Tuesday, September 4, 2018

कसरी गर्न सकिन्छ कर्णालीमा लगानी

यो लेख सेप्टेम्बर ४, २०१८को सेतोपाटीमा प्रकाशित छ।  https://setopati.com/opinion/166353

जुम्लाको चन्दननाथ नगरपालिकाले यही भदौ २९ गते लगानी प्रवर्धन सम्मेलन गर्ने भएको छ । सदियौंदेखि ओझेल परेका तर प्रचुर सम्भावनाहरु भएका ठाउँको विकास सामर्थ्यको उजागर गर्न यस्तो सम्मेलनले ठूलो भूमिका खेल्न सक्दछ । कर्णालीमा विविधतायुक्त र नौला लगानी अवसरहरु प्रसस्त छन् तर पर्याप्त ढंगले खोज, बर्गिकरण, प्रचार र प्रयास हुन सकेको छैन । केहिवर्ष अघिसम्म कर्णालीको बिकटता, अभाव, अशिक्षा, अन्धविश्वास, रुढिबादी परम्परा, रोग, महामारी, भोकमरी, फोहोर आदि राष्ट्रिय समाचार बन्थे  । अचेल त्यसमा निकै कमी आएको पाइन्छ । बरु त्यहाँको अपार सम्भावना, सम्पदा, संस्कृति र सफलताका गाथाहरु वर्णित हुन थालेको छ । अर्थात, कर्णालीले स्वरुप फेरेको छ। यो लगानी सम्भावनाको लागि स्वनिर्मित र सुखद संकेत हो। त्यसो त अत्यन्त न्यून जनघनत्व सहितको विशाल र विविधतापूर्ण भूभागले नै कर्णालीमा अपार सम्भावना रहेको प्रमाण दिन्छ ।       

केन्द्र सरकारको बाँडफाँडबाट भाग लागेको सिमित बजेटले स्थानिय जन अपेक्षा पुरागर्ने समृद्धि ल्याउन मुस्किल छ। स्थानीय सरकारको आफ्नै प्रयासले बैदेशिक ऋण र अनुदान सहयोग खोज्ने बाटो केन्द्रिय सरकारको मध्यस्थता मार्फत मात्र सम्भव हुनसक्छ तर त्यस प्रक्रियाको पनि कुनै टुङ्गो लागिसकेको छैन।  वैदेशिक सहयोग आए पनि अनेक ज्ञात अज्ञात शर्त सहित आउँछ र जनताको टाउकोमा थप ऋण बोकाएर बस्छ । यस्तो अवस्थामा सम्भावित स्वदेशी लगानी आकर्षण गर्ने स्थानीय सरकारको प्रयास प्रशंसनीय हो ।      

नेपाल सरकारले पछिल्लो पल्ट २०७३ सालको फाल्गुन महिनामा नेपाल लगानी सम्मेलन गरेको थियो ।  भारत, चीन, अमेरिका, बेलायत, दक्षिण कोरिया आदि मुलुक र नेपाल समेत गरि हजार भन्दा धेरै कम्पनी सहभागी भएको त्यो सम्मेलन निकै सफल ठानिएको थियो किनकि दुई दिनसम्म गरिएको सम्मेलनमा अपेक्षा गरेभन्दा निकै बढी ११ खर्ब रुपैयाँ बराबरको तत्कालै प्रतिवद्धता आयो । प्रतिवद्धतालाई लगानीमा परिणत गराउन विश्वासिलो र स्थिर संयन्त्र निर्माण गरि अनावश्यक  कानुनी र नीतिगत जटिलता हटाई सुधारात्मक र सुरक्षित वातावरण प्रदान गर्नु पर्छ। तर त्यसको अभावमा आज अधिकांश ति प्रतिवद्धताहरु एकपाने कागजमै सेलाएर बसेका छन् । यसबीच सरकारले फेरी लगानी सम्मेलन गर्ने घोषणा पनि गरेकोछ ।

