Friday, October 24, 2014

अप्सरा भेटिने यात्रा (Trekking to Rara: A Nature Walk) - (भाग - २ )

झिसमिसेमै बटुवाहरुको हल्लाले ब्युँझ्यौँ।  छिट्छिटो तयार भयौं। बाहिर चिसो थियो।  पानी ठिहिराउने। कालो चियाले जिउ ततायौं। 'खानेकुरा के छ साहुनी?' 'आईले केई नाई।  चाउचाउ खाँदा त?' जवाफ दिईन। बिहानै के खानु।  स्थानीय केही मिले हुने नि - 'रोटा नाइँ?' सोधें। 'यै छ, मीठो मान्ना छौ कि नाइँ' अर्की महिलाले रोटी तिर देखाइन। बडेमानका पुरी थिए।   तताएर दिईन। खाना र बास खर्च रु २५०/- प्रतिव्यक्ति तिर्यौं।  होटले र स्थानीयहरुसंग गोठीज्यूलादेखि रारा पुग्ने बाटोबारे बुझ्दा ४ वटा विकल्प दिए - १) चौथा (बुम्रमाडीचौर) हुँदै घुर्चीलेख वा चुचेमारालेखको बाटो; २) बोतागाउँ बोतामालिकाहुँदै गुर्सिंगबाट चुचेमारालेखको बाटो; ३) गौरी ओखरपाटाहुँदै गुर्सिंगबाट चुचेमारालेखको बाटो; र ४) बुडुगाउँकोबाटो हुँदै जाने लाग्नाबाट चुचेमारालेखको बाटो।  दोधार।  विकल्प १ र २ केही घण्टा सिधै पूर्वतर्फ रोडकाटेको बाटो हिंडेर उत्तरतिर लाग्ने सजिलो तर लामो बाटो।  विकल्प ३ र ४ यहिँबाटै खोलोकोबाटो केहिउत्तर लागेर उकालो चढ्नुपर्ने छोटो तर केही कठीन बाटो।  'रारापुग्न कतिसमय लाग्ला?' बाटोमा भेटिने प्रायः सबैलाई सोधिन्थ्यो। ' एकदिन'  '५/६ घण्टा' 'हिड्नेमा भर पर्छ' 'छिट्टै पुगिन्छ' 'बेलैमा पुगिएला' 'आरामले पुगिन्छ' जस्ता जवाफ मिल्थ्यो।  हिजोको ४ घण्टाको हिडाई रिहर्सल प्राक्टिस थियो।  त्यो थकान मेटिएको थियो।  आजबाट खासमा ट्रेकिङ्ग वा हाइकिङ्ग सुरु हुनेछ।  दिनभरको परिश्रमपछि आज अप्सराको घरमा बास बस्ने लक्ष राख्यौं।  हामी हिड्दा ७ बजेको थियो।

बाटो उत्तरतिर खोल्सो हुँदे गयो।  हामी जंगल हिंडेका महिलाको समूहसंगै हिड्यौं।  किनारामा फाट्टफुट्ट घरहरु थिए। नयाँ र सफा घर।  सबै घर अघिल्तिर धारा।  फुलफुलेको आँगन।  वातावरण जाडोजाडो थियो। तर फ्रेश फील गराउने चिसोपन।  केही अघिबढेपछि काठको साँघु (लाप्को) तर्यों र गौरीगाउँ तिरको उकालो चढ्यौं।  ओरालो झर्दै गरेका तीनजना महिला भेटिए। ति मध्ये की एउटीले निकै आत्मीयभावमा कताजाने भनेर सोधिन्। गफ भयो।  उ पर भएको आफ्नो घर देखाइन र त्यसैको पछाडीबाट यौटा छोटोबाटो माथि ओखरपाटापुग्ने बताईन। घरको आँगनबाट लिस्नो उक्लेर दुइटा छत चढेर भेटिने पखेरोको एकसिउरो घुमाउरो ठाड्डैबाटो रहेछ।   स्याउखायौं डेढलिटर पानी सकियो। बाटैमा घामले भेट्यो र झन् थकित बनायो। कम्तिमा ५ वटा बसाईपछि त्यो उकालो कट्यो र गाउँ पुग्यौं। डेडघण्टा लाग्यो।  ठूलो गाउँ रहेछ। यौटामात्र चियापसलको मान्छे काममा गईसकेछ। अर्को खानेठाउँ मिल्न घन्टौ लाग्छ रे।  मान्छे बोलाउन पठायौं।  साहुजी आएन, दुइटा फुच्चेहरु आए।  उसका छोरा।  खानाखाने व्यवस्था थिएन।  चियापकाए, बिस्कुटदिए।  बन्दाको पातहालेर चाउचाउ पकाए।  मिठो थियो।  'लोकल चिज के पाइन्छ ?' सोधें।  'केईनाई सर' ठूलोकेटोले भन्यो। नौ कक्षा पढ्ने रहेछ।  एसएलसी पछि सुर्खेतजाने रे।  'अण्डा, स्याउ, रोटी, तरकारी?' छैन।  'मकै ?' फेरीसोधेँ । तल मकैबारी देखेको थिएँ । सानोकेटो फुत्त दगुरेर गयो।  र ठुल्ठुला ४ घोगा लिएर पोल्न बस्यो। त्यो अत्यन्त मीठो मकै थियो।  थोरै खायौं र बाँकी बाटोकोलागि राख्यौं। कति रुपियाँ भयो? सोधें '१२० रुपियाँ ?' केटोले भन्यो।   'हिसाब राम्ररी जोड' निकै थोरै लग्यो।  'त्यतिनै हो सर' कन्फर्म गर्यो। 'अनि मकैको?' जोडेको थिएन।   'आफ्नै बारीको त हो।  पर्दैन' उसले मानेन। 'ल यो ३० रुपियाँ तिमीहरुलाई 'टिप्स' भनेर थापें।' र करिब १० बजे हामी हिड्यौं।    

