Thursday, October 23, 2014

अप्सरा भेटिने यात्रा (Trekking to Rara: A Nature Walk) - (भाग - १)

"… 
ए रारा ! बताऊ ! रारा भनेको तिमी को हौ ?
स्वर्गकी अप्सरा ?–
 …… 
…. पातली, कम्मर छिनेकी सुन्दरी युवतीसरि
कसरी जान्यौ, लागू भरेर, जादू गरेर
ती ठूला परेली आँखा झिम्क्याउन, लोभ्याउन
 …… 
 हे पवित्र प्रकृतिका स्वामी 
बटुली सर्वस्व सुन्दरताको भण्डार सोहोरेर
के खन्यायो यसै रारामा ? 
घोलेर मिलाई–
पहिराई हिमगिरिका मुक्ताहार गलामा 
…. "
 - रारा कि अप्सरा; मबिबिशाह (२०२०) 
 
विद्यार्थीकालमा फिल्ड शैक्षिक भ्रमणमा जुम्लाको सिंजा हुँदै रारा हेर्न पुगेको थिएँ।  करिब २० बर्ष पहिले।  त्यो बेला रारादहको दक्षिण मिलिचौरमा 'रारा कि अप्सरा?' बारे लेखेको थियो। माथिको कवितांश।  मलाई पनि रारा अप्सरा झैं लाग्यो, पहिलो भेटमा। अप्सरा भनेकी अति सुन्दर र सेक्सी स्वरुपकी  प्रतिमूर्ति हुन्।  तत्कालीन राजा महेन्द्रले त्यहीं बसेर यो कविता रचेका थिए रे।  त्यस यता निकै परिवर्तन भयो।  रारादह 'महेन्द्र ताल', रारा ताल' भनिन थाल्यो। दहछेउका बस्तिहरु रारा र छाप्रु गाउँहरुलाई बाँकेजिल्ला तिर प्रतिस्थापित गरियो। र १०६ वर्गकिमिको राष्ट्रिय निकुञ्ज बन्यो । प्राकृतिकरुपमा राराको भर्जिनिटी रेप्लेश्मेंट भयो। पर्यटनको प्रचुर सम्भावना भएको यो स्थल घुम्ने चाहना नहुने नेपाली को होला तर धेरैलाई यो दुस्कर यात्रा लाग्छ।  उनै अप्सरालाई भेट्न उही पुरानो बाटो हुँदै यसपालीको दशैंपछि ट्रेकिङ्ग गरियो।        

योजना: दशैंको छुट्टी २ हप्ताजतिको थियो।  टिका र महत्वपुर्ण भेटघाट सकियो।  गाउँ पर्सिपल्टदेखि काममा पुरै बिजी हुन्छ।  बजारतिर बरालिने वा चियापसलतिर गफिने रहर थिएन। टाइमपासको चुनौती।  लामो स्कुलछुट्टीको घर बसाइमा केही नयाँकुरो गर्न खोज्दै थिए - पुष्पा (१४) र कपील (१२)। राराको ट्रेकिङ्ग गर्ने, सक्छौ? सोधें।  'वाउ! व्हाट अ ब्रिलिएण्ट आइडिया !' 'जाने जाने, सक्छौं' . घरबाट बिरोध आयो।  'हिड्न गाह्रो हुन्छ, लेक लाग्छ। दुखः हुन्छ ' 'नवरात्रीमा राति हिड्न डर हुन्छ' 'अस्ति त्यो बाटोमा एउटा मान्छे मारे।  लुटेछन' आदिकुरो सुनियो।  किरण, हरी र जयलक्ष्मीहरु पहिले रारा गएका थिए।  जानेकुराको सपोर्ट गरे। उहिहरुले सुनाएका राराका कथाले पुष्पा रोमान्चित थियो।  यो अवसर थियो।  दुबैले 'हामी सक्छौ ' भन्ने साहस देखाए।  आमाले मान्नु भयो।  हेमन्त (२१) पनि जाने भयो।  एकजोर न्यानोलुगा सहितको करिब ५ केजी आ-आफ्नो झोला तयार भयो। यौटा बाईनाकुलर पनि बोक्यौं र फोटोकोलागि मोबाईल र ट्याब्लेट भए पुग्छ।   लाम्रागाउँ - सिंजाभ्याली - चुचेमारालेक - राराताल - ताल्चा/झ्यारीगाउँ  - घुर्चीलेक  - डाँफेलेक - खलंगा बजार - लाम्रागाउँको यात्रा ५ दिनको हुनेछ।  पहिलो दिन थोरैबसको यात्रा र बाँकी पुरै ट्रेकिंग - गाउँ/बस्ति, जंगल, पखेरा, लेक, उकाली र ओराली।  जुम्ला र मुगुको सेरोफेरो।  

आइतबार, अक्टोबर ५, २०१४ को बिहान ८ बजे सिंजाजाने गाडीमा चढ्यौं ।  करिब २५ किमि पश्चिममा नाग्मगाड पुग्दा ११ बज्यो।  यो जुम्ला-कालिकोट बोर्डरको नयाँ बिकसित बजार हो।   यतैबाट सिंजाहुँदै मुगु सदरमुकाम जाने बाटो कोरिएको छ।  उत्तरपूर्व तिर रहेको सिंजाभ्यालीहुँदै बग्ने हिमानदी यहिँ दोभानमा पुगेर तिलामा मिसिन्छ र कालिकोटको अर्को छेउमा कर्णालीनदी सँग मिल्नलाई जान्छ।  यही बजारमा मैले फर्स्टएडको सामान र औषधि किनें - ब्यान्डेज, गज, ह्यान्डप्लास्ट, पेनकिलर, जीवनजल लगायत केही एण्टिबायोटिक, मेट्रोन आदि।  अरु सामान बाटोमै किन्ने। उतै पाउँछ रे।  थोरै महँगो पर्ला तर  बोक्न झन्झट किनगर्नु।  फेरी, डोमेस्टिक टुरिस्ट परियो।  केहि खर्च त गर्नु नै पर्यो।

आधा घण्टामा हिड्छ भन्ने गाडी त १ बजे हिड्यो।  गाडी हुडमा र भित्र प्यासेजमा जस्तापात, सिमेन्ट, बियरलगायत सामान थिए र खचाखच मान्छे पनि थिए । छतमा पनि उक्ले । उबड़खावडबाटोमा गाडी जब हिड्यो त्यो कुनै हात्ती हिडे जस्तो लाग्थ्यो। ढलपल-ढलपल।  ३ बजे 'आचार्यलिही' पुग्यो। यहाँसम्म रु. ३०० भाडा परेछ। अघाडी बाटो बिग्रेको छ।  गोठीज्यूलासम्म पुग्ने योजना थियो यतै झर्नु पर्यो । करिब ४ घण्टा हिड्नु पर्छ।  हामी हिड्यौं। गाडी हिड्ने बाटो पछ्याउदा लामो हुन्थ्यो।  हामी  थोरै ओरालो खेत (ज्यूला)को बीचहुँदै झोलुङ्गेपुल तर्यौं।  गाडीमा संगै झरेका केहीसंग कुरोभयो।  एउटी बच्चा बोकेकी महिला माईति हिडेकी थिईन।  जुम्ला खोलिकोटबाट मुगुको खत्याडजान लागेकी। साथमा उनलाई पुर्याउन आएको केटा थियो।   एक केटा र तीनजना केटीहरुको समूह थियो जुम्लाबजारबाट आएको, उनीहरुपनि रारा जाने रे।  

