Thursday, March 29, 2018

महाबु लाग्ना: बिर्सिईन लागेको बाटोको यात्रा - २


नाउली (२७०० मि) पुग्दा झम्मक्कै रात पर्यो  । ठाडो उकालो र ढुङ्गैढुंगाको बाटो उक्लेपछि फलेक छाएको दुइतले झुपडी होटल आयो ।  साहुनी बुढीमान्छे, तिनकी छोरी र नाती थिए ।  म सँगैका साथीहरुले चिनेका नातेदार पर्ने रहेछन् । त्यहाँ यौटा भेड़ीगोठाला पनि  भेटिए - सापुल्ली जुम्लाका बीरबहादुर रावत ।  बिगत १२ बर्षदेखि उनि आफ्ना भेडासंग यतै बन चरनमा हिडिरहँदा रहेछन् । आज उनकी छोरी भेडीगोठमा एक्लै रहिछन् । बेलाबेला स्काईफोन नेटवर्कको मोबाइलमा कुरो गरिरहेका हुन्थे ।  रावतजी बातैपिच्छे यति टुक्का जोड्थे कि बुझ्न हम्मे परेपनि सुन्न भने निकै रमाइलो लाग्थ्यो । लोकल रक्सि र आलुको तरकारीसंग उनीहरु गफिंदै गए । म छेउको पेटीमा पल्टिएर गफ सुन्दै बसें । उनीहरुका जीवनका अनेक आरोहअबरोहका कथाहरु सुनिए । ती बातचित समेटेको छुट्टै कथा ब्लग लेख्न पर्ला ।
            
सामान्य दालभात र आलुको तरकारी सहितको खाना अति मीठो, थपिथपि खाईयो । सुत्नलाई छेउकै अर्को झुपडीमा गयौं । चिसोचिसो कोठामा त्यहाँ ४ बेड थिए । दुइटा जोडीहरुलाई  दुइटा बेड, म र अर्को केटो एउटामा र बीरबहादुर बड्डा अर्कोमा सुत्यौं । गफ निरन्तर थियो । ब्ल्याङ्केट भित्रबाट कुरा गरिरहेको सुनिन्थ्यो।  म कतिबजे निदाएँ पत्तै भएन।  ब्युँझिदा त छ्याङ्ग उज्यालो भैसकेको थियो। उता चुलोमा बलेको मुढो निभेकै थिएन।  पानी तातिसकेको र सादा चिया पाकिसकेको थियो।  हामी तयार भएर यात्रामा अघिबढ्यौं । एकैछिनमा फेरी कुहिरोले ढाक्यो । फाट्टफुट्ट खुलेकोबेला माथी आकास भने निलो देखिन्थ्यो। अघाडी उत्तरतर्फ माहबु देखियो। ठडिएको।  त्यो पार गर्नु छ।

हामी महाबु लेकको फेद उनपाटा (३१०० मि) पुग्दा यौटा पसल भेटियो - राजबहादुर सिंहको । बाटोमा उनकोबारे  निकै सुनेको थिएँ।  दैलेख बजारमा भेटेका पत्रकार भुपेन्द्र शाहीले राजबहादुर र उनकी छोरीको नम्बर दिएका थिए।  बाटोमा संगै हिडेका जयबहादुरले पनि भनेका थिए । महाबु लेक पुग्नु अघि भेटिने यहि यौटामात्र अन्तिम पसल रहेछ । सिंहजी कतै गाउँतिर गएका रैछन ।  छोरीको बिहे भैसकेछ।  अहिले  पसलमा उनका ज्वाईं थिए ।  उनले पानी र  च्या/बिस्कुट खुवाए ।  १२-१५ होटल/पसल भएको यो ठाउँ बिगतमा निकै चल्ने बजार रहेछ तर जुम्लीहरुले हिड्न छोडेपछि भने स्वात्तै सुकेछ। यता बाटोकाट्ने काम हुँदा बीचमा केहिसमय चलेछ पनि । त्यस्तै माहाबु मेलाको बेला पनि केहिदिन अस्थाईरुपमा केही पसल खुल्ने रहेछन् । बाँकी समय खण्डहर झैं सुनसान देखिन्छ।  अचेल फाट्टफुट्ट आउने बटुवाको सेवा यै पसलले दिएको छ ।  'मान्छे यै पसल भेटिन्छ भन्ने आशले हिडेका हुन्छन्।  छोड्न नि नसकिने ।  चलाइरहेका छौं ।  यो रोड बाटो खुले त दिन फर्किन्थे कि ?' ति ज्वाईंले बाध्यता र आभिलाषा  एकैचोटी सुनाए। 'हामीले पनि त्यै खोजेको, एकदिन त बन्ला नि !" हाम्रो टिमको कसैले भन्यो । मेरा साथीहरु यो लेकको ठ्याक्कै अर्को पट्टीपर्ने डिल्लिकोट गाउँका हुन् ।  उनीहरुलाई नजिकको राजमार्ग भेट्न उल्टोबाटो हिड्नु पर्ने भएकोले यो बाटोले  उनिहरुमा पनि दिन फर्किने आशा थियो ।  हामी दिउँसोको खाना खानलाई त्यै डिल्लिकोट गाउँ पुग्ने गरी माहाबु लाग्ना काट्न लाग्यौं ।

'रोड'को बाटो कुहिरोले ढाकेको थियो ।  त्योबाटो  हुँदै काँध पुग्न केही घण्टा लाग्ने रहेछ । पहिला खच्चड र भेडा हाँक्ने बाटो पनि यहि हो । तर हामी भरिया हिड्ने परिचित छोटो बाटो उक्लियौं । भीर र पखेरोको चट्टान उक्लिने बाटो खासमा बाटोजस्तो थिएन । कतैकतै ठूला लाम्चा ढुंगा अड्याएर पाइला टेक्ने ठाउँ बनाएको थियो।  ति ढुंगाका काप र चराहरुबाट घाँस उम्रेर त्यै गोरेटो पनि ढाकिएको थियो । त्यसैले लाग्थ्यो कि यो बाटोमा अचेल मान्छे त्यति हिंड्दैनन् । अघाडी बढिसकेपछि पछाडी फर्किनै मुस्किल हुने ।  आफ्नै झोला र लठ्ठी कतै अल्झेर, ठोकिएर चिप्लिएला जस्तो ।  भीरको बाटो तल हेर्यो पुरै रिङ्गटा लाग्ने, माथी हेर्दा झन् 'क्याप' टोपी खस्ने । घाँसका त्यान्द्रा समातेर वा ढुङ्गाका चुच्चा पक्रिदै  ६०-७० डिग्री स्लोप उक्लिन पर्ने । 'रक क्लाईम्बिङ्ग' गरेको जस्तो लाग्ने । श्वास र मुटुको गति दौडीरहने, पसिना बगिरहने। लेकको टुप्पो हेर्दा नजिकै देखिन्थ्यो तर २-३ ठाउँ आराम गर्नु पर्यो । त्यहिबेला माथी आकासमा प्लेन देखें  ।  सायद त्यो जुम्लाबाट नेपलागंज उडेको थियो । एकछिन् त्यो हेर्दै हवाईयात्राको आनन्दानुभुति कल्पना गरें।  ती मेरा साथीहरुले कुनै गुनासो बिनै उकालो काटे र  मैले पनि पछ्याएँ । केही संघर्ष पछि हामी महाबु (३४५० मिटर) पुग्यौं ।

