Saturday, October 25, 2014

अप्सरा भेटिने यात्रा (Trekking to Rara: A Nature Walk) - (भाग - ३)

यात्राको तेस्रोदिन।  हामी अप्सराको आँगनमा सुतेका थियौं।  राती टेण्टको छेवैमा एकझुण्ड स्यालले कराएर  ब्युँझाएका थिए।  झ्यालबाट बाहिर चिहाउँदा रारा शान्त थियो। यौटा लामो क्रिडापछिको आनन्दीमा लिप्त झैं।  बाहिरको हल्लाले एकाबिहानै बिउझियौं।  टेण्टको चेन तानेर बाहिर हेर्दा छ्याङ्ग राराको प्रतिबिम्ब देखियो। सुर्योदयमा बिहानी प्रकाशले रंगिएको थियो। वरिपरि सर्वत्र हरियाली थियो। बीचमा फैलिएको शान्त तालको रंग आकासको गतिबिधिसंगै परिवर्तन भैरहेको थियो - रंगिन।  त्यो एक अलौकिक दृष्य दृष्य थियो।
 हामी तालछेउ टहलिन गयौं।  टावर चढ्यौं। फोटो खिच्यौं।  तालको पानी अत्यन्त कन्चन देखियो।  माछाहरु निस्फिक्री घुमेका प्रष्टै देखिन्थियो।  राराको पानीले मुख धोयौं। साबुनको प्रयोग मनाही छ। बाहिर धाराको पानी भन्दा निकै न्यानो थियो। तालको छेउ बाटोमुनि रहेका बेञ्चमा बसेर ताल नियाल्यौँ। बिस्तारै अघि पूर्वकोडाँडामा झुल्केको घाम यता आइपुग्यो।  हामीले कफी पिउंदै नियाल्यौ। मेघराजजी र पवनजीहरुको टोली भेटियो। डुंगासयर गर्ने रहर भयो।  त्यसकोलागि नजिकैको निकुञ्ज कार्यालयमा निबेदन दिएर सिफारिस लिनुपर्ने रहेछ। अफिसको मान्छेलाई उठायौं। उसैको डेस्कमा कागजखोजेर निबेदन लेख्यौं। १० रुपियाँको टिकट चाहिने रहेछ। थिएन।  रुपियाँ नाथ्थी गर्यौं। सिफारिस पत्रपनि आफै लेख्यौं। त्यो पत्र पछि निकुञ्जभित्र रहेको 'समरजंग गुल्म'ले बोटिंग गराउने रहेछ। आर्मीक्याम्प केही पूर्वतिरको चौरमा थियो।   ५ मिनेटको बाटोमा। लाइफ ज्याकेट लगाएर हामी बोट(डुङ्गा)मा चढ्यौं।  चारजना आर्मीले बोट चलाएर केही मिनेटको डुंगासयर गराए। हावा चल्न सुरु हुनु अगावै ९ बजेसम्म यो क्रम सकिन्छ। हामीले निरन्तर फोटो खिच्यौं।  होटल भए तिर फर्कियौं र पश्चिमतिर अर्को बिन्दु (छाप्रु महादेवको मन्दिरजाने बाटो) तिर पुग्यौं।  यसरी करिब ११ बजेसम्म राराको किनारामा बितायौं। 
साढे ११ तिर खाना खानु अघि टेन्ट भित्र केहीबेर तास खेल्यौं।  त्यहाँ आएका अरु यात्रीहरु गमगढी जाने रे। मैले त्यता नजाने विचार गरें  र ताल्चाहुँदै जाने बाटो बारे बुझें।  करिब २:३० - ३ घण्टालाग्ने थाहाभयो।  बिस्तारै गएहुने रहेछ। खाना खायौं।  दुईछाक खाना/मासु, कफी र टेन्टको भाडा रु ६०० प्रतिव्यक्ति तिर्यौं।  नेपालकै अन्य पर्यटकीयस्थलमा भन्दा तुलनात्मकरुपले निकै सस्तो लाग्यो।  हिड्ने अन्तिम तयारी गर्दैगर्दा हिजो बाटोमा भेटेको एकयुवा आए। झ्यारीगाउँ मैतालु पुर्याएर आज उता मुर्मा तिर पैठ (मेला) हेर्नजाने रे।  साथमा अर्को मान्छेपनि थिए।  टेन्टभित्र आए। नियालेर हेरे।   पहिलोचोटी पसेको रे।  उहिले द्वन्दको बेला गाउँबाट बिस्थापित भै लुक्न भेडा ल्याएर यतै आएका रहेछन।  'उ बेला यै रारा-ध हेर्दै उमन (न्यास्रो) काट्थ्यौं। रंग र छाल हेर्दाहेर्दा रिङ्गटै लाग्थ्यो' उनले सुनाए।