बाटो यताबाट केहि तेस्रो र हल्का उकालो थियो।  जंगल आयो।  एकनासले किराहरु कराईरहेका थिए। पारीपट्टि पश्चिमतिर पहाडको बीच भित्तामा बुडूगाउँ देखिन्थ्यो।  धार्मिकरुपमा प्रसिद्ध ठाउँ हो यो।  यहाँ 'बुडुमस्टो' र 'कवामस्टो' को मूलथान छ। बाह्रभाई मस्टो जुम्ली सभ्यताको एक अभिन्न धार्मिक र संस्कृतिक पक्ष हो। सल्लाका रुखहरुको सितलताले बाटो सहज बनेको थियो। तर बाटो सुनसान थियो।  कोहीबटुवा भेटिएनन।  तर कोही अघाडी गएको संकेत चिन्ह पाईलाहरु थिए।  हामी कोही भेटिने प्रतिक्षामा हुन्थ्यौं।  उकालो पछिको एउटा बिसौनीमा बस्यौ।  यहाँबाट सिंजाको अत्यन्त सुन्दर दृष्य देखियो। दुरविनको काम आयो।  डाँडालेले घेरिएको उपत्यका, ज्यूलाको फाँट र बीचमा बगेको हिमानदी। यहाँबाटो दुइटा भयो।  मेन्टलम्यापले त ठाडोबाटो जस्तोलग्यो तर तेस्रोगएको बाटो धेरै हिँडेको जस्तो थियो। कताबाट जाने? कोही भेटिएन।  दोधार।   माथी चुचुरोतिर भेडाको बथान चरिरहेको देखियो। पक्कै त्यहाँकतै गोठाला भेटिनु पर्छ।  केही उकालो चढ्यौं र एउटा डाँडोमा पुगेर डाको लगाएर रारा जाने बाटो सोध्यौं। यौटा गोठालोले इसाराले संकेत दियो। तेस्रोबाटो रहेछ।  हामी ओर्लेनौं बरु सिधै पखेरै पखेरो हिंड्यौ - भेडा/बाख्रा हिड्नेबाटो।  त्यो बाटो सिकाउने गोठालो फेरी कतै देखिएन।  हामीले त्यो भूत थियोकी वा देउताले पठाएको थियो की भन्दै रमाइलो गर्यौं।   

हामी एउटा अर्को काँधमा पुग्यौं जहाँ ३ वटा बाटो भेटियो।  कुनै अन्दाज भएन कताबाटो जाने। आसिनपसिन थियौं। भोकलागेको थियो।  चिउरा/दालमोठ खाँदै बटुवाको वा गोठालाको प्रतिक्षा गर्यौं। 'भगवानले कोही न कोही त पक्कै पठाउलान' पुष्पा भन्थी। बोकेको पानी सकियो। एकछिनमा अर्को तर्फको बाटोबाट दुईटा केटाहरु र एउटी बच्चा बोकेकी महिला आए।  उनीहरु चुचेमाराको बाटो हुँदै झ्यारीगाउँ माईतीजाने रहेछन। हामी जानेबाटो त कोल्टेतिर ठाडै ओरालो झर्नु पर्ने रहेछ। हाम्रो मेन्टलम्यापले कहिल्यै काम नगर्ने।  उनीहरु हाम्रो गाईड बने।  संगै गोरुसिंगसम्म गयौं।   एक बजेको थियो। खानाखान बस्यौं।  उनीहरु अघिबढे। यो बाटोमा ओखरपाटा छोडेपछिको पहिलो र अन्तिम होटल/पसल। यौटी महिला थिईन।  निकै फरासिली र हँसमुख।  चिउँडोमा टाटु थियो। सानैमा सियोले खोपेर जौको पात निचोरेर रस हाली बनाएको हो रे।

