Thursday, April 15, 2021

दे..उडा!


These are the collection of Deuda songs that I occasionally write for my "De_Uda!" posts in twitter @madhavjee. I keep on updating this list as I make new posts. 

सवाल: 
काँ थी राखुँ थाल बटुकाे, काँ थी राखुँ लाेटा । 
आफूले दाल भातु खायाै, अक्का कन राेटा ।।

जवाफ: 
ताँईथी राख थाल बटुकाे, ताईं राखिल लाेटा । 
आज्कल भात खान्या भन्दा, राेटा खान्या माेटा ।।

सवाल:  
गाडघट्ट उरेल्लाे छट्ट, पिनि ल्याईआ धुलाे । 
नेता जत्ति बेमान भन्दा, सेखी मात्तै ठूलाे ।। 

जवाफ: 
जैले देखुँ ओभानै छ, गाजिमेल्या कुलाे । 
सप्पै काम गडबडी गर्न्या, काे मानला ठूलाे ।।

जनताकाे सवाल: 
भन्याले झगडा हुन्या, नभनि नहुन्या । 
मिलिजुली टाली हाल, तिम्रा घर चुन्या ।। 

नेताकाे उत्तर: 
सिलंङ्गी चाैताराेबाट, डाकाे लाउनाे मान्या। 
पाेईल मु सबैका जान्या, घर गरी नखान्या ।।

जन्ताकाे सवाल: 
आधा खायाै आधा राख्याै, दाडिमकाे बाेक्राे । 
घरका बुडेउली मान्ठ, कुडा किन खाेक्राे? 

नेताकाे जवाफ: 
हुड्डाे मेराे भरिन्या नाईं, तिरतिर्या पानीले । 
सबैकाे रहडी भयाँ, यै आनि बानिले ।।

जनताकाे सवाल: 
लेकका तिर्खुला सक्याै, ओैल सक्याै गीठा । 
चिनी खाई बाेल्दा छाै क्यार, कुडा कति मीठा ।। 

ओलीकाे जवाफ: 
बगाल छुटेकाे बाख्राे, बाघ देख्या तर्सिगाे । 
एकदुई टुक्का बाेलिदियाँ, ताली त बर्सिगाे ।।

जनताकाे प्रश्न: 
शहरमै सिङ् खाेज्दै छाै कि, गाउँतिर धाउन्या हाै? 
क्या छ त नीति र चाल, क्या गर्न आउन्या हाै? 

नेताकाे जवाफ: 
ट्याक्कटुक्क टुक्का हान्याे, साेझा जन्ता भुट्याे । 
दामदारुले चुनाव जित्याे, उई ढुकुटी लुट्याे ।।

जनताकाे सवाल: 
भाईभाईकाे झगडा पड्याे, बुईनीले बन गरी । 
जन्ता कहिले सु:ख बस्न्या, एकुराे मन गरी?? 

नेताकाे जवाफ: 
गाेठालाे गाई चराई आला, बसिजाउ गाेठ मै । 
आश देखाउन्या सिंगापुरकाे, छुपिदाउ भाेट मै ।।

जन्ता: 
क्या मिलायाै हलिबल्ल, क्या छ चाँजाेपाँजाे? 
सबैका खेत राेपीसक्या, हाम्राे किन बाँझाे? 

ओल्बा: 
बन मेरै कस्तुराे मेरै, मै बनकाे राजा ।। 
चुट्किला उम्रिन्या खेत, धान राेपुँ कि गाँजा?

जन्ता: 
गाेठ आगाे किन बल्याे, घरिना छुई छन् कि । 
कटु बाेल्ने कालाे जिब्राे, एकहैन दुई छन् कि? 

नेता: 
राम रूँदै रामका भाई रूँदै, सीता रुँदै बन । 
दाउ मेराे रावणका जसाे, दश तिरै छ मन ।

जन्ता: 
राती उँधै दिउँस उँधै, कहाँ जान्छस् पानी..अ! 
जति बाेल्याे उति फुर्क्याे, झुठका खानी..अ!! 

