Sunday, July 29, 2018

हिउँ चितुवाको फेसबुक पोष्ट: खेलाडी राष्ट्रको कि पार्टीको?

हिउँ चितुवाको फेसबुक पोष्ट: खेलाडी राष्ट्रको कि पार्टीको? 
यो आलेख सेतोपाटीमा प्रकाशित छ:https://setopati.com/opinion/164135 

आफ्नो फेसबुक वालमा संधैजसो युवायुवतीहरु डाँडापाखामा लामोदुरी दौड तालिम गरिरहेका, देशविदेशका ट्रयाकहरुमा दौडिरहेका, जीतको उल्लास सहित देशको झण्डा र पदक उचालेका जस्ता रमाइला र आशावादी फोटाहरु पोष्ट गरिरहने  'हरि गुरु' अर्थात कीर्तिमानी धावक हरि रोकाया 'हिउँ चितुवा' ले यो शनिबार पोस्ट गरेको यौटा स्टाटसको भावले एकचोटी झसङ्ग पर्यो। उनको पोस्ट यस्तो थियो -  'खेलाडी भएर देशकाेलागि मरिमेटे अाज यसरी बिरामी अपहेलित भएर बस्नु परेकाे छ।  यदि म कुनै पार्टीको  खेलाडी भएकाे भए मैले धेरै सहयाेग पाउन्थे हाेला ।  विदेसकाे उपचार हुन्थ्याे हाेला।  ' 

ति 'हिउँ चितुवा' अचेल बिरामी छन्।  यौटा बिरलै देखापर्ने नशा र मांशपेशीको समस्या सँग जुधिरहेका छन्।
चारदशकभन्दा बढी समयदेखि सक्रिय रुपले दौडी रहेका धावकको जीवनमा हठात् ब्रेक लागेको छ र  अब उपचार तथा फिजियोथेरापीको लामो प्रक्रियाबाट गुज्रनु परिरहेको छ ।

झन्डै ६ दशक अघि कर्णाली जस्तो अत्यन्त विकट ठाउँमा जन्मेका हरि रोकायाले  पूर्वाधारविहीन भूगोलमा अनेक प्रतिकुलतालाई चिर्दै केवल दृढ इच्छाशक्तिको भरमा आफुलाई विश्वमै लामोदूरीको अब्बल र 'कीर्तिमानी' धावक सावित गर्नु एक असाधारण प्रतिभा हुनुको परिचय हो ।  उनका नाममा एभरेष्ट म्याराथनमा ह्याट्रिक गरेको गिनिज विश्व किर्तिमान छ। त्यस्तै अन्नपूर्ण सर्किट सबभन्दा छिटो २४ घण्टा ५ मिनेटमा सम्पन्न गर्ने किर्तिमान पनि छ। नेपाली झण्डाको प्रतिनिधित्व गर्दै ओलम्पिक लगायत अन्य लामोदुरीका प्रतियोगिताहरुमा उनले करिब ३ दर्जनपटक विदेशमा दौडिएका छन् । रेकर्डहरु तोडेका छन् । सन् ८० दशकको उत्तरार्धदेखि ९० दशकभर नेपालमा भएका लामोदूरीका लगभग सबैखाले रेशहरु उनले जितेका छन् ।

विदेशमै प्रशिक्षक बनि बस्न सक्ने अवसर र काठमाण्डुजस्ता सहरमा हराउन सक्ने सम्भावनालाई लत्याएर त्यै विकट कर्णाली भुमीमै क्रियाशील छन् । नवयुवाहरुलाई आफूसंगै निरन्तर जुम्ला मुगुका डाँडाकाँडा दौडाएर प्रशिक्षण दिन्छन्।  प्रतियोगितामा भाग लिन प्रेरित गर्छन्। हारगुहार गरेर उनीहरुको लागी खर्चको जोहो गर्छन्। गाउँबाट कहिल्यै घर नछोडेका, कहिल्यै शहर नदेखेका, कहिल्यै प्लेन नचढेका ठिटाठिटीहरु चुनौती बोकेर बिराना ठाउँमा लड्न जान्छन् ।  ति चेलाचेलीहरु एकपछि अर्को गर्दै देश विदेशका प्रतियोगिताहरुमा अब्बल प्रदर्शन गर्न थाल्छन्। उच्च शानका साथ् देशको झण्डा फहराउन्छन् । अनि, गर्वले छाती चौडा पार्दै यता गुरु आफ्नो फेसबुक वालमा लेख्छन् -  'बधाई लक्ष्मी!!  बधाई बिश्वरुपा!! बधाई सुनमाया!!, बधाई पूर्णलक्ष्मी!! बधाई दुर्ग !!

