Tuesday, September 4, 2018

कसरी गर्न सकिन्छ कर्णालीमा लगानी

यो लेख सेप्टेम्बर ४, २०१८को सेतोपाटीमा प्रकाशित छ।  https://setopati.com/opinion/166353

जुम्लाको चन्दननाथ नगरपालिकाले यही भदौ २९ गते लगानी प्रवर्धन सम्मेलन गर्ने भएको छ । सदियौंदेखि ओझेल परेका तर प्रचुर सम्भावनाहरु भएका ठाउँको विकास सामर्थ्यको उजागर गर्न यस्तो सम्मेलनले ठूलो भूमिका खेल्न सक्दछ । कर्णालीमा विविधतायुक्त र नौला लगानी अवसरहरु प्रसस्त छन् तर पर्याप्त ढंगले खोज, बर्गिकरण, प्रचार र प्रयास हुन सकेको छैन । केहिवर्ष अघिसम्म कर्णालीको बिकटता, अभाव, अशिक्षा, अन्धविश्वास, रुढिबादी परम्परा, रोग, महामारी, भोकमरी, फोहोर आदि राष्ट्रिय समाचार बन्थे  । अचेल त्यसमा निकै कमी आएको पाइन्छ । बरु त्यहाँको अपार सम्भावना, सम्पदा, संस्कृति र सफलताका गाथाहरु वर्णित हुन थालेको छ । अर्थात, कर्णालीले स्वरुप फेरेको छ। यो लगानी सम्भावनाको लागि स्वनिर्मित र सुखद संकेत हो। त्यसो त अत्यन्त न्यून जनघनत्व सहितको विशाल र विविधतापूर्ण भूभागले नै कर्णालीमा अपार सम्भावना रहेको प्रमाण दिन्छ ।       

केन्द्र सरकारको बाँडफाँडबाट भाग लागेको सिमित बजेटले स्थानिय जन अपेक्षा पुरागर्ने समृद्धि ल्याउन मुस्किल छ। स्थानीय सरकारको आफ्नै प्रयासले बैदेशिक ऋण र अनुदान सहयोग खोज्ने बाटो केन्द्रिय सरकारको मध्यस्थता मार्फत मात्र सम्भव हुनसक्छ तर त्यस प्रक्रियाको पनि कुनै टुङ्गो लागिसकेको छैन।  वैदेशिक सहयोग आए पनि अनेक ज्ञात अज्ञात शर्त सहित आउँछ र जनताको टाउकोमा थप ऋण बोकाएर बस्छ । यस्तो अवस्थामा सम्भावित स्वदेशी लगानी आकर्षण गर्ने स्थानीय सरकारको प्रयास प्रशंसनीय हो ।      

नेपाल सरकारले पछिल्लो पल्ट २०७३ सालको फाल्गुन महिनामा नेपाल लगानी सम्मेलन गरेको थियो ।  भारत, चीन, अमेरिका, बेलायत, दक्षिण कोरिया आदि मुलुक र नेपाल समेत गरि हजार भन्दा धेरै कम्पनी सहभागी भएको त्यो सम्मेलन निकै सफल ठानिएको थियो किनकि दुई दिनसम्म गरिएको सम्मेलनमा अपेक्षा गरेभन्दा निकै बढी ११ खर्ब रुपैयाँ बराबरको तत्कालै प्रतिवद्धता आयो । प्रतिवद्धतालाई लगानीमा परिणत गराउन विश्वासिलो र स्थिर संयन्त्र निर्माण गरि अनावश्यक  कानुनी र नीतिगत जटिलता हटाई सुधारात्मक र सुरक्षित वातावरण प्रदान गर्नु पर्छ। तर त्यसको अभावमा आज अधिकांश ति प्रतिवद्धताहरु एकपाने कागजमै सेलाएर बसेका छन् । यसबीच सरकारले फेरी लगानी सम्मेलन गर्ने घोषणा पनि गरेकोछ ।

यो के संकेत हो भने केन्द्रिय सरकार मात्र हैन स्थानीय सरकारहरु सबै लगानी आकर्षित गर्न आतुर छन् । भविष्यमा प्रदेश सरकार र अरु स्थानीय सरकारहरुले पनि लगानी ल्याउने प्रयास गर्नेछन् । 

कर्णालीमा लगानीका क्षेत्रहरु
मानव गतिविधि हुने हरेक स्थानहरु लगानी योग्य स्थानहरु हुन्। तथापी हरेक लगानीको निर्णय त्यसले दिने प्रतिफलसंग जोडिएको हुन्छ । झन् निजी लगानीको रुचि त त्यसबाट मिल्ने प्रत्यक्ष नाफामा भरपर्छ । यसलाई भूगोल, जनसंख्या, भौतिक संरचना, बजारको पहुँच र सरकारी नीतिले प्रोत्साहित वा निरुत्साहित गरिरहेको हुन्छ ।

कर्णालीमा बाटो र संचारको पहुँच बढे संगै थुप्रै सम्भावनाहरु उजागर हुँदै गइरहेका छन्।  तर संस्थागत र दिगो लगानीको लागि संरचनाको विस्तार हुनु अत्यावश्यक छ।  सडक, बिजुली, एयरपोर्ट, शहरी विकासजस्ता ठूला आयोजनाहरु केन्द्रीय सरकारकै लगानी र नेतृत्वमा गरिनु पर्छ। त्यसका लागि आवश्यक बैदेशिक वा अन्य श्रोत जुटाउने जिम्मा पनि केन्द्रिय सरकारले लिनु पर्छ। प्रदेश वा नगरपालिकाहरुको यस बिषयमा न अनुभव न क्षमता न नीति नै बनिसकेको छ।

कर्णालीमा निजि स्वदेशी लगानीका निम्ति मझौला र साना उद्योगधान्दा र व्यवसायहरु उपयुक्त छन् । पत्रकार सम्मेलनमा भनिए जस्तो नीजि स्वदेशी वा बाह्य लगानी आकर्षणगर्ने अवसरका क्षेत्रहरु कृषि, पर्यापर्यटन र जडिबुटी मात्र भने हैनन् । यी परम्परागत रुपमै चर्चा भइरहने प्रमुख सम्भावनाका क्षेत्रहरु हुन् । समयक्रम संगै नयाँ मौकाहरु पनि उदाएका छन्। सम्मेलनमा त्यस्ता लगानी भित्र्याउन सकिने क्षेत्रको चर्चा गरिनु आवश्यक हुन्छ।  अर्थात, अपरम्परागत शैलीले सोच्नु जरुरी छ।

अपरम्परागत ढंगले सोच्दा मेडिकल टुरिजम आश लाग्दो क्षेत्र देखिन थालेको छ। आपतकालिन सर्जरी बाहेक हाडजोर्नी, छाला, घाउ आदिको लामो उपचार र आरामी पछि स्वास्थ्यलाभ मिल्ने अवस्थामा जुम्लाको हावापानीले मद्दत गर्न सक्छ।  सुबिधासम्पन्न उपचार र आरामको व्यवस्था गर्ने यौटा लगानीको क्षेत्र हुन सक्छ।

आवासीय सुबिधा सहितका शिक्षालयहरु - बोर्डिंग स्कूल, कलेज, तालिमकेन्द्रहरु अर्को दिर्घकालीन लगानी सुनिश्चित हुनसक्ने क्षेत्र हो।  कर्णाली र आसपासको जिल्लाहरुका बिद्यार्थीहरुको लागि भनि साढे तिन दशक अघि खुलेको कर्णाली प्राविधिक शिक्षालयमा दुईदशक अघिदेखि नै देशभरबाट बिद्यार्थी आउनुले 'दुर्गम'भन्ने कुरा त केवल सोच मात्र भएको कुरा प्रमाणित गरि सकेको छ। हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले संचालन गर्ने कोर्षमा भर्ना हुन चाहने आकांक्षीहरुले पनि यो उच्च सम्भावना देखिएको छ।

खेलकुद अर्को लगानी सम्भावना बोकेको क्षेत्र हो।  बिशेषगरी साहसिक खेलकुद यहाँ फ़स्टाउन सक्छ। चर्चित  धावक हरि रोकायाले कोरेको सपना कर्णालीमा हाई अल्टिच्युट ट्रेनिंग सेन्टर यौटा वास्तविक बन्न सक्ने प्रचुर सम्भावनाको क्षेत्र हो।  पूर्वाधार बिनै केवल हौसलाको भरमा त्यै माटोमा दौडाएर स्थानीय युवाहरुलाई मेडल जित्नसक्ने बनाउन सकिन्छ भने पर्याप्त संरचना र सुबिधा उपलब्ध गर्न सके देशविदेशबाट आकांक्षीहरु नओइरिने त कुरै छैन ।

एथलेटिक्स बाहेक भर्खरै जुम्लाकै लाम्रामा पाराग्लाईडिङ्गको सफल परिक्षण भै सकेको छ।  रुख बुट्यान उम्रन नसकेका डाँडाहरुबाट कावाखाँदै तल तिला नदिको फाँट तिर ओर्लनुको मज्जै बेग्लै हुनेछ।  यी ठाउँहरु ग्लाईडिङ्ग खेलको लागि प्राकृतिक रुपले किन पनि उपयुक्त हुन सक्छन् भने चिल, गरुड आदि चराहरु, जसको उडान एरोडाइनामिक्स सिद्धान्त मेल खान्छ, यिनै डाँडाका आसपास घुमि रहेका हुन्छन् ।

साइक्लिङ्ग अर्को भविष्य भएको व्यवसाय लगानी हुन सक्छ । जुम्ला उपत्यकाको  २५-३० किमि पश्चिम राजमार्गको बाटो र तिलानदि वारीपारी, पुर्वतिर गुठिचौर, उत्तरपुर्व चौधबिस क्षेत्र र सिंजा उपत्यकाका  जिउला र बस्तिको फाँटमा साइकल चलाउन मिल्छ । हाइ अल्टिच्युड अभ्यास गर्ने उपयुक्त थलोको रुपमा विकास गर्न सकिन्छ।

जुम्लादेखि रारा पुग्ने बाटोमा पर्ने चट्टाने भीरहरुमा सायद रकक्लाईम्बिङ्ग खेल बन्न सक्छ। कतिपय भीरहरुमा परम्परागत तरिकाले भिरमह र शिलाजीतको खोजि चलिरहेको हुन्छ।

अहिले अव्यावहारिक झैं लागे पनि उचाइमा रहेका भूभाग र हिमाली चौरहरु अर्थात डोल्पा, मुगु, जाजरकोटसंग जोडिने भाग पाटनका थुम्का, भिरालो र फाँटहरु स्किईङ्गको गन्तव्य हुने सम्भावना राख्छन् ।     

चलचित्र र फिल्म उद्योगको आगमन यौटा प्रतिफल सुनिश्चित गर्न सकिने लगानीको क्षेत्र हुनसक्छ । उही चोभार, पोखरा, मुस्ताङ्ग जस्ता लोकेशन तथा उही नेपाली लबजको डाइलग, उही प्रकारको गुन्यूचोलीको नाँच, उही पिडि र छानाका बस्ति देखिने दृष्य हेर्दाहेर्दा हैरान दर्शकलाई नयाँ स्वाद दिने तत्त्व कर्णालीमा भेटिन्छ। श्रव्यदृश्यमा मौलिकता दिन सक्ने अनेक बिषयबस्तुहरु छन्।  काराभान र कालोपोथी जस्ता फिल्मले त्यो सम्भावनाको सफलता प्रमाणित गरिसकेका छन् । त्यहाँको इतिहास, संस्कृति, भाषा, भेषभुषा, भूगोल, बस्ति सबै नै मौलिकता बोकेका विशिष्ट स्वाद दिनेक्षेत्रहरु हुन् ।

आयुर्वेद र परम्परागत उपचार पद्धतिको अध्ययन र विकासको क्षेत्रले व्यवसायिक व्यापकता पाउन सक्छ।  जडिबुटीको संकलन र निर्यात केन्द्रित व्यवसायले केवल दोहन निम्त्याएको छ।  कच्चा पदार्थको रुपमा निर्यात नगरी स्थानीय रुपमा उत्पादन गर्न सक्ने उपायहरु ल्याउन आवश्यक छ।

यस्ता निकै अरु विषयहरु हुन सक्छन्।

सम्भावित लगानीकर्ताहरु    
भर्खर भर्खर मूलधारसंग सडक संजालले जोडिन खोजिरहेको, विदयुत र संचारको भरपर्दो व्यवस्था भै नसकेको कर्णालीमा कतिपय लगानीकर्ताहरुलाई जोखिम महसुस हुन्छ । त्यो स्वभाविक हो । तसर्थ स्थानीय सरकारहरुले कम जोखिमयुक्त लगानीका क्षेत्रहरु पहिल्याउन सक्नु पर्छ । शासकीय सुधार गरी यथेष्ट सहजिकरण र सुविधाहरु साथै जोखिम न्यूनीकरण प्रत्याभूति दिन पर्दछ ।

कर्णालीमा लगानी गर्ने सोच जन्माउनु अघि सम्भावित लगानीकर्ताहरु केही गुण र आदर्शहरुले निर्देशित हुनुपर्दछ । अहिलेको यौटा सत्य के हो भने कणालीमा व्यवसाय स्थापना तुलनात्मकरुपले महंगो पर्छ र फलस्वरूप प्रतिफल कम हुने वा ढिलो आउने बनाइदिन्छ । रातारात कमाउ हुने ठाउँको खोजिमा रहने लगानीकर्ताहरुको लागि कर्णाली हाललाई उपयुक्त गन्तव्य नहुन सक्छ ।

ठूला व्यापारिक घरानाहरु, बहुव्यवसाय संचालन गर्ने तथा लगानी परिचालन गर्ने समूह र संगठनहरुले व्यवसायिक विविधिकरण गर्न कर्णाली रोज्नसक्नु पर्दछ । पूणतः मुनाफामुखी मात्र नभई सामाजिक उत्तरदायित्व सहितको मानव हित र दीगो विकासको मूल्यमान्यता बोक्ने जिम्मेबार व्यवसायिक अवधारणायुक्त लगानीको प्रवर्धन गरिनु पर्दछ ।

उदाहरणको लागि कर्णालीमा चाउचाउ विस्कुट लगायत अन्य तयारी खानेकुरा निकै नै खपत गरेको छ । स्थानीयरुपमा उपलब्ध खानेकुरालाई विस्थापित गर्दै तयारी खाजाप्रति मान्छेको रुची बढ्नुमा आक्रामक बजारनीति, आकर्षक विज्ञापन र देखासिकीले गर्दा हो । आम सर्वसाधारण बजारले कसरी प्रभावित भैरहेको छ भनि भेउ ने पाउन सक्दैन ।  ती उद्योगहरुले अहिलेसम्म कर्णालीका बासिन्दालाई केवल आफ्रना उपभोक्ता मात्र बनाए । अब कुनै क्षेत्रमा लगानी गरि उद्योग व्यवसाय चलाई ती जनतालाई रोजगारको अवसर उपलब्ध किन नगराउने ?

हवाई उद्योग चलाउने कतिपय एअरलाइन्स कम्पनीहरुले पहाडी रुटमा अनिवार्य सेवा पुर्याउनुपर्ने नियमलाई लत्याउँदे तराई र पोखरा जस्ता सहज रुटमा चलेर बर्षौदेखि लाभ लिईरहेका छन् । ती व्यवसायीहरुले नयाँ ढंगले प्याकेज चलाएर वा लगानी विस्तार गरी कर्णालीमा पहूच बढाउन, रोजगार र अन्य अवसरहरु सृजना गर्न किन नहुने?

यस्ता अरु धेरै उदाहरण पाइन्छन्। 

देशभरका कर्मचारीहरुको रकम परिचालन गर्ने संचयकोष, नागरिक लगानी कोषहरुले शहरहरुमा व्यापारिक कम्प्लेक्स बनाई भाडामा लगाएको अनुभवलाई जुम्लाजस्तो बजारमा सुलभ सपिंगमलको अवधारणा फैलाउन किन नसक्ने ? भाटभटेनी लगायतका मलहरुले आफ्ना पसलमा राख्ने अर्गानिक उत्पादनहरु कर्णाली मै किन नफलाउने ? त्यसकालागि आवश्यक संयन्त्र र सानामझौला पूर्वाधारमा लगानी किन नगर्ने?

