यही २०७५ बैशाख २६ गते भाषा आयोगले कर्णाली प्रदेशमा यौटा संगोष्ठी गर्यो । त्यहाँ प्रस्तुत प्रतिवेदनमा आधारित भएर कान्तिपुरको पहिलो पानामा छापिएको समाचारले (हे. फोटो) ले ध्यान तान्यो । यसमा भाषाको उद्गमस्थल कर्णालीमै खसभाषा लोपोन्मुख हुन पुगेको छ किनकी प्रदेशभरि जम्मा १८ जना'जति'ले मात्र खसभाषा बोल्छ भनिएको छ । सबैभन्दा बढी १३ लाख ४६ हजार २ सय जनाले नेपाली बोल्छन्। प्रदेशभर बोलिने ५५ भाषामध्ये खसभाषा ३३ औं स्थानमा पर्छ भनिएको छ। आयोग अध्यक्ष लवदेव अवस्थीले 'आयातित भाषाले मौलिक भाषा लोप हुने अवस्थामा पुगेको' भन्दै अवको तिन पुस्तामा अन्य मौलिक भाषा पनि नभेटिने निर्क्यौल निकालेका छन् । संगोष्ठीमा उपस्थित प्रदेश सरकारका मन्त्री, सचिव र मेयरहरुले 'अब खसभाषा जोगाउन केही पहल र केहि न केही 'मेकानिज्म' बनाउन्छौं' भने।
भाषा आयोग जस्तो अधिकारिक संस्थाले प्रस्तुत गरेको तथ्यमा कतिपयले शंका गर्ने ठाउँ पनि देखेनन् होला । तर, आम पाठकहरुले यी सबै तथ्यहरु अपत्यारिला माने । प्रदेशभर खसभाषा बोल्ने मान्छे जम्मा १८ जनामात्र किन? खसभाषाको बाहुल्य हुनुपर्ने ठाउँमा कसरी ३३ औं स्थानमा पर्यो? साँच्चै खसभाषा लोप हुन लागेको हो? जस्ता प्रश्नहरु तेर्सिए । आउनुस्, त्यसबारे केही चर्चा गरौँ।
भाषा आयोगको प्रतिवेदनमा प्रयुक्त तथ्याङ्कको श्रोत र विश्वासनीयता
आजभन्दा ७ बर्षअघि गरिएको राष्ट्रिय जनगणना २०६८ ले मातृभाषा बोल्ने जनसंख्याको तथ्याङ्क लिएको छ। भाषा आयोगले प्रयोग गरेको तथ्याङ्कको श्रोत त्यै जनगणना हुनपर्छ किनकी त्यहाँ नेपालभर १,७४७ जना 'खस' मातृभाषा बोल्नेहरु छन् भनिएको छ। त्यसैगरी ८५१ जना 'जुम्लिभाषा' बोल्नेहरु छन् पनि भनिएको छ। त्यसलाई प्रदेशगत हेर्दा कर्णाली प्रदेशमा १२ जना खस र १७ जना जुम्लीभाषा मातृभाषाको रुपमा बोल्ने तथ्याँक छ । के जनगणनाको तथ्याङ्क प्रयोग गर्न उपुक्त छ? छैन किनभने यो सबै संख्याहरु नै आफैमा अपत्यारिलो, अपुरो, कमसल । जस्तो कि ति 'खसभाषा' बोल्ने १२ जना उत्तरदाता जुम्लाका पुरुषहरु मात्र थिए। त्यसैगरि सुर्खेतका १७ जना (९ पुरुष र ८ महिला) ले 'जुम्लीभाषा' बोल्छु भनेका थिए। अन्य उत्तरदाताहरु कैलाली, कंचनपुर, बाँके र बर्दियाका बासिन्दा थिए । त्यस्तो तथ्याङ्क कुनै हिसाबले पनि प्रयोग गर्न हुँदैन जसले गलत संदेश दिन्छ।राष्ट्रिय जनगणनाले दिएको तथ्याँक पनि किन प्रयोग किन नगर्ने भन्नुहोला । संकलन गरिएका सबै तथ्याँकहरु हुबहु प्रयोग गर्न मिल्ने हुँदैनन् । भाषाको सन्दर्भमा डाटामा के समस्या छ चर्चा हेरौं एकछिन् -