माहाबुको काँधमा दाहिनेतिरको चट्टाने पखेरो मुनि 'सिमेन्ट'ले बनेको धरमशाला थियो । देब्रेतिर घाँसीलो डाँडामा घोडाघोडी चरिरहेका थिए । उत्तरतिर कालिकोटका केही बस्तीहरु, पर क्षितिज तिर जुम्ला, मुगु  र हुम्लातिरका डाँडा देखिए । एकधर्को हिमाचुचुरा देखिए ।  त्यसभन्दा पर तिब्बत पर्छ सायद । काँधबाट झर्दैगर्दा पानीका मुहानहरु देखिए ।  भर्खर खनेको ढुङ्गैढुङ्गाको बाटो केही तलपुग्दा 'महादेव' को थान भेटियो । साउनभदौ तिर ठूलो मेला लाग्छ रे । हामीले पनि दर्शन गर्यौं । नाङ्गो घाँसे डाँडा सकिए पछि आउने खर्सु लगायत उच्च भेगमा हुने बनस्पतिको जङ्गल, खोल्साखाल्सी हुँदै लसुनढुङ्गा पुग्न एकघण्टा जति लाग्यो । जङ्गलले घेरिएको  सुन्दर घाँसे फाँट लसुनढुङ्गामा गाइबस्तुहरु रमाएर चरिरहेका थिए। बीचतिर केही गोठ यौटा भत्केको गेट थियो।  गेटकै तल यौटा घेरबार गरेको झुपडीमा यौटी सानीकेटी र बाख्राको पाठा उफ्रिरहेका देखिन्थे। फाँट सकेर गाउँ झर्ने ओरालोको छेउमै पसल भेटियो । बाटैमा बसेका केही महिला र काठको पेटीमा बसेका पुरुषहरु गफिंदै थिए। मेरा सहयात्रीहरुको ढोगभेट चल्यो र हालचाल सुन्न सुनाउन थाले।  मैले पानी र चिया खाएँ। भोक लागेको थियो तर मलाई त्यहाँ 'खाना' खान दिएनन्।  शाहीजीले गाउँ पुगेर आफ्नै  घरमा खानुपर्छ भनिसकेका थिए ।  केहि मिनेट ओरालो झरेपछि गाउँ देखियो ।  खेतका तरेलीहरु, थुम्का र फाँटमा कतै छरिएका, कतै जोडिएका काठ र ढुंगाले छाएका घरहरु, मकैका बारी र आसपास घना जङ्गल - डिल्लीकोट गाउँ निकै सुन्दर देखिन्थ्यो ।


गाउँको बीचतिर शाहीजीको घर रहेछ ।  उनकी आमा, ससाना केटाकेटी, र अरु गाउँले महिलाहरु कुरा गरिरहेका थिए । म पेटीमा बसेर आराम गर्न लागें । उनको सानोछोराले मकै भाँचेर ल्यायो।  बाहिरै चुलो थियो, उनकी श्रीमतीले पोलिदिईन। अघि बाटोमा मैले मकैको चर्चा गरेको थिएँ।  त्यै सम्झेर पोल्न बसेको रे ।  ठुल्ठुला दुई घोगा खाइ नसक्दै केहीबेरमा रोटी तरकारी ल्याइदिईन। फटाफट त्यो खाएर हिड्ने तरखर गर्दै थिएँ उनले भनिन् 'खाना पाक्दैछ, एक्कैछिन है ।' मैले कुरोको प्रसंग नबुझेको जस्तो ठानेर तल बारीबाट शाहीजी ले थपे  'घरमै आएका मान्छे, खाना नखाई त जानु भएन । भात पाक्दै छ।' मतलब त्यो २ घोगा पोलेको मकै, तिनवटा रोटी  र दुई बटुको तरकारी खाइ सकेर पनि अब भात नखाई हिड्न नपाउने भएँ  म । अघि हामी  यहाँ पुगेको केहीबेरमा घरकी बुढीआमा रोईरहेको देखेको थिएँ तर किन भन्ने बुझ्न सकेको थिईन । अहिले गाउँकी यौटी महिला आएर सोधपुछ गरिरहेको सुन्दा थाहा पाएँ कि उनकी बुहारी, अर्थात शाहीजी कि श्रीमती जो हामी संगै हिंडेर आएका थियौं, बिरामी भएर दैलेख बजार गएकी रहिछन् र उतै उनको गर्भ तुहिएछ ।  त्यत्रो बाटो  हामी संगै हिंड्दा उनी सहयोगी, फरासिली, छरिती थिइन् । हामीसबै भन्दा चाँडो हिडिरहेकी हुन्थिन् । कतैपनि त्यो  पीडा बोकेर  हिंडेको भेउ नै पाइनँ ।

'खाना' खाएर उनीहरुसँग छुट्टीदा तीन बजिसकेको थियो । शाहीजीको श्रीमतीले बाटोमा खानु भन्दै दुईकोशा पोलेको मकै झोलामा हालिदिईन। म ओरालो झरेर खेतैखेतको बाटो खोल्सो तरेर पारीपट्टी पाखाको बाटो काम्खेत गाउँहुँदै अघिबढें । यो गाउँमा एउटा बिहे रहेछ । सहनाई र दमाहाको  बाजाले डाँडाकाँडा गुञ्जिरहेको थियो ।  हुड्के नाच हेर्न भनि परपर गाउँका मान्छेहरु आइरहेका भेटिए । मलाई पनि रंग हेर्न यतै बसुँ भन्थे तर सकिनँ।  हिडें । ओदाँ गाउँको मुनिपट्टीबाट झोलुङ्गेपुल तरेर पादमघाट (१,५२० मिटर) पुग्दा साढेचार बज्यो ।  चिल्खाया पुग्न अब एक डेढ घण्टाको उकालो छ रे ।  चिया र पानी खान बसें।  नजिकै सानी नानीहरु गीत बजाएर नाच्न थाले । त्यो देखेर मलाई रमाइलो र आनन्द लाग्यो।  तिनीहरुलाई अघि शाहीजीको घरबाट बोकेको मकै दिएँ र  थप नाच्नअनुरोध गरें । उनीहरु निकै सुन्दर नाचे र  मैले भिडियो खिचें ।