'रोल मोडल' खेलाडीप्रति राष्ट्रको जिम्मेबारी 
आम नागरिकको रुपमा उनको यो पछिल्लो पोष्टले निकै सोचमग्न बनायो । समग्र देशले गर्व गरिरहेको, समग्र कर्णालीको एकमात्र कीर्तिमानी खेलाडी एकाएक थला पर्दा आम शुभचिन्तक तथा अरु खेलाडीहरु सोधपुछ गर्छन् तर सरकारले ध्यान दिन्न भने उसले जीवनभर 'चन्द्र सुर्य अङ्कित झण्डा बोकेर कसको लागि र किन मरिमेटेर पसिना बगायो? उनीहरुलाई पछ्याउंदै देशको शीर उच्च पर्ने महत्वकांक्षा बोकेका युवायुवतीहरुले के आशले संघर्ष गर्ने? त्यसैले यतिबेला देशकोलागि योगदान पुर्याएका खेलाडीको उपचार, सहयोग र हौसलाको लागि सरकार र सरोकारवालाको दायित्व के र किन हुने भन्ने प्रश्न मुखरित भएको छ।

समृद्ध समाजमा विविध क्षेत्रका 'रोल मोडल'हरु हुन्छन् । उनीहरुका संघर्ष, उपलब्धि, योगदान र लोकप्रियताका गाथाले अरुलाई सँधै नै प्रेरित गरिरहेको हुन्छ ।  खेलकुद, कला, संगीत जस्ता क्षेत्रमा उल्लेखनीय क्षमता प्रदर्शन गर्ने व्यक्तिहरुको सफलताले त्यसमा रुचि राख्ने आम मानिसहरुलाई लोभ्याउन्छ । र  ति मध्ये कति जना आदर्श व्यक्तिको रुपमा उदाउन्छ्न् जो अनुयायीहरुको लागि प्रेरणा प्रदायक मात्र नभई समग्र समाजको शान बनेर रहन्छन्। नव-आगन्तुक लागि यौटा सफल खेलाडी प्रेरणाको स्रोत हुन सक्छ तर सबै खेलाडी 'रोल मोडल' हुन सक्दैनन् । रोल मोडल बन्न युवा, किशोर र बालबालिकाले आदर्श व्यक्ति मान्न सक्ने हैसियत बनाउन सक्नु पर्छ।

यस अर्थले हरि गुरु साँच्चीकै रोल मोडल हुन् । अत्यन्त सरल स्वभावका धनि उनि प्रायः युवा खेलाडीहरु माझ घुलमिल हुन रुचाउन्छन् र हौसला प्रदान गरिरहन्छन् ।  उनमा सफलताको कुनै दम्भ वा आडम्बरको रत्तिपनि संकेत देखिन्न । उनि राजनीतिको खेलबाट संधै टाढा रहे । चाकडी चाप्लुसी उनले जानेकै छैनन् । बनावटी कुरो बोल्न जान्दैनन्। मौका मिले  सत्यकुरा बोल्न डराउँदैनन् । यिनका अन्तर्वार्ताहरु सुन्दा बोलीमा जुन असली 'जुम्ली' लवज सुनिन्छ उनि त्यस्तै 'अर्ग्यानिक' मन भएका गज्जब मान्छे प्रतित हुन्छ।  अनेकौं अभावका बीच उनले गरेको योगदान अतुलनीय छ । सचेत र सभ्य समाजमा यस्ता कुराको कदर गर्ने परिपाटी हुनु आवश्यक छ  ।


हिउँ चितुवालाई के भएको छ? 
हरी रोकायालाई चिकित्सकीय भाषामा 'गुलिएन-बेर्रें सिन्ड्रोम (जिबिएस) भनेर चिनिने यौटा बिरलै देखापर्ने अवस्थाको निदान गरिएको छ। यसले शरीरको प्रतिरक्षा प्रणालीले हातखुट्टा तिर प्रवाह हुने स्नायुलाई आक्रमण गर्दछ ।  हातखुट्टाको चाल, दुखाई, तापक्रम र स्पर्श संवेदना नियन्त्रण गर्ने स्नायु अवरुद्ध हुन्छ।  फलस्वरूप मांशपेशीहरु कमजोर र लाटो हुन्छन् । यदि सम्भावित जटिलताको समय मै नियन्त्रण भएन भने स्थायी प्यारालाईसिस हुन सक्छ ।  समयमै समस्याको उचित उपचार, स्याहार र फिजियोथेरापीको मध्यमबाट हरेक दशमध्ये नौ बिरामीहरु निको भएको पाइन्छ तर निको हुने प्रक्रिया भने निकै ढिलो हुन्छ। जुम्लामा हुँदा एकाएक समस्या देखा परेपछि अर्को दिनमै काठमान्डौको सुबिधायुक्त अस्पताल पुर्याईएकोले अप्रिय जोखिम टरेको थियो । दुईहप्ता बढीको अस्पताल बसाईमा जुन सुधार देखियो त्यसले निकै आशावादी बनाएको छ तापनि रिकोभरी प्रक्रिया निकै जटिल र खर्चिलो हुनसक्ने छ।

