Saturday, November 2, 2019

हजार वर्ष खडी, हजार वर्ष पडी, हजार वर्ष सडी


गत साता तिलानदी बढेर जुम्लाको लाम्रा र हाँकु जोड्ने काठेसाँघु भत्कियो। तीन दशक पहिले पुनर्निर्माण गरिएको यो साँघु जीर्ण थिएन। सामान्य मर्मत नहुँदा र थोरै होशियारी नअपनाएका कारण भत्कियो।

नदीमा उर्लेको भेलले निरन्तर दबाव दिँदा एकापट्टिको पर्खाल भत्कियो र साँघु अड्याइरहेका बलिया खम्बा लडेर बगे। नदीको दक्षिणतिरका गाउँसँग आउजाउ एकाएक टुट्यो। अनि बल्ल थाहा भयो, स्थानीय समुदाय र सरकारसँग पुलको विकल्पमा कुनै तयारी रहेनछ।

यही तिलानदीको जुम्लाखण्डमा पूर्व चौधबीसदेखि पश्चिम रारालिहीसम्म करिब एक दर्जन साँघु झोलुंगे वा अरू कंक्रिटका पुलले विस्थापित भइसके। वा, हुने तरखरमा छन्। तर यो हाँकुसाँघु सबभन्दा ठूलो, दुई खण्ड जोडिएको निकै बलियो पुल थियो। परापूर्वदेखि अनवरत चलिरहेको र कहिल्यै यसरी सम्पर्क विच्छेद अनुभव नभएर होला कसैले यसको विकल्प सोचेनन्। यस्तै विपद नभोगेका र नदेखेका पुस्तामा पूर्वतयारी सोच कमजोर हुन्छ सायद।

केही दिन अवरुद्ध भए पनि स्थानीयले साँघु सामान्य मर्मत गरेर काम चलाएका छन्। विकल्प उपलब्ध नहुन्जेल आवश्यक मर्मत गरी भरपर्दो अवस्थामा पुर्याउन लागि परेका छन्। पुल उपभोग गर्ने आसपास सबै गाउँका मिलेर काम गरिरहेका छन्। जंगलबाट भीमकाय रुख ढालेर, खुर्केर, ताछेर बनाएका बडेमानका काठ (स्थानीय भाषामा 'मैदान') तान्दै ल्याउने र बनाउने प्रक्रिया ज्यादै संवेदनशील, जटिल र केही जोखिमपूर्ण हुन्छ।

बाह्रै मास व्यस्त हुने स्थायी संरचना भएकाले निकै सुझबुझले काम गरिन्छ। अहिले नदी बढेको छ, असोज नभई पानी घट्दैन। त्यसैले नदीमा बलिया खम्बा गाड्न सकिन्न। जेनतेन 'मैदान' जोडेर मान्छे र जनावर आउजाउ गर्न मिल्ने कामचलाउ साँघु बन्नेछ।

पक्कीपुल आवश्यक भएकाले सरकारी योजनाको खोजीमा विभिन्न निकाय धाउने क्रम पनि सुरू भएको छ। अब गाडी चल्नसक्ने पुल चाहिएको छ। ढिलोचाँडो कुनै योजना आउने छ। कंक्रिट, फलाम र सिमेन्टको पुल पुरानो शैलीमा बन्ने छैन। काठेपुलप्रति मान्छेको चासो घट्नेछ। अनि, कर्णालीमा सामुदायिक सहकार्यमा बन्ने मौलिक शैलीको एउटा विशिष्ट नमूनाको अवसान हुनेछ।

कुनै विशेष यान्त्रिक वा आधुनिक पद्धति नअपनाई सम्पूर्णतः स्थानीय समुदायको श्रमदान र रैथाने सीप प्रयोग गरी बनाइने यस्ता साँघुको ऐतिहासिक, साँस्कृतिक र पर्यटकीय महत्व छ। यसबारे चर्चा र संरक्षण गरिनु आवश्यक छ।

कर्णालीका नदीहरूमा परापूर्वकालदेखि नै स्थानीय ज्ञान, प्रविधि र सीपबाट बन्ने काठेपुल मौलिक र विशिष्ट हुन्छन्। यस क्षेत्रमा बाह्रैमास बग्ने साना तथा मझौला नदी तर्न काठबाट बनेका साँघु बनाइएका हुन्थे। धेरै गाउँबस्ती जोड्ने स्थानमा विशेष खाले बलियो, टिकाउ र स्थायी प्रकृतिका साँघु पाइन्छन्। साँघु बनाउन सामान्यतया नदीले कटान गर्न नसक्ने, नदी साँघुरिएको स्थान छानिन्छ।

अन्त भन्दा जुम्लाका साँघु विशिष्ट र बलिया हुनुको कारण निर्माणमा प्रयोग गरिने देवदारको काठ हो। जुम्लाका जंगल र बस्तीमा देवदार पाइन्छ। तराई-पहाडमा वरपीपलको चौतारी भएझैं जुम्लामा देवदारमुनि चौतारो हुन्छ। देवदारलाई स्थानीय भाषामा 'द्यार' भनिन्छ। यसको काठ एकदमै बलियो, पानीले नकुहिने र कीरा नलाग्ने हुन्छ। देवदार अग्लो र लामो आयुको हुन्छ।

त्यसैले द्यारकाबारे स्थानीय भनाइ प्रचलित छ, 'हजार वर्ष खडी, हजार वर्ष पडी, हजार वर्ष सडी'। अर्थात् देवदार दीर्घजिवी हुन्छ।

देवदारको जंगल मासिएको छ। नयाँ रोपिएको छैन, भएकाको संरक्षण छैन। जुम्लाका दक्षिणी मोहोडा परेका डाँडा सुख्खा-नांगा देखिन्छन्। ती ठाउँमा पहिले देवदार र सल्लाको जंगल हुन्थ्यो। रुख काटिए, नयाँ रोपिएन। खुल्ला जमिनको चिस्यान सकियो, भूक्षय भयो, उर्वरता सकियो।


वन विनासको यो क्रम करिब सय वर्षअघिबाट सुरू भयो।

सन् १९३० दशकमा जुम्लाबाट देवदार काठको व्यापक चोरीपैठारी गरी भारत पुर्याइन्थ्यो। ब्रिटिस इष्टइन्डिया कम्पनीले उत्तर भारततिर रेल्वेसेवा विस्तार गर्दा बलियो काठ चाहियो। त्यसका लागि उच्च पहाडी क्षेत्रबाट समेत काठ आपूर्ति गरियो। त्यति बेला जुम्लाबाट देवदार काठ तिलानदीमा बगाएर कर्णाली हुँदै राजापुरको बाटो भारत पुग्थ्यो भनेर सन् १९६७ तिर जुम्लामा पन्ध्र महिना बसेर अध्ययन गरेका बेरी सी बिशपले आफ्नो किताबमा उल्लेख गरेका छन्।

नेपालमा देवदार कति छ, कहाँ-कहाँ र कुन प्रजाति पाइन्छ, यकिन छैन।

यसका प्रजातिमध्ये 'सेड्रस डियोडारा' अर्थात हिमालयन देवदार विशेषगरी अफगानिस्तान, पाकिस्तान, भारतको कश्मिर, हिमाञ्चल प्रदेश र पश्चिम नेपालको कर्णाली क्षेत्रमा पाइन्छ। पाकिस्तानले त देवदारलाई राष्ट्रिय रुखको दर्जा दिएको छ। यो समुद्र सतहको १५०० मिटरदेखि ३००० मिटरसम्म उचाइमा हुन्छ।

तर भारतको दार्जिलिङ, सिक्किम, अरुणाञ्चल र भुटानमा पनि यो प्रजातिको देवदार पाइन्छ। यसबाट नेपालकै पनि अन्य भागमा पाइने सम्भावना छ। तर सूचना पाइएको छैन। पश्चिम नेपालका उच्चपहाडी भेगमा देवदार जंगल छन्। संरक्षण र सम्वर्द्धन छैन। प्राकृतिकरूपमा बनिरहेका जंगल मानव गतिविधिका कारण नासिँदै छन्।

देवदार संकटमा छ। 'आइयुसिएन'ले यसलाई 'रेड लिस्ट'मा राखेको छ। यसबारे यथेष्ट अध्ययन-अनुसन्धान र अभिलेखको अभाव छ। अब स्थानीय सरकारको यसप्रति चासो बढाउन पर्छ।

देवदार बहुगुणी रुख हो। यसको काठबाट मूल्यवान सामग्री र फर्निचर बन्छन् भने प्रशोधन गरेर खोटो र तेलबाट पर्फ्यूम, स्प्रे, साबुन, औषधि बनाइन्छ। बोक्रा, पात, र फूलमा 'एन्टिफंगल' तत्व हुन्छ। यसको गन्ध स्थानीयहरूले कीरा, मुसा, सर्प भगाउन प्रयोग गर्छन्। यसको झोल पशुवस्तुको गोडामा घसेर कीरा भगाउने औषधिका रूपमा पनि प्रयोग हुन्छ।

देवदारसँग जोडिएका धार्मिक र आध्यात्मिक प्रसंग उत्तिकै रोचक छन्।

हिन्दुशास्त्रमा देवदारलाई पवित्र रुख वा काठ मानिन्छ। देवदार महादेवको प्रिय थियो। कामदेवले ध्यानभंग गर्दा महादेव देवदारकै रुखमुनि ध्यानमग्न थिए भन्ने विश्वास छ। ऋषिमुनिहरूले पनि महादेव उपासना गर्दा देवदारमुनि तपष्या गर्थे भनिन्छ।

मन्दिर छेउको देवदार पवित्र मानिन्छ। कर्णालीतिर प्रसिद्ध मष्टोको थान नजिक प्रायः देवदार भेटिन्छ। मष्टोलाई शिवको अंग मानिन्छ। थानमा सबभन्दा अग्लो रुख काटेर लिंगो ठड्याइन्छ। त्यो लिंगो सकेसम्म देवदारकै हुन्छ। देवदार नभेटिँदा झुलो वा सल्ला हालिन्छ।

देवदार संस्कृत 'देवदारू' बाट आएको नाम हो। 'देव' ‍भनेको देवता र 'दारू' भनेको काठ।

रावणले सीता हरण गरेर राखेको बाटिकामा होस् या पाण्डवहरूले विचरण गरेको जंगलमा, देवदारको चर्चा पाइन्छ।

बाल्मिकी रामायणको किस्किन्धाकाण्डको श्लोकमा सीता (वैदेही)लाई खोज्न जाने सेनालाई अर्ति दिँदै सुग्रीव भन्छन्ः

लोध्रा पद्मका खण्डेसु देवदारु बनेसुच।

रावाणय सह वैदेह्या मार्गितबव्या ततः ततः।

अर्थ- लोधरा र पद्मका रुख भएको र देवदारुको वन भएको ठाउँमा, रावणलाई सीता हित खोजिनु पर्छ।

पश्चिमतिर पनि यसलाई 'रुखहरूको राजा' भनिन्थ्यो। बाइबलमा ७७ चोटि लेबनानका देवदारबारे चर्चा छ। लेबनानको देवदार 'ईश्वर स्वयंले रोप्नुभएको' विश्वास गरिन्छ। देवदार पवित्रता, अनन्तता र शान्तिको प्रतीक मानिन्छ। लेबनानको राष्ट्रिय झण्डामै हरियो देवदार रूखको चिह्न छ। देवदार बचाउन लेबनानमा विशेष अभियान नै चलेको छ। 'क्रिसमस ट्री' पनि देवदारकै प्रजाति हो।

अब काठेपुल कै चर्चातिर फर्कौं।

पुल बनाउने विविध शैलीका आधारमा वर्गीकरण गर्दा काठेसाँघुलाई 'उडन कान्टिलिभर ब्रिज' अन्तर्गत राख्न सकिन्छ। यसप्रकारको पुलमा दाँयाबायाँका दुवै भुजामा बलिया खम्बामा भार बहन गर्ने बिम तेर्सो पारेर एकमाथि अर्काे पत्र राख्दै बीच वा केन्द्रतर्फ बढ्नेगरी मिलाएर राखिन्छ।

ती बिमले 'कान्टिलिभर' अर्थात् 'ब्राकेट' बिमको काम गर्छन्। त्यसमाथि हिँड्न मिल्नेगरी लामा-लामा मैदान मिलाएर राखिन्छ। छेउछेउमा उस्तै आकारका अरू मैदान जोडेर 'साइडबार' बनाइन्छ। त्यो सबै भार ती दुवै भुजामा राखिएका बिम र खम्बाले सन्तुलन गर्छन्।

काठेसाँघु संसारभर प्रचलनमा छन्। नेपालकै अन्य नदीमा पनि छन्। तर तिनमा साना र मसिना काठ, टुक्रा जोडेर वा केवल एक-दुई थान काठ मिलाएर नदी तर्न मिल्ने मात्र भेटिन्छन्। जुम्लामा पाइने परम्परागत र मौलिक शैलीका काठेसाँघु जस्ता अन्यत्र भेटिँदैन।

यो शैलीका पुलबारे अध्ययन र अनुसन्धान गरिएका जानकारी पनि भेटिँदैनन्। यद्यपी यस्तै आधुनिक पुल डिजाइनहरूको सर्वाधिकार भने विदेशतिर व्यक्तिगत नाउँमा दर्ता भइसकेको छ।

यस्ता पुल वा साँघु बनाउन धेरै स्रोतसाधन र जनशक्ति चाहिने हुनाले बाक्लो बस्तीमै बनाइएको पाइन्छ। पातला बस्ती आसपासका नदीमा सामान्य वा अस्थायी पुल हुन्छन्। हुम्लाकर्णाली, मुगुकर्णाली र भेरीकर्णाली जस्ता ठूला नदी तर्न भने सम्भव भएको ठाउँमा डुंगा, नाउ वा तुइन चलनमा थिए।

अचेल कैयौं पहाडी र हिमाली भेकमा झैं कर्णालीमा पनि झोलुंगे पुल विकासका सेतु बनेर भित्रिए। कैयो ठाउँमा ती पुलले टाढिएका बस्तीलाई निकट ल्याए, जनजीवन सहज गरे र परिवर्तकारी सिद्ध भए।

जुम्ला उपत्यकाको तिलानदी र सिंजा उपत्यकाको हिमनदीका कैयौं स्थानमा काठेसाँघु विस्थापित गर्दै बनेका झोलुंगे पुलले स्थानीय जनजीवनको आउजाउमा भने कुनै तात्विक भिन्नता ल्याएको छैन। न यात्राको दूरी र समय फरक परेको छ, न अरू सहजता थपेको। बरू त्यहाँको मौलिक शैली पूरै मासिएको छ।

झोलुंगे पुलको बाटोबाट गाईवस्तु तथा भेडाबाख्रा तार्न मुश्किल पर्छ। दिनदिनै जंगल आउजाउ भइरहने ठाउँमा त्यति प्रभावकारी छैन।

यो क्षेत्रमा सबभन्दा पहिले भेरी नदीमाथि जाजरकोटबाट चौरजहारी जोड्ने ठाउँमा फलाम र स्टिलको झोलुंगे पुल बनेको थियो। उहिले बाइसे राज्यकालको अन्तिम कालखण्डदेखि नै जाजरकोटको गोर्खाली राज्यसँग बिहेवारीको सम्बन्ध बनेको थियो। यसैक्रममा रणबहादुर शाहकी छोरी दुर्गाकुमारीको बिहे जाजरकोटे राजा दीपनारायण शाहसँग भयो। रानीले जाजरकोट बस्दा गलगाँड हुने, हावापानी नमिल्ने जस्ता समस्या उल्लेख गरी काठमाडौं पत्राचार गरेकाले उनलाई पाँच हेक्टर जग्गा विर्ता दिएर चौरजहारी बस्न मिल्ने गरियो। पछि जाजरकोटकी राजकुमारी बालकुमारीको बिहे चन्द्रशमशेरसँग भयो। उनैको पहलमा भेरीमाथि यो क्षेत्रकै पहिलो झोलुंगे पुल बन्यो।

झोलुंगे पुलभन्दा देवदारको मजबुत काठले बन्ने स्थानीय साँघु बढी टिकाउ हुन्छन्। फलामे पुल भत्केर, बांगिएर, खिया लागेर, नटबोल्ट हराएर, चोरिएर पटकपटक मर्मत गरिरहन परेको छ।

तल चित्रमा देखिएको हाँकुसाँघु पछिल्लो चोटि २०४६-४७ सालमा जिर्णोद्धार भएको थियो। ३० वर्षअघि मर्मत गर्दा प्रयोग भएका केही काठ त्यसअघि २०२६ सालको मर्मतक्रममा प्रयोग भएका थिए। २०२६ सालमा बाढीले धेरै साँघु नष्ट भए। त्यसमध्ये एक मुगु हुम्ला जोड्ने पुलको फोटो बेरी सि बिशपले आफ्नो पुस्तकमा राखेका छन्।

हामीलाई विकास अवश्य चाहिएको छ। मजबुत 'कनेक्टिभिटी' चाहिएको छ। बलिया पुलपुलेसा, बाह्रै महिना चल्ने दीर्घकालीन संरचना चाहिएको छ। तर हामीले यो बिर्सिन हुँदैन, विकासको भोकमा आफ्ना विशिष्ट पहिचान बोकेका मौलिकता हामीले मेटाउनु हुँदैन। कर्णालीका हरेक ठाउँ, वस्तु, परम्परा, शैली र विशेषता मूल्यवान् छन्।

साँघुहरू कर्णाली पर्यटनसँग जोडिएका छन्। 'प्रेमगीत' फिल्मको गीतमा 'भिजुअलाइज' भएपछि रारा जाने पर्यटकमाझ हिमा गाउँपालिकाको बाँझागायडको काठेसाँघु चर्चित फोटो 'स्पट' बनेको छ। त्यसैले परम्परागत शैलीका हरेक चीजको महत्व छ। कर्णालीका काठेसाँघु भविष्यका नागरिकले पनि देखून् भन्ने सोच्न आवश्यक छ। साँघु जोगाउन स्थानीय सरकारले सक्रिय पहल गर्न जरुरी छ।

आधुनिक मोटररोड जोड्ने पुल बनाउँदा काठेसाँघु मासेर नबनाउने नीति लिनुपर्छ। पूर्वजले आफ्नो परम्परागत अनुभव, ज्ञान र सीप प्रयोग गरी जुन ठाउँमा साँघु बनाएका छन्, ती स्थान र आसपासमा कंक्रिट संरचना नबनाऊँ। यसलाई प्राकृतिक अवस्थामै रहन दिऊँ।

यसरी नै देवदार संरक्षणको पहल आवश्यक छ। यसको महत्व र फाइदाबारे स्थानीयमा चर्चा र छलफल आवश्यक छ। अहिलेसम्म उम्रेका सबै रुख मानवीय प्रयासबिनै उपलब्ध भएका वरदान हुन्। अब निश्चित संरक्षित क्षेत्र बनाएर देवदार रोप्न सुरू गर्नुपर्छ। वन कार्यालयहरूले देवदारबारे अध्ययन-अनुसन्धान गरेको भए आममानिसले बुझ्ने भाषामा बाहिर ल्याउन जरूरी छ। व्यापारिक प्रयोजनमा देवदारलाई जोडेर यसको उत्पादन र प्रशोधनमा लगानी गर्न सके यसप्रति धेरैको रूचि बढ्नेछ।

कर्णालीका स्थानीय शिक्षा‍ सामग्रीमा यसबारे अध्ययनको विषय समेटिन सकियोस्।

कर्णालीका विद्यार्थीले कल्पना गरेर याद गर्नुपर्ने 'गुलमोहर' रुखबारे पढ्नुअघि आफ्नै जंगलमा पाइने 'रुखहरूको राजा' बारे ज्ञान पाऊन्।

https://www.setopati.com/opinion/187985
सेतोपाटीमा प्रकाशित मिति: आईतबार, भदौ १, २०७६, १८:१२:००


धूलोधुवाँले ग्रस्त सुर्खेतलाई बनाउन सकिन्छ 'साइकल सहर'





केही दिनअघि सुर्खेत बजारबाट एअरपोर्ट जाँदै थिएँ। मूलसडक अर्थात् रत्न राजमार्ग स्तरोन्नति भइरहेकाले धूलो र खाल्डो छल्न बसपार्क उत्तरतर्फको भित्री बाटो हिडेँ। केहीअघि खजुरा नपुग्दै जाममा परेँ।

