Friday, April 6, 2018

एक अन्जुली पानी राराको


एक अन्जुली पानी राराको

शान्त, सुरम्य जलराशी
म व्याकुल तिर्खाएको यात्री
पीडा, दुखः बिर्सदै -
खुशी/हर्षको पहाड उक्लदै
भर्न पुग्छु - एक अन्जुली पानी राराको !

एक अन्जुली पानी
शान्त तलाउ भित्रको
हजारौं मनोरम आकृतिहरु बिगार्दै
छाल/तरङ्गका तरेलीहरु
पर.… पsर तालको गर्भ भित्र छिर्छन् ।

अन्जुली भित्रको पानी
हजारौं सुर्य खसाल्दै टल्कदै
इन्द्रेणीको लिस्नोबाट ओर्लन्छन्
तरङ्गहरु फेरी जिस्किन्छन्
दगुर्छन्… बिलाउन्छन् …अलापिन्छन् ।

अन्जुलीमा अडेको पानी
कन्चन… निर्मल…स्वच्छ पानी
म आफ्नो आकृतिको प्रतिविम्व भेटछुँ
मुस्काउँन्छु, प्राकृतिक ऐना देखी
पहाड। खोला। भीर।  खोंच
अनि भोक प्यास बिर्सेको मुहार ।

म हराउछुँ   अन्जुलीको पानीसंगै
एउटा स्वर्णिम स्वर्गीय आनन्दमा
हिमाल र गुराँस
पछाडीबाट अँगालो मर्छन्
हर्षबिभोर भएको म
अमृतको घडा सम्झेर निल्छुँ
एक अन्जुली पानी राराको !

(रचना मिति २०५५  बैसाख १६ गते, रारा)


     

No comments:

Post a Comment