केहिहप्ता अघि यो लेखकको हरि रोकाया र उनका छोरा संग भेट हुँदा  उनीहरुले यौटा चिन्ता व्यक्त गरेका थिए - यसरी एकाएक कमजोर परेको गुरुलाई देखेर उनको प्रेरणामा दौड प्रशिक्षणमा लगनशील युवायुवतीहरुमा डर पस्ने पो हो की ? अभिभावकले नै उनीहरुलाई दौडिन निरुत्साहित गर्ने हुन कि? भावी पुस्ताका खेलाडीहरुमा रुची घट्ने पो हो कि? यसबारेको भ्रम निवारण गर्न आवश्यक छ ।

जिबिएस किन र कसलाई हुनसक्छ ? 
प्रतिलाख जनसंख्यामा १-२ जनालाई देखापर्ने यो  समस्याको वास्तविक कारण भने अज्ञात छ।  तर प्रायः कुनै ब्याक्टेरिया वा भाइरल संक्रमण पश्चात यस्तो सिन्ड्रोम देखा पर्नेगरेको पाइन्छ जस्तै: ब्याक्टेरियाको कारणले हुने झाडापखाला । हरी रोकायाको हकमा सायद उनले निरन्तर अत्यधिक दौडने तर खानपिन (डाएट)मा ध्यान नपुगेको कारणले शरीरको प्रतिरक्षा प्रणाली मजबुत राख्न चाहिने भिटामिन, मिनरल्स लगायत सुक्ष्म पोषकतत्वहरुको कमि भयो ।अनि यसको दिर्घकालीन अभावले प्रतिरक्षा प्रणालीमा गडबड गर्यो र यो सिन्ड्रोमको विकास भयो ।

यो समस्या जुनसुकै उमेर समुहका मान्छेलाई हुनसक्छ । नेपालमा  बिसं २०६८ सालमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएका ३६ जना बिरामीमा गरिएको अध्ययनमा १२ बर्षको उमेरदेखि ८० बर्ष उमेरसम्मका बिरामी थिए।  त्यसअघि बिसं २०६२-६४ तिरको अध्ययनमा ३ बर्षदेखि १४ वर्षसम्मका ३० बिरामी बालबालिकाहरु थिए । नेपालमा गरिएका अध्ययनहरुले पश्चिमा देशमा देखिएका बिरामीहरुको बिशेषता संग कति मिल्छ भन्ने बिषयमा केन्द्रित थिए । जस अनुसारको नतिजाले करिव ९० प्रतिशतसम्म मिल्दोजुल्दो पाईएको थियो।  

त्यसैगरी जुनसुकै पेशाका व्यक्तिलाई पनि हुन सक्छ । खेलाडी, नेता, अभिनेता, संगीतकार,  वैज्ञानिक, पत्रकार, कलाकार लागायत क्षेत्रका चर्तित व्यक्तिहरु पनि यो समस्याबाट प्रभावित भएको पाइन्छ। भर्खरै सकिएको फिफा विश्वकप फुटबल हेर्ने जोकोहीलाई फुटबल मैदानको कोच बस्ने बक्समा बैशाखी टेकेर हरदम खेलाडीलाई हौस्याईरहने उरुग्वेका ७१ बर्षिय कोच ओस्कार ताबरेजले ध्यान खिचेको हुनुपर्छ। उनलाई पनि 'गुलियन-बेरें सिन्ड्रोम' देखापरेको हो ।  आफ्नो फुटवल करियरमा बलियो डिफेन्डर उनले कोलम्बिया, इटाली र स्पेनमा समेत कोच भएर काम गरि सकेका छन्।  त्यस्तै पुर्व अमेरिकी राष्ट्रपति रुजवेल्ट, अभिनेता एन्डी ग्रिफिथ, जापानी रकब्याण्ड भोकलिस्ट अरिमुरा आदि चर्चित व्यक्तित्वहरु यो सिन्ड्रोमबाट प्रभावित भएका थिए।

नेपालमा जिबिएस समस्या भोगिरहेकाहरुको हेरचाह र सहयोगको लागि ठोस सरकारी नीति  छैन।  जिबिएस प्रभावितहरु र उनीहरुको पारिवारका सदस्यहरुको रुचि र प्रयासमा केही संजाल सक्रिय छन् जसले केही गैरसरकारी प्रयास मार्फत अन्तराष्ट्रिय समन्वयमा सूचना र जानकारी उपलव्ध गराई रहेको पाइन्छ ।

