Wednesday, April 26, 2017

नयाँबर्ष २०७४: भोटेकोशी तिर (भाग ३)

२०७४ बैशाख ३, आइतबार।  द लाष्ट रिसोर्ट, भोटेकोशी 
हामी तातोपानी र केही पर नेपाल-चीन बोर्डरसम्म पुगेर बन्जी गर्नेठाउँ फर्किंदा मध्यन्न्ह भैसकेको थियो।  ट्याण्डम स्विङ्ग चलिरहेको थियो।  यता पुलबाट बन्जी र स्विङ्ग दुबै खेल चल्ने रहेछ।  त्योबेला पुलमा  हिड्न बन्देज थियो। झोलुङ्गेपुल नहाल्लियोस भनेर। वारीपट्टी बाटो किनाराका पसलका झ्यालबाट स्विङ्ग खेलेको हेर्यौं। सानो ब्रेकमा मान्छेहरु ओहोरदोहोर गर्थे।  रिसोर्टका यौटामान्छे आए, साथीले चिनेका।  आज हावा बेसरी चलेकोले अहिलेसम्म बन्जी शुरुनभएको कुरो सुनाए। वेटिङ्गमा बस्न भने।  पारी रिसोर्टमा गयौं। देशीबिदेशी पर्यटकहरु थिए। करिब ४०-५० जना पालो कुरिरहेका। साथीले बन्जी नगर्ने। पहिले धेरैचोटी आएर पनि फर्किसकेको उ मेरो लागी कुरिरहेको थियो। मैले रसिद काटे।  २५% छुटमा रू ३,६०० तिरें। हावा चलिरह्यो। यताउति डुलेर टाइमपास गर्नतिर लाग्यौं। यसैबीच स्टाफ आएर तौलनाप्यो । काँटाले देखाएकोमा ३ केजी बढाएर मेरो हातमा मार्क गरिदियो। एउटा कागजमा स्वस्थसमस्या नभएको घोषणा गरेर सही गर्न लगायो। र कुर्न भन्यो।


हावा केहि रोकियो।  एक बजिसकेको थियो।  बन्जी सुरु भयो।  तौल समूह मिलाएर बोलायो।  कमतौल भएकाहरु पहिले।  धेरै जना थिए। सबैजसो महिलाहरु। निश्चित केहि निर्देशन सिकाउछ।  पुलबाट जम्प गरेर तल झरेपछि उल्टो पारेको जीउलाई डोरी खिचेर सुल्टो पर्ने र केहि इसारा दिएपछि अर्को डोरी खस्छ, त्यसले माथि तानेर ल्याउने रहेछ। एउटा चिनिया केटीले त्यो स्टेप बिर्सी छ क्यारे, झुण्डेको झुण्डेइ भइ। सायद भाषाको समस्या होला वा उ डराएकोले वा नर्भस भएकोले बिर्सी।  निकै बेर लाग्यो उसलाई रेस्क्यु गर्न।  अर्को रोप खसालेर, त्यसबाट क्रू झरेर मद्दत गर्न गयो। त्यै बेला डोरी माथि तान्ने मेसिन बिग्रेछ क्यारे, अब दुवैजना झुण्डिए।  यसचोटी त  सुल्टो थियो। ६-७ जना क्रू मेम्बरहरुले रथको डोरी ताने झैँ गरेर तिनीहरुलाई पुलमा तानेर उद्धार गरे। अब रोकियो बन्जीको क्रम। फेरी सुरु हुने नहुने टुंगो भएन।

धेरैजना थिए क्युमा अझै ।  काठमाडौँबाट बिहानै आएका दुई बस थिए। बन्जी रोकेर केहीबेर स्विङ्ग चालु गरे।  डोरी तान्ने मसिनले काम नगरे तल खोलाको किनारमै ल्यण्डिङ्ग गर्ने विकल्प सुनाए। डोरीले पुलमै तान्ने मसिन आउनु अघि डेढबर्ष पहिलेसम्म त्यही गरिन्थ्यो। लामो बाँसको टुप्पो समातेर भुइँमा बिछ्याएको टेन्टमा ल्याण्ड गर्न पर्नेहुन्छ। अनि, खोलाको किनाराबाट रिसोर्ट हिंडेर फर्किंदा २०-२५ मिनेट ठाडो उकालो हिड्नु पर्छ रे।

