Saturday, August 9, 2014

KORA2014: साईकलमा काठमाडौँको फन्को (३)

यो शृंखलाको अन्तिम ब्लग हो।  कोरा साइकल सकेपछि शरीर त थाक्यो तर मन चंगा भयो।  एकप्रकारको जीत, आफ्नै सिमा र डरमाथि। घामले डढेका पाखुराका डामहरु उजेलिन केहि हप्ता अझै लाग्ला तर त्यो यात्रा, त्यो साइकल परेड, त्यो जमात, बाटो, बाटामा घटेका स-साना घटनाक्रम र अन्य प्रसङ्ग सम्झिदै चियापसलमा साथीहरुबीच गफिन त झन् रमाइलो हुने।  त्यस्तै भैरहेको छ।  कोरापछि सोसियल मेडियामा आउने फोटो, अनुभव र प्रतिक्रियाहरुले निकैदिनसम्म चर्चा पाइरह्यो।  मैले यसअघि पोस्ट गरेका ब्लगहरु पढेर पनि  निकैजनाले अर्कोपाली भागलिने चाहनाका कुरा गरे । KORA2014 को Public Media Visibility बारेको यौटा Presentation मा मेरो ब्लग पनि थियो। थोरै ब्लगमध्ये नेपालीमा लेखिएको एउटै मेरो थियो।  संजिवले फरवार्ड गरेका थिए।  खुसि लाग्यो।

KORA2014 यौटा सामाजिक कार्यको निम्ति पनि आयोजना गरिएको भएकोले, मानवीय दायित्व स्वरुप केहि सहयोग जुटाउने प्रयास पनि  गरियो।  निकै साथीहरुले साइकलिङ्गको यो अभियानलाई सहयोग गर्ने बचन दिए।  त्यसले हौस्यायो।  गत २-३ हप्तामा तिनीहरु मध्ये अधिकांशले सहयोग रकम दिए।  मैले सोचेको भन्दा निकै बढी रकम उठ्यो अर्थात शुरुमा मैले आयोजकलाई प्लेज (Pledge) गरेको भन्दा ३ गुणा बढी।  जम्मा ३२ जनाले न्युनतम रु. ५ देखि अधिकतम् रु २,२२२  सम्मको सहयोग गरे। हाल अमेरिकामा हुने पूर्व सहकर्मी सुजन पण्डितले भने निकै उर्जा थप्नु भयो।  मेरो ब्लगमा हाम्रो उत्सुकता, रहर, हल्ला देखेर उनले पहिले गरेको सहयोगलाई डबल पारिदिए।

सहयोग रकम संकलन भएपछि गत अगस्त ४ तारिखमा Socialtour ठमेलका प्रतिनिधि श्री सुमन नेपालीलाई हस्तान्तरण गरें।  त्यो रकम Karma Foundations मार्फत Save the Children को 2M4Pyutaar Campaign जानेछ।  यो अभियान दुर्गममा सुरक्षित सुत्केरी गराउनको लागि सुबिधायुक्त बर्थिंग सेन्टर बनाउन  सहयोग जुटाउने हो।  यो  महान कार्यमा स-सानो सहयोग राशिको महत्व रहन्छ।  निम्न व्यक्तिहरुले सहयोग गरे।  यी सबैजनालाई जीवनभर सबै चिजले भरपुर होस् र यसरी नै सहयोग दिन पाई रहुन : 
  1. Aditi Oli
  2. Anita Shrestha
  3. Anju Tamang
  4. Anup Shrestha
  5. Ashima Shrestha
  6. Basanta Thapa
  7. Bhagawan Shrestha
  8. Bhawani Dahal
  9. Bikash Ghimire
  10. Gita Lama
  11. Jaya Laxmi Chaulagain
  12. Khagendra KC
  13. Kimat Adhikari
  14. Kiran Bam
  15. Merina Baidya
  16. Mirak Angdembe
  17. Mohan Bhurtel
  18. Neelima Lama
  19. Neeta Shrestha
  20. Pooja Pradhan
  21. Pradeep Shrestha
  22. Puja Bharati
  23. Pushpa Chaulagain
  24. Rajya Kunwar
  25. Sabina Adhikari
  26. Salina Shrestha
  27. Shilpa Shrestha
  28. Shrid Dhungel
  29. Sujan Pandit
  30. Sujan Raj Joshi
  31. Suraj Nepal
  32. Tilak Thapaliya