बाटोभरि मोटरसाइकल र स्कुटरहरू असरल्ल पार्क गरेर जाम परेको थियो। त्यो क्याम्पसको बाटो थियो र ती सवारी विद्यार्थी र प्राध्यापकका थिए।

केही वर्षअघिसम्म यहाँ साइकल चढ्ने विद्यार्थीको बाहुल्य हुन्थ्यो। कतिपय प्राध्यापक साइकलमै यात्रारत भेटिन्थे। बाहिरबाट आउने विद्यार्थीको पहिलो नयाँ सीप सिकाइ अभ्यास साइकलबाटै हुन्थ्यो। स्थानीयको दैनिकीको अभिन्न साधन साइकल नै हुन्थ्यो। प्रायः सबैका घरमा साइकल हुन्थे।

अचेल दृश्य फरक छ। साइकल गरिबको साधनझैं बनेको छ। अलिकति आर्थिक हैसियत बनाएकाहरूलाई साइकल चढेर शिक्षालय, कार्यालय वा बजार जानु सामाजिक प्रतिष्ठा गुम्नु हो जस्तो लाग्छ। त्यसैले हरेक परिवारमा सकी-नसकी मोटरजन्य सवारी किन्ने प्रतिस्पर्धा भइरहेझैं लाग्छ। बिल्कुलै गलत प्रतिस्पर्धा।

यसका कारण छन्।

सुर्खेत छोटो अवधिमा तीव्र र अव्यवस्थित सहरीकरण उन्मुख छ। पञ्चायती व्यवस्थामै थालनी भएको योजनाबद्ध नगर विकासले गति लिन सकेन।

अन्यत्रझैं यहाँ पनि घरजग्गा कारोबार र स-साना व्यवसायबाट मानिसको आर्थिक रुपान्तरण सुरूआत भयो। मानिसमा सवारीसाधन छनौटका आकांक्षा बढ्न थाले। समाजमा आफ्नो हैसियत देखाउन पनि साइकल त्याग्ने र मोटरजन्य सवारी खरिद गर्ने चलन बढ्यो।

अनियन्त्रित बस्ती निर्माण हुन थाले। विशेषगरी राजमार्ग दक्षिणका मलिला फाँट मासिँदै घर बन्न थाले। यो क्रम प्रदेश राजधानी भएपछि झनै तीव्र छ। बस्ती जोड्ने बाटा बने। तर ती मानिस हिँड्न वा साइकल चलाउन नभई मोटर कुदाउने प्रयोजनका लागि मात्र बने। मोटर कुद्ने बाटामा साइकल वा पैदलयात्री प्राथमिकतामा परेनन्।

मोटरजन्य सवारीको हर्न र गतिबाट उनीहरू तर्साइन्छन्, हप्काइन्छन् र हतोत्साही बनाइन्छन्। परिणमतः धेरैले साइकललाई दैनिक सवारीको माध्यम बनाउने हिम्मत जुटाउन सक्दैनन्। र साइकल त्याग्छन्।

सन्तुलित विकासको दीर्घकालीन सोच अभावमा सुर्खेत विकासका लागि गरिएका सबै पूर्वाधार निर्माण साइकलमैत्री भएनन्। मानवीय र पर्यावरणीय सामञ्जस्य कायम राख्नै स्वच्छ र सन्तुलित नगर बन्न सक्ने प्रचुर सम्भावना हुँदाहुँदै सुर्खेत अन्य थुप्रै सहरउन्मुख नगरझैं कुरुप बन्ने होडमा छ।

ढिला भइहालेको भने छैन। सुर्खेत साइकलमैत्री नगर बनाउँदा यहाँका नागरिक र सरकारलाई बहुआयामिक रूपमा प्रत्यक्ष फाइदा हुन्छ।

अचेल साइकलमा आफ्नो दैनिकी चलाउनेहरू प्रायः न्यून आय भएका गरिब छन्। उनीहरू पनि अन्य नागरिक सरह अधिकार प्राप्त मतदाता हुन्। उनीहरूको दैनिक जीवन सहज पार्नु सरकारको कर्तव्य हो। साइकलमैत्री सडकले ती नागरिकलाई सम्मानपूर्वक आवतजावत र सहज दैनिकीको प्रत्याभूति गराउँछ।

अलि समय पहिले सुर्खेतका केही कृषकलाई साइकल बाँडिएको थियो। यो सराहनीय प्रयास हो, तर उनीहरूलाई साइकल चलाउन सहज बनाउने उपाय पनि सँगै ल्याइनुपर्छ। साइकल भएर पनि चलाउन हिच्किचाउनेहरूका साइकल पनि उपयोगमा आउँछ। विस्तारै अरुको पनि साइकलमा रुचि पलाउँछ वा फर्किन्छ।

यसले सार्वजनिक वा निजी सवारीमा लाग्ने यातायात खर्च बच्छ। यस्तो बचतको परिमाण वास्तवमा उल्लेखनीय हुन्छ।

उदाहरण- मानौं सुर्खेतको लाटीकोइलीबाट दैनिक सुर्खेतबजार आउजाउ गरिरहने व्यक्तिले अटोरिक्सामा यात्रा गर्नुपर्दा दिनको कम्तीमा १५० रुपैयाँ खर्च गर्छ। हरेक एउटा चोकबाट अर्कोमा पुग्न २० देखि ३० रुपैयाँ लाग्छ। यस हिसाबले विदा कटाएर महिनामा २० दिन मात्र यात्रा गर्दा कम्तीमा २५ सय रुपैयाँ खर्च गर्नुपर्छ। साइकलले विद्यार्थी, कर्मचारी, स-साना व्यापारी र किनमेल, भेटघाटका लागि ओहरदोहर गरिरहने सबैको दैनिक खर्च कटौती हुन्छ।

मोटरजन्य सवारीधनीहरू पनि क्रमशः साइकल चलाउन उत्प्रेरित हुनेछन्। फजुल खर्च कटौती हुन्छ। नगरमा सवारी चाप कम हुन्छ। पार्किङ सहज हुन्छ। पेट्रोलियम पदार्थ कम खपत हुन्छ। प्रदूषण नियन्त्रण हुन्छ।

नियमित साइकल चलाउँदा मानिसको स्वास्थ्यमा पनि सकारात्मक परिवर्तन आउँछ। कतिपय नसर्ने रोगहरूको प्रकोप कम हुन्छ। उपचारमा हुने सम्भावित खर्च रोकिन्छ।

पर्यटकीय सम्भावनाका दृष्टिले सुर्खेतमा साइकल अत्यन्त सान्दर्भिकता भएको ठाउँ हो। यहाँका धार्मिक तथा ऐतिहासिक स्थल, डाँडापाखा, जंगल, खेतबारी र बस्तीहरू साइकलबाट भ्रमण गर्न उपयुक्त छन्।

जस्तै, सुर्खेतको घण्टाघरबाट मंगलगढी हुँदै दक्षिणतिर काँक्रेबिहार पुगेर पछााडिका फाँट हुँदै पूर्व मोडिएर देउतीबज्यै मन्दिर दर्शन गरी बुलबुले तालको बाटो फर्किन सकिने ट्रेल। यसमा साइकल यात्रा कति रोमान्चक हुन्छ होला?

स्थानीयको आर्थिक उन्नतीमा पनि सहयोग पुर्याउँछ।

यसबाहेक साहसिक खेलका रुपमा पनि साइकल प्रवर्द्धन सम्भावना छ। यहाँ विभिन्न विशेषतासहितका साइकल ट्रेल विकास गर्न सकिन्छ। डाउनहिल, क्रसकन्ट्री खेल खेल्न मिल्ने रुट पहिचान गर्न सकिन्छ।

जस्तै बांगेसिमलको बाटो उक्लेर माथि गोठीकाँडा, अनि छेडाको बाटो कट्कुवाबाट झरेर कपासे, इत्राम वा नेवारे। पूरै जंगल सफारी झैं अनुभव। वा सुर्खेत उपत्यकको कोरा (एक फन्को)। नयाँ प्रकारका माउन्टेनबाइकको प्रयोग हुन्छ।

यी गतिविधि बढेसँगै रारा हिँडेका पर्यटकले सुर्खेतमा अल्झिने बहाना पाउँछन्। उनीहरूको बसाइ लम्बिन्छ। पर्यटकको बसाइ जति लामो भयो त्यति आर्थिक लाभ हुन्छ। स्थानीय रोजगारको ढोका खोल्छ। साइकल बिक्री, मर्मत गर्ने र भाडामा लगाउने पसल खुल्छन्। हरेक पर्यटकीय स्थलमा व्यवसायिक गतिविधि बढ्छन्।

पर्यावरणीय सन्तुलनको सचेतनामा अभिवृद्धि हुन्छ।

साइकल एक, लाभ अनेक छ। त्यसैले सुर्खेतमा साइकल संस्कृति बढाउनु जरुरी छ। यसका लागि तत्कालीन र दीर्घकालीन रणनीति बनाएर काम गर्नुपर्छ।

हाल सुर्खेतमा वीरेन्द्रनगर नगरपालिकाले स्तरोन्नती गरिहेका भित्री सडकमा दुवैतर्फ फुटपाथ र साइकल लेन बनाउन सकिन्छ। कतिपय ठाउँमा बाटो खन्ने र चौडा पार्ने क्रम चलिरहेकोले यति काम बेलैमा गर्न सकिन्छ।

रत्नराजमार्गको सुब्बाकुनादेखि बांगेसिमलसम्मको खण्डले सम्पूर्ण सुर्खेत उपत्यकालाई बीचबाट काटेर गएको छ। यो खण्डको स्तरोन्नती धमाधम चलिरहेको छ। संघीय सरकारको योजना भए पनि तत्काल नगरपालिकाले पहलकदमी सुरु गरी दुवैतिर साइकल लेन व्यवस्था गर्न सके दूरगामी महत्व राख्नेछ।

यसैगरी उपत्यका वरिपरिका डाँडा र फेदीहरूमा अवस्थित गाउँबस्ती जोड्ने गोरेटाहरू समेटेर साइकल रुट बनाउन सकिन्छ। रिङरोड भनेजस्तै यो एउटा रिङरुट बन्नेछ। यो सुर्खेत कोरा साइक्लिङ गर्न उपयुक्त रुट हुन्छ।

सुर्खेतका कार्यालय, प्रमुख व्यापारिक भवन, अस्पताल लगायतमा साइकल पार्किङ सुविधा तयार पार्ने र सूचना जारी गर्न सकिन्छ। कर्मचारी र प्रतिनिधिलाई कामकाजमा साइकल चलाउन प्रोत्साहित गर्ने। साइकल सम्बन्धी नियमित गतिविधि सञ्चालन गर्ने। युवाहरू परिचालन गरी साइकल प्रवर्द्धन गर्न रोल मोडल बनाउने। राइडहरू आयोजना गर्ने। सामाजिक सञ्जालहरू प्रयोगरी आकर्षण थप्ने। निजी क्षेत्र जस्तै होटल, बैंक, स्कुल लगायतलाई यस्ता गतिविधि सञ्चालन र सहयोग गर्न आह्वान गर्ने। यति गरे साइकल संस्कार विस्तारै हुर्किँदै जानेमा शंका छैन।

गत वर्ष पञ्चपुरी नगरपालिकाले इलाका प्रहरी चौकी बावियाचौरलाई पाँचवटा साइकल दिएर 'साइकल गस्ती' सुरूआत गरेको थियो। त्यस्तै सिम्ता गाउँपालिकाले भारतको ताजमहल, नेपालको लुम्बिनी हुँदे सुर्खेतसम्म साइकल यात्रा गरी पर्यटकीयस्थल चिनाउन प्रयास गर्ने बालकृष्ण शाहीलाई सम्मान गरेको थियो। वीरेन्द्रनगर नगरपालिकाले चर्चित कलाकार प्रेमदेव गिरीलाई साइकल प्रयोग गरेकामा सम्मान गरेको थियो।

यी प्रयासले अरूलाई उत्प्रेणा दिन्छन् र सकारात्मक सन्देश प्रवाह गर्छन्। यस्ता सराहनीय प्रयास अन्त पनि लागू गर्न सकिन्छ।

दीर्घकालीन रणनीतिका रुपमा नीतिगत आधार तयार गर्न सकिन्छ।

जस्तै, हरेक संरचना निर्माण साइकलमैत्री हुनपर्ने मापदण्ड तयार गर्ने। नगरभित्र बन्ने हरेक सडकमा साइकल लेन अनिवार्य गर्ने। साइकल सम्बन्धी व्यवसायलाई करमा सहुलियत व्यवस्था गर्ने। नगरको शान स्वरुप बर्सेनी बृहत साइक्लिङ गतिविधि आयोजना गर्ने। यसका लागि नगरस्तरीय कमिटी स्थापना गर्ने।

यति गर्नसके सुर्खेत एक आधुनिक पर्यावरणमैत्री सुन्दर नगरका रुपमा परिचित हुनेछ। युरोपतिरका कतिपय आधुनिक सहरले अचेल गल्ती सच्च्याउँदै छन्। मोटरबाटोले निलेका बाटा पैदल र साइकलयात्रीलाई फर्काउँदै छन्। हामी उनीहरूको भोगाइ र सिकाइबाट फाइदा लिन सक्छौं। अहिल्यैदेखि सडक जोगाएर राख्न सक्छौं।

यही जेठ २० गते सोमबार (जुन ३ तारिख) राष्ट्र्संघले गत वर्ष मात्र घोषणा गरेको दोस्रो विश्व साइकल दिवस पर्छ। यो अवसर मध्यनजर गरी सम्बन्धित निकाय र सरोकारवालाले सुर्खेतलाई 'साइकल सहर' बनाई दीर्घकालीन रुपमा बसोबासका लागि उत्कृष्ट ठाउँ बनाउनेतर्फ सार्थक प्रयास सुरूआत गर्न सक्छन्।

सेतोपटीमा प्रकाशित मिति: शनिबार, जेठ ४, २०७६, ०२:४५:००
https://www.setopati.com/opinion/180555

अरूभन्दा भिन्न हुनुपर्छ कर्णालीको विकास मोडल


केही दिनअघि 'समावेशी विकासका लागि योजना तर्जुमा र बजेट विनियोजनमा कर्णालीका निम्ति के-कस्ता प्राथमिकता हुनुपर्छ' विषयक छलफल कार्यक्रम भएको थियो।

विकास, सुशासन र अधिकारका मुद्दामा काम गर्ने संस्थाहरूले आयोजना गरेका कार्यक्रममा कर्णाली प्रतिनिधित्व गर्ने संघ र प्रदेशका सांसदहरू, भूतपूर्व प्रतिनिधि, स्थानीय तथा अन्य नेता, पत्रकार, अधिकारकर्मीहरू सहभागी थिए।

छलफलले पन्ध्रौं पञ्चवर्षीय योजना र आगामी वर्षको राष्ट्रिय बजेटमा सुझाव मिल्ने अपेक्षा गरेको थियो।

कार्यक्रममा प्रस्तोता अर्थविद् प्राध्यापक डाक्टर डिल्लीराज खनालले केही तथ्यांंक देखाए। मानव विकास सूचकांक, बहुआयामिक गरिबी सूचकांक, र आर्थिक सर्वेक्षणमा आधारित कूल गार्हस्थ्य उत्पादनका आधारमा कर्णाली प्रदेश तुलनात्मक रुपले सबैभन्दा पछि परेको छ। त्यहाँको विकासनिम्ति विशेष पहल आवश्यक पर्ने निचोड उनले पेश गरे।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर पुष्पराज कँडेलले कर्णाली इतिहासमा निकै अगाडि तर आर्थिक तथा आधुनिक विकासमा निकै पछाडि परेको विचार राखे। अन्य प्रदेशभन्दा कमजोर कर्णाली भौतिक र समाजिक पूर्वाधारमा नै पछि परेको निष्कर्ष दिए।

यी दुवैले भनेका निचोड सत्य हुन्, नयाँ होइनन्। जगजाहेर तथ्य हुन्।

त्यसैले विज्ञहरूले बरू ती तथ्यमा थप र गहिराइमा विश्लेषण गरी राय दिन सके यस्ता महत्वपूर्ण छलफल अझ परिणाममूखी हुन्थे। संघीयतामा प्रदेशगत रुपमा खण्डिकृत सूचना आवश्यक छ। यथार्थपरक योजना तर्जुमा गर्न तथ्यांक र सूचनाको बलियो आधार चाहिन्छ।

छलफलको दुई घन्टा अवधिमा डेढ दर्जन बढीले आफ्ना राय राखे। सबैजसोले कुनै प्राथमिकताभन्दा पनि मनका बह वा रोष पोखे झैं लाग्यो।

उदाहरण, हामीसँग अथाह सम्भावना छ। सुन्दर प्रकृति र संस्कृति छ। हाइड्रो फालाफाल छ। तर राज्यले कर्णालीलाई हेपिरहेको छ। आश्वासनले मात्र हुँदैन। हामीलाई योजना र बजेट चाहिन्छ। हाम्रा आवाज नसुन्ने हो भने हामी जे पनि गर्न सक्छौं।

सारमा, धेरैले ठूला वा मेगा योजना चाहियो भने।

सबैजसोले बोल्न खोजिरहेकाले मैले हात उठाए पनि पालो पाइनँ। कर्णालीबारे त्यहीबेला उब्जेका र अघिपछिका मेरा केही राय यहाँ राख्दैछु।

नेपालमा योजनाहरू तथ्य र प्रमाणमा आधारितभन्दा पनि सत्ता र शक्तिको पहुँचका आधारमा बन्ने तीतो यथार्थ बर्सेनि देखिएकै हो। त्यसरी बन्ने योजना कहिल्यै सफलतापूर्वक सम्पन्न हुँदैनन्।

दसकौं अघि सुरू भएर नटुंगिएका 'गौरव'का ठूला आयोजना हुन् वा काम चलाउ ढंगले पूरा भएका वा कागजमै मात्र सम्पन्न भइसेका स-साना आयोजना हुन्, यिनले हाम्रा थाप्लोमा ऋण मात्रै थपेका छन्।

सुरूआती अनुमानभन्दा कैयौं गुणा धेरै खर्च भइसके पनि निल्नु न ओकल्नु भएका केही आयोजनामा बर्सेनि बजेट विनियोजन भइरहन्छ। किनकी, त्यस्ता योजनाबाट आमजनताले भन्दा बढी नेता, कर्मचारी, व्यापारी र आसेपासेले मनग्य फाइदा उठाइरहेका हुन्छन्।

संघीय संरचनापछि पनि यस्ता प्रवृत्तिले निरन्तरता पाइरहेको छ। यसको प्रमुख कारण योजना र बजेट निर्माणमा संलग्नहरू र त्यो प्रक्रिया प्रभाव पार्न सक्नेहरूको नियत नै हो।

राजनीति र प्रशासन संयन्त्रमा प्रभाव पार्नसक्ने व्यक्तिहरूको आफ्नो गाउँ, जिल्ला वा उनीहरूले चाहेको ठाउँमा योजना थुप्रिएका उदाहरण खोज्न गत वर्षको बजेट हेरे पुग्छ। यही प्रवृत्ति यो वर्ष नदोहोरिएला भन्न सकिन्न।

प्रमाणमा आधारित योजना तर्जुमा प्रक्रिया सैद्धान्तिक रुपमा मात्र चर्चा गरिने विषय होइन। सही सूचना, तथ्य र प्रमाण सदुपयोग गर्दै बनाइएका योजनाबाट अपेक्षित प्रतिफल पाउन सकिन्छ। सीमित श्रोतको भरपुर सदुपयोग हुन्छ। असल र सक्षम सरकारले यस्ता कुरा मर्म बनाएको हुन्छ र त्यस्ता सरकारले चलाउने देशले समृद्धि हासिल गरेका छन्।

उक्त कार्यक्रममा प्रस्तोता र कतिपय सहभागीले सूचकांकमा आधारित बजेट निर्माण आवश्यक रहेको औंल्याएका थिए। अहिले प्रयोग गरिँदै आएका र अन्य श्रोतबाट आउने सूचकांकलाई केही गहिराइमा छलफल चलाउन सके धेरै दृष्टिकोण प्रष्ट हुन्छन्। कतिपय भ्रम हट्छन्।