नेता: 
डाली निउँताई खानु छैन, सुन्तला दानी..अ । 
ज्यानै जाला छुट्न्या छैन, लागेका बानी..अ ।।

जन्ता: 
आग लाग्याे चुलीका लेख, दाउरा बल्या धुनी । 
के सिकाैंला बाज तिम्रा, गाली ठट्टा सुनि ?!

नेता: 
हाल् बउजू ताेरीका तेल, फुका नन्द केश । 
गफ रूचाउन्या नेफाेलीलाई, देश अन्सार भेष ।।

जन्ता: 
अरु फुल्याे जैलेकैले, आरु फुल्याे चैत । 
काेकाे धामी पतुर्दाछन्, काे ठाैरकाे पैठ?? 

नेता: 
कम्मरकाे गागरी खस्याे, पानी रण्डमण्ड। 
बाटामै पतुर्न लाग्या, ओली र प्रचण्ड ।।

जन्ता: 
काँ हाेला सुक्याकाे भिट्टाे, काँ हाेला हरियाे । 
आँखाचिम्लि किन बाेल्छाै, थुकछिटा भरियाे ।। 

नेता: 
सिपालु त सिपालु छुँ, जान्ने त जान्ने छुँ । 
यस्तै छ सिक्याकाे मैले, मै सर्वे ठान्ने हुँ ।।

मन १: 
सातै सल्ला ढल्लपल्ल, टुपा बयालुअ। 
काे दरा छै क्या फल खान्छै, रंगी मायालुअ।।

मन २: 
मनाैंदाे हुरहुरी बल्याे, पिरतिकाे राँकाे। द
ई भया बास्मति चामल, मै हालुँला फाँकाे।। 

मन ३: 
पास आईजा कस्तुरीअ, मगमग बसाउने। 
बैरी हुँदाे मायाजाल, कलेजी रसाउने ।

(DEMOCRACY DAY SPECIAL)
जन्ता: 
एक कुडाे मनाैंदाे आयाे, साेधुँ साेधुँ भा´छ । 
प्रजातन्त्र आयाे भन्दा, हाम्माे लागि काँछ? 

नेता: 
कतिदिन झुठ्कुडा बाेलुँ, साँचै बाेल्याँ आज। 
भेडा हाै भेडा भई बस, हाम्मा राज काज ।।

प्रेमभाव विशेष 
मन १: 
जाँ जुम्ली जा हुँईं जाड्या जा, हुईं जुम्लीकी जाेई जा। 
धन भन्नु हातकाे मैला, मन उँज्यालाे भईजा । 

मन २: 
अईले ओेैल नुन पाईंजाँदाे, ताउलाखार काे जा । 
बाजका काेलाैंदाे बसि, माम खानुकाे मजा ।

नेता: 
मुस्किल हुनाे खाेली तर्न, ढुंगामा लेउ लागि । 
जपना जन्ता कै गर्छाैं, क्वै तारी देउला कि? 

जन्ता:
याे डाली उ डाली गर्दा, बाँदर रुख चड्याका । 
तावा दै उफ्रेकाे माछाे, भुङ्ग्राउँदाे पड्याका ।।

जन्ता: 
आगाकाे कुराउनी छैन, पानीकाे तर छैन । 
मुर्खकाे मुलाकाज छैन, नेताकाे भर छैन । 

नेता:
भैंसी माेटी लेख चर्याकी, गाई माेटी गैराकी । 
वल्लाे गुठ पल्लाे गुठ गद्दै, भईगयाैं बैरागी ।।

LOVE MESSAGE
छाेट्टी: 
साई काट रुँईसकी डाली, मै काटुँली खर्सु । 
फुलबाडी ओईलाउन लाग्याे, मेघ् पानिअ बर्सु ।। 

छाेट्या: 
पलपल बटुकिअ पुन्न पल घ्यू छ । 
नमस्क्यै पानसका फूल, त्याँउँदाै मेराे ज्यू छ ।।