यो पटकको कोरामा शुरुदेखि नै सूचना दिने, हौस्याउने र एउटै टोली बनेर पुरै ५० + किमी यात्रा तयगर्ने साथी र सहकर्मी सहयात्रीहरु राजन, महेश, राजेश र संजीवलाई धेरै धन्यबाद।  यस्ता प्रयासहरु एक्लै निरसिलो हुन्छन तर साथीहरुको साथ सबै कठीन क्षणहरु पनि सहजे पार हुने।  
अब अर्कोवर्ष फेरी यस्तै कोरा हुने छ, कुनै नयाँ अभियान साथ - KORA2015. र मिले फेरीपनि यसमा भाग लिईनेहोला र त्यो बिषयमा अर्को ब्लग लेखिनेहोला।  
(नोट: यसमा प्रयोग गरिएका फोटाहरु फेसबुकमा कोराको एकाउण्टमा शेयर गरिएको र मेरो अफिसको दिपकजीले खिचेका हुन्।)

Sunday, July 20, 2014

KORA2014: साईकलमा काठमाडौँको फन्को (२)

 जुलाई १९, २०१४ शनिबार । साउनको महिना भए पनि आज भने झरी थिएन। मसिनो बादल र मधुरो घाम थियो। बिहान सात बजे पाटन दरबार स्क्वायर पुग्दा रातो,  निलो र पहेंलो टिसर्ट लगाएका सयौ साइक्लिस्टहरु जम्मा भइसकेका थिए।  परिबेश रंगिन थियो । सबै उत्साहित देखिन्थे। महेश, राजन, राजेश र संजिव पनि आईपुगे।  त्यो भीडमा साथीहरु समूह हुँदा त्यसै रमाइलो हुने।  हामीले एउटा अण्डा र केरा ब्रेकफष्ट पायौं। केहि पोज फोटो खिच्यौं। त्यस्तै ७:३० बजेतिर ७५/१०० किमि दुरीका साईकलिस्टहरु सुरु हिंडे। अनि ७:४५ पछि ५० किमि दुरीको प्रस्थान सुरु भयो। लस्कर यति लामो थियो कि म हिड्दा ८ बज्यो। अझै कति धेरै पछाडी नै थिए । साइकलको ताँतीले बाटो जाम परेको थियो।

बाटो मंगलबजार भित्र हुँदै जावलाखेल निस्क्यो।  साँघुरो बाटोले निकै बेर जाम भयो ।  अनि एकान्तकुनाबाट ओरालो भैसेपाटीको बाटो हुँदै दाँया मोडेर केहि उकालो अनि पुरै ठाडो ओरालो झरेर चोभारको  बागमती पुल पार गरि 'मन्जुश्री पार्क', चोभार गुफा भएको ठाउँ पुगेर पानी खाने विश्राम गर्यौं। यो रुट पोहोर भन्दा फरक थियो। पोहर हामी धोबिघाट तिरबाट झोलुङ्गे पुल तरेर टियुको उकालो हुँदै किर्तिपुर पुगेका थियौं।  यात्राको पहिलो फोटो सेसन गर्यौं।  3G भएकोले सोसियल मेडिया अपलोड सहज थियो।  तर एकछिन पछि मेरो मोबाइलको ब्याट्री सकियो, फोटो क्यामेरामा खिचें ।  लस्कर अघि बढ्यो।  फर्पिंगबाट आएको बाटोमा मिसिएर फेरी नागबेलीबाटो चोभारको डाँडा हुँदै किर्तिपुरका बस्ति भित्र पस्यौं।  यो सेक्सनको उकालोमा धेरैले साइकल डोर्याए।  अनि कहिले ले त राईड टर्मिनेट पनि गरे।  महेशको साइकलको ह्याण्डल बांगियो, मेण्टेनेन्स टोलि कतै टाढै थियो।  राजनले आइडिया निकाले र बन्यो।  'सो फार सो गूड' - महेश रमेका थिए।  
 