मधुलाई अबेर भयो।  डिउटी जानपर्ने। उ  हिड्यो।  म कुरें यताउती गर्दै,  बन्जी गर्न पाउने आशमा। अनिश्चितता कायमै थियो। केहीबेरपछि हावाको बेग निकै कम भयो। मसिनले पनि काम गर्यो।  बन्जी सुचारु भयो।  म मुनिको तौल समूह बाँकी थिए। उनीहरुको पालो आयो।  चार बज्यो। बल्ल हाम्रो तौल समूहको पालो आयो। एउटा महिला सहित १५ जना जति भयौं । पुलमा टेक-अफ गर्ने बिन्दु नजिक लामबद्ध गराए। समूह भित्र बढीतौल हुनेलाई पहिले जम्प गराउने रहेछ। रस्सिको ईलास्टिसिटि र अन्य टेक्निकल कारणले तेसो गर्छ भन्थ्यो। यस हिसाबले मेरो पालो अन्तिम २ जना भन्दा मात्र अघाडी पर्यो।
पुलमा बसेर नजिकैबाट क्रुको ईन्स्ट्रक्सन, जम्प गर्नेहरुको तयारी,मनोदशा, हाउभाउ र प्रतिक्रिया नियाल्न पाइयो। एकजना अस्ट्रेलिया-इन्डियन सबै तयारी पश्चात हामफाल्ने बिन्दुमा पुगेर डराएर फर्क्यो। यौटी महिला सहित २ अरुले पनि बडो कठिनता पछि अत्यन्त डराउँदै हाम फाले। यो सबै नियाल्दै बस्दा निकै रमाइलो, रोमान्चक, डर मिश्रित अनुभूति हुन्थ्यो।  मेरो पालोमा मैले के गर्ने हुँला, सक्छु कि सक्दिन, जसरी पनि जम्प गर्नुपर्छ जस्ता कुरा मनमा खेल्थे।  हावा निकै मन्द भएको थियो। यस्तोमा पुल र रस्सी कम हल्लिन्छ र जम्प सहज र सुरक्षित पनि हुन्छ रे। कुर्दै गर्दा बन्जी क्रुले बेल्ट लगाइदियो। दुइ तिघ्रा हुँदै, कम्मर र काँधसम्म बेर्ने बेल्ट थियो, त्यसमा हार्नेस र अरु फित्ताहरु जोडिएका थिए।  दुवै खुट्टाको पिडुला बेर्ने अर्को कफ बाँध्यो। गफगर्दै बेल्ट कस्यो। रमाइलो पाराले हँसाउँदै  र सिकाउंदै कुरा गर्थ्यो। जसले जम्परहरुको चिन्ता हटाएर जोस भर्न मद्दत हुन्थ्यो। मेरो पालो आयो।  ५ बजेको थियो।   

जम्पिंग प्लेटफर्ममा गएँ। फिल्म क्रुले बायाँ नाडीमा गो-प्रो बाँधिदियो। भिडियोको लागि बाईट लग्यो।  अर्को क्रूले हार्नेस, बेल्ट फेरी चेक गर्यो। इन्स्ट्रक्सन फेरी दोहोर्यायो। र 'वाक लाईक अ पेन्गुइन, फ्लाई लाईक अ बर्ड' भनेर अघाडी पठायो। जम्पगर्ने पोइन्टमा अर्को क्रुले पछाडी बिस्तारै पक्रेर प्लेटफर्मको छेउसम्म खुट्टा आधा बाहिर पुग्ने गरि उभिन भन्यो। गहिरो खोंचमा मसिनो बगेको भोटेकोशी, दुवै किनारा तिर बगर, ढुंगे ढुंगा, अनि दुवैतर्फ चट्टाने ठाडो भिर र घाँस, मन्द हावामा सुसाइरहेका केहि रुखहरु। खुट्टामुनि हेरें, मन सिरिङ्ग गर्यो।  सिधा अघि हेरे, पर डाँडा, आकाश र क्षितिजतिर।  सपोर्ट दिईरहेको क्रुले सोथ्यो 'माधबजी तयार हुनुहुन्छ ?' म: 'यस!  रेडी छुँ' उ: 'ल ,, वन.. टु.… थ्री…  बन्जी!!! र मैले जम्प गरें

