Sunday, December 1, 2013

जन्मदिन


हरेक अरु दिन झैँ
एउटा नयाँ दिन आयो
तर फरक दिन आयो
मेरो जन्मदिन आयो।

हरदिन यहाँ
एकदिन घटाएर बाँचिन्छ
आज एकवर्ष घटाइयो
जिवन यात्रा केहि छोट्याइयो
जन्मचक्रमा उकालो लागियो।

अभ्यस्त जीवन
रंग बटुलेर यताउता
केहि अनुभवी बनियो
जीवन जिउनेकलाहरु बोकी
उतारचढाव सहेर
जीवन अंगालियो।

नियमको परिधिमा
समय-चक्रसाथ आउने
कोशेढुंगाहरु झैं आउने केहि क्षणहरु
उत्सवमय दिन
आज जन्मदिन।

म हुनुको महत्व
मेरो गौरवमय गाथा
मेरो इतिहास र भविष्य
सबैको साक्षी यो
उत्सबमय दिन
मेरो जन्मदिन।

- मङ्सिर १७ , २०७० 

Saturday, November 23, 2013

मतयात्रा - २ (my journey to vote - 2)

देशभरि झैं जुम्लाको राजनीति वातावरण पनि  निकै तातेको थियो।  स-साना समूहमा गरिने चुनावी सभाहरु लगभग सकिएका थिए।  तर, गाउँ-गाउँ खटेका कार्यकर्ताहरु मानौं स्थानीय गाबिस निर्वाचन हो झैँ गरि खटेका थिए।  जुम्लाबाट बिगतमा नेमकिपा, एमाले र एमाओवादिले बिजय हासिल गरेका थिए। तर यसपाला तीन पार्टीहरुको चर्चा थियो - एमाओवादि. नेका र एमाले।  एमाओवादिका गजेन्द्र महत (कार्मा) द्वन्दका बेला जनयुद्धलडेका जिल्लास्तरिय नेता थिए।  उनि परिश्रमी  तर झोंक्की स्वभावका छन् जस्तो लाग्छ।  नेकाका ललित जंग शाही हक्की, वाकपटुता भएका, पुराना नेता हुन्।  रेडक्रसमा केन्द्रिय समितिमा पनि थिए।  पहिले नेकाकै बागी उठेर निकै मत बटुलेका प्रभावशाली नेता हुन्।  एमालेका पदम रोकाया त्यति नाम नसुनिएका व्यापारी पृष्ठभूमिका व्यक्ति हुन्।  उम्मेदवारी पछि एकाएक चर्चामा आएका।

बन्दको असर, सार्वजनिक गाडी चलेका थिएनन् तर बाईकहरु निर्वाध गुडेका थिए।  निजि गाडी पनि पार्टीका झण्डासाथ फाटफुट  चल्थे। ति  ४८ घण्टा अघिबाट शुरुहुने  'मौन अबधि'मा पनि चले।  मौन समयमा मतदाताको घरघर पुग्ने, फकाउने क्रम पनि रोकिएन।  गाउँमा पर्यवेक्षण पनि त हुँदैन।  सबैले गरे।  सायद, बराबर भयो।

कार्यकर्ताहरु 'बोर्डरलाईन'मा हुने मतदाताहरुका घरलाई मात्र  लक्षित गरि परिचालित थिए। मतदाताको घरमा 'मतदाता  शिक्षा' को लागि कसैले भेटेक थिएनन ।  मैले भेटेका र कुरा गरेका अधिकांश व्यक्ति (बिशेषगरि महिला) हरुमा कुनै चिन्हको नाम  त थाहा थियो तर कुन-कुन पार्टी छन्, क-कसको चिन्ह के हो, उम्मेदवार को छन् भन्ने थाहा थिएन।  पार्टीका घोषणापत्र त निकै परको कुरो पर्यो।  रोचक कुरो त के भने राजनीति बहस, चर्चा आदि  चियापसलमा व्यापक  हुन्थ्यो।  त्यहाँ नजानेहरु कतिपय सूचनाबाट बन्चित हुनसक्ने अवस्था।  चिसो बिहानीमा, घाम गाउँ नझर्दै स्कुल छेउका चियापसलमा २ गाबिसका मानिसहरुको चहलपहल सुरु हुन्थ्यो ।

पुरै गाउँका केटाहरु तीन भागमा विभक्त। टर्चबोकेर रातभर अबेरसम्म खटेका हुन्थे । तिनीहरुका पार्टी तर्फबाट प्रतिनिधि सिनियरहरु मार्फत खाजाको व्यबस्था हुन्थ्यो कुनै पसलमा । एउटा सिमासम्मको बिलको खाता हुन्थ्यो।  चिया, खाजा र रक्सि पनि।  राति भेटिने केटाहरु प्रायः मदिरामय हुन्थे।  जोश भरेका। निकै हल्लाहरु चल्थे - एउटा पार्टीको नेताले हिजो बैंकबाट २७ लाख झिके रे।  त्यो बाँड्ने कुरो छ।  करिब डेढ करोडमा घर बेचे रे।  त्यो पैसा यतै पस्नसक्छ।  एउटा कर्मचारीले पनि पार्टीको पचास हजार पैसा यतै बाँड्ने भनि ल्याएका छन् रे।  यहि पुष भित्रै जागिर लगाइदिने, आगामी जाँचमा पास गराइदिने, सरुवा थामीदिने, तालिममा अवसर दिने आदि जस्ता आश्वासन दिएर केहि प्रभावशाली सरकारी कर्मचारी लागेका छन् रे।  अस्ति यौटा उम्मेदवारले 'तिम्रो यौटा भोटले मलाई केहि फरक पर्दैन' पनि भने रे।  अनेक कुरा सुनिन्थे।  पहिला-पहिला झैं कसैले पनि चन्दा मागेका थिएनन् न त एक-अर्कोमा भनाभन, हानथाप वा कुनै प्रकारको मनमुटाव नै थियो।  यो एक निकै ठूलो राजनीति चेतना र सुधार थियो गाउँमा भएको ।

चुनावी टोलि आयो, क्याम्प खडा गर्न। दुइटा बुथ रहेछ हाम्रो गाउँमा।  एउटा मतदान अधिकृतबाहेक अरु सबै स्थानीय कर्मचरी थिए।  अस्थाई पुलिस पोष्टले सुरक्षा दियो। केहि म्यादी पनि थिए।   सरकारले भने झैं ३ घेरावाल सुरक्षा कतै देखिएन।  न आर्मी न सशस्त्र प्रहरी।  सर्वदलिय बैठक बस्यो।  निर्णय भयो।  सबै केटाहरुले सहयोग गरे - खाल्डो खाने, खम्बा गाडे, डोरी बाँधे, सेट मिलाए।  सबै सौहार्दपुर्ण बन्यो। एउटा मतदान अधिकृतले भने 'मैले सोचे भन्दा निकै सहज भयो यस गाउँमा । सबै निकै सहयोगी।  आरामपुर्वक समयमै सबै तयारी सकियो।'  स्वस्थ प्रतिष्पर्धा।


मङ्सिर ४, २०७०  (नोभेम्बर १९, २०१३) मतदानको दिन आयो। दुर्गा उच्च मा.बि. लाम्रा मतदान केन्द्र थियो।    बिहानैदेखि गाउँ गाउँ बाट मानिसहरु बुथमा ओइरिन थाले। मतदान सुरु।  कसले पैलो भोट खसाल्ने होडपनि भएछ।  जम्मा  १,३३५ जति भोटर थिए यस गाविसमा। केहिको नाम छुटेको थियो त केहीको अन्तैको केन्द्रमा परेको भेटियो।  निर्वाचन कार्यालयको लापरबाही।  कार्यकर्ताहरुले वडापिच्छे एकेक हिसाब राखेका थिए। उनीहरु बीच अशक्त, बृद्ध, बिरामीलाई बोकी लिएर आउने होडनै चल्यो। वारिस पठाउने पनि होड। यस्तैमा एउटा वारिसको प्रयास गर्ने टोलिलाई ८१ बर्षीय भोटरले जमाएरै  भने 'म गाई चराउन ऊ माथि डाँडा पुग्छु,घास काट्न उता पारि जान्छु। त्यहाँ कोहि वारिश चाहिन्न।  यता किन? म आफै भोट हाल्न सक्छुं।' अनि आफै हाले आफ्नो भोट।  

