हामी साँझ ५ बजे महिन्द्रा बोलेरोमा चढ्यौं। करिब १२ - १४ घण्टामा जुम्ला पुग्ने अनुमान। करिब २३२ किमिको लागि त्यो जिपको भाडा रु. ३५,०००/- थियो । त्यसमा ड्राइभर सहित हामी ८ जना थियौँ । गाडी गुड्यो। सुर्खेत- रातानाग्ला-गुराँसे-डुङ्गेश्वोर हुँदै गयो। उता कर्णाली राजमार्गको बाटो बड्डीचौर - तल्लोडुङ्गेश्वोर भन्दा यताबाट करिब १८ किमि छोटो पर्ने रहेछ। यात्री सबै अपरिचित। पहिलो चोटी भेटेका। 'ड्राइभर भाईलाई सुत्न नदिनेगरी गफ गर्नुहोला' भन्ने सर्तमा मैले अघाडीको सिट पाएँ। गाडी उकालो लाग्दै गर्दा बिस्तारै कुरो हुन थाल्यो। सबै फरक पृष्ठभूमि र कथा बोकेका पात्र थिए।
एउटा अग्लो जिउडाल र छोटो हेयरकट भएको केटो मलेसियाबाट ६ महिनामै फर्केको रहेछ। 'दलालले झुक्यायो, पेट्रोल कम्पनी भनेको घरबनाउन लगायो। तलबपनि थोरै। कसलाई भन्ने ? ' व्यथा सुनायो। यो उसको लभस्टोरी संग जोडिएको थियो। 'गाउँमा केटी मनपरेकी थिई, बिहा गर्नेसम्म पैंसा थिएन। गाउँको क्लबतिर राजनीति गरियो। जिल्लाका नेता चिनियो । चुनावमा लगियो। जिताईयो। अरु इलम केहि छैन। आफु उस्तै रहें । किराको (यार्सागुम्बा) व्यापारमा लागें। फापेन। बिहागरें। घरमै छोडेर विदेश हिंडे। त्योपनि भनेकोजस्तो भएन। त्यै बुढीले जसोतसो गरि पैसा पठाईदिई र दशैंमा घर जाँदैछुँ। प्लेन नचडी गाडीबाट जाँदैछुँ, बचेको पैसाले उसकोलागि केही किन्न त पाइयो हैन ? ' उसको कथा । निकै मिलनसार, भलाद्मीपन देखाउने उसको बोलीमा जुम्ली लवजको गहनता थियो। 'मलाई भाषा मिलाएर बोल्न आउदैन, आफै मिलाएर बुझ्नु' भन्थ्यो।
आर्मीक्याम्प नजिक उकालोमा सुर्खेत झर्दैगरेको गाडीले बाटो ब्लकगरेको थियो। तेल सकिएर अड्किएको रहेछ। अरुगाडीहरु सँग मागिरहेको थियो - १५०/२०० रुपियाँ लिटर तिर्छु भनेर पनि पाएन। कसैले दिएन। यस्तोमा कसैले एक्स्ट्रा बोक्दैन वा दिन झन्झट मान्छ। हामीले त्यो गाडीलाई धकेलेर साइड लायौँ। र हिड्यौं।
हामी तल्लोडुङ्गेश्वरमा खाना खायौं। ड्राईभर मोबाइलमा क्यान्डीक्रश खेलीरहेको थिए। गफ भयो। 'कति लेभल?' 'जम्मा १३, यो क्रस गर्नै गाह्रो भयो। ' यो पसल जुम्लाको बड्कीबाट यता झरेर व्यवसाय गर्ने साहुजीको रहेछ। सुनाए - 'यहिबाटो खच्चर चलाऊँथें । कर्णालीरोड बन्यो। यता खच्चर चलेन। उमेर ढल्किन लग्यो। अनि पसल गरें। यो भाडामा थियो। अहिले आफ्नै बनाएँ। जमिन जोडें। अब यतैको भैयो। यो दैलेख हो। अलिकति सुर्खेतपनि छ। छोरीहरु काठमान्डू पढ्छन। छुट्टीमा आएका छन्। यिनै त हुन्।' दुइटा केटीहरुतिर देखाए। +२ र क्याम्पस पढ्ने उमेरका। उतैको लवाइको प्रभाव। होस्टेलबसेर पढ्ने रहेछन। छोरी शिक्षामा बाबुआमाको योगदान- बुडालाई धन्यवाद दिएँ।