अबको बाटो संगै जाने कोही साथी भेटिन्छ कि भनि पर्खेको तर कोही भेटिएन । एक्लै उकालो लागें । केहीबेर मै अध्यारो हुन लाग्यो । माथी डाँडातिर घाँस काटेर फर्किंदै गरेका महिलाहरु देखिए तर तिनीहरुलाई मैले भेट्नै  सकिनँ । कतमपुर गाउँ नपुग्दै झमक्कै भयो । खेतको आली र कुलो मिसिएको बाटो निकै चिप्लो थियो । जुत्ता हिलोमा गढेर भिजिसक्यो ।  मोबाईलको टर्चले नजिक त देखिन्थ्यो तर हिड्ने बाटो चै अनुमानको भरले अघाडी बढ्नुपर्थ्यो । संघर्षमय डेढघण्टा पछि यौटा पसल भेटें ।  पानी मागें ।  साउजीले पानीसंगै काँक्रो पनि ल्याएर दिए र अनि सोधे  'काँ जाने?'  मैले 'चिल्खाया' भनें।  'यतिबेला? अबेर भैसक्यो त। यतै बस्नुस' उनले सुझाव दिए।  भित्र केहि मान्छेहरु थिए।  गफ गर्दै थिए या रक्सि खाँदै वा दुवै।  मलाई यता बस्नु थिएन।  'साथीहरु अघाडी गैसके' भनें । 'ख्वै कुनबेला गएछन् , हामीले त देखेनौं ।' उनले मेरो कुरो पक्रे ।  तर म पानी खाने निहुँ गरी चुप बसें र हिड्ने तरखर गरें।  'पर्खनुस! बाटो चिप्लो, अफ्ठ्यारो छ, फेरी राती डर पनि हुन्छ।  हाम्रा केटाहरुले पुर्याइदिन्छन' भनेर ३ जना केटाहरुलाई मेरो साथ लगाईदिए । मनमा केही तर्कना लिंदै उनीहरुको साथ लागेर हिंडे ।  उनीहरुले बोकेको टर्चले बाटो झन् उज्यालो र सजिलो भयो।  गफ गर्दैगर्दै केहीबेरमा ठिन्के (२१३० मिटर) पुग्यौं।  उनीहरु फर्किए।  म त्यतै पसलतिर भेटिएका यौटा मान्छेको साथ लागेर पर गाउँमा इन्द्रराज दाईको घरमा बास बस्न पुगेँ ।

भोलिपल्ट दिउँसोतिर चंद्रप्रकाशभाई र म गाउँको पूर्वउत्तरतर्फबाट जंगलको ठाडो ओरालो बाटो हुँदै तिलानदीको झोलुङ्गे पुल तरेर पारीपट्टी 'बाली' भन्ने ठाउँ पुग्यौं।  यो कर्णाली राजमार्ग हो । केहीबेरमा बस भेटियो र म जुम्ला तिर लागें।  मेरो पूर्ववत् योजना अनुसार फूलपातीको दिन घर पुगें। यात्राको गज्जब अनुभव सहित।

नोट: यो ब्लगमा प्रयोग गरिएको समुन्द्र सतहबाटको उचाई मोबाईलले रेकर्ड गरिएको हो । 

यात्राको भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोस: https://www.youtube.com/watch?v=3UZcoDiKOb4यसको पहिलो अंक (यात्रा - १) पढ्न यता क्लिक गर्नुहोस्।  http://madhavjee.blogspot.sg/2018/03/blog-post_23.html



---समाप्त----

Friday, March 23, 2018

महाबु लाग्ना: बिर्सिइन लागेको बाटोको यात्रा - १

कर्णाली राजमार्गमा गाडी गुड्न सुरु गरेपछि स्वतः महाबु र हाउडी लाग्ना काटेर जाने बाटाहरु बिर्सिइन लागे । तर यो ब्लग त्यै बाटो हिडेर जाँदाको अनुभव हो:   

दशैँको जुम्ला यात्रा 
२०७४ सालको दशैं छुट्टीमा महाबु लेकको बाटो हिंडेर जुम्ला जाने रहर आयो । नवरात्र शुरु भैसकेको थियो । काठमाडौबाट कामको सिलसिलामा नेपालगंज पुगेको थिएँ । दशैँमा घर जान लागेका प्रसस्तै भेटिए ।  कोही  प्लेनमा त कोही गाडीमा घर जाने तयारीमा थिए । कतिपयले मैले 'यसपाली म हिडेर जाने' भन्दा अचम्म मान्थे। त्यसपछि  "को को जान लागेको? भनि सोध्थे । 'एक्लै' भनेपछि त झन् पत्त्याउन मुस्किल मान्थे। कर्णाली राजमार्ग खुलेयता हिडेरै जुम्ला जाने भन्दा हाँसउठ्दो सुनिन्थ्यो होला। तर, मलाई भने त्यो भुल्न थलिएको महाबु लेकको बाटो एकचोटी फेरी हिड्न रहर लागेको थियो। एसएलसीपछि पहिलोचोटी शहर /तराई झर्दा र त्यसपछि  मोटरबाटोले नजोडिञ्जेलसम्म जुम्लादेखि सुर्खेत पुग्न हिंडेरै महाबु वा हाउडी लेक हुँदै १०-१२ चोटी ओहरदोहर गरेको थिएँ । जुम्लाको सबैभाग, कालिकोट, मुगु र डोल्पाको केहिभागमा बस्ने मान्छेका पुर्खाहरु यही बाटो हिडेका थिए। सानोमा देशारु र हटारुले  सुनाउने बाटाका डरलाग्दा र रोमान्चक कथाहरु सुनिथ्यो -  माहबुको बाटो कठीन छ, ठाडो भीर छ, हिउँले खान्छ, चोरको बिगबिगी हुन्छ आदि।  तर, आफ्नो अनुभवमा  भने यो बाटोको केहीखण्ड यौटा साहसिक यात्रा झैँ लागेको थियो।  त्यही 'फील' गर्न फेरी हिडें - बिर्सिएको त्यो पुरानो बाटो।

