

जुलाई १९, २०१४ शनिबार । साउनको महिना भए पनि आज भने झरी थिएन। मसिनो बादल र मधुरो घाम थियो। बिहान सात बजे पाटन दरबार स्क्वायर पुग्दा रातो, निलो र पहेंलो टिसर्ट लगाएका सयौ साइक्लिस्टहरु जम्मा भइसकेका थिए। परिबेश रंगिन थियो । सबै उत्साहित देखिन्थे। महेश, राजन, राजेश र संजिव पनि आईपुगे। त्यो भीडमा साथीहरु समूह हुँदा त्यसै रमाइलो हुने। हामीले एउटा अण्डा र केरा ब्रेकफष्ट पायौं। केहि पोज फोटो खिच्यौं। त्यस्तै ७:३० बजेतिर ७५/१०० किमि दुरीका साईकलिस्टहरु सुरु हिंडे। अनि ७:४५ पछि ५० किमि दुरीको प्रस्थान सुरु भयो। लस्कर यति लामो थियो कि म हिड्दा ८ बज्यो। अझै कति धेरै पछाडी नै थिए । साइकलको ताँतीले बाटो जाम परेको थियो।





बाटो मंगलबजार भित्र हुँदै जावलाखेल निस्क्यो। साँघुरो बाटोले निकै बेर जाम भयो । अनि एकान्तकुनाबाट ओरालो भैसेपाटीको बाटो हुँदै दाँया मोडेर केहि उकालो अनि पुरै ठाडो ओरालो झरेर चोभारको बागमती पुल पार गरि 'मन्जुश्री पार्क', चोभार गुफा भएको ठाउँ पुगेर पानी खाने विश्राम गर्यौं। यो रुट पोहोर भन्दा फरक थियो। पोहर हामी धोबिघाट तिरबाट झोलुङ्गे पुल तरेर टियुको उकालो हुँदै किर्तिपुर पुगेका थियौं। यात्राको पहिलो फोटो सेसन गर्यौं। 3G भएकोले सोसियल मेडिया अपलोड सहज थियो। तर एकछिन पछि मेरो मोबाइलको ब्याट्री सकियो, फोटो क्यामेरामा खिचें । लस्कर अघि बढ्यो। फर्पिंगबाट आएको बाटोमा मिसिएर फेरी नागबेलीबाटो चोभारको डाँडा हुँदै किर्तिपुरका बस्ति भित्र पस्यौं। यो सेक्सनको उकालोमा धेरैले साइकल डोर्याए। अनि कहिले ले त राईड टर्मिनेट पनि गरे। महेशको साइकलको ह्याण्डल बांगियो, मेण्टेनेन्स टोलि कतै टाढै थियो। राजनले आइडिया निकाले र बन्यो। 'सो फार सो गूड' - महेश रमेका थिए।


पहिलो रिहाईड्रेसन स्टेसन आयो। स्थानियहरुले बाजागाजा साथ स्वागत गरिरहेका थिए। केहि युवतीहरुले आसिनपसिन साईक्लिस्टहरुलाई पानि छ्यापेर सितलता दिइरहेका थिए। ७५ र १०० किमिवालाहरुको बाटो अर्कोतिर लग्यो। नगाउँ, पाँगा भएर एउटा साँघुरो, कच्ची, ठाडो ओरालो झरेर, पुल तरेर फेरी उकालो चढ्यौं। त्यतै खोल्सामा म, महेश, संजिव र राजन भेटियौ तर राजेश निकै अघि कुदेछन। 'आज बिहान घोडाको चना खाएर आएछ कि क्याहो निकै कुदिरा'छ त ?' केटाहरुले जोक बनाए। हामिहरु यौटा डाँडाको काखमा तेर्सो साँघुरो हिलेबाटो पार गरेर चौतारोमा पुग्यौं। पहेलो भेस्टलाएका भोलेण्टिएरहरुले ग्लुकोज पानी दिए। तल गहिरोमा खोला थियो। पारिपट्टि अर्को डाँडो। उत्तर-पूर्व तिर निकै आकर्षक शहरी दृश्य देखियो। काठमाडौँमै यो भूगोल अनौठो लाग्ने। केहि फोटो खिच्यौं । र हिड्यौं।

