


चौथोदिन। उठ्न मन नलागी नलागी उठ्यौं। चिया खायौं। रु १५० प्रतिव्यक्ति तिरेर होटेल छोड्यौं। बाहिरको वातावरणमा मीठो चिसोपना फैलिएको थियो । आज घुर्चीलाग्ना पार गर्नुपर्छ। ३-४ घण्टा लाग्छ होला । यो उकालो सबैभन्दा लामो/अफ्ठ्यारो बाटो हो। घाम चर्के थाकिन्छ। छिटै हिड्यौं। अगाडी खोलाको छेउबाट बाटो जंगल भित्र छिर्यो - सल्लैसल्लाको जङ्गल एकघण्टा उकालो पछि सानो चौर आयो। घामले भेट्यो। भेडाका बथान भेटिए। घाममा उग्राईरहेका चिल्ला/सुन्दर गाईका बथान पनि भेटिए। तेस्रो/हल्का उकालो बाटो पहाडको भित्तैभित्ता जंगलैजंगल गयो। बाटोमा कतै खोस्रिएको जमीन देखिन्थ्यो - बँदेलले खोस्रिञ्छ भन्थे। कोही बटुवा भेटिएनन्। तल पिनागाउँ थियो। गमगढीबाट आउनेबाटो त्यहिबाटै उकालो सुरुहुन्छ। उकालोको बीचतिर दोबाटो आयो - मुगुजाने र राराजाने बाटो फाट्ने ठाउँ। त्यहाँ सुस्ताउँदै गर्दा खानेपानी सकियो। अझैं उकालो बाँकी छ। अघाडी रुखको बीचबाट थोरै आकास देखिन्थ्यो। क्षितिज नजिकै लाग्थ्यो। उकालो सकेझैं लाग्थ्यो । तर अरु चढ्नुपर्थ्यो। घुर्ची पुग्नै लाग्दा ओरालोमा जर्मनी र स्विट्जरल्याण्डका ३ जना (२ महिला र १ पुरुष) टुरिस्ट र उनीहरुका गाईड, पोर्टर र खच्चर भेटिए। उनीहरु ५० दिनको यात्रामा रारा, फ़ोक्सुण्डो, मनाङ्ग हुँदै पोखरापुग्ने रे। हामीले उनीहरुको खर्चको हिसाब निकाल्दै घुर्चीलाग्ना पास गर्यौं। डाँडो बुकीले भरेको थियो। पूर्वतिर हिमशृंखला देखिन्थ्यो। केहीबेर आराम गरेर हिड्यौं।

१५ मिनेट झरेपछि भुलभुले आर्मी चेकपोष्ट आयो। मुगुको रोड यताबाट आयो। आर्मीले बटुवा र सवारी दुवैको इन्ट्री गर्ने रहेछ। अचेल धेरै दिन भयो गाडी चलेका छैनन् रे । यता चल्ने मोटरसाइकल, ट्रयाक्टर, स्वराज ट्रक र भाडाका केही साना गाडी। पानी माग्यौं। डियुटीमै भएको आर्मी आफैले गएर पानी भरेर ल्यायो। पोष्ट खाली थियो। थोरै ओरालो झरेपछि एकहुल यात्री भेटी। रारा घुम्न आएका व्यापारीहरुको टोलि रहेछ। ट्रकको पछाडीबसेर आएको सातो उड्यो भन्दै थिए। एउटा अधबैंसेले हाम्रो लठ्ठी माग्यो। दियौं। अलिवर होटल भेटिए। केही बाईक, एउटा ट्रक, एउटा स्कोरपियो गाडी रोकेको थियो। हामीपनि यतै खाने गरि बस्यौं। ११:३० बजेको थियो।