यो के संकेत हो भने केन्द्रिय सरकार मात्र हैन स्थानीय सरकारहरु सबै लगानी आकर्षित गर्न आतुर छन् । भविष्यमा प्रदेश सरकार र अरु स्थानीय सरकारहरुले पनि लगानी ल्याउने प्रयास गर्नेछन् । 

कर्णालीमा लगानीका क्षेत्रहरु
मानव गतिविधि हुने हरेक स्थानहरु लगानी योग्य स्थानहरु हुन्। तथापी हरेक लगानीको निर्णय त्यसले दिने प्रतिफलसंग जोडिएको हुन्छ । झन् निजी लगानीको रुचि त त्यसबाट मिल्ने प्रत्यक्ष नाफामा भरपर्छ । यसलाई भूगोल, जनसंख्या, भौतिक संरचना, बजारको पहुँच र सरकारी नीतिले प्रोत्साहित वा निरुत्साहित गरिरहेको हुन्छ ।

कर्णालीमा बाटो र संचारको पहुँच बढे संगै थुप्रै सम्भावनाहरु उजागर हुँदै गइरहेका छन्।  तर संस्थागत र दिगो लगानीको लागि संरचनाको विस्तार हुनु अत्यावश्यक छ।  सडक, बिजुली, एयरपोर्ट, शहरी विकासजस्ता ठूला आयोजनाहरु केन्द्रीय सरकारकै लगानी र नेतृत्वमा गरिनु पर्छ। त्यसका लागि आवश्यक बैदेशिक वा अन्य श्रोत जुटाउने जिम्मा पनि केन्द्रिय सरकारले लिनु पर्छ। प्रदेश वा नगरपालिकाहरुको यस बिषयमा न अनुभव न क्षमता न नीति नै बनिसकेको छ।

कर्णालीमा निजि स्वदेशी लगानीका निम्ति मझौला र साना उद्योगधान्दा र व्यवसायहरु उपयुक्त छन् । पत्रकार सम्मेलनमा भनिए जस्तो नीजि स्वदेशी वा बाह्य लगानी आकर्षणगर्ने अवसरका क्षेत्रहरु कृषि, पर्यापर्यटन र जडिबुटी मात्र भने हैनन् । यी परम्परागत रुपमै चर्चा भइरहने प्रमुख सम्भावनाका क्षेत्रहरु हुन् । समयक्रम संगै नयाँ मौकाहरु पनि उदाएका छन्। सम्मेलनमा त्यस्ता लगानी भित्र्याउन सकिने क्षेत्रको चर्चा गरिनु आवश्यक हुन्छ।  अर्थात, अपरम्परागत शैलीले सोच्नु जरुरी छ।

अपरम्परागत ढंगले सोच्दा मेडिकल टुरिजम आश लाग्दो क्षेत्र देखिन थालेको छ। आपतकालिन सर्जरी बाहेक हाडजोर्नी, छाला, घाउ आदिको लामो उपचार र आरामी पछि स्वास्थ्यलाभ मिल्ने अवस्थामा जुम्लाको हावापानीले मद्दत गर्न सक्छ।  सुबिधासम्पन्न उपचार र आरामको व्यवस्था गर्ने यौटा लगानीको क्षेत्र हुन सक्छ।

आवासीय सुबिधा सहितका शिक्षालयहरु - बोर्डिंग स्कूल, कलेज, तालिमकेन्द्रहरु अर्को दिर्घकालीन लगानी सुनिश्चित हुनसक्ने क्षेत्र हो।  कर्णाली र आसपासको जिल्लाहरुका बिद्यार्थीहरुको लागि भनि साढे तिन दशक अघि खुलेको कर्णाली प्राविधिक शिक्षालयमा दुईदशक अघिदेखि नै देशभरबाट बिद्यार्थी आउनुले 'दुर्गम'भन्ने कुरा त केवल सोच मात्र भएको कुरा प्रमाणित गरि सकेको छ। हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले संचालन गर्ने कोर्षमा भर्ना हुन चाहने आकांक्षीहरुले पनि यो उच्च सम्भावना देखिएको छ।

