Saturday, April 7, 2018

सोसियल मिडियामा रारा: सुन्दरता र देशप्रेमको समीश्रण

फोटो @dharmRegmee ट्विटरबाट 


सोसियल मिडियामा रारा:  सुन्दरता र देशप्रेमको समीश्रण 

'म भन्दा सुन्दर कोहि छैन भन्ने ठान्नेले कि त रारा ताल नदेखेको हुनुपर्छ कि रारा भन्दा अगाडि नै जन्मेको हुनपर्छ'  
राराबारे सोसियल मिडियामा कस्तो चर्चा हुन्छ होला भनि 'सर्च' गरेको त यस्तै रमाइला पोष्टहरु भेटिए । त्यो भन्दा गजब कुरो देशप्रतिको मोहले शीर उँचो पार्ने तथ्य भेटियो। तपाईंलाई पनि यो रोचक लग्नसक्छ भनेर यो ब्लगमा उतारें ।


यसरी खोजें:  नेपालमा चल्ने सोसियल मिडिया साइट फेसबुक र ट्विटरमा प्रयोगकर्ताले गत एकबर्ष भित्रमात्र पोस्ट गरेका #ह्याश्ट्याग र कि-ओर्ड सर्च गरें ।  टुइटरमा ह्याश्ट्यागहरु #Rara #RaraLake #LakeRara #Mugu #रारा #राराताल #रारादह #मुगु  खोजियो भने त्यही कि-वोर्ड अरु सर्चको लागि पनि प्रयोग गरियो।  यसमा विज्ञापन र न्युजपोर्टललाई समेटिएन।

यो क्रममा केही थप रोचक जानकारी मिल्यो।  #Rara ह्याश्ट्याग अन्य प्रसङ्गमा पनि प्रयोग भएको थियो जस्तै हाइटीबाट सुरु भएको यौटा फेस्टिभल म्युजिकको नाम 'रारा' रैछ।  अमेरिकाको न्युयोर्कमा 'रा रा' नाउँको इण्डि रक ब्याण्ड चर्चित  रैछ।  अनि, स्ल्याङ्ग शब्दहरु राखिने अर्बन शब्दकोशमा पनि 'रारा' शब्द रहेछ जसको अर्थ हो: 
  1. The most beautiful and amazing girl ever. 
  2. Extremely sweet and kind and just so LOVABLE. Everyone wishes to be with this girl. 
  3. To be caught by a truly wonderfully amazing women. 
  4. Someone you will do everything and anything to make happy and keep a smile on her face

सोसियल मिडियामा ह्यास्ट्याग सहित पोष्ट गर्नेहरु २०१५ यता बढेका रहेछन् र ति सबैजसो नेपाली आन्तरिक पर्यटकले यात्रा पछि शेयर गरेका छन् । पोष्ट गर्ने मध्य निकै थोरैले लेवल, कि वोर्ड, वा ह्यास्ट्याग प्रयोग गर्ने रहेछन् ।  पोष्ट गरेका बिषयवस्तुहरुमा अधिकांशले राराको सुन्दरताको चर्चा गरेका छन्: 


नतिजा यस्तो भेटियो: 

'रारा' ताल मात्र होइन रहेछ यो त देशप्रेम जगाउने मुहान पनि रहेछ:  फुर्संदमा घुम्ने एक गन्तव्य त हो नि 'रारा' भनि सामान्य ठानिन्छ तर यसले त अनौठोसँग देशप्रतिको मोह जगाउने रहेछ । जतिसुकै दुर्गम र पिछडिएको किन नहोस् त्यहाँ पुग्नेको हृदय 'यो मन त मेरो नेपाली हो'  भनी भावनाले ओतप्रोत हुने रहेछ । नेपाली हुनुको गौरव दिन सक्ने निकै थोरै कुराहरु छन् सायद देशमा तर 'रारा' पुगेकाहरुले साँच्चै देशलाई अत्यन्त प्रेम गर्ने भावना व्यक्त गरेका छन्। यी पढ्नुस् केही प्रतिनिधि पोष्टहरु:
  • Gyan Bahadur Shahi कसैले सोध्य मलाई तपाईलाई कहाँ मन पर्छ मैले ठुलै सोरमा भन्दे #रारा #RARA #रारा
  • @videosansar11: यौटा स्वर्ग । जहाँ पुगेपछि नेपाली हुनुमा छुट्टै आनन्द लाग्छ । #रारा_ताल 
  • Shailendra Rawat: संनसार घुमाउनत सक्दिन तिम्लाइ रहर भय #रारा चाही घुमाइदिन्छु #नानि #boatingtime #raratal
  • Manoj KrishnaBhakta Giri: सयौ डाँडा काटी हिन्दा, बेथा बेग्लै हुन्छ, आफ्नै मुटु छेउमा हुँदा, मज्जा बेग्लै हुन्छ 
  • @kabitakc123: लाग्छ सधैभ यो प्रकृति मा खेलिरहु डुलिरहु कति रमाइलो यो मेरो जन्मभुमी #नेपाल अनि यो #रारा ताल 
  • Dinang Sherchan: हामी नेपाली विदेश भ्रमण गर्न मरिहत्ते गर्छौं । तर देशकै मनोरमस्थल घुम्नचाहिँ छुटाइरहेका हुन्छौं । सबैले एक चोटी पुग्नै पर्ने र हेर्ने पर्ने ठाउँ #रारा ताल#मुगु#कर्णाली
  • Ojha Hari: सिङ्गो कर्णालीको गहना राराको रमणीय बाताबरणले यस्तो माया लगायो यसरी मोहित बनायो सारा संसार फिक्का लागिरहेको छ । चिसो अनि सान्त बाताबरण कोलाहल बाट धेरै टाढा बेग्लै संसार #रारा ।
  • Sabin Rawal: एउटा स्वर्ग जहाँ छुट्टै अनुभुती हुन्छ #रारा
  • @kamalneupane13: जती घुम्नु आफ्नै देश घुम्नु!!!! #रारा 
  • @ManaviPaudel स्वर्गको एक टुक्रा पृथ्वीमा :)
  • @lu_piku बाटोमा यदि धेरै सहयोगी मान्छे भेटिए हेर्नुस, पैसाको लागि मरिमेती गर्ने ठाउबाट सहयोगकोलागी मरिमेती गर्ने ठाउमा आएको भान हुदैछ #रारा यात्रा
  • @bharatsBST: Just back from #RARALAKE what a beautiful lake proud to being Nepali . 
  • @dharmRegmee: have you been there..? if not, don't miss it in your life time. #raraLake #heavenOnearth 
  • @iamSamKelly: Sure #Nepal has #MountEverest, but it also has this gem: #RaraLake :) 
  • @crpokhrel: Jewell of the wild midwestern #Nepal 
  • ManjuShree Gyaba Tamang One can just spend their whole time gazing at the serene lake and feeling the peaceful vibes.
  • Samriddhi Rai: From now and then, just follow your heart, it knows what makes your soul happy. #rara #blissful #grateful #gorgeousnepal #sammyadventures #SAseason
  • Naseeb Dahal: Don't listen to what they say, Go see. #raralake. Life is beautiful, all you need is courage and you will go places
रारा आकर्षण, सुन्दरता र सम्मोहन: निसन्देहरुपमा राराको रुपले मोहित नहुने को होला र? आफुलाई प्रकृतिको काखमा सुम्पेर फर्केकाहरुका केही अभिव्यक्तिहरु यस्ता थिए:
  • Kala Subba‏:  एउटा बेग्लै अनुभुति एउटा बेग्लै जीवन #रारा
  • @kirrkur: अनि हामी झनै जवान भएर फर्कियौँ #रारा #यात्रा 
  • @gnsbabu: तिमी आकाशबाट झरेकी अप्सार #रारा । साँचिक्कै सुन्दर ठाउँ 
  • @Royal1437: मन हर्‍यो तालको सुन्दरताले । लाग्यो, मोहनी भन्ने शब्दसँग बल्ल मेरो भेट भयो । नजिक भएर पनि नपुगेजस्तो । चोरौं चोरौं, कतै लुकाऊँ, घुटुक्कै निलिदिउँजस्तै लाग्ने । मनले भन्यो कहाँ लिएर आइस् ? बल्ल रमाउन दिइस् मलाई ? 
  • @MrSharma1964: बिश्व सुन्दरी अहो! आफ्नै देशमा उत्कृष्ट रारा। 
  • @BeingPrateek1: रारा को किनारै किनार हिड्नु को मज्जा पनि बेग्लै हुने के ... ससुराली बनाएर, घरज्वाई बस्नु पर्ने ठाउँ ! :)) #रारा…. जहा मन भुल्छ सारा 
  • Sanjay Pariyar: दुरी जती नै होस्, आत्मियता समिपमा हुन्छ । पर्खाइ जती नै होस्, मिलनमा सबै धुमिल हुन्छ #रारा #उनि
  • Gyan Bahadur Shahi: आफै आएर मनमा बस्नेहरु निकै प्यारा लाग्छन् जा भन्न पनि मन नलाग्ने जस्तै #रारा
  • Shailendra Rawat: शब्द हरु धेरै छन तर जत्ती लेख्दा नि पुग्दैन मात्र लेख्न सकिन्छ #सुन्धर #रारा
  • Kalpana Bhattarai: उसलाई अाँखाभरी राखेर हेर्न पाईंन, मनभरी साँचेर छुन पाईंन; यस्तै यस्तै गुनासो म आफैंसँग गर्दैथिएँ । अब आएर मलाई बोध भएको छ, उसलाई जति हेरे पनि, जति छोए पनि धित नमर्ने रैछ किनकी उ छ नै त्यस्तो लोभलाग्दो ।#रारा
  • Aaryan Khadka: चोखो छ है यो मेरो माया राराको सङ्लो पानी जस्तै त्यस्तै- त्यस्तै-त्यस्तै तिम्रो ...भनेर नि के भन्नु 
  • @kimigayoOO7 : शूरूआत देखि अन्त्य सम्म #रारा को यात्रा एक आवस्मरणिय पलको रूपमा मानसपटलमा रहिरहनेछ ! 
  • @subedi_monika: Memory Card #broken But memories remain! #RaraLake. Still when I close my eyes I see this "Beauty of Rara) 
  • Diamond Giri:  ईश्वरले दिएको अमुल्य उपहार हो रारा।  मानव जातीको बेग्लै संसार हो रारा।  स्वर्ग खोज्न कता कता हिड्छस हे मान्छे ! शिवजी,गणेश,पार्वती बस्ने दरबार हो रारा।  
  • @sandeepVT: Into nature I go, lose my mind and find myself 
  • @arnoldpradhn: When you're speechless with the beauty and your body talks 

रारा फोहर र पर्यावरण बिग्रिने चिन्ता:
  • @YodanBahing: रारामा बाइक पुराएकोमा बेखुशी छु राष्ट्रलाई घाटा र बेफाईदा दुबै बेलैमा सबैको आँखा खुलोस् #रारा 
  • @TamuAnu: Gosh i must have been #stinking real bad coming just back from #lakerara The police refused to search my body thoroughly at the airport.
  • @babi_gurung: मुगुकाे मनमाेहक #RaraLake मा मात्र पाईने विश्वकै दुर्लभ माछा 'रारा यन्सेस' यहाँ पनि लाेप हुने खतरामा रहेछ। यसकाे संरक्षणमा उचित कदम चालियाेस। 
  • @luzanb: road trip to majestic rara lake - thrilling  #raralake 
राजनीतिको व्यंग्य र रोषको लागि पनि रारा बिम्ब प्रयोग भएको रहेछन् 
  • @TheTilaq:यो देशको ताल देखेर नि छक्क पर्छु यार। #राराताल हो यस्को नाम जो देखेरै छक्कपर्चम् हामि 
  • ‏@ppariyar: KTM मा भयको पिच माथि अर्को पिच पिच गरेको देखिन्छ,-#Nagma to #मुगु गमगडी ९६ Km ६ घण्टा लाग्छ तेता पिच गर्ने कि ? @Hello_Sarkar @PM_Nepal
  • @tech_lt: तिम्रो नाभीमा डलर छ । देख्नुपर्ने ले नदेखको मात्र हो । #रारा
  • @BBibek: For the promotion of #Karnali #PM is addressing people from #Rara Sounds good!!! But tourist gets afraid by seeing the dust of #Kathmandu First focus on making #Dustfree #Capital. 
रारा पुग्ने रहर र फर्किएर जाने चाहना:  
  • @bahuni88: #राराताल पुग्ने ठुलो रहर छ जाने पो को सङ 
  • @luni_ba: काकाजी नजलाउनु न हो, रंग रंगको #रारा देखाएर 
  • @SATANchuli: म आउंछु तिमीलाई फेरी भेट्न ... #रारा 
  • @pramodbha: फेरी पनि जान मन लागेको ठाऊ #रारा
  • @shanti_deep4: #मुक्तिनाथ #तिलिचो #रारा #मुस्ताङ्ग #कर्णाली #गोसाइँकुण्ड र बाकी कति होलान पता नहि!! यत्ती ठाँउ घुम्नकै लागि भएनी पैसो कमाउन पर्च 
  • @babigurung: प्रकृतिकाे खानी स्वर्गकि रानी, यसाे समय मिलाएर घुम्नका लागि मुगुकाे रारा ताल जानी।।  @sabienashrestha: You're bold. You're beautiful. You made me feel alive. Keep slaying ppl with your beauty. I know I'm coming back for you again!

अन्त्यमा: तपाईंले पढ्नुभो र अब अनुभूत गर्नु पनि भयो होला कि आफुमा नेपालीपन हुर्काउनु छ भने रारा जानु  पर्छ।  नेपाली  हुनुको गर्व महसुस गर्दै देशलाई प्रेम गर्न सिक्न रारा जानु पर्छ ।  त्यहाँ पुग्न लक्जरी सेवाको अपेक्षा कसैले गर्दैनन् बरु त्यहाँ पुगुन्जेल बाटोमा र रारामा न्यूनतम सुविधा उपलब्ध भए सबै दंग पर्ने रहेछन्। सबैजना राराको सुन्दरता बिग्रिने तथा पर्यावरणीय ह्रास हुने गतिविधि प्रति चिन्तित छन् । रारालाई 'विकास' गर्दा आउने 'साइड इफेक्ट' बारे बेलैमा सचेत हुन जरुरी छ। प्लास्टिकजन्य फोहोर बेलैमा बर्जित गर्न सुरु गर्ने। आफुले बोकेर लिएको फोहोर आफै निकुञ्ज बाहिर फिर्ता ल्याउनु पर्ने । तालछेउ उत्सव महोत्सव, भोज, पिकनिक जस्ता होहल्लाजन्य क्रियाकलाप नगर्ने । सरकारले नै सहुलियत भाडामा मेकशिफ्ट टेन्टहरु पर्यटकलाई मिलाइदिने । कोशेली र उपहारका सामग्रीहरु पाईने पसल खोल्ने । रारा प्रकृतिक पथमा हिडेरै पुग्नु पर्छ त्यसैले ट्रेलमा कुनै सिमेन्ट-कंक्रिट-जस्तापाताको प्रयोग बर्जित गर्ने । सामान्य सुबिधायुक्त होम-स्टेहरु र गाउँ घुम्ने ट्रेलहरु बिकास गरी पर्यटकको बसाइ लम्व्याउने । र, प्रचार सामग्रीहरुमा ह्यास्ट्यागको प्रयोग गर्ने ।   

अन्तमा, यदि सरकारलाई 'सरकार! यदि तिमि पनि देशप्रेमी हौ भने  सुबिधा बढाउ तर राराको सुन्दरतालाई बिगार्ने  कुनै हर्कत नगर ताकि रारा घुम्न पुग्नेहरु सबै फर्किंदा यसरी नै नेपाली हुनुको गर्व साथ फर्कि रहन सकुन् ।" भन्यो भने फरक पर्दैन नि ?    
--------------




Friday, April 6, 2018

एक अन्जुली पानी राराको


एक अन्जुली पानी राराको

शान्त, सुरम्य जलराशी
म व्याकुल तिर्खाएको यात्री
पीडा, दुखः बिर्सदै -
खुशी/हर्षको पहाड उक्लदै
भर्न पुग्छु - एक अन्जुली पानी राराको !