सूचकमा पछाडि परेका भनिएका कर्णाली प्रदेश र प्रदेश दुई भौगोलिक, सामाजिक, साँस्कृतिक र प्रशासनिक संरचनामा धेरै भिन्न छन्। त्यसैले यी दुईमा एकै प्रकारका योजना उपयुक्त हुँदैन। कर्णाली प्रायः सबै क्षेत्र, जस्तै भौतिक संरचना, आर्थिक अवस्था, स्वास्थ्य र शिक्षा लगायत सामाजिक सूचकमा नै पछि परेको छ।

कर्णालीको मानव विकास सूचकांक अरुभन्दा न्यून छ। आधाभन्दा बढी जनसंख्या (५१.२ प्रतिशत) बहुआयामिक रुपमा गरिब छन्। औषत आय ५०० डलरभन्दा कम छ। कुल गार्हस्थ्य उत्पादनमा योगदान ६ प्रतिशत जति मात्र छ। भूगोल, आवादी, साँस्कृतिक पक्षमा व्यापक विविधता भएको कर्णालीका विशेषता यी सूचकले समेट्न सक्दैनन्। यिनलाई गहिराइमा हेरिनुपर्छ।

जस्तै मानव विकास सूचकांक गणना गर्न प्रयोग हुने औषत आयु (स्वास्थ्य सूचक), शैक्षिक उपलब्धि (शिक्षा सूचक) र प्रतिव्यक्ति आय (आर्थिक सूचक) लाई थप अध्ययन गरी ती सूचकमा प्रभाव पार्ने क्षेत्र र कारण पहिचान गरिनुपर्छ। र, त्यसैका आधारमा योजना बन्नुपर्छ।

प्रदेशगत भिन्नता र विशेषता पहिल्याउन अति आवश्यक छ।

उदाहरण, सामाजिक क्षेत्रका सूचकमा प्रदेश नम्बर दुई र कर्णाली दुवै पछि पर्नुको कारणमध्ये उच्च बाल मृत्युदर एउटा हो। यसलाई थप गहिरिएर हेर्दा नवजात शिशु अवस्थामा मृत्यु धेरै हुन्छ। बच्चा जन्मिँदा र त्यसपछिको पहिलो सातामा हुने मृत्यु रोक्न सके सामाजिक क्षेत्रको यो एउटा सूचकमा द्रूत सुधार आउने देखिन्छ।

नवजात शिशु मृत्युदर घटाउन हरेक आमाको गर्भवती, सुत्केरी र प्रसुति अवस्था सुरक्षित हुन अनिवार्य छ। यसका लागि स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्यकर्मीबाट गर्भवती जाँच, सुत्केरी र प्रसुति सेवा लिनु बलियो उपाय हो। स्वास्थ्य संस्थामा सुत्केरी गराउने दर अन्य प्रदेशमा दुईतिहाइभन्दा बढी हुँदा कर्णालीमा एकतिहाइ मात्र छ। प्रदेश दुईमा आधाभन्दा कम छ।

यसका कारण भिन्न छन्। प्रदेश दुईका समुदायसँग स्वास्थ्य संस्थासम्मको पहुँच तुलनात्मक रुपमा सहज छ। तर ८० प्रतिशत महिला स्वास्थ्य संस्था जान आवश्यक नरहेको भन्ठान्छन्। स्वास्थ्य संस्थाको सेवा-तत्परता अवस्था पनि न्यून छ।

कर्णालीका महिलालाई भने स्वास्थ्य संस्था पायकै नपर्ने, टाढा हुने, यातायात सुविधा नहुने जस्ता समस्या छन्। झण्डै एकचौथाइ महिलाले त स्वास्थ्य संस्था जाँदा बाटैमा बच्चा जन्मिन्छ भनेका छन्। केही महिलाले स्वास्थ्य संस्थाप्रति विश्वास नै नभएको पनि बताएका छन्।

यसले संकेत दिन्छ, सामाजिक सूचकमा सुधार ल्याउन गरिने प्रयास सबै प्रदेशका लागि एकनासे हुन सक्दैनन्। त्यसैले जनतालाई गरिबीबाट निकाल्ने हो भने कारण र निकास अध्ययन गरी 'फोकस' कार्यक्रम लागू गर्दै काम गरिनुपर्छ। देशभर एउटै योजनाले सबै ठाउँका जनता लाभान्वित हुँदैनन्।

आर्थिक तथ्यांकमा पनि कर्णाली पछाडि छ। भर्खरैको आर्थिक सर्वेक्षण तथ्यांकअनुसार कर्णालीको समग्र अर्थतन्त्र सवा एक खर्ब जति मात्र छ। आर्थिक बृद्धिदर पनि सबभन्दा कम ५ दशमलव ७ प्रतिशत छ।

कुनै पनि क्षेत्र आशलाग्दो छैन। सबभन्दा धेरै बृद्धि भएको क्षेत्र (११.११ प्रतिशत) सार्वजनिक प्रशासन हो, त्यो पनि अरूको भन्दा कम छ। कृषि तथा वन क्षेत्रमा अरूले १० प्रतिशत माथि बृद्धि हासिल गर्दा कर्णालीको ५ प्रतिशत जति छ।

त्यस्तै उत्पादन क्षेत्रमा अरू प्रदेशको ५ देखि ३६ प्रतिशत बृद्धि हुँदा कर्णालीको एक प्रतिशतभन्दा कम छ। पर्यटन 'हब' बन्न सक्ने आश भएको प्रदेशमा होटल-रेष्टुरेन्ट क्षेत्रको बृद्धिदर पनि जम्मा ५ दशमलव ६ प्रतिशत छ।

एक त आकार नै सानो, त्यसमाथि सुरूआती बृद्धिदर पनि निकै कम हुँदा कर्णालीबारे विकास र योजनाका छलफल विशिष्टिकृत ढंगले गरिनुपर्छ। अर्थतन्त्रको आयतन नै कमजोर भएको प्रदेशले अहिले नै ऋणमा ठूला आयोजना ल्याउने प्राथमिकता तय गर्ने कि आन्तरिक आधार मजबुत पार्दै अघि बढ्ने नीति अवलम्बन गर्ने?

कर्णालीको समग्र क्षमता पनि अर्को विचारणीय कुरा हो। श्रोत पहिचान, वितरण र परिचालनमा कर्णाली प्रदेशले अहिलेसम्म सन्तोषजनक प्रदर्शन गर्न सकेको छैन।

गत नौ महिनामा बजेटको १२ प्रतिशत मात्र खर्च हुनुले प्रदेश संरचना र संयन्त्रको क्षमतामै प्रश्न खडा भएको छ। यसले आन्तरिक अर्थतन्त्र मजबुत हुनै पाउँदैन। यही अवस्था रहिरहे सायद कर्णालीका योजना बजेट कार्यान्वयनको छुट्टै संयन्त्र आवश्यक पर्न सक्छ।

साढे दुई दशकयता हालका प्रदेशभित्रका जिल्लाको समष्टिगत मानव विकास सूचकमा आएको परिवर्तन विश्लेषण हेर्दा कर्णाली निरन्तर पुछारमा छ। स्वास्थ्य सुधारले सरदर आयु लम्बिएर प्रदेश एक र गण्डकी प्रदेश मध्यम अवस्थामा पुगे। गत दशकमा शिक्षा र आर्थिक सूचकमा आएको सुधारका कारण प्रदेश तीन पनि मध्यम अवस्थामा पुगेको छ।

सूचकहरू हेर्दा, कर्णाली भने २५ वर्षअघि जहाँ थियो, अहिले पनि खास सुधार छैन। उदाहरण, २५ वर्षअघि यहाँको स्वास्थ्य-शिक्षा सूचक ०.३६४ थियो। हाल ०.४२७ मात्र पुगेको छ।

न्यून सुधार हुनुका धेरै कारण हुनसक्छन्। विगतमा गरिएका अनेक प्रयासले किन पूर्ण सफलता पाएनन् भन्ने बुझ्न जरूरी छ। अब पनि त्यही प्रथा र प्रक्रियाले नीति तथा योजना बनाउँदै जाने हो भने अर्को २५ वर्षमा पनि कर्णाली जहीँको तहीँ हुनेछ।

कर्णालीलाई राष्ट्रिय औषत नजिक पुर्याउन नीति र योजना बनाउँदा सकारात्मक विभेदको आवश्यकता छ। वास्तवमा त्यो संविधानमै उल्लेख हुनुपर्थ्यो। कर्णाली विशेष अधिकारप्राप्त क्षेत्रका रुपमा आउनुपर्थ्यो। त्यसो भएन। तर अब बन्ने नीति तथा कार्यक्रममा विचार पुर्याउन सकिन्छ।

अन्तरप्रदेश समन्वय र लाभ बाँडफाँटको विषय सोचे जस्तो सहज नभएकाले भविष्यमा कुनै पनि बेला संकट स्थिति आउन सक्ने क्षेत्र हो। भेरी-बबई डाइभर्सनको ब्रेकथ्रु समारोहमा भएको मुख्यमन्त्री-प्रधानमन्त्री छेडछाडले संकेत गरिसक्यो। त्यसैले प्रदेश सरकार आफू जति बलियो र आत्मनिर्भर भयो उति जनतामा सरकारप्रतिको भरोसा कायम रहन्छ।

यी सबैले संकेत गर्छन्, वास्तवमा कर्णाली विकासको मोडल नै अरुको भन्दा भिन्न हुनुपर्छ। अब यो बहस जरुरी छ।

संघीय सरकार जेठ १५ मा बजेट ल्याउन तयारी गरिरहेको छ। संघीय योजना आयोग पनि पन्ध्रौं पञ्चवर्षीय योजनालाई अन्तिमरुप दिई यो वर्षको बजेट यही योजना अन्तर्गत राख्दैछ। त्यसैगरी प्रदेश सरकार र उसको योजना आयोग पनि जिल्ला दौडाहा गर्दै बजेट सुझाव लिइरहेको छ।

विगतका अनुभव र हालका चर्चाअनुसार आगामी बजेटमा कर्णालीका योजनामा कुनै नयाँ विशेषता हुने देखिँदैन। तथापी केही दीर्घकालीन महत्व राख्ने भौतिक पूर्वाधारका योजना पर्नसक्ने देखिन्छ। जस्तै, कोहलपुर-सुर्खेत, सुर्खेत-जुम्ला-कर्णाली राजमार्ग मर्मत र सुधार, हुम्ला जोड्ने बाटो विस्तार, भेरी करिडोर, राष्ट्रिय प्रसारण लाइनको विस्तार।

भौगोलिक रुपमा अलग्गिएका र कठिन स्थानमा रहेका बस्तीलाई सडक र सञ्चारले जोड्न जरुरी छ। नयाँ बस्ती विकास र सहरीकरण गर्दै बस्ती स्थानान्तरण गर्ने तरिकाभन्दा आफ्नै पूर्खासँग जोडिएको माटोमा मान्छेले बढी सुखी महशुस गर्छ।

गत वर्ष प्रधानमन्त्रीले आश्वासन मात्र दिएर झुक्क्याएको भन्ठानिएको रारा लगायत पर्यटन क्षेत्रमा उल्लेखनीय बजेट पर्नसक्छ। यसलाई 'भ्रमण वर्ष २०२०' सँग जोडेर पनि अनुमान गर्न सकिन्छ।

कर्णालीमा कुनै पनि राष्ट्रिय गौरवका आयोजना छैनन्। सरकारको सांकेतिक महत्वका लागि यो आवश्यक हुनसक्छ।

कर्णालीका नदी देखेर होला, हाइड्रो सम्भावनाको चर्चा खुब हुन्छ। सञ्चालन र उत्पादन क्रमशः ४ र ४० मेगावाट जति छ। हाम्रो क्षमता भने हजारौं मेगावाटको छ। त्यसैले यो लगानीयोग्य आकर्षक क्षेत्र हो। यसले गरिबी घटाउने छ।

तर यो भ्रम हुनसक्छ। जुन रफ्तारमा अन्त हाइड्रो बनिरहेका छन्, के यो क्रमले कर्णालीको हाइड्रोको बजार भविष्यमा सुनिश्चित हुन्छ?

यसपालि पनि सम्भाव्यता अध्ययन भन्दै थुप्रै टुक्रे योजना आउने पक्का छ।

समाजवाद उन्मुख अर्थ र राजनीतिक प्रणाली अवलम्बन गरेको सरकारले बजार नियन्त्रित विकल्पमा मात्र योजना बनाउँदैन होला।

कर्णाली प्रदेशमा स्थानीय रोजगार सिर्जना गर्ने साना र मझौला योजना चाहिन्छन्। ती योजनाले स्थानीय संस्कृति, पहिचान, मौलिकता र पर्यावरण जोगाएर राख्न पनि सक्नुपर्छ।

https://www.setopati.com/opinion/179739
सेतोपाटीमा प्रकाशित बुधबार, वैशाख १८, २०७६, ०७:४८:००

Tuesday, September 4, 2018

कसरी गर्न सकिन्छ कर्णालीमा लगानी

यो लेख सेप्टेम्बर ४, २०१८को सेतोपाटीमा प्रकाशित छ।  https://setopati.com/opinion/166353

जुम्लाको चन्दननाथ नगरपालिकाले यही भदौ २९ गते लगानी प्रवर्धन सम्मेलन गर्ने भएको छ । सदियौंदेखि ओझेल परेका तर प्रचुर सम्भावनाहरु भएका ठाउँको विकास सामर्थ्यको उजागर गर्न यस्तो सम्मेलनले ठूलो भूमिका खेल्न सक्दछ । कर्णालीमा विविधतायुक्त र नौला लगानी अवसरहरु प्रसस्त छन् तर पर्याप्त ढंगले खोज, बर्गिकरण, प्रचार र प्रयास हुन सकेको छैन । केहिवर्ष अघिसम्म कर्णालीको बिकटता, अभाव, अशिक्षा, अन्धविश्वास, रुढिबादी परम्परा, रोग, महामारी, भोकमरी, फोहोर आदि राष्ट्रिय समाचार बन्थे  । अचेल त्यसमा निकै कमी आएको पाइन्छ । बरु त्यहाँको अपार सम्भावना, सम्पदा, संस्कृति र सफलताका गाथाहरु वर्णित हुन थालेको छ । अर्थात, कर्णालीले स्वरुप फेरेको छ। यो लगानी सम्भावनाको लागि स्वनिर्मित र सुखद संकेत हो। त्यसो त अत्यन्त न्यून जनघनत्व सहितको विशाल र विविधतापूर्ण भूभागले नै कर्णालीमा अपार सम्भावना रहेको प्रमाण दिन्छ ।       

केन्द्र सरकारको बाँडफाँडबाट भाग लागेको सिमित बजेटले स्थानिय जन अपेक्षा पुरागर्ने समृद्धि ल्याउन मुस्किल छ। स्थानीय सरकारको आफ्नै प्रयासले बैदेशिक ऋण र अनुदान सहयोग खोज्ने बाटो केन्द्रिय सरकारको मध्यस्थता मार्फत मात्र सम्भव हुनसक्छ तर त्यस प्रक्रियाको पनि कुनै टुङ्गो लागिसकेको छैन।  वैदेशिक सहयोग आए पनि अनेक ज्ञात अज्ञात शर्त सहित आउँछ र जनताको टाउकोमा थप ऋण बोकाएर बस्छ । यस्तो अवस्थामा सम्भावित स्वदेशी लगानी आकर्षण गर्ने स्थानीय सरकारको प्रयास प्रशंसनीय हो ।      

नेपाल सरकारले पछिल्लो पल्ट २०७३ सालको फाल्गुन महिनामा नेपाल लगानी सम्मेलन गरेको थियो ।  भारत, चीन, अमेरिका, बेलायत, दक्षिण कोरिया आदि मुलुक र नेपाल समेत गरि हजार भन्दा धेरै कम्पनी सहभागी भएको त्यो सम्मेलन निकै सफल ठानिएको थियो किनकि दुई दिनसम्म गरिएको सम्मेलनमा अपेक्षा गरेभन्दा निकै बढी ११ खर्ब रुपैयाँ बराबरको तत्कालै प्रतिवद्धता आयो । प्रतिवद्धतालाई लगानीमा परिणत गराउन विश्वासिलो र स्थिर संयन्त्र निर्माण गरि अनावश्यक  कानुनी र नीतिगत जटिलता हटाई सुधारात्मक र सुरक्षित वातावरण प्रदान गर्नु पर्छ। तर त्यसको अभावमा आज अधिकांश ति प्रतिवद्धताहरु एकपाने कागजमै सेलाएर बसेका छन् । यसबीच सरकारले फेरी लगानी सम्मेलन गर्ने घोषणा पनि गरेकोछ ।

यो के संकेत हो भने केन्द्रिय सरकार मात्र हैन स्थानीय सरकारहरु सबै लगानी आकर्षित गर्न आतुर छन् । भविष्यमा प्रदेश सरकार र अरु स्थानीय सरकारहरुले पनि लगानी ल्याउने प्रयास गर्नेछन् । 

कर्णालीमा लगानीका क्षेत्रहरु
मानव गतिविधि हुने हरेक स्थानहरु लगानी योग्य स्थानहरु हुन्। तथापी हरेक लगानीको निर्णय त्यसले दिने प्रतिफलसंग जोडिएको हुन्छ । झन् निजी लगानीको रुचि त त्यसबाट मिल्ने प्रत्यक्ष नाफामा भरपर्छ । यसलाई भूगोल, जनसंख्या, भौतिक संरचना, बजारको पहुँच र सरकारी नीतिले प्रोत्साहित वा निरुत्साहित गरिरहेको हुन्छ ।

कर्णालीमा बाटो र संचारको पहुँच बढे संगै थुप्रै सम्भावनाहरु उजागर हुँदै गइरहेका छन्।  तर संस्थागत र दिगो लगानीको लागि संरचनाको विस्तार हुनु अत्यावश्यक छ।  सडक, बिजुली, एयरपोर्ट, शहरी विकासजस्ता ठूला आयोजनाहरु केन्द्रीय सरकारकै लगानी र नेतृत्वमा गरिनु पर्छ। त्यसका लागि आवश्यक बैदेशिक वा अन्य श्रोत जुटाउने जिम्मा पनि केन्द्रिय सरकारले लिनु पर्छ। प्रदेश वा नगरपालिकाहरुको यस बिषयमा न अनुभव न क्षमता न नीति नै बनिसकेको छ।

कर्णालीमा निजि स्वदेशी लगानीका निम्ति मझौला र साना उद्योगधान्दा र व्यवसायहरु उपयुक्त छन् । पत्रकार सम्मेलनमा भनिए जस्तो नीजि स्वदेशी वा बाह्य लगानी आकर्षणगर्ने अवसरका क्षेत्रहरु कृषि, पर्यापर्यटन र जडिबुटी मात्र भने हैनन् । यी परम्परागत रुपमै चर्चा भइरहने प्रमुख सम्भावनाका क्षेत्रहरु हुन् । समयक्रम संगै नयाँ मौकाहरु पनि उदाएका छन्। सम्मेलनमा त्यस्ता लगानी भित्र्याउन सकिने क्षेत्रको चर्चा गरिनु आवश्यक हुन्छ।  अर्थात, अपरम्परागत शैलीले सोच्नु जरुरी छ।

अपरम्परागत ढंगले सोच्दा मेडिकल टुरिजम आश लाग्दो क्षेत्र देखिन थालेको छ। आपतकालिन सर्जरी बाहेक हाडजोर्नी, छाला, घाउ आदिको लामो उपचार र आरामी पछि स्वास्थ्यलाभ मिल्ने अवस्थामा जुम्लाको हावापानीले मद्दत गर्न सक्छ।  सुबिधासम्पन्न उपचार र आरामको व्यवस्था गर्ने यौटा लगानीको क्षेत्र हुन सक्छ।

आवासीय सुबिधा सहितका शिक्षालयहरु - बोर्डिंग स्कूल, कलेज, तालिमकेन्द्रहरु अर्को दिर्घकालीन लगानी सुनिश्चित हुनसक्ने क्षेत्र हो।  कर्णाली र आसपासको जिल्लाहरुका बिद्यार्थीहरुको लागि भनि साढे तिन दशक अघि खुलेको कर्णाली प्राविधिक शिक्षालयमा दुईदशक अघिदेखि नै देशभरबाट बिद्यार्थी आउनुले 'दुर्गम'भन्ने कुरा त केवल सोच मात्र भएको कुरा प्रमाणित गरि सकेको छ। हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले संचालन गर्ने कोर्षमा भर्ना हुन चाहने आकांक्षीहरुले पनि यो उच्च सम्भावना देखिएको छ।

