केहीदिनको मुगु यात्राको सिलसिलामा म अप्रिल १, २०१८ बिहान ७:३० बजे नेपालगंज उडे | मलाई कति छिटो मुगु पुगुँला र सुन्दर राराको अवलोकन पनि
गरुँला भन्ने उत्साह र हतार थियो | समयमा नेपालगंज पुगें र सिधै काठमाडौँबाटै मुगुको लागि भनेको टिकटको लागि ट्राभेल एजेन्सी भएको ठाउँ गएँ। तर, एजेन्सीले मलाई निराश बनाएर पठायो भन्यो कि आज तपाईले टिकेट पाउन सक्नु हुन् किन कि त्यहाँ त राराकर्णाली महोत्सब शुरु हुन लागेकोले बैसाख पहिलो हप्तासम्म टिकट पाउन गाह्रो छ | लौ पर्यो फसाद! अब के गर्ने होला ? कति धेरै सपना देखेको थिए, परिवारलाई पनि मुगुबाट फर्किने बेला रारा बोलाउछु रारा घुमाउछु भन्नेदेखि अरु कति कति........तर ति सबै सपना त नेपालगंज विमानस्थल मै चकानाचुर भए जसो लाग्यो | अब के गर्ने गर्ने अरु धेरै ठाउँ बुझे तर टिकट पाउन गाह्रो भयो | केहि नलागेपछि सडक मार्फत जान्छु भनि बसपार्क तिर गएँ र धेरै प्रयास गरे तर मुगु भन्ने बितिकै बस काउन्टरदेखि ट्राभेल एजेन्सीसम्म नाक बांगो बनाउन थाले। त्यो प्रयास पनि सम्भब नभएपछि आज म नेपालगंज बस्ने निर्णयमा पुगेँ |
दोस्रो दिन प्लेन टिकटको लागि धेरै ठाउँमा प्रयास गरे तर भोलिको लागि पाउला जसो छ भनि आश्वासन मान्छे त बिहानै मोबाइल अफ गरेर गायव छ। अब के गर्ने होला ? अब जे होला होला भनि सबेरै एयरपोर्ट गएँ र समान चेकइन गरी सिधै काउन्टरमा ताल्चा एयरपोर्ट (मुगु) जाने सबै एयरलाइन्सको डेस्कमा गएर भनें - 'म संग टिकेट छैन तर म जसरी पनि मुगु जानु पर्नेछ।' तर कसैबाट पनि टिकट मिल्ने प्रतिक्रिया पाइएन |
अन्ततः एकजना एयरपोर्ट भित्रकै मित्रको सहयोगमा धेरै बादविवाद गरेर टिकेट पाउन सफल भएँ। युद्द जिते झैँ लाग्यो | नेपालगञ्जबाट रारा जाने प्लेनको सिट नपाउने तर राष्ट्रिय ध्वजा बाहक जहाज चै आधा प्लेन खाली हुन्छ रे । यसको कारण निजि बिमान कम्पनीका प्रतिनिधिले कमिसन दिने भएर यसो भएको भन्ने कुरा सुन्नमा आयो | मेरोपालो भन्दा पहिले २ वटा प्लेन उडे - एउटा तारा र एनए NA । लगभग २ घण्टापछि ताराको जहाज फर्कियो रारा जाने सबै यात्रुहरु प्लेनतिर हानिए। यस्तो दृश्य देखियो कि त्यो जहाज नभएर काठमाडौँको रिंगरोडको महानगर बस जसो न कुनै सरसफाई न कुनै परिक्षण। सिधै झर्ने यात्रु झरे अनि चड्ने यात्रु चढे | म संग विमानमा सवार लगभग १० जना बिदेशी साथीहरु थिए | प्लेन उड्यो।
विदेशीहरु भएर हो कि सँधै धै यस्तै हो थाहा भएन तर आज विमानले यति राम्रो संग राराको अबलोकन गराई दिनु भयो कि बास्तमै अविस्मरणीय रह्यो त्यो पल | राराको सुन्दर अबलोकन पछि बिमान अवतरणको समय भयो। विमान पहाडमै ठोकिन्छ झैँ लागेर यात्रु सबै आतिए पनि सजिलै अवतरण गर्यो |