खेलकुद अर्को लगानी सम्भावना बोकेको क्षेत्र हो।  बिशेषगरी साहसिक खेलकुद यहाँ फ़स्टाउन सक्छ। चर्चित  धावक हरि रोकायाले कोरेको सपना कर्णालीमा हाई अल्टिच्युट ट्रेनिंग सेन्टर यौटा वास्तविक बन्न सक्ने प्रचुर सम्भावनाको क्षेत्र हो।  पूर्वाधार बिनै केवल हौसलाको भरमा त्यै माटोमा दौडाएर स्थानीय युवाहरुलाई मेडल जित्नसक्ने बनाउन सकिन्छ भने पर्याप्त संरचना र सुबिधा उपलब्ध गर्न सके देशविदेशबाट आकांक्षीहरु नओइरिने त कुरै छैन ।

एथलेटिक्स बाहेक भर्खरै जुम्लाकै लाम्रामा पाराग्लाईडिङ्गको सफल परिक्षण भै सकेको छ।  रुख बुट्यान उम्रन नसकेका डाँडाहरुबाट कावाखाँदै तल तिला नदिको फाँट तिर ओर्लनुको मज्जै बेग्लै हुनेछ।  यी ठाउँहरु ग्लाईडिङ्ग खेलको लागि प्राकृतिक रुपले किन पनि उपयुक्त हुन सक्छन् भने चिल, गरुड आदि चराहरु, जसको उडान एरोडाइनामिक्स सिद्धान्त मेल खान्छ, यिनै डाँडाका आसपास घुमि रहेका हुन्छन् ।

साइक्लिङ्ग अर्को भविष्य भएको व्यवसाय लगानी हुन सक्छ । जुम्ला उपत्यकाको  २५-३० किमि पश्चिम राजमार्गको बाटो र तिलानदि वारीपारी, पुर्वतिर गुठिचौर, उत्तरपुर्व चौधबिस क्षेत्र र सिंजा उपत्यकाका  जिउला र बस्तिको फाँटमा साइकल चलाउन मिल्छ । हाइ अल्टिच्युड अभ्यास गर्ने उपयुक्त थलोको रुपमा विकास गर्न सकिन्छ।

जुम्लादेखि रारा पुग्ने बाटोमा पर्ने चट्टाने भीरहरुमा सायद रकक्लाईम्बिङ्ग खेल बन्न सक्छ। कतिपय भीरहरुमा परम्परागत तरिकाले भिरमह र शिलाजीतको खोजि चलिरहेको हुन्छ।

अहिले अव्यावहारिक झैं लागे पनि उचाइमा रहेका भूभाग र हिमाली चौरहरु अर्थात डोल्पा, मुगु, जाजरकोटसंग जोडिने भाग पाटनका थुम्का, भिरालो र फाँटहरु स्किईङ्गको गन्तव्य हुने सम्भावना राख्छन् ।     

चलचित्र र फिल्म उद्योगको आगमन यौटा प्रतिफल सुनिश्चित गर्न सकिने लगानीको क्षेत्र हुनसक्छ । उही चोभार, पोखरा, मुस्ताङ्ग जस्ता लोकेशन तथा उही नेपाली लबजको डाइलग, उही प्रकारको गुन्यूचोलीको नाँच, उही पिडि र छानाका बस्ति देखिने दृष्य हेर्दाहेर्दा हैरान दर्शकलाई नयाँ स्वाद दिने तत्त्व कर्णालीमा भेटिन्छ। श्रव्यदृश्यमा मौलिकता दिन सक्ने अनेक बिषयबस्तुहरु छन्।  काराभान र कालोपोथी जस्ता फिल्मले त्यो सम्भावनाको सफलता प्रमाणित गरिसकेका छन् । त्यहाँको इतिहास, संस्कृति, भाषा, भेषभुषा, भूगोल, बस्ति सबै नै मौलिकता बोकेका विशिष्ट स्वाद दिनेक्षेत्रहरु हुन् ।

