यहाँ थरीथरी यात्री भेटिए - एउटा - नेपालगंजबाट आफ्नै गाडी ल्याएर आएको तर गाडी दैलेखतिर कतै बिग्र्यो, लोकल गाडीमा नाग्मसम्म पुगेर यो स्कोरपियो भाडामा लिएर रारा जाँदै गरेको समुह। भाडा रु ३५ हजारमा दुईदिन। अर्को - तानसेन, पाल्पाको व्यापारीको समूह। उतैबाट ३ बाइकमा ६ जना आएका। थाकेर परेशान। 'बाईक यतै बेचेर जुम्लापुगेर प्लेनमा जाउँ जस्तो भैसक्यो' सुनाउंदै थिए। अर्को ४ जना मकवानपुरबाट बाईकमै आएको ग्रुपपनि थियो। हामीले पहिलोदिन भेटेका थियौं भक्तपुरबाट हिडेका ७ जना बाईकर्सको समूह। अचेल एडभेन्चर ट्राभलमा हिड्ने यूवाहरु निकै हुन थाले। सबैसंग एक्साइट्मेण्ट थियो।
जसै हामी डाँफे पुग्यौं जुम्लाभ्याली छर्लंग आँखामा आयो। पुरा बर्डआई भ्यू देखियो। उता भुरिचुलामाईको डाँडोदेखि चिमारामालिकासम्म। पारीपट्टी ठाकुरज्यूजाने बाटो नाना हाँका, पर दैचाउले र पुरा पाटन। तल जुम्लाबजार, एयरपोर्ट, खोलिकोट, बुड्थबाडा, सिम्खाडाका बस्तीहरु, केटिएसको प्रांगण, पावरहाउसको रिजर्भायर, चेरेचौर सबै छ्याङ्ग देखिने। दुरबिनले नियाल्यौं। एकछिन आराम गर्यौं। र यात्राको अन्तिम उकालो क्रस भै सकेको थियो र हामी अन्तिम ओरालो झर्यौं। थाकेको खुट्टा ओरालोमा कापेंका हुने। पुष्पा उछिट्टियो र निधारमा टुटुल्को उठ्यो। चेरेचौरमा फेरी केहिबेर आराम गरेर हामी केटिएसको कम्पाउण्ड भित्रको बाटोहुँदै पावरहाउसको पोखरी छेउ आएर फ्रेशहुन बस्यौं। गाउँका फुच्चेहरु पोखरीको एउटा बेवारिसे डुंगाबाट डाईभगर्दै नुहाउँदै थिए।
केटिएस मैले २ बर्ष बिताएको ठाउँ हो। करिब २० बर्ष पहिले । बीचमा एकपटक गएको थिए। आज कपील र पुष्पालाई बयान गर्दै हिडेको छुँ। उनीहरुलाई यो निकै रोमान्चक लागेको छ। तर, यो प्रांगण मैले छोड्नेबेलाको जस्तो पटक्कै छैन। निकै खस्केछ। बाटो, भित्ता, चौतारो र चौर सबै फोहर लग्यो। त्यस्तो झकमक हुने ठाउँमा एउटै फूल देखिनं। भत्केको,मैलो घर, माकुराको जालो परेको अफिस घर। सबै हेर्दा टिठलाग्दो देखें। कुनैबेला यो ठाउँलाई जुम्लाको स्विट्जरल्याण्ड पनि भानिन्थ्यो। नरमाइलो लाग्यो। राजनीति र आन्तरिक किचलोको परिणाम होला।
हामी करिब २ बजेतिर जुम्ला खलङ्गाबजार पुग्यौं। बाटैमा टेकेन्द्रजी भेटिनु भयो। अल्ट्राम्याराथनको रजिस्ट्रेशन फारम हातमा थियो। यत्रो ५ दिनको ट्रेकिंगबाट फर्केको कसरी दौडन सक्नु ? हिडेर भएपनि भागलिनैपर्ने जिद्दी गर्नु भयो। भरेँ। उता बजारमा नारायणजी भेटिनु भयो। आयोजक। उहिल्यैदेखि भागलिन भन्नुहुन्थ्यो। आयोजकले अनुमान गरेभन्दा धेरैले भागलिन उत्साह देखाएछन्। टिसर्ट त सकिए छ। अनि आफुले लगाएको फुकालेर दिए।
पुष्पाहरुले बाटोमा च्यातिएको जुत्ता सिलाए। भोक लागेको थियो तर हामी घरतिर लाग्यौं। बसहरु अचेल नयाँ बसपार्कमा पाइने रहेछ । हामी चोकमा पुग्दै गर्दा ठिक्क एउटाबस आयो। अन्तिम ७ किमीको बाटो गाडीमा घर पुग्यौं। यात्रासुरु गरेको पाचौंदिन बेलुका ५:३० बजे हामी राराको नेचुर एडभेन्चर ट्रेक सकेर सकुसल घर पुग्यौं। पुष्पा भन्दै थिई 'ओहो, यतिधेरै फन एक्स्पेरिएन्स, मेरो साथीहरुलाई सुनाउने स्टोरी कहाँबाट स्टार्ट गर्ने होला?'
(समाप्त)