जनगणना २०६८ को व्यक्तिगत विवरणमा प्रश्न नं १० मा भाषा बारे दुईटा कुरा सोधिएको छ - मातृभाषा र द्वितीय भाषा । पहिलो प्रश्नले बाल्यकालमा अभिभावकबाट सिकिएको भाषा भन्ने जवाफ खोजेको हो अर्थात मातृभाषा जुन सामान्यता बाल्यकालमा घरमै अभिभावकहरुबाट सिकिएको पहिलो भाषा हो । दोस्रो प्रश्नले मातृभाषा पछि कामकाजको लागि छिमेकि र अरुहरु सँग संचारगर्दा प्रयोग गरिने भाषा भन्ने जवाफको अपेक्षा गरेको हो ।
जनगणनाको तथ्याँक संकलन गर्नेबेला घरघर पुग्ने गणकहरुलाई नेपालमा बोलिने भाषा / भाषिकाको कुनै सूची दिईएको थिएन । त्यसैले उनीहरुले मातृभाषा र द्वितीय भाषा बारे उत्तरदाताले भनेका हरेक नाउँहरु आफ्नै हिसाबले टिपोट गरे। ति कतिपय अस्पष्ट, अपुरा र गलत नामले उल्लिखित भएका थिए। यो समस्यालाई समाधान गर्न पछि यौटा भाषा विज्ञहरुको टोली बनाएर बर्गिकरण र मिलान गरिएको थियो । अन्तमा यो टिमले नेपालमा १२३ वटा भाषा रहेको निष्कर्ष निकालेपनि २१ हजार बढी उत्तरलाई 'अन्य' भाषाको बर्गमा राखेको थियो भने करिब ४८ हजार उत्तरदाताको जवाफ नै रेकर्ड भएको थिएन । समग्रमा ५९ प्रतिशत नेपालीहरुले एउटामात्रै भाषा बोल्ने गरेको बताएका थिए भने ४१ प्रतिशतले द्वितिय भाषा पनि बोल्छु भनेका थिए। जम्मा ९२ प्रकारका भाषा द्वितिय भाषाको रुपमा जवाफ प्राप्त भएकोमा ३३ प्रतिशतले नेपाली र ५ प्रतिशतजति ले हिन्दी दोस्रोभाषा बोल्ने गरेको बताएका थिए ।
तर रमाइलो कुरा बीसबर्ष अघि २०४८ सालमा गरिएको जनगणनामा जम्मा ३१ वटामात्र मातृभाषा रेकर्ड गरिएकोमा दुइ दशकमा बढेर १२३ पुगेको छन् । यो कसरी पुग्यो? खसभाषा वा जुम्लीभाषा त पहिले पहिलेका जनगणनामा किन थिएनन्? यदि पहिला कतिले बोल्थे भने रेकर्ड नै नभई अहिले कसरी लोपउन्मुख भन्न सकिन्छ? बढेको कि घटेको के थाहा ?
खस लगायत जुम्ली, दैलेखी, बाजुरेली, डोल्पाली जस्ता नयाँ भाषाको रुपमा यो जनगणनामा मात्रै थपिएका थिए। यस अघिका जनगणनामा यस्ता भाषालाई नेपाली भाषाको 'डाएलेक्ट' वा भाषिका मानेर नेपाली भाषा भित्रै समेटिएको हुन्थ्यो ।
अनेक थरी नयाँ भाषाको नामाकरण गर्दै सूची लम्ब्याउने काम भाषा सर्वेक्षणको नाम रिसर्च अनुदान लिने होडमा गरिएको अनियन्त्रित प्रयासले हो। ससाना टुक्रे अनुसन्धान गर्यो, जात र स्थान बिशेषका सामान्य भाषिक बिबिधताहरु खोज्यो र आफ्नै हिसाबको भाषाको दर्जा दियो । त्यही काम गर्नेहरु मध्ये जो जनगणनाको भाषा निर्क्यौल गर्ने टिममा बसे उनीहरुले 'डाईलेक्टस्' लाई पनि 'ल्याङ्ग्वेज' को नाउँ दिए र यो समस्या आयो ।
तसर्थ भाषा आयोगले आफ्नो प्रतिबेदनमा भने जस्तो कर्णाली प्रदेशमा ५५ विशिष्ट थरिका भाषा बोलिदैन । त्यस्तै १२ वटा भाषा त १/१ जनामात्रले बोल्छन् भनि उल्लेख गर्नु अतिरंजना हो किनकि ती भाषाहरुबारे अस्पष्ट हुने भएकोले 'अन्य' शिर्षकमा समेटिएको हुन्छ। जुन त्यो ठाउँमा बोलिने भाषाको संख्या भित्र पर्दैन । त्यस्तो अन्य भाषा बोल्ने १,६६० जना थिए।
जनगणना बाहेक अरु श्रोत वा भाषा अध्ययन के छ त ?
