Wednesday, December 2, 2015

शुभकामना: दिर्घायु गीत

      At 4 am today, I got this nice poem in my inbox, couldn't stop sharing it through my blogpage ....      

 - मंसीर १७, २०७२ (सअ)

तिम्रो दिर्घायुको म गीत सधैं गाउँछु ॥
 
म गीत गुन्गुनाउँछु,  म प्रीत फर्फराउँछु ।
संगीत भरी तिम्रो, दिर्घायुको गाउँछु ॥
म समुन्द्र जान्छु, मोती टिपी ल्याउँछु ।
जन्मदिनमा तिम्लाई, हार बनाई दिन्छु ॥

तिम्रो दिर्घायुको म गीत सधैं गाउँछु ॥

म गगनमा उड्छु, हावा सँगै डुल्छु ।
बिहानीको लाली टिपी, तिमीलाई दिन्छु ॥
म फुल सँगै खेल्छु, तिमीलाई देख्छु ।
सुबास चोरी जन्मदिनमा, उपहार दिन्छु ॥

तिम्रो दिर्घायुको म गीत सधैं गाउँछु ॥

म जुनसँग सोध्छु, तारासँग खाेज्छु ।
तिमीलाई खाेज्दै , ईन्द्रेणीलाई भन्छु ॥
म रंग देउ भन्छु , संगै छेउ जान्छु ।
सबै रंग भरिकन तिमीलाई नै दिन्छु ॥

तिम्रो दिर्घायुको म गीत सधैं गाउँछु ॥

म सुर्यलाई हेर्छु , चन्द्रमा लाई चुम्छु ।
तिमीलाई राख्न भनि, ताज महल बुन्छु ॥
म प्रीत गुन्गुनाउछु , संगीतले सजाउछु ।
तिम्रो दिर्घायुको, शुभकामना भन्छु ॥

तिम्रो दिर्घायुको म गीत सधैं गाउँछु ॥

Thursday, June 25, 2015

पि. ओ. सि. को नाममा

In the name of POC
नियमनको घेरा पर
गन्तव्य विश्रामस्थल
जो जन्माउन्छ -
एक चासो, अनेक चर्चा
एक रहस्य, अनेक आसंका
एक विश्वास, अनेक भरोसा
अलिखित तर अभिन्न दैनिकी
अर्थात, पिओसी।


पिओसीको  रंग -
हरेक दिन कन्चन र संग्लो पानी झैँ
आफ्नै रंग भरेर घोल्न मिल्ने ।
हरेक दिन एक खाली क्यानभास जस्तो
आफ्नै कुचीले रंग पोत्न मिल्ने ।

पिओसी कहिले दार्शनिक बनेर
जीवन र जगतको रहस्य खोज्दछ
त कहिले आवारा उद्देश्यहीन झैँ
बेतुक र बेमतलवी चर्चामा रम्छ।

पिओसी एक मन्दिर बनेको छ
दैनिक कोही भक्त पुगेको हुन्छ
तनाव ओकलेर तंग्रिञ्छ कोही
अर्ति सिकिर सप्रिन्छ कोही
आ-आफ्नै भाकल आफ्नै अर्चना।

पिओसी निर्बाध छ
कैयौं प्रहार आए तर रोकिएन
कैयौं आलोचना भए तर अल्झिएन
संकट सहेर सुचारु पिओसि
एक जिन्दगी बन्यो
पिओसी जिन्दगी।

पिओसीले रुप फेर्न सक्छ
साईबर स्वरुप बनेर
पिओसीले स्थान फेर्न सक्छ
पिओसिले शाखा खोज्न सक्छ
पिओसिले पात्र बदल्न सक्छ
तर, पिओसी अपरिहार्य छ
पिओसी निरन्तर छ।

- 6.27,2015 Friday

२०७२. १. १२. ११: ५६


२०७२. १. १२. ११: ५६ 

नयाँ सालको उमङ्ग उसै
घडीको टिक्  टिक् मध्यान्हतर्फ
तर ११.५६ मात्र बज्यो
घडी रोकियो
मध्यान्ह आएन
तरङ्ग आयो
भुकम्प आयो।

महा-भुकम्प
दन्त्यकथाको राक्षस झैँ
कोलाहलमय अजङ्गको रुप लिएर
शान्त मानवबस्तीमा पस्यो एकाएक
र क्षतविक्षत बने बास र बगैचा ।

जमिन तरल भयो एकाएक
र छाल उर्लिएझैं तरंगित
तैरिए मान्छेहरु त्यसैमा
डुब्ने त्रास लिएर सशंकित ।

भू-कम्प संगसंगै
जीवन परकम्पमा बदलियो
गोरेटोहरु बदलियो
सपनाहरुले रंग बदले
आकांक्षाहरुको आकार बदलियो
समग्र दैनिकी बदलियो ।

टिक्  टिक्
घडी रोकियो ११:५६ मा
मध्यान्ह आएन
भुकम्प आयो

त्यो नबिर्सिने पल
अर्थात, २०७२. १. १२. ११: ५६

Sunday, March 29, 2015

धुलो भन्दा पर (Retreat and Rejuvenation: days away from dusty city)