पहिलो रिहाईड्रेसन स्टेसन आयो।  स्थानियहरुले बाजागाजा साथ स्वागत गरिरहेका थिए।  केहि युवतीहरुले आसिनपसिन साईक्लिस्टहरुलाई पानि छ्यापेर सितलता दिइरहेका थिए।  ७५ र १०० किमिवालाहरुको बाटो अर्कोतिर लग्यो।  नगाउँ, पाँगा भएर एउटा साँघुरो, कच्ची, ठाडो ओरालो झरेर, पुल तरेर  फेरी उकालो चढ्यौं।  त्यतै खोल्सामा म, महेश, संजिव र राजन भेटियौ तर राजेश निकै अघि कुदेछन। 'आज बिहान घोडाको चना खाएर आएछ कि क्याहो निकै कुदिरा'छ त ?' केटाहरुले जोक बनाए। हामिहरु यौटा डाँडाको काखमा तेर्सो साँघुरो हिलेबाटो पार गरेर चौतारोमा पुग्यौं।  पहेलो भेस्टलाएका  भोलेण्टिएरहरुले ग्लुकोज पानी दिए।  तल गहिरोमा खोला थियो।  पारिपट्टि अर्को डाँडो। उत्तर-पूर्व तिर निकै आकर्षक शहरी दृश्य देखियो। काठमाडौँमै यो भूगोल अनौठो लाग्ने। केहि फोटो खिच्यौं । र हिड्यौं।



अब  रुट फेरी बस्तिबीच केहि तेस्रो र ओरालो झरेर नैकापतिर कतै हाईवेमा मिल्यो।  दायाँ मोडेर कलंकी तर्फ थोरै अघि बढेर सानो बाटो बायाँमोडेर भित्र  स्युचाटारतिर गयो । यो बाटो कलंकी, स्युचाटारको बस्ति-बास्ति, गल्लि-गल्लि हुँदै गयो। बाटोको यौटा पसलमा पहिलो बिश्राम गर्यौं। उखुको रस र केरा खायौं।  रंगीचंगी हेल्मेटसाथ अनगिन्ति साइक्लिस्ट देख्दा गाउँलेहरु अत्यन्त उत्सुक भएर सोध्थे।  अलिकति सहजबाटो अनि उकालो हुँदै सितापाईलाको चौडाबाटोमा हामी रामकोटतिर हन्नियौ। दिगो एकसरो उकालो। माथि दोबाटोमा दाहिने मोडिने ठाउँको पसलमा नासपाती र कुल्फी खायौं।  राजनको घर यतै पर्छ। स्पोण्डिलाइसिसको लागि औषधि र आराम गर्नुपर्ने मान्छे, हामी सबै जाने भएपछि जबर्जस्ति हिडेका रे। कतै यतैबाट घर जान्छन कि भन्ने लागेको थियो।  'मैले त साथीहरुसंग एकछिन भेटेर खानाखान घरै आउंछु भनेको थिएँ।  यसरि हिंडेको था'पाए त कराउन्छन् यार' ।" राजनले रहस्य खोले। एउटा ठूलो जमातले यतैबाट राईड क्विट गरेको सुनियो।

हामी अघि बढ्यौं। बाटोमा अर्को रिहाईड्रेसन स्टेसन आयो।  सेतोगुम्बा मुनिको बाटो हामि ५-७ जनाको झुण्ड एकछिन हरायौँ, गलत बाटो लिएर। स्थानिय महिलाहरुले बाटो सिकाए र हामि ठिकबाटो पुग्यौं।  थोरै उकालोबाट एउटा भन्ज्यांग काटेर सिधा ओरालो अनि एउटा डेड्लि टर्निङ्ग लिएर निकै रमाइलोबाटोमा गुड्यों।  सेतो गुम्बाको डाँडाको फेदी र रानीबनको काखमा रहेको बस्तिमा कुद्यों।  इचंगुको भूगोल।  साँघुरो गोरेटो, खेतको आली, गाउँको बाटो, चौतारी, पँधेरो, हरियाली, रुख, घाँस, ढुंगेधारा - अ पेर्फेक्ट साइकलिङ्ग ट्रेल !