अतिरिक्ति झोला र पैसा प्लेनबाट जुम्लाजान लागेका बिष्णु भाइ र धर्म भान्जालाई जिम्मा लगाएँ।  म यौटा क्यामेरा, सानो झोला बोकी नेपालगंजबाट माइक्रो चढेर सुर्खेत लागें । त्यो रात त्यहाँ बसें।  दैलेखी धर्म दाइको नातेदारको होटल।  केही भेटघाट र काम सकें। अर्को दिन बेलुका सुमो चढेर दैलेखबजार पुगें।  डम्बरदाइ र पवित्रा भाउजुकोमा बसें।  एक दशक भन्दा पछि भएको हाम्रो भेट राती अबेरसम्म रमाइलो गफ गरेर बित्यो।  भोलीपल्ट बिहान यतै खाजा खाएँ।  यज्ञजी (पवित्रा भाउजुको भाई) भेटिए। उनीसंग त झन् डेढदशक पछि भेटेको।  एकछिन संगै बजार घुम्यौ।  गाउँको भतिजो डा. महेश नि भेटियो जो दैलेख अस्पतालमा कार्यरत थियो।  बजारमा एउटा लठ्ठी टेक्न मिल्ने छाता किने।  यज्ञजीले  भनेर यौटा केटोले बाईकमा उत्तरतर्फ बाटो केही माथी भैसिखोरसम्म पुर्याइदियो। यस्तै एक बजेको थियो होला । अब मेरो 'हिड्ने' यात्रा शुरु भयो।

पैदल यात्राको सुरुवात (दिन १) 
केहीबेर हिंडेपछि उकालोनेर सानो बस्ति आयो। यौटा घरमा पानी मागें।  महिलाले सोधिन् 'कता जाने?' मैले 'जुम्ला' भने।  तिनी हाँसिन्।  'रोड बन्द छ र? उनले सोधिन्।  'खोइ? थाहा भएन' मैले भनें।  'एक्लै?' फेरी सोधिन्।  मैले सबै वृतान्त बताएँ। कुरोगर्दै जाँदा उनीहरु धनाडा, कालिकोटबाट आएका न्यौपानेहरु रहेछन।  मावली पो परेछन् । तीन पुस्तामा ७-८ घर फैलिएको रहेछ। बातमार्ने चाहना हुँदाहुँदै हिड्न पर्यो।  पहिलो उकालो जोशले उक्लिएँ। फाट्टफुट्ट ओरालो झरिरहेका महिला र गाइ चराईरहेका बालबालिका भेटिए।  हावा चलिरहेको थियो।  घाम टाउको तिरै थियो। परतिर अनेक डाँडाहरुको  तुवालोमय तरेली देखिन्थ्यो।  पूर्वोत्तर भागमा नौमुले, पश्चिमतिर डांडिमाडी पर्दछन्।  पछाडी दक्षिणतर्फ दैलेखबजारको केही  अंश अझै देखिन्थ्यो।  तल केहिबस्ति, जंगल र खेतका सुन्दर तरेलीहरु देखिन्थे।  एकघन्टा हिंडेपछि उकालो सकियो।  ट्रयाक खोलेको रोड घुमेर यता मिसियो। केहि माथि बाटैको आडमा यौटा घर भेटियो। बुढी महिला थिइन्। बुढा बिरामी रहेछन।  सुतेका थिए।  कटुवाल थरि रहेछन्।  ४ जना केटाकेटी आए।  नातिनातिना रहेछन्।  यौटी नातिनी त पाथरखोला, जुम्लाकी रहिछन। यतै  प्लस टू स्कुल पढ्ने।  म हिंडेरै जुम्ला जाने भनेको त सुरुमा कसैले पत्याएनन् । उनले चिया बनाउदै गर्दा हामी गफिन थाल्यौं। बिस्तारै पुराना दिन सम्झिन थालिन् - उ बेला जुम्ली हटारुको घुइंचो यति हुन्थ्यो कि बास मिलाउन र खाना ख्वाउनै हम्मेहम्मे पर्थ्यो रे। एकहुल खच्चर उँभो, अर्को हुल उँधो । "यो बाटोले जुम्ला जोडेपछि त फेरी त्यो रौनक फ़र्किएल नि!" मैले भनें।  'खोइ हामी बाचुन्जेल देख्न पाइन्छ कि नाइँ' शंका गरिन्। 'आउला, आश गरौँ ' भन्दै  च्या सकेर म हिडें।

अलि उकालो काटेर डाँडाकै डिलमा तेस्रोबाटो आयो।  दुइजना गफिदै गरेका मान्छे भेटिए। फोटो खिचिदिनुस है भन्ने बहाना मिलाएर कुरा गरें। एकजना त मै जाने बाटोतिर जाँदै रहेछन।  जयबहादुर कटुवाल।  माथि महाबुसैनतिर कतै तिनको भेडीगोठ रहेछ। त्यहाँसम्म साथी बन्ने भए । भेडा पाल्ने उनको पुस्तैनी पेशा रहेछ।   करीब ३ घण्टा गफगर्दै संगै हिड्यौं । सामाजिक परिवेश, राजनीति, चाडपर्व, चालचलन अनेक बिषयका कुरा भए। चरन क्षेत्र साँघुरिएकोले अचेल भेडा पाल्न गाह्रो पर्दै गएको रहेछ तर पाल्न सके अचेल भेडा/खसीको भाउ निकै पाईन थालेछ।  'केटाकेटीहरु  पढ्न शहर पठायो, फेरी यता फर्की कामधाम गर्ने हैनन्! यो यत्तिकै हराउने त होला' उनले चिन्ता ब्यक्त गरे। आधुनिक तरिकाले व्यवसायिक भेडापालन गर्नसके यसको  बजार र भविष्य छ। जयबहादुर दाइसँग कदम मिलाएर करीब दुईघण्टा उकालै उकालो हिडिसकें उनि त विश्रामको नामै लिन्नन्। म भन्दा १० बर्ष जेठा मान्छेसँग हिडेको मैले  जति नथाकी हिड्ने प्रयास गरेपनि उनीसंग सकिनँ।  इँट भन्दा माथि उकालोको बीच हामी यौटा अग्लो चट्टानमा सितलहावा खाँदै केहीबेर बस्यौं । दशरते भन्ने ठाउँ बाटैमा उनका भेडाका बथान भेटिए। उनका साथी भेडी गोठालाहरु सँग परिचय गराए र मलाई छोड्न भनि ओखरबाससम्म आए। बाटोमा केही केटाकेटी हाम्रो साथ लागे। यौटा २० बर्ष हाराहारीको निकै स्टाईलिस केटो थियो। भर्खरै गुजरात इन्डियाबाट घर फर्केको रहेछ।  मैले भिरेको क्यामेरा देखेछ क्यारे फोटो खिचि माग्यो। जिन्सको पछाडी पाकेटबाट काईयो झिक्यो र निकै नक्कल परेर उसको जुल्फी कपाल मिलायो।  चट्टानमा, बाटोमा थरीथरी पोजमा फोटो खिचायो। र अन्तमा व्ह्वट्सएप माग्यो। मैले  छैन, म चलाउन्न भने।  अनि मेरो फेसबुक आइडी माग्यो र भन्यो  'म छुट्टी सकेर शहर फर्केपछि फेसबुकमा जोड्छु, यी फोटो त्यसैमा पठाई दिनु है' । र संगै ओखरबाससम्म साथ लाग्यो। पुरानो भैसकेका ४-५ वटा पसल थिए।  हामीलाई भोक लागेको थियो । उसैले यौटा पसलतिर डोर्यायो । यौटी हँसमुख साहुनी थिइन् पसलमा । उसैकी दिदी रहिछन् ।  निकै परिकार पकाउन जान्दछु भन्दै यताउता खोज्यो तर  चाउचाउमात्र भेटियो । त्यै उमाल्न लग्यो।  'जुम्लातिरमा मान्छेले हिड्न छोडे पछि त ओखरबास बजार त के पुरै सुकिसक्यो ।  धेरैले ठाउँ छोडिसके।  हामी जाने ठाउँ नहुनेहरु मात्र यतै छौं।' उसकी दिदीले भनिन्।  'म पनि यता गाउँतिर केहि काम नहुने भनि काठमान्डू गएँ। तर महँगो। अनि त इन्डिया गएँ।' केटोले थप्यो।  चर्चा गाउँतिर अवसर नहुने, काम नपाइने बारे थियो।  'अनि यो ठाउँको दिन फिर्न लागे जस्तो छ त? जुम्लातिर जाने यो बाटो र मध्यपहाडी राजमार्ग पनि नजिकैबाट रहेछ। अनि त फेरी मालामाल होला नि यो ठाउँ' मैले थपे। 'खोई कैले हो कैले' दिदीले शंका जनाई।  'यो बाटो त निकै छोटो हुन्छ रे नि त सर तपाईहरुलाई जुम्ला पुग्न।" जयबहादुरदाईले थपे। 'हो, तर माथी लेकतिर कसरी जाला?' मैले भने।  'महाबुको लेकमा यसपाला साउने मेलामा ट्याक्टर पुगी सक्यो नि' दिदीले भनि । बाटो बन्ने र गाडी गुड्ने सम्भावना निकै रहेछ। जयबहादुरदाइले र मैले मिठोमान्दै तात्तातो झोल खायौं । उनि फर्के, म अघाडी बढें।

