Monday, January 4, 2021

कसरी सुरू भयो मष्टो चलन?

डा. गोविन्द केसीले आफ्नो १९ औं अनसन जुम्ला सदरमुकाम नजिक सिंगाचौरगाउँस्थित बाबिरा मष्टो थान (मन्दिर) बाट सुरू गरेका थिए। अनसन वा धर्ना बस्नेहरू प्रायः खुलामञ्च, सार्वजनिक कार्यालय वा सत्ताकेन्द्र छान्छन्। तर एउटा चिकित्सकले अनसनस्थल स्थानीय मष्टो देउता थान रोज्नुलाई अर्थपूर्ण तरिकाले विश्लेषण गर्न सकिन्छ।

स्थानीय चलनमा कर्णाली क्षेत्रका अधिकांश समुदायले हरेक विशेष काममा मष्टो अर्थात आफूले मान्ने देउतालाई सबभन्दा पहिले सम्झिन्छन्। त्यसैले स्थानीय जनसमुदायको मनोभावनासँग जोडिन मष्टोको थान रोजिएको हुनसक्छ।

मानिसको सर्वांगीण स्वास्थ्यका निम्ति मानसिक, सामाजिक र आध्यात्मिक पक्षहरूको सन्तुलन उत्तिकै आवश्यक हुन्छ। भौतिक वा शारीरिक स्वास्थ्यलाई मात्र बढ्ता ध्यान दिने अहिलेको परिवेशमा अरू पक्षको चर्चाले उति प्राथमिकता पाउँदैनन्।

मष्टोसँग जोडिएको समुदायमा यस सम्बन्धी मान्यता र संस्कारको व्यवस्थित अध्ययन र छलफल आवश्यक छ। यसले मष्टो मान्ने संस्कृतिप्रतिको कतिपय भ्रम निवारण गर्न मद्दत गर्छ भने सम्भावित अस्वस्थकर तथा जोखिमपूर्ण व्यवहारलाई न्यूनीकरण गरी सांस्कृतिक तथा आध्यात्मिक आस्थालाई अझ मजबुत बनाउँछ।

मष्टो परम्पराको अध्ययन र बहस गर्नेहरू यसको उत्पत्ति र परम्पराबारे थरिथरिका तर्क प्रस्तुत गर्छन्।

यस क्षेत्रमा मष्टो मान्ने परम्परा कसरी सुरू भयो भन्नेबारे आ-आफ्नै विश्वास छ। कोही मष्टो देउता बद्रीनाथ केदारनाथ हुँदै यसक्षेत्रमा आएको हो भन्ने ठान्छन्। कसैले कैलाशपर्वतबाट आएको विश्वास गर्छन्। कसैकसैले मष्टहरू इन्द्रदेवको अंशका रूपमा हेर्छन्। कोही पाण्डवका छोरा भनेर पनि भन्छन्। कोही राक्षसहरूबाट बचाउन भवानीले मष्टा सृजना गरेको भन्ने मान्छन्। यो क्षेत्रका माण्ठ (मानिस) र मष्टो (देउता) दुवै मध्यपूर्वतिरबाट आएका हुन् भन्नेहरू पनि छन्।

कोही यसलाई धर्म भन्छन् भने कसैले सम्प्रदाय, परम्परा वा संस्कृति पनि मानेका छन्। कोही यसलाई अवैदिक, प्राकृतिक वा अपौराणिक धर्म हो भन्छन्।

एउटा बलियो मत कर्णाली क्षेत्रमा बस्ने सबै खसजाति हुन् र मष्टो उनीहरू अर्थात खसजाति मात्रको इष्टदेव भन्नेहरू छन्। मष्टो भनेको गैरहिन्दु परम्परा हो भन्ने मत पनि छ। त्यसैले जातीय राजनीतिको मुद्दा बोक्ने समूहहरू आगामी जनगणनामा मष्टो धर्म थपिनुपर्ने तर्क गर्छन्।

प्रायः अध्येयताहरूले अनेक सीमाहरूका माझ गरेका अध्ययन अनुसन्धानहरू अपूरा, असंगतिपूर्ण र असन्तुलित लाग्छन्। म आफू विषयविज्ञ त होइन तर कर्णालीको मष्टो मान्ने परम्परामा जन्मेर हुर्केकाले यसबारे लेखिएका विषयले ध्यानाकर्षण गर्छ। मलाई धेरैजसो सतही वा पूर्वाग्राही विश्लेषण जस्ता लाग्छन्। केही उदाहरण हेरौंः

