Wednesday, April 11, 2018

राजेन्द्र उप्रेतीको मुगु रारा यात्रा डायरी



केहीदिनको मुगु यात्राको सिलसिलामा म अप्रिल १, २०१८ बिहान ७:३० बजे नेपालगंज उडे | मलाई कति छिटो मुगु पुगुँला र सुन्दर राराको अवलोकन पनि 
गरुँला भन्ने उत्साह र हतार थियो | समयमा नेपालगंज पुगें र सिधै काठमाडौँबाटै मुगुको लागि भनेको टिकटको लागि ट्राभेल एजेन्सी भएको ठाउँ गएँ।  तर, एजेन्सीले मलाई निराश बनाएर पठायो भन्यो कि आज तपाईले टिकेट पाउन सक्नु हुन् किन कि त्यहाँ  त राराकर्णाली महोत्सब शुरु हुन लागेकोले बैसाख पहिलो हप्तासम्म टिकट पाउन गाह्रो छ  | लौ पर्यो फसाद! अब के गर्ने होला ? कति धेरै सपना देखेको थिए, परिवारलाई पनि मुगुबाट फर्किने बेला रारा बोलाउछु रारा घुमाउछु भन्नेदेखि अरु कति कति........तर ति सबै सपना त नेपालगंज विमानस्थल मै चकानाचुर भए जसो लाग्यो | अब के गर्ने गर्ने अरु धेरै ठाउँ बुझे तर टिकट पाउन गाह्रो भयो | केहि नलागेपछि सडक मार्फत जान्छु भनि बसपार्क तिर गएँ र धेरै प्रयास गरे तर मुगु भन्ने बितिकै बस काउन्टरदेखि ट्राभेल एजेन्सीसम्म नाक बांगो बनाउन थाले।  त्यो प्रयास पनि सम्भब नभएपछि आज म नेपालगंज बस्ने निर्णयमा पुगेँ  | 

दोस्रो दिन प्लेन टिकटको लागि धेरै ठाउँमा प्रयास गरे तर भोलिको लागि पाउला जसो छ भनि आश्वासन मान्छे त बिहानै  मोबाइल अफ गरेर गायव छ। अब के गर्ने होला ? अब जे होला होला भनि सबेरै एयरपोर्ट गएँ  र समान चेकइन गरी सिधै काउन्टरमा ताल्चा एयरपोर्ट (मुगु) जाने सबै एयरलाइन्सको डेस्कमा गएर भनें - 'म संग टिकेट छैन तर म जसरी पनि मुगु जानु पर्नेछ।'  तर कसैबाट पनि टिकट मिल्ने प्रतिक्रिया पाइएन | 
अन्ततः एकजना एयरपोर्ट भित्रकै मित्रको सहयोगमा धेरै बादविवाद गरेर टिकेट पाउन सफल भएँ। युद्द जिते झैँ लाग्यो | नेपालगञ्जबाट रारा जाने प्लेनको सिट नपाउने तर राष्ट्रिय ध्वजा बाहक जहाज चै आधा प्लेन खाली हुन्छ रे । यसको कारण निजि बिमान कम्पनीका प्रतिनिधिले कमिसन दिने भएर यसो भएको भन्ने कुरा सुन्नमा आयो | मेरोपालो  भन्दा पहिले २ वटा प्लेन उडे -  एउटा तारा र एनए NA ।  लगभग २ घण्टापछि ताराको जहाज फर्कियो रारा जाने सबै यात्रुहरु प्लेनतिर हानिए।  यस्तो दृश्य देखियो कि त्यो जहाज नभएर काठमाडौँको रिंगरोडको महानगर बस जसो न कुनै सरसफाई न कुनै परिक्षण।  सिधै झर्ने यात्रु झरे अनि चड्ने यात्रु चढे |  म संग विमानमा सवार लगभग १० जना बिदेशी साथीहरु थिए  | प्लेन उड्यो।  
विदेशीहरु भएर हो कि सँधै धै यस्तै हो थाहा भएन तर आज विमानले यति राम्रो संग राराको अबलोकन गराई दिनु भयो कि बास्तमै अविस्मरणीय रह्यो त्यो पल | राराको सुन्दर अबलोकन पछि बिमान अवतरणको समय भयो।   विमान पहाडमै ठोकिन्छ झैँ लागेर यात्रु सबै आतिए पनि सजिलै अवतरण गर्यो | 
विमानस्थल बाहिर एकजना परिचित दाईलाई भेटें।  मैले 'दाई मलाई त् टिकेट पाउन सारै गारो पो भयो त' भनेको त उहाँले जवाफ दिनु भयो 'भाई यहाँको चलन नै यस्तो छ के गर्ने म पनि मुस्किले टिकट मिल्यो भनि आको तर म आएको विमानमा ६ वटा सिट खाली थियो " | उहाँ केहिसमय अगाडी NA को प्लेनबाट मुगु आउनु भएको रैछ। 
अब म जानु पर्ने गमगडी।  गाडीको मनपरी रहेछ।  जम्मा ५ कि.मि. दूरी छैन भाडा ५०० रुपैया रे | ल अब स्वीकार्नै पर्यो।  अर्को बिकल्प नै छैन।  
गमगडी बजारमा होटेलको खोजि गरे।  एउटा होटलमा गएको जम्मा ४ रूम थिए तर सब प्याक।  अर्कोमा गए त्यहाँ पनि त्येस्तै।  अनि साथीलाई फोन गरे एउटा होटेलको नाम दियो ।  होटेल भिजिट कर्णाली।   त्यहाँ रूम भेटियो अनि बसियो २ दिन गमगडीमा र आफ्नो काम सफलता पुर्बक सम्पन्न गरे |

मलाई गमगडीबाट रारा हुदै पिना भन्ने गाउँमा जानु थियो।  बिहानै ५:३० तिर रारासम्म गाडी जान्छ भन्ने सुनेर गाडी  भएको ठाउँमा गएको त भाडा पाचँ हजार रुपैया रे।  कम्तिमा ४ जना हुनै पर्ने।  कुरा मिलेन अनि सहयोगी साथीलाई  सोधे - 'हिडेर कति समय लाग्छ ? “ उसले भन्यो 'रारा ३/४ घण्टा अनि पिना गाउँ पुग्न त्येस्तै रारा घुमेर गयो भने ७/८ घण्टा”. ल हिडौ! 
१० बजे तिर रारा पुगियो | आहा!!!! आकाशबाट देखिएको त्यो दृश्य अनि जमिनबाट हेर्दा साचिकै रारा त स्वर्ग कि अप्सरा नै रहिछिन | 
राराको दृश्याबलोकन पछि हामीले रारामा अबस्थित होटेलमा खाना खाने गयौं र भबिस्यमा साथीहरुलाई घुमघाममा सहज होस् भनि केही सूचना संकलन पनि गरें।   