खेलाडी प्रति सरकारको दायित्व के? 
जुन खेलाडीले जीवनका उर्जाशील समय देश र समाजको शीर उच्च पार्न पसिना बगायो उसलाई आवश्यक पर्दा  राज्य अग्रसर हुनु पर्छ ता की भविष्यका कर्णधारहरुमा आशा जागोस् र भन्न सकुन् - 'म मरिमेटेर देशको नाम उज्ज्वल गर्छु । मेरो राज्यले मलाई परेको बेला त्यो गुन सम्झिने छ। सहयोगको निम्ति कुनै राजनीतिक पार्टीको सदस्य बन्नुपर्ने भाव नआओस । कुनै अमुक पार्टीको नेताको सिफारिसको गुन्जाइस नरहोस् । र, त्यसैकारण जीवनभर जोगाएको आत्म-सम्मानमा ठेस नपुगोस् ।

आगामी फागुनमा नेपाल मै हुन गइरहेको तेह्रौं साग खेलकुदको तीव्र तयारी चलिरहेको छ । त्यसअघि आठारौं एसियाली खेलकुदमा भाग लिन कैयौं खेलाडीहरु इन्डोनेसिया तिर जाँदैछन्। राम्रो खेल्ने खेलाडीहरुले अझ उत्कृष्ट प्रदर्शन गरुन् भन्ने चाहना हुन्छ । त्यसले तमाम अरु युवाहरुलाई प्रेरणा मिलोस्, उनीहरुमा पलायन र दिक्दारिपनको सोच निर्मूल होस् , उत्साह थपियोस् । उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुको आर्थिक जीवनको भविष्य सुनिस्चित गरिनु पर्छ।  नेपालमा अधिकांश खेलाडीहरु युवावयको जोश रहुन्जेल खेल्छन् ।  जिविकोपार्जनका विकल्प खोज्दै तिनका बाटा मोडिन्छन्।  'सिकारु' खेलाडीबाट देशको इज्जत जोगिदैन।  खेलकुदलाई 'फुर्सद समयको सदुपयोग'  गर्ने माध्यम नभई यौटा 'पेशा'को रुपमा लिन सकेमात्र यसको विकास हुन्छ।

यतिबेला देशमा खेलकुदको विकासको अभिभारा लिएको परिषद, खेलकुदका संगठनहरु हाँक्ने भेट्रानहरु, खेलप्रेमी राजनेता, जनताका प्रतिनिधिहरु सबैले मनन गर्न जरुरी छ कि 'खेलाडी राष्ट्रको हो कि कुनै राजनीतिक पार्टीको? कुनै पार्टी सदस्य भएको भरमा सिफारिस पाएर देशविदेशमा सुबिधासम्पन्न अस्पातालमा उपचार पाउने कि देशलाई दिएको योगदानको कदर स्वरुप नागिरकलाई परेकोबेला आवश्यक उपचार सहयोग दिएर असल संस्कारको स्थापना गर्ने?

र अन्तमा, 
कर्णालीमा क्षमतावान युवाहरु जन्मिन सक्छन् । असल कोचिङ्ग र ट्रेनिंग मिलेमा विश्वस्तरिय खेलाडीहरु पनि उत्पादान गर्न सकिन्छ भन्ने कुरा सिमित श्रोतसाधनको बाबजुद नै हिउँ चितुवाले प्रमाणित गरिसकेका छन्।  यिनको संघर्ष र सपना कर्णालीमा 'हाई-अल्टिच्युड ट्रेनिंग सेन्टर' खोल्ने छ।  यस दिशामा प्रदेश सरकारको नीति र कार्यक्रम मार्फत केही रुचि झल्किएको छ।  यसलाई यथासक्य मुर्तरुप दिन पहल कदमी आवश्यक छ।  त्यो भन्दा जरुरी सरकारको पहल 'हिउँ चितुवा'लाई आवश्यक पर्ने सबै उपचारको व्यवस्था मिलाएर निको पर्नु छ।

हामी कर्णालीबासीको इच्छा उनि फेरी त्यो जुम्ला र मुगु-राराको डाँडाकाँडामा उसगरी दौडिएको हेर्ने अभिलाषा छ। ती युवायुवतीहरुको तिघ्रामा जोश भरेर काँधमा चन्द्र सुर्य अंकित झण्डा बोकाएर देश विदेशको ट्रयाकहरुमा दौडन पठाई रहेको हेर्न उत्कट चाहना छ।  अनि भन्न मन छ - खेलाडी सँधै राष्ट्रको हुन्छ !!
----------
लेखक कर्णाली प्रदेश तातोपानी गाउँपालिकाका बासिन्दा हुन्। 
यो  लेखमा प्रयोग गरिएका फोटोहरु हरि रोकायाको फेसबुक पेजबाट लिईएका हुन्।  