बालाजुको बाटो माथि चोक पुगुन्जेल हामि छुट्टाछुटटै थियौं।  मैले बाटोमा केहि फोटो लिएँ।  स्थानिय केटाकेटीहरु कुरागर्न आए।  रमाइलो गफ भयो।  साइकल छोए।  मैले केहि प्रो-साइक्लिस्टसंग कुरा गरें। र फोटो खिचें।  त्यसपछि मनमैजु - गोंगबु - धापासी - महांकाल तिरका बस्तिभित्र नागबेलीबाटो, चोक, गल्लि, गोरेटो हुँदै साइक्लिस्टहरुको घुइंचो अघि बढ्यो। धेरैजसो निकै थकित देखिन्थे।  अब ससानो उकालोमा पनि साइकल डोर्याउनेहरु धेरै हुन थाले।  गोल्फुटारतिरको बाटोमा एकठाउँ राजेश फोनमा थिए।  इसारा गरे।  म रोकिएँ।  उनले भने - "महेश र राजनले क्विट गर्ने रे। केही सामान मेरो झोलामा छ।  लिन आउँदैछन । वेट गरौँ।" अघाडी अर्को बिस्राम स्थल थियो।  हामी त्यहाँ कुर्यों।  उनीहरु आए। र राईड त्याग्ने कुरो गरे -  'ह्या। . चलाएको चलायै छ, कैले पुग्ने? अब सकिन्न।' महेशले भने।  'मेरो साईकल गतिलो छैन।  जवर्जस्ती गर्यो भने थला पर्ला। भो छोड्ने अब' राजनको घोषणा।  फकाउने प्रयास भयो। 'ब्लगमा 'भगौडा' लेखिन्छ' भनेर तर्साइयो। राईड कम्प्लिट गरेमा 'मेडल' मिल्छ भनियो। ३० किमि त सकिसक्यो। अन्य उपक्रम पनि गरियो।   संजिव र उसको साथीहरुको समुहपनि आयो। कुनैपनि डिमाण्ड मान्ने तर राईड छोड्नु हुन्न भनियो। 'बौद्धसम्मलाई साईकल सापटी दिए जान्छु।' राजनले फ़ाइनल्लि माने। मेरो साईकल दिएं।  महेश पनि बाध्य भए राईड कनटिन्यु गर्न।  एक बजेको थियो र हामी बढ्यौं यात्रामा।

राजनको साइकलको गियर बिग्रेको थियो सायद। त्यो था'नापाउञ्जेल निकै अफ्ठ्यारो भयो।  साइक्लिङ्ग गर्दैगर्दा अल्झिएको गियरतिर हेर्दा आघाडी स्पीडब्रेकर नदेखेर म लडें।  साईकलले कोरेर हल्का घाउ पर्यो। बिस्तारै केहिबेर चलाएपछि थाहा लग्यो अघाडीको २ नम्बर गियरमा प्रोब्लम छ।  अनि संधै १ र ३ गियरमा चलाएर हिडें। गल्फुटार - कपन - महांकाल - बौद्धको गल्लि पस्दै निस्कंदै हामी बौद्धनाथ स्तुपाको प्रांगणमा पुग्यौं।  म एक्लै थिएँ।  अरु सहयात्री साइक्लिस्टसंग फोटो खिची मागें।  महेशहरुलाई मैले एकैचोटी 'समता स्कुल' बौद्ध-जोरपाटीमा लन्च ब्रेकमा भेटें।  एउटा जेरी, एउटा स्याण्ड्विच र एउटा केरा थियो लन्चमा।  केहिबेर आराम गर्यौं। राजनले साईकल फिर्तादिन मानेनन्। त्यो साइकल बनाउन खोजेको मेण्टेनेन्सको गाडी पुगेको थिएन। त्यत्तिकै हिंडे। हामी हिड्दा २:३० बजेको थियो। अब त्यहि १०-१२ किमी बाँकि होला।  

हामी गौरीघाटबाट आएको बाटो बायाँ खोलाको तिरैतिर जोरपाटीतर्फ अघि बढेर पक्कि पुल तरेर एयरपोर्टतिर मोडि उकालो चढ्यौं।  त्यो उकालोमा अन्तिम चोटी साइकल डोर्याइयो।  माथि डाँडाबाट बौद्धतर्फ (उत्तर-पश्चिम) को दृश्य सुन्दर देखिन्थ्यो।  अब एयरपोर्टको पूर्वीभागतिर ओरालो हुँदै हामी पेप्सीकोलाको सिधाबाटोमा हान्निएर जडिबुटी पुग्यौं।  बाटोहल्का पानी पर्यो।  नरेफाँट तिर पसेर गल्लिको बाटो हुँदै खोला छेउ बालकुमारी पुलमा निस्क्यौं।  रिङ्गरोडमा थोरै अघि बढेर बालकुमारी मन्दिरतिरको बाटो उकालो बढेर  पुरानो बस्तिको गल्लि गल्लि छिरेर अन्ततः पाटन  दरबार स्क्वाएरको उत्तर-पुर्वी कोणबाट भित्र पस्यौं। बिहान सुरुगरेको स्थानमै कोरा सम्पन्न गरेकोमा एउटा मेडल थपियो र यसपालिको ५० किमि कोरा यात्रा सफलतासाथ सम्पन्न भयो। 
 