वस्ती कट्न लाग्यो। अब एक्लै परियो भन्ने सोच्दै थिएँ पछाडी पाँचजनाको टोली आइराखेको देखें।  रोकिएँ।  छेउको पसलमा उनीहरु रोकिए।  गएर सोधें।  उनीहरु 'डिल्लिकोट' जाने रहेछन। आज सकेसम्म नाउली पुग्ने भने।  यो अघाडी महाबुसैन र त्यसपछि नाउली।  उनीहरु खाजाखान केहीबेर अल्मलिने भएकोले मैले हिड्दै गर्ने बिचारले अघि बढें। तुरुन्तै  जङ्गल शुरु भयो।  घना थियो।  कुहिरो लग्यो। अध्यारो भयो।  किरा र चराको एकनासले आवाज मात्र सुनिथ्यो। म एकसुरले हिँडिरहें । बाटोमा कोहीपनि मान्छे भेटिएन। पछाडी हेर्दै गरें। ती डिल्लीकोटकाहरु पनि देखिएनन।  डेढघण्टा पछि यौटा डोजर देखियो। यौटा झुपडीमा मान्छे देखे र बाटो सोधें।  यौटा शर्टकट सिकाए।  रुख र झारले जेलिएको बिल्कुल आठ्यारो र अध्याँरो बाङ्गोटिङ्गो रेखाजस्तो गोरेटोबाटो बल्लतल्ल पार गरेर सजिलोबाटो पुग्दा कुहिरो झन् बक्लिएर वरिपरि केहि नदेखिने भैसक्यो।  नजिकको बाटो पहिल्याउदै अघिबढ्दा माबुसैनको होटल भएको ठाउँ कतिबेला छुट्यो पत्तै भएन।  केहि अघाडी एकैचोटी यौटा नाके उकालो भेटियो । यतिबेला छ बजिसकेको थियो । कुहिरो केही कम भयो तर घाम डुबिसकेको थियो । जसरी पनि यो उकालो काट्नु पर्छ नाउली पुग्न । तर,  बाटो घाँस र चट्टानको उवड्खावड भित्र कतै हराएर भेट्न मुस्किल हुन सक्थ्यो । थोरै चिन्ता लग्न थाल्यो तर विकल्प थिएन।  लागें उकालो नाप्न  (फेदीको अल्टिच्युट २५३० मिटर)

'ओ सर! रोकिनुहोस्' कसैले बोलाएको सुनें । फर्केर हेरेको त अघि ओखरवासमा छोडेका मान्छे रहेछन।  'पख्नुहोस्! अध्यारो भैसक्यो, संगै जाउँला' एकजनाले फटाफट नजिकै पुगेर भने । "तपाइँ त फटाफट आइहल्नु भएछ। माबुसैन हेर्यौं, तपाईंलाई देखेनौं अनि हामी पनि  हिड्यौं यतै।  माथी बाटो अफ्ठ्यारो छ।  नाउलीमा यौटैमात्र होटल छ। बासमिल्न मुस्किल हुन्छ कहिले।  हाम्रा चिनजानको होटल हो संगै बसौला । त्यसैले संगै जाउँ।" सास फुलाउदै एकैचोटी सबै बताए। मलाई त देउता भेटे झैँ भयो।  सहर्ष धन्यबाद दिएँ र उनीहरुलाइ पछ्याएँ।  गफगर्दै उनीहरुको गति र चालमा हिड्दा बाटो काट्न सजिलो लग्यो। उनि (शाहीजी), उपचार गराएर फर्केकी उनकी श्रीमती, भारतबाट फर्केका दुइजना युवाहरु र ती मध्ये यौटा युवाकी श्रीमती जो अनमी पढाइको छुट्टीमा घर फर्किएकी युवती गरि हामी ६ जना भयौं।  झमक्कै साँझ पर्यो। शाहीजी कि श्रीमती टर्चबोकेर आघडी  लागिन्।  तिनलाई पछ्छ्याउन निकै हम्मे पर्यो मलाइ। हामी नाउली (२६९० मि) पुग्दा ८ बज्यो। असिनपसिन जिउ खर्सुका मुढाबालेर आएको रापमा सेकिएर सुस्ताउन थाल्यो ।
(क्रमशः )
-------------------
यो यात्राको भाग -२ पढ्न यता क्लिक गर्नुहोस्: http://madhavjee.blogspot.sg/2018/03/blog-post_29.html
यो यात्राको भिडियो हेर्न यता क्लिक गर्नुहोस्:   https://www.youtube.com/watch?v=3UZcoDiKOb4