काठमाडौँको धुलो, धुवाँ र कोलाहलमय दैनिकीबाट पर प्रकृति समीपको साक्षात्कार हुने अवसर आफैमा यौटा rejuvenating experience हो।  रोमान्चक गतिबिधिले भरिएको दुईरात र तिनदिन अविश्मरणीय बन्यो।  काठमाडौँबाट बिहिबार मार्च २६, २०१५ को बिहान ६:०० बजेदेखि  शुरु यात्रा झन्डै नन-स्टप चल्यो र शनिबार मार्च २८, २०१५ को बेलुका ५:३० तिर सम्पन्न भयो।  लामो बस-यात्रा, त्रिशुली नदिको रयाफ्टिंग,  सौराहाको जंगल जीप-सफारी, वाकिंग, क्यानोइङ्ग, एलिफेंट राईड र भरपुर इविनिंग ईभेण्टस्।  एकपछि अर्को इभेन्ट यसरी क्रमबद्ध रहे कि बोरिङ्ग क्षण नै भएन ।  OYO (on-your-own)  समयको स्विमिङ्ग र च्या-पसलको जमघटले पनि रमाइलो थपे। मौसमले पनि अचम्मै संग साथ दियो - Outdoor Events कुनै बिथोलिएन। एकाबिहानै  गड्याङ्ग-गुडुंग गर्दै दर्किएको झरीले बरु  सितलता र जंगल सफारीमा धुलोबाट मुक्ति दियो।  Indoor मा भएका रचनात्मक, सृजनात्मक  र हास्यपरक  प्रस्तुति र इभेण्टहरुले तानिरहे।  मैले दोस्रो दिन Reflection Session मा अन्य टिमले Sharing गर्दागर्दै एउटा instant sketch draw गरेको थिएँ (चित्रमा)।  फर्किदाको बस-यात्रा नन-स्टप संगीतमय थियो - उस्तै जोश र रोमान्चकता बोकेको।


त्रिशुली नदिको रयाफ्टिंग: यात्रा भरिको उत्कृष्ट रोमान्चक अनुभूति। फील नगरी बयान गर्नै सकिन्न। एकातिर पृथ्वी राजमार्गको किनारा र अर्कोतिर ढुंगे पखेरा, गहिरो त्रिशुली नदिको धमिलो पानी,  ६ बोट,   ६-८ जनाप्रति र्याफ्टबोट, एउटा/एउटा गाईड,  २५ किमिको यात्रा, ७-८ र्यापिडक्रस गर्दै करिव २.५ घण्टामा सकियो।  धेरै सहयात्रीहरु डराएका थिए। ओहो !! …. ओहो!! … बाट शुरु र्याफ्टिंगको अन्त एकनासले आहा !!…. आहा !!….मा सकियो।

Saturday, October 25, 2014

अप्सरा भेटिने यात्रा (Trekking to Rara: A Nature Walk) - (भाग - ४)

चौथोदिन।  उठ्न मन नलागी नलागी उठ्यौं।  चिया खायौं।  रु १५० प्रतिव्यक्ति तिरेर होटेल छोड्यौं।  बाहिरको वातावरणमा मीठो चिसोपना फैलिएको थियो ।  आज घुर्चीलाग्ना पार गर्नुपर्छ। ३-४ घण्टा लाग्छ होला । यो उकालो सबैभन्दा लामो/अफ्ठ्यारो बाटो हो। घाम चर्के  थाकिन्छ। छिटै हिड्यौं।  अगाडी खोलाको छेउबाट बाटो जंगल भित्र छिर्यो - सल्लैसल्लाको जङ्गल एकघण्टा उकालो पछि सानो चौर आयो।  घामले भेट्यो।  भेडाका बथान भेटिए। घाममा उग्राईरहेका चिल्ला/सुन्दर गाईका बथान पनि भेटिए।  तेस्रो/हल्का उकालो बाटो पहाडको भित्तैभित्ता जंगलैजंगल गयो।  बाटोमा कतै खोस्रिएको जमीन देखिन्थ्यो - बँदेलले खोस्रिञ्छ भन्थे। कोही बटुवा भेटिएनन्।  तल पिनागाउँ थियो।  गमगढीबाट आउनेबाटो त्यहिबाटै उकालो सुरुहुन्छ। उकालोको बीचतिर दोबाटो आयो - मुगुजाने र राराजाने बाटो फाट्ने ठाउँ।  त्यहाँ सुस्ताउँदै गर्दा खानेपानी सकियो। अझैं उकालो बाँकी छ। अघाडी रुखको बीचबाट थोरै आकास देखिन्थ्यो।  क्षितिज नजिकै लाग्थ्यो।  उकालो सकेझैं लाग्थ्यो । तर अरु चढ्नुपर्थ्यो। घुर्ची पुग्नै लाग्दा ओरालोमा जर्मनी र स्विट्जरल्याण्डका ३ जना (२ महिला र १ पुरुष) टुरिस्ट र उनीहरुका गाईड, पोर्टर र खच्चर भेटिए।  उनीहरु ५० दिनको यात्रामा रारा, फ़ोक्सुण्डो, मनाङ्ग हुँदै पोखरापुग्ने रे।  हामीले उनीहरुको खर्चको हिसाब निकाल्दै घुर्चीलाग्ना पास गर्यौं। डाँडो बुकीले भरेको थियो।  पूर्वतिर हिमशृंखला देखिन्थ्यो।  केहीबेर आराम गरेर हिड्यौं।

१५ मिनेट झरेपछि भुलभुले आर्मी चेकपोष्ट आयो।  मुगुको रोड यताबाट आयो।  आर्मीले बटुवा र सवारी दुवैको इन्ट्री गर्ने रहेछ। अचेल धेरै दिन भयो गाडी चलेका छैनन् रे । यता चल्ने  मोटरसाइकल, ट्रयाक्टर, स्वराज ट्रक र भाडाका केही साना गाडी। पानी माग्यौं।  डियुटीमै भएको आर्मी आफैले  गएर पानी भरेर ल्यायो। पोष्ट खाली थियो।  थोरै ओरालो झरेपछि एकहुल यात्री भेटी। रारा घुम्न आएका व्यापारीहरुको टोलि रहेछ।  ट्रकको पछाडीबसेर आएको सातो उड्यो भन्दै थिए।  एउटा अधबैंसेले हाम्रो लठ्ठी माग्यो।  दियौं।  अलिवर होटल भेटिए।  केही बाईक, एउटा ट्रक, एउटा स्कोरपियो गाडी रोकेको थियो।  हामीपनि यतै खाने गरि बस्यौं।  ११:३० बजेको थियो।