खेलकुद अर्को लगानी सम्भावना बोकेको क्षेत्र हो।  बिशेषगरी साहसिक खेलकुद यहाँ फ़स्टाउन सक्छ। चर्चित  धावक हरि रोकायाले कोरेको सपना कर्णालीमा हाई अल्टिच्युट ट्रेनिंग सेन्टर यौटा वास्तविक बन्न सक्ने प्रचुर सम्भावनाको क्षेत्र हो।  पूर्वाधार बिनै केवल हौसलाको भरमा त्यै माटोमा दौडाएर स्थानीय युवाहरुलाई मेडल जित्नसक्ने बनाउन सकिन्छ भने पर्याप्त संरचना र सुबिधा उपलब्ध गर्न सके देशविदेशबाट आकांक्षीहरु नओइरिने त कुरै छैन ।

एथलेटिक्स बाहेक भर्खरै जुम्लाकै लाम्रामा पाराग्लाईडिङ्गको सफल परिक्षण भै सकेको छ।  रुख बुट्यान उम्रन नसकेका डाँडाहरुबाट कावाखाँदै तल तिला नदिको फाँट तिर ओर्लनुको मज्जै बेग्लै हुनेछ।  यी ठाउँहरु ग्लाईडिङ्ग खेलको लागि प्राकृतिक रुपले किन पनि उपयुक्त हुन सक्छन् भने चिल, गरुड आदि चराहरु, जसको उडान एरोडाइनामिक्स सिद्धान्त मेल खान्छ, यिनै डाँडाका आसपास घुमि रहेका हुन्छन् ।

साइक्लिङ्ग अर्को भविष्य भएको व्यवसाय लगानी हुन सक्छ । जुम्ला उपत्यकाको  २५-३० किमि पश्चिम राजमार्गको बाटो र तिलानदि वारीपारी, पुर्वतिर गुठिचौर, उत्तरपुर्व चौधबिस क्षेत्र र सिंजा उपत्यकाका  जिउला र बस्तिको फाँटमा साइकल चलाउन मिल्छ । हाइ अल्टिच्युड अभ्यास गर्ने उपयुक्त थलोको रुपमा विकास गर्न सकिन्छ।

जुम्लादेखि रारा पुग्ने बाटोमा पर्ने चट्टाने भीरहरुमा सायद रकक्लाईम्बिङ्ग खेल बन्न सक्छ। कतिपय भीरहरुमा परम्परागत तरिकाले भिरमह र शिलाजीतको खोजि चलिरहेको हुन्छ।

अहिले अव्यावहारिक झैं लागे पनि उचाइमा रहेका भूभाग र हिमाली चौरहरु अर्थात डोल्पा, मुगु, जाजरकोटसंग जोडिने भाग पाटनका थुम्का, भिरालो र फाँटहरु स्किईङ्गको गन्तव्य हुने सम्भावना राख्छन् ।     

चलचित्र र फिल्म उद्योगको आगमन यौटा प्रतिफल सुनिश्चित गर्न सकिने लगानीको क्षेत्र हुनसक्छ । उही चोभार, पोखरा, मुस्ताङ्ग जस्ता लोकेशन तथा उही नेपाली लबजको डाइलग, उही प्रकारको गुन्यूचोलीको नाँच, उही पिडि र छानाका बस्ति देखिने दृष्य हेर्दाहेर्दा हैरान दर्शकलाई नयाँ स्वाद दिने तत्त्व कर्णालीमा भेटिन्छ। श्रव्यदृश्यमा मौलिकता दिन सक्ने अनेक बिषयबस्तुहरु छन्।  काराभान र कालोपोथी जस्ता फिल्मले त्यो सम्भावनाको सफलता प्रमाणित गरिसकेका छन् । त्यहाँको इतिहास, संस्कृति, भाषा, भेषभुषा, भूगोल, बस्ति सबै नै मौलिकता बोकेका विशिष्ट स्वाद दिनेक्षेत्रहरु हुन् ।

आयुर्वेद र परम्परागत उपचार पद्धतिको अध्ययन र विकासको क्षेत्रले व्यवसायिक व्यापकता पाउन सक्छ।  जडिबुटीको संकलन र निर्यात केन्द्रित व्यवसायले केवल दोहन निम्त्याएको छ।  कच्चा पदार्थको रुपमा निर्यात नगरी स्थानीय रुपमा उत्पादन गर्न सक्ने उपायहरु ल्याउन आवश्यक छ।

यस्ता निकै अरु विषयहरु हुन सक्छन्।

सम्भावित लगानीकर्ताहरु    
भर्खर भर्खर मूलधारसंग सडक संजालले जोडिन खोजिरहेको, विदयुत र संचारको भरपर्दो व्यवस्था भै नसकेको कर्णालीमा कतिपय लगानीकर्ताहरुलाई जोखिम महसुस हुन्छ । त्यो स्वभाविक हो । तसर्थ स्थानीय सरकारहरुले कम जोखिमयुक्त लगानीका क्षेत्रहरु पहिल्याउन सक्नु पर्छ । शासकीय सुधार गरी यथेष्ट सहजिकरण र सुविधाहरु साथै जोखिम न्यूनीकरण प्रत्याभूति दिन पर्दछ ।

कर्णालीमा लगानी गर्ने सोच जन्माउनु अघि सम्भावित लगानीकर्ताहरु केही गुण र आदर्शहरुले निर्देशित हुनुपर्दछ । अहिलेको यौटा सत्य के हो भने कणालीमा व्यवसाय स्थापना तुलनात्मकरुपले महंगो पर्छ र फलस्वरूप प्रतिफल कम हुने वा ढिलो आउने बनाइदिन्छ । रातारात कमाउ हुने ठाउँको खोजिमा रहने लगानीकर्ताहरुको लागि कर्णाली हाललाई उपयुक्त गन्तव्य नहुन सक्छ ।

ठूला व्यापारिक घरानाहरु, बहुव्यवसाय संचालन गर्ने तथा लगानी परिचालन गर्ने समूह र संगठनहरुले व्यवसायिक विविधिकरण गर्न कर्णाली रोज्नसक्नु पर्दछ । पूणतः मुनाफामुखी मात्र नभई सामाजिक उत्तरदायित्व सहितको मानव हित र दीगो विकासको मूल्यमान्यता बोक्ने जिम्मेबार व्यवसायिक अवधारणायुक्त लगानीको प्रवर्धन गरिनु पर्दछ ।

उदाहरणको लागि कर्णालीमा चाउचाउ विस्कुट लगायत अन्य तयारी खानेकुरा निकै नै खपत गरेको छ । स्थानीयरुपमा उपलब्ध खानेकुरालाई विस्थापित गर्दै तयारी खाजाप्रति मान्छेको रुची बढ्नुमा आक्रामक बजारनीति, आकर्षक विज्ञापन र देखासिकीले गर्दा हो । आम सर्वसाधारण बजारले कसरी प्रभावित भैरहेको छ भनि भेउ ने पाउन सक्दैन ।  ती उद्योगहरुले अहिलेसम्म कर्णालीका बासिन्दालाई केवल आफ्रना उपभोक्ता मात्र बनाए । अब कुनै क्षेत्रमा लगानी गरि उद्योग व्यवसाय चलाई ती जनतालाई रोजगारको अवसर उपलब्ध किन नगराउने ?

हवाई उद्योग चलाउने कतिपय एअरलाइन्स कम्पनीहरुले पहाडी रुटमा अनिवार्य सेवा पुर्याउनुपर्ने नियमलाई लत्याउँदे तराई र पोखरा जस्ता सहज रुटमा चलेर बर्षौदेखि लाभ लिईरहेका छन् । ती व्यवसायीहरुले नयाँ ढंगले प्याकेज चलाएर वा लगानी विस्तार गरी कर्णालीमा पहूच बढाउन, रोजगार र अन्य अवसरहरु सृजना गर्न किन नहुने?

यस्ता अरु धेरै उदाहरण पाइन्छन्। 

देशभरका कर्मचारीहरुको रकम परिचालन गर्ने संचयकोष, नागरिक लगानी कोषहरुले शहरहरुमा व्यापारिक कम्प्लेक्स बनाई भाडामा लगाएको अनुभवलाई जुम्लाजस्तो बजारमा सुलभ सपिंगमलको अवधारणा फैलाउन किन नसक्ने ? भाटभटेनी लगायतका मलहरुले आफ्ना पसलमा राख्ने अर्गानिक उत्पादनहरु कर्णाली मै किन नफलाउने ? त्यसकालागि आवश्यक संयन्त्र र सानामझौला पूर्वाधारमा लगानी किन नगर्ने?

यसैगरि नेपाल आर्मी र नेपाल प्रहरीले थन्किएर बसेका आफ्नो कोषको केही रकम परिचालन गरी उनीहरुका संयन्त्रमार्फत कर्णालीमा लगानी गर्न सक्छ ।

यद्यपी कर्णाली जन्मथालो भएका गैरआवासीय नेपालीहरु निकै कम छन् तर कर्णालीमा एनआरएनले रुचीदेखाउन सक्ने होटल र यातायात व्यवसायको पनि सम्भावना प्रबल छ ।

स्थानीय लगानीको सम्भावना 

लगानी सम्मेलनको उद्देश्य केवल जिल्ला बाहिरका लगानीकर्ताहरु केन्द्रित हुन हुँदेन । विकास र रुपान्तरणका लागि स्थानीय प्रयासहरु अत्यन्त प्रभावकारी हुन्छन् । समुह र  सहकारीका माध्यमबाट ठूलो रकम संकलन गरी जलविद्युत, यातायात, सुपथ पसल आदि सफलतापूर्वक संचालन गरिएका उदाहरणहरु विद्यमान छन् ।

कर्णालीका बासिन्दामा पैसा कमाउन सक्ने भएदेखि तराईंमा घरजग्गा जोड्ने रहर र बाध्यता हुन्छ । यो सामाजिक हैसियत सँग जोडिने गरिन्छ।  विकटता झेल्दै हुर्किनेहरुले सुगमको बसाईको परिकल्पना गर्नु स्वभाविक हो । यो होड व्यापारी, ठेकेदार र सरकारी कर्मचारीहरुमा बढी छ।  अचेल सामाजिक कार्यकर्ता र राजनीतिकर्मीहरु पनि यस्तै लहड चलेको छ।  तर जब कर्णालीमा आवागमनको सहजता हुन्छ र स्थानिय अवसरका क्षेत्रहरु खुल्छन, यो क्रम आफै कम हुन्छ । फलस्वरूप यसले जिल्ला बाहिर जाने ठूलो रकम स्थानीय स्तरमा परिचालन हुन सक्ने छ।

कर्णालीमा भर्खर भर्खर रेमिटेन्स पनि भित्रिन थालेको छ तर रेमिटेन्सको उपयोग भने समग्र देशकै जस्तो अनुत्पादक क्षेत्रमा बढी हुने गरेको छ।

स्थानीय साना व्यापारीहरुमा व्यवसायको विविधिकरण गर्ने भन्दा पनि अर्कोको देखासिकी गर्दै उही व्यवसाय दोहोर्याउने प्रवृति बढी छ।  व्यापारका अन्य सम्भावनाको प्रयाप्त ज्ञान नहुँदा सामान्य लगानी हैसियत हुनेले जोखिम मोल्न सक्दैन र उही छिमेकीले गरेको जस्तै काम आफुले पनि सुरु गर्छ ।

स्थानीयहरुबाट लगानी जुटाउने विषयमा केही चुनौतीहरु पनि छन्। जस्तो कि जुम्ला यौटा भाग्यबाद मान्ने समाज हो।  अन्तरिक आयका स्रोतहरु निकै सिमित छन् । निश्चित केहि जाति बाहेक अधिकांस हिस्सा ओगटेको बाहुन, क्षेत्री र दलित समुदायमा व्यापारिक परम्परा र संस्कार छैन। प्रायः सबैले कृषि र पशुपालन गर्छन्।  त्यसैले सबैको गतिबिधि घडीको समय भन्दा पनि घरायसी कामकाजले निर्धारण गर्ने 'किसान समय'मा चल्छ।

स्थानीय सरकारहरुले यी अवस्था र चुनौतीहरुलाई मध्यनजर गर्दै लगानी योग्य वातावरण बनाउन प्रयास गर्नुपर्छ।
लगानी सम्मेलनको औचित्य 
इतिहासमा एकदमै बिकट र सुदूर मानिने कर्णालीको एउटा नगरपालिकाले देशका निजी क्षेत्र, गैरआवासिय, वैदेशिक स्रोतको समन्वय गरी देश लगानी प्रवर्धनको प्रयास गरेर रोजगार तथा तालिम, सिप विकास र हस्तान्तरण, लगानीको विविधिकरण, प्रविधिको स्थानान्तरण, जनशक्तिको सशक्तिकरण, दिगोपन हासिल गर्न सक्छ।

उचित लगानीबाट लगानीकर्ताले मुनाफा लिने मात्र हेने स्थानीय रोजगार सृजना गरि दिगो आर्थिक गतिविधिको माहोल निर्माण गर्न मद्दत पुग्दछ।

सम्मेलनले सम्भावित लगानीकर्ताहरु सँग एकआपसमा बार्तालाप गर्ने वातावरण बन्दछ।  स्थापित उद्योगी र व्यापारी, नयाँ  र उदाउँदा व्यवसायीहरु, नीति निर्माताहरु, सरकारका प्रतिनिधिहरु र स्थानीयहरुको सहभागितालाई परिणाममुखी बनाउन बलियो, विश्वसनीय र तथ्यपरक राष्ट्रिय तथा स्थानीय दृष्टिकोणहरु प्रस्तुत गरिनु पर्छ।

स्थानिय सरकारहरुले निरन्तर रुपमा आफूलाई भरपर्दो सहजकर्ता बनेर देखाउन सक्नु पर्छ। सरकारको कामकारबाहीमा लगानी तथा आर्थिक विकासको उत्प्रेरक तत्वहरु देखिन सक्नु पर्छ। जस्तै: छरितो र सहज निर्णय प्रकिया, 'रेड टेप' प्रवृतिको व्यवस्थापन, सार्वजनिक निजी साझेदारी सोचको विकास, संरचनाहरुको आधुनिकीकरण, सक्रिय र अर्थपूर्ण समन्वय, लगानीकर्ता प्रतिको सम्मान आदि ।

र अन्तमा
लगानीको निम्ति करमा भारी छुट दिईने छ भन्ने बिषयले जुम्लाका स्थानिय स्तरमा एकखाले विवाद सुरु भएको छ। लगानी योग्य वातावरण दिन करका दायाराहरुमा समय-सापेक्ष यथोचित सुधार गर्दै जानु अनिवार्य हुन्छ।अर्को विचारणिय पक्ष के हो भने स्थानीयबासीहरुको जमिनको स्वामित्व बचाई राख्न विशेष व्यवस्था गरिनु पर्छ नत्र लगानी, विकाश, समृद्धिको खोजमा कर्णालीबासी आफै भुमीहीन बन्न नपरोस् !

Monday, August 13, 2018

कर्णालीमा 'एप्पल टुरिजम' गर्न जाने?

यो लेख सेतोपाटी मा प्रकाशित छ: https://setopati.com/opinion/164961

गएको एक दशक भित्र यदि तपाईंले जुम्लाको स्याउ चाख्नु भएको छ भने तपाईले 'अर्गानिक स्याउ' खानु भएको रहेछ । किनकी २०६४ सालमा स्थानीय समूहहरुले स्वतस्फुर्त अर्गानिक जिल्ला घोषित गरेपछि २०६६ सालबाट सरकारी तबर मै अर्गानिक क्षेत्र बन्न पुग्यो । त्यस यताका सबै स्याउहरु अर्गानिक प्रमाणित हुन् । अहिलेसम्म चाख्नु भएको छैन भने यसपाला कोशिस गर्ने कि ? भदौ-असोज महिना स्याउको सिजन हो । यदि यो बेला जुम्ला-रारा यात्रा गर्ने हो भने आफैले स्याउको बगैचा डुल्दै रुखबाट टिप्दै खाने अनुभव पनि बटुल्न  सकिन्छ । चैतको महिना पारेर घुम्न जानु भयो भने स्याउ फुलेका सुन्दर बगैचाहरु भेटिने छन् - 'चेरी ब्लोजम' जस्तो 'एप्पल ब्लोजम'! अर्थात कर्णालीमा 'एप्पल टुरिज्म' गर्न सकिने प्रचुर सम्भावना छ।

कर्णालीको पर्यटन प्रवर्धनको लागि 'एप्पल टुरिजम' फरक आयाम सहित यौटा नौलो र आकर्षक सम्भावनाको क्षेत्र हुनसक्छ । हाल यसको खासै चर्चा भै नसके पनि यसको भविष्य छ । उपयुक्त ब्रण्डिङ्ग जरुरी छ।

दशबर्ष अघि कर्णाली राजमार्ग खुलेपछि स्थानीयहरुमा स्याउ रोप्ने लहर सुरु भयो । सुरुवाती बर्षमा रोपिएका बुटाहरु अचेल प्रशस्त फाल्न थालिसके । एक घर एक बगैचाको अभियान  चलेको छ। नयाँ रोप्ने र फल्ने क्रम बर्षेनी झन् बढ्दो छ । अहिलेसम्म जुम्लाका ९० प्रतिशत जति घरधुरीले स्याउ रोपेका छन् । सानाठूला गरि झन्डै १५ हजार बगैचामा करिब साढे ४४ लाख बोट रोपि सकिएको छ । गतबर्ष  १० लाख ३५ हजार स्याउका बिरुवा रोपिएका छन् भन्ने सरकारी आँकडा थियो । त्यो साल ३ हजार १५० मेट्रिकटन स्याउ फलेको थियो भने यसपाला त्यो भन्दा दोब्बर जति अर्थात् ६ हजार मेट्रिकटन फाल्ने अनुमान छ । गतबर्ष उत्पादनको ६० प्रतिशतबढी जिल्ला बाहिर निर्यात भएको थियो । विभिन्न कारणले करिब एक चौथाई जति स्याउ खेर जाने गरेको छ।  पोहोर जुम्लाको बगैचा मै स्याउको औसत मूल्य रु ५०-५५ प्रतिकेजी थियो । सिजन सकिँदै जाँदा १०० रुपैंयाँ प्रतिकेजीसम्म पुग्दछ।

जुम्लामा करिब एकदर्जन प्रजातिका स्याउ पाइन्छन् जसमध्ये करिब दुइतिहाई जति रेड र गोल्डेन डेलिसियस जातका हुन्छन्  । अन्य प्रकारहरुमा जोनाथन, चकलेट, तोरिकुलु, म्यकिन्तोष आदि पाइन्छन् ।  दुईबर्ष अघिबाट इटालियन फिजी जातका स्याउ पनि रोप्न थलिएको छ।

स्याउका बुटा उमार्ने नर्सरी उद्योग पनि निकै खुलेका छन्। बुटाको माग र उत्पादन बढेको छ । स्थानीय माग पुरा गर्दै हरेक साल हजारौं थान बुटाहरु जिल्ला बाहिर वितरण हुन्छन्। पोहोर कालिकोट, बझाङ्ग, डोटी, डोल्पा, रुकुम, रोल्पा लगायतका जिल्लाहरुमा निर्यात भएको थियो।

स्थानीयहरुले जुन उत्साहको साथ लगानी गरेका छन् त्यो गतिशिलता अनुरुप सरकारको रुपान्तरणकारी प्रयास भएको पाइंदैन। अझैं वैज्ञानिक ढंगको संरचना, भण्डारण, बजारीकरण र सूचनाको व्यवस्था छैन  । तरकारी बजारचक्र जस्तो स्याउको बजार पनि दलालको 'ब्यूह'मा फसेको छ जहाँ किसानले आफ्नो उत्पादन निकै सस्तोमा बिचौलियाहरुलाई बेच्नु परिरहेको छ। हरेकबर्ष सिजनको सुरुवातसंगै बर्खाले भत्काउने राजमार्गको चिन्ता बोकेर स्याउको 'नाजुक' व्यापार सुरु हुन्छ। किसान र साना व्यापारीले बेहोर्ने जोखिमहरुलाई सम्बोधन गर्ने कुनै प्रभावकारी र दिगो संयन्त्र छैन।

कर्णालीको एकमात्र प्रमुख निर्यातमुखी उत्पादन स्याउ हो । स्याउलाई खाद्य पदार्थ, औषधीजन्य उपयोग र सौन्दर्य प्रसाधन सामाग्रीको रुपमा समेत प्रयोग गर्न मिल्ने सम्भावना भएता पनि हाल पुजाआजा, बिरामीभेट, पाहुनाभेट जस्ताकुरामा बढी खपत हुने गर्दछ।  त्यसैले जुम्लाका स्याउ व्यापारीहरुले तिजको बेला त्यो 'एक मौका' छोप्न दौडधुप गर्नुपर्छ। थोरै केही उद्योगहरु स्याउजन्य पेयपदार्थ र अन्य परिकार उत्पादन गर्न खुलेका छन्।

कर्णालीको समृद्धि सपनामा स्याउको अर्थगणितीय योगदान जीडीपीमा सम्भवत अन्य सबैखाले उत्पादनका क्षेत्रकोभन्दा उच्च हुनसक्छ।  प्रदेशको बिशिष्ट पहिचान दिनसक्ने यो फलबाट प्रतिफल लिन सकिने अनन्त सम्भावनाहरु छन् तर व्यवसायिक उत्पादन र बजारको निम्ति आवश्यक पूर्वाधार र सुविधाको खाँचो टड्कारो छ। बाह्य लगानी आउन सक्ने भरपर्दो क्षेत्र यहि हो।  सरकार भूमिका बढाउ, स्याउमा लगानी गर  !!