हाम्रो टोलीमा एउटी केटी थिई - काठमाडौँमा नर्सिङ्ग तेस्रोबर्षमा पढ्ने। उसलाई घर कहाँ हो? भनेर सोध्यो भने - 'बुबाको घर फलानो ठाउँ र आमाको घर फलाना ठाउँ तर म होस्टेलमा बसेर पढ्छु' भन्थी। उ जुम्लाजाने टिकट कन्फर्म छ भनेर बिहान नेपालगंजबाट आएको। भएन। त्यसोभए फर्की भनेर आमाले भनेको भोली उड्छ भन्दै यतै बस्छु भनेर तर गाडीमा हिडेको रे। कसैलाई खबर गरेको छैन रे। 'त्यसोभए जुम्ला कहाँ जाने हो?' 'दिदि छ' 'दशैं त बाआमा वा मामाघरमा रमाइलो हुँदो होनि?' 'दिदीले आइजा कि आइजा भन्याछ। साथीहरु पनि उतै छ।' उसको एसएलसी यतैबाट पास गरिदिएका रहेछन सायद।
हामी खाएर हिड्यौं। पुलिशले नरोके रातभर हिड्ने । पछाडीबस्ने एउटा महिलालाई निकै अफ्ट्यारो भयो रे। उसको श्रीमानले मेरो सिट दिन भन्यो। हामीले साट्यौ। अब म यो केटीको छेउमा कोचिएर बस्न पुगेँ। 'अहिले अलि सजिलो भयो' उसले भनि। 'ल ठिकै भयो, मन नपर्ला कि भन्ने डर थियो। ' मैले थपिदिएँ। खासमा आयतनको कारण महिलाले पुरुषको तुलनामा सिटको धेरै अंश ओगट्छन। सायद त्यो महिलाले ओगटेको सिटमा म बस्दा सजिलो भयोहोला ।
राति साढे १० बजेतिर पहिलो पुलिस चेकपोस्ट पुग्यौं। बाटोमा मुढो तेर्स्याएर छेकेको थियो। उताकतै अँध्यारोमा खोकेर पुलिसले संकेत दियो। म छेउको मान्छे र ति दुइटा केटाहरु कुरो मिलाउन गए . निकैबेरको गुनगुन पछि मुढो पन्छाएर आए। 'कसरी मिल्यो कुरो?' सोधियो। 'हजुर गाडीमा दुइटा साना बच्चा छन्। ति भोकाए। खाना खाएकै छैन।' भनेर ढाँटेछन्। 'मैले छोडी दिउँला, उता रामघाटबाट जान दिन्न। यतै बीचमा कतै खाना खोजेर खानु र उतै बस्नु भनेको छ पुलिसले उता पनि केहि मिलाउनु पर्ला' भनेर फुर्ति देखाए। हामी हिड्यौं। त्यो मान्छे दुइटा छोरी र श्रीमतीलिएर आएको थियो। घर नेपालगंज वा दाङ्ग कतै हो, ससुराली जुम्ला रहेछ। बिहेको नौवर्ष भैसकेछ तर कहिलै ससुराली गाउँ नगएको। यसपाला पनि श्रीमती र बच्चालाई प्लेनमा छोडेर आफु फर्किने प्लान रहेछ तर गाडीमा आउनुपरेकोले संगै आएको। तर, ससुराली गाउँ न पुगी बिचैमा फर्किने सुरमा थियो। ड्राईभरसंग तुरुन्त फर्किने चाँजोपाँजो मिलाउदै थियो। उसका बच्चाहरु भोमिट गर्दै सुतिसक्थे। श्रीमती चुपचाप थिई। उ बोल्थ्यो - 'साह्रै दुःख हुने भो। सालो थियो एअरपोर्टमा। उसैले भिनाजु आउनुहोस् टिकट मिल्छ भनेको भएर नेपालगंजबाटै बाइकमा बुढी, बच्चा च्यापेर आएको।' आफ्नो समस्या राख्यो। उसले त त्यै बाईकमा जुम्ला पुग्ने आँटसम्म गर्नलागेको रहेछ।