खाना बनाउँदैगर्दा उनले निकै कुरा सुनाइन।  कुनै बेला मुगुजाने भरिया र खच्चर हिड्ने यो बाटो निकै व्यस्त थियो।  अहिले उतै भुलभुलेबाट बाटो गएकोले यो बाटो ठ्याम्मै सुक्यो।  फाट्टफुट्ट मान्छे आउँछन।  यो निकुञ्ज भित्र पर्छ।  त्यसैले आर्मीलाई महिनाको १,८०० तिर्नु पर्छ।  उनले थपिन्  - 'राति आफु नभएपनि यता चामल/दाल, दाउरा, कपडा राखी छोडेको हुन्छ। अफ्ट्यारोमा परेका बटुवाले आफै पकाउञ्छ्न।  र मनलागेको पैसो यतै छोडेर जान्छन। सेवा हो।  बन्दै गर्न भएन।' वाह क्या सही कुरो। उनका एक छोरा र एक छोरी सुर्खेतमा पढ्छन रे।  यसपाला दशैं छुट्टीमा यतै आएका छन् तल गाउँमा।  हिजो पछि रहेका बजारका केटीहरुको टोली आयो।  उनीहरु अर्कैबाटो हिडेछन।  हाम्रो भन्दा कम उकालो चढ्नु परेछ।  उनीहरु खाना नखाने रे।  अघि बढे।                  
चुलोमा बडेमानका दाउराजोतेका थिए।  धुवाँले सेकिएर भित्ता र छत चम्किलो कालो बनेका थिए।  चुलोमाथी खसीको मासु लहराहरु सुकाएका थिए।  हामीले ४ वटा पोल्यौ र ४ वटा पकाउनलगायौं।  सिमिको दाल, आलुको तिहुन, भाँगोको चटनीसँगको खाना थपिथपि खायौं।  रु १,१५०/- तिर्यौं।  जसमा रु ८०० त लहराको थियो। हामी हिड्दा उनले ३ वटा लठ्ठी काटी दिईन।  ठिगोको। अब बाटोमा पानी मिल्दैन लिन भनेर सुझाइन।  र हामी २ बजेतिर हिड्यौं।  उत्तर तिर खोलैखोला एक घण्टामा हामी चुचेमाराको फेदमा पुग्यौं। ठाडो उकालो थियो।  घाम ढाकिएको थियो।  पानी पर्ला जस्तो थियो।  यो मौसममा पानी नपर्ने अनुमान गरी हामीले छाता वा बर्शादी केही बोकेका थिएनौं।  कदाचित पानी परे बिजोग हुनेछ र अलपत्र पर्ने सम्भावनाले डर लाग्यो।

करिब आधाघण्टामा  चुच्चोमा पुग्यौं। एकहुल घोडाघोडी चरीरहेका थिए।  हामी देखेर तर्सिन खोजे।  त्यै बेला बादल डाँडामा ओर्ल्यो। र दगुरेको देखिन थाल्यो।  एकछिनमा सबै दृष्यहरु कुहिरोमा हराए।  चिसोले स्पर्श गर्यो।  पसिना सुक्यो र काँडा उम्र्यो।  ज्याकेट र मफलर झिक्यौं।  घरबाट आमाले दिएको पिरो अचार खायौं र हिड्यौं।  पुरैबाटो कुहिरिमंडल थियो। त्यै कुहिरो भित्रबाट दुईजना गोठाला निस्किए । भैसी खोज्न निस्केका रे।  हामीले बाटो कन्फर्म गर्यौं। करीब ३ घण्टालग्छ रे यो ओरालो पार गर्न।  चुचेमाराबाट देखिने राराको सुन्दर दृष्य हेर्ने सौभाग्य मिलेन।  निकै तल जंगलभित्र न पसुञ्जेल कुहिरोले छोडेन।  ४ बजेतिरै जंगल अध्यारो थियो। ससाना बुट्यान, निगालोको झाडी, भोजपत्रको जङ्गल, खर्सु, धुपीको जंगल हुँदै सल्लाको जंगल आयो।  उचाई घटेको संकेत थियो तर खोलाको आवाज थिएन। हामीले माझघट्ट पुग्नु पर्थ्यो। निरन्तर झर्यौं।  अबेर हुने डरले कतै बसेनौं।  बाटो सिधा ओरालो थियो।  कोही मान्छे भेटेनौं । न कतै बस्तिको संकेत थियो।  केवल कराइरहेको जंगल। र भाँचिएर/उखेलिएर अलपत्र परेका रुखहरु थिए।  बन्यजन्तु त भेटिएनन तर मनको कुनै कुनामा डर भने अवश्य थियो।  कपिल कहिल्यै बाटोमा हिडेन।  संधै 'सर्ट-कट' भन्दै झाडीमा हिड्थ्यो।  उसको टिसर्ट कतै झ्याङ्गमा अड्केर हराएको थाहा नै पाएन।

