Sunday, April 23, 2017

नयाँबर्ष २०७४: भोटेकोशी तिर (भाग - २)

२०७४ बैशाख ३ गते, आइतबार: सिन्धुपाल्चोक, बाह्रबिसे बजार
आज बिहानैदेखि आकास खुलेको छ।  वातावारण सफा र शितल छ। आज भोटेकोशीमा बन्जी जम्प गर्ने हो।

म बसेको ठाउं नजिकै ब्याडमिन्टन कोर्ट रहेछ, नियमित खेल्ने ठाउँ। आज बिहानै केहीबेर खेलचल्यो। नजिकै क्यान्टिनमा हल्का चियाखाजा खाएर हिड्ने कुरो भयो।  तातोपानीमा नुहाउने, खाना खाने र फर्केर बन्जी गर्ने योजना। आज दुईबजेसम्म डा. मधुको फुर्सद मिल्ने भएकोले उ र मा बाईकमा तातोपानी तिर हिड्यौं। ८ बजेको थियो।

करीब १० किमिमा बन्जी गर्ने पूल आयो। हेर्न गयौं। अझै सुरु भएको थिएन।  पूलबाट खोलातिर हेर्दा रिंगटा लाग्ने, बेसरी हावा चलेर पुल हल्लिथ्यो।  खै कसरी पो हाम फालिन्छ। हामी उँभो लाग्यौं। वारिपारी चट्टाने पखेरा, पहिरो गएका डाँडा, भत्केको बाटो, ढुंगैढुंगा भरिएको खोल्सा र खोंचमा बगेको भोटेकोशी, भूमरी पर्दै बगेको हावाले धुलो उडाउदा बाइकमा हल्लिदै बढ्यौं। बाटोमा फाट्टफुट्ट गाडी र बाईक  भेटिए। आर्मीको यौटा चेकपोस्ट आयो। केहि सोधपुछ गरेर अनुमति दिए। हामी तातोपानी पुग्यौं।

२०७२ सालको भुइचालो अघि भरिभराउ यो ठाउँ अहिले झन्डै उजाड छ। चहलपहल छैन। ३-४ जना नुहाइरहेका थिए।  हामीले नुहाउदा धारा खाली थियो। महिला पुरुषको छुट्टै धारा, लुगा फेर्ने छुट्टै ठाउँ र लकर समेत राम्रो व्यवस्था रहेछ। धाराको पानी निकै तातो रहेछ। छाला पोलेर थेग्न नसकिने। भुइचालो अघि त सहनसकिने तातो थियो रे। मैले जुम्लामा भएको तातोपानी धारा सम्झे, त्यहाँ सल्फरको गन्ध थियो, यता छैन। यताको निकै सफा र व्यवस्थित लाग्यो। रू ५ को टिकट काट्नु पर्ने सूचना त थियो तर कसैले मागेन। यतै अण्डर्वेअर किनेर फेरियो।

केहीपर यौटा झरना रहेछ, फोटो खिच्ने स्पट। त्यहिसम्म पुग्ने भयौ। पूर्वतिर चिनिया क्षेत्रमा पर्ने रहेछ यो झरना। फोटो खिच्दै गर्दा माथी बोर्डरतिर पनि पुग्ने कोशिस गरौ भन्ने कुरो आयो। केहिपर सशस्त्र प्रहरीले सोध्यो - को, कहाँजाने, किनजाने आदि। यौटा लामो परिचय पछि जानदियो।  'उता सुक्खा पहिरो फुसफुस झर्दैछ, विचार गरेर जानुहोला ' भनेर अर्ति पनि दियो।

भाग्नावशेष बस्तिको अन्तिम घर सशस्त्रको बोर्डर चेकपोस्ट रहेछ। जम्मा दुईजना डिउटीमा रहेछन्।  दुइबर्षदेखि नाकाबन्द भएर यो सब सुनसान देखिन्थ्यो।  थापा थरका अफिसरले हामीलाई केही सोधपुछ पछि मेतेरीपुलको बीचसम्म लगिदिए। भुइचालो जाने दिन उनि यतै रहेछन। त्यो भयानक दिन र त्यसपछिका सुस्त तथा निराश दिनहरुको सम्झना गरे। 'ख्वै दुई देशबीच कुरा मिलेर नाका खुले त हुने' भने। पारिपट्टी चिनतर्फ ठूला घर संरचना देखिन्थे। सिधा उत्तरतिरको डाँडा टुप्पोमा हिउँ थियो।  तल पखेरो र फेदीतर्फ बस्ति देखिन्थ्यो।  सुन्दर।  त्यो खासा बजार रहेछ। अहिले त बस्ति सरेर सुनसान छ, चिनिया पुलिसहरुमात्र छन् रे।  पूलतर्फ फोटो खिच्न नपाइने रहेछ। तर फर्किंदा जूम गरेर केही फोटो लिएँ। एकछिन गफ गरेर हामी फर्कियौं।  बाइकको पछाडी बसेर कठीन बाटो र उजाड बस्तीको भिडियो फुटेज लिंदै तातोपानी बजारमा खाजा खान रोकियौं।

भत्केर, चर्केर, त्यागिएका घरहरु बीच सग्ला, कडा चट्टान/पखेरोको आडमा रहेका केही घरहरुमा फाटफुट पसल खुलेका थिए।  यौटा पसलमा चिया, तरकारी र रोटी खान बस्यौं।  स्थानीय एकजना भेटिनु भयो, साथीको चिनजान रहेछ।  वर्तमान अवस्था र राजनीतिबारे केहि चर्चा भयो। यो ठाउँमा उही पुरानो रौनक फर्किने आशा र विश्वास थियो उनमा।  हामीलाई पाहुना मानेर खाजाको पैसो तिर्न दिएनन्। उनलाई धन्यबाद दिएर हिड्यौं। त्यस्तै ११:३० बजेको थियो। हावाको बेग अझ बढेको थियो।  बोलेको सुन्न मुस्किल। बाटोमा कति ठाउँ बालुवा र धुलो उडेर अफ्ठ्यारो पर्थ्यो।हामी हुइकियौ।  अबको गन्तव्य 'द लाष्ट रिसोर्ट'को बन्जी !

नयाँबर्ष २०७४: भोटेकोशी तिर (भाग - १) यता पढ्नुहोस् Click Here (part 1)

No comments:

Post a Comment