गजबकुरो गाउँमा मौजुद सतप्रतिसतले आएर भोट दिए। धैर्यपुर्वक लाईनमा बसे।  आफ्नो पालोमा भोट हाले।  आफुलाई मन परेकोलाई भोट हाले। मैले पनि  बेलुका ४ बजे तिर भोट हालें, लाइन सकिए पछि।  करिब ८६% भोट खस्यो।   जनताले आफ्नो दायित्व सफलतापुर्वक
निभाए। अब नेताको पालो हुनेछ  इमान्दार बनेर देखाउने ।   


समयमा सुरु भयो।  समयमै सकियो। चौरमा टहलिएका विभिन्न पार्टीका कार्यकर्ताहरु गफिदै थिए।  हल्का छेड्खान चल्थ्यो।  अन्त कता के भयो चर्चा हुन्थ्यो।  यसबीच केहि चासोपूर्ण खबर आए - हाँकूमा वारिस पठाई भोट हाल्न नपाइने नियम बन्यो रे ।  देपालगाउँमा बुथ क्याप्चरको प्रयास भयो रे।  तलिउममा त ४ बजेनै सकिएर प्याकअप भएछ रे।  आदि आदि। तर, यताको चुनाव अनुशासित ढंगले शान्त र सफलतापूर्वक सम्पन्न भयो।  

Friday, November 22, 2013

मतयात्रा - १ (my journey to vote - 1)

५८६७६००, मेरो फोटोसहितको मतदाता नामावलीको  नम्बर।  काठमाडौँ बबरमहलस्थित  निर्वाचन कार्यालयमा गएर फोटोखिची दर्ता गरेको, आफ्नै गाउँको भोटरलिष्टमा पर्ने गरि।  www.election.gov.np हेर्न मिल्थ्यो। मतदान स्थल - लाम्रा, जुम्ला।   यसकेन्द्रबाट काठमाडौँ निकै दुर्गम छ।  करिब १००० किमि टाढा।  अचेल गाडीमा जाँदा कम्तिमा ७२ घण्टा निकै कठिन यात्रा गर्नु पर्छ।  कि महँगो भाडा तिरी जहाज यात्रा गर्नु पर्छ। मैले भोटहाल्ने अधिकार प्रयोगगर्न गाउँ जानु पर्थ्यो। गाउँ गएर चुनावी मतदानमा भाग लिनुको अर्कै महत्व हुने।  त्यसैले  मैले करिब एकडेढ महिना अघिदेखि छुट्टीको चाँजोपाँजो गरे। र मिल्यो मङ्सिर ४ को लागि जुम्लायात्रा, अर्थात मतयात्रा - माई जर्नी टु भोट ।

नागरिक अधिकारको प्रयोग हुने अवसरहरु मध्ये मतदान पनि एक हो। मैले बालिग भएदेखि नै यो प्रयोग गरेको छुँ।  कतिपय मानिसहरु यसको औचित्य नै छैन भनेर पनि भन्छन।  र, भोट किन हाल्ने भनि बहस पनि गर्छन।  त्योपनि अधिकार नै होला।  नेपालमा भोट नहाल्नपनि पाइन्छ।  तर, राइट टू नो भोट अथवा नेगेटिभ भोटिङ्गको सुबिधा छैन।  म भोट हालेर सहि मान्छे चुन्नुपर्छ भन्ने मान्छु। त्यसैले सकेसम्म प्रयास गर्छु।  समग्र कर्णालीको सन्दर्भमा भन्नु पर्दा त्यस ठाउँबाट राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने, निर्णयलाई कर्णालीका जनताको हितमा लागु गराउने र जन-आकांक्षालाई  सहि प्रतिनिधित्व गर्ने नेतृत्वको अभाव संधै खड्केकोछ।  केहि अपवाद बाहेक।  राजनीति स्थानीय चलखेल र आश्वासनमा बढी निर्भर गर्छ। बिगतमा प्रायजसो यहाँको जनमत राष्ट्रियधार भन्दा फरक हुने गर्थ्यो।  जसलेगर्दा यताका एजेन्डाहरुले प्राथमिकता नपाउने र स्थानीय नेताहरु काठमाडौँका हेभीवेट प्रभावी नेताका नजरमा पनि टाढै पर्थे।  बृहत बिकासका अबधारणा  भन्दापनि राजनीति चामल, नून, केहि जागिर, धारा, कुलोजस्ता तत्काल आवश्यक नारामा सिमित हुन्थ्यो। राजनितिक सिद्दान्त कम, व्यक्तिगत प्रभाव बढी हुन्थ्यो।  त्यतिबेलाको परिस्थितिमाथि मैले 'नूनको बिरुवा' शिर्षकको एउटा कबिता कोरेको थिएँ।  त्यसको केहि अंश -

नूनको बिरुवा 
ए दाइ, 
शहर तिर जाने दाइ 
एउटा नासो ल्याइदिनु
नबिर्सी सम्झेर ल्याइदिनु 
फर्किंदा हाम्रो घरको लागि 
यौटा नूनको बिरुवा ल्याइदिनु।  

कैले भोटबाट नून किन्यौं 
कैले भोटसंग नून साट्यौ।  

भोट लिएर गएकाहरु फर्केनन् 
हराए सहरमै अर्को सिजनसम्म 

चिन्तित छ सानी भोट खेर गएकोमा
त्यो भोटले बिकास ल्याउने रहर थियो 
त्यो भोटले सपना रंग्याउने चाहना थियो 

यदि नूनको बिरुवा ल्याइदिनु भए 
हुर्काउने छौं पसिना सिंचेर
आफ्नै आँगनमा प्रेमपुर्वक। 

अनि दुईछाक नूनहालेर खानपाए 
त्यो भोटले हामि सपनाबरु बुन्ने छौं 
हामीले चाहेको झैं सुन्दर परिकल्पना।  

त्यसैले, ए शहर जाने दाइ 
बिन्ति, एउटा नासो ल्याइदिनु
नबिर्सी सम्झेर ल्याइदिनु 
फर्किंदा हाम्रो घरको लागि 
यौटा नूनको बिरुवा ल्याइदिनु।  

समग्र मानव बिकासमा पाछाडि रहेको कर्णालीका बासिन्दाहरुले आजसम्मपनि  यस्तै सामान्य आवश्यकतापूर्तिका निम्ति हार-गुहार गर्नु परिरहेको छ।  उत्पादनशिल महत्वपूर्ण समय अनुत्पादक काममा लाउनु परेको छ।


अघिल्लो चोटीको संबिधानसभा चुनावमा सन् २००८ अप्रिल १० को लागि पनि भोट हाल्न म गाउँ गएको थिएँ।  बिष्णु डोटीबाट आए, म हेटौडाबाट।  हामिले त्यतिबेला भर्खर खुलेको कर्णाली राजमार्गको बाटो निकै जोखिम र रोमाञ्चक यात्रा गरेका थियौं। (त्यतिबेलाका केहि फोटोहरु पछि अपडेट गरिनेछ)

यसपाला बैद्यलगायतका समुहले आव्ह्वान गरेको यातायातबन्दले प्लेनको यात्रा गर्नुपर्ने भयो।  यौटा ट्राभल एजेन्सी (भिजिट कर्णाली)ले काठमाडौँ - नेपालगंज - जुम्लाको टिकट व्यस्थापन गरिदिने कुरो गर्यो। यौटा एयरलाईन्सले त्यो सेवा दिँदो रहेछ - यति र ताराले।   झन्डै रु १३,००० एकतर्फी भाडा । निकै महँगो।  तर, छुट्टाछुट्टै लिनुपर्दा अँझ महँगो  पर्न जाने।  त्यसमाथि, कतिपय अबाञ्छित टेन्सन। त्यसैले मैले किनें। महँगो भएपनि एकै दिनमा पुग्न सकिने। र, चुनावी चहलपहल हेर्न भ्याइने।

बाटो भरि उही चुनाउकै चर्चा।  एयरपोर्ट टर्मिनलमा, र्याम्पबसमा, र प्लेनको सिटमा समेत।  अनेक थरि गेस। चुनाव नहोलाकी भन्नेपनि भेटिए।  संधैं झैं नेपालगन्जबाट जुम्ला उड्ने हवाइजहाजको कुनै टाइमटेबल थिएन।  ११:०० बजे हुन्छ कि।  काउन्टरमा पटक-पटक सोधनी गरिरहनु पर्ने।  बाहिरफेर घुम्न जाउँ भने फुत्किने हो कि भन्ने डर।  यस्तैमा खेमराज श्रेष्ठजी दुइटा मिडियाकर्मी केटाहरु संग भेटिए।  उनीहरु म.स्व.से. दिवसको लागि सामग्री संकलन गर्न जुम्ला जाँदै रहेछन। गफ गर्यौं।  एयरपोर्ट भरि उही गफ, कसले जित्ला। हामि १२:०० बजे तिर तारा एयरमा जुम्ला उड्यौं।

