Sunday, November 28, 2021

महामारी रोकथाम र नियन्त्रणमा जनस्वास्थ्य दृष्टिकोण

कोरोनाभाईरस संसारभर फैलिएपछि डेढबर्षयता मानव जातिले यो शताब्दीकै पहिलो विश्वव्यापी महामारी भोगिरहेको छ । यो महामारीबाट लगभग सबै देशहरु प्रत्यक्ष प्रभावित भएका छन् । कम आय र साधन स्रोत भएका देशका जनताहरुले तुलनात्मकरुपमा अरुभन्दा व्यापक र अपुरणीय क्षति व्यहोरिरहेका छन् । यसको नियन्त्रणको लागि देशका स्वास्थ्य सेवा प्रणालीहरुले अभुतपूर्व चुनौतीहरु सामना गरिरहेका छन् । कोरोना भाईरसको संक्रमणले हुने रोग अर्थात कोभीड १९ निको पार्न हालसम्म कुनै ठोस उपचारपद्धति उपलब्ध नभएकोले यसको रोकथाम र नियन्त्रणका उपायहरु मात्र अपरिहार्य छन् । त्यसैले महामारीबिरुद्ध सफलता पाउनको लागि जनस्वास्थ्यका विधि र मापदण्डहरुको पालना नै पहिलो र सम्भवतः एकमात्र शर्त हो ।

जनस्वास्थ्यको अवधारणा र महामारी विज्ञान  

विभिन्न वैज्ञानिक परिभाषाअनुसार जनस्वास्थ्य भनेको विभिन्न तहका सरकार तथा समुदायको संगठित प्रयासमार्फत आवश्यक श्रोत र साधनको परिचालन गरी रोग नियन्त्रण गर्ने तथा जनताको स्वास्थ्य प्रवर्धन गरी दीर्घजीवन प्रदान गर्ने अभ्यास तथा प्रणाली हो । यसले चिकित्सकीय मोडलमा झै व्यक्तिलक्षित नभई आम जनताकेन्द्रित समूहलक्षित दृष्टिकोणको दिन्छ । त्यसैले रोग नियन्त्रण गर्ने, वातावरणीय खतरा रोक्ने, प्रकोप न्यूनीकरण गर्ने, चोटपटकबाट बचाउने, स्वस्थ व्यवहार अपनाउन लगाउने, स्वास्थ्य सेवाको गुणस्तर र पहुँच बढाउने, समुदाय परिचालन गर्ने, सिमान्तिकृत र पहूँचबिहीनहरुका आवश्यकतालाई सबल जनस्वास्थ्य प्रणालीले राम्ररी सम्बोधन गर्नसक्छ । कोभीड १९ को महामारीको बेला यसको महत्व अँझ मुखरित भएर आएको छ ।     

सामान्य भाषामा महामारी भनेको कुनै समुदाय वा भूगोलमा कुनै समयमा रोगको प्रकोप असामान्यरुपमा फैलिने अवस्थालाई बुझाउँछ । मानव समुदायमा विभिन्न माध्यमबाट सरुवारोगहरु फैलिने गरेको इतिहास पाईन्छ । हाम्रो समुदायमा झाडापखाला, ज्वरो, रुघाखोकी जस्ता चिन्ह र लक्षण भएका रोगहरुले मानिसहरु पटकपटक बिरामी हुने गरेका भेटिन्छन् । केही भूगोलमा कुनै समय यस्ता रोगहरुको प्रकोप पहिलेको भन्दा एकाएक फैलिएर धेरै मानिसहरु एकैचोटी बिरामी पर्ने गर्छन् । त्यस अवस्थालाई महामारी फैलिएको भनेर बुझिन्छ । यसलाई तल दिईको महामारी बुझाउने बक्ररेखाको चित्रमार्फत अध्ययन गरिन्छ । कुनैपनि रोगको सर्भिलेन्स प्रणालीमा नियमित अवलोकन गर्दा कुनै स्थानमा सो रोगका बिरामीको संख्यामा आएको उतारचढाबले यदि अस्वभाविक बृद्धिको संकेत गरेको छ भने त्यसलाई महामारी भएको हुनसक्ने ठानिन्छ । संक्रमणको तिब्रता, जटिलता र मृत्युदरका आधारमा महामारीको गम्भीरता जाँचिन्छ ।  