हामी ७ बजेतिर बल्ल खोलामा झर्यौं।  यो रारादहको पानीको निकास हो -  निजारखोला। तल खत्याडखोला जान्छ र उतै तिरबाट कर्णालीनदीमा मिल्छ। माझघट्टतिर केही होटल छन्। अध्यारो भयो।  निकै थाकेको भए यतै बस्नु पर्ला।  तर, यहाँबाट रारादह आधाघण्टामात्र टाढा छ, पूर्वतिर । कपिल र पुष्पा दुबैजना रेडी थिए अरु हिड्न।  हामी बढ्यौं अघाडी।  अध्याँरोले ढाक्यो। जुनको उज्यालो थियो तर जंगलमा त्यो राम्ररी छिरेको हुन्नथियो।  टर्चबालेर बाटो पछ्यायों। रुखका हाँगाले छेकिएर भित्रपसेको हल्का दृश्य र आवाज प्रष्ट र तेजिलो हुँदै गयो र केहीबेरमै हाम्रो अघाडी अथाह पानीले भरिएको र चन्द्रमाको प्रकाशले हलचल भैरहेको दृष्य आयो।  रारा!!! सबैजना चिच्याए।  छाती ढुक्क फुल्यो।  छालका तरङ्ग किनारामा ठोकिएर आउने आवाजले तर्सायो।  बाटो छेउमै भएर बायाँतिर मोडियो।  एक प्रकारको डर लग्यो।  हामी चुपचाप अघि बढ्यौँ।  दहबाट उर्लेका छालहरु किनारातिर बढेको देखिन्थ्यो ।  र ति छालहरु हाम्रो खुट्टा मुनि आएर ठोकिन्थे र बाछिटा छोडेर जान्थे।  रोमाञ्चक अनुभव थियो।          

हामी ८ बजेतिर होटल भएको ठाउँ पुग्यौं।  भिडभाड थियो। कसैले रुम सबै प्याक भएको न्युज दियो।  मैले साहुजी भेटें।  यता बस्ने ठाउँको अर्को विकल्प छैन।  उनले 'बस्नुहोस केही उपाय गरौला भने' । केहीबेरमा 'टेन्ट हालौ त भने' 'ओके ओके टेन्टमा बस्ने' पुष्पा उफ्री। तर, त्यो टेन्टको केही डण्डी बिग्रेको रहेछ।  साहुजीको छोरोले निकै प्रयास गरेर बनायो।  उ काठमाडौँबाट कलेज छुट्टीमा आएको रहेछ।  निकै एक्टिभ र सहयोगी थियो। हाम्रो टेन्ट तालको छेउमा बन्यो।  टेन्टभित्र नयाँ सेट डनलप, बेड्सिट, सिरानि र ब्ल्यांकेट आयो।  एउटाबत्तिबाल्ने र मोबाइल चार्ज गर्न मिलने सोलार जोडियो।  हाम्रो खाना बन्न टाइमलाग्ने भयो।  हामीले १ जोर तास किन्यौं र डाईनिङ्ग रुम छेउको टेबल ओगटेर खेल्न बस्यौं। साहुजी आए।  गफ भयो।  उनि जिल्ला स्तरिय राजनीतिक नेता रहेछन।  पिना गाउँका।

चिसोपानीले हातमुख धोएर, पसिनाले भिजेका कपडा फेर्यौं।  दिनभरि पार गरेको बाटो सम्झिदै भोली बिहान देखिने अप्सराको रुपको अनुमान गर्दै सुत्यौं।  बाहिर जुनको उज्यालोमा तरंगित तालमा उर्लेका छालको संगीत बजिरहेको थियो। सायद अप्सरा नाचिरहेकी छन्।

(क्रमशः )     


Route location in Google Map

No comments:

Post a Comment