सृजना गर्न किन नहुने?

यस्ता अरु धेरै उदाहरण पाइन्छन्। 

देशभरका कर्मचारीहरुको रकम परिचालन गर्ने संचयकोष, नागरिक लगानी कोषहरुले शहरहरुमा व्यापारिक कम्प्लेक्स बनाई भाडामा लगाएको अनुभवलाई जुम्लाजस्तो बजारमा सुलभ सपिंगमलको अवधारणा फैलाउन किन नसक्ने ? भाटभटेनी लगायतका मलहरुले आफ्ना पसलमा राख्ने अर्गानिक उत्पादनहरु कर्णाली मै किन नफलाउने ? त्यसकालागि आवश्यक संयन्त्र र सानामझौला पूर्वाधारमा लगानी किन नगर्ने?

यसैगरि नेपाल आर्मी र नेपाल प्रहरीले थन्किएर बसेका आफ्नो कोषको केही रकम परिचालन गरी उनीहरुका संयन्त्रमार्फत कर्णालीमा लगानी गर्न सक्छ ।

यद्यपी कर्णाली जन्मथालो भएका गैरआवासीय नेपालीहरु निकै कम छन् तर कर्णालीमा एनआरएनले रुचीदेखाउन सक्ने होटल र यातायात व्यवसायको पनि सम्भावना प्रबल छ ।

स्थानीय लगानीको सम्भावना 

लगानी सम्मेलनको उद्देश्य केवल जिल्ला बाहिरका लगानीकर्ताहरु केन्द्रित हुन हुँदेन । विकास र रुपान्तरणका लागि स्थानीय प्रयासहरु अत्यन्त प्रभावकारी हुन्छन् । समुह र  सहकारीका माध्यमबाट ठूलो रकम संकलन गरी जलविद्युत, यातायात, सुपथ पसल आदि सफलतापूर्वक संचालन गरिएका उदाहरणहरु विद्यमान छन् ।

कर्णालीका बासिन्दामा पैसा कमाउन सक्ने भएदेखि तराईंमा घरजग्गा जोड्ने रहर र बाध्यता हुन्छ । यो सामाजिक हैसियत सँग जोडिने गरिन्छ।  विकटता झेल्दै हुर्किनेहरुले सुगमको बसाईको परिकल्पना गर्नु स्वभाविक हो । यो होड व्यापारी, ठेकेदार र सरकारी कर्मचारीहरुमा बढी छ।  अचेल सामाजिक कार्यकर्ता र राजनीतिकर्मीहरु पनि यस्तै लहड चलेको छ।  तर जब कर्णालीमा आवागमनको सहजता हुन्छ र स्थानिय अवसरका क्षेत्रहरु खुल्छन, यो क्रम आफै कम हुन्छ । फलस्वरूप यसले जिल्ला बाहिर जाने ठूलो रकम स्थानीय स्तरमा परिचालन हुन सक्ने छ।

कर्णालीमा भर्खर भर्खर रेमिटेन्स पनि भित्रिन थालेको छ तर रेमिटेन्सको उपयोग भने समग्र देशकै जस्तो अनुत्पादक क्षेत्रमा बढी हुने गरेको छ।

स्थानीय साना व्यापारीहरुमा व्यवसायको विविधिकरण गर्ने भन्दा पनि अर्कोको देखासिकी गर्दै उही व्यवसाय दोहोर्याउने प्रवृति बढी छ।  व्यापारका अन्य सम्भावनाको प्रयाप्त ज्ञान नहुँदा सामान्य लगानी हैसियत हुनेले जोखिम मोल्न सक्दैन र उही छिमेकीले गरेको जस्तै काम आफुले पनि सुरु गर्छ ।

स्थानीयहरुबाट लगानी जुटाउने विषयमा केही चुनौतीहरु पनि छन्। जस्तो कि जुम्ला यौटा भाग्यबाद मान्ने समाज हो।  अन्तरिक आयका स्रोतहरु निकै सिमित छन् । निश्चित केहि जाति बाहेक अधिकांस हिस्सा ओगटेको बाहुन, क्षेत्री र दलित समुदायमा व्यापारिक परम्परा र संस्कार छैन। प्रायः सबैले कृषि र पशुपालन गर्छन्।  त्यसैले सबैको गतिबिधि घडीको समय भन्दा पनि घरायसी कामकाजले निर्धारण गर्ने 'किसान समय'मा चल्छ।

स्थानीय सरकारहरुले यी अवस्था र चुनौतीहरुलाई मध्यनजर गर्दै लगानी योग्य वातावरण बनाउन प्रयास गर्नुपर्छ।
लगानी सम्मेलनको औचित्य 
इतिहासमा एकदमै बिकट र सुदूर मानिने कर्णालीको एउटा नगरपालिकाले देशका निजी क्षेत्र, गैरआवासिय, वैदेशिक स्रोतको समन्वय गरी देश लगानी प्रवर्धनको प्रयास गरेर रोजगार तथा तालिम, सिप विकास र हस्तान्तरण, लगानीको विविधिकरण, प्रविधिको स्थानान्तरण, जनशक्तिको सशक्तिकरण, दिगोपन हासिल गर्न सक्छ।

उचित लगानीबाट लगानीकर्ताले मुनाफा लिने मात्र हेने स्थानीय रोजगार सृजना गरि दिगो आर्थिक गतिविधिको माहोल निर्माण गर्न मद्दत पुग्दछ।

सम्मेलनले सम्भावित लगानीकर्ताहरु सँग एकआपसमा बार्तालाप गर्ने वातावरण बन्दछ।  स्थापित उद्योगी र व्यापारी, नयाँ  र उदाउँदा व्यवसायीहरु, नीति निर्माताहरु, सरकारका प्रतिनिधिहरु र स्थानीयहरुको सहभागितालाई परिणाममुखी बनाउन बलियो, विश्वसनीय र तथ्यपरक राष्ट्रिय तथा स्थानीय दृष्टिकोणहरु प्रस्तुत गरिनु पर्छ।

स्थानिय सरकारहरुले निरन्तर रुपमा आफूलाई भरपर्दो सहजकर्ता बनेर देखाउन सक्नु पर्छ। सरकारको कामकारबाहीमा लगानी तथा आर्थिक विकासको उत्प्रेरक तत्वहरु देखिन सक्नु पर्छ। जस्तै: छरितो र सहज निर्णय प्रकिया, 'रेड टेप' प्रवृतिको व्यवस्थापन, सार्वजनिक निजी साझेदारी सोचको विकास, संरचनाहरुको आधुनिकीकरण, सक्रिय र अर्थपूर्ण समन्वय, लगानीकर्ता प्रतिको सम्मान आदि ।

र अन्तमा
लगानीको निम्ति करमा भारी छुट दिईने छ भन्ने बिषयले जुम्लाका स्थानिय स्तरमा एकखाले विवाद सुरु भएको छ। लगानी योग्य वातावरण दिन करका दायाराहरुमा समय-सापेक्ष यथोचित सुधार गर्दै जानु अनिवार्य हुन्छ।अर्को विचारणिय पक्ष के हो भने स्थानीयबासीहरुको जमिनको स्वामित्व बचाई राख्न विशेष व्यवस्था गरिनु पर्छ नत्र लगानी, विकाश, समृद्धिको खोजमा कर्णालीबासी आफै भुमीहीन बन्न नपरोस् !