Wednesday, April 11, 2018

राजेन्द्र उप्रेतीको मुगु रारा यात्रा डायरी



केहीदिनको मुगु यात्राको सिलसिलामा म अप्रिल १, २०१८ बिहान ७:३० बजे नेपालगंज उडे | मलाई कति छिटो मुगु पुगुँला र सुन्दर राराको अवलोकन पनि 
गरुँला भन्ने उत्साह र हतार थियो | समयमा नेपालगंज पुगें र सिधै काठमाडौँबाटै मुगुको लागि भनेको टिकटको लागि ट्राभेल एजेन्सी भएको ठाउँ गएँ।  तर, एजेन्सीले मलाई निराश बनाएर पठायो भन्यो कि आज तपाईले टिकेट पाउन सक्नु हुन् किन कि त्यहाँ  त राराकर्णाली महोत्सब शुरु हुन लागेकोले बैसाख पहिलो हप्तासम्म टिकट पाउन गाह्रो छ  | लौ पर्यो फसाद! अब के गर्ने होला ? कति धेरै सपना देखेको थिए, परिवारलाई पनि मुगुबाट फर्किने बेला रारा बोलाउछु रारा घुमाउछु भन्नेदेखि अरु कति कति........तर ति सबै सपना त नेपालगंज विमानस्थल मै चकानाचुर भए जसो लाग्यो | अब के गर्ने गर्ने अरु धेरै ठाउँ बुझे तर टिकट पाउन गाह्रो भयो | केहि नलागेपछि सडक मार्फत जान्छु भनि बसपार्क तिर गएँ र धेरै प्रयास गरे तर मुगु भन्ने बितिकै बस काउन्टरदेखि ट्राभेल एजेन्सीसम्म नाक बांगो बनाउन थाले।  त्यो प्रयास पनि सम्भब नभएपछि आज म नेपालगंज बस्ने निर्णयमा पुगेँ  | 

दोस्रो दिन प्लेन टिकटको लागि धेरै ठाउँमा प्रयास गरे तर भोलिको लागि पाउला जसो छ भनि आश्वासन मान्छे त बिहानै  मोबाइल अफ गरेर गायव छ। अब के गर्ने होला ? अब जे होला होला भनि सबेरै एयरपोर्ट गएँ  र समान चेकइन गरी सिधै काउन्टरमा ताल्चा एयरपोर्ट (मुगु) जाने सबै एयरलाइन्सको डेस्कमा गएर भनें - 'म संग टिकेट छैन तर म जसरी पनि मुगु जानु पर्नेछ।'  तर कसैबाट पनि टिकट मिल्ने प्रतिक्रिया पाइएन | 
अन्ततः एकजना एयरपोर्ट भित्रकै मित्रको सहयोगमा धेरै बादविवाद गरेर टिकेट पाउन सफल भएँ। युद्द जिते झैँ लाग्यो | नेपालगञ्जबाट रारा जाने प्लेनको सिट नपाउने तर राष्ट्रिय ध्वजा बाहक जहाज चै आधा प्लेन खाली हुन्छ रे । यसको कारण निजि बिमान कम्पनीका प्रतिनिधिले कमिसन दिने भएर यसो भएको भन्ने कुरा सुन्नमा आयो | मेरोपालो  भन्दा पहिले २ वटा प्लेन उडे -  एउटा तारा र एनए NA ।  लगभग २ घण्टापछि ताराको जहाज फर्कियो रारा जाने सबै यात्रुहरु प्लेनतिर हानिए।  यस्तो दृश्य देखियो कि त्यो जहाज नभएर काठमाडौँको रिंगरोडको महानगर बस जसो न कुनै सरसफाई न कुनै परिक्षण।  सिधै झर्ने यात्रु झरे अनि चड्ने यात्रु चढे |  म संग विमानमा सवार लगभग १० जना बिदेशी साथीहरु थिए  | प्लेन उड्यो।  
विदेशीहरु भएर हो कि सँधै धै यस्तै हो थाहा भएन तर आज विमानले यति राम्रो संग राराको अबलोकन गराई दिनु भयो कि बास्तमै अविस्मरणीय रह्यो त्यो पल | राराको सुन्दर अबलोकन पछि बिमान अवतरणको समय भयो।   विमान पहाडमै ठोकिन्छ झैँ लागेर यात्रु सबै आतिए पनि सजिलै अवतरण गर्यो | 
विमानस्थल बाहिर एकजना परिचित दाईलाई भेटें।  मैले 'दाई मलाई त् टिकेट पाउन सारै गारो पो भयो त' भनेको त उहाँले जवाफ दिनु भयो 'भाई यहाँको चलन नै यस्तो छ के गर्ने म पनि मुस्किले टिकट मिल्यो भनि आको तर म आएको विमानमा ६ वटा सिट खाली थियो " | उहाँ केहिसमय अगाडी NA को प्लेनबाट मुगु आउनु भएको रैछ। 
अब म जानु पर्ने गमगडी।  गाडीको मनपरी रहेछ।  जम्मा ५ कि.मि. दूरी छैन भाडा ५०० रुपैया रे | ल अब स्वीकार्नै पर्यो।  अर्को बिकल्प नै छैन।  
गमगडी बजारमा होटेलको खोजि गरे।  एउटा होटलमा गएको जम्मा ४ रूम थिए तर सब प्याक।  अर्कोमा गए त्यहाँ पनि त्येस्तै।  अनि साथीलाई फोन गरे एउटा होटेलको नाम दियो ।  होटेल भिजिट कर्णाली।   त्यहाँ रूम भेटियो अनि बसियो २ दिन गमगडीमा र आफ्नो काम सफलता पुर्बक सम्पन्न गरे |

मलाई गमगडीबाट रारा हुदै पिना भन्ने गाउँमा जानु थियो।  बिहानै ५:३० तिर रारासम्म गाडी जान्छ भन्ने सुनेर गाडी  भएको ठाउँमा गएको त भाडा पाचँ हजार रुपैया रे।  कम्तिमा ४ जना हुनै पर्ने।  कुरा मिलेन अनि सहयोगी साथीलाई  सोधे - 'हिडेर कति समय लाग्छ ? “ उसले भन्यो 'रारा ३/४ घण्टा अनि पिना गाउँ पुग्न त्येस्तै रारा घुमेर गयो भने ७/८ घण्टा”. ल हिडौ! 
१० बजे तिर रारा पुगियो | आहा!!!! आकाशबाट देखिएको त्यो दृश्य अनि जमिनबाट हेर्दा साचिकै रारा त स्वर्ग कि अप्सरा नै रहिछिन | 
राराको दृश्याबलोकन पछि हामीले रारामा अबस्थित होटेलमा खाना खाने गयौं र भबिस्यमा साथीहरुलाई घुमघाममा सहज होस् भनि केही सूचना संकलन पनि गरें।   

होटेल र स्थानीयस्तरको सुविधाको वास्तविकता  (मैले जे देखे) 
  • होटेल २ वटामात्र छन् पुरा मनोमानी ग्राहक अनुसार लुटतन्त्र देखियो।  अझ सुनेको त दुईमध्ये एउटा होटल माओवादी र अर्को होटल एमाले नाम नै स्थानीय रुपमा परिचित रैछ।  कांग्रेसले होटल अनुमति पाउन असफल भएछ रे
  • काठैकाठका घरभएको होटलको एक रुमको रु दुई हजार भाडा र टेन्टको दुई हजार पाच सयसम्म पर्छ रे
  • फलफुल र ड्राई फुड पनि खासै नपाउने।  नौ रुपैयाको पानीलाई ७० रुपैया पर्छ।  ६० रुपैयाको चाउचाउ र ७० रुपैया पर्ने बिस्कुट किनेर खाएं 
  • मुस्किलले ५०-६० जना भन्दा बढी पाहुना राख्न सकिने ठाउँ छैन।  रूम प्याक भएको बेला भयो भने न खाना पाइन्छ न बस्न त्यसको विकल्प नै छैन 
  • बच्चा र परिवार सहित गएका मान्छेहरुको बिचल्ली देखियो ।  गाडी बिग्रेर बिचार पर्यटक यात्रुको बिचल्ली पनि बाटोमा कहाली लाग्दो अवस्था देखियो।  बाटोको अवस्था झन् बर्णन इन्द्रले पनि नसक्ने
  • राराको बिकासको लागि १६ करोड खर्च भैईसकेको जसको नतिजा हेर्दा लाग्छ १६ हजार पनि खर्च भएको छैन कि जसो 
  • स्थानीय मान्छेहरुले त्यहाँ आउने पर्यटकबाट कुनै किसिमको फाइदा लिन नसकेको
  • रारा बाट फर्किने जुनसुकै यात्रुलाई सोधे पनि निराशा मात्र देखियो जुन म आफै पनि भएँ 

यी सबै तितामीठा कुराहरुको अनुभव गर्दै रारा सुन्दरताले बिर्से झैँ गरि लागियो पिना गाउँ तिर, जहाँ बिकट, राज्यका सेवा र सुबिधाहरुबाट बन्चित तर स्वभिमानी निस्वार्थी  जनताको बस्ति। त्यो समुदाय संगको बसाई पनि अविस्मरणीय रहयो | 

पिना गाउँबाट १६ घण्टामा जुम्ला पुगियो।  मैले त्यो यात्रालाई सहासिक यात्रा भन्न रुचाएँ  .तत्पश्चात म स्थल मार्ग कालिकोट हुदै  नेपालगंज यात्रा तय गरे।| 

मेरो राज्य तथा सरोकारवालाहरुलाई सुझाब: 

  1. प्रकृतिले यस्तो सुन्दर ठाउँ दिएको छ कि (रारा) हाम्रा नेताहरुलाई त्यो भाषणमा बेच्नलाई पुगेको छ | प्रकृतिले त् दियो अब सरकारले बाटो देओस, स्वास्थ सेवा देओस, सुरक्षा देओस र अन्य भौतिक बिकाशका पूर्वाधार देओस | 
  2. टेलीफोनका कुनै सिमको नेटवर्क पाउन साइत नै जुर्नु पर्छ | त्यसको क्षमता बढाउनु पर्यो | 
  3. नेपालगंजबाट मुगु आउन यात्रा नै कठिन छ।  मोटरबाटोको यात्रा लामो जटिल छ।  हवाई यातायातमा धेरै नै राजनीति रैछ  त्यसको अन्त गरोस |
  4. नेपालगञ्जबाट रारा जान प्लेनको सिट नपाउने तर राष्ट्रिय ध्वजाबाहक जहाज चै आधा प्लेन खाली रारा आउने। कमिसनको कारण यसो भएको भन्ने कुरा सुन्दा मन सारै रोयो यस्तो कमिसन तन्त्रको अन्तहोस् | 
  5. बायु सेवा निगमले आफ्नो विमानस्थल काउन्टरमा कति सिट बुक भए अनि कति बाकी छन् भन्ने कुरा यात्रुलाई सूचना पाटिबाट जानकारी दिने व्यवस्था गरोस |
  6. ताल्चा विमानस्थल बाट मुगु गमगाडीको दुरी जम्मा ५ कि.मि पनि छैन तर भाडा दर रु. ५०० देखि ५००० लाग्छ यो के स्वभाबिक भाडा हो र ? यो अनुगमन कसले गर्छ | अनुगमन होस् | 
  7. भएका होटेलमा पनि करको बिल अनि कर बिबरण र जानकारी कुनै पनि छैन, सरकारलाई बलियो बनाउन कर संकलन प्रणाली बलियो होस् | 
  8. रारामा भएका २ वटा होटल त्यहाँ बाट तत्काल हटाइयोस या त्यहाँ प्रयाप्त होटल खोल्ने अनुमति सरकारले देवस | 
  9. कर्णालीको बिकाश नेपाली ठेकेदारहरुको सट्टा अन्तरास्ट्रिय टेन्डर गरेर बाहिरबाट ठेकेदार लाईयोस (चाइना उत्तम बिकल्प हुन सक्छ)
प्र.म.वोली ज्यु बोलीमा होइन काममा विश्वास गर्छन।  जनता चाहन्छन् कि राराबाट पर्यटन विकासको बिकुल मात्र फुक्ने होइन कि  बिकटबाटै विकासको बिकुल फुक्नुस र संगै कामको थालनी गर्नुस | तपाई आउने कुराले रारामा महंगा बैठक र सेमिनार सुरु भैईसके तर जुनकार्य भईरहेका छन् ति त्यति अर्थपूर्ण छन् जसो लाग्दैन म जस्ता सर्बसाधारण जनताको लागि |

रारा आउन चाहनेहरुका लागि केही सुझाब: 

  1. यथावास्थामा राराको सुन्दरताले जाउ-जाउ लागे पनि भौतिक बिकासको दृस्टीकोणले त्यति सहज छैन है त्यसैले मानसिक रुपमा तयारी गरेर मात्र जानु होला।  विशेषगरी बच्चा र असक्तहरुलाई सास्ती हुन्छ |
  2. फलफुल, ड्राई फुड र पानीको व्यवस्था आफै गरेर हिड्ने ।  टेन्ट र स्लिपिंग ब्याग पनि साथमा लैजानु बेस।  
  3. यदी आफै गाडी लगेर जानु हुन्छ भने गाडी राम्रो संग बनाएर जानुस गाडी बिग्रो भने हरिबिजोग हुन्छ।   सबै गाडी त्यहाँ जान सम्भब छैन फोर व्हिल मात्र जाने हो।  
  4. नेपालगंजबाट त्यस्तो गाडीले रिजर्बमा ४५ हजार भाडा लिन्छन 
यी मेरा व्यक्तिगत र केहि स्थानीयहरुसँग बुझ्दाको अनुभव हो।  म गलत भए सुझाबको अपेक्षा गरेको छु | धेरै अवसर छन् जस्तै यहाँका पर्यटकीय स्थान, बनजंगल आदि।  कल्पनागरौँ -  रेलबाट पानी जहाज मार्फत यहाँका ढुगा र चट्टान हरुलाई टापू नै टापू भएका देशलाई बिक्रि गर्यो भने मात्र पनि देश कता पुग्छ होला ?  रारा मा केबलकार कति सुहाउथ्यो होला ? 
आशा गरौँ अब मेरो पारिवारिक रारा भमण हुनेबेला त्यहाँ भौतिक बिकास भएको हुनेछ।  राराको चारैतिर बाहिरपट्टि केवलकार चलेको हुनेछ।  भरपर्दो रमणीय बाटोको यात्रा सहज हुनेछ र सजिलै प्लेन पाईने छ।  
त्यहाँको प्रदेश सरकार र देशको सरकार ले के त्यो पुरा गर्ला ?? 