स्याउको इतिहास र केहि रोचक प्रसङ्गहरु 
पर्यटकलाई स्याउ बगैंचा घुमेसंगै त्यससँग जोडिएका इतिहास र अन्य रोचक तथ्यले पनि आकर्षित गर्दछ ।  "स्याउ ताईंछुन्, नास्पाति ताईंछुन्, बागबानी फाराम। निको छ क्याS आलोपालो, गाथ छ क्याS आराम ।" भनी  देउडा खेल सुरुगर्दा प्रायः गाइने यो टुक्का सँग कर्णालीमा स्याउको आधुनिक इतिहास जोडिएको छ।  करिब आधा शताब्दी अघि विसं २०२२ सालमा भारत सरकारको सहयोगमा  देशमा 'बागबानी फार्म'हरु खुल्न थालेपछि  जुम्ला र हुम्लामा पनि एक एकवटा फ़ार्म खुले । त्यहाँ बाहिरबाट ल्याएका फलफुल रोपिए।केहीबर्ष भित्र स्थानीयहरुले पहिलो चोटी स्याउ, नासपाती लगायतका नयाँ फलफूल देखे।  अनि  देउडा गीतमा पनि यी बिम्ब शुरु भए । २०२६ सालबाट प्रकाशित  कर्णालीको 'बेन्नु' पत्रिकाको पहिलो टुसोमा पहिलोचोटी यो गीत उल्लिखित छ ।

कर्णाली लगायत हिमाली भेकका जङ्गलहरुमा परापुर्वकालदेखि पाइने इडिमेल र सुर्खिलोलाई स्याउको रैथाने प्रजाति मानिन्छ तर उन्नत प्रजातिको स्याउ भने वि.सं. २०१८ मा भारतको हिमाञ्चल प्रदेशबाट नेपालमा भित्रिएको हो । त्यसो त चन्द्रशम्शेरको पालामा बि.स. १९९४ मै काठमान्डौको गोदावरी र छाउनीको नर्सरीमा जापान र इटालीबाट ल्याएका स्याउ लागाईएको थियो तर सप्रेनन्। भारतमा चाहिं वि.सं. १९२७ मा कुष्ठरोग नियन्त्रण कार्यक्रममा काम गर्ने अमेरिकी सामुअल इभान स्टोक्सले आफ्नो देशबाट रेड र गोल्डन डेलिसियस जातका  बोट ल्याएर सिमलामा रोपेका थिए ।

पश्चिमा मिथक अनुसार स्याउ मानव जीवन उत्पति सँग जोडिएको छ।  सुन्दर 'एडेन गार्डेन'मा विचरण गर्ने आदिमानव आदम र इभलाई ईश्वरले 'नटिप्नु है!' भनि बर्जित गरेको 'ज्ञानवृक्षको फल' स्याउ नै थियो।उनीहरुले त्यो स्याउ नचाखेको भए सायद अहिलेको मानव जाति अस्तित्व मै आउने थिएन कि?

आधुनिक भौतिक विज्ञानको उदय पनि स्याउसँग जोडिएको छ।  रुखबाट झरेको स्याउले ३३१ बर्षअघि न्युटनलाई गुरुत्वाकर्षणको सिद्धान्त सुझायो । यसै आइडियाबाट प्रभावित भएर ४१  बर्षअघि स्टिभ जबले एप्पल कम्पनी नाउँ र  'एकगाँस टोकिएको स्याउ' लाई आफ्नो कम्पनीको लोगो छाने । गतहप्ता मात्रै  एप्पल एक ट्रिलियन डलर सम्पति हुने विश्वकै पहिलो कम्पनी बनेको छ ।

अचेलका स्याउ बर्णशंकर गरिएका उन्नत प्रजातीका हुन्छन् तर यिनका पुर्खा खोज्दै जाने हो भने स्याउको उत्पति हालको कजाखिस्तान र चीनका ठण्डा पहाडतिर भएको पाईन्छ। कजाखिस्तानमा स्याउलाई अल्मा भनिन्छ । हालको राजधानीको पुरानो नाउँ 'अल्मा आटा' को अर्थ नै 'स्याउको पिता' हो । यसै ठाउँसँग जोडिएको अर्को रोचक प्रसङ्ग के पनि छ भने आजभन्दा ठीक ४० बर्षअघि यहाँ जनस्वास्थ्य क्षेत्रकै अत्यन्त महत्वपूर्ण विश्व स्वास्थ्य सम्मेलन भएको थियो । पछिल्ला केहि दशकमा स्वास्थ्य क्षेत्रले हासिल गरेका उपलब्धिहरुको आधार 'प्राथमिक स्वास्थ्य सेवा'को जग यहि ठाउँमा घोषणा गरिएको थियो ।

करिब सयवटा देशमा स्याउ फल्छ तर विश्वव्यापी उत्पादनको झन्डै आधा हिस्सा (४९.३ प्रतिशत) चाहिं छिमेकी  राष्ट्र चीनमा फल्छ । पाँच बर्ष अघिको आँकडा अनुसार भारत छैटौं ठुलो उत्पादक हो जसले २.४ प्रतिशत फलाउँछ भने हाम्रो देशले ०.०५ प्रतिशत हिस्सा ओगटेर सन्ताउन्नौं स्थानमा छ।

हाल नेपालका ४५ जिल्लामा स्याउ फल्छ तर मुख्यगरी कर्णालीका जिल्लाहरु र मनाङ्ग मुस्ताङ्गले नै दुईतिहाइ जति उत्पादनको हिस्सा ओगट्छ । नेपालमा स्याउको व्यवस्थित बजारिकरणको अभावमा पर्याप्त वितरण हुन सकेको छैन । स्याउको ठुलो हिस्सा खपत हुने काठमान्डौमा ७८ प्रतिशत स्याउ चीनबाट आउंछ, २१ प्रतिशत भारत बाट निर्यात हुन्छ।  नेपालको आफ्नै स्रोतबाट भने १ प्रतिशत भन्दा कम आपूर्ति हुन्छ। हाम्रो देशको नयाँ संबिधान आएको बर्ष अर्थात २०७२ मा २ अर्ब रुपियाँ बढीको स्याउ आयात गरिएको थियो।

स्याउको बियाँ सँग पनि कति रोचक तथ्य र प्रसङ्गहरु जोडिएका छन् । यसको बियाँ खान हुन्न भन्ने कुरा कतिपयलाई थाहा नहुन पनि सक्छ।  स्याउको बियाँ चपाउँदा त्यसमा भएको 'एमिग्डालिन' पाचनरस (ईञ्जाईम)संग मिसिंदा हाइड्रोजन साइनाइड बन्छ । यो एकप्रकारको बिषालु पदार्थ हो । एक किलो बियाँमा ७०० मिलिग्राम बराबर साइनाइड हुन्छ जसले ७० केजी तौल भएका ७ जना मानिस मर्न सक्छन्  रे ।

गतबर्ष रिलिज भएको अभिनेत्री श्रीदेवीको अन्तिम फिल्म 'मम' मा न्याय नमिल्दा आफ्नी छोरीका बलात्कारीहरुलाई बदला लिन यौटी बायोलोजी शिक्षिका आमाले स्याउका बियाँको ट्रिक प्रयोग गर्छिन्  । दोस्रो विश्वयुद्धको बेला हिटलरको नाजी पर्टिले विरोधीहरु मार्न बनाएको ग्यास च्याम्वरमा राख्ने 'जिक्लोन बी' नामको विषालु पदार्थमा हाइड्रोजन साइनाइड नै मिसाइएको हुन्थ्यो । सन् १९२० ताका यो ग्यास आविस्कार गर्ने जर्मनीका एक यहुदी फित्ज हबेर थिए तर सन् १९४२ तिर यसै ग्यासको प्रयोग गरी लाखौँ यहुदीहरुलाई मारिएको थियो ।

तर नडराउनुहोस् ! एउटा स्याउको दानामा ४-५ वटाजति बियाँ हुन्छन् । झुक्किएर केही चपाउँदा पनि केही फरक पर्दैन। तर बियाँसहित लगातार २५-३० दाना स्याउ खाईहाल्नु भयो भने त केहि भन्न सकिन्न है !

स्याउको शारीरिक, मानसिक र वातावरणीय फाइदा  
स्याउका बहुआयामिक गुणहरुले गर्दा 'एन एप्पल अ डे कीप्स डाक्टर अवे' भन्ने भनाई निकै प्रख्यात छ।  स्याउमा 'बी’ कम्प्लेक्स भिटामिनहरु, भिटामिन सि, फाइबर, पोटासियम लगायतका तत्वहरु पाइन्छ।  स्याउको बोक्रामा एन्टी-अक्सिडेण्ट यौगिग पाइन्छ । पन्ध्रबर्ष माथिका ९ हजार २०८ महिला र पुरुषहरुलाई सन् १९६७ देखि १९९४ सम्म (२८बर्ष) फलोअप गरिएको यौटा अध्ययनको निष्कर्षले निरन्तर स्याउ खानेहरुमा स्याउमा पाइने क्वेर्सेटिन नामक एन्टीअक्सिडेण्टको कारण हृदयाघात (स्ट्रोक) कम हुने देखाएको थियो। यसमा पाईने पोलिफेनोल र फ्लाभोनाइड जस्ता एन्टिअक्सिडेण्ट गुण भएका यौगिकहरुको कारण नियमित सेवनले मानिसमा क्यान्सर रोग हुने जोखिम कम गराउँछ ।

स्याउले रोग प्रतिरक्षा प्रणाली सुधार गर्छ। हरिया बोक्रा हुने स्याउले हाड र दाँत  र आखाको लागि उपयोगी हुन्छ भने रातो बोक्रा हुने स्याउ सेवनले मुटु, स्मरण शक्ति र मृगौलालाई फाइदा पुर्याउछ ।  त्यस्तै पहेंलो बोक्रा हुने स्याउ मुटु र आखाँको लागि लाभदायक हुन्छ। यसले कोलेस्ट्रोल, डायबिटिज, कब्जियत, पेटरोगीलाई प्रत्यक्ष फाइदा दिन्छ।  स्याउबाट बन्ने साइडर सेवनले मृगौला र पित्तथैलीको पथ्थरी हुनबाट बचाउने कुरा पनि प्रमाणित भैसकेको छ ।

यसको वातावरणीय फाइदा पनि छ।  एक रोपनी जमिनमा लगाएको स्याउको रुखले वर्षेनी करीव २ टन कार्वनडाई अक्साइड वायुमण्डलबाट लिने र करीव एक टन अक्सिजन वायुमण्डलमा छोड्ने भएकोले वातावरणीय सन्तुलनका लागि पनि स्याउ खेती निकै उपयोगी हुन्छ भनिन्छ।

त्यस्तै स्याउको बगैंचाको बिस्तारले जमिनलाई पनि पुनर्रोपयोग बनाउँछ । कर्णाली तिर अचेल कतिपय खाली नाङ्गा डाँडापाखामा स्याउका बगैंचाहरु देखिन थालेका छन्।

पश्चिमा देशतिर स्याउलाई 'इश्वरको फल' उपनामले पनि चिनिन्छ।  भारतवर्षका महाकाव्य लेखिने युगमा यदि यो क्षेत्रमा स्याउ फैलिसकेको हुन्थ्यो भने सायद सावरीले श्रीरामलाई सभक्ति बयरसँगै स्याउ भेट दिने थिइन्।     

Sunday, July 29, 2018

हिउँ चितुवाको फेसबुक पोष्ट: खेलाडी राष्ट्रको कि पार्टीको?

हिउँ चितुवाको फेसबुक पोष्ट: खेलाडी राष्ट्रको कि पार्टीको? 
यो आलेख सेतोपाटीमा प्रकाशित छ:https://setopati.com/opinion/164135 

आफ्नो फेसबुक वालमा संधैजसो युवायुवतीहरु डाँडापाखामा लामोदुरी दौड तालिम गरिरहेका, देशविदेशका ट्रयाकहरुमा दौडिरहेका, जीतको उल्लास सहित देशको झण्डा र पदक उचालेका जस्ता रमाइला र आशावादी फोटाहरु पोष्ट गरिरहने  'हरि गुरु' अर्थात कीर्तिमानी धावक हरि रोकाया 'हिउँ चितुवा' ले यो शनिबार पोस्ट गरेको यौटा स्टाटसको भावले एकचोटी झसङ्ग पर्यो। उनको पोस्ट यस्तो थियो -  'खेलाडी भएर देशकाेलागि मरिमेटे अाज यसरी बिरामी अपहेलित भएर बस्नु परेकाे छ।  यदि म कुनै पार्टीको  खेलाडी भएकाे भए मैले धेरै सहयाेग पाउन्थे हाेला ।  विदेसकाे उपचार हुन्थ्याे हाेला।  ' 

ति 'हिउँ चितुवा' अचेल बिरामी छन्।  यौटा बिरलै देखापर्ने नशा र मांशपेशीको समस्या सँग जुधिरहेका छन्।
चारदशकभन्दा बढी समयदेखि सक्रिय रुपले दौडी रहेका धावकको जीवनमा हठात् ब्रेक लागेको छ र  अब उपचार तथा फिजियोथेरापीको लामो प्रक्रियाबाट गुज्रनु परिरहेको छ ।

झन्डै ६ दशक अघि कर्णाली जस्तो अत्यन्त विकट ठाउँमा जन्मेका हरि रोकायाले  पूर्वाधारविहीन भूगोलमा अनेक प्रतिकुलतालाई चिर्दै केवल दृढ इच्छाशक्तिको भरमा आफुलाई विश्वमै लामोदूरीको अब्बल र 'कीर्तिमानी' धावक सावित गर्नु एक असाधारण प्रतिभा हुनुको परिचय हो ।  उनका नाममा एभरेष्ट म्याराथनमा ह्याट्रिक गरेको गिनिज विश्व किर्तिमान छ। त्यस्तै अन्नपूर्ण सर्किट सबभन्दा छिटो २४ घण्टा ५ मिनेटमा सम्पन्न गर्ने किर्तिमान पनि छ। नेपाली झण्डाको प्रतिनिधित्व गर्दै ओलम्पिक लगायत अन्य लामोदुरीका प्रतियोगिताहरुमा उनले करिब ३ दर्जनपटक विदेशमा दौडिएका छन् । रेकर्डहरु तोडेका छन् । सन् ८० दशकको उत्तरार्धदेखि ९० दशकभर नेपालमा भएका लामोदूरीका लगभग सबैखाले रेशहरु उनले जितेका छन् ।

विदेशमै प्रशिक्षक बनि बस्न सक्ने अवसर र काठमाण्डुजस्ता सहरमा हराउन सक्ने सम्भावनालाई लत्याएर त्यै विकट कर्णाली भुमीमै क्रियाशील छन् । नवयुवाहरुलाई आफूसंगै निरन्तर जुम्ला मुगुका डाँडाकाँडा दौडाएर प्रशिक्षण दिन्छन्।  प्रतियोगितामा भाग लिन प्रेरित गर्छन्। हारगुहार गरेर उनीहरुको लागी खर्चको जोहो गर्छन्। गाउँबाट कहिल्यै घर नछोडेका, कहिल्यै शहर नदेखेका, कहिल्यै प्लेन नचढेका ठिटाठिटीहरु चुनौती बोकेर बिराना ठाउँमा लड्न जान्छन् ।  ति चेलाचेलीहरु एकपछि अर्को गर्दै देश विदेशका प्रतियोगिताहरुमा अब्बल प्रदर्शन गर्न थाल्छन्। उच्च शानका साथ् देशको झण्डा फहराउन्छन् । अनि, गर्वले छाती चौडा पार्दै यता गुरु आफ्नो फेसबुक वालमा लेख्छन् -  'बधाई लक्ष्मी!!  बधाई बिश्वरुपा!! बधाई सुनमाया!!, बधाई पूर्णलक्ष्मी!! बधाई दुर्ग !!

