
नागरिक अधिकारको प्रयोग हुने अवसरहरु मध्ये मतदान पनि एक हो। मैले बालिग भएदेखि नै यो प्रयोग गरेको छुँ। कतिपय मानिसहरु यसको औचित्य नै छैन भनेर पनि भन्छन। र, भोट किन हाल्ने भनि बहस पनि गर्छन। त्योपनि अधिकार नै होला। नेपालमा भोट नहाल्नपनि पाइन्छ। तर, राइट टू नो भोट अथवा नेगेटिभ भोटिङ्गको सुबिधा छैन। म भोट हालेर सहि मान्छे चुन्नुपर्छ भन्ने मान्छु। त्यसैले सकेसम्म प्रयास गर्छु। समग्र कर्णालीको सन्दर्भमा भन्नु पर्दा त्यस ठाउँबाट राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने, निर्णयलाई कर्णालीका जनताको हितमा लागु गराउने र जन-आकांक्षालाई सहि प्रतिनिधित्व गर्ने नेतृत्वको अभाव संधै खड्केकोछ। केहि अपवाद बाहेक। राजनीति स्थानीय चलखेल र आश्वासनमा बढी निर्भर गर्छ। बिगतमा प्रायजसो यहाँको जनमत राष्ट्रियधार भन्दा फरक हुने गर्थ्यो। जसलेगर्दा यताका एजेन्डाहरुले प्राथमिकता नपाउने र स्थानीय नेताहरु काठमाडौँका हेभीवेट प्रभावी नेताका नजरमा पनि टाढै पर्थे। बृहत बिकासका अबधारणा भन्दापनि राजनीति चामल, नून, केहि जागिर, धारा, कुलोजस्ता तत्काल आवश्यक नारामा सिमित हुन्थ्यो। राजनितिक सिद्दान्त कम, व्यक्तिगत प्रभाव बढी हुन्थ्यो। त्यतिबेलाको परिस्थितिमाथि मैले 'नूनको बिरुवा' शिर्षकको एउटा कबिता कोरेको थिएँ। त्यसको केहि अंश -
नूनको बिरुवा
ए दाइ,

एउटा नासो ल्याइदिनु
नबिर्सी सम्झेर ल्याइदिनु
फर्किंदा हाम्रो घरको लागि
यौटा नूनको बिरुवा ल्याइदिनु।
कैले भोटबाट नून किन्यौं
कैले भोटसंग नून साट्यौ।
भोट लिएर गएकाहरु फर्केनन्
हराए सहरमै अर्को सिजनसम्म
चिन्तित छ सानी भोट खेर गएकोमा
त्यो भोटले बिकास ल्याउने रहर थियो
त्यो भोटले सपना रंग्याउने चाहना थियो
यदि नूनको बिरुवा ल्याइदिनु भए
हुर्काउने छौं पसिना सिंचेर
आफ्नै आँगनमा प्रेमपुर्वक।
अनि दुईछाक नूनहालेर खानपाए
त्यो भोटले हामि सपनाबरु बुन्ने छौं
हामीले चाहेको झैं सुन्दर परिकल्पना।
त्यसैले, ए शहर जाने दाइ
बिन्ति, एउटा नासो ल्याइदिनु
नबिर्सी सम्झेर ल्याइदिनु
फर्किंदा हाम्रो घरको लागि
यौटा नूनको बिरुवा ल्याइदिनु।
अघिल्लो चोटीको संबिधानसभा चुनावमा सन् २००८ अप्रिल १० को लागि पनि भोट हाल्न म गाउँ गएको थिएँ। बिष्णु डोटीबाट आए, म हेटौडाबाट। हामिले त्यतिबेला भर्खर खुलेको कर्णाली राजमार्गको बाटो निकै जोखिम र रोमाञ्चक यात्रा गरेका थियौं। (त्यतिबेलाका केहि फोटोहरु पछि अपडेट गरिनेछ)
यसपाला बैद्यलगायतका समुहले आव्ह्वान गरेको यातायातबन्दले प्लेनको यात्रा गर्नुपर्ने भयो। यौटा ट्राभल एजेन्सी (भिजिट कर्णाली)ले काठमाडौँ - नेपालगंज - जुम्लाको टिकट व्यस्थापन गरिदिने कुरो गर्यो। यौटा एयरलाईन्सले त्यो सेवा दिँदो रहेछ - यति र ताराले। झन्डै रु १३,००० एकतर्फी भाडा । निकै महँगो। तर, छुट्टाछुट्टै लिनुपर्दा अँझ महँगो पर्न जाने। त्यसमाथि, कतिपय अबाञ्छित टेन्सन। त्यसैले मैले किनें। महँगो भएपनि एकै दिनमा पुग्न सकिने। र, चुनावी चहलपहल हेर्न भ्याइने।
बाटो भरि उही चुनाउकै चर्चा। एयरपोर्ट टर्मिनलमा, र्याम्पबसमा, र प्लेनको सिटमा समेत। अनेक थरि गेस। चुनाव नहोलाकी भन्नेपनि भेटिए। संधैं झैं नेपालगन्जबाट जुम्ला उड्ने हवाइजहाजको कुनै टाइमटेबल थिएन। ११:०० बजे हुन्छ कि। काउन्टरमा पटक-पटक सोधनी गरिरहनु पर्ने। बाहिरफेर घुम्न जाउँ भने फुत्किने हो कि भन्ने डर। यस्तैमा खेमराज श्रेष्ठजी दुइटा मिडियाकर्मी केटाहरु संग भेटिए। उनीहरु म.स्व.से. दिवसको लागि सामग्री संकलन गर्न जुम्ला जाँदै रहेछन। गफ गर्यौं। एयरपोर्ट भरि उही गफ, कसले जित्ला। हामि १२:०० बजे तिर तारा एयरमा जुम्ला उड्यौं।
गाउँबाट देखिने दक्षिण-पश्चिमी दृश्य - गाउँ, खेत, तिलानदी, जंगल र खुला आकश । बातावरण निकै चिसो तर राजनीति निकै तातेको थियो । |
It is really interesting to read your blog and forgot that you travelled to Jumla but not me. Excited to read next episode of this series. Thanks for sharing wish you all the best for continued and wonderful writing.
ReplyDeleteLa sathi, timro ramro kabita pheri ekpatak padna paiyo. Baudhama timro kothama timile sunako yaad pani taaja bhayo !
ReplyDelete