Tuesday, April 10, 2018

रारा-कर्णाली भ्रमण बर्ष र कर्णालीमा पर्यटन सम्भावनाको यथार्थ

कर्णाली प्रदेश सरकारले नयाँबर्ष २०७५ लाई रारा-कर्णाली भ्रमण बर्षको रुपमा मनाउने घोषणा गरे संगै यसले चर्चा बटुलेको छ । अढाई सय बर्षदेखि पिछडिएको अनुभव गरिरहेको कर्णालीको बैभव, आत्मविश्वास र सामर्थ्य फिर्ता ल्याउने माध्यमको रुपमा पर्यटन हुनसक्ने विकल्पको रुपमा हेरिएको छ। प्रदेशका यौटा मन्त्रीले भने अनुसार हाल कर्णालीमा बर्षेनी ५० हजार पर्यटक आउँछन् ।  यो रारा-कर्णाली भ्रमण वर्षमा त्यसलाई ५ लाख पुर्याउने लक्ष राखिएको छ । के यो सम्भव लक्ष हो?  यो महोत्सवबाट के अपेक्षा राख्ने?  अहिले हुने खर्चको उपलब्धि के होला? र सरकारको प्राथमिकता यै हो या अरु कुनै छन्? आउनुहोस! एकछिन् चर्चा गरौँ:

 के रारा चिनाई रहनु पर्ने ठाउँ हो? 

अकबरी सुनलाई कसी लाउनु पर्दैन । वास्तवमा 'रारा' आन्तरिक पर्यटकहरुको लागि चिनाई रहनु नपर्ने चर्चित गन्तव्य हो । विशेषगरी अचेल घुम्न रुचाउने युवापुस्ता माझ सोसियल मिडियाको प्रभावले रारा निकै आकर्षक ठाउँ मानिन्छ । घुम्ने निर्णय लिन एकअर्कासँग गरिने कुराकानीले बढी प्रभाव राख्दछ ।  राराको सुन्दरताबारे महेन्द्रको कविता पढेर वा अरुले सुनाएका कथामा रमाउनेहरुलाई गाडीको पहुँच संगै अब आफै छुने र महसुस गर्न सम्भव भैसक्यो । तर, अन्तरास्ट्रिय पर्यटकको लागि भने रारा र कर्णाली परिचित गन्तव्य हैनन् । तपाइले खोज्नु भयो भने 'ट्रिप एड्भाइजर'को मुख्य दश गन्तव्यमा पोखरा र लुम्बिनी बाहेक अरु सबै काठमाडौँका साइटहरु मात्र छन् भने 'लोन्ली प्लानेट'मा खोज्दा कर्णाली र रारा तिरको न होटेल  र न रुटबारे नै जानकारी मिल्छ । 

महोत्सव परम्परा र औचित्य: 

केही बर्ष यता विभिन्न स्थानमा 'महोत्सव' नाम राखेर कार्यक्रम गर्ने चलन खुब चलेको पाइन्छ। आकर्षक नारा र लक्षहरु राखेर व्यापक प्रचारप्रसार साथ शुरु गरिने यी महोत्सवको उपलब्धि बारे भने कतै चर्चा गरिन्न । सन् २००८ मा पर्यटनबोर्डले रारा-महोत्सव गरेको थियो । त्यसयता स्थानीय अग्रसतामा पनि पटक पटक कार्यक्रम भए  । तर गाडीबाटोले नजोडिदासम्म रारा घुम्ने पर्यटकहरुमा खासै वृद्धि भएन । बरु महोत्सवको बेला रारामा मानिसको अव्यवस्थित चहलपहल संगै प्रदुषण बढेको समाचारहरु आएका थिए । अर्कोतर्फ महोत्सवहरु स्वभावैले  खर्चिला हुन्छन् । झन् यो महोत्सव त प्रदेश सरकारको 'टप' प्राथमिकताको कार्यक्रम भएको छ।  
मुख्यमन्त्रिको अध्यक्षतामा १५-सदस्यीय मूल आयोजक समिति बनेको छ । राजनीति, प्रशासन, पूर्वाधार, अर्थ, बसोबास, सुरक्षा, यातायात र संचार लगायत फरक फरक समितिहरु बनेका छन् । केन्द्रदेखिका सरकारी भीआइपीहरु, बिदेशी नियोगहरु आमन्त्रित छन् । प्रदेश मन्त्रीमण्डलको बैठक पनि रारा मै हुनेछ । (यसै सन्दर्भमा स्मरण गरौँ -  पहिले जलवायु परिवर्तनबारे सम्मेलन अघि माधवकुमार नेपालको मन्त्रिमण्डल बैठक 'कालापथ्थर' मा बसेको थियो । त्यसको उपलब्धी बिहीन खर्चको बारे पछिसम्म चर्चा भएको थियो।)  सुरक्षाकर्मी, पत्रकार, गमगढीतिरका कर्मचारीहरु पनि सरिक हुनेछन् । भनेपछि, महोत्सवमा प्रायः 'सरकारी' खर्चमा रारा घुम्न जानेहरुको भिड हुने निश्चित छ। नयाँ बर्षको आवसर पारी अन्तरिक पर्यटक पुगिहाले पनि बास नपाइन सक्नेछ ।  किनकि त्यहाँ दुइटा होटल, निकुञ्जको भवन र आर्मी क्याम्पसहितको क्षमता जोडेर मुस्किलले २५० जति पाहुना बस्न सक्ने पूर्वाधार होला । त्यसैले महोत्सव सरकारी ढुकुटीको लागि 'खर्चिलो' मात्र हुनेछ।   

जनताबाट हरेक महिना दुईदिनको श्रमदान माग्ने निर्णय गरिएको छ । यो राम्रो अवधारणा हो तर ती  स्थानीयले राराको पर्यटनबाट कसरी लाभ लिनसक्छन् ? त्यहाँ पुग्ने पर्यटकले औसत १.५  दिनमात्र बिताउछन्  त्यो पनि निकुञ्ज भित्र जसले स्थानीय वा आम मान्छेहरुलाई विस्थापीत गर्छ र आर्थिक जीवनमा खासै अवसर दिंदैन ।  

प्रदेश सरकारसँग यो आर्थिक बर्षको ३ महिना मात्र बाँकी छ । नियमकानुन बनाउने, स्थानीय तहमा खरिद र खर्च प्रकिया सुधारगर्ने, योजना सम्पन्न गर्ने लगायत महत्वपुर्ण कामको तुलनामा 'महोत्सव' यौटा सस्तो लोकप्रियता खोज्न गरिने औपचारिकता जस्तो देखिन्छ। 

के कर्णालीमा एकबर्षमा ५ लाख पर्यटक सम्भव छ त? 

नेपालमा आन्तरिक पर्यटकको आंकडा राख्ने कुनै प्रणाली नभइ सकेकोले यो अन्दाजमा राखिएको लक्ष हो भन्ने  प्रष्ट हुन्छ। रारामा २० बर्षअघि सन् १९९७ मा ५६० जना विदेशी पर्यटकहरु घुमेका थिए।  त्यसको दश बर्षपछि सन् २००७ मा घटेर जम्मा ८७  जनामात्र घुम्न आए । त्यो अवधिमा जनयुद्ध, इन्डियन एअरलाइन्सको अपहरण र दरबार हत्याकाण्ड आदि कारणले समग्र देशकै पर्यटन क्षेत्र धरासायी भएको थियो । त्यसपछि यस दशकको सुरुवातबाट केही उकालो लग्न थालेको पर्यटन क्षेत्र सन् २०१५ को भुकम्प र नाकाबन्दीले गर्दा फेरी थला पर्यो । स्वभावैले रारा पनि प्रभावित भयो । पछिल्लो दुइबर्ष यता बिस्तारै गति लिन थालेको  देखिन्छ। सन् २०१६ मा  १३२ जना घुम्न आए भने २०१७ को आंकडा नभेटिए पनि पर्यटन उद्योगीहरुको भनेको भनि केही पत्रिकाले लेखे अनुसार यो संख्या अघिल्लो वर्षको तुलनामा दश गुणा वृद्धि भएकोथियो रे ।

अनुमान कै आँकडा अनुसार गतबर्ष दशैंतिहार बीच करीब २,६०० सय जतिले रारा भ्रमण गरेका थिए । त्यति नै हाराहारी पर्यटक बर्षको अरु दिनहरुमा पुगेको मान्ने हो भने ५ हजार बढीले  रारा घुमे।  यौटा प्रसङ्गमा हालै सामाजिक विकास मन्त्रीले भने अनुसार कर्णालीमा ५० हजार पर्यटक आएका थिए (केहि पहिला १२ हजारले घुमे भन्ने आँकडा सुनिएको थियो ) । यसलाई एकैछिन पत्यायौ भने, बाँकी ४५ हजारले जुम्ला, तातोपानी, पाचाल झरना, मालिका, काँक्रेबिहार, बुलबुले ताल, दुल्लु, कुपिण्डेदह, डोल्पा र हुम्लातिर घुमेको हुनुपर्छ । त्यसो भए रारा भन्दा त सम्भावना बोकेका ठाउँ अन्तै रहेछन् भन्ने पनि लग्न सक्छ । 

त्यस्तै, पर्यटन मन्त्रालयको आंकडा अनुसार संरक्षित क्षेत्रको बाटो यात्रा गर्ने बिदेशीहरुको संख्या २०१५ पछि निकै बढेको छ।  हुम्लाको बाटो हिल्साहुँदै मानसरोवर जाने बिदेशीहरु सन् २०१४ मा ४ ९२ भएकोमा सन् २०१५ को मध्यपछि व्हात्तै बढेर १,३४६ पुग्यो । त्यसमा ठूलो वृद्धि भएर सन् २०१६ मा १०,१०५ पुग्यो । यो व्यापक सुधार पर्यटकीय सहजताले नभई भूकम्पले कोदारी राजमार्ग र तातोपानी नाका बन्द हुँदाको विकल्पले गर्दा भएको हो ।  यो अवस्था दिर्घकालीन रहने छैन तर यसले सम्भावनाको ढोका चैं खोल्यो । तथापी, प्रचुर सम्भावना भएको माथिल्लो र तल्लो डोल्पाका संरक्षित क्षेत्रमा बर्षेनी जम्मा १,१०० - १,६०० जना मात्र पुगिरहेको पाइन्छ । 

यस हिसावले कर्णालीमा ५ लाख पर्यटक आउनलाई एक बर्षमा नौसय  प्रतिशतको बढोत्तरी गर्नु पर्छ।  जुन हचुवामा राखिएको असम्भव लक्ष हो।

संघीय सरकारको 'पर्यटन प्रबर्धन मोडेल' नै प्रष्ट छैन:  

सरकारका पर्यटन मन्त्रालय, बिभाग र पर्यटन बोर्डहरु प्रचारप्रसारको नाउँमा महोत्सव, भ्रमणबर्ष, गन्तव्यबर्षको नाउँमा बार्षिक बजेट बिनियोजन गर्न निकै रुचाउन्छन ।  सरकारले सन् २०११ मा १० लाख पर्यटक भित्र्याउने लक्ष साथ नेपाल भ्रमण बर्ष घोषणा गर्दा त्यो बर्ष सन् २०१० को तुलानामा जम्मा २२% बढी अर्थात ७ लाख ३६ हजार २१५ जना पर्यटक आए । त्यो स्वाभाविक वृद्धि थियो । गतबर्ष  सन् २०१७ मा ९ लाख ४० हजार २१८ बाह्य पर्यटक आए जुन अघिल्लो बर्षको तुलनामा २५% ले बढ्यो । तर, यस्तो सामान्य वृद्धिले पर्यटन भिजन २०२० को २० लाख पर्यटक (अहिले सच्याएर १५ लाखमा झरेको) भित्र्याउने लक्ष कसरी पुरा होला अस्पष्ट छ ।  सरकार सहभागी महोत्सव भन्दा अरु व्यक्तिगत, निजी र सङ्गठित क्षेत्रका प्रचार र प्रबर्धनले प्रभावी काम गरेको पाइन्छ । 
गतबर्ष सरकारले अन्तरिक पर्यटन बढाउन 'गन्तव्य नेपाल बर्ष' मनाउन प्याकेज प्रबर्धन गर्यो । त्यसले खासै आकर्षित गरेन किनकि घोषणा पछि प्याकेज बोर्डको वेबसाइटमा मात्र सिमित भयो । त्यसमा रारा प्याकेज पनि थियो - ८ दिन रु ३० हजारमा (बसबाट), ४ दिन रु ४० हजारमा (प्लेनबाट) । यो महँगो प्याकेज भयो र रुचाईएन । खर्च गर्नसक्ने यौटा वर्गका नेपालीहरु अचेल विदेश गुम्ने प्याकेजमा जान्छन् भने  मध्यम बर्गीय नेपाली युवा र विद्यार्थीहरुको रुचि बिस्तारै अन्तरिक र केही साहसिक यात्रा गन्तव्य तिर बढेको छ ।

पर्यटन सूचनाको प्रणाली छैन। हचुवा आंकडाहरुको भर परिन्छ।  पर्यटन बोर्डका मुख्य कार्यकारी अधिकृत दिपकराज जोशीका अनुसार गतबर्ष ४५ लाख नेपाली देशभर घुमे रे भनेका छन् । यसको भरपर्दो श्रोत कतै छैन ।  पर्यटन बोर्डले १ लाखदेखि ५ लाख रुपैया तिरेर अनेक महोत्सवका ब्यानरमा नाम र लोगो राख्न मन पराउँछ । र त्यो चिनजान, भनसुन, सिफारिसको हिसावले चल्ने परम्परा जगजाहेर छ । जिल्लाका पर्यटन समितिहरुले भरपर्दो प्रोफाइलसम्म राखेका छैनन् ।  सरकारले दुईवर्ष अघि विसं २०७१ को बजेटमा सरकारी कर्मचारीलाई १५ दिनको घुम्ने बिदा दिने घोषणा गरेको थियो तर त्यो खै कता पुग्यो?