अब रुट फेरी बस्तिबीच केहि तेस्रो र ओरालो झरेर नैकापतिर कतै हाईवेमा मिल्यो। दायाँ मोडेर कलंकी तर्फ थोरै अघि बढेर सानो बाटो बायाँमोडेर भित्र स्युचाटारतिर गयो । यो बाटो कलंकी, स्युचाटारको बस्ति-बास्ति, गल्लि-गल्लि हुँदै गयो। बाटोको यौटा पसलमा पहिलो बिश्राम गर्यौं। उखुको रस र केरा खायौं। रंगीचंगी हेल्मेटसाथ अनगिन्ति साइक्लिस्ट देख्दा गाउँलेहरु अत्यन्त उत्सुक भएर सोध्थे। अलिकति सहजबाटो अनि उकालो हुँदै सितापाईलाको चौडाबाटोमा हामी रामकोटतिर हन्नियौ। दिगो एकसरो उकालो। माथि दोबाटोमा दाहिने मोडिने ठाउँको पसलमा नासपाती र कुल्फी खायौं। राजनको घर यतै पर्छ। स्पोण्डिलाइसिसको लागि औषधि र आराम गर्नुपर्ने मान्छे, हामी सबै जाने भएपछि जबर्जस्ति हिडेका रे। कतै यतैबाट घर जान्छन कि भन्ने लागेको थियो। 'मैले त साथीहरुसंग एकछिन भेटेर खानाखान घरै आउंछु भनेको थिएँ। यसरि हिंडेको था'पाए त कराउन्छन् यार' ।" राजनले रहस्य खोले। एउटा ठूलो जमातले यतैबाट राईड क्विट गरेको सुनियो।


हामी अघि बढ्यौं। बाटोमा अर्को रिहाईड्रेसन स्टेसन आयो। सेतोगुम्बा मुनिको बाटो हामि ५-७ जनाको झुण्ड एकछिन हरायौँ, गलत बाटो लिएर। स्थानिय महिलाहरुले बाटो सिकाए र हामि ठिकबाटो पुग्यौं। थोरै उकालोबाट एउटा भन्ज्यांग काटेर सिधा ओरालो अनि एउटा डेड्लि टर्निङ्ग लिएर निकै रमाइलोबाटोमा गुड्यों। सेतो गुम्बाको डाँडाको फेदी र रानीबनको काखमा रहेको बस्तिमा कुद्यों। इचंगुको भूगोल। साँघुरो गोरेटो, खेतको आली, गाउँको बाटो, चौतारी, पँधेरो, हरियाली, रुख, घाँस, ढुंगेधारा - अ पेर्फेक्ट साइकलिङ्ग ट्रेल !


बालाजुको बाटो माथि चोक पुगुन्जेल हामि छुट्टाछुटटै थियौं। मैले बाटोमा केहि फोटो लिएँ। स्थानिय केटाकेटीहरु कुरागर्न आए। रमाइलो गफ भयो। साइकल छोए। मैले केहि प्रो-साइक्लिस्टसंग कुरा गरें। र फोटो खिचें। त्यसपछि मनमैजु - गोंगबु - धापासी - महांकाल तिरका बस्तिभित्र नागबेलीबाटो, चोक, गल्लि, गोरेटो हुँदै साइक्लिस्टहरुको घुइंचो अघि बढ्यो। धेरैजसो निकै थकित देखिन्थे। अब ससानो उकालोमा पनि साइकल डोर्याउनेहरु धेरै हुन थाले। गोल्फुटारतिरको बाटोमा एकठाउँ राजेश फोनमा थिए। इसारा गरे। म रोकिएँ। उनले भने - "महेश र राजनले क्विट गर्ने रे। केही सामान मेरो झोलामा छ। लिन आउँदैछन । वेट गरौँ।" अघाडी अर्को बिस्राम स्थल थियो। हामी त्यहाँ कुर्यों। उनीहरु आए। र राईड त्याग्ने कुरो गरे - 'ह्या। . चलाएको चलायै छ, कैले पुग्ने? अब सकिन्न।' महेशले भने। 'मेरो साईकल गतिलो छैन। जवर्जस्ती गर्यो भने थला पर्ला। भो छोड्ने अब' राजनको घोषणा। फकाउने प्रयास भयो। 'ब्लगमा 'भगौडा' लेखिन्छ' भनेर तर्साइयो। राईड कम्प्लिट गरेमा 'मेडल' मिल्छ भनियो। ३० किमि त सकिसक्यो। अन्य उपक्रम पनि गरियो। संजिव र उसको साथीहरुको समुहपनि आयो। कुनैपनि डिमाण्ड मान्ने तर राईड छोड्नु हुन्न भनियो। 'बौद्धसम्मलाई साईकल सापटी दिए जान्छु।' राजनले फ़ाइनल्लि माने। मेरो साईकल दिएं। महेश पनि बाध्य भए राईड कनटिन्यु गर्न। एक बजेको थियो र हामी बढ्यौं यात्रामा।



