Monday, November 4, 2013

साइकल संघर्ष (काठमाडौँ परिक्रमण - ३)

 साइकल यात्रीहरुको हुल अहिले छरिएर गुडिरहेको थियो।  कीर्तिपुरबाट झरेर नैकाप मुलबाटो हुँदै कलंकीतर्फ अलिकता बढेर सानो गोरेटोबाट बायाँ पसेर स्युचाटार तिर मोडियों।  स्वयंसेवक र संकेत राम्रो नभएकोले हुइङ्किएर अघि बढेको साइकललाई झन्डै इमर्जेन्सी ब्रेक लगाई रोक्नु पर्यो।  यो सबै बाटो मेरोलागि बिल्कुल नौलो थियो।  बाटो खेतको आली भएर गयो।  गाउँको गल्लि भएर गयो।  स-साना कुलेसा र दलदले हुँदै गयो। कतै कतै पिच पनि हुन्थ्यो। एउटा ठाउँमा त हिले बाटोले गर्दा जाम नै गरायो।  अनि उकालो उकालो आउन थाल्यो।  एक ठाउँमा ओर्लनु पर्यो, निकै थाकेर। बल्ल एउटा पानी खाने स्पट आयो।  हल्का आराम पछि बढ्यौं अघि।  गाउँलेहरु, बटुवा र बालबालिकाहरु फर्की फर्की हेर्थे रमाएर।  यौटा नौलो अनुभूति सबैले गरे। हामि सितापाईला तिर पुग्यौं।  यो राजन जी को आफ्नो ठाउँ थियो।  मलाई बाटोको अवस्था बताउदै जान्थे।  उनका अनुसार अघाड़ी अझैं उकालो बाँकि छ।   उनि यो बाटोमा स्कुले बेलामा खुबै हिडेका रे।  एउटा उकालोको टुप्पामा मिनी ट्रक र ट्याक्सीले गर्दा निकै बेर अल्मलिनुपर्यो।  त्यहाँ ७५ किमि यात्रा गर्नेहरु पनि मिसिए।  सायद उनीहरु निकै सिपालु यात्री थिए।  हामीले उनीहरुलाई अघि बढ्न दियौं। पछाडीका यात्री पनि आइपुगे।  माहोल मेलामय देखियो। हल्चोक एरियातिर थियौं।  हामि सेती गुम्बाको मुनि पुगेर ओरालो झर्यौं।

एउटा निकै ओरालो पार गरेर हामी हुईकियौ । बस्तिबीच भित्रि बाटो।  कहिले राजन जी अघि त कैले म, संगसंगै । सायद क्यालोरी निकै बल्यो।  बिस्तारै भोक लग्यो। मेरो झोलामा इनर्जी बिस्कुट थियो।  एउटा पसलमा पानी किनेर खायौं।  राजन अघि थिए, उनि एउटा दोबाटोबाट माथि लगे।  एकजनाले मलाई ओवरटेक गरि दोबाटो तल हिड्यो।  पछि आएकाहरु पनि उतै लागे।  म अलमल।  मैले माथिकै बाटो रोजे। इचंगु (रानीबन) तिर गाउँ मा हामि थियौं।  यदि, हराएको भए पनि राजन जी र म संगै हुन्छौं।  गाउलेहरुलाई सोध्दै सोध्दै बाटो पहिल्याउनुको रमाइलो नै बेग्लै।  कतै कतै एरो संकेत पनि थियो तर ध्यान दिनै गार्हो।  बास्तवमा अरुहरुले गलत बाटो लिएका रहेछन।  फेरी भीडको लस्करसंग मिसियौ।

काठमाडौँको उत्तरपश्चिमी डाँडाको काख हुँदै हामी बनस्थलीबाट अघि बढेर बालाजु गार्डेन दाहिने घुमेर थोरै उकालो मोडिएर माछापोखरीतर्फबाट प्रगतिनगर (गोंगबुको ठीक पछाडी) खोला नजिकको खालि भागमा जम्मा भयौं। कसैले साइकल चेक गरे।  तेल लगाए। मेकानिकल टिमले आबश्यक परे सहयोग गर्थ्यो।  हामिलाइ परेन।  अघिदेखि राजनजीलाई केहि गाह्रो परेको जस्तो लागेको थियो। साइकलको सिट प्याडले दुखेको सिकायत थियो। अभ्यास नगरी एकै चोटी हिजो दिनभर चलाएर आज यति लामो यात्रामा आएका थिए।  मलाई साथी नभएर मात्र, नत्र बिचैमा छाड्नेसम्म पनि सोचेछन्। 'हामी बिस्तारै जाउँला, आराम गर्दै, तर छोड्न हुन्न है' मैले भनें। हामीले झन्डै आधा बाटो काटी सकेका थियौं।  मुभ स्प्रे लिएका थियौ आवश्यक परे।  मेडिकलबाट इलेक्ट्रोलाईट जीवनजल किन्न खोजेको पाइएन।  हामीले पानी र दुनोट खायौ । फेरी अघि बढ्यौं।

