
सेप्टेम्बर २३, शनिबार बिहान सयौं सेतो टी-शर्टधारी रनरहरु दशरथ रंगशालाको मूल गेट र ग्राउण्डमा भेला भएका थिए। म पनि पुगें । म संगै जयलक्ष्मी, पुष्पा र सबीनापनि आएका थिए हौसला दिन र सहयोग गर्न। अफिसका साथीहरुको ग्यांग पनि भेटियो। उनीहरु संग फोटो खिचियो । वातावरण निकै रमाइलो भयो। हाम्रो अफिसबाटमात्र २५ जना थिए - १० जना केटी, १५ जना केटा। महेशजी र प्रसिद्धजी पनि थिए। थुप्रै अरुहरु पनि थिए। गैर-नेपालीहरुको उल्लेख्य सहभागिता थियो। सबै उत्साहित। दौड सुरु हुने प्रतिक्षामा सबै थिए। विभिन्न क्याटेगोरीमा दौडनेहरु थिए। ३ किमि व्हीलचेयर। ५ किमि विद्यार्थी र खुला, हाफ र फुल माराथन दौडनेहरुले फरक रंगका चेस्ट नम्बर लगाएका थिए।

बिहान ६.३० बजेतिर स्टार्टलाइनमा आउन भनियो। पहिलो लहरमा फुल माराथन दौडनेहरु १ बाट शुरु हुने कालो नम्बरमा थिए। यिनीहरु ३० जना भन्दा कम थिए। जसमा २ जना केटी थिए। दोस्रो लहरमा सय जनाजति हाफ माराथन दौडनेहरु ५०० बाट शुरुहुने रातोरंगको चेस्टनम्बरमा थिए। म, प्रमोद र मुकेश पनि थियौं त्यो भीडमा। सतिशजी पनि हुनुहुन्थ्यो उहाँको साथीसंग। यस पछाडिको लहरमा झन्डै १,०००-१,२०० को संख्यामा ५ किमि दौडनेहरु, विद्यार्थीहरु थिए। उनीहरुको जर्सी नीलो रंगको ३००० बाट सुरु हुने नम्बर थियो। र, अन्तमा २०-२५ जना व्हीलचेयर दौडका प्रतिश्पर्धि थिए। नेपाल खेलकुद संघका उपाध्यक्ष युवराज लामाले ओपनिङ्ग फ़ाएर गरे। अनि यसबर्षको काठमाडौँ माराथन सुरु भयो। म दौडिएँ।

एकदमै रोमाञ्चित मन। सबै उत्साहित। यौटा उल्लासका बीच दौड सुरु भयो। हामी त्रिपुरेश्वरको शालिक घुमेर टेकु तर्फ दौड्यौ। एक हुल ह्वात्त अघाडी बढ्यो र छुट्टीयो। उनिहरु पेसेबर खेलाडी थिए। पातला शरीर भएका, शुरुमै तिब्र गति समातेर दौडने। म, प्रमोद र मुकेश संगै थियौ। आफ्नै गतिमा। कालिमाटी पुग्दा पुग्दै उनीहरु अघाडी बढे। मैले आफ्नो रफ्तार कायमै राखें। रविभवनदेखि कलंकीको उकालो आयो । आधा उकालो काटुञ्जेल ठिकै थियो। बिस्तारै स्याँ स्याँ हुन थाल्यो। रोकिन पाए हुने झैं लाग्न थाल्यो। अरुलाई हेरें। सबै दौडेका थिए । कहिले त ओवरटेक पनि गरे। जान दिएँ । रफ्तार बढाइन। बरु न रोकिने र न हिड्ने संकल्प गर्दै अघि बढें। धेरैजना पछाडी पनि थिए। अन्ततः उकालो कट्यो। तिर्खा लागे झैं भएको थियो तर कुनै व्यबस्था थिएन। अघाडी बढीरहें। कलंकीदेखि बल्खुतिरको ओरालो रमाइलो लग्यो तर निकै लामो झैँ, खुट्टै थकायो। रविभवन उकालो काटेपछि यतासम्म कसैले उछिनेनन। बल्खु तिर बीचमा पानी खाएं। निकै मिठो लग्यो ।

बल्खुबाट अघि बढेर सानेपा उकालो शुरु भयो। स्याँ स्याँ त हराएको थियो तर बिस्तारै खुट्टाले अल्छि मान्न थाल्यो। अर्थात् थाकियो । तैपनि दगुरें आधा उकालो। एकजना हिडेको देखें। अनि म पनि हिडे नसकेर। यहिबेला केहिले उछिने मलाई। घाम टिलिक्क लागेको थियो । उकालोले पसिना पनि निकै बगायो। हप-हप पर्यो। बाँकि तयगर्नु पर्ने बाटो याद आयो। मनै हरेस खाने गरी टाढा लग्न थाल्यो। एकमनले ड्रप गर्ने बारे सोच्यो पनि। तर पनि बढियो अघि। मुकेश भेटियो। मलाई कुरेर बसेको। प्रमोद गैसकेछन अघाडी । मुकेश र म केहि बेर संगै दौड्यौ। सतिशजी र उहाँको साथी आइपुग्नुभयो। एकछिन संगै दौडियो। सायद हामि दौडेको ५५ मिनेट भेसकेको थियो। उकालोमा उनीहरुको पेसमा आफुलाई कुदाउन खोजेको गाह्रो भयो। छिटो दौडे चाँडो थकिने डर । अनि आफ्नै गतिमा बढें।