यसरी मैले बन्जीको अनुभव लिएँ।  करीब  ३ सेकेन्डको फल, ३ जर्क र केहि सुइङ्ग गरी फिर्ता प्लेटफर्ममा आउँदा ३.३८ मिनेट लाग्यो। कतै भुमरी भित्रपसे झैँ, कतै चक्कर खाए झैँ  खस्दा फनफनी, अनौठो झट्का र त्यसपछि चरा झैँ स्विङ्ग हुँदै उड्दा त निकै गजप रोमान्चक अनुभूति भयो। डरलाई जितेको महसुस भयो।  मैले सकें भन्ने बोधले यौटा सन्तुष्टि मिल्यो।  

सबैले बन्जी सके पछि करिब ६.३० बजेतिर  रिसोर्टको बसमा २८ अरु यात्रीसंगै म पनि काठमाडौँ फर्के। भाडा दिन परेन - फ्री राइड मिल्यो।  घर पुग्दा रातीको  ११:३० बजेको थियो।  

Watch Youtube Video of this Bungy Jump

Sunday, April 23, 2017

नयाँबर्ष २०७४: भोटेकोशी तिर (भाग - २)

२०७४ बैशाख ३ गते, आइतबार: सिन्धुपाल्चोक, बाह्रबिसे बजार
आज बिहानैदेखि आकास खुलेको छ।  वातावारण सफा र शितल छ। आज भोटेकोशीमा बन्जी जम्प गर्ने हो।

म बसेको ठाउं नजिकै ब्याडमिन्टन कोर्ट रहेछ, नियमित खेल्ने ठाउँ। आज बिहानै केहीबेर खेलचल्यो। नजिकै क्यान्टिनमा हल्का चियाखाजा खाएर हिड्ने कुरो भयो।  तातोपानीमा नुहाउने, खाना खाने र फर्केर बन्जी गर्ने योजना। आज दुईबजेसम्म डा. मधुको फुर्सद मिल्ने भएकोले उ र मा बाईकमा तातोपानी तिर हिड्यौं। ८ बजेको थियो।

करीब १० किमिमा बन्जी गर्ने पूल आयो। हेर्न गयौं। अझै सुरु भएको थिएन।  पूलबाट खोलातिर हेर्दा रिंगटा लाग्ने, बेसरी हावा चलेर पुल हल्लिथ्यो।  खै कसरी पो हाम फालिन्छ। हामी उँभो लाग्यौं। वारिपारी चट्टाने पखेरा, पहिरो गएका डाँडा, भत्केको बाटो, ढुंगैढुंगा भरिएको खोल्सा र खोंचमा बगेको भोटेकोशी, भूमरी पर्दै बगेको हावाले धुलो उडाउदा बाइकमा हल्लिदै बढ्यौं। बाटोमा फाट्टफुट्ट गाडी र बाईक  भेटिए। आर्मीको यौटा चेकपोस्ट आयो। केहि सोधपुछ गरेर अनुमति दिए। हामी तातोपानी पुग्यौं।