अब हामी धापासी-टोखा तिर ग्रीनसिटी हस्पिटल नजिकको एउटा ठाडो उकालो चढ्न पुग्यौं । प्रमोद यतै बस्छु भन्थे।  साइकाल डोर्याउदै गर्दा फोन गरेको त हामीले क्रस गरि सकेछौँ।  बस्तिको भित्र भित्रैबाट हामि मन्डिखाटार तिरको अर्को बिश्रामस्थलसम्म दगुर्यों। सायद यो यात्राको मध्यान्तर थियो। यतैबाट  राजेशसंग फोनमा कुरो भएको थियो।  उसको अनुमान पनि यस्तै थियो।  थकान व्यापक थियो। अब बाटो निकै लामो भए झैं लग्न थाल्यो ।  साईकल चौरमा राखेर पानी खायौं। चाउचाउ र जुस पनि खाईयो।  एकछिन आराम गर्न लागेको उठेर हिड्नै मन लागेन। चकमन्न घाम।  पसिना सुकेर नून बनेको।  पाखुरा डडेको रंग देखिन्थ्यो।  अरुहरु पनि त्यस्तै देखिन्थे । तर अघि बढ्नु नै थियो, रोकिने कुरै थिएन । सामान्यतया हामी लस्करको अघिल्लो पंक्ति तिरै हुन्थ्यौं। शरीर थाके पनि मन चैं रमाएको थियो।  

हामी सुकेधारा हुँदै कपनबाट एउटा हल्का उकालो चढेर महांकाल तीनचुलिको बाटो मिसियौ।   उतैबाट ह्यात होटल पछाडी भित्रि बाटो (गल्लि-गल्लि) हुँदै थरी-थरी गुम्बाहरु भएको बस्तिहुँदै एकाएक बौध्द स्तुपा भित्र पुग्यौं । मन एकदमै रोमान्चित भयो।  हामीले एक फन्को मार्यौ।  फोटो खिच्यौं।  अनि मूल गेटबाट बाहिर निस्किएर बाटो काटेर अर्कोपट्टिबाट दक्षिण तर्फ हल्का ओरालो झरेर समता स्कुलको प्रांगणमा पस्यौं।  हाम्रो लन्च यतै हो।  ३६ किमि यात्रा सकियो।  अब १४ अझै बाँकी।

फटाफट कुपन लिएर लाईन बसी एक लन्च पाकेट बोकेर कक्षा ५ को कोठामा पस्यौं। फेरी पनि केरा र अन्डा  थियो साथमा जुस, स्यान्डविच। अरुहरु पनि आए।  रमाइलो गर्दै खायौं।  'क्या रमाइलो, यो एउतै सर्ट र यात्रामा हिड्दा सबै आफ्नै साथी झैँ लाग्ने' एउटाले भने।  'हो नि सबै चिनेकै आफ्नै लाग्ने' अर्कोले थपे।  एकछिन आराम गर्यौं। राजनलाई निकै अफ्ठ्यारो भएको प्रतीत भयो।  'चांडो सक्नु पर्छ, हिडौ' भने।  हामी तयार भएर बाहिर आयौ।  केहि मान्छे भर्खर भित्र पस्दै रहेछन।  राजनको हिंडीहाल्ने मन थियो।  मैले सबै संगै जानुको रमाइलो अर्कै हुन्छ भन्दै रोकें। निकै ढिलो हुने छाँट आयो। झन्डै एक घण्टा अल्मलियौं यता। अब कतै बसिंदैन।  पाटन दरबार स्क्वायर पुग्नु छ, यात्रा सफलतापुर्बक सम्पन्न गर्न।

हामी बागमती नदिलाई दायाँ पर्दै किनारै किनार एयरपोर्ट पछाडी  पुल तरेर एउटा निकै ठाडो उकालो साइकल डोरयाउदै चढ्यौ। गोठाटार गाउँ तिर एक ठाउं बाटो निकै बिग्रिएको थियो, पुरै हिलाम्य।  ट्रकले ध्वस्त पारेको। अलिक तल पुगेर बाटो राम्रो भेटियो।  पेप्सीकोला तिर, जडिबुटीसम्म , एयरपोर्ट पछाडि। त्यसैले  निकै हुँईक्याईयो साइकल। हामी जडिबुटी चोकको बाटो काटेर नरेफाँटतिर पस्यौं र एकछिनमा बालकुमारी पुलमा निस्कियौ । थकाई चरम बिन्दुमा थियो तर  हामी निकै करिब थियौं गन्तव्यको ।  

रिङ्गरोड़मा केहि मीटर अघि बढेर हामी बालकुमारी मन्दिरतिर घुमेर हल्का उकालो छाडेर पाटनका नेवारी बस्ति भित्र पस्यौं। ढुंगा ओच्छ्याएका गल्लि,  चोक, आँगनको बाटो हुँदै पाटन सुन्धाराबाट मंगलबजारको बाटो यात्रा बिहान ७.४५ बजे छोडेको पाटन दरबार स्क्वायरमा आएर एक फन्को पुग्यो।  'हुर्रे !!!! यस आई डीड ईट' मन खुसि भयो।

बेलुकाको ३. १५ बजेको थियो।  तातेको ढुंगामा एकछिन ज्यान सेकाएर राजन घर हिंडे।  उनि अर्को ७ किमि साइकल ठमेल पुरयाएर घर जान्छन्।  म एकछिन आराम गर्छु।  एउटा साथी जुसको बोटल सेलेब्रेशन गर्न आईपुगिन।  आयोजकले झम्सिखेलको मोक्षमा ड्रिंक्स र म्युजिक राखेका रहेछन्।  उतै गयौं। केहि गीत सुनियो।  फोटो खिचियो।

यो साइकल यात्राबाट मैले ८,००० रुपैया पनि संकलन गरें र आयोजकलाई हस्तान्तरण गरें।  सहयोग गर्ने सबै को नाम फेसबुकमा राखेको छुँ  www.facebook.com/madhav.chaulagain . सबैलाई धन्यबाद।

अब मलाई साइकल सिक्न ढिलो भएकोमा कुनै पछुतो छैन।  आवश्यकता परे, संयोग मिले र चाहना भए सबैकुरा सिक्न सकिन्छ, जुनसुकै बेलापनि।  

। समाप्त।
  

No comments:

Post a Comment