केन्द्रिय सरकारले भर्खर उसको सयदिने योजनामा ६ नम्बर प्रदेशको राराको विस्तृत आयोजना प्रतिवेदन तयार गर्ने र ताल्चामा पर्यटक सूचना केन्द्र स्थापना गर्ने उल्लेख गरेको छ ।

पर्यटनको आर्थिक पाटो: 

सबैले कर्णालीको समृद्धिको ढोका पर्यटनले खोल्छ भनिरहेका छन्।  तर यो कति बलियो आधार हुन सक्ला भन्ने प्रश्न टड्कारो छ।  सरकारको सन् २०१६ को आंकडा अनुसार पर्यटनले नेपालको कुल ग्रहस्थ्य उत्पादनमा ८५.२ बिलियन अर्थात् ३.६ प्रतिशत र समग्र रोजगारीमा ६.४ प्रतिशत योगदान दिएको थियो । उत्पादनका विविध क्षेत्रमा समग्र कर्णाली प्रदेशले गर्ने योगदान ५ प्रतिशतभन्दा कम छ । त्यस्तै, होटल रेस्टुरेन्ट व्यवसाय, जुन पर्यटनको नजिक छन्, ले २ प्रतिशत भन्दा कम योगदान गरेका छन् । प्रायः अन्तरिक पर्यटकले शुल्क वा रोयल्टी तिर्नपर्ने व्यवस्था हुँदैन।  त्यसैले सरकारी ढुकुटीलाई यसले प्रत्यक्ष लाभ हुँदैन । सन् २०१६ मा रोयल्टी स्वरूप रारा राष्ट्रिय निकुञ्जले रु १,४१० र शे फ़ोक्सुण्डोले १२,९३८ मात्र कमाएका रहेछन् । पर्यटनले प्रत्यक्ष रोजगारी र व्यवसाय प्रबर्धनमा टेवा पुर्याउन सक्छ तर त्यसको लागि गन्तव्यमा पर्यटकको औसत बसाई लम्ब्याउने उपाय चाहिन्छ ।  विदेशी पर्यटकको औसत नेपाल बसाई १३.२ दिन छ तर यो दसकौंदेखि बढेको छैन । कर्णालीमा ४-५ दिन र रारामा जम्मा १. ५ दिनको औसत बसाईले खर्चको आकार बढ्दैन । औसत नेपालीको आयको करिब ७० प्रतिशत खाना र दैनिक अवाश्यकाताका साधनको परिपूर्ति मै सकिन्छ भने घुमेर खर्च गर्ने अवस्थामा पुग्न  त अझैं कति धेरैबर्ष लाग्ने होला ।  तसर्थ कर्णाली घुम्नजानेहरुको खर्चको दयारा निकै कम हुने भएकोले तत्काल प्रदेशको अर्थतन्त्रमा मद्दत पुग्दैन।

मौसमी पर्यटन, लगानी चुनौती र दीर्घकालीन असर: 

पर्यटन गन्तव्यहरुमा जति सुबिधा थप्यो त्यति आकर्षण बढ्छ । त्यसको लागि पूर्वाधार चाहिन्छ।  पूर्वाधारको लागि लगानी र लगानी गरेपछि प्रतिफलको सुनिश्चितता । पर्यटनका प्रमुख गन्तव्यहरुमा सबै सिजन चल्ने गन्तव्यहरु जस्तै काठमाडौँ, पोखरा, चितवन, लुम्बिनी, मनकामना, धुलिखेल, नगरकोट आदि हुन् । अन्य प्रमुख गन्तव्यहरु जस्तै मनाङ्ग, मुस्तांग, रारा, खप्तड आदि  सिजनल हुन् ।  सिजनल र दुर्गम हुनुले यता व्यवसायीहरु आफ्नो लगानी सुरक्षित हुनसक्ने आधार देख्दैनन् ।

मध्यमवर्गीय र कामकाजी नेपालीहरुले घुम्न रुचाउने मुख्य समय दशैं र तिहार बीचको अवधि हो । किनकी यो बेला प्रायः स्कुल बन्द हुन्छन्, मौसम पनि अनुकुल हुन्छ र सार्वजनिक बिदाहरु जोडेर लामो छुट्टि बिताउन पनि सकिन्छ । त्यसैले यो अवधिमा आन्तरिक पर्यटन पनि ह्वात्तै  बढ्छ। गन्तव्यहरुमा त्यो चाप धान्ने पूर्वाधार भने छैनन्।  व्यवसायीका अनुसार गतवर्ष यो सिजनमा निकै चलेको गन्तव्य मनाङ्गमा  प्रतिदिन  ४०० - ५०० पर्यटक आउदा बास मिलाउन मुस्किल परेको थियो । त्यै सिजनमा रारामा दैनिक १५०-२०० हाराहारी पर्यटक पुग्दा खाना, बास र यातायातको असुबिधाले पिडित हुनपुगे । त्यो सिजनमा आसपासको गाउँ र बाटोमा होमस्टेको सम्भावना बलियो छ तर त्यो सुबिधा जुटाउन पनि स्थानीयहरु संग समय, सामर्थ्य  र सचेतना छैन।

कर्णाली प्रदेशबासीको अहिलेको कमजोर आर्थिक सामर्थ्यको फाइदा लिंदै कति व्यापारी र दलालहरु लोभ्याएर स्थानीयहरुबाट जग्गाजमिन किन्दै छन्।  यसले भविष्यमा कर्णालीका जनता झन् गरीब र भूमिहीन हुनजाने खतरा टड्कारो छ।

र, अन्तमा -

हाल उपलब्ध सिमित बजेट जनतासंग प्रत्यक्ष जोडिएका जल्दाबल्दा अन्य समस्याहरुको तत्काल समाधानमा उपयोग गर्न सकिन्थ्यो । तत्काल कर्णाली राजमार्गका बिग्रेका भत्केका ठाउँ मर्मत गरी खाल्डाखुल्डी मुक्त बनाउन सकिन्थ्यो ।  स्वास्थ्यचौकीहरुमा औषधी पुर्याउन सकिन्थ्यो। संभावित प्रकोप र महामारी नियन्त्रण गर्ने तयारी गर्न सकिन्थ्यो। आपतकालीन उद्धार र राहत सेवाको आधार तयार गर्न सकिन्थ्यो।  सबैतिर संचारको विश्वसनीय पहुँच पुर्याउन सकिन्थ्यो  र प्रदेशको समृद्ध भविष्यका लागि अन्य कतिपय तयारीहरु पनि गर्न सकिन्थ्यो । तथापी, रारा-कर्णाली महोत्सव पनि एक विकल्प हो । यसले संघीय सरकारी संयन्त्रलाई  कर्णालीको पर्यटन प्रवर्धनका लागि प्राथमिकतापूर्वक श्रोत विनियोजन गर्न कत्तिको नैतिक दबाव दिन सकेछ भन्ने कुरा आगामी बजेट हेरेपछि थाहा हुनेछ । र, त्यो नै महोत्सवको सफलताको मानक ठानिने छ।

यो ब्लग सेतोपटीमा प्रकाशित छ।  हेर्नुहोस् : https://setopati.com/setopati-blog/146763


---समाप्त---- फान्चौरी 

Saturday, April 7, 2018

सोसियल मिडियामा रारा: सुन्दरता र देशप्रेमको समीश्रण

फोटो @dharmRegmee ट्विटरबाट 


सोसियल मिडियामा रारा:  सुन्दरता र देशप्रेमको समीश्रण 

'म भन्दा सुन्दर कोहि छैन भन्ने ठान्नेले कि त रारा ताल नदेखेको हुनुपर्छ कि रारा भन्दा अगाडि नै जन्मेको हुनपर्छ'  
राराबारे सोसियल मिडियामा कस्तो चर्चा हुन्छ होला भनि 'सर्च' गरेको त यस्तै रमाइला पोष्टहरु भेटिए । त्यो भन्दा गजब कुरो देशप्रतिको मोहले शीर उँचो पार्ने तथ्य भेटियो। तपाईंलाई पनि यो रोचक लग्नसक्छ भनेर यो ब्लगमा उतारें ।


यसरी खोजें:  नेपालमा चल्ने सोसियल मिडिया साइट फेसबुक र ट्विटरमा प्रयोगकर्ताले गत एकबर्ष भित्रमात्र पोस्ट गरेका #ह्याश्ट्याग र कि-ओर्ड सर्च गरें ।  टुइटरमा ह्याश्ट्यागहरु #Rara #RaraLake #LakeRara #Mugu #रारा #राराताल #रारादह #मुगु  खोजियो भने त्यही कि-वोर्ड अरु सर्चको लागि पनि प्रयोग गरियो।  यसमा विज्ञापन र न्युजपोर्टललाई समेटिएन।

यो क्रममा केही थप रोचक जानकारी मिल्यो।  #Rara ह्याश्ट्याग अन्य प्रसङ्गमा पनि प्रयोग भएको थियो जस्तै हाइटीबाट सुरु भएको यौटा फेस्टिभल म्युजिकको नाम 'रारा' रैछ।  अमेरिकाको न्युयोर्कमा 'रा रा' नाउँको इण्डि रक ब्याण्ड चर्चित  रैछ।  अनि, स्ल्याङ्ग शब्दहरु राखिने अर्बन शब्दकोशमा पनि 'रारा' शब्द रहेछ जसको अर्थ हो: 
  1. The most beautiful and amazing girl ever. 
  2. Extremely sweet and kind and just so LOVABLE. Everyone wishes to be with this girl. 
  3. To be caught by a truly wonderfully amazing women. 
  4. Someone you will do everything and anything to make happy and keep a smile on her face

सोसियल मिडियामा ह्यास्ट्याग सहित पोष्ट गर्नेहरु २०१५ यता बढेका रहेछन् र ति सबैजसो नेपाली आन्तरिक पर्यटकले यात्रा पछि शेयर गरेका छन् । पोष्ट गर्ने मध्य निकै थोरैले लेवल, कि वोर्ड, वा ह्यास्ट्याग प्रयोग गर्ने रहेछन् ।  पोष्ट गरेका बिषयवस्तुहरुमा अधिकांशले राराको सुन्दरताको चर्चा गरेका छन्: 


नतिजा यस्तो भेटियो: 

'रारा' ताल मात्र होइन रहेछ यो त देशप्रेम जगाउने मुहान पनि रहेछ:  फुर्संदमा घुम्ने एक गन्तव्य त हो नि 'रारा' भनि सामान्य ठानिन्छ तर यसले त अनौठोसँग देशप्रतिको मोह जगाउने रहेछ । जतिसुकै दुर्गम र पिछडिएको किन नहोस् त्यहाँ पुग्नेको हृदय 'यो मन त मेरो नेपाली हो'  भनी भावनाले ओतप्रोत हुने रहेछ । नेपाली हुनुको गौरव दिन सक्ने निकै थोरै कुराहरु छन् सायद देशमा तर 'रारा' पुगेकाहरुले साँच्चै देशलाई अत्यन्त प्रेम गर्ने भावना व्यक्त गरेका छन्। यी पढ्नुस् केही प्रतिनिधि पोष्टहरु:
  • Gyan Bahadur Shahi कसैले सोध्य मलाई तपाईलाई कहाँ मन पर्छ मैले ठुलै सोरमा भन्दे #रारा #RARA #रारा
  • @videosansar11: यौटा स्वर्ग । जहाँ पुगेपछि नेपाली हुनुमा छुट्टै आनन्द लाग्छ । #रारा_ताल 
  • Shailendra Rawat: संनसार घुमाउनत सक्दिन तिम्लाइ रहर भय #रारा चाही घुमाइदिन्छु #नानि #boatingtime #raratal
  • Manoj KrishnaBhakta Giri: सयौ डाँडा काटी हिन्दा, बेथा बेग्लै हुन्छ, आफ्नै मुटु छेउमा हुँदा, मज्जा बेग्लै हुन्छ 
  • @kabitakc123: लाग्छ सधैभ यो प्रकृति मा खेलिरहु डुलिरहु कति रमाइलो यो मेरो जन्मभुमी #नेपाल अनि यो #रारा ताल 
  • Dinang Sherchan: हामी नेपाली विदेश भ्रमण गर्न मरिहत्ते गर्छौं । तर देशकै मनोरमस्थल घुम्नचाहिँ छुटाइरहेका हुन्छौं । सबैले एक चोटी पुग्नै पर्ने र हेर्ने पर्ने ठाउँ #रारा ताल#मुगु#कर्णाली
  • Ojha Hari: सिङ्गो कर्णालीको गहना राराको रमणीय बाताबरणले यस्तो माया लगायो यसरी मोहित बनायो सारा संसार फिक्का लागिरहेको छ । चिसो अनि सान्त बाताबरण कोलाहल बाट धेरै टाढा बेग्लै संसार #रारा ।
  • Sabin Rawal: एउटा स्वर्ग जहाँ छुट्टै अनुभुती हुन्छ #रारा
  • @kamalneupane13: जती घुम्नु आफ्नै देश घुम्नु!!!! #रारा 
  • @ManaviPaudel स्वर्गको एक टुक्रा पृथ्वीमा :)
  • @lu_piku बाटोमा यदि धेरै सहयोगी मान्छे भेटिए हेर्नुस, पैसाको लागि मरिमेती गर्ने ठाउबाट सहयोगकोलागी मरिमेती गर्ने ठाउमा आएको भान हुदैछ #रारा यात्रा
  • @bharatsBST: Just back from #RARALAKE what a beautiful lake proud to being Nepali . 
  • @dharmRegmee: have you been there..? if not, don't miss it in your life time. #raraLake #heavenOnearth 
  • @iamSamKelly: Sure #Nepal has #MountEverest, but it also has this gem: #RaraLake :) 
  • @crpokhrel: Jewell of the wild midwestern #Nepal 
  • ManjuShree Gyaba Tamang One can just spend their whole time gazing at the serene lake and feeling the peaceful vibes.
  • Samriddhi Rai: From now and then, just follow your heart, it knows what makes your soul happy. #rara #blissful #grateful #gorgeousnepal #sammyadventures #SAseason
  • Naseeb Dahal: Don't listen to what they say, Go see. #raralake. Life is beautiful, all you need is courage and you will go places
रारा आकर्षण, सुन्दरता र सम्मोहन: निसन्देहरुपमा राराको रुपले मोहित नहुने को होला र? आफुलाई प्रकृतिको काखमा सुम्पेर फर्केकाहरुका केही अभिव्यक्तिहरु यस्ता थिए:
  • Kala Subba‏:  एउटा बेग्लै अनुभुति एउटा बेग्लै जीवन #रारा
  • @kirrkur: अनि हामी झनै जवान भएर फर्कियौँ #रारा #यात्रा 
  • @gnsbabu: तिमी आकाशबाट झरेकी अप्सार #रारा । साँचिक्कै सुन्दर ठाउँ 
  • @Royal1437: मन हर्‍यो तालको सुन्दरताले । लाग्यो, मोहनी भन्ने शब्दसँग बल्ल मेरो भेट भयो । नजिक भएर पनि नपुगेजस्तो । चोरौं चोरौं, कतै लुकाऊँ, घुटुक्कै निलिदिउँजस्तै लाग्ने । मनले भन्यो कहाँ लिएर आइस् ? बल्ल रमाउन दिइस् मलाई ? 
  • @MrSharma1964: बिश्व सुन्दरी अहो! आफ्नै देशमा उत्कृष्ट रारा। 
  • @BeingPrateek1: रारा को किनारै किनार हिड्नु को मज्जा पनि बेग्लै हुने के ... ससुराली बनाएर, घरज्वाई बस्नु पर्ने ठाउँ ! :)) #रारा…. जहा मन भुल्छ सारा 
  • Sanjay Pariyar: दुरी जती नै होस्, आत्मियता समिपमा हुन्छ । पर्खाइ जती नै होस्, मिलनमा सबै धुमिल हुन्छ #रारा #उनि
  • Gyan Bahadur Shahi: आफै आएर मनमा बस्नेहरु निकै प्यारा लाग्छन् जा भन्न पनि मन नलाग्ने जस्तै #रारा
  • Shailendra Rawat: शब्द हरु धेरै छन तर जत्ती लेख्दा नि पुग्दैन मात्र लेख्न सकिन्छ #सुन्धर #रारा
  • Kalpana Bhattarai: उसलाई अाँखाभरी राखेर हेर्न पाईंन, मनभरी साँचेर छुन पाईंन; यस्तै यस्तै गुनासो म आफैंसँग गर्दैथिएँ । अब आएर मलाई बोध भएको छ, उसलाई जति हेरे पनि, जति छोए पनि धित नमर्ने रैछ किनकी उ छ नै त्यस्तो लोभलाग्दो ।#रारा
  • Aaryan Khadka: चोखो छ है यो मेरो माया राराको सङ्लो पानी जस्तै त्यस्तै- त्यस्तै-त्यस्तै तिम्रो ...भनेर नि के भन्नु 
  • @kimigayoOO7 : शूरूआत देखि अन्त्य सम्म #रारा को यात्रा एक आवस्मरणिय पलको रूपमा मानसपटलमा रहिरहनेछ ! 
  • @subedi_monika: Memory Card #broken But memories remain! #RaraLake. Still when I close my eyes I see this "Beauty of Rara) 
  • Diamond Giri:  ईश्वरले दिएको अमुल्य उपहार हो रारा।  मानव जातीको बेग्लै संसार हो रारा।  स्वर्ग खोज्न कता कता हिड्छस हे मान्छे ! शिवजी,गणेश,पार्वती बस्ने दरबार हो रारा।  
  • @sandeepVT: Into nature I go, lose my mind and find myself 
  • @arnoldpradhn: When you're speechless with the beauty and your body talks 