आयुर्वेद र परम्परागत उपचार पद्धतिको अध्ययन र विकासको क्षेत्रले व्यवसायिक व्यापकता पाउन सक्छ।  जडिबुटीको संकलन र निर्यात केन्द्रित व्यवसायले केवल दोहन निम्त्याएको छ।  कच्चा पदार्थको रुपमा निर्यात नगरी स्थानीय रुपमा उत्पादन गर्न सक्ने उपायहरु ल्याउन आवश्यक छ।

यस्ता निकै अरु विषयहरु हुन सक्छन्।

सम्भावित लगानीकर्ताहरु    
भर्खर भर्खर मूलधारसंग सडक संजालले जोडिन खोजिरहेको, विदयुत र संचारको भरपर्दो व्यवस्था भै नसकेको कर्णालीमा कतिपय लगानीकर्ताहरुलाई जोखिम महसुस हुन्छ । त्यो स्वभाविक हो । तसर्थ स्थानीय सरकारहरुले कम जोखिमयुक्त लगानीका क्षेत्रहरु पहिल्याउन सक्नु पर्छ । शासकीय सुधार गरी यथेष्ट सहजिकरण र सुविधाहरु साथै जोखिम न्यूनीकरण प्रत्याभूति दिन पर्दछ ।

कर्णालीमा लगानी गर्ने सोच जन्माउनु अघि सम्भावित लगानीकर्ताहरु केही गुण र आदर्शहरुले निर्देशित हुनुपर्दछ । अहिलेको यौटा सत्य के हो भने कणालीमा व्यवसाय स्थापना तुलनात्मकरुपले महंगो पर्छ र फलस्वरूप प्रतिफल कम हुने वा ढिलो आउने बनाइदिन्छ । रातारात कमाउ हुने ठाउँको खोजिमा रहने लगानीकर्ताहरुको लागि कर्णाली हाललाई उपयुक्त गन्तव्य नहुन सक्छ ।

ठूला व्यापारिक घरानाहरु, बहुव्यवसाय संचालन गर्ने तथा लगानी परिचालन गर्ने समूह र संगठनहरुले व्यवसायिक विविधिकरण गर्न कर्णाली रोज्नसक्नु पर्दछ । पूणतः मुनाफामुखी मात्र नभई सामाजिक उत्तरदायित्व सहितको मानव हित र दीगो विकासको मूल्यमान्यता बोक्ने जिम्मेबार व्यवसायिक अवधारणायुक्त लगानीको प्रवर्धन गरिनु पर्दछ ।

उदाहरणको लागि कर्णालीमा चाउचाउ विस्कुट लगायत अन्य तयारी खानेकुरा निकै नै खपत गरेको छ । स्थानीयरुपमा उपलब्ध खानेकुरालाई विस्थापित गर्दै तयारी खाजाप्रति मान्छेको रुची बढ्नुमा आक्रामक बजारनीति, आकर्षक विज्ञापन र देखासिकीले गर्दा हो । आम सर्वसाधारण बजारले कसरी प्रभावित भैरहेको छ भनि भेउ ने पाउन सक्दैन ।  ती उद्योगहरुले अहिलेसम्म कर्णालीका बासिन्दालाई केवल आफ्रना उपभोक्ता मात्र बनाए । अब कुनै क्षेत्रमा लगानी गरि उद्योग व्यवसाय चलाई ती जनतालाई रोजगारको अवसर उपलब्ध किन नगराउने ?