यसैगरि नेपाल आर्मी र नेपाल प्रहरीले थन्किएर बसेका आफ्नो कोषको केही रकम परिचालन गरी उनीहरुका संयन्त्रमार्फत कर्णालीमा लगानी गर्न सक्छ ।

यद्यपी कर्णाली जन्मथालो भएका गैरआवासीय नेपालीहरु निकै कम छन् तर कर्णालीमा एनआरएनले रुचीदेखाउन सक्ने होटल र यातायात व्यवसायको पनि सम्भावना प्रबल छ ।

स्थानीय लगानीको सम्भावना 

लगानी सम्मेलनको उद्देश्य केवल जिल्ला बाहिरका लगानीकर्ताहरु केन्द्रित हुन हुँदेन । विकास र रुपान्तरणका लागि स्थानीय प्रयासहरु अत्यन्त प्रभावकारी हुन्छन् । समुह र  सहकारीका माध्यमबाट ठूलो रकम संकलन गरी जलविद्युत, यातायात, सुपथ पसल आदि सफलतापूर्वक संचालन गरिएका उदाहरणहरु विद्यमान छन् ।

कर्णालीका बासिन्दामा पैसा कमाउन सक्ने भएदेखि तराईंमा घरजग्गा जोड्ने रहर र बाध्यता हुन्छ । यो सामाजिक हैसियत सँग जोडिने गरिन्छ।  विकटता झेल्दै हुर्किनेहरुले सुगमको बसाईको परिकल्पना गर्नु स्वभाविक हो । यो होड व्यापारी, ठेकेदार र सरकारी कर्मचारीहरुमा बढी छ।  अचेल सामाजिक कार्यकर्ता र राजनीतिकर्मीहरु पनि यस्तै लहड चलेको छ।  तर जब कर्णालीमा आवागमनको सहजता हुन्छ र स्थानिय अवसरका क्षेत्रहरु खुल्छन, यो क्रम आफै कम हुन्छ । फलस्वरूप यसले जिल्ला बाहिर जाने ठूलो रकम स्थानीय स्तरमा परिचालन हुन सक्ने छ।

कर्णालीमा भर्खर भर्खर रेमिटेन्स पनि भित्रिन थालेको छ तर रेमिटेन्सको उपयोग भने समग्र देशकै जस्तो अनुत्पादक क्षेत्रमा बढी हुने गरेको छ।

स्थानीय साना व्यापारीहरुमा व्यवसायको विविधिकरण गर्ने भन्दा पनि अर्कोको देखासिकी गर्दै उही व्यवसाय दोहोर्याउने प्रवृति बढी छ।  व्यापारका अन्य सम्भावनाको प्रयाप्त ज्ञान नहुँदा सामान्य लगानी हैसियत हुनेले जोखिम मोल्न सक्दैन र उही छिमेकीले गरेको जस्तै काम आफुले पनि सुरु गर्छ ।

स्थानीयहरुबाट लगानी जुटाउने विषयमा केही चुनौतीहरु पनि छन्। जस्तो कि जुम्ला यौटा भाग्यबाद मान्ने समाज हो।  अन्तरिक आयका स्रोतहरु निकै सिमित छन् । निश्चित केहि जाति बाहेक अधिकांस हिस्सा ओगटेको बाहुन, क्षेत्री र दलित समुदायमा व्यापारिक परम्परा र संस्कार छैन। प्रायः सबैले कृषि र पशुपालन गर्छन्।  त्यसैले सबैको गतिबिधि घडीको समय भन्दा पनि घरायसी कामकाजले निर्धारण गर्ने 'किसान समय'मा चल्छ।

स्थानीय सरकारहरुले यी अवस्था र चुनौतीहरुलाई मध्यनजर गर्दै लगानी योग्य वातावरण बनाउन प्रयास गर्नुपर्छ।
लगानी सम्मेलनको औचित्य 
इतिहासमा एकदमै बिकट र सुदूर मानिने कर्णालीको एउटा नगरपालिकाले देशका निजी क्षेत्र, गैरआवासिय, वैदेशिक स्रोतको समन्वय गरी देश लगानी प्रवर्धनको प्रयास गरेर रोजगार तथा तालिम, सिप विकास र हस्तान्तरण, लगानीको विविधिकरण, प्रविधिको स्थानान्तरण, जनशक्तिको सशक्तिकरण, दिगोपन हासिल गर्न सक्छ।

उचित लगानीबाट लगानीकर्ताले मुनाफा लिने मात्र हेने स्थानीय रोजगार सृजना गरि दिगो आर्थिक गतिविधिको माहोल निर्माण गर्न मद्दत पुग्दछ।

सम्मेलनले सम्भावित लगानीकर्ताहरु सँग एकआपसमा बार्तालाप गर्ने वातावरण बन्दछ।  स्थापित उद्योगी र व्यापारी, नयाँ  र उदाउँदा व्यवसायीहरु, नीति निर्माताहरु, सरकारका प्रतिनिधिहरु र स्थानीयहरुको सहभागितालाई परिणाममुखी बनाउन बलियो, विश्वसनीय र तथ्यपरक राष्ट्रिय तथा स्थानीय दृष्टिकोणहरु प्रस्तुत गरिनु पर्छ।

स्थानिय सरकारहरुले निरन्तर रुपमा आफूलाई भरपर्दो सहजकर्ता बनेर देखाउन सक्नु पर्छ। सरकारको कामकारबाहीमा लगानी तथा आर्थिक विकासको उत्प्रेरक तत्वहरु देखिन सक्नु पर्छ। जस्तै: छरितो र सहज निर्णय प्रकिया, 'रेड टेप' प्रवृतिको व्यवस्थापन, सार्वजनिक निजी साझेदारी सोचको विकास, संरचनाहरुको आधुनिकीकरण, सक्रिय र अर्थपूर्ण समन्वय, लगानीकर्ता प्रतिको सम्मान आदि ।

र अन्तमा
लगानीको निम्ति करमा भारी छुट दिईने छ भन्ने बिषयले जुम्लाका स्थानिय स्तरमा एकखाले विवाद सुरु भएको छ। लगानी योग्य वातावरण दिन करका दायाराहरुमा समय-सापेक्ष यथोचित सुधार गर्दै जानु अनिवार्य हुन्छ।अर्को विचारणिय पक्ष के हो भने स्थानीयबासीहरुको जमिनको स्वामित्व बचाई राख्न विशेष व्यवस्था गरिनु पर्छ नत्र लगानी, विकाश, समृद्धिको खोजमा कर्णालीबासी आफै भुमीहीन बन्न नपरोस् !

Monday, August 13, 2018

कर्णालीमा 'एप्पल टुरिजम' गर्न जाने?

यो लेख सेतोपाटी मा प्रकाशित छ: https://setopati.com/opinion/164961

गएको एक दशक भित्र यदि तपाईंले जुम्लाको स्याउ चाख्नु भएको छ भने तपाईले 'अर्गानिक स्याउ' खानु भएको रहेछ । किनकी २०६४ सालमा स्थानीय समूहहरुले स्वतस्फुर्त अर्गानिक जिल्ला घोषित गरेपछि २०६६ सालबाट सरकारी तबर मै अर्गानिक क्षेत्र बन्न पुग्यो । त्यस यताका सबै स्याउहरु अर्गानिक प्रमाणित हुन् । अहिलेसम्म चाख्नु भएको छैन भने यसपाला कोशिस गर्ने कि ? भदौ-असोज महिना स्याउको सिजन हो । यदि यो बेला जुम्ला-रारा यात्रा गर्ने हो भने आफैले स्याउको बगैचा डुल्दै रुखबाट टिप्दै खाने अनुभव पनि बटुल्न  सकिन्छ । चैतको महिना पारेर घुम्न जानु भयो भने स्याउ फुलेका सुन्दर बगैचाहरु भेटिने छन् - 'चेरी ब्लोजम' जस्तो 'एप्पल ब्लोजम'! अर्थात कर्णालीमा 'एप्पल टुरिज्म' गर्न सकिने प्रचुर सम्भावना छ।

कर्णालीको पर्यटन प्रवर्धनको लागि 'एप्पल टुरिजम' फरक आयाम सहित यौटा नौलो र आकर्षक सम्भावनाको क्षेत्र हुनसक्छ । हाल यसको खासै चर्चा भै नसके पनि यसको भविष्य छ । उपयुक्त ब्रण्डिङ्ग जरुरी छ।

दशबर्ष अघि कर्णाली राजमार्ग खुलेपछि स्थानीयहरुमा स्याउ रोप्ने लहर सुरु भयो । सुरुवाती बर्षमा रोपिएका बुटाहरु अचेल प्रशस्त फाल्न थालिसके । एक घर एक बगैचाको अभियान  चलेको छ। नयाँ रोप्ने र फल्ने क्रम बर्षेनी झन् बढ्दो छ । अहिलेसम्म जुम्लाका ९० प्रतिशत जति घरधुरीले स्याउ रोपेका छन् । सानाठूला गरि झन्डै १५ हजार बगैचामा करिब साढे ४४ लाख बोट रोपि सकिएको छ । गतबर्ष  १० लाख ३५ हजार स्याउका बिरुवा रोपिएका छन् भन्ने सरकारी आँकडा थियो । त्यो साल ३ हजार १५० मेट्रिकटन स्याउ फलेको थियो भने यसपाला त्यो भन्दा दोब्बर जति अर्थात् ६ हजार मेट्रिकटन फाल्ने अनुमान छ । गतबर्ष उत्पादनको ६० प्रतिशतबढी जिल्ला बाहिर निर्यात भएको थियो । विभिन्न कारणले करिब एक चौथाई जति स्याउ खेर जाने गरेको छ।  पोहोर जुम्लाको बगैचा मै स्याउको औसत मूल्य रु ५०-५५ प्रतिकेजी थियो । सिजन सकिँदै जाँदा १०० रुपैंयाँ प्रतिकेजीसम्म पुग्दछ।

जुम्लामा करिब एकदर्जन प्रजातिका स्याउ पाइन्छन् जसमध्ये करिब दुइतिहाई जति रेड र गोल्डेन डेलिसियस जातका हुन्छन्  । अन्य प्रकारहरुमा जोनाथन, चकलेट, तोरिकुलु, म्यकिन्तोष आदि पाइन्छन् ।  दुईबर्ष अघिबाट इटालियन फिजी जातका स्याउ पनि रोप्न थलिएको छ।

स्याउका बुटा उमार्ने नर्सरी उद्योग पनि निकै खुलेका छन्। बुटाको माग र उत्पादन बढेको छ । स्थानीय माग पुरा गर्दै हरेक साल हजारौं थान बुटाहरु जिल्ला बाहिर वितरण हुन्छन्। पोहोर कालिकोट, बझाङ्ग, डोटी, डोल्पा, रुकुम, रोल्पा लगायतका जिल्लाहरुमा निर्यात भएको थियो।

स्थानीयहरुले जुन उत्साहको साथ लगानी गरेका छन् त्यो गतिशिलता अनुरुप सरकारको रुपान्तरणकारी प्रयास भएको पाइंदैन। अझैं वैज्ञानिक ढंगको संरचना, भण्डारण, बजारीकरण र सूचनाको व्यवस्था छैन  । तरकारी बजारचक्र जस्तो स्याउको बजार पनि दलालको 'ब्यूह'मा फसेको छ जहाँ किसानले आफ्नो उत्पादन निकै सस्तोमा बिचौलियाहरुलाई बेच्नु परिरहेको छ। हरेकबर्ष सिजनको सुरुवातसंगै बर्खाले भत्काउने राजमार्गको चिन्ता बोकेर स्याउको 'नाजुक' व्यापार सुरु हुन्छ। किसान र साना व्यापारीले बेहोर्ने जोखिमहरुलाई सम्बोधन गर्ने कुनै प्रभावकारी र दिगो संयन्त्र छैन।

कर्णालीको एकमात्र प्रमुख निर्यातमुखी उत्पादन स्याउ हो । स्याउलाई खाद्य पदार्थ, औषधीजन्य उपयोग र सौन्दर्य प्रसाधन सामाग्रीको रुपमा समेत प्रयोग गर्न मिल्ने सम्भावना भएता पनि हाल पुजाआजा, बिरामीभेट, पाहुनाभेट जस्ताकुरामा बढी खपत हुने गर्दछ।  त्यसैले जुम्लाका स्याउ व्यापारीहरुले तिजको बेला त्यो 'एक मौका' छोप्न दौडधुप गर्नुपर्छ। थोरै केही उद्योगहरु स्याउजन्य पेयपदार्थ र अन्य परिकार उत्पादन गर्न खुलेका छन्।

कर्णालीको समृद्धि सपनामा स्याउको अर्थगणितीय योगदान जीडीपीमा सम्भवत अन्य सबैखाले उत्पादनका क्षेत्रकोभन्दा उच्च हुनसक्छ।  प्रदेशको बिशिष्ट पहिचान दिनसक्ने यो फलबाट प्रतिफल लिन सकिने अनन्त सम्भावनाहरु छन् तर व्यवसायिक उत्पादन र बजारको निम्ति आवश्यक पूर्वाधार र सुविधाको खाँचो टड्कारो छ। बाह्य लगानी आउन सक्ने भरपर्दो क्षेत्र यहि हो।  सरकार भूमिका बढाउ, स्याउमा लगानी गर  !!

स्याउको इतिहास र केहि रोचक प्रसङ्गहरु 
पर्यटकलाई स्याउ बगैंचा घुमेसंगै त्यससँग जोडिएका इतिहास र अन्य रोचक तथ्यले पनि आकर्षित गर्दछ ।  "स्याउ ताईंछुन्, नास्पाति ताईंछुन्, बागबानी फाराम। निको छ क्याS आलोपालो, गाथ छ क्याS आराम ।" भनी  देउडा खेल सुरुगर्दा प्रायः गाइने यो टुक्का सँग कर्णालीमा स्याउको आधुनिक इतिहास जोडिएको छ।  करिब आधा शताब्दी अघि विसं २०२२ सालमा भारत सरकारको सहयोगमा  देशमा 'बागबानी फार्म'हरु खुल्न थालेपछि  जुम्ला र हुम्लामा पनि एक एकवटा फ़ार्म खुले । त्यहाँ बाहिरबाट ल्याएका फलफुल रोपिए।केहीबर्ष भित्र स्थानीयहरुले पहिलो चोटी स्याउ, नासपाती लगायतका नयाँ फलफूल देखे।  अनि  देउडा गीतमा पनि यी बिम्ब शुरु भए । २०२६ सालबाट प्रकाशित  कर्णालीको 'बेन्नु' पत्रिकाको पहिलो टुसोमा पहिलोचोटी यो गीत उल्लिखित छ ।

कर्णाली लगायत हिमाली भेकका जङ्गलहरुमा परापुर्वकालदेखि पाइने इडिमेल र सुर्खिलोलाई स्याउको रैथाने प्रजाति मानिन्छ तर उन्नत प्रजातिको स्याउ भने वि.सं. २०१८ मा भारतको हिमाञ्चल प्रदेशबाट नेपालमा भित्रिएको हो । त्यसो त चन्द्रशम्शेरको पालामा बि.स. १९९४ मै काठमान्डौको गोदावरी र छाउनीको नर्सरीमा जापान र इटालीबाट ल्याएका स्याउ लागाईएको थियो तर सप्रेनन्। भारतमा चाहिं वि.सं. १९२७ मा कुष्ठरोग नियन्त्रण कार्यक्रममा काम गर्ने अमेरिकी सामुअल इभान स्टोक्सले आफ्नो देशबाट रेड र गोल्डन डेलिसियस जातका  बोट ल्याएर सिमलामा रोपेका थिए ।

पश्चिमा मिथक अनुसार स्याउ मानव जीवन उत्पति सँग जोडिएको छ।  सुन्दर 'एडेन गार्डेन'मा विचरण गर्ने आदिमानव आदम र इभलाई ईश्वरले 'नटिप्नु है!' भनि बर्जित गरेको 'ज्ञानवृक्षको फल' स्याउ नै थियो।उनीहरुले त्यो स्याउ नचाखेको भए सायद अहिलेको मानव जाति अस्तित्व मै आउने थिएन कि?

आधुनिक भौतिक विज्ञानको उदय पनि स्याउसँग जोडिएको छ।  रुखबाट झरेको स्याउले ३३१ बर्षअघि न्युटनलाई गुरुत्वाकर्षणको सिद्धान्त सुझायो । यसै आइडियाबाट प्रभावित भएर ४१  बर्षअघि स्टिभ जबले एप्पल कम्पनी नाउँ र  'एकगाँस टोकिएको स्याउ' लाई आफ्नो कम्पनीको लोगो छाने । गतहप्ता मात्रै  एप्पल एक ट्रिलियन डलर सम्पति हुने विश्वकै पहिलो कम्पनी बनेको छ ।

अचेलका स्याउ बर्णशंकर गरिएका उन्नत प्रजातीका हुन्छन् तर यिनका पुर्खा खोज्दै जाने हो भने स्याउको उत्पति हालको कजाखिस्तान र चीनका ठण्डा पहाडतिर भएको पाईन्छ। कजाखिस्तानमा स्याउलाई अल्मा भनिन्छ । हालको राजधानीको पुरानो नाउँ 'अल्मा आटा' को अर्थ नै 'स्याउको पिता' हो । यसै ठाउँसँग जोडिएको अर्को रोचक प्रसङ्ग के पनि छ भने आजभन्दा ठीक ४० बर्षअघि यहाँ जनस्वास्थ्य क्षेत्रकै अत्यन्त महत्वपूर्ण विश्व स्वास्थ्य सम्मेलन भएको थियो । पछिल्ला केहि दशकमा स्वास्थ्य क्षेत्रले हासिल गरेका उपलब्धिहरुको आधार 'प्राथमिक स्वास्थ्य सेवा'को जग यहि ठाउँमा घोषणा गरिएको थियो ।

करिब सयवटा देशमा स्याउ फल्छ तर विश्वव्यापी उत्पादनको झन्डै आधा हिस्सा (४९.३ प्रतिशत) चाहिं छिमेकी  राष्ट्र चीनमा फल्छ । पाँच बर्ष अघिको आँकडा अनुसार भारत छैटौं ठुलो उत्पादक हो जसले २.४ प्रतिशत फलाउँछ भने हाम्रो देशले ०.०५ प्रतिशत हिस्सा ओगटेर सन्ताउन्नौं स्थानमा छ।

हाल नेपालका ४५ जिल्लामा स्याउ फल्छ तर मुख्यगरी कर्णालीका जिल्लाहरु र मनाङ्ग मुस्ताङ्गले नै दुईतिहाइ जति उत्पादनको हिस्सा ओगट्छ । नेपालमा स्याउको व्यवस्थित बजारिकरणको अभावमा पर्याप्त वितरण हुन सकेको छैन । स्याउको ठुलो हिस्सा खपत हुने काठमान्डौमा ७८ प्रतिशत स्याउ चीनबाट आउंछ, २१ प्रतिशत भारत बाट निर्यात हुन्छ।  नेपालको आफ्नै स्रोतबाट भने १ प्रतिशत भन्दा कम आपूर्ति हुन्छ। हाम्रो देशको नयाँ संबिधान आएको बर्ष अर्थात २०७२ मा २ अर्ब रुपियाँ बढीको स्याउ आयात गरिएको थियो।

स्याउको बियाँ सँग पनि कति रोचक तथ्य र प्रसङ्गहरु जोडिएका छन् । यसको बियाँ खान हुन्न भन्ने कुरा कतिपयलाई थाहा नहुन पनि सक्छ।  स्याउको बियाँ चपाउँदा त्यसमा भएको 'एमिग्डालिन' पाचनरस (ईञ्जाईम)संग मिसिंदा हाइड्रोजन साइनाइड बन्छ । यो एकप्रकारको बिषालु पदार्थ हो । एक किलो बियाँमा ७०० मिलिग्राम बराबर साइनाइड हुन्छ जसले ७० केजी तौल भएका ७ जना मानिस मर्न सक्छन्  रे ।

गतबर्ष रिलिज भएको अभिनेत्री श्रीदेवीको अन्तिम फिल्म 'मम' मा न्याय नमिल्दा आफ्नी छोरीका बलात्कारीहरुलाई बदला लिन यौटी बायोलोजी शिक्षिका आमाले स्याउका बियाँको ट्रिक प्रयोग गर्छिन्  । दोस्रो विश्वयुद्धको बेला हिटलरको नाजी पर्टिले विरोधीहरु मार्न बनाएको ग्यास च्याम्वरमा राख्ने 'जिक्लोन बी' नामको विषालु पदार्थमा हाइड्रोजन साइनाइड नै मिसाइएको हुन्थ्यो । सन् १९२० ताका यो ग्यास आविस्कार गर्ने जर्मनीका एक यहुदी फित्ज हबेर थिए तर सन् १९४२ तिर यसै ग्यासको प्रयोग गरी लाखौँ यहुदीहरुलाई मारिएको थियो ।

तर नडराउनुहोस् ! एउटा स्याउको दानामा ४-५ वटाजति बियाँ हुन्छन् । झुक्किएर केही चपाउँदा पनि केही फरक पर्दैन। तर बियाँसहित लगातार २५-३० दाना स्याउ खाईहाल्नु भयो भने त केहि भन्न सकिन्न है !

