
उत्साही मूड लिएर हामी क्षेत्रपाटी चोकबाट दक्षिण गल्लीमा पस्यौं र सिधै काठमाडौँ दरबार स्क्वायर अर्थात हनुमान ढोका निस्कियौं। साँघुरो गल्लि, बाटोभरि मान्छेका ताँती, हर्न नभएको साइकल, छलिएर गुड्नु चुनौतीमय र रमाइलो हुने। हनुमान ढोका र बसन्तपुर पुरातात्विक सम्पदाको एक महत्वपुर्ण स्थल हाम्रो पहिलो गन्तव्य थियो।
मध्य अप्रिल पर्यटकीय सिजन हो। काठमाडौँ भित्रिने अधिकांश पर्यटक यहाँ घुम्न आउँछन्। अचेल अन्तरिक पर्यटन पनि बढेको छ। त्यसैले होला यहाँ निकै भिडभाड थियो। बेलुकापख त झन् भिड हुनेहोला। हामी पनि एकप्रकारका अन्तरिक पर्यटक नै त हौँ। बटुवा र पर्यटकहरुलाई अनुरोध गर्दै हामीले केहि ग्रुपफोटोहरु खिच्यौं - मोबाइलको क्यामराबाट। प्लास्टिकमा लपेटेर राखेको राजेशको मोबाईल खल्तीबाट निकाल्न निकै हम्मे पर्यो। फकाएर बल्लतल्ल झिकियो। पातलो जर्सी, हाफ पाइन्ट, स्पोर्ट जुत्तामा रंगिन साइकल हेल्मेट र सानो झोला हाम्रो आउट्फ़िट थियो। एकप्रकारले निकै कूल देखिने। संजिवलाई 'हेल्मेट' ले साइकल चढ्नुको छुट्टै मजा दिएझैं लग्यो रे। महेश अरुलाई बिस्तारै र संगसंगै हिड्न भन्दै थिए - नत्र 'मु* तिमिहरु कुद्ने भए म त जहाँ मन लग्छ त्यहिबाटै फर्किन्छु" भनेर सचेत पर्दै थिए।
'अब कताबाट जाने? हाम्रो यात्राको क्रशरोड यतैदेखि शुरु भयो। 'बाटोमा हामीलाई ग्लोव्स किन्नु छ नि' - त्यसो भए न्युरोड। हामी बिस्तारै अघि बढ्यौं न्युरोड तिर। तर ग्लोव्स कतै भेटिएन। अब भक्तपुरमा किन्ने, अघि बढौं । र तत्काल हामी ट्याक्सी, माईक्रो, ट्याम्पु, कार र बसको एकतर्फी लस्कर भित्र पस्यौं र वीर अस्पताल - रत्नपार्क हुँदै पुरानोबसपार्क हुँदै बढ्यौं । बाटोका अनगिन्ति सवारीले साइकलको गति र लयलाई बिथोल्दो रहेछ। बाइक र माइक्रोले साइकललाई देख्नै नहुने, रोडको छेउछेउ गुडाइ रहेकोबेल्ल पनि ट्यां ट्यां हर्न दिने। सिटी बस र माइक्रोहरु धुवाँमुस्लो उडाउदै झ्याप्प अघिल्तिर रोकिने आदि जस्ता आचरण र जोखिमसंग परिचय भयो । निकै होसियारी आपनाउनुपर्ने रहेछ।

'अब कताबाट जाने' मैले र महेशजीले गुड्दै कुरा गर्यौं। ट्राफिक भिड छल्न मैले भृकुटीमण्डप तिरबाट जाने भने अनि अघिअघि कुदेको राजेशलाई मोड्न लगाएर प्रदर्शनीमार्ग पस्यौं। पुतलीसडकको एकतर्फीबाटोमा साइकल डोर्याएर जेब्राक्रसिंग गर्यौं र अनामनगर तिर हुँदै हनुमान थान - बिजुलीबजार - नयाँबानेश्वर कुद्यौ। ट्राफिक त यो बाटोभरीपनि उस्तै थियो। बिचैमा मेरो फोन बज्यो, कामसंग सम्बन्धित। उठाएँ। निकै लामो कुरो भयो। म अल्मलिएँ, अरु अघि गैसके। अघाडी यात्राको पहिलो उकालो आयो। बिचैमा ओर्लेर हिडें। मलाई गतवर्ष 'काठमाडौँ कोरा' ५० किमि साइक्लिंग गर्दाको याद आयो - सुरुमै थाक्नु हुन्न, पछि कस्ता उकालीहरु पर्नेहुन् के था? बिआईसिसि अघिल्तिर राजेश कुरे, महेश र
म तयारीस्वरूप 'एटिएम' तिर लाग्यौं। निकै भिड थियो। केहि समय लग्यो। उता संजिव भने हामीलाई भेटाउने सुरमा कुदेको कुद्यै गरेर गठ्ठाघर पुगेछन्। कहिले त बाटोको कोलाहलले मोबाइलको घन्टी र भाइब्रेसन दुवै थाहा नहुने। हामी मनहरा पुल पुगेपछि उनीसंग कुरो भयो। हामीले उखुको रस पिएर पहिलो विश्राम लियौं। 'वाह! क्या गज्जब भै'राछ' 'मज्जा आयो' सबैको अभिव्यक्ति। मौसम शितल थियो। हल्का पसिनाले गन्जी भिजेको थियो। विश्राम आरामदायी भयो।