होटेल र स्थानीयस्तरको सुविधाको वास्तविकता  (मैले जे देखे) 
  • होटेल २ वटामात्र छन् पुरा मनोमानी ग्राहक अनुसार लुटतन्त्र देखियो।  अझ सुनेको त दुईमध्ये एउटा होटल माओवादी र अर्को होटल एमाले नाम नै स्थानीय रुपमा परिचित रैछ।  कांग्रेसले होटल अनुमति पाउन असफल भएछ रे
  • काठैकाठका घरभएको होटलको एक रुमको रु दुई हजार भाडा र टेन्टको दुई हजार पाच सयसम्म पर्छ रे
  • फलफुल र ड्राई फुड पनि खासै नपाउने।  नौ रुपैयाको पानीलाई ७० रुपैया पर्छ।  ६० रुपैयाको चाउचाउ र ७० रुपैया पर्ने बिस्कुट किनेर खाएं 
  • मुस्किलले ५०-६० जना भन्दा बढी पाहुना राख्न सकिने ठाउँ छैन।  रूम प्याक भएको बेला भयो भने न खाना पाइन्छ न बस्न त्यसको विकल्प नै छैन 
  • बच्चा र परिवार सहित गएका मान्छेहरुको बिचल्ली देखियो ।  गाडी बिग्रेर बिचार पर्यटक यात्रुको बिचल्ली पनि बाटोमा कहाली लाग्दो अवस्था देखियो।  बाटोको अवस्था झन् बर्णन इन्द्रले पनि नसक्ने
  • राराको बिकासको लागि १६ करोड खर्च भैईसकेको जसको नतिजा हेर्दा लाग्छ १६ हजार पनि खर्च भएको छैन कि जसो 
  • स्थानीय मान्छेहरुले त्यहाँ आउने पर्यटकबाट कुनै किसिमको फाइदा लिन नसकेको
  • रारा बाट फर्किने जुनसुकै यात्रुलाई सोधे पनि निराशा मात्र देखियो जुन म आफै पनि भएँ 

यी सबै तितामीठा कुराहरुको अनुभव गर्दै रारा सुन्दरताले बिर्से झैँ गरि लागियो पिना गाउँ तिर, जहाँ बिकट, राज्यका सेवा र सुबिधाहरुबाट बन्चित तर स्वभिमानी निस्वार्थी  जनताको बस्ति। त्यो समुदाय संगको बसाई पनि अविस्मरणीय रहयो | 

पिना गाउँबाट १६ घण्टामा जुम्ला पुगियो।  मैले त्यो यात्रालाई सहासिक यात्रा भन्न रुचाएँ  .तत्पश्चात म स्थल मार्ग कालिकोट हुदै  नेपालगंज यात्रा तय गरे।| 

मेरो राज्य तथा सरोकारवालाहरुलाई सुझाब: 

  1. प्रकृतिले यस्तो सुन्दर ठाउँ दिएको छ कि (रारा) हाम्रा नेताहरुलाई त्यो भाषणमा बेच्नलाई पुगेको छ | प्रकृतिले त् दियो अब सरकारले बाटो देओस, स्वास्थ सेवा देओस, सुरक्षा देओस र अन्य भौतिक बिकाशका पूर्वाधार देओस | 
  2. टेलीफोनका कुनै सिमको नेटवर्क पाउन साइत नै जुर्नु पर्छ | त्यसको क्षमता बढाउनु पर्यो | 
  3. नेपालगंजबाट मुगु आउन यात्रा नै कठिन छ।  मोटरबाटोको यात्रा लामो जटिल छ।  हवाई यातायातमा धेरै नै राजनीति रैछ  त्यसको अन्त गरोस |
  4. नेपालगञ्जबाट रारा जान प्लेनको सिट नपाउने तर राष्ट्रिय ध्वजाबाहक जहाज चै आधा प्लेन खाली रारा आउने। कमिसनको कारण यसो भएको भन्ने कुरा सुन्दा मन सारै रोयो यस्तो कमिसन तन्त्रको अन्तहोस् | 
  5. बायु सेवा निगमले आफ्नो विमानस्थल काउन्टरमा कति सिट बुक भए अनि कति बाकी छन् भन्ने कुरा यात्रुलाई सूचना पाटिबाट जानकारी दिने व्यवस्था गरोस |
  6. ताल्चा विमानस्थल बाट मुगु गमगाडीको दुरी जम्मा ५ कि.मि पनि छैन तर भाडा दर रु. ५०० देखि ५००० लाग्छ यो के स्वभाबिक भाडा हो र ? यो अनुगमन कसले गर्छ | अनुगमन होस् | 
  7. भएका होटेलमा पनि करको बिल अनि कर बिबरण र जानकारी कुनै पनि छैन, सरकारलाई बलियो बनाउन कर संकलन प्रणाली बलियो होस् | 
  8. रारामा भएका २ वटा होटल त्यहाँ बाट तत्काल हटाइयोस या त्यहाँ प्रयाप्त होटल खोल्ने अनुमति सरकारले देवस | 
  9. कर्णालीको बिकाश नेपाली ठेकेदारहरुको सट्टा अन्तरास्ट्रिय टेन्डर गरेर बाहिरबाट ठेकेदार लाईयोस (चाइना उत्तम बिकल्प हुन सक्छ)
प्र.म.वोली ज्यु बोलीमा होइन काममा विश्वास गर्छन।  जनता चाहन्छन् कि राराबाट पर्यटन विकासको बिकुल मात्र फुक्ने होइन कि  बिकटबाटै विकासको बिकुल फुक्नुस र संगै कामको थालनी गर्नुस | तपाई आउने कुराले रारामा महंगा बैठक र सेमिनार सुरु भैईसके तर जुनकार्य भईरहेका छन् ति त्यति अर्थपूर्ण छन् जसो लाग्दैन म जस्ता सर्बसाधारण जनताको लागि |

रारा आउन चाहनेहरुका लागि केही सुझाब: 