एक अन्जुली पानी
शान्त तलाउ भित्रको
हजारौं मनोरम आकृतिहरु बिगार्दै
छाल/तरङ्गका तरेलीहरु
पर.… पsर तालको गर्भ भित्र छिर्छन् ।

अन्जुली भित्रको पानी
हजारौं सुर्य खसाल्दै टल्कदै
इन्द्रेणीको लिस्नोबाट ओर्लन्छन्
तरङ्गहरु फेरी जिस्किन्छन्
दगुर्छन्… बिलाउन्छन् …अलापिन्छन् ।

अन्जुलीमा अडेको पानी
कन्चन… निर्मल…स्वच्छ पानी
म आफ्नो आकृतिको प्रतिविम्व भेटछुँ
मुस्काउँन्छु, प्राकृतिक ऐना देखी
पहाड। खोला। भीर।  खोंच
अनि भोक प्यास बिर्सेको मुहार ।

म हराउछुँ   अन्जुलीको पानीसंगै
एउटा स्वर्णिम स्वर्गीय आनन्दमा
हिमाल र गुराँस
पछाडीबाट अँगालो मर्छन्
हर्षबिभोर भएको म
अमृतको घडा सम्झेर निल्छुँ
एक अन्जुली पानी राराको !

(रचना मिति २०५५  बैसाख १६ गते, रारा)


     

Thursday, March 29, 2018

महाबु लाग्ना: बिर्सिईन लागेको बाटोको यात्रा - २


नाउली (२७०० मि) पुग्दा झम्मक्कै रात पर्यो  । ठाडो उकालो र ढुङ्गैढुंगाको बाटो उक्लेपछि फलेक छाएको दुइतले झुपडी होटल आयो ।  साहुनी बुढीमान्छे, तिनकी छोरी र नाती थिए ।  म सँगैका साथीहरुले चिनेका नातेदार पर्ने रहेछन् । त्यहाँ यौटा भेड़ीगोठाला पनि  भेटिए - सापुल्ली जुम्लाका बीरबहादुर रावत ।  बिगत १२ बर्षदेखि उनि आफ्ना भेडासंग यतै बन चरनमा हिडिरहँदा रहेछन् । आज उनकी छोरी भेडीगोठमा एक्लै रहिछन् । बेलाबेला स्काईफोन नेटवर्कको मोबाइलमा कुरो गरिरहेका हुन्थे ।  रावतजी बातैपिच्छे यति टुक्का जोड्थे कि बुझ्न हम्मे परेपनि सुन्न भने निकै रमाइलो लाग्थ्यो । लोकल रक्सि र आलुको तरकारीसंग उनीहरु गफिंदै गए । म छेउको पेटीमा पल्टिएर गफ सुन्दै बसें । उनीहरुका जीवनका अनेक आरोहअबरोहका कथाहरु सुनिए । ती बातचित समेटेको छुट्टै कथा ब्लग लेख्न पर्ला ।
            
सामान्य दालभात र आलुको तरकारी सहितको खाना अति मीठो, थपिथपि खाईयो । सुत्नलाई छेउकै अर्को झुपडीमा गयौं । चिसोचिसो कोठामा त्यहाँ ४ बेड थिए । दुइटा जोडीहरुलाई  दुइटा बेड, म र अर्को केटो एउटामा र बीरबहादुर बड्डा अर्कोमा सुत्यौं । गफ निरन्तर थियो । ब्ल्याङ्केट भित्रबाट कुरा गरिरहेको सुनिन्थ्यो।  म कतिबजे निदाएँ पत्तै भएन।  ब्युँझिदा त छ्याङ्ग उज्यालो भैसकेको थियो। उता चुलोमा बलेको मुढो निभेकै थिएन।  पानी तातिसकेको र सादा चिया पाकिसकेको थियो।  हामी तयार भएर यात्रामा अघिबढ्यौं । एकैछिनमा फेरी कुहिरोले ढाक्यो । फाट्टफुट्ट खुलेकोबेला माथी आकास भने निलो देखिन्थ्यो। अघाडी उत्तरतर्फ माहबु देखियो। ठडिएको।  त्यो पार गर्नु छ।

हामी महाबु लेकको फेद उनपाटा (३१०० मि) पुग्दा यौटा पसल भेटियो - राजबहादुर सिंहको । बाटोमा उनकोबारे  निकै सुनेको थिएँ।  दैलेख बजारमा भेटेका पत्रकार भुपेन्द्र शाहीले राजबहादुर र उनकी छोरीको नम्बर दिएका थिए।  बाटोमा संगै हिडेका जयबहादुरले पनि भनेका थिए । महाबु लेक पुग्नु अघि भेटिने यहि यौटामात्र अन्तिम पसल रहेछ । सिंहजी कतै गाउँतिर गएका रैछन ।  छोरीको बिहे भैसकेछ।  अहिले  पसलमा उनका ज्वाईं थिए ।  उनले पानी र  च्या/बिस्कुट खुवाए ।  १२-१५ होटल/पसल भएको यो ठाउँ बिगतमा निकै चल्ने बजार रहेछ तर जुम्लीहरुले हिड्न छोडेपछि भने स्वात्तै सुकेछ। यता बाटोकाट्ने काम हुँदा बीचमा केहिसमय चलेछ पनि । त्यस्तै माहाबु मेलाको बेला पनि केहिदिन अस्थाईरुपमा केही पसल खुल्ने रहेछन् । बाँकी समय खण्डहर झैं सुनसान देखिन्छ।  अचेल फाट्टफुट्ट आउने बटुवाको सेवा यै पसलले दिएको छ ।  'मान्छे यै पसल भेटिन्छ भन्ने आशले हिडेका हुन्छन्।  छोड्न नि नसकिने ।  चलाइरहेका छौं ।  यो रोड बाटो खुले त दिन फर्किन्थे कि ?' ति ज्वाईंले बाध्यता र आभिलाषा  एकैचोटी सुनाए। 'हामीले पनि त्यै खोजेको, एकदिन त बन्ला नि !" हाम्रो टिमको कसैले भन्यो । मेरा साथीहरु यो लेकको ठ्याक्कै अर्को पट्टीपर्ने डिल्लिकोट गाउँका हुन् ।  उनीहरुलाई नजिकको राजमार्ग भेट्न उल्टोबाटो हिड्नु पर्ने भएकोले यो बाटोले  उनिहरुमा पनि दिन फर्किने आशा थियो ।  हामी दिउँसोको खाना खानलाई त्यै डिल्लिकोट गाउँ पुग्ने गरी माहाबु लाग्ना काट्न लाग्यौं ।

'रोड'को बाटो कुहिरोले ढाकेको थियो ।  त्योबाटो  हुँदै काँध पुग्न केही घण्टा लाग्ने रहेछ । पहिला खच्चड र भेडा हाँक्ने बाटो पनि यहि हो । तर हामी भरिया हिड्ने परिचित छोटो बाटो उक्लियौं । भीर र पखेरोको चट्टान उक्लिने बाटो खासमा बाटोजस्तो थिएन । कतैकतै ठूला लाम्चा ढुंगा अड्याएर पाइला टेक्ने ठाउँ बनाएको थियो।  ति ढुंगाका काप र चराहरुबाट घाँस उम्रेर त्यै गोरेटो पनि ढाकिएको थियो । त्यसैले लाग्थ्यो कि यो बाटोमा अचेल मान्छे त्यति हिंड्दैनन् । अघाडी बढिसकेपछि पछाडी फर्किनै मुस्किल हुने ।  आफ्नै झोला र लठ्ठी कतै अल्झेर, ठोकिएर चिप्लिएला जस्तो ।  भीरको बाटो तल हेर्यो पुरै रिङ्गटा लाग्ने, माथी हेर्दा झन् 'क्याप' टोपी खस्ने । घाँसका त्यान्द्रा समातेर वा ढुङ्गाका चुच्चा पक्रिदै  ६०-७० डिग्री स्लोप उक्लिन पर्ने । 'रक क्लाईम्बिङ्ग' गरेको जस्तो लाग्ने । श्वास र मुटुको गति दौडीरहने, पसिना बगिरहने। लेकको टुप्पो हेर्दा नजिकै देखिन्थ्यो तर २-३ ठाउँ आराम गर्नु पर्यो । त्यहिबेला माथी आकासमा प्लेन देखें  ।  सायद त्यो जुम्लाबाट नेपलागंज उडेको थियो । एकछिन् त्यो हेर्दै हवाईयात्राको आनन्दानुभुति कल्पना गरें।  ती मेरा साथीहरुले कुनै गुनासो बिनै उकालो काटे र  मैले पनि पछ्याएँ । केही संघर्ष पछि हामी महाबु (३४५० मिटर) पुग्यौं ।

माहाबुको काँधमा दाहिनेतिरको चट्टाने पखेरो मुनि 'सिमेन्ट'ले बनेको धरमशाला थियो । देब्रेतिर घाँसीलो डाँडामा घोडाघोडी चरिरहेका थिए । उत्तरतिर कालिकोटका केही बस्तीहरु, पर क्षितिज तिर जुम्ला, मुगु  र हुम्लातिरका डाँडा देखिए । एकधर्को हिमाचुचुरा देखिए ।  त्यसभन्दा पर तिब्बत पर्छ सायद । काँधबाट झर्दैगर्दा पानीका मुहानहरु देखिए ।  भर्खर खनेको ढुङ्गैढुङ्गाको बाटो केही तलपुग्दा 'महादेव' को थान भेटियो । साउनभदौ तिर ठूलो मेला लाग्छ रे । हामीले पनि दर्शन गर्यौं । नाङ्गो घाँसे डाँडा सकिए पछि आउने खर्सु लगायत उच्च भेगमा हुने बनस्पतिको जङ्गल, खोल्साखाल्सी हुँदै लसुनढुङ्गा पुग्न एकघण्टा जति लाग्यो । जङ्गलले घेरिएको  सुन्दर घाँसे फाँट लसुनढुङ्गामा गाइबस्तुहरु रमाएर चरिरहेका थिए। बीचतिर केही गोठ यौटा भत्केको गेट थियो।  गेटकै तल यौटा घेरबार गरेको झुपडीमा यौटी सानीकेटी र बाख्राको पाठा उफ्रिरहेका देखिन्थे। फाँट सकेर गाउँ झर्ने ओरालोको छेउमै पसल भेटियो । बाटैमा बसेका केही महिला र काठको पेटीमा बसेका पुरुषहरु गफिंदै थिए। मेरा सहयात्रीहरुको ढोगभेट चल्यो र हालचाल सुन्न सुनाउन थाले।  मैले पानी र चिया खाएँ। भोक लागेको थियो तर मलाई त्यहाँ 'खाना' खान दिएनन्।  शाहीजीले गाउँ पुगेर आफ्नै  घरमा खानुपर्छ भनिसकेका थिए ।  केहि मिनेट ओरालो झरेपछि गाउँ देखियो ।  खेतका तरेलीहरु, थुम्का र फाँटमा कतै छरिएका, कतै जोडिएका काठ र ढुंगाले छाएका घरहरु, मकैका बारी र आसपास घना जङ्गल - डिल्लीकोट गाउँ निकै सुन्दर देखिन्थ्यो ।


गाउँको बीचतिर शाहीजीको घर रहेछ ।  उनकी आमा, ससाना केटाकेटी, र अरु गाउँले महिलाहरु कुरा गरिरहेका थिए । म पेटीमा बसेर आराम गर्न लागें । उनको सानोछोराले मकै भाँचेर ल्यायो।  बाहिरै चुलो थियो, उनकी श्रीमतीले पोलिदिईन। अघि बाटोमा मैले मकैको चर्चा गरेको थिएँ।  त्यै सम्झेर पोल्न बसेको रे ।  ठुल्ठुला दुई घोगा खाइ नसक्दै केहीबेरमा रोटी तरकारी ल्याइदिईन। फटाफट त्यो खाएर हिड्ने तरखर गर्दै थिएँ उनले भनिन् 'खाना पाक्दैछ, एक्कैछिन है ।' मैले कुरोको प्रसंग नबुझेको जस्तो ठानेर तल बारीबाट शाहीजी ले थपे  'घरमै आएका मान्छे, खाना नखाई त जानु भएन । भात पाक्दै छ।' मतलब त्यो २ घोगा पोलेको मकै, तिनवटा रोटी  र दुई बटुको तरकारी खाइ सकेर पनि अब भात नखाई हिड्न नपाउने भएँ  म । अघि हामी  यहाँ पुगेको केहीबेरमा घरकी बुढीआमा रोईरहेको देखेको थिएँ तर किन भन्ने बुझ्न सकेको थिईन । अहिले गाउँकी यौटी महिला आएर सोधपुछ गरिरहेको सुन्दा थाहा पाएँ कि उनकी बुहारी, अर्थात शाहीजी कि श्रीमती जो हामी संगै हिंडेर आएका थियौं, बिरामी भएर दैलेख बजार गएकी रहिछन् र उतै उनको गर्भ तुहिएछ ।  त्यत्रो बाटो  हामी संगै हिंड्दा उनी सहयोगी, फरासिली, छरिती थिइन् । हामीसबै भन्दा चाँडो हिडिरहेकी हुन्थिन् । कतैपनि त्यो  पीडा बोकेर  हिंडेको भेउ नै पाइनँ ।

'खाना' खाएर उनीहरुसँग छुट्टीदा तीन बजिसकेको थियो । शाहीजीको श्रीमतीले बाटोमा खानु भन्दै दुईकोशा पोलेको मकै झोलामा हालिदिईन। म ओरालो झरेर खेतैखेतको बाटो खोल्सो तरेर पारीपट्टी पाखाको बाटो काम्खेत गाउँहुँदै अघिबढें । यो गाउँमा एउटा बिहे रहेछ । सहनाई र दमाहाको  बाजाले डाँडाकाँडा गुञ्जिरहेको थियो ।  हुड्के नाच हेर्न भनि परपर गाउँका मान्छेहरु आइरहेका भेटिए । मलाई पनि रंग हेर्न यतै बसुँ भन्थे तर सकिनँ।  हिडें । ओदाँ गाउँको मुनिपट्टीबाट झोलुङ्गेपुल तरेर पादमघाट (१,५२० मिटर) पुग्दा साढेचार बज्यो ।  चिल्खाया पुग्न अब एक डेढ घण्टाको उकालो छ रे ।  चिया र पानी खान बसें।  नजिकै सानी नानीहरु गीत बजाएर नाच्न थाले । त्यो देखेर मलाई रमाइलो र आनन्द लाग्यो।  तिनीहरुलाई अघि शाहीजीको घरबाट बोकेको मकै दिएँ र  थप नाच्नअनुरोध गरें । उनीहरु निकै सुन्दर नाचे र  मैले भिडियो खिचें ।

