भनेको समयमा रन सुरु भएन। चिनेका साथीहरुसंग गफगाफ, फोटो सेसनहरु हुँदै गर्दा समय रमाईलै बित्यो। बोरिङ्ग भएन। रंगशालाको चौर भिजेको थियो। बस्ने ठाउँ थिएन। उभिँदा उभिँदा थाकियो। लगातार बजिरहेको यौटा प्रायोजकको जिङ्गल पनि ईरिटेटिङ्ग बन्नलाग्यो। किन ढिला भनेको त मुख्य अतिथि बनाईएको मन्त्रीजी नै आईनपुगेकोले रहेछ। मन्त्रि १:१५ घण्टा ढीला आइपुगे। उनि त 'खेलकुद' हैन 'सिंचाई' मन्त्री रहेछन् - एन. पी. सावद। मन्त्री आएर धन्न भाषण भने गरेनन्। एउटा गन फ़ाएर र बेलुन उडाए संगै दौडे फुल मराथान धावकहरु - ७:१० बजेतिर। हामी दौड्दा ७:१५ बजेको थियो। मनमा थोरै डर/चुनौती बोकेर धावकको जमात संगै म पनि रंगशालाको गेटबाट निस्किएर त्रिपुरेश्वरको चोकको बाटो थापाथलीतिर मोडिएँ। प्रोफेसनल धावकहरु ह्वात्त अघि बढे। अनुभवी अन्य धावकहरु संयमित तरिकाले यौटा पेसमा दगुर्न थाले। मैले त्यै लयमा मिसिन प्रयास गरेँ ।
आयोजकका अनुसार यसपाली ४,६४७ जनाले रजिस्ट्रेशन गरेका थिए। जसमा म्याराथनमा ७० जना, हाफ म्याराथनमा २२३ जना, पाँचकिमि (ओपन)मा २,६२३ जना, पाँचकिमि (स्कुल)मा १,७२१ जना र व्हीलचेयरमा १० जना थिए। यो पोहर र अघिल्ला बर्षहरु भन्दा निकै कम हुनुपर्छ। तयारी र प्रचारको कमी।
हामी थापाथलीबाट दाहिने मोडिएर बागमती पुल पार गरि ललितपुरतिर लाग्यौं। कुपन्डोल पहिलो उकालो आयो। केही धावकहरुले ओभरटेक गरे। त्यो चढाईमा कुनै असहजता भएन तर हल्का पसिना सुरुभयो । मैले सतिसजी र उहाँको साथीको पछिपछि दौडेर पेस मिलाउने प्रयास गरें। पाटन ढोका पुगेर हामी बायाँ ओरालो चाकुपाटको नयाँ र सफाबाटो दौड्यौं . रातिको पानीले धोएकोबाटो कालो चम्किलो देखिन्थ्यो। तल बागमतीखोला किनारा ज्वागल युएन पार्कछेउको तल्लो शंखमुलपुल तरेर फेरी काठमाडौँ छिर्यौँ । दाहिने मोडेर खोलाको तिरैतिर कच्चीबाटोमा भएको पानीका खाल्डाहरु नाघ्दै शंखमुल - बानेश्वरको बाटो आइपुग्यौं। बाटोमा भवानीजी भेटिए । २५ मिनेट भयो होला। खतरनाक उकालो आयो - शंखमूलमा । ओहो, कसरि सकिएला ? अघिअघि दौडनेहरु कोही हिडेंका पनि देखिए। ट्राई गर्छु नसके हिड्छु भनेर उही पेसमा उकालो दगुरें। सकें। २-३ जनालाई ओभेर्टेक गरें। निधारबाट पसिना चुहिन थाल्यो । शरीर भिज्यो। मुख सुक्यो। डिहाईड्रेसनको संकेत।
बानेश्वर चोकबाट तिनकुने तिर मोडीयौं । भूँईतिर हेर्दै दौडिरहेको मलाई बिआईसिसीको आघाडि कसैले बोलायो। निना म्याडमले इलेक्ट्रोलाईट्स पानी दिन बोलाउनु भएको रहेछ। थोरै पिएँ, अमृत झैँ। त्यसपछि पनि उहाँले पटकपटक अरु ठाउँमा पानी बाँड्नु भयो। अत्यन्त राहत भयो। दौडमा रिहाइड्रेसन निकै जरुरी कुरा हो। र सायद केहि फोटो पनि खिच्नु भयो एसएलआरबाट । मैले तिनकुने पुग्दै गर्दा २ जनाअरु धावकहरुलाईपनि ओभरटेक गरें तर तिनीहरुले एक घण्टा पछि फेरी मलाई पछिपारेका थिए। त्यसपछि शुरुभयो स्लोप उकालो बाटो तिनकुने - सिनामंगल, केहि तेस्रोहुँदै एयरपोर्ट गेट। गाडीको हर्न, धुवाँ, धुलो पार गर्दै एकसुर दौडीरहेँ। बाटोछेउ कतै 'रेहाइड्रेशन स्टेसन' थिए। भोलेण्टिएरहरुले बाटोको संकेत गरिरहेका देखिन्थे। ट्राफिक प्रहरीसंग मिलेर सवारी रोकी धावकलाई बाटो मिलाईथिन्दे। तरपनि केहि माईक्रो र बाईकवालाहरु हर्न बजाएर डिस्टर्ब गर्न छोड्दैनथे। कतै आर्मीका जवान झैँ देखिने जमातले म तिर इंगित गर्दै 'यसले राम्रो स्टेपमा दौडेको छ' भनेको सुनें। मेरो फुट पोजिसनको कुरा गरेको थियो। मलाई सन्तोष लग्यो। म त्यै लयमा कुदें।