हवाई उद्योग चलाउने कतिपय एअरलाइन्स कम्पनीहरुले पहाडी रुटमा अनिवार्य सेवा पुर्याउनुपर्ने नियमलाई लत्याउँदे तराई र पोखरा जस्ता सहज रुटमा चलेर बर्षौदेखि लाभ लिईरहेका छन् । ती व्यवसायीहरुले नयाँ ढंगले प्याकेज चलाएर वा लगानी विस्तार गरी कर्णालीमा पहूच बढाउन, रोजगार र अन्य अवसरहरु सृजना गर्न किन नहुने?

यस्ता अरु धेरै उदाहरण पाइन्छन्। 

देशभरका कर्मचारीहरुको रकम परिचालन गर्ने संचयकोष, नागरिक लगानी कोषहरुले शहरहरुमा व्यापारिक कम्प्लेक्स बनाई भाडामा लगाएको अनुभवलाई जुम्लाजस्तो बजारमा सुलभ सपिंगमलको अवधारणा फैलाउन किन नसक्ने ? भाटभटेनी लगायतका मलहरुले आफ्ना पसलमा राख्ने अर्गानिक उत्पादनहरु कर्णाली मै किन नफलाउने ? त्यसकालागि आवश्यक संयन्त्र र सानामझौला पूर्वाधारमा लगानी किन नगर्ने?

यसैगरि नेपाल आर्मी र नेपाल प्रहरीले थन्किएर बसेका आफ्नो कोषको केही रकम परिचालन गरी उनीहरुका संयन्त्रमार्फत कर्णालीमा लगानी गर्न सक्छ ।

यद्यपी कर्णाली जन्मथालो भएका गैरआवासीय नेपालीहरु निकै कम छन् तर कर्णालीमा एनआरएनले रुचीदेखाउन सक्ने होटल र यातायात व्यवसायको पनि सम्भावना प्रबल छ ।

स्थानीय लगानीको सम्भावना 

लगानी सम्मेलनको उद्देश्य केवल जिल्ला बाहिरका लगानीकर्ताहरु केन्द्रित हुन हुँदेन । विकास र रुपान्तरणका लागि स्थानीय प्रयासहरु अत्यन्त प्रभावकारी हुन्छन् । समुह र  सहकारीका माध्यमबाट ठूलो रकम संकलन गरी जलविद्युत, यातायात, सुपथ पसल आदि सफलतापूर्वक संचालन गरिएका उदाहरणहरु विद्यमान छन् ।

कर्णालीका बासिन्दामा पैसा कमाउन सक्ने भएदेखि तराईंमा घरजग्गा जोड्ने रहर र बाध्यता हुन्छ । यो सामाजिक हैसियत सँग जोडिने गरिन्छ।  विकटता झेल्दै हुर्किनेहरुले सुगमको बसाईको परिकल्पना गर्नु स्वभाविक हो । यो होड व्यापारी, ठेकेदार र सरकारी कर्मचारीहरुमा बढी छ।  अचेल सामाजिक कार्यकर्ता र राजनीतिकर्मीहरु पनि यस्तै लहड चलेको छ।  तर जब कर्णालीमा आवागमनको सहजता हुन्छ र स्थानिय अवसरका क्षेत्रहरु खुल्छन, यो क्रम आफै कम हुन्छ । फलस्वरूप यसले जिल्ला बाहिर जाने ठूलो रकम स्थानीय स्तरमा परिचालन हुन सक्ने छ।

कर्णालीमा भर्खर भर्खर रेमिटेन्स पनि भित्रिन थालेको छ तर रेमिटेन्सको उपयोग भने समग्र देशकै जस्तो अनुत्पादक क्षेत्रमा बढी हुने गरेको छ।

स्थानीय साना व्यापारीहरुमा व्यवसायको विविधिकरण गर्ने भन्दा पनि अर्कोको देखासिकी गर्दै उही व्यवसाय दोहोर्याउने प्रवृति बढी छ।  व्यापारका अन्य सम्भावनाको प्रयाप्त ज्ञान नहुँदा सामान्य लगानी हैसियत हुनेले जोखिम मोल्न सक्दैन र उही छिमेकीले गरेको जस्तै काम आफुले पनि सुरु गर्छ ।