२ हफ्ता जति अघिको फ़िलिएन प्रभावको बर्षाले हिमपात भएको थियो। डाँडाहरु सेताम्य  देखिए।  उता पर पातारासी हिमाल र कान्जिरोवा हिमाल शृंखला देखिए।  प्लेनले डाँडा उक्लिदै गर्दा चिसो र सुख्खा बतासले स्पर्श गर्यो।  वाह ! सहजै र छिट्टै जुम्ला पुगियो यसपाली।

गाउँबाट देखिने दक्षिण-पश्चिमी दृश्य - गाउँ, खेत, तिलानदी, जंगल र खुला आकश । बातावरण  निकै चिसो तर राजनीति निकै तातेको थियो ।   
 (क्रमशः )


       

Wednesday, November 13, 2013

Futsal (फुटशः) अनुभव

अगष्ट २५, २०१३ मा ए.आई.एन. ले पहिलो चोटी Inter INGO Futsal Competition गर्ने सूचनाको  ईमेल आयो  । यसबाट social cause कोलागि रकम संकलन गर्ने उद्देश्य पनि रहेछ।  हाम्रो अफिसको दीपकदाईले कुरो अघि बढाउने जिम्मा मलाई दिनु भयो।  अनि अफिसको बैठकमै राख्यौं र  हाम्रो टिम बन्यो ।  जम्मा १० वटा आई.एन.जी.ओ. को टिम खेल्ने भयो।      

Futsal (बोल्दा फुटशः) को बारे पहिलो चोटी सुनेको यसै बेला हो।  यसको पोर्चुगीज भाषामा futebol de salão, अर्थात "hall football" हुँदो रहेछ।  सन् १९८५ मा आएर स्पेनमा 'fútbol sala" भन्ने  नाम सुरु भएको रहेछ।  त्यसपछि अन्तराष्ट्रिय रुप मै Futsal (फुटशः) नाम प्रख्यात भएछ।  तर, यो खेलको सुरुवात ब्राजिल र उरुग्वेमा फुटबल खेल्ने मैदानको अभावमा भएको रहेछ।  आजका धेरै ब्राजिलियन फुटबल स्टारहरु कुनै बेलाका फुटशः खेलाडी रहेछन।  एकातर्फ किपरसहित ५ जना खेल्न मिल्ने यो खेलमा बल केहि सानो र नरम हुने रहेछ भने ग्राउण्डलाई Pitch 'पिच' भनिँदो रहेछ। काठमाडौँमा यो खेल खेल्न सकिने पिच केहि समय यता निकै खुलेका रहेछन । फुटबल ग्राउण्ड नहुने नेपाल जस्तो ठाउँमा यसको भविष्य निकै राम्रो हुने देखिन्छ।       


हामि सुरज, प्रवरण, प्रमोद, राजेश, संजीव, भवानी,  र म खेल्ने कुरा भयो।  पछि रिजन (इण्टर्न) र खगेन्द्र पनि थपिए।  प्रमोद क्याप्टेन चुन्यौं । उपासनालाई म्यानेजर।  प्राक्टिस गर्ने कुरो भयो। प्रभारण किपर।  उनि अन्य व्यवस्थापनको कुरो पनि हेर्थे।  पिच भाडामा लिनु पर्ने।  १५०० देखि २००० सम्म प्रति घण्टा।  चारवटा म्याचको योजना बनेको तर अरु अफिसका साथिहरुसंग मिलेर खेल्दा केहि बढी नै खेल्न मिल्यो  ।   फुटबल सुज प्रयोग गर्न नमिल्ने।  फुटशः खेल्ने जुत्ता फरक हुँदो रहेछ। अफिसले प्रयोजन गर्यो।  

एच.आई.का साथीहरुसंग पहिलो पल्ट प्राक्टिस गेम खेलियो - भृकुटीमण्डपमा। हाम्रो टिमका सबै सदस्यको लागि यो पहिलो अनुभव थियो।  बिपक्षी केहि अनुभवी।  हाम्रो समन्वय, नियन्त्रण, प्रहार सबै कच्चा। एक घण्टा टेकेर खेल्न सक्न निकै स्टामिना चाहिने। निकै दौडनु पर्ने।  असिनपसिन हुने।  थोरै गोल गरियो, धेरै गोल खाईयो। तर, रमाइलो भयो।  सानो समिक्षा गर्यौ।  हाम्रो कमजोरी हामि सबै पहिलो चोटी खेल्दै थियौं।

अर्को खेल एच.के.आई. संग महेशजी को आग्रहमा खेल्यौं।  सानेपामा।  निकै गोल खाईयो।  उनीहरुको टिममा ३ जना नियमित खेल्ने दक्ष खेलाडि रहेछन। समिक्षा गरियो।  हाम्रो कमजोरी - समन्वय, नियन्त्रण, इशारा, पास र दौडनेका सबैमा कमि।  तर, सबैजना उन्त्साहित।  राम्रो खेल भावना प्रदर्शन गरे।  रमाइलो भयो।

अभ्यासको बेला अब सतिशजी आउनु भयो।  रिजन (इन्टर्न) पनि आए।  एच. आई. संग अर्को खेल बालुवाटार मा खेल्यौं।  यसपाला बरावरी जसो भयो।  दुइटा खेलाडी थपे पछि, टिममा सुधार आयो।  समन्वय मिल्यो।  अनि अर्को खेल सेभ द चिल्ड्रेन संग खेलियो, सुकेधारामा।  यसमा ठिकै नतिजा थियो।  उताका केहि खेलाडी निकै राम्रो देखिए।  अरु केहि खेल पनि खेल्यौं।  रमाइलोको लागि र तयारीको लागि।  म आफु राम्रो खेल्न नसक्ने।  एक्स्ट्राको रुपमा खेलें।  बिस्तारै केहि विश्वास बढ्यो।  हौसाला थियो।

टाईसिट आयो।  हाम्रो समूहमा ५ टिम -  सर्च फर कमन ग्राउण्ड, ह्याण्डिक्याप इन्टर्नेशनल, यु. एम. एन. हेलेन कलर इन्टरनेशनल र एफ. एच. आई. ३६०।  हामीलाई सर्च फर कमन ग्राउण्ड र  यु. एम. एन.  को खेलस्तर बारे आंकलन थिएन।  तर हामि जित्न सक्ने अनुमान लगायौं।

खेल सुरु भयो। एक्स सेल पिच बालुवाटारमा सामान्य औपचारितासाथ् ।   दुइटा पिचमा दुई समुहको खेल समानान्तर।

हामीले पहिलो म्याच जित्यौं - १ को बिरुद्ध ९ गोल हान्यौ। मैले पनि खेलें।  गजब सुरुवात ! हाम्रो सपोर्टमा अफिसबाट मेरिना, निलिमा, अन्जुहरु आएका थिए।  निकै कराए।
अर्को म्याच एच. आई. संग खेलियो।  उनीहरुको अनुमान बिपरित हामीले निकै राम्रो खेल्यौं।  जित्यौं।  ४ को बिरुद्ध ६ गोल।  चार्टमा हामि अगाडी बढ्यौं।  अर्कोलाई जितेमा हामि सेमी फाइनल जाने सम्भावना।

य़ु. एम. एन. संग सुरु भयो।  २ जना बलिष्ठ विदेशीखेलाडी थिए।  खेलमा कडा प्रतिष्पर्धा भयो।  हाम्रो किपरले बल हान्न राखेको, बिपक्षीले गोल गरिदियो।  रेफ्रीले सदर गर्यो।  विवादित गोल।  प्रतिकार गर्न खोजेको , अनुशासनको कुरो लाएर बोल्न दिएनन।  हामि एक गोलले हार्न पुग्यौं।  अब सेमी फाइनल यात्रा गणितीय हुन पुग्यो। एच. के. आई. निकै बलियो थियो।  सोझो जितमा अघि बढेको।  एच. आई.ले थोरै गोल अन्तरले यु. एम.एन.लाई जितेमा हाम्रो चान्स थियो।  त्यो पुरा भएन।  अनि हामि बाहिरियौं। तर, चार्ट लिस्टमा हामि ५ औं स्थानमा पर्यौं।