विमानस्थल बाहिर एकजना परिचित दाईलाई भेटें। मैले 'दाई मलाई त् टिकेट पाउन सारै गारो पो भयो त' भनेको त उहाँले जवाफ दिनु भयो 'भाई यहाँको चलन नै यस्तो छ के गर्ने म पनि मुस्किले टिकट मिल्यो भनि आको तर म आएको विमानमा ६ वटा सिट खाली थियो " | उहाँ केहिसमय अगाडी NA को प्लेनबाट मुगु आउनु भएको रैछ।
अब म जानु पर्ने गमगडी। गाडीको मनपरी रहेछ। जम्मा ५ कि.मि. दूरी छैन भाडा ५०० रुपैया रे | ल अब स्वीकार्नै पर्यो। अर्को बिकल्प नै छैन।
गमगडी बजारमा होटेलको खोजि गरे। एउटा होटलमा गएको जम्मा ४ रूम थिए तर सब प्याक। अर्कोमा गए त्यहाँ पनि त्येस्तै। अनि साथीलाई फोन गरे एउटा होटेलको नाम दियो । होटेल भिजिट कर्णाली। त्यहाँ रूम भेटियो अनि बसियो २ दिन गमगडीमा र आफ्नो काम सफलता पुर्बक सम्पन्न गरे |

१० बजे तिर रारा पुगियो | आहा!!!! आकाशबाट देखिएको त्यो दृश्य अनि जमिनबाट हेर्दा साचिकै रारा त स्वर्ग कि अप्सरा नै रहिछिन |
राराको दृश्याबलोकन पछि हामीले रारामा अबस्थित होटेलमा खाना खाने गयौं र भबिस्यमा साथीहरुलाई घुमघाममा सहज होस् भनि केही सूचना संकलन पनि गरें।
होटेल र स्थानीयस्तरको सुविधाको वास्तविकता (मैले जे देखे)
- होटेल २ वटामात्र छन् पुरा मनोमानी ग्राहक अनुसार लुटतन्त्र देखियो। अझ सुनेको त दुईमध्ये एउटा होटल माओवादी र अर्को होटल एमाले नाम नै स्थानीय रुपमा परिचित रैछ। कांग्रेसले होटल अनुमति पाउन असफल भएछ रे
- काठैकाठका घरभएको होटलको एक रुमको रु दुई हजार भाडा र टेन्टको दुई हजार पाच सयसम्म पर्छ रे
- फलफुल र ड्राई फुड पनि खासै नपाउने। नौ रुपैयाको पानीलाई ७० रुपैया पर्छ। ६० रुपैयाको चाउचाउ र ७० रुपैया पर्ने बिस्कुट किनेर खाएं
- मुस्किलले ५०-६० जना भन्दा बढी पाहुना राख्न सकिने ठाउँ छैन। रूम प्याक भएको बेला भयो भने न खाना पाइन्छ न बस्न त्यसको विकल्प नै छैन
- बच्चा र परिवार सहित गएका मान्छेहरुको बिचल्ली देखियो । गाडी बिग्रेर बिचार पर्यटक यात्रुको बिचल्ली पनि बाटोमा कहाली लाग्दो अवस्था देखियो। बाटोको अवस्था झन् बर्णन इन्द्रले पनि नसक्ने
- राराको बिकासको लागि १६ करोड खर्च भैईसकेको जसको नतिजा हेर्दा लाग्छ १६ हजार पनि खर्च भएको छैन कि जसो
- स्थानीय मान्छेहरुले त्यहाँ आउने पर्यटकबाट कुनै किसिमको फाइदा लिन नसकेको
- रारा बाट फर्किने जुनसुकै यात्रुलाई सोधे पनि निराशा मात्र देखियो जुन म आफै पनि भएँ

यी सबै तितामीठा कुराहरुको अनुभव गर्दै रारा सुन्दरताले बिर्से झैँ गरि लागियो पिना गाउँ तिर, जहाँ बिकट, राज्यका सेवा र सुबिधाहरुबाट बन्चित तर स्वभिमानी निस्वार्थी जनताको बस्ति। त्यो समुदाय संगको बसाई पनि अविस्मरणीय रहयो |
पिना गाउँबाट १६ घण्टामा जुम्ला पुगियो। मैले त्यो यात्रालाई सहासिक यात्रा भन्न रुचाएँ .तत्पश्चात म स्थल मार्ग कालिकोट हुदै नेपालगंज यात्रा तय गरे।|
मेरो राज्य तथा सरोकारवालाहरुलाई सुझाब:
