Thursday, October 23, 2014

अप्सरा भेटिने यात्रा (Trekking to Rara: A Nature Walk) - (भाग - १)

"… 
ए रारा ! बताऊ ! रारा भनेको तिमी को हौ ?
स्वर्गकी अप्सरा ?–
 …… 
…. पातली, कम्मर छिनेकी सुन्दरी युवतीसरि
कसरी जान्यौ, लागू भरेर, जादू गरेर
ती ठूला परेली आँखा झिम्क्याउन, लोभ्याउन
 …… 
 हे पवित्र प्रकृतिका स्वामी 
बटुली सर्वस्व सुन्दरताको भण्डार सोहोरेर
के खन्यायो यसै रारामा ? 
घोलेर मिलाई–
पहिराई हिमगिरिका मुक्ताहार गलामा 
…. "
 - रारा कि अप्सरा; मबिबिशाह (२०२०) 
 
विद्यार्थीकालमा फिल्ड शैक्षिक भ्रमणमा जुम्लाको सिंजा हुँदै रारा हेर्न पुगेको थिएँ।  करिब २० बर्ष पहिले।  त्यो बेला रारादहको दक्षिण मिलिचौरमा 'रारा कि अप्सरा?' बारे लेखेको थियो। माथिको कवितांश।  मलाई पनि रारा अप्सरा झैं लाग्यो, पहिलो भेटमा। अप्सरा भनेकी अति सुन्दर र सेक्सी स्वरुपकी  प्रतिमूर्ति हुन्।  तत्कालीन राजा महेन्द्रले त्यहीं बसेर यो कविता रचेका थिए रे।  त्यस यता निकै परिवर्तन भयो।  रारादह 'महेन्द्र ताल', रारा ताल' भनिन थाल्यो। दहछेउका बस्तिहरु रारा र छाप्रु गाउँहरुलाई बाँकेजिल्ला तिर प्रतिस्थापित गरियो। र १०६ वर्गकिमिको राष्ट्रिय निकुञ्ज बन्यो । प्राकृतिकरुपमा राराको भर्जिनिटी रेप्लेश्मेंट भयो। पर्यटनको प्रचुर सम्भावना भएको यो स्थल घुम्ने चाहना नहुने नेपाली को होला तर धेरैलाई यो दुस्कर यात्रा लाग्छ।  उनै अप्सरालाई भेट्न उही पुरानो बाटो हुँदै यसपालीको दशैंपछि ट्रेकिङ्ग गरियो।        

योजना: दशैंको छुट्टी २ हप्ताजतिको थियो।  टिका र महत्वपुर्ण भेटघाट सकियो।  गाउँ पर्सिपल्टदेखि काममा पुरै बिजी हुन्छ।  बजारतिर बरालिने वा चियापसलतिर गफिने रहर थिएन। टाइमपासको चुनौती।  लामो स्कुलछुट्टीको घर बसाइमा केही नयाँकुरो गर्न खोज्दै थिए - पुष्पा (१४) र कपील (१२)। राराको ट्रेकिङ्ग गर्ने, सक्छौ? सोधें।  'वाउ! व्हाट अ ब्रिलिएण्ट आइडिया !' 'जाने जाने, सक्छौं' . घरबाट बिरोध आयो।  'हिड्न गाह्रो हुन्छ, लेक लाग्छ। दुखः हुन्छ ' 'नवरात्रीमा राति हिड्न डर हुन्छ' 'अस्ति त्यो बाटोमा एउटा मान्छे मारे।  लुटेछन' आदिकुरो सुनियो।  किरण, हरी र जयलक्ष्मीहरु पहिले रारा गएका थिए।  जानेकुराको सपोर्ट गरे। उहिहरुले सुनाएका राराका कथाले पुष्पा रोमान्चित थियो।  यो अवसर थियो।  दुबैले 'हामी सक्छौ ' भन्ने साहस देखाए।  आमाले मान्नु भयो।  हेमन्त (२१) पनि जाने भयो।  एकजोर न्यानोलुगा सहितको करिब ५ केजी आ-आफ्नो झोला तयार भयो। यौटा बाईनाकुलर पनि बोक्यौं र फोटोकोलागि मोबाईल र ट्याब्लेट भए पुग्छ।   लाम्रागाउँ - सिंजाभ्याली - चुचेमारालेक - राराताल - ताल्चा/झ्यारीगाउँ  - घुर्चीलेक  - डाँफेलेक - खलंगा बजार - लाम्रागाउँको यात्रा ५ दिनको हुनेछ।  पहिलो दिन थोरैबसको यात्रा र बाँकी पुरै ट्रेकिंग - गाउँ/बस्ति, जंगल, पखेरा, लेक, उकाली र ओराली।  जुम्ला र मुगुको सेरोफेरो।  