२०७२ सालको भुइचालो अघि भरिभराउ यो ठाउँ अहिले झन्डै उजाड छ। चहलपहल छैन। ३-४ जना नुहाइरहेका थिए।  हामीले नुहाउदा धारा खाली थियो। महिला पुरुषको छुट्टै धारा, लुगा फेर्ने छुट्टै ठाउँ र लकर समेत राम्रो व्यवस्था रहेछ। धाराको पानी निकै तातो रहेछ। छाला पोलेर थेग्न नसकिने। भुइचालो अघि त सहनसकिने तातो थियो रे। मैले जुम्लामा भएको तातोपानी धारा सम्झे, त्यहाँ सल्फरको गन्ध थियो, यता छैन। यताको निकै सफा र व्यवस्थित लाग्यो। रू ५ को टिकट काट्नु पर्ने सूचना त थियो तर कसैले मागेन। यतै अण्डर्वेअर किनेर फेरियो।

केहीपर यौटा झरना रहेछ, फोटो खिच्ने स्पट। त्यहिसम्म पुग्ने भयौ। पूर्वतिर चिनिया क्षेत्रमा पर्ने रहेछ यो झरना। फोटो खिच्दै गर्दा माथी बोर्डरतिर पनि पुग्ने कोशिस गरौ भन्ने कुरो आयो। केहिपर सशस्त्र प्रहरीले सोध्यो - को, कहाँजाने, किनजाने आदि। यौटा लामो परिचय पछि जानदियो।  'उता सुक्खा पहिरो फुसफुस झर्दैछ, विचार गरेर जानुहोला ' भनेर अर्ति पनि दियो।

भाग्नावशेष बस्तिको अन्तिम घर सशस्त्रको बोर्डर चेकपोस्ट रहेछ। जम्मा दुईजना डिउटीमा रहेछन्।  दुइबर्षदेखि नाकाबन्द भएर यो सब सुनसान देखिन्थ्यो।  थापा थरका अफिसरले हामीलाई केही सोधपुछ पछि मेतेरीपुलको बीचसम्म लगिदिए। भुइचालो जाने दिन उनि यतै रहेछन। त्यो भयानक दिन र त्यसपछिका सुस्त तथा निराश दिनहरुको सम्झना गरे। 'ख्वै दुई देशबीच कुरा मिलेर नाका खुले त हुने' भने। पारिपट्टी चिनतर्फ ठूला घर संरचना देखिन्थे। सिधा उत्तरतिरको डाँडा टुप्पोमा हिउँ थियो।  तल पखेरो र फेदीतर्फ बस्ति देखिन्थ्यो।  सुन्दर।  त्यो खासा बजार रहेछ। अहिले त बस्ति सरेर सुनसान छ, चिनिया पुलिसहरुमात्र छन् रे।  पूलतर्फ फोटो खिच्न नपाइने रहेछ। तर फर्किंदा जूम गरेर केही फोटो लिएँ। एकछिन गफ गरेर हामी फर्कियौं।  बाइकको पछाडी बसेर कठीन बाटो र उजाड बस्तीको भिडियो फुटेज लिंदै तातोपानी बजारमा खाजा खान रोकियौं।

भत्केर, चर्केर, त्यागिएका घरहरु बीच सग्ला, कडा चट्टान/पखेरोको आडमा रहेका केही घरहरुमा फाटफुट पसल खुलेका थिए।  यौटा पसलमा चिया, तरकारी र रोटी खान बस्यौं।  स्थानीय एकजना भेटिनु भयो, साथीको चिनजान रहेछ।  वर्तमान अवस्था र राजनीतिबारे केहि चर्चा भयो। यो ठाउँमा उही पुरानो रौनक फर्किने आशा र विश्वास थियो उनमा।  हामीलाई पाहुना मानेर खाजाको पैसो तिर्न दिएनन्। उनलाई धन्यबाद दिएर हिड्यौं। त्यस्तै ११:३० बजेको थियो। हावाको बेग अझ बढेको थियो।  बोलेको सुन्न मुस्किल। बाटोमा कति ठाउँ बालुवा र धुलो उडेर अफ्ठ्यारो पर्थ्यो।हामी हुइकियौ।  अबको गन्तव्य 'द लाष्ट रिसोर्ट'को बन्जी !