हाम्रो अबको गन्तव्य 'भक्तपुर दरबार स्क्वायर' हो। - तर 'कताबाट जाने' ? महेशले गाइड गर्ने भए। त्यो चौडा बाटोमा उनि कुदे, हामीले फलो गर्यौं। बास्तवमा यो बाटोमा साइकल कुद्नु निकै रोमान्चक हुने रहेछ। पहेंलोलाईन भित्र, यथेष्ठ उकाली-ओराली। कहिले काहिँ त मोटरसाइकल र गाडीको स्पीड पछ्याउँ झैं रहर लाग्ने। हामी एकैछिनमा सल्लाघारीको बाटो उकाली चढ्यौं। तुलनात्मकरुपमा केही शान्त बाटो, पातलो बस्ति र खेत देखिए। सैनिक महाविद्यालय, खेल मैदान, पोखरी, मन्दिर र चौतारोहरु हुँदै एउटा सानो पोखरी नजिक पुगेर छोटो बिश्राम लियौं। एउटाले 'जुजु धौ' खाने चाहना निकाले। 'जुजुधौ' भक्तपुरको प्रसिद्ध दहीको प्रकार हो। तर यहाँ नजिक पसल भेटिएन। अब दरबार स्क्वायर पुगेर खाने। हाम्रो लन्च त्यहि वरिपरि हुन्छ।


हामी भक्तपुर प्रवेश गर्ने गेटमा आयौं। मान्छेको चहलपहल निकै छ। अधिकांश केटा र केटीहरु, समूह र हुलमा हिंडेका देखिए। यो बिस्केट जात्राको समय रहेछ। बिस्केट जात्रा एकहप्तासम्म चल्ने प्रसिद्ध मेला हो। यसमा लिङ्गो तान्ने, जिब्रो छेड्ने मेलाको भीड भयङ्कर हुने गर्दछ। यसै वर्ष पनि ६-७ जना घाइते भएको समाचार थियो। स्थानिय संग सोध्दा बेलुका तिर जात्र सुरु हुन्छ भन्थे तर भिडभाड अहिलेदेखि नै शुरु भै सकेछ। भीड छिचोलेर हामी दरवार स्क्वायर पुग्यौं। इतिहासको 'भादगाउँ' शहर। राजधानी शहर। पुरातात्विक सम्पदास्थल। सुन्दर दृश्ययुक्त संरक्षित मन्दिर र दरवार। गेट, ५५ झ्याले दरवारको प्रांगण, मन्दिरको सिढी र चोक आदिमा हामीले फोटो खिच्यौं। बटुवा र पर्यटकलाई गुहारियो - 'एक्सक्युज मी प्लिज!' बास्तबमा सहयोग गर्न पाउँदा उनिहरु पनि रमाउन्थे।


हामी पूर्वी गेटबाट निस्केर 'सुकुलढोका' हुँदै इँटाभरेको बाटो-गल्ली हुँदै 'दात्रात्रय' को मन्दिर प्रांगण पुग्यौं। फेरी एकलट फोटोसेसन। यतिन्जेल भोक निकै चढेको थियो। छेवैको रेस्टुरेन्टमा पस्ने कुरो भयो। अघि हाम्रो फोटो खिचिदिने मान्छे त्यै रेस्टुरेन्टकै रहेछन्। साइकललाई छेउमा साङ्ग्लोले बाँधेर छोड्यौं र हामि उक्ल्यौ खानाखान। 'पिकक रेस्टुरेन्ट'- ग्राहक सबै बिदेशी, महँगो मेनु। बार्दलीको कुनामा खालि टेबल हाम्रो थियो। हामीले एकैतालमा अर्डर दियौं - मो:मो:, चिल्ली, पिनट, अम्लेट, बोइल चिकन, बोइल भेज, चिप्स, सलाद, भुटेको भात, खाजा सेट र 'ड्रिङ्क्स' चिस्स्सो ! यताबाट मन्दिर, आँगन, बाटो सबै छर्लंग देखिने। थरिथरि मान्छे वि
चरण गरेका दृश्य, उता पल्लो पट्टि पसलबाट निकै मीठो धुनमा बजेको संगीत र शितल मौसमले बातावरण निकै रमणीय भएको थियो। यी सबैकुरा हाम्रो गफको बिषय बने र हाम्रो थकान मेट्न पनि सहयोगी बने ।
'अब कताबाट जाने?' लन्च पछि बल्ल सोचियो आगाडीको यात्रा । यताबाट कम्तिमा ३ वटा रुट छ धुलिखेल पुग्न। ….(क्रमसः)
well written...short and sweet...keep on scribbling......
ReplyDelete