Sunday, July 8, 2018

मार्सी चामल: शक्तिदेखि समृद्धिसम्म

यो आलेख सेतोपाटीमा प्रकाशति छ - https://setopati.com/opinion/163163
अचेल मार्सी चामलको चर्चा निकै चुलिएको छ । यौटा व्यापारीले राज्यसत्ताका दुई शक्तिशाली व्यक्तिहरुलाई  सत्कार भोजमा पस्केको मार्सी चामलको भातले व्यंग्य चेत भएका सबैलाई मसला मिलेको छ। डा. केसीको पन्ध्रौँ अनसन आन्दोलनले मार्सी धानको विम्बलाई झन् ताजा बनायो । त्यसमाथि डाकेसीको अनसन स्थल मार्सी धान फल्ने ठाउँ जुम्लामा हुनुले विषयलाई थप रोचक बनाएको छ। सायद  यसबर्षको गाइजात्रामा 'मार्सी चामल' विम्ब 'गरम मसला' बनेर चल्नेछ।

मार्सी चामल र  'शक्ति' सम्बन्ध 
मार्सि चामलको 'शक्ति'सम्बन्ध बडो रोचक छ। यो चामलसँग राज्यशक्ति, देवशक्ति, बाहुबलशक्ति आदि सम्बन्ध उत्पतिकालदेखि नै जोडिएको पाइन्छ ।  

जनश्रुति अनुसार एकजना 'शक्तिशाली' तपस्वी बाबा गंगाभुमिबाट कैलाश मानसरोवर जान जुम्लाको बाटो हुँदै आउँदा हिमाली ठाउँमा गज्जबको पानी लाग्ने मलिलो फाँटहरु देखेछन् र उनैले स्थानीयहरुलाई धान फलाउने बारे सिकाइदिए । ति तपस्वी बाबा 'चन्दननाथ' हुन् । त्यसैले खलंगा बजारमा अवस्थित चन्दननाथ मन्दिर समग्र जुम्लाबासीहरुको आराध्य मन्दिर मानिन्छ र हरेक साल आफुले उब्जाएको पहिलो एक पाथी मार्सीधान चन्दननाथलाई छुट्याउने (चढाउने) चलन छ। धान भित्र्याउने बेला बर्सेनि नौलो मार्सीधानको च्युरा कुटेर गाईको दुध मिसाएर 'न्वागी' गर्दा पहिलो भाग चन्दननाथलाई नै चढाईन्छ। 

तिनै चन्दननाथ बाबा मार्फत पहिलोपल्ट मार्सीधानको बिउ 'लाछु जिउला'मा छरियो । त्यो ठाउँ हाल जुम्लाको तातोपानी गाउँपालिकामा पर्दछ । केही जनविश्वास चन्दननाथ बाबाको तपले जंगली प्रजातिलाई घरायसी धान बनाउन सिकाए भन्ने छ भने कसैको मत कास्मिरबाट ल्याएको प्रजाति हो भन्ने पनि छ । जेहोस्  चन्दननाथ बाबाले त्यो मार्सीको बीउ उमार्न, खेतमा लगेर रोप्न र अन्त जिउलामा फैलाउन 'पैकेलो'को सहारा लिए । ति पैकेलो अद्वितीय क्षमता भएको एक 'शक्तिमान' स्थानीय सर्वसाधारण थिए । पैकेलोसंग जोडिएका साहस, बल, चातुर्य र योगदानका अनेक किस्साहरु छन् । कृतविर्य पनि भनिने उनलाई सम्मानका साथ 'लछाल कृति पैकेलो' भनेर चिनिन्छ। 

शाके ९६३ वि.सं. १०९८ को यौटा शिला प्रमाण अनुसार सुरुवाती कालदेखि मार्सी धानको खेती यौटा वैज्ञानिक पद्धतिबाट गरिने चलन रहेको बुझिन्छ।  हरेकबर्ष चैत्रको १२ गते बीउ उमार्ने धान पानीमा भिझाउन राखिन्छ ।  चारदिन पछि चैत्र १६ गते पानीबाट उतारिन्छ र न्यानो ठाउँमा स्याहारेर उमार्न राखिन्छ।  त्यसको ४ दिनपछि चैत्र २० गते उम्रेको धान बेर्नामा लगेर छरिन्छ । कर्णाली तिर बिउ छर्ने दिन चैत्रको २० गते अर्थात् 'बिसुआं' एउटा ठुलै चाडको रुपमा मनाइन्छ। त्यो चलन अहिलेसम्म पनि नबिराईकन कायम छ । यो पद्दतिको 'शक्ति' कतिसम्म थियो भने आधुनिक संचारको सुबिधा नपुगुन्जेल यहाँका बासिन्दाहरु परिवारको सदस्य परदेशबाट चैत्र १२ गतेसम्म घर फ़र्किएन भने मर्यो कि ठुलै बिरामीले सिकिस्त भयो भन्ने ठान्दथे । प्रायः यो विश्वास सत्य हुन्थ्यो।     