नयाँबर्ष २०७४: भोटेकोशी तिर (भाग - १) यता पढ्नुहोस् Click Here (part 1)

नयाँबर्ष २०७४: भोटेकोशी तिर (भाग - १)

ब्लग नलेखेको निकै भएछ।  त्यसैले यसपालीको न्यु इयर रिजोलुसन बनाएको छुँ - सक्रिय रहने र ब्लगलाई नियमित गर्ने। ….
२०७४ बैशाख १ गते, शुक्रबार:  हिजोमात्र चारदिन नेपालगंज  बसेर फर्केको कुनै अर्को यात्राको मूड त थिएन तर  नयाँ वर्षको छुट्टी तीनदिन कसरी बिताउने कुनै योजना पनि थिएन। छुट्टीको बिहान म प्राय साइकलिङ्ग जाने गर्छु। आज बिहान पौनेआठ बजेतिर दशरथ रंगशाला हुँदै बसन्तपुर गएँ।  त्यहाँ मेरो बर्ष २०७४: म स्वस्थ मेरो देश स्वस्थ (My Year 2074: My Health, Healty Country) अभियानको शुभारम्भ कार्यक्रम थियो। स्वास्थ्य मन्त्री गगन थापा, राज्यमत्री, सचीव लगाएत मन्त्रालयका कतिपय मान्छेहरु थिए। मनिषा कोईराला पनि थिइन्।  मैले चिनेका कति साथीहरु पनि भेटिए। लाइफस्टाइलसंग जोडिएका स्वास्थ्य समस्या घटाउन मन्त्रीको बिशेष पहलमा यो वर्ष यौ क्याम्पेन सुरु हुँदै थियो।

भिडको यौटा कुनातिर भुवन भेटिए।  कुराकै सिलसिलामा "खोइ हामी बाह्रबिसे जाने भनेको थप कुरै भएन।  ' उनले भने। "त्यै त है! म पनि यो हप्ता निकै बिजी भएँ।  कुरै गर्न पाइएन।" मैले भने। हाम्रो साथी डा. मधु बडाल  त्यतै काम गर्छ। हामीले करिब एक महिना अघि भेटमा त्यता घुम्न जाने कि भन्ने सोचेका थियौं।

बेलुका मधुलाई फोन गरें।  उ छुट्टीमा घर आएको रहेछ - काभ्रे।  पर्सि आइतबार फर्किने गरि। हामी आउने भए भोली नै फर्किन सक्ने बतायो। भुवनलाई खबर गरें  तर उ भोलीदेखि शुरु हुने यौटा तालिममा सरिक हुनपर्ने भएर जान नमिल्ने रे। अरुकोही उत्सुक भेटिन्छन कि भनेर पनि यताउता सोधें।  भेटिएन।  एक्लै जाने निर्णय गरें।

यात्रा भोटेकोशीको किनारै किनारा (भाग - १)

 २०७४ बैशाख २ गते, शनिबार: योजना अनुसार काठमाडौँ - बाह्रबिसे बाइकमा जाने, ११ बजे तिर पुग्ने, अनि बन्जी गर्ने थियो। तर रातभर गड्याङ्गुडुङ्ग गर्दै पानी  पर्यो।  बिहानभर रोकिएन। रेनकोट तयार परें। साथीलाई फोन गरे।  उता आकास धुम्म रहेछ तर पानी परेको थिएन रे। हिड्ने निधो गरें तर बसमा। सिमसिम पनि थियो।  छाता बोकें। चोक यौटा बाईकले लिफ्ट दियो। अलिपर ट्याम्पु भेटियो। कोटेश्वोर।  भाडा रू १५। बाटोको बायाँ गाडीको ताँती थियो - सबै पूर्व जाने। जुन पहिले भेट्यो त्यैमा चढ्ने सोचेर ताँतीको शीरतिर बाट गाडी हेर्दै आएँ।  यौटा बस भेटियो।  थोरै यात्रु थिए। म लास्टको झ्यालतिरको सीटमा बसें। म लामो यात्रामा ढोका छेउ वा बीचतिरका सीटमा बस्दैन किनकी के थाहा कुनै रिजर्ब श्रेणीका यात्रु आएपछि बिचैमा सीट छोड्न उठ्नु पर्छ। ८ बज्यो।  केहीबेरमा गाडी हिंड्यो। साथीलाई म हिडें भनेर मेसेज गरें। पानी पर्न रोकिएको थियो। छेउको सीटमा बस्ने सज्जनले भने साढेतीनदेखि चार घण्टा लाग्छ बाह्रबिसे पुग्न । भाडा रू १८०।   