हामीले सिंजा उपत्यकाका पातरखोला, कलिकखेत्तु र बड्कीका बस्तिलाई गाडीबाट हेर्यौं।  अब नाराकोट, धापा, बिराट, पण्डुगुफ़ा, र कानकासुन्दरीका गाउँहरु हिडेरै पार गर्नुपर्छ।  यो ऐतिहासिक स्थान हो। बाह्रौंदेखि चौधौं सताब्दीसम्म चर्चित र बलियो खसराज्यको राजधानी भएको ठाउँ हो।  कानकासुन्दरीको प्रसिद्ध मन्दिर भएको यो स्थान निकै सुन्दर देखिन्थ्यो।  लहलह फलेका धानको ज्यूला (खेत) वरिपरि र हरिया फाँट/पखेराहरुमा गाऊँलेहरु घाँसकाटी रहेका थिए।  स्कुल छुट्टीमा बसेका केटाकेटीहरु गाई/भैसी चराउदै थिए।  त्यहिँ कोही होमवोर्क पनि गर्दैथिए।  बीचमा बगेको कन्चन हिमानदीले बनाएको बगरको छेउबाट बाटो अघि बढ्यो।  हामीले नाराकोटको सानो बजारमा चिया/बिस्कुट खायौं र हतार नगरी हिड्यौं। हामीले ति केटीहरुको ग्रुपलाई छोड्यौं किनकि उनीहरु यतै बीचतिर बस्ने रे।  र ति महिलालाई पछ्यायौं, उनले बाटो  र आज बासबस्ने ठाउँ चिनेकी थिईन।  हामीलाई सहयोग हुन्थ्यो।
हामीले संजेलबडाहुँदै कोटघरबाट साँघुतरेर उकालो हिड्यौं ।  कोटघरको नजिकै खोलापारी 'पण्डुगुफ़ा' थियो।  किम्वदन्ती अनुसार गुप्तवासको बेला यहाँ पाण्डवहरु लुकेर बसेका थिए रे।   ढिलो हुने भएकोले हामी अघाडी बढ्यौं।  हामी गोरुचौर पुग्दा अध्यारोले ढाक्यो।  टर्चबल्यौं र हिड्यौं खोंच तिरको बाटो । पर खोला छेउ बत्ति देखियो।  गोठीज्यूला।  आज बास यहिँ।  ७ बज्यो। हिंडाईको माइलेज राम्रै भयो।  

साहुजीले काठैकाठले बनेको कोठामा देखाए। भित्ताभरि भगवान र हिरोइनका ठुल्ठुला पोस्टर थिए। खानाबन्न समयलग्यो।  चिसोपानीले हातमुख धोएर र गफ गरेर निद्रालाई टाल्यौ । काठसुकेर फाटेको भित्ताबाट पल्लोकोठाका मान्छे घुरेको यतैसम्म सुनिन्थ्यो तर थाकेका यात्रीहरुलाई कुनै पर्वाह हुन्थेन।

(क्रमसः )

Sunday, October 19, 2014

चन्दननाथ बाबाले सफल पार्ने यात्रा (Journey on the Karnali Highways) -भाग ३

हामी बिहान साढे पाँचबजे हिड्यौं। बाटो कर्णालीको तिरैतिर उत्तर गयो।  करिब ४ घण्टामा कालिकोटको मान्माबजार पुगेर  खाजा खाने, सेराबाडा वा बाली पुगेर खाना खाने र बेलुका सबेरै जुम्ला पुग्ने लक्ष्य। तर हामीले एक्स्ट्रा टायर भने बनाउनु पर्छ।  खिड्कीजिउलामा  बनाउने ठाउँछ।  त्यहीं चिया पनि खाने भनि हिडेको  चांडै पुगिएछ सायद, त्यो ठाउँ बन्द थियो।  फेरी एक घण्टा पर अर्को ठाउँ खोज्यौं। त्यो पनि बन्द। अब मान्माबजार।  कर्णाली नदी छोडेर हाम्रो जिप तिलानदीको किनारातिर पूर्व मोडियो। घामपनि तलै झर्यो र हामीलाई भेटायो। उ माथी डांडामा छ मान्माबजार - कालिकोटको सदरमुकाम।

सेरिघाटबाट उकालो घुम्तीमा कुनै सामान्य समस्या परि बिग्रिएर बाटैमा बसेको जिप भेटियो। माथि मान्माबजार पुग्ने गाडी रहेछ।   राति १ बजेदेखि कुनै गाडीको सहयोगको पर्खाइमा बसेको ९ बजेतिर हामी पुगेर समाधान भयो र गाडी चल्यो।  बाटोमा चिनेंका अर्को गाडी वा ड्राइभर संग केहीबेर कुरोगरे त्यो दशैंको खसी आजै किन्नुपर्ने भन्ने केटो ढिला हुने भो भनेर कराईहाल्थ्यो।  'नकराउ न, ड्राइभरलाई टेन्सन होला। आखिर जाने त जुम्लै हो।  अन्त जानेहैन क्यारे।' भनेर सम्झाउन्थिन ति महिला।

मान्मामा गाडीको टायरबनाउने ठाउँ थियो तर बनाउने सीप भएको मान्छे थिएन।  साहुजी दशैंको खसी काट्न कतै गएको थिए।  उसकी छोरी बोलाउनगई तर उतै कतै हराई।  आत्तिएका यात्री उसैजाउँ भन्न थाले।  मैले ढिपी गरें 'अर्कोटायर पन्चर नभए त ठिकै होला, भए के हुन्छ? अरु गाडी चलेका छैनन्।  कसले सहयोग गर्छ? त्यसैले कुरौं र बनाएर जाउँ।' साहुजी आयो र भन्यो  'बनाउने सामान सबै दिन्छु, आफै टाल्नु पर्छ। मलाई आउँदैन। ' हाम्रो ड्राईभरले आफै प्रयास गर्ने भयो।  अरुले सहयोग गर्यौं।  यसैबीच मान्मा बजारमा हुने मावलीदाईलाई भेटियो।  बिहानको खाजा खाइयो।  यता करिब डेढघण्टा ढिलो भयो । तर, टायर बन्यो र हामी अघाडी बढ्यौं।
अब जुम्ला तिरको बाटो तुलनात्मक रुपमा सजिलो छ रे।  तर, घरिघरि बाहिर हेर्दा तल बगेको तिलानदीको पल्लोडिलमात्र देख्दा त्यो नर्सकेटी 'मम्मी' भन्दै कराउँथी भने त्यो मान्छे 'धत् यस्तो डरलाग्दो बाटो, यस्तो था'पाएको भए त म आउँथेंन' भन्थ्यो।  ड्राइभर र अरु ३ यात्रीहरु भने 'ल बाटो त कति राम्रो बनेछ।  यो पुल बनेछ, यो साइड बनेछ, यो सजिलो बनेछ आदि।' भन्दै निश्चिन्त थिए।  उनीहरु पहिलेको झन् कठीनबाटोको यात्रा गरेका थिए।  

हामीले खानाखाने ठाउँ (पिली नजिक) करिब अर्को डेढघण्टा बितायौं। खाना अर्डर पाएपछि मात्र आगोबालेर पकाउन सुरुभयो।  त्यसपछि भने गाडी करिब ३:०० बजे कुडारी पुगेपछि मात्र रोकियो।  यो सेक्सनको बाटो बिगतमा निकै कहालीलाग्दो थियो - साँघुरो, भीर, उकालो/ओरालो रिंगटा आउने र निकै दुर्घटना हुने।  अहिले चौडा ग्रावेल बनेछ।  जिपमा त कुनै डरलाग्दो फिल भएन।

कुडारीमा गाडी जाम थियो।  बिहानदेखि नै।  उता १५/२० मिनेट अघाडी राँका गाउँमा हिजो दुर्घटनामा मान्छे मरेछ।  उसको क्षतिपूर्तिको लागि कुरो नमिलेर गाउँलेहरुले बन्द गरेका। बार्ता हुँदैछ रे।  सिडियो र डिएसपी आएर कुरो मिलाउन लागेका छन् रे। यता यात्रीहरु क्रुद्ध थिए।  भोलि बिहानको दशैं।  घरछेउ पुगेर बन्द झेल्नुपर्यो।  पुलिशले ५ बजेसम्म नखुले एस्कर्ट गरेर पास गर्ने भन्ने आश्वासन रहेछ।  यता स्काईफोन मात्र लाग्ने रहेछ।  चियापसलमा एउटा स्थानीय संग मागेर घरमा फोन गरें।  म पुगेपछि खसी काट्ने भनि कुरेका रहेछन।  नकुर्न भने।  