  1. यथावास्थामा राराको सुन्दरताले जाउ-जाउ लागे पनि भौतिक बिकासको दृस्टीकोणले त्यति सहज छैन है त्यसैले मानसिक रुपमा तयारी गरेर मात्र जानु होला।  विशेषगरी बच्चा र असक्तहरुलाई सास्ती हुन्छ |
  2. फलफुल, ड्राई फुड र पानीको व्यवस्था आफै गरेर हिड्ने ।  टेन्ट र स्लिपिंग ब्याग पनि साथमा लैजानु बेस।  
  3. यदी आफै गाडी लगेर जानु हुन्छ भने गाडी राम्रो संग बनाएर जानुस गाडी बिग्रो भने हरिबिजोग हुन्छ।   सबै गाडी त्यहाँ जान सम्भब छैन फोर व्हिल मात्र जाने हो।  
  4. नेपालगंजबाट त्यस्तो गाडीले रिजर्बमा ४५ हजार भाडा लिन्छन 
यी मेरा व्यक्तिगत र केहि स्थानीयहरुसँग बुझ्दाको अनुभव हो।  म गलत भए सुझाबको अपेक्षा गरेको छु | धेरै अवसर छन् जस्तै यहाँका पर्यटकीय स्थान, बनजंगल आदि।  कल्पनागरौँ -  रेलबाट पानी जहाज मार्फत यहाँका ढुगा र चट्टान हरुलाई टापू नै टापू भएका देशलाई बिक्रि गर्यो भने मात्र पनि देश कता पुग्छ होला ?  रारा मा केबलकार कति सुहाउथ्यो होला ? 
आशा गरौँ अब मेरो पारिवारिक रारा भमण हुनेबेला त्यहाँ भौतिक बिकास भएको हुनेछ।  राराको चारैतिर बाहिरपट्टि केवलकार चलेको हुनेछ।  भरपर्दो रमणीय बाटोको यात्रा सहज हुनेछ र सजिलै प्लेन पाईने छ।  
त्यहाँको प्रदेश सरकार र देशको सरकार ले के त्यो पुरा गर्ला ?? 

Tuesday, April 10, 2018

रारा-कर्णाली भ्रमण बर्ष र कर्णालीमा पर्यटन सम्भावनाको यथार्थ

कर्णाली प्रदेश सरकारले नयाँबर्ष २०७५ लाई रारा-कर्णाली भ्रमण बर्षको रुपमा मनाउने घोषणा गरे संगै यसले चर्चा बटुलेको छ । अढाई सय बर्षदेखि पिछडिएको अनुभव गरिरहेको कर्णालीको बैभव, आत्मविश्वास र सामर्थ्य फिर्ता ल्याउने माध्यमको रुपमा पर्यटन हुनसक्ने विकल्पको रुपमा हेरिएको छ। प्रदेशका यौटा मन्त्रीले भने अनुसार हाल कर्णालीमा बर्षेनी ५० हजार पर्यटक आउँछन् ।  यो रारा-कर्णाली भ्रमण वर्षमा त्यसलाई ५ लाख पुर्याउने लक्ष राखिएको छ । के यो सम्भव लक्ष हो?  यो महोत्सवबाट के अपेक्षा राख्ने?  अहिले हुने खर्चको उपलब्धि के होला? र सरकारको प्राथमिकता यै हो या अरु कुनै छन्? आउनुहोस! एकछिन् चर्चा गरौँ:

 के रारा चिनाई रहनु पर्ने ठाउँ हो? 

अकबरी सुनलाई कसी लाउनु पर्दैन । वास्तवमा 'रारा' आन्तरिक पर्यटकहरुको लागि चिनाई रहनु नपर्ने चर्चित गन्तव्य हो । विशेषगरी अचेल घुम्न रुचाउने युवापुस्ता माझ सोसियल मिडियाको प्रभावले रारा निकै आकर्षक ठाउँ मानिन्छ । घुम्ने निर्णय लिन एकअर्कासँग गरिने कुराकानीले बढी प्रभाव राख्दछ ।  राराको सुन्दरताबारे महेन्द्रको कविता पढेर वा अरुले सुनाएका कथामा रमाउनेहरुलाई गाडीको पहुँच संगै अब आफै छुने र महसुस गर्न सम्भव भैसक्यो । तर, अन्तरास्ट्रिय पर्यटकको लागि भने रारा र कर्णाली परिचित गन्तव्य हैनन् । तपाइले खोज्नु भयो भने 'ट्रिप एड्भाइजर'को मुख्य दश गन्तव्यमा पोखरा र लुम्बिनी बाहेक अरु सबै काठमाडौँका साइटहरु मात्र छन् भने 'लोन्ली प्लानेट'मा खोज्दा कर्णाली र रारा तिरको न होटेल  र न रुटबारे नै जानकारी मिल्छ । 

महोत्सव परम्परा र औचित्य: 

केही बर्ष यता विभिन्न स्थानमा 'महोत्सव' नाम राखेर कार्यक्रम गर्ने चलन खुब चलेको पाइन्छ। आकर्षक नारा र लक्षहरु राखेर व्यापक प्रचारप्रसार साथ शुरु गरिने यी महोत्सवको उपलब्धि बारे भने कतै चर्चा गरिन्न । सन् २००८ मा पर्यटनबोर्डले रारा-महोत्सव गरेको थियो । त्यसयता स्थानीय अग्रसतामा पनि पटक पटक कार्यक्रम भए  । तर गाडीबाटोले नजोडिदासम्म रारा घुम्ने पर्यटकहरुमा खासै वृद्धि भएन । बरु महोत्सवको बेला रारामा मानिसको अव्यवस्थित चहलपहल संगै प्रदुषण बढेको समाचारहरु आएका थिए । अर्कोतर्फ महोत्सवहरु स्वभावैले  खर्चिला हुन्छन् । झन् यो महोत्सव त प्रदेश सरकारको 'टप' प्राथमिकताको कार्यक्रम भएको छ।  
मुख्यमन्त्रिको अध्यक्षतामा १५-सदस्यीय मूल आयोजक समिति बनेको छ । राजनीति, प्रशासन, पूर्वाधार, अर्थ, बसोबास, सुरक्षा, यातायात र संचार लगायत फरक फरक समितिहरु बनेका छन् । केन्द्रदेखिका सरकारी भीआइपीहरु, बिदेशी नियोगहरु आमन्त्रित छन् । प्रदेश मन्त्रीमण्डलको बैठक पनि रारा मै हुनेछ । (यसै सन्दर्भमा स्मरण गरौँ -  पहिले जलवायु परिवर्तनबारे सम्मेलन अघि माधवकुमार नेपालको मन्त्रिमण्डल बैठक 'कालापथ्थर' मा बसेको थियो । त्यसको उपलब्धी बिहीन खर्चको बारे पछिसम्म चर्चा भएको थियो।)  सुरक्षाकर्मी, पत्रकार, गमगढीतिरका कर्मचारीहरु पनि सरिक हुनेछन् । भनेपछि, महोत्सवमा प्रायः 'सरकारी' खर्चमा रारा घुम्न जानेहरुको भिड हुने निश्चित छ। नयाँ बर्षको आवसर पारी अन्तरिक पर्यटक पुगिहाले पनि बास नपाइन सक्नेछ ।  किनकि त्यहाँ दुइटा होटल, निकुञ्जको भवन र आर्मी क्याम्पसहितको क्षमता जोडेर मुस्किलले २५० जति पाहुना बस्न सक्ने पूर्वाधार होला । त्यसैले महोत्सव सरकारी ढुकुटीको लागि 'खर्चिलो' मात्र हुनेछ।   