खस साम्राज्य र त्यस अघिका राजाहरुको राज भोजनको यौटा महत्वपूर्ण हिस्सा मार्सी चामल थियो । उबेला मार्सी धान फाल्ने जिउलोको आसपासमा  राजधानी खडा गरिएका थिए। सिंजाको लुड्कु जिउला माथी उत्तरपश्चिम लामाथडा, लाछु जिउला पारीपट्टी दक्षिणतर्फ सुनारगाउँ, जुम्लाबजार नजिक लाई जिउला उत्तरतिर छिनासिम आदि पुराना राज्य शक्तिका केन्द्र थिए । स्थानीयहरु ती शक्तिकेन्द्रलाई कर स्वरुप मार्सी धान बुझाउन्थे।  

राणा शासनकालमा चन्द्रशम्सेरको दरबारमा जुम्लाबाट दैनिक हुलाकमार्फत केहि माना चामल आउन्थ्यो।  त्यो क्रम जुद्धशम्सेरको पालासम्म चल्यो । (कसैकसैले त जंगबहादुरको पाला बिसं १९०४ मै जुम्लाबाट मार्सी चामल आउथ्यो र त्यो क्रम राणा शासनको अन्त्य अर्थात मोहन शमशेरको पालासम्म रह्यो पनि भन्छन्) मार्सी चामल निरन्तररुपले राणाको दरबारमा पठाउने क्रमलाई भंग गर्नु पछाडी जुम्लाबाट निरंकुश 'शक्ति' विरुद्ध गरिएको  बिरोधको एक संकेत थियो पनि भनिन्छ । चन्द्र शम्सेर र अरु दरबारियाहरु स्वादले गर्दा वा स्वास्थ्यको कारण मार्सी चामल प्रति आकर्षित भए त्यो त थाहा छैन तर अचेल यो चामल दुवै कारणले लोकप्रिय हुँदै छ । 

मार्सी चामल बजारमा उपलब्ध अरु चामलको तुलनामा महँगो छ। स्थानिय बाहेक अन्य आममान्छेको चुलोमा यो चामलको भात पाक्न चाडपर्व कुर्नुपर्ला । त्यसैले सहरी जीवनमा यसको पहुँच क्रय'शक्ति' भएकाहरुमा सिमित छ । अचेल पैसावालहरुलाई अरु चामलको भात खान नमिल्ने रोगले  च्याप्न थालेपछि विकल्पको रुपमा मार्सी चामलको खोजि बढेको छ।

मार्सी धान संसारमै उच्च क्षेत्रमा फल्ने प्रजाति मध्ये पर्दछ।  जुम्लाको छुम्चौरको जिउलो संसारमै उच्चस्थान (समुद्र सतहदेखि करिब ३००० मिटर उचाईं) मा धान फल्ने ठाउँ हो । यो प्रजातिको धानमा अरु धानको तुलनामा कठीन हावापानीमा उम्रन सक्ने बिशिष्ट गुण तथा उत्पादन 'शक्ति' निहित छ।
  
मार्सी चामल: स्वादिलो र स्वास्ठबर्धक 
सामान्यतया चिसो ठण्डा ठाउँमा फल्ने अन्न र फलफूल स्वादिला र पोषिला हुने गर्दछन्।  सायद प्रतिकुल हावापानी सँग जुधेर फुल्न र फल्न ति अनाज र बनस्पतिमा निकै बिशेष क्षमता विकास हुने गर्दछ। जसको कारण तिनीहरुमा अनेकन धातु लगायत सुक्ष्म पोषक तत्वहरु संचय हुन्छ।  जुन मानव जिब्रोको स्वाद र स्वास्थ्यको निम्ति उपयुक्त हुन्छन् ।     

मार्सी धानको चामल खैरो रङको हुन्छ। कसै कसैले रातो चामल पनि भन्दछन् । लाभदायक पौष्टिक तत्वहरुको मात्रा सेतो चामलको तुलानामा धेरै हुने भएकोले यो चामल स्वाथ्यकर मानिन्छ । खैरो चामलमा भातको सेवन पछि कति छिटो ब्लड सुगर बढ्छ भनि नाप्ने सूचक अर्थात ग्लाईसमिक इन्डेक्स (जीआई) सेतोको तुलनामा निकै कम हुन्छ । खैरो चामलमा उच्चमात्रामा म्याग्नेसियम र फाइवर तत्व हुने भएकोले रगतमा सुगरको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ । त्यस्तै यो चामलमा भएको एन्टीअक्सिडेण्ट गुण र 'लिग्नान' तत्वले रगतमा बोसो तत्व, रक्तचाप  र धमनीहरुको सुजन घटाउन मद्दत गरी मुटुरोग, मधुमेह र मोटोपनाको जोखिम नियन्त्रण गर्छ।