रारा फोहर र पर्यावरण बिग्रिने चिन्ता:
  • @YodanBahing: रारामा बाइक पुराएकोमा बेखुशी छु राष्ट्रलाई घाटा र बेफाईदा दुबै बेलैमा सबैको आँखा खुलोस् #रारा 
  • @TamuAnu: Gosh i must have been #stinking real bad coming just back from #lakerara The police refused to search my body thoroughly at the airport.
  • @babi_gurung: मुगुकाे मनमाेहक #RaraLake मा मात्र पाईने विश्वकै दुर्लभ माछा 'रारा यन्सेस' यहाँ पनि लाेप हुने खतरामा रहेछ। यसकाे संरक्षणमा उचित कदम चालियाेस। 
  • @luzanb: road trip to majestic rara lake - thrilling  #raralake 
राजनीतिको व्यंग्य र रोषको लागि पनि रारा बिम्ब प्रयोग भएको रहेछन् 
  • @TheTilaq:यो देशको ताल देखेर नि छक्क पर्छु यार। #राराताल हो यस्को नाम जो देखेरै छक्कपर्चम् हामि 
  • ‏@ppariyar: KTM मा भयको पिच माथि अर्को पिच पिच गरेको देखिन्छ,-#Nagma to #मुगु गमगडी ९६ Km ६ घण्टा लाग्छ तेता पिच गर्ने कि ? @Hello_Sarkar @PM_Nepal
  • @tech_lt: तिम्रो नाभीमा डलर छ । देख्नुपर्ने ले नदेखको मात्र हो । #रारा
  • @BBibek: For the promotion of #Karnali #PM is addressing people from #Rara Sounds good!!! But tourist gets afraid by seeing the dust of #Kathmandu First focus on making #Dustfree #Capital. 
रारा पुग्ने रहर र फर्किएर जाने चाहना:  
  • @bahuni88: #राराताल पुग्ने ठुलो रहर छ जाने पो को सङ 
  • @luni_ba: काकाजी नजलाउनु न हो, रंग रंगको #रारा देखाएर 
  • @SATANchuli: म आउंछु तिमीलाई फेरी भेट्न ... #रारा 
  • @pramodbha: फेरी पनि जान मन लागेको ठाऊ #रारा
  • @shanti_deep4: #मुक्तिनाथ #तिलिचो #रारा #मुस्ताङ्ग #कर्णाली #गोसाइँकुण्ड र बाकी कति होलान पता नहि!! यत्ती ठाँउ घुम्नकै लागि भएनी पैसो कमाउन पर्च 
  • @babigurung: प्रकृतिकाे खानी स्वर्गकि रानी, यसाे समय मिलाएर घुम्नका लागि मुगुकाे रारा ताल जानी।।  @sabienashrestha: You're bold. You're beautiful. You made me feel alive. Keep slaying ppl with your beauty. I know I'm coming back for you again!

अन्त्यमा: तपाईंले पढ्नुभो र अब अनुभूत गर्नु पनि भयो होला कि आफुमा नेपालीपन हुर्काउनु छ भने रारा जानु  पर्छ।  नेपाली  हुनुको गर्व महसुस गर्दै देशलाई प्रेम गर्न सिक्न रारा जानु पर्छ ।  त्यहाँ पुग्न लक्जरी सेवाको अपेक्षा कसैले गर्दैनन् बरु त्यहाँ पुगुन्जेल बाटोमा र रारामा न्यूनतम सुविधा उपलब्ध भए सबै दंग पर्ने रहेछन्। सबैजना राराको सुन्दरता बिग्रिने तथा पर्यावरणीय ह्रास हुने गतिविधि प्रति चिन्तित छन् । रारालाई 'विकास' गर्दा आउने 'साइड इफेक्ट' बारे बेलैमा सचेत हुन जरुरी छ। प्लास्टिकजन्य फोहोर बेलैमा बर्जित गर्न सुरु गर्ने। आफुले बोकेर लिएको फोहोर आफै निकुञ्ज बाहिर फिर्ता ल्याउनु पर्ने । तालछेउ उत्सव महोत्सव, भोज, पिकनिक जस्ता होहल्लाजन्य क्रियाकलाप नगर्ने । सरकारले नै सहुलियत भाडामा मेकशिफ्ट टेन्टहरु पर्यटकलाई मिलाइदिने । कोशेली र उपहारका सामग्रीहरु पाईने पसल खोल्ने । रारा प्रकृतिक पथमा हिडेरै पुग्नु पर्छ त्यसैले ट्रेलमा कुनै सिमेन्ट-कंक्रिट-जस्तापाताको प्रयोग बर्जित गर्ने । सामान्य सुबिधायुक्त होम-स्टेहरु र गाउँ घुम्ने ट्रेलहरु बिकास गरी पर्यटकको बसाइ लम्व्याउने । र, प्रचार सामग्रीहरुमा ह्यास्ट्यागको प्रयोग गर्ने ।   

अन्तमा, यदि सरकारलाई 'सरकार! यदि तिमि पनि देशप्रेमी हौ भने  सुबिधा बढाउ तर राराको सुन्दरतालाई बिगार्ने  कुनै हर्कत नगर ताकि रारा घुम्न पुग्नेहरु सबै फर्किंदा यसरी नै नेपाली हुनुको गर्व साथ फर्कि रहन सकुन् ।" भन्यो भने फरक पर्दैन नि ?    
--------------




Friday, April 6, 2018

एक अन्जुली पानी राराको


एक अन्जुली पानी राराको

शान्त, सुरम्य जलराशी
म व्याकुल तिर्खाएको यात्री
पीडा, दुखः बिर्सदै -
खुशी/हर्षको पहाड उक्लदै
भर्न पुग्छु - एक अन्जुली पानी राराको !

एक अन्जुली पानी
शान्त तलाउ भित्रको
हजारौं मनोरम आकृतिहरु बिगार्दै
छाल/तरङ्गका तरेलीहरु
पर.… पsर तालको गर्भ भित्र छिर्छन् ।

अन्जुली भित्रको पानी
हजारौं सुर्य खसाल्दै टल्कदै
इन्द्रेणीको लिस्नोबाट ओर्लन्छन्
तरङ्गहरु फेरी जिस्किन्छन्
दगुर्छन्… बिलाउन्छन् …अलापिन्छन् ।

अन्जुलीमा अडेको पानी
कन्चन… निर्मल…स्वच्छ पानी
म आफ्नो आकृतिको प्रतिविम्व भेटछुँ
मुस्काउँन्छु, प्राकृतिक ऐना देखी
पहाड। खोला। भीर।  खोंच
अनि भोक प्यास बिर्सेको मुहार ।

म हराउछुँ   अन्जुलीको पानीसंगै
एउटा स्वर्णिम स्वर्गीय आनन्दमा
हिमाल र गुराँस
पछाडीबाट अँगालो मर्छन्
हर्षबिभोर भएको म
अमृतको घडा सम्झेर निल्छुँ
एक अन्जुली पानी राराको !

(रचना मिति २०५५  बैसाख १६ गते, रारा)


     

Thursday, March 29, 2018

महाबु लाग्ना: बिर्सिईन लागेको बाटोको यात्रा - २


नाउली (२७०० मि) पुग्दा झम्मक्कै रात पर्यो  । ठाडो उकालो र ढुङ्गैढुंगाको बाटो उक्लेपछि फलेक छाएको दुइतले झुपडी होटल आयो ।  साहुनी बुढीमान्छे, तिनकी छोरी र नाती थिए ।  म सँगैका साथीहरुले चिनेका नातेदार पर्ने रहेछन् । त्यहाँ यौटा भेड़ीगोठाला पनि  भेटिए - सापुल्ली जुम्लाका बीरबहादुर रावत ।  बिगत १२ बर्षदेखि उनि आफ्ना भेडासंग यतै बन चरनमा हिडिरहँदा रहेछन् । आज उनकी छोरी भेडीगोठमा एक्लै रहिछन् । बेलाबेला स्काईफोन नेटवर्कको मोबाइलमा कुरो गरिरहेका हुन्थे ।  रावतजी बातैपिच्छे यति टुक्का जोड्थे कि बुझ्न हम्मे परेपनि सुन्न भने निकै रमाइलो लाग्थ्यो । लोकल रक्सि र आलुको तरकारीसंग उनीहरु गफिंदै गए । म छेउको पेटीमा पल्टिएर गफ सुन्दै बसें । उनीहरुका जीवनका अनेक आरोहअबरोहका कथाहरु सुनिए । ती बातचित समेटेको छुट्टै कथा ब्लग लेख्न पर्ला ।
            
सामान्य दालभात र आलुको तरकारी सहितको खाना अति मीठो, थपिथपि खाईयो । सुत्नलाई छेउकै अर्को झुपडीमा गयौं । चिसोचिसो कोठामा त्यहाँ ४ बेड थिए । दुइटा जोडीहरुलाई  दुइटा बेड, म र अर्को केटो एउटामा र बीरबहादुर बड्डा अर्कोमा सुत्यौं । गफ निरन्तर थियो । ब्ल्याङ्केट भित्रबाट कुरा गरिरहेको सुनिन्थ्यो।  म कतिबजे निदाएँ पत्तै भएन।  ब्युँझिदा त छ्याङ्ग उज्यालो भैसकेको थियो। उता चुलोमा बलेको मुढो निभेकै थिएन।  पानी तातिसकेको र सादा चिया पाकिसकेको थियो।  हामी तयार भएर यात्रामा अघिबढ्यौं । एकैछिनमा फेरी कुहिरोले ढाक्यो । फाट्टफुट्ट खुलेकोबेला माथी आकास भने निलो देखिन्थ्यो। अघाडी उत्तरतर्फ माहबु देखियो। ठडिएको।  त्यो पार गर्नु छ।

हामी महाबु लेकको फेद उनपाटा (३१०० मि) पुग्दा यौटा पसल भेटियो - राजबहादुर सिंहको । बाटोमा उनकोबारे  निकै सुनेको थिएँ।  दैलेख बजारमा भेटेका पत्रकार भुपेन्द्र शाहीले राजबहादुर र उनकी छोरीको नम्बर दिएका थिए।  बाटोमा संगै हिडेका जयबहादुरले पनि भनेका थिए । महाबु लेक पुग्नु अघि भेटिने यहि यौटामात्र अन्तिम पसल रहेछ । सिंहजी कतै गाउँतिर गएका रैछन ।  छोरीको बिहे भैसकेछ।  अहिले  पसलमा उनका ज्वाईं थिए ।  उनले पानी र  च्या/बिस्कुट खुवाए ।  १२-१५ होटल/पसल भएको यो ठाउँ बिगतमा निकै चल्ने बजार रहेछ तर जुम्लीहरुले हिड्न छोडेपछि भने स्वात्तै सुकेछ। यता बाटोकाट्ने काम हुँदा बीचमा केहिसमय चलेछ पनि । त्यस्तै माहाबु मेलाको बेला पनि केहिदिन अस्थाईरुपमा केही पसल खुल्ने रहेछन् । बाँकी समय खण्डहर झैं सुनसान देखिन्छ।  अचेल फाट्टफुट्ट आउने बटुवाको सेवा यै पसलले दिएको छ ।  'मान्छे यै पसल भेटिन्छ भन्ने आशले हिडेका हुन्छन्।  छोड्न नि नसकिने ।  चलाइरहेका छौं ।  यो रोड बाटो खुले त दिन फर्किन्थे कि ?' ति ज्वाईंले बाध्यता र आभिलाषा  एकैचोटी सुनाए। 'हामीले पनि त्यै खोजेको, एकदिन त बन्ला नि !" हाम्रो टिमको कसैले भन्यो । मेरा साथीहरु यो लेकको ठ्याक्कै अर्को पट्टीपर्ने डिल्लिकोट गाउँका हुन् ।  उनीहरुलाई नजिकको राजमार्ग भेट्न उल्टोबाटो हिड्नु पर्ने भएकोले यो बाटोले  उनिहरुमा पनि दिन फर्किने आशा थियो ।  हामी दिउँसोको खाना खानलाई त्यै डिल्लिकोट गाउँ पुग्ने गरी माहाबु लाग्ना काट्न लाग्यौं ।