जनताबाट हरेक महिना दुईदिनको श्रमदान माग्ने निर्णय गरिएको छ । यो राम्रो अवधारणा हो तर ती  स्थानीयले राराको पर्यटनबाट कसरी लाभ लिनसक्छन् ? त्यहाँ पुग्ने पर्यटकले औसत १.५  दिनमात्र बिताउछन्  त्यो पनि निकुञ्ज भित्र जसले स्थानीय वा आम मान्छेहरुलाई विस्थापीत गर्छ र आर्थिक जीवनमा खासै अवसर दिंदैन ।  

प्रदेश सरकारसँग यो आर्थिक बर्षको ३ महिना मात्र बाँकी छ । नियमकानुन बनाउने, स्थानीय तहमा खरिद र खर्च प्रकिया सुधारगर्ने, योजना सम्पन्न गर्ने लगायत महत्वपुर्ण कामको तुलनामा 'महोत्सव' यौटा सस्तो लोकप्रियता खोज्न गरिने औपचारिकता जस्तो देखिन्छ। 

के कर्णालीमा एकबर्षमा ५ लाख पर्यटक सम्भव छ त? 

नेपालमा आन्तरिक पर्यटकको आंकडा राख्ने कुनै प्रणाली नभइ सकेकोले यो अन्दाजमा राखिएको लक्ष हो भन्ने  प्रष्ट हुन्छ। रारामा २० बर्षअघि सन् १९९७ मा ५६० जना विदेशी पर्यटकहरु घुमेका थिए।  त्यसको दश बर्षपछि सन् २००७ मा घटेर जम्मा ८७  जनामात्र घुम्न आए । त्यो अवधिमा जनयुद्ध, इन्डियन एअरलाइन्सको अपहरण र दरबार हत्याकाण्ड आदि कारणले समग्र देशकै पर्यटन क्षेत्र धरासायी भएको थियो । त्यसपछि यस दशकको सुरुवातबाट केही उकालो लग्न थालेको पर्यटन क्षेत्र सन् २०१५ को भुकम्प र नाकाबन्दीले गर्दा फेरी थला पर्यो । स्वभावैले रारा पनि प्रभावित भयो । पछिल्लो दुइबर्ष यता बिस्तारै गति लिन थालेको  देखिन्छ। सन् २०१६ मा  १३२ जना घुम्न आए भने २०१७ को आंकडा नभेटिए पनि पर्यटन उद्योगीहरुको भनेको भनि केही पत्रिकाले लेखे अनुसार यो संख्या अघिल्लो वर्षको तुलनामा दश गुणा वृद्धि भएकोथियो रे ।

अनुमान कै आँकडा अनुसार गतबर्ष दशैंतिहार बीच करीब २,६०० सय जतिले रारा भ्रमण गरेका थिए । त्यति नै हाराहारी पर्यटक बर्षको अरु दिनहरुमा पुगेको मान्ने हो भने ५ हजार बढीले  रारा घुमे।  यौटा प्रसङ्गमा हालै सामाजिक विकास मन्त्रीले भने अनुसार कर्णालीमा ५० हजार पर्यटक आएका थिए (केहि पहिला १२ हजारले घुमे भन्ने आँकडा सुनिएको थियो ) । यसलाई एकैछिन पत्यायौ भने, बाँकी ४५ हजारले जुम्ला, तातोपानी, पाचाल झरना, मालिका, काँक्रेबिहार, बुलबुले ताल, दुल्लु, कुपिण्डेदह, डोल्पा र हुम्लातिर घुमेको हुनुपर्छ । त्यसो भए रारा भन्दा त सम्भावना बोकेका ठाउँ अन्तै रहेछन् भन्ने पनि लग्न सक्छ । 

त्यस्तै, पर्यटन मन्त्रालयको आंकडा अनुसार संरक्षित क्षेत्रको बाटो यात्रा गर्ने बिदेशीहरुको संख्या २०१५ पछि निकै बढेको छ।  हुम्लाको बाटो हिल्साहुँदै मानसरोवर जाने बिदेशीहरु सन् २०१४ मा ४ ९२ भएकोमा सन् २०१५ को मध्यपछि व्हात्तै बढेर १,३४६ पुग्यो । त्यसमा ठूलो वृद्धि भएर सन् २०१६ मा १०,१०५ पुग्यो । यो व्यापक सुधार पर्यटकीय सहजताले नभई भूकम्पले कोदारी राजमार्ग र तातोपानी नाका बन्द हुँदाको विकल्पले गर्दा भएको हो ।  यो अवस्था दिर्घकालीन रहने छैन तर यसले सम्भावनाको ढोका चैं खोल्यो । तथापी, प्रचुर सम्भावना भएको माथिल्लो र तल्लो डोल्पाका संरक्षित क्षेत्रमा बर्षेनी जम्मा १,१०० - १,६०० जना मात्र पुगिरहेको पाइन्छ । 

यस हिसावले कर्णालीमा ५ लाख पर्यटक आउनलाई एक बर्षमा नौसय  प्रतिशतको बढोत्तरी गर्नु पर्छ।  जुन हचुवामा राखिएको असम्भव लक्ष हो।

संघीय सरकारको 'पर्यटन प्रबर्धन मोडेल' नै प्रष्ट छैन:  

सरकारका पर्यटन मन्त्रालय, बिभाग र पर्यटन बोर्डहरु प्रचारप्रसारको नाउँमा महोत्सव, भ्रमणबर्ष, गन्तव्यबर्षको नाउँमा बार्षिक बजेट बिनियोजन गर्न निकै रुचाउन्छन ।  सरकारले सन् २०११ मा १० लाख पर्यटक भित्र्याउने लक्ष साथ नेपाल भ्रमण बर्ष घोषणा गर्दा त्यो बर्ष सन् २०१० को तुलानामा जम्मा २२% बढी अर्थात ७ लाख ३६ हजार २१५ जना पर्यटक आए । त्यो स्वाभाविक वृद्धि थियो । गतबर्ष  सन् २०१७ मा ९ लाख ४० हजार २१८ बाह्य पर्यटक आए जुन अघिल्लो बर्षको तुलनामा २५% ले बढ्यो । तर, यस्तो सामान्य वृद्धिले पर्यटन भिजन २०२० को २० लाख पर्यटक (अहिले सच्याएर १५ लाखमा झरेको) भित्र्याउने लक्ष कसरी पुरा होला अस्पष्ट छ ।  सरकार सहभागी महोत्सव भन्दा अरु व्यक्तिगत, निजी र सङ्गठित क्षेत्रका प्रचार र प्रबर्धनले प्रभावी काम गरेको पाइन्छ । 
गतबर्ष सरकारले अन्तरिक पर्यटन बढाउन 'गन्तव्य नेपाल बर्ष' मनाउन प्याकेज प्रबर्धन गर्यो । त्यसले खासै आकर्षित गरेन किनकि घोषणा पछि प्याकेज बोर्डको वेबसाइटमा मात्र सिमित भयो । त्यसमा रारा प्याकेज पनि थियो - ८ दिन रु ३० हजारमा (बसबाट), ४ दिन रु ४० हजारमा (प्लेनबाट) । यो महँगो प्याकेज भयो र रुचाईएन । खर्च गर्नसक्ने यौटा वर्गका नेपालीहरु अचेल विदेश गुम्ने प्याकेजमा जान्छन् भने  मध्यम बर्गीय नेपाली युवा र विद्यार्थीहरुको रुचि बिस्तारै अन्तरिक र केही साहसिक यात्रा गन्तव्य तिर बढेको छ ।