५ बज्यो खुलेन।  साढे ५ बजे हामी सबै चौकी गयौं।  असईसंग कुरो भयो।  उनी निरिह थिए।  यात्री केटाहरु आक्रोश पोख्दै भन्दै पुलिस खत्तम, हेरीमात्रै बस्ने, डिउटी नगर्ने आदि भन्न थाले।  पुलिसले हाम्रो समस्या माथि (जिल्लामा) पुर्याएन नत्र केहि पहल त हुन्थ्यो होला भन्ने प्रश्न गर्न थाले ।
पुलिसले आफुले सबै प्रयास गरेको, सूचना पुर्याएको तर बिश्वाश नभए  आफै डिएसपीसंग कुरो गर्न भन्यो।  र आफै नम्बर डायल गरेर दियो।  यात्रीहरुले उनीहरुको तर्फ़बाट मलाई कुरो गर्न भने।  मैले फोन उठाएँ।  पहिलो फोन लागेन।  पुलिसले फेरी अर्को नम्बर डायल गरेर दियो।  फोन उठ्यो।  मैले नमस्तेसहित सविस्तार समस्या पोखें।  उताको मान्छेले कुरो बुझें।  'कताको कुरो हो?' 'याँ कुडारी हजुर' 'यो कहाँ पर्छ?' यो तातोपानी नजिक', 'कुन पुलिस चौकी भनेको?' 'इलाका चौकी कुडारी' 'हैन कुन जिल्लाको कुरो हो?' ला उताको मान्छे अर्कै परे जस्तो छ। सोधें 'तपाईं डिएसपी साब हैन हजुर?' 'हैन म डीआईजी हुँ' .ला अब के गर्ने। जे भो ठिकै भो।  पोलाईट्ली समस्याको बिस्तार लगाएँ।  'ए ल म छिटोगर्न भन्दिन्छु। भैहाल्छ होला। संयोग झैं करिब ५ मिनेटमा एउटा पुलिसले ल १५ मिनेट भित्र खुल्छ तपाईंहरु तयार हुनुहोस्  भन्यो । र आधाघण्टा पछि ७:३० तिर खुल्यो । सबैभन्दा पहिले झर्ने यात्री थिएँ र म ८:३० मा घर पुगेँ।

फर्किंदा: 
दशैंपछि फर्किने प्लेन टिकटको सम्भावानाको लागी बुझेको एकदिन ढिलो पाइने सम्भावना भयो।  यदि भएन भने म ढिलो हुन्छु।  अनि बस रोजें। भाडा रू १७०० प्रति व्यक्ति ।  आइडी छुटसहित रु १४०० मात्र।   म र जयलक्ष्मी। गाडीभरि स्याउको बास्ना थियो।   जिपमा जस्तो छिटो त हुन्न तर जुम्लादेखी हिडेको दोस्रोदिन राति १०:०० बजे सकुसल नेपालगंज पुग्यौँ। धुलाम्य धुलाम्य थियौं।  धन्न रुघा लग्न सकेन।  बाटोभरी मोबाइलको ब्याट्री नसकिन्जेल बाटोको फोटो खिचें।   केहीवर्षमा यो बाटोमा एकैदिनमा सहजै घर पुगिने होला र चन्दननाथबाबाको आशिर्बादमा यात्रा आफैले सफल पार्ने दिन आउंछ होला भन्ने कल्पना गरिरहें।

(समाप्त)।   
 (नोट: यसमा प्रयोग गरेका फोटोहरु मोवाइलको क्यामेराबाट गाडीमा गुडदै खिचेका हुन्। फोटोहरु Randomly राखिएका छन्।)
     

चन्दननाथ बाबाले सफल पार्ने यात्रा (Journey on the Karnali Highways) -भाग २


हामी साँझ ५ बजे महिन्द्रा बोलेरोमा चढ्यौं।  करिब १२ - १४ घण्टामा जुम्ला पुग्ने अनुमान।  करिब २३२ किमिको लागि त्यो जिपको भाडा रु. ३५,०००/- थियो । त्यसमा ड्राइभर सहित हामी ८ जना थियौँ । गाडी  गुड्यो।  सुर्खेत- रातानाग्ला-गुराँसे-डुङ्गेश्वोर हुँदै गयो।  उता कर्णाली राजमार्गको बाटो बड्डीचौर - तल्लोडुङ्गेश्वोर भन्दा यताबाट करिब १८ किमि छोटो पर्ने रहेछ।  यात्री सबै अपरिचित।  पहिलो चोटी भेटेका। 'ड्राइभर भाईलाई सुत्न नदिनेगरी गफ गर्नुहोला' भन्ने सर्तमा मैले अघाडीको सिट पाएँ। गाडी उकालो लाग्दै गर्दा बिस्तारै कुरो हुन थाल्यो।  सबै फरक पृष्ठभूमि र कथा बोकेका पात्र थिए।

एउटा अग्लो जिउडाल र छोटो हेयरकट भएको केटो मलेसियाबाट ६ महिनामै फर्केको रहेछ।  'दलालले झुक्यायो, पेट्रोल कम्पनी भनेको घरबनाउन लगायो।  तलबपनि थोरै। कसलाई भन्ने ? ' व्यथा सुनायो। यो उसको लभस्टोरी संग जोडिएको थियो।   'गाउँमा केटी मनपरेकी थिई, बिहा गर्नेसम्म पैंसा थिएन। गाउँको क्लबतिर राजनीति गरियो। जिल्लाका नेता चिनियो । चुनावमा लगियो।  जिताईयो। अरु इलम केहि छैन।  आफु उस्तै रहें ।  किराको (यार्सागुम्बा) व्यापारमा लागें। फापेन। बिहागरें।  घरमै  छोडेर विदेश हिंडे। त्योपनि भनेकोजस्तो भएन।  त्यै बुढीले जसोतसो गरि पैसा पठाईदिई र दशैंमा घर जाँदैछुँ। प्लेन नचडी गाडीबाट जाँदैछुँ, बचेको पैसाले उसकोलागि केही किन्न त पाइयो हैन ? ' उसको कथा । निकै मिलनसार, भलाद्मीपन देखाउने उसको बोलीमा जुम्ली लवजको गहनता थियो।  'मलाई भाषा मिलाएर बोल्न आउदैन, आफै मिलाएर बुझ्नु' भन्थ्यो।    

आर्मीक्याम्प नजिक उकालोमा सुर्खेत झर्दैगरेको गाडीले बाटो ब्लकगरेको थियो।  तेल सकिएर अड्किएको रहेछ। अरुगाडीहरु सँग मागिरहेको थियो - १५०/२०० रुपियाँ लिटर तिर्छु भनेर पनि पाएन।  कसैले दिएन।  यस्तोमा कसैले एक्स्ट्रा बोक्दैन वा दिन झन्झट मान्छ।  हामीले त्यो गाडीलाई धकेलेर साइड लायौँ।  र हिड्यौं।

अर्को केटा - पूर्वआर्मी।  द्वन्द्वकालका केहि ईङ्काउण्टरमा लडेको।  र पछि भागेको।  अहिले सिजनल व्यापार गर्ने।  यसपाला स्याउको ब्यापार।  पाँचट्रिप स्याउको ट्रक बुटवलमा बेचेर दशैंमान्न घर फर्किन लागेको।  'जुम्लामा अचेल स्याउको भाउ के छ?' एउटा प्रस्नको उत्तरमा पुरै प्रसङ्ग सुनायो।  'यो साल स्याउ राम्रो थियो।  बोटैमा ४०-५० रुपियाँ पर्यो। कार्टुनसहित ट्रकभाडागरी ठाउँमा पुगे ८० रुपियाँमा कन्ट्रयाक्ट थियो।  मण्डिवालाले ९०-१०० मा बेचे भने खुद्रावालाले ग्राहकसँग १५० भन्दामाथी लिन्छन।' महंगीको माइक्रोइकोनोमी। 'घर केटाकेटी आत्तिसके।  सबैको घरमा खसी किनिसके रे।  म यतै छुँ।  भोली टाइममै पुग्न सके त किनी हालिन्थ्यो।' चाँडो घर पुग्नु पर्ने बाध्यता सुनायो।