अबको बाटो संगै जाने कोही साथी भेटिन्छ कि भनि पर्खेको तर कोही भेटिएन । एक्लै उकालो लागें । केहीबेर मै अध्यारो हुन लाग्यो । माथी डाँडातिर घाँस काटेर फर्किंदै गरेका महिलाहरु देखिए तर तिनीहरुलाई मैले भेट्नै  सकिनँ । कतमपुर गाउँ नपुग्दै झमक्कै भयो । खेतको आली र कुलो मिसिएको बाटो निकै चिप्लो थियो । जुत्ता हिलोमा गढेर भिजिसक्यो ।  मोबाईलको टर्चले नजिक त देखिन्थ्यो तर हिड्ने बाटो चै अनुमानको भरले अघाडी बढ्नुपर्थ्यो । संघर्षमय डेढघण्टा पछि यौटा पसल भेटें ।  पानी मागें ।  साउजीले पानीसंगै काँक्रो पनि ल्याएर दिए र अनि सोधे  'काँ जाने?'  मैले 'चिल्खाया' भनें।  'यतिबेला? अबेर भैसक्यो त। यतै बस्नुस' उनले सुझाव दिए।  भित्र केहि मान्छेहरु थिए।  गफ गर्दै थिए या रक्सि खाँदै वा दुवै।  मलाई यता बस्नु थिएन।  'साथीहरु अघाडी गैसके' भनें । 'ख्वै कुनबेला गएछन् , हामीले त देखेनौं ।' उनले मेरो कुरो पक्रे ।  तर म पानी खाने निहुँ गरी चुप बसें र हिड्ने तरखर गरें।  'पर्खनुस! बाटो चिप्लो, अफ्ठ्यारो छ, फेरी राती डर पनि हुन्छ।  हाम्रा केटाहरुले पुर्याइदिन्छन' भनेर ३ जना केटाहरुलाई मेरो साथ लगाईदिए । मनमा केही तर्कना लिंदै उनीहरुको साथ लागेर हिंडे ।  उनीहरुले बोकेको टर्चले बाटो झन् उज्यालो र सजिलो भयो।  गफ गर्दैगर्दै केहीबेरमा ठिन्के (२१३० मिटर) पुग्यौं।  उनीहरु फर्किए।  म त्यतै पसलतिर भेटिएका यौटा मान्छेको साथ लागेर पर गाउँमा इन्द्रराज दाईको घरमा बास बस्न पुगेँ ।

भोलिपल्ट दिउँसोतिर चंद्रप्रकाशभाई र म गाउँको पूर्वउत्तरतर्फबाट जंगलको ठाडो ओरालो बाटो हुँदै तिलानदीको झोलुङ्गे पुल तरेर पारीपट्टी 'बाली' भन्ने ठाउँ पुग्यौं।  यो कर्णाली राजमार्ग हो । केहीबेरमा बस भेटियो र म जुम्ला तिर लागें।  मेरो पूर्ववत् योजना अनुसार फूलपातीको दिन घर पुगें। यात्राको गज्जब अनुभव सहित।

नोट: यो ब्लगमा प्रयोग गरिएको समुन्द्र सतहबाटको उचाई मोबाईलले रेकर्ड गरिएको हो । 

यात्राको भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोस: https://www.youtube.com/watch?v=3UZcoDiKOb4यसको पहिलो अंक (यात्रा - १) पढ्न यता क्लिक गर्नुहोस्।  http://madhavjee.blogspot.sg/2018/03/blog-post_23.html



---समाप्त----

Friday, March 23, 2018

महाबु लाग्ना: बिर्सिइन लागेको बाटोको यात्रा - १

कर्णाली राजमार्गमा गाडी गुड्न सुरु गरेपछि स्वतः महाबु र हाउडी लाग्ना काटेर जाने बाटाहरु बिर्सिइन लागे । तर यो ब्लग त्यै बाटो हिडेर जाँदाको अनुभव हो:   

दशैँको जुम्ला यात्रा 
२०७४ सालको दशैं छुट्टीमा महाबु लेकको बाटो हिंडेर जुम्ला जाने रहर आयो । नवरात्र शुरु भैसकेको थियो । काठमाडौबाट कामको सिलसिलामा नेपालगंज पुगेको थिएँ । दशैँमा घर जान लागेका प्रसस्तै भेटिए ।  कोही  प्लेनमा त कोही गाडीमा घर जाने तयारीमा थिए । कतिपयले मैले 'यसपाली म हिडेर जाने' भन्दा अचम्म मान्थे। त्यसपछि  "को को जान लागेको? भनि सोध्थे । 'एक्लै' भनेपछि त झन् पत्त्याउन मुस्किल मान्थे। कर्णाली राजमार्ग खुलेयता हिडेरै जुम्ला जाने भन्दा हाँसउठ्दो सुनिन्थ्यो होला। तर, मलाई भने त्यो भुल्न थलिएको महाबु लेकको बाटो एकचोटी फेरी हिड्न रहर लागेको थियो। एसएलसीपछि पहिलोचोटी शहर /तराई झर्दा र त्यसपछि  मोटरबाटोले नजोडिञ्जेलसम्म जुम्लादेखि सुर्खेत पुग्न हिंडेरै महाबु वा हाउडी लेक हुँदै १०-१२ चोटी ओहरदोहर गरेको थिएँ । जुम्लाको सबैभाग, कालिकोट, मुगु र डोल्पाको केहिभागमा बस्ने मान्छेका पुर्खाहरु यही बाटो हिडेका थिए। सानोमा देशारु र हटारुले  सुनाउने बाटाका डरलाग्दा र रोमान्चक कथाहरु सुनिथ्यो -  माहबुको बाटो कठीन छ, ठाडो भीर छ, हिउँले खान्छ, चोरको बिगबिगी हुन्छ आदि।  तर, आफ्नो अनुभवमा  भने यो बाटोको केहीखण्ड यौटा साहसिक यात्रा झैँ लागेको थियो।  त्यही 'फील' गर्न फेरी हिडें - बिर्सिएको त्यो पुरानो बाटो।

अतिरिक्ति झोला र पैसा प्लेनबाट जुम्लाजान लागेका बिष्णु भाइ र धर्म भान्जालाई जिम्मा लगाएँ।  म यौटा क्यामेरा, सानो झोला बोकी नेपालगंजबाट माइक्रो चढेर सुर्खेत लागें । त्यो रात त्यहाँ बसें।  दैलेखी धर्म दाइको नातेदारको होटल।  केही भेटघाट र काम सकें। अर्को दिन बेलुका सुमो चढेर दैलेखबजार पुगें।  डम्बरदाइ र पवित्रा भाउजुकोमा बसें।  एक दशक भन्दा पछि भएको हाम्रो भेट राती अबेरसम्म रमाइलो गफ गरेर बित्यो।  भोलीपल्ट बिहान यतै खाजा खाएँ।  यज्ञजी (पवित्रा भाउजुको भाई) भेटिए। उनीसंग त झन् डेढदशक पछि भेटेको।  एकछिन संगै बजार घुम्यौ।  गाउँको भतिजो डा. महेश नि भेटियो जो दैलेख अस्पतालमा कार्यरत थियो।  बजारमा एउटा लठ्ठी टेक्न मिल्ने छाता किने।  यज्ञजीले  भनेर यौटा केटोले बाईकमा उत्तरतर्फ बाटो केही माथी भैसिखोरसम्म पुर्याइदियो। यस्तै एक बजेको थियो होला । अब मेरो 'हिड्ने' यात्रा शुरु भयो।

पैदल यात्राको सुरुवात (दिन १) 
केहीबेर हिंडेपछि उकालोनेर सानो बस्ति आयो। यौटा घरमा पानी मागें।  महिलाले सोधिन् 'कता जाने?' मैले 'जुम्ला' भने।  तिनी हाँसिन्।  'रोड बन्द छ र? उनले सोधिन्।  'खोइ? थाहा भएन' मैले भनें।  'एक्लै?' फेरी सोधिन्।  मैले सबै वृतान्त बताएँ। कुरोगर्दै जाँदा उनीहरु धनाडा, कालिकोटबाट आएका न्यौपानेहरु रहेछन।  मावली पो परेछन् । तीन पुस्तामा ७-८ घर फैलिएको रहेछ। बातमार्ने चाहना हुँदाहुँदै हिड्न पर्यो।  पहिलो उकालो जोशले उक्लिएँ। फाट्टफुट्ट ओरालो झरिरहेका महिला र गाइ चराईरहेका बालबालिका भेटिए।  हावा चलिरहेको थियो।  घाम टाउको तिरै थियो। परतिर अनेक डाँडाहरुको  तुवालोमय तरेली देखिन्थ्यो।  पूर्वोत्तर भागमा नौमुले, पश्चिमतिर डांडिमाडी पर्दछन्।  पछाडी दक्षिणतर्फ दैलेखबजारको केही  अंश अझै देखिन्थ्यो।  तल केहिबस्ति, जंगल र खेतका सुन्दर तरेलीहरु देखिन्थे।  एकघन्टा हिंडेपछि उकालो सकियो।  ट्रयाक खोलेको रोड घुमेर यता मिसियो। केहि माथि बाटैको आडमा यौटा घर भेटियो। बुढी महिला थिइन्। बुढा बिरामी रहेछन।  सुतेका थिए।  कटुवाल थरि रहेछन्।  ४ जना केटाकेटी आए।  नातिनातिना रहेछन्।  यौटी नातिनी त पाथरखोला, जुम्लाकी रहिछन। यतै  प्लस टू स्कुल पढ्ने।  म हिंडेरै जुम्ला जाने भनेको त सुरुमा कसैले पत्याएनन् । उनले चिया बनाउदै गर्दा हामी गफिन थाल्यौं। बिस्तारै पुराना दिन सम्झिन थालिन् - उ बेला जुम्ली हटारुको घुइंचो यति हुन्थ्यो कि बास मिलाउन र खाना ख्वाउनै हम्मेहम्मे पर्थ्यो रे। एकहुल खच्चर उँभो, अर्को हुल उँधो । "यो बाटोले जुम्ला जोडेपछि त फेरी त्यो रौनक फ़र्किएल नि!" मैले भनें।  'खोइ हामी बाचुन्जेल देख्न पाइन्छ कि नाइँ' शंका गरिन्। 'आउला, आश गरौँ ' भन्दै  च्या सकेर म हिडें।

अलि उकालो काटेर डाँडाकै डिलमा तेस्रोबाटो आयो।  दुइजना गफिदै गरेका मान्छे भेटिए। फोटो खिचिदिनुस है भन्ने बहाना मिलाएर कुरा गरें। एकजना त मै जाने बाटोतिर जाँदै रहेछन।  जयबहादुर कटुवाल।  माथि महाबुसैनतिर कतै तिनको भेडीगोठ रहेछ। त्यहाँसम्म साथी बन्ने भए । भेडा पाल्ने उनको पुस्तैनी पेशा रहेछ।   करीब ३ घण्टा गफगर्दै संगै हिड्यौं । सामाजिक परिवेश, राजनीति, चाडपर्व, चालचलन अनेक बिषयका कुरा भए। चरन क्षेत्र साँघुरिएकोले अचेल भेडा पाल्न गाह्रो पर्दै गएको रहेछ तर पाल्न सके अचेल भेडा/खसीको भाउ निकै पाईन थालेछ।  'केटाकेटीहरु  पढ्न शहर पठायो, फेरी यता फर्की कामधाम गर्ने हैनन्! यो यत्तिकै हराउने त होला' उनले चिन्ता ब्यक्त गरे। आधुनिक तरिकाले व्यवसायिक भेडापालन गर्नसके यसको  बजार र भविष्य छ। जयबहादुर दाइसँग कदम मिलाएर करीब दुईघण्टा उकालै उकालो हिडिसकें उनि त विश्रामको नामै लिन्नन्। म भन्दा १० बर्ष जेठा मान्छेसँग हिडेको मैले  जति नथाकी हिड्ने प्रयास गरेपनि उनीसंग सकिनँ।  इँट भन्दा माथि उकालोको बीच हामी यौटा अग्लो चट्टानमा सितलहावा खाँदै केहीबेर बस्यौं । दशरते भन्ने ठाउँ बाटैमा उनका भेडाका बथान भेटिए। उनका साथी भेडी गोठालाहरु सँग परिचय गराए र मलाई छोड्न भनि ओखरबाससम्म आए। बाटोमा केही केटाकेटी हाम्रो साथ लागे। यौटा २० बर्ष हाराहारीको निकै स्टाईलिस केटो थियो। भर्खरै गुजरात इन्डियाबाट घर फर्केको रहेछ।  मैले भिरेको क्यामेरा देखेछ क्यारे फोटो खिचि माग्यो। जिन्सको पछाडी पाकेटबाट काईयो झिक्यो र निकै नक्कल परेर उसको जुल्फी कपाल मिलायो।  चट्टानमा, बाटोमा थरीथरी पोजमा फोटो खिचायो। र अन्तमा व्ह्वट्सएप माग्यो। मैले  छैन, म चलाउन्न भने।  अनि मेरो फेसबुक आइडी माग्यो र भन्यो  'म छुट्टी सकेर शहर फर्केपछि फेसबुकमा जोड्छु, यी फोटो त्यसैमा पठाई दिनु है' । र संगै ओखरबाससम्म साथ लाग्यो। पुरानो भैसकेका ४-५ वटा पसल थिए।  हामीलाई भोक लागेको थियो । उसैले यौटा पसलतिर डोर्यायो । यौटी हँसमुख साहुनी थिइन् पसलमा । उसैकी दिदी रहिछन् ।  निकै परिकार पकाउन जान्दछु भन्दै यताउता खोज्यो तर  चाउचाउमात्र भेटियो । त्यै उमाल्न लग्यो।  'जुम्लातिरमा मान्छेले हिड्न छोडे पछि त ओखरबास बजार त के पुरै सुकिसक्यो ।  धेरैले ठाउँ छोडिसके।  हामी जाने ठाउँ नहुनेहरु मात्र यतै छौं।' उसकी दिदीले भनिन्।  'म पनि यता गाउँतिर केहि काम नहुने भनि काठमान्डू गएँ। तर महँगो। अनि त इन्डिया गएँ।' केटोले थप्यो।  चर्चा गाउँतिर अवसर नहुने, काम नपाइने बारे थियो।  'अनि यो ठाउँको दिन फिर्न लागे जस्तो छ त? जुम्लातिर जाने यो बाटो र मध्यपहाडी राजमार्ग पनि नजिकैबाट रहेछ। अनि त फेरी मालामाल होला नि यो ठाउँ' मैले थपे। 'खोई कैले हो कैले' दिदीले शंका जनाई।  'यो बाटो त निकै छोटो हुन्छ रे नि त सर तपाईहरुलाई जुम्ला पुग्न।" जयबहादुरदाईले थपे। 'हो, तर माथी लेकतिर कसरी जाला?' मैले भने।  'महाबुको लेकमा यसपाला साउने मेलामा ट्याक्टर पुगी सक्यो नि' दिदीले भनि । बाटो बन्ने र गाडी गुड्ने सम्भावना निकै रहेछ। जयबहादुरदाइले र मैले मिठोमान्दै तात्तातो झोल खायौं । उनि फर्के, म अघाडी बढें।