पर्यटन सूचनाको प्रणाली छैन। हचुवा आंकडाहरुको भर परिन्छ।  पर्यटन बोर्डका मुख्य कार्यकारी अधिकृत दिपकराज जोशीका अनुसार गतबर्ष ४५ लाख नेपाली देशभर घुमे रे भनेका छन् । यसको भरपर्दो श्रोत कतै छैन ।  पर्यटन बोर्डले १ लाखदेखि ५ लाख रुपैया तिरेर अनेक महोत्सवका ब्यानरमा नाम र लोगो राख्न मन पराउँछ । र त्यो चिनजान, भनसुन, सिफारिसको हिसावले चल्ने परम्परा जगजाहेर छ । जिल्लाका पर्यटन समितिहरुले भरपर्दो प्रोफाइलसम्म राखेका छैनन् ।  सरकारले दुईवर्ष अघि विसं २०७१ को बजेटमा सरकारी कर्मचारीलाई १५ दिनको घुम्ने बिदा दिने घोषणा गरेको थियो तर त्यो खै कता पुग्यो?

केन्द्रिय सरकारले भर्खर उसको सयदिने योजनामा ६ नम्बर प्रदेशको राराको विस्तृत आयोजना प्रतिवेदन तयार गर्ने र ताल्चामा पर्यटक सूचना केन्द्र स्थापना गर्ने उल्लेख गरेको छ ।

पर्यटनको आर्थिक पाटो: 

सबैले कर्णालीको समृद्धिको ढोका पर्यटनले खोल्छ भनिरहेका छन्।  तर यो कति बलियो आधार हुन सक्ला भन्ने प्रश्न टड्कारो छ।  सरकारको सन् २०१६ को आंकडा अनुसार पर्यटनले नेपालको कुल ग्रहस्थ्य उत्पादनमा ८५.२ बिलियन अर्थात् ३.६ प्रतिशत र समग्र रोजगारीमा ६.४ प्रतिशत योगदान दिएको थियो । उत्पादनका विविध क्षेत्रमा समग्र कर्णाली प्रदेशले गर्ने योगदान ५ प्रतिशतभन्दा कम छ । त्यस्तै, होटल रेस्टुरेन्ट व्यवसाय, जुन पर्यटनको नजिक छन्, ले २ प्रतिशत भन्दा कम योगदान गरेका छन् । प्रायः अन्तरिक पर्यटकले शुल्क वा रोयल्टी तिर्नपर्ने व्यवस्था हुँदैन।  त्यसैले सरकारी ढुकुटीलाई यसले प्रत्यक्ष लाभ हुँदैन । सन् २०१६ मा रोयल्टी स्वरूप रारा राष्ट्रिय निकुञ्जले रु १,४१० र शे फ़ोक्सुण्डोले १२,९३८ मात्र कमाएका रहेछन् । पर्यटनले प्रत्यक्ष रोजगारी र व्यवसाय प्रबर्धनमा टेवा पुर्याउन सक्छ तर त्यसको लागि गन्तव्यमा पर्यटकको औसत बसाई लम्ब्याउने उपाय चाहिन्छ ।  विदेशी पर्यटकको औसत नेपाल बसाई १३.२ दिन छ तर यो दसकौंदेखि बढेको छैन । कर्णालीमा ४-५ दिन र रारामा जम्मा १. ५ दिनको औसत बसाईले खर्चको आकार बढ्दैन । औसत नेपालीको आयको करिब ७० प्रतिशत खाना र दैनिक अवाश्यकाताका साधनको परिपूर्ति मै सकिन्छ भने घुमेर खर्च गर्ने अवस्थामा पुग्न  त अझैं कति धेरैबर्ष लाग्ने होला ।  तसर्थ कर्णाली घुम्नजानेहरुको खर्चको दयारा निकै कम हुने भएकोले तत्काल प्रदेशको अर्थतन्त्रमा मद्दत पुग्दैन।

मौसमी पर्यटन, लगानी चुनौती र दीर्घकालीन असर: 

पर्यटन गन्तव्यहरुमा जति सुबिधा थप्यो त्यति आकर्षण बढ्छ । त्यसको लागि पूर्वाधार चाहिन्छ।  पूर्वाधारको लागि लगानी र लगानी गरेपछि प्रतिफलको सुनिश्चितता । पर्यटनका प्रमुख गन्तव्यहरुमा सबै सिजन चल्ने गन्तव्यहरु जस्तै काठमाडौँ, पोखरा, चितवन, लुम्बिनी, मनकामना, धुलिखेल, नगरकोट आदि हुन् । अन्य प्रमुख गन्तव्यहरु जस्तै मनाङ्ग, मुस्तांग, रारा, खप्तड आदि  सिजनल हुन् ।  सिजनल र दुर्गम हुनुले यता व्यवसायीहरु आफ्नो लगानी सुरक्षित हुनसक्ने आधार देख्दैनन् ।

मध्यमवर्गीय र कामकाजी नेपालीहरुले घुम्न रुचाउने मुख्य समय दशैं र तिहार बीचको अवधि हो । किनकी यो बेला प्रायः स्कुल बन्द हुन्छन्, मौसम पनि अनुकुल हुन्छ र सार्वजनिक बिदाहरु जोडेर लामो छुट्टि बिताउन पनि सकिन्छ । त्यसैले यो अवधिमा आन्तरिक पर्यटन पनि ह्वात्तै  बढ्छ। गन्तव्यहरुमा त्यो चाप धान्ने पूर्वाधार भने छैनन्।  व्यवसायीका अनुसार गतवर्ष यो सिजनमा निकै चलेको गन्तव्य मनाङ्गमा  प्रतिदिन  ४०० - ५०० पर्यटक आउदा बास मिलाउन मुस्किल परेको थियो । त्यै सिजनमा रारामा दैनिक १५०-२०० हाराहारी पर्यटक पुग्दा खाना, बास र यातायातको असुबिधाले पिडित हुनपुगे । त्यो सिजनमा आसपासको गाउँ र बाटोमा होमस्टेको सम्भावना बलियो छ तर त्यो सुबिधा जुटाउन पनि स्थानीयहरु संग समय, सामर्थ्य  र सचेतना छैन।