स्याउको शारीरिक, मानसिक र वातावरणीय फाइदा  
स्याउका बहुआयामिक गुणहरुले गर्दा 'एन एप्पल अ डे कीप्स डाक्टर अवे' भन्ने भनाई निकै प्रख्यात छ।  स्याउमा 'बी’ कम्प्लेक्स भिटामिनहरु, भिटामिन सि, फाइबर, पोटासियम लगायतका तत्वहरु पाइन्छ।  स्याउको बोक्रामा एन्टी-अक्सिडेण्ट यौगिग पाइन्छ । पन्ध्रबर्ष माथिका ९ हजार २०८ महिला र पुरुषहरुलाई सन् १९६७ देखि १९९४ सम्म (२८बर्ष) फलोअप गरिएको यौटा अध्ययनको निष्कर्षले निरन्तर स्याउ खानेहरुमा स्याउमा पाइने क्वेर्सेटिन नामक एन्टीअक्सिडेण्टको कारण हृदयाघात (स्ट्रोक) कम हुने देखाएको थियो। यसमा पाईने पोलिफेनोल र फ्लाभोनाइड जस्ता एन्टिअक्सिडेण्ट गुण भएका यौगिकहरुको कारण नियमित सेवनले मानिसमा क्यान्सर रोग हुने जोखिम कम गराउँछ ।

स्याउले रोग प्रतिरक्षा प्रणाली सुधार गर्छ। हरिया बोक्रा हुने स्याउले हाड र दाँत  र आखाको लागि उपयोगी हुन्छ भने रातो बोक्रा हुने स्याउ सेवनले मुटु, स्मरण शक्ति र मृगौलालाई फाइदा पुर्याउछ ।  त्यस्तै पहेंलो बोक्रा हुने स्याउ मुटु र आखाँको लागि लाभदायक हुन्छ। यसले कोलेस्ट्रोल, डायबिटिज, कब्जियत, पेटरोगीलाई प्रत्यक्ष फाइदा दिन्छ।  स्याउबाट बन्ने साइडर सेवनले मृगौला र पित्तथैलीको पथ्थरी हुनबाट बचाउने कुरा पनि प्रमाणित भैसकेको छ ।

यसको वातावरणीय फाइदा पनि छ।  एक रोपनी जमिनमा लगाएको स्याउको रुखले वर्षेनी करीव २ टन कार्वनडाई अक्साइड वायुमण्डलबाट लिने र करीव एक टन अक्सिजन वायुमण्डलमा छोड्ने भएकोले वातावरणीय सन्तुलनका लागि पनि स्याउ खेती निकै उपयोगी हुन्छ भनिन्छ।

त्यस्तै स्याउको बगैंचाको बिस्तारले जमिनलाई पनि पुनर्रोपयोग बनाउँछ । कर्णाली तिर अचेल कतिपय खाली नाङ्गा डाँडापाखामा स्याउका बगैंचाहरु देखिन थालेका छन्।

पश्चिमा देशतिर स्याउलाई 'इश्वरको फल' उपनामले पनि चिनिन्छ।  भारतवर्षका महाकाव्य लेखिने युगमा यदि यो क्षेत्रमा स्याउ फैलिसकेको हुन्थ्यो भने सायद सावरीले श्रीरामलाई सभक्ति बयरसँगै स्याउ भेट दिने थिइन्।     

Sunday, July 29, 2018

हिउँ चितुवाको फेसबुक पोष्ट: खेलाडी राष्ट्रको कि पार्टीको?

हिउँ चितुवाको फेसबुक पोष्ट: खेलाडी राष्ट्रको कि पार्टीको? 
यो आलेख सेतोपाटीमा प्रकाशित छ:https://setopati.com/opinion/164135 

आफ्नो फेसबुक वालमा संधैजसो युवायुवतीहरु डाँडापाखामा लामोदुरी दौड तालिम गरिरहेका, देशविदेशका ट्रयाकहरुमा दौडिरहेका, जीतको उल्लास सहित देशको झण्डा र पदक उचालेका जस्ता रमाइला र आशावादी फोटाहरु पोष्ट गरिरहने  'हरि गुरु' अर्थात कीर्तिमानी धावक हरि रोकाया 'हिउँ चितुवा' ले यो शनिबार पोस्ट गरेको यौटा स्टाटसको भावले एकचोटी झसङ्ग पर्यो। उनको पोस्ट यस्तो थियो -  'खेलाडी भएर देशकाेलागि मरिमेटे अाज यसरी बिरामी अपहेलित भएर बस्नु परेकाे छ।  यदि म कुनै पार्टीको  खेलाडी भएकाे भए मैले धेरै सहयाेग पाउन्थे हाेला ।  विदेसकाे उपचार हुन्थ्याे हाेला।  ' 

ति 'हिउँ चितुवा' अचेल बिरामी छन्।  यौटा बिरलै देखापर्ने नशा र मांशपेशीको समस्या सँग जुधिरहेका छन्।
चारदशकभन्दा बढी समयदेखि सक्रिय रुपले दौडी रहेका धावकको जीवनमा हठात् ब्रेक लागेको छ र  अब उपचार तथा फिजियोथेरापीको लामो प्रक्रियाबाट गुज्रनु परिरहेको छ ।

झन्डै ६ दशक अघि कर्णाली जस्तो अत्यन्त विकट ठाउँमा जन्मेका हरि रोकायाले  पूर्वाधारविहीन भूगोलमा अनेक प्रतिकुलतालाई चिर्दै केवल दृढ इच्छाशक्तिको भरमा आफुलाई विश्वमै लामोदूरीको अब्बल र 'कीर्तिमानी' धावक सावित गर्नु एक असाधारण प्रतिभा हुनुको परिचय हो ।  उनका नाममा एभरेष्ट म्याराथनमा ह्याट्रिक गरेको गिनिज विश्व किर्तिमान छ। त्यस्तै अन्नपूर्ण सर्किट सबभन्दा छिटो २४ घण्टा ५ मिनेटमा सम्पन्न गर्ने किर्तिमान पनि छ। नेपाली झण्डाको प्रतिनिधित्व गर्दै ओलम्पिक लगायत अन्य लामोदुरीका प्रतियोगिताहरुमा उनले करिब ३ दर्जनपटक विदेशमा दौडिएका छन् । रेकर्डहरु तोडेका छन् । सन् ८० दशकको उत्तरार्धदेखि ९० दशकभर नेपालमा भएका लामोदूरीका लगभग सबैखाले रेशहरु उनले जितेका छन् ।

विदेशमै प्रशिक्षक बनि बस्न सक्ने अवसर र काठमाण्डुजस्ता सहरमा हराउन सक्ने सम्भावनालाई लत्याएर त्यै विकट कर्णाली भुमीमै क्रियाशील छन् । नवयुवाहरुलाई आफूसंगै निरन्तर जुम्ला मुगुका डाँडाकाँडा दौडाएर प्रशिक्षण दिन्छन्।  प्रतियोगितामा भाग लिन प्रेरित गर्छन्। हारगुहार गरेर उनीहरुको लागी खर्चको जोहो गर्छन्। गाउँबाट कहिल्यै घर नछोडेका, कहिल्यै शहर नदेखेका, कहिल्यै प्लेन नचढेका ठिटाठिटीहरु चुनौती बोकेर बिराना ठाउँमा लड्न जान्छन् ।  ति चेलाचेलीहरु एकपछि अर्को गर्दै देश विदेशका प्रतियोगिताहरुमा अब्बल प्रदर्शन गर्न थाल्छन्। उच्च शानका साथ् देशको झण्डा फहराउन्छन् । अनि, गर्वले छाती चौडा पार्दै यता गुरु आफ्नो फेसबुक वालमा लेख्छन् -  'बधाई लक्ष्मी!!  बधाई बिश्वरुपा!! बधाई सुनमाया!!, बधाई पूर्णलक्ष्मी!! बधाई दुर्ग !!

'रोल मोडल' खेलाडीप्रति राष्ट्रको जिम्मेबारी 
आम नागरिकको रुपमा उनको यो पछिल्लो पोष्टले निकै सोचमग्न बनायो । समग्र देशले गर्व गरिरहेको, समग्र कर्णालीको एकमात्र कीर्तिमानी खेलाडी एकाएक थला पर्दा आम शुभचिन्तक तथा अरु खेलाडीहरु सोधपुछ गर्छन् तर सरकारले ध्यान दिन्न भने उसले जीवनभर 'चन्द्र सुर्य अङ्कित झण्डा बोकेर कसको लागि र किन मरिमेटेर पसिना बगायो? उनीहरुलाई पछ्याउंदै देशको शीर उच्च पर्ने महत्वकांक्षा बोकेका युवायुवतीहरुले के आशले संघर्ष गर्ने? त्यसैले यतिबेला देशकोलागि योगदान पुर्याएका खेलाडीको उपचार, सहयोग र हौसलाको लागि सरकार र सरोकारवालाको दायित्व के र किन हुने भन्ने प्रश्न मुखरित भएको छ।

समृद्ध समाजमा विविध क्षेत्रका 'रोल मोडल'हरु हुन्छन् । उनीहरुका संघर्ष, उपलब्धि, योगदान र लोकप्रियताका गाथाले अरुलाई सँधै नै प्रेरित गरिरहेको हुन्छ ।  खेलकुद, कला, संगीत जस्ता क्षेत्रमा उल्लेखनीय क्षमता प्रदर्शन गर्ने व्यक्तिहरुको सफलताले त्यसमा रुचि राख्ने आम मानिसहरुलाई लोभ्याउन्छ । र  ति मध्ये कति जना आदर्श व्यक्तिको रुपमा उदाउन्छ्न् जो अनुयायीहरुको लागि प्रेरणा प्रदायक मात्र नभई समग्र समाजको शान बनेर रहन्छन्। नव-आगन्तुक लागि यौटा सफल खेलाडी प्रेरणाको स्रोत हुन सक्छ तर सबै खेलाडी 'रोल मोडल' हुन सक्दैनन् । रोल मोडल बन्न युवा, किशोर र बालबालिकाले आदर्श व्यक्ति मान्न सक्ने हैसियत बनाउन सक्नु पर्छ।

यस अर्थले हरि गुरु साँच्चीकै रोल मोडल हुन् । अत्यन्त सरल स्वभावका धनि उनि प्रायः युवा खेलाडीहरु माझ घुलमिल हुन रुचाउन्छन् र हौसला प्रदान गरिरहन्छन् ।  उनमा सफलताको कुनै दम्भ वा आडम्बरको रत्तिपनि संकेत देखिन्न । उनि राजनीतिको खेलबाट संधै टाढा रहे । चाकडी चाप्लुसी उनले जानेकै छैनन् । बनावटी कुरो बोल्न जान्दैनन्। मौका मिले  सत्यकुरा बोल्न डराउँदैनन् । यिनका अन्तर्वार्ताहरु सुन्दा बोलीमा जुन असली 'जुम्ली' लवज सुनिन्छ उनि त्यस्तै 'अर्ग्यानिक' मन भएका गज्जब मान्छे प्रतित हुन्छ।  अनेकौं अभावका बीच उनले गरेको योगदान अतुलनीय छ । सचेत र सभ्य समाजमा यस्ता कुराको कदर गर्ने परिपाटी हुनु आवश्यक छ  ।


हिउँ चितुवालाई के भएको छ? 
हरी रोकायालाई चिकित्सकीय भाषामा 'गुलिएन-बेर्रें सिन्ड्रोम (जिबिएस) भनेर चिनिने यौटा बिरलै देखापर्ने अवस्थाको निदान गरिएको छ। यसले शरीरको प्रतिरक्षा प्रणालीले हातखुट्टा तिर प्रवाह हुने स्नायुलाई आक्रमण गर्दछ ।  हातखुट्टाको चाल, दुखाई, तापक्रम र स्पर्श संवेदना नियन्त्रण गर्ने स्नायु अवरुद्ध हुन्छ।  फलस्वरूप मांशपेशीहरु कमजोर र लाटो हुन्छन् । यदि सम्भावित जटिलताको समय मै नियन्त्रण भएन भने स्थायी प्यारालाईसिस हुन सक्छ ।  समयमै समस्याको उचित उपचार, स्याहार र फिजियोथेरापीको मध्यमबाट हरेक दशमध्ये नौ बिरामीहरु निको भएको पाइन्छ तर निको हुने प्रक्रिया भने निकै ढिलो हुन्छ। जुम्लामा हुँदा एकाएक समस्या देखा परेपछि अर्को दिनमै काठमान्डौको सुबिधायुक्त अस्पताल पुर्याईएकोले अप्रिय जोखिम टरेको थियो । दुईहप्ता बढीको अस्पताल बसाईमा जुन सुधार देखियो त्यसले निकै आशावादी बनाएको छ तापनि रिकोभरी प्रक्रिया निकै जटिल र खर्चिलो हुनसक्ने छ।

केहिहप्ता अघि यो लेखकको हरि रोकाया र उनका छोरा संग भेट हुँदा  उनीहरुले यौटा चिन्ता व्यक्त गरेका थिए - यसरी एकाएक कमजोर परेको गुरुलाई देखेर उनको प्रेरणामा दौड प्रशिक्षणमा लगनशील युवायुवतीहरुमा डर पस्ने पो हो की ? अभिभावकले नै उनीहरुलाई दौडिन निरुत्साहित गर्ने हुन कि? भावी पुस्ताका खेलाडीहरुमा रुची घट्ने पो हो कि? यसबारेको भ्रम निवारण गर्न आवश्यक छ ।

जिबिएस किन र कसलाई हुनसक्छ ? 
प्रतिलाख जनसंख्यामा १-२ जनालाई देखापर्ने यो  समस्याको वास्तविक कारण भने अज्ञात छ।  तर प्रायः कुनै ब्याक्टेरिया वा भाइरल संक्रमण पश्चात यस्तो सिन्ड्रोम देखा पर्नेगरेको पाइन्छ जस्तै: ब्याक्टेरियाको कारणले हुने झाडापखाला । हरी रोकायाको हकमा सायद उनले निरन्तर अत्यधिक दौडने तर खानपिन (डाएट)मा ध्यान नपुगेको कारणले शरीरको प्रतिरक्षा प्रणाली मजबुत राख्न चाहिने भिटामिन, मिनरल्स लगायत सुक्ष्म पोषकतत्वहरुको कमि भयो ।अनि यसको दिर्घकालीन अभावले प्रतिरक्षा प्रणालीमा गडबड गर्यो र यो सिन्ड्रोमको विकास भयो ।

यो समस्या जुनसुकै उमेर समुहका मान्छेलाई हुनसक्छ । नेपालमा  बिसं २०६८ सालमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएका ३६ जना बिरामीमा गरिएको अध्ययनमा १२ बर्षको उमेरदेखि ८० बर्ष उमेरसम्मका बिरामी थिए।  त्यसअघि बिसं २०६२-६४ तिरको अध्ययनमा ३ बर्षदेखि १४ वर्षसम्मका ३० बिरामी बालबालिकाहरु थिए । नेपालमा गरिएका अध्ययनहरुले पश्चिमा देशमा देखिएका बिरामीहरुको बिशेषता संग कति मिल्छ भन्ने बिषयमा केन्द्रित थिए । जस अनुसारको नतिजाले करिव ९० प्रतिशतसम्म मिल्दोजुल्दो पाईएको थियो।  

त्यसैगरी जुनसुकै पेशाका व्यक्तिलाई पनि हुन सक्छ । खेलाडी, नेता, अभिनेता, संगीतकार,  वैज्ञानिक, पत्रकार, कलाकार लागायत क्षेत्रका चर्तित व्यक्तिहरु पनि यो समस्याबाट प्रभावित भएको पाइन्छ। भर्खरै सकिएको फिफा विश्वकप फुटबल हेर्ने जोकोहीलाई फुटबल मैदानको कोच बस्ने बक्समा बैशाखी टेकेर हरदम खेलाडीलाई हौस्याईरहने उरुग्वेका ७१ बर्षिय कोच ओस्कार ताबरेजले ध्यान खिचेको हुनुपर्छ। उनलाई पनि 'गुलियन-बेरें सिन्ड्रोम' देखापरेको हो ।  आफ्नो फुटवल करियरमा बलियो डिफेन्डर उनले कोलम्बिया, इटाली र स्पेनमा समेत कोच भएर काम गरि सकेका छन्।  त्यस्तै पुर्व अमेरिकी राष्ट्रपति रुजवेल्ट, अभिनेता एन्डी ग्रिफिथ, जापानी रकब्याण्ड भोकलिस्ट अरिमुरा आदि चर्चित व्यक्तित्वहरु यो सिन्ड्रोमबाट प्रभावित भएका थिए।