सेमी-फाइनल र फाइनलका म्याचहरु हार्दिक पिच, पुल्चोक तिर भयो।  प्राक्टिकल यक्सन बिजेता र एच.के.आई. उपविजेता।  हाम्रो हितैषी महेशजी बेस्ट कीपर बन्नु भयो।


यसबाट ५०,००० जति रकम संकलन गरेर नेपालमा कार्यरत आइ.एन.जी.ओ.हरुको संगठनमार्फत एउटा अनाथ बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थालाई प्रदान गरियो।

यसले फुटशः प्रतिको चासो र रुचि बढायो।  शारीरिक अभ्यासको निम्ति पनि राम्रो।  केहि अन्तारलामा अरु खेल पनि खेल्यौं। आमन्त्रित।  प्रायः नियमित खेल्ने युवा टोलीहरु संग।  अन्तिम चोटीको खेल पछि यौटा सिकाइ भयो - समान क्षमताका टिम बीच खेल सन्तुलित, रोमान्चक र रमाइलो हुन्छ।  दक्ष्य टिम संग खेल्दा निकै दबाब भोग्नु पर्छ। जसले खेलको रोमान्चकता ओझेल पर्ने।  अब अर्को चोटी हामि आन्तरिक टोलि कतै खेली रहेको हुनेछौ।   

समाप्त।
  

Saturday, November 9, 2013

धुलिखेल साँझ (Treat and Retreat - Extravaganza !!)

"Plz confirm for coming Saturday's overnight stay plan at Dhulikhel. Departure: Sat mrng for lunch, Arrival: Sunday mrng after breakfast. Thanks" अक्टोबर २९, मंगलबार बिहान १०:५० मा हेटौडा फिल्डमा हुँदा एसएमएस आएको थियो । अन्ततः हामी ७ जना  पुग्यौं  धुलिखेल - शनिबार, नोभेम्बर २, २०१३ मध्यान्ह ।  तिहारको दोस्रो दिन।

गतवर्ष तिहारको भोलिपल्ट हामी ५ जना (दुई महेशहरु, राजन, राजेश र म) नगरकोट गएका थियौं। बिशेष कारणबस् मुकेशले आउन पाएको थिएनन् ।  यसपालीपनि त्यस्तै केहि योजना बनाउने कुरो चलिरहेको। मुकेशको तिहारको लगत्तैपछि पढ़ाई बिशेषले विदेश उड्ने भएकोले यो साईत बन्यो।  ट्रिट र रिट्रिट दुवै। यसपालाको टोलीमा हामी सातजना (मुकेश, राजन, मोहन, खगेन्द्र, जंग, राजेश र म)  भयौं । रुटयोजना  अनुसार राजनले खगेन्द्र, जंग र मुकेशलाई र राजेशले मोहन र मलाई गाडीमा पिक-अप गरे। सपिङ्ग लिष्टअनुसार मुकेशले किनमेल गरे। बासको नेगोसिएटेड  ब्यबस्था मोहन र जंगजीको सम्पर्कमा होटेल मिराबेल, धुलिखेलमा बन्यो। सबै छुट्टीको मुडमा। हामी हिड्यौं।


सुर्यविनायक काटेपछि चिया खानेठाउँ खोज्दाखोज्दै हामीले साँगा काट्यौ। जंगलको बाटोमा एकछिन रोकियौं। आगो चाहियो।  भेटिएन।  वरिपरि हेर्यौं।  पाईएन।  छेउमा पुलिस पेट्रोलिंगको गाडी रोकेरराखेको थियो।  'पुलिस संग होला नि माचिस या लाइटर ।' कसैले भन्यो।  'मग्ने र ?' अर्कोले थप्यो।'गाडीमा छैन?' 'छैन।' 'त्यसो भए पुलिससंगै सोधौं।' पुसिलगाडीमा महिलाप्रहरी पनि थिए।  अफ्ट्यारो पर्यो।  तर, सोधिछाड़े केटाहरुले। स्टेरिंग सम्हालि बसेको पुलिसदाई एउटा कुच्चिएको सलाईबट्टा बोकी ओर्ले।  "सिर्फ एक काँटी बाँकी छ, हेरौ।' उनि आफै तम्सिए आगोपार्न।  हावा चलिरहेको थियो।  निभ्यो।  'ला,,,,' उनि पछुताए ।  हामी पनि चुक्चुकायौं , काँटी खेर गएकोमा  । 'केहि छैन, धन्यबाद है दाई ' भनेर हामी हिड्यौं।  यो प्रसङ्गले एकछिन रमाईलो गरायो।  चियापसल  भन्ज्यांग काटे पछि मिल्यो। लन्च नलिने प्याकेज थियो।  त्यसैले सबै घरमै खाएर आएका थिए । धुलिखेल बजार घुम्नेबेला केहि खाने।       

तिहारको बेला,  होटेल शान्त र झन्डै सुनसान झैं देखिन्थ्यो । हामीले चेक-इन गर्यौं।  पूर्वतिरको घरमा ३ कोठा मिल्यो। बाटो छेउ तर पुरै एकान्त। ६११ कोठा भेला हुने बन्यो।  ६१० मा बस्नेहरुलाई 'ड्राइभर' भनेर जिस्कायौं। "घुम्न जाने हैन त अब ?" एउटाले प्रस्ताव राख्यो।  'ह्या के जानु र अहिल्यै, एकछिन आराम गरम" अर्कोले भन्यो।  'हो, बरु पानी खै?' अर्कोको सपोर्ट।  अनि,   ब्रोडवे ३ पाकेट खुल्यो।  भ्याट ६९ पनि।  दिउसैं।  एकछिन भुले यसैमा।  

"ल जाउँ यार अब। होटेलको स्न्याक्स ५ बजे लग्छ।  त्यतिन्जेल फर्किसक्नु पर्छ।' यौटाले रिमाइण्ड गरायो।  अनि सबै तयार हुनलागे।  धुलिखेलबजार घुम्न हिड्यौं।  बाहिर चिसो  हावा छ।  मफलर र जाकेटमा  निस्किए। 'कस्तो राम्रो।' मुकेशको कालो ओभर्कोट्को चर्चा भयो। 'यो साइज पाउनै मुस्किल।  अनलाईनमा सारा अमेरिकाभरि यहि यौटा पिस भेटियो भर्जिनियामा।" यसको बिशेषताबारे प्रष्ट्याए।  हामी हिडेर पुरानो बजारको गल्लिमा हुँदै मन्दिर पुग्यौं। आँगनमा जताततै धान सुकाउन राखेका, सुन्दर दृश्य   देखिन्थे।  बसपार्कहुँदै दक्षिणपूर्वको टुडिखेल, सरकारी अफिस भएको क्षेत्र घुम्दै पार्कको गेटमा पुग्यौं। यहि बाटो नफर्किने भन्नेकुरो भयो।  बाटो पार्कबाट वा केहि अघाडिबाट अरनिको राजमार्गमा झर्ने रहेछ। खगेन्द्र, मोहन र मुकेश एउटा ग्रुपमा हिड्दै थिए, पछाडि।   लोकलकुखुरासाथ एउटा झुपडीपसलमा केहिबेर बस्ने चाँजोपाँजो गरेछन। मासु पोल्ने ठाउँ हेरिरहेका थिए । पछि कुरो मिलेन।  हामि पार्कगेट छेउ बस्यौं।  चटपटे, चाउचाउ, चिया, पानी र अरु खएर। पसले गफाडी। पार्क प्रवेशको टिकटपनि काट्दा रैछन। सबै प्रसङ्गमा उनको राय हुन्थ्यो।  केटाहरु उडाउने हो मा हो लाएर । 'द्वारिकाज होटेलमा कुक काम गरेको हुँ' भन्थे। तरमा मासुहालेर पकाउने कुरा गर्थे।  चटपटेको स्वाद, तरकारी काट्ने स्टाइल र गफ राम्रै थियो।  रमाइलो भयो।

