

हामी बिहान साढे पाँचबजे हिड्यौं। बाटो कर्णालीको तिरैतिर उत्तर गयो। करिब ४ घण्टामा कालिकोटको मान्माबजार पुगेर खाजा खाने, सेराबाडा वा बाली पुगेर खाना खाने र बेलुका सबेरै जुम्ला पुग्ने लक्ष्य। तर हामीले एक्स्ट्रा टायर भने बनाउनु पर्छ। खिड्कीजिउलामा बनाउने ठाउँछ। त्यहीं चिया पनि खाने भनि हिडेको चांडै पुगिएछ सायद, त्यो ठाउँ बन्द थियो। फेरी एक घण्टा पर अर्को ठाउँ खोज्यौं। त्यो पनि बन्द। अब मान्माबजार। कर्णाली नदी छोडेर हाम्रो जिप तिलानदीको किनारातिर पूर्व मोडियो। घामपनि तलै झर्यो र हामीलाई भेटायो। उ माथी डांडामा छ मान्माबजार - कालिकोटको सदरमुकाम।


सेरिघाटबाट उकालो घुम्तीमा कुनै सामान्य समस्या परि बिग्रिएर बाटैमा बसेको जिप भेटियो। माथि मान्माबजार पुग्ने गाडी रहेछ। राति १ बजेदेखि कुनै गाडीको सहयोगको पर्खाइमा बसेको ९ बजेतिर हामी पुगेर समाधान भयो र गाडी चल्यो। बाटोमा चिनेंका अर्को गाडी वा ड्राइभर संग केहीबेर कुरोगरे त्यो दशैंको खसी आजै किन्नुपर्ने भन्ने केटो ढिला हुने भो भनेर कराईहाल्थ्यो। 'नकराउ न, ड्राइभरलाई टेन्सन होला। आखिर जाने त जुम्लै हो। अन्त जानेहैन क्यारे।' भनेर सम्झाउन्थिन ति महिला।


मान्मामा गाडीको टायरबनाउने ठाउँ थियो तर बनाउने सीप भएको मान्छे थिएन। साहुजी दशैंको खसी काट्न कतै गएको थिए। उसकी छोरी बोलाउनगई तर उतै कतै हराई। आत्तिएका यात्री उसैजाउँ भन्न थाले। मैले ढिपी गरें 'अर्कोटायर पन्चर नभए त ठिकै होला, भए के हुन्छ? अरु गाडी चलेका छैनन्। कसले सहयोग गर्छ? त्यसैले कुरौं र बनाएर जाउँ।' साहुजी आयो र भन्यो 'बनाउने सामान सबै दिन्छु, आफै टाल्नु पर्छ। मलाई आउँदैन। ' हाम्रो ड्राईभरले आफै प्रयास गर्ने भयो। अरुले सहयोग गर्यौं। यसैबीच मान्मा बजारमा हुने मावलीदाईलाई भेटियो। बिहानको खाजा खाइयो। यता करिब डेढघण्टा ढिलो भयो । तर, टायर बन्यो र हामी अघाडी बढ्यौं।


अब जुम्ला तिरको बाटो तुलनात्मक रुपमा सजिलो छ रे। तर, घरिघरि बाहिर हेर्दा तल बगेको तिलानदीको पल्लोडिलमात्र देख्दा त्यो नर्सकेटी 'मम्मी' भन्दै कराउँथी भने त्यो मान्छे 'धत् यस्तो डरलाग्दो बाटो, यस्तो था'पाएको भए त म आउँथेंन' भन्थ्यो। ड्राइभर र अरु ३ यात्रीहरु भने 'ल बाटो त कति राम्रो बनेछ। यो पुल बनेछ, यो साइड बनेछ, यो सजिलो बनेछ आदि।' भन्दै निश्चिन्त थिए। उनीहरु पहिलेको झन् कठीनबाटोको यात्रा गरेका थिए।