वस्ती कट्न लाग्यो। अब एक्लै परियो भन्ने सोच्दै थिएँ पछाडी पाँचजनाको टोली आइराखेको देखें।  रोकिएँ।  छेउको पसलमा उनीहरु रोकिए।  गएर सोधें।  उनीहरु 'डिल्लिकोट' जाने रहेछन। आज सकेसम्म नाउली पुग्ने भने।  यो अघाडी महाबुसैन र त्यसपछि नाउली।  उनीहरु खाजाखान केहीबेर अल्मलिने भएकोले मैले हिड्दै गर्ने बिचारले अघि बढें। तुरुन्तै  जङ्गल शुरु भयो।  घना थियो।  कुहिरो लग्यो। अध्यारो भयो।  किरा र चराको एकनासले आवाज मात्र सुनिथ्यो। म एकसुरले हिँडिरहें । बाटोमा कोहीपनि मान्छे भेटिएन। पछाडी हेर्दै गरें। ती डिल्लीकोटकाहरु पनि देखिएनन।  डेढघण्टा पछि यौटा डोजर देखियो। यौटा झुपडीमा मान्छे देखे र बाटो सोधें।  यौटा शर्टकट सिकाए।  रुख र झारले जेलिएको बिल्कुल आठ्यारो र अध्याँरो बाङ्गोटिङ्गो रेखाजस्तो गोरेटोबाटो बल्लतल्ल पार गरेर सजिलोबाटो पुग्दा कुहिरो झन् बक्लिएर वरिपरि केहि नदेखिने भैसक्यो।  नजिकको बाटो पहिल्याउदै अघिबढ्दा माबुसैनको होटल भएको ठाउँ कतिबेला छुट्यो पत्तै भएन।  केहि अघाडी एकैचोटी यौटा नाके उकालो भेटियो । यतिबेला छ बजिसकेको थियो । कुहिरो केही कम भयो तर घाम डुबिसकेको थियो । जसरी पनि यो उकालो काट्नु पर्छ नाउली पुग्न । तर,  बाटो घाँस र चट्टानको उवड्खावड भित्र कतै हराएर भेट्न मुस्किल हुन सक्थ्यो । थोरै चिन्ता लग्न थाल्यो तर विकल्प थिएन।  लागें उकालो नाप्न  (फेदीको अल्टिच्युट २५३० मिटर)

'ओ सर! रोकिनुहोस्' कसैले बोलाएको सुनें । फर्केर हेरेको त अघि ओखरवासमा छोडेका मान्छे रहेछन।  'पख्नुहोस्! अध्यारो भैसक्यो, संगै जाउँला' एकजनाले फटाफट नजिकै पुगेर भने । "तपाइँ त फटाफट आइहल्नु भएछ। माबुसैन हेर्यौं, तपाईंलाई देखेनौं अनि हामी पनि  हिड्यौं यतै।  माथी बाटो अफ्ठ्यारो छ।  नाउलीमा यौटैमात्र होटल छ। बासमिल्न मुस्किल हुन्छ कहिले।  हाम्रा चिनजानको होटल हो संगै बसौला । त्यसैले संगै जाउँ।" सास फुलाउदै एकैचोटी सबै बताए। मलाई त देउता भेटे झैँ भयो।  सहर्ष धन्यबाद दिएँ र उनीहरुलाइ पछ्याएँ।  गफगर्दै उनीहरुको गति र चालमा हिड्दा बाटो काट्न सजिलो लग्यो। उनि (शाहीजी), उपचार गराएर फर्केकी उनकी श्रीमती, भारतबाट फर्केका दुइजना युवाहरु र ती मध्ये यौटा युवाकी श्रीमती जो अनमी पढाइको छुट्टीमा घर फर्किएकी युवती गरि हामी ६ जना भयौं।  झमक्कै साँझ पर्यो। शाहीजी कि श्रीमती टर्चबोकेर आघडी  लागिन्।  तिनलाई पछ्छ्याउन निकै हम्मे पर्यो मलाइ। हामी नाउली (२६९० मि) पुग्दा ८ बज्यो। असिनपसिन जिउ खर्सुका मुढाबालेर आएको रापमा सेकिएर सुस्ताउन थाल्यो ।
(क्रमशः )
-------------------
यो यात्राको भाग -२ पढ्न यता क्लिक गर्नुहोस्: http://madhavjee.blogspot.sg/2018/03/blog-post_29.html
यो यात्राको भिडियो हेर्न यता क्लिक गर्नुहोस्:   https://www.youtube.com/watch?v=3UZcoDiKOb4

Monday, March 19, 2018

कर्णाली प्रदेशको बर्तमान अवस्था र अबको बाटो

सेतोपटीमा चैत्र १८, २०७४ मा प्रकाशित https://setopati.com/opinion/149026

संघीयताको सबैभन्दा बढी लाभ लिन सक्ने सम्भावना भएको प्रदेशको रुपमा कर्णालीलाई हेर्न सकिन्छ । किनकी एकीकरण यताका सवा दुईसय बर्षसम्म केन्द्रीय सत्ताको वेवास्ता सहेर हेपिएको महसुस गरिरहेको कर्णालीले संघीयताको कार्यान्वयन संगै अब आफ्नो भाग्यको फैसला आफै गर्न सक्ने भएको छ । खस राज्यकालीन कर्णाली समृद्ध रहेको इतिहास साक्षी छ । शीतकालीन तथा ग्रीष्मकालीन राजधानीको अवधारणा सहितको राज्य संचालनको मोडल, रीतिथितिमा चल्ने सहिष्णु समाज, खाद्यान्नमा आत्मनिर्भरता, भोट र मधेश जोड्ने व्यवस्थित व्यापार चक्र आदि तत्कालीन समयको बृहत कर्णाली राज्यका अनुकरणीय अभ्यासहरु हुन् । 

सशक्त व्यवस्थाले बनाएको आर्थिक स्वावलम्वन र सम्पन्नताले खसराज्यको प्रभाव र फैलाव नेपाल (काठमाण्डौ), लखनउ, काश्मीर र तिब्बतसम्म पुगेको गौरवशाली ईतिहास छ । अब कर्णालीले त्यो बैभव पुनःस्थापित गरी समृद्धिको नयाँ आयाम कोर्न सक्नेछ । पछिल्लो समय सबैले सम्भावनाको भुमि देख्नुमा कर्णालीको इतिहास, संस्कृति, परम्परा, भाषा, भेषभुषा, पर्यटन, वनस्पति, जडिबुटि र जलश्रोत मुख्य कारण रहेका छन् । त्यसैले अचेल चुनावका नारा, योजनाका खाका, नेतृत्वका भाषण र आम मानिसका सपनाहरुमा समृद्ध कर्णालीको चर्चा बढिरहेको छ । विकासका अनेक मोडेलहरुको खोजी भइरहेको छ । स्थानीय सरकारहरु र नवगठीत प्रदेश सरकारमा यौटा महत्वाकांक्षा छ र आम जनताहरु पनि तीव्र आशा पालेर बसेका छन् । 

के ती सबै सम्भावनाहरु मुर्त हुन सक्लान् ? के प्रदेश सरकारले त्यो क्षमता राख्दछ ? सरकारका प्राथमिकताहरु के हुनपर्छ ? र चुनौतीहरु के छन् ? यी प्रश्नहरुलाई ध्यानदिन जरुरी छ । यथार्थको धरातल भन्दा निकै माथिबाट देखिएका सपनाहरु पूरा नहुँदा ‘मास फ्रस्ट्रेशन’ निम्तिन सक्छ । छिटै समृद्धि ल्याउने तिव्र लालसाले बन्ने हचुवा नीति, योजना, प्राथमिकता र खर्च प्रणाली र त्यसले सृजना गर्नसक्ने कार्यान्वयन पक्षका कमजोरी, अदुरदर्शिता  र अनियमितताले अपुरणीय क्षति हुने खतरा हुन्छ । कर्णाली प्रदेशको अगाडिको बाटो सजिलो पटक्कै छैन । त्यसैले, अहिलेको प्रदेश नेतृत्वले लोकप्रिय बन्नलाई नभई सुझबुझपूर्ण निर्णय लिनसक्नु अपरिहार्य छ । 

कर्णाली प्रदेशको बर्तमान अवस्थालाई एकचोटी तथ्यांकमा हेरौंः

भूगोल र जनसंख्याको बेमेल तालमेलः यो प्रदेशले ३० हजार ३ सय १३ बर्ग किलोमिटर भूगोल ओगट्छ जुन समग्र देशको २० दशमलव ५ प्रतिशत हो । हालको अनुमानित जनसंख्या १७ लाख १ हजार ८ सय छ जुन समग्र देशको ५ दशमलव ४ प्रतिशत मात्र हो । यसैगरी, देशको जम्मा घरधुरीहरुमा  २ लाख ९८ हजार ३ सय ६० अर्थात् ६ प्रतिशत घरधुरी यस प्रदेशमा रहेका छन् । प्रदेशको विशाल हिस्सा हिमाली क्षेत्रले ओगटेको छ भने बाँकी भाग पहाडी क्षेत्र छ । विकट भूभागमा अवस्थित थोरै जनसंख्या र छरिएका बस्तीहरुमा पूर्वाधार र सेवाको पहुँच बढाउनु निकै चुनौतिपूर्ण र खर्चिलो हुन्छ । यस प्रदेशमा प्रति सय बर्ग किमि क्षेत्रफलमा मोटरबाटोको घनत्व केवल ८ दशमलव ७२ किलोमिटर मात्र छ जबकी अन्य प्रदेशमा यो दर १८ देखि ७१ किमिसम्म छ । मोटरबाटोबाट मूलधारसँग नजोडिएका २ मात्र जिल्ला हुम्ला र डोल्पा यसै प्रदेशमा पर्दछन् । फलस्वरूप, जम्मा १७ दशमलव ४ प्रतिशत घरधुरीले मात्र ३० मिनेटभित्र बजारसम्म पुग्ने पहुँच राख्न सक्छन् जबकि अरु प्रदेशमा यो आँकडा ३२ प्रतिशतदेखि ५७ दशमलव ५ प्रतिशतसम्म छ । विद्युत उत्पादनको प्रचुर सम्भावना भए तापनि हालसम्म सरकारी र नीजि लगानीमा जम्मा ६ सय ४२ दशमलव ६५ मेगावाटको पिपिए भएको छ ।  

मानव विकासको कमजोर अवस्था र गरिबीको चक्रः  कर्णाली प्रदेशको मानव विकास सूचक सबैभन्दा न्यून ०.३९० छ जबकि राष्ट्रिय औसत ०.४९० छ । साक्षरता दर पनि सबैभन्दा न्यून ६२ दशमलव ७७ छ जसको राष्ट्रिय औसत ६५ दशमलव ९ हो ।  सरदर आयु सबैभन्दा कम अर्थात ५५ दशमलव ६ बर्ष मात्र छ जबकि राष्ट्रिय औसत करिब ६१ बर्ष छ । त्यसैगरी, औसत प्रतिव्यक्ति आय पनि राष्ट्रिय औसत ७१८ भन्दा निकै कम ४७४ दशमलव ८६ अमेरिकी डलर बराबर मात्र छ । कर्णाली प्रदेश सबैभन्दा बढी गरीब बस्ने प्रदेश हो । 

राष्ट्रिय योजना आयोगको भर्खरै प्रकाशित प्रतिवेदन अनुसार राष्ट्रिय औसत २८ दशमलव ६ प्रतिशत भन्दा निकै माथी कर्णाली प्रदेशमा ५१ दशमलव २ प्रतिशत गरिबी छ । अर्थात् यहाँको हरेक दोस्रो व्यक्ति बहुआयामिक रुपले गरिब छ । यसको मूल कारणहरुमा बाल मृत्युदर उच्च हुनु, बालबालिकामा व्याप्त कुपोषण, विद्यालय शिक्षामा कमी, खाना पकाउने इन्धनको अभाव, घरका छाना तथा भुइँको कमसल अवस्था, सरसफाईको कमी, विद्यालयमा न्युन उपस्थिति र पानीको अपर्याप्तता हुन् । 

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले इंगित गरे अनुसार नेपालमा ५ वर्षमुनिका बच्चामा हुने पुड्कोपनाको दर औसत ३६ प्रतिशतहुँदा कर्णाली प्रदेशमा ५५ प्रतिशत छ । अर्थात्, हरेक २ जनामा एक बच्चा पुड्को छन् । अझैं पनि बाल मृत्युदर प्रति हजार जीवित जन्ममा ५८ रहेको छ । सबैभन्दा निरक्षर जनता भएको स्थानीय तह पनि यसै प्रदेशमा पर्छन् ।

प्रदेशको कमजोर सामथ्र्य, अपुरो बजेट र अनिश्चित श्रोतः सामथ्र्यका हिसावले कर्णाली प्रदेश सबैभन्दा कमजोर छ । कुल ग्राहस्थ उत्पादन (जिडिपी)मा यो प्रदेशको योगदान हालसम्म एकदमै न्यून छ । प्रदेशगत उत्पादनका विविध क्षेत्रहरुमा यस प्रदेशले कृषि तथा बनपैदावरतर्फ ५ प्रतिशत, निर्माण कार्यतर्फ ४ प्रतिशत तथा थोक र खुद्रा व्यवसायतर्फ ३ प्रतिशत हिस्सा ओगटेको छ । पर्यटनको प्रचुर सम्भावना बोकेको यस प्रदेशले होटेल र रेस्टुराँ तर्फको जीडीपीमा केवल २ प्रतिशतमात्र योगदानगर्न सकेको छ । 

प्रदेशको आफ्नैे भरपर्दो राजस्वका आधार र आन्तरिक श्रोतहरु छैनन् । तिब्बततिरका भन्सारहरु सक्रिय छैनन् । ठूला उद्योग धन्दाहरु स्थापना भएका छैनन् । पर्यटन भर्खर बामे सर्दैछ । यौटै श्रोत भनेको केन्द्र सरकारले विनियोजन गर्ने बजेट हो । यसवर्ष सातै प्रदेशले बराबर समानीकरण रकम रु. १ अर्ब २ करोड ५ लाखको बजेट प्राप्त गरेका छन् । यो रकमबाट हाल प्रदेश सरकारको स्थापना र संचालन गर्नुपर्ने हुन्छ ।  भर्खरै आगामी बर्ष प्रदेश सरकारहरुको बजेट सीमा १५ अर्ब हुने खबरले के ईंगीत गर्छ भने कर्णाली प्रदेश सरकारले सो भन्दा थोरै बजेट पाउने छ ।    