'पार्कबाट रोड झर्नेबाटो भीर र अफ्ठ्यारो छ।  तापैहरुलाई गह्रो हुन्छ' भनेर त्यो दाइले रिकमेण्ड गरेनन्।  'त्यसो भे यहि बाटो जाने' केटाहरु तम्सिए।  गफैमा त्यो दाइले इन्ट्री टिकट नलिने गरि हामि पार्क छिर्यौँ। र उत्तर पट्टिबाट झर्यौं।  एकसरो ठाडो ओरालो बाटो।  थोरै भीर पनि।  पानी पर्दा र अँध्यारोमा निकै कठीन हुने।  तर, हामीसबै सकुसल झर्यौं।  र, रोडैरोड १.५ किमि हिडेर बजार फर्क्यौं। बाटोभरि पोलेको मासुको खोजि जारी रह्यो।  फ्रेशहाउस, मःमःपसल, लिकरपसल सबैतिर सोधपुछ गरियो - कहाँ मिल्ला भनेर।  अनि भेटियो - धुलिखेल लजरिसोर्ट पस्ने बाटोछेउ नेपाल आइस ब्रान्डेड वाईफाईयुक्त रेस्टुराँ।  तर, पोल्ने भेटिएन, भुटेकोमात्र। सेकुवा-तास। 'अब होटेल फर्कौं।  खास प्रोग्राम सुरु गर्नु पर्छ' यौटा सम्झायो। अनि  होटेल फर्क्यौं।  तीन घण्टाजति प्लानमैँ नभएको एउटा गजप रमाइलो  'हाईकिङ्ग' यात्रा भयो।

 घाम नडुब्दै हामी होटेलको दोस्रो तालाको रेस्टुराँ, छतमा पुग्यौं। 'क्याम्प फ़ाएर' को लागि।  'मैले १६ वर्षमा कसैले तापेको देखेको छैन।  बाल्न भन्छन, बाहिर आगो बल्छ र मान्छे भित्रै हुन्छन'  होटेल मेनेजरले दिउँसो यस्तो भन्दै हामिलाई निरुत्साहित गर्न चाहेको थिए।  हामीले उनलाई 'गफ दिने' भनेर उडाएकाथ्यौं।  छिटो बल्न लगायौँ।  चिसो र चाम्रो दाउरा परेछ।  धुँवा आयो, आगो बलेन।  डिजेल हाले। अझै  बलेन। हामी स्न्याक्सतिर लाग्यौं। यो तलामा केवल  हामीमात्र थियौं। त्यसैले फ्रीडम थियो।  सर्भिसवालादाई नेपाली पोसाकमा ठाँटिएका थिए।  नाम सोधें।  'नारायण,,,, फ्रम पाल्पा' उनको परिचय। अब सबैको नारनदाई।   आगो अझै बलेन।  अब 'सोलिड फ्युल' ल्याएर हाल्ने लागे।  मुस्किलले आगो बल्यो। अनि हामी आयौं आगो छेउ।


गफले गतिलिंदै गयो। रंगिन तर शीर्षकहीन, प्रसंगहीन, सन्दर्भहीन अनि कहिलेकाहिँ श्रोताहीनपनि। गफ जोकमा सर्यो।  जंगको कथात्मक जोक्स बिस्तारै वयस्क र हट हुँदै गए।  राजेशले पुरै साथ दियो।  अरुहरुले हाँस्दै फुर्सद पाएनन। अघिदेखि अधुरो प्रयास यता सफल भयो।  होटेलको किचनबाट काँचोमासु मागेर यता पोल्न थालियो। काठमाडौँबाटै बोकेको दुइटा भ्याट ६९ सकियो। अर्को आयो । मोबाईलको प्रयोग बन्देज गरियो।  देखे खोस्ने र फ्याँक्न पनि सकिने।  जोक्स नन-स्टप भयो। गीत रिमिक्स हुन्थ्यो।  खानाखाने समय सकिन्जेल पछाडि धकेलियो।  खगेन्द्र जोड्थे कहिले, कतै कतै मुकेसपनि। मोहन हाँस्थे, खान्थे र साथ दिन्थे चुपचाप।   राजन शुद्ध अवस्थामा - मासु आदि नखाने। उनलाई पन्यु समाएर आगोमा 'सोलिड फ्युल' हाल्ने र हाँस्ने ड्युटी मिल्यो । काइदाको। बोल्दाबोल्दै केटाहरुको बोलीमा मा*मु*झुण्डिन थाल्यो। स्वाभाविक।  तर पछि त्यो नियम बन्यो। कसैको नाम लिएर बोलाउनु परे त्यसको अघि मा*मु*लाउनु पर्ने।  अनि त नारनदाईलाई समेत 'ए मु*नारानदाइ! यसो गर उसो गर' भन्न थालियो।  नारानदाई हास्थ्यो र हामीलाई मक्खपार्न भन्दिन्थियो -  'खुब हाँस्नु भयो, धेरै पछि सारै रमाइलो लग्यो सर' । हाम्रोमा उव्रेको  स्न्याक्स लिएर जान्थ्यो अर्को गेष्टकोमा।  हाम्रो लिष्टमा नभएको मःमः लिएर आउंथ्यो।

'तपाईंहरु भित्र गएर नाच्नु न। उनीहरु एक्लै नाचिरहेका छन्।' नाच्दै गरेका चिनियाँ गेष्ट देखाउदै मेनेजर आएर भने। उनलाई 'आगोको किस्सा' सम्झाउदै 'आगो तापेरै दाउरा सकियो।  फेरी अरुलाई गफ नदिनु' भन्दै नाच्न हिड्यौं।  नेपाली, हिन्दि, अंग्रेजी जुन पायो उही गीत।  ति चिनियाँलाई पनि नचाए केटाहरुले ।  उनीहरुले पनि हाम्रो स्टेप हेर्दै बेहिसाब नाचे। कुरा गरे। यतापनि  मा*मु*लगएरै। निकै उफ्रिईयो। गर्मि भयो । ज्याकेट झिके, सर्ट झिके। र स्याण्डोमा नाच्न थाले। आफ्नै मोबाईल 'सिस्टम'मा जोडेर बजाए।  एउटालाई त्यै स्याण्डोपनि बोझ भयो।  झिकेर नाच्न थाल्यो।  अर्कोलाई झिक्न लगायो।  नझिके च्यात्ने प्रयास भयो।  सबैले झिके र नाचे बिन्दास।  निकै ढिला खाना खाइयो।  अनि, कोठा प्रस्थान।  मा*मु*को नियम यथाबत।

'ल अब खेलम् !' भेलाहुने कोठामा सबैजम्मा नहुँदै एउटाले तास खोल्यो।  अर्कोले 'हैन गीत गाउने' भन्दै गाउनै शरु गर्यो पुराना नेपाली लोकगीत - "चुँई चुँई चुँईकने जुत्ता, सालीको खुट्टा ……"। बस्दाबस्दै अर्कोलाई गर्मि भयो। कपडा खोल्यो।  अनि सबैलाई उर्दी गर्यो। नत्र च्यातिन्छ।  सबैले माने। अब सबैले बाहिरीबस्त्र हटाए । काँठे गीत, पुर्बेली, दोहोरि, देउडा, आधुनिक सब भाका र जेनेरेक गीत रिमिक्स र प्यारोडी आए।  सुर बेसुर सबै कराए। रमाएर। होटेलका कोठाहरु सुनसान थिए।  तेसैले जोश अझ बढेको थियो।

'ल अब खेलम् !' एकछिन सुस्ताएको बेला एउटाले कुरो मोड्यो।  अर्कोले सहि थप्दै भन्यो - 'इट्स तिहार गाईज! लेट्स प्ले!' र शुरु भयो  रु.सयको फ्राँस। मध्यरात तिर।  पानी र अरु खानेकुरा थपियो।  बिस्तारै थाके।  सुस्ताए।  क्रमसः  सुत्न हिंडे एक एक गर्दै।  राति २ बज्यो।

घाम लाग्यो।  केहि ढिलो उठेर बाहिर निस्कियौं  । शान्त, थकित तर फ्रेश।  अलमल गरि  ब्रेकफास्टतिर पुग्दा १० बज्नथालेको थियो।  ब्रेकफास्ट टेबल घाममा राखी फेरी खेल सुरु।  रिफ्रेशमेण्ट। सकियो।  अब फर्किने।

हिजो चिया खाएको ठाउंमा फेरी बस्यौं।  सुस्ताएर। यौट़ा वाटर बोतलमा रिहाईड्रेसन झोल बनाएर पनि सदुपयोग गरे।  हिजोलाई रिकल गर्दै।  कसैकसैको कतै 'सिन गायब' भएको रहेछ।  सम्झियो, सम्झाईयो ।  फोटोको चर्चा भयो। हिसाबकिताब मिलाइयो। ठीकठाक।

अनि लाष्टिंग मेमोरी लिएर फर्कियो।          

समाप्त।
   
     

  