कर्णाली प्रदेशबासीको अहिलेको कमजोर आर्थिक सामर्थ्यको फाइदा लिंदै कति व्यापारी र दलालहरु लोभ्याएर स्थानीयहरुबाट जग्गाजमिन किन्दै छन्।  यसले भविष्यमा कर्णालीका जनता झन् गरीब र भूमिहीन हुनजाने खतरा टड्कारो छ।

र, अन्तमा -

हाल उपलब्ध सिमित बजेट जनतासंग प्रत्यक्ष जोडिएका जल्दाबल्दा अन्य समस्याहरुको तत्काल समाधानमा उपयोग गर्न सकिन्थ्यो । तत्काल कर्णाली राजमार्गका बिग्रेका भत्केका ठाउँ मर्मत गरी खाल्डाखुल्डी मुक्त बनाउन सकिन्थ्यो ।  स्वास्थ्यचौकीहरुमा औषधी पुर्याउन सकिन्थ्यो। संभावित प्रकोप र महामारी नियन्त्रण गर्ने तयारी गर्न सकिन्थ्यो। आपतकालीन उद्धार र राहत सेवाको आधार तयार गर्न सकिन्थ्यो।  सबैतिर संचारको विश्वसनीय पहुँच पुर्याउन सकिन्थ्यो  र प्रदेशको समृद्ध भविष्यका लागि अन्य कतिपय तयारीहरु पनि गर्न सकिन्थ्यो । तथापी, रारा-कर्णाली महोत्सव पनि एक विकल्प हो । यसले संघीय सरकारी संयन्त्रलाई  कर्णालीको पर्यटन प्रवर्धनका लागि प्राथमिकतापूर्वक श्रोत विनियोजन गर्न कत्तिको नैतिक दबाव दिन सकेछ भन्ने कुरा आगामी बजेट हेरेपछि थाहा हुनेछ । र, त्यो नै महोत्सवको सफलताको मानक ठानिने छ।

यो ब्लग सेतोपटीमा प्रकाशित छ।  हेर्नुहोस् : https://setopati.com/setopati-blog/146763


---समाप्त---- फान्चौरी 

Saturday, April 7, 2018

सोसियल मिडियामा रारा: सुन्दरता र देशप्रेमको समीश्रण

फोटो @dharmRegmee ट्विटरबाट 


सोसियल मिडियामा रारा:  सुन्दरता र देशप्रेमको समीश्रण 

'म भन्दा सुन्दर कोहि छैन भन्ने ठान्नेले कि त रारा ताल नदेखेको हुनुपर्छ कि रारा भन्दा अगाडि नै जन्मेको हुनपर्छ'  
राराबारे सोसियल मिडियामा कस्तो चर्चा हुन्छ होला भनि 'सर्च' गरेको त यस्तै रमाइला पोष्टहरु भेटिए । त्यो भन्दा गजब कुरो देशप्रतिको मोहले शीर उँचो पार्ने तथ्य भेटियो। तपाईंलाई पनि यो रोचक लग्नसक्छ भनेर यो ब्लगमा उतारें ।


यसरी खोजें:  नेपालमा चल्ने सोसियल मिडिया साइट फेसबुक र ट्विटरमा प्रयोगकर्ताले गत एकबर्ष भित्रमात्र पोस्ट गरेका #ह्याश्ट्याग र कि-ओर्ड सर्च गरें ।  टुइटरमा ह्याश्ट्यागहरु #Rara #RaraLake #LakeRara #Mugu #रारा #राराताल #रारादह #मुगु  खोजियो भने त्यही कि-वोर्ड अरु सर्चको लागि पनि प्रयोग गरियो।  यसमा विज्ञापन र न्युजपोर्टललाई समेटिएन।

यो क्रममा केही थप रोचक जानकारी मिल्यो।  #Rara ह्याश्ट्याग अन्य प्रसङ्गमा पनि प्रयोग भएको थियो जस्तै हाइटीबाट सुरु भएको यौटा फेस्टिभल म्युजिकको नाम 'रारा' रैछ।  अमेरिकाको न्युयोर्कमा 'रा रा' नाउँको इण्डि रक ब्याण्ड चर्चित  रैछ।  अनि, स्ल्याङ्ग शब्दहरु राखिने अर्बन शब्दकोशमा पनि 'रारा' शब्द रहेछ जसको अर्थ हो: 
  1. The most beautiful and amazing girl ever. 
  2. Extremely sweet and kind and just so LOVABLE. Everyone wishes to be with this girl. 
  3. To be caught by a truly wonderfully amazing women. 
  4. Someone you will do everything and anything to make happy and keep a smile on her face

सोसियल मिडियामा ह्यास्ट्याग सहित पोष्ट गर्नेहरु २०१५ यता बढेका रहेछन् र ति सबैजसो नेपाली आन्तरिक पर्यटकले यात्रा पछि शेयर गरेका छन् । पोष्ट गर्ने मध्य निकै थोरैले लेवल, कि वोर्ड, वा ह्यास्ट्याग प्रयोग गर्ने रहेछन् ।  पोष्ट गरेका बिषयवस्तुहरुमा अधिकांशले राराको सुन्दरताको चर्चा गरेका छन्: 


नतिजा यस्तो भेटियो: 