यहाँ थरीथरी यात्री भेटिए - एउटा - नेपालगंजबाट आफ्नै गाडी ल्याएर आएको तर गाडी दैलेखतिर कतै बिग्र्यो, लोकल गाडीमा नाग्मसम्म पुगेर यो स्कोरपियो भाडामा लिएर रारा जाँदै गरेको समुह। भाडा रु ३५ हजारमा दुईदिन। अर्को - तानसेन, पाल्पाको व्यापारीको समूह। उतैबाट ३ बाइकमा ६ जना आएका। थाकेर परेशान। 'बाईक यतै बेचेर जुम्लापुगेर प्लेनमा जाउँ जस्तो भैसक्यो' सुनाउंदै थिए। अर्को ४ जना मकवानपुरबाट बाईकमै आएको ग्रुपपनि थियो। हामीले पहिलोदिन भेटेका थियौं भक्तपुरबाट हिडेका ७ जना बाईकर्सको समूह। अचेल एडभेन्चर ट्राभलमा हिड्ने यूवाहरु निकै हुन थाले। सबैसंग एक्साइट्मेण्ट थियो।


खानाखाएर हामी ओरालो हिड्यौ। खोलैखोला। ओखरको जंगल थियो। सबै हाडे ओखर। केही टिप्यौ। बाटोमा बिस्रामको बेला फुटाएर टाइमपास गर्न काम लग्यो । चौथा बजार पुग्यौं। यताबाट पश्चिमतर्फको बाटो बोतामालिका हुँदै सिंजाउपत्यका जान्छ। हामी दक्षिण-पूर्वको बाटो काब्रा हुँदै न्याउरीगाड तिर लाग्यौं। बाटोमा जुम्ला-रारा अल्ट्रा म्याराथनको तयारीको लागी हिंडेका भोलेण्टिएर र अफिसियलहरु भेटिए। पर्सि शुक्रबार, अक्टोबर १० मा दौड हुञ्छ । मेघराजजीहरुको टोलीले हामीलाई भेटे र अघि बढे। आज खाली (डाँफेलाग्ना नजिकै) बासबस्न पुग्ने भनेका थिए तर जंगलको बाटो अबेर हुनसक्ने भएकोले न्याउरिगाडमै बसेछन। एकछिनमा भेट्यौं र हामीपनि त्यहिँ बस्यौं। आलु उसिन्न लगायौं। टिमुर हालेको अचारसंग त्यो निकै स्वादिलो भयो। थाकेको ज्यान झ्याप्प सुतेछौँ। ९ बजेतिर खाना उठ्यौं। यात्राको अन्तिम रात।
बिहिबार, अक्टोबर ९, २०१४: बिहान ४ बजे तिरै एउटा मान्छे सबै ढोका ढक्ढक्याउन पुग्यो। उठ्नुहोस्। उज्यालो भैसक्यो। जाउँ। त्यसले सबैलाई डिस्टर्ब गरेको रहेछ। त्यो हिजो धेरै रक्सिखाएर सुतेको मान्छे थियो - मुगुतिर जाने। हामीले चिया खाएर ६:३० तिर मात्र होटेल छोड्यौं। यता रु २०० प्रतिव्यक्ति तिर्यौं । झोलुङ्गेपुल तरेर केहि तेस्रो अनि उकालोबाटो चढेर करिब साढे दुईघण्टामा हामी खाली पुग्यौं। मेघराजजीहरु उतै हुनुहुथ्यो। चाउचाउ र चिया खायौं। र संगै हिड्यौं। यताबाट यौटाबाटो पूर्वतिर पट्मारा जान्छ। हामी दक्षिणतर्फ उकालो चढ्यौं। केहीदिन पहिले यो बाटोमा यौटा पुलिक व्यापारीको मर्डर भएको रहेछ। यतै पसल गर्ने एकजना माथि अभियोग रहेछ। हामी अहिले दिउँसो, उज्यालो र समूहमा हिडेकोले डर लागेन। यता बाटोमा पतारासी र कान्जिरोवा हिमालको सुन्दर दृष्य देखिए। त्यो पल्लोपट्टि डोल्पा पर्छ।