Wednesday, November 6, 2013

काठमाडौँ माराथन दौड्दा - ३

सेप्टेम्बर २३, शनिबार बिहान सयौं सेतो टी-शर्टधारी रनरहरु दशरथ रंगशालाको मूल गेट र ग्राउण्डमा भेला भएका थिए।  म पनि पुगें । म संगै जयलक्ष्मी, पुष्पा र सबीनापनि आएका थिए हौसला दिन र सहयोग गर्न। अफिसका साथीहरुको ग्यांग पनि भेटियो। उनीहरु संग फोटो खिचियो । वातावरण निकै रमाइलो भयो।   हाम्रो अफिसबाटमात्र २५ जना थिए - १० जना केटी, १५ जना केटा।  महेशजी र प्रसिद्धजी पनि थिए। थुप्रै अरुहरु पनि थिए।  गैर-नेपालीहरुको उल्लेख्य सहभागिता थियो।  सबै उत्साहित।  दौड सुरु हुने प्रतिक्षामा सबै थिए।  विभिन्न क्याटेगोरीमा दौडनेहरु थिए।  ३ किमि व्हीलचेयर।  ५ किमि विद्यार्थी र खुला, हाफ र फुल माराथन दौडनेहरुले फरक रंगका चेस्ट नम्बर लगाएका थिए।

बिहान ६.३० बजेतिर स्टार्टलाइनमा आउन भनियो।  पहिलो लहरमा फुल माराथन दौडनेहरु १ बाट शुरु हुने कालो नम्बरमा थिए। यिनीहरु ३० जना भन्दा कम थिए।  जसमा २ जना केटी थिए। दोस्रो लहरमा सय जनाजति हाफ माराथन दौडनेहरु ५०० बाट शुरुहुने रातोरंगको चेस्टनम्बरमा थिए। म, प्रमोद र मुकेश पनि थियौं त्यो भीडमा।  सतिशजी पनि हुनुहुन्थ्यो उहाँको साथीसंग।  यस पछाडिको लहरमा झन्डै १,०००-१,२०० को संख्यामा ५ किमि दौडनेहरु, विद्यार्थीहरु थिए। उनीहरुको जर्सी नीलो रंगको ३००० बाट सुरु हुने नम्बर थियो। र, अन्तमा २०-२५ जना व्हीलचेयर दौडका प्रतिश्पर्धि थिए।  नेपाल खेलकुद संघका उपाध्यक्ष युवराज लामाले ओपनिङ्ग फ़ाएर गरे।  अनि यसबर्षको काठमाडौँ माराथन सुरु भयो।  म दौडिएँ।

एकदमै रोमाञ्चित मन।  सबै उत्साहित।  यौटा उल्लासका बीच दौड सुरु भयो।  हामी त्रिपुरेश्वरको शालिक घुमेर टेकु तर्फ दौड्यौ।  एक हुल ह्वात्त अघाडी बढ्यो र छुट्टीयो।  उनिहरु पेसेबर खेलाडी थिए।  पातला शरीर भएका, शुरुमै तिब्र गति समातेर दौडने।  म, प्रमोद र मुकेश संगै थियौ।  आफ्नै गतिमा।  कालिमाटी पुग्दा पुग्दै उनीहरु अघाडी बढे।  मैले आफ्नो रफ्तार कायमै राखें।  रविभवनदेखि कलंकीको उकालो आयो । आधा उकालो काटुञ्जेल ठिकै थियो।  बिस्तारै स्याँ स्याँ हुन थाल्यो।  रोकिन पाए हुने झैं लाग्न थाल्यो।  अरुलाई हेरें।  सबै दौडेका थिए । कहिले त ओवरटेक पनि गरे।  जान दिएँ ।  रफ्तार बढाइन। बरु न रोकिने र न हिड्ने संकल्प गर्दै अघि बढें।  धेरैजना पछाडी पनि थिए। अन्ततः उकालो कट्यो।  तिर्खा लागे झैं भएको थियो तर कुनै व्यबस्था थिएन।  अघाडी बढीरहें। कलंकीदेखि बल्खुतिरको ओरालो रमाइलो लग्यो तर निकै लामो झैँ, खुट्टै थकायो। रविभवन उकालो काटेपछि यतासम्म कसैले उछिनेनन। बल्खु तिर बीचमा पानी खाएं।  निकै मिठो लग्यो ।

बल्खुबाट अघि बढेर सानेपा उकालो शुरु भयो। स्याँ स्याँ त हराएको थियो तर बिस्तारै खुट्टाले अल्छि मान्न थाल्यो।  अर्थात् थाकियो । तैपनि दगुरें आधा उकालो।  एकजना हिडेको देखें।  अनि म पनि हिडे नसकेर। यहिबेला केहिले उछिने मलाई।  घाम टिलिक्क लागेको थियो ।  उकालोले पसिना पनि निकै बगायो।  हप-हप पर्यो।  बाँकि तयगर्नु पर्ने बाटो याद आयो।  मनै हरेस खाने गरी टाढा लग्न थाल्यो। एकमनले ड्रप गर्ने बारे सोच्यो पनि।  तर पनि बढियो अघि।  मुकेश भेटियो। मलाई  कुरेर बसेको।  प्रमोद गैसकेछन अघाडी । मुकेश र म केहि बेर संगै दौड्यौ। सतिशजी र उहाँको साथी आइपुग्नुभयो।  एकछिन संगै दौडियो।  सायद हामि दौडेको ५५ मिनेट भेसकेको थियो।  उकालोमा उनीहरुको पेसमा आफुलाई कुदाउन खोजेको गाह्रो भयो।  छिटो दौडे चाँडो थकिने डर ।  अनि आफ्नै गतिमा बढें।

एकान्तकुना पुग्दा स्वयंसेवकको पानी वितरण भेटियो।  एउटा फोमले शरीर पुछें।  म संग पानी आदिको आफ्नै व्यवस्था थियो। यता आएपछि केहि  बादल लाग्यो।  चर्को घाम छेकियो। केहि  सहज भयो। र, म एकनासले दौडिएँ ।  कतै कतै दोबाटोमा गाडीहरुले गतिमा ब्रेक लगाइदिन्थे।  आर्मीका खेलाडीलाई सपोर्ट गर्न आएकाकेहि थान केटाकेटीहरुले कतै कतै चियर्स गरे।  हौसला दिए। सातदोबाटोदेखि  बालकुमारीसम्म पनि आरामले दौडियो।  यतिबेलासम्म निकै झोल इन्टेक भएको थियो।  पिसाब आयो।  कहाँ जाने ? कोटेश्वरतिर उकालो बीचको झाडी काम आयो।  बाँकी उकालो हिडेरै काटियो।  यता २ जनालाई मैले जितें।

तिनकुने निर पानी इन्टेक थपेर बानेश्वर तिर बढें।  अब नजिक छु भन्ने आभास भयो।  तर बानेश्वर चोक पुग्दा निकै मन्द उकालो रहेछ।  निकै थकिएको बेला हैरान पर्यो।  केहि पाइला हिडेर फेरी दौडें।  बबरमहल पुग्नु अघि किष्टबैंक/सगरमाथा टिवी तिरको बाटो मोडियो।  खस्रोबाटो दौडेको बेस्सरी थाकियो। एकजना अर्कोलाई पनि उछिने यता आएर।  हनुमानथान अघि आएर एकछिन बसेरै आराम गर्नु पर्यो। यति बेला कतै जोर्नी, कतै मसल, कतै पैताला, कतै हड्डी दुखे झैं भान हुन थाल्यो।  मुभ छर्कें तैपनि।  अनि दगुरें।  सिंहदरबार उत्तरतिरको बाटो अर्को उकालो आयो।  फेरी केहि बेर हिड्ने पर्यो।  यता फेरी पानी चाहियो। तर भेटिएन।  स्वयंसेवकले बागबजारमा पाइञ्छ भन्यो।  बागबजार सुन्दा बित्तिकै निकै खुसि लग्यो।  किनकि गतवर्ष जयनेपालहलसम्म पुग्नु पर्ने सुनेको थिएँ। तर, रत्नपार्क पुगें, पुरानो बसपार्क पुगें कतै पानी भेटिएन। मेरो साथ एस्कर्ट गर्ने पुष्पा र सविनापनि अब सकियो भनेर हिंडेछन।  प्याक प्याक भएँ।