यहाँ थरीथरी यात्री भेटिए -  एउटा - नेपालगंजबाट आफ्नै गाडी ल्याएर आएको तर गाडी दैलेखतिर कतै बिग्र्यो, लोकल गाडीमा नाग्मसम्म पुगेर यो स्कोरपियो भाडामा लिएर रारा जाँदै गरेको समुह। भाडा रु ३५ हजारमा दुईदिन। अर्को - तानसेन, पाल्पाको व्यापारीको समूह।  उतैबाट ३ बाइकमा ६ जना आएका।  थाकेर परेशान।  'बाईक यतै बेचेर जुम्लापुगेर प्लेनमा जाउँ जस्तो भैसक्यो' सुनाउंदै थिए।  अर्को ४ जना मकवानपुरबाट बाईकमै आएको ग्रुपपनि थियो।   हामीले पहिलोदिन भेटेका थियौं भक्तपुरबाट हिडेका ७ जना बाईकर्सको समूह। अचेल एडभेन्चर ट्राभलमा हिड्ने यूवाहरु निकै हुन थाले।  सबैसंग एक्साइट्मेण्ट थियो।

खानाखाएर हामी ओरालो हिड्यौ।  खोलैखोला। ओखरको जंगल थियो।  सबै हाडे ओखर।  केही टिप्यौ।  बाटोमा बिस्रामको बेला फुटाएर टाइमपास गर्न काम लग्यो । चौथा बजार पुग्यौं।  यताबाट पश्चिमतर्फको बाटो बोतामालिका हुँदै सिंजाउपत्यका जान्छ।  हामी दक्षिण-पूर्वको बाटो काब्रा हुँदै न्याउरीगाड तिर लाग्यौं। बाटोमा जुम्ला-रारा अल्ट्रा म्याराथनको तयारीको लागी हिंडेका भोलेण्टिएर र अफिसियलहरु भेटिए।  पर्सि शुक्रबार, अक्टोबर १० मा  दौड हुञ्छ । मेघराजजीहरुको टोलीले हामीलाई भेटे र अघि बढे।  आज खाली (डाँफेलाग्ना नजिकै) बासबस्न पुग्ने भनेका थिए तर जंगलको बाटो अबेर हुनसक्ने भएकोले न्याउरिगाडमै बसेछन।  एकछिनमा भेट्यौं र हामीपनि त्यहिँ बस्यौं।  आलु उसिन्न लगायौं।  टिमुर हालेको अचारसंग त्यो निकै स्वादिलो भयो। थाकेको ज्यान झ्याप्प सुतेछौँ।  ९ बजेतिर खाना उठ्यौं।  यात्राको अन्तिम रात।

बिहिबार, अक्टोबर ९, २०१४: बिहान ४ बजे तिरै एउटा मान्छे सबै ढोका ढक्ढक्याउन पुग्यो।  उठ्नुहोस्।  उज्यालो भैसक्यो। जाउँ। त्यसले सबैलाई डिस्टर्ब गरेको रहेछ।  त्यो हिजो धेरै रक्सिखाएर सुतेको मान्छे थियो - मुगुतिर जाने।  हामीले चिया खाएर ६:३० तिर मात्र होटेल छोड्यौं। यता रु २०० प्रतिव्यक्ति तिर्यौं ।  झोलुङ्गेपुल तरेर केहि तेस्रो अनि उकालोबाटो चढेर करिब साढे दुईघण्टामा हामी खाली पुग्यौं। मेघराजजीहरु उतै हुनुहुथ्यो।  चाउचाउ र चिया खायौं। र संगै हिड्यौं। यताबाट यौटाबाटो पूर्वतिर पट्मारा जान्छ। हामी दक्षिणतर्फ उकालो चढ्यौं। केहीदिन पहिले यो बाटोमा यौटा पुलिक व्यापारीको मर्डर भएको रहेछ। यतै पसल गर्ने एकजना माथि अभियोग रहेछ। हामी अहिले दिउँसो, उज्यालो र समूहमा हिडेकोले डर लागेन।  यता बाटोमा पतारासी र कान्जिरोवा हिमालको सुन्दर दृष्य देखिए। त्यो पल्लोपट्टि डोल्पा पर्छ।

जसै हामी डाँफे पुग्यौं जुम्लाभ्याली छर्लंग आँखामा आयो।  पुरा बर्डआई भ्यू देखियो।  उता भुरिचुलामाईको डाँडोदेखि चिमारामालिकासम्म।  पारीपट्टी ठाकुरज्यूजाने बाटो नाना हाँका, पर दैचाउले र पुरा पाटन।  तल जुम्लाबजार, एयरपोर्ट, खोलिकोट, बुड्थबाडा, सिम्खाडाका बस्तीहरु, केटिएसको प्रांगण, पावरहाउसको रिजर्भायर, चेरेचौर सबै छ्याङ्ग देखिने।  दुरबिनले नियाल्यौं।  एकछिन आराम गर्यौं।  र यात्राको अन्तिम उकालो क्रस भै सकेको थियो र हामी अन्तिम ओरालो झर्यौं। थाकेको खुट्टा ओरालोमा कापेंका हुने। पुष्पा उछिट्टियो र निधारमा टुटुल्को उठ्यो।  चेरेचौरमा फेरी केहिबेर आराम गरेर हामी केटिएसको कम्पाउण्ड भित्रको बाटोहुँदै पावरहाउसको पोखरी छेउ आएर फ्रेशहुन बस्यौं।  गाउँका फुच्चेहरु पोखरीको एउटा बेवारिसे डुंगाबाट डाईभगर्दै नुहाउँदै थिए।  

केटिएस मैले २ बर्ष बिताएको ठाउँ हो।  करिब २० बर्ष पहिले । बीचमा एकपटक गएको थिए।  आज कपील र पुष्पालाई बयान गर्दै हिडेको छुँ।  उनीहरुलाई यो निकै रोमान्चक लागेको छ।  तर, यो प्रांगण मैले छोड्नेबेलाको जस्तो पटक्कै छैन।  निकै खस्केछ।  बाटो, भित्ता, चौतारो र चौर सबै फोहर लग्यो।  त्यस्तो झकमक हुने ठाउँमा एउटै फूल देखिनं। भत्केको,मैलो घर, माकुराको जालो परेको अफिस घर।  सबै हेर्दा टिठलाग्दो देखें।  कुनैबेला यो ठाउँलाई जुम्लाको स्विट्जरल्याण्ड पनि भानिन्थ्यो।  नरमाइलो लाग्यो।  राजनीति र आन्तरिक किचलोको परिणाम होला।