हामी तल्लोडुङ्गेश्वरमा खाना खायौं।  ड्राईभर मोबाइलमा क्यान्डीक्रश खेलीरहेको थिए। गफ भयो। 'कति लेभल?' 'जम्मा १३, यो क्रस गर्नै गाह्रो भयो। ' यो पसल जुम्लाको बड्कीबाट यता झरेर व्यवसाय गर्ने साहुजीको रहेछ।  सुनाए - 'यहिबाटो खच्चर चलाऊँथें । कर्णालीरोड बन्यो।  यता खच्चर चलेन। उमेर ढल्किन लग्यो।  अनि पसल गरें।  यो भाडामा थियो।  अहिले आफ्नै बनाएँ। जमिन जोडें।  अब यतैको भैयो। यो दैलेख हो।  अलिकति सुर्खेतपनि छ।  छोरीहरु काठमान्डू पढ्छन। छुट्टीमा आएका छन्।  यिनै त हुन्।' दुइटा केटीहरुतिर देखाए। +२ र क्याम्पस पढ्ने उमेरका।  उतैको लवाइको प्रभाव। होस्टेलबसेर पढ्ने रहेछन। छोरी शिक्षामा बाबुआमाको योगदान-  बुडालाई धन्यवाद दिएँ।     

हाम्रो टोलीमा एउटी केटी थिई - काठमाडौँमा नर्सिङ्ग तेस्रोबर्षमा पढ्ने। उसलाई घर कहाँ हो? भनेर सोध्यो भने - 'बुबाको घर फलानो ठाउँ र आमाको घर फलाना ठाउँ तर म होस्टेलमा बसेर पढ्छु'  भन्थी।  उ जुम्लाजाने टिकट कन्फर्म छ भनेर बिहान नेपालगंजबाट आएको।  भएन।  त्यसोभए फर्की भनेर आमाले भनेको भोली उड्छ भन्दै यतै बस्छु भनेर तर गाडीमा हिडेको रे।  कसैलाई खबर गरेको छैन रे।  'त्यसोभए जुम्ला कहाँ जाने हो?' 'दिदि छ' 'दशैं त बाआमा  वा मामाघरमा रमाइलो हुँदो होनि?' 'दिदीले आइजा कि आइजा भन्याछ।  साथीहरु पनि उतै छ।' उसको एसएलसी यतैबाट पास गरिदिएका रहेछन सायद। 

हामी खाएर हिड्यौं। पुलिशले नरोके रातभर हिड्ने ।  पछाडीबस्ने एउटा महिलालाई निकै अफ्ट्यारो भयो रे।  उसको श्रीमानले मेरो सिट दिन भन्यो।  हामीले साट्यौ। अब म यो केटीको छेउमा कोचिएर बस्न पुगेँ।  'अहिले अलि सजिलो भयो' उसले भनि।  'ल ठिकै भयो, मन नपर्ला कि भन्ने डर थियो। ' मैले थपिदिएँ।  खासमा आयतनको कारण महिलाले पुरुषको तुलनामा सिटको धेरै अंश ओगट्छन। सायद त्यो महिलाले ओगटेको सिटमा म बस्दा सजिलो भयोहोला ।  

राति साढे १० बजेतिर पहिलो पुलिस चेकपोस्ट पुग्यौं।  बाटोमा मुढो तेर्स्याएर छेकेको थियो।  उताकतै अँध्यारोमा खोकेर पुलिसले संकेत दियो।  म छेउको मान्छे र ति दुइटा केटाहरु कुरो मिलाउन गए . निकैबेरको गुनगुन पछि मुढो पन्छाएर आए।  'कसरी मिल्यो कुरो?' सोधियो।  'हजुर गाडीमा दुइटा साना बच्चा छन्।  ति भोकाए।  खाना खाएकै छैन।' भनेर ढाँटेछन्।  'मैले छोडी दिउँला, उता रामघाटबाट जान दिन्न।  यतै बीचमा कतै खाना खोजेर खानु र उतै बस्नु भनेको छ पुलिसले उता पनि केहि मिलाउनु पर्ला' भनेर फुर्ति देखाए। हामी हिड्यौं। त्यो मान्छे दुइटा छोरी र श्रीमतीलिएर आएको थियो।  घर नेपालगंज वा दाङ्ग कतै हो, ससुराली जुम्ला रहेछ।  बिहेको नौवर्ष भैसकेछ तर कहिलै ससुराली गाउँ नगएको।  यसपाला पनि श्रीमती र बच्चालाई प्लेनमा छोडेर आफु फर्किने प्लान रहेछ तर गाडीमा आउनुपरेकोले संगै आएको। तर, ससुराली गाउँ न पुगी बिचैमा फर्किने सुरमा थियो।  ड्राईभरसंग तुरुन्त फर्किने चाँजोपाँजो मिलाउदै थियो।  उसका बच्चाहरु भोमिट गर्दै सुतिसक्थे।  श्रीमती चुपचाप थिई।  उ बोल्थ्यो - 'साह्रै दुःख हुने भो। सालो थियो एअरपोर्टमा।  उसैले भिनाजु आउनुहोस् टिकट मिल्छ भनेको भएर नेपालगंजबाटै बाइकमा बुढी, बच्चा च्यापेर आएको।' आफ्नो समस्या राख्यो।  उसले त त्यै बाईकमा जुम्ला पुग्ने आँटसम्म गर्नलागेको रहेछ।

र, हाम्रो सहयात्राकी एउटी महिला थिइन्।  कामकाजी महिला।  जुम्ला माईतीघर।  पटरपटर बोल्नुपर्ने।  'बुबाले यसो भन्नु भो, दाइले पोहर यो पठाईदिनु भयो, मैले यसो गरें। भाइले मलाई माया गर्छ।  त्यो बुहारी यस्ती, अर्की उस्ती इत्यादि' .  अरुको बारेमा कहिल्यै सोधिनन तर आफ्नोबारे नसोधेपनि फरर बोल्ने। हाम्रो पछाडी सिटको केटाहरुले गफगर्न खोजे 'कति हल्ला गरेको' भन्न नचुक्ने।  गाडीले २/४ घुम्ती लिएपछि उनि सुस्ताउन्थिन।  अनि, हामी कुरा गर्थ्यौं।  


अध्यारो ढुंगेबाटो खोल्सोमा पुग्यो।  गाडी धर्मरायो।  टायरपन्चर। तल कर्णाली नदी सुसाइरहेको। त्यो एकदमै सुनसान र डर लाग्दो ठाउँ थियो।  एक्स्ट्रा टायर थियो र सबै मिलेर फेर्यौं। त्यो बच्चाहरुको बाबुले कुरो झिक्यो 'चाडबाडको बेला, सुनसान ठाउँ, यातातिर डाँका लाग्छन रे।  गाडी, मान्छे, बस्ति केही निसान छैन।  मध्यरातिमा हामीलाई जसलेपनि लुट्न सक्छ।'  त्यो डराउने प्रसङ्ग थियो।  सबै आआफ्नो मुल्यवान बस्तुप्रति सजग बनेर चुपचाप बसे। अब सबैको बोली र मुहारमा हल्का डर फैलियो। जे भएपनि हामीले अहिले गर्नसक्ने के नै पो छ र ?   चन्दननाथबाबा छँदै छन् नि। यात्रा सफल हुन्छ।  मैले गुरुजीको मोबाइल मागें र क्यान्डीक्रश खेलें।  लेभल २० पार गरिदिएँ।  मुढो तेर्स्याएको बाटो आयो । अर्को चौकी पुगेछ।  रामघाट पुलिस चौकी।  उही फर्मुला लिएर ३ जना गए पुलिससंग कुरो मिलाउन। रित्तै फर्के।  'मंत्रीले फोन गरेनी मिल्दैन' भन्यो रे।  उ पर बजारपुगेर बस्छौं भन्दा 'बिलबुक यतै धरौटी राखेर जाउ' भन्यो रे।  २०० जति पैसा दिएर मिल्छकि भनेर  ट़ाई गरेछन्।    बेसरी हप्काएछ।  अनि लुरुक्क फर्केछन।  बिहान ५ नबजी छोड्दैन रे।  हाइमि