स्थानीय तहमा हुने विकास निर्माण र नियमित सेवा प्रवाहको सबै खर्च स्थानीय सरकारले गर्छ । स्थानीय सरकारहरुले वित्तिय समानीकरण अनुदान र सशर्त अनुदान प्राप्त गरेका छन् । यो आर्थिक वर्षमा कर्णाली प्रदेशका २५ नगरपालिका र ५७ गाउँपालिका गरि ८२ स्थानीय तहमा जम्मा २० अर्ब  ५ करोड ६८ लाख १५ हजार रकम गएको छ । योे स्थानीय तहमा विनियोजित कुल बजेटको ९ प्रतिशत मात्र हो । आगामी बर्षको सीमा बढ्ने भएता पनि अनुदानको हिसाब निकाल्ने सुत्र नसुधारेसम्म बजेट पाउने अनुपात भने सुध्रिने छैन । 

अर्थ मन्त्रालयले हालै जारी गरेको मध्यावधि समीक्षा प्रतिवेदनले यो आर्थिक वर्षका आठ महिनामा एक तिहाई भन्दा कम खर्चको काम भएको देखाएको छ । प्रतिवेदनले स्थानीय तहमा हस्तान्तरण भएको तर असार मसान्तसम्म खर्च हुन नसकेको सशर्त अनुदानको रकम नेपाल सरकारको संचित कोषमा फिर्ता गर्न सबै स्थानीय तहमा अनुरोध गर्ने भनेको छ । सरकारले चालु खर्चको लागि यस बर्ष सबभन्दा धेरै आन्तरिक ऋण लिन परेको छ । खर्चका दायराहरु बढ्दै गइरहेको परिप्रेक्षमा आगामी दिनमा सरकारी ढुकुटीले सहजै धान्न सक्ने अवस्था छैन । प्रतिवेदनले आगामी बर्ष स्रोतको सुनिश्चितता गरेर मात्र बजेटको आकार निर्माण गर्न सुझाएको छ । 

अब बजेटको निकासा पनि किस्तामा हुनेछ । स्थानीय तहले आउने आर्थिक बर्षमा उदार भएर खर्च गर्ने छुट हुने छैन । बाह्य ऋण परिचालन पनि सहज छैन । संघीय संरचना अनुसारको विकास सहायता नीति तथा परिचालनका मापदण्डहरु तयार पार्नै बाँकी छ । स्थानीय तह र प्रदेश सरकार विविध माग बोकेर संघीय सरकारका मन्त्रालयमा ‘डेलिगेसन’ यात्रा गरिरहन पर्ने हुन सक्छ । 

अनन्त सम्भावना, आकांक्षा र यसका सीमाहरुः अचेल धेरैले कर्णाली प्रदेशलाई सम्भावनै सम्भावनाको खानीको रुपमा चित्रण गरेका छन् । उपयुक्त पूर्वाधारको निर्माण गरी उद्योगको रुपमा विकास नभएसम्म ती सम्भावनाहरुबाट तुलनात्मक लाभ लिन सकिने अवस्था छैन ।  पूर्वाधार निर्माणको नाउँमा गरिने गल्तीले वातावरणीय सन्तुलन बिग्रेर उल्टै ती सम्भावनाहरुको क्षय हुनसक्ने डर हुन्छ । प्रदेशका गाउँहरुमा अचेल व्यापक रुपले अव्यवस्थित वस्ती र बाटोको निर्माण भैरहेको छ । उत्पादनशील जग्गाहरु मासिने क्रम तीब्र छ । 

पुराना मौलिक शैलीहरु धमाधम मासिदै सिमेन्ट, कंक्रिट र जस्तापाताका संरचनाहरु कुरुपवस्ती बनेर ठडिदै छन् । स्थानीय सरकारहरुको पहिलो रोजाई ‘डोजर’ किन्नुले के संकेत गर्छ भने जताततै खनेर, रुख विरुवा ढालेर विनाशलीला बढ्दैछ । रुख कतै रोपिएको छैन । वनजंगल बढाउन ठोस कदम कसैले चालेको पाईदैन । खानेपानीका पुरानाश्रोतहरु सुकिरहेका छन् । नदीहरुमा बहाव घटिरहेको छ । बनपाखा, लेक र पाटनका चौरमा उब्जिने कतिपय जडिबुटीहरु लोपोन्मुख भैसकेका छन् । जडिबुटीको व्यावसायिक उत्पादन छैन । 

मौलिक खाद्य र नगदे बालीहरु संकटमा पर्दै गएका छन् । उत्पादन लागत र बिक्रिमूल्यको बीच सन्तुलन छैन । स्थानीय उत्पादनले बजारमा यत्तिकै प्रतिस्पर्धा गर्न सक्दैन । सरकारको ‘सब्सिडी’ आवश्यक छ । जनस्वास्थ्यका सेवा पर्याप्त र प्रभावी छैनन् । सार्वजनिक शिक्षा प्रणाली अस्तव्यस्त छ । गुणस्तरीय शिक्षामा गरीबको पहुँच छैन । सुशासन आधारहरु कमजोर छन् । सरकारी कार्यालयले दिने सेवाप्रति भरोसा टुटेको छ । भ्रष्टाचार व्याप्त रहेको गुनासो छ । जताततै दलीय युनियन राजनीतिले गाँजेको छ । 

अबको बाटो

विद्यमान वास्तविकतालाई आत्मसात गर्दे संयमित, सन्तुलित र दीर्घकालीन हीतका प्राथमिकताहरु केलाउन जरुरी छ । तत्कालीन प्रतिफल हेरेर गरिने लगानी त पूँजीबादी राज्य संरचनामा हुन्छ, संबिधानमै समाजबाद उन्मुख लेखेकोले सोको बिचार पुर्याउनु आवश्यक छ । संबिधानले सातवटै प्रदेशलाई समान हैसियत दिएकोले अव कर्णालीलाई फरक ढंगले हेर्देउ भन्नु बलियो नैतिक आधार रहेन । 

बजेट बाँडफाँडमा प्रयोग गरिने सुत्रमा भूगोल, सामर्थ, जनसंख्या र अन्य सूचकहरु जेसुकै प्रयोग गरे पनि जनघनत्वले बढी भार पाउने व्यवस्था रहुन्जेल भूगोलका हिसावले ठूलो तर कमजोर सामथ्र्य भएको प्रदेशले कहिल्यै फाइदा लिन सक्दैन । तसर्थ, यस प्रक्रियामा सकारात्मक विभेदको नीति लागू गर्न पहल गरिनु पर्छ । यसको दीर्घकालीन समाधान संबिधान संसोधनबाटै गरिनु जरुरी छ, जसले कर्णालीलाई निश्चित अवधिसम्म बिशेष स्वायत्तता प्राप्त प्रदेश बनाएर राज्यले अतिरिक्त लगानी गर्नु पर्छ । साथै सो अवधिभर प्रदेशको जमिन किनमेलमा विशेष निगरानी र कडाई गरिनु पर्छ ताकि गरीब जनताको भुमिको स्वामित्व कायम रहोस् । राज्यले अहिले गरेको लगानीको शोधभर्ना कर्णाली प्रदेशले भविश्यमा दिनेछ ।

प्रदेश सरकारले नीति योजना निर्माण गर्दा निकै सोचविचार गर्नु जरुरी छ । तत्काल ऋण परिचालन गरि ठूला योजना सुरु गर्नु अघि के सोचौं कि कतै यसले जनताको थाप्लोमा केवल ऋण मात्र थपिने त हैन ? श्रोत र अनुभवको अभावमा गरेका गलत कदमले दीर्घकालीन असर पर्न सक्छ । कम खर्चिला र स्थानीयको सहभागितामा गरिने योजनाहरुलाई प्राथमिकता दिनुपर्छ । 

शासकीय सुधारका प्रयासहरु अत्यन्तै जरुरी छ किनकी देश राजनीतिक र प्रशासनिकरुपमा पुनर्संरचना भए पनि सेवा प्रवाह गर्ने कतिपय प्रणाली र संयन्त्रहरु पुरानै छन् । दुई दशकदेखि एकखाले ढर्रा र शैलीमा चलेको कर्मचारीतन्त्र एकाएक सुध्रेला भन्न सकिने आधारै छैन । यही संयन्त्रबाट गरिने योजना, निर्णय र कार्यान्वयन चुस्त हुने कुरामा विश्वास गर्न सकिन्न । त्यसैले अब प्रदेश सरकारले मितव्ययी र छरितो प्रशासन प्रणाली आरम्भ गर्नैपर्छ । परम्परागत शैलीको कर्मचारी व्यस्थापन, खटनपटन र कार्य सम्पादन मुल्यांकन गर्ने पद्दती हटाएर नियमित रुपले राष्ट्रसेवकको सीप र क्षमता जाँच्ने र कार्य सम्पादन करार नवीकरण गर्ने प्रणाली लागू गर्न सकिन्छ । नीजि तथा सार्वजनिक साझेदारी बढाई सेवा प्रवाहलाई चुस्त पार्न सकिन्छ ।


जनस्वास्थ्य सेवा प्रणालीको अनुगमन तथा मुल्यांकन विशेषज्ञको रुपमा कामगर्ने लेखक चौंलागाई कर्णाली प्रदेश तातोपानी गाउँपालिका लाम्रा गाउँका बासिन्दा हुन् । 


Wednesday, April 26, 2017

नयाँबर्ष २०७४: भोटेकोशी तिर (भाग ३)

२०७४ बैशाख ३, आइतबार।  द लाष्ट रिसोर्ट, भोटेकोशी 
हामी तातोपानी र केही पर नेपाल-चीन बोर्डरसम्म पुगेर बन्जी गर्नेठाउँ फर्किंदा मध्यन्न्ह भैसकेको थियो।  ट्याण्डम स्विङ्ग चलिरहेको थियो।  यता पुलबाट बन्जी र स्विङ्ग दुबै खेल चल्ने रहेछ।  त्योबेला पुलमा  हिड्न बन्देज थियो। झोलुङ्गेपुल नहाल्लियोस भनेर। वारीपट्टी बाटो किनाराका पसलका झ्यालबाट स्विङ्ग खेलेको हेर्यौं। सानो ब्रेकमा मान्छेहरु ओहोरदोहोर गर्थे।  रिसोर्टका यौटामान्छे आए, साथीले चिनेका।  आज हावा बेसरी चलेकोले अहिलेसम्म बन्जी शुरुनभएको कुरो सुनाए। वेटिङ्गमा बस्न भने।  पारी रिसोर्टमा गयौं। देशीबिदेशी पर्यटकहरु थिए। करिब ४०-५० जना पालो कुरिरहेका। साथीले बन्जी नगर्ने। पहिले धेरैचोटी आएर पनि फर्किसकेको उ मेरो लागी कुरिरहेको थियो। मैले रसिद काटे।  २५% छुटमा रू ३,६०० तिरें। हावा चलिरह्यो। यताउति डुलेर टाइमपास गर्नतिर लाग्यौं। यसैबीच स्टाफ आएर तौलनाप्यो । काँटाले देखाएकोमा ३ केजी बढाएर मेरो हातमा मार्क गरिदियो। एउटा कागजमा स्वस्थसमस्या नभएको घोषणा गरेर सही गर्न लगायो। र कुर्न भन्यो।


हावा केहि रोकियो।  एक बजिसकेको थियो।  बन्जी सुरु भयो।  तौल समूह मिलाएर बोलायो।  कमतौल भएकाहरु पहिले।  धेरै जना थिए। सबैजसो महिलाहरु। निश्चित केहि निर्देशन सिकाउछ।  पुलबाट जम्प गरेर तल झरेपछि उल्टो पारेको जीउलाई डोरी खिचेर सुल्टो पर्ने र केहि इसारा दिएपछि अर्को डोरी खस्छ, त्यसले माथि तानेर ल्याउने रहेछ। एउटा चिनिया केटीले त्यो स्टेप बिर्सी छ क्यारे, झुण्डेको झुण्डेइ भइ। सायद भाषाको समस्या होला वा उ डराएकोले वा नर्भस भएकोले बिर्सी।  निकै बेर लाग्यो उसलाई रेस्क्यु गर्न।  अर्को रोप खसालेर, त्यसबाट क्रू झरेर मद्दत गर्न गयो। त्यै बेला डोरी माथि तान्ने मेसिन बिग्रेछ क्यारे, अब दुवैजना झुण्डिए।  यसचोटी त  सुल्टो थियो। ६-७ जना क्रू मेम्बरहरुले रथको डोरी ताने झैँ गरेर तिनीहरुलाई पुलमा तानेर उद्धार गरे। अब रोकियो बन्जीको क्रम। फेरी सुरु हुने नहुने टुंगो भएन।

धेरैजना थिए क्युमा अझै ।  काठमाडौँबाट बिहानै आएका दुई बस थिए। बन्जी रोकेर केहीबेर स्विङ्ग चालु गरे।  डोरी तान्ने मसिनले काम नगरे तल खोलाको किनारमै ल्यण्डिङ्ग गर्ने विकल्प सुनाए। डोरीले पुलमै तान्ने मसिन आउनु अघि डेढबर्ष पहिलेसम्म त्यही गरिन्थ्यो। लामो बाँसको टुप्पो समातेर भुइँमा बिछ्याएको टेन्टमा ल्याण्ड गर्न पर्नेहुन्छ। अनि, खोलाको किनाराबाट रिसोर्ट हिंडेर फर्किंदा २०-२५ मिनेट ठाडो उकालो हिड्नु पर्छ रे।

मधुलाई अबेर भयो।  डिउटी जानपर्ने। उ  हिड्यो।  म कुरें यताउती गर्दै,  बन्जी गर्न पाउने आशमा। अनिश्चितता कायमै थियो। केहीबेरपछि हावाको बेग निकै कम भयो। मसिनले पनि काम गर्यो।  बन्जी सुचारु भयो।  म मुनिको तौल समूह बाँकी थिए। उनीहरुको पालो आयो।  चार बज्यो। बल्ल हाम्रो तौल समूहको पालो आयो। एउटा महिला सहित १५ जना जति भयौं । पुलमा टेक-अफ गर्ने बिन्दु नजिक लामबद्ध गराए। समूह भित्र बढीतौल हुनेलाई पहिले जम्प गराउने रहेछ। रस्सिको ईलास्टिसिटि र अन्य टेक्निकल कारणले तेसो गर्छ भन्थ्यो। यस हिसाबले मेरो पालो अन्तिम २ जना भन्दा मात्र अघाडी पर्यो।
पुलमा बसेर नजिकैबाट क्रुको ईन्स्ट्रक्सन, जम्प गर्नेहरुको तयारी,मनोदशा, हाउभाउ र प्रतिक्रिया नियाल्न पाइयो। एकजना अस्ट्रेलिया-इन्डियन सबै तयारी पश्चात हामफाल्ने बिन्दुमा पुगेर डराएर फर्क्यो। यौटी महिला सहित २ अरुले पनि बडो कठिनता पछि अत्यन्त डराउँदै हाम फाले। यो सबै नियाल्दै बस्दा निकै रमाइलो, रोमान्चक, डर मिश्रित अनुभूति हुन्थ्यो।  मेरो पालोमा मैले के गर्ने हुँला, सक्छु कि सक्दिन, जसरी पनि जम्प गर्नुपर्छ जस्ता कुरा मनमा खेल्थे।  हावा निकै मन्द भएको थियो। यस्तोमा पुल र रस्सी कम हल्लिन्छ र जम्प सहज र सुरक्षित पनि हुन्छ रे। कुर्दै गर्दा बन्जी क्रुले बेल्ट लगाइदियो। दुइ तिघ्रा हुँदै, कम्मर र काँधसम्म बेर्ने बेल्ट थियो, त्यसमा हार्नेस र अरु फित्ताहरु जोडिएका थिए।  दुवै खुट्टाको पिडुला बेर्ने अर्को कफ बाँध्यो। गफगर्दै बेल्ट कस्यो। रमाइलो पाराले हँसाउँदै  र सिकाउंदै कुरा गर्थ्यो। जसले जम्परहरुको चिन्ता हटाएर जोस भर्न मद्दत हुन्थ्यो। मेरो पालो आयो।  ५ बजेको थियो।   