जन्ता: 
चैतमास सुक्न्या खाेली, भदुअका भेल । 
कै गुट उज्यालाे हाेलाई, मेरा ताप्न्या बेल ।। 

छाेटेनेता: 
माैरी पड्या अलपत्र, बिग्रि गयाे रानुँ । 
बेल उस्तै चम्किन्याँ आशा, काेई अब नमानुँ ।।

निष्ठुरी माया
छाेट्टया: 
क्यै ताेडी तेलका धारा, क्यै ताेडी पिना भै । 
मेरी बाज तेराे माया, कस्तुरी बिना भै । 

छाेट्टी: 
ठाउँपन बिरानाे मान्दाे, बाटाेपन फेराे । 
मन मेराे उर्लिंदाे भाैती, भर नमान्यै मेराे ।।

जन्ता: 
पछ्याैरीकाे फेर उडायाे, बयाली सर्काले। 
एउटाले धारेहात गर्याे, मुख छाड्याे अर्काले ।। 

नेता: 
गाेठालाले पानी खान्या, सिरुपाते धाराे । 
खाँङ फाली न गाली गरी, मन बुझाउन गाह्राे ।।

CORONA SPECIAL
मन्त्रालय: 
बर्षैभरी विश्वैभरी, सर्याे काेर्ना सर्याे । 
फेरी छाल उर्लिन लाग्याे, सचेत हुनुपर्याे।। 

कार्यकर्ता: 
जन्ताकन ऐन बनेकाे, नेताकन चैन । 
हामी त नेताका माण्ठ, काेर्नासाेर्ना छैन ।।

YEAR-REVIEW
जन्ता: 
पाकिकन लाल भैगया, गल्काैंडी झालभरि । 
क्या खति क्या उपति भाे, सतहत्तर सालभरि? 

नेता: 
राता काला चाैंरी फुर्का, भाेट्याका पालभरि । 
न भाउ पाईयाे, न भाग मिल्याे, सतहत्तर सालभरि।

NEWYEAR SPECIAL
नेता: 
आईगयाे बैशाख महिना, लाग्याे नयाँ साल। 
समृद्ध नेपाली जन्ता, हाँसि खेलि हाल ।। 

जन्ता: 
बन डढेर धुँवाधुँवा मन जलेकाे आँसु । 
हुँईंमाथि काेराेना कहर, म कसरी हाँसु?

नेपालीले घुम्‍ने बर्दिया राष्ट्रिय निकुञ्ज

यसपालि नेपालगन्ज सहरदेखि साइकल चलाउँदै बर्दिया राष्ट्रिय निकुञ्जछेउको ठाकुरद्वार पुग्दा त्यहाँका पर्यटन व्यवसायी र निकुञ्ज प्रशासनले निकै सहृदयतापूर्वक आतिथ्य देखाए । हामीलाई त्यहाँको वस्तुस्थितिबारे विस्तारमा वर्णन गरे ।

बर्दिया अब आन्तरिक पर्यटन केन्द्रित रणनीति खोजिरहेको छ । हामी ‘टुर डे ठाकुरद्वार’मा सहभागी साइक्लिस्टसहित करिब दुई सयजना आन्तरिक पर्यटन प्रवर्धनको उद्देश्यले त्यहाँ पुगेका थियौँ ।

सन् १९८८ मा बर्दिया राष्ट्रिय निकुञ्ज घोषणा हुनुअघि करिब दुई दशकसम्म यो ठाउँ शिकार आरक्ष तथा वन्यजन्तु संरक्षण केन्द्र थियो । सन् १८१५ को सुगौली सन्धिमा गुमेका ठाउँ सन् १८६० नयाँ मुलुकका रूपमा फिर्ता पाएपछि यो नेपालको भयो ।