ड्राईभर गाडीमै सुत्ने भयो।  हामी सुत्ने ठाउँ खोज्न हिड्यौं। करिब १:३० बजीसकेको थियो। एउटा वाचमेन लाठि ठोक्दै आयो।  कुरो बुझ्यो र एउटा होटेलजस्तो झुपडीमा लिएर गयो।  एउटा कोठा, ठुल्ठुला ३ बेड थिए।  रू १०० को कोठाभाडा र रु २० कमिसन वाचमेनलाई।  बच्चाभएको जोडीलाई अर्को घर तिर व्यवास्था मिलाए। हामी यतै सुत्यौं - मोबाइलको प्रकाशले सिरानी मिलाउँदै र झोला, पर्स च्याप्दै।    

(क्रमशः )












Sunday, October 12, 2014

चन्दननाथ बाबाले सफल पार्ने यात्रा (Journey on the Karnali Highways) - भाग १

'पशुपतिनाथले हाम्रो यात्रा सफल पारुन् !' नेपालीबाटोमा गुड्ने प्रायः गाडीमा लेखिने शुभवाक्य हो।  यसपालीको मेरो दशैंयात्रामा सुर्खेत - जुम्ला सडक पार गरियो जहाँ चन्दननाथबाबाले यात्रा सफल पर्ने विश्वास गर्न सकिन्छ।  यो यात्राब्लग त्यहि अनुभवबारेको हो।

कारणबस चारदिन जतिको छुट्टी अबधि छोट्टियो र म अक्टोबर १ तारिख 'फूलपातीको दिन बिहान ९ बजे गोमा एयरको बोर्डिंगपास बोकेर सुर्खेत एयरपोर्ट हाजिरभएँ।  प्रकाशजीले कुरो गरेर एयरलाइन्सको मुख्यमान्छेले आफै दिएको बोर्डिंगपास बोकेर तिलकजी आएका थिए मलाई होटलबाट लिन।  १०:३० तिर फ्लाइट हुनेछ।  हामी तिलकको घर पुगेर खाना खाएर आउन सक्छौं।  एयरपोर्टको बाटो भएर जाने भएकोले एकछिन बुझेर जाउँ भनि पसेको त सबै योजना बदलियो।  त्यहाँ अस्तिदेखि कुरेर बसेका यात्रु भेटिए।  हिजै उड्नेभनि चेक-इन गरेका मेरो एकजना गाउँले पनि भेटिए।  यौटामात्र प्रोपेलल (इन्जिन पंखा) भएको दुईटा प्लेन थिए र यिनले बढीमा ९ जनामात्र सवारी बोक्ने रहेछन् ।  चार्टरगर्ने भन्दै दोहोरो भाडा तिर्नुपर्ने।  दिनैपिच्छे वा व्यक्तिपिच्छे भाडा फरक हुने रहेछ।  दुबैमा हिजै उड्न नसकी फर्केका केहि यात्री भेटिए । तिनीहरुले रु ९६००/- तिरेको भने। पुरै  फ्लाइट रिजर्वगरेका यौटा स्थानिय संस्थाका मान्छेहरु भेटिए। हप्तादिनदेखि यौटा सहुलियत दर (करिब ५०००)को फ्लाइट कुरेका केहि स्थानिय बुढापाकापनि भेटिए। र आजै आएका म जस्ता ३/४ जना अरुपनि भेटिए।   हुम्ला, बाजुरा र डोल्पाजस्ता ठाउँमा बिहानी फ्लाइट सकेर बल्ल जुम्लातिरको पालो आउने रहेछ।  त्यतिबेलासम्मको वेदर कण्डिसन हेरेरमात्र दुङ्गो लाग्ने।

मलाई  बोर्डिंगपास दिने एयरलाईन्सको मान्छेले यौटा फ्लाइटपछि प्लेन काठमान्डौ फर्किने सूचना दियो।   अर्को एयरलाईन्सको पब्लिक रिलेशन हेर्ने केटा भेटियो।  जुम्लाकै रहेछन् । धेरै यात्रीले उनिसंगै कुरो गरेर टिकट मिलाउने रहेछन।  कोही भाई, कोही सालाज्यू, कोही अङ्कल त कोही साथी भन्दै उनका पछि लागेका हुन्थे।  मैले पनि उनीसंग कुरो गरें।  ''तपाईं किरणको दाई होइन ?' उनले सोधे।  मेरो भाईको साथी रहेछन । 'दाई आज तेस्रो फ्लाइट भयो भने तपाईंको हुन्छ' । अब म तेस्रो फ्लाइट उड्ने प्रतीक्षामा बसें।  त्यो रिजर्भ गर्ने संस्थाका मान्छे आए र उडे।  अब अर्को हिजैदेखि उड्न नपाई बसेकाहरु उडे त मेरो पालो आउनेछ।  आशा।  त्यो कुनैपनि बेला हुन सक्छ त्यसैले एयरपोर्ट छोड्न हुन्न।  तिलकजीलाई फिर्ता पठाएँ।  गाउँलेसँग छेउको एउटा झुपडीमा गएर खाना खाइयो।  र कुरियो अनिश्चित आशा पालेर।

 चियापसलमा गफ़िएर बस्दै गर्दा कुरो चल्यो, यसपाली अष्टमी र नवमी यौटैदिनमा छ।  त्यसोभए त दसैँको टिका पर्सि हो।  झल्याँस भएँ।  भोलि एकदिनमात्र बाँकी छ।  प्लेन नभए विकल्प के? 'अब त गाडीपनि जान्नन होला र जुम्ला गएपनि पर्सि साँझ मात्र पुग्ला ' कसैले निरास जानकारी दियो।   'हिजो त केहि प्लेन कुरेर नपाएका यात्रीहरु भाडाको जिपमा गएका थिए।  आजै पुगीसके' अर्कोले थोरै होप देखायो।  'जिपपनि के पाइएला र आज, ड्राइभरले पनि त दशैं मान्नु पर्यो।  जुम्ला पुगेर फर्किने टाइम त छैन। ' चिया पसल्नीले फेरी निरास परिन।  'जीपकोको भाडा कति हो ?' मैले सोधें।  'हेरी हेरी लिन्छन, ३५ हजारदेखि माथि' . 'ओहो कति महँगो, कति जना जान मिल्छ?' 'त्यस्तै ५/६ जना,  बुझिदिउ त ?' लौ भनेर मैले जिपमाजाने सम्भावित यात्री संकलन गर्न थालें।  ४/५ जना त भेटिए तर सबैको आशा प्लेन टिकट भेटिञ्छ कि भन्नेमा थियो।  अरु स्रोतबाट पनि जिपभाडाबारे बुझियो। यौटासँग आफै कुरो गरें।  '५ जना जान मिल्छ।  अरु बेला ३५ मा जान्थ्यो।  दशैं पर्यो।  ड्राइभरलाई फाकाउनु पर्छ।  त्यसैले ४० हजार दिनुहोस्। ' घुमाउरोपाराले भाडा बढायो।   चियापसल्नीले खबर गरिन् 'यौटा जिप भेटियो ७ जना चढ्नमिल्छ, ४५ हजार लग्छ, बोलाउँ ?' के गर्ने गर्ने भयो।  यो सब सेटिंग मिलेको ब्यापार जस्तो लग्यो।   'हेरौँ , पछि खवर गरौला' भनेर छोडें।

नेपालगंजतिर खबर बुझियो।  त्यताबाट रु १२००० तिरेर यौटा सानो प्लेन जाँदै छ रे।  अरु संभावना छैन।  बरु जिप पाइए केहि यात्रु सुर्खेत हुँदै आउन लागेका छन् रे।  यस्तैमा ३ बज्यो।  सुर्खेतबाट दोस्रो फ्लाइट उडेन।  केहिबेरमा जुम्लाबाट सूचना आयो-  वेदर बिग्रेर जुम्ला पुगेका दुइटा प्लेन फर्किन सकेनन् । आजको सम्भावना पूर्णरुपमा सकियो।  अब केहि धेरै मान्छेहरु दोस्रो विकल्पको (जिप भाडाको) कुरा गर्न लागे।  हामीसंग जिप भाडामा लिन प्रयाप्त यात्रु त भए त जिप कहाँ मिल्छ? यौटा यात्रु पुर्याउन आएकोमान्छे र म उसको बाईकमा बसपार्क तिर हिड्यौं। आफै खोज्नु पर्यो जिप।  'मुसलमान ड्राइभर भएको  जिप खोजौं।  उनीहरु त जालान्  नि।  दशैँ हुन्न उनिहरुको ' त्यो मान्छेले आइडिया निकाले। ४/५ ठाउं पुगेर कुरो गर्यौं।  मिलेन।  यौटा एयरपोर्टमै भेटिएको दलालकेटो ले फोन गर्यो ' ३५ हजारमा ७ जना जान मिल्छ।  बोलेरो गाडी मिल्यो। ' ५ हजार प्रति व्यक्ति।  प्लेनको ४ हजार बच्ने।  लौ त्यै बोलाउँ।  त्यो केटो आयो।  मलाई बाइकमा जिप भएको ठाउं पुर्यायो।  त्यो जुम्लाकै एकजना मुसलमान व्यापारी साहुजीको परेछ। 'राति हिड्नु पर्छ।  बाटोमा पुलिसले रोक्छ।  तपाईंहरुले कुरो मिलाउनु पर्छ नि' सर्त राखे।  'ल भै हल्छ नि।  जे पर्छ गरौंला।  हिंड।' 

