सडक किनारा, खेतका आली, र घरको आँगनमा खेलिरहेका केटाकेटीहरु हामीलाई देखि 'नमस्ते !', 'हेल्लो ! हाउ आर यु ?' भन्थे। अनि हामीले 'नमस्ते भाई' वा 'हाई, ठिक छ' भने पछि 'ए यो त नेपाली पो रहिछ' भन्थे । आज यो बाटोमा केवल हाम्रो मात्र साइकल गुडेका थिए सायद। र नेपाली साइकलिस्ट निकै कम हिड्छन होला । नाला भन्ज्याङ्गको ५ किमि यताबाट बाटो बिस्तारै उकालिन थाल्यो। कतै ग्राभेलबाटो आयो। लागातार ऊँभैऊँभो लागेको बाटोले थकाउन थाल्यो। पछिल्लो २ किमि बाँकी रहंदा यौटा गाउँको उकालो घुम्तीले साइकल डोर्याउन बाध्य पर्यो। बाटोमै बस्यौं।
हाम्रो साइकल देखेर गाउँका फुच्चेहरु आए। साइकल छोए। हामीले तिनीहरुलाई फ़ोटोग्राफर बनायौं। साइकल चढ्न दियौं। जिस्कायौ र गफ गर्यौं। तिनीहरु रमाए। हामीलाई बाटोको बारे बताए । हामी केहि माथि पुगेर फोटो खिच्न रोकियौं। गाउँको यौटा पसलवालाले हाम्रो फोटो खिचिदिए। 'नाला तिर बस जान्छ ? उनैलाई सोधे। 'जान्छ, तर अहिले त छैन होला।' उनको जवाफ। हामी बढ्यौं अघि। छिनमा घुम्ती उकालो आयो। थोरै जंगल आयो। संजिव र महेशले डोर्याए। राजेशले खुब ट्राई गरे तर सकिएन। यौटा मिनी ट्रक आयो र गयो। गएको ट्रक तिर हेर्दै 'यार, उ त्यो भन्ज्यांगसम्म यसमा जान पाए हुने नि' तर ट्रक त गैसक्यो। आर्को आएन। फेरी केहि कुदेर र केहि डोर्याएर पखेरा र थोरै जंगलको एकान्तबाटो हुँदै हामी उकालो चढ्यौ। थाकेर रोडमा लम्पसार सुतियो, फोटो खिचियो। अनि, नाला ० किमी पुग्यौं ४ बजे तिर।
'ओहो लोत परियो' थकित अनुहार। यो 'साइकलको सिट किन यस्तो सार्हो? बिग्रेको परेछ कि क्या हो। निकै दुखायो ' अब साइकलको ईञ्जिनियरिङ्लाई दोष दिन थाले केटाहरु । 'धत्, सकिन्न यसरी - यो त हप्तामा के महिनामा पनि फेरी सकिन्न। क्वाटर्लि एकपल्ट।' महेशले अघि भक्तपुरको कुरो सम्झीए । 'आज बनेपा बस्ने त होला, धुलिखेल सकिन्छ ? पुरै उकालो छ यार। दिनभर थाकिएको छ, कसरी चढ्नु?' संजीव बोले। 'ग्राभेल बाटोमा सिट थर्किएर बस्ने गार्हो' राजेशको चिन्ता । 'तराईमा चल्ने लोकल बसको ड्राइभर बसेको झैं भयो - एकधारे बसाइ' महेशको भोगाई।
हामी अघि बढ्यौं। यो बाटो ओरालो गएर एकछिनमा बनेपा बजार मिसिन्छ। हामी फ़िलिलि हुँईकियौं।
यात्रा साँच्चै अबिस्मरणिय भएछ । बधाई छ ।
ReplyDelete