राजनको साइकलको गियर बिग्रेको थियो सायद। त्यो था'नापाउञ्जेल निकै अफ्ठ्यारो भयो। साइक्लिङ्ग गर्दैगर्दा अल्झिएको गियरतिर हेर्दा आघाडी स्पीडब्रेकर नदेखेर म लडें। साईकलले कोरेर हल्का घाउ पर्यो। बिस्तारै केहिबेर चलाएपछि थाहा लग्यो अघाडीको २ नम्बर गियरमा प्रोब्लम छ। अनि संधै १ र ३ गियरमा चलाएर हिडें। गल्फुटार - कपन - महांकाल - बौद्धको गल्लि पस्दै निस्कंदै हामी बौद्धनाथ स्तुपाको प्रांगणमा पुग्यौं। म एक्लै थिएँ। अरु सहयात्री साइक्लिस्टसंग फोटो खिची मागें। महेशहरुलाई मैले एकैचोटी 'समता स्कुल' बौद्ध-जोरपाटीमा लन्च ब्रेकमा भेटें। एउटा जेरी, एउटा स्याण्ड्विच र एउटा केरा थियो लन्चमा। केहिबेर आराम गर्यौं। राजनले साईकल फिर्तादिन मानेनन्। त्यो साइकल बनाउन खोजेको मेण्टेनेन्सको गाडी पुगेको थिएन। त्यत्तिकै हिंडे। हामी हिड्दा २:३० बजेको थियो। अब त्यहि १०-१२ किमी बाँकि होला।


हामी गौरीघाटबाट आएको बाटो बायाँ खोलाको तिरैतिर जोरपाटीतर्फ अघि बढेर पक्कि पुल तरेर एयरपोर्टतिर मोडि उकालो चढ्यौं। त्यो उकालोमा अन्तिम चोटी साइकल डोर्याइयो। माथि डाँडाबाट बौद्धतर्फ (उत्तर-पश्चिम) को दृश्य सुन्दर देखिन्थ्यो। अब एयरपोर्टको पूर्वीभागतिर ओरालो हुँदै हामी पेप्सीकोलाको सिधाबाटोमा हान्निएर जडिबुटी पुग्यौं। बाटोहल्का पानी पर्यो। नरेफाँट तिर पसेर गल्लिको बाटो हुँदै खोला छेउ बालकुमारी पुलमा निस्क्यौं। रिङ्गरोडमा थोरै अघि बढेर बालकुमारी मन्दिरतिरको बाटो उकालो बढेर पुरानो बस्तिको गल्लि गल्लि छिरेर अन्ततः पाटन दरबार स्क्वाएरको उत्तर-पुर्वी कोणबाट भित्र पस्यौं। बिहान सुरुगरेको स्थानमै कोरा सम्पन्न गरेकोमा एउटा मेडल थपियो र यसपालिको ५० किमि कोरा यात्रा सफलतासाथ सम्पन्न भयो।


करीब ८ घन्टाको निरन्तर अफ-रोड यात्रा, पसिना, थकान र चुनौतीपछि KORA14 सम्पन्न गरियो। राइड समापन पछि पनि ५ किमि जति थप यात्रा गरेर भाडाको साईकल पुर्याउन ठमेल गइयो। मेरो निम्ति यो राईड सम्पन्न गर्नुमा दुर्गममा 'बर्थिंग सेन्टर'लाई सपोर्टगर्ने अभियानमा झन्डै ३० बढी मेरा साथीहरु र सहयात्रीहरुले देखाएको सहयोगको बचन मोटिभेटिङ्ग फ्याक्टर हो। आउने हप्ता त्यो सहयोग संकलन गरेर आयोजकलाई हस्तान्तरण गरिन्छ। यसपाला आफ्नै साथीहरुको झुण्ड ठुलो भएकोले पोहर भन्दा निकै सहज र रमाइलो अनुभव भयो।
(नोट: यो ब्लगमा प्रयुक्त फोटोहरु साथिहरु, केहि बटुवा र सहयात्रीहरुले खिचेका हुन्। क्यामेराको लागि सबिनालाई धन्यवाद)