'रोल मोडल' खेलाडीप्रति राष्ट्रको जिम्मेबारी 
आम नागरिकको रुपमा उनको यो पछिल्लो पोष्टले निकै सोचमग्न बनायो । समग्र देशले गर्व गरिरहेको, समग्र कर्णालीको एकमात्र कीर्तिमानी खेलाडी एकाएक थला पर्दा आम शुभचिन्तक तथा अरु खेलाडीहरु सोधपुछ गर्छन् तर सरकारले ध्यान दिन्न भने उसले जीवनभर 'चन्द्र सुर्य अङ्कित झण्डा बोकेर कसको लागि र किन मरिमेटेर पसिना बगायो? उनीहरुलाई पछ्याउंदै देशको शीर उच्च पर्ने महत्वकांक्षा बोकेका युवायुवतीहरुले के आशले संघर्ष गर्ने? त्यसैले यतिबेला देशकोलागि योगदान पुर्याएका खेलाडीको उपचार, सहयोग र हौसलाको लागि सरकार र सरोकारवालाको दायित्व के र किन हुने भन्ने प्रश्न मुखरित भएको छ।

समृद्ध समाजमा विविध क्षेत्रका 'रोल मोडल'हरु हुन्छन् । उनीहरुका संघर्ष, उपलब्धि, योगदान र लोकप्रियताका गाथाले अरुलाई सँधै नै प्रेरित गरिरहेको हुन्छ ।  खेलकुद, कला, संगीत जस्ता क्षेत्रमा उल्लेखनीय क्षमता प्रदर्शन गर्ने व्यक्तिहरुको सफलताले त्यसमा रुचि राख्ने आम मानिसहरुलाई लोभ्याउन्छ । र  ति मध्ये कति जना आदर्श व्यक्तिको रुपमा उदाउन्छ्न् जो अनुयायीहरुको लागि प्रेरणा प्रदायक मात्र नभई समग्र समाजको शान बनेर रहन्छन्। नव-आगन्तुक लागि यौटा सफल खेलाडी प्रेरणाको स्रोत हुन सक्छ तर सबै खेलाडी 'रोल मोडल' हुन सक्दैनन् । रोल मोडल बन्न युवा, किशोर र बालबालिकाले आदर्श व्यक्ति मान्न सक्ने हैसियत बनाउन सक्नु पर्छ।

यस अर्थले हरि गुरु साँच्चीकै रोल मोडल हुन् । अत्यन्त सरल स्वभावका धनि उनि प्रायः युवा खेलाडीहरु माझ घुलमिल हुन रुचाउन्छन् र हौसला प्रदान गरिरहन्छन् ।  उनमा सफलताको कुनै दम्भ वा आडम्बरको रत्तिपनि संकेत देखिन्न । उनि राजनीतिको खेलबाट संधै टाढा रहे । चाकडी चाप्लुसी उनले जानेकै छैनन् । बनावटी कुरो बोल्न जान्दैनन्। मौका मिले  सत्यकुरा बोल्न डराउँदैनन् । यिनका अन्तर्वार्ताहरु सुन्दा बोलीमा जुन असली 'जुम्ली' लवज सुनिन्छ उनि त्यस्तै 'अर्ग्यानिक' मन भएका गज्जब मान्छे प्रतित हुन्छ।  अनेकौं अभावका बीच उनले गरेको योगदान अतुलनीय छ । सचेत र सभ्य समाजमा यस्ता कुराको कदर गर्ने परिपाटी हुनु आवश्यक छ  ।


हिउँ चितुवालाई के भएको छ? 
हरी रोकायालाई चिकित्सकीय भाषामा 'गुलिएन-बेर्रें सिन्ड्रोम (जिबिएस) भनेर चिनिने यौटा बिरलै देखापर्ने अवस्थाको निदान गरिएको छ। यसले शरीरको प्रतिरक्षा प्रणालीले हातखुट्टा तिर प्रवाह हुने स्नायुलाई आक्रमण गर्दछ ।  हातखुट्टाको चाल, दुखाई, तापक्रम र स्पर्श संवेदना नियन्त्रण गर्ने स्नायु अवरुद्ध हुन्छ।  फलस्वरूप मांशपेशीहरु कमजोर र लाटो हुन्छन् । यदि सम्भावित जटिलताको समय मै नियन्त्रण भएन भने स्थायी प्यारालाईसिस हुन सक्छ ।  समयमै समस्याको उचित उपचार, स्याहार र फिजियोथेरापीको मध्यमबाट हरेक दशमध्ये नौ बिरामीहरु निको भएको पाइन्छ तर निको हुने प्रक्रिया भने निकै ढिलो हुन्छ। जुम्लामा हुँदा एकाएक समस्या देखा परेपछि अर्को दिनमै काठमान्डौको सुबिधायुक्त अस्पताल पुर्याईएकोले अप्रिय जोखिम टरेको थियो । दुईहप्ता बढीको अस्पताल बसाईमा जुन सुधार देखियो त्यसले निकै आशावादी बनाएको छ तापनि रिकोभरी प्रक्रिया निकै जटिल र खर्चिलो हुनसक्ने छ।

केहिहप्ता अघि यो लेखकको हरि रोकाया र उनका छोरा संग भेट हुँदा  उनीहरुले यौटा चिन्ता व्यक्त गरेका थिए - यसरी एकाएक कमजोर परेको गुरुलाई देखेर उनको प्रेरणामा दौड प्रशिक्षणमा लगनशील युवायुवतीहरुमा डर पस्ने पो हो की ? अभिभावकले नै उनीहरुलाई दौडिन निरुत्साहित गर्ने हुन कि? भावी पुस्ताका खेलाडीहरुमा रुची घट्ने पो हो कि? यसबारेको भ्रम निवारण गर्न आवश्यक छ ।

जिबिएस किन र कसलाई हुनसक्छ ? 
प्रतिलाख जनसंख्यामा १-२ जनालाई देखापर्ने यो  समस्याको वास्तविक कारण भने अज्ञात छ।  तर प्रायः कुनै ब्याक्टेरिया वा भाइरल संक्रमण पश्चात यस्तो सिन्ड्रोम देखा पर्नेगरेको पाइन्छ जस्तै: ब्याक्टेरियाको कारणले हुने झाडापखाला । हरी रोकायाको हकमा सायद उनले निरन्तर अत्यधिक दौडने तर खानपिन (डाएट)मा ध्यान नपुगेको कारणले शरीरको प्रतिरक्षा प्रणाली मजबुत राख्न चाहिने भिटामिन, मिनरल्स लगायत सुक्ष्म पोषकतत्वहरुको कमि भयो ।अनि यसको दिर्घकालीन अभावले प्रतिरक्षा प्रणालीमा गडबड गर्यो र यो सिन्ड्रोमको विकास भयो ।

यो समस्या जुनसुकै उमेर समुहका मान्छेलाई हुनसक्छ । नेपालमा  बिसं २०६८ सालमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएका ३६ जना बिरामीमा गरिएको अध्ययनमा १२ बर्षको उमेरदेखि ८० बर्ष उमेरसम्मका बिरामी थिए।  त्यसअघि बिसं २०६२-६४ तिरको अध्ययनमा ३ बर्षदेखि १४ वर्षसम्मका ३० बिरामी बालबालिकाहरु थिए । नेपालमा गरिएका अध्ययनहरुले पश्चिमा देशमा देखिएका बिरामीहरुको बिशेषता संग कति मिल्छ भन्ने बिषयमा केन्द्रित थिए । जस अनुसारको नतिजाले करिव ९० प्रतिशतसम्म मिल्दोजुल्दो पाईएको थियो।  

त्यसैगरी जुनसुकै पेशाका व्यक्तिलाई पनि हुन सक्छ । खेलाडी, नेता, अभिनेता, संगीतकार,  वैज्ञानिक, पत्रकार, कलाकार लागायत क्षेत्रका चर्तित व्यक्तिहरु पनि यो समस्याबाट प्रभावित भएको पाइन्छ। भर्खरै सकिएको फिफा विश्वकप फुटबल हेर्ने जोकोहीलाई फुटबल मैदानको कोच बस्ने बक्समा बैशाखी टेकेर हरदम खेलाडीलाई हौस्याईरहने उरुग्वेका ७१ बर्षिय कोच ओस्कार ताबरेजले ध्यान खिचेको हुनुपर्छ। उनलाई पनि 'गुलियन-बेरें सिन्ड्रोम' देखापरेको हो ।  आफ्नो फुटवल करियरमा बलियो डिफेन्डर उनले कोलम्बिया, इटाली र स्पेनमा समेत कोच भएर काम गरि सकेका छन्।  त्यस्तै पुर्व अमेरिकी राष्ट्रपति रुजवेल्ट, अभिनेता एन्डी ग्रिफिथ, जापानी रकब्याण्ड भोकलिस्ट अरिमुरा आदि चर्चित व्यक्तित्वहरु यो सिन्ड्रोमबाट प्रभावित भएका थिए।

नेपालमा जिबिएस समस्या भोगिरहेकाहरुको हेरचाह र सहयोगको लागि ठोस सरकारी नीति  छैन।  जिबिएस प्रभावितहरु र उनीहरुको पारिवारका सदस्यहरुको रुचि र प्रयासमा केही संजाल सक्रिय छन् जसले केही गैरसरकारी प्रयास मार्फत अन्तराष्ट्रिय समन्वयमा सूचना र जानकारी उपलव्ध गराई रहेको पाइन्छ ।

खेलाडी प्रति सरकारको दायित्व के? 
जुन खेलाडीले जीवनका उर्जाशील समय देश र समाजको शीर उच्च पार्न पसिना बगायो उसलाई आवश्यक पर्दा  राज्य अग्रसर हुनु पर्छ ता की भविष्यका कर्णधारहरुमा आशा जागोस् र भन्न सकुन् - 'म मरिमेटेर देशको नाम उज्ज्वल गर्छु । मेरो राज्यले मलाई परेको बेला त्यो गुन सम्झिने छ। सहयोगको निम्ति कुनै राजनीतिक पार्टीको सदस्य बन्नुपर्ने भाव नआओस । कुनै अमुक पार्टीको नेताको सिफारिसको गुन्जाइस नरहोस् । र, त्यसैकारण जीवनभर जोगाएको आत्म-सम्मानमा ठेस नपुगोस् ।

आगामी फागुनमा नेपाल मै हुन गइरहेको तेह्रौं साग खेलकुदको तीव्र तयारी चलिरहेको छ । त्यसअघि आठारौं एसियाली खेलकुदमा भाग लिन कैयौं खेलाडीहरु इन्डोनेसिया तिर जाँदैछन्। राम्रो खेल्ने खेलाडीहरुले अझ उत्कृष्ट प्रदर्शन गरुन् भन्ने चाहना हुन्छ । त्यसले तमाम अरु युवाहरुलाई प्रेरणा मिलोस्, उनीहरुमा पलायन र दिक्दारिपनको सोच निर्मूल होस् , उत्साह थपियोस् । उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुको आर्थिक जीवनको भविष्य सुनिस्चित गरिनु पर्छ।  नेपालमा अधिकांश खेलाडीहरु युवावयको जोश रहुन्जेल खेल्छन् ।  जिविकोपार्जनका विकल्प खोज्दै तिनका बाटा मोडिन्छन्।  'सिकारु' खेलाडीबाट देशको इज्जत जोगिदैन।  खेलकुदलाई 'फुर्सद समयको सदुपयोग'  गर्ने माध्यम नभई यौटा 'पेशा'को रुपमा लिन सकेमात्र यसको विकास हुन्छ।

यतिबेला देशमा खेलकुदको विकासको अभिभारा लिएको परिषद, खेलकुदका संगठनहरु हाँक्ने भेट्रानहरु, खेलप्रेमी राजनेता, जनताका प्रतिनिधिहरु सबैले मनन गर्न जरुरी छ कि 'खेलाडी राष्ट्रको हो कि कुनै राजनीतिक पार्टीको? कुनै पार्टी सदस्य भएको भरमा सिफारिस पाएर देशविदेशमा सुबिधासम्पन्न अस्पातालमा उपचार पाउने कि देशलाई दिएको योगदानको कदर स्वरुप नागिरकलाई परेकोबेला आवश्यक उपचार सहयोग दिएर असल संस्कारको स्थापना गर्ने?

र अन्तमा, 
कर्णालीमा क्षमतावान युवाहरु जन्मिन सक्छन् । असल कोचिङ्ग र ट्रेनिंग मिलेमा विश्वस्तरिय खेलाडीहरु पनि उत्पादान गर्न सकिन्छ भन्ने कुरा सिमित श्रोतसाधनको बाबजुद नै हिउँ चितुवाले प्रमाणित गरिसकेका छन्।  यिनको संघर्ष र सपना कर्णालीमा 'हाई-अल्टिच्युड ट्रेनिंग सेन्टर' खोल्ने छ।  यस दिशामा प्रदेश सरकारको नीति र कार्यक्रम मार्फत केही रुचि झल्किएको छ।  यसलाई यथासक्य मुर्तरुप दिन पहल कदमी आवश्यक छ।  त्यो भन्दा जरुरी सरकारको पहल 'हिउँ चितुवा'लाई आवश्यक पर्ने सबै उपचारको व्यवस्था मिलाएर निको पर्नु छ।

हामी कर्णालीबासीको इच्छा उनि फेरी त्यो जुम्ला र मुगु-राराको डाँडाकाँडामा उसगरी दौडिएको हेर्ने अभिलाषा छ। ती युवायुवतीहरुको तिघ्रामा जोश भरेर काँधमा चन्द्र सुर्य अंकित झण्डा बोकाएर देश विदेशको ट्रयाकहरुमा दौडन पठाई रहेको हेर्न उत्कट चाहना छ।  अनि भन्न मन छ - खेलाडी सँधै राष्ट्रको हुन्छ !!
----------
लेखक कर्णाली प्रदेश तातोपानी गाउँपालिकाका बासिन्दा हुन्। 
यो  लेखमा प्रयोग गरिएका फोटोहरु हरि रोकायाको फेसबुक पेजबाट लिईएका हुन्।  





Sunday, July 8, 2018

मार्सी चामल: शक्तिदेखि समृद्धिसम्म

यो आलेख सेतोपाटीमा प्रकाशति छ - https://setopati.com/opinion/163163
अचेल मार्सी चामलको चर्चा निकै चुलिएको छ । यौटा व्यापारीले राज्यसत्ताका दुई शक्तिशाली व्यक्तिहरुलाई  सत्कार भोजमा पस्केको मार्सी चामलको भातले व्यंग्य चेत भएका सबैलाई मसला मिलेको छ। डा. केसीको पन्ध्रौँ अनसन आन्दोलनले मार्सी धानको विम्बलाई झन् ताजा बनायो । त्यसमाथि डाकेसीको अनसन स्थल मार्सी धान फल्ने ठाउँ जुम्लामा हुनुले विषयलाई थप रोचक बनाएको छ। सायद  यसबर्षको गाइजात्रामा 'मार्सी चामल' विम्ब 'गरम मसला' बनेर चल्नेछ।

मार्सी चामल र  'शक्ति' सम्बन्ध 
मार्सि चामलको 'शक्ति'सम्बन्ध बडो रोचक छ। यो चामलसँग राज्यशक्ति, देवशक्ति, बाहुबलशक्ति आदि सम्बन्ध उत्पतिकालदेखि नै जोडिएको पाइन्छ ।  

जनश्रुति अनुसार एकजना 'शक्तिशाली' तपस्वी बाबा गंगाभुमिबाट कैलाश मानसरोवर जान जुम्लाको बाटो हुँदै आउँदा हिमाली ठाउँमा गज्जबको पानी लाग्ने मलिलो फाँटहरु देखेछन् र उनैले स्थानीयहरुलाई धान फलाउने बारे सिकाइदिए । ति तपस्वी बाबा 'चन्दननाथ' हुन् । त्यसैले खलंगा बजारमा अवस्थित चन्दननाथ मन्दिर समग्र जुम्लाबासीहरुको आराध्य मन्दिर मानिन्छ र हरेक साल आफुले उब्जाएको पहिलो एक पाथी मार्सीधान चन्दननाथलाई छुट्याउने (चढाउने) चलन छ। धान भित्र्याउने बेला बर्सेनि नौलो मार्सीधानको च्युरा कुटेर गाईको दुध मिसाएर 'न्वागी' गर्दा पहिलो भाग चन्दननाथलाई नै चढाईन्छ। 

तिनै चन्दननाथ बाबा मार्फत पहिलोपल्ट मार्सीधानको बिउ 'लाछु जिउला'मा छरियो । त्यो ठाउँ हाल जुम्लाको तातोपानी गाउँपालिकामा पर्दछ । केही जनविश्वास चन्दननाथ बाबाको तपले जंगली प्रजातिलाई घरायसी धान बनाउन सिकाए भन्ने छ भने कसैको मत कास्मिरबाट ल्याएको प्रजाति हो भन्ने पनि छ । जेहोस्  चन्दननाथ बाबाले त्यो मार्सीको बीउ उमार्न, खेतमा लगेर रोप्न र अन्त जिउलामा फैलाउन 'पैकेलो'को सहारा लिए । ति पैकेलो अद्वितीय क्षमता भएको एक 'शक्तिमान' स्थानीय सर्वसाधारण थिए । पैकेलोसंग जोडिएका साहस, बल, चातुर्य र योगदानका अनेक किस्साहरु छन् । कृतविर्य पनि भनिने उनलाई सम्मानका साथ 'लछाल कृति पैकेलो' भनेर चिनिन्छ। 

शाके ९६३ वि.सं. १०९८ को यौटा शिला प्रमाण अनुसार सुरुवाती कालदेखि मार्सी धानको खेती यौटा वैज्ञानिक पद्धतिबाट गरिने चलन रहेको बुझिन्छ।  हरेकबर्ष चैत्रको १२ गते बीउ उमार्ने धान पानीमा भिझाउन राखिन्छ ।  चारदिन पछि चैत्र १६ गते पानीबाट उतारिन्छ र न्यानो ठाउँमा स्याहारेर उमार्न राखिन्छ।  त्यसको ४ दिनपछि चैत्र २० गते उम्रेको धान बेर्नामा लगेर छरिन्छ । कर्णाली तिर बिउ छर्ने दिन चैत्रको २० गते अर्थात् 'बिसुआं' एउटा ठुलै चाडको रुपमा मनाइन्छ। त्यो चलन अहिलेसम्म पनि नबिराईकन कायम छ । यो पद्दतिको 'शक्ति' कतिसम्म थियो भने आधुनिक संचारको सुबिधा नपुगुन्जेल यहाँका बासिन्दाहरु परिवारको सदस्य परदेशबाट चैत्र १२ गतेसम्म घर फ़र्किएन भने मर्यो कि ठुलै बिरामीले सिकिस्त भयो भन्ने ठान्दथे । प्रायः यो विश्वास सत्य हुन्थ्यो।     

खस साम्राज्य र त्यस अघिका राजाहरुको राज भोजनको यौटा महत्वपूर्ण हिस्सा मार्सी चामल थियो । उबेला मार्सी धान फाल्ने जिउलोको आसपासमा  राजधानी खडा गरिएका थिए। सिंजाको लुड्कु जिउला माथी उत्तरपश्चिम लामाथडा, लाछु जिउला पारीपट्टी दक्षिणतर्फ सुनारगाउँ, जुम्लाबजार नजिक लाई जिउला उत्तरतिर छिनासिम आदि पुराना राज्य शक्तिका केन्द्र थिए । स्थानीयहरु ती शक्तिकेन्द्रलाई कर स्वरुप मार्सी धान बुझाउन्थे।  

राणा शासनकालमा चन्द्रशम्सेरको दरबारमा जुम्लाबाट दैनिक हुलाकमार्फत केहि माना चामल आउन्थ्यो।  त्यो क्रम जुद्धशम्सेरको पालासम्म चल्यो । (कसैकसैले त जंगबहादुरको पाला बिसं १९०४ मै जुम्लाबाट मार्सी चामल आउथ्यो र त्यो क्रम राणा शासनको अन्त्य अर्थात मोहन शमशेरको पालासम्म रह्यो पनि भन्छन्) मार्सी चामल निरन्तररुपले राणाको दरबारमा पठाउने क्रमलाई भंग गर्नु पछाडी जुम्लाबाट निरंकुश 'शक्ति' विरुद्ध गरिएको  बिरोधको एक संकेत थियो पनि भनिन्छ । चन्द्र शम्सेर र अरु दरबारियाहरु स्वादले गर्दा वा स्वास्थ्यको कारण मार्सी चामल प्रति आकर्षित भए त्यो त थाहा छैन तर अचेल यो चामल दुवै कारणले लोकप्रिय हुँदै छ । 

मार्सी चामल बजारमा उपलब्ध अरु चामलको तुलनामा महँगो छ। स्थानिय बाहेक अन्य आममान्छेको चुलोमा यो चामलको भात पाक्न चाडपर्व कुर्नुपर्ला । त्यसैले सहरी जीवनमा यसको पहुँच क्रय'शक्ति' भएकाहरुमा सिमित छ । अचेल पैसावालहरुलाई अरु चामलको भात खान नमिल्ने रोगले  च्याप्न थालेपछि विकल्पको रुपमा मार्सी चामलको खोजि बढेको छ।

मार्सी धान संसारमै उच्च क्षेत्रमा फल्ने प्रजाति मध्ये पर्दछ।  जुम्लाको छुम्चौरको जिउलो संसारमै उच्चस्थान (समुद्र सतहदेखि करिब ३००० मिटर उचाईं) मा धान फल्ने ठाउँ हो । यो प्रजातिको धानमा अरु धानको तुलनामा कठीन हावापानीमा उम्रन सक्ने बिशिष्ट गुण तथा उत्पादन 'शक्ति' निहित छ।
  
मार्सी चामल: स्वादिलो र स्वास्ठबर्धक 
सामान्यतया चिसो ठण्डा ठाउँमा फल्ने अन्न र फलफूल स्वादिला र पोषिला हुने गर्दछन्।  सायद प्रतिकुल हावापानी सँग जुधेर फुल्न र फल्न ति अनाज र बनस्पतिमा निकै बिशेष क्षमता विकास हुने गर्दछ। जसको कारण तिनीहरुमा अनेकन धातु लगायत सुक्ष्म पोषक तत्वहरु संचय हुन्छ।  जुन मानव जिब्रोको स्वाद र स्वास्थ्यको निम्ति उपयुक्त हुन्छन् ।     

मार्सी धानको चामल खैरो रङको हुन्छ। कसै कसैले रातो चामल पनि भन्दछन् । लाभदायक पौष्टिक तत्वहरुको मात्रा सेतो चामलको तुलानामा धेरै हुने भएकोले यो चामल स्वाथ्यकर मानिन्छ । खैरो चामलमा भातको सेवन पछि कति छिटो ब्लड सुगर बढ्छ भनि नाप्ने सूचक अर्थात ग्लाईसमिक इन्डेक्स (जीआई) सेतोको तुलनामा निकै कम हुन्छ । खैरो चामलमा उच्चमात्रामा म्याग्नेसियम र फाइवर तत्व हुने भएकोले रगतमा सुगरको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ । त्यस्तै यो चामलमा भएको एन्टीअक्सिडेण्ट गुण र 'लिग्नान' तत्वले रगतमा बोसो तत्व, रक्तचाप  र धमनीहरुको सुजन घटाउन मद्दत गरी मुटुरोग, मधुमेह र मोटोपनाको जोखिम नियन्त्रण गर्छ।