Monday, March 19, 2018

कर्णाली प्रदेशको बर्तमान अवस्था र अबको बाटो

सेतोपटीमा चैत्र १८, २०७४ मा प्रकाशित https://setopati.com/opinion/149026

संघीयताको सबैभन्दा बढी लाभ लिन सक्ने सम्भावना भएको प्रदेशको रुपमा कर्णालीलाई हेर्न सकिन्छ । किनकी एकीकरण यताका सवा दुईसय बर्षसम्म केन्द्रीय सत्ताको वेवास्ता सहेर हेपिएको महसुस गरिरहेको कर्णालीले संघीयताको कार्यान्वयन संगै अब आफ्नो भाग्यको फैसला आफै गर्न सक्ने भएको छ । खस राज्यकालीन कर्णाली समृद्ध रहेको इतिहास साक्षी छ । शीतकालीन तथा ग्रीष्मकालीन राजधानीको अवधारणा सहितको राज्य संचालनको मोडल, रीतिथितिमा चल्ने सहिष्णु समाज, खाद्यान्नमा आत्मनिर्भरता, भोट र मधेश जोड्ने व्यवस्थित व्यापार चक्र आदि तत्कालीन समयको बृहत कर्णाली राज्यका अनुकरणीय अभ्यासहरु हुन् । 

सशक्त व्यवस्थाले बनाएको आर्थिक स्वावलम्वन र सम्पन्नताले खसराज्यको प्रभाव र फैलाव नेपाल (काठमाण्डौ), लखनउ, काश्मीर र तिब्बतसम्म पुगेको गौरवशाली ईतिहास छ । अब कर्णालीले त्यो बैभव पुनःस्थापित गरी समृद्धिको नयाँ आयाम कोर्न सक्नेछ । पछिल्लो समय सबैले सम्भावनाको भुमि देख्नुमा कर्णालीको इतिहास, संस्कृति, परम्परा, भाषा, भेषभुषा, पर्यटन, वनस्पति, जडिबुटि र जलश्रोत मुख्य कारण रहेका छन् । त्यसैले अचेल चुनावका नारा, योजनाका खाका, नेतृत्वका भाषण र आम मानिसका सपनाहरुमा समृद्ध कर्णालीको चर्चा बढिरहेको छ । विकासका अनेक मोडेलहरुको खोजी भइरहेको छ । स्थानीय सरकारहरु र नवगठीत प्रदेश सरकारमा यौटा महत्वाकांक्षा छ र आम जनताहरु पनि तीव्र आशा पालेर बसेका छन् । 

के ती सबै सम्भावनाहरु मुर्त हुन सक्लान् ? के प्रदेश सरकारले त्यो क्षमता राख्दछ ? सरकारका प्राथमिकताहरु के हुनपर्छ ? र चुनौतीहरु के छन् ? यी प्रश्नहरुलाई ध्यानदिन जरुरी छ । यथार्थको धरातल भन्दा निकै माथिबाट देखिएका सपनाहरु पूरा नहुँदा ‘मास फ्रस्ट्रेशन’ निम्तिन सक्छ । छिटै समृद्धि ल्याउने तिव्र लालसाले बन्ने हचुवा नीति, योजना, प्राथमिकता र खर्च प्रणाली र त्यसले सृजना गर्नसक्ने कार्यान्वयन पक्षका कमजोरी, अदुरदर्शिता  र अनियमितताले अपुरणीय क्षति हुने खतरा हुन्छ । कर्णाली प्रदेशको अगाडिको बाटो सजिलो पटक्कै छैन । त्यसैले, अहिलेको प्रदेश नेतृत्वले लोकप्रिय बन्नलाई नभई सुझबुझपूर्ण निर्णय लिनसक्नु अपरिहार्य छ । 

कर्णाली प्रदेशको बर्तमान अवस्थालाई एकचोटी तथ्यांकमा हेरौंः

भूगोल र जनसंख्याको बेमेल तालमेलः यो प्रदेशले ३० हजार ३ सय १३ बर्ग किलोमिटर भूगोल ओगट्छ जुन समग्र देशको २० दशमलव ५ प्रतिशत हो । हालको अनुमानित जनसंख्या १७ लाख १ हजार ८ सय छ जुन समग्र देशको ५ दशमलव ४ प्रतिशत मात्र हो । यसैगरी, देशको जम्मा घरधुरीहरुमा  २ लाख ९८ हजार ३ सय ६० अर्थात् ६ प्रतिशत घरधुरी यस प्रदेशमा रहेका छन् । प्रदेशको विशाल हिस्सा हिमाली क्षेत्रले ओगटेको छ भने बाँकी भाग पहाडी क्षेत्र छ । विकट भूभागमा अवस्थित थोरै जनसंख्या र छरिएका बस्तीहरुमा पूर्वाधार र सेवाको पहुँच बढाउनु निकै चुनौतिपूर्ण र खर्चिलो हुन्छ । यस प्रदेशमा प्रति सय बर्ग किमि क्षेत्रफलमा मोटरबाटोको घनत्व केवल ८ दशमलव ७२ किलोमिटर मात्र छ जबकी अन्य प्रदेशमा यो दर १८ देखि ७१ किमिसम्म छ । मोटरबाटोबाट मूलधारसँग नजोडिएका २ मात्र जिल्ला हुम्ला र डोल्पा यसै प्रदेशमा पर्दछन् । फलस्वरूप, जम्मा १७ दशमलव ४ प्रतिशत घरधुरीले मात्र ३० मिनेटभित्र बजारसम्म पुग्ने पहुँच राख्न सक्छन् जबकि अरु प्रदेशमा यो आँकडा ३२ प्रतिशतदेखि ५७ दशमलव ५ प्रतिशतसम्म छ । विद्युत उत्पादनको प्रचुर सम्भावना भए तापनि हालसम्म सरकारी र नीजि लगानीमा जम्मा ६ सय ४२ दशमलव ६५ मेगावाटको पिपिए भएको छ ।  