चित्र १ः महामारीको अध्ययन गरिने बक्ररेखा

कोभीड १९ महामारीलाई पनि यस्तै दृष्टिकोणबाट हेर्न सकिन्छ । चीनको बुहान शहरमा पहिलो पटक यसको भाईरस पत्तालाग्दा शुरुवातको केही हप्ता थोरै संख्यामा देखापरेका संकास्पद बिरामीहरु समयमै रोकथाम नहुँदा संक्रमण आक्रामकरुपले फैलिएर महामारीको स्वरुप धारण गरेको थियो । संसारभर मानिसहरुले यात्रा गर्दा उनीहरुसँगै गएको भाईरसले नयाँनयाँ ठाउँमा क्रमशः महामारी फैलिन गयो । यसरी कुनै संक्रमण देशविदेशका धेरै ठाउँमा महामारीको आकारमा फैलिने अवस्थालाई पाण्डेमीक वा वैश्विक महामारी भनिन्छ ।

महामारी किन र कसरी फैलन्छन्?  

कुनैपनि संक्रमक रोग लाग्नको लागि तल चित्र २ मा देखाईको जस्तै तीनवटा आधारभूत तत्वहरुको अन्तक्रिया वा संयोग मिल्नु पर्छ । यसलाई महामारी विज्ञानको भाषामा ‘इपिडेमीअलजिकल ट्रयाअड वा त्रिकोण’ पनि भनिन्छ । यो संक्रमक रोग लाग्ने अवधारणा बुझाउने एक परम्परागत तरिका पनि हो ।  

चित्र २ः इपिडेमिअलजिकल ट्रयाअड वा त्रिकोण

पहिलो, संक्रमणको कारक तत्व अर्थात एजेण्ट हुनुपर्छ । प्रायः ब्याक्टेरीया, भाईरस, पारासाईट जस्ता सुक्ष्मजीवहरु नै मानव समुदायमा सरुवारोग फैलाउने कारक हुन् । कुनैपनि रोग लाग्न निश्चित मात्रामा यस्ता एजेण्टको प्रवेश अनिवार्य चाहिन्छ । अचेल जैविकमात्र नभै भौतिक, रासायनिक, पराबैजनी कारक तत्वलाई समेत यहि अवधारणामा हेर्ने गरिन्छ ।

दोस्रो, रोगको कारक तत्व संक्रमण हुने व्यक्ति अर्थात होष्टमा प्रवेश गर्नु पर्छ । मानव शरीरमा नीहित विभिन्न आन्तरिक र बाह्य कारणले संक्रमणको सम्भाव्यता, जोखिम र प्रतिक्रिया निर्धारण गर्छ । मानिसको ब्यवहार, प्रतिरक्षा प्रणाली, बंशाणुगत गुण, शारीरिक तथा मानसिक अवस्था र मौजुदा स्वास्थ्यस्थिति जस्ता कुराले उसले संक्रमण गराउने तत्व अर्थात एजेण्टलाई प्रभावित गर्छ ।

तेस्रो, उपयुक्त वातावरण निर्माण हुनपर्छ । संक्रमण गर्ने कारक वा एजेण्टको निम्ति चाहिने बाह्य तत्व भनेको त्यसको लागि अनुकूल वातावरण हो । यसमा हावापानी, जैविक, भौगोलिक, सामाजिक आर्थिक जस्ता अवस्थाहरु निर्धारक हुन्छन् । प्रतिकूल हावापानी, अव्यवस्थित बसाई, भिडभाड, सरसफाईको कमी, उपचार र रोकथामका उपायको अभाव, अशिक्षा, अज्ञानता, गरीबि जस्ता अवस्थाले संक्रमणलाई फैलिने उपयुक्त अवसर प्रदान गर्छ । 