'रोड'को बाटो कुहिरोले ढाकेको थियो ।  त्योबाटो  हुँदै काँध पुग्न केही घण्टा लाग्ने रहेछ । पहिला खच्चड र भेडा हाँक्ने बाटो पनि यहि हो । तर हामी भरिया हिड्ने परिचित छोटो बाटो उक्लियौं । भीर र पखेरोको चट्टान उक्लिने बाटो खासमा बाटोजस्तो थिएन । कतैकतै ठूला लाम्चा ढुंगा अड्याएर पाइला टेक्ने ठाउँ बनाएको थियो।  ति ढुंगाका काप र चराहरुबाट घाँस उम्रेर त्यै गोरेटो पनि ढाकिएको थियो । त्यसैले लाग्थ्यो कि यो बाटोमा अचेल मान्छे त्यति हिंड्दैनन् । अघाडी बढिसकेपछि पछाडी फर्किनै मुस्किल हुने ।  आफ्नै झोला र लठ्ठी कतै अल्झेर, ठोकिएर चिप्लिएला जस्तो ।  भीरको बाटो तल हेर्यो पुरै रिङ्गटा लाग्ने, माथी हेर्दा झन् 'क्याप' टोपी खस्ने । घाँसका त्यान्द्रा समातेर वा ढुङ्गाका चुच्चा पक्रिदै  ६०-७० डिग्री स्लोप उक्लिन पर्ने । 'रक क्लाईम्बिङ्ग' गरेको जस्तो लाग्ने । श्वास र मुटुको गति दौडीरहने, पसिना बगिरहने। लेकको टुप्पो हेर्दा नजिकै देखिन्थ्यो तर २-३ ठाउँ आराम गर्नु पर्यो । त्यहिबेला माथी आकासमा प्लेन देखें  ।  सायद त्यो जुम्लाबाट नेपलागंज उडेको थियो । एकछिन् त्यो हेर्दै हवाईयात्राको आनन्दानुभुति कल्पना गरें।  ती मेरा साथीहरुले कुनै गुनासो बिनै उकालो काटे र  मैले पनि पछ्याएँ । केही संघर्ष पछि हामी महाबु (३४५० मिटर) पुग्यौं ।

माहाबुको काँधमा दाहिनेतिरको चट्टाने पखेरो मुनि 'सिमेन्ट'ले बनेको धरमशाला थियो । देब्रेतिर घाँसीलो डाँडामा घोडाघोडी चरिरहेका थिए । उत्तरतिर कालिकोटका केही बस्तीहरु, पर क्षितिज तिर जुम्ला, मुगु  र हुम्लातिरका डाँडा देखिए । एकधर्को हिमाचुचुरा देखिए ।  त्यसभन्दा पर तिब्बत पर्छ सायद । काँधबाट झर्दैगर्दा पानीका मुहानहरु देखिए ।  भर्खर खनेको ढुङ्गैढुङ्गाको बाटो केही तलपुग्दा 'महादेव' को थान भेटियो । साउनभदौ तिर ठूलो मेला लाग्छ रे । हामीले पनि दर्शन गर्यौं । नाङ्गो घाँसे डाँडा सकिए पछि आउने खर्सु लगायत उच्च भेगमा हुने बनस्पतिको जङ्गल, खोल्साखाल्सी हुँदै लसुनढुङ्गा पुग्न एकघण्टा जति लाग्यो । जङ्गलले घेरिएको  सुन्दर घाँसे फाँट लसुनढुङ्गामा गाइबस्तुहरु रमाएर चरिरहेका थिए। बीचतिर केही गोठ यौटा भत्केको गेट थियो।  गेटकै तल यौटा घेरबार गरेको झुपडीमा यौटी सानीकेटी र बाख्राको पाठा उफ्रिरहेका देखिन्थे। फाँट सकेर गाउँ झर्ने ओरालोको छेउमै पसल भेटियो । बाटैमा बसेका केही महिला र काठको पेटीमा बसेका पुरुषहरु गफिंदै थिए। मेरा सहयात्रीहरुको ढोगभेट चल्यो र हालचाल सुन्न सुनाउन थाले।  मैले पानी र चिया खाएँ। भोक लागेको थियो तर मलाई त्यहाँ 'खाना' खान दिएनन्।  शाहीजीले गाउँ पुगेर आफ्नै  घरमा खानुपर्छ भनिसकेका थिए ।  केहि मिनेट ओरालो झरेपछि गाउँ देखियो ।  खेतका तरेलीहरु, थुम्का र फाँटमा कतै छरिएका, कतै जोडिएका काठ र ढुंगाले छाएका घरहरु, मकैका बारी र आसपास घना जङ्गल - डिल्लीकोट गाउँ निकै सुन्दर देखिन्थ्यो ।


गाउँको बीचतिर शाहीजीको घर रहेछ ।  उनकी आमा, ससाना केटाकेटी, र अरु गाउँले महिलाहरु कुरा गरिरहेका थिए । म पेटीमा बसेर आराम गर्न लागें । उनको सानोछोराले मकै भाँचेर ल्यायो।  बाहिरै चुलो थियो, उनकी श्रीमतीले पोलिदिईन। अघि बाटोमा मैले मकैको चर्चा गरेको थिएँ।  त्यै सम्झेर पोल्न बसेको रे ।  ठुल्ठुला दुई घोगा खाइ नसक्दै केहीबेरमा रोटी तरकारी ल्याइदिईन। फटाफट त्यो खाएर हिड्ने तरखर गर्दै थिएँ उनले भनिन् 'खाना पाक्दैछ, एक्कैछिन है ।' मैले कुरोको प्रसंग नबुझेको जस्तो ठानेर तल बारीबाट शाहीजी ले थपे  'घरमै आएका मान्छे, खाना नखाई त जानु भएन । भात पाक्दै छ।' मतलब त्यो २ घोगा पोलेको मकै, तिनवटा रोटी  र दुई बटुको तरकारी खाइ सकेर पनि अब भात नखाई हिड्न नपाउने भएँ  म । अघि हामी  यहाँ पुगेको केहीबेरमा घरकी बुढीआमा रोईरहेको देखेको थिएँ तर किन भन्ने बुझ्न सकेको थिईन । अहिले गाउँकी यौटी महिला आएर सोधपुछ गरिरहेको सुन्दा थाहा पाएँ कि उनकी बुहारी, अर्थात शाहीजी कि श्रीमती जो हामी संगै हिंडेर आएका थियौं, बिरामी भएर दैलेख बजार गएकी रहिछन् र उतै उनको गर्भ तुहिएछ ।  त्यत्रो बाटो  हामी संगै हिंड्दा उनी सहयोगी, फरासिली, छरिती थिइन् । हामीसबै भन्दा चाँडो हिडिरहेकी हुन्थिन् । कतैपनि त्यो  पीडा बोकेर  हिंडेको भेउ नै पाइनँ ।

'खाना' खाएर उनीहरुसँग छुट्टीदा तीन बजिसकेको थियो । शाहीजीको श्रीमतीले बाटोमा खानु भन्दै दुईकोशा पोलेको मकै झोलामा हालिदिईन। म ओरालो झरेर खेतैखेतको बाटो खोल्सो तरेर पारीपट्टी पाखाको बाटो काम्खेत गाउँहुँदै अघिबढें । यो गाउँमा एउटा बिहे रहेछ । सहनाई र दमाहाको  बाजाले डाँडाकाँडा गुञ्जिरहेको थियो ।  हुड्के नाच हेर्न भनि परपर गाउँका मान्छेहरु आइरहेका भेटिए । मलाई पनि रंग हेर्न यतै बसुँ भन्थे तर सकिनँ।  हिडें । ओदाँ गाउँको मुनिपट्टीबाट झोलुङ्गेपुल तरेर पादमघाट (१,५२० मिटर) पुग्दा साढेचार बज्यो ।  चिल्खाया पुग्न अब एक डेढ घण्टाको उकालो छ रे ।  चिया र पानी खान बसें।  नजिकै सानी नानीहरु गीत बजाएर नाच्न थाले । त्यो देखेर मलाई रमाइलो र आनन्द लाग्यो।  तिनीहरुलाई अघि शाहीजीको घरबाट बोकेको मकै दिएँ र  थप नाच्नअनुरोध गरें । उनीहरु निकै सुन्दर नाचे र  मैले भिडियो खिचें ।

अबको बाटो संगै जाने कोही साथी भेटिन्छ कि भनि पर्खेको तर कोही भेटिएन । एक्लै उकालो लागें । केहीबेर मै अध्यारो हुन लाग्यो । माथी डाँडातिर घाँस काटेर फर्किंदै गरेका महिलाहरु देखिए तर तिनीहरुलाई मैले भेट्नै  सकिनँ । कतमपुर गाउँ नपुग्दै झमक्कै भयो । खेतको आली र कुलो मिसिएको बाटो निकै चिप्लो थियो । जुत्ता हिलोमा गढेर भिजिसक्यो ।  मोबाईलको टर्चले नजिक त देखिन्थ्यो तर हिड्ने बाटो चै अनुमानको भरले अघाडी बढ्नुपर्थ्यो । संघर्षमय डेढघण्टा पछि यौटा पसल भेटें ।  पानी मागें ।  साउजीले पानीसंगै काँक्रो पनि ल्याएर दिए र अनि सोधे  'काँ जाने?'  मैले 'चिल्खाया' भनें।  'यतिबेला? अबेर भैसक्यो त। यतै बस्नुस' उनले सुझाव दिए।  भित्र केहि मान्छेहरु थिए।  गफ गर्दै थिए या रक्सि खाँदै वा दुवै।  मलाई यता बस्नु थिएन।  'साथीहरु अघाडी गैसके' भनें । 'ख्वै कुनबेला गएछन् , हामीले त देखेनौं ।' उनले मेरो कुरो पक्रे ।  तर म पानी खाने निहुँ गरी चुप बसें र हिड्ने तरखर गरें।  'पर्खनुस! बाटो चिप्लो, अफ्ठ्यारो छ, फेरी राती डर पनि हुन्छ।  हाम्रा केटाहरुले पुर्याइदिन्छन' भनेर ३ जना केटाहरुलाई मेरो साथ लगाईदिए । मनमा केही तर्कना लिंदै उनीहरुको साथ लागेर हिंडे ।  उनीहरुले बोकेको टर्चले बाटो झन् उज्यालो र सजिलो भयो।  गफ गर्दैगर्दै केहीबेरमा ठिन्के (२१३० मिटर) पुग्यौं।  उनीहरु फर्किए।  म त्यतै पसलतिर भेटिएका यौटा मान्छेको साथ लागेर पर गाउँमा इन्द्रराज दाईको घरमा बास बस्न पुगेँ ।

भोलिपल्ट दिउँसोतिर चंद्रप्रकाशभाई र म गाउँको पूर्वउत्तरतर्फबाट जंगलको ठाडो ओरालो बाटो हुँदै तिलानदीको झोलुङ्गे पुल तरेर पारीपट्टी 'बाली' भन्ने ठाउँ पुग्यौं।  यो कर्णाली राजमार्ग हो । केहीबेरमा बस भेटियो र म जुम्ला तिर लागें।  मेरो पूर्ववत् योजना अनुसार फूलपातीको दिन घर पुगें। यात्राको गज्जब अनुभव सहित।

नोट: यो ब्लगमा प्रयोग गरिएको समुन्द्र सतहबाटको उचाई मोबाईलले रेकर्ड गरिएको हो । 

यात्राको भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोस: https://www.youtube.com/watch?v=3UZcoDiKOb4यसको पहिलो अंक (यात्रा - १) पढ्न यता क्लिक गर्नुहोस्।  http://madhavjee.blogspot.sg/2018/03/blog-post_23.html



---समाप्त----

Friday, March 23, 2018

महाबु लाग्ना: बिर्सिइन लागेको बाटोको यात्रा - १

कर्णाली राजमार्गमा गाडी गुड्न सुरु गरेपछि स्वतः महाबु र हाउडी लाग्ना काटेर जाने बाटाहरु बिर्सिइन लागे । तर यो ब्लग त्यै बाटो हिडेर जाँदाको अनुभव हो:   

दशैँको जुम्ला यात्रा 
२०७४ सालको दशैं छुट्टीमा महाबु लेकको बाटो हिंडेर जुम्ला जाने रहर आयो । नवरात्र शुरु भैसकेको थियो । काठमाडौबाट कामको सिलसिलामा नेपालगंज पुगेको थिएँ । दशैँमा घर जान लागेका प्रसस्तै भेटिए ।  कोही  प्लेनमा त कोही गाडीमा घर जाने तयारीमा थिए । कतिपयले मैले 'यसपाली म हिडेर जाने' भन्दा अचम्म मान्थे। त्यसपछि  "को को जान लागेको? भनि सोध्थे । 'एक्लै' भनेपछि त झन् पत्त्याउन मुस्किल मान्थे। कर्णाली राजमार्ग खुलेयता हिडेरै जुम्ला जाने भन्दा हाँसउठ्दो सुनिन्थ्यो होला। तर, मलाई भने त्यो भुल्न थलिएको महाबु लेकको बाटो एकचोटी फेरी हिड्न रहर लागेको थियो। एसएलसीपछि पहिलोचोटी शहर /तराई झर्दा र त्यसपछि  मोटरबाटोले नजोडिञ्जेलसम्म जुम्लादेखि सुर्खेत पुग्न हिंडेरै महाबु वा हाउडी लेक हुँदै १०-१२ चोटी ओहरदोहर गरेको थिएँ । जुम्लाको सबैभाग, कालिकोट, मुगु र डोल्पाको केहिभागमा बस्ने मान्छेका पुर्खाहरु यही बाटो हिडेका थिए। सानोमा देशारु र हटारुले  सुनाउने बाटाका डरलाग्दा र रोमान्चक कथाहरु सुनिथ्यो -  माहबुको बाटो कठीन छ, ठाडो भीर छ, हिउँले खान्छ, चोरको बिगबिगी हुन्छ आदि।  तर, आफ्नो अनुभवमा  भने यो बाटोको केहीखण्ड यौटा साहसिक यात्रा झैँ लागेको थियो।  त्यही 'फील' गर्न फेरी हिडें - बिर्सिएको त्यो पुरानो बाटो।