ब्रिटिस इन्डियाले यस क्षेत्रमा प्रत्यक्ष शासन गरेको ४५ वर्षमा वन्यजन्तुको शिकार तथा वनपैदावारको व्यापक तस्करी भयो । त्यसपछि राणा र राजाका पालामा उनीहरूका पाहुनासहित शिकार खेल्न आउने ठाउँ बन्यो । निकुञ्ज बनेकै वर्ष बेलायती व्यवसायी जीम एडवार्डस्ले यहाँ टाइगर टप्स कर्णाली लज खोलेपछि भने औपचारिकरूपमा बर्दियामा बाघ हेर्ने विदेशी पर्यटक आउन थाले । त्यसयता यहाँ पर्यटकीय दृष्टिबाट संरक्षण प्रयास र गतिविधि विकास हुन थाले ।

तथापि वि.सं. २०५० सम्म वर्षेनि औसतमा तीन सयजना जति विदेशी मात्रले भ्रमण गरिरहेका हुन्थे । त्यसपछि बिस्तारै विदेशी सँगसँगै नेपाली पर्यटक आगमन बढ्न थाल्यो । विसं. २०५८ सम्म आइपुग्दा वर्षेनि राष्ट्रिय निकुञ्ज प्रवेश टिकट काट्ने संख्या १० हजार ७५० सम्म पुग्यो ।

तर, राजपरिवार हत्याकाण्ड, माओवादी जनयुद्धको उत्कर्ष, शान्ति सम्झौतापछि कायम राजनीतिक अस्थिरता, बन्द, हड्ताल आदि कारणले त्यसपछिका वर्षहरूमा बर्दिया भ्रमण गर्ने यात्रीको संख्या ह्वात्तै घट्यो । वार्षिक पर्यटक आगमनको उही विन्दुमा फेरि फर्किन एक दशक बढी समय लाग्यो । संविधान सभाको चुनावपछि झन् उत्साहजनक सुधार भयो । कोेरोनाले पर्यटन तहसनहस पार्नुभन्द अघिल्लो वर्ष झण्डै पच्चीस हजार पर्यटकले बर्दिया राष्ट्रिय निकुञ्ज घुमेका थिए ।

यसरी आउने पर्यटकमा दुई तिहाइ नेपाली हुन् । सयजना पर्यटकमध्ये चार जनामात्र सार्क राष्ट्रका हुन्‍छन् । यसले के इंगित गर्छ भने नेपालीहरूमा भ्रमणप्रति व्यापक रुचि बढिरहेको छ भने भारतको विशाल जनसंख्यालाई बर्दियामा अझै आकर्षित गरिएको छैन । नेपाल खुले पनि तेस्रो विश्वका पर्यटकको आगमन बढ्न अझै कति समय लाग्ला ? अर्थात्, यदि देशमा शान्ति कायम रहेपछि आन्तरिक पर्यटनको प्रचुर सम्भावना छ । त्यसैले अब यहाँका पर्यटन व्यवसायी आन्तरिक पर्यटन बढाउन प्रयासरत छन् ।

हामीलाई त्यहाँको पर्यापर्यटन विकास मञ्चका अध्यक्ष कृष्णप्रसाद भट्टराई र सदस्य सोन्या रष्टिकस्ले प्रस्तुतीकरणमार्फत बर्दिया राष्ट्रिय निकुञ्जमा दिगो पर्यटन विकास र व्यवस्थापनसम्बन्धी जानकारी दिए । यहाँ सञ्चालनमा रहेका २४ वटा होटल, लज र होमस्टे मिलेर गठन गरिएको मञ्चले पर्यटन प्रवर्धनका विविध गतिविधि बढाउन भूमिका खेल्छ ।

यहाँ पर्यटन तथा प्रकृति संरक्षणका लागि राष्ट्रिय निकुञ्ज व्यवस्थापन, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेचर गाइड एसोसियसन, समुदायमा आधारित वन्यजन्तु तस्करीविरुद्ध काम गर्ने एकाइ, चरा प्रकृति संरक्षण क्लब, बफरजोन समिति, नेपाल पर्यटन बोर्ड, ठाकुरबाबा नगरपालिका लगायत संस्थाहरू सक्रिय छन् ।