उपरोक्त त्रिकोण चित्रको भित्र गोलोहरुमार्फत देखाईए जस्तै तिनै पक्षको मेल भएपछि मानिसमा संक्रमण सर्छ र फैलिन्छ । कोभीड १९ को सन्दर्भलाई यो अवधारणामा राखेर हेर्दा कोरोनाभाईरसको नयाँ प्रजाति अर्थात एजेण्ट थुक वा र्यालका अत्यन्तै ससाना छिटाहरु अर्थात ड्रप्लेटमार्फत श्वासप्रश्वासको माध्यमबाट तीब्र फैलने गुण भएको भाईरस हो । आनुवांशिक गुण परिवर्तन भएको नयाँ प्रजाति भएको कारण मानव शरीरमा हालसम्म यस विरुद्धको प्रतिरक्षा प्रणाली विकसित भएको थिएन तथा कुनै प्रकारको उपचार पद्धति वा खोपको आविश्कार पनि भइसकेको अवस्था थिएन । त्यसैले कोभीड १९ महामारी समग्र मानव जगतकै निम्ति डरलाग्दो भएर आयो ।

महामारी रोकथाम र नियन्त्रणका उपायको औचित्य
सामान्य अर्थमा कुनैपनि सरुवा रोगको रोकथाम तथा नियन्त्रण हुनु भनेको माथि चित्र २ मा देखाईका तीन पक्षहरुको मेल नहुनु हो । अर्थात यिनिहरुमाझ दूरी कायम हुनु हो । यी तिनमध्ये कम्तिमा कुनै यौटा पक्षलाई अलग गर्न सके सो रोग सर्न र फैलनबाट रोकिन्छ । तथापी रोगको स्थान, समय, परिस्थिति अनुसार यिनिहरुको त्रिपक्षीय अन्तरक्रियात्मक जटिलता विकसित भएको हुनसक्छ । जति चाँडोे रोगको अध्ययन गरी कीटाणुको गुण, प्रकृति र स्वभाव पहिचान गर्न सकिन्छ त्यति छिटो रोकथाम गर्न सम्भव हुन्छ । त्यसैले महामारीको रोकथाम तथा नियन्त्रणको प्रयासहरु व्यवस्थित र विशेष प्रकारको हुनपर्छ । जनस्वास्थ्यको लागि मजबुत प्रणाली स्थापना गरेका र संस्थागत क्षमता विकसित भएका देश र सरकारले कोभीड १९ को महामारीलाई तुलनात्मकरुपमा कम क्षति बिनै नियन्त्रणमा सफलता प्राप्त गर्न सक्ने अवस्थामा पुगेका छन् ।

संक्रामक रोगको रोकथाम र नियन्त्रणको सबैभन्दा आवश्यक उपायहरु भनेका तत्काल तीब्ररुपले संकास्पद रोगीको पहिचान गर्ने, अरुलाई सर्न नदिनको लागि रोगीलाई अलग्याएर राख्ने, बिरामीलार्ई उपलब्ध आवश्यक उपचार दिएर निको पार्ने तथा जनसमुदायलाई सुसूचित गर्ने हुन् । रोगको पहिचान ल्याब परीक्षणबाट वा शारीरिक चिन्ह लक्षणको आधारमा निदान हुनसक्छ । उपचारका लागि औषधी वा खोपको उपलब्धता भएका कम संक्रमक रोगको व्यवस्थापन सहज हुन्छ । तर कोभीड १९ जस्तो रोग निको पार्ने औषधी नभएको तथा खोपको उपलब्धता सहज भई नसकेकोले    यो रोगलाई जनसमुदायमा फैलनबाट रोक्न सम्भावित जोखिमपूर्ण मानवीय गतिबिधि तथा संसर्ग रोक्नका लागि लकडाउन गर्ने, संकास्पदलाई क्वारेन्टाईनमा राखेर अवलोकन गर्ने वा बिरामीलाई एक्ल्याएर आईसोलेशनमा राख्ने, बिरामीको सम्पर्कमा आएका सबैजनाको परीक्षण गर्ने जस्ता नियन्त्रण विधिहरु अपनाईन्छ । जोखिम क्षेत्रका आममानिसहरुलाई संक्रमणबाट बच्नको लागि सिफारिस गरिएका जनस्वास्थ्यका मापदण्डहरु पूर्णरुपले पालना गरी आफु बच्ने तथा अरुलाई पनि बचाउने उपाय गर्न लगाईन्छ । 