अतिरिक्ति झोला र पैसा प्लेनबाट जुम्लाजान लागेका बिष्णु भाइ र धर्म भान्जालाई जिम्मा लगाएँ।  म यौटा क्यामेरा, सानो झोला बोकी नेपालगंजबाट माइक्रो चढेर सुर्खेत लागें । त्यो रात त्यहाँ बसें।  दैलेखी धर्म दाइको नातेदारको होटल।  केही भेटघाट र काम सकें। अर्को दिन बेलुका सुमो चढेर दैलेखबजार पुगें।  डम्बरदाइ र पवित्रा भाउजुकोमा बसें।  एक दशक भन्दा पछि भएको हाम्रो भेट राती अबेरसम्म रमाइलो गफ गरेर बित्यो।  भोलीपल्ट बिहान यतै खाजा खाएँ।  यज्ञजी (पवित्रा भाउजुको भाई) भेटिए। उनीसंग त झन् डेढदशक पछि भेटेको।  एकछिन संगै बजार घुम्यौ।  गाउँको भतिजो डा. महेश नि भेटियो जो दैलेख अस्पतालमा कार्यरत थियो।  बजारमा एउटा लठ्ठी टेक्न मिल्ने छाता किने।  यज्ञजीले  भनेर यौटा केटोले बाईकमा उत्तरतर्फ बाटो केही माथी भैसिखोरसम्म पुर्याइदियो। यस्तै एक बजेको थियो होला । अब मेरो 'हिड्ने' यात्रा शुरु भयो।

पैदल यात्राको सुरुवात (दिन १) 
केहीबेर हिंडेपछि उकालोनेर सानो बस्ति आयो। यौटा घरमा पानी मागें।  महिलाले सोधिन् 'कता जाने?' मैले 'जुम्ला' भने।  तिनी हाँसिन्।  'रोड बन्द छ र? उनले सोधिन्।  'खोइ? थाहा भएन' मैले भनें।  'एक्लै?' फेरी सोधिन्।  मैले सबै वृतान्त बताएँ। कुरोगर्दै जाँदा उनीहरु धनाडा, कालिकोटबाट आएका न्यौपानेहरु रहेछन।  मावली पो परेछन् । तीन पुस्तामा ७-८ घर फैलिएको रहेछ। बातमार्ने चाहना हुँदाहुँदै हिड्न पर्यो।  पहिलो उकालो जोशले उक्लिएँ। फाट्टफुट्ट ओरालो झरिरहेका महिला र गाइ चराईरहेका बालबालिका भेटिए।  हावा चलिरहेको थियो।  घाम टाउको तिरै थियो। परतिर अनेक डाँडाहरुको  तुवालोमय तरेली देखिन्थ्यो।  पूर्वोत्तर भागमा नौमुले, पश्चिमतिर डांडिमाडी पर्दछन्।  पछाडी दक्षिणतर्फ दैलेखबजारको केही  अंश अझै देखिन्थ्यो।  तल केहिबस्ति, जंगल र खेतका सुन्दर तरेलीहरु देखिन्थे।  एकघन्टा हिंडेपछि उकालो सकियो।  ट्रयाक खोलेको रोड घुमेर यता मिसियो। केहि माथि बाटैको आडमा यौटा घर भेटियो। बुढी महिला थिइन्। बुढा बिरामी रहेछन।  सुतेका थिए।  कटुवाल थरि रहेछन्।  ४ जना केटाकेटी आए।  नातिनातिना रहेछन्।  यौटी नातिनी त पाथरखोला, जुम्लाकी रहिछन। यतै  प्लस टू स्कुल पढ्ने।  म हिंडेरै जुम्ला जाने भनेको त सुरुमा कसैले पत्याएनन् । उनले चिया बनाउदै गर्दा हामी गफिन थाल्यौं। बिस्तारै पुराना दिन सम्झिन थालिन् - उ बेला जुम्ली हटारुको घुइंचो यति हुन्थ्यो कि बास मिलाउन र खाना ख्वाउनै हम्मेहम्मे पर्थ्यो रे। एकहुल खच्चर उँभो, अर्को हुल उँधो । "यो बाटोले जुम्ला जोडेपछि त फेरी त्यो रौनक फ़र्किएल नि!" मैले भनें।  'खोइ हामी बाचुन्जेल देख्न पाइन्छ कि नाइँ' शंका गरिन्। 'आउला, आश गरौँ ' भन्दै  च्या सकेर म हिडें।

अलि उकालो काटेर डाँडाकै डिलमा तेस्रोबाटो आयो।  दुइजना गफिदै गरेका मान्छे भेटिए। फोटो खिचिदिनुस है भन्ने बहाना मिलाएर कुरा गरें। एकजना त मै जाने बाटोतिर जाँदै रहेछन।  जयबहादुर कटुवाल।  माथि महाबुसैनतिर कतै तिनको भेडीगोठ रहेछ। त्यहाँसम्म साथी बन्ने भए । भेडा पाल्ने उनको पुस्तैनी पेशा रहेछ।   करीब ३ घण्टा गफगर्दै संगै हिड्यौं । सामाजिक परिवेश, राजनीति, चाडपर्व, चालचलन अनेक बिषयका कुरा भए। चरन क्षेत्र साँघुरिएकोले अचेल भेडा पाल्न गाह्रो पर्दै गएको रहेछ तर पाल्न सके अचेल भेडा/खसीको भाउ निकै पाईन थालेछ।  'केटाकेटीहरु  पढ्न शहर पठायो, फेरी यता फर्की कामधाम गर्ने हैनन्! यो यत्तिकै हराउने त होला' उनले चिन्ता ब्यक्त गरे। आधुनिक तरिकाले व्यवसायिक भेडापालन गर्नसके यसको  बजार र भविष्य छ। जयबहादुर दाइसँग कदम मिलाएर करीब दुईघण्टा उकालै उकालो हिडिसकें उनि त विश्रामको नामै लिन्नन्। म भन्दा १० बर्ष जेठा मान्छेसँग हिडेको मैले  जति नथाकी हिड्ने प्रयास गरेपनि उनीसंग सकिनँ।  इँट भन्दा माथि उकालोको बीच हामी यौटा अग्लो चट्टानमा सितलहावा खाँदै केहीबेर बस्यौं । दशरते भन्ने ठाउँ बाटैमा उनका भेडाका बथान भेटिए। उनका साथी भेडी गोठालाहरु सँग परिचय गराए र मलाई छोड्न भनि ओखरबाससम्म आए। बाटोमा केही केटाकेटी हाम्रो साथ लागे। यौटा २० बर्ष हाराहारीको निकै स्टाईलिस केटो थियो। भर्खरै गुजरात इन्डियाबाट घर फर्केको रहेछ।  मैले भिरेको क्यामेरा देखेछ क्यारे फोटो खिचि माग्यो। जिन्सको पछाडी पाकेटबाट काईयो झिक्यो र निकै नक्कल परेर उसको जुल्फी कपाल मिलायो।  चट्टानमा, बाटोमा थरीथरी पोजमा फोटो खिचायो। र अन्तमा व्ह्वट्सएप माग्यो। मैले  छैन, म चलाउन्न भने।  अनि मेरो फेसबुक आइडी माग्यो र भन्यो  'म छुट्टी सकेर शहर फर्केपछि फेसबुकमा जोड्छु, यी फोटो त्यसैमा पठाई दिनु है' । र संगै ओखरबाससम्म साथ लाग्यो। पुरानो भैसकेका ४-५ वटा पसल थिए।  हामीलाई भोक लागेको थियो । उसैले यौटा पसलतिर डोर्यायो । यौटी हँसमुख साहुनी थिइन् पसलमा । उसैकी दिदी रहिछन् ।  निकै परिकार पकाउन जान्दछु भन्दै यताउता खोज्यो तर  चाउचाउमात्र भेटियो । त्यै उमाल्न लग्यो।  'जुम्लातिरमा मान्छेले हिड्न छोडे पछि त ओखरबास बजार त के पुरै सुकिसक्यो ।  धेरैले ठाउँ छोडिसके।  हामी जाने ठाउँ नहुनेहरु मात्र यतै छौं।' उसकी दिदीले भनिन्।  'म पनि यता गाउँतिर केहि काम नहुने भनि काठमान्डू गएँ। तर महँगो। अनि त इन्डिया गएँ।' केटोले थप्यो।  चर्चा गाउँतिर अवसर नहुने, काम नपाइने बारे थियो।  'अनि यो ठाउँको दिन फिर्न लागे जस्तो छ त? जुम्लातिर जाने यो बाटो र मध्यपहाडी राजमार्ग पनि नजिकैबाट रहेछ। अनि त फेरी मालामाल होला नि यो ठाउँ' मैले थपे। 'खोई कैले हो कैले' दिदीले शंका जनाई।  'यो बाटो त निकै छोटो हुन्छ रे नि त सर तपाईहरुलाई जुम्ला पुग्न।" जयबहादुरदाईले थपे। 'हो, तर माथी लेकतिर कसरी जाला?' मैले भने।  'महाबुको लेकमा यसपाला साउने मेलामा ट्याक्टर पुगी सक्यो नि' दिदीले भनि । बाटो बन्ने र गाडी गुड्ने सम्भावना निकै रहेछ। जयबहादुरदाइले र मैले मिठोमान्दै तात्तातो झोल खायौं । उनि फर्के, म अघाडी बढें।

वस्ती कट्न लाग्यो। अब एक्लै परियो भन्ने सोच्दै थिएँ पछाडी पाँचजनाको टोली आइराखेको देखें।  रोकिएँ।  छेउको पसलमा उनीहरु रोकिए।  गएर सोधें।  उनीहरु 'डिल्लिकोट' जाने रहेछन। आज सकेसम्म नाउली पुग्ने भने।  यो अघाडी महाबुसैन र त्यसपछि नाउली।  उनीहरु खाजाखान केहीबेर अल्मलिने भएकोले मैले हिड्दै गर्ने बिचारले अघि बढें। तुरुन्तै  जङ्गल शुरु भयो।  घना थियो।  कुहिरो लग्यो। अध्यारो भयो।  किरा र चराको एकनासले आवाज मात्र सुनिथ्यो। म एकसुरले हिँडिरहें । बाटोमा कोहीपनि मान्छे भेटिएन। पछाडी हेर्दै गरें। ती डिल्लीकोटकाहरु पनि देखिएनन।  डेढघण्टा पछि यौटा डोजर देखियो। यौटा झुपडीमा मान्छे देखे र बाटो सोधें।  यौटा शर्टकट सिकाए।  रुख र झारले जेलिएको बिल्कुल आठ्यारो र अध्याँरो बाङ्गोटिङ्गो रेखाजस्तो गोरेटोबाटो बल्लतल्ल पार गरेर सजिलोबाटो पुग्दा कुहिरो झन् बक्लिएर वरिपरि केहि नदेखिने भैसक्यो।  नजिकको बाटो पहिल्याउदै अघिबढ्दा माबुसैनको होटल भएको ठाउँ कतिबेला छुट्यो पत्तै भएन।  केहि अघाडी एकैचोटी यौटा नाके उकालो भेटियो । यतिबेला छ बजिसकेको थियो । कुहिरो केही कम भयो तर घाम डुबिसकेको थियो । जसरी पनि यो उकालो काट्नु पर्छ नाउली पुग्न । तर,  बाटो घाँस र चट्टानको उवड्खावड भित्र कतै हराएर भेट्न मुस्किल हुन सक्थ्यो । थोरै चिन्ता लग्न थाल्यो तर विकल्प थिएन।  लागें उकालो नाप्न  (फेदीको अल्टिच्युट २५३० मिटर)

'ओ सर! रोकिनुहोस्' कसैले बोलाएको सुनें । फर्केर हेरेको त अघि ओखरवासमा छोडेका मान्छे रहेछन।  'पख्नुहोस्! अध्यारो भैसक्यो, संगै जाउँला' एकजनाले फटाफट नजिकै पुगेर भने । "तपाइँ त फटाफट आइहल्नु भएछ। माबुसैन हेर्यौं, तपाईंलाई देखेनौं अनि हामी पनि  हिड्यौं यतै।  माथी बाटो अफ्ठ्यारो छ।  नाउलीमा यौटैमात्र होटल छ। बासमिल्न मुस्किल हुन्छ कहिले।  हाम्रा चिनजानको होटल हो संगै बसौला । त्यसैले संगै जाउँ।" सास फुलाउदै एकैचोटी सबै बताए। मलाई त देउता भेटे झैँ भयो।  सहर्ष धन्यबाद दिएँ र उनीहरुलाइ पछ्याएँ।  गफगर्दै उनीहरुको गति र चालमा हिड्दा बाटो काट्न सजिलो लग्यो। उनि (शाहीजी), उपचार गराएर फर्केकी उनकी श्रीमती, भारतबाट फर्केका दुइजना युवाहरु र ती मध्ये यौटा युवाकी श्रीमती जो अनमी पढाइको छुट्टीमा घर फर्किएकी युवती गरि हामी ६ जना भयौं।  झमक्कै साँझ पर्यो। शाहीजी कि श्रीमती टर्चबोकेर आघडी  लागिन्।  तिनलाई पछ्छ्याउन निकै हम्मे पर्यो मलाइ। हामी नाउली (२६९० मि) पुग्दा ८ बज्यो। असिनपसिन जिउ खर्सुका मुढाबालेर आएको रापमा सेकिएर सुस्ताउन थाल्यो ।
(क्रमशः )
-------------------
यो यात्राको भाग -२ पढ्न यता क्लिक गर्नुहोस्: http://madhavjee.blogspot.sg/2018/03/blog-post_29.html
यो यात्राको भिडियो हेर्न यता क्लिक गर्नुहोस्:   https://www.youtube.com/watch?v=3UZcoDiKOb4

