यो आलेख सेतोपाटीमा प्रकाशति छ - https://setopati.com/opinion/163163
अचेल मार्सी चामलको चर्चा निकै चुलिएको छ । यौटा व्यापारीले राज्यसत्ताका दुई शक्तिशाली व्यक्तिहरुलाई सत्कार भोजमा पस्केको मार्सी चामलको भातले व्यंग्य चेत भएका सबैलाई मसला मिलेको छ। डा. केसीको पन्ध्रौँ अनसन आन्दोलनले मार्सी धानको विम्बलाई झन् ताजा बनायो । त्यसमाथि डाकेसीको अनसन स्थल मार्सी धान फल्ने ठाउँ जुम्लामा हुनुले विषयलाई थप रोचक बनाएको छ। सायद यसबर्षको गाइजात्रामा 'मार्सी चामल' विम्ब 'गरम मसला' बनेर चल्नेछ।मार्सी चामल र 'शक्ति' सम्बन्ध
मार्सि चामलको 'शक्ति'सम्बन्ध बडो रोचक छ। यो चामलसँग राज्यशक्ति, देवशक्ति, बाहुबलशक्ति आदि सम्बन्ध उत्पतिकालदेखि नै जोडिएको पाइन्छ ।
जनश्रुति अनुसार एकजना 'शक्तिशाली' तपस्वी बाबा गंगाभुमिबाट कैलाश मानसरोवर जान जुम्लाको बाटो हुँदै आउँदा हिमाली ठाउँमा गज्जबको पानी लाग्ने मलिलो फाँटहरु देखेछन् र उनैले स्थानीयहरुलाई धान फलाउने बारे सिकाइदिए । ति तपस्वी बाबा 'चन्दननाथ' हुन् । त्यसैले खलंगा बजारमा अवस्थित चन्दननाथ मन्दिर समग्र जुम्लाबासीहरुको आराध्य मन्दिर मानिन्छ र हरेक साल आफुले उब्जाएको पहिलो एक पाथी मार्सीधान चन्दननाथलाई छुट्याउने (चढाउने) चलन छ। धान भित्र्याउने बेला बर्सेनि नौलो मार्सीधानको च्युरा कुटेर गाईको दुध मिसाएर 'न्वागी' गर्दा पहिलो भाग चन्दननाथलाई नै चढाईन्छ।
तिनै चन्दननाथ बाबा मार्फत पहिलोपल्ट मार्सीधानको बिउ 'लाछु जिउला'मा छरियो । त्यो ठाउँ हाल जुम्लाको तातोपानी गाउँपालिकामा पर्दछ । केही जनविश्वास चन्दननाथ बाबाको तपले जंगली प्रजातिलाई घरायसी धान बनाउन सिकाए भन्ने छ भने कसैको मत कास्मिरबाट ल्याएको प्रजाति हो भन्ने पनि छ । जेहोस् चन्दननाथ बाबाले त्यो मार्सीको बीउ उमार्न, खेतमा लगेर रोप्न र अन्त जिउलामा फैलाउन 'पैकेलो'को सहारा लिए । ति पैकेलो अद्वितीय क्षमता भएको एक 'शक्तिमान' स्थानीय सर्वसाधारण थिए । पैकेलोसंग जोडिएका साहस, बल, चातुर्य र योगदानका अनेक किस्साहरु छन् । कृतविर्य पनि भनिने उनलाई सम्मानका साथ 'लछाल कृति पैकेलो' भनेर चिनिन्छ।
शाके ९६३ वि.सं. १०९८ को यौटा शिला प्रमाण अनुसार सुरुवाती कालदेखि मार्सी धानको खेती यौटा वैज्ञानिक पद्धतिबाट गरिने चलन रहेको बुझिन्छ। हरेकबर्ष चैत्रको १२ गते बीउ उमार्ने धान पानीमा भिझाउन राखिन्छ । चारदिन पछि चैत्र १६ गते पानीबाट उतारिन्छ र न्यानो ठाउँमा स्याहारेर उमार्न राखिन्छ। त्यसको ४ दिनपछि चैत्र २० गते उम्रेको धान बेर्नामा लगेर छरिन्छ । कर्णाली तिर बिउ छर्ने दिन चैत्रको २० गते अर्थात् 'बिसुआं' एउटा ठुलै चाडको रुपमा मनाइन्छ। त्यो चलन अहिलेसम्म पनि नबिराईकन कायम छ । यो पद्दतिको 'शक्ति' कतिसम्म थियो भने आधुनिक संचारको सुबिधा नपुगुन्जेल यहाँका बासिन्दाहरु परिवारको सदस्य परदेशबाट चैत्र १२ गतेसम्म घर फ़र्किएन भने मर्यो कि ठुलै बिरामीले सिकिस्त भयो भन्ने ठान्दथे । प्रायः यो विश्वास सत्य हुन्थ्यो।