महाराजगंजबाट देब्रे मोडीएर अब रुट सिधा लाजिम्पाट - लैनचौर - दरबारमार्ग - शहीदगेट हुँदै अन्तिमबिन्दु पुग्छ। सायद ६-७ किमि दुरी बाँकी छ। बाटोमा उभिएका केहि भोलेण्टिएर र बटुवाहरुले ताली बजाएर हौस्याए। राष्ट्रपति कार्यालयको बाटोकाटेर पानीपोखरी पुग्दै गर्दा जयलक्ष्मी र सविना भेटिए। केरा दिए। दौडदै गर्दा एक टुक्रा लिएँ। साह्रै मीठो लग्यो। निकै इनर्जी क्षय भएकोले होला, भोकको रापमा त्यो केरा अत्यन्त मिठो लग्यो। फेरी केरा 'क्वीक इनर्जी' पनि हो। पानीपोखरीको ओरालोमा उनीहरुलाई बोलाएर फेरी मागें। सिङ्गै केरा खाएँ। ओरालो यति कठीन बनेर आयो कि म हिंडें - यो पुरा यात्रामा पहिलो चोटी। ओरालो सकिन्जेंल हिँडे। एकठाउँमा उभिएर पानी पिउंदै गर्दा संजीव आए, बाईकमा। उनि ५ किमिको रेस सकेर घर फर्किंदा यतैबाट आएका थिए सायद। 'गाह्रो भए बाईकमा जाने कि?' भनेर जिस्काए (?) ! म कुदें। केहि क्षणमा दीपक गोपाजु भेटिए - एसएलआर क्यामेरा लिएर। उनिपनि ५ किमि दौडेर घर पुगेर हामीलाई खोज्दै आएका थिए। केहि फोटो लिए र गए। म दौडदै केहि अघि होटेल ग्याँग्जु तिर पुग्दा साइरनसहितका गाडीले पछ्याए र अघि बढे। बिब नम्बर ४ को फुल म्याराथनको धावकले मलाई पछि छोड्यो। केहि पछि अर्को एउटा र फेरी अर्कोले पनि बाइकको एस्कर्टमा पास गरे। म आफ्नै सुरमा दौडिएं।
म सिंहदरबारलाई बायाँ पारेर मोडिएर दरबारमार्गकोबाटो सिधा रत्नपार्क, टुँडिखेलकोबाटो दौडिएँ। यो रुट झन्डै लाजिम्पाटदेखि एकोहोरो प्लेनबाटो थियो। यस्तोमा खुट्टाको थाकन बढीनै महसुस भयो। एक मनले हिडु झैँ लाग्थ्यो, अर्को मनले 'हैन म्यान, अब थोरै बाँकी छ - कुद्' भन्थ्यो । पोहर यहि बाटोमा म थाकेर चुर थिऍ र हिंडेको थिए। तर यसपाली म कुदें। हंगकंगबजार छेउ अपोजिट तिर राजेश र दीपक पन्त दाई बाईक भेटिए। चियर गरेर गए। भद्रकाली पुग्दै मोडिन लाग्दा, एउटाले बोलाएर घुमेरजानुपर्ने जनाउ दियो। फर्केर घुम्दा पुरै पेस बिग्र्यो। एकाएक थकान बढ्यो। जेनतेन घुमें। निकै पानी पिएको थिएँ। शहीदगेट नपुग्दै पिसाबले च्याप्यो। कता जाने? हिंडेर खोजें। बाटोमा काँक्रो र अचार बेच्न राखेको देखें। मन थाम्न सकिन। एउटा केटो थियो। मागें। बोहोनी भएको छैन भन्थ्यो तर एक चिरो दियो। क्या मीठो ! म हिड्दै अघि बढें। म पछिपछि आइरहेको अर्को धावक भेटियो। भोक लग्यो भन्यो। मैले उधारो मागेर खाएको कुरा सुनाएँ । उ बाटोको पल्लो छेउमा भएको फलफुल पसलमा केरा मग्न हिड्यो। मैले आर्मीक्याम्प र रंगशाला छेउ एकान्त भेटेर फ्रेश भएँ र सिंढी ओर्लिएँ बाटोमा पुगी फेरी दौडिन थालेँ। यो रंगशाला प्रवेशको संघार हो। म म्याराथनको फिनिशिंग लाईनको मात्र करिव ५०० मि. नजिक छुँ। आई एम अल्मोस्ट देएर !!!