समुदायमा महामारी नियन्त्रणका प्रयास र जनस्वास्थ्य मापदण्डहरुको महत्व 
महामारी फैंलिदा एकैचोटी धेरै मानिसहरु बिरामी पर्ने भएकोले त्यसको उचित व्यवस्थापन गर्न कमजोर स्वास्थ्य प्रणालीले सक्दैन । यसपालि अप्रत्यासित फैलिएको कोभीड १९ को वैश्विक महामारीले संसारका लगभग सबै देशका स्वास्थ्य प्रणालीलाई धान्न हम्मेहम्मे परिरहेको छ । सक्षम देशहरुले बिषम परिस्थिति विकसित हुँदै गर्दा निकै प्रभावकारी तरिकाले प्रतिकार्य प्रणालीहरु सुधार गरे । तर नेपालजस्ता आर्थिक, राजनीतिक तथा सामाजिकरुपले पछि परेका कम विकसित देशहरुले अपेक्षाअनुरुपको सुधार गर्न सकेका छैनन् ।



चित्र ३ः नेपालमा पहिलो तथा दोस्रो लहरमा कोभीड १९ को प्रवृति

हालसम्म नेपालले कोभीड १९ का दुइटा छालहरु भोगिसकेको छ । चित्र ३ मा देखाए अनुसार पछिल्लो लहरमा यहि २०७८ सालको बैसाख र जेठ महिनामा उच्चबिन्दुमा पुगेको कोरोनाभाईरसका बिरामीले नेपालका प्रायः सबै सार्वजनिक तथा नीजि अस्पतालहरु भरिएर व्यवस्थापनमा चरम कठिनाई ब्यहोर्नु परेको थियो । पहिलो लहर चलेका बेलामा जस्तो संकास्पदको कन्ट्याक्ट जाँच गर्ने, क्वारेन्टाईनमा राख्ने, आईशोलेशन गर्ने, भीडभाड नियन्त्रण गर्ने जस्ता संक्रमणको चेनब्रेक गर्ने जनस्वास्थका उपायहरुको सक्रियतापूर्वक लागू भएन । फलस्वरुप अत्यधिक विरामीको चाप बढ्यो । जनशक्ति, साधनस्रोत, अत्यावश्यक चिकित्सकीय उपकरणका अभावको कारण धेरैको ज्यान गयो ।   

स्वास्थ्य सेवा प्रणालीले धान्नको लागि महामारीको बक्ररेखालाई समतल बनाउने 
नेपालजस्तो देशको स्वास्थ्य सेवा प्रणाली कोभीड १९ जस्ता महामारी धान्न सक्ने गरी विकसित नभएको तथ्य उजागर भएको छ । महामारीकै बीचमा गर्न सकिने कतिपय तत्काल सुधारका प्रयासहरु पर्याप्त छैनन् । यसकारण सम्भावित नयाँ लहर तथा अन्य प्रकारका महामारीको व्यवस्थापन पनि निकै सकसपूर्ण हुन सक्ने अनुमान गर्न सकिन्छ । यस्तो अवस्थामा मौजुदा स्वास्थ्य सेवा प्रवाह गर्ने प्रणालीको क्षमता भित्र व्यवस्थापन गर्न सक्षम हुने गरी जनस्वास्थ्यका उपायहरुको अधिकतम कार्यान्वयन अतिआवश्यक हुन्छ ।

कुनै समुदायमा सामान्य समयमा जनसंख्याको केही अंश विभिन्न रोगले बिरामी पर्नसक्ने अनुमानका आधारमा  उपचारका लागि बनाईएका स्वास्थ्य संस्था तथा अस्पतालले महामारी तथा दैविप्रकोप जस्ता आपतकालीन अवस्थाको समेत आंकलन गर्नुपर्ने स्वभाविक अभ्यास भए पनि न्यून आय, साधन र स्रोत भएका ठाउँमा अपर्याप्त हुनेगरेको पाईन्छ । नेपालमा भएका प्रायः स्वास्थ्य संस्था र अस्पतालहरुमा जनशक्ति, सीप, साधन र उपकरणको अभाव छ । त्यसैले महामारीका बेला विद्यमान स्वास्थ्य सेवा प्रणालीको क्षमता भित्र बिरामी व्यवस्थापन गर्ने चुनौति सँधै रहन्छ । त्यसको लागि चित्र ४ मा देखाईको जस्तै महामारीको बक्ररेखालाई समतल बनाउने अवधारणालाई बुझेर प्रतिकार्य गर्नुपर्छ ।    