हामीले खानाखाने ठाउँ (पिली नजिक) करिब अर्को डेढघण्टा बितायौं। खाना अर्डर पाएपछि मात्र आगोबालेर पकाउन सुरुभयो। त्यसपछि भने गाडी करिब ३:०० बजे कुडारी पुगेपछि मात्र रोकियो। यो सेक्सनको बाटो बिगतमा निकै कहालीलाग्दो थियो - साँघुरो, भीर, उकालो/ओरालो रिंगटा आउने र निकै दुर्घटना हुने। अहिले चौडा ग्रावेल बनेछ। जिपमा त कुनै डरलाग्दो फिल भएन।
कुडारीमा गाडी जाम थियो। बिहानदेखि नै। उता १५/२० मिनेट अघाडी राँका गाउँमा हिजो दुर्घटनामा मान्छे मरेछ। उसको क्षतिपूर्तिको लागि कुरो नमिलेर गाउँलेहरुले बन्द गरेका। बार्ता हुँदैछ रे। सिडियो र डिएसपी आएर कुरो मिलाउन लागेका छन् रे। यता यात्रीहरु क्रुद्ध थिए। भोलि बिहानको दशैं। घरछेउ पुगेर बन्द झेल्नुपर्यो। पुलिशले ५ बजेसम्म नखुले एस्कर्ट गरेर पास गर्ने भन्ने आश्वासन रहेछ। यता स्काईफोन मात्र लाग्ने रहेछ। चियापसलमा एउटा स्थानीय संग मागेर घरमा फोन गरें। म पुगेपछि खसी काट्ने भनि कुरेका रहेछन। नकुर्न भने।

५ बज्यो खुलेन। साढे ५ बजे हामी सबै चौकी गयौं। असईसंग कुरो भयो। उनी निरिह थिए। यात्री केटाहरु आक्रोश पोख्दै भन्दै पुलिस खत्तम, हेरीमात्रै बस्ने, डिउटी नगर्ने आदि भन्न थाले। पुलिसले हाम्रो समस्या माथि (जिल्लामा) पुर्याएन नत्र केहि पहल त हुन्थ्यो होला भन्ने प्रश्न गर्न थाले ।


पुलिसले आफुले सबै प्रयास गरेको, सूचना पुर्याएको तर बिश्वाश नभए आफै डिएसपीसंग कुरो गर्न भन्यो। र आफै नम्बर डायल गरेर दियो। यात्रीहरुले उनीहरुको तर्फ़बाट मलाई कुरो गर्न भने। मैले फोन उठाएँ। पहिलो फोन लागेन। पुलिसले फेरी अर्को नम्बर डायल गरेर दियो। फोन उठ्यो। मैले नमस्तेसहित सविस्तार समस्या पोखें। उताको मान्छेले कुरो बुझें। 'कताको कुरो हो?' 'याँ कुडारी हजुर' 'यो कहाँ पर्छ?' यो तातोपानी नजिक', 'कुन पुलिस चौकी भनेको?' 'इलाका चौकी कुडारी' 'हैन कुन जिल्लाको कुरो हो?' ला उताको मान्छे अर्कै परे जस्तो छ। सोधें 'तपाईं डिएसपी साब हैन हजुर?' 'हैन म डीआईजी हुँ' .ला अब के गर्ने। जे भो ठिकै भो। पोलाईट्ली समस्याको बिस्तार लगाएँ। 'ए ल म छिटोगर्न भन्दिन्छु। भैहाल्छ होला। संयोग झैं करिब ५ मिनेटमा एउटा पुलिसले ल १५ मिनेट भित्र खुल्छ तपाईंहरु तयार हुनुहोस् भन्यो । र आधाघण्टा पछि ७:३० तिर खुल्यो । सबैभन्दा पहिले झर्ने यात्री थिएँ र म ८:३० मा घर पुगेँ।
फर्किंदा:

दशैंपछि फर्किने प्लेन टिकटको सम्भावानाको लागी बुझेको एकदिन ढिलो पाइने सम्भावना भयो। यदि भएन भने म ढिलो हुन्छु। अनि बस रोजें। भाडा रू १७०० प्रति व्यक्ति । आइडी छुटसहित रु १४०० मात्र। म र जयलक्ष्मी। गाडीभरि स्याउको बास्ना थियो। जिपमा जस्तो छिटो त हुन्न तर जुम्लादेखी हिडेको दोस्रोदिन राति १०:०० बजे सकुसल नेपालगंज पुग्यौँ। धुलाम्य धुलाम्य थियौं। धन्न रुघा लग्न सकेन। बाटोभरी मोबाइलको ब्याट्री नसकिन्जेल बाटोको फोटो खिचें। केहीवर्षमा यो बाटोमा एकैदिनमा सहजै घर पुगिने होला र चन्दननाथबाबाको आशिर्बादमा यात्रा आफैले सफल पार्ने दिन आउंछ होला भन्ने कल्पना गरिरहें।
(समाप्त)।
(नोट: यसमा प्रयोग गरेका फोटोहरु मोवाइलको क्यामेराबाट गाडीमा गुडदै खिचेका हुन्। फोटोहरु Randomly राखिएका छन्।)
No comments:
Post a Comment