मार्सीधानलाई प्रायः ओखलमा कुटेर चामल बनाउने भएकोले यसको बोक्रामा निहित तत्वहरु खेर जाँदैन ।   त्यसैले जुम्लामा उपलब्ध हुने मार्सी चामलमा भिटामिन र मिनरल्सको मात्रा बजारमा उपलब्ध अरु चामलको तुलनामा निकै उच्च पाइन्छ ।

कर्णालीको चामल राजनीति र मार्सी धान 
विगत चार दशक यताको कर्णालीको राजनीतिमा 'चामल' यौटा अभिन्न तथा केन्द्रीय चुनावी एजेण्डा हुने गदर्छ ।दुर्गम क्षेत्र विकास र राहत स्वरुप कर्णाली लगायतका कतिपय जिल्लाहरुमा राहत खाद्यान्न भित्रिन थालेपछि स्थानीयहरुमा 'सेतो चामल'को भात खाने रहर बढ्यो।  र कर्णालीका नेताहरुको नेतृत्व क्षमता कसले कति क्वीन्टल चामल आफ्नो ठाउँमा झार्न सके र कति थान 'चामलको कुपन' आफ्ना जनतालाई बाँड्न सक्षम भए सूचकले निर्क्योल गर्थ्यो । कर्णालीमा भोकमरी नभई 'भातमरी' छ पनि भन्ने गरिन्छ।  पछिल्लो दशकमा कर्णाली सडकले जोडिएपछि धेरै ठाउँमा तराईबाट आउने थरीथरी सेता चिल्ला चामलका बोराहरु सस्तो र सहजै पुग्न थाले ।

कर्णालीमा भातखाने चलन बढेपनि मार्सी चामलको भात भने प्रायः गाउँघरका औसर र भतेरहरुमा सिमित हुँदै गयो।  मार्सी धानको फाइदा बारे चर्चा गरिएन। परिकारमा बिबिधता आएन। उत्पादकत्व कम हुनु, बजार र बिक्रि मूल्य नहुनुले स्थानीय हरुमा यो धानको उत्पादन रुचि हट्यो ।

तर, चामल राजनीति अहिले पनि छ।  पोहरसाल कर्णालीबासीलाई परिवारको जन्म र मृत्युमा  २० केजी चामल दिने भन्ने सरकारी घोषणाले निकै चर्चा बटुल्यो  । बिरोध गर्ने गर्नेहरुले यो घोषणालाई कर्णालीको 'इज्जत' सँग जोडेर सरकारले बेईजति गर्यो पनि भने ।

स्थानीय राजनीति चर्चामा स्थानीय उत्पादनको प्रबर्धन, खाद्य सुरक्षा, बजार व्यवस्था आदि बिषय खासै 'एजेण्डा' बनेनन् ।

मार्सी धानको भविष्य: संरक्षणको पर्खाइ 
यो एक जंगली प्रजातिको धान भएकोले अन्य कतिपय धानको तुलानामा रोगलाग्ने दर निकै कम भएको ठानिन्छ।  तथापी, चालिसको दशकपछि विभिन्न रोगको आक्रमण देखिन थालेको पाइन्छ । पचासको दसकमा 'ब्लास्ट' अर्थात  'मरुवा' रोगको प्रकोपले पनि पटक पटक असर पार्ने गरेको छ।  बिशेषगरि बिउ छान्ने प्रक्रियामै ध्यान नपुर्याउदा यस्तो समस्या बेहर्नु परिरहेको छ ।   

दसकौंदेखि कृषि अनुसन्धान परिषदले जुम्लामै अफिस राखेर यी समस्याको निवारण गर्न सकेको छैन । पटक पटक बढी फाल्ने र रोग प्रतिरोधी 'उन्नत जात' भनि सिफारिस गरिएका नयाँ धानहरु केही बर्ष पनि टिक्न सकेका छैनन् । उल्टो यी प्रयासहरुले रैथाने वास्तविक मार्सी धानलाई लोपोन्मुख हुन मद्दत गरिरहेका हुन सक्छन् । आयातित र हाइब्रिड बिउहरुले नश्लीय परिवर्तन गरि रहेको हुन सक्छ।   यसको स्वतन्त्र अध्ययन गरि कृषि अनुसन्धानको नाउँमा हुन सक्ने असफल, अनुत्पादक र अनैतिक प्रयासहरुलाई रोक्न आवश्यक छ। 