मानव विकासको कमजोर अवस्था र गरिबीको चक्रः  कर्णाली प्रदेशको मानव विकास सूचक सबैभन्दा न्यून ०.३९० छ जबकि राष्ट्रिय औसत ०.४९० छ । साक्षरता दर पनि सबैभन्दा न्यून ६२ दशमलव ७७ छ जसको राष्ट्रिय औसत ६५ दशमलव ९ हो ।  सरदर आयु सबैभन्दा कम अर्थात ५५ दशमलव ६ बर्ष मात्र छ जबकि राष्ट्रिय औसत करिब ६१ बर्ष छ । त्यसैगरी, औसत प्रतिव्यक्ति आय पनि राष्ट्रिय औसत ७१८ भन्दा निकै कम ४७४ दशमलव ८६ अमेरिकी डलर बराबर मात्र छ । कर्णाली प्रदेश सबैभन्दा बढी गरीब बस्ने प्रदेश हो । 

राष्ट्रिय योजना आयोगको भर्खरै प्रकाशित प्रतिवेदन अनुसार राष्ट्रिय औसत २८ दशमलव ६ प्रतिशत भन्दा निकै माथी कर्णाली प्रदेशमा ५१ दशमलव २ प्रतिशत गरिबी छ । अर्थात् यहाँको हरेक दोस्रो व्यक्ति बहुआयामिक रुपले गरिब छ । यसको मूल कारणहरुमा बाल मृत्युदर उच्च हुनु, बालबालिकामा व्याप्त कुपोषण, विद्यालय शिक्षामा कमी, खाना पकाउने इन्धनको अभाव, घरका छाना तथा भुइँको कमसल अवस्था, सरसफाईको कमी, विद्यालयमा न्युन उपस्थिति र पानीको अपर्याप्तता हुन् । 

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले इंगित गरे अनुसार नेपालमा ५ वर्षमुनिका बच्चामा हुने पुड्कोपनाको दर औसत ३६ प्रतिशतहुँदा कर्णाली प्रदेशमा ५५ प्रतिशत छ । अर्थात्, हरेक २ जनामा एक बच्चा पुड्को छन् । अझैं पनि बाल मृत्युदर प्रति हजार जीवित जन्ममा ५८ रहेको छ । सबैभन्दा निरक्षर जनता भएको स्थानीय तह पनि यसै प्रदेशमा पर्छन् ।

प्रदेशको कमजोर सामथ्र्य, अपुरो बजेट र अनिश्चित श्रोतः सामथ्र्यका हिसावले कर्णाली प्रदेश सबैभन्दा कमजोर छ । कुल ग्राहस्थ उत्पादन (जिडिपी)मा यो प्रदेशको योगदान हालसम्म एकदमै न्यून छ । प्रदेशगत उत्पादनका विविध क्षेत्रहरुमा यस प्रदेशले कृषि तथा बनपैदावरतर्फ ५ प्रतिशत, निर्माण कार्यतर्फ ४ प्रतिशत तथा थोक र खुद्रा व्यवसायतर्फ ३ प्रतिशत हिस्सा ओगटेको छ । पर्यटनको प्रचुर सम्भावना बोकेको यस प्रदेशले होटेल र रेस्टुराँ तर्फको जीडीपीमा केवल २ प्रतिशतमात्र योगदानगर्न सकेको छ । 

प्रदेशको आफ्नैे भरपर्दो राजस्वका आधार र आन्तरिक श्रोतहरु छैनन् । तिब्बततिरका भन्सारहरु सक्रिय छैनन् । ठूला उद्योग धन्दाहरु स्थापना भएका छैनन् । पर्यटन भर्खर बामे सर्दैछ । यौटै श्रोत भनेको केन्द्र सरकारले विनियोजन गर्ने बजेट हो । यसवर्ष सातै प्रदेशले बराबर समानीकरण रकम रु. १ अर्ब २ करोड ५ लाखको बजेट प्राप्त गरेका छन् । यो रकमबाट हाल प्रदेश सरकारको स्थापना र संचालन गर्नुपर्ने हुन्छ ।  भर्खरै आगामी बर्ष प्रदेश सरकारहरुको बजेट सीमा १५ अर्ब हुने खबरले के ईंगीत गर्छ भने कर्णाली प्रदेश सरकारले सो भन्दा थोरै बजेट पाउने छ ।    

स्थानीय तहमा हुने विकास निर्माण र नियमित सेवा प्रवाहको सबै खर्च स्थानीय सरकारले गर्छ । स्थानीय सरकारहरुले वित्तिय समानीकरण अनुदान र सशर्त अनुदान प्राप्त गरेका छन् । यो आर्थिक वर्षमा कर्णाली प्रदेशका २५ नगरपालिका र ५७ गाउँपालिका गरि ८२ स्थानीय तहमा जम्मा २० अर्ब  ५ करोड ६८ लाख १५ हजार रकम गएको छ । योे स्थानीय तहमा विनियोजित कुल बजेटको ९ प्रतिशत मात्र हो । आगामी बर्षको सीमा बढ्ने भएता पनि अनुदानको हिसाब निकाल्ने सुत्र नसुधारेसम्म बजेट पाउने अनुपात भने सुध्रिने छैन । 

अर्थ मन्त्रालयले हालै जारी गरेको मध्यावधि समीक्षा प्रतिवेदनले यो आर्थिक वर्षका आठ महिनामा एक तिहाई भन्दा कम खर्चको काम भएको देखाएको छ । प्रतिवेदनले स्थानीय तहमा हस्तान्तरण भएको तर असार मसान्तसम्म खर्च हुन नसकेको सशर्त अनुदानको रकम नेपाल सरकारको संचित कोषमा फिर्ता गर्न सबै स्थानीय तहमा अनुरोध गर्ने भनेको छ । सरकारले चालु खर्चको लागि यस बर्ष सबभन्दा धेरै आन्तरिक ऋण लिन परेको छ । खर्चका दायराहरु बढ्दै गइरहेको परिप्रेक्षमा आगामी दिनमा सरकारी ढुकुटीले सहजै धान्न सक्ने अवस्था छैन । प्रतिवेदनले आगामी बर्ष स्रोतको सुनिश्चितता गरेर मात्र बजेटको आकार निर्माण गर्न सुझाएको छ । 

अब बजेटको निकासा पनि किस्तामा हुनेछ । स्थानीय तहले आउने आर्थिक बर्षमा उदार भएर खर्च गर्ने छुट हुने छैन । बाह्य ऋण परिचालन पनि सहज छैन । संघीय संरचना अनुसारको विकास सहायता नीति तथा परिचालनका मापदण्डहरु तयार पार्नै बाँकी छ । स्थानीय तह र प्रदेश सरकार विविध माग बोकेर संघीय सरकारका मन्त्रालयमा ‘डेलिगेसन’ यात्रा गरिरहन पर्ने हुन सक्छ । 