खस साम्राज्य र त्यस अघिका राजाहरुको राज भोजनको यौटा महत्वपूर्ण हिस्सा मार्सी चामल थियो । उबेला मार्सी धान फाल्ने जिउलोको आसपासमा राजधानी खडा गरिएका थिए। सिंजाको लुड्कु जिउला माथी उत्तरपश्चिम लामाथडा, लाछु जिउला पारीपट्टी दक्षिणतर्फ सुनारगाउँ, जुम्लाबजार नजिक लाई जिउला उत्तरतिर छिनासिम आदि पुराना राज्य शक्तिका केन्द्र थिए । स्थानीयहरु ती शक्तिकेन्द्रलाई कर स्वरुप मार्सी धान बुझाउन्थे।
राणा शासनकालमा चन्द्रशम्सेरको दरबारमा जुम्लाबाट दैनिक हुलाकमार्फत केहि माना चामल आउन्थ्यो। त्यो क्रम जुद्धशम्सेरको पालासम्म चल्यो । (कसैकसैले त जंगबहादुरको पाला बिसं १९०४ मै जुम्लाबाट मार्सी चामल आउथ्यो र त्यो क्रम राणा शासनको अन्त्य अर्थात मोहन शमशेरको पालासम्म रह्यो पनि भन्छन्) मार्सी चामल निरन्तररुपले राणाको दरबारमा पठाउने क्रमलाई भंग गर्नु पछाडी जुम्लाबाट निरंकुश 'शक्ति' विरुद्ध गरिएको बिरोधको एक संकेत थियो पनि भनिन्छ । चन्द्र शम्सेर र अरु दरबारियाहरु स्वादले गर्दा वा स्वास्थ्यको कारण मार्सी चामल प्रति आकर्षित भए त्यो त थाहा छैन तर अचेल यो चामल दुवै कारणले लोकप्रिय हुँदै छ ।
मार्सी चामल बजारमा उपलब्ध अरु चामलको तुलनामा महँगो छ। स्थानिय बाहेक अन्य आममान्छेको चुलोमा यो चामलको भात पाक्न चाडपर्व कुर्नुपर्ला । त्यसैले सहरी जीवनमा यसको पहुँच क्रय'शक्ति' भएकाहरुमा सिमित छ । अचेल पैसावालहरुलाई अरु चामलको भात खान नमिल्ने रोगले च्याप्न थालेपछि विकल्पको रुपमा मार्सी चामलको खोजि बढेको छ।
मार्सी धान संसारमै उच्च क्षेत्रमा फल्ने प्रजाति मध्ये पर्दछ। जुम्लाको छुम्चौरको जिउलो संसारमै उच्चस्थान (समुद्र सतहदेखि करिब ३००० मिटर उचाईं) मा धान फल्ने ठाउँ हो । यो प्रजातिको धानमा अरु धानको तुलनामा कठीन हावापानीमा उम्रन सक्ने बिशिष्ट गुण तथा उत्पादन 'शक्ति' निहित छ।
मार्सी चामल: स्वादिलो र स्वास्ठबर्धक
सामान्यतया चिसो ठण्डा ठाउँमा फल्ने अन्न र फलफूल स्वादिला र पोषिला हुने गर्दछन्। सायद प्रतिकुल हावापानी सँग जुधेर फुल्न र फल्न ति अनाज र बनस्पतिमा निकै बिशेष क्षमता विकास हुने गर्दछ। जसको कारण तिनीहरुमा अनेकन धातु लगायत सुक्ष्म पोषक तत्वहरु संचय हुन्छ। जुन मानव जिब्रोको स्वाद र स्वास्थ्यको निम्ति उपयुक्त हुन्छन् ।
मार्सी धानको चामल खैरो रङको हुन्छ। कसै कसैले रातो चामल पनि भन्दछन् । लाभदायक पौष्टिक तत्वहरुको मात्रा सेतो चामलको तुलानामा धेरै हुने भएकोले यो चामल स्वाथ्यकर मानिन्छ । खैरो चामलमा भातको सेवन पछि कति छिटो ब्लड सुगर बढ्छ भनि नाप्ने सूचक अर्थात ग्लाईसमिक इन्डेक्स (जीआई) सेतोको तुलनामा निकै कम हुन्छ । खैरो चामलमा उच्चमात्रामा म्याग्नेसियम र फाइवर तत्व हुने भएकोले रगतमा सुगरको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ । त्यस्तै यो चामलमा भएको एन्टीअक्सिडेण्ट गुण र 'लिग्नान' तत्वले रगतमा बोसो तत्व, रक्तचाप र धमनीहरुको सुजन घटाउन मद्दत गरी मुटुरोग, मधुमेह र मोटोपनाको जोखिम नियन्त्रण गर्छ।