'रारा' ताल मात्र होइन रहेछ यो त देशप्रेम जगाउने मुहान पनि रहेछ:  फुर्संदमा घुम्ने एक गन्तव्य त हो नि 'रारा' भनि सामान्य ठानिन्छ तर यसले त अनौठोसँग देशप्रतिको मोह जगाउने रहेछ । जतिसुकै दुर्गम र पिछडिएको किन नहोस् त्यहाँ पुग्नेको हृदय 'यो मन त मेरो नेपाली हो'  भनी भावनाले ओतप्रोत हुने रहेछ । नेपाली हुनुको गौरव दिन सक्ने निकै थोरै कुराहरु छन् सायद देशमा तर 'रारा' पुगेकाहरुले साँच्चै देशलाई अत्यन्त प्रेम गर्ने भावना व्यक्त गरेका छन्। यी पढ्नुस् केही प्रतिनिधि पोष्टहरु:
  • Gyan Bahadur Shahi कसैले सोध्य मलाई तपाईलाई कहाँ मन पर्छ मैले ठुलै सोरमा भन्दे #रारा #RARA #रारा
  • @videosansar11: यौटा स्वर्ग । जहाँ पुगेपछि नेपाली हुनुमा छुट्टै आनन्द लाग्छ । #रारा_ताल 
  • Shailendra Rawat: संनसार घुमाउनत सक्दिन तिम्लाइ रहर भय #रारा चाही घुमाइदिन्छु #नानि #boatingtime #raratal
  • Manoj KrishnaBhakta Giri: सयौ डाँडा काटी हिन्दा, बेथा बेग्लै हुन्छ, आफ्नै मुटु छेउमा हुँदा, मज्जा बेग्लै हुन्छ 
  • @kabitakc123: लाग्छ सधैभ यो प्रकृति मा खेलिरहु डुलिरहु कति रमाइलो यो मेरो जन्मभुमी #नेपाल अनि यो #रारा ताल 
  • Dinang Sherchan: हामी नेपाली विदेश भ्रमण गर्न मरिहत्ते गर्छौं । तर देशकै मनोरमस्थल घुम्नचाहिँ छुटाइरहेका हुन्छौं । सबैले एक चोटी पुग्नै पर्ने र हेर्ने पर्ने ठाउँ #रारा ताल#मुगु#कर्णाली
  • Ojha Hari: सिङ्गो कर्णालीको गहना राराको रमणीय बाताबरणले यस्तो माया लगायो यसरी मोहित बनायो सारा संसार फिक्का लागिरहेको छ । चिसो अनि सान्त बाताबरण कोलाहल बाट धेरै टाढा बेग्लै संसार #रारा ।
  • Sabin Rawal: एउटा स्वर्ग जहाँ छुट्टै अनुभुती हुन्छ #रारा
  • @kamalneupane13: जती घुम्नु आफ्नै देश घुम्नु!!!! #रारा 
  • @ManaviPaudel स्वर्गको एक टुक्रा पृथ्वीमा :)
  • @lu_piku बाटोमा यदि धेरै सहयोगी मान्छे भेटिए हेर्नुस, पैसाको लागि मरिमेती गर्ने ठाउबाट सहयोगकोलागी मरिमेती गर्ने ठाउमा आएको भान हुदैछ #रारा यात्रा
  • @bharatsBST: Just back from #RARALAKE what a beautiful lake proud to being Nepali . 
  • @dharmRegmee: have you been there..? if not, don't miss it in your life time. #raraLake #heavenOnearth 
  • @iamSamKelly: Sure #Nepal has #MountEverest, but it also has this gem: #RaraLake :) 
  • @crpokhrel: Jewell of the wild midwestern #Nepal 
  • ManjuShree Gyaba Tamang One can just spend their whole time gazing at the serene lake and feeling the peaceful vibes.
  • Samriddhi Rai: From now and then, just follow your heart, it knows what makes your soul happy. #rara #blissful #grateful #gorgeousnepal #sammyadventures #SAseason
  • Naseeb Dahal: Don't listen to what they say, Go see. #raralake. Life is beautiful, all you need is courage and you will go places
रारा आकर्षण, सुन्दरता र सम्मोहन: निसन्देहरुपमा राराको रुपले मोहित नहुने को होला र? आफुलाई प्रकृतिको काखमा सुम्पेर फर्केकाहरुका केही अभिव्यक्तिहरु यस्ता थिए:
  • Kala Subba‏:  एउटा बेग्लै अनुभुति एउटा बेग्लै जीवन #रारा
  • @kirrkur: अनि हामी झनै जवान भएर फर्कियौँ #रारा #यात्रा 
  • @gnsbabu: तिमी आकाशबाट झरेकी अप्सार #रारा । साँचिक्कै सुन्दर ठाउँ 
  • @Royal1437: मन हर्‍यो तालको सुन्दरताले । लाग्यो, मोहनी भन्ने शब्दसँग बल्ल मेरो भेट भयो । नजिक भएर पनि नपुगेजस्तो । चोरौं चोरौं, कतै लुकाऊँ, घुटुक्कै निलिदिउँजस्तै लाग्ने । मनले भन्यो कहाँ लिएर आइस् ? बल्ल रमाउन दिइस् मलाई ? 
  • @MrSharma1964: बिश्व सुन्दरी अहो! आफ्नै देशमा उत्कृष्ट रारा। 
  • @BeingPrateek1: रारा को किनारै किनार हिड्नु को मज्जा पनि बेग्लै हुने के ... ससुराली बनाएर, घरज्वाई बस्नु पर्ने ठाउँ ! :)) #रारा…. जहा मन भुल्छ सारा 
  • Sanjay Pariyar: दुरी जती नै होस्, आत्मियता समिपमा हुन्छ । पर्खाइ जती नै होस्, मिलनमा सबै धुमिल हुन्छ #रारा #उनि
  • Gyan Bahadur Shahi: आफै आएर मनमा बस्नेहरु निकै प्यारा लाग्छन् जा भन्न पनि मन नलाग्ने जस्तै #रारा
  • Shailendra Rawat: शब्द हरु धेरै छन तर जत्ती लेख्दा नि पुग्दैन मात्र लेख्न सकिन्छ #सुन्धर #रारा
  • Kalpana Bhattarai: उसलाई अाँखाभरी राखेर हेर्न पाईंन, मनभरी साँचेर छुन पाईंन; यस्तै यस्तै गुनासो म आफैंसँग गर्दैथिएँ । अब आएर मलाई बोध भएको छ, उसलाई जति हेरे पनि, जति छोए पनि धित नमर्ने रैछ किनकी उ छ नै त्यस्तो लोभलाग्दो ।#रारा
  • Aaryan Khadka: चोखो छ है यो मेरो माया राराको सङ्लो पानी जस्तै त्यस्तै- त्यस्तै-त्यस्तै तिम्रो ...भनेर नि के भन्नु 
  • @kimigayoOO7 : शूरूआत देखि अन्त्य सम्म #रारा को यात्रा एक आवस्मरणिय पलको रूपमा मानसपटलमा रहिरहनेछ ! 
  • @subedi_monika: Memory Card #broken But memories remain! #RaraLake. Still when I close my eyes I see this "Beauty of Rara) 
  • Diamond Giri:  ईश्वरले दिएको अमुल्य उपहार हो रारा।  मानव जातीको बेग्लै संसार हो रारा।  स्वर्ग खोज्न कता कता हिड्छस हे मान्छे ! शिवजी,गणेश,पार्वती बस्ने दरबार हो रारा।  
  • @sandeepVT: Into nature I go, lose my mind and find myself 
  • @arnoldpradhn: When you're speechless with the beauty and your body talks 