घर घर पुगेर डाटा लिने भएकोले सबभन्दा भरपर्दो श्रोत त जनगणना नै हुनुपर्ने हो । तर छैन । अरु भनेका निजी, प्राज्ञिक केही सानो स्तरका विशिष्टीकृत भाषा सर्वेक्षण र प्रतिवेदन छन् जसको विस्लेषणले पनि केही दृष्टिकोण दिन्छ। जस्तो कि त्रिभुवन विश्वविद्यालयमा भाषाशास्त्रको केन्द्रीय विभाग छ। त्यसले विभागले आठबर्षसम्म संचालन गरेको राष्ट्रिय योजना आयोगको परियोजना 'भाषा वैज्ञानिक सर्भेक्षण Linguistic Survey of Nepal (LinSuN)' गत पौष २०७४ मा समापन भयो । परियोजना अवधि भर सरकारले कहिल्यै प्रयाप्त बजेट र श्रोत दिएन भन्ने गुनासो माझ यसले ९६ वटा भाषाको सर्भेक्षण गरेको दावी गरेपनि ६४ वटाको प्रतिवेदन विभागमा रहेको विवरण छ।खस भाषा बारे
खस भाषाको उन्नत रुप नेपाली भाषा हो भन्ने तथ्य त स्थापित भइसकेको छ । आमरुपमा खस भाषा इतिहासकालीन बृहत जुम्लाराज्यको खसान क्षेत्रमा बोलिने लवज हो । त्यसको सिंजा केन्द्र थियो तर त्यसको भाषिक प्रभाव क्षेत्र २२ खोला र १४ दरा समेटिएको भूभाग हो अर्थात् तिब्रिकोट, जुम्ला, चौधबिस, रास्कोट, हुम्ला, गुम मुगु, खत्याड, सोरु,डोल्पा, बाजुरासम्म । भाषाका अध्यताहरुले पनि यो भाषालाई जुम्ली, जुम्लेली, खसकुरा, सिंजाली भनेर पनि चिनिने भनेका छन् ।समाज भाषा वैज्ञानिक सर्वेक्षण अन्तर्गत सन् २०१६ मा डिल्लीराम अधिकारी र डा. लक्ष्मीराज पण्डितले 'जुम्ली नेपाली भाषा'को अध्ययन गरेका थिए । कर्णाली क्षेत्रमा बोलिने कालिकोटे, मुगाली र हुम्लीले बोल्ने भाषालाई 'जुम्ली नेपाली भाषा' मानी अध्ययन गरिएको थियो । यस रिपोर्टले जुम्ली नेपाली भाषा बाजुरा, बझांग, अछाममा पनि बोलिने गरेको उल्लेख गरेको छ। यद्यपी यसमा डोल्पा, जाजरकोट, दैलेख, सल्यान, रुकुम तिर पनि बोलिने जानकारी छुटाएको छ ।
भाषा वैज्ञानिक सर्वेक्षण २०१६ को अध्ययनको फिल्ड प्रतिवेदन अनुसार जुम्ली नेपाली भाषीमध्ये ७५ प्रतिशतले अरुसँग कुरा गर्दा प्रायः 'नेपाली भाषा' को माध्यम प्रयोग गर्ने गरेको बताएको थिए । त्यस्तै 'पाहुना संग कुन भाषामा कुरा हुन्छ ? वा फरक भाषा बोल्ने मान्छे भेटे कुन मध्यम भाषा हुन्छ भनि सोध्दा पनि शतप्रतिशतले 'नेपाली' भनेका थिए । यसले के इंगित गर्छ भने जनगणनामा आउने गणकलाई दिने जवाफ सबैको 'नेपाली' हुन सक्ने सम्भावना पनि उतिकै भयो । यद्यपी भाषा बारेको समग्र तथ्यांक नै प्रयोग गर्न अनुपयुक्त छ भन्ने निष्कर्ष पछि त यो तर्कको कुनै अर्थ नै रहेन।
के साँच्चै 'खसभाषा' लोपोन्मुख छ?