हामी करिब २ बजेतिर जुम्ला खलङ्गाबजार पुग्यौं।  बाटैमा टेकेन्द्रजी भेटिनु भयो।  अल्ट्राम्याराथनको रजिस्ट्रेशन फारम हातमा थियो।  यत्रो ५ दिनको ट्रेकिंगबाट फर्केको कसरी दौडन सक्नु ? हिडेर भएपनि भागलिनैपर्ने जिद्दी गर्नु भयो।  भरेँ। उता बजारमा नारायणजी भेटिनु भयो।  आयोजक। उहिल्यैदेखि भागलिन भन्नुहुन्थ्यो। आयोजकले अनुमान गरेभन्दा धेरैले भागलिन उत्साह देखाएछन्।   टिसर्ट त सकिए छ।  अनि आफुले लगाएको फुकालेर दिए।

पुष्पाहरुले बाटोमा च्यातिएको जुत्ता सिलाए। भोक लागेको थियो तर हामी घरतिर लाग्यौं। बसहरु अचेल नयाँ बसपार्कमा पाइने रहेछ । हामी चोकमा पुग्दै गर्दा ठिक्क एउटाबस आयो। अन्तिम ७ किमीको बाटो गाडीमा घर पुग्यौं।  यात्रासुरु गरेको पाचौंदिन बेलुका ५:३० बजे हामी राराको नेचुर एडभेन्चर ट्रेक सकेर सकुसल घर पुग्यौं। पुष्पा भन्दै थिई 'ओहो, यतिधेरै फन एक्स्पेरिएन्स, मेरो साथीहरुलाई सुनाउने स्टोरी कहाँबाट स्टार्ट गर्ने होला?'

(समाप्त)
             

अप्सरा भेटिने यात्रा (Trekking to Rara: A Nature Walk) - (भाग - ३)

यात्राको तेस्रोदिन।  हामी अप्सराको आँगनमा सुतेका थियौं।  राती टेण्टको छेवैमा एकझुण्ड स्यालले कराएर  ब्युँझाएका थिए।  झ्यालबाट बाहिर चिहाउँदा रारा शान्त थियो। यौटा लामो क्रिडापछिको आनन्दीमा लिप्त झैं।  बाहिरको हल्लाले एकाबिहानै बिउझियौं।  टेण्टको चेन तानेर बाहिर हेर्दा छ्याङ्ग राराको प्रतिबिम्ब देखियो। सुर्योदयमा बिहानी प्रकाशले रंगिएको थियो। वरिपरि सर्वत्र हरियाली थियो। बीचमा फैलिएको शान्त तालको रंग आकासको गतिबिधिसंगै परिवर्तन भैरहेको थियो - रंगिन।  त्यो एक अलौकिक दृष्य दृष्य थियो।
 हामी तालछेउ टहलिन गयौं।  टावर चढ्यौं। फोटो खिच्यौं।  तालको पानी अत्यन्त कन्चन देखियो।  माछाहरु निस्फिक्री घुमेका प्रष्टै देखिन्थियो।  राराको पानीले मुख धोयौं। साबुनको प्रयोग मनाही छ। बाहिर धाराको पानी भन्दा निकै न्यानो थियो। तालको छेउ बाटोमुनि रहेका बेञ्चमा बसेर ताल नियाल्यौँ। बिस्तारै अघि पूर्वकोडाँडामा झुल्केको घाम यता आइपुग्यो।  हामीले कफी पिउंदै नियाल्यौ। मेघराजजी र पवनजीहरुको टोली भेटियो। डुंगासयर गर्ने रहर भयो।  त्यसकोलागि नजिकैको निकुञ्ज कार्यालयमा निबेदन दिएर सिफारिस लिनुपर्ने रहेछ। अफिसको मान्छेलाई उठायौं। उसैको डेस्कमा कागजखोजेर निबेदन लेख्यौं। १० रुपियाँको टिकट चाहिने रहेछ। थिएन।  रुपियाँ नाथ्थी गर्यौं। सिफारिस पत्रपनि आफै लेख्यौं। त्यो पत्र पछि निकुञ्जभित्र रहेको 'समरजंग गुल्म'ले बोटिंग गराउने रहेछ। आर्मीक्याम्प केही पूर्वतिरको चौरमा थियो।   ५ मिनेटको बाटोमा। लाइफ ज्याकेट लगाएर हामी बोट(डुङ्गा)मा चढ्यौं।  चारजना आर्मीले बोट चलाएर केही मिनेटको डुंगासयर गराए। हावा चल्न सुरु हुनु अगावै ९ बजेसम्म यो क्रम सकिन्छ। हामीले निरन्तर फोटो खिच्यौं।  होटल भए तिर फर्कियौं र पश्चिमतिर अर्को बिन्दु (छाप्रु महादेवको मन्दिरजाने बाटो) तिर पुग्यौं।  यसरी करिब ११ बजेसम्म राराको किनारामा बितायौं। 
साढे ११ तिर खाना खानु अघि टेन्ट भित्र केहीबेर तास खेल्यौं।  त्यहाँ आएका अरु यात्रीहरु गमगढी जाने रे। मैले त्यता नजाने विचार गरें  र ताल्चाहुँदै जाने बाटो बारे बुझें।  करिब २:३० - ३ घण्टालाग्ने थाहाभयो।  बिस्तारै गएहुने रहेछ। खाना खायौं।  दुईछाक खाना/मासु, कफी र टेन्टको भाडा रु ६०० प्रतिव्यक्ति तिर्यौं।  नेपालकै अन्य पर्यटकीयस्थलमा भन्दा तुलनात्मकरुपले निकै सस्तो लाग्यो।  हिड्ने अन्तिम तयारी गर्दैगर्दा हिजो बाटोमा भेटेको एकयुवा आए। झ्यारीगाउँ मैतालु पुर्याएर आज उता मुर्मा तिर पैठ (मेला) हेर्नजाने रे।  साथमा अर्को मान्छेपनि थिए।  टेन्टभित्र आए। नियालेर हेरे।   पहिलोचोटी पसेको रे।  उहिले द्वन्दको बेला गाउँबाट बिस्थापित भै लुक्न भेडा ल्याएर यतै आएका रहेछन।  'उ बेला यै रारा-ध हेर्दै उमन (न्यास्रो) काट्थ्यौं। रंग र छाल हेर्दाहेर्दा रिङ्गटै लाग्थ्यो' उनले सुनाए।