राष्ट्रिय निकुञ्जको क्षेत्रफल करिब ९६८ वर्गकिलोमिटर छ । यो शिवालिक पर्वत शृंखलाको दक्षिणी भेकमा कर्णाली नदी पूर्वबाट कोहलपुर हुँदै सुर्खेत जाने राजमार्गको पश्चिमसम्म फैलिएको छ । बबई नदी यो निकुञ्जको बीचमा भएर बग्छ । अचेल यसको केही खण्ड बाँके राष्ट्रिय निकुञ्जसँग पनि जोडिएर वन्यजन्तुको विचरण विस्तार भएको छ ।



सोन्याले हामीलाई राष्ट्रिय निकुञ्जबारे बताएका केही जानकारीहरू निकै रोचक थिए । बर्दिया राष्ट्रिय निकुञ्ज भन्‍नेबित्तिकै चिडियाखाना बाहिर प्राकृतिक अवस्थामै बाघ हेर्न पाइने ठाउँका रूपमा प्रख्यात छ । तर यहाँ बाघलगायत अरु दशवटा संकटापन्‍न प्रजातिका वन्यजन्तु पनि पाइन्‍छन् । जस्तैः एकसिंगे गैडा, जंगली एसियाली हात्ती, डल्फिन, केही हरिण प्रजातिका जन्तु, चितुवा आदि ।

विश्वभरि करिब चार हजार बाघ छन् । दुई वर्षअघि बाघगणना अनुसार नेपालमा २३५ वटा बाघ थिए । बर्दियामा ८७ वटा छन् । पछिल्लो दश वर्षमा बाघको संख्यामा गुणात्मक वृद्धि भएको छ । यही अवधिमा बाघको आहारा मानिने हरिण प्रजातिको पनि जनघनत्व प्रतिकिमि ६८ बाट बढेर ९६ पुगेको छ । अर्थात् यहाँ बाघसहित अन्य जीवजन्तुको संख्या पनि उल्लेख्य वृद्धि भएको छ । यसको मतलब यहाँ चोरीशिकारीका घटना रोकिएका छन् तथा संरक्षणका प्रयासहरूले सफलता पाइरहेको छ । यहाँका मानिस बाघ संरक्षणमा योगदान गर्ने हलिउड हिरो लियोनार्दो डि क्याप्रियोको नाम लिन छुटाउँदैनन् ।

जंगल सफारीमा बाघ देख्‍न सकिने सम्भावना बढेको छ । हाम्रो साइक्लिस्टहरूको एक समूहले पनि बाघ भेटे फोटो खिचेका थिए । बाघको संख्या बढेपछि स्थानीयहरूमा बाघको डर पनि बढेको छ । केही हप्ता अघि गुडिरहेको मोटरसाइकलमा बाघले आक्रमण गरी मान्‍छे मारेपछि राजमार्गको अम्रेनीबाट ठाकुरद्वार रातीको यात्रा निषेध गरिएको छ भनी यही खण्डमा हामीलाई स्कर्टिङ गरिरहेका प्रहरीले भनेका थिए ।

अचेल निकुञ्जभित्र ६४२ प्रजातिका जीवजन्तु पाइन्‍छन् जसमध्ये ५५ वटा स्तनधारी प्राणी छन् । यहाँ गैँडाको संख्यामा खासै वृद्धि भएको छैन । निकुञ्जभित्र हाल ३६ वटा गैँडा छन् । जंगली हात्तीको झुण्डहरू नेपाल-भारत वारपार गरिरहने हुनाले उनीहरूको संख्या यकिन छैन ।

जलचरहरूमा घडियाल गोही संकटापन्‍न जीव मानिन्‍छ । हाल १६ वटा घडियाल भेटिन्‍छन् । यदाकदा कर्णाली नदीमा डल्फिन पनि भेटिन्‍छ । बर्दिया राष्ट्रिय निकुञ्ज सयौँ प्रकारका चराचुरुंगी बस्ने ठाउँ पनि हो । यहाँको जंगल, फाँट र नदीहरूमा ५१३ प्रजातिका चराहरू भेटिन्‍छन् । यो चराप्रेमीहरूका लागि एक गजबको गन्तव्य हो ।