सायद त्यस्तो अवस्था छैन। यसरी पनि हेरौं एकछिन् - भाषाहरुको जीवन्तताको स्थितिलाई विभिन्न तहमा परिभाषित गर्ने चलन छ। जस्तै: अन्तरास्ट्रिय, राष्ट्रिय, क्षेत्रीय र स्थानीय आमसंचार र सरकारी सेवा र कामधन्दामा प्रयोग आउने, साक्षरताको लागि शैक्षिक मध्यममा प्रयोग हुने, तथा लेख्य/विकासशील भाषा । यी भाषाहरु सुरक्षित भाषा मानिन्छन् । त्यसबाहेक जुन भाषा सबै उमेर समूहका व्यक्तिले मौखिक रुपमा प्रयोग गर्छन् र समुदायका बालबालिकाले पहिलो भाषाको रुपमा सिक्छन् ति भाषाहरुलाई 'प्रवल' भाषाको रुपमा सुरक्षित भाषा मानिन्छ। 'जुम्ली नेपाली' त्यस्तै एक भाषा हो। त्यस बाहेक जीवन्तताको स्थितिको अधारमा संकटापन्न, अपसरणशील (बयस्कले भाषा जानेको भएको तर आफ्ना बच्चालाई बोल्न नसिकाउने), मरणासन्न (हजुर बा/आमाले मात्र बोल्ने), सुषुप्त (पहिचानको रुपमा केहि शेष बाँकी), र लोप भैसकेको गरि परिभाषित गरिएको हुन्छ।अर्को पक्ष यसरी पनि हेरौं - भाषा वैज्ञानिक सर्वेक्षण अध्ययनको फिल्ड प्रतिवेदन अनुसार सन् २०१६ मा सर्भे गर्दा सोधेका सबै उत्तरदाताहरुले 'जुम्ली नेपाली' अर्थात खस मातृभाषा भएको बताएका थिए । अझ अर्को महत्वपुर्ण कुरो 'के तपाईंका बच्चाले 'मातृभाषा' बोल्न सक्छन्? भनि सोध्दा शतप्रतिशले 'सक्छन्' भनेका थिए । यो त भयो सर्भेले देखेको तथ्य । हामी स्थानीयहरुले आफ्नै गाउँघरमा भैरहेको परिवर्तन देखेका छौं र अध्ययनले पनि देखाएको छ कि खस वा जुम्ली भाषीहरु ले जुम्ली भाषा मुख्यगरी किसानी कार्यमा, झगडा गाली गर्न, पैठ पुजा प्रार्थना गर्न, जोक भन्न, मेलापात जाँदा, घरमा हुँदा, मांगल देउडा गीत गाउन आदिमा प्रयोग गर्छन । स्थानीय अपरिचित, पाहुना, बजार, निम्ता, बैठक, छलफल, विद्यालय आदिमा जुम्लीभाषा र नेपाली दुवैको प्रयोग हुन्छ भने बाहिरी कर्मचारी, अफिस र अन्य औपचारिकजस्ता अवसरमा नेपालीमात्र बोल्न प्रयास गर्ने चलन वा बानी छ।
अन्तमा, यो भाषा हो कि, भाषिका हो कि, लवज हो?
यो बिषय भाषा विज्ञ वा भाषा शास्त्रीहरुले निर्क्यौल गर्ने होला। तर यो जानकारीको साथ यो ब्लग टुङ्ग्याउँ --- भाषा उत्पतिको आनुवांशीक वर्गीकरण अनुसार यो 'इन्डो-युरोपियन' भाषा परिवार अन्तर्गत 'इन्डो-ईरानियन' को हाँगा 'इन्डो-आर्यन'को 'नेपाली' भाषा अन्तर्गत पर्दछ। यो उपबर्गिकरण अनुसार 'जुम्ली वा खस भाषा नभई यौटा भाषिका (डाईलेक्ट) हो। जुम्लीभाषाको प्रमुख नेपाली भाषा सँग ७३ प्रतिशतदेखि ८९ प्रतिशत समानता रहेको छ भनि चुडामणि बन्धु लगायतको २०२८ तिरै प्रकाशित पेपरमा उल्लेख रहेछ ।----
यो लेख दुरबिन नेपालमा प्रकाशित छ : http://www.durbinnepal.com/archives/14712
No comments:
Post a Comment