सहीदगेट निर एउटा काँक्रो बच्ने बुढी महिला देखें।  'मलाई एक पिस काँक्रो दिनुहोस्। अहिले म संग पैसा छैन, पछि दिन्छु।" उनलाई अनुरोध गरें।  एकछिन अच्चम्म परिन, तर दिईन्।  काँक्रो खाँदै दौडें।  तर धित मरेन।  आकासे पुल मुनिको पसलमा पानी मागें। उही 'मसंग अहिले पैसा छैन।  पछि दिन आउंछु ' भने।  एउटाले मानेन।  छेउको अर्को पसलमा पनि सोधें।  यता मान्यो।  आधा बोतल सिनित्यै पारें।  बाँकी पछि खान्छुं भनि  उतै छोडेर  दौडें। यसो अघाडी बढेको त आर्मी हलको गेटमै पानीको व्यवस्था रहेछ। काम लागेन।  म अघि बढें।  अब त रंगशालाको काखमै।  एकछिन मै हाफ माराथन सम्पन्न गरिन्छ।  पाइला बढे।

रंगशालाको भित्रिगेट प्रवेश गर्दै मेरो अफिसका साथीहरुले चिच्याएर सपोर्ट गरे।  मैले अव रंगशाला बित्रको एक राउण्ड लगाउनु पर्छ।  त्यो सर्कल लगाउदै गर्दा माइकिङ्गमा मेरो नाम गरेको सुनें। उहिल्यै ५ किमि दौडेका धेरै साथीहरु म पुग्ने प्रतिक्षामा यतै कुरेर बसेका रहेछन् । फिनिशलाइन पुग्दै गर्दा सपोर्टमा साथीहरु कराएको, ताली बजेको, क्यामरा तेर्स्याएको, माईकमा आवाज दिएको दृश्यले बाटो भरिका सब पिडाहरु हराए।  माराथन कम्प्लिट गरेकोमा आयोजकले एउटा तक्मा लगाईदिए।  साथीहरुसबैले बधाई दिए।  एनटीभीको टिम आएर छोटो अन्तरवार्ता लग्यो।  फोटो खिच्यौं।   मैले दौड सम्पन्न गरें।  एस इ डीड इट !!!



(नोट: यो माराथन  सेरिज (१-३) ब्लगमा प्रयोग भएका फोटोहरु  प्रभारण महत, सतिशराज पाण्डे, डा.भानुभक्त निरौला, र सविना अधिकारीबाट प्राप्त भएका हुन्।  सबैलाई हार्दिक धन्यबाद  )   

(समाप्त)




      

काठमाडौँ माराथन दौड्दा - २

काठमाडौँ माराथनको सातौँ सस्करण सुरुहुने कुरो चल्यो। यसपाली  रजिस्ट्रेशन १० दिन अघिसम्म पनि खुलेको थिएन। कामतिरको अलमलले खास ध्यान पनि गएन।  अरु साथीहरुले पनि खासै जाँगर देखाएकाथिएनन।  एकहप्ता अघि दर्ता गर्ने बारे कुरो चलायौं। पहिले केटीहरुले चासो देखाए।  क्रमस: केटाहरुले पनि दर्ताको लागि सहमति गरे। कामको चापको बीच यस्ता इभेन्टमा भाग लिन धेरैलाई हम्मेहम्मे पर्ने देखियो।  दर्ता गरेपछि हल्का अभ्यास पनि त गर्नुपर्छ।  समय र जाँगर दुवैको मेल गराउनु निकै चुनौती हो। अन्तत हामी फेरी २४/२५ जना पुग्ने भयो।

म बिहान बिहान कहिलेकाही दौडिन्थ्यें।  त्यस्तै ४-५ किमी।  प्राक्टिस गर्न।  पोहोरसाल भन्दा निकै सहज तरिकाले दुरीतय हुन्थ्यो ।  बीचमा केहि अघि फ़ुट्स: खेलेकोले पनि होला।  यसपाला हाफ माराथन दौडने रहर थियो।  तर आँट आईरहेको थिएन।  गफको सिलसिलामा सबैलाई प्रसङ्गबस् २१ किमि आँटने कुरो गर्थें।  यो सबै आफैलाई तयार गर्न सकिन्छ कि भनेर प्रयास गरेको मात्र थिएं। प्रमोदजीले मलाई यसपाली २१ किमि भाग लिन भन्दै निकै उक्साए। यदि म दगुरे मुकेशले पनि पहिलो पल्ट २१ किमि दगुर्ने कुरा गरे। मलाई थप दवाब पर्यो। मुकेशले त हाफकै लागि दर्ता शुल्क मेरो जिम्मा लगाए।  प्रक्टिसमा एक्लै दगुर्दा अल्छि लाग्थ्यो।  अफिसतिरका कोही साथीहरु पनि मेरो नजिक नबस्ने।  यस्तैमा कर्णजी (जुम्लाकै साथी) तयार भए बिहान-बिहान साथै दगुर्न थाल्यौं, सातदोबाटो तिर।  उनि फास्ट दगुर्न सक्ने।  मैले बिस्तारै तर लामो समय दगुर्ने प्रयास गरेँ। एकदिनमा अधिकतम ६ किमिसम्म दौडियो। यति अभ्यासले पुग्ला न पुग्ला। त्यति आत्मबिश्वास आएन। अनि, दर्ता ५ किमिमा भर्न पुगेँ।

सबैको दर्ता गर्ने जिम्मा मैले लिएको थिएँ। अफिस पछि चिया खाने पसल, जसलाई हामी पीओसी (पोस्ट अफिस क्लव) पनि भन्छौं, मा दर्ता बारेमा कुरा चल्यो । मुकेशले मेरो ५ किमिबारे सुनेपछि कि आफुले २१ बाट झिक्ने  नत्र मैले पनि २१ मा जानुपर्ने जिद्दी गरे। संगसंगै दगुर्ने।  आबश्यक परे हिड्ने कुरो गरे।  प्रमोदले पनि हामी संगसंगै दगुर्ने आश्वसन दिएका थिए । अरुहरुलाई त यसपाला मैले २१ मै दगुर्ने भन्ने लागेको रहेछ। पीओसीवाला सबैले हौस्याए। यसैबीच  राजेशले एउटा प्रसङ्ग निकाल्दै दिउँसो कुराको सिलसिलामा सतिशजीले 'माधवपनि हाफ दगुर्छ नि यसपालि' भनेको कुरो सुनाए । हो, मैले केहिअघि 'आफ्नो 'कम्फोर्ट जोन' संग कम्पिट गर्नलाई दगुर्नुपर्ला' भनेर कुरा गरेको थिएँ। यस्तै कुरा सोसल मेडियामा पनि लेख्थें।  आफुले आफैलाई दबाब दिनलाई मैले प्रसंगबस भन्ने गर्थें।  कुरै नगरे त म निकै अल्छि छुँ,।   यी सबै कुराले मेरो निर्णय परिबर्तन गर्न मद्दत गर्यो।  मैले भोलिपल्ट फेरी दर्ता फेरें।  अब म पक्का हाफ-माराथान दौडिने भएँ।  जर्सी नं ५३३ !

मैले हाम्रो अफिसबाट भाग लिने साथीहरुको लागि दर्ता, तयारी आदि कार्यमा समन्वय गरि सहयोग गर्ने गरेको थिएँ। केहि नयाँ रनरहरु थिए।  एकदिन अगाडि तयारी ओरिएण्टेसन गर्यौं।  सतिशजीले गतबर्षको प्रसङ्ग जोड्दै दौड भन्दा पहिले र दौडको बेला ध्यानदिनुपर्ने महत्वपूर्ण टिप्स सहित रमाइलो र ज्ञानबर्द्धक प्रस्तुति दिनुभयो।  यस्तोमा उहाँ निकै निपूर्ण हुनुहुन्छ। यसले सबैमा जाँगर र जोश
थपियो। यसैबेला यसपालाको दौडबाटपनि केही फण्ड उठाउने कुरो चल्यो।  त्यसबाट उठेको रकम केमा सदुपयोग गर्ने भन्ने कुरो पछि निर्णय गर्ने कुरो भयो।  सबै आ-आफ्नो तयारीमा जुटे। भोलि बिहान ६ बजे दशरथ रंगशालामा भेट हुनेगरी।

घर लागें।  भोलि बिहानको तयारी गरें।  दुईतीन दिनदेखि आराम ग

रिएको थियो ।  दौडिएको थिईन।   १/२ दिन अघिदेखि पर्याप्त इलेक्ट्रोलाईट्स खाएर रिहाइड्रेड गरेको थिएँ ।  बाटोको लागि आवश्यक तयारी गरियो - पानी, केही फर्स्ट-एड औषधि र  संगसंगै बाटोमा एस्कर्ट गर्ने बाइकमा साथी ।