मार्सीधानलाई प्रायः ओखलमा कुटेर चामल बनाउने भएकोले यसको बोक्रामा निहित तत्वहरु खेर जाँदैन ।   त्यसैले जुम्लामा उपलब्ध हुने मार्सी चामलमा भिटामिन र मिनरल्सको मात्रा बजारमा उपलब्ध अरु चामलको तुलनामा निकै उच्च पाइन्छ ।

कर्णालीको चामल राजनीति र मार्सी धान 
विगत चार दशक यताको कर्णालीको राजनीतिमा 'चामल' यौटा अभिन्न तथा केन्द्रीय चुनावी एजेण्डा हुने गदर्छ ।दुर्गम क्षेत्र विकास र राहत स्वरुप कर्णाली लगायतका कतिपय जिल्लाहरुमा राहत खाद्यान्न भित्रिन थालेपछि स्थानीयहरुमा 'सेतो चामल'को भात खाने रहर बढ्यो।  र कर्णालीका नेताहरुको नेतृत्व क्षमता कसले कति क्वीन्टल चामल आफ्नो ठाउँमा झार्न सके र कति थान 'चामलको कुपन' आफ्ना जनतालाई बाँड्न सक्षम भए सूचकले निर्क्योल गर्थ्यो । कर्णालीमा भोकमरी नभई 'भातमरी' छ पनि भन्ने गरिन्छ।  पछिल्लो दशकमा कर्णाली सडकले जोडिएपछि धेरै ठाउँमा तराईबाट आउने थरीथरी सेता चिल्ला चामलका बोराहरु सस्तो र सहजै पुग्न थाले ।

कर्णालीमा भातखाने चलन बढेपनि मार्सी चामलको भात भने प्रायः गाउँघरका औसर र भतेरहरुमा सिमित हुँदै गयो।  मार्सी धानको फाइदा बारे चर्चा गरिएन। परिकारमा बिबिधता आएन। उत्पादकत्व कम हुनु, बजार र बिक्रि मूल्य नहुनुले स्थानीय हरुमा यो धानको उत्पादन रुचि हट्यो ।

तर, चामल राजनीति अहिले पनि छ।  पोहरसाल कर्णालीबासीलाई परिवारको जन्म र मृत्युमा  २० केजी चामल दिने भन्ने सरकारी घोषणाले निकै चर्चा बटुल्यो  । बिरोध गर्ने गर्नेहरुले यो घोषणालाई कर्णालीको 'इज्जत' सँग जोडेर सरकारले बेईजति गर्यो पनि भने ।

स्थानीय राजनीति चर्चामा स्थानीय उत्पादनको प्रबर्धन, खाद्य सुरक्षा, बजार व्यवस्था आदि बिषय खासै 'एजेण्डा' बनेनन् ।

मार्सी धानको भविष्य: संरक्षणको पर्खाइ 
यो एक जंगली प्रजातिको धान भएकोले अन्य कतिपय धानको तुलानामा रोगलाग्ने दर निकै कम भएको ठानिन्छ।  तथापी, चालिसको दशकपछि विभिन्न रोगको आक्रमण देखिन थालेको पाइन्छ । पचासको दसकमा 'ब्लास्ट' अर्थात  'मरुवा' रोगको प्रकोपले पनि पटक पटक असर पार्ने गरेको छ।  बिशेषगरि बिउ छान्ने प्रक्रियामै ध्यान नपुर्याउदा यस्तो समस्या बेहर्नु परिरहेको छ ।   

दसकौंदेखि कृषि अनुसन्धान परिषदले जुम्लामै अफिस राखेर यी समस्याको निवारण गर्न सकेको छैन । पटक पटक बढी फाल्ने र रोग प्रतिरोधी 'उन्नत जात' भनि सिफारिस गरिएका नयाँ धानहरु केही बर्ष पनि टिक्न सकेका छैनन् । उल्टो यी प्रयासहरुले रैथाने वास्तविक मार्सी धानलाई लोपोन्मुख हुन मद्दत गरिरहेका हुन सक्छन् । आयातित र हाइब्रिड बिउहरुले नश्लीय परिवर्तन गरि रहेको हुन सक्छ।   यसको स्वतन्त्र अध्ययन गरि कृषि अनुसन्धानको नाउँमा हुन सक्ने असफल, अनुत्पादक र अनैतिक प्रयासहरुलाई रोक्न आवश्यक छ। 

आम रूपमा जुम्ला लगायत कर्णालीका बस्तिहरु डाँडाको काखमा वा फेदमा, हावा छेकिने तथा घाम पर्ने स्ठानमा प्रायः घरहरु एकापसमा जोडिएका हुन्थे। यसले मान्छे र गाईबस्तुलाई चिसोबाट बचाउने, थोरै जग्गामा धेरैबस्ति बस्न सक्ने, भिरालो ठाउँमा जोडिएर बनेका घरले अडेस दिने, जोडिएर बनेका घरका छतको बहु प्रयोग हुने र सँगैबस्दा ऐंचोपैंचो  साथ-सहयोग मिल्ने लगायत अनेकौं फाइदा मिल्थे । कुलोबाट पानी लाग्ने  खेतहरु भएको ठाउँलाई 'जिउलो' भनिन्छ। जिउलो भएका बस्तीहरु 'समृद्ध बस्ति' मानिन्थे ।  लेखतिर भोटतिरका व्यापारीहरु भेडा, घोडा, झोवा, चौरी ल्याएर अन्न साट्न किन्न आउँथे।  अचेल स्वाभाविक रुपले त्यो व्यापारको चक्र  फेरियो । तर अस्वाभाविक र अवैज्ञानिक ढंगले ति जिउलोहरु घडेरी बनेर मासिंदै छन् । यसरी खेतीयोग्य जमिन मासिंदा मार्सी धान त लोप हुन्छ नै पर्यावरणीय असन्तुलन पनि बेहोर्नु पर्छ।  यसबारे न सरकारले न संस्थाहरुको चासो पुगेको छ । स्थानीय सरकारले नीति बानेर कुलो लाग्ने खेतहरुमा  भौतिक संरचना निर्माणमा पूर्ण बन्देज लगाउनु पर्छ। 

विश्वको सबैभन्दा उच्चस्थलमा धान फाल्ने भनेर भनिएको 'छुम्चौर'को जिउलोमा अचेल धान भन्दा आलु धेरै फल्छ कि त खेत बाँझो छ । रोपाइँको सिजनमा स्थानीयहरुको चटारो यार्सा टिप्न जान हुन्छ।  अरु जिउलाहरुमा खेतहरु भागबण्डा गर्दा, बेचबिखन गर्दा टुक्रिएर ससाना टुक्रा 'फ़ोक्टा'मा रुपान्तरण भैसके। कतिपय खेतहरुमा त एक हल गोरु नअट्ने भैसके। ती खेतहरुले लागत अनुसारको उत्पादन झन् घटाईरहेका छन्।   भबिष्यमा कतै यान्त्रिक पध्दतिको आधुनिक खेति प्रणाली सुरु गर्न सकिएछ भने ति खेतहरु कति उपयुक्त होलान्।  विचारणीय छ।       

२०६४ सालदेखि यो धान फाल्ने 'अर्ग्यानिक क्षेत्र' घोषणा गरिएको छ।  तर लुकिछिपी आउने अबैध किटनाशक बिषादी  र रासायनिक मलको प्रयोग रोक्ने सशक्त निगरानी गरेको देखिंदैन।  नयाँ बनेको प्रादेशिक सरकारले सम्पूर्ण प्रदेशलाई नै अर्गानिक प्रदेश बानाउने सोच राखेको त छ तर व्यवहारमा कसरी लिन्छ हेर्न बाँकी नै छ।   

मार्सी धान संरक्षणको पर्खाइमा छ।  अचेल यो धानको बीउ नै संकटमा छ।  उन्नत तरिकाले बीउ संकलन र संचय गर्ने परिपाटी छैन। स्थानीयहरु साटफेर गरेर चलाई रहेका हुन्छन। अन्य कुजात सँग मिसिएर अनुपयुक्तभै सकेको हुनसक्छ । स्थानियहरुमा आकर्षक बजार र उपुक्त मूल्यको अभावमा उत्पादनमा अरुची उत्पन्न भएको छ।  पोहोरसालबाट सरकारले मार्सीधान लगायत अरु  रैथाने प्रजातिका धान खरिद गर्न थालेको त छ तर दिर्घकालिन प्रभाव पर्ने गरि उत्पादन प्रबर्धन गरिएको छैन ।

र अन्तमा, 
हामी कृषिमा आश्रित छौँ । अनाजमा सह लुकेको हुन्छ। आफैले अन्नपात फलाउनेहरु आत्मनिर्भर हुन्छन्।  यसले आत्मबिश्वास बढ्छ। यो नै एक  समृद्धिको द्योतक हो । तसर्थ मार्सी धानको संरक्षण कर्णालीको बैभव र समृद्धिसँग जोडिएको मुद्दा हुनु आवश्यक छ। 

अनि, अहिले डा. केसी जुम्लामा अनसनरत छन्।  यौटा सत्याग्रही सकुशल र सम्मान घर फर्कियोस् भनि सबैतिरबाट  चाहना र कामना व्यक्त भैरहेको छ । यसपाला  मार्सी चामलको भात खुवाएर उनको अनशन तोडाउन पाए …..!

(लेखक चौलागाईं कर्णाली प्रदेश जुम्ला जिल्ला तातोपानी गाउँपालिका लाम्रा गाउँका बासिन्दा हुन्) 

Wednesday, June 13, 2018

वाह! हाम्रो सरकार त क्या 'स्मार्ट' छ

वाह! हाम्रो सरकार त क्या 'स्मार्ट' छ  

सन्दर्भ: प्रथम विश्व साईकल दिवस, जुन ३, २०१८ 
यो ब्लग सेतोपाटीमा प्रकाशित छhttps://setopati.com/blog/161146
साईकललाई फुर्सदको सदुपयोग तथा यातायातको साधनको रुपमा प्रयोगगर्दा सामाजिकस्तरमा हासिल हुने बहुआयमिक फाइदाहरुको बारे व्यापक सचेतना बढाउने उद्देश्यले गत अप्रिल १२, २०१८ का दिन १९३ सदस्य राष्ट्रको सहमतिमा संयुक्त राष्टसंघ महासभाको ७२ औं नियमित सेसनले हरेकबर्ष जुन ३ तारिखलाई ' विश्व साईकल दिवस'को रुपमा मनाउने घोषणा गरेको छ।  इतिहासमै पहिलो 'विश्व साईकल दिवस' संसारभर यहि आइतवार, २०७५ जेठ २० गते विभिन्न गतिबिधि सहित मनाईने छ। यो संगै साईकलिङ्ग गतिबिधिको प्रवर्धनले नयाँ आयाम पाउने छ। 

साईकलिङ्गले समग्र सामाजिक, आर्थिक र वातावरणीय पक्षमा सकारात्मक प्रभाव पार्ने मात्र नभई मानवीय सन्निकटता बढाउने भएकोले सबैतिरबाट यसलाई स्वागतयोग्य कदमको रुपमा लिईएको छ। हालै विश्व स्वास्थ्य संगठनले मे महिनामा बसेको विश्व स्वास्थ्य महासभामा प्रस्तुत गरेको 'शारीरिक गतिविधि कार्य योजना २०१८ – २०३०' ले पनि मानव जीवनमा साईकलिङ्गले दिने बहुआयमिक लाभका कारण उच्च प्राथमिकतामा राखेको छ । साईकलको बढ्दो प्रयोगले समग्रमा दिगो विकास लक्ष्य हासिल गर्न अतुलनीय योगदान पुर्याउने निश्चित छ किनकी  यो आफैमा भरपर्दो, किफायती र हितकारी मध्यम हो । दिगो विकास लक्षका १७ मध्ये कम्तिमा १२ वटा लक्ष्य हासिल गर्नमा साईकिलिङ्गले प्रत्यक्ष योगदान गर्छ। कम ठाउँ लिने, कम खर्चिलो र उर्जा खपत नगर्ने विशेषता नै आधुनिक मानव समाजको निम्ति अपरिहार्य छ।  यसले स्वास्थ्यमा ल्याउने फाइदाले त यो झन् एक हितैषी साधन प्रमाणित नै भैसक्यो ।

विश्व साइकल दिवसबारे चर्चा गर्दा विकासमा साइकलको भूमिकाबारे अध्ययन गर्ने पोल्याण्डका प्रोफेसर लेस्शेक सिविल्क्सी छुटाउन नमिल्ने नाउँ हो जसले 'सबैकोलागि दिगो गतिशिलता' अभियानको सहयोगमा राष्ट्रसंघ सभाबाट यो दिवस पारित गर्न सफल भए । तीनबर्ष अघि उनले लेखेका दुइटा ब्लग 'साइकल सबैको चासो हो' र 'किन बाईसाईकलको विश्वदिवस छैन? blog here बाट सुरु भएको प्रयास अन्ततः  गत नोभेम्बरमा तुर्किमिनिस्तान सरकारले अभियानलाई संयुक्त राष्ट्रसंघ सभामा लिएपछि सार्थक बनेको हो ।

साइकलिंग प्रयोगका फाइदाहरु

आर्थिक समृद्धि र भौतिक सुबिधाहरु बढे संगै मानिसको रहनसहन र आहारबिहार भएको परिवर्तनले जीवन पध्दतीलाई प्रभावित गरिरहेको छ । बिशेषगरि शारीरिक व्यायामको अभावमा चुलिरहेका नसर्ने रोगहरू रोकथामका लागि उत्तम उपाय मध्य साइकल एक हो । यसको नियमित प्रयोग गर्न सके कम खर्चिलो, भरपर्दो र सहज यातायातको माध्यम हुन सक्छ। छोटो दुरीको लागि दैनिक प्रयोगमा इन्धन बालेर चल्ने मोटर जडित साधनको उत्तम विकल्प हुनसक्छ।  जसको कारण इन्धनमा खर्चहुने अर्बौं रकम विदेशिनबाट जोगिन सक्छ । यसको प्रयोगले वातावरण स्वच्छ राख्न मद्दत पुग्छ र फलस्वरूप दीर्घ तथा घातक रोगहरूबाट करोडौं मान्छेहरूलाई बचाउन सकिन्छ।  त्यसैगरि साइकलले खेलकुद तथा असल प्रतिस्पर्धा प्रबर्धन गराउन मद्दत गर्छ।  मानिसलाई रचनात्मक बनाउन सक्छ भने सामाजिक सम्बन्ध बिस्तारमा पनि प्रभावकारी योगदान गर्न सक्छ । त्यसबाहेक साइकलको प्रवर्धनले टिभी तथा मोबाइलको अत्यधिक प्रयोगलाई नियन्त्रण गरी सकृय र स्वस्थ जीवन बाँच्न पनि सहयोग गर्न सक्छ।  यसको व्यवस्थित र प्रभाकारी प्रयोगले दिगो यातायातको आधार स्थापित गर्न सक्छ।

नेपालमा साईकल संकृति 

मोटरसाइकल र अन्य सवारी साधनको प्रभुत्व बढ्नु अघि नेपालको तराई, प्रमुख शहरहरु र उपत्यकाहरुमा बस्ने मानिसहरुको लागि साइकल जीवनको अभिन्न पाटो थियो।  हरेक परिवारमा मेलापात, हाट बजार आवतजावतको प्रमुख साधनको रुपमा साइकल हुन्थ्यो। स्कुल र क्याम्पस जीवनमा साइकल सबैको सपनाको साधन बनेर बसेको थियो। मोटर इन्जिनले चल्ने साधनको आगमन संगै साइकल गरीवहरुको साधन झैं बन्न गयो । विस्तारै आर्थिक उन्नति गर्नेहरु आफ्नो घरको  साईकल त्यागेर त्यो ठाउँमा स्कुटर, मोटर साइकल वा गाडी राख्नुलाई सामाजिक प्रतिष्ठा जस्तो ठान्न थाले । फलस्वरूप हाम्रा शहर र बस्तिहरु प्रदुषित हुने दर बढ्दै गयो । नेपालमा मात्रै हैन यो अवस्था विश्वभरि नै देखिएको छ ।  पछिल्लो दशकबाट जब हावा, हरियाली, सुन्दरता र स्वस्थ जीवनमा समस्याहरु देखापर्न थाले, साइकलबारे बिस्तारै चर्चा बढ्न थाल्यो।  तैपनि, साइकललाई फुर्सदको सदुपयोग गर्ने तथा स्वास्थ्य जीवनको माध्यम बनाउने चलन भर्खरै सुरु हुन लागेको मान्न सकिन्छ । घुम्ने प्रयोजनका लागि ठमेल, झम्सिखेल र पोखरामा बिदेशी पर्यटकहरुलाई भाडामा दिन राखिएका स्पोर्ट बाईक वा माउन्टेन बाईकहरु हेरेर रमाउनु बाहेक आम नेपालीहरुमा ती साइकल किन्न सक्ने हैसियत अझै कमै छ।

विगतमा केही विदेशीहरु साहसिक यात्रामा प्रकृतिको काखमा हराउने गरी साइकल लिएर नेपालका शहर कुनाकन्दरा घुम्न आउने गरेका थिए ।  सन् १९८३ तिरै दुईजना बिदेशी यात्रीले सगरमाथा बेशक्याम्पसम्म साइकल चढेर पुगेका थिए भने नेपालीमा सन् १९८८ मा सोनाम गुरुङ त्यहाँ पुगेर इतिहास बनाएका छन् ।

खासगरी यो सताव्दीको सुरुवातबाट नेपालमा  फाट्टफुट्ट मौसमी साइकल गतिबिधि बढेको पाइन्छ।   छिटपुट रुपमा ट्राएथलन , क्रसकन्ट्री रेश, डाउन हिल, कोरा, हेरिटेज राइड, टुर डे लुम्बिनी, जनकपुर, सिन्धुली, पोखरा जस्ता संगठित र प्रतियोगितत्मक कार्यक्रम हुने गरेका छन् ।  ति बाहेक कतिपय कर्पोरेट क्षेत्रले प्रायोजन गरेर सेवा र वस्तु प्रवर्धनका लागि साईकल र्यालि आयोजना पनि हुने गरेका छन्।  तर यी सबै रहर र निजी प्रयास बाट भैरहेका छन् । युवापुस्ता माझ साहसिक खेलको रुपमा पनि साइकलले प्रवेश पाईसकेको छ । यो दशकको सुरुमा पुष्कर शाहको विश्व साइकल यात्रा, सगरमाथा, आरोहणले नेपाली समाजमा साइकल प्रतिको दृष्टिकोण बदल्न र चर्चा बढाउन उल्लेख्य योगदान गरेको मान्न सकिन्छ ।

सन् २०१५ को नाकावन्दी र पेट्रोलियम पदार्थ अभावले नेपालमा साइकल संस्कार भित्रिन अतुलनीय योगदान पुर्याएको थियो । आम मानिसको जीवनमा साइकलले पुनः प्रवेश पायो। साइकल बिक्रिको दर नि ह्वात्तै बढ्यो।  घुमफिरमात्र हैन दैनिक सवारी साधनको रुपमा प्रयोग गर्नेहरु बढे। संकटको बेला परनिर्भरता कम गर्न निकै मद्दत भयो।  एक प्रकारले वास्तवमा साइकलले देशको राष्ट्रियता र स्वाभिमान कायम राख्न गरिएको आन्दोलनलाई निकै योगदान दियो।

अचेल बिदाको सदुपयोग गर्ने, स्वास्थ्यलाभ गर्ने, वातावरण प्रेमी, सामाजिक उत्तरदायित्वको समझ राख्नेहरु साइकललाई साधनको रुपमा प्रयोग गर्न थालेका छन्।  सोसल मेडिया र स्मार्ट फोनको प्रयोग बढेसंगै त्यहाँ पोष्ट गरिने साइकल यात्राका रोमाञ्चक र सुन्दर तस्विर तथा अनुभवले संजालमा जोडिएका हरुलाई उत्प्रेरित गरि रहेको पाइन्छ।