नेपालमा जिबिएस समस्या भोगिरहेकाहरुको हेरचाह र सहयोगको लागि ठोस सरकारी नीति  छैन।  जिबिएस प्रभावितहरु र उनीहरुको पारिवारका सदस्यहरुको रुचि र प्रयासमा केही संजाल सक्रिय छन् जसले केही गैरसरकारी प्रयास मार्फत अन्तराष्ट्रिय समन्वयमा सूचना र जानकारी उपलव्ध गराई रहेको पाइन्छ ।

खेलाडी प्रति सरकारको दायित्व के? 
जुन खेलाडीले जीवनका उर्जाशील समय देश र समाजको शीर उच्च पार्न पसिना बगायो उसलाई आवश्यक पर्दा  राज्य अग्रसर हुनु पर्छ ता की भविष्यका कर्णधारहरुमा आशा जागोस् र भन्न सकुन् - 'म मरिमेटेर देशको नाम उज्ज्वल गर्छु । मेरो राज्यले मलाई परेको बेला त्यो गुन सम्झिने छ। सहयोगको निम्ति कुनै राजनीतिक पार्टीको सदस्य बन्नुपर्ने भाव नआओस । कुनै अमुक पार्टीको नेताको सिफारिसको गुन्जाइस नरहोस् । र, त्यसैकारण जीवनभर जोगाएको आत्म-सम्मानमा ठेस नपुगोस् ।

आगामी फागुनमा नेपाल मै हुन गइरहेको तेह्रौं साग खेलकुदको तीव्र तयारी चलिरहेको छ । त्यसअघि आठारौं एसियाली खेलकुदमा भाग लिन कैयौं खेलाडीहरु इन्डोनेसिया तिर जाँदैछन्। राम्रो खेल्ने खेलाडीहरुले अझ उत्कृष्ट प्रदर्शन गरुन् भन्ने चाहना हुन्छ । त्यसले तमाम अरु युवाहरुलाई प्रेरणा मिलोस्, उनीहरुमा पलायन र दिक्दारिपनको सोच निर्मूल होस् , उत्साह थपियोस् । उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुको आर्थिक जीवनको भविष्य सुनिस्चित गरिनु पर्छ।  नेपालमा अधिकांश खेलाडीहरु युवावयको जोश रहुन्जेल खेल्छन् ।  जिविकोपार्जनका विकल्प खोज्दै तिनका बाटा मोडिन्छन्।  'सिकारु' खेलाडीबाट देशको इज्जत जोगिदैन।  खेलकुदलाई 'फुर्सद समयको सदुपयोग'  गर्ने माध्यम नभई यौटा 'पेशा'को रुपमा लिन सकेमात्र यसको विकास हुन्छ।

यतिबेला देशमा खेलकुदको विकासको अभिभारा लिएको परिषद, खेलकुदका संगठनहरु हाँक्ने भेट्रानहरु, खेलप्रेमी राजनेता, जनताका प्रतिनिधिहरु सबैले मनन गर्न जरुरी छ कि 'खेलाडी राष्ट्रको हो कि कुनै राजनीतिक पार्टीको? कुनै पार्टी सदस्य भएको भरमा सिफारिस पाएर देशविदेशमा सुबिधासम्पन्न अस्पातालमा उपचार पाउने कि देशलाई दिएको योगदानको कदर स्वरुप नागिरकलाई परेकोबेला आवश्यक उपचार सहयोग दिएर असल संस्कारको स्थापना गर्ने?

र अन्तमा, 
कर्णालीमा क्षमतावान युवाहरु जन्मिन सक्छन् । असल कोचिङ्ग र ट्रेनिंग मिलेमा विश्वस्तरिय खेलाडीहरु पनि उत्पादान गर्न सकिन्छ भन्ने कुरा सिमित श्रोतसाधनको बाबजुद नै हिउँ चितुवाले प्रमाणित गरिसकेका छन्।  यिनको संघर्ष र सपना कर्णालीमा 'हाई-अल्टिच्युड ट्रेनिंग सेन्टर' खोल्ने छ।  यस दिशामा प्रदेश सरकारको नीति र कार्यक्रम मार्फत केही रुचि झल्किएको छ।  यसलाई यथासक्य मुर्तरुप दिन पहल कदमी आवश्यक छ।  त्यो भन्दा जरुरी सरकारको पहल 'हिउँ चितुवा'लाई आवश्यक पर्ने सबै उपचारको व्यवस्था मिलाएर निको पर्नु छ।

हामी कर्णालीबासीको इच्छा उनि फेरी त्यो जुम्ला र मुगु-राराको डाँडाकाँडामा उसगरी दौडिएको हेर्ने अभिलाषा छ। ती युवायुवतीहरुको तिघ्रामा जोश भरेर काँधमा चन्द्र सुर्य अंकित झण्डा बोकाएर देश विदेशको ट्रयाकहरुमा दौडन पठाई रहेको हेर्न उत्कट चाहना छ।  अनि भन्न मन छ - खेलाडी सँधै राष्ट्रको हुन्छ !!
----------
लेखक कर्णाली प्रदेश तातोपानी गाउँपालिकाका बासिन्दा हुन्। 
यो  लेखमा प्रयोग गरिएका फोटोहरु हरि रोकायाको फेसबुक पेजबाट लिईएका हुन्।  





Sunday, July 8, 2018

मार्सी चामल: शक्तिदेखि समृद्धिसम्म

यो आलेख सेतोपाटीमा प्रकाशति छ - https://setopati.com/opinion/163163
अचेल मार्सी चामलको चर्चा निकै चुलिएको छ । यौटा व्यापारीले राज्यसत्ताका दुई शक्तिशाली व्यक्तिहरुलाई  सत्कार भोजमा पस्केको मार्सी चामलको भातले व्यंग्य चेत भएका सबैलाई मसला मिलेको छ। डा. केसीको पन्ध्रौँ अनसन आन्दोलनले मार्सी धानको विम्बलाई झन् ताजा बनायो । त्यसमाथि डाकेसीको अनसन स्थल मार्सी धान फल्ने ठाउँ जुम्लामा हुनुले विषयलाई थप रोचक बनाएको छ। सायद  यसबर्षको गाइजात्रामा 'मार्सी चामल' विम्ब 'गरम मसला' बनेर चल्नेछ।

मार्सी चामल र  'शक्ति' सम्बन्ध 
मार्सि चामलको 'शक्ति'सम्बन्ध बडो रोचक छ। यो चामलसँग राज्यशक्ति, देवशक्ति, बाहुबलशक्ति आदि सम्बन्ध उत्पतिकालदेखि नै जोडिएको पाइन्छ ।  

जनश्रुति अनुसार एकजना 'शक्तिशाली' तपस्वी बाबा गंगाभुमिबाट कैलाश मानसरोवर जान जुम्लाको बाटो हुँदै आउँदा हिमाली ठाउँमा गज्जबको पानी लाग्ने मलिलो फाँटहरु देखेछन् र उनैले स्थानीयहरुलाई धान फलाउने बारे सिकाइदिए । ति तपस्वी बाबा 'चन्दननाथ' हुन् । त्यसैले खलंगा बजारमा अवस्थित चन्दननाथ मन्दिर समग्र जुम्लाबासीहरुको आराध्य मन्दिर मानिन्छ र हरेक साल आफुले उब्जाएको पहिलो एक पाथी मार्सीधान चन्दननाथलाई छुट्याउने (चढाउने) चलन छ। धान भित्र्याउने बेला बर्सेनि नौलो मार्सीधानको च्युरा कुटेर गाईको दुध मिसाएर 'न्वागी' गर्दा पहिलो भाग चन्दननाथलाई नै चढाईन्छ। 

तिनै चन्दननाथ बाबा मार्फत पहिलोपल्ट मार्सीधानको बिउ 'लाछु जिउला'मा छरियो । त्यो ठाउँ हाल जुम्लाको तातोपानी गाउँपालिकामा पर्दछ । केही जनविश्वास चन्दननाथ बाबाको तपले जंगली प्रजातिलाई घरायसी धान बनाउन सिकाए भन्ने छ भने कसैको मत कास्मिरबाट ल्याएको प्रजाति हो भन्ने पनि छ । जेहोस्  चन्दननाथ बाबाले त्यो मार्सीको बीउ उमार्न, खेतमा लगेर रोप्न र अन्त जिउलामा फैलाउन 'पैकेलो'को सहारा लिए । ति पैकेलो अद्वितीय क्षमता भएको एक 'शक्तिमान' स्थानीय सर्वसाधारण थिए । पैकेलोसंग जोडिएका साहस, बल, चातुर्य र योगदानका अनेक किस्साहरु छन् । कृतविर्य पनि भनिने उनलाई सम्मानका साथ 'लछाल कृति पैकेलो' भनेर चिनिन्छ। 

शाके ९६३ वि.सं. १०९८ को यौटा शिला प्रमाण अनुसार सुरुवाती कालदेखि मार्सी धानको खेती यौटा वैज्ञानिक पद्धतिबाट गरिने चलन रहेको बुझिन्छ।  हरेकबर्ष चैत्रको १२ गते बीउ उमार्ने धान पानीमा भिझाउन राखिन्छ ।  चारदिन पछि चैत्र १६ गते पानीबाट उतारिन्छ र न्यानो ठाउँमा स्याहारेर उमार्न राखिन्छ।  त्यसको ४ दिनपछि चैत्र २० गते उम्रेको धान बेर्नामा लगेर छरिन्छ । कर्णाली तिर बिउ छर्ने दिन चैत्रको २० गते अर्थात् 'बिसुआं' एउटा ठुलै चाडको रुपमा मनाइन्छ। त्यो चलन अहिलेसम्म पनि नबिराईकन कायम छ । यो पद्दतिको 'शक्ति' कतिसम्म थियो भने आधुनिक संचारको सुबिधा नपुगुन्जेल यहाँका बासिन्दाहरु परिवारको सदस्य परदेशबाट चैत्र १२ गतेसम्म घर फ़र्किएन भने मर्यो कि ठुलै बिरामीले सिकिस्त भयो भन्ने ठान्दथे । प्रायः यो विश्वास सत्य हुन्थ्यो।     

खस साम्राज्य र त्यस अघिका राजाहरुको राज भोजनको यौटा महत्वपूर्ण हिस्सा मार्सी चामल थियो । उबेला मार्सी धान फाल्ने जिउलोको आसपासमा  राजधानी खडा गरिएका थिए। सिंजाको लुड्कु जिउला माथी उत्तरपश्चिम लामाथडा, लाछु जिउला पारीपट्टी दक्षिणतर्फ सुनारगाउँ, जुम्लाबजार नजिक लाई जिउला उत्तरतिर छिनासिम आदि पुराना राज्य शक्तिका केन्द्र थिए । स्थानीयहरु ती शक्तिकेन्द्रलाई कर स्वरुप मार्सी धान बुझाउन्थे।  

राणा शासनकालमा चन्द्रशम्सेरको दरबारमा जुम्लाबाट दैनिक हुलाकमार्फत केहि माना चामल आउन्थ्यो।  त्यो क्रम जुद्धशम्सेरको पालासम्म चल्यो । (कसैकसैले त जंगबहादुरको पाला बिसं १९०४ मै जुम्लाबाट मार्सी चामल आउथ्यो र त्यो क्रम राणा शासनको अन्त्य अर्थात मोहन शमशेरको पालासम्म रह्यो पनि भन्छन्) मार्सी चामल निरन्तररुपले राणाको दरबारमा पठाउने क्रमलाई भंग गर्नु पछाडी जुम्लाबाट निरंकुश 'शक्ति' विरुद्ध गरिएको  बिरोधको एक संकेत थियो पनि भनिन्छ । चन्द्र शम्सेर र अरु दरबारियाहरु स्वादले गर्दा वा स्वास्थ्यको कारण मार्सी चामल प्रति आकर्षित भए त्यो त थाहा छैन तर अचेल यो चामल दुवै कारणले लोकप्रिय हुँदै छ । 

मार्सी चामल बजारमा उपलब्ध अरु चामलको तुलनामा महँगो छ। स्थानिय बाहेक अन्य आममान्छेको चुलोमा यो चामलको भात पाक्न चाडपर्व कुर्नुपर्ला । त्यसैले सहरी जीवनमा यसको पहुँच क्रय'शक्ति' भएकाहरुमा सिमित छ । अचेल पैसावालहरुलाई अरु चामलको भात खान नमिल्ने रोगले  च्याप्न थालेपछि विकल्पको रुपमा मार्सी चामलको खोजि बढेको छ।

मार्सी धान संसारमै उच्च क्षेत्रमा फल्ने प्रजाति मध्ये पर्दछ।  जुम्लाको छुम्चौरको जिउलो संसारमै उच्चस्थान (समुद्र सतहदेखि करिब ३००० मिटर उचाईं) मा धान फल्ने ठाउँ हो । यो प्रजातिको धानमा अरु धानको तुलनामा कठीन हावापानीमा उम्रन सक्ने बिशिष्ट गुण तथा उत्पादन 'शक्ति' निहित छ।
  
मार्सी चामल: स्वादिलो र स्वास्ठबर्धक 
सामान्यतया चिसो ठण्डा ठाउँमा फल्ने अन्न र फलफूल स्वादिला र पोषिला हुने गर्दछन्।  सायद प्रतिकुल हावापानी सँग जुधेर फुल्न र फल्न ति अनाज र बनस्पतिमा निकै बिशेष क्षमता विकास हुने गर्दछ। जसको कारण तिनीहरुमा अनेकन धातु लगायत सुक्ष्म पोषक तत्वहरु संचय हुन्छ।  जुन मानव जिब्रोको स्वाद र स्वास्थ्यको निम्ति उपयुक्त हुन्छन् ।     

मार्सी धानको चामल खैरो रङको हुन्छ। कसै कसैले रातो चामल पनि भन्दछन् । लाभदायक पौष्टिक तत्वहरुको मात्रा सेतो चामलको तुलानामा धेरै हुने भएकोले यो चामल स्वाथ्यकर मानिन्छ । खैरो चामलमा भातको सेवन पछि कति छिटो ब्लड सुगर बढ्छ भनि नाप्ने सूचक अर्थात ग्लाईसमिक इन्डेक्स (जीआई) सेतोको तुलनामा निकै कम हुन्छ । खैरो चामलमा उच्चमात्रामा म्याग्नेसियम र फाइवर तत्व हुने भएकोले रगतमा सुगरको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ । त्यस्तै यो चामलमा भएको एन्टीअक्सिडेण्ट गुण र 'लिग्नान' तत्वले रगतमा बोसो तत्व, रक्तचाप  र धमनीहरुको सुजन घटाउन मद्दत गरी मुटुरोग, मधुमेह र मोटोपनाको जोखिम नियन्त्रण गर्छ।

मार्सीधानलाई प्रायः ओखलमा कुटेर चामल बनाउने भएकोले यसको बोक्रामा निहित तत्वहरु खेर जाँदैन ।   त्यसैले जुम्लामा उपलब्ध हुने मार्सी चामलमा भिटामिन र मिनरल्सको मात्रा बजारमा उपलब्ध अरु चामलको तुलनामा निकै उच्च पाइन्छ ।

कर्णालीको चामल राजनीति र मार्सी धान 
विगत चार दशक यताको कर्णालीको राजनीतिमा 'चामल' यौटा अभिन्न तथा केन्द्रीय चुनावी एजेण्डा हुने गदर्छ ।दुर्गम क्षेत्र विकास र राहत स्वरुप कर्णाली लगायतका कतिपय जिल्लाहरुमा राहत खाद्यान्न भित्रिन थालेपछि स्थानीयहरुमा 'सेतो चामल'को भात खाने रहर बढ्यो।  र कर्णालीका नेताहरुको नेतृत्व क्षमता कसले कति क्वीन्टल चामल आफ्नो ठाउँमा झार्न सके र कति थान 'चामलको कुपन' आफ्ना जनतालाई बाँड्न सक्षम भए सूचकले निर्क्योल गर्थ्यो । कर्णालीमा भोकमरी नभई 'भातमरी' छ पनि भन्ने गरिन्छ।  पछिल्लो दशकमा कर्णाली सडकले जोडिएपछि धेरै ठाउँमा तराईबाट आउने थरीथरी सेता चिल्ला चामलका बोराहरु सस्तो र सहजै पुग्न थाले ।

कर्णालीमा भातखाने चलन बढेपनि मार्सी चामलको भात भने प्रायः गाउँघरका औसर र भतेरहरुमा सिमित हुँदै गयो।  मार्सी धानको फाइदा बारे चर्चा गरिएन। परिकारमा बिबिधता आएन। उत्पादकत्व कम हुनु, बजार र बिक्रि मूल्य नहुनुले स्थानीय हरुमा यो धानको उत्पादन रुचि हट्यो ।

तर, चामल राजनीति अहिले पनि छ।  पोहरसाल कर्णालीबासीलाई परिवारको जन्म र मृत्युमा  २० केजी चामल दिने भन्ने सरकारी घोषणाले निकै चर्चा बटुल्यो  । बिरोध गर्ने गर्नेहरुले यो घोषणालाई कर्णालीको 'इज्जत' सँग जोडेर सरकारले बेईजति गर्यो पनि भने ।

स्थानीय राजनीति चर्चामा स्थानीय उत्पादनको प्रबर्धन, खाद्य सुरक्षा, बजार व्यवस्था आदि बिषय खासै 'एजेण्डा' बनेनन् ।

मार्सी धानको भविष्य: संरक्षणको पर्खाइ 
यो एक जंगली प्रजातिको धान भएकोले अन्य कतिपय धानको तुलानामा रोगलाग्ने दर निकै कम भएको ठानिन्छ।  तथापी, चालिसको दशकपछि विभिन्न रोगको आक्रमण देखिन थालेको पाइन्छ । पचासको दसकमा 'ब्लास्ट' अर्थात  'मरुवा' रोगको प्रकोपले पनि पटक पटक असर पार्ने गरेको छ।  बिशेषगरि बिउ छान्ने प्रक्रियामै ध्यान नपुर्याउदा यस्तो समस्या बेहर्नु परिरहेको छ ।   