जिप एयरपोर्टमा पुग्यो।  फर्स्ट कम फर्स्ट हामी ७ जना चढ्यौं र जुम्लाको यात्रा शुरु भयो।  ठिक ५ बजेको थियो।
(क्रमसः )


Sunday, September 21, 2014

रहरको दौड - धुलेबाटो र म्याराथन - २


'ट्रिङ्ग ट्रिङ्ग!! बिहान ठीक ५:१५ बजे साथीले गरेको फोनले बिउंझिऍ।  झटपट फ्रेशहुने र हिड्ने तयारीमा लागें।  बत्ति थिएन। टिसर्टबाहेक अन्य कुनै चिजपनि तयारी अबस्थामा थिएन।  खोज्न हतार भयो।  जयलक्ष्मीपनि आई। उ ५ किमि (स्टुडेण्ट) मा दौडने रे।   घरबाट हिड्दा ५:५० भैसकेको थियो।  खुल्लाबाटो, बाइकमा रंगशालापुग्दा ठिक ६ बज्यो।  रनरहरुको बाक्लो उपस्थिति र चहलपहल थियो।  साथीहरु संग पार्किंगमै भेट हुन सुरु भयो।  सबै उत्साहित थिए।  र म पनि। बादललागेको छ।  हिजो निकै पानी परेको थियो।  आज पनि पर्न सक्छ।  तर अहिले मौसम निकै फ्रेश छ।  धुलो छैन र घाम पनि छैन। यस्तै रहेमा दगुर्नको लागि उत्तम हुनेछ।  

भनेको समयमा रन सुरु भएन।  चिनेका साथीहरुसंग गफगाफ, फोटो सेसनहरु हुँदै गर्दा समय रमाईलै बित्यो।  बोरिङ्ग भएन। रंगशालाको चौर भिजेको थियो।  बस्ने ठाउँ थिएन।  उभिँदा उभिँदा थाकियो।  लगातार बजिरहेको यौटा प्रायोजकको जिङ्गल पनि ईरिटेटिङ्ग बन्नलाग्यो। किन ढिला भनेको त मुख्य अतिथि बनाईएको मन्त्रीजी नै  आईनपुगेकोले रहेछ।  मन्त्रि १:१५ घण्टा ढीला आइपुगे।  उनि त 'खेलकुद' हैन 'सिंचाई' मन्त्री रहेछन् - एन. पी. सावद।  मन्त्री आएर धन्न भाषण भने गरेनन्।  एउटा गन फ़ाएर र बेलुन उडाए संगै दौडे फुल मराथान धावकहरु - ७:१० बजेतिर।  हामी दौड्दा ७:१५ बजेको थियो।  मनमा थोरै डर/चुनौती बोकेर धावकको जमात संगै म पनि रंगशालाको गेटबाट निस्किएर त्रिपुरेश्वरको चोकको बाटो थापाथलीतिर मोडिएँ।  प्रोफेसनल धावकहरु ह्वात्त अघि बढे।  अनुभवी अन्य धावकहरु संयमित तरिकाले यौटा पेसमा दगुर्न थाले।  मैले त्यै लयमा मिसिन प्रयास गरेँ । 
आयोजकका अनुसार यसपाली ४,६४७ जनाले रजिस्ट्रेशन गरेका थिए।  जसमा म्याराथनमा ७० जना, हाफ म्याराथनमा २२३ जना, पाँचकिमि (ओपन)मा २,६२३ जना, पाँचकिमि (स्कुल)मा १,७२१ जना र व्हीलचेयरमा १० जना थिए।  यो पोहर र अघिल्ला बर्षहरु भन्दा निकै कम हुनुपर्छ। तयारी र प्रचारको कमी।    

हामी थापाथलीबाट दाहिने मोडिएर बागमती पुल पार गरि ललितपुरतिर लाग्यौं। कुपन्डोल पहिलो उकालो आयो।   केही धावकहरुले ओभरटेक गरे।  त्यो चढाईमा कुनै असहजता भएन तर हल्का पसिना सुरुभयो ।  मैले सतिसजी र उहाँको साथीको पछिपछि दौडेर पेस मिलाउने प्रयास गरें।  पाटन ढोका पुगेर हामी बायाँ ओरालो चाकुपाटको नयाँ र सफाबाटो दौड्यौं . रातिको पानीले धोएकोबाटो कालो चम्किलो देखिन्थ्यो।  तल बागमतीखोला किनारा ज्वागल युएन पार्कछेउको तल्लो शंखमुलपुल तरेर फेरी काठमाडौँ छिर्यौँ । दाहिने मोडेर खोलाको तिरैतिर  कच्चीबाटोमा भएको पानीका खाल्डाहरु नाघ्दै शंखमुल - बानेश्वरको बाटो आइपुग्यौं। बाटोमा भवानीजी भेटिए । २५ मिनेट भयो होला।  खतरनाक उकालो आयो - शंखमूलमा । ओहो, कसरि सकिएला ?  अघिअघि दौडनेहरु कोही हिडेंका पनि देखिए। ट्राई गर्छु नसके हिड्छु भनेर उही पेसमा उकालो दगुरें। सकें। २-३ जनालाई ओभेर्टेक गरें।  निधारबाट पसिना चुहिन थाल्यो । शरीर भिज्यो।  मुख सुक्यो।  डिहाईड्रेसनको संकेत।        
बानेश्वर चोकबाट तिनकुने तिर मोडीयौं । भूँईतिर हेर्दै दौडिरहेको मलाई बिआईसिसीको आघाडि कसैले बोलायो।  निना म्याडमले इलेक्ट्रोलाईट्स पानी दिन बोलाउनु भएको रहेछ।  थोरै पिएँ, अमृत झैँ। त्यसपछि पनि  उहाँले  पटकपटक अरु ठाउँमा पानी बाँड्नु भयो। अत्यन्त राहत भयो। दौडमा रिहाइड्रेसन निकै जरुरी कुरा हो।  र सायद केहि फोटो पनि खिच्नु भयो एसएलआरबाट । मैले तिनकुने पुग्दै गर्दा २ जनाअरु धावकहरुलाईपनि ओभरटेक गरें तर तिनीहरुले एक घण्टा पछि फेरी मलाई पछिपारेका थिए।  त्यसपछि शुरुभयो स्लोप उकालो बाटो तिनकुने -  सिनामंगल, केहि तेस्रोहुँदै एयरपोर्ट गेट।  गाडीको हर्न, धुवाँ, धुलो पार गर्दै एकसुर दौडीरहेँ।  बाटोछेउ कतै 'रेहाइड्रेशन स्टेसन' थिए।  भोलेण्टिएरहरुले बाटोको संकेत गरिरहेका देखिन्थे।  ट्राफिक प्रहरीसंग मिलेर सवारी रोकी धावकलाई बाटो मिलाईथिन्दे।  तरपनि केहि माईक्रो र बाईकवालाहरु हर्न बजाएर डिस्टर्ब गर्न छोड्दैनथे।  कतै आर्मीका जवान झैँ देखिने जमातले म तिर इंगित गर्दै 'यसले राम्रो स्टेपमा दौडेको छ' भनेको सुनें।  मेरो फुट पोजिसनको कुरा गरेको थियो।  मलाई सन्तोष लग्यो।  म त्यै लयमा कुदें।  