गाडी  भक्तपुर, बनेपा, धुलिखेल, पाँचखाल, दोलालघाट, बन्देउ, सुकुटे, बलेफी, अँधेरी, खांडीचौर हुँदै बाह्रबिसे पुग्दा  ११.१५ भयो।  आकाश धुम्म थियो। बाटो केही खाल्डाखुल्डी बाहेक सजिलै थियो।  यौटा चिया ब्रेक भयो २० मिनेट।  बाटोमा इन्द्रावती नदि आयो। दोलालघाटबाट उत्तर तिर हिडेको केहीबेरमा भोटेकोशी आयो।  तिरैतिर रिसोर्ट र रेस्टुरेन्ट देखिए।  सुकुटे-बलेफी-अँधेरी बाटोमा रयाफ्टिंग बोट बोकेका गाडी देखिए।  माथि सुनकोशी आयो।  बाटोमा बाढीले खाएका, भूकम्पले हल्लाएका, भत्केका ठाउं, हाईड्रोपावरका संरचनाहरु निकै देखिए।  कालिञ्चोक, जिरी, चरिकोट, मन्थली पनि गाडी पनि यै बाटो जाने रहेछन।

तत्काल बनेको रयाफ्टिंग योजना 


साथीको श्रीमति (सुष्मा जी) र छोरा पनि यतै रहेछन। 'ल अब खाना खाने, आज दिउसो यतैतिर डुलौ, बन्जी नमिल्ने भयो। भोली।' साथीले भन्यो। प्रि-बुक नगरी जानेको पालो अनिश्चित हुन्छ। दिनभर अब के गरी बस्नु? बाटोमा देखेको रयाफ़्टिङ्ग सम्झे। आजै त्यतै ट्राई गरौँ भने।  उ पहिल्यै गैसकेको रहेछ तर सुष्माजीले रहर गर्नु भो। डा. कुशल (डेण्टिस्ट - यतै प्राक्टिस गरिरहेका) पनि जाने कुरो भयो। साथीले उसको सम्पर्कहरुलाई सोध्यो। निकै प्याक छ रे भन्ने सुनियो। नयाँबर्ष, शनिबार भएपछि यस्तै हो बिजी। वेबसाइटबाट यौटा मोबाईल नम्बर खोजेर ट्राई गरें। यौटी महिलाले उठाइन्। सुकुटे बीच रिसोर्ट। तुरुन्त पुग्न सके ग्रुपमा २-३ सीट मिलाईदिने बताइन् र हामीलाई अँधेरी आइपुग्न भनिन्। दुइटा बाइकमा हामी त्यता लाग्यौं।

 
यतिबेलै हेमन्तले फोन गर्यो।  उ र कपील हिजो बिहान बाईकमा दोलालघाट जाने भनि काठमान्डूबाट हिडेका साँझदेखि फोन सम्पर्कमा थिएनन् । अहिले खाँडिचौर आइपुगेछन्। हिजो कतै गाउँतिर बसेको, फोन ब्याट्रीचार्ज गर्न नसकेर सम्पर्क बिहीन भएको रे। अब तिनीहरुलाई सर्प्राईज रयाफ्टिंग राइड।