रंगशाला प्रवेश गरेँ। मेरो अफिसका र अन्य साथीहरु पर्खिरहेका थिए। चियर्स गरे। मनै फ़ुरुङ्ग भयो। अन्तिम कडीको राउण्ड दौडिएँ। अन्तिमको लागि जोगाएर राखेको इनर्जी लगाएर फुर्तिसाथ त्यो ल्याप दौडिएँ र फ़िनिशिङ्ग लाइनमा पुगेँ। आयोजकले 'हाफ म्याराथन फ़िनिशर' को गोल्ड प्लेटेड मेडल पहिराइदिए। एउटा प्रमाणपत्र दिए। साथीहरुले बधाई दिए। सबै संग फोटो खिचियो। मतलब, मैले पूरा २१.३९ किमिलामो दूरी दौडिएर सफलतापूर्वक सम्पन्न गरें। हुर्रे !!!!!!!
अन्तमा: मैले पुराना ब्लगहरुमा लेखेकोछुँ कि म एथ्लेट हैन। मैले बाल्यकाल वा विद्यार्थीकालमा खेलकुदमा भाग लिन सकिन/पाइन/गरिन। सायद अव्यक्त चाहनाहरु थिए। मौका मिले रहरहरु पूरा गर्न सकिने रहेछ। त्यसको लागि उमेर हैन जाँगर चाहिन्छ र उत्प्रेरक व्यक्तिहरुको संगत । मेरो म्याराथन प्रयासमा मेरो अफिसका सतिसजीको प्रेरणा उल्लेखनीय रह्यो। अनि पूर्व सहकर्मीहरु डा. प्रमोद, मुकेशजीहरु पनि उत्प्रेरक बने। उनीहरुको स्पोर्टम्यानसीप अतुलनीय छ। र अन्य साथीहरु महेशजी, राजेशजी, राजनजीहरुले पनि बेला बेलामा हौस्याईराखे । धन्यबाद उनीहरु सबैलाई!
------
दोस्रो खण्ड: हरेक चोटीको म्याराथन रेस सम्पन गरे पश्चात हामी केहि साथीहरुको जमघटमा सेलेब्रेसन हुने गर्छ। यसपाली श्रीदजीले पहिल्यै एउटा प्लान ल्याएका थिए। हामी ६ जना भयौँ। महेश, राजन, राजेश, किरण र म। हामी रंगशाला छेउको पुरानो अखडामा केहीबेर बसेर झम्सिखेल तिर लाग्यौं - हाँसको छोइला पाइने ठाउँ । बिहान भरी धुम्म परेको सितल आकास बिग्रियो, र दर्केर पानी पर्न थाल्यो। हामी श्रीदको ह्युमर, महेशको पन्चलाईन, राजेशको प्लट र राजनको फिलर मिश्रित माहौलमा रमायौं। र अन्तमा रोचक त के भयो भने - निस्किँने बेला सबैको पर्समा गाडी/बाईक पन्चर भए चाहिनसक्छ भन्दै राखेको रु सौ - डेडसौ मात्र बाँकी थियो।
(नोट: यसमा प्रयोग गरिएका फोटोहरु मोबाईल क्यामेरा, र सतिजजी र सविनाको सौजन्य हुन्। धन्यवाद। )