Monday, April 14, 2014

साइकलमा नयाँबर्ष - सहर-गाउँ, सम्पदा र प्रकृतिसंगसंगै ! - 1

चैत्रको अन्तिम शनिबार बिहान फ़ुट्श: खेलेर ११:३० तिर बालुवाटार चोकको दिदीको चियापसलमा सुस्ताएर गफ गर्दै थियौं - म, महेश र राजेश । गफको बिषय र प्रसङ्ग बतास झैं हुन्छ - जतापनि मोडिने, जतापनि पुगिने।  हामि गफको कुनै प्रसङ्गमा भोलि सकिने २०७० साललाइ कसररी बिदा गर्ने भन्दै थियौं।  राति बाहिरै बस्ने सहमति भयो तर कहाँ, कसरि जाने भनि टुंगो लागेन निकैबेर ।  'साइकलिंग गर्न पाए हुने ' महेशजी ले कुरो निकाल्न नपाउंदै मैले 'ओके' गरें।  राजेश पनि सहमत। तर, कता जाने ? गोदाबरी? बुढानिलकण्ठ? नगरकोट? या अन्य कतै ? हामीले थप कप चिया सक्यौं टुंगो लगाउन। र, हामि धुलिखेल यात्रा गर्ने निर्णयमा पुग्यौं ।

संजीव, सुबेश  र राजनलाई खबर गरियो सम्भावित अन्य सहयात्रीको रुपमा।  संजिव र राजन जान राजि भए (तर राजन भोलिपल्ट गएनन् )। रुटको बारे थोरै छलफल गर्यौं।  काठमाडौँ - भक्तपुर - बनेपा - धुलिखेल।  बाटोमा दरबार स्क्वाएर, मन्दिर, साँगा, फन पार्क  तिरहुँदै यात्रा गर्ने। यसरि, दुइकप चिया संगै हाम्रो गफले यौटा रोमान्चक र साहसिक यात्राको मोटामोटी योजना बन्यो।  मैले क्षेत्रपाटी चोक पुगेर गोपाल दाईको पसलमा साइकल बुक गरें - Giant र Cube ब्राण्डका माउण्टेन बाइक ।  भाडादर रु ६०० प्रतिदिन ।

अब हामी बर्षको आन्तिम दिन भोलि चैत्र ३१, २०७० आइतबार शुरु भै पर्सि बैशाख १, २०७१, सोमबार फर्किने करिव ३० घन्टाको साइक्लिङ्ग यात्रामा हिड्ने भयौं।

सोहि अनुरुप हामि सबै आइतबार बिहान १०:०० तिर क्षेत्रपाटि चोकमा जम्मा भयौं । चिया र मालपुवा खायौं।  त्यतिन्जेल साइकलको चेकजांच भयो।  हेल्मेट र पम्प लियौं।  ग्लोव्स बाटोमा किन्ने कुरो भयो (पछि कतै किनिएन) . बाँकि सबै चिज मिलाएर हामि हिड्दा त्यस्तै ११ बजेको थियो।  र, हामी ४ जना हिड्यौं - म, राजेश, महेश र संजिव ।

मौसमले हामीलाई निकै साथ दिएको थियो।  बादलको पातलो पर्दाले घाम चर्किनबाट रोकेको थियो।  मोबाइलको वेदर एपले बेलुकापख पनि पर्ने संकेत गरेको थियो।

हाम्रो यात्राको गन्तव्य थाहा थियो र केहि महत्वपुर्ण ठाउँ पुग्ने चाहना थियो।  बाँकि सबै समय संगै बुन्नुपर्ने थिए।  अर्थात्, रुट के हुने, बास कहाँ बस्ने र कहाँ खाने आदि कुरा हामी हिड्दै गर्दा पत्ता लाग्ने छ।  अकस्मात बन्ने केहि योजनाहरु आफैमा रोमान्चक र सफल पनि हुने।  यो यस्तै एउटा यात्राको शुरुवात थियो।
  क्रमश:…।
    

1 comment:

  1. बधाई अनि अर्काे भाग पढ्न आतुर ।

    ReplyDelete