उनीहरुलाई उतै छोडेर हामी हिड्यौं।  आर्मीक्याम्पको बाटो हुँदै गयौं।  आर्मीले नाम इन्ट्री गर्यो, झोला चेक गर्यो र जान दियो। ड्युटीकै आर्मीले ताल्चा जाने बाटोबारे बतायो।  हामी अर्को डेढ २ घण्टा जति तालको किनारै किनार जानु पर्ने रहेछ।  केही पर दोबाटोआयो।  गमगढीजाने बाटो सिधा डाँडापार गर्नेगरी गयो।  हामी तालको किनाराको गोरेटोबाटो हिड्यौं। पुरैजङ्गलको बाटो घुमेर तालको पूर्वीकिनार पुग्थ्यो । स-साना खोल्सापार गर्न बनाएका काठका साँघुहरुले बाटो निकै सुन्दर देखिन्थ्यो। तालको किनारामा छालहरु उर्लेर ठोकिन्थ्यो।  हेमन्तले यता डाँडातिर फोनको नेटवर्क आएको खवर दियो।  मैले मोबाईल अन गरेँ।  ह्वार्र मेसेज झरे । केही  अफिस तिरको पनि थियो। अर्जेन्ट प्रकृतिका। यो रमणीय क्षणमा ति कुनैपनि मेसेजहरु प्रिय थिएनन्।  केही फोनकल गरें।  र हामी राराको पूर्वीमोहडाबाट थप केहि फोटो लिंदै ओझेल पार्यौं।


यसपछि ताल्चा विमानस्थल पुगुन्जेंलको बाटो निकै रमणीय छ।  सल्लाको सुन्दर जङ्गल हुँदै झर्ने यो बाटोबाट तल दक्षिणपूर्व तिर मुगुको सदरमुकाम गमगढी डाँडो देखिन्छ। बाटोमा केही यात्रु भेटिए - चितवन, काठमाडौँबाट रारा घुम्न आएका महिला र पुरुषहरु थिए।  प्लेनबाट भर्खर एअरपोर्ट झरेर यता उकालो लागेका थिए।  हामीलाई सबैले सोधे।  बिशेषगरी पुष्पा/कपीलसँग र उनीहरुले सहजै भएको सुनेर ढुक्कबन्न खोजे। बाटोमा आर्मी चेकपोष्ट भेटियो।  फेरी नाम इन्ट्री गर्यौं। पानीमाग्यौं। र एअरपोर्ट छेउको एउटा होटलमा रोकियौं । ४ बजेको थियो।  साहुनी थिईन।  'पर सरेको छुँ, चिया/खाजा बनाउन मिलेन' भनिन।  र, श्रीमानलाई बोलाएर पकाउन लगाईन। दुईजना बयोबृद्ध बसेका थिए।  एयरपोर्टबारे कुरोभयो। २०३९ सालदेखि बन्न थालेको यो अझै दुरावस्थाको झैँ छ।  ३५ बर्षमा बन्यो।  करोडौं रुपियाँ सकियो तर भरपर्दो विकास भएको छैन।  पूर्वतिर थार्प गाउँ देखाए ।  बाईनकुलरमा थार्पमष्टा थान हेर्यौं। अर्को महत्वपूर्ण धार्मिकस्थल थियो। हामीलाई बासबस्न अघाडी झ्यारीगाउँसम्म पुग्न सकिने सल्लाह दिए।  ति महिलाले सिगाड़ा बिर्खको होटलमा बस्नु होला भन्ने सिफारिस पनि गरिन। एअरर्पोर्ट बीचबाट बाटो काट्नपर्ने रहेछ।  छोटो धुले रन-वे, पखेरो काटेर बनाएको।  सम्म्याउनेकाम अझै भैरहेको थियो।  त्यसमुनि गमगढीजाने बाटो (रोड) थियो।  हामी त्यैबाटो पश्चिम तर्फ हिड्यौं।


झ्यारीगाउँको मुनि बाटो पुग्दैगर्दा निकै थाकेको थियौं।  रोडको बाटो खोलाको भित्र खोंचमा पसेर ठीक पारीपट्टी डाँडामा आउंथ्यो।  यौटा छोटोबाटो मिल्यो। ओरालो झरेर खोल्सामा पुग्ने र थोरै उकालो पछि होटेल भएको ठाउँ।  हामी छोटोबाटो हिड्यौं।  यौटो सानो दोबाटो आयो।  घाँसले ढाकेको थियो।  यौटी फुच्चीकेटीले सिकाएको बाटो हरायो।  हामी गाउँहुँदै जाने सहीबाटो छोडेर हामी पखेरो/भीरको बाटोहुँदै बारीहरुमा फस्यौं।  घाँसमा चिप्लेर ओर्ल्यों। अँध्यारो भयो।  गाउँका महिला भेटिए  र सहीबाटो सिकाईदिए। हामी ७ बजेतिर होटल भएको ठाउँ पुग्यौं।  एकान्तमा त्यो एक्लो होटल थियो।  बातावरण हल्का चिसो थियो। चौरमा आगोबालेर ताप्दै खानाखाने समयको प्रतिक्षा गर्दै बस्यौं।  अबेरसम्म त्यो क्याम्प-फायर चलिरह्यो।

(क्रमश:)   










 







   

No comments:

Post a Comment