Sunday, October 27, 2013

साईकल संघर्ष (काठमाडौँ परिक्रमण - १ )


जुन महिनाको अन्त तिर फेसबुकमा  'जुलाई २० तरिखमा काठमाण्डौ कोरा साइकलिङ्मा भाग लिने हो ?' भनेर एउटा मेसेज पठाउनु भएको रहेछ राजनजीले । खासै चासो दिईएन।  फेरी एकदिन सम्झाउनु भयो अनि बाध्य भएर के रहेछ भनेर हेरियो।

बर्षेनी आयोजना गरिने काठमाडौँ कोरा साइक्लिङ्ग क्याम्पेनको यो तेस्रो संस्करणमा बैतडीमा इकोफ्रेन्डली बर्थिंग सेन्टर खोल्ने कामको लागि यस मार्फत सेभ द चिल्ड्रेनले सहयोग संकलन गर्ने रहेछ। यो रेसमा काठमाडौँको परिक्रमा गर्दै ५० किमि दुरी तय गर्नुपर्ने, अर्थ तिब्बती भाषामा कोरा गर्नुपर्ने  रहेछ।  गत वर्ष झन्डै ५०० जनाले भाग लिएका थिए रे , यसपाला १००० जना पनि हुन सक्छन्।  बाटो कच्ची, उकालो, ओरालो, सहज, कठिन सबै हुने भन्ने बुझियो।  यतिका साईकल यात्री बीच रोमान्चक यात्रा।

मैले भाग लिने बारे सोच्न थाले। अफिस तिरका साथिहरु संग कुरा गरे।  'ओहो तेत्रो साइकल चलाउनुपर्ने ?' 'प्राक्टिसै गरिएको छैन।' 'टाइम छैन' आदि भन्दै कोहि पनि तयार देखिएनन।  पहिलो चोटी एक्लै त कसरि भाग लिनु, अन्यौल थियो । राजेश र प्रमोदले भाग लिन सक्छन भन्ने थियो तर दुवैले रुचि देखाएनन।

जेहोस मैले हल्का तयारी शुरु गरें । एउटा सामान्य साइकल लिएर सातदोबाटो हुँदै  ललितपुरका ग्रामिण भागमा प्राक्टिस गर्न थाले।  राजनजीले पनि एकदिन चलाउनु भयो, निकै सिपालु तरिकाले। उहाँ र म जाने निश्चित गर्यौ। अफिस तिर खै किन भुलिंदा दर्ता गर्न झन्डै भुलेको।  राजनजीले दर्तागरि एउटा टि-शर्ट लिएर आउनु भयो।

जाने कुरो त भयो राम्रो साइकल भेटिएन।  किन्न खोजेको कत्रो महंगो।  २० हजार घटी त सामान्य भाउ। झम्सिखेलदेखि ठमेलका स्टोरसम्म भाडामा साइकल पाइएन। सबै बुक। म संग घरमा एउटा साईकल थियो त्यै लिएर भएपनि जान्छु भन्ने लाग्थ्यो तर राम्रो ब्रेक, ग्रेअर र कम्फोर्ट नभएको साइकलमा यतिलामो यात्रा निकै कठिन हुने भयले छट्पटि लगायो।  'साइकल भेटिएन, म जान नपाउन सक्छु ' राजनजीले सुनाउनु भयो।  चिन्ता लग्यो।

यात्राको २ दिन अघि राजनजीले खबर गर्नु भयो 'भनसुन पछि ठमेलमा एउटा भेटियो लिन जाँदै छु।' म पनि गएं अर्को साइकल भेट्ने आशमा । निकै भनसुन र अनुरोधपछि  साउजी दाइले छिमेकी पसलबाट 'जाइन्ट' ब्राण्डको ३२ हजार पर्ने नया साइकल रु.५०० प्रतिदिनमा मिलाइदिनु भयो र भन्नु भयो - 'बेच्न राखेको हो स्क्रयाच नगरी दिनु।' कस्तो सस्तो लग्यो।  मैले 'हुन्छ' त भने तर बाटो कस्तो होला र यो साइकलको हालत के होला सोच्ने आट गरिन। बास्तवमा मेरैकारण रजनजीले निकै प्रयास गर्नु भएको।  पछि भन्नु भएको थियो।   राजेशजीले आफुले भाग नलिएपनि यात्रामा बोक्न मिल्ने एउटा सानो झोला दिएर समर्थन चाही गरे।

दुइटा साइकल लिएर म र राजन जी मेरो डेरा जावलाखेल तिर दौडियौं - ६.५ किमि, साइकल राख्न। भोलि बिहान यतै पाटन दरबार स्क्वायरबाट यात्रा सुरु हुन्छ।

पहिलो चोटी यत्रो लामो दुरी, नयाँ ठाउँ, नयाँ कुरो - भोलिको बारे सम्झिदै निकै छट्पटी  अनुभूति गरियो रात भर ।   मलाई आफ्नो 'कम्फोर्ट जोन' बाट बाहिर निस्किनुपर्ने थियो भने पहिला साइकल चलाउन नआएर भोगेका नमीठा पलहरुलाई क्षणिक बनाउनु थियो।

साइकलमा  काठमाडौँका गाउँबस्ति, सहर, गोरेटो, उकाली, ओरालीमा थकान, खुसि, पिडा, हाँसो साथ् एक चक्कर लगाएर  ५० किमि बढी चुनौतीपूर्ण कोरा (परिक्रमा) सम्पन्न गरेको कल्पना गर्दै कतिबेला निदाइयो पत्तै भएन।
 क्रमसः …   

No comments:

Post a Comment