मष्टोको धामी आङमा चढेका बेला पालीहरूले धामीलाई गर्ने सम्बोधनमा 'नारायण गोसाईंअ...' भनेको सुनेर मष्टो देउता विष्णु वा इन्द्रको अवतार भन्ने अध्येताहरू छन्। कुनै एउटा मष्टोको थान पूजामा चढाएको पाठो कुनै धामीले दाँतले टोकेको हेरी यो त राक्षसी अवतार हो भन्ने विश्लेषकहरू छन्। बाह्र भाइ मष्टो भनेको सुनेर यसलाई बराह अवतार भन्नेहरू छन्। सुदूरपश्चिमका गाउँघरतिर मात्र पुगेका लेखकले बद्री-केदारनाथबाट आएको भनी लेखेको पाइन्छ।

प्रायः विदेशी लेखकका मानवशास्त्रीय किताब पढेर नेपाली समाज अध्ययन गर्ने लेखकले माण्ठ र मष्टो दुवै मध्यपूर्व इरानबाट अफगानिस्तान, भारत हुँदै नेपाल पस्ने सिद्धान्तमा यसलाई व्याख्या गरेको पाइन्छ। त्यस्तै साधुसन्तको संगतमा परेका अथवा बनारसमा दीक्षित लेखकले गैरहिन्दू परम्पराका रूपमा चर्चा गरेको पाइन्छ। अनि धार्मिक तथा जातीय सामाजिक राजनीति मुद्दामा लेख्नेहरूका दृष्टिकोणमा यो सम्पूर्ण प्राकृतिक तथा आदिवासी परम्परा हो।

तसर्थ, यसमा अतिरञ्जित, सतही वा पूर्वाग्राही नभइ गहन तर सन्तुलित विमर्श आवश्यक रहेको ठान्छु।

लिखित दस्तावेज हराइसकेका र संस्थागत नभएका कर्णालीका धार्मिक तथा सांस्कृतिक इतिहास अध्ययनहरू मूलतः श्रुति परम्परामा आधारित छन्। मष्टोबारे लेखिएका रचना र संकलनहरू प्रायः सबैले मिथक र किम्बदन्तीलाई आधार मानेका छन्।

संसारभर हरेक समुदायमा आ-आफ्नै प्रकारका धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक आस्थाहरू चलनमा छन्। समुदायका मानिसले ती चलनलाई आ-आफ्नै विश्वास र मान्यताअनुसार वर्णन गरिरहेका हुन्छन्। ती मान्यतालाई कुनै आधुनिक विज्ञानले प्रमाणित गरिरहनु पर्दैन। सायद कर्णालीतिर हरेक गाउँमा भेटिने मष्टोबारेका अनेकथरी विश्वास र मान्यताहरू नै मौलिक परम्परा र सांस्कृतिक विविधताको रोचक अनि सुन्दर पक्ष हो।

मेरै घरसँग जोडिएको बाबिरा मष्टोबारे एउटा प्रसंगको चर्चा गर्छु।

यसपालि दसैं पूर्णिमाका दिन मेरो घर जुम्ला, लाम्रागाउँमा धुमेलो (धामी पतुर्ने) राख्ने योजना थियो। त्यसका लागि बाबिरा गाउँबाट बल धामी (बलबहादुर बुढा) आएका थिए। उनी यो भेगमा नाउँ चलेका धामी हुन्। उनका बुबा तुलाराम बुढा पनि बाबिरा मष्टोका मूलधामी थिए।

तुला धामीसँग २०२७ साल जेठमा सत्यमोहन जोशीसहित जुम्लामा अध्ययन गर्न गएको टोलीले पनि गाउँको थानमा धुमेलो राखेको थियो। तुला धामीले अक्षता माडेर हातबाट सिकपाती (तिलक) को धारा निकाली सबैलाई लगाइदिएका थिए। यसबारे शताब्दीपुरुष सत्यमोहन जोशीले शारदा पत्रिका, वर्ष १, अंक २ मा 'मष्टो धामीसँग साक्षात्कार' लेखेका छन्। उतिबेला चारपुस्ता अघिका मेदे धामी मृत्युशैयाबाट पनि उठेर पतुर्न (नाच्न) सक्थे भन्ने आश्चर्यजनक र अलौकिक वर्णन सुनेका थिए।