जम्पिंग प्लेटफर्ममा गएँ। फिल्म क्रुले बायाँ नाडीमा गो-प्रो बाँधिदियो। भिडियोको लागि बाईट लग्यो।  अर्को क्रूले हार्नेस, बेल्ट फेरी चेक गर्यो। इन्स्ट्रक्सन फेरी दोहोर्यायो। र 'वाक लाईक अ पेन्गुइन, फ्लाई लाईक अ बर्ड' भनेर अघाडी पठायो। जम्पगर्ने पोइन्टमा अर्को क्रुले पछाडी बिस्तारै पक्रेर प्लेटफर्मको छेउसम्म खुट्टा आधा बाहिर पुग्ने गरि उभिन भन्यो। गहिरो खोंचमा मसिनो बगेको भोटेकोशी, दुवै किनारा तिर बगर, ढुंगे ढुंगा, अनि दुवैतर्फ चट्टाने ठाडो भिर र घाँस, मन्द हावामा सुसाइरहेका केहि रुखहरु। खुट्टामुनि हेरें, मन सिरिङ्ग गर्यो।  सिधा अघि हेरे, पर डाँडा, आकाश र क्षितिजतिर।  सपोर्ट दिईरहेको क्रुले सोथ्यो 'माधबजी तयार हुनुहुन्छ ?' म: 'यस!  रेडी छुँ' उ: 'ल ,, वन.. टु.… थ्री…  बन्जी!!! र मैले जम्प गरें

यसरी मैले बन्जीको अनुभव लिएँ।  करीब  ३ सेकेन्डको फल, ३ जर्क र केहि सुइङ्ग गरी फिर्ता प्लेटफर्ममा आउँदा ३.३८ मिनेट लाग्यो। कतै भुमरी भित्रपसे झैँ, कतै चक्कर खाए झैँ  खस्दा फनफनी, अनौठो झट्का र त्यसपछि चरा झैँ स्विङ्ग हुँदै उड्दा त निकै गजप रोमान्चक अनुभूति भयो। डरलाई जितेको महसुस भयो।  मैले सकें भन्ने बोधले यौटा सन्तुष्टि मिल्यो।  

सबैले बन्जी सके पछि करिब ६.३० बजेतिर  रिसोर्टको बसमा २८ अरु यात्रीसंगै म पनि काठमाडौँ फर्के। भाडा दिन परेन - फ्री राइड मिल्यो।  घर पुग्दा रातीको  ११:३० बजेको थियो।  

Watch Youtube Video of this Bungy Jump

Sunday, April 23, 2017

नयाँबर्ष २०७४: भोटेकोशी तिर (भाग - २)

२०७४ बैशाख ३ गते, आइतबार: सिन्धुपाल्चोक, बाह्रबिसे बजार
आज बिहानैदेखि आकास खुलेको छ।  वातावारण सफा र शितल छ। आज भोटेकोशीमा बन्जी जम्प गर्ने हो।

म बसेको ठाउं नजिकै ब्याडमिन्टन कोर्ट रहेछ, नियमित खेल्ने ठाउँ। आज बिहानै केहीबेर खेलचल्यो। नजिकै क्यान्टिनमा हल्का चियाखाजा खाएर हिड्ने कुरो भयो।  तातोपानीमा नुहाउने, खाना खाने र फर्केर बन्जी गर्ने योजना। आज दुईबजेसम्म डा. मधुको फुर्सद मिल्ने भएकोले उ र मा बाईकमा तातोपानी तिर हिड्यौं। ८ बजेको थियो।

करीब १० किमिमा बन्जी गर्ने पूल आयो। हेर्न गयौं। अझै सुरु भएको थिएन।  पूलबाट खोलातिर हेर्दा रिंगटा लाग्ने, बेसरी हावा चलेर पुल हल्लिथ्यो।  खै कसरी पो हाम फालिन्छ। हामी उँभो लाग्यौं। वारिपारी चट्टाने पखेरा, पहिरो गएका डाँडा, भत्केको बाटो, ढुंगैढुंगा भरिएको खोल्सा र खोंचमा बगेको भोटेकोशी, भूमरी पर्दै बगेको हावाले धुलो उडाउदा बाइकमा हल्लिदै बढ्यौं। बाटोमा फाट्टफुट्ट गाडी र बाईक  भेटिए। आर्मीको यौटा चेकपोस्ट आयो। केहि सोधपुछ गरेर अनुमति दिए। हामी तातोपानी पुग्यौं।

२०७२ सालको भुइचालो अघि भरिभराउ यो ठाउँ अहिले झन्डै उजाड छ। चहलपहल छैन। ३-४ जना नुहाइरहेका थिए।  हामीले नुहाउदा धारा खाली थियो। महिला पुरुषको छुट्टै धारा, लुगा फेर्ने छुट्टै ठाउँ र लकर समेत राम्रो व्यवस्था रहेछ। धाराको पानी निकै तातो रहेछ। छाला पोलेर थेग्न नसकिने। भुइचालो अघि त सहनसकिने तातो थियो रे। मैले जुम्लामा भएको तातोपानी धारा सम्झे, त्यहाँ सल्फरको गन्ध थियो, यता छैन। यताको निकै सफा र व्यवस्थित लाग्यो। रू ५ को टिकट काट्नु पर्ने सूचना त थियो तर कसैले मागेन। यतै अण्डर्वेअर किनेर फेरियो।

केहीपर यौटा झरना रहेछ, फोटो खिच्ने स्पट। त्यहिसम्म पुग्ने भयौ। पूर्वतिर चिनिया क्षेत्रमा पर्ने रहेछ यो झरना। फोटो खिच्दै गर्दा माथी बोर्डरतिर पनि पुग्ने कोशिस गरौ भन्ने कुरो आयो। केहिपर सशस्त्र प्रहरीले सोध्यो - को, कहाँजाने, किनजाने आदि। यौटा लामो परिचय पछि जानदियो।  'उता सुक्खा पहिरो फुसफुस झर्दैछ, विचार गरेर जानुहोला ' भनेर अर्ति पनि दियो।

भाग्नावशेष बस्तिको अन्तिम घर सशस्त्रको बोर्डर चेकपोस्ट रहेछ। जम्मा दुईजना डिउटीमा रहेछन्।  दुइबर्षदेखि नाकाबन्द भएर यो सब सुनसान देखिन्थ्यो।  थापा थरका अफिसरले हामीलाई केही सोधपुछ पछि मेतेरीपुलको बीचसम्म लगिदिए। भुइचालो जाने दिन उनि यतै रहेछन। त्यो भयानक दिन र त्यसपछिका सुस्त तथा निराश दिनहरुको सम्झना गरे। 'ख्वै दुई देशबीच कुरा मिलेर नाका खुले त हुने' भने। पारिपट्टी चिनतर्फ ठूला घर संरचना देखिन्थे। सिधा उत्तरतिरको डाँडा टुप्पोमा हिउँ थियो।  तल पखेरो र फेदीतर्फ बस्ति देखिन्थ्यो।  सुन्दर।  त्यो खासा बजार रहेछ। अहिले त बस्ति सरेर सुनसान छ, चिनिया पुलिसहरुमात्र छन् रे।  पूलतर्फ फोटो खिच्न नपाइने रहेछ। तर फर्किंदा जूम गरेर केही फोटो लिएँ। एकछिन गफ गरेर हामी फर्कियौं।  बाइकको पछाडी बसेर कठीन बाटो र उजाड बस्तीको भिडियो फुटेज लिंदै तातोपानी बजारमा खाजा खान रोकियौं।

भत्केर, चर्केर, त्यागिएका घरहरु बीच सग्ला, कडा चट्टान/पखेरोको आडमा रहेका केही घरहरुमा फाटफुट पसल खुलेका थिए।  यौटा पसलमा चिया, तरकारी र रोटी खान बस्यौं।  स्थानीय एकजना भेटिनु भयो, साथीको चिनजान रहेछ।  वर्तमान अवस्था र राजनीतिबारे केहि चर्चा भयो। यो ठाउँमा उही पुरानो रौनक फर्किने आशा र विश्वास थियो उनमा।  हामीलाई पाहुना मानेर खाजाको पैसो तिर्न दिएनन्। उनलाई धन्यबाद दिएर हिड्यौं। त्यस्तै ११:३० बजेको थियो। हावाको बेग अझ बढेको थियो।  बोलेको सुन्न मुस्किल। बाटोमा कति ठाउँ बालुवा र धुलो उडेर अफ्ठ्यारो पर्थ्यो।हामी हुइकियौ।  अबको गन्तव्य 'द लाष्ट रिसोर्ट'को बन्जी !

नयाँबर्ष २०७४: भोटेकोशी तिर (भाग - १) यता पढ्नुहोस् Click Here (part 1)

नयाँबर्ष २०७४: भोटेकोशी तिर (भाग - १)

ब्लग नलेखेको निकै भएछ।  त्यसैले यसपालीको न्यु इयर रिजोलुसन बनाएको छुँ - सक्रिय रहने र ब्लगलाई नियमित गर्ने। ….
२०७४ बैशाख १ गते, शुक्रबार:  हिजोमात्र चारदिन नेपालगंज  बसेर फर्केको कुनै अर्को यात्राको मूड त थिएन तर  नयाँ वर्षको छुट्टी तीनदिन कसरी बिताउने कुनै योजना पनि थिएन। छुट्टीको बिहान म प्राय साइकलिङ्ग जाने गर्छु। आज बिहान पौनेआठ बजेतिर दशरथ रंगशाला हुँदै बसन्तपुर गएँ।  त्यहाँ मेरो बर्ष २०७४: म स्वस्थ मेरो देश स्वस्थ (My Year 2074: My Health, Healty Country) अभियानको शुभारम्भ कार्यक्रम थियो। स्वास्थ्य मन्त्री गगन थापा, राज्यमत्री, सचीव लगाएत मन्त्रालयका कतिपय मान्छेहरु थिए। मनिषा कोईराला पनि थिइन्।  मैले चिनेका कति साथीहरु पनि भेटिए। लाइफस्टाइलसंग जोडिएका स्वास्थ्य समस्या घटाउन मन्त्रीको बिशेष पहलमा यो वर्ष यौ क्याम्पेन सुरु हुँदै थियो।

भिडको यौटा कुनातिर भुवन भेटिए।  कुराकै सिलसिलामा "खोइ हामी बाह्रबिसे जाने भनेको थप कुरै भएन।  ' उनले भने। "त्यै त है! म पनि यो हप्ता निकै बिजी भएँ।  कुरै गर्न पाइएन।" मैले भने। हाम्रो साथी डा. मधु बडाल  त्यतै काम गर्छ। हामीले करिब एक महिना अघि भेटमा त्यता घुम्न जाने कि भन्ने सोचेका थियौं।

बेलुका मधुलाई फोन गरें।  उ छुट्टीमा घर आएको रहेछ - काभ्रे।  पर्सि आइतबार फर्किने गरि। हामी आउने भए भोली नै फर्किन सक्ने बतायो। भुवनलाई खबर गरें  तर उ भोलीदेखि शुरु हुने यौटा तालिममा सरिक हुनपर्ने भएर जान नमिल्ने रे। अरुकोही उत्सुक भेटिन्छन कि भनेर पनि यताउता सोधें।  भेटिएन।  एक्लै जाने निर्णय गरें।

यात्रा भोटेकोशीको किनारै किनारा (भाग - १)

 २०७४ बैशाख २ गते, शनिबार: योजना अनुसार काठमाडौँ - बाह्रबिसे बाइकमा जाने, ११ बजे तिर पुग्ने, अनि बन्जी गर्ने थियो। तर रातभर गड्याङ्गुडुङ्ग गर्दै पानी  पर्यो।  बिहानभर रोकिएन। रेनकोट तयार परें। साथीलाई फोन गरे।  उता आकास धुम्म रहेछ तर पानी परेको थिएन रे। हिड्ने निधो गरें तर बसमा। सिमसिम पनि थियो।  छाता बोकें। चोक यौटा बाईकले लिफ्ट दियो। अलिपर ट्याम्पु भेटियो। कोटेश्वोर।  भाडा रू १५। बाटोको बायाँ गाडीको ताँती थियो - सबै पूर्व जाने। जुन पहिले भेट्यो त्यैमा चढ्ने सोचेर ताँतीको शीरतिर बाट गाडी हेर्दै आएँ।  यौटा बस भेटियो।  थोरै यात्रु थिए। म लास्टको झ्यालतिरको सीटमा बसें। म लामो यात्रामा ढोका छेउ वा बीचतिरका सीटमा बस्दैन किनकी के थाहा कुनै रिजर्ब श्रेणीका यात्रु आएपछि बिचैमा सीट छोड्न उठ्नु पर्छ। ८ बज्यो।  केहीबेरमा गाडी हिंड्यो। साथीलाई म हिडें भनेर मेसेज गरें। पानी पर्न रोकिएको थियो। छेउको सीटमा बस्ने सज्जनले भने साढेतीनदेखि चार घण्टा लाग्छ बाह्रबिसे पुग्न । भाडा रू १८०।   


गाडी  भक्तपुर, बनेपा, धुलिखेल, पाँचखाल, दोलालघाट, बन्देउ, सुकुटे, बलेफी, अँधेरी, खांडीचौर हुँदै बाह्रबिसे पुग्दा  ११.१५ भयो।  आकाश धुम्म थियो। बाटो केही खाल्डाखुल्डी बाहेक सजिलै थियो।  यौटा चिया ब्रेक भयो २० मिनेट।  बाटोमा इन्द्रावती नदि आयो। दोलालघाटबाट उत्तर तिर हिडेको केहीबेरमा भोटेकोशी आयो।  तिरैतिर रिसोर्ट र रेस्टुरेन्ट देखिए।  सुकुटे-बलेफी-अँधेरी बाटोमा रयाफ्टिंग बोट बोकेका गाडी देखिए।  माथि सुनकोशी आयो।  बाटोमा बाढीले खाएका, भूकम्पले हल्लाएका, भत्केका ठाउं, हाईड्रोपावरका संरचनाहरु निकै देखिए।  कालिञ्चोक, जिरी, चरिकोट, मन्थली पनि गाडी पनि यै बाटो जाने रहेछन।