Monday, March 19, 2018

कर्णाली प्रदेशको बर्तमान अवस्था र अबको बाटो

सेतोपटीमा चैत्र १८, २०७४ मा प्रकाशित https://setopati.com/opinion/149026

संघीयताको सबैभन्दा बढी लाभ लिन सक्ने सम्भावना भएको प्रदेशको रुपमा कर्णालीलाई हेर्न सकिन्छ । किनकी एकीकरण यताका सवा दुईसय बर्षसम्म केन्द्रीय सत्ताको वेवास्ता सहेर हेपिएको महसुस गरिरहेको कर्णालीले संघीयताको कार्यान्वयन संगै अब आफ्नो भाग्यको फैसला आफै गर्न सक्ने भएको छ । खस राज्यकालीन कर्णाली समृद्ध रहेको इतिहास साक्षी छ । शीतकालीन तथा ग्रीष्मकालीन राजधानीको अवधारणा सहितको राज्य संचालनको मोडल, रीतिथितिमा चल्ने सहिष्णु समाज, खाद्यान्नमा आत्मनिर्भरता, भोट र मधेश जोड्ने व्यवस्थित व्यापार चक्र आदि तत्कालीन समयको बृहत कर्णाली राज्यका अनुकरणीय अभ्यासहरु हुन् । 

सशक्त व्यवस्थाले बनाएको आर्थिक स्वावलम्वन र सम्पन्नताले खसराज्यको प्रभाव र फैलाव नेपाल (काठमाण्डौ), लखनउ, काश्मीर र तिब्बतसम्म पुगेको गौरवशाली ईतिहास छ । अब कर्णालीले त्यो बैभव पुनःस्थापित गरी समृद्धिको नयाँ आयाम कोर्न सक्नेछ । पछिल्लो समय सबैले सम्भावनाको भुमि देख्नुमा कर्णालीको इतिहास, संस्कृति, परम्परा, भाषा, भेषभुषा, पर्यटन, वनस्पति, जडिबुटि र जलश्रोत मुख्य कारण रहेका छन् । त्यसैले अचेल चुनावका नारा, योजनाका खाका, नेतृत्वका भाषण र आम मानिसका सपनाहरुमा समृद्ध कर्णालीको चर्चा बढिरहेको छ । विकासका अनेक मोडेलहरुको खोजी भइरहेको छ । स्थानीय सरकारहरु र नवगठीत प्रदेश सरकारमा यौटा महत्वाकांक्षा छ र आम जनताहरु पनि तीव्र आशा पालेर बसेका छन् । 

के ती सबै सम्भावनाहरु मुर्त हुन सक्लान् ? के प्रदेश सरकारले त्यो क्षमता राख्दछ ? सरकारका प्राथमिकताहरु के हुनपर्छ ? र चुनौतीहरु के छन् ? यी प्रश्नहरुलाई ध्यानदिन जरुरी छ । यथार्थको धरातल भन्दा निकै माथिबाट देखिएका सपनाहरु पूरा नहुँदा ‘मास फ्रस्ट्रेशन’ निम्तिन सक्छ । छिटै समृद्धि ल्याउने तिव्र लालसाले बन्ने हचुवा नीति, योजना, प्राथमिकता र खर्च प्रणाली र त्यसले सृजना गर्नसक्ने कार्यान्वयन पक्षका कमजोरी, अदुरदर्शिता  र अनियमितताले अपुरणीय क्षति हुने खतरा हुन्छ । कर्णाली प्रदेशको अगाडिको बाटो सजिलो पटक्कै छैन । त्यसैले, अहिलेको प्रदेश नेतृत्वले लोकप्रिय बन्नलाई नभई सुझबुझपूर्ण निर्णय लिनसक्नु अपरिहार्य छ । 

कर्णाली प्रदेशको बर्तमान अवस्थालाई एकचोटी तथ्यांकमा हेरौंः

भूगोल र जनसंख्याको बेमेल तालमेलः यो प्रदेशले ३० हजार ३ सय १३ बर्ग किलोमिटर भूगोल ओगट्छ जुन समग्र देशको २० दशमलव ५ प्रतिशत हो । हालको अनुमानित जनसंख्या १७ लाख १ हजार ८ सय छ जुन समग्र देशको ५ दशमलव ४ प्रतिशत मात्र हो । यसैगरी, देशको जम्मा घरधुरीहरुमा  २ लाख ९८ हजार ३ सय ६० अर्थात् ६ प्रतिशत घरधुरी यस प्रदेशमा रहेका छन् । प्रदेशको विशाल हिस्सा हिमाली क्षेत्रले ओगटेको छ भने बाँकी भाग पहाडी क्षेत्र छ । विकट भूभागमा अवस्थित थोरै जनसंख्या र छरिएका बस्तीहरुमा पूर्वाधार र सेवाको पहुँच बढाउनु निकै चुनौतिपूर्ण र खर्चिलो हुन्छ । यस प्रदेशमा प्रति सय बर्ग किमि क्षेत्रफलमा मोटरबाटोको घनत्व केवल ८ दशमलव ७२ किलोमिटर मात्र छ जबकी अन्य प्रदेशमा यो दर १८ देखि ७१ किमिसम्म छ । मोटरबाटोबाट मूलधारसँग नजोडिएका २ मात्र जिल्ला हुम्ला र डोल्पा यसै प्रदेशमा पर्दछन् । फलस्वरूप, जम्मा १७ दशमलव ४ प्रतिशत घरधुरीले मात्र ३० मिनेटभित्र बजारसम्म पुग्ने पहुँच राख्न सक्छन् जबकि अरु प्रदेशमा यो आँकडा ३२ प्रतिशतदेखि ५७ दशमलव ५ प्रतिशतसम्म छ । विद्युत उत्पादनको प्रचुर सम्भावना भए तापनि हालसम्म सरकारी र नीजि लगानीमा जम्मा ६ सय ४२ दशमलव ६५ मेगावाटको पिपिए भएको छ ।  

मानव विकासको कमजोर अवस्था र गरिबीको चक्रः  कर्णाली प्रदेशको मानव विकास सूचक सबैभन्दा न्यून ०.३९० छ जबकि राष्ट्रिय औसत ०.४९० छ । साक्षरता दर पनि सबैभन्दा न्यून ६२ दशमलव ७७ छ जसको राष्ट्रिय औसत ६५ दशमलव ९ हो ।  सरदर आयु सबैभन्दा कम अर्थात ५५ दशमलव ६ बर्ष मात्र छ जबकि राष्ट्रिय औसत करिब ६१ बर्ष छ । त्यसैगरी, औसत प्रतिव्यक्ति आय पनि राष्ट्रिय औसत ७१८ भन्दा निकै कम ४७४ दशमलव ८६ अमेरिकी डलर बराबर मात्र छ । कर्णाली प्रदेश सबैभन्दा बढी गरीब बस्ने प्रदेश हो । 

राष्ट्रिय योजना आयोगको भर्खरै प्रकाशित प्रतिवेदन अनुसार राष्ट्रिय औसत २८ दशमलव ६ प्रतिशत भन्दा निकै माथी कर्णाली प्रदेशमा ५१ दशमलव २ प्रतिशत गरिबी छ । अर्थात् यहाँको हरेक दोस्रो व्यक्ति बहुआयामिक रुपले गरिब छ । यसको मूल कारणहरुमा बाल मृत्युदर उच्च हुनु, बालबालिकामा व्याप्त कुपोषण, विद्यालय शिक्षामा कमी, खाना पकाउने इन्धनको अभाव, घरका छाना तथा भुइँको कमसल अवस्था, सरसफाईको कमी, विद्यालयमा न्युन उपस्थिति र पानीको अपर्याप्तता हुन् । 

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले इंगित गरे अनुसार नेपालमा ५ वर्षमुनिका बच्चामा हुने पुड्कोपनाको दर औसत ३६ प्रतिशतहुँदा कर्णाली प्रदेशमा ५५ प्रतिशत छ । अर्थात्, हरेक २ जनामा एक बच्चा पुड्को छन् । अझैं पनि बाल मृत्युदर प्रति हजार जीवित जन्ममा ५८ रहेको छ । सबैभन्दा निरक्षर जनता भएको स्थानीय तह पनि यसै प्रदेशमा पर्छन् ।

प्रदेशको कमजोर सामथ्र्य, अपुरो बजेट र अनिश्चित श्रोतः सामथ्र्यका हिसावले कर्णाली प्रदेश सबैभन्दा कमजोर छ । कुल ग्राहस्थ उत्पादन (जिडिपी)मा यो प्रदेशको योगदान हालसम्म एकदमै न्यून छ । प्रदेशगत उत्पादनका विविध क्षेत्रहरुमा यस प्रदेशले कृषि तथा बनपैदावरतर्फ ५ प्रतिशत, निर्माण कार्यतर्फ ४ प्रतिशत तथा थोक र खुद्रा व्यवसायतर्फ ३ प्रतिशत हिस्सा ओगटेको छ । पर्यटनको प्रचुर सम्भावना बोकेको यस प्रदेशले होटेल र रेस्टुराँ तर्फको जीडीपीमा केवल २ प्रतिशतमात्र योगदानगर्न सकेको छ । 

प्रदेशको आफ्नैे भरपर्दो राजस्वका आधार र आन्तरिक श्रोतहरु छैनन् । तिब्बततिरका भन्सारहरु सक्रिय छैनन् । ठूला उद्योग धन्दाहरु स्थापना भएका छैनन् । पर्यटन भर्खर बामे सर्दैछ । यौटै श्रोत भनेको केन्द्र सरकारले विनियोजन गर्ने बजेट हो । यसवर्ष सातै प्रदेशले बराबर समानीकरण रकम रु. १ अर्ब २ करोड ५ लाखको बजेट प्राप्त गरेका छन् । यो रकमबाट हाल प्रदेश सरकारको स्थापना र संचालन गर्नुपर्ने हुन्छ ।  भर्खरै आगामी बर्ष प्रदेश सरकारहरुको बजेट सीमा १५ अर्ब हुने खबरले के ईंगीत गर्छ भने कर्णाली प्रदेश सरकारले सो भन्दा थोरै बजेट पाउने छ ।    

स्थानीय तहमा हुने विकास निर्माण र नियमित सेवा प्रवाहको सबै खर्च स्थानीय सरकारले गर्छ । स्थानीय सरकारहरुले वित्तिय समानीकरण अनुदान र सशर्त अनुदान प्राप्त गरेका छन् । यो आर्थिक वर्षमा कर्णाली प्रदेशका २५ नगरपालिका र ५७ गाउँपालिका गरि ८२ स्थानीय तहमा जम्मा २० अर्ब  ५ करोड ६८ लाख १५ हजार रकम गएको छ । योे स्थानीय तहमा विनियोजित कुल बजेटको ९ प्रतिशत मात्र हो । आगामी बर्षको सीमा बढ्ने भएता पनि अनुदानको हिसाब निकाल्ने सुत्र नसुधारेसम्म बजेट पाउने अनुपात भने सुध्रिने छैन । 

अर्थ मन्त्रालयले हालै जारी गरेको मध्यावधि समीक्षा प्रतिवेदनले यो आर्थिक वर्षका आठ महिनामा एक तिहाई भन्दा कम खर्चको काम भएको देखाएको छ । प्रतिवेदनले स्थानीय तहमा हस्तान्तरण भएको तर असार मसान्तसम्म खर्च हुन नसकेको सशर्त अनुदानको रकम नेपाल सरकारको संचित कोषमा फिर्ता गर्न सबै स्थानीय तहमा अनुरोध गर्ने भनेको छ । सरकारले चालु खर्चको लागि यस बर्ष सबभन्दा धेरै आन्तरिक ऋण लिन परेको छ । खर्चका दायराहरु बढ्दै गइरहेको परिप्रेक्षमा आगामी दिनमा सरकारी ढुकुटीले सहजै धान्न सक्ने अवस्था छैन । प्रतिवेदनले आगामी बर्ष स्रोतको सुनिश्चितता गरेर मात्र बजेटको आकार निर्माण गर्न सुझाएको छ । 

अब बजेटको निकासा पनि किस्तामा हुनेछ । स्थानीय तहले आउने आर्थिक बर्षमा उदार भएर खर्च गर्ने छुट हुने छैन । बाह्य ऋण परिचालन पनि सहज छैन । संघीय संरचना अनुसारको विकास सहायता नीति तथा परिचालनका मापदण्डहरु तयार पार्नै बाँकी छ । स्थानीय तह र प्रदेश सरकार विविध माग बोकेर संघीय सरकारका मन्त्रालयमा ‘डेलिगेसन’ यात्रा गरिरहन पर्ने हुन सक्छ । 

अनन्त सम्भावना, आकांक्षा र यसका सीमाहरुः अचेल धेरैले कर्णाली प्रदेशलाई सम्भावनै सम्भावनाको खानीको रुपमा चित्रण गरेका छन् । उपयुक्त पूर्वाधारको निर्माण गरी उद्योगको रुपमा विकास नभएसम्म ती सम्भावनाहरुबाट तुलनात्मक लाभ लिन सकिने अवस्था छैन ।  पूर्वाधार निर्माणको नाउँमा गरिने गल्तीले वातावरणीय सन्तुलन बिग्रेर उल्टै ती सम्भावनाहरुको क्षय हुनसक्ने डर हुन्छ । प्रदेशका गाउँहरुमा अचेल व्यापक रुपले अव्यवस्थित वस्ती र बाटोको निर्माण भैरहेको छ । उत्पादनशील जग्गाहरु मासिने क्रम तीब्र छ । 

पुराना मौलिक शैलीहरु धमाधम मासिदै सिमेन्ट, कंक्रिट र जस्तापाताका संरचनाहरु कुरुपवस्ती बनेर ठडिदै छन् । स्थानीय सरकारहरुको पहिलो रोजाई ‘डोजर’ किन्नुले के संकेत गर्छ भने जताततै खनेर, रुख विरुवा ढालेर विनाशलीला बढ्दैछ । रुख कतै रोपिएको छैन । वनजंगल बढाउन ठोस कदम कसैले चालेको पाईदैन । खानेपानीका पुरानाश्रोतहरु सुकिरहेका छन् । नदीहरुमा बहाव घटिरहेको छ । बनपाखा, लेक र पाटनका चौरमा उब्जिने कतिपय जडिबुटीहरु लोपोन्मुख भैसकेका छन् । जडिबुटीको व्यावसायिक उत्पादन छैन । 