निकुञ्ज आसपासको सांस्कृतिक मौलिकता पनि विशिष्ट छ । थारु जातिको बस्ती, रहनसहन, संस्कृति खानपिनले पनि पर्यटक लोभ्याउन सक्छ । आन्तरिक पर्यटक भएर यहाँ भ्रमण गर्नेहरूले जीप वा पैदल जंगल सफारी, फिसिङ, र्याफ्टिङ, बर्ड वाचिङ, हात्ती शयर, क्याम्पिङ, संग्रहालय भ्रमण, गोही तथा हात्ती प्रजनन केन्द्र भ्रमणजस्ता विविध पर्यटकीय गतिविधि गर्न सक्छन् ।



हालसम्म नेपाली यात्रीहरू यहाँ औसतमा एक रातमात्र बिताउँछन् । बसाई जति लम्ब्याउन सकियो पयर्टनबाट उति नै लाभ लिन सकिन्‍छ । त्यसका लागि नेपालीमाझ पर्यटकीय गतिविधिबारे आकर्षण जगाउन आवश्यक छ । राष्ट्रिय निकुञ्ज व्यवस्थापनले भर्खरै निकुञ्जमा केही महत्वपूर्ण सुधार गरेको छ । निकुञ्जको पाँच स्थानमा गेट बनेको छ । ती सबै गेटहरूबाट पर्यटक प्रवेश दिने तयारी गरिएको जानकारी निकुञ्ज व्यवस्थापक विष्णु श्रेष्ठले हामीलाई सुनाएका थिए । योसँगै निकुञ्जभित्र बाटोको विस्तार गरिएको छ, हेर्ने टावरहरू थपिएको छ भने क्याम्पिङ साइटहरू पनि बनाइएको छ ।

त्यसबाहेक, घाँसे मैदान तथा पानी निकास मर्मत र व्यवस्थापन, वन्यजन्तु तस्करविरोधी दस्ता परिचालन, राजमार्गमा सवारी गति नियन्त्रण र वन्यजन्तु मानव समुदायबीच हुने द्वन्द्व व्यवस्थापन जस्ता कार्य पनि भइरहेको छ । बढ्दो पर्यटकीय आगमनलाई लक्षित गरी हाल यहाँ २९ वटा होटल तथा लज सञ्चालनमा छन् । सबै जोडेर ८ सय जति बेड संख्या उपलब्ध छन् । यसमा ३५० भन्दा बढी कर्मचारी प्रत्यक्ष रोजगारी पाएका छन् ।



सूक्ष्म अर्थतन्त्रका रूपमा स्थानीय समुदायमा अप्रत्यक्ष तर महत्वपूर्ण योगदान भइरहेको हुन्‍छ । जस्तै : पर्यापर्यटन विकास मञ्चका अध्यक्ष कृष्णप्रसाद भट्टराईले भने अनुसार दश हजार पर्यटकले भ्रमण गर्दा कम्तीमा दुई करोड रुपैयाँ स्थानीय समुदायमा पुग्छ । एउटा आँकडाअनुसार यहाँ आउने पर्यटकले हाल औसत तीन हजार रुपैयाँ खर्च गर्ने गरेका छन् । यहाँ विद्यमान केही समस्यालाई समाधान गर्न जरुरी छ ।

आम मानिसलाई आवागमन सहज गर्न यातायातको सुविधा बढाउन जरुरी छ । सडकको बहुविकल्प विस्तार गर्नुपर्छ । दक्षिणबाट प्रवेश गर्ने बाटो कच्ची छ । बाटोमा कतै पनि संकेत छैन । ठाकुरद्वारमा बसपार्क र टर्मिनल पनि छैन । विदेशीहरूका लागि लिइने उच्च हवाई भाडादरले कतिपयलाई निरुत्साहन गरेको पाइन्‍छ ।