दसकौंदेखि कृषि अनुसन्धान परिषदले जुम्लामै अफिस राखेर यी समस्याको निवारण गर्न सकेको छैन । पटक पटक बढी फाल्ने र रोग प्रतिरोधी 'उन्नत जात' भनि सिफारिस गरिएका नयाँ धानहरु केही बर्ष पनि टिक्न सकेका छैनन् । उल्टो यी प्रयासहरुले रैथाने वास्तविक मार्सी धानलाई लोपोन्मुख हुन मद्दत गरिरहेका हुन सक्छन् । आयातित र हाइब्रिड बिउहरुले नश्लीय परिवर्तन गरि रहेको हुन सक्छ।   यसको स्वतन्त्र अध्ययन गरि कृषि अनुसन्धानको नाउँमा हुन सक्ने असफल, अनुत्पादक र अनैतिक प्रयासहरुलाई रोक्न आवश्यक छ। 

आम रूपमा जुम्ला लगायत कर्णालीका बस्तिहरु डाँडाको काखमा वा फेदमा, हावा छेकिने तथा घाम पर्ने स्ठानमा प्रायः घरहरु एकापसमा जोडिएका हुन्थे। यसले मान्छे र गाईबस्तुलाई चिसोबाट बचाउने, थोरै जग्गामा धेरैबस्ति बस्न सक्ने, भिरालो ठाउँमा जोडिएर बनेका घरले अडेस दिने, जोडिएर बनेका घरका छतको बहु प्रयोग हुने र सँगैबस्दा ऐंचोपैंचो  साथ-सहयोग मिल्ने लगायत अनेकौं फाइदा मिल्थे । कुलोबाट पानी लाग्ने  खेतहरु भएको ठाउँलाई 'जिउलो' भनिन्छ। जिउलो भएका बस्तीहरु 'समृद्ध बस्ति' मानिन्थे ।  लेखतिर भोटतिरका व्यापारीहरु भेडा, घोडा, झोवा, चौरी ल्याएर अन्न साट्न किन्न आउँथे।  अचेल स्वाभाविक रुपले त्यो व्यापारको चक्र  फेरियो । तर अस्वाभाविक र अवैज्ञानिक ढंगले ति जिउलोहरु घडेरी बनेर मासिंदै छन् । यसरी खेतीयोग्य जमिन मासिंदा मार्सी धान त लोप हुन्छ नै पर्यावरणीय असन्तुलन पनि बेहोर्नु पर्छ।  यसबारे न सरकारले न संस्थाहरुको चासो पुगेको छ । स्थानीय सरकारले नीति बानेर कुलो लाग्ने खेतहरुमा  भौतिक संरचना निर्माणमा पूर्ण बन्देज लगाउनु पर्छ। 

विश्वको सबैभन्दा उच्चस्थलमा धान फाल्ने भनेर भनिएको 'छुम्चौर'को जिउलोमा अचेल धान भन्दा आलु धेरै फल्छ कि त खेत बाँझो छ । रोपाइँको सिजनमा स्थानीयहरुको चटारो यार्सा टिप्न जान हुन्छ।  अरु जिउलाहरुमा खेतहरु भागबण्डा गर्दा, बेचबिखन गर्दा टुक्रिएर ससाना टुक्रा 'फ़ोक्टा'मा रुपान्तरण भैसके। कतिपय खेतहरुमा त एक हल गोरु नअट्ने भैसके। ती खेतहरुले लागत अनुसारको उत्पादन झन् घटाईरहेका छन्।   भबिष्यमा कतै यान्त्रिक पध्दतिको आधुनिक खेति प्रणाली सुरु गर्न सकिएछ भने ति खेतहरु कति उपयुक्त होलान्।  विचारणीय छ।       

२०६४ सालदेखि यो धान फाल्ने 'अर्ग्यानिक क्षेत्र' घोषणा गरिएको छ।  तर लुकिछिपी आउने अबैध किटनाशक बिषादी  र रासायनिक मलको प्रयोग रोक्ने सशक्त निगरानी गरेको देखिंदैन।  नयाँ बनेको प्रादेशिक सरकारले सम्पूर्ण प्रदेशलाई नै अर्गानिक प्रदेश बानाउने सोच राखेको त छ तर व्यवहारमा कसरी लिन्छ हेर्न बाँकी नै छ।   

मार्सी धान संरक्षणको पर्खाइमा छ।  अचेल यो धानको बीउ नै संकटमा छ।  उन्नत तरिकाले बीउ संकलन र संचय गर्ने परिपाटी छैन। स्थानीयहरु साटफेर गरेर चलाई रहेका हुन्छन। अन्य कुजात सँग मिसिएर अनुपयुक्तभै सकेको हुनसक्छ । स्थानियहरुमा आकर्षक बजार र उपुक्त मूल्यको अभावमा उत्पादनमा अरुची उत्पन्न भएको छ।  पोहोरसालबाट सरकारले मार्सीधान लगायत अरु  रैथाने प्रजातिका धान खरिद गर्न थालेको त छ तर दिर्घकालिन प्रभाव पर्ने गरि उत्पादन प्रबर्धन गरिएको छैन ।

र अन्तमा, 
हामी कृषिमा आश्रित छौँ । अनाजमा सह लुकेको हुन्छ। आफैले अन्नपात फलाउनेहरु आत्मनिर्भर हुन्छन्।  यसले आत्मबिश्वास बढ्छ। यो नै एक  समृद्धिको द्योतक हो । तसर्थ मार्सी धानको संरक्षण कर्णालीको बैभव र समृद्धिसँग जोडिएको मुद्दा हुनु आवश्यक छ। 

अनि, अहिले डा. केसी जुम्लामा अनसनरत छन्।  यौटा सत्याग्रही सकुशल र सम्मान घर फर्कियोस् भनि सबैतिरबाट  चाहना र कामना व्यक्त भैरहेको छ । यसपाला  मार्सी चामलको भात खुवाएर उनको अनशन तोडाउन पाए …..!

(लेखक चौलागाईं कर्णाली प्रदेश जुम्ला जिल्ला तातोपानी गाउँपालिका लाम्रा गाउँका बासिन्दा हुन्) 

Wednesday, June 13, 2018

वाह! हाम्रो सरकार त क्या 'स्मार्ट' छ

वाह! हाम्रो सरकार त क्या 'स्मार्ट' छ  

सन्दर्भ: प्रथम विश्व साईकल दिवस, जुन ३, २०१८ 
यो ब्लग सेतोपाटीमा प्रकाशित छhttps://setopati.com/blog/161146
साईकललाई फुर्सदको सदुपयोग तथा यातायातको साधनको रुपमा प्रयोगगर्दा सामाजिकस्तरमा हासिल हुने बहुआयमिक फाइदाहरुको बारे व्यापक सचेतना बढाउने उद्देश्यले गत अप्रिल १२, २०१८ का दिन १९३ सदस्य राष्ट्रको सहमतिमा संयुक्त राष्टसंघ महासभाको ७२ औं नियमित सेसनले हरेकबर्ष जुन ३ तारिखलाई ' विश्व साईकल दिवस'को रुपमा मनाउने घोषणा गरेको छ।  इतिहासमै पहिलो 'विश्व साईकल दिवस' संसारभर यहि आइतवार, २०७५ जेठ २० गते विभिन्न गतिबिधि सहित मनाईने छ। यो संगै साईकलिङ्ग गतिबिधिको प्रवर्धनले नयाँ आयाम पाउने छ। 

साईकलिङ्गले समग्र सामाजिक, आर्थिक र वातावरणीय पक्षमा सकारात्मक प्रभाव पार्ने मात्र नभई मानवीय सन्निकटता बढाउने भएकोले सबैतिरबाट यसलाई स्वागतयोग्य कदमको रुपमा लिईएको छ। हालै विश्व स्वास्थ्य संगठनले मे महिनामा बसेको विश्व स्वास्थ्य महासभामा प्रस्तुत गरेको 'शारीरिक गतिविधि कार्य योजना २०१८ – २०३०' ले पनि मानव जीवनमा साईकलिङ्गले दिने बहुआयमिक लाभका कारण उच्च प्राथमिकतामा राखेको छ । साईकलको बढ्दो प्रयोगले समग्रमा दिगो विकास लक्ष्य हासिल गर्न अतुलनीय योगदान पुर्याउने निश्चित छ किनकी  यो आफैमा भरपर्दो, किफायती र हितकारी मध्यम हो । दिगो विकास लक्षका १७ मध्ये कम्तिमा १२ वटा लक्ष्य हासिल गर्नमा साईकिलिङ्गले प्रत्यक्ष योगदान गर्छ। कम ठाउँ लिने, कम खर्चिलो र उर्जा खपत नगर्ने विशेषता नै आधुनिक मानव समाजको निम्ति अपरिहार्य छ।  यसले स्वास्थ्यमा ल्याउने फाइदाले त यो झन् एक हितैषी साधन प्रमाणित नै भैसक्यो ।

विश्व साइकल दिवसबारे चर्चा गर्दा विकासमा साइकलको भूमिकाबारे अध्ययन गर्ने पोल्याण्डका प्रोफेसर लेस्शेक सिविल्क्सी छुटाउन नमिल्ने नाउँ हो जसले 'सबैकोलागि दिगो गतिशिलता' अभियानको सहयोगमा राष्ट्रसंघ सभाबाट यो दिवस पारित गर्न सफल भए । तीनबर्ष अघि उनले लेखेका दुइटा ब्लग 'साइकल सबैको चासो हो' र 'किन बाईसाईकलको विश्वदिवस छैन? blog here बाट सुरु भएको प्रयास अन्ततः  गत नोभेम्बरमा तुर्किमिनिस्तान सरकारले अभियानलाई संयुक्त राष्ट्रसंघ सभामा लिएपछि सार्थक बनेको हो ।

साइकलिंग प्रयोगका फाइदाहरु

आर्थिक समृद्धि र भौतिक सुबिधाहरु बढे संगै मानिसको रहनसहन र आहारबिहार भएको परिवर्तनले जीवन पध्दतीलाई प्रभावित गरिरहेको छ । बिशेषगरि शारीरिक व्यायामको अभावमा चुलिरहेका नसर्ने रोगहरू रोकथामका लागि उत्तम उपाय मध्य साइकल एक हो । यसको नियमित प्रयोग गर्न सके कम खर्चिलो, भरपर्दो र सहज यातायातको माध्यम हुन सक्छ। छोटो दुरीको लागि दैनिक प्रयोगमा इन्धन बालेर चल्ने मोटर जडित साधनको उत्तम विकल्प हुनसक्छ।  जसको कारण इन्धनमा खर्चहुने अर्बौं रकम विदेशिनबाट जोगिन सक्छ । यसको प्रयोगले वातावरण स्वच्छ राख्न मद्दत पुग्छ र फलस्वरूप दीर्घ तथा घातक रोगहरूबाट करोडौं मान्छेहरूलाई बचाउन सकिन्छ।  त्यसैगरि साइकलले खेलकुद तथा असल प्रतिस्पर्धा प्रबर्धन गराउन मद्दत गर्छ।  मानिसलाई रचनात्मक बनाउन सक्छ भने सामाजिक सम्बन्ध बिस्तारमा पनि प्रभावकारी योगदान गर्न सक्छ । त्यसबाहेक साइकलको प्रवर्धनले टिभी तथा मोबाइलको अत्यधिक प्रयोगलाई नियन्त्रण गरी सकृय र स्वस्थ जीवन बाँच्न पनि सहयोग गर्न सक्छ।  यसको व्यवस्थित र प्रभाकारी प्रयोगले दिगो यातायातको आधार स्थापित गर्न सक्छ।

नेपालमा साईकल संकृति 

मोटरसाइकल र अन्य सवारी साधनको प्रभुत्व बढ्नु अघि नेपालको तराई, प्रमुख शहरहरु र उपत्यकाहरुमा बस्ने मानिसहरुको लागि साइकल जीवनको अभिन्न पाटो थियो।  हरेक परिवारमा मेलापात, हाट बजार आवतजावतको प्रमुख साधनको रुपमा साइकल हुन्थ्यो। स्कुल र क्याम्पस जीवनमा साइकल सबैको सपनाको साधन बनेर बसेको थियो। मोटर इन्जिनले चल्ने साधनको आगमन संगै साइकल गरीवहरुको साधन झैं बन्न गयो । विस्तारै आर्थिक उन्नति गर्नेहरु आफ्नो घरको  साईकल त्यागेर त्यो ठाउँमा स्कुटर, मोटर साइकल वा गाडी राख्नुलाई सामाजिक प्रतिष्ठा जस्तो ठान्न थाले । फलस्वरूप हाम्रा शहर र बस्तिहरु प्रदुषित हुने दर बढ्दै गयो  नेपालमा मात्रै हैन यो अवस्था विश्वभरि नै देखिएको छ ।  पछिल्लो दशकबाट जब हावा, हरियाली, सुन्दरता र स्वस्थ जीवनमा समस्याहरु देखापर्न थाले, साइकलबारे बिस्तारै चर्चा बढ्न थाल्यो।  तैपनि, साइकललाई फुर्सदको सदुपयोग गर्ने तथा स्वास्थ्य जीवनको माध्यम बनाउने चलन भर्खरै सुरु हुन लागेको मान्न सकिन्छ । घुम्ने प्रयोजनका लागि ठमेल, झम्सिखेल र पोखरामा बिदेशी पर्यटकहरुलाई भाडामा दिन राखिएका स्पोर्ट बाईक वा माउन्टेन बाईकहरु हेरेर रमाउनु बाहेक आम नेपालीहरुमा ती साइकल किन्न सक्ने हैसियत अझै कमै छ।

विगतमा केही विदेशीहरु साहसिक यात्रामा प्रकृतिको काखमा हराउने गरी साइकल लिएर नेपालका शहर कुनाकन्दरा घुम्न आउने गरेका थिए ।  सन् १९८३ तिरै दुईजना बिदेशी यात्रीले सगरमाथा बेशक्याम्पसम्म साइकल चढेर पुगेका थिए भने नेपालीमा सन् १९८८ मा सोनाम गुरुङ त्यहाँ पुगेर इतिहास बनाएका छन् ।

खासगरी यो सताव्दीको सुरुवातबाट नेपालमा  फाट्टफुट्ट मौसमी साइकल गतिबिधि बढेको पाइन्छ।   छिटपुट रुपमा ट्राएथलन , क्रसकन्ट्री रेश, डाउन हिल, कोरा, हेरिटेज राइड, टुर डे लुम्बिनी, जनकपुर, सिन्धुली, पोखरा जस्ता संगठित र प्रतियोगितत्मक कार्यक्रम हुने गरेका छन् ।  ति बाहेक कतिपय कर्पोरेट क्षेत्रले प्रायोजन गरेर सेवा र वस्तु प्रवर्धनका लागि साईकल र्यालि आयोजना पनि हुने गरेका छन्।  तर यी सबै रहर र निजी प्रयास बाट भैरहेका छन् । युवापुस्ता माझ साहसिक खेलको रुपमा पनि साइकलले प्रवेश पाईसकेको छ । यो दशकको सुरुमा पुष्कर शाहको विश्व साइकल यात्रा, सगरमाथा, आरोहणले नेपाली समाजमा साइकल प्रतिको दृष्टिकोण बदल्न र चर्चा बढाउन उल्लेख्य योगदान गरेको मान्न सकिन्छ ।

सन् २०१५ को नाकावन्दी र पेट्रोलियम पदार्थ अभावले नेपालमा साइकल संस्कार भित्रिन अतुलनीय योगदान पुर्याएको थियो । आम मानिसको जीवनमा साइकलले पुनः प्रवेश पायो। साइकल बिक्रिको दर नि ह्वात्तै बढ्यो।  घुमफिरमात्र हैन दैनिक सवारी साधनको रुपमा प्रयोग गर्नेहरु बढे। संकटको बेला परनिर्भरता कम गर्न निकै मद्दत भयो।  एक प्रकारले वास्तवमा साइकलले देशको राष्ट्रियता र स्वाभिमान कायम राख्न गरिएको आन्दोलनलाई निकै योगदान दियो।

अचेल बिदाको सदुपयोग गर्ने, स्वास्थ्यलाभ गर्ने, वातावरण प्रेमी, सामाजिक उत्तरदायित्वको समझ राख्नेहरु साइकललाई साधनको रुपमा प्रयोग गर्न थालेका छन्।  सोसल मेडिया र स्मार्ट फोनको प्रयोग बढेसंगै त्यहाँ पोष्ट गरिने साइकल यात्राका रोमाञ्चक र सुन्दर तस्विर तथा अनुभवले संजालमा जोडिएका हरुलाई उत्प्रेरित गरि रहेको पाइन्छ।

साईकलिंग विस्तारको अपरिहार्यता 

यद्यपी औपचारिक रुपमा सरकारी तबरबाट साईकलिङ्गको विकास र विस्तारको ठोस प्रयास भएको पाईदैन।  सन् १९९५ मै नेपाल माउण्टेन बाईक एसोसिएसन गठन भए पनि त्यति प्रभावकारी भएन।  यसलाई पछि २००६ मा नाम परिवर्तन गरि नेपाल साईकलिङ्ग एसोसिएसन राखियो। यो देशकै खेलको सम्बर्धन गर्ने हैसियत भएको ओलम्पिक कमिटि अन्तर्गतको यौटा संगठन भए पनि निस्प्रभावी झैँ देखिन्छ। यसको वर्तमान समिति गत अप्रिलमा चुनिएर कार्यरत छ। सरकारको पर्यटन बोर्डले छिटपुट भनसुनको आधारमा केही साईकल र्यालीहरुमा कर्मकाण्डिय प्रयोजन गर्ने बाहेक कुनै प्रवर्धानात्मक कार्यक्रम राखेको पाइदैन।

हरेक स्थानीय  र प्रदेश सरकारहरुले 'स्मार्ट सिटी' बनाउने सोच राखेका छन् । विकसित देशका स्मार्ट सिटीहरुमा साईकल लेन हुनु अनिवार्य जस्तै छ।  हामी  आशा गरौँ नेपालका स्मार्ट सिटीहरु पनि साईकल मैत्री हुनेछन्।

सरकारले साइकल आयातमा ६ प्रतिशत कर लगाउँछ। आम मान्छेमा साइकलको पहुँच बढाउन त्यो हटाउन जरुरी  छ । र सरकारले रेल-सपनाहरु जस्तै 'साइकल-सपना' साकार पार्ने प्रतिवध्दता गर्नु स्वास्थ्य, वातावरण, र्थिक तथा सामाजिक दृष्टिकोणले बढी महत्वपुर्ण छ  सहरका बाटोहरुमा साइकल लेन राख्नु यो उपयुक्त समय पनि हो, खाशगरी खडक बिस्तार भएका ठाउँहरूमा दुई वा तीन फीट बाटो छुट्याउनु सहज पनि छ ।   यो हेक्का होस् - साइकलमा गरेको लागानीले रेल वा अन्य क्षेत्रमा गरेको लगानी भन्दा निकै सस्तो र अधिक र द्रुत प्रतिफल दिने छ।  किनकी, साइकल प्रवर्धनले प्रदुषण घट्छ, स्वच्छ वायु दिन्छ।  स्वस्थ र सवल नागरिक दिन्छ । त्यो आहिलेका भोटरलाई मात्र हैन भविष्यका सन्ततिको निम्ति गरिएको अति महत्वपूर्ण योगदान ठहरिने छ।  अनि भन्न मिल्ने छ 'वाह, हाम्रो सरकार त क्या 'स्मार्ट' छ"।

(लेखक एक साइकल प्रेमी हुन्)





Wednesday, May 9, 2018

के खस भाषा लोपोन्मुख छ ?