साईकलिंग विस्तारको अपरिहार्यता 

यद्यपी औपचारिक रुपमा सरकारी तबरबाट साईकलिङ्गको विकास र विस्तारको ठोस प्रयास भएको पाईदैन।  सन् १९९५ मै नेपाल माउण्टेन बाईक एसोसिएसन गठन भए पनि त्यति प्रभावकारी भएन।  यसलाई पछि २००६ मा नाम परिवर्तन गरि नेपाल साईकलिङ्ग एसोसिएसन राखियो। यो देशकै खेलको सम्बर्धन गर्ने हैसियत भएको ओलम्पिक कमिटि अन्तर्गतको यौटा संगठन भए पनि निस्प्रभावी झैँ देखिन्छ। यसको वर्तमान समिति गत अप्रिलमा चुनिएर कार्यरत छ। सरकारको पर्यटन बोर्डले छिटपुट भनसुनको आधारमा केही साईकल र्यालीहरुमा कर्मकाण्डिय प्रयोजन गर्ने बाहेक कुनै प्रवर्धानात्मक कार्यक्रम राखेको पाइदैन।

हरेक स्थानीय  र प्रदेश सरकारहरुले 'स्मार्ट सिटी' बनाउने सोच राखेका छन् । विकसित देशका स्मार्ट सिटीहरुमा साईकल लेन हुनु अनिवार्य जस्तै छ।  हामी  आशा गरौँ नेपालका स्मार्ट सिटीहरु पनि साईकल मैत्री हुनेछन्।

सरकारले साइकल आयातमा ६ प्रतिशत कर लगाउँछ। आम मान्छेमा साइकलको पहुँच बढाउन त्यो हटाउन जरुरी  छ । र सरकारले रेल-सपनाहरु जस्तै 'साइकल-सपना' साकार पार्ने प्रतिवध्दता गर्नु स्वास्थ्य, वातावरण, आर्थिक तथा सामाजिक दृष्टिकोणले बढी महत्वपुर्ण छ । सहरका बाटोहरुमा साइकल लेन राख्नु यो उपयुक्त समय पनि हो, खाशगरी खडक बिस्तार भएका ठाउँहरूमा दुई वा तीन फीट बाटो छुट्याउनु सहज पनि छ ।   यो हेक्का होस् - साइकलमा गरेको लागानीले रेल वा अन्य क्षेत्रमा गरेको लगानी भन्दा निकै सस्तो र अधिक र द्रुत प्रतिफल दिने छ।  किनकी, साइकल प्रवर्धनले प्रदुषण घट्छ, स्वच्छ वायु दिन्छ।  स्वस्थ र सवल नागरिक दिन्छ । त्यो आहिलेका भोटरलाई मात्र हैन भविष्यका सन्ततिको निम्ति गरिएको अति महत्वपूर्ण योगदान ठहरिने छ।  अनि भन्न मिल्ने छ 'वाह, हाम्रो सरकार त क्या 'स्मार्ट' छ"।

(लेखक एक साइकल प्रेमी हुन्)





Wednesday, May 9, 2018

के खस भाषा लोपोन्मुख छ ?



यही २०७५  बैशाख २६ गते भाषा आयोगले  कर्णाली प्रदेशमा यौटा संगोष्ठी गर्यो ।  त्यहाँ प्रस्तुत प्रतिवेदनमा आधारित भएर कान्तिपुरको पहिलो पानामा छापिएको समाचारले (हे. फोटो) ले ध्यान तान्यो । यसमा भाषाको उद्गमस्थल कर्णालीमै खसभाषा लोपोन्मुख हुन पुगेको छ किनकी प्रदेशभरि जम्मा १८ जना'जति'ले मात्र खसभाषा बोल्छ भनिएको छ । सबैभन्दा बढी १३ लाख ४६ हजार २ सय जनाले नेपाली बोल्छन्।  प्रदेशभर बोलिने ५५ भाषामध्ये खसभाषा ३३ औं स्थानमा पर्छ भनिएको छ।  आयोग अध्यक्ष लवदेव अवस्थीले 'आयातित भाषाले मौलिक भाषा लोप हुने अवस्थामा पुगेको' भन्दै अवको तिन पुस्तामा अन्य मौलिक भाषा पनि नभेटिने निर्क्यौल निकालेका छन् ।  संगोष्ठीमा उपस्थित प्रदेश सरकारका मन्त्री, सचिव र मेयरहरुले 'अब खसभाषा जोगाउन केही पहल र  केहि न केही  'मेकानिज्म' बनाउन्छौं' भने।


भाषा आयोग जस्तो अधिकारिक संस्थाले प्रस्तुत गरेको तथ्यमा कतिपयले शंका गर्ने ठाउँ पनि देखेनन् होला । तर, आम पाठकहरुले यी सबै तथ्यहरु अपत्यारिला माने । प्रदेशभर खसभाषा बोल्ने मान्छे जम्मा १८ जनामात्र किन? खसभाषाको बाहुल्य हुनुपर्ने ठाउँमा कसरी ३३ औं स्थानमा पर्यो? साँच्चै खसभाषा लोप हुन लागेको हो? जस्ता प्रश्नहरु तेर्सिए । आउनुस्, त्यसबारे केही चर्चा गरौँ।

भाषा आयोगको प्रतिवेदनमा प्रयुक्त तथ्याङ्कको श्रोत र विश्वासनीयता 

आजभन्दा ७ बर्षअघि गरिएको राष्ट्रिय जनगणना २०६८ ले मातृभाषा बोल्ने जनसंख्याको तथ्याङ्क लिएको छ।  भाषा आयोगले प्रयोग गरेको तथ्याङ्कको श्रोत त्यै जनगणना हुनपर्छ  किनकी त्यहाँ नेपालभर १,७४७ जना 'खस' मातृभाषा बोल्नेहरु छन् भनिएको छ।  त्यसैगरी ८५१ जना 'जुम्लिभाषा' बोल्नेहरु छन् पनि भनिएको छ।  त्यसलाई प्रदेशगत हेर्दा कर्णाली प्रदेशमा १२ जना खस र १७ जना जुम्लीभाषा मातृभाषाको रुपमा बोल्ने तथ्याँक छ ।    के जनगणनाको तथ्याङ्क प्रयोग गर्न उपुक्त छ? छैन किनभने यो सबै संख्याहरु नै आफैमा अपत्यारिलो, अपुरो, कमसल । जस्तो कि ति 'खसभाषा' बोल्ने १२ जना उत्तरदाता जुम्लाका पुरुषहरु मात्र थिए। त्यसैगरि सुर्खेतका १७ जना (९ पुरुष र ८ महिला) ले 'जुम्लीभाषा' बोल्छु भनेका थिए। अन्य उत्तरदाताहरु कैलाली, कंचनपुर, बाँके र बर्दियाका बासिन्दा थिए ।  त्यस्तो तथ्याङ्क कुनै हिसाबले पनि प्रयोग गर्न हुँदैन जसले गलत संदेश दिन्छ।

राष्ट्रिय जनगणनाले दिएको तथ्याँक पनि किन प्रयोग किन नगर्ने भन्नुहोला । संकलन गरिएका सबै तथ्याँकहरु हुबहु प्रयोग गर्न मिल्ने हुँदैनन् । भाषाको सन्दर्भमा डाटामा के समस्या छ चर्चा हेरौं एकछिन् -

जनगणना २०६८ को व्यक्तिगत विवरणमा प्रश्न नं १० मा भाषा बारे दुईटा कुरा सोधिएको छ -  मातृभाषा र द्वितीय भाषा । पहिलो प्रश्नले बाल्यकालमा अभिभावकबाट सिकिएको भाषा भन्ने जवाफ खोजेको हो अर्थात  मातृभाषा जुन सामान्यता बाल्यकालमा घरमै अभिभावकहरुबाट सिकिएको पहिलो भाषा हो । दोस्रो प्रश्नले मातृभाषा पछि कामकाजको लागि छिमेकि र अरुहरु सँग संचारगर्दा प्रयोग गरिने भाषा भन्ने जवाफको अपेक्षा गरेको हो ।

जनगणनाको तथ्याँक संकलन गर्नेबेला घरघर पुग्ने गणकहरुलाई नेपालमा बोलिने भाषा / भाषिकाको कुनै सूची दिईएको थिएन । त्यसैले उनीहरुले मातृभाषा र द्वितीय भाषा बारे उत्तरदाताले भनेका हरेक नाउँहरु आफ्नै हिसाबले टिपोट गरे।  ति कतिपय अस्पष्ट, अपुरा र गलत नामले उल्लिखित भएका थिए।  यो समस्यालाई समाधान गर्न पछि यौटा भाषा विज्ञहरुको टोली बनाएर बर्गिकरण र मिलान गरिएको थियो । अन्तमा यो टिमले नेपालमा  १२३ वटा भाषा रहेको निष्कर्ष निकालेपनि २१ हजार बढी उत्तरलाई 'अन्य' भाषाको बर्गमा राखेको थियो भने करिब ४८ हजार उत्तरदाताको जवाफ नै रेकर्ड भएको थिएन । समग्रमा ५९ प्रतिशत नेपालीहरुले एउटामात्रै भाषा बोल्ने गरेको बताएका थिए भने  ४१ प्रतिशतले द्वितिय भाषा पनि बोल्छु भनेका थिए।  जम्मा ९२ प्रकारका भाषा द्वितिय भाषाको रुपमा जवाफ प्राप्त भएकोमा ३३ प्रतिशतले नेपाली  र ५ प्रतिशतजति ले हिन्दी दोस्रोभाषा बोल्ने गरेको बताएका थिए ।

तर रमाइलो कुरा  बीसबर्ष अघि २०४८ सालमा गरिएको जनगणनामा जम्मा ३१ वटामात्र मातृभाषा रेकर्ड गरिएकोमा दुइ दशकमा बढेर १२३ पुगेको छन् ।  यो कसरी पुग्यो? खसभाषा वा जुम्लीभाषा त पहिले पहिलेका जनगणनामा किन थिएनन्? यदि पहिला कतिले बोल्थे भने रेकर्ड नै नभई अहिले कसरी लोपउन्मुख भन्न सकिन्छ? बढेको कि घटेको के थाहा ?

खस लगायत जुम्ली, दैलेखी, बाजुरेली, डोल्पाली जस्ता नयाँ भाषाको रुपमा यो जनगणनामा मात्रै थपिएका थिए।  यस अघिका जनगणनामा यस्ता भाषालाई नेपाली भाषाको 'डाएलेक्ट' वा भाषिका मानेर नेपाली भाषा भित्रै समेटिएको हुन्थ्यो ।

अनेक थरी नयाँ भाषाको नामाकरण गर्दै सूची लम्ब्याउने काम भाषा सर्वेक्षणको नाम रिसर्च अनुदान लिने होडमा गरिएको अनियन्त्रित प्रयासले हो।  ससाना टुक्रे अनुसन्धान गर्यो, जात र स्थान बिशेषका सामान्य भाषिक बिबिधताहरु खोज्यो र आफ्नै हिसाबको भाषाको दर्जा दियो । त्यही काम गर्नेहरु मध्ये जो जनगणनाको भाषा निर्क्यौल गर्ने टिममा बसे उनीहरुले 'डाईलेक्टस्' लाई पनि 'ल्याङ्ग्वेज' को नाउँ दिए र यो समस्या आयो ।

तसर्थ भाषा आयोगले आफ्नो प्रतिबेदनमा भने जस्तो कर्णाली प्रदेशमा ५५ विशिष्ट थरिका भाषा बोलिदैन । त्यस्तै १२ वटा भाषा त १/१ जनामात्रले बोल्छन् भनि उल्लेख गर्नु अतिरंजना हो किनकि ती भाषाहरुबारे अस्पष्ट हुने भएकोले 'अन्य' शिर्षकमा समेटिएको हुन्छ।  जुन त्यो ठाउँमा बोलिने भाषाको संख्या भित्र पर्दैन । त्यस्तो अन्य भाषा बोल्ने १,६६० जना थिए।             

जनगणना बाहेक अरु श्रोत वा भाषा अध्ययन के छ त ?  

घर घर पुगेर डाटा लिने भएकोले सबभन्दा भरपर्दो श्रोत त जनगणना नै हुनुपर्ने हो । तर छैन । अरु भनेका निजी, प्राज्ञिक केही सानो स्तरका विशिष्टीकृत भाषा सर्वेक्षण र प्रतिवेदन छन् जसको विस्लेषणले पनि केही दृष्टिकोण दिन्छ।  जस्तो कि त्रिभुवन विश्वविद्यालयमा भाषाशास्त्रको केन्द्रीय विभाग छ।  त्यसले विभागले आठबर्षसम्म संचालन गरेको राष्ट्रिय योजना आयोगको परियोजना 'भाषा वैज्ञानिक सर्भेक्षण Linguistic Survey of Nepal (LinSuN)' गत पौष २०७४ मा समापन भयो । परियोजना अवधि भर सरकारले कहिल्यै प्रयाप्त बजेट र श्रोत दिएन भन्ने गुनासो माझ यसले ९६ वटा भाषाको सर्भेक्षण गरेको दावी गरेपनि ६४ वटाको प्रतिवेदन विभागमा रहेको विवरण छ।

खस भाषा बारे 

खस भाषाको उन्नत रुप नेपाली भाषा हो भन्ने तथ्य त स्थापित भइसकेको छ । आमरुपमा खस भाषा इतिहासकालीन बृहत जुम्लाराज्यको खसान क्षेत्रमा बोलिने लवज हो । त्यसको सिंजा केन्द्र थियो तर त्यसको भाषिक प्रभाव क्षेत्र २२ खोला र १४ दरा समेटिएको भूभाग हो अर्थात् तिब्रिकोट, जुम्ला, चौधबिस, रास्कोट, हुम्ला, गुम मुगु, खत्याड, सोरु,डोल्पा, बाजुरासम्म । भाषाका अध्यताहरुले पनि यो भाषालाई जुम्ली, जुम्लेली, खसकुरा, सिंजाली भनेर पनि चिनिने भनेका छन् ।    

समाज भाषा वैज्ञानिक सर्वेक्षण अन्तर्गत सन् २०१६ मा डिल्लीराम अधिकारी र डा. लक्ष्मीराज पण्डितले 'जुम्ली नेपाली भाषा'को अध्ययन गरेका थिए ।  कर्णाली क्षेत्रमा बोलिने कालिकोटे, मुगाली र हुम्लीले बोल्ने भाषालाई 'जुम्ली नेपाली भाषा' मानी अध्ययन गरिएको थियो । यस रिपोर्टले जुम्ली नेपाली भाषा बाजुरा, बझांग, अछाममा पनि बोलिने गरेको उल्लेख गरेको छ। यद्यपी यसमा डोल्पा, जाजरकोट, दैलेख, सल्यान, रुकुम तिर पनि बोलिने जानकारी छुटाएको छ ।

भाषा वैज्ञानिक सर्वेक्षण २०१६ को अध्ययनको फिल्ड प्रतिवेदन अनुसार जुम्ली नेपाली भाषीमध्ये  ७५ प्रतिशतले अरुसँग कुरा गर्दा प्रायः 'नेपाली भाषा' को माध्यम प्रयोग गर्ने गरेको बताएको थिए । त्यस्तै 'पाहुना संग कुन भाषामा कुरा हुन्छ ? वा फरक भाषा बोल्ने मान्छे भेटे कुन मध्यम भाषा हुन्छ भनि सोध्दा पनि शतप्रतिशतले 'नेपाली' भनेका थिए । यसले के इंगित गर्छ भने जनगणनामा आउने गणकलाई दिने जवाफ सबैको 'नेपाली' हुन सक्ने सम्भावना पनि उतिकै भयो । यद्यपी भाषा बारेको समग्र तथ्यांक नै प्रयोग गर्न अनुपयुक्त छ भन्ने निष्कर्ष पछि त यो तर्कको कुनै अर्थ नै रहेन।

के साँच्चै 'खसभाषा' लोपोन्मुख छ? 

सायद त्यस्तो अवस्था छैन।  यसरी  पनि हेरौं एकछिन् - भाषाहरुको जीवन्तताको स्थितिलाई विभिन्न तहमा परिभाषित गर्ने चलन छ।  जस्तै: अन्तरास्ट्रिय, राष्ट्रिय, क्षेत्रीय र स्थानीय आमसंचार र सरकारी सेवा र कामधन्दामा प्रयोग आउने, साक्षरताको लागि शैक्षिक मध्यममा प्रयोग हुने, तथा लेख्य/विकासशील भाषा । यी भाषाहरु सुरक्षित भाषा मानिन्छन् । त्यसबाहेक जुन भाषा सबै उमेर समूहका व्यक्तिले मौखिक रुपमा प्रयोग गर्छन्  र समुदायका बालबालिकाले पहिलो भाषाको रुपमा सिक्छन् ति भाषाहरुलाई 'प्रवल' भाषाको रुपमा सुरक्षित भाषा मानिन्छ।  'जुम्ली नेपाली' त्यस्तै एक भाषा हो।  त्यस बाहेक जीवन्तताको स्थितिको अधारमा संकटापन्न,  अपसरणशील (बयस्कले भाषा जानेको भएको तर आफ्ना बच्चालाई बोल्न नसिकाउने), मरणासन्न (हजुर बा/आमाले मात्र बोल्ने), सुषुप्त (पहिचानको रुपमा केहि शेष बाँकी), र लोप भैसकेको गरि परिभाषित गरिएको हुन्छ।

अर्को पक्ष यसरी पनि हेरौं - भाषा वैज्ञानिक सर्वेक्षण अध्ययनको फिल्ड प्रतिवेदन अनुसार सन् २०१६ मा सर्भे गर्दा सोधेका सबै उत्तरदाताहरुले 'जुम्ली नेपाली' अर्थात खस मातृभाषा भएको बताएका थिए । अझ अर्को महत्वपुर्ण कुरो 'के तपाईंका बच्चाले 'मातृभाषा' बोल्न सक्छन्? भनि सोध्दा शतप्रतिशले 'सक्छन्' भनेका थिए । यो त भयो सर्भेले देखेको तथ्य । हामी स्थानीयहरुले आफ्नै गाउँघरमा भैरहेको परिवर्तन देखेका छौं र अध्ययनले पनि देखाएको छ कि खस वा जुम्ली भाषीहरु ले जुम्ली भाषा मुख्यगरी किसानी कार्यमा, झगडा गाली गर्न, पैठ पुजा प्रार्थना गर्न, जोक भन्न,  मेलापात जाँदा, घरमा हुँदा, मांगल देउडा गीत गाउन आदिमा प्रयोग गर्छन ।  स्थानीय अपरिचित, पाहुना, बजार, निम्ता, बैठक, छलफल, विद्यालय आदिमा जुम्लीभाषा र नेपाली दुवैको प्रयोग हुन्छ भने बाहिरी कर्मचारी, अफिस र अन्य औपचारिकजस्ता अवसरमा नेपालीमात्र बोल्न प्रयास गर्ने चलन वा बानी छ।

अन्तमा, यो भाषा हो कि, भाषिका हो कि,  लवज हो? 

यो बिषय भाषा विज्ञ वा भाषा शास्त्रीहरुले निर्क्यौल गर्ने होला।  तर यो जानकारीको साथ यो ब्लग टुङ्ग्याउँ --- भाषा उत्पतिको आनुवांशीक वर्गीकरण अनुसार यो 'इन्डो-युरोपियन' भाषा परिवार अन्तर्गत 'इन्डो-ईरानियन' को हाँगा 'इन्डो-आर्यन'को 'नेपाली' भाषा अन्तर्गत पर्दछ।  यो उपबर्गिकरण अनुसार 'जुम्ली  वा खस भाषा नभई यौटा भाषिका  (डाईलेक्ट) हो। जुम्लीभाषाको प्रमुख नेपाली भाषा सँग ७३ प्रतिशतदेखि ८९ प्रतिशत समानता रहेको छ भनि चुडामणि बन्धु लगायतको २०२८ तिरै प्रकाशित पेपरमा उल्लेख रहेछ ।

----
यो लेख दुरबिन नेपालमा प्रकाशित छ : http://www.durbinnepal.com/archives/14712