उनीहरुलाई उतै छोडेर हामी हिड्यौं।  आर्मीक्याम्पको बाटो हुँदै गयौं।  आर्मीले नाम इन्ट्री गर्यो, झोला चेक गर्यो र जान दियो। ड्युटीकै आर्मीले ताल्चा जाने बाटोबारे बतायो।  हामी अर्को डेढ २ घण्टा जति तालको किनारै किनार जानु पर्ने रहेछ।  केही पर दोबाटोआयो।  गमगढीजाने बाटो सिधा डाँडापार गर्नेगरी गयो।  हामी तालको किनाराको गोरेटोबाटो हिड्यौं। पुरैजङ्गलको बाटो घुमेर तालको पूर्वीकिनार पुग्थ्यो । स-साना खोल्सापार गर्न बनाएका काठका साँघुहरुले बाटो निकै सुन्दर देखिन्थ्यो। तालको किनारामा छालहरु उर्लेर ठोकिन्थ्यो।  हेमन्तले यता डाँडातिर फोनको नेटवर्क आएको खवर दियो।  मैले मोबाईल अन गरेँ।  ह्वार्र मेसेज झरे । केही  अफिस तिरको पनि थियो। अर्जेन्ट प्रकृतिका। यो रमणीय क्षणमा ति कुनैपनि मेसेजहरु प्रिय थिएनन्।  केही फोनकल गरें।  र हामी राराको पूर्वीमोहडाबाट थप केहि फोटो लिंदै ओझेल पार्यौं।


यसपछि ताल्चा विमानस्थल पुगुन्जेंलको बाटो निकै रमणीय छ।  सल्लाको सुन्दर जङ्गल हुँदै झर्ने यो बाटोबाट तल दक्षिणपूर्व तिर मुगुको सदरमुकाम गमगढी डाँडो देखिन्छ। बाटोमा केही यात्रु भेटिए - चितवन, काठमाडौँबाट रारा घुम्न आएका महिला र पुरुषहरु थिए।  प्लेनबाट भर्खर एअरपोर्ट झरेर यता उकालो लागेका थिए।  हामीलाई सबैले सोधे।  बिशेषगरी पुष्पा/कपीलसँग र उनीहरुले सहजै भएको सुनेर ढुक्कबन्न खोजे। बाटोमा आर्मी चेकपोष्ट भेटियो।  फेरी नाम इन्ट्री गर्यौं। पानीमाग्यौं। र एअरपोर्ट छेउको एउटा होटलमा रोकियौं । ४ बजेको थियो।  साहुनी थिईन।  'पर सरेको छुँ, चिया/खाजा बनाउन मिलेन' भनिन।  र, श्रीमानलाई बोलाएर पकाउन लगाईन। दुईजना बयोबृद्ध बसेका थिए।  एयरपोर्टबारे कुरोभयो। २०३९ सालदेखि बन्न थालेको यो अझै दुरावस्थाको झैँ छ।  ३५ बर्षमा बन्यो।  करोडौं रुपियाँ सकियो तर भरपर्दो विकास भएको छैन।  पूर्वतिर थार्प गाउँ देखाए ।  बाईनकुलरमा थार्पमष्टा थान हेर्यौं। अर्को महत्वपूर्ण धार्मिकस्थल थियो। हामीलाई बासबस्न अघाडी झ्यारीगाउँसम्म पुग्न सकिने सल्लाह दिए।  ति महिलाले सिगाड़ा बिर्खको होटलमा बस्नु होला भन्ने सिफारिस पनि गरिन। एअरर्पोर्ट बीचबाट बाटो काट्नपर्ने रहेछ।  छोटो धुले रन-वे, पखेरो काटेर बनाएको।  सम्म्याउनेकाम अझै भैरहेको थियो।  त्यसमुनि गमगढीजाने बाटो (रोड) थियो।  हामी त्यैबाटो पश्चिम तर्फ हिड्यौं।


झ्यारीगाउँको मुनि बाटो पुग्दैगर्दा निकै थाकेको थियौं।  रोडको बाटो खोलाको भित्र खोंचमा पसेर ठीक पारीपट्टी डाँडामा आउंथ्यो।  यौटा छोटोबाटो मिल्यो। ओरालो झरेर खोल्सामा पुग्ने र थोरै उकालो पछि होटेल भएको ठाउँ।  हामी छोटोबाटो हिड्यौं।  यौटो सानो दोबाटो आयो।  घाँसले ढाकेको थियो।  यौटी फुच्चीकेटीले सिकाएको बाटो हरायो।  हामी गाउँहुँदै जाने सहीबाटो छोडेर हामी पखेरो/भीरको बाटोहुँदै बारीहरुमा फस्यौं।  घाँसमा चिप्लेर ओर्ल्यों। अँध्यारो भयो।  गाउँका महिला भेटिए  र सहीबाटो सिकाईदिए। हामी ७ बजेतिर होटल भएको ठाउँ पुग्यौं।  एकान्तमा त्यो एक्लो होटल थियो।  बातावरण हल्का चिसो थियो। चौरमा आगोबालेर ताप्दै खानाखाने समयको प्रतिक्षा गर्दै बस्यौं।  अबेरसम्म त्यो क्याम्प-फायर चलिरह्यो।

(क्रमश:)   










 







   

Friday, October 24, 2014

अप्सरा भेटिने यात्रा (Trekking to Rara: A Nature Walk) - (भाग - २ )