बल धामीलाई अघिल्लो राती मेरै घरमा बस्नेगरी निम्त्याएका थियौं। मैले राती केहीबेर उनीसँग बाबिरा मष्टो, धामी र धूमेलो प्रथाबारे बातचित गरेँ।

बाबिरा मष्टोको मूलथान हालको तातोपानी गाउँपालिकाको बाबिरा गाउँमा छ। बल धामी त्यही गाउँका हुन्। सत्यमोहन जोशीको टोली जुम्लाको सिंजामा कर्णाली संस्कृति अध्ययन गर्न जाँदा तातोपानी गाउँपञ्चायतको जर्मी गाउँमा बास बसेका थिए। त्यतिबेला तातोपानीका प्रधानपञ्चले बाबिरा गाउँमा धुमेलो राख्ने चाँजोपाँजो मिलाउन लगाएका थिए।

किम्बदन्ती अनुसार बाबिरा मष्टो भोटानतिरबाट घुम्दैघुम्दै आएर हालको गाउँमाथिको डाँडामा आइपुग्यो। त्यहाँ गाई चराइरहेका बालकहरूमध्ये आठ वर्षको एउटा बालकमा औतियो (चढ्यो)। उनीहरूले समाइरहेको घाँसका त्यान्द्राहरू धजा (ध्वजा) र कोइराको घाँट (घण्ट) बने।

घुमिरहेको मष्टो त्यहाँबाट पनि पश्चिम तिलानदी छेउछेउ हालको फोइमहादेव राँचुली गाउँ भएको क्षेत्रसम्म पुग्यो। तर कतै बस्न नपाएपछि फर्केर हालको सुन्ढुस्की (मूलथान भएको ठाउँ) फर्केर स्थायी भयो। क्रमशः यो गाउँको नाउँ पनि बाबिरा गाउँ भयो। कसै-कसैले बाबिरा गाउँमा रहेकाले यो मष्टोको नाउँ बाबिरा मष्टो रहन गयो भनि उल्टो व्याख्या गरेको पाइन्छ।

यस्तै विश्वासअनुसार बाबिरो सुन्ढुस्कीमा पुग्नुअघि हियाँखोला नजिक फान्चौरमा रहेको मेरो पुर्ख्यौली घरमा बसेको थियो। जोगीको भेषमा आएका मान्छेलाई ठूलो कराइमा तताएर राखेको दूध आफैं खाऊ भन्दा सबै पिइदिएछन्। अनौठो व्यवहार देखेर उनलाई केरकार र सोधपूछ गर्दा आफू बाबिरो भएको र यसको गुन सधैं तिर्ने बताएछन्।

उतिबेला एक्लैले ठूलो बथानमा पशुपालन गर्ने मेरा पुर्खालाई पाटन चर्न छाडेका घोडाघोडीका बथान घर फर्काउन होस् वा लेकमा राखेका गाईवस्तुको रेखदेखमा होस् वा अन्य बाधा अप्ठ्यारोमा, बाबिरा मष्टोले हरबखत साथ दिइरहन्थे। त्यसैले हामी बाबिरा देउता पुज्ने पूर्णिमाको एक दिनअघि चतुर्दशीमा घरैमा रहेको बाबिरा थान पूजा गर्छौं। यहाँ पुजिएपछि मात्र बाबिरा देउता भोलिपल्ट, पूर्णिमाको दिन मूलथानमा हुने पूजामा पुग्छन् भन्ने विश्वास छ।

संसारभर मष्टो पूज्नेहरू सबैले 'बाह्र भाइ मष्टो, नौ बहिनी भवानी' भएको मान्यतामा विश्वास गर्छन्। बाह्र भाइ मष्टोमध्ये बाबिरा मष्टोलाई कान्छो मानिन्छ। कर्णाली, भेरी, सेती र महाकाली क्षेत्रमा ठाउँअनुसार मष्टोका नाउँमा विविध भेद पाइन्छ।