अनन्त सम्भावना, आकांक्षा र यसका सीमाहरुः अचेल धेरैले कर्णाली प्रदेशलाई सम्भावनै सम्भावनाको खानीको रुपमा चित्रण गरेका छन् । उपयुक्त पूर्वाधारको निर्माण गरी उद्योगको रुपमा विकास नभएसम्म ती सम्भावनाहरुबाट तुलनात्मक लाभ लिन सकिने अवस्था छैन ।  पूर्वाधार निर्माणको नाउँमा गरिने गल्तीले वातावरणीय सन्तुलन बिग्रेर उल्टै ती सम्भावनाहरुको क्षय हुनसक्ने डर हुन्छ । प्रदेशका गाउँहरुमा अचेल व्यापक रुपले अव्यवस्थित वस्ती र बाटोको निर्माण भैरहेको छ । उत्पादनशील जग्गाहरु मासिने क्रम तीब्र छ । 

पुराना मौलिक शैलीहरु धमाधम मासिदै सिमेन्ट, कंक्रिट र जस्तापाताका संरचनाहरु कुरुपवस्ती बनेर ठडिदै छन् । स्थानीय सरकारहरुको पहिलो रोजाई ‘डोजर’ किन्नुले के संकेत गर्छ भने जताततै खनेर, रुख विरुवा ढालेर विनाशलीला बढ्दैछ । रुख कतै रोपिएको छैन । वनजंगल बढाउन ठोस कदम कसैले चालेको पाईदैन । खानेपानीका पुरानाश्रोतहरु सुकिरहेका छन् । नदीहरुमा बहाव घटिरहेको छ । बनपाखा, लेक र पाटनका चौरमा उब्जिने कतिपय जडिबुटीहरु लोपोन्मुख भैसकेका छन् । जडिबुटीको व्यावसायिक उत्पादन छैन । 

मौलिक खाद्य र नगदे बालीहरु संकटमा पर्दै गएका छन् । उत्पादन लागत र बिक्रिमूल्यको बीच सन्तुलन छैन । स्थानीय उत्पादनले बजारमा यत्तिकै प्रतिस्पर्धा गर्न सक्दैन । सरकारको ‘सब्सिडी’ आवश्यक छ । जनस्वास्थ्यका सेवा पर्याप्त र प्रभावी छैनन् । सार्वजनिक शिक्षा प्रणाली अस्तव्यस्त छ । गुणस्तरीय शिक्षामा गरीबको पहुँच छैन । सुशासन आधारहरु कमजोर छन् । सरकारी कार्यालयले दिने सेवाप्रति भरोसा टुटेको छ । भ्रष्टाचार व्याप्त रहेको गुनासो छ । जताततै दलीय युनियन राजनीतिले गाँजेको छ । 

अबको बाटो

विद्यमान वास्तविकतालाई आत्मसात गर्दे संयमित, सन्तुलित र दीर्घकालीन हीतका प्राथमिकताहरु केलाउन जरुरी छ । तत्कालीन प्रतिफल हेरेर गरिने लगानी त पूँजीबादी राज्य संरचनामा हुन्छ, संबिधानमै समाजबाद उन्मुख लेखेकोले सोको बिचार पुर्याउनु आवश्यक छ । संबिधानले सातवटै प्रदेशलाई समान हैसियत दिएकोले अव कर्णालीलाई फरक ढंगले हेर्देउ भन्नु बलियो नैतिक आधार रहेन । 

बजेट बाँडफाँडमा प्रयोग गरिने सुत्रमा भूगोल, सामर्थ, जनसंख्या र अन्य सूचकहरु जेसुकै प्रयोग गरे पनि जनघनत्वले बढी भार पाउने व्यवस्था रहुन्जेल भूगोलका हिसावले ठूलो तर कमजोर सामथ्र्य भएको प्रदेशले कहिल्यै फाइदा लिन सक्दैन । तसर्थ, यस प्रक्रियामा सकारात्मक विभेदको नीति लागू गर्न पहल गरिनु पर्छ । यसको दीर्घकालीन समाधान संबिधान संसोधनबाटै गरिनु जरुरी छ, जसले कर्णालीलाई निश्चित अवधिसम्म बिशेष स्वायत्तता प्राप्त प्रदेश बनाएर राज्यले अतिरिक्त लगानी गर्नु पर्छ । साथै सो अवधिभर प्रदेशको जमिन किनमेलमा विशेष निगरानी र कडाई गरिनु पर्छ ताकि गरीब जनताको भुमिको स्वामित्व कायम रहोस् । राज्यले अहिले गरेको लगानीको शोधभर्ना कर्णाली प्रदेशले भविश्यमा दिनेछ ।

प्रदेश सरकारले नीति योजना निर्माण गर्दा निकै सोचविचार गर्नु जरुरी छ । तत्काल ऋण परिचालन गरि ठूला योजना सुरु गर्नु अघि के सोचौं कि कतै यसले जनताको थाप्लोमा केवल ऋण मात्र थपिने त हैन ? श्रोत र अनुभवको अभावमा गरेका गलत कदमले दीर्घकालीन असर पर्न सक्छ । कम खर्चिला र स्थानीयको सहभागितामा गरिने योजनाहरुलाई प्राथमिकता दिनुपर्छ । 

शासकीय सुधारका प्रयासहरु अत्यन्तै जरुरी छ किनकी देश राजनीतिक र प्रशासनिकरुपमा पुनर्संरचना भए पनि सेवा प्रवाह गर्ने कतिपय प्रणाली र संयन्त्रहरु पुरानै छन् । दुई दशकदेखि एकखाले ढर्रा र शैलीमा चलेको कर्मचारीतन्त्र एकाएक सुध्रेला भन्न सकिने आधारै छैन । यही संयन्त्रबाट गरिने योजना, निर्णय र कार्यान्वयन चुस्त हुने कुरामा विश्वास गर्न सकिन्न । त्यसैले अब प्रदेश सरकारले मितव्ययी र छरितो प्रशासन प्रणाली आरम्भ गर्नैपर्छ । परम्परागत शैलीको कर्मचारी व्यस्थापन, खटनपटन र कार्य सम्पादन मुल्यांकन गर्ने पद्दती हटाएर नियमित रुपले राष्ट्रसेवकको सीप र क्षमता जाँच्ने र कार्य सम्पादन करार नवीकरण गर्ने प्रणाली लागू गर्न सकिन्छ । नीजि तथा सार्वजनिक साझेदारी बढाई सेवा प्रवाहलाई चुस्त पार्न सकिन्छ ।


जनस्वास्थ्य सेवा प्रणालीको अनुगमन तथा मुल्यांकन विशेषज्ञको रुपमा कामगर्ने लेखक चौंलागाई कर्णाली प्रदेश तातोपानी गाउँपालिका लाम्रा गाउँका बासिन्दा हुन् ।