झिसमिसेमै बटुवाहरुको हल्लाले ब्युँझ्यौँ।  छिट्छिटो तयार भयौं। बाहिर चिसो थियो।  पानी ठिहिराउने। कालो चियाले जिउ ततायौं। 'खानेकुरा के छ साहुनी?' 'आईले केई नाई।  चाउचाउ खाँदा त?' जवाफ दिईन। बिहानै के खानु।  स्थानीय केही मिले हुने नि - 'रोटा नाइँ?' सोधें। 'यै छ, मीठो मान्ना छौ कि नाइँ' अर्की महिलाले रोटी तिर देखाइन। बडेमानका पुरी थिए।   तताएर दिईन। खाना र बास खर्च रु २५०/- प्रतिव्यक्ति तिर्यौं।  होटले र स्थानीयहरुसंग गोठीज्यूलादेखि रारा पुग्ने बाटोबारे बुझ्दा ४ वटा विकल्प दिए - १) चौथा (बुम्रमाडीचौर) हुँदै घुर्चीलेख वा चुचेमारालेखको बाटो; २) बोतागाउँ बोतामालिकाहुँदै गुर्सिंगबाट चुचेमारालेखको बाटो; ३) गौरी ओखरपाटाहुँदै गुर्सिंगबाट चुचेमारालेखको बाटो; र ४) बुडुगाउँकोबाटो हुँदै जाने लाग्नाबाट चुचेमारालेखको बाटो।  दोधार।  विकल्प १ र २ केही घण्टा सिधै पूर्वतर्फ रोडकाटेको बाटो हिंडेर उत्तरतिर लाग्ने सजिलो तर लामो बाटो।  विकल्प ३ र ४ यहिँबाटै खोलोकोबाटो केहिउत्तर लागेर उकालो चढ्नुपर्ने छोटो तर केही कठीन बाटो।  'रारापुग्न कतिसमय लाग्ला?' बाटोमा भेटिने प्रायः सबैलाई सोधिन्थ्यो। ' एकदिन'  '५/६ घण्टा' 'हिड्नेमा भर पर्छ' 'छिट्टै पुगिन्छ' 'बेलैमा पुगिएला' 'आरामले पुगिन्छ' जस्ता जवाफ मिल्थ्यो।  हिजोको ४ घण्टाको हिडाई रिहर्सल प्राक्टिस थियो।  त्यो थकान मेटिएको थियो।  आजबाट खासमा ट्रेकिङ्ग वा हाइकिङ्ग सुरु हुनेछ।  दिनभरको परिश्रमपछि आज अप्सराको घरमा बास बस्ने लक्ष राख्यौं।  हामी हिड्दा ७ बजेको थियो।

बाटो उत्तरतिर खोल्सो हुँदे गयो।  हामी जंगल हिंडेका महिलाको समूहसंगै हिड्यौं।  किनारामा फाट्टफुट्ट घरहरु थिए। नयाँ र सफा घर।  सबै घर अघिल्तिर धारा।  फुलफुलेको आँगन।  वातावरण जाडोजाडो थियो। तर फ्रेश फील गराउने चिसोपन।  केही अघिबढेपछि काठको साँघु (लाप्को) तर्यों र गौरीगाउँ तिरको उकालो चढ्यौं।  ओरालो झर्दै गरेका तीनजना महिला भेटिए। ति मध्ये की एउटीले निकै आत्मीयभावमा कताजाने भनेर सोधिन्। गफ भयो।  उ पर भएको आफ्नो घर देखाइन र त्यसैको पछाडीबाट यौटा छोटोबाटो माथि ओखरपाटापुग्ने बताईन। घरको आँगनबाट लिस्नो उक्लेर दुइटा छत चढेर भेटिने पखेरोको एकसिउरो घुमाउरो ठाड्डैबाटो रहेछ।   स्याउखायौं डेढलिटर पानी सकियो। बाटैमा घामले भेट्यो र झन् थकित बनायो। कम्तिमा ५ वटा बसाईपछि त्यो उकालो कट्यो र गाउँ पुग्यौं। डेडघण्टा लाग्यो।  ठूलो गाउँ रहेछ। यौटामात्र चियापसलको मान्छे काममा गईसकेछ। अर्को खानेठाउँ मिल्न घन्टौ लाग्छ रे।  मान्छे बोलाउन पठायौं।  साहुजी आएन, दुइटा फुच्चेहरु आए।  उसका छोरा।  खानाखाने व्यवस्था थिएन।  चियापकाए, बिस्कुटदिए।  बन्दाको पातहालेर चाउचाउ पकाए।  मिठो थियो।  'लोकल चिज के पाइन्छ ?' सोधें।  'केईनाई सर' ठूलोकेटोले भन्यो। नौ कक्षा पढ्ने रहेछ।  एसएलसी पछि सुर्खेतजाने रे।  'अण्डा, स्याउ, रोटी, तरकारी?' छैन।  'मकै ?' फेरीसोधेँ । तल मकैबारी देखेको थिएँ । सानोकेटो फुत्त दगुरेर गयो।  र ठुल्ठुला ४ घोगा लिएर पोल्न बस्यो। त्यो अत्यन्त मीठो मकै थियो।  थोरै खायौं र बाँकी बाटोकोलागि राख्यौं। कति रुपियाँ भयो? सोधें '१२० रुपियाँ ?' केटोले भन्यो।   'हिसाब राम्ररी जोड' निकै थोरै लग्यो।  'त्यतिनै हो सर' कन्फर्म गर्यो। 'अनि मकैको?' जोडेको थिएन।   'आफ्नै बारीको त हो।  पर्दैन' उसले मानेन। 'ल यो ३० रुपियाँ तिमीहरुलाई 'टिप्स' भनेर थापें।' र करिब १० बजे हामी हिड्यौं।    

