Tuesday, November 5, 2013

काठमाडौँ माराथन दौडंदा - १

सेप्टेम्बर २३, २०१३ शनिबार । सातौँ काठमान्डू माराथान।  मैले २१ किमि रन अर्थात हाफ माराथन दौडें । पहिलो चोटी पोहोरसाल यसको छैठौं संस्करणमा ५ किमिमा दौडिएको थिएँ। त्यसबेलाको अनुभव र साथीहरुको उक्साहट, थोरै  रहर  र बाँकि मेरो आफ्नै कमजोर आत्म-विश्वास संगको लडाई जित्ने प्रतिबद्धताले यो दौड सम्पन्न गर्न सम्भव भयो।  यो ब्लग त्यही अनुभवको संकलन हो।

सानो हुँदा ---

अरु बच्चा झैं सानोमा गाउँ वरिपरि  दौडिन्थ्यो बिना लक्ष्य । तर प्रतिष्पर्धामा, लक्ष्यसाथ दौडेको अनुभव बनेन।  स्कुलमा भलिबल चल्थ्यो, तर कैल्यैपनि खेलिएन। केवल सानोतिनो रहरमा खेलेको बाहेक । एउटा कन्जिनेटल समस्या  छ आँखाको त्यसैले दोहोरो प्रतिष्पर्धाका खेलहरुमा दक्ष्यता छैन।  जुम्लामा ३ वटा स्कुल पढें, तर कतै पनि खेलकुदमा लगिन। कतै फिल्ड नै  थिएन त  कतै धेरै विद्यार्थी भएर आफु गणना मै आउथेन।  कतै संकोच लाग्थ्यो। बिद्यालयमा खेलको प्रवर्धन गर्ने परिपाटी पनि थिएन।  अनि,  कतिपय बेला गाउँ भन्दा टाढाको  स्कुलमा जानुले निमुखो अनुभूति पनि भयो। यी यावत कारणले खेल जानिएन, रुचि जगेन, बानी परेन।  तसर्थ, खेलकुद मेरो लागि खास थिएन। 

शारीरिक अभ्यासमा पनि ध्यान पुग्दैनथ्यो । खासमा त्यस्तो परिवेश, संगत र जानकारी केहि थिएन। पछि  शारीरिक अभ्यासमा रहर आयो नेपालगंज काम गर्दा।  शुरु गरेँ।  तर निरन्तरता दिन गाह्रो। पछि हेटौडाहुँदा पनि केहि सुरुवात गरियो।  तर, अनेक बहाना मिल्छ र क्रमभंग हुन्छ।  रहर भने जहिल्यै हुन्छ।   

एकवर्ष अघि ---

गतबर्ष अगष्टतिर मेरो अफिसको कन्ट्री डाइरेक्टर सतिशजीले 'काठमाडौँ मराथान हुन्दैछ नि अक्टोबर १३ तारिकमा, दौडने?' भनेर सोध्नुभयो हामीकेहि स्टाफ साथीहरुमाझ। सतिशजीले दौडने गर्नु हुँदो रहेछ। । 'गाह्रो हुन्न, ५ किमिमा भाग लिने।  सयौं अरु मान्छे पनि हुन्छन्' भनेर हामीलाई हौस्याउनु भयो।  विचार गर्नु पर्ला भनेर त्यसै छोडियो।  फेरी कुरो चल्यो।  प्रमोदजीसंग  यूरोपतिर दौडेको अनुभव रहेछ।  मुकेशले पनि रुचि देखायो। प्रभारणले पनि  माने ।  शुरुमा हामी ४ जनामात्र भयौं। पछि  यौटा मिटिंगमा सतिशजी ले सबै स्टाफलाई आफ्नो अनुभव सुनाउदै 'सोचे जस्तो गाह्रो नहुने बरु निकै फन हुने' भन्नु भयो। हामीले हौस्याउन थाल्यौं।  अनि  बिस्तारै अरुपनि आए। अफिस बाहिरका साथिहरु पनि भाग लिने भए।  



ट्रेडमिलमा दौडन प्रयास गरें , सहज लागेन।  रुटिन मिलाउन गाह्रो।  बाटोमा दौडन सुरु गरे।  २ किमि नपुग्दै स्याँ स्याँ भयो, अनि  ड्रप गरे।  फेरी अर्को दिन सुरु गरे।  थोरै ताने।  केहि हप्ताको प्रयास पछि ६ किमि ननस्टप दौडन सकें। यसपालिलाई यतिले पुग्छ।  काठमाडौँको बाटोमा  धुलो, धुवाँ, हल्लाको बीच दौडनु निकै अफ्ठ्यारो र जोखिम छ। तर भित्रि बाटो र पेटीमा दौडदा वास्तविक दौडको झैँ अभ्यास मिल्छ। आफुलाई दबाब दिन दौडेको कुरा फेसबुक र ट्विटरमा राख्न थालें। यसरि शेयरगर्ने टिप्स  सतिशजीको थियो।  निकै काम लग्यो।  किनकि, भेटमा साथीहरुले सोध्थे - 'कस्तो हुँदै छ ?' अनि आफ़लाई मिसन सम्पन्न गर्ने जोश र दबाब दुवै आइलाग्थ्यो।  अनि भोलि बिहान बेडसंग संघर्षमा जित हासिल गर्न मद्दत पुग्थ्यो।   


यो दौडलाई 'रन फर अ कज' को रुपमा लिनुपर्ने आइडिया आयो।  प्रमोद्जीलाई केहि अनुभव रहेछ। सतिशजी र भानु जी (डेपुटी) ले सपोर्ट गर्नु भयो। एक हप्ताजति सोसल मेडियामा चर्चा गरेर फण्ड कलेक्सन गरियो। झन्डै २ लाखसम्मको प्लेज (आश्वासन) आयो।  अफिशकै सिनियर स्टाफ र बैंकक अफिसबाट पनि सहयोग आउने भयो।  साथीहरुको संजाल मार्फत अरु धेरै ठाउंबाट सहयोग मिल्ने कुरो भयो।  


मराथानको अघिल्लो दिन  सतिशजीले एउटा ब्लग पनि लेख्नु भएको थियो एकदमै  इन्स्पयारिंग।  यता हेर्न मिल्छ।  Satish's Note on Marathon . 

त्यो दिन आयो।  अन्तत: हामी २७ जना दौडियौं । महिलाहरुकोआधाजसो सहभागिता रह्यो। सतिशजी  र प्रमोदजी हाफ माराथन (२१ किमि) दौडे।  अरु सबै हामि ५ किमिमा दौडियौं।  एउटै टि-शर्ट, सयौं जनाको भीडमा दौडदा सबै रमाए।  



यसबाट हामीले रु १,७३,००० जम्मा गर्यौं।  त्यो पैसा कर्णाली अञ्चलको जुम्ला जिल्लामा अवस्थित श्री दुर्गा उमाविलाई अक्षयकोष खोल्न सहयोग गरियो।  सो स्कुलले त्यो रकमको ब्याजबाट यसबर्ष केहि बिद्यार्थीहरुलाई पुरष्कार दियो।  रहरै रहरले शुरुगरेको दौड यौटा अभियान बन्यो।

(क्रमसः। .) 




  

2 comments:

  1. Thanks for the ssharing great moments that we had together for the run cun fun for a cause and congratulations for taking lead too. I noticed that the KM shiuld be rellaced by Half Marathon in case of Satish ji and Pramodji. Congrats for hugely successful event.

    ReplyDelete
  2. OK. I corrected it. Thank you so much ! :-)

    ReplyDelete