करीब ८ घन्टाको निरन्तर अफ-रोड यात्रा, पसिना, थकान र चुनौतीपछि  KORA14 सम्पन्न गरियो। राइड समापन पछि पनि ५ किमि जति थप यात्रा गरेर भाडाको साईकल पुर्याउन ठमेल गइयो।  मेरो निम्ति यो राईड सम्पन्न गर्नुमा दुर्गममा 'बर्थिंग सेन्टर'लाई सपोर्टगर्ने अभियानमा  झन्डै ३० बढी मेरा साथीहरु र सहयात्रीहरुले देखाएको सहयोगको बचन मोटिभेटिङ्ग फ्याक्टर हो। आउने हप्ता त्यो सहयोग संकलन गरेर आयोजकलाई हस्तान्तरण गरिन्छ।  यसपाला आफ्नै साथीहरुको झुण्ड ठुलो भएकोले पोहर भन्दा निकै सहज र रमाइलो अनुभव भयो।

(नोट: यो ब्लगमा प्रयुक्त फोटोहरु साथिहरु, केहि बटुवा र सहयात्रीहरुले खिचेका हुन्।  क्यामेराको लागि सबिनालाई धन्यवाद)

Friday, July 18, 2014

KORA2014: साईकलमा काठमाडौँको फन्को (१)

पोहोर झैं यसपाली पनि काठमाडौँ कोरामा भागलिने विचार गरियो।  करिब डेढमहिना अघिनै रजिस्ट्रेशन खुलेको थियो। यसपाली कोराको निकै प्रचारप्रसार थियो, सोसियल मेडियामा।  ५० किमि, ७५किमि र १०० किमिका इभेन्ट थिए र करिब १००० बढी सहभागी हुने अनुमान गरेका थिए। ७५  र १०० किमिका राइड थोरै तर सिद्धहस्त साइक्लिस्टहरुले भागलिने दूरी हुन् भने ५० किमि सबैको निम्ति र सबै भन्दा धेरैले भाग लिने समूह हो।   हरेकसाल यो इभेन्ट कुनै सोसियल कामको लागि आर्थिक सहयोग संकलन गर्न आयोजना गरिन्छ।  पोहोर बैतडीमा एउटा बर्थिंग सेन्टर बनाउने थियो भने यसपाला ललितपुरको पिउटारमा त्यस्तै सेन्टर बनाउने। त्यस अघि सल्यानमा थियो।  



काठमाण्डु कोरामा यो मेरो दोस्रोवर्ष हुने छ । पोहर भागलिएको थिएँ र केहि रकम पनि संकलन गरेर दिएको थिएँ। त्यसको बारे लेखेको ब्लग यता छ KORA2013 र  Kora 2013 (2)  यो चोटी पनि केहि प्लेज गरेको छु।  झन्डै ३० जति अफिस र बाहिरका सुभचिन्तक र साथीहरुहरुले सहयोग गर्ने बचन दिईसक्नु भएकोले त्यो पुरा हुने विश्वास छ।  तर, अब मैले ५० किमि कोरा पुरा गर्नु पर्छ ।     

पोहोर म र राजन मात्र थियौं।  यसपाली अरु तीन पनि थपिने भए - महेश, राजेश र संजिव।  यिनीहरु गत नवबर्षको साइकल यात्रामा धुलिखेल पुग्ने टोलि हुन्।  त्यतिबेलाको स्मरण यता ब्लगमा छ। New Year in Cycle . हामी ५ जना हुने भयौं।  निकै रमाइलो हुन्छ होला ।  यसपालाको जर्सी राम्रो देखिन्छ।  राईड सम्पन्न गरेमा आयोजकले मेडल पनि दिने रे।  बाटोमा पानी नपरे र चर्को घाम नलागे त सहजै होला।   

कोराको राईड त्यति सहज हैन तर निकै रोमान्चक हुन्छ।  हामीले उही हाम्रो परिचित 'गोपाल दाई' को पसल क्षेत्रपाटीमा साइकल बुक गर्यौं।  मैरो भागमा ब्राण्ड न्यू CUBE ब्रान्डको साइकल।  भाडा रु १००० प्रति दिन।  सन्जिवले टिसर्ट कलेक्सन गरेर ल्याए।  अरुहरु भोलि बिहानै ठमेल आएर साइकलमा पाटन आउने भए।  मैले सुक्रबारै साइकल ल्याएर घर आएँ।  ५ किमि जति कुदें।  भोलि लाई सजिलो हुन्छ।   (क्रमस :::)  

For more about KORA2014 visit:
www.kathmandukora.net
Nepali Times - News on Kora Cycling