कतिपय अध्येता र लेखकहरूले यी क्षेत्रमा पुजिने सबै देउतालाई मष्टो भनी उल्लेख गरिदिँदा पाठकहरूमा एकखाले भ्रम हुन सक्छ। कतिले मष्टो, भान (वाहन), भवानी, देउती, पितृ तथा गैरमष्टोको भिन्नता नखुट्याइ सबै उस्तै वा एकै हो भनी बुझ्ने गल्ती गर्न सक्छन्।

सामान्यतया मष्टो थानको कार्यव्यवस्था र पूजाआजा चलाउने जिम्मा धामी, पूजारी वा डांग्रीको हुन्छ। प्रायःजसो पूजारी वा डांग्रीको भूमिका जेष्ठ सदस्यकोमा पुस्तान्तर हुन्छ। जसको आङमा देउता औतियो, उही धामी हुन्छ। कहिलेकाहीँ फरक पुस्ता वा परिवारका सदस्यहरू धामी बन्न सक्छन्। बल धामी उनको परिवार खलकका १६ औं धामी हुन्।

धामी हुन निश्चित योग्यता पुग्नुपर्छ। हरेक धामी बन्नुअघि केही वर्षसम्म सबैमा भान (वाहन) औतेको हुन्छ। भानले पतुर्ने बेला मूलधामी र अरू धामीलाई आफ्नो काँधमा चढाएर सम्मान गर्छ। भानको स्वभावअनुसार ऊ पतुर्दाको प्रदर्शन देखिन्छ। धेरैजसो सूरवीर, शक्तिशाली र आक्रामक रूपमा देखा पर्छन्। भानलाई अक्षताको बिदो र धजा वा रुद्राक्षको माला लगाएर फुकेको चामलको फाँको खुवाइदिन्छन्। महिलाहरूमा देउती, भवानी, लाटी आदि औतिन्छ। उनीहरूलाई सिन्दुर घसेर, कतै डौटो (पछ्यौरा) दिएर, धजा बाँधेर अक्षता खुवाइन्छ।

आफ्नो शरीरमा देउता औतिन थालेपछि सुरूआतमा सबै धामीले त्यसको आधिकारिक मान्यता लिन सो मष्टोको मूलथानमा जानुपर्छ। यसरी मान्यता लिन आएका धामीहरू मूलथानको पूजामा सबैसँग पतुर्छन्। मूलधामीले उनीहरूमा साँच्चै आफ्नो मष्ट देउता औतिएको छ छैन भनी जाँच गर्छन्। धामीहरू बीच सवाल-जवाफदेखि क्षमता प्रदर्शनसम्म हुन सक्छ।

उचित ठानेमा सोही मष्टाको धामी कहलाउने 'छापबिदो' पाइन्छ। मूलथानका मूलधामी भने अकै मूलथानका मूलधामी वा तीर्थबाट छापबिदो लिन जान्छन्। जस्तैः बाबिरा मष्टोका मूलधामीले मुगुको कवागाउँमा रहेको कवा मष्टोसँग छाप माग्छन् भने कवा मष्टोको मूलधामी बाजुरा जिल्लामा रहेको बडिमालिका जान्छन्।

धेरै धामी हुने थानमा एकजना मूलधामी, उनका भानहरू र अन्य धामीहरू हुन्छन्।

उपयुक्त तिथि, बार, समय, शुद्धता र एकाग्रता भएपछि मात्र धामीको आङमा देउता औतिन्छ। देउता औतेपछि धामी काम्ने, पडेली पर्ने (आफ्नै भाषामा बोल्ने) र पतुर्ने (नाच्ने) गर्छन्। धामी पतुर्दा मांगल गाउने, घन्टा र दमाहा बजाइन्छ। थान पुज्दा बजाइने दमाहा बाजाको ध्वनी र ताल विशिष्ट हुन्छ जसलाई सुनेर टाढाटाढाका गाउँका मानिसले धामी पतुर्न थालेको अनुमान गर्न सक्छन्।

सो मष्टो मान्ने, विश्वास र अनुशरण गर्ने घरका भक्तजनलाई मष्टाको पाली भन्छन्। सामान्यतयाः धामीले गादीमा बसेर पालीले ल्याएका अक्षता चढाउने, उनीहरूका समस्या सुन्ने र निराकरणका उपाय भन्ने गर्छन्। पालीबाहेक अरूले पनि देउतासँग परामर्श लिन सक्छन्।

बल धामीसँग धुमेलो गर्न अहिलेसम्म जुम्लाका लगभग सबै गाउँ, कालिकोट, डोल्पा, हुम्ला, मुगु, बाजुरा, दैलेख, जाजरकोट, सुर्खेत, बाँके, बर्दिया, कैलाली, सल्यान, प्युठान, दाङ र भारतबाट समेत मानिसहरू पुगेका रहेछन्। उनका अनुसार काठमाडौं उपत्यकाको भक्तपुरमा पनि बाबिरा मष्टोको पुरानो थान छ जहाँ उनी गत वर्ष नातिसँग काठमाडौं घुम्न आउँदा केही पटक धुमेलो बसेका थिए।

धेरैजसो धामीहरू पतुर्दा सुरूआतमा पडेली (आफ्नै भाषामा बोल्ने) गर्छन्। पडेलीमा बोल्ने भाषा फरक हुन्छ। कतिपयले यसलाई देवभाषा पनि भन्छन्। यसलाई बुझ्न खाबा (दोभाषे) चाहिन्छ। कतिपय डांग्री वा स्थानीयले खाबाको काम गरिदिन्छन्। तर अचेल सबै जान्ने खाबा पाउन मुस्किल छ। सत्यमोहन जोशीलाई बताउने खाबाले पनि आधाउधी मात्र अर्थ्याउन सकेका थिए।

पडेलीमा मष्टो उत्पत्तिदेखि भोगेका विभिन्न जोखिम यात्रा, संघर्ष र लडाइँको बयान हुन्छ भनिन्छ। मैले बातचित गरेका बल धामीलाई पनि आफूले पडेलीमा बोलेका कुरा देउताले आङ छाडेपछि याद हुन्न।

कोलम्बिया विश्वविद्यालयबाट सोधका लागि २०३० सालमा बाबिरा गाउँनजिकै सुनारगाउँ (डाँगीबाडा) बसेका सोधार्थी जेम्स ग्याब्रियल क्याम्पबेलले जुम्ला सिंजाका तुंगनाथ उपाध्यायको सहयोगमा बाबिराका धामीले पालीसँग गरेको सवाल-जवाफ उल्था गर्न सकेका छन्। तर पडेलीको भने उल्लेख छैन।

वर्षभर चार पूर्णिमाका बेला मष्टो थान पुज्ने उत्सव चल्छ। वैशाख र कात्तिक पूर्णिमामा पाली (भक्तहरू) ले भाकल गरेका, सजाय पाएका वा जस (शुभ तथा खुसीका बेला) ल्याएका पाठा-कुखुरा काटिन्छ। साउन र माघ पूर्णिमाको पूजामा बलि चढ्दैन। अरू विशेष दिनहरूमा स-साना पूजा लाग्छन्। कृषिकर्ममा व्यस्त रहने यहाँको समाजमा हरेक नयाँ अन्नको न्वागी गरेर मष्टोलाई चढाएपछि मात्र आफू खान मिल्छ।

कर्णालीतिर माओवादी युद्धताका डरले सुस्ताएका सांस्कृतिक गतिविधिहरू अचेल पूनर्जीवित भइरहेका छन्। मष्टो पूजा पनि यस्तै एक हो। यसमा आस्था राख्नेहरूले आफूले चाहेअनुसार अनुशरण गर्न पाउनु स्वतन्त्रता पनि हो।

यद्यपि यस्ता परम्परासँग जोडिएका जोखिमयुक्त व्यवहारहरू भए सुधार गर्नुपर्छ। अन्धविश्वास वा रुढीवादी भन्दै मौलिकता, परम्परा र सांस्कृतिक विविधता हराउन दिन हुन्न।
लेखक माधव चौलागाईं
सुनारगाउँको मष्टो थान र मष्टोमा राखिने काठका मूर्तिहरू (दायाँ)

https://www.setopati.com/opinion/224938
प्रकाशित मिति: बुधबार, पुस १५, २०७७, १४:२८:००