पहिलो प्रयास, जसले जे भनेपनि चिन्ता त हुने नै भयो।  अरुहरुले निकै तयारी गरेका होलान्।  बिचैमा छोड्नु परे कस्तो लाग्ला।  कहाँ कहाँ हिड्नु पर्ने होला, के कस्तो अफ्ठ्यारो पर्ला।  खुट्टा दुख्ने होला।  मेरो जुत्ताले साथ देलानदेला।  यस्तै तर्कना झेलियो।  आयोजकले वितरण गरेको जर्सी कटनको थियो यसपाला।  पोहोरको भन्दा भिन्न।  पसिनाले च्यापच्याप भएर टाँसिने हुनसक्छ भन्ने ठानी मैले आफ्नै एडिडासको रनिङ्ग जर्सी तयार गरें।  एडिडासकै रनिङ्ग सुज पनि थियो।

मानसिकरुपले पूर्ण तयार भएँ।  मष्तिस्कमा भोलि दगुर्नुपर्ने रुटको चित्र कोर्दै निदाउँने प्रयास गरें। रुट  - रंगशाला - टेकु - कालिमाटी - कलंकी - बल्खु- एकान्तकुना - सातदोबाटो - बालकुमारी - कोटेश्वर - तिनकुने - नयाँबानेश्वर - बबरमहल - अनामनगर - पुतलिसडक - बागबजार - रत्नपार्क - शहीदगेट - दशरथ रंगशाला।  २१ किलो-मिटर।  अर्थात् हाफ माराथन।

(क्रमसः )






Tuesday, November 5, 2013

काठमाडौँ माराथन दौडंदा - १

सेप्टेम्बर २३, २०१३ शनिबार । सातौँ काठमान्डू माराथान।  मैले २१ किमि रन अर्थात हाफ माराथन दौडें । पहिलो चोटी पोहोरसाल यसको छैठौं संस्करणमा ५ किमिमा दौडिएको थिएँ। त्यसबेलाको अनुभव र साथीहरुको उक्साहट, थोरै  रहर  र बाँकि मेरो आफ्नै कमजोर आत्म-विश्वास संगको लडाई जित्ने प्रतिबद्धताले यो दौड सम्पन्न गर्न सम्भव भयो।  यो ब्लग त्यही अनुभवको संकलन हो।

सानो हुँदा ---

अरु बच्चा झैं सानोमा गाउँ वरिपरि  दौडिन्थ्यो बिना लक्ष्य । तर प्रतिष्पर्धामा, लक्ष्यसाथ दौडेको अनुभव बनेन।  स्कुलमा भलिबल चल्थ्यो, तर कैल्यैपनि खेलिएन। केवल सानोतिनो रहरमा खेलेको बाहेक । एउटा कन्जिनेटल समस्या  छ आँखाको त्यसैले दोहोरो प्रतिष्पर्धाका खेलहरुमा दक्ष्यता छैन।  जुम्लामा ३ वटा स्कुल पढें, तर कतै पनि खेलकुदमा लगिन। कतै फिल्ड नै  थिएन त  कतै धेरै विद्यार्थी भएर आफु गणना मै आउथेन।  कतै संकोच लाग्थ्यो। बिद्यालयमा खेलको प्रवर्धन गर्ने परिपाटी पनि थिएन।  अनि,  कतिपय बेला गाउँ भन्दा टाढाको  स्कुलमा जानुले निमुखो अनुभूति पनि भयो। यी यावत कारणले खेल जानिएन, रुचि जगेन, बानी परेन।  तसर्थ, खेलकुद मेरो लागि खास थिएन। 

शारीरिक अभ्यासमा पनि ध्यान पुग्दैनथ्यो । खासमा त्यस्तो परिवेश, संगत र जानकारी केहि थिएन। पछि  शारीरिक अभ्यासमा रहर आयो नेपालगंज काम गर्दा।  शुरु गरेँ।  तर निरन्तरता दिन गाह्रो। पछि हेटौडाहुँदा पनि केहि सुरुवात गरियो।  तर, अनेक बहाना मिल्छ र क्रमभंग हुन्छ।  रहर भने जहिल्यै हुन्छ।   

एकवर्ष अघि ---

गतबर्ष अगष्टतिर मेरो अफिसको कन्ट्री डाइरेक्टर सतिशजीले 'काठमाडौँ मराथान हुन्दैछ नि अक्टोबर १३ तारिकमा, दौडने?' भनेर सोध्नुभयो हामीकेहि स्टाफ साथीहरुमाझ। सतिशजीले दौडने गर्नु हुँदो रहेछ। । 'गाह्रो हुन्न, ५ किमिमा भाग लिने।  सयौं अरु मान्छे पनि हुन्छन्' भनेर हामीलाई हौस्याउनु भयो।  विचार गर्नु पर्ला भनेर त्यसै छोडियो।  फेरी कुरो चल्यो।  प्रमोदजीसंग  यूरोपतिर दौडेको अनुभव रहेछ।  मुकेशले पनि रुचि देखायो। प्रभारणले पनि  माने ।  शुरुमा हामी ४ जनामात्र भयौं। पछि  यौटा मिटिंगमा सतिशजी ले सबै स्टाफलाई आफ्नो अनुभव सुनाउदै 'सोचे जस्तो गाह्रो नहुने बरु निकै फन हुने' भन्नु भयो। हामीले हौस्याउन थाल्यौं।  अनि  बिस्तारै अरुपनि आए। अफिस बाहिरका साथिहरु पनि भाग लिने भए।  



ट्रेडमिलमा दौडन प्रयास गरें , सहज लागेन।  रुटिन मिलाउन गाह्रो।  बाटोमा दौडन सुरु गरे।  २ किमि नपुग्दै स्याँ स्याँ भयो, अनि  ड्रप गरे।  फेरी अर्को दिन सुरु गरे।  थोरै ताने।  केहि हप्ताको प्रयास पछि ६ किमि ननस्टप दौडन सकें। यसपालिलाई यतिले पुग्छ।  काठमाडौँको बाटोमा  धुलो, धुवाँ, हल्लाको बीच दौडनु निकै अफ्ठ्यारो र जोखिम छ। तर भित्रि बाटो र पेटीमा दौडदा वास्तविक दौडको झैँ अभ्यास मिल्छ। आफुलाई दबाब दिन दौडेको कुरा फेसबुक र ट्विटरमा राख्न थालें। यसरि शेयरगर्ने टिप्स  सतिशजीको थियो।  निकै काम लग्यो।  किनकि, भेटमा साथीहरुले सोध्थे - 'कस्तो हुँदै छ ?' अनि आफ़लाई मिसन सम्पन्न गर्ने जोश र दबाब दुवै आइलाग्थ्यो।  अनि भोलि बिहान बेडसंग संघर्षमा जित हासिल गर्न मद्दत पुग्थ्यो।   


यो दौडलाई 'रन फर अ कज' को रुपमा लिनुपर्ने आइडिया आयो।  प्रमोद्जीलाई केहि अनुभव रहेछ। सतिशजी र भानु जी (डेपुटी) ले सपोर्ट गर्नु भयो। एक हप्ताजति सोसल मेडियामा चर्चा गरेर फण्ड कलेक्सन गरियो। झन्डै २ लाखसम्मको प्लेज (आश्वासन) आयो।  अफिशकै सिनियर स्टाफ र बैंकक अफिसबाट पनि सहयोग आउने भयो।  साथीहरुको संजाल मार्फत अरु धेरै ठाउंबाट सहयोग मिल्ने कुरो भयो।  


मराथानको अघिल्लो दिन  सतिशजीले एउटा ब्लग पनि लेख्नु भएको थियो एकदमै  इन्स्पयारिंग।  यता हेर्न मिल्छ।  Satish's Note on Marathon . 

त्यो दिन आयो।  अन्तत: हामी २७ जना दौडियौं । महिलाहरुकोआधाजसो सहभागिता रह्यो। सतिशजी  र प्रमोदजी हाफ माराथन (२१ किमि) दौडे।  अरु सबै हामि ५ किमिमा दौडियौं।  एउटै टि-शर्ट, सयौं जनाको भीडमा दौडदा सबै रमाए।  



यसबाट हामीले रु १,७३,००० जम्मा गर्यौं।  त्यो पैसा कर्णाली अञ्चलको जुम्ला जिल्लामा अवस्थित श्री दुर्गा उमाविलाई अक्षयकोष खोल्न सहयोग गरियो।  सो स्कुलले त्यो रकमको ब्याजबाट यसबर्ष केहि बिद्यार्थीहरुलाई पुरष्कार दियो।  रहरै रहरले शुरुगरेको दौड यौटा अभियान बन्यो।

(क्रमसः। .)