- प्रकृतिले यस्तो सुन्दर ठाउँ दिएको छ कि (रारा) हाम्रा नेताहरुलाई त्यो भाषणमा बेच्नलाई पुगेको छ | प्रकृतिले त् दियो अब सरकारले बाटो देओस, स्वास्थ सेवा देओस, सुरक्षा देओस र अन्य भौतिक बिकाशका पूर्वाधार देओस |
- टेलीफोनका कुनै सिमको नेटवर्क पाउन साइत नै जुर्नु पर्छ | त्यसको क्षमता बढाउनु पर्यो |
- नेपालगंजबाट मुगु आउन यात्रा नै कठिन छ। मोटरबाटोको यात्रा लामो जटिल छ। हवाई यातायातमा धेरै नै राजनीति रैछ त्यसको अन्त गरोस |
- नेपालगञ्जबाट रारा जान प्लेनको सिट नपाउने तर राष्ट्रिय ध्वजाबाहक जहाज चै आधा प्लेन खाली रारा आउने। कमिसनको कारण यसो भएको भन्ने कुरा सुन्दा मन सारै रोयो यस्तो कमिसन तन्त्रको अन्तहोस् |
- बायु सेवा निगमले आफ्नो विमानस्थल काउन्टरमा कति सिट बुक भए अनि कति बाकी छन् भन्ने कुरा यात्रुलाई सूचना पाटिबाट जानकारी दिने व्यवस्था गरोस |
- ताल्चा विमानस्थल बाट मुगु गमगाडीको दुरी जम्मा ५ कि.मि पनि छैन तर भाडा दर रु. ५०० देखि ५००० लाग्छ यो के स्वभाबिक भाडा हो र ? यो अनुगमन कसले गर्छ | अनुगमन होस् |
- भएका होटेलमा पनि करको बिल अनि कर बिबरण र जानकारी कुनै पनि छैन, सरकारलाई बलियो बनाउन कर संकलन प्रणाली बलियो होस् |
- रारामा भएका २ वटा होटल त्यहाँ बाट तत्काल हटाइयोस या त्यहाँ प्रयाप्त होटल खोल्ने अनुमति सरकारले देवस |
- कर्णालीको बिकाश नेपाली ठेकेदारहरुको सट्टा अन्तरास्ट्रिय टेन्डर गरेर बाहिरबाट ठेकेदार लाईयोस (चाइना उत्तम बिकल्प हुन सक्छ)
रारा आउन चाहनेहरुका लागि केही सुझाब:
- यथावास्थामा राराको सुन्दरताले जाउ-जाउ लागे पनि भौतिक बिकासको दृस्टीकोणले त्यति सहज छैन है त्यसैले मानसिक रुपमा तयारी गरेर मात्र जानु होला। विशेषगरी बच्चा र असक्तहरुलाई सास्ती हुन्छ |
- फलफुल, ड्राई फुड र पानीको व्यवस्था आफै गरेर हिड्ने । टेन्ट र स्लिपिंग ब्याग पनि साथमा लैजानु बेस।
- यदी आफै गाडी लगेर जानु हुन्छ भने गाडी राम्रो संग बनाएर जानुस गाडी बिग्रो भने हरिबिजोग हुन्छ। सबै गाडी त्यहाँ जान सम्भब छैन फोर व्हिल मात्र जाने हो।
- नेपालगंजबाट त्यस्तो गाडीले रिजर्बमा ४५ हजार भाडा लिन्छन
यी मेरा व्यक्तिगत र केहि स्थानीयहरुसँग बुझ्दाको अनुभव हो। म गलत भए सुझाबको अपेक्षा गरेको छु | धेरै अवसर छन् जस्तै यहाँका पर्यटकीय स्थान, बनजंगल आदि। कल्पनागरौँ - रेलबाट पानी जहाज मार्फत यहाँका ढुगा र चट्टान हरुलाई टापू नै टापू भएका देशलाई बिक्रि गर्यो भने मात्र पनि देश कता पुग्छ होला ? रारा मा केबलकार कति सुहाउथ्यो होला ?
आशा गरौँ अब मेरो पारिवारिक रारा भमण हुनेबेला त्यहाँ भौतिक बिकास भएको हुनेछ। राराको चारैतिर बाहिरपट्टि केवलकार चलेको हुनेछ। भरपर्दो रमणीय बाटोको यात्रा सहज हुनेछ र सजिलै प्लेन पाईने छ।
त्यहाँको प्रदेश सरकार र देशको सरकार ले के त्यो पुरा गर्ला ??