जसै हामी डाँफे पुग्यौं जुम्लाभ्याली छर्लंग आँखामा आयो। पुरा बर्डआई भ्यू देखियो। उता भुरिचुलामाईको डाँडोदेखि चिमारामालिकासम्म। पारीपट्टी ठाकुरज्यूजाने बाटो नाना हाँका, पर दैचाउले र पुरा पाटन। तल जुम्लाबजार, एयरपोर्ट, खोलिकोट, बुड्थबाडा, सिम्खाडाका बस्तीहरु, केटिएसको प्रांगण, पावरहाउसको रिजर्भायर, चेरेचौर सबै छ्याङ्ग देखिने। दुरबिनले नियाल्यौं। एकछिन आराम गर्यौं। र यात्राको अन्तिम उकालो क्रस भै सकेको थियो र हामी अन्तिम ओरालो झर्यौं। थाकेको खुट्टा ओरालोमा कापेंका हुने। पुष्पा उछिट्टियो र निधारमा टुटुल्को उठ्यो। चेरेचौरमा फेरी केहिबेर आराम गरेर हामी केटिएसको कम्पाउण्ड भित्रको बाटोहुँदै पावरहाउसको पोखरी छेउ आएर फ्रेशहुन बस्यौं। गाउँका फुच्चेहरु पोखरीको एउटा बेवारिसे डुंगाबाट डाईभगर्दै नुहाउँदै थिए।
केटिएस मैले २ बर्ष बिताएको ठाउँ हो। करिब २० बर्ष पहिले । बीचमा एकपटक गएको थिए। आज कपील र पुष्पालाई बयान गर्दै हिडेको छुँ। उनीहरुलाई यो निकै रोमान्चक लागेको छ। तर, यो प्रांगण मैले छोड्नेबेलाको जस्तो पटक्कै छैन। निकै खस्केछ। बाटो, भित्ता, चौतारो र चौर सबै फोहर लग्यो। त्यस्तो झकमक हुने ठाउँमा एउटै फूल देखिनं। भत्केको,मैलो घर, माकुराको जालो परेको अफिस घर। सबै हेर्दा टिठलाग्दो देखें। कुनैबेला यो ठाउँलाई जुम्लाको स्विट्जरल्याण्ड पनि भानिन्थ्यो। नरमाइलो लाग्यो। राजनीति र आन्तरिक किचलोको परिणाम होला।
हामी करिब २ बजेतिर जुम्ला खलङ्गाबजार पुग्यौं। बाटैमा टेकेन्द्रजी भेटिनु भयो। अल्ट्राम्याराथनको रजिस्ट्रेशन फारम हातमा थियो। यत्रो ५ दिनको ट्रेकिंगबाट फर्केको कसरी दौडन सक्नु ? हिडेर भएपनि भागलिनैपर्ने जिद्दी गर्नु भयो। भरेँ। उता बजारमा नारायणजी भेटिनु भयो। आयोजक। उहिल्यैदेखि भागलिन भन्नुहुन्थ्यो। आयोजकले अनुमान गरेभन्दा धेरैले भागलिन उत्साह देखाएछन्। टिसर्ट त सकिए छ। अनि आफुले लगाएको फुकालेर दिए।
पुष्पाहरुले बाटोमा च्यातिएको जुत्ता सिलाए। भोक लागेको थियो तर हामी घरतिर लाग्यौं। बसहरु अचेल नयाँ बसपार्कमा पाइने रहेछ । हामी चोकमा पुग्दै गर्दा ठिक्क एउटाबस आयो। अन्तिम ७ किमीको बाटो गाडीमा घर पुग्यौं। यात्रासुरु गरेको पाचौंदिन बेलुका ५:३० बजे हामी राराको नेचुर एडभेन्चर ट्रेक सकेर सकुसल घर पुग्यौं। पुष्पा भन्दै थिई 'ओहो, यतिधेरै फन एक्स्पेरिएन्स, मेरो साथीहरुलाई सुनाउने स्टोरी कहाँबाट स्टार्ट गर्ने होला?'
(समाप्त)
No comments:
Post a Comment