पिङ्गलस्थान - गौशाला - मित्रपार्क - चावेलसम्मको बाटो पनि थोरै समतल र अधिकांश सुस्त उकालो थियो।  गौशाला आसपास ट्राफिक भिडले मेरो दौडको पेस अबरुद्ध गर्यो।  चावेल पुगुन्जेल सतिशजीहरु करिव ५०मि अघाडी थिए।  भवानीजी पटक-पटक हिड्दै र कुद्दै गरेको देखिन्थे।  चावेलबाट सुरु भएको सुस्तओरालो बाटो कठीन बन्यो। दुईजना केटीहरुले मलाई ओभरटेक गरे।   सुकेधाराको उकालोमा उनीहरुलाई मैले पछि छोडें। अर्को एक केटाले मलाई उछिन्यो।  म नरोकिएर दौडें। पर्याप्त पानी खाईरहेको त थिएँ तर मलाई भोक लग्यो।  बिहान केहि खाएको थिईन।  पैसा थिएन। केहि किन्न सकिएन।  थकानपनि बढ्यो।  हिडुं झैं मन भयो।  तर पनि कुदें।  यतैकतै भोलेण्टिएरले पानीमा भिजाएको 'स्पोंज' बाँडीरहेका थिए।  शरीर पुछेर  चिस्याएँ। तै पनि थकान थियो।  महाराजगंज पुग्दा न पुग्दै ति केटिहरुले उछिने। उता सतिशजी र अरुहरु ओझेल परे।  पेस बढाउने प्रयास गरें।  सकिन।  त्यसो गर्नु राम्रो हैन जस्तो लग्यो।  किनकि मेरो आफ्नो पेस बिगारेर दौडे झन् थाकिने र बाँकी रन बिग्रिने डर हुन्छ।  मलाई मेरो आफ्नै कमजोरी र सिमासंग लड्नु छ।  मैले आफ्नै तरिकाले रन पूरा गर्नुछ।  अनि, म निरन्तर दौडिएँ।  

महाराजगंजबाट देब्रे मोडीएर अब रुट सिधा लाजिम्पाट - लैनचौर - दरबारमार्ग - शहीदगेट हुँदै अन्तिमबिन्दु पुग्छ।  सायद ६-७ किमि दुरी बाँकी छ।  बाटोमा उभिएका केहि भोलेण्टिएर र बटुवाहरुले ताली बजाएर हौस्याए।  राष्ट्रपति कार्यालयको बाटोकाटेर पानीपोखरी पुग्दै गर्दा जयलक्ष्मी र सविना भेटिए।  केरा दिए। दौडदै गर्दा एक टुक्रा लिएँ। साह्रै मीठो लग्यो। निकै इनर्जी क्षय भएकोले होला, भोकको रापमा त्यो केरा अत्यन्त मिठो लग्यो।  फेरी केरा 'क्वीक इनर्जी' पनि हो। पानीपोखरीको ओरालोमा उनीहरुलाई बोलाएर फेरी मागें। सिङ्गै केरा खाएँ।  ओरालो यति कठीन बनेर आयो कि म हिंडें - यो पुरा यात्रामा पहिलो चोटी। ओरालो सकिन्जेंल हिँडे।  एकठाउँमा उभिएर पानी पिउंदै गर्दा संजीव आए, बाईकमा।  उनि ५ किमिको रेस सकेर घर फर्किंदा यतैबाट आएका थिए सायद।  'गाह्रो भए बाईकमा जाने कि?' भनेर जिस्काए (?) ! म कुदें।  केहि क्षणमा दीपक गोपाजु भेटिए - एसएलआर क्यामेरा लिएर।  उनिपनि ५ किमि दौडेर घर पुगेर हामीलाई खोज्दै आएका थिए।  केहि फोटो लिए र गए। म दौडदै केहि अघि होटेल ग्याँग्जु तिर पुग्दा साइरनसहितका गाडीले पछ्याए र अघि बढे।  बिब नम्बर ४ को फुल म्याराथनको धावकले मलाई पछि छोड्यो।  केहि पछि अर्को एउटा र फेरी अर्कोले पनि बाइकको एस्कर्टमा पास गरे।  म आफ्नै सुरमा दौडिएं।  

म सिंहदरबारलाई बायाँ पारेर मोडिएर दरबारमार्गकोबाटो सिधा रत्नपार्क, टुँडिखेलकोबाटो दौडिएँ।  यो रुट झन्डै लाजिम्पाटदेखि एकोहोरो प्लेनबाटो थियो।  यस्तोमा खुट्टाको थाकन बढीनै महसुस भयो।  एक मनले हिडु झैँ लाग्थ्यो, अर्को मनले 'हैन म्यान, अब थोरै बाँकी छ - कुद्' भन्थ्यो । पोहर यहि बाटोमा म थाकेर चुर थिऍ र हिंडेको थिए।  तर यसपाली म कुदें।  हंगकंगबजार छेउ अपोजिट तिर राजेश र दीपक पन्त दाई बाईक भेटिए।   चियर गरेर गए। भद्रकाली पुग्दै मोडिन लाग्दा, एउटाले बोलाएर घुमेरजानुपर्ने जनाउ दियो।  फर्केर घुम्दा पुरै पेस बिग्र्यो।  एकाएक थकान बढ्यो।  जेनतेन घुमें।  निकै पानी पिएको थिएँ।  शहीदगेट नपुग्दै पिसाबले च्याप्यो।  कता जाने? हिंडेर खोजें।  बाटोमा काँक्रो र अचार बेच्न राखेको देखें।  मन थाम्न सकिन।  एउटा केटो थियो।  मागें।  बोहोनी भएको छैन भन्थ्यो तर एक चिरो दियो।  क्या मीठो ! म हिड्दै अघि बढें।  म पछिपछि आइरहेको अर्को धावक भेटियो।  भोक लग्यो भन्यो। मैले उधारो मागेर खाएको कुरा सुनाएँ ।  उ बाटोको पल्लो छेउमा भएको फलफुल पसलमा केरा मग्न हिड्यो। मैले आर्मीक्याम्प र रंगशाला छेउ एकान्त भेटेर  फ्रेश भएँ र सिंढी ओर्लिएँ बाटोमा पुगी फेरी दौडिन थालेँ।  यो रंगशाला प्रवेशको संघार हो।  म म्याराथनको फिनिशिंग लाईनको मात्र करिव ५०० मि. नजिक छुँ।  आई एम अल्मोस्ट देएर !!!
रंगशाला प्रवेश गरेँ।  मेरो अफिसका र अन्य साथीहरु पर्खिरहेका थिए।  चियर्स गरे।  मनै फ़ुरुङ्ग भयो।  अन्तिम कडीको राउण्ड दौडिएँ।  अन्तिमको लागि जोगाएर राखेको इनर्जी लगाएर फुर्तिसाथ त्यो ल्याप दौडिएँ र फ़िनिशिङ्ग लाइनमा पुगेँ। आयोजकले 'हाफ म्याराथन फ़िनिशर' को गोल्ड प्लेटेड मेडल पहिराइदिए।  एउटा प्रमाणपत्र दिए।  साथीहरुले बधाई दिए।  सबै संग फोटो खिचियो।   मतलब, मैले पूरा २१.३९ किमिलामो दूरी दौडिएर सफलतापूर्वक सम्पन्न गरें। हुर्रे !!!!!!!

अन्तमा: मैले पुराना ब्लगहरुमा लेखेकोछुँ कि म एथ्लेट हैन।  मैले बाल्यकाल वा विद्यार्थीकालमा खेलकुदमा भाग लिन सकिन/पाइन/गरिन।  सायद अव्यक्त चाहनाहरु थिए।  मौका मिले रहरहरु पूरा गर्न सकिने रहेछ।  त्यसको लागि उमेर हैन जाँगर चाहिन्छ र उत्प्रेरक व्यक्तिहरुको संगत ।  मेरो म्याराथन प्रयासमा मेरो अफिसका सतिसजीको प्रेरणा उल्लेखनीय रह्यो।  अनि पूर्व सहकर्मीहरु डा. प्रमोद, मुकेशजीहरु पनि उत्प्रेरक बने।    उनीहरुको स्पोर्टम्यानसीप अतुलनीय छ। र अन्य साथीहरु महेशजी, राजेशजी, राजनजीहरुले पनि बेला बेलामा हौस्याईराखे । धन्यबाद उनीहरु सबैलाई!   