हामी अँधेरी पुग्दै गर्दा बोट बोकेका बसहरु आइरहेका थिए। यौटा ठुलो ग्रुप रहेछ अडिट कारोबारी संस्थाको, आर्टिकल गर्ने युवायुवतीको रिट्रिट रहेछ। त्यै समूहमा मिसियौं। हामी अब ५ जना थियौं । भाडा रू १२०० प्रतिव्यक्ति। हाम्रा फेर्ने समान बसमा राख्यौ, लाइफ जकेट र हेल्मेट पहिर्यों, पाडल बोक्यौं र इन्ष्ट्रक्सन सुन्ने लाईनमा गयौं।  सबै पहेंला, राता देखिन्थे।

आज घाम लागेन तर दिन उज्यालो थियो। दुवैतिर पहाड। दाहिने तिर अरनिको राजमार्ग मुनि भोटेकोशी धमिलो बगेको थियो।  हिजो माथी हिमाल तिर पानी  परेछ सायद। बोट नदीमा हेलिंदा पानीका बाछिटाले छ्याप्थ्यो।  बहावसंगै ढलपल बोट, क्याप्टेनको कमाण्ड 'फरवार्ड, फास्टफरवार्ड, स्टप, डक, ब्याकवार्ड' सुनेर सबै यात्रीले पेडलिंगको रिदम मिलाउन पर्ने, र्यापिडहरुमा आउने तरंगहरुले यात्रा निकै रोमान्चक बनायो। सबै जोडजोडले हौसिरहेका थिए।  तैरिरहेका अरु बोटहरुको दृश्य सुन्दर देखिन्थ्यो।  तीबोटहरु संग पटक पटक पानी छ्यापेर रमाइलो गरिन्थ्यो। दुईठाउं हाम्रो बोट ढुंगामा अडियो। एकठाउँ ठूलो २० फिट अग्लो चट्टानबाट भोटेकोशीमा हामफाल्न मिल्ने रहेछ। केटाकेटीहरु फटाफट जम्प गरिरहेका थिए। पौडिन नजान्नेहरु तैरिन्थे र कायाकले तानेर किनारामा लिन्थे।  कपील र हेमन्तले जम्प गरे र स्विमिङ्ग गर्दै किनारा पुगे। म केहीबेर दोधारमा थिए। जाडो थियो।  तर सोचेँ - यस्तो मौका निकै कम आउञ्छ। त्यसैले जम्प गरे र आफै पौडेर किनारा पुगें।

करिब २ घण्टाजतिमा हाम्रो र्याफ्टिंग सकियो। हाम्रो समान राखेको बसले समान बेपर्बाह तरिकाले काउन्टरमा छोड्देछ, कतै ठोक्किएर मेरो मोबाईलको सिसा फुटेछ।  साथीको अस्पतालको खाली एम्बुलेन्स यतैबाटो आउदै रहेछ।  हामीलाई अँधेरी फिर्ता पुर्याइदियो - बाइक राखेको ठाउं। भिजेका हामी लोकलबस खोज्दै कुर्नु परेन। दुइजना छुट्टिए काठ्मान्डु जान र हामी फर्क्यौं बाह्रबिसे ।

भजन कृतनमा नाच्दा 

साँझपख खाना खायौँ। मधुले 'भजन कृतनमा जाने?'  भनेर सोध्यो।  मलाई त्यो रमाइलो अफर लग्यो।  'आठबजे यताबाट गाडी जान्छ।  तल सुनकोशीको किनारमा शिवमन्दिर छ। त्यहाँ बर्सेनी सत्संग लग्छ। यसपाला हिजोदेखि सुरु भयो। १०/११ बजेसम्म सकेर त्यै बस फर्किन्छ।" उसले थप्यो। हामी गयौं। गाउँका महिला पुरुष युवा युवतीहरु जम्मा भए।  'नर्सिङ्ग महापुराण तथा गर्ग संहिता' शुरु भयो। भजन सुरु भयो। बिस्तारै श्रद्धालुहरु नाच्नलागे। निकै रमाइला नाचौनाचौ लाग्ने भजन आए।  हामीपनि चुप बस्न सकेनौं।  र नाच्यौं … 'हेSSS कृष्ण मनैमा बसाउँला …"