स्थानीयहरुबाट लगानी जुटाउने विषयमा केही चुनौतीहरु पनि छन्। जस्तो कि जुम्ला यौटा भाग्यबाद मान्ने समाज हो।  अन्तरिक आयका स्रोतहरु निकै सिमित छन् । निश्चित केहि जाति बाहेक अधिकांस हिस्सा ओगटेको बाहुन, क्षेत्री र दलित समुदायमा व्यापारिक परम्परा र संस्कार छैन। प्रायः सबैले कृषि र पशुपालन गर्छन्।  त्यसैले सबैको गतिबिधि घडीको समय भन्दा पनि घरायसी कामकाजले निर्धारण गर्ने 'किसान समय'मा चल्छ।

स्थानीय सरकारहरुले यी अवस्था र चुनौतीहरुलाई मध्यनजर गर्दै लगानी योग्य वातावरण बनाउन प्रयास गर्नुपर्छ।
लगानी सम्मेलनको औचित्य 
इतिहासमा एकदमै बिकट र सुदूर मानिने कर्णालीको एउटा नगरपालिकाले देशका निजी क्षेत्र, गैरआवासिय, वैदेशिक स्रोतको समन्वय गरी देश लगानी प्रवर्धनको प्रयास गरेर रोजगार तथा तालिम, सिप विकास र हस्तान्तरण, लगानीको विविधिकरण, प्रविधिको स्थानान्तरण, जनशक्तिको सशक्तिकरण, दिगोपन हासिल गर्न सक्छ।

उचित लगानीबाट लगानीकर्ताले मुनाफा लिने मात्र हेने स्थानीय रोजगार सृजना गरि दिगो आर्थिक गतिविधिको माहोल निर्माण गर्न मद्दत पुग्दछ।

सम्मेलनले सम्भावित लगानीकर्ताहरु सँग एकआपसमा बार्तालाप गर्ने वातावरण बन्दछ।  स्थापित उद्योगी र व्यापारी, नयाँ  र उदाउँदा व्यवसायीहरु, नीति निर्माताहरु, सरकारका प्रतिनिधिहरु र स्थानीयहरुको सहभागितालाई परिणाममुखी बनाउन बलियो, विश्वसनीय र तथ्यपरक राष्ट्रिय तथा स्थानीय दृष्टिकोणहरु प्रस्तुत गरिनु पर्छ।

स्थानिय सरकारहरुले निरन्तर रुपमा आफूलाई भरपर्दो सहजकर्ता बनेर देखाउन सक्नु पर्छ। सरकारको कामकारबाहीमा लगानी तथा आर्थिक विकासको उत्प्रेरक तत्वहरु देखिन सक्नु पर्छ। जस्तै: छरितो र सहज निर्णय प्रकिया, 'रेड टेप' प्रवृतिको व्यवस्थापन, सार्वजनिक निजी साझेदारी सोचको विकास, संरचनाहरुको आधुनिकीकरण, सक्रिय र अर्थपूर्ण समन्वय, लगानीकर्ता प्रतिको सम्मान आदि ।

र अन्तमा
लगानीको निम्ति करमा भारी छुट दिईने छ भन्ने बिषयले जुम्लाका स्थानिय स्तरमा एकखाले विवाद सुरु भएको छ। लगानी योग्य वातावरण दिन करका दायाराहरुमा समय-सापेक्ष यथोचित सुधार गर्दै जानु अनिवार्य हुन्छ।अर्को विचारणिय पक्ष के हो भने स्थानीयबासीहरुको जमिनको स्वामित्व बचाई राख्न विशेष व्यवस्था गरिनु पर्छ नत्र लगानी, विकाश, समृद्धिको खोजमा कर्णालीबासी आफै भुमीहीन बन्न नपरोस् !

No comments:

Post a Comment