चित्र ४ः स्वास्थ्य सेवा प्रणाली र महामारीको बक्ररेखा बीच सम्बन्ध

महामारी समुदायमा फैलिन्छ । समुदायमा रोग फैलिन शुरु हुँदा यदि कुनैपनि प्रकारका नियन्त्रण प्रयासहरु गरिएन भने मानिसहरु धमाधम बिरामी पर्न थाल्छन् । एकाएक बिरामीको संख्या बढ्न गई स्वास्थ्य केन्द्र र अस्पतालहरु तुरुन्तै भरिन थाल्छन् । फलस्वरुप अस्पतालमा बिरामीले राम्रो स्याहार नपाउने, उपचारको अभाव हुने, स्वास्थ्यकर्मी आफै संक्रमित हुने, स्थिति अव्यवस्थित हुने, र मृत्युदर पनि अनावश्यक रुपले बढ्ने अवस्था सृजना हुनसक्छ । कोभीड १९ महामारीको दोस्रो लहर फैलिंदा नेपालका अधिकांश अस्पतालको अवस्था यहि भयो ।

स्वास्थ्य सेवा प्रणालीले धान्न सक्ने क्षमता भित्रै महामारीलाई नियन्त्रण गर्नको लागि जनस्वास्थ्यका उपायहरु अपरिहार्य हुन्छन् । सक्रिय सर्भिलेन्स प्रणाली स्थापना गरी संकास्पद बिरामीको पत्ता लगाएर तत्काल संक्रमणको चेन ब्रेक गर्न सके महामारीको आक्रामक बृद्धिलाई छेकबार गर्न सकिन्छ । थोरै संख्यामा अस्पताल पुगेका बिरामीले राम्रो स्याहार पाउन्छन् र मृत्युदर पनि घट्छ । यसलाई “फ्ल्याटनिंग द इपिडेमिक कर्भ” भनिन्छ ।

हालसम्म कोभीड १९ महामारीको निम्ति अचुक उपाय यसबिरुद्धको खोप हो भनेर मानिएको छ । यद्यपी, समयसँगै खोप प्रभावकारित कहिलेसम्म रहनेछ्? नयाँ विकसित हुन सक्ने भेरियण्टहरुको स्वभाव कस्तो हुनेछ? सम्पूर्ण जनसंख्यालाई खोप कहिलेसम्म पुग्नेछ? जस्ता कैयौ प्रश्नहरु अहिले अनुत्तरित नै छन् । नेपालजस्ता कम विकसित देशहरु यस्ता महामारीबाट लामो समयसम्म प्रभावित भई रहने सम्भावना छ । त्यसैले जनस्वास्थ्य दृष्टिकोणबाट समुदायकेन्द्रीत महामारी रोकथाम तथा नियन्त्रणका उपायहरु सक्रियतापूर्वक लागू गरिरहनुपर्छ । यसका लागि राज्यका सबै संयन्त्रहरुको समन्वय, प्राथमिकता र अर्थपूर्ण सहभागितामार्फत देशको स्वास्थ्य सेवा प्रणालीलाई सुधार गर्नपर्छ । 

सामान्य अवस्थामा पनि जनस्वास्थ्य प्रणालीको उत्तिकै महत्व हुन्छ । नेपाली नागरिकको लागि नेपालको संविधान २०७२ ले सुनिश्चित गरेको स्वास्थ्यसम्बन्धी हकहरु जस्तैः प्रत्येक नागरिकलाई निशुल्क आधारभूत स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य सेवा पाउने तथा प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँच पुराउनको लागि पनि सक्षम स्वास्थ्य प्रणाली आवश्यक पर्छ । महामारीको बेला त त्यो अपरिहार्य नै छ । 

(यो आलेख संचार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रशारण विभागले प्रकाशित गर्ने नेपाल जर्नल २३४ स्वास्थ्य विशेषांकमा प्रकाशित छ।  यो लिङ्कबाट डाउनलोड गर्न सकिन्छ http://doinepal.gov.np/counter/?file=20211025102802.pdf&path=/npl-magazine




No comments:

Post a Comment