मार्सीधानलाई प्रायः ओखलमा कुटेर चामल बनाउने भएकोले यसको बोक्रामा निहित तत्वहरु खेर जाँदैन । त्यसैले जुम्लामा उपलब्ध हुने मार्सी चामलमा भिटामिन र मिनरल्सको मात्रा बजारमा उपलब्ध अरु चामलको तुलनामा निकै उच्च पाइन्छ ।
कर्णालीको चामल राजनीति र मार्सी धान
विगत चार दशक यताको कर्णालीको राजनीतिमा 'चामल' यौटा अभिन्न तथा केन्द्रीय चुनावी एजेण्डा हुने गदर्छ ।दुर्गम क्षेत्र विकास र राहत स्वरुप कर्णाली लगायतका कतिपय जिल्लाहरुमा राहत खाद्यान्न भित्रिन थालेपछि स्थानीयहरुमा 'सेतो चामल'को भात खाने रहर बढ्यो। र कर्णालीका नेताहरुको नेतृत्व क्षमता कसले कति क्वीन्टल चामल आफ्नो ठाउँमा झार्न सके र कति थान 'चामलको कुपन' आफ्ना जनतालाई बाँड्न सक्षम भए सूचकले निर्क्योल गर्थ्यो । कर्णालीमा भोकमरी नभई 'भातमरी' छ पनि भन्ने गरिन्छ। पछिल्लो दशकमा कर्णाली सडकले जोडिएपछि धेरै ठाउँमा तराईबाट आउने थरीथरी सेता चिल्ला चामलका बोराहरु सस्तो र सहजै पुग्न थाले ।
कर्णालीमा भातखाने चलन बढेपनि मार्सी चामलको भात भने प्रायः गाउँघरका औसर र भतेरहरुमा सिमित हुँदै गयो। मार्सी धानको फाइदा बारे चर्चा गरिएन। परिकारमा बिबिधता आएन। उत्पादकत्व कम हुनु, बजार र बिक्रि मूल्य नहुनुले स्थानीय हरुमा यो धानको उत्पादन रुचि हट्यो ।
तर, चामल राजनीति अहिले पनि छ। पोहरसाल कर्णालीबासीलाई परिवारको जन्म र मृत्युमा २० केजी चामल दिने भन्ने सरकारी घोषणाले निकै चर्चा बटुल्यो । बिरोध गर्ने गर्नेहरुले यो घोषणालाई कर्णालीको 'इज्जत' सँग जोडेर सरकारले बेईजति गर्यो पनि भने ।
स्थानीय राजनीति चर्चामा स्थानीय उत्पादनको प्रबर्धन, खाद्य सुरक्षा, बजार व्यवस्था आदि बिषय खासै 'एजेण्डा' बनेनन् ।

मार्सी धानको भविष्य: संरक्षणको पर्खाइ
यो एक जंगली प्रजातिको धान भएकोले अन्य कतिपय धानको तुलानामा रोगलाग्ने दर निकै कम भएको ठानिन्छ। तथापी, चालिसको दशकपछि विभिन्न रोगको आक्रमण देखिन थालेको पाइन्छ । पचासको दसकमा 'ब्लास्ट' अर्थात 'मरुवा' रोगको प्रकोपले पनि पटक पटक असर पार्ने गरेको छ। बिशेषगरि बिउ छान्ने प्रक्रियामै ध्यान नपुर्याउदा यस्तो समस्या बेहर्नु परिरहेको छ ।
दसकौंदेखि कृषि अनुसन्धान परिषदले जुम्लामै अफिस राखेर यी समस्याको निवारण गर्न सकेको छैन । पटक पटक बढी फाल्ने र रोग प्रतिरोधी 'उन्नत जात' भनि सिफारिस गरिएका नयाँ धानहरु केही बर्ष पनि टिक्न सकेका छैनन् । उल्टो यी प्रयासहरुले रैथाने वास्तविक मार्सी धानलाई लोपोन्मुख हुन मद्दत गरिरहेका हुन सक्छन् । आयातित र हाइब्रिड बिउहरुले नश्लीय परिवर्तन गरि रहेको हुन सक्छ। यसको स्वतन्त्र अध्ययन गरि कृषि अनुसन्धानको नाउँमा हुन सक्ने असफल, अनुत्पादक र अनैतिक प्रयासहरुलाई रोक्न आवश्यक छ।