मौलिक खाद्य र नगदे बालीहरु संकटमा पर्दै गएका छन् । उत्पादन लागत र बिक्रिमूल्यको बीच सन्तुलन छैन । स्थानीय उत्पादनले बजारमा यत्तिकै प्रतिस्पर्धा गर्न सक्दैन । सरकारको ‘सब्सिडी’ आवश्यक छ । जनस्वास्थ्यका सेवा पर्याप्त र प्रभावी छैनन् । सार्वजनिक शिक्षा प्रणाली अस्तव्यस्त छ । गुणस्तरीय शिक्षामा गरीबको पहुँच छैन । सुशासन आधारहरु कमजोर छन् । सरकारी कार्यालयले दिने सेवाप्रति भरोसा टुटेको छ । भ्रष्टाचार व्याप्त रहेको गुनासो छ । जताततै दलीय युनियन राजनीतिले गाँजेको छ । 

अबको बाटो

विद्यमान वास्तविकतालाई आत्मसात गर्दे संयमित, सन्तुलित र दीर्घकालीन हीतका प्राथमिकताहरु केलाउन जरुरी छ । तत्कालीन प्रतिफल हेरेर गरिने लगानी त पूँजीबादी राज्य संरचनामा हुन्छ, संबिधानमै समाजबाद उन्मुख लेखेकोले सोको बिचार पुर्याउनु आवश्यक छ । संबिधानले सातवटै प्रदेशलाई समान हैसियत दिएकोले अव कर्णालीलाई फरक ढंगले हेर्देउ भन्नु बलियो नैतिक आधार रहेन । 

बजेट बाँडफाँडमा प्रयोग गरिने सुत्रमा भूगोल, सामर्थ, जनसंख्या र अन्य सूचकहरु जेसुकै प्रयोग गरे पनि जनघनत्वले बढी भार पाउने व्यवस्था रहुन्जेल भूगोलका हिसावले ठूलो तर कमजोर सामथ्र्य भएको प्रदेशले कहिल्यै फाइदा लिन सक्दैन । तसर्थ, यस प्रक्रियामा सकारात्मक विभेदको नीति लागू गर्न पहल गरिनु पर्छ । यसको दीर्घकालीन समाधान संबिधान संसोधनबाटै गरिनु जरुरी छ, जसले कर्णालीलाई निश्चित अवधिसम्म बिशेष स्वायत्तता प्राप्त प्रदेश बनाएर राज्यले अतिरिक्त लगानी गर्नु पर्छ । साथै सो अवधिभर प्रदेशको जमिन किनमेलमा विशेष निगरानी र कडाई गरिनु पर्छ ताकि गरीब जनताको भुमिको स्वामित्व कायम रहोस् । राज्यले अहिले गरेको लगानीको शोधभर्ना कर्णाली प्रदेशले भविश्यमा दिनेछ ।

प्रदेश सरकारले नीति योजना निर्माण गर्दा निकै सोचविचार गर्नु जरुरी छ । तत्काल ऋण परिचालन गरि ठूला योजना सुरु गर्नु अघि के सोचौं कि कतै यसले जनताको थाप्लोमा केवल ऋण मात्र थपिने त हैन ? श्रोत र अनुभवको अभावमा गरेका गलत कदमले दीर्घकालीन असर पर्न सक्छ । कम खर्चिला र स्थानीयको सहभागितामा गरिने योजनाहरुलाई प्राथमिकता दिनुपर्छ । 

शासकीय सुधारका प्रयासहरु अत्यन्तै जरुरी छ किनकी देश राजनीतिक र प्रशासनिकरुपमा पुनर्संरचना भए पनि सेवा प्रवाह गर्ने कतिपय प्रणाली र संयन्त्रहरु पुरानै छन् । दुई दशकदेखि एकखाले ढर्रा र शैलीमा चलेको कर्मचारीतन्त्र एकाएक सुध्रेला भन्न सकिने आधारै छैन । यही संयन्त्रबाट गरिने योजना, निर्णय र कार्यान्वयन चुस्त हुने कुरामा विश्वास गर्न सकिन्न । त्यसैले अब प्रदेश सरकारले मितव्ययी र छरितो प्रशासन प्रणाली आरम्भ गर्नैपर्छ । परम्परागत शैलीको कर्मचारी व्यस्थापन, खटनपटन र कार्य सम्पादन मुल्यांकन गर्ने पद्दती हटाएर नियमित रुपले राष्ट्रसेवकको सीप र क्षमता जाँच्ने र कार्य सम्पादन करार नवीकरण गर्ने प्रणाली लागू गर्न सकिन्छ । नीजि तथा सार्वजनिक साझेदारी बढाई सेवा प्रवाहलाई चुस्त पार्न सकिन्छ ।


जनस्वास्थ्य सेवा प्रणालीको अनुगमन तथा मुल्यांकन विशेषज्ञको रुपमा कामगर्ने लेखक चौंलागाई कर्णाली प्रदेश तातोपानी गाउँपालिका लाम्रा गाउँका बासिन्दा हुन् । 


Wednesday, April 26, 2017

नयाँबर्ष २०७४: भोटेकोशी तिर (भाग ३)

२०७४ बैशाख ३, आइतबार।  द लाष्ट रिसोर्ट, भोटेकोशी 
हामी तातोपानी र केही पर नेपाल-चीन बोर्डरसम्म पुगेर बन्जी गर्नेठाउँ फर्किंदा मध्यन्न्ह भैसकेको थियो।  ट्याण्डम स्विङ्ग चलिरहेको थियो।  यता पुलबाट बन्जी र स्विङ्ग दुबै खेल चल्ने रहेछ।  त्योबेला पुलमा  हिड्न बन्देज थियो। झोलुङ्गेपुल नहाल्लियोस भनेर। वारीपट्टी बाटो किनाराका पसलका झ्यालबाट स्विङ्ग खेलेको हेर्यौं। सानो ब्रेकमा मान्छेहरु ओहोरदोहोर गर्थे।  रिसोर्टका यौटामान्छे आए, साथीले चिनेका।  आज हावा बेसरी चलेकोले अहिलेसम्म बन्जी शुरुनभएको कुरो सुनाए। वेटिङ्गमा बस्न भने।  पारी रिसोर्टमा गयौं। देशीबिदेशी पर्यटकहरु थिए। करिब ४०-५० जना पालो कुरिरहेका। साथीले बन्जी नगर्ने। पहिले धेरैचोटी आएर पनि फर्किसकेको उ मेरो लागी कुरिरहेको थियो। मैले रसिद काटे।  २५% छुटमा रू ३,६०० तिरें। हावा चलिरह्यो। यताउति डुलेर टाइमपास गर्नतिर लाग्यौं। यसैबीच स्टाफ आएर तौलनाप्यो । काँटाले देखाएकोमा ३ केजी बढाएर मेरो हातमा मार्क गरिदियो। एउटा कागजमा स्वस्थसमस्या नभएको घोषणा गरेर सही गर्न लगायो। र कुर्न भन्यो।


हावा केहि रोकियो।  एक बजिसकेको थियो।  बन्जी सुरु भयो।  तौल समूह मिलाएर बोलायो।  कमतौल भएकाहरु पहिले।  धेरै जना थिए। सबैजसो महिलाहरु। निश्चित केहि निर्देशन सिकाउछ।  पुलबाट जम्प गरेर तल झरेपछि उल्टो पारेको जीउलाई डोरी खिचेर सुल्टो पर्ने र केहि इसारा दिएपछि अर्को डोरी खस्छ, त्यसले माथि तानेर ल्याउने रहेछ। एउटा चिनिया केटीले त्यो स्टेप बिर्सी छ क्यारे, झुण्डेको झुण्डेइ भइ। सायद भाषाको समस्या होला वा उ डराएकोले वा नर्भस भएकोले बिर्सी।  निकै बेर लाग्यो उसलाई रेस्क्यु गर्न।  अर्को रोप खसालेर, त्यसबाट क्रू झरेर मद्दत गर्न गयो। त्यै बेला डोरी माथि तान्ने मेसिन बिग्रेछ क्यारे, अब दुवैजना झुण्डिए।  यसचोटी त  सुल्टो थियो। ६-७ जना क्रू मेम्बरहरुले रथको डोरी ताने झैँ गरेर तिनीहरुलाई पुलमा तानेर उद्धार गरे। अब रोकियो बन्जीको क्रम। फेरी सुरु हुने नहुने टुंगो भएन।

धेरैजना थिए क्युमा अझै ।  काठमाडौँबाट बिहानै आएका दुई बस थिए। बन्जी रोकेर केहीबेर स्विङ्ग चालु गरे।  डोरी तान्ने मसिनले काम नगरे तल खोलाको किनारमै ल्यण्डिङ्ग गर्ने विकल्प सुनाए। डोरीले पुलमै तान्ने मसिन आउनु अघि डेढबर्ष पहिलेसम्म त्यही गरिन्थ्यो। लामो बाँसको टुप्पो समातेर भुइँमा बिछ्याएको टेन्टमा ल्याण्ड गर्न पर्नेहुन्छ। अनि, खोलाको किनाराबाट रिसोर्ट हिंडेर फर्किंदा २०-२५ मिनेट ठाडो उकालो हिड्नु पर्छ रे।

मधुलाई अबेर भयो।  डिउटी जानपर्ने। उ  हिड्यो।  म कुरें यताउती गर्दै,  बन्जी गर्न पाउने आशमा। अनिश्चितता कायमै थियो। केहीबेरपछि हावाको बेग निकै कम भयो। मसिनले पनि काम गर्यो।  बन्जी सुचारु भयो।  म मुनिको तौल समूह बाँकी थिए। उनीहरुको पालो आयो।  चार बज्यो। बल्ल हाम्रो तौल समूहको पालो आयो। एउटा महिला सहित १५ जना जति भयौं । पुलमा टेक-अफ गर्ने बिन्दु नजिक लामबद्ध गराए। समूह भित्र बढीतौल हुनेलाई पहिले जम्प गराउने रहेछ। रस्सिको ईलास्टिसिटि र अन्य टेक्निकल कारणले तेसो गर्छ भन्थ्यो। यस हिसाबले मेरो पालो अन्तिम २ जना भन्दा मात्र अघाडी पर्यो।
पुलमा बसेर नजिकैबाट क्रुको ईन्स्ट्रक्सन, जम्प गर्नेहरुको तयारी,मनोदशा, हाउभाउ र प्रतिक्रिया नियाल्न पाइयो। एकजना अस्ट्रेलिया-इन्डियन सबै तयारी पश्चात हामफाल्ने बिन्दुमा पुगेर डराएर फर्क्यो। यौटी महिला सहित २ अरुले पनि बडो कठिनता पछि अत्यन्त डराउँदै हाम फाले। यो सबै नियाल्दै बस्दा निकै रमाइलो, रोमान्चक, डर मिश्रित अनुभूति हुन्थ्यो।  मेरो पालोमा मैले के गर्ने हुँला, सक्छु कि सक्दिन, जसरी पनि जम्प गर्नुपर्छ जस्ता कुरा मनमा खेल्थे।  हावा निकै मन्द भएको थियो। यस्तोमा पुल र रस्सी कम हल्लिन्छ र जम्प सहज र सुरक्षित पनि हुन्छ रे। कुर्दै गर्दा बन्जी क्रुले बेल्ट लगाइदियो। दुइ तिघ्रा हुँदै, कम्मर र काँधसम्म बेर्ने बेल्ट थियो, त्यसमा हार्नेस र अरु फित्ताहरु जोडिएका थिए।  दुवै खुट्टाको पिडुला बेर्ने अर्को कफ बाँध्यो। गफगर्दै बेल्ट कस्यो। रमाइलो पाराले हँसाउँदै  र सिकाउंदै कुरा गर्थ्यो। जसले जम्परहरुको चिन्ता हटाएर जोस भर्न मद्दत हुन्थ्यो। मेरो पालो आयो।  ५ बजेको थियो।   

जम्पिंग प्लेटफर्ममा गएँ। फिल्म क्रुले बायाँ नाडीमा गो-प्रो बाँधिदियो। भिडियोको लागि बाईट लग्यो।  अर्को क्रूले हार्नेस, बेल्ट फेरी चेक गर्यो। इन्स्ट्रक्सन फेरी दोहोर्यायो। र 'वाक लाईक अ पेन्गुइन, फ्लाई लाईक अ बर्ड' भनेर अघाडी पठायो। जम्पगर्ने पोइन्टमा अर्को क्रुले पछाडी बिस्तारै पक्रेर प्लेटफर्मको छेउसम्म खुट्टा आधा बाहिर पुग्ने गरि उभिन भन्यो। गहिरो खोंचमा मसिनो बगेको भोटेकोशी, दुवै किनारा तिर बगर, ढुंगे ढुंगा, अनि दुवैतर्फ चट्टाने ठाडो भिर र घाँस, मन्द हावामा सुसाइरहेका केहि रुखहरु। खुट्टामुनि हेरें, मन सिरिङ्ग गर्यो।  सिधा अघि हेरे, पर डाँडा, आकाश र क्षितिजतिर।  सपोर्ट दिईरहेको क्रुले सोथ्यो 'माधबजी तयार हुनुहुन्छ ?' म: 'यस!  रेडी छुँ' उ: 'ल ,, वन.. टु.… थ्री…  बन्जी!!! र मैले जम्प गरें

यसरी मैले बन्जीको अनुभव लिएँ।  करीब  ३ सेकेन्डको फल, ३ जर्क र केहि सुइङ्ग गरी फिर्ता प्लेटफर्ममा आउँदा ३.३८ मिनेट लाग्यो। कतै भुमरी भित्रपसे झैँ, कतै चक्कर खाए झैँ  खस्दा फनफनी, अनौठो झट्का र त्यसपछि चरा झैँ स्विङ्ग हुँदै उड्दा त निकै गजप रोमान्चक अनुभूति भयो। डरलाई जितेको महसुस भयो।  मैले सकें भन्ने बोधले यौटा सन्तुष्टि मिल्यो।  

सबैले बन्जी सके पछि करिब ६.३० बजेतिर  रिसोर्टको बसमा २८ अरु यात्रीसंगै म पनि काठमाडौँ फर्के। भाडा दिन परेन - फ्री राइड मिल्यो।  घर पुग्दा रातीको  ११:३० बजेको थियो।  

Watch Youtube Video of this Bungy Jump