आम रूपमा जुम्ला लगायत कर्णालीका बस्तिहरु डाँडाको काखमा वा फेदमा, हावा छेकिने तथा घाम पर्ने स्ठानमा प्रायः घरहरु एकापसमा जोडिएका हुन्थे। यसले मान्छे र गाईबस्तुलाई चिसोबाट बचाउने, थोरै जग्गामा धेरैबस्ति बस्न सक्ने, भिरालो ठाउँमा जोडिएर बनेका घरले अडेस दिने, जोडिएर बनेका घरका छतको बहु प्रयोग हुने र सँगैबस्दा ऐंचोपैंचो  साथ-सहयोग मिल्ने लगायत अनेकौं फाइदा मिल्थे । कुलोबाट पानी लाग्ने  खेतहरु भएको ठाउँलाई 'जिउलो' भनिन्छ। जिउलो भएका बस्तीहरु 'समृद्ध बस्ति' मानिन्थे ।  लेखतिर भोटतिरका व्यापारीहरु भेडा, घोडा, झोवा, चौरी ल्याएर अन्न साट्न किन्न आउँथे।  अचेल स्वाभाविक रुपले त्यो व्यापारको चक्र  फेरियो । तर अस्वाभाविक र अवैज्ञानिक ढंगले ति जिउलोहरु घडेरी बनेर मासिंदै छन् । यसरी खेतीयोग्य जमिन मासिंदा मार्सी धान त लोप हुन्छ नै पर्यावरणीय असन्तुलन पनि बेहोर्नु पर्छ।  यसबारे न सरकारले न संस्थाहरुको चासो पुगेको छ । स्थानीय सरकारले नीति बानेर कुलो लाग्ने खेतहरुमा  भौतिक संरचना निर्माणमा पूर्ण बन्देज लगाउनु पर्छ। 

विश्वको सबैभन्दा उच्चस्थलमा धान फाल्ने भनेर भनिएको 'छुम्चौर'को जिउलोमा अचेल धान भन्दा आलु धेरै फल्छ कि त खेत बाँझो छ । रोपाइँको सिजनमा स्थानीयहरुको चटारो यार्सा टिप्न जान हुन्छ।  अरु जिउलाहरुमा खेतहरु भागबण्डा गर्दा, बेचबिखन गर्दा टुक्रिएर ससाना टुक्रा 'फ़ोक्टा'मा रुपान्तरण भैसके। कतिपय खेतहरुमा त एक हल गोरु नअट्ने भैसके। ती खेतहरुले लागत अनुसारको उत्पादन झन् घटाईरहेका छन्।   भबिष्यमा कतै यान्त्रिक पध्दतिको आधुनिक खेति प्रणाली सुरु गर्न सकिएछ भने ति खेतहरु कति उपयुक्त होलान्।  विचारणीय छ।       

२०६४ सालदेखि यो धान फाल्ने 'अर्ग्यानिक क्षेत्र' घोषणा गरिएको छ।  तर लुकिछिपी आउने अबैध किटनाशक बिषादी  र रासायनिक मलको प्रयोग रोक्ने सशक्त निगरानी गरेको देखिंदैन।  नयाँ बनेको प्रादेशिक सरकारले सम्पूर्ण प्रदेशलाई नै अर्गानिक प्रदेश बानाउने सोच राखेको त छ तर व्यवहारमा कसरी लिन्छ हेर्न बाँकी नै छ।   

मार्सी धान संरक्षणको पर्खाइमा छ।  अचेल यो धानको बीउ नै संकटमा छ।  उन्नत तरिकाले बीउ संकलन र संचय गर्ने परिपाटी छैन। स्थानीयहरु साटफेर गरेर चलाई रहेका हुन्छन। अन्य कुजात सँग मिसिएर अनुपयुक्तभै सकेको हुनसक्छ । स्थानियहरुमा आकर्षक बजार र उपुक्त मूल्यको अभावमा उत्पादनमा अरुची उत्पन्न भएको छ।  पोहोरसालबाट सरकारले मार्सीधान लगायत अरु  रैथाने प्रजातिका धान खरिद गर्न थालेको त छ तर दिर्घकालिन प्रभाव पर्ने गरि उत्पादन प्रबर्धन गरिएको छैन ।

र अन्तमा, 
हामी कृषिमा आश्रित छौँ । अनाजमा सह लुकेको हुन्छ। आफैले अन्नपात फलाउनेहरु आत्मनिर्भर हुन्छन्।  यसले आत्मबिश्वास बढ्छ। यो नै एक  समृद्धिको द्योतक हो । तसर्थ मार्सी धानको संरक्षण कर्णालीको बैभव र समृद्धिसँग जोडिएको मुद्दा हुनु आवश्यक छ। 

अनि, अहिले डा. केसी जुम्लामा अनसनरत छन्।  यौटा सत्याग्रही सकुशल र सम्मान घर फर्कियोस् भनि सबैतिरबाट  चाहना र कामना व्यक्त भैरहेको छ । यसपाला  मार्सी चामलको भात खुवाएर उनको अनशन तोडाउन पाए …..!

(लेखक चौलागाईं कर्णाली प्रदेश जुम्ला जिल्ला तातोपानी गाउँपालिका लाम्रा गाउँका बासिन्दा हुन्)