आम रूपमा जुम्ला लगायत कर्णालीका बस्तिहरु डाँडाको काखमा वा फेदमा, हावा छेकिने तथा घाम पर्ने स्ठानमा प्रायः घरहरु एकापसमा जोडिएका हुन्थे। यसले मान्छे र गाईबस्तुलाई चिसोबाट बचाउने, थोरै जग्गामा धेरैबस्ति बस्न सक्ने, भिरालो ठाउँमा जोडिएर बनेका घरले अडेस दिने, जोडिएर बनेका घरका छतको बहु प्रयोग हुने र सँगैबस्दा ऐंचोपैंचो साथ-सहयोग मिल्ने लगायत अनेकौं फाइदा मिल्थे । कुलोबाट पानी लाग्ने खेतहरु भएको ठाउँलाई 'जिउलो' भनिन्छ। जिउलो भएका बस्तीहरु 'समृद्ध बस्ति' मानिन्थे । लेखतिर भोटतिरका व्यापारीहरु भेडा, घोडा, झोवा, चौरी ल्याएर अन्न साट्न किन्न आउँथे। अचेल स्वाभाविक रुपले त्यो व्यापारको चक्र फेरियो । तर अस्वाभाविक र अवैज्ञानिक ढंगले ति जिउलोहरु घडेरी बनेर मासिंदै छन् । यसरी खेतीयोग्य जमिन मासिंदा मार्सी धान त लोप हुन्छ नै पर्यावरणीय असन्तुलन पनि बेहोर्नु पर्छ। यसबारे न सरकारले न संस्थाहरुको चासो पुगेको छ । स्थानीय सरकारले नीति बानेर कुलो लाग्ने खेतहरुमा भौतिक संरचना निर्माणमा पूर्ण बन्देज लगाउनु पर्छ।
विश्वको सबैभन्दा उच्चस्थलमा धान फाल्ने भनेर भनिएको 'छुम्चौर'को जिउलोमा अचेल धान भन्दा आलु धेरै फल्छ कि त खेत बाँझो छ । रोपाइँको सिजनमा स्थानीयहरुको चटारो यार्सा टिप्न जान हुन्छ। अरु जिउलाहरुमा खेतहरु भागबण्डा गर्दा, बेचबिखन गर्दा टुक्रिएर ससाना टुक्रा 'फ़ोक्टा'मा रुपान्तरण भैसके। कतिपय खेतहरुमा त एक हल गोरु नअट्ने भैसके। ती खेतहरुले लागत अनुसारको उत्पादन झन् घटाईरहेका छन्। भबिष्यमा कतै यान्त्रिक पध्दतिको आधुनिक खेति प्रणाली सुरु गर्न सकिएछ भने ति खेतहरु कति उपयुक्त होलान्। विचारणीय छ।
२०६४ सालदेखि यो धान फाल्ने 'अर्ग्यानिक क्षेत्र' घोषणा गरिएको छ। तर लुकिछिपी आउने अबैध किटनाशक बिषादी र रासायनिक मलको प्रयोग रोक्ने सशक्त निगरानी गरेको देखिंदैन। नयाँ बनेको प्रादेशिक सरकारले सम्पूर्ण प्रदेशलाई नै अर्गानिक प्रदेश बानाउने सोच राखेको त छ तर व्यवहारमा कसरी लिन्छ हेर्न बाँकी नै छ।
मार्सी धान संरक्षणको पर्खाइमा छ। अचेल यो धानको बीउ नै संकटमा छ। उन्नत तरिकाले बीउ संकलन र संचय गर्ने परिपाटी छैन। स्थानीयहरु साटफेर गरेर चलाई रहेका हुन्छन। अन्य कुजात सँग मिसिएर अनुपयुक्तभै सकेको हुनसक्छ । स्थानियहरुमा आकर्षक बजार र उपुक्त मूल्यको अभावमा उत्पादनमा अरुची उत्पन्न भएको छ। पोहोरसालबाट सरकारले मार्सीधान लगायत अरु रैथाने प्रजातिका धान खरिद गर्न थालेको त छ तर दिर्घकालिन प्रभाव पर्ने गरि उत्पादन प्रबर्धन गरिएको छैन ।
र अन्तमा,
हामी कृषिमा आश्रित छौँ । अनाजमा सह लुकेको हुन्छ। आफैले अन्नपात फलाउनेहरु आत्मनिर्भर हुन्छन्। यसले आत्मबिश्वास बढ्छ। यो नै एक समृद्धिको द्योतक हो । तसर्थ मार्सी धानको संरक्षण कर्णालीको बैभव र समृद्धिसँग जोडिएको मुद्दा हुनु आवश्यक छ।
अनि, अहिले डा. केसी जुम्लामा अनसनरत छन्। यौटा सत्याग्रही सकुशल र सम्मान घर फर्कियोस् भनि सबैतिरबाट चाहना र कामना व्यक्त भैरहेको छ । यसपाला मार्सी चामलको भात खुवाएर उनको अनशन तोडाउन पाए …..!
(लेखक चौलागाईं कर्णाली प्रदेश जुम्ला जिल्ला तातोपानी गाउँपालिका लाम्रा गाउँका बासिन्दा हुन्)

No comments:
Post a Comment