बाटो यताबाट केहि तेस्रो र हल्का उकालो थियो।  जंगल आयो।  एकनासले किराहरु कराईरहेका थिए। पारीपट्टि पश्चिमतिर पहाडको बीच भित्तामा बुडूगाउँ देखिन्थ्यो।  धार्मिकरुपमा प्रसिद्ध ठाउँ हो यो।  यहाँ 'बुडुमस्टो' र 'कवामस्टो' को मूलथान छ। बाह्रभाई मस्टो जुम्ली सभ्यताको एक अभिन्न धार्मिक र संस्कृतिक पक्ष हो। सल्लाका रुखहरुको सितलताले बाटो सहज बनेको थियो। तर बाटो सुनसान थियो।  कोहीबटुवा भेटिएनन।  तर कोही अघाडी गएको संकेत चिन्ह पाईलाहरु थिए।  हामी कोही भेटिने प्रतिक्षामा हुन्थ्यौं।  उकालो पछिको एउटा बिसौनीमा बस्यौ।  यहाँबाट सिंजाको अत्यन्त सुन्दर दृष्य देखियो। दुरविनको काम आयो।  डाँडालेले घेरिएको उपत्यका, ज्यूलाको फाँट र बीचमा बगेको हिमानदी। यहाँबाटो दुइटा भयो।  मेन्टलम्यापले त ठाडोबाटो जस्तोलग्यो तर तेस्रोगएको बाटो धेरै हिँडेको जस्तो थियो। कताबाट जाने? कोही भेटिएन।  दोधार।   माथी चुचुरोतिर भेडाको बथान चरिरहेको देखियो। पक्कै त्यहाँकतै गोठाला भेटिनु पर्छ।  केही उकालो चढ्यौं र एउटा डाँडोमा पुगेर डाको लगाएर रारा जाने बाटो सोध्यौं। यौटा गोठालोले इसाराले संकेत दियो। तेस्रोबाटो रहेछ।  हामी ओर्लेनौं बरु सिधै पखेरै पखेरो हिंड्यौ - भेडा/बाख्रा हिड्नेबाटो।  त्यो बाटो सिकाउने गोठालो फेरी कतै देखिएन।  हामीले त्यो भूत थियोकी वा देउताले पठाएको थियो की भन्दै रमाइलो गर्यौं।   

हामी एउटा अर्को काँधमा पुग्यौं जहाँ ३ वटा बाटो भेटियो।  कुनै अन्दाज भएन कताबाटो जाने। आसिनपसिन थियौं। भोकलागेको थियो।  चिउरा/दालमोठ खाँदै बटुवाको वा गोठालाको प्रतिक्षा गर्यौं। 'भगवानले कोही न कोही त पक्कै पठाउलान' पुष्पा भन्थी। बोकेको पानी सकियो। एकछिनमा अर्को तर्फको बाटोबाट दुईटा केटाहरु र एउटी बच्चा बोकेकी महिला आए।  उनीहरु चुचेमाराको बाटो हुँदै झ्यारीगाउँ माईतीजाने रहेछन। हामी जानेबाटो त कोल्टेतिर ठाडै ओरालो झर्नु पर्ने रहेछ। हाम्रो मेन्टलम्यापले कहिल्यै काम नगर्ने।  उनीहरु हाम्रो गाईड बने।  संगै गोरुसिंगसम्म गयौं।   एक बजेको थियो। खानाखान बस्यौं।  उनीहरु अघिबढे। यो बाटोमा ओखरपाटा छोडेपछिको पहिलो र अन्तिम होटल/पसल। यौटी महिला थिईन।  निकै फरासिली र हँसमुख।  चिउँडोमा टाटु थियो। सानैमा सियोले खोपेर जौको पात निचोरेर रस हाली बनाएको हो रे।

खाना बनाउँदैगर्दा उनले निकै कुरा सुनाइन।  कुनै बेला मुगुजाने भरिया र खच्चर हिड्ने यो बाटो निकै व्यस्त थियो।  अहिले उतै भुलभुलेबाट बाटो गएकोले यो बाटो ठ्याम्मै सुक्यो।  फाट्टफुट्ट मान्छे आउँछन।  यो निकुञ्ज भित्र पर्छ।  त्यसैले आर्मीलाई महिनाको १,८०० तिर्नु पर्छ।  उनले थपिन्  - 'राति आफु नभएपनि यता चामल/दाल, दाउरा, कपडा राखी छोडेको हुन्छ। अफ्ट्यारोमा परेका बटुवाले आफै पकाउञ्छ्न।  र मनलागेको पैसो यतै छोडेर जान्छन। सेवा हो।  बन्दै गर्न भएन।' वाह क्या सही कुरो। उनका एक छोरा र एक छोरी सुर्खेतमा पढ्छन रे।  यसपाला दशैं छुट्टीमा यतै आएका छन् तल गाउँमा।  हिजो पछि रहेका बजारका केटीहरुको टोली आयो।  उनीहरु अर्कैबाटो हिडेछन।  हाम्रो भन्दा कम उकालो चढ्नु परेछ।  उनीहरु खाना नखाने रे।  अघि बढे।                  
चुलोमा बडेमानका दाउराजोतेका थिए।  धुवाँले सेकिएर भित्ता र छत चम्किलो कालो बनेका थिए।  चुलोमाथी खसीको मासु लहराहरु सुकाएका थिए।  हामीले ४ वटा पोल्यौ र ४ वटा पकाउनलगायौं।  सिमिको दाल, आलुको तिहुन, भाँगोको चटनीसँगको खाना थपिथपि खायौं।  रु १,१५०/- तिर्यौं।  जसमा रु ८०० त लहराको थियो। हामी हिड्दा उनले ३ वटा लठ्ठी काटी दिईन।  ठिगोको। अब बाटोमा पानी मिल्दैन लिन भनेर सुझाइन।  र हामी २ बजेतिर हिड्यौं।  उत्तर तिर खोलैखोला एक घण्टामा हामी चुचेमाराको फेदमा पुग्यौं। ठाडो उकालो थियो।  घाम ढाकिएको थियो।  पानी पर्ला जस्तो थियो।  यो मौसममा पानी नपर्ने अनुमान गरी हामीले छाता वा बर्शादी केही बोकेका थिएनौं।  कदाचित पानी परे बिजोग हुनेछ र अलपत्र पर्ने सम्भावनाले डर लाग्यो।