यही २०७५  बैशाख २६ गते भाषा आयोगले  कर्णाली प्रदेशमा यौटा संगोष्ठी गर्यो ।  त्यहाँ प्रस्तुत प्रतिवेदनमा आधारित भएर कान्तिपुरको पहिलो पानामा छापिएको समाचारले (हे. फोटो) ले ध्यान तान्यो । यसमा भाषाको उद्गमस्थल कर्णालीमै खसभाषा लोपोन्मुख हुन पुगेको छ किनकी प्रदेशभरि जम्मा १८ जना'जति'ले मात्र खसभाषा बोल्छ भनिएको छ । सबैभन्दा बढी १३ लाख ४६ हजार २ सय जनाले नेपाली बोल्छन्।  प्रदेशभर बोलिने ५५ भाषामध्ये खसभाषा ३३ औं स्थानमा पर्छ भनिएको छ।  आयोग अध्यक्ष लवदेव अवस्थीले 'आयातित भाषाले मौलिक भाषा लोप हुने अवस्थामा पुगेको' भन्दै अवको तिन पुस्तामा अन्य मौलिक भाषा पनि नभेटिने निर्क्यौल निकालेका छन् ।  संगोष्ठीमा उपस्थित प्रदेश सरकारका मन्त्री, सचिव र मेयरहरुले 'अब खसभाषा जोगाउन केही पहल र  केहि न केही  'मेकानिज्म' बनाउन्छौं' भने।


भाषा आयोग जस्तो अधिकारिक संस्थाले प्रस्तुत गरेको तथ्यमा कतिपयले शंका गर्ने ठाउँ पनि देखेनन् होला । तर, आम पाठकहरुले यी सबै तथ्यहरु अपत्यारिला माने । प्रदेशभर खसभाषा बोल्ने मान्छे जम्मा १८ जनामात्र किन? खसभाषाको बाहुल्य हुनुपर्ने ठाउँमा कसरी ३३ औं स्थानमा पर्यो? साँच्चै खसभाषा लोप हुन लागेको हो? जस्ता प्रश्नहरु तेर्सिए । आउनुस्, त्यसबारे केही चर्चा गरौँ।

भाषा आयोगको प्रतिवेदनमा प्रयुक्त तथ्याङ्कको श्रोत र विश्वासनीयता 

आजभन्दा ७ बर्षअघि गरिएको राष्ट्रिय जनगणना २०६८ ले मातृभाषा बोल्ने जनसंख्याको तथ्याङ्क लिएको छ।  भाषा आयोगले प्रयोग गरेको तथ्याङ्कको श्रोत त्यै जनगणना हुनपर्छ  किनकी त्यहाँ नेपालभर १,७४७ जना 'खस' मातृभाषा बोल्नेहरु छन् भनिएको छ।  त्यसैगरी ८५१ जना 'जुम्लिभाषा' बोल्नेहरु छन् पनि भनिएको छ।  त्यसलाई प्रदेशगत हेर्दा कर्णाली प्रदेशमा १२ जना खस र १७ जना जुम्लीभाषा मातृभाषाको रुपमा बोल्ने तथ्याँक छ ।    के जनगणनाको तथ्याङ्क प्रयोग गर्न उपुक्त छ? छैन किनभने यो सबै संख्याहरु नै आफैमा अपत्यारिलो, अपुरो, कमसल । जस्तो कि ति 'खसभाषा' बोल्ने १२ जना उत्तरदाता जुम्लाका पुरुषहरु मात्र थिए। त्यसैगरि सुर्खेतका १७ जना (९ पुरुष र ८ महिला) ले 'जुम्लीभाषा' बोल्छु भनेका थिए। अन्य उत्तरदाताहरु कैलाली, कंचनपुर, बाँके र बर्दियाका बासिन्दा थिए ।  त्यस्तो तथ्याङ्क कुनै हिसाबले पनि प्रयोग गर्न हुँदैन जसले गलत संदेश दिन्छ।

राष्ट्रिय जनगणनाले दिएको तथ्याँक पनि किन प्रयोग किन नगर्ने भन्नुहोला । संकलन गरिएका सबै तथ्याँकहरु हुबहु प्रयोग गर्न मिल्ने हुँदैनन् । भाषाको सन्दर्भमा डाटामा के समस्या छ चर्चा हेरौं एकछिन् -

जनगणना २०६८ को व्यक्तिगत विवरणमा प्रश्न नं १० मा भाषा बारे दुईटा कुरा सोधिएको छ -  मातृभाषा र द्वितीय भाषा । पहिलो प्रश्नले बाल्यकालमा अभिभावकबाट सिकिएको भाषा भन्ने जवाफ खोजेको हो अर्थात  मातृभाषा जुन सामान्यता बाल्यकालमा घरमै अभिभावकहरुबाट सिकिएको पहिलो भाषा हो । दोस्रो प्रश्नले मातृभाषा पछि कामकाजको लागि छिमेकि र अरुहरु सँग संचारगर्दा प्रयोग गरिने भाषा भन्ने जवाफको अपेक्षा गरेको हो ।

जनगणनाको तथ्याँक संकलन गर्नेबेला घरघर पुग्ने गणकहरुलाई नेपालमा बोलिने भाषा / भाषिकाको कुनै सूची दिईएको थिएन । त्यसैले उनीहरुले मातृभाषा र द्वितीय भाषा बारे उत्तरदाताले भनेका हरेक नाउँहरु आफ्नै हिसाबले टिपोट गरे।  ति कतिपय अस्पष्ट, अपुरा र गलत नामले उल्लिखित भएका थिए।  यो समस्यालाई समाधान गर्न पछि यौटा भाषा विज्ञहरुको टोली बनाएर बर्गिकरण र मिलान गरिएको थियो । अन्तमा यो टिमले नेपालमा  १२३ वटा भाषा रहेको निष्कर्ष निकालेपनि २१ हजार बढी उत्तरलाई 'अन्य' भाषाको बर्गमा राखेको थियो भने करिब ४८ हजार उत्तरदाताको जवाफ नै रेकर्ड भएको थिएन । समग्रमा ५९ प्रतिशत नेपालीहरुले एउटामात्रै भाषा बोल्ने गरेको बताएका थिए भने  ४१ प्रतिशतले द्वितिय भाषा पनि बोल्छु भनेका थिए।  जम्मा ९२ प्रकारका भाषा द्वितिय भाषाको रुपमा जवाफ प्राप्त भएकोमा ३३ प्रतिशतले नेपाली  र ५ प्रतिशतजति ले हिन्दी दोस्रोभाषा बोल्ने गरेको बताएका थिए ।

तर रमाइलो कुरा  बीसबर्ष अघि २०४८ सालमा गरिएको जनगणनामा जम्मा ३१ वटामात्र मातृभाषा रेकर्ड गरिएकोमा दुइ दशकमा बढेर १२३ पुगेको छन् ।  यो कसरी पुग्यो? खसभाषा वा जुम्लीभाषा त पहिले पहिलेका जनगणनामा किन थिएनन्? यदि पहिला कतिले बोल्थे भने रेकर्ड नै नभई अहिले कसरी लोपउन्मुख भन्न सकिन्छ? बढेको कि घटेको के थाहा ?

खस लगायत जुम्ली, दैलेखी, बाजुरेली, डोल्पाली जस्ता नयाँ भाषाको रुपमा यो जनगणनामा मात्रै थपिएका थिए।  यस अघिका जनगणनामा यस्ता भाषालाई नेपाली भाषाको 'डाएलेक्ट' वा भाषिका मानेर नेपाली भाषा भित्रै समेटिएको हुन्थ्यो ।

अनेक थरी नयाँ भाषाको नामाकरण गर्दै सूची लम्ब्याउने काम भाषा सर्वेक्षणको नाम रिसर्च अनुदान लिने होडमा गरिएको अनियन्त्रित प्रयासले हो।  ससाना टुक्रे अनुसन्धान गर्यो, जात र स्थान बिशेषका सामान्य भाषिक बिबिधताहरु खोज्यो र आफ्नै हिसाबको भाषाको दर्जा दियो । त्यही काम गर्नेहरु मध्ये जो जनगणनाको भाषा निर्क्यौल गर्ने टिममा बसे उनीहरुले 'डाईलेक्टस्' लाई पनि 'ल्याङ्ग्वेज' को नाउँ दिए र यो समस्या आयो ।

तसर्थ भाषा आयोगले आफ्नो प्रतिबेदनमा भने जस्तो कर्णाली प्रदेशमा ५५ विशिष्ट थरिका भाषा बोलिदैन । त्यस्तै १२ वटा भाषा त १/१ जनामात्रले बोल्छन् भनि उल्लेख गर्नु अतिरंजना हो किनकि ती भाषाहरुबारे अस्पष्ट हुने भएकोले 'अन्य' शिर्षकमा समेटिएको हुन्छ।  जुन त्यो ठाउँमा बोलिने भाषाको संख्या भित्र पर्दैन । त्यस्तो अन्य भाषा बोल्ने १,६६० जना थिए।             

जनगणना बाहेक अरु श्रोत वा भाषा अध्ययन के छ त ?  

घर घर पुगेर डाटा लिने भएकोले सबभन्दा भरपर्दो श्रोत त जनगणना नै हुनुपर्ने हो । तर छैन । अरु भनेका निजी, प्राज्ञिक केही सानो स्तरका विशिष्टीकृत भाषा सर्वेक्षण र प्रतिवेदन छन् जसको विस्लेषणले पनि केही दृष्टिकोण दिन्छ।  जस्तो कि त्रिभुवन विश्वविद्यालयमा भाषाशास्त्रको केन्द्रीय विभाग छ।  त्यसले विभागले आठबर्षसम्म संचालन गरेको राष्ट्रिय योजना आयोगको परियोजना 'भाषा वैज्ञानिक सर्भेक्षण Linguistic Survey of Nepal (LinSuN)' गत पौष २०७४ मा समापन भयो । परियोजना अवधि भर सरकारले कहिल्यै प्रयाप्त बजेट र श्रोत दिएन भन्ने गुनासो माझ यसले ९६ वटा भाषाको सर्भेक्षण गरेको दावी गरेपनि ६४ वटाको प्रतिवेदन विभागमा रहेको विवरण छ।

खस भाषा बारे 

खस भाषाको उन्नत रुप नेपाली भाषा हो भन्ने तथ्य त स्थापित भइसकेको छ । आमरुपमा खस भाषा इतिहासकालीन बृहत जुम्लाराज्यको खसान क्षेत्रमा बोलिने लवज हो । त्यसको सिंजा केन्द्र थियो तर त्यसको भाषिक प्रभाव क्षेत्र २२ खोला र १४ दरा समेटिएको भूभाग हो अर्थात् तिब्रिकोट, जुम्ला, चौधबिस, रास्कोट, हुम्ला, गुम मुगु, खत्याड, सोरु,डोल्पा, बाजुरासम्म । भाषाका अध्यताहरुले पनि यो भाषालाई जुम्ली, जुम्लेली, खसकुरा, सिंजाली भनेर पनि चिनिने भनेका छन् ।    

समाज भाषा वैज्ञानिक सर्वेक्षण अन्तर्गत सन् २०१६ मा डिल्लीराम अधिकारी र डा. लक्ष्मीराज पण्डितले 'जुम्ली नेपाली भाषा'को अध्ययन गरेका थिए ।  कर्णाली क्षेत्रमा बोलिने कालिकोटे, मुगाली र हुम्लीले बोल्ने भाषालाई 'जुम्ली नेपाली भाषा' मानी अध्ययन गरिएको थियो । यस रिपोर्टले जुम्ली नेपाली भाषा बाजुरा, बझांग, अछाममा पनि बोलिने गरेको उल्लेख गरेको छ। यद्यपी यसमा डोल्पा, जाजरकोट, दैलेख, सल्यान, रुकुम तिर पनि बोलिने जानकारी छुटाएको छ ।

भाषा वैज्ञानिक सर्वेक्षण २०१६ को अध्ययनको फिल्ड प्रतिवेदन अनुसार जुम्ली नेपाली भाषीमध्ये  ७५ प्रतिशतले अरुसँग कुरा गर्दा प्रायः 'नेपाली भाषा' को माध्यम प्रयोग गर्ने गरेको बताएको थिए । त्यस्तै 'पाहुना संग कुन भाषामा कुरा हुन्छ ? वा फरक भाषा बोल्ने मान्छे भेटे कुन मध्यम भाषा हुन्छ भनि सोध्दा पनि शतप्रतिशतले 'नेपाली' भनेका थिए । यसले के इंगित गर्छ भने जनगणनामा आउने गणकलाई दिने जवाफ सबैको 'नेपाली' हुन सक्ने सम्भावना पनि उतिकै भयो । यद्यपी भाषा बारेको समग्र तथ्यांक नै प्रयोग गर्न अनुपयुक्त छ भन्ने निष्कर्ष पछि त यो तर्कको कुनै अर्थ नै रहेन।

के साँच्चै 'खसभाषा' लोपोन्मुख छ? 

सायद त्यस्तो अवस्था छैन।  यसरी  पनि हेरौं एकछिन् - भाषाहरुको जीवन्तताको स्थितिलाई विभिन्न तहमा परिभाषित गर्ने चलन छ।  जस्तै: अन्तरास्ट्रिय, राष्ट्रिय, क्षेत्रीय र स्थानीय आमसंचार र सरकारी सेवा र कामधन्दामा प्रयोग आउने, साक्षरताको लागि शैक्षिक मध्यममा प्रयोग हुने, तथा लेख्य/विकासशील भाषा । यी भाषाहरु सुरक्षित भाषा मानिन्छन् । त्यसबाहेक जुन भाषा सबै उमेर समूहका व्यक्तिले मौखिक रुपमा प्रयोग गर्छन्  र समुदायका बालबालिकाले पहिलो भाषाको रुपमा सिक्छन् ति भाषाहरुलाई 'प्रवल' भाषाको रुपमा सुरक्षित भाषा मानिन्छ।  'जुम्ली नेपाली' त्यस्तै एक भाषा हो।  त्यस बाहेक जीवन्तताको स्थितिको अधारमा संकटापन्न,  अपसरणशील (बयस्कले भाषा जानेको भएको तर आफ्ना बच्चालाई बोल्न नसिकाउने), मरणासन्न (हजुर बा/आमाले मात्र बोल्ने), सुषुप्त (पहिचानको रुपमा केहि शेष बाँकी), र लोप भैसकेको गरि परिभाषित गरिएको हुन्छ।

अर्को पक्ष यसरी पनि हेरौं - भाषा वैज्ञानिक सर्वेक्षण अध्ययनको फिल्ड प्रतिवेदन अनुसार सन् २०१६ मा सर्भे गर्दा सोधेका सबै उत्तरदाताहरुले 'जुम्ली नेपाली' अर्थात खस मातृभाषा भएको बताएका थिए । अझ अर्को महत्वपुर्ण कुरो 'के तपाईंका बच्चाले 'मातृभाषा' बोल्न सक्छन्? भनि सोध्दा शतप्रतिशले 'सक्छन्' भनेका थिए । यो त भयो सर्भेले देखेको तथ्य । हामी स्थानीयहरुले आफ्नै गाउँघरमा भैरहेको परिवर्तन देखेका छौं र अध्ययनले पनि देखाएको छ कि खस वा जुम्ली भाषीहरु ले जुम्ली भाषा मुख्यगरी किसानी कार्यमा, झगडा गाली गर्न, पैठ पुजा प्रार्थना गर्न, जोक भन्न,  मेलापात जाँदा, घरमा हुँदा, मांगल देउडा गीत गाउन आदिमा प्रयोग गर्छन ।  स्थानीय अपरिचित, पाहुना, बजार, निम्ता, बैठक, छलफल, विद्यालय आदिमा जुम्लीभाषा र नेपाली दुवैको प्रयोग हुन्छ भने बाहिरी कर्मचारी, अफिस र अन्य औपचारिकजस्ता अवसरमा नेपालीमात्र बोल्न प्रयास गर्ने चलन वा बानी छ।

अन्तमा, यो भाषा हो कि, भाषिका हो कि,  लवज हो? 