प्रदूषणको समस्या दिन प्रतिदिन बढ्दो छ । निकुञ्ज नजिकको बजार र बस्तीहरूमा उत्सव र चाडपर्वको बाहानामा प्रायः ध्वनि प्रदूषण भइरहन्‍छ । गाडीहरूको हर्नमा पनि नियन्त्रण छैन । यसै गरी फोहोर व्यवस्थापन जटिल बन्दै छ ।

बाटो छेउछाउ जथाभावी फालिएका प्लास्टिकजन्य फोहोरले जैविक विविधतामा असर गर्छ । केही महिनाअघि यहाँका अभियन्ताहरूले जंगलभित्र तीस किमि सडकको आसपासबाट तीन ट्रली फोहोर टिपेर विसर्जन गरेका थिए । यसरी फोहोर गर्ने यात्रीहरू सबैजसो नेपाली पर्यटक र स्थानीयहरू नै हुन्‍छन् ।



पर्यटकको चाप घटाउने उपाय पनि क्रमशः अवलम्बन गर्दै जानुपर्छ । निश्चित सीमाभन्दा बढी पर्यटकको आगमन वातावरणीय सन्तुनलका निम्ति प्रत्युत्पादक हुनसक्छ । त्यसैले भार वितरणका निम्ति आसपासका पर्यटकीय सम्भावना भएका स्थलहरूको विकास गरिनुपर्छ ।

जस्तै : यहाँ कर्णाली चिसापानीको पुल, एक किलोमिटर लामो कोठीयाघाट पुल, टिकापुर पार्क, खैरापुर कृष्णसार केन्द्र, बढैया ताल, डल्ला गाउँ हाेमस्‍टे आदी । हामी साइकलमा यी ठाउँ पुगेका थियौँ । यहाँबाट पर्यटकलाई कर्णालीक्षेत्र र सुदूरपश्चिमसँग जोड्ने प्याकेजको पनि आवश्यकता छ ।

हामी नेपालगन्ज साइक्लिङ क्लब र नाट्टा नेपालगन्ज च्याप्टरले आयोजना गरेको ‘टुर डे ठाकुरद्वार’मा नेपालका पाँच दर्जन भन्दा बढी जिल्ला र केही भारतबाट आएका डेढ सय जना सहभागी थियौँ । कोभिडले सुस्ताएको जीवन र व्यवसायमा यस्ता गतिविधिले नयाँ उमंग र चहलपहल ल्याउँछन् ।



पहिलो दिन नेपालगन्जको बागेश्वरी मन्दिर प्रांगणबाट साइकल चलाउँदै ८८ किमी दुरीमा बर्दियाको ठाकुरद्धारासम्म पुगेका थियौँ । राईडको क्रममा बर्दियाको बढैयाताल, गुलरिया र खैरापुरको कृष्णसार केन्द्र पनि घुम्यौँ । दोस्रो दिन निकुञ्ज आसपास र गेरुवा नदी माथिको १०५० मिटर लामो पुल घुम्यौँ ।

यसैदिन बेलुका स्थानीय पर्या-पर्यटन मन्च तथा निकुञ्ज व्यवस्थापनसँग आन्तरिक पर्यटन प्रवर्धनबारे छलफल कार्यक्रम भयो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा‍ धनन्‍जय रेग्मीले हामीले साइक्लिङ गरेर आएको यो रुटलाई औपचारिक ट्रेलको आधिकारिकता दिने घोषण र रुट नक्सा अनावरण गरे । तेस्रो दिन उत्तरतर्फ अम्रेनीसम्म आएर पूर्वपश्चिम राजमार्ग हुँदै नेपालगन्ज फर्कियौँ । 

(लेखक चौलागाँईं कर्णाली राइडर्सका सदस्य हुन् ।)

प्रकाशित https://ekagaj.com/article/tourism/6570
फागुन १, २०७७ ११:४६ बजे