
सानोमा डण्डीबियो खेलिन्थ्यो। क्रिकेटबारे त म केहिवर्ष अघिसम्म पनि अनभिज्ञ थिएँ किनकि स्कुले जीवनमा जुम्लातिर यो खेलको कुनै चर्चा हुन्थेन। चौधरी सरले क्लास रुममै पानासोनिक रेडियो कानैमा टाँसेर सुनेको कुरो त क्रिकेट कमेण्ट्रि रहेछ भन्ने निकैपछि मात्र बुझें। त्यो बेला राम्ररी नेपाली बोल्ने बानी सम्म थिएन, हिन्दीको त कुरै भएन। त्यसैले केहि बुझिएन, चासो राखिएन। निकैपछि यौटा जाडोयामका केहि दिन हुम्लामा बिताउनु पर्यो। चिसादिन बिताउन कि साथीभाई मिलेर तास खेल्नु पर्थ्यो कि रक्सिको माहोलमा बिताउनु पर्थ्यो कि सुत्नु पर्थ्यो। क्रिकेट बुझ्ने दुइटा साथीहरुको संगत मिल्यो। त्यतिनै बेला क्रिकेट विश्वकप चलिरहेको थियो। उनिहरु संगै धेरै म्याच नियमित हेरियो। अनि थोरै बुझें। तर, क्रिकेट बारेको खास चासो त २०१३मा काठमान्डूमा नेपाल एसिसि २०/२० को फाइनल अफगानिस्तानसंग खेल्दा मैदानबाटै लाईभ हेर्दाताकाबाट सुरु भयो। त्यसको अर्को वेभ त नेपाल T20 World Cup खेल्न २०१४ मा बंगलादेशमा खेल्नजाने भएपछि सुरु भयो। जताततै चर्चा र चासो सुरु भयो। त्यो त मुख्य क्रिकेट भयो। तर क्रिकेटका अनेक रुप र आयाम मध्ये नेपालमा भर्खर भित्रिएको 'इन्डोर क्रिकेट' पनि एक हो।
यो रुपको बारे चासो बढ्यो। सन् १९७० तिर नै सुरु भएको इन्डोर क्रिकेटको आधारभुत कुरा मूल क्रिकेटसंग मिले तापनि पिच, रन लिने तरिका र खेलाडी संख्याले गर्दा यो भिन्न छ। यसमा ६ वा ८ खेलाडी हुन्छन। पिच पुरै हुन्छ तर ब्याट्समेनले रन लिंदा आधि पिचमात्र दगुर्छ। हरेक खेलाडीले २ ओवर बल गर्छ भने ब्याटिंगमा एकजोडीले ४ ओभर पार्टनरशिप गर्छ। स्कोर दुइ तरिकाली गर्छ - फिजिकल रन र बोनस रन। बोनस रन बलले नेटमा छोएको आधारमा मिल्छ तर त्यो रन लिन फिजिकल रन लिनै पर्छ। यो खेलमा खेलाडी आउट हुदैन तर परम्परागत क्रिकेट झैँ हुने आउटको बेला नेगेटिभ ५ मार्क मिल्छ। जुन रन संख्याबाट काटिञ्छ। त्यसैले यो खेल निकै अन्प्रिडिक्टेवल हुनजान्छ र रोमान्चक बन्छ। यसबारे थप बुझ्न More on Indoor Cricket मा जानुहोस।