Sunday, October 27, 2013

साइकल संघर्ष - १

सानोहुँदा साइकलको चित्र हेरिन्थ्यो । चेन देखेको थिएँ । तर, कुनै अन्दाज थिएन यो कसरी चल्छ वा चलाइन्छ भनेर । पहिलो चोटि साइकल  देखेको थिएँ २०५० साल मंसिरतिर, एस.एल.सी तयारीको लागि जुम्लाबाट पहिलो चोटि ४ दिन हिँडेर सुर्खेत पुगेको दिन । त्यतिबेला हेरियो मात्र अरुले चलाएको, सिक्ने अवसर मिलेन ।  

मैले साइकल सिक्दा अबेर भयो भन्ने लाग्थ्यो । अर्थात, २६ बर्ष हुँदासम्म पनि न साइकल न बाइक चलाउन सिकियो । यो सिप नभएकोले केही अप्थ्ठ्यारा क्षण पनि बेहोर्नु पर्‍यो । जुम्लामा जन्मेहुर्केको मान्छेको लागि त्यो स्वभाविक कुरो हो । तर, अरुलाई त्यो के थाहा । सुर्खेतमा क्याम्पस पढ्दाताका हाम्रा मिल्ने केटी साथीहरुको प्रिय साधन साइकल हुन्थ्यो । उनीहरु सरर हुंईकिएर आएको देख्दा 'मैले पनि चलाऊन जानेको भए उनीहरुलाई लिफ्ट दिंदा क्या मज्जा हुन्थ्यो भन्ने सोचिन्थ्यो । तेस्रो बर्षको जाँच पछि ठाकुरद्वारा घुम्नजाने प्लान बन्यो तर मिलेन । बरु त्यो सँग एउटा साइकलको प्रसँग आएको थियो । क्याम्पसमा साथीहरु बीच सल्लाह गर्ने कुरो रहेछ, मलाई नदेखेर एउटा केटी साथी मलाई खोज्न साइकलमा यारीचोकको डेरामा आईपुगिन् । साइकल मतिर सारेर आफु पछाडि बस्ने संकेत गरिन् । मलाई मन लागि नलागी साइकल चलाऊन नआउने कुरो घोषणा गरें । "उसो भए पछाडि बस!" मलाई आग्रह गरिन् । मैले आनाकानी गरें । "केटाहरु ___" उनले जिस्काईन् अनि  साइकल डोर्याएरै हिंयौं । मनमनै साइकल नजानेकोमा पहिलो पल्ट हिनताबोध गरें ।

अर्कोपाली जब पहिलो पल्ट पोखरा घुम्न पुगेको थिएँ सिस्टर न्यान्सी र उहाँका दाई, भाई, भातिजी र एउटा साथीको साथ । भोलिपल्ट एकाबिहानै  मलाई सिस्टर न्यान्सीले 'जाउँ लेकसाइड घुम्न" भनेर उठाइन् । उत्साहित बनेर झट्पट तयार भै टोलीमा सामेल बनें । हामी एउटा साइकल पसल मा रोकियौं । सबै साइकल छान्न लागे, म हेर्दै बसें । 'भाइ कुन साइकल लिने?'सिस्टर न्यान्सीले सोध्दा झस्केर 'मलाई साइकल आउँदैन, म यतै बस्छु' भनेर टार्न प्रयास गरें । 'ए त्यसो भए हामी सँगै हिडौं गाडीमा' भनेर सल्लाह भयो । मेरो कारण साइकलमा लेकसाइड घुम्ने एकाएक रध्द गरियो र हामी ट्याक्सीमा घुम्यौं । त्यहाँ दोस्रो ताली हिनताबोध भयो ।

यस बाहेक अरु सानातिना प्रसङगले साइकल नजानेको पछुतोलाई बल्झाइरहन्थ्यो ।

यस बीच साइकल सिक्ने प्रयास पनि निकै गरियो । क्याम्पस ताकाका दुइटा साथीहरुले असिनपसिन हुँदै साइकल धकेलेर मलाई सिकाउने विफल प्रयास गरे । कतै कसैको साइकल एकछिन् भेटे सुम्सुम्याएर गुडाउने रहर निकै गरियो । तर, कहिल्यै सिकिएन ।

सन् २००४ मा जागिरकोलागि नेपालगन्ज पुगें । फुल्टेक्राको अफिस पुग्न होस् वा घुमफिर, रिक्साको यात्रा झन्झटिलो र महँगो लाग्न थाल्यो । मोटरसाइकल सिकेर किन्ने रहर त थियो तर सम्भव थिएन । अफिसमा एउटा ड्राइभर दाईले साइकल भनेको कस्तो हुनुपर्छ भनी गफ सुनाउदा तुरुन्तै किनेर सिक्ने रहर जाग्यो । राती ९ बजेपछि न्यूरोडको बाटोमा प्राक्टिस गर्दा गर्दै सिकें, एक्लै । ३ दिन जति लाग्यो । लडिन । बरु केही पछि कतै जाँदा बालुवामा चिप्लेर नराम्ररी चोट लगेको थियो । आवश्यकता भए सिकिंदो रहेछ ।

अनि त साइकलमा नेपालगन्जको गर्मी छल्न निकै हुँईकीयो । राप्ती पारी गईयो । अरु ठाउँ पुगियो ।

कैलालीतिर पनि डुलियो । बलिया तिर  हाइवे किनाराको एउटा मासु पसलबाट रागाँको मासु बोक्ने साइकल ३० रुपैयाँमा भाडा लिएर प्रतापपुर पुगियो, शिवरात्रीको बुटी खाएर पनि चलाईयो पञ्चर टायरमा झन्डै बेहोसी हालमा । गाउँको बाटो कुकुरबाट लखेटिदै ।

एकचोटी कंचनपुरको दक्षिणी भागतिरका स्वास्थ्य संस्था तिर घुम्नु पर्ने भयो । महेन्द्रनगरबाट बेल्डाँडी गाडीमा झरेपछि बन्द शुरु भयो । हामीले  साइकल यात्रा गर्नु पर्ने भयो । कतै मागेर चलाइयो । कृष्णपुरमा हुलाकको कर्मचारीको साइकल भाडामा लिएर शंकरपुर, त्रिभुवनबस्ती, रैकवारबिचवा, परसन आदी ठाउँमात्र नभएर धनगढी बाट अत्तरिया हुँदै महेन्द्रनगरसम्म पुगियो । निकै कसरत भयो । साइकल जानेकोमा निकै खुशी लाग्यो ।

मैले नेपालगन्जमा किनेको साइकल चोरी नहुन्जेल ट्युब र टायर फेरी फेरी चलाएँ ।

अचेल म पोखरा जाँदा बिहान प्राय: माउन्टेन बाइक भाडामा लिएर लेकसाइडदेखि पामेसम्म घुम्न जान्छुँ ।  
बाँकि अर्कोमा … 

2 comments: