Sunday, September 21, 2014

रहरको दौड - धुलेबाटो र म्याराथन - २


'ट्रिङ्ग ट्रिङ्ग!! बिहान ठीक ५:१५ बजे साथीले गरेको फोनले बिउंझिऍ।  झटपट फ्रेशहुने र हिड्ने तयारीमा लागें।  बत्ति थिएन। टिसर्टबाहेक अन्य कुनै चिजपनि तयारी अबस्थामा थिएन।  खोज्न हतार भयो।  जयलक्ष्मीपनि आई। उ ५ किमि (स्टुडेण्ट) मा दौडने रे।   घरबाट हिड्दा ५:५० भैसकेको थियो।  खुल्लाबाटो, बाइकमा रंगशालापुग्दा ठिक ६ बज्यो।  रनरहरुको बाक्लो उपस्थिति र चहलपहल थियो।  साथीहरु संग पार्किंगमै भेट हुन सुरु भयो।  सबै उत्साहित थिए।  र म पनि। बादललागेको छ।  हिजो निकै पानी परेको थियो।  आज पनि पर्न सक्छ।  तर अहिले मौसम निकै फ्रेश छ।  धुलो छैन र घाम पनि छैन। यस्तै रहेमा दगुर्नको लागि उत्तम हुनेछ।  

भनेको समयमा रन सुरु भएन।  चिनेका साथीहरुसंग गफगाफ, फोटो सेसनहरु हुँदै गर्दा समय रमाईलै बित्यो।  बोरिङ्ग भएन। रंगशालाको चौर भिजेको थियो।  बस्ने ठाउँ थिएन।  उभिँदा उभिँदा थाकियो।  लगातार बजिरहेको यौटा प्रायोजकको जिङ्गल पनि ईरिटेटिङ्ग बन्नलाग्यो। किन ढिला भनेको त मुख्य अतिथि बनाईएको मन्त्रीजी नै  आईनपुगेकोले रहेछ।  मन्त्रि १:१५ घण्टा ढीला आइपुगे।  उनि त 'खेलकुद' हैन 'सिंचाई' मन्त्री रहेछन् - एन. पी. सावद।  मन्त्री आएर धन्न भाषण भने गरेनन्।  एउटा गन फ़ाएर र बेलुन उडाए संगै दौडे फुल मराथान धावकहरु - ७:१० बजेतिर।  हामी दौड्दा ७:१५ बजेको थियो।  मनमा थोरै डर/चुनौती बोकेर धावकको जमात संगै म पनि रंगशालाको गेटबाट निस्किएर त्रिपुरेश्वरको चोकको बाटो थापाथलीतिर मोडिएँ।  प्रोफेसनल धावकहरु ह्वात्त अघि बढे।  अनुभवी अन्य धावकहरु संयमित तरिकाले यौटा पेसमा दगुर्न थाले।  मैले त्यै लयमा मिसिन प्रयास गरेँ । 
आयोजकका अनुसार यसपाली ४,६४७ जनाले रजिस्ट्रेशन गरेका थिए।  जसमा म्याराथनमा ७० जना, हाफ म्याराथनमा २२३ जना, पाँचकिमि (ओपन)मा २,६२३ जना, पाँचकिमि (स्कुल)मा १,७२१ जना र व्हीलचेयरमा १० जना थिए।  यो पोहर र अघिल्ला बर्षहरु भन्दा निकै कम हुनुपर्छ। तयारी र प्रचारको कमी।    

हामी थापाथलीबाट दाहिने मोडिएर बागमती पुल पार गरि ललितपुरतिर लाग्यौं। कुपन्डोल पहिलो उकालो आयो।   केही धावकहरुले ओभरटेक गरे।  त्यो चढाईमा कुनै असहजता भएन तर हल्का पसिना सुरुभयो ।  मैले सतिसजी र उहाँको साथीको पछिपछि दौडेर पेस मिलाउने प्रयास गरें।  पाटन ढोका पुगेर हामी बायाँ ओरालो चाकुपाटको नयाँ र सफाबाटो दौड्यौं . रातिको पानीले धोएकोबाटो कालो चम्किलो देखिन्थ्यो।  तल बागमतीखोला किनारा ज्वागल युएन पार्कछेउको तल्लो शंखमुलपुल तरेर फेरी काठमाडौँ छिर्यौँ । दाहिने मोडेर खोलाको तिरैतिर  कच्चीबाटोमा भएको पानीका खाल्डाहरु नाघ्दै शंखमुल - बानेश्वरको बाटो आइपुग्यौं। बाटोमा भवानीजी भेटिए । २५ मिनेट भयो होला।  खतरनाक उकालो आयो - शंखमूलमा । ओहो, कसरि सकिएला ?  अघिअघि दौडनेहरु कोही हिडेंका पनि देखिए। ट्राई गर्छु नसके हिड्छु भनेर उही पेसमा उकालो दगुरें। सकें। २-३ जनालाई ओभेर्टेक गरें।  निधारबाट पसिना चुहिन थाल्यो । शरीर भिज्यो।  मुख सुक्यो।  डिहाईड्रेसनको संकेत।        
बानेश्वर चोकबाट तिनकुने तिर मोडीयौं । भूँईतिर हेर्दै दौडिरहेको मलाई बिआईसिसीको आघाडि कसैले बोलायो।  निना म्याडमले इलेक्ट्रोलाईट्स पानी दिन बोलाउनु भएको रहेछ।  थोरै पिएँ, अमृत झैँ। त्यसपछि पनि  उहाँले  पटकपटक अरु ठाउँमा पानी बाँड्नु भयो। अत्यन्त राहत भयो। दौडमा रिहाइड्रेसन निकै जरुरी कुरा हो।  र सायद केहि फोटो पनि खिच्नु भयो एसएलआरबाट । मैले तिनकुने पुग्दै गर्दा २ जनाअरु धावकहरुलाईपनि ओभरटेक गरें तर तिनीहरुले एक घण्टा पछि फेरी मलाई पछिपारेका थिए।  त्यसपछि शुरुभयो स्लोप उकालो बाटो तिनकुने -  सिनामंगल, केहि तेस्रोहुँदै एयरपोर्ट गेट।  गाडीको हर्न, धुवाँ, धुलो पार गर्दै एकसुर दौडीरहेँ।  बाटोछेउ कतै 'रेहाइड्रेशन स्टेसन' थिए।  भोलेण्टिएरहरुले बाटोको संकेत गरिरहेका देखिन्थे।  ट्राफिक प्रहरीसंग मिलेर सवारी रोकी धावकलाई बाटो मिलाईथिन्दे।  तरपनि केहि माईक्रो र बाईकवालाहरु हर्न बजाएर डिस्टर्ब गर्न छोड्दैनथे।  कतै आर्मीका जवान झैँ देखिने जमातले म तिर इंगित गर्दै 'यसले राम्रो स्टेपमा दौडेको छ' भनेको सुनें।  मेरो फुट पोजिसनको कुरा गरेको थियो।  मलाई सन्तोष लग्यो।  म त्यै लयमा कुदें।  

पिङ्गलस्थान - गौशाला - मित्रपार्क - चावेलसम्मको बाटो पनि थोरै समतल र अधिकांश सुस्त उकालो थियो।  गौशाला आसपास ट्राफिक भिडले मेरो दौडको पेस अबरुद्ध गर्यो।  चावेल पुगुन्जेल सतिशजीहरु करिव ५०मि अघाडी थिए।  भवानीजी पटक-पटक हिड्दै र कुद्दै गरेको देखिन्थे।  चावेलबाट सुरु भएको सुस्तओरालो बाटो कठीन बन्यो। दुईजना केटीहरुले मलाई ओभरटेक गरे।   सुकेधाराको उकालोमा उनीहरुलाई मैले पछि छोडें। अर्को एक केटाले मलाई उछिन्यो।  म नरोकिएर दौडें। पर्याप्त पानी खाईरहेको त थिएँ तर मलाई भोक लग्यो।  बिहान केहि खाएको थिईन।  पैसा थिएन। केहि किन्न सकिएन।  थकानपनि बढ्यो।  हिडुं झैं मन भयो।  तर पनि कुदें।  यतैकतै भोलेण्टिएरले पानीमा भिजाएको 'स्पोंज' बाँडीरहेका थिए।  शरीर पुछेर  चिस्याएँ। तै पनि थकान थियो।  महाराजगंज पुग्दा न पुग्दै ति केटिहरुले उछिने। उता सतिशजी र अरुहरु ओझेल परे।  पेस बढाउने प्रयास गरें।  सकिन।  त्यसो गर्नु राम्रो हैन जस्तो लग्यो।  किनकि मेरो आफ्नो पेस बिगारेर दौडे झन् थाकिने र बाँकी रन बिग्रिने डर हुन्छ।  मलाई मेरो आफ्नै कमजोरी र सिमासंग लड्नु छ।  मैले आफ्नै तरिकाले रन पूरा गर्नुछ।  अनि, म निरन्तर दौडिएँ।  

महाराजगंजबाट देब्रे मोडीएर अब रुट सिधा लाजिम्पाट - लैनचौर - दरबारमार्ग - शहीदगेट हुँदै अन्तिमबिन्दु पुग्छ।  सायद ६-७ किमि दुरी बाँकी छ।  बाटोमा उभिएका केहि भोलेण्टिएर र बटुवाहरुले ताली बजाएर हौस्याए।  राष्ट्रपति कार्यालयको बाटोकाटेर पानीपोखरी पुग्दै गर्दा जयलक्ष्मी र सविना भेटिए।  केरा दिए। दौडदै गर्दा एक टुक्रा लिएँ। साह्रै मीठो लग्यो। निकै इनर्जी क्षय भएकोले होला, भोकको रापमा त्यो केरा अत्यन्त मिठो लग्यो।  फेरी केरा 'क्वीक इनर्जी' पनि हो। पानीपोखरीको ओरालोमा उनीहरुलाई बोलाएर फेरी मागें। सिङ्गै केरा खाएँ।  ओरालो यति कठीन बनेर आयो कि म हिंडें - यो पुरा यात्रामा पहिलो चोटी। ओरालो सकिन्जेंल हिँडे।  एकठाउँमा उभिएर पानी पिउंदै गर्दा संजीव आए, बाईकमा।  उनि ५ किमिको रेस सकेर घर फर्किंदा यतैबाट आएका थिए सायद।  'गाह्रो भए बाईकमा जाने कि?' भनेर जिस्काए (?) ! म कुदें।  केहि क्षणमा दीपक गोपाजु भेटिए - एसएलआर क्यामेरा लिएर।  उनिपनि ५ किमि दौडेर घर पुगेर हामीलाई खोज्दै आएका थिए।  केहि फोटो लिए र गए। म दौडदै केहि अघि होटेल ग्याँग्जु तिर पुग्दा साइरनसहितका गाडीले पछ्याए र अघि बढे।  बिब नम्बर ४ को फुल म्याराथनको धावकले मलाई पछि छोड्यो।  केहि पछि अर्को एउटा र फेरी अर्कोले पनि बाइकको एस्कर्टमा पास गरे।  म आफ्नै सुरमा दौडिएं।  

म सिंहदरबारलाई बायाँ पारेर मोडिएर दरबारमार्गकोबाटो सिधा रत्नपार्क, टुँडिखेलकोबाटो दौडिएँ।  यो रुट झन्डै लाजिम्पाटदेखि एकोहोरो प्लेनबाटो थियो।  यस्तोमा खुट्टाको थाकन बढीनै महसुस भयो।  एक मनले हिडु झैँ लाग्थ्यो, अर्को मनले 'हैन म्यान, अब थोरै बाँकी छ - कुद्' भन्थ्यो । पोहर यहि बाटोमा म थाकेर चुर थिऍ र हिंडेको थिए।  तर यसपाली म कुदें।  हंगकंगबजार छेउ अपोजिट तिर राजेश र दीपक पन्त दाई बाईक भेटिए।   चियर गरेर गए। भद्रकाली पुग्दै मोडिन लाग्दा, एउटाले बोलाएर घुमेरजानुपर्ने जनाउ दियो।  फर्केर घुम्दा पुरै पेस बिग्र्यो।  एकाएक थकान बढ्यो।  जेनतेन घुमें।  निकै पानी पिएको थिएँ।  शहीदगेट नपुग्दै पिसाबले च्याप्यो।  कता जाने? हिंडेर खोजें।  बाटोमा काँक्रो र अचार बेच्न राखेको देखें।  मन थाम्न सकिन।  एउटा केटो थियो।  मागें।  बोहोनी भएको छैन भन्थ्यो तर एक चिरो दियो।  क्या मीठो ! म हिड्दै अघि बढें।  म पछिपछि आइरहेको अर्को धावक भेटियो।  भोक लग्यो भन्यो। मैले उधारो मागेर खाएको कुरा सुनाएँ ।  उ बाटोको पल्लो छेउमा भएको फलफुल पसलमा केरा मग्न हिड्यो। मैले आर्मीक्याम्प र रंगशाला छेउ एकान्त भेटेर  फ्रेश भएँ र सिंढी ओर्लिएँ बाटोमा पुगी फेरी दौडिन थालेँ।  यो रंगशाला प्रवेशको संघार हो।  म म्याराथनको फिनिशिंग लाईनको मात्र करिव ५०० मि. नजिक छुँ।  आई एम अल्मोस्ट देएर !!!
रंगशाला प्रवेश गरेँ।  मेरो अफिसका र अन्य साथीहरु पर्खिरहेका थिए।  चियर्स गरे।  मनै फ़ुरुङ्ग भयो।  अन्तिम कडीको राउण्ड दौडिएँ।  अन्तिमको लागि जोगाएर राखेको इनर्जी लगाएर फुर्तिसाथ त्यो ल्याप दौडिएँ र फ़िनिशिङ्ग लाइनमा पुगेँ। आयोजकले 'हाफ म्याराथन फ़िनिशर' को गोल्ड प्लेटेड मेडल पहिराइदिए।  एउटा प्रमाणपत्र दिए।  साथीहरुले बधाई दिए।  सबै संग फोटो खिचियो।   मतलब, मैले पूरा २१.३९ किमिलामो दूरी दौडिएर सफलतापूर्वक सम्पन्न गरें। हुर्रे !!!!!!!

अन्तमा: मैले पुराना ब्लगहरुमा लेखेकोछुँ कि म एथ्लेट हैन।  मैले बाल्यकाल वा विद्यार्थीकालमा खेलकुदमा भाग लिन सकिन/पाइन/गरिन।  सायद अव्यक्त चाहनाहरु थिए।  मौका मिले रहरहरु पूरा गर्न सकिने रहेछ।  त्यसको लागि उमेर हैन जाँगर चाहिन्छ र उत्प्रेरक व्यक्तिहरुको संगत ।  मेरो म्याराथन प्रयासमा मेरो अफिसका सतिसजीको प्रेरणा उल्लेखनीय रह्यो।  अनि पूर्व सहकर्मीहरु डा. प्रमोद, मुकेशजीहरु पनि उत्प्रेरक बने।    उनीहरुको स्पोर्टम्यानसीप अतुलनीय छ। र अन्य साथीहरु महेशजी, राजेशजी, राजनजीहरुले पनि बेला बेलामा हौस्याईराखे । धन्यबाद उनीहरु सबैलाई!   

 ------
दोस्रो खण्ड: हरेक चोटीको म्याराथन रेस सम्पन गरे पश्चात हामी केहि साथीहरुको जमघटमा सेलेब्रेसन हुने गर्छ।  यसपाली श्रीदजीले पहिल्यै एउटा प्लान ल्याएका थिए।  हामी ६ जना भयौँ।  महेश, राजन, राजेश, किरण र म।  हामी रंगशाला छेउको पुरानो अखडामा केहीबेर बसेर झम्सिखेल तिर लाग्यौं - हाँसको छोइला पाइने ठाउँ । बिहान भरी धुम्म परेको सितल आकास बिग्रियो, र दर्केर पानी पर्न थाल्यो। हामी श्रीदको ह्युमर, महेशको पन्चलाईन, राजेशको प्लट र राजनको फिलर मिश्रित माहौलमा रमायौं। र अन्तमा रोचक त के भयो भने -  निस्किँने बेला सबैको पर्समा गाडी/बाईक पन्चर भए चाहिनसक्छ भन्दै राखेको रु सौ - डेडसौ मात्र बाँकी थियो।  


(नोट: यसमा प्रयोग गरिएका फोटोहरु मोबाईल क्यामेरा, र सतिजजी र सविनाको सौजन्य हुन्।  धन्यवाद। )

Friday, September 19, 2014

रहरको दौड - धुलेबाटो र म्याराथन

काठमाडौँ म्याराथन - शनिबार,  सेप्टेम्बर २०, २०१४। आठौँ संस्करण । भोलि।  म लगातार तेस्रो पटक भाग लिंदै छुँ। र हाफ म्याराथनको यो दोस्रो प्रयास हुनेछ।  र यसपालाको जर्सी नम्बर  ५१६।


यसको सूचना त पोहरको 7th Kathmandu Marathon को फिनिश गेटमै टाँसेको थियो तर आयोजकले यसपाला कुनै पब्लिसिटी नै गरेनन् । र यो रेस हुने न हुने टुंगो डेढहप्ता अघिसम्म पनि थिएन। सर्न सक्ने हल्ला पनि आयो। सोसलमेडिया वा वेभसाईड कतै पनि आप्डेट थिएन। अन्योल थियो । हाम्रो पूर्व सहकर्मी प्रभरणजी, जो यो इभेन्टसंग केहि सम्बन्धित हुनुहुन्थ्यो, ले पनि निश्चित खबर दिनसक्नु भएको थिएन ।  मैले अर्गनाइजरलाई पठाएको इमेलको रिप्लाईमा "टाइटल स्पोन्सर न भएकोले पुरा प्रचार गर्न नसकिएको तर यो म्याराथन हुने निश्चित छ' भनेर पाएँ ।   सेप्टेम्वर १५ मा , जम्मा ५ दिन अघाडी। त्यसैले खासमा राम्रो तयारी गर्ने माहोल नै बनेन।

केहिहप्ता अघिबाट मैले दौडने अभ्यास सुरु गरेको थिएँ, एक्लै।  कहिले सातदोबाटोको स्विमिङ्गपुल कम्प्लेक्सको ट्रयाकमा त कहिले ज्वागलको युएन पार्कको ट्रयाकमा।  एक्लै दौडेको फोटो सोसियल मेडियामा राख्थे किनकि मलाई आफ्नो निम्ति आफै दवाव सिर्जना गर्नु थियो नत्र कुनै पनि शारीरिक पररिश्रम पर्ने काम बिचैमा त्यागिन्थ्यो।  अरुले कमेन्ट, कम्प्लिमेन्ट वा डिस्कसन गर्दा त्यो कामलाई निरन्तरता दिन प्रेरणा वा दवाव दुवै पर्दो रहेछ।  मैले हौसिएर निकै दौडिने गरें। नाइकीप्लसको एप्समा भएको 'भर्चुअल ट्रेनर'ले सेट गरेको तालिका अनुसार प्रयास गरें ।  खलखली पसिना बग्ने गरि कुदें । अघि अघि दौडिने कोहि अपरिचित रनरलाई फलो गरेर उ न रोकिन्जेल दौडिने गरेँ।  एकैपल्ट १३ किमीसम्म दौडें। निकै आत्मविश्वासबढ्यो।  केहि समय पछि परिणाम विपरीत आयो - मसल पेन। घुँडामुनि पछाडीदेखी कुर्कुच्चासम्म भएका टेण्डन दुखे।  शंका लग्यो।  युट्युबमा रनिङ्ग सिपबारेका भिडियोहरु खोजेर हेरें।  पत्ता लाग्यो।  मेरो फुट पोजिसन नै गलत रहेछ। पन्जाले टेक्नु पर्ने तर म कुर्कुच्चाले टेक्दो रहेछुँ।  प्रोफेसनलहरु बाहेक करिव ९०% को बानी कुर्कुच्चाले टेक्ने हुँदो रहेछ।  अनि सुधार्न प्रयास गरें।  नयाँ तरिकाले दौडें।  फेरी दुख्यो किनकि नयाँ मसल प्रयोगमा आयो। निरन्तरता दिन सकिनँ।  दुई  हप्ता लग्यो सबै मांशपेशीको दुखाई जान।  फेरी प्राक्टिस सुरु गरें।  अब ५-७ किमि दौडिने गरेँ। केहि सुधार भयो। 

अफिसतिरका र अन्य साथीहरु निकै उत्साही थिए । सबैको तयारी कम, उत्साह बढी भयो। यहि छोटो समयमा पनि करीब ४२ जना (अफिसका सहकर्मी र अन्य चिनजानका साथीहरु) हाम्रै नेटवर्ककाहरु ले दर्ता गरे।  रमाईलोको लागि उन्त्साह नै चाहिने हो।

सतिशजीलाई अनुरोध गरेर नयाँ रनरहरुको निम्ति छोटो तयारीको टिप्स/सल्लाह सेसन गरियो।  केहि रनरहरुलाई जवर्जस्ती फकाउनु परेपनि, चहलपहल, कुराकानी र जर्सी भएपछी त उमङ्ग बढ्ने नै रहेछ।  सबै एक्साइटेड बने।  यसपाली भवानीजीले पनि हाफ मराथान दौडने निर्णय गरे।


छोटो समय र अन्य व्यस्तताले यसपाली कुनैखाले  'सोसियल' कार्यको निम्ति क्याम्पेन गर्ने योजना बन्न सकेन।  फेरी यस्तो कामको लागि यौटा टिम वा सक्रियता देखाउने केहि व्यक्तिहरु भए प्रभावी हुन्थ्यो जुन यसपाला कोही भेटिएन।  तर, जेहोस् 'फन' र 'पर्सनल एडभेन्चर' को निम्ति दौडिने भइयो।  

पोहर झैँ यो पालाको इभेन्ट पनि त्रिपुरेश्वरको दसरथ रंगशालामै शुरु र अन्त हुने छ।  ५ किमिको लागि रुट पनि उही छ।  तर, हाफ र फुल म्याराथनको रुट भने भिन्न रहेछ।  यो वर्ष नयाँ रुटको अनुभव हुने भयो - थापाथली चोक - पाटन क्याम्पस - शंखमूल - बानेश्वर - तिनकुने - गौशाला - चावेल - नारायणगोपालचोक - दरवारमार्ग - शहीदगेट।

नयाँबाटोमा आफै लक्ष र आफ्नै कम्फर्ट जोन सँग संघर्ष गर्दै आफैलाई जित्ने थोरै साहसिक प्रयासलाई सम्पन्न गर्दै - फ़िनिशिङ्गलाईनमा पुगेको रोमान्चक कल्पना आईरहेको छ।   (बाँकी भोलि)
 














सातौँ संस्करण बारेको यी ब्लगहरु पनि पढ्नुहोस्:  
Blogs on 7th Kathmandu Marathon (1)
Blog on 7th Kathmandu Marathon (2)
Blog on 7th Kathmandu Marathon (3)