तत्काल बनेको रयाफ्टिंग योजना 


साथीको श्रीमति (सुष्मा जी) र छोरा पनि यतै रहेछन। 'ल अब खाना खाने, आज दिउसो यतैतिर डुलौ, बन्जी नमिल्ने भयो। भोली।' साथीले भन्यो। प्रि-बुक नगरी जानेको पालो अनिश्चित हुन्छ। दिनभर अब के गरी बस्नु? बाटोमा देखेको रयाफ़्टिङ्ग सम्झे। आजै त्यतै ट्राई गरौँ भने।  उ पहिल्यै गैसकेको रहेछ तर सुष्माजीले रहर गर्नु भो। डा. कुशल (डेण्टिस्ट - यतै प्राक्टिस गरिरहेका) पनि जाने कुरो भयो। साथीले उसको सम्पर्कहरुलाई सोध्यो। निकै प्याक छ रे भन्ने सुनियो। नयाँबर्ष, शनिबार भएपछि यस्तै हो बिजी। वेबसाइटबाट यौटा मोबाईल नम्बर खोजेर ट्राई गरें। यौटी महिलाले उठाइन्। सुकुटे बीच रिसोर्ट। तुरुन्त पुग्न सके ग्रुपमा २-३ सीट मिलाईदिने बताइन् र हामीलाई अँधेरी आइपुग्न भनिन्। दुइटा बाइकमा हामी त्यता लाग्यौं।

 
यतिबेलै हेमन्तले फोन गर्यो।  उ र कपील हिजो बिहान बाईकमा दोलालघाट जाने भनि काठमान्डूबाट हिडेका साँझदेखि फोन सम्पर्कमा थिएनन् । अहिले खाँडिचौर आइपुगेछन्। हिजो कतै गाउँतिर बसेको, फोन ब्याट्रीचार्ज गर्न नसकेर सम्पर्क बिहीन भएको रे। अब तिनीहरुलाई सर्प्राईज रयाफ्टिंग राइड।

हामी अँधेरी पुग्दै गर्दा बोट बोकेका बसहरु आइरहेका थिए। यौटा ठुलो ग्रुप रहेछ अडिट कारोबारी संस्थाको, आर्टिकल गर्ने युवायुवतीको रिट्रिट रहेछ। त्यै समूहमा मिसियौं। हामी अब ५ जना थियौं । भाडा रू १२०० प्रतिव्यक्ति। हाम्रा फेर्ने समान बसमा राख्यौ, लाइफ जकेट र हेल्मेट पहिर्यों, पाडल बोक्यौं र इन्ष्ट्रक्सन सुन्ने लाईनमा गयौं।  सबै पहेंला, राता देखिन्थे।

आज घाम लागेन तर दिन उज्यालो थियो। दुवैतिर पहाड। दाहिने तिर अरनिको राजमार्ग मुनि भोटेकोशी धमिलो बगेको थियो।  हिजो माथी हिमाल तिर पानी  परेछ सायद। बोट नदीमा हेलिंदा पानीका बाछिटाले छ्याप्थ्यो।  बहावसंगै ढलपल बोट, क्याप्टेनको कमाण्ड 'फरवार्ड, फास्टफरवार्ड, स्टप, डक, ब्याकवार्ड' सुनेर सबै यात्रीले पेडलिंगको रिदम मिलाउन पर्ने, र्यापिडहरुमा आउने तरंगहरुले यात्रा निकै रोमान्चक बनायो। सबै जोडजोडले हौसिरहेका थिए।  तैरिरहेका अरु बोटहरुको दृश्य सुन्दर देखिन्थ्यो।  तीबोटहरु संग पटक पटक पानी छ्यापेर रमाइलो गरिन्थ्यो। दुईठाउं हाम्रो बोट ढुंगामा अडियो। एकठाउँ ठूलो २० फिट अग्लो चट्टानबाट भोटेकोशीमा हामफाल्न मिल्ने रहेछ। केटाकेटीहरु फटाफट जम्प गरिरहेका थिए। पौडिन नजान्नेहरु तैरिन्थे र कायाकले तानेर किनारामा लिन्थे।  कपील र हेमन्तले जम्प गरे र स्विमिङ्ग गर्दै किनारा पुगे। म केहीबेर दोधारमा थिए। जाडो थियो।  तर सोचेँ - यस्तो मौका निकै कम आउञ्छ। त्यसैले जम्प गरे र आफै पौडेर किनारा पुगें।

करिब २ घण्टाजतिमा हाम्रो र्याफ्टिंग सकियो। हाम्रो समान राखेको बसले समान बेपर्बाह तरिकाले काउन्टरमा छोड्देछ, कतै ठोक्किएर मेरो मोबाईलको सिसा फुटेछ।  साथीको अस्पतालको खाली एम्बुलेन्स यतैबाटो आउदै रहेछ।  हामीलाई अँधेरी फिर्ता पुर्याइदियो - बाइक राखेको ठाउं। भिजेका हामी लोकलबस खोज्दै कुर्नु परेन। दुइजना छुट्टिए काठ्मान्डु जान र हामी फर्क्यौं बाह्रबिसे ।

भजन कृतनमा नाच्दा 

साँझपख खाना खायौँ। मधुले 'भजन कृतनमा जाने?'  भनेर सोध्यो।  मलाई त्यो रमाइलो अफर लग्यो।  'आठबजे यताबाट गाडी जान्छ।  तल सुनकोशीको किनारमा शिवमन्दिर छ। त्यहाँ बर्सेनी सत्संग लग्छ। यसपाला हिजोदेखि सुरु भयो। १०/११ बजेसम्म सकेर त्यै बस फर्किन्छ।" उसले थप्यो। हामी गयौं। गाउँका महिला पुरुष युवा युवतीहरु जम्मा भए।  'नर्सिङ्ग महापुराण तथा गर्ग संहिता' शुरु भयो। भजन सुरु भयो। बिस्तारै श्रद्धालुहरु नाच्नलागे। निकै रमाइला नाचौनाचौ लाग्ने भजन आए।  हामीपनि चुप बस्न सकेनौं।  र नाच्यौं … 'हेSSS कृष्ण मनैमा बसाउँला …"  


Sunday, October 30, 2016

चुचेमाराको बाटो रारा पुग्दा: यौटा यात्राब्लग

यो यात्रा ब्लग जुम्लाबाट रारा भ्रमण गर्दाको व्यक्तिगत अनुभव हो ।

जुम्लाको होटलमा 
अक्टोबर १३, २०१६ (दशैंको पर्सिपल्ट): म नवमीदेखि जुम्लामै थिएँ।  तीनजना साथीहरु काठमान्डौबाट जुम्ला (२३७० मिटर) आईपुगे रारा पुग्ने लक्ष लिएर। दीपकदाई काठमाडौँबाट नेपालगंज प्लेन रअर्कोदिन जुम्ला जिपमा तथा डा. किसु र पुजाजी सिधै काठमाडौँ-नेपालगंज-जुम्ला उहि दिन प्लेनमा पुगे । र भर्खरै खुलेको रोयल गार्डेन लजमा बसे । सन्तोष र उर्मिलाले चलाएको सानो होटलमा राम्रो सुबिधा छ। भानुजी भेटिनु भयो।  किसुको नाता पनि पर्ने रहेछ। यात्राबारे निकै सल्लाह र आइडिया दिनुभयो। साथीहरु भोली एकदिन जुम्लामै डुल्ने र १५ तारिखमा रारा प्रस्थान गर्ने योजना बन्यो ।  खलङ्गा बजार, चन्दननाथ मन्दिर, लाईज्युलो हुँदै तिलानदीको झोलुङ्गे पुल आसपास घुमघाम गरे।


लाम्राको खेतमा 
अक्टोबर १४, २०१६:  दीपकदाईको घुघुती घुम्ने चाहना थियो किनकी २०४५-४६ सालताका पहिलो जागिरको सिलसिलामा कर्णाली प्राबिधिक शिक्षालय (केटीएस) बस्नु भएको रहेछ। म पनि २०५० ताका तेतै पढेको हुँ तर धेरैबर्षदेखि गएको थिइनँ । हामी बिहान हिंडेर गयौं । साथीहरुलाई ब्यागप्याक बोकेर ट्रेकको वास्तविक अभ्यास हुने भयो।  खलङ्गा बजार-भरतिवाडा-अस्पताल-खोलिकोट जुगाडखोलाको तिरैतिर उत्तरतर्फ माथी चेरेचौर र डाँफेलेक जानेबाटो उकालोमा घुघुती (२४१० मिटर) पर्छ ।  केटिएस त दशैको छुट्टीले बन्द थियो तर हिरा शाही सर र परिवारले मिठो खाना खुवाउनु भयो। कुमाई सर पनि भेटिनु भयो । पुराना कुरा गर्यौं।  सम्झियौं । केटिएस त निकै परिवर्तन भएछ । अर्थात, बिग्रिएछ । मनै नरमाइलो हुनेगरी । व्यवस्थापकीय कमजोरी प्रष्ट थियो । हामी त्यहाँबाट  फर्किंदा २ बज्यो । ब्याकप्याक सहितको हिडाईले के साथीहरुलाई भोली राराजाँदा के कति बोक्ने अन्दाज गर्न सहयोग भयो ।

ल्हुम्सेराको काठेसाँघु 
बेलुकापख होटलमा झोला राखेर बाईकमा तातापानी तिर गयौं । पश्चिमतिर ३० मिनेट जतिको बाटो,  १६ किमिटाढा  तिलानदीको बग्ने तिर । ८ किमि बाटोमा लाम्रागाउँ, अर्थात मेरो गाउँ ।  धान काट्नेबेला भएकोले सबै ज्यूला (खेत)तिर थिए ।  केहीबेर त्यहाँ बस्यौं।  स्याउ र काँक्रो खायौ र हिड्यौं । यता जयलक्ष्मी पनि थपिई । सबैले तातापानीमा नुहायौं ।  सल्फरयुक्त बाफिलो तातो पानीले नुहाए छालारोग लगयत हाडजोर्नीको बिरामी  निकोहुने बिश्वाश गरिन्छ । मानिसहरु टाढाटाढाबाट नुहाउन आउँछन् ।  जाजरकोटबाट ३ दिन हिडेर आएका महिलाहरु पानीमा आहाल बसिरहेकाभेट्यौं । हामीले नुहाइ सकेर तेजेन्द्रभाईको रेस्टुरेन्टमा कफी र तिलानदीको असला माछा खायौं । खलङ्गा बजार फर्किदा करिब ८ बज्यो । भानुजीले घरमा खान बोलाएका थिए। त्यहाँ कराओके मसिन रहेछ । जुम्लामा यो देखेर दङ्ग परियो ।  गणेशजी, टासीजी, सन्तोषजीपनि हुनुहुन्थ्यो । हामीले केही गीत गयौं ।  र,  १०:३० तिर साथीहरु होटलतिर गए म घर फर्कें ।   


सिंजाको एक गाउँ 
अक्टोबर १५, २०१६: पुर्णिमाको दिन, पुजा सकेर म खलंगा पुगें ।  हामीले २ बजेतिर रारायात्रा थाल्यौं । जुम्ला बजारदेखि भुलभुलेसम्म पूर्णभाईको जिप लियौं । जुम्ला-नाग्मा-सिंजा-भुलभुले करिव ८० कमी छिचोल्न ७ घण्टा लाग्यो । नाग्मसम्म ३५ किमि तिलानदीको तिरैतिर पश्चिम कालोपत्रेबाटो मोडिएर दोभानबाट  हिमानदी पछ्याउदै ग्राभेलबाटो पूर्वोत्तरतिर सिंजा भ्याली प्रवेश गर्छ । धानका बाला झुलेको फाँटहरुको बीच बग्ने नदी र पाखामा फ़ैलिएका गाउँहरु निकै सुन्दर देखिन्थे ।

सिंजामा भेटेका बेहुला बेहुली संग 
सिंजा सँग अनेक संस्कृतिक, भाषिक र ऐतिहासिक महत्वहरु जोडिएका छन् । हामी पतारखोला, कलिकखेतु, बड्की हुँदै हिमानदी बायाँ अघाडी जाँदै गर्दा हाम्रो दाहिने खोलापारी डाँडाको मुनि मोफ्लागाउँ,केहि अघाडी बेलुकाको घामले नाराकोट र ज्युलो टल्किरहेको थियो ।  बाटोमा पण्डुगुफ़ा जान हिंडेका मान्छेहरुले लिफ्ट मागे । पिक-अप  गाडीको पछाडी खाली बस्ने ठाउँमा बस्ने ठाउँ थियो।  त्यतै बसे । तिनीहरुले नयाँ दुलाहा-दुलही लिएर आएका थिए । साथीहरुपनि उनीहरु सँगै बसेर गफिंदै यात्रा गर्न थाले । झर्ने बेला आफ्नो घर गएर प्रसस्तै स्याउ ल्याएर आइदिए र साथीहरु सबैलाई फूलको माला लागाई दिए ।   
गोठीज्यूला 

हाम्रो गाडी ६ बजे गुठिज्युला पास भयो।  गुठिज्यूला-बोता-भुलभुले खण्ड निकै डरलाग्दो भीर छ। त्यो कटेर बोतागाउँ नपुग्दै अँध्यारो भयो। अग्लो डाँडाबाट पुर्णिमाको भरिलो गोलो जून चम्किन थाल्यो । गाडीभित्र हामी एकनास गीत सुन्दै र भूतका कथाहरु भन्दै यात्रारत थियौं ।  भुलभुले पुगेर भीम भण्डारीको होटलमा बिश्राम लियौं । भानुजीले उनलाई पठाएको भिडियो मेसेज (रैबार) देखायौं । निकै सहयोगी थिए । खाना अघि चिया संग निकै मीठो आलु पोलेर दिए ।  मुगुजाने बसका कतिपय यात्रीहरु पनि यतै थिए । अधिकांश रारा जानेहरु नै थिए । 



चुचेमाराको बाटो 
अक्टोबर १६, २०१६: बाहिरको हल्लाले ब्युँझ्यौँ । हल्का जाडो थियो ।  हामीलाई छोड्न आएको गाडीको ड्राइभरले राती सायद रक्सीको सुरमा केहि गडबड गरेछ क्यारे उसमाथि केरकार भैरहेको थियो । केही छलफल गरेर समाधान गर्यौं र उ ट्रीप पाएर गमगढी हिड्यो । अरु यता बासबसेका यात्रुहरु हिडिसके ।  भण्डारी पनि सामान ल्याउन भनि गमगढी हिडेछ।  उसको पत्नीले हामीलाई चिया, नुनखुर्सानीको आचार र रोटी खान दिईन्।  र बाटोकोलागि २ किलो जति उसिनेको आलु पनि लैजान भनिन् ।  घाम उदाउदै थियो। १० मिनेट हिडेपछि आर्मी चेकपोस्ट आयो । नाम इन्ट्री गर्यौं । यताबाट दुइटा बाटो छ - घुर्चीको गाडीबाटो हुँदै झ्यारीबाट रारा पुग्ने वा चुचेमारा लेक हुँदै हिंडेरै राराको मिलिचौर झर्ने । हाम्रो योजना 'ट्रेकिंग' गर्ने थियो ।  हामी चुचेमारातिरको बाटो जान्छौं भन्दा इन्ट्रीगर्न बसेको आर्मीले  बाटो अफ्ठ्यारो छ, हराउन सक्छ भने ।  अचेल यो बाटो मान्छे उतिसारो हिड्दैनन ।  केहि समय पहिले काठमान्डूबाट आएको यौटा ग्रुप हराएर रेस्क्यु गर्नु परेको थियो रे । आर्मीको कुरा सुनेर साथीहरु हच्किए । तर, मेरो चाहना यै बाटो हुँदै रारा पुग्ने थियो । किनकी, यो बाटो केहि जटिल भएपनि दृश्यावली, उचाई, चुनौती, ट्रेकिंग अनुभव आदि हिसावले अरु यात्रुहरुको भन्दा फरक र अविस्मरणीय हुने रुट हो । खासै  हिड्ने अनुभव नभएका साथीहरु भएकोले बढीमा ७-८ घण्टा लाग्ने अनुमान गरेको थिएँ । भर्खर बिहानको ८ बजेको थियो।  ति आर्मीले 'पहिलो दोबाटो छोडी दोस्रोबाट दाहिने लाग्नु' भने । हामी अघाडी बढ्यौं ।  केहीबेरमा शौरभजीले हामीलाई भेटे। उनी हिजै नेपालगंजबाट प्लेनमा जुम्ला पुगेर  हामीलाई भेट्न बाईक लिएर हिडेका अध्यारो भएकोले गोठीज्यूला बसेछन् । अब ५ जना भयौं ।