एकान्तकुना पुग्दा स्वयंसेवकको पानी वितरण भेटियो। एउटा फोमले शरीर पुछें। म संग पानी आदिको आफ्नै व्यवस्था थियो। यता आएपछि केहि बादल लाग्यो। चर्को घाम छेकियो। केहि सहज भयो। र, म एकनासले दौडिएँ । कतै कतै दोबाटोमा गाडीहरुले गतिमा ब्रेक लगाइदिन्थे। आर्मीका खेलाडीलाई सपोर्ट गर्न आएकाकेहि थान केटाकेटीहरुले कतै कतै चियर्स गरे। हौसला दिए। सातदोबाटोदेखि बालकुमारीसम्म पनि आरामले दौडियो। यतिबेलासम्म निकै झोल इन्टेक भएको थियो। पिसाब आयो। कहाँ जाने ? कोटेश्वरतिर उकालो बीचको झाडी काम आयो। बाँकी उकालो हिडेरै काटियो। यता २ जनालाई मैले जितें।

तिनकुने निर पानी इन्टेक थपेर बानेश्वर तिर बढें। अब नजिक छु भन्ने आभास भयो। तर बानेश्वर चोक पुग्दा निकै मन्द उकालो रहेछ। निकै थकिएको बेला हैरान पर्यो। केहि पाइला हिडेर फेरी दौडें। बबरमहल पुग्नु अघि किष्टबैंक/सगरमाथा टिवी तिरको बाटो मोडियो। खस्रोबाटो दौडेको बेस्सरी थाकियो। एकजना अर्कोलाई पनि उछिने यता आएर। हनुमानथान अघि आएर एकछिन बसेरै आराम गर्नु पर्यो। यति बेला कतै जोर्नी, कतै मसल, कतै पैताला, कतै हड्डी दुखे झैं भान हुन थाल्यो। मुभ छर्कें तैपनि। अनि दगुरें। सिंहदरबार उत्तरतिरको बाटो अर्को उकालो आयो। फेरी केहि बेर हिड्ने पर्यो। यता फेरी पानी चाहियो। तर भेटिएन। स्वयंसेवकले बागबजारमा पाइञ्छ भन्यो। बागबजार सुन्दा बित्तिकै निकै खुसि लग्यो। किनकि गतवर्ष जयनेपालहलसम्म पुग्नु पर्ने सुनेको थिएँ। तर, रत्नपार्क पुगें, पुरानो बसपार्क पुगें कतै पानी भेटिएन। मेरो साथ एस्कर्ट गर्ने पुष्पा र सविनापनि अब सकियो भनेर हिंडेछन। प्याक प्याक भएँ।
सहीदगेट निर एउटा काँक्रो बच्ने बुढी महिला देखें। 'मलाई एक पिस काँक्रो दिनुहोस्। अहिले म संग पैसा छैन, पछि दिन्छु।" उनलाई अनुरोध गरें। एकछिन अच्चम्म परिन, तर दिईन्। काँक्रो खाँदै दौडें। तर धित मरेन। आकासे पुल मुनिको पसलमा पानी मागें। उही 'मसंग अहिले पैसा छैन। पछि दिन आउंछु ' भने। एउटाले मानेन। छेउको अर्को पसलमा पनि सोधें। यता मान्यो। आधा बोतल सिनित्यै पारें। बाँकी पछि खान्छुं भनि उतै छोडेर दौडें। यसो अघाडी बढेको त आर्मी हलको गेटमै पानीको व्यवस्था रहेछ। काम लागेन। म अघि बढें। अब त रंगशालाको काखमै। एकछिन मै हाफ माराथन सम्पन्न गरिन्छ। पाइला बढे।



रंगशालाको भित्रिगेट प्रवेश गर्दै मेरो अफिसका साथीहरुले चिच्याएर सपोर्ट गरे। मैले अव रंगशाला बित्रको एक राउण्ड लगाउनु पर्छ। त्यो सर्कल लगाउदै गर्दा माइकिङ्गमा मेरो नाम गरेको सुनें। उहिल्यै ५ किमि दौडेका धेरै साथीहरु म पुग्ने प्रतिक्षामा यतै कुरेर बसेका रहेछन् । फिनिशलाइन पुग्दै गर्दा सपोर्टमा साथीहरु कराएको, ताली बजेको, क्यामरा तेर्स्याएको, माईकमा आवाज दिएको दृश्यले बाटो भरिका सब पिडाहरु हराए। माराथन कम्प्लिट गरेकोमा आयोजकले एउटा तक्मा लगाईदिए। साथीहरुसबैले बधाई दिए। एनटीभीको टिम आएर छोटो अन्तरवार्ता लग्यो। फोटो खिच्यौं। मैले दौड सम्पन्न गरें। एस इ डीड इट !!!
(नोट: यो माराथन सेरिज (१-३) ब्लगमा प्रयोग भएका फोटोहरु प्रभारण महत, सतिशराज पाण्डे, डा.भानुभक्त निरौला, र सविना अधिकारीबाट प्राप्त भएका हुन्। सबैलाई हार्दिक धन्यबाद )
(समाप्त)
No comments:
Post a Comment