करिब आधाघण्टामा  चुच्चोमा पुग्यौं। एकहुल घोडाघोडी चरीरहेका थिए।  हामी देखेर तर्सिन खोजे।  त्यै बेला बादल डाँडामा ओर्ल्यो। र दगुरेको देखिन थाल्यो।  एकछिनमा सबै दृष्यहरु कुहिरोमा हराए।  चिसोले स्पर्श गर्यो।  पसिना सुक्यो र काँडा उम्र्यो।  ज्याकेट र मफलर झिक्यौं।  घरबाट आमाले दिएको पिरो अचार खायौं र हिड्यौं।  पुरैबाटो कुहिरिमंडल थियो। त्यै कुहिरो भित्रबाट दुईजना गोठाला निस्किए । भैसी खोज्न निस्केका रे।  हामीले बाटो कन्फर्म गर्यौं। करीब ३ घण्टालग्छ रे यो ओरालो पार गर्न।  चुचेमाराबाट देखिने राराको सुन्दर दृष्य हेर्ने सौभाग्य मिलेन।  निकै तल जंगलभित्र न पसुञ्जेल कुहिरोले छोडेन।  ४ बजेतिरै जंगल अध्यारो थियो। ससाना बुट्यान, निगालोको झाडी, भोजपत्रको जङ्गल, खर्सु, धुपीको जंगल हुँदै सल्लाको जंगल आयो।  उचाई घटेको संकेत थियो तर खोलाको आवाज थिएन। हामीले माझघट्ट पुग्नु पर्थ्यो। निरन्तर झर्यौं।  अबेर हुने डरले कतै बसेनौं।  बाटो सिधा ओरालो थियो।  कोही मान्छे भेटेनौं । न कतै बस्तिको संकेत थियो।  केवल कराइरहेको जंगल। र भाँचिएर/उखेलिएर अलपत्र परेका रुखहरु थिए।  बन्यजन्तु त भेटिएनन तर मनको कुनै कुनामा डर भने अवश्य थियो।  कपिल कहिल्यै बाटोमा हिडेन।  संधै 'सर्ट-कट' भन्दै झाडीमा हिड्थ्यो।  उसको टिसर्ट कतै झ्याङ्गमा अड्केर हराएको थाहा नै पाएन।

हामी ७ बजेतिर बल्ल खोलामा झर्यौं।  यो रारादहको पानीको निकास हो -  निजारखोला। तल खत्याडखोला जान्छ र उतै तिरबाट कर्णालीनदीमा मिल्छ। माझघट्टतिर केही होटल छन्। अध्यारो भयो।  निकै थाकेको भए यतै बस्नु पर्ला।  तर, यहाँबाट रारादह आधाघण्टामात्र टाढा छ, पूर्वतिर । कपिल र पुष्पा दुबैजना रेडी थिए अरु हिड्न।  हामी बढ्यौं अघाडी।  अध्याँरोले ढाक्यो। जुनको उज्यालो थियो तर जंगलमा त्यो राम्ररी छिरेको हुन्नथियो।  टर्चबालेर बाटो पछ्यायों। रुखका हाँगाले छेकिएर भित्रपसेको हल्का दृश्य र आवाज प्रष्ट र तेजिलो हुँदै गयो र केहीबेरमै हाम्रो अघाडी अथाह पानीले भरिएको र चन्द्रमाको प्रकाशले हलचल भैरहेको दृष्य आयो।  रारा!!! सबैजना चिच्याए।  छाती ढुक्क फुल्यो।  छालका तरङ्ग किनारामा ठोकिएर आउने आवाजले तर्सायो।  बाटो छेउमै भएर बायाँतिर मोडियो।  एक प्रकारको डर लग्यो।  हामी चुपचाप अघि बढ्यौँ।  दहबाट उर्लेका छालहरु किनारातिर बढेको देखिन्थ्यो ।  र ति छालहरु हाम्रो खुट्टा मुनि आएर ठोकिन्थे र बाछिटा छोडेर जान्थे।  रोमाञ्चक अनुभव थियो।          

हामी ८ बजेतिर होटल भएको ठाउँ पुग्यौं।  भिडभाड थियो। कसैले रुम सबै प्याक भएको न्युज दियो।  मैले साहुजी भेटें।  यता बस्ने ठाउँको अर्को विकल्प छैन।  उनले 'बस्नुहोस केही उपाय गरौला भने' । केहीबेरमा 'टेन्ट हालौ त भने' 'ओके ओके टेन्टमा बस्ने' पुष्पा उफ्री। तर, त्यो टेन्टको केही डण्डी बिग्रेको रहेछ।  साहुजीको छोरोले निकै प्रयास गरेर बनायो।  उ काठमाडौँबाट कलेज छुट्टीमा आएको रहेछ।  निकै एक्टिभ र सहयोगी थियो। हाम्रो टेन्ट तालको छेउमा बन्यो।  टेन्टभित्र नयाँ सेट डनलप, बेड्सिट, सिरानि र ब्ल्यांकेट आयो।  एउटाबत्तिबाल्ने र मोबाइल चार्ज गर्न मिलने सोलार जोडियो।  हाम्रो खाना बन्न टाइमलाग्ने भयो।  हामीले १ जोर तास किन्यौं र डाईनिङ्ग रुम छेउको टेबल ओगटेर खेल्न बस्यौं। साहुजी आए।  गफ भयो।  उनि जिल्ला स्तरिय राजनीतिक नेता रहेछन।  पिना गाउँका।

चिसोपानीले हातमुख धोएर, पसिनाले भिजेका कपडा फेर्यौं।  दिनभरि पार गरेको बाटो सम्झिदै भोली बिहान देखिने अप्सराको रुपको अनुमान गर्दै सुत्यौं।  बाहिर जुनको उज्यालोमा तरंगित तालमा उर्लेका छालको संगीत बजिरहेको थियो। सायद अप्सरा नाचिरहेकी छन्।

(क्रमशः )     


Route location in Google Map