Tuesday, October 29, 2013

साईकल संघर्ष (काठमाडौँ परिक्रमण - २)

बिहानै ६.३० बजे क्याम्पेनकै लागि बनेको टी-सर्ट र हेल्मेट लगाएर पाटन दरबार स्क्वाएर पुगियो । मनमा उमङ्ग थियो। बिल्कुलै कलरफुल टी-सर्ट र  हेल्मेट पहिरेर बाटोमा निस्किदा केहि संकोच  थियो।  तर एकै छिनमा देखापरेका  साईकलधारी  मान्छेको  भीडमा पस्दा त सबै अफ्ठ्यारो हरायो।  त्यत्रा मान्छेहरुमा मैले चिनेको एकजना पनि परेनछ।

ब्रेकफास्ट र  लन्चको कुपन पाईयो। लाईनमा बसेको त एउटा अण्डा र केरा बाँडिदै रहेछ।  केरा पोटासियमको श्रोत, शारारिक अभ्यासको बेला राम्रो मानिदो रहेछ। राजन जी ले चिन्ने दुइजना संग परिचय भयो र संग-संगै जाने  कुरो पनि गरियो ।

हामी दरबार स्क्वायर अघाडि भेला भयौं। करिब ९०० हाराहारी  साइक्लिस्ट जम्मा भएको चर्चा सुनियो।  गैर-नेपाली सहभागी पनि निकै  थिए।   एउटा सानो सम्बोधन पछि रेस सुरु भयो।  जितहार भन्दा पनि रेस कम्प्लिट गर्ने उद्देश्य भएकोले सबै आ- आफ्नो रफ्तार समाते।  म र राजन पनि हिड्यौं।  दरबार स्क्वायरबाट पुल्चोक पुग्नु अघि बायाँ मोडिएर कुमारीपाटी  हुँदै जावलाखेल ग्राउण्ड  दायाँ पार्दै रिंगरोड  पुग्यौं।   बाटोमा  साइकल-कला देखाउदै निकै फुर्तिसाथ केहि केटाहरु अघिपछि आए।  हामि पनि रमाइलो मान्दै आफ्नै चाल पक्रियौ।

प्रत्येक ५ किमीजतिमा आराम गर्ने, जो अघि जान्छ कुरेर बस्ने, नथाक्नलाई उकालोमा साइकल डोर्याउने आदि रूल बनाएका थियौं।  रिंगरोडको समथरबाटो, बिहानी स्फूर्ति र जोशले गर्दा सबै सहज अनुभूत गरियो। हामि बल्खुतिर नगई बीचबाट बाँया ओरालो मोडेर किर्तिपुर तर्ने झोलुङ्गे पुल पुग्यौं।  एकसरो तर्नु पर्ने रहेछ, जाम पर्यो।  एकाएक साइकलेहरुको भीडले माहौल रमाईलो भयो।  धेरैका हात-हातमा क्यामरा देखिए।  पुल तर्दा देखिएको युनिफोर्म 'काराभान' दृश्य साच्चै गजबको थियो।  पुल तरेर माथि बाटोमा पुगेर त्रिभुवन युनिभर्सिटीलाई दाँया पार्दै किर्तिपुरको उकालोमा हन्नियौ।  अनि शुरु भयो बास्तविक कठिनाई।

पसिना उम्रिन थाल्यो।  अघि हलुको लाग्ने साइकल थाक्न लग्यो।  गति सुस्तायो।  सास बढ्न थाल्यो।  केहि साईकल पछि पर्न थाले तर कति धेरैले ओभरटेक पनि गर्न थाले।  मन आतिने झैं भयो। बिचमा चेक गरेको गियर मिलाउन नजानेको रहेछु।  अर्को सहयात्रीको सेटिङ्ग हेरेर मिलाएँ।  काम गर्यो।  अलि सजिलो भयो। नरोकी किर्तिपुर बजार पुगें। राजनजी म भन्दा अघिअघि निकै सजिलो साथ् चलिरहेको भान हुने। अरुलाई हेर्यो तेस्तै।  खासमा  आफुमात्र थाकेको हुँ कि भन्ने लाग्दो रहेछ यस्तो बेला।  उकालो बाटो दाँया मोड्यो मन्दिरतिर।  अलि सम्म भयो फेरी उकालो माथिसम्मै। पेलेर पैडल खिचियो र  अन्तत: उकालो चडियो।  खुट्टा काँपे।  पसिना झर्यो। तिर्खा लाग्यो।  तर खुसिले छायो ।  कतिले उतै उकालोको पुछार तिरै बाट यात्रा छोडेको सुनियो। बाटोमा स्वयंसेवक थिए।  एरोको संकेत पनि थियो ठाउँ ठाउँमा।  जम्मा  ७ किमि भयो होला, अझै कम्तिमा ४३ किमि त बाँकिनै छ।

तेस्रो गोरेटो बाटो हिडेर भत्केको हिले ट्रयाक एउटा भिर हुँदै गयो।  तल पुरै खोल्सो।  एक एक गरि जानुपर्ने।  केहि सिपालु र सहसीले साइकल चलाएरै पार गरे।  हामीले डोर्यायौं र यौटा भन्ज्याङ्गमा पुग्यौं।  राजनजीको अफिसको एक सिनियर भेटिए। केहि पोज फोटो खिच्न लागायौं उनलाई।  'कोको गए अगाडि ?' राजनले सोधे। हामीलाई आफ्नु अनुमान लगाउनु थियो।  हामि दोस्रो थियौं तिनले चिनेका मध्ये।  राजनको हाकिम अजवको मास्क साथ हामि भन्दा अघि पुगेका थिए।  बिहान चिनेका केहि साथिहरुको पत्तो लागेन।  सायद ति पछाडी नै थिए होलान् ।  यहि गति कायम राखे हामि पछि नपर्ने निर्क्योल गरि भंज्याँग झरेर काठमाडौँको पश्चिमी भित्ताका बस्ति-बस्ति हुँदै  नैकाप-कलंकी खण्डको बाटोमा झर्यौ      सरररर  ओरालो।सायद ११-१२ किमि पुग्यो होला।

 क्रमसः


   






No comments:

Post a Comment