यो बिषय भाषा विज्ञ वा भाषा शास्त्रीहरुले निर्क्यौल गर्ने होला।  तर यो जानकारीको साथ यो ब्लग टुङ्ग्याउँ --- भाषा उत्पतिको आनुवांशीक वर्गीकरण अनुसार यो 'इन्डो-युरोपियन' भाषा परिवार अन्तर्गत 'इन्डो-ईरानियन' को हाँगा 'इन्डो-आर्यन'को 'नेपाली' भाषा अन्तर्गत पर्दछ।  यो उपबर्गिकरण अनुसार 'जुम्ली  वा खस भाषा नभई यौटा भाषिका  (डाईलेक्ट) हो। जुम्लीभाषाको प्रमुख नेपाली भाषा सँग ७३ प्रतिशतदेखि ८९ प्रतिशत समानता रहेको छ भनि चुडामणि बन्धु लगायतको २०२८ तिरै प्रकाशित पेपरमा उल्लेख रहेछ ।

----
यो लेख दुरबिन नेपालमा प्रकाशित छ : http://www.durbinnepal.com/archives/14712

Wednesday, April 11, 2018

राजेन्द्र उप्रेतीको मुगु रारा यात्रा डायरी



केहीदिनको मुगु यात्राको सिलसिलामा म अप्रिल १, २०१८ बिहान ७:३० बजे नेपालगंज उडे | मलाई कति छिटो मुगु पुगुँला र सुन्दर राराको अवलोकन पनि 
गरुँला भन्ने उत्साह र हतार थियो | समयमा नेपालगंज पुगें र सिधै काठमाडौँबाटै मुगुको लागि भनेको टिकटको लागि ट्राभेल एजेन्सी भएको ठाउँ गएँ।  तर, एजेन्सीले मलाई निराश बनाएर पठायो भन्यो कि आज तपाईले टिकेट पाउन सक्नु हुन् किन कि त्यहाँ  त राराकर्णाली महोत्सब शुरु हुन लागेकोले बैसाख पहिलो हप्तासम्म टिकट पाउन गाह्रो छ  | लौ पर्यो फसाद! अब के गर्ने होला ? कति धेरै सपना देखेको थिए, परिवारलाई पनि मुगुबाट फर्किने बेला रारा बोलाउछु रारा घुमाउछु भन्नेदेखि अरु कति कति........तर ति सबै सपना त नेपालगंज विमानस्थल मै चकानाचुर भए जसो लाग्यो | अब के गर्ने गर्ने अरु धेरै ठाउँ बुझे तर टिकट पाउन गाह्रो भयो | केहि नलागेपछि सडक मार्फत जान्छु भनि बसपार्क तिर गएँ र धेरै प्रयास गरे तर मुगु भन्ने बितिकै बस काउन्टरदेखि ट्राभेल एजेन्सीसम्म नाक बांगो बनाउन थाले।  त्यो प्रयास पनि सम्भब नभएपछि आज म नेपालगंज बस्ने निर्णयमा पुगेँ  | 

दोस्रो दिन प्लेन टिकटको लागि धेरै ठाउँमा प्रयास गरे तर भोलिको लागि पाउला जसो छ भनि आश्वासन मान्छे त बिहानै  मोबाइल अफ गरेर गायव छ। अब के गर्ने होला ? अब जे होला होला भनि सबेरै एयरपोर्ट गएँ  र समान चेकइन गरी सिधै काउन्टरमा ताल्चा एयरपोर्ट (मुगु) जाने सबै एयरलाइन्सको डेस्कमा गएर भनें - 'म संग टिकेट छैन तर म जसरी पनि मुगु जानु पर्नेछ।'  तर कसैबाट पनि टिकट मिल्ने प्रतिक्रिया पाइएन | 
अन्ततः एकजना एयरपोर्ट भित्रकै मित्रको सहयोगमा धेरै बादविवाद गरेर टिकेट पाउन सफल भएँ। युद्द जिते झैँ लाग्यो | नेपालगञ्जबाट रारा जाने प्लेनको सिट नपाउने तर राष्ट्रिय ध्वजा बाहक जहाज चै आधा प्लेन खाली हुन्छ रे । यसको कारण निजि बिमान कम्पनीका प्रतिनिधिले कमिसन दिने भएर यसो भएको भन्ने कुरा सुन्नमा आयो | मेरोपालो  भन्दा पहिले २ वटा प्लेन उडे -  एउटा तारा र एनए NA ।  लगभग २ घण्टापछि ताराको जहाज फर्कियो रारा जाने सबै यात्रुहरु प्लेनतिर हानिए।  यस्तो दृश्य देखियो कि त्यो जहाज नभएर काठमाडौँको रिंगरोडको महानगर बस जसो न कुनै सरसफाई न कुनै परिक्षण।  सिधै झर्ने यात्रु झरे अनि चड्ने यात्रु चढे |  म संग विमानमा सवार लगभग १० जना बिदेशी साथीहरु थिए  | प्लेन उड्यो।  
विदेशीहरु भएर हो कि सँधै धै यस्तै हो थाहा भएन तर आज विमानले यति राम्रो संग राराको अबलोकन गराई दिनु भयो कि बास्तमै अविस्मरणीय रह्यो त्यो पल | राराको सुन्दर अबलोकन पछि बिमान अवतरणको समय भयो।   विमान पहाडमै ठोकिन्छ झैँ लागेर यात्रु सबै आतिए पनि सजिलै अवतरण गर्यो | 
विमानस्थल बाहिर एकजना परिचित दाईलाई भेटें।  मैले 'दाई मलाई त् टिकेट पाउन सारै गारो पो भयो त' भनेको त उहाँले जवाफ दिनु भयो 'भाई यहाँको चलन नै यस्तो छ के गर्ने म पनि मुस्किले टिकट मिल्यो भनि आको तर म आएको विमानमा ६ वटा सिट खाली थियो " | उहाँ केहिसमय अगाडी NA को प्लेनबाट मुगु आउनु भएको रैछ। 
अब म जानु पर्ने गमगडी।  गाडीको मनपरी रहेछ।  जम्मा ५ कि.मि. दूरी छैन भाडा ५०० रुपैया रे | ल अब स्वीकार्नै पर्यो।  अर्को बिकल्प नै छैन।  
गमगडी बजारमा होटेलको खोजि गरे।  एउटा होटलमा गएको जम्मा ४ रूम थिए तर सब प्याक।  अर्कोमा गए त्यहाँ पनि त्येस्तै।  अनि साथीलाई फोन गरे एउटा होटेलको नाम दियो ।  होटेल भिजिट कर्णाली।   त्यहाँ रूम भेटियो अनि बसियो २ दिन गमगडीमा र आफ्नो काम सफलता पुर्बक सम्पन्न गरे |

मलाई गमगडीबाट रारा हुदै पिना भन्ने गाउँमा जानु थियो।  बिहानै ५:३० तिर रारासम्म गाडी जान्छ भन्ने सुनेर गाडी  भएको ठाउँमा गएको त भाडा पाचँ हजार रुपैया रे।  कम्तिमा ४ जना हुनै पर्ने।  कुरा मिलेन अनि सहयोगी साथीलाई  सोधे - 'हिडेर कति समय लाग्छ ? “ उसले भन्यो 'रारा ३/४ घण्टा अनि पिना गाउँ पुग्न त्येस्तै रारा घुमेर गयो भने ७/८ घण्टा”. ल हिडौ! 
१० बजे तिर रारा पुगियो | आहा!!!! आकाशबाट देखिएको त्यो दृश्य अनि जमिनबाट हेर्दा साचिकै रारा त स्वर्ग कि अप्सरा नै रहिछिन | 
राराको दृश्याबलोकन पछि हामीले रारामा अबस्थित होटेलमा खाना खाने गयौं र भबिस्यमा साथीहरुलाई घुमघाममा सहज होस् भनि केही सूचना संकलन पनि गरें।   

होटेल र स्थानीयस्तरको सुविधाको वास्तविकता  (मैले जे देखे) 
  • होटेल २ वटामात्र छन् पुरा मनोमानी ग्राहक अनुसार लुटतन्त्र देखियो।  अझ सुनेको त दुईमध्ये एउटा होटल माओवादी र अर्को होटल एमाले नाम नै स्थानीय रुपमा परिचित रैछ।  कांग्रेसले होटल अनुमति पाउन असफल भएछ रे
  • काठैकाठका घरभएको होटलको एक रुमको रु दुई हजार भाडा र टेन्टको दुई हजार पाच सयसम्म पर्छ रे
  • फलफुल र ड्राई फुड पनि खासै नपाउने।  नौ रुपैयाको पानीलाई ७० रुपैया पर्छ।  ६० रुपैयाको चाउचाउ र ७० रुपैया पर्ने बिस्कुट किनेर खाएं 
  • मुस्किलले ५०-६० जना भन्दा बढी पाहुना राख्न सकिने ठाउँ छैन।  रूम प्याक भएको बेला भयो भने न खाना पाइन्छ न बस्न त्यसको विकल्प नै छैन 
  • बच्चा र परिवार सहित गएका मान्छेहरुको बिचल्ली देखियो ।  गाडी बिग्रेर बिचार पर्यटक यात्रुको बिचल्ली पनि बाटोमा कहाली लाग्दो अवस्था देखियो।  बाटोको अवस्था झन् बर्णन इन्द्रले पनि नसक्ने
  • राराको बिकासको लागि १६ करोड खर्च भैईसकेको जसको नतिजा हेर्दा लाग्छ १६ हजार पनि खर्च भएको छैन कि जसो 
  • स्थानीय मान्छेहरुले त्यहाँ आउने पर्यटकबाट कुनै किसिमको फाइदा लिन नसकेको
  • रारा बाट फर्किने जुनसुकै यात्रुलाई सोधे पनि निराशा मात्र देखियो जुन म आफै पनि भएँ 

यी सबै तितामीठा कुराहरुको अनुभव गर्दै रारा सुन्दरताले बिर्से झैँ गरि लागियो पिना गाउँ तिर, जहाँ बिकट, राज्यका सेवा र सुबिधाहरुबाट बन्चित तर स्वभिमानी निस्वार्थी  जनताको बस्ति। त्यो समुदाय संगको बसाई पनि अविस्मरणीय रहयो | 

पिना गाउँबाट १६ घण्टामा जुम्ला पुगियो।  मैले त्यो यात्रालाई सहासिक यात्रा भन्न रुचाएँ  .तत्पश्चात म स्थल मार्ग कालिकोट हुदै  नेपालगंज यात्रा तय गरे।| 

मेरो राज्य तथा सरोकारवालाहरुलाई सुझाब: 

  1. प्रकृतिले यस्तो सुन्दर ठाउँ दिएको छ कि (रारा) हाम्रा नेताहरुलाई त्यो भाषणमा बेच्नलाई पुगेको छ | प्रकृतिले त् दियो अब सरकारले बाटो देओस, स्वास्थ सेवा देओस, सुरक्षा देओस र अन्य भौतिक बिकाशका पूर्वाधार देओस | 
  2. टेलीफोनका कुनै सिमको नेटवर्क पाउन साइत नै जुर्नु पर्छ | त्यसको क्षमता बढाउनु पर्यो | 
  3. नेपालगंजबाट मुगु आउन यात्रा नै कठिन छ।  मोटरबाटोको यात्रा लामो जटिल छ।  हवाई यातायातमा धेरै नै राजनीति रैछ  त्यसको अन्त गरोस |
  4. नेपालगञ्जबाट रारा जान प्लेनको सिट नपाउने तर राष्ट्रिय ध्वजाबाहक जहाज चै आधा प्लेन खाली रारा आउने। कमिसनको कारण यसो भएको भन्ने कुरा सुन्दा मन सारै रोयो यस्तो कमिसन तन्त्रको अन्तहोस् | 
  5. बायु सेवा निगमले आफ्नो विमानस्थल काउन्टरमा कति सिट बुक भए अनि कति बाकी छन् भन्ने कुरा यात्रुलाई सूचना पाटिबाट जानकारी दिने व्यवस्था गरोस |
  6. ताल्चा विमानस्थल बाट मुगु गमगाडीको दुरी जम्मा ५ कि.मि पनि छैन तर भाडा दर रु. ५०० देखि ५००० लाग्छ यो के स्वभाबिक भाडा हो र ? यो अनुगमन कसले गर्छ | अनुगमन होस् | 
  7. भएका होटेलमा पनि करको बिल अनि कर बिबरण र जानकारी कुनै पनि छैन, सरकारलाई बलियो बनाउन कर संकलन प्रणाली बलियो होस् | 
  8. रारामा भएका २ वटा होटल त्यहाँ बाट तत्काल हटाइयोस या त्यहाँ प्रयाप्त होटल खोल्ने अनुमति सरकारले देवस | 
  9. कर्णालीको बिकाश नेपाली ठेकेदारहरुको सट्टा अन्तरास्ट्रिय टेन्डर गरेर बाहिरबाट ठेकेदार लाईयोस (चाइना उत्तम बिकल्प हुन सक्छ)
प्र.म.वोली ज्यु बोलीमा होइन काममा विश्वास गर्छन।  जनता चाहन्छन् कि राराबाट पर्यटन विकासको बिकुल मात्र फुक्ने होइन कि  बिकटबाटै विकासको बिकुल फुक्नुस र संगै कामको थालनी गर्नुस | तपाई आउने कुराले रारामा महंगा बैठक र सेमिनार सुरु भैईसके तर जुनकार्य भईरहेका छन् ति त्यति अर्थपूर्ण छन् जसो लाग्दैन म जस्ता सर्बसाधारण जनताको लागि |

रारा आउन चाहनेहरुका लागि केही सुझाब: 

  1. यथावास्थामा राराको सुन्दरताले जाउ-जाउ लागे पनि भौतिक बिकासको दृस्टीकोणले त्यति सहज छैन है त्यसैले मानसिक रुपमा तयारी गरेर मात्र जानु होला।  विशेषगरी बच्चा र असक्तहरुलाई सास्ती हुन्छ |
  2. फलफुल, ड्राई फुड र पानीको व्यवस्था आफै गरेर हिड्ने ।  टेन्ट र स्लिपिंग ब्याग पनि साथमा लैजानु बेस।  
  3. यदी आफै गाडी लगेर जानु हुन्छ भने गाडी राम्रो संग बनाएर जानुस गाडी बिग्रो भने हरिबिजोग हुन्छ।   सबै गाडी त्यहाँ जान सम्भब छैन फोर व्हिल मात्र जाने हो।  
  4. नेपालगंजबाट त्यस्तो गाडीले रिजर्बमा ४५ हजार भाडा लिन्छन 
यी मेरा व्यक्तिगत र केहि स्थानीयहरुसँग बुझ्दाको अनुभव हो।  म गलत भए सुझाबको अपेक्षा गरेको छु | धेरै अवसर छन् जस्तै यहाँका पर्यटकीय स्थान, बनजंगल आदि।  कल्पनागरौँ -  रेलबाट पानी जहाज मार्फत यहाँका ढुगा र चट्टान हरुलाई टापू नै टापू भएका देशलाई बिक्रि गर्यो भने मात्र पनि देश कता पुग्छ होला ?  रारा मा केबलकार कति सुहाउथ्यो होला ? 
आशा गरौँ अब मेरो पारिवारिक रारा भमण हुनेबेला त्यहाँ भौतिक बिकास भएको हुनेछ।  राराको चारैतिर बाहिरपट्टि केवलकार चलेको हुनेछ।  भरपर्दो रमणीय बाटोको यात्रा सहज हुनेछ र सजिलै प्लेन पाईने छ।  
त्यहाँको प्रदेश सरकार र देशको सरकार ले के त्यो पुरा गर्ला ?? 

Tuesday, April 10, 2018

रारा-कर्णाली भ्रमण बर्ष र कर्णालीमा पर्यटन सम्भावनाको यथार्थ

कर्णाली प्रदेश सरकारले नयाँबर्ष २०७५ लाई रारा-कर्णाली भ्रमण बर्षको रुपमा मनाउने घोषणा गरे संगै यसले चर्चा बटुलेको छ । अढाई सय बर्षदेखि पिछडिएको अनुभव गरिरहेको कर्णालीको बैभव, आत्मविश्वास र सामर्थ्य फिर्ता ल्याउने माध्यमको रुपमा पर्यटन हुनसक्ने विकल्पको रुपमा हेरिएको छ। प्रदेशका यौटा मन्त्रीले भने अनुसार हाल कर्णालीमा बर्षेनी ५० हजार पर्यटक आउँछन् ।  यो रारा-कर्णाली भ्रमण वर्षमा त्यसलाई ५ लाख पुर्याउने लक्ष राखिएको छ । के यो सम्भव लक्ष हो?  यो महोत्सवबाट के अपेक्षा राख्ने?  अहिले हुने खर्चको उपलब्धि के होला? र सरकारको प्राथमिकता यै हो या अरु कुनै छन्? आउनुहोस! एकछिन् चर्चा गरौँ:

 के रारा चिनाई रहनु पर्ने ठाउँ हो? 