 ------
दोस्रो खण्ड: हरेक चोटीको म्याराथन रेस सम्पन गरे पश्चात हामी केहि साथीहरुको जमघटमा सेलेब्रेसन हुने गर्छ।  यसपाली श्रीदजीले पहिल्यै एउटा प्लान ल्याएका थिए।  हामी ६ जना भयौँ।  महेश, राजन, राजेश, किरण र म।  हामी रंगशाला छेउको पुरानो अखडामा केहीबेर बसेर झम्सिखेल तिर लाग्यौं - हाँसको छोइला पाइने ठाउँ । बिहान भरी धुम्म परेको सितल आकास बिग्रियो, र दर्केर पानी पर्न थाल्यो। हामी श्रीदको ह्युमर, महेशको पन्चलाईन, राजेशको प्लट र राजनको फिलर मिश्रित माहौलमा रमायौं। र अन्तमा रोचक त के भयो भने -  निस्किँने बेला सबैको पर्समा गाडी/बाईक पन्चर भए चाहिनसक्छ भन्दै राखेको रु सौ - डेडसौ मात्र बाँकी थियो।  


(नोट: यसमा प्रयोग गरिएका फोटोहरु मोबाईल क्यामेरा, र सतिजजी र सविनाको सौजन्य हुन्।  धन्यवाद। )

Friday, September 19, 2014

रहरको दौड - धुलेबाटो र म्याराथन

काठमाडौँ म्याराथन - शनिबार,  सेप्टेम्बर २०, २०१४। आठौँ संस्करण । भोलि।  म लगातार तेस्रो पटक भाग लिंदै छुँ। र हाफ म्याराथनको यो दोस्रो प्रयास हुनेछ।  र यसपालाको जर्सी नम्बर  ५१६।


यसको सूचना त पोहरको 7th Kathmandu Marathon को फिनिश गेटमै टाँसेको थियो तर आयोजकले यसपाला कुनै पब्लिसिटी नै गरेनन् । र यो रेस हुने न हुने टुंगो डेढहप्ता अघिसम्म पनि थिएन। सर्न सक्ने हल्ला पनि आयो। सोसलमेडिया वा वेभसाईड कतै पनि आप्डेट थिएन। अन्योल थियो । हाम्रो पूर्व सहकर्मी प्रभरणजी, जो यो इभेन्टसंग केहि सम्बन्धित हुनुहुन्थ्यो, ले पनि निश्चित खबर दिनसक्नु भएको थिएन ।  मैले अर्गनाइजरलाई पठाएको इमेलको रिप्लाईमा "टाइटल स्पोन्सर न भएकोले पुरा प्रचार गर्न नसकिएको तर यो म्याराथन हुने निश्चित छ' भनेर पाएँ ।   सेप्टेम्वर १५ मा , जम्मा ५ दिन अघाडी। त्यसैले खासमा राम्रो तयारी गर्ने माहोल नै बनेन।

केहिहप्ता अघिबाट मैले दौडने अभ्यास सुरु गरेको थिएँ, एक्लै।  कहिले सातदोबाटोको स्विमिङ्गपुल कम्प्लेक्सको ट्रयाकमा त कहिले ज्वागलको युएन पार्कको ट्रयाकमा।  एक्लै दौडेको फोटो सोसियल मेडियामा राख्थे किनकि मलाई आफ्नो निम्ति आफै दवाव सिर्जना गर्नु थियो नत्र कुनै पनि शारीरिक पररिश्रम पर्ने काम बिचैमा त्यागिन्थ्यो।  अरुले कमेन्ट, कम्प्लिमेन्ट वा डिस्कसन गर्दा त्यो कामलाई निरन्तरता दिन प्रेरणा वा दवाव दुवै पर्दो रहेछ।  मैले हौसिएर निकै दौडिने गरें। नाइकीप्लसको एप्समा भएको 'भर्चुअल ट्रेनर'ले सेट गरेको तालिका अनुसार प्रयास गरें ।  खलखली पसिना बग्ने गरि कुदें । अघि अघि दौडिने कोहि अपरिचित रनरलाई फलो गरेर उ न रोकिन्जेल दौडिने गरेँ।  एकैपल्ट १३ किमीसम्म दौडें। निकै आत्मविश्वासबढ्यो।  केहि समय पछि परिणाम विपरीत आयो - मसल पेन। घुँडामुनि पछाडीदेखी कुर्कुच्चासम्म भएका टेण्डन दुखे।  शंका लग्यो।  युट्युबमा रनिङ्ग सिपबारेका भिडियोहरु खोजेर हेरें।  पत्ता लाग्यो।  मेरो फुट पोजिसन नै गलत रहेछ। पन्जाले टेक्नु पर्ने तर म कुर्कुच्चाले टेक्दो रहेछुँ।  प्रोफेसनलहरु बाहेक करिव ९०% को बानी कुर्कुच्चाले टेक्ने हुँदो रहेछ।  अनि सुधार्न प्रयास गरें।  नयाँ तरिकाले दौडें।  फेरी दुख्यो किनकि नयाँ मसल प्रयोगमा आयो। निरन्तरता दिन सकिनँ।  दुई  हप्ता लग्यो सबै मांशपेशीको दुखाई जान।  फेरी प्राक्टिस सुरु गरें।  अब ५-७ किमि दौडिने गरेँ। केहि सुधार भयो। 

अफिसतिरका र अन्य साथीहरु निकै उत्साही थिए । सबैको तयारी कम, उत्साह बढी भयो। यहि छोटो समयमा पनि करीब ४२ जना (अफिसका सहकर्मी र अन्य चिनजानका साथीहरु) हाम्रै नेटवर्ककाहरु ले दर्ता गरे।  रमाईलोको लागि उन्त्साह नै चाहिने हो।

सतिशजीलाई अनुरोध गरेर नयाँ रनरहरुको निम्ति छोटो तयारीको टिप्स/सल्लाह सेसन गरियो।  केहि रनरहरुलाई जवर्जस्ती फकाउनु परेपनि, चहलपहल, कुराकानी र जर्सी भएपछी त उमङ्ग बढ्ने नै रहेछ।  सबै एक्साइटेड बने।  यसपाली भवानीजीले पनि हाफ मराथान दौडने निर्णय गरे।


छोटो समय र अन्य व्यस्तताले यसपाली कुनैखाले  'सोसियल' कार्यको निम्ति क्याम्पेन गर्ने योजना बन्न सकेन।  फेरी यस्तो कामको लागि यौटा टिम वा सक्रियता देखाउने केहि व्यक्तिहरु भए प्रभावी हुन्थ्यो जुन यसपाला कोही भेटिएन।  तर, जेहोस् 'फन' र 'पर्सनल एडभेन्चर' को निम्ति दौडिने भइयो।  

पोहर झैँ यो पालाको इभेन्ट पनि त्रिपुरेश्वरको दसरथ रंगशालामै शुरु र अन्त हुने छ।  ५ किमिको लागि रुट पनि उही छ।  तर, हाफ र फुल म्याराथनको रुट भने भिन्न रहेछ।  यो वर्ष नयाँ रुटको अनुभव हुने भयो - थापाथली चोक - पाटन क्याम्पस - शंखमूल - बानेश्वर - तिनकुने - गौशाला - चावेल - नारायणगोपालचोक - दरवारमार्ग - शहीदगेट।

नयाँबाटोमा आफै लक्ष र आफ्नै कम्फर्ट जोन सँग संघर्ष गर्दै आफैलाई जित्ने थोरै साहसिक प्रयासलाई सम्पन्न गर्दै - फ़िनिशिङ्गलाईनमा पुगेको रोमान्चक कल्पना आईरहेको छ।   (बाँकी भोलि)
 














सातौँ संस्करण बारेको यी ब्लगहरु पनि पढ्नुहोस्:  
Blogs on 7th Kathmandu Marathon (1)
Blog on 7th Kathmandu Marathon (2)
Blog on 7th Kathmandu Marathon (3)