निलो आकास, न्यानो घाम, खोल्सो तिरको घाँसेबाटो हुँदै अगाडी बढ्यौं।  केहीबेरमा दाँयातिर सानो डाँडो उक्लेर हेर्दा उSS पर एकटुक्रा रारा देखियो। हामी अब चांडै पुग्ने अभिलाषाले डाँडैडाँडा रुखहरु बीचको सानो धर्सो जस्तो बाटोको पछ्याउदै हिड्यौं । केहिबेरमा बाटो हरायो । अन्दाजले हिड्नु पर्यो । हाँगा समात्दै, काँडा  पन्छाउँदै, सुकेका पात टेक्दै त्यो जङ्गल र भीर छिचोलेर सहिबाटो भेट्न २ घण्टा लग्यो।  बल्ल थाहा पायौं कि हामी त्यो उत्तरपर्ने सानो डाँडो नचढी उत्तरपश्चिम तिर खोल्सैखोलसा आउनु पर्ने रहेछ।  हामी घुमिफिरी त्यहिँ पुग्यौँ । फर्किने कि भन्ने सोच पनि आयो।  तर त्यसो गरिएन।

उकालो चढाई सुरु भएको केहीबेरमा साथीहरु थाक्न सुरु भयो । हरेक पाइला बोझिलो हुन लागे ।  झोला झन् झन् गरुङ्गो हुन लग्यो ।  कसैले मन्द टाउको दुखेझैं महसुस गरे।  घाँटी सुक्न र ढुकढुक बढ्न थाले । हल्का लेक लाग्यो सायद।  पानी एक लिटर मैले बोकेकोमात्र थियो । थोरैथोरै गला भिजाउन काम लाग्यो ।  उसिनेको आलु सबैले मिठो मानीमानी खाए । जङ्गल सकियो, बुकी र अरु घाँसमात्र भएको नाङ्गो डाँडाको काखमा नागबेली धर्सापरेका बाटोमा पसिना चुहाउदै उक्लिन पर्ने।  सुस्त सुस्त बढेका साथीहरुका पाइला हौस्याउन हर प्रयास गरियो । दुइजनाको त झोला पनि आफैले बोकेर चुचेमारा उक्लियो । सिरसिर हावा त्यो 'टप'बाट छ्याङ्ग रारा देखियो । सुन्दर ! सबैको मन प्रफुल्ल भयो।  थाकन मेटिए झैं सबैको अनुहारमा चमक फर्कियो । आराम गर्यौं । फोटो खिच्यौं । र हिड्यौं ।            
अबको बाटो लेकको टुप्पो, डाँडाको धारमा हिड्नु पर्यो।  दायाँबायाँ दुबैतिर भिरालो, चिप्लो ढाँडिलो बाटो उकालो ओरालो गर्दै हिड्दै पश्चिमतर्फ रारातिर झर्ने ओरालोको दोबाटोसम्म आइपुद्गा घाम बुढ्न थालिसकेको थियो । दशघण्टा जति भयो कतै पानी भेटिएन। बाटोमा एकठाउँ भेडीगोठाला भेटेको उनीहरु संग पनि पानी थिएन । अब, ओरालो बाटो जङ्गल भित्र पस्यो । केही तल खोला भेटियो । चिष्ष्सो पानीले दिनभरको तिर्खा मेटायौँ। यहीं नेपाली सेनाको मेडिकल टिमका २ महिला र ४ जना अरु मान्छेहरुले हामिलाई भेटाए।  उनिहरु भुलभुलेबाट हामी भन्दा ६ घण्टा पछि २ बजे हिडेको भन्थे । अबको बाटो डेढ-दुई घण्टालाग्ने अनुमान लगाएर उनीहरु अघि बढे। हाम्रो यो गतिमा अझैं ४ घण्टा लाग्छ।  अध्यारोले पुरै ढाक्यो । माथी आकासमा जून थियो तर जंगलका रुख, भुइँका जराले अलमल्याई दिन्थे।  टर्च बाल्यौ र लस्करै ५ जान चुपचाप हिड्यौं ।  छेउछाउमा जंगली बराहाले खनेका माटाका डल्ला देखिन्थे।  सन्नाटामा हाम्रो पाइलाको आवाज एकनास आइरहेको थियो । बल्लबल्ल तालको छेउको चौरमा पुगेपनि सजिलो बाटो आयो तर तर सबैका खुट्टा थाकेर निकै गर्हुङ्गा भैसकेका थिए।  पारी बत्ति देखियो ।  हामी त्यहिँ पुग्नपर्ने  हो तर तालको  पश्चिमआधा भाग घुम्नु पर्छ। 

राति १०:१५ बजे हामी डाँफे होटल पुग्यौं।  भिडभाड थियो।  ठाउँ ठाउँ 'क्याम्प फ़ाएर' गरेर आगो ताप्दै गाउदै रमाइलो गरिरहेकाहरु थिए।  कोही टेन्टमा कोही कोठालिएर आराम गर्दै थिए।  'रुम छैन, टेन्टपनि सबै सकियो,,.माझघट्ट गए पाइएला।' गोपाल बम साउजीले कुनै सान्त्वना बिनै भने। माझघट्ट फर्किनु भनेको हामी आएको बाटो फिर्ता रारातालको तल्लो छेउबाट थप आधा घण्टाजति  हिड्नु पर्छ । साथीहरु भोक र थकानले चूर थिए त्यसमाथि बस्ने टुङ्गो नहुदा निराश देखिन थाले।  उनीहरुको बोलीमा चिढचिढापन प्रष्ट देखिन्थ्यो । ससानो बुफे लाईन थियो ।  'पहिला केहि खाउँ अनि विचार गरौंला' हामी पनि पस्यौं । खाईसकेर अरुलाई त्यतै छोडी दिपकदाई र म केहीपर आर्मीपोष्ट नजिकको 'भिलेज हेरिटेज'मा पुग्यौं।  त्यहाँ पनि तेस्तै प्याक।  आर्मी क्याम्पमा  सोध्यौं।  त्यता पनि ठाउँ छैन रे।  होटेलले उनीहरु संग भएका ठूला टेन्टहरु सापटी लिएर पनि अपुग भयो रे।  कति यात्रुहरु माझघट्ट गए।  हामीलाई पनि त्यै सुझाव दिए।  होटेल म्यानेजरलाई खोजें।  हाम्रो आजको लामो यात्राबारे बताएँ र कतै जन नसकिने कुरो भनें।  उनले आफैले प्रयोग गर्न राखेको २ जना अट्ने सानो टेन्ट दिने भए र बाँकीले होटलका स्टाफ सुत्ने ठाउँमा बस्न मिलाइदिने भए। सबै बन्द भैसकेको थियो तरपनि हाम्रोलागि फेरि 'क्याम्प फ़ाएर' बाल्ने, खुट्टा डुबाउने मनतातो नुनपानीको बाटा, पिउने कुरा लगायतको व्यवस्था गरिदिए । बिस्तारै साथीहरुको मुहार उजेलिन थाल्यो। तल रारातालमा प्रतिबिम्बित जून चम्कि रहेको थियो। छाल उर्लेको संगीत सुन्थियो।  जङ्गल सुसाइरहेको थियो। आगो ताप्दै, मैले बोकेको खसीको सुकुटी पोल्दै, गफ गर्दै गर्दा अरु यात्रीको समूह पनि जोडियो।  हाँस्दै ठट्टा गर्दै राति १२ बजायौँ किनकी शौरभजी आज जन्मदिन थियो ।

अक्टोबर १७, २०१६: बाहिरको कल्याङ्गमल्याङ्गले बिउँझिदा छर्लंग बिहान भैसेको थियो।  राराताल पुर्वको आकास रंगिन थियो।  तल आर्मीक्याम्पको अगाडी  चेकपोस्ट नजिक रयाफ्टिंग बोटको तरखर भैरहेको थियो।  तेतैतिर हिड्दै गएँ।  क्यामकोको मेजर पारस विक्रम शाह भेटें।  क्याम्पमा साइकल छ भन्ने कुरा भानुजीले सुनाउनु भएको थियो।  मेजरलाई 'म साइकल चलाउन रुचाउन्छुं।  के हामीलाई केहीबेर तपाईको क्याम्पको साइकल दिनुहुन्छ ?' भनेर सोधें।  उनले डिउटीवालासंग बुझेर १० वटा साइकलमध्ये ४ वटा चलाउने मिल्ने अवस्थाको भएको बताए । म फर्केर होटल आउँदा किसु र पुजा गाडीबाट झ्यारीको बाटो आएका यात्रीहरुलाई हाम्रो हिजोको यात्रा सुनाउँदै थिए । त्यहाँहुने अरु सबैको भन्दा पृथक यात्रा वृतान्त निकै रोचक थियो।

तिनजना साथीहरुले बिहान आराम गर्ने भनेपछि सौरभ  र म साइकल लिएर पारी मिलिचौरतिर गयौं । तालको छेउ, जंगलैजङ्गल भित्रको गोरेटो, रुखका जरा र ससाना ढुंगा भाको, सुकेका पात झरेको, कतैकतै छालको पानी बाटोमै आउला जस्तो, कतै काठे पुल (लाप्को) भएको सुन्दर बाटोको यात्रा रोमाञ्चक थियो।  रारा आउंदै गरेका र फर्किन लागेका यात्रुहरु धेरैले सोध्थे - 'साइकलमै आएको ?' फर्किने क्रममा हुनेलाई 'यो त्यै आर्मीक्याम्पको हो' भन्थ्यौं।  त आउन लागेकालाई केही नभनी कुद्थ्यौ । नत्र आर्मीसँग माग्न लाम लागे भने हामीले गाली खान पर्थ्यो।  मिलिचौर पुगेर तालको किनारै किनार चौरमा कुद्यौँ र बोट रोक्ने ठाउं केहीबेर आराम गर्यौं।  बोटमा फर्किनेहरु धेरैले साइकल मागेर ताल छेउमा पोज पोजको फोटो किच्दै रमाए। बाटोमा यौटा स्थानीय घोडचडी केटोसँग रेश गर्दै फर्कियौं । उ र उसको साथीले हामीसंग साइकल मागे सट्टामा उसको घोडा चढ्न दिए । हाम्रा अरु साथीहरु पनि आए।  बिहानीको फोटोसेसन भयो।


खाना खाएर रारा राराबाट बिदा भएर हिड्दा १ बजेको थियो । आज ताल्चा बस्ने। तालको पुर्वतिर जानु पर्छ। पुरानो रारागाउँको मुनिको बाटो गमगडीतिर नगई दाहिनेतर्फ तालको किनारै किनारा हिडे पछि तालको ठीक पूर्व पुगेर सानो उकालो काटेपछि डाँडाकोबाटो ओरालो दक्षिण तेस्रोबाटो सिधै ताल्चाको माथी चेकपोस्टमा पुग्छ। निकै फ्रेश र रमाइलो बाटो छ।  एकदम नेचर वाक गरेको अनुभूति हुन्छ। राराको छाल खुट्टामा चुम्न आउँछ।  ठाउँ ठाउँ फोटो नखिची सुख पाईन्न।  हामीले तेही गर्यौं।  हामी संगसंगै यौटा म्युजिक भिडियो बनाउने टोलीपनि हिडिरहेको थियो । सौरभ त्यै समूहकी यौटी केटीसँग गफिंदै अघि बढे । ताल्चाका होटलमा यात्रीको मारामार थियो । बल्लतल्ल फरकफरक घरमा दुइटा कोठा मिल्यो । फोनको नेटवर्कले काम नगरेर हामी भन्दा अघि आएको शौरभलाई खोज्न मान्छे होटलहोटल चाहार्न पर्यो । उनि पनि हाम्रोलागि होटेल खोजेर बसेका रहेछन् तर अध्यारो भएकोले बेलैमा भेट भएन ।  केहिबेर चुलोको छेउ बसेर गफगर्दै भात खायौं । केटीहरु  र सौरभको बीच 'महिला'को इस्सुमा जुहारी बहस भयो निकैबेर । दीपकदाई र म दर्शकभइ बस्यौं । तीनजनाले भोली प्लेनको टिकट मिले यतैबाट नेपालगंज जाने विचार गरे। म र शौरभजी भने जुम्ला फर्किने भयौं।

अक्टोबर १८, २०१६: बिहान उठेर बाहिर निस्कँदा जताततै मान्छेको भीड थियो।  सबैजना प्लेन टिकटकै कुरा गरिरहेका थिए। कोही तीनदिनदेखि पर्खेकाहरु पनि भेटिए । प्लेन आउने न आउनेबारे अनेक अड्कलबाजी सुनिए।  सबैले सोर्सफोर्सको नाउँमा चिने र भएजति मान्छे संग फोन गरिरहेका थिए।  फोनको नेटवर्क राम्रो नभएकोले पर चौरको एउटा ढुङ्गोमा चढेर कुरो गरिरहेका हुन्थे।  कसैले सही सूचना दिंदैन थियो।  सबै अलपत्र परेको महसुस गरिरहेका थिए।  केहीबेरमा घामलागे पछि गाडीको टिकट काट्ने समितिका केटाहरु नाग्म र सुर्खेतजाने गाडी गमगढीबाट छुट्न लग्यो रे।  हामीले पनि तिनजनाको नाग्मजाने टिकट काट्यौं र एअरपोर्टको रनवेबाट दक्षिण पश्चिमझरेर बाटोमा गाडी कुर्न पुग्यौं।  त्यहाँ धेरै अरु रारा घुमेर फर्किनेहरु भेटिए।  त्यो म्युजिक टोली पनि थियो।  निकै कुरेपछि यौटा गाडी आयो।  'त्यो अर्को गाडी बिग्रेको छ, आउने नआउने टुङ्गै हुन्न' भनि झुक्यायो । गैरजिम्मेवार गाडीहरु यात्रीको कुनै मतलव राख्दैनन् ।

भर्खरै बर्खाले ध्वस्त पारेको बुम्रमाडीचौर तिर जाने बाटो 
केहीबेरमा समितिको मान्छेले अर्को गाडी पक्का आउँछ भनेपछि म र शौरभजी अरु साथीहरुलाई त्यतै छोडेर हिड्यौं । ति साथीहरु त्यो साँझ नग्मा पुगेर बसेछन् । शौरभ र म भुलभुलेबाट उनले अस्ति छोडेको बाइक लिएर चौथा हुँदै बुम्रमडिचौर पुगेर बास बस्यौं।