आइतबार, अक्टोबर ५, २०१४ को बिहान ८ बजे सिंजाजाने गाडीमा चढ्यौं ।  करिब २५ किमि पश्चिममा नाग्मगाड पुग्दा ११ बज्यो।  यो जुम्ला-कालिकोट बोर्डरको नयाँ बिकसित बजार हो।   यतैबाट सिंजाहुँदै मुगु सदरमुकाम जाने बाटो कोरिएको छ।  उत्तरपूर्व तिर रहेको सिंजाभ्यालीहुँदै बग्ने हिमानदी यहिँ दोभानमा पुगेर तिलामा मिसिन्छ र कालिकोटको अर्को छेउमा कर्णालीनदी सँग मिल्नलाई जान्छ।  यही बजारमा मैले फर्स्टएडको सामान र औषधि किनें - ब्यान्डेज, गज, ह्यान्डप्लास्ट, पेनकिलर, जीवनजल लगायत केही एण्टिबायोटिक, मेट्रोन आदि।  अरु सामान बाटोमै किन्ने। उतै पाउँछ रे।  थोरै महँगो पर्ला तर  बोक्न झन्झट किनगर्नु।  फेरी, डोमेस्टिक टुरिस्ट परियो।  केहि खर्च त गर्नु नै पर्यो।

आधा घण्टामा हिड्छ भन्ने गाडी त १ बजे हिड्यो।  गाडी हुडमा र भित्र प्यासेजमा जस्तापात, सिमेन्ट, बियरलगायत सामान थिए र खचाखच मान्छे पनि थिए । छतमा पनि उक्ले । उबड़खावडबाटोमा गाडी जब हिड्यो त्यो कुनै हात्ती हिडे जस्तो लाग्थ्यो। ढलपल-ढलपल।  ३ बजे 'आचार्यलिही' पुग्यो। यहाँसम्म रु. ३०० भाडा परेछ। अघाडी बाटो बिग्रेको छ।  गोठीज्यूलासम्म पुग्ने योजना थियो यतै झर्नु पर्यो । करिब ४ घण्टा हिड्नु पर्छ।  हामी हिड्यौं। गाडी हिड्ने बाटो पछ्याउदा लामो हुन्थ्यो।  हामी  थोरै ओरालो खेत (ज्यूला)को बीचहुँदै झोलुङ्गेपुल तर्यौं।  गाडीमा संगै झरेका केहीसंग कुरोभयो।  एउटी बच्चा बोकेकी महिला माईति हिडेकी थिईन।  जुम्ला खोलिकोटबाट मुगुको खत्याडजान लागेकी। साथमा उनलाई पुर्याउन आएको केटा थियो।   एक केटा र तीनजना केटीहरुको समूह थियो जुम्लाबजारबाट आएको, उनीहरुपनि रारा जाने रे।  

हामीले सिंजा उपत्यकाका पातरखोला, कलिकखेत्तु र बड्कीका बस्तिलाई गाडीबाट हेर्यौं।  अब नाराकोट, धापा, बिराट, पण्डुगुफ़ा, र कानकासुन्दरीका गाउँहरु हिडेरै पार गर्नुपर्छ।  यो ऐतिहासिक स्थान हो। बाह्रौंदेखि चौधौं सताब्दीसम्म चर्चित र बलियो खसराज्यको राजधानी भएको ठाउँ हो।  कानकासुन्दरीको प्रसिद्ध मन्दिर भएको यो स्थान निकै सुन्दर देखिन्थ्यो।  लहलह फलेका धानको ज्यूला (खेत) वरिपरि र हरिया फाँट/पखेराहरुमा गाऊँलेहरु घाँसकाटी रहेका थिए।  स्कुल छुट्टीमा बसेका केटाकेटीहरु गाई/भैसी चराउदै थिए।  त्यहिँ कोही होमवोर्क पनि गर्दैथिए।  बीचमा बगेको कन्चन हिमानदीले बनाएको बगरको छेउबाट बाटो अघि बढ्यो।  हामीले नाराकोटको सानो बजारमा चिया/बिस्कुट खायौं र हतार नगरी हिड्यौं। हामीले ति केटीहरुको ग्रुपलाई छोड्यौं किनकि उनीहरु यतै बीचतिर बस्ने रे।  र ति महिलालाई पछ्यायौं, उनले बाटो  र आज बासबस्ने ठाउँ चिनेकी थिईन।  हामीलाई सहयोग हुन्थ्यो।
हामीले संजेलबडाहुँदै कोटघरबाट साँघुतरेर उकालो हिड्यौं ।  कोटघरको नजिकै खोलापारी 'पण्डुगुफ़ा' थियो।  किम्वदन्ती अनुसार गुप्तवासको बेला यहाँ पाण्डवहरु लुकेर बसेका थिए रे।   ढिलो हुने भएकोले हामी अघाडी बढ्यौं।  हामी गोरुचौर पुग्दा अध्यारोले ढाक्यो।  टर्चबल्यौं र हिड्यौं खोंच तिरको बाटो । पर खोला छेउ बत्ति देखियो।  गोठीज्यूला।  आज बास यहिँ।  ७ बज्यो। हिंडाईको माइलेज राम्रै भयो।  

साहुजीले काठैकाठले बनेको कोठामा देखाए। भित्ताभरि भगवान र हिरोइनका ठुल्ठुला पोस्टर थिए। खानाबन्न समयलग्यो।  चिसोपानीले हातमुख धोएर र गफ गरेर निद्रालाई टाल्यौ । काठसुकेर फाटेको भित्ताबाट पल्लोकोठाका मान्छे घुरेको यतैसम्म सुनिन्थ्यो तर थाकेका यात्रीहरुलाई कुनै पर्वाह हुन्थेन।

(क्रमसः )

No comments:

Post a Comment