रारा फोहर र पर्यावरण बिग्रिने चिन्ता:
  • @YodanBahing: रारामा बाइक पुराएकोमा बेखुशी छु राष्ट्रलाई घाटा र बेफाईदा दुबै बेलैमा सबैको आँखा खुलोस् #रारा 
  • @TamuAnu: Gosh i must have been #stinking real bad coming just back from #lakerara The police refused to search my body thoroughly at the airport.
  • @babi_gurung: मुगुकाे मनमाेहक #RaraLake मा मात्र पाईने विश्वकै दुर्लभ माछा 'रारा यन्सेस' यहाँ पनि लाेप हुने खतरामा रहेछ। यसकाे संरक्षणमा उचित कदम चालियाेस। 
  • @luzanb: road trip to majestic rara lake - thrilling  #raralake 
राजनीतिको व्यंग्य र रोषको लागि पनि रारा बिम्ब प्रयोग भएको रहेछन् 
  • @TheTilaq:यो देशको ताल देखेर नि छक्क पर्छु यार। #राराताल हो यस्को नाम जो देखेरै छक्कपर्चम् हामि 
  • ‏@ppariyar: KTM मा भयको पिच माथि अर्को पिच पिच गरेको देखिन्छ,-#Nagma to #मुगु गमगडी ९६ Km ६ घण्टा लाग्छ तेता पिच गर्ने कि ? @Hello_Sarkar @PM_Nepal
  • @tech_lt: तिम्रो नाभीमा डलर छ । देख्नुपर्ने ले नदेखको मात्र हो । #रारा
  • @BBibek: For the promotion of #Karnali #PM is addressing people from #Rara Sounds good!!! But tourist gets afraid by seeing the dust of #Kathmandu First focus on making #Dustfree #Capital. 
रारा पुग्ने रहर र फर्किएर जाने चाहना:  
  • @bahuni88: #राराताल पुग्ने ठुलो रहर छ जाने पो को सङ 
  • @luni_ba: काकाजी नजलाउनु न हो, रंग रंगको #रारा देखाएर 
  • @SATANchuli: म आउंछु तिमीलाई फेरी भेट्न ... #रारा 
  • @pramodbha: फेरी पनि जान मन लागेको ठाऊ #रारा
  • @shanti_deep4: #मुक्तिनाथ #तिलिचो #रारा #मुस्ताङ्ग #कर्णाली #गोसाइँकुण्ड र बाकी कति होलान पता नहि!! यत्ती ठाँउ घुम्नकै लागि भएनी पैसो कमाउन पर्च 
  • @babigurung: प्रकृतिकाे खानी स्वर्गकि रानी, यसाे समय मिलाएर घुम्नका लागि मुगुकाे रारा ताल जानी।।  @sabienashrestha: You're bold. You're beautiful. You made me feel alive. Keep slaying ppl with your beauty. I know I'm coming back for you again!

अन्त्यमा: तपाईंले पढ्नुभो र अब अनुभूत गर्नु पनि भयो होला कि आफुमा नेपालीपन हुर्काउनु छ भने रारा जानु  पर्छ।  नेपाली  हुनुको गर्व महसुस गर्दै देशलाई प्रेम गर्न सिक्न रारा जानु पर्छ ।  त्यहाँ पुग्न लक्जरी सेवाको अपेक्षा कसैले गर्दैनन् बरु त्यहाँ पुगुन्जेल बाटोमा र रारामा न्यूनतम सुविधा उपलब्ध भए सबै दंग पर्ने रहेछन्। सबैजना राराको सुन्दरता बिग्रिने तथा पर्यावरणीय ह्रास हुने गतिविधि प्रति चिन्तित छन् । रारालाई 'विकास' गर्दा आउने 'साइड इफेक्ट' बारे बेलैमा सचेत हुन जरुरी छ। प्लास्टिकजन्य फोहोर बेलैमा बर्जित गर्न सुरु गर्ने। आफुले बोकेर लिएको फोहोर आफै निकुञ्ज बाहिर फिर्ता ल्याउनु पर्ने । तालछेउ उत्सव महोत्सव, भोज, पिकनिक जस्ता होहल्लाजन्य क्रियाकलाप नगर्ने । सरकारले नै सहुलियत भाडामा मेकशिफ्ट टेन्टहरु पर्यटकलाई मिलाइदिने । कोशेली र उपहारका सामग्रीहरु पाईने पसल खोल्ने । रारा प्रकृतिक पथमा हिडेरै पुग्नु पर्छ त्यसैले ट्रेलमा कुनै सिमेन्ट-कंक्रिट-जस्तापाताको प्रयोग बर्जित गर्ने । सामान्य सुबिधायुक्त होम-स्टेहरु र गाउँ घुम्ने ट्रेलहरु बिकास गरी पर्यटकको बसाइ लम्व्याउने । र, प्रचार सामग्रीहरुमा ह्यास्ट्यागको प्रयोग गर्ने ।   

अन्तमा, यदि सरकारलाई 'सरकार! यदि तिमि पनि देशप्रेमी हौ भने  सुबिधा बढाउ तर राराको सुन्दरतालाई बिगार्ने  कुनै हर्कत नगर ताकि रारा घुम्न पुग्नेहरु सबै फर्किंदा यसरी नै नेपाली हुनुको गर्व साथ फर्कि रहन सकुन् ।" भन्यो भने फरक पर्दैन नि ?    
--------------




Friday, April 6, 2018

एक अन्जुली पानी राराको


एक अन्जुली पानी राराको

शान्त, सुरम्य जलराशी
म व्याकुल तिर्खाएको यात्री
पीडा, दुखः बिर्सदै -
खुशी/हर्षको पहाड उक्लदै
भर्न पुग्छु - एक अन्जुली पानी राराको !

एक अन्जुली पानी
शान्त तलाउ भित्रको
हजारौं मनोरम आकृतिहरु बिगार्दै
छाल/तरङ्गका तरेलीहरु
पर.… पsर तालको गर्भ भित्र छिर्छन् ।

अन्जुली भित्रको पानी
हजारौं सुर्य खसाल्दै टल्कदै
इन्द्रेणीको लिस्नोबाट ओर्लन्छन्
तरङ्गहरु फेरी जिस्किन्छन्
दगुर्छन्… बिलाउन्छन् …अलापिन्छन् ।

अन्जुलीमा अडेको पानी
कन्चन… निर्मल…स्वच्छ पानी
म आफ्नो आकृतिको प्रतिविम्व भेटछुँ
मुस्काउँन्छु, प्राकृतिक ऐना देखी
पहाड। खोला। भीर।  खोंच
अनि भोक प्यास बिर्सेको मुहार ।

म हराउछुँ   अन्जुलीको पानीसंगै
एउटा स्वर्णिम स्वर्गीय आनन्दमा
हिमाल र गुराँस
पछाडीबाट अँगालो मर्छन्
हर्षबिभोर भएको म
अमृतको घडा सम्झेर निल्छुँ
एक अन्जुली पानी राराको !

(रचना मिति २०५५  बैसाख १६ गते, रारा)