अकबरी सुनलाई कसी लाउनु पर्दैन । वास्तवमा 'रारा' आन्तरिक पर्यटकहरुको लागि चिनाई रहनु नपर्ने चर्चित गन्तव्य हो । विशेषगरी अचेल घुम्न रुचाउने युवापुस्ता माझ सोसियल मिडियाको प्रभावले रारा निकै आकर्षक ठाउँ मानिन्छ । घुम्ने निर्णय लिन एकअर्कासँग गरिने कुराकानीले बढी प्रभाव राख्दछ ।  राराको सुन्दरताबारे महेन्द्रको कविता पढेर वा अरुले सुनाएका कथामा रमाउनेहरुलाई गाडीको पहुँच संगै अब आफै छुने र महसुस गर्न सम्भव भैसक्यो । तर, अन्तरास्ट्रिय पर्यटकको लागि भने रारा र कर्णाली परिचित गन्तव्य हैनन् । तपाइले खोज्नु भयो भने 'ट्रिप एड्भाइजर'को मुख्य दश गन्तव्यमा पोखरा र लुम्बिनी बाहेक अरु सबै काठमाडौँका साइटहरु मात्र छन् भने 'लोन्ली प्लानेट'मा खोज्दा कर्णाली र रारा तिरको न होटेल  र न रुटबारे नै जानकारी मिल्छ । 

महोत्सव परम्परा र औचित्य: 

केही बर्ष यता विभिन्न स्थानमा 'महोत्सव' नाम राखेर कार्यक्रम गर्ने चलन खुब चलेको पाइन्छ। आकर्षक नारा र लक्षहरु राखेर व्यापक प्रचारप्रसार साथ शुरु गरिने यी महोत्सवको उपलब्धि बारे भने कतै चर्चा गरिन्न । सन् २००८ मा पर्यटनबोर्डले रारा-महोत्सव गरेको थियो । त्यसयता स्थानीय अग्रसतामा पनि पटक पटक कार्यक्रम भए  । तर गाडीबाटोले नजोडिदासम्म रारा घुम्ने पर्यटकहरुमा खासै वृद्धि भएन । बरु महोत्सवको बेला रारामा मानिसको अव्यवस्थित चहलपहल संगै प्रदुषण बढेको समाचारहरु आएका थिए । अर्कोतर्फ महोत्सवहरु स्वभावैले  खर्चिला हुन्छन् । झन् यो महोत्सव त प्रदेश सरकारको 'टप' प्राथमिकताको कार्यक्रम भएको छ।  
मुख्यमन्त्रिको अध्यक्षतामा १५-सदस्यीय मूल आयोजक समिति बनेको छ । राजनीति, प्रशासन, पूर्वाधार, अर्थ, बसोबास, सुरक्षा, यातायात र संचार लगायत फरक फरक समितिहरु बनेका छन् । केन्द्रदेखिका सरकारी भीआइपीहरु, बिदेशी नियोगहरु आमन्त्रित छन् । प्रदेश मन्त्रीमण्डलको बैठक पनि रारा मै हुनेछ । (यसै सन्दर्भमा स्मरण गरौँ -  पहिले जलवायु परिवर्तनबारे सम्मेलन अघि माधवकुमार नेपालको मन्त्रिमण्डल बैठक 'कालापथ्थर' मा बसेको थियो । त्यसको उपलब्धी बिहीन खर्चको बारे पछिसम्म चर्चा भएको थियो।)  सुरक्षाकर्मी, पत्रकार, गमगढीतिरका कर्मचारीहरु पनि सरिक हुनेछन् । भनेपछि, महोत्सवमा प्रायः 'सरकारी' खर्चमा रारा घुम्न जानेहरुको भिड हुने निश्चित छ। नयाँ बर्षको आवसर पारी अन्तरिक पर्यटक पुगिहाले पनि बास नपाइन सक्नेछ ।  किनकि त्यहाँ दुइटा होटल, निकुञ्जको भवन र आर्मी क्याम्पसहितको क्षमता जोडेर मुस्किलले २५० जति पाहुना बस्न सक्ने पूर्वाधार होला । त्यसैले महोत्सव सरकारी ढुकुटीको लागि 'खर्चिलो' मात्र हुनेछ।   

जनताबाट हरेक महिना दुईदिनको श्रमदान माग्ने निर्णय गरिएको छ । यो राम्रो अवधारणा हो तर ती  स्थानीयले राराको पर्यटनबाट कसरी लाभ लिनसक्छन् ? त्यहाँ पुग्ने पर्यटकले औसत १.५  दिनमात्र बिताउछन्  त्यो पनि निकुञ्ज भित्र जसले स्थानीय वा आम मान्छेहरुलाई विस्थापीत गर्छ र आर्थिक जीवनमा खासै अवसर दिंदैन ।  

प्रदेश सरकारसँग यो आर्थिक बर्षको ३ महिना मात्र बाँकी छ । नियमकानुन बनाउने, स्थानीय तहमा खरिद र खर्च प्रकिया सुधारगर्ने, योजना सम्पन्न गर्ने लगायत महत्वपुर्ण कामको तुलनामा 'महोत्सव' यौटा सस्तो लोकप्रियता खोज्न गरिने औपचारिकता जस्तो देखिन्छ। 

के कर्णालीमा एकबर्षमा ५ लाख पर्यटक सम्भव छ त? 

नेपालमा आन्तरिक पर्यटकको आंकडा राख्ने कुनै प्रणाली नभइ सकेकोले यो अन्दाजमा राखिएको लक्ष हो भन्ने  प्रष्ट हुन्छ। रारामा २० बर्षअघि सन् १९९७ मा ५६० जना विदेशी पर्यटकहरु घुमेका थिए।  त्यसको दश बर्षपछि सन् २००७ मा घटेर जम्मा ८७  जनामात्र घुम्न आए । त्यो अवधिमा जनयुद्ध, इन्डियन एअरलाइन्सको अपहरण र दरबार हत्याकाण्ड आदि कारणले समग्र देशकै पर्यटन क्षेत्र धरासायी भएको थियो । त्यसपछि यस दशकको सुरुवातबाट केही उकालो लग्न थालेको पर्यटन क्षेत्र सन् २०१५ को भुकम्प र नाकाबन्दीले गर्दा फेरी थला पर्यो । स्वभावैले रारा पनि प्रभावित भयो । पछिल्लो दुइबर्ष यता बिस्तारै गति लिन थालेको  देखिन्छ। सन् २०१६ मा  १३२ जना घुम्न आए भने २०१७ को आंकडा नभेटिए पनि पर्यटन उद्योगीहरुको भनेको भनि केही पत्रिकाले लेखे अनुसार यो संख्या अघिल्लो वर्षको तुलनामा दश गुणा वृद्धि भएकोथियो रे ।

अनुमान कै आँकडा अनुसार गतबर्ष दशैंतिहार बीच करीब २,६०० सय जतिले रारा भ्रमण गरेका थिए । त्यति नै हाराहारी पर्यटक बर्षको अरु दिनहरुमा पुगेको मान्ने हो भने ५ हजार बढीले  रारा घुमे।  यौटा प्रसङ्गमा हालै सामाजिक विकास मन्त्रीले भने अनुसार कर्णालीमा ५० हजार पर्यटक आएका थिए (केहि पहिला १२ हजारले घुमे भन्ने आँकडा सुनिएको थियो ) । यसलाई एकैछिन पत्यायौ भने, बाँकी ४५ हजारले जुम्ला, तातोपानी, पाचाल झरना, मालिका, काँक्रेबिहार, बुलबुले ताल, दुल्लु, कुपिण्डेदह, डोल्पा र हुम्लातिर घुमेको हुनुपर्छ । त्यसो भए रारा भन्दा त सम्भावना बोकेका ठाउँ अन्तै रहेछन् भन्ने पनि लग्न सक्छ । 

त्यस्तै, पर्यटन मन्त्रालयको आंकडा अनुसार संरक्षित क्षेत्रको बाटो यात्रा गर्ने बिदेशीहरुको संख्या २०१५ पछि निकै बढेको छ।  हुम्लाको बाटो हिल्साहुँदै मानसरोवर जाने बिदेशीहरु सन् २०१४ मा ४ ९२ भएकोमा सन् २०१५ को मध्यपछि व्हात्तै बढेर १,३४६ पुग्यो । त्यसमा ठूलो वृद्धि भएर सन् २०१६ मा १०,१०५ पुग्यो । यो व्यापक सुधार पर्यटकीय सहजताले नभई भूकम्पले कोदारी राजमार्ग र तातोपानी नाका बन्द हुँदाको विकल्पले गर्दा भएको हो ।  यो अवस्था दिर्घकालीन रहने छैन तर यसले सम्भावनाको ढोका चैं खोल्यो । तथापी, प्रचुर सम्भावना भएको माथिल्लो र तल्लो डोल्पाका संरक्षित क्षेत्रमा बर्षेनी जम्मा १,१०० - १,६०० जना मात्र पुगिरहेको पाइन्छ । 

यस हिसावले कर्णालीमा ५ लाख पर्यटक आउनलाई एक बर्षमा नौसय  प्रतिशतको बढोत्तरी गर्नु पर्छ।  जुन हचुवामा राखिएको असम्भव लक्ष हो।

संघीय सरकारको 'पर्यटन प्रबर्धन मोडेल' नै प्रष्ट छैन:  

सरकारका पर्यटन मन्त्रालय, बिभाग र पर्यटन बोर्डहरु प्रचारप्रसारको नाउँमा महोत्सव, भ्रमणबर्ष, गन्तव्यबर्षको नाउँमा बार्षिक बजेट बिनियोजन गर्न निकै रुचाउन्छन ।  सरकारले सन् २०११ मा १० लाख पर्यटक भित्र्याउने लक्ष साथ नेपाल भ्रमण बर्ष घोषणा गर्दा त्यो बर्ष सन् २०१० को तुलानामा जम्मा २२% बढी अर्थात ७ लाख ३६ हजार २१५ जना पर्यटक आए । त्यो स्वाभाविक वृद्धि थियो । गतबर्ष  सन् २०१७ मा ९ लाख ४० हजार २१८ बाह्य पर्यटक आए जुन अघिल्लो बर्षको तुलनामा २५% ले बढ्यो । तर, यस्तो सामान्य वृद्धिले पर्यटन भिजन २०२० को २० लाख पर्यटक (अहिले सच्याएर १५ लाखमा झरेको) भित्र्याउने लक्ष कसरी पुरा होला अस्पष्ट छ ।  सरकार सहभागी महोत्सव भन्दा अरु व्यक्तिगत, निजी र सङ्गठित क्षेत्रका प्रचार र प्रबर्धनले प्रभावी काम गरेको पाइन्छ । 
गतबर्ष सरकारले अन्तरिक पर्यटन बढाउन 'गन्तव्य नेपाल बर्ष' मनाउन प्याकेज प्रबर्धन गर्यो । त्यसले खासै आकर्षित गरेन किनकि घोषणा पछि प्याकेज बोर्डको वेबसाइटमा मात्र सिमित भयो । त्यसमा रारा प्याकेज पनि थियो - ८ दिन रु ३० हजारमा (बसबाट), ४ दिन रु ४० हजारमा (प्लेनबाट) । यो महँगो प्याकेज भयो र रुचाईएन । खर्च गर्नसक्ने यौटा वर्गका नेपालीहरु अचेल विदेश गुम्ने प्याकेजमा जान्छन् भने  मध्यम बर्गीय नेपाली युवा र विद्यार्थीहरुको रुचि बिस्तारै अन्तरिक र केही साहसिक यात्रा गन्तव्य तिर बढेको छ ।

पर्यटन सूचनाको प्रणाली छैन। हचुवा आंकडाहरुको भर परिन्छ।  पर्यटन बोर्डका मुख्य कार्यकारी अधिकृत दिपकराज जोशीका अनुसार गतबर्ष ४५ लाख नेपाली देशभर घुमे रे भनेका छन् । यसको भरपर्दो श्रोत कतै छैन ।  पर्यटन बोर्डले १ लाखदेखि ५ लाख रुपैया तिरेर अनेक महोत्सवका ब्यानरमा नाम र लोगो राख्न मन पराउँछ । र त्यो चिनजान, भनसुन, सिफारिसको हिसावले चल्ने परम्परा जगजाहेर छ । जिल्लाका पर्यटन समितिहरुले भरपर्दो प्रोफाइलसम्म राखेका छैनन् ।  सरकारले दुईवर्ष अघि विसं २०७१ को बजेटमा सरकारी कर्मचारीलाई १५ दिनको घुम्ने बिदा दिने घोषणा गरेको थियो तर त्यो खै कता पुग्यो?

केन्द्रिय सरकारले भर्खर उसको सयदिने योजनामा ६ नम्बर प्रदेशको राराको विस्तृत आयोजना प्रतिवेदन तयार गर्ने र ताल्चामा पर्यटक सूचना केन्द्र स्थापना गर्ने उल्लेख गरेको छ ।

पर्यटनको आर्थिक पाटो: 

सबैले कर्णालीको समृद्धिको ढोका पर्यटनले खोल्छ भनिरहेका छन्।  तर यो कति बलियो आधार हुन सक्ला भन्ने प्रश्न टड्कारो छ।  सरकारको सन् २०१६ को आंकडा अनुसार पर्यटनले नेपालको कुल ग्रहस्थ्य उत्पादनमा ८५.२ बिलियन अर्थात् ३.६ प्रतिशत र समग्र रोजगारीमा ६.४ प्रतिशत योगदान दिएको थियो । उत्पादनका विविध क्षेत्रमा समग्र कर्णाली प्रदेशले गर्ने योगदान ५ प्रतिशतभन्दा कम छ । त्यस्तै, होटल रेस्टुरेन्ट व्यवसाय, जुन पर्यटनको नजिक छन्, ले २ प्रतिशत भन्दा कम योगदान गरेका छन् । प्रायः अन्तरिक पर्यटकले शुल्क वा रोयल्टी तिर्नपर्ने व्यवस्था हुँदैन।  त्यसैले सरकारी ढुकुटीलाई यसले प्रत्यक्ष लाभ हुँदैन । सन् २०१६ मा रोयल्टी स्वरूप रारा राष्ट्रिय निकुञ्जले रु १,४१० र शे फ़ोक्सुण्डोले १२,९३८ मात्र कमाएका रहेछन् । पर्यटनले प्रत्यक्ष रोजगारी र व्यवसाय प्रबर्धनमा टेवा पुर्याउन सक्छ तर त्यसको लागि गन्तव्यमा पर्यटकको औसत बसाई लम्ब्याउने उपाय चाहिन्छ ।  विदेशी पर्यटकको औसत नेपाल बसाई १३.२ दिन छ तर यो दसकौंदेखि बढेको छैन । कर्णालीमा ४-५ दिन र रारामा जम्मा १. ५ दिनको औसत बसाईले खर्चको आकार बढ्दैन । औसत नेपालीको आयको करिब ७० प्रतिशत खाना र दैनिक अवाश्यकाताका साधनको परिपूर्ति मै सकिन्छ भने घुमेर खर्च गर्ने अवस्थामा पुग्न  त अझैं कति धेरैबर्ष लाग्ने होला ।  तसर्थ कर्णाली घुम्नजानेहरुको खर्चको दयारा निकै कम हुने भएकोले तत्काल प्रदेशको अर्थतन्त्रमा मद्दत पुग्दैन।

मौसमी पर्यटन, लगानी चुनौती र दीर्घकालीन असर: 

पर्यटन गन्तव्यहरुमा जति सुबिधा थप्यो त्यति आकर्षण बढ्छ । त्यसको लागि पूर्वाधार चाहिन्छ।  पूर्वाधारको लागि लगानी र लगानी गरेपछि प्रतिफलको सुनिश्चितता । पर्यटनका प्रमुख गन्तव्यहरुमा सबै सिजन चल्ने गन्तव्यहरु जस्तै काठमाडौँ, पोखरा, चितवन, लुम्बिनी, मनकामना, धुलिखेल, नगरकोट आदि हुन् । अन्य प्रमुख गन्तव्यहरु जस्तै मनाङ्ग, मुस्तांग, रारा, खप्तड आदि  सिजनल हुन् ।  सिजनल र दुर्गम हुनुले यता व्यवसायीहरु आफ्नो लगानी सुरक्षित हुनसक्ने आधार देख्दैनन् ।

मध्यमवर्गीय र कामकाजी नेपालीहरुले घुम्न रुचाउने मुख्य समय दशैं र तिहार बीचको अवधि हो । किनकी यो बेला प्रायः स्कुल बन्द हुन्छन्, मौसम पनि अनुकुल हुन्छ र सार्वजनिक बिदाहरु जोडेर लामो छुट्टि बिताउन पनि सकिन्छ । त्यसैले यो अवधिमा आन्तरिक पर्यटन पनि ह्वात्तै  बढ्छ। गन्तव्यहरुमा त्यो चाप धान्ने पूर्वाधार भने छैनन्।  व्यवसायीका अनुसार गतवर्ष यो सिजनमा निकै चलेको गन्तव्य मनाङ्गमा  प्रतिदिन  ४०० - ५०० पर्यटक आउदा बास मिलाउन मुस्किल परेको थियो । त्यै सिजनमा रारामा दैनिक १५०-२०० हाराहारी पर्यटक पुग्दा खाना, बास र यातायातको असुबिधाले पिडित हुनपुगे । त्यो सिजनमा आसपासको गाउँ र बाटोमा होमस्टेको सम्भावना बलियो छ तर त्यो सुबिधा जुटाउन पनि स्थानीयहरु संग समय, सामर्थ्य  र सचेतना छैन।

कर्णाली प्रदेशबासीको अहिलेको कमजोर आर्थिक सामर्थ्यको फाइदा लिंदै कति व्यापारी र दलालहरु लोभ्याएर स्थानीयहरुबाट जग्गाजमिन किन्दै छन्।  यसले भविष्यमा कर्णालीका जनता झन् गरीब र भूमिहीन हुनजाने खतरा टड्कारो छ।

र, अन्तमा -

हाल उपलब्ध सिमित बजेट जनतासंग प्रत्यक्ष जोडिएका जल्दाबल्दा अन्य समस्याहरुको तत्काल समाधानमा उपयोग गर्न सकिन्थ्यो । तत्काल कर्णाली राजमार्गका बिग्रेका भत्केका ठाउँ मर्मत गरी खाल्डाखुल्डी मुक्त बनाउन सकिन्थ्यो ।  स्वास्थ्यचौकीहरुमा औषधी पुर्याउन सकिन्थ्यो। संभावित प्रकोप र महामारी नियन्त्रण गर्ने तयारी गर्न सकिन्थ्यो। आपतकालीन उद्धार र राहत सेवाको आधार तयार गर्न सकिन्थ्यो।  सबैतिर संचारको विश्वसनीय पहुँच पुर्याउन सकिन्थ्यो  र प्रदेशको समृद्ध भविष्यका लागि अन्य कतिपय तयारीहरु पनि गर्न सकिन्थ्यो । तथापी, रारा-कर्णाली महोत्सव पनि एक विकल्प हो । यसले संघीय सरकारी संयन्त्रलाई  कर्णालीको पर्यटन प्रवर्धनका लागि प्राथमिकतापूर्वक श्रोत विनियोजन गर्न कत्तिको नैतिक दबाव दिन सकेछ भन्ने कुरा आगामी बजेट हेरेपछि थाहा हुनेछ । र, त्यो नै महोत्सवको सफलताको मानक ठानिने छ।

यो ब्लग सेतोपटीमा प्रकाशित छ।  हेर्नुहोस् : https://setopati.com/setopati-blog/146763


---समाप्त---- फान्चौरी