र, हाम्रो सहयात्राकी एउटी महिला थिइन्। कामकाजी महिला। जुम्ला माईतीघर। पटरपटर बोल्नुपर्ने। 'बुबाले यसो भन्नु भो, दाइले पोहर यो पठाईदिनु भयो, मैले यसो गरें। भाइले मलाई माया गर्छ। त्यो बुहारी यस्ती, अर्की उस्ती इत्यादि' . अरुको बारेमा कहिल्यै सोधिनन तर आफ्नोबारे नसोधेपनि फरर बोल्ने। हाम्रो पछाडी सिटको केटाहरुले गफगर्न खोजे 'कति हल्ला गरेको' भन्न नचुक्ने। गाडीले २/४ घुम्ती लिएपछि उनि सुस्ताउन्थिन। अनि, हामी कुरा गर्थ्यौं।
अध्यारो ढुंगेबाटो खोल्सोमा पुग्यो। गाडी धर्मरायो। टायरपन्चर। तल कर्णाली नदी सुसाइरहेको। त्यो एकदमै सुनसान र डर लाग्दो ठाउँ थियो। एक्स्ट्रा टायर थियो र सबै मिलेर फेर्यौं। त्यो बच्चाहरुको बाबुले कुरो झिक्यो 'चाडबाडको बेला, सुनसान ठाउँ, यातातिर डाँका लाग्छन रे। गाडी, मान्छे, बस्ति केही निसान छैन। मध्यरातिमा हामीलाई जसलेपनि लुट्न सक्छ।' त्यो डराउने प्रसङ्ग थियो। सबै आआफ्नो मुल्यवान बस्तुप्रति सजग बनेर चुपचाप बसे। अब सबैको बोली र मुहारमा हल्का डर फैलियो। जे भएपनि हामीले अहिले गर्नसक्ने के नै पो छ र ? चन्दननाथबाबा छँदै छन् नि। यात्रा सफल हुन्छ। मैले गुरुजीको मोबाइल मागें र क्यान्डीक्रश खेलें। लेभल २० पार गरिदिएँ। मुढो तेर्स्याएको बाटो आयो । अर्को चौकी पुगेछ। रामघाट पुलिस चौकी। उही फर्मुला लिएर ३ जना गए पुलिससंग कुरो मिलाउन। रित्तै फर्के। 'मंत्रीले फोन गरेनी मिल्दैन' भन्यो रे। उ पर बजारपुगेर बस्छौं भन्दा 'बिलबुक यतै धरौटी राखेर जाउ' भन्यो रे। २०० जति पैसा दिएर मिल्छकि भनेर ट़ाई गरेछन्। बेसरी हप्काएछ। अनि लुरुक्क फर्केछन। बिहान ५ नबजी छोड्दैन रे। हाइमि
ड्राईभर गाडीमै सुत्ने भयो। हामी सुत्ने ठाउँ खोज्न हिड्यौं। करिब १:३० बजीसकेको थियो। एउटा वाचमेन लाठि ठोक्दै आयो। कुरो बुझ्यो र एउटा होटेलजस्तो झुपडीमा लिएर गयो। एउटा कोठा, ठुल्ठुला ३ बेड थिए। रू १०० को कोठाभाडा र रु २० कमिसन वाचमेनलाई। बच्चाभएको जोडीलाई अर्को घर तिर व्यवास्था मिलाए। हामी यतै सुत्यौं - मोबाइलको प्रकाशले सिरानी मिलाउँदै र झोला